Sunday, July 1, 2012

यस्तो पनि हुँदो रहेछ... - sukrabar

किशोर नेपाल- शुक्रवार पोर्नोग्राफिक भयो रे! शुक्रवार पोर्नोग्राफिक भएकोमा आक्रोशित एकजना युवकले सामाजिक सञ्जालमार्फत शुक्रवार सम्पादकका नाममा एउटा भद्दा गाली बकेर आफ्नो औकात देखाइहाल्यो। उसले प्रयोग गरेको 'बास्टर्ड' शब्द आफैँमा तल्लो स्तरको पोर्नोग्राफी हो। आफ्नो सही नामसमेत प्रयोग गर्न नसक्ने त्यस्ता गति छाडाहरूको चर्चा गरेर यो स्तम्भका हजारौँहजार पाठकको चित्त दुखाउने मनसाय छैन गाथाकारको। तर, आनुष्ठानिक भन्दा बढी हैसियत राख्न सदा असफल प्रेस काउन्सिलको भनाइ पनि शुक्रवार पोर्नोग्राफिक भयो भन्नेछ। प्रेस काउन्सिलसँग धेरै राजनीतिक पोर्नोग्राफरहरू जोडिएका छन्। त्यसैले उसले पूर्जी काटेरै शुक्रवारलाई नैतिक शिक्षा दिने अनाधिकार जमर्को गर्‍यो। यो लोकतान्त्रिक गणतन्त्रमा एउटा जिम्मेवार प्रकाशन संस्थाको प्रकाशनमाथि अंकुश लाउन खोजेर प्रेस काउन्सिलले साँच्चै अद्भुतको काम गर्‍यो। पूर्जी अनुसार प्रेस काउन्सिलको आपत्ति शुक्रवारको पृष्ठ २८ र २९ मा प्रकाशित हुने मनोरञ्जन समाचारलाई लिएर रहेछ। देशका नागरिक र सूचना तथा सञ्चारसम्वन्धी संस्थाहरूले समाजको नैतिक मूल्य र मान्यतामा चासो दिनु सारै उत्तम कुरा हो। सरकार र यसका संस्थामा नैतिक मूल्य र मान्यताको खडेरी पर्दै गएको छ। यस मुलुकका जनता मारेर घुस खाने कर्मचारी, ठूल्ठूला आर्थिक र सामाजिक अपराध गर्ने र राजनीतिक विचलन बढाउने व्यक्तिका बारे कुनै पनि प्रश्न उठाउने क्षमता चुकिसकेको छ। त्यसैले, मनोरञ्जनका सामान्य विषयको प्रकाशनमा खोचे थापेर उनीहरू शासन गरेको फूर्ति झार्दै छन्।
 
कस्मोपोलिटन चरित्र पनि बोक्न नसकेको र मेट्रोपोलिटन चरित्रमा पनि अटाउन नसकेको अहिलेको कान्तिपुर शहर विभिन्न विकृतिहरूको मिश्रण हो। सरकार चलाउनेहरूको विकृत मानसिकता यो शहरको सबैभन्दा ठूलो समस्या हो। उनीहरू आफ्नो अदक्षता र अयोग्यतालाई यस्तै संवेदनशील विषय उचालेर लुकाउन चाहन्छन्। शुक्रवारकै सन्दर्भमा, शुक्रवारलाई अपराधी मानेर कुरा गर्ने हो भने पनि कान्तिपुर शहरका नैतिक चरित्रवान् भलाद्मीहरूको असली स्वरूप छर्लंग देखिनेछ। यी भद्रभलाद्मी हातमा एप्पलको आई-प्याड र सामसुंगको ट्याब बोकेर दिनभर सरकारी वा निजी कार्यालयको वाइफाईको सहाराले नग्न सुन्दरीहरूको फोटो हेर्छन्, रमाउँछन् र आफ्नो समृद्धिमा मख्ख पर्छन्। त्यतिले नपुगेर कलकत्ता र क्वालालम्पुरबाट 'प्लेब्वाई', 'पेन्टहाउस' लगायत विभिन्न पत्र-पत्रिकाका अन्तर्राष्ट्रिय संस्करण मगाएर घरको लाइब्रेरीको शोभा बढाउँछन्। तर, शुक्रवार जस्तो सामाजिक रूपले जनताको मनोरञ्जनको भोक मेटाउँदै पत्रकारिताको दायित्व पूरा गर्ने प्रकाशनको विरोध गरेर उनीहरू पानीमाथिको ओभानो बन्छन्।
शुक्रवार ती सामान्य मानिसका लागि ज्ञान र विशुद्ध मनोरञ्जनको त्यस्तो प्याकेज हो, जो घण्टाको पन्ध्रबीस रुपैयाँ तिरेर साइबर क्याफे जाने र आत्मरति गर्ने आर्थिक क्षमता राख्दैनन्। यो मनोरञ्जन र ज्ञानका ती भोका पाठकहरूको साप्ताहिक खुराक हो, जो संसारका विभिन्न सेन्टरबाट चिप्ला कागजमा छापिएर प्रकाशित हुने महँगा विदेशी म्यागजिन किनेर पढ्न सक्दैनन्। यो त्यस्ता मानिसहरूको पत्रिका हो, जसले उनीहरूसँगको अन्तर्वार्ता र उनीहरूको अभिव्यक्ति प्रकाशित गरेर ज्ञानको ढोका खोलिदिएको छ। गरिब र सीमित आयस्रोत हुने व्यक्तिहरूको मनोरञ्जनको चासो लिएको छ शुक्रवारले। त्यसैले पनि, सरकारका संस्था र एकथरी मानिस सामान्य जनताका बीच अत्यधिक लोकप्रिय हुँदै गएको शुक्रवारको घाँटी निमोठ्न व्यर्थको वकवाद गर्दै हिँडेका छन्। यसका पछाडि पत्रकारिताको संसारमा देखिने इर्ष्या, द्वेष, दम्भ सबैथोक छ।
नैतिक मान्यता भनेको समय सँगसँगै बदलिने कुरा हो। बहुल संस्कृतिको हाम्रो नेपाली समाजमा संस्कृतिपिच्छे नैतिक र सामाजिक मान्यता फरक छन्। कुनै समाजमा चलेको चलन अर्को समाजलाई मान्य हुँदैन। यसैगरी बदलिँदै छ, फेसनको दुनियाँ। हजुरआमाको पालामा नातिनीहरूको घाँघर-सुरुवाल 'शरीरको कुनै पनि अंग गाडीबाट बाहिर ननिकाल्नुहोला' भन्ने सूचनाजस्तो देखिन्थ्यो। तर, आज समय फरक भएको छ। आजका नातिनीहरूको फेसन देखेर नेपाली आत्माहरू आकाशबाट आँशु चुहाउँदैछन् होला। नेपाली समाजको आवरणमात्रै होइन, सम्पूर्ण स्वरूप नै बदलिइसकेको अहिलेको अवस्थामा नैतिक मूल्यका नाममा पत्रकारिताको पिठ्यँमा कोर्रा चलाउन खोज्नु धृष्टतामात्रै हो। यसले देश कतै अधिनायकतावादी मानसिकताबाट दमित भइरहेको त छैन भन्ने प्रश्न उठाएको छ। हामीले यति कुरा बुझ्नुपर्छ- जति छोप्यो, त्यति नै बढ्छ कुण्ठा र विकृति। समाज जति खुल्न सक्छ, त्यति नै अघि बढ्न सक्छ। बन्धन र बाध्यतामा विकास हुँदैन।