Monday, August 25, 2014

सर्प नेपालभरि छन्, दबाइ भारतबाट ल्याउनुपर्छ यसरी बनाउन सकिन्छ नेपालमै सर्पदंशको औषधि - onlinekhabar



कमल मादेन

बिराटनगरका प्रेम बिष्ट सर्प समाउन नाम चलेका व्यक्ति हुन् । उनी ‘इकोलोजिकल कन्जरभेसन नेपाल’ नामक संस्थाका अध्यक्ष पनि हुन् । सर्प जतिसुकै विषालु किन नहोस्, उनले नाङ्गो हातले बिना औजार सजिलै समात्छन् । त्यो उनको कला हो । उनले बिराटनगर आसपासका क्षेत्रमा सयौं विषालु सर्प समाएका छन् ।

कसैको घरमा सर्प पसेको देखियो भने बिष्टले तुरुन्त खबर पाउँछन् । उनी हतार-हतार सर्प समाउन जान्छन् । उनले घरका मानिसलाई भयमुक्त मात्र गर्दैनन्, घरमा पसेको सर्पलाई समेत उद्धार गर्छन् ।

बिष्टले सर्पलाई पहिले कतै टाढा लगेर छाड्थे । तर, हिजोआज घरमै पाल्न थालेका छन् । बिष्टको यो कामबाट बिराटनगरबासीले ठूलो गुण मानेका छन् ।

गोमनले टोक्दा झण्डै प्राणान्त

यिनै प्रेम बिष्ट गत साउनमा सिन्धुली पुगेका थिए । एक सर्पदंश उपचार केन्द्रको अनुरोधमा उनले सिन्धुलीमा केही विषालु सर्पहरु समाए । बिष्ट श्रावण १५ गते एउटा गोमन सर्प आफ्नो झोलामा हालेर मोरङ फर्किए ।

बिष्ट मोटरसाइकल पछाडि थिए । साथमा झोलाभित्र गोमन सर्प थियो । बाटामा खाल्डाखुल्डी प्रशस्तै थिए । उनी चढेको मोटरसाइकल खाल्डोमा उफ्रियो । त्यसक्रममा बिष्टले पाखुरामा चिसिक्क गरेको अनुभव गरे । खाल्डोमा परेर मोटरसाइकल उफ्रँदा गोमनलेे बिष्टलाई झोला भित्रैबाट डस्न भ्याएछ ।






सिन्धुलीकै एक सर्पदंश उपचार केन्द्रमा बिष्टलाई १४ स्नेक एन्टिभेनम् भाइल दिइयो । त्यतिबेलासम्म बिष्टको स्थिति ठीकै थियो । उपचार केन्द्रका कर्मचारीले उपचारका क्रममा भेन्टिलेटर आवश्यक पर्न सक्छ भनेर बिष्टलाई वीपी अस्पताल धरान लैजान राम्रो हुने बताए । बिष्टलाई तुरुन्तै धरान लगियो ।

अस्पताल पुुर्‍याउँदा बिष्टको मुखबाट र्‍याल आइरहेको थियो । आँखा उघार्न सकिरहेका थिएनन् । हात खुट्टा अररा हुँदै गइरहेका थिए । वीपी अस्पतालमा ३६ स्नेक एन्टिभेनम् भाइल थपियो । बिष्टको ज्यान जोगियो ।

स्नेक एन्टिभेनम् भाइल

सर्पदंशको उपचारमा प्रयोग गरिने औषधि नै स्नेक एन्टिभेनम् भाइल हो । त्यो सर्पकै बिषबाट बनाइन्छ । त्यो औषधि बनाउनका लागि सर्पको विष भेडा, घोडा, गधा, खच्चरलगायत जनावरको स्वस्थ शरीरमा लगाइन्छ । शुरुमा थोरै लगाइन्छ । बिषको असरले जनावर बिरामी हुन्छ । मर्दैन ।
त्यही जनावरमा केही महिनाको अन्तरालमा पहिलेभन्दा अलि बढी बिष लगाइन्छ । जनावर फेरि बिरामी हुन्छ । त्यो क्रम केहीपटक गरिन्छ । पछि जनावरलाई सर्पको विषले केही असर नगर्ने हुन्छ ।

सर्पको विष पचाएको जनावरको रगत झिकिन्छ । रगतबाट सेतो पदार्थ अर्थात प्लाज्मा आधुनिक प्रविधिबाट छुट्याइन्छ र त्यसलाई निश्चित तापक्रममा स्टोर गरिन्छ । त्यही हो – स्नेक एन्टिभेनम भाइल ।

गोमन सर्पले टोक्दा लगाइने स्नेक एन्टिभेनम भाइल गोमनकै विषबाट बनाइएको हुन्छ । करेत जातको सर्पले टोक्दा लगाइने स्नेक एन्टिभेनम करेतकै विषबाट बनाइएको हुन्छ । त्यसैगरी १ भन्दा बढी सर्प प्रजातिको विषबाट पनि स्नेक एन्टिभेनम भाइल बनाइन्छ ।

एकै किसिमको विषबाट बनेको एन्टिभेनमलाई ‘मोनोभलेन्ट’ भनिन्छ । दुई किसिमको विषबाट बनेको एन्टी भेनमलाई ‘डाईभलेन्ट’ र तीन वा तीनभन्दा बढी सर्पका प्रजातिको विषबाट बनेको एन्टी भेनमलाई ‘पोलीभलेन्ट’ भनिन्छ ।

नेपालमा औषधिको अभाव

नेपालमा स्नेक एन्टिभेनम् भाइल बन्दैन । त्यो भारतबाट आयात गरिन्छ । पत्रकार दीपक दाहालले एक दैनिक पत्रिकामा – ‘भारतले बेच्दैन, तेस्रो देशकाले निको हुँदैन’ शीर्षकमा यससम्बन्धी समाचार लेखेका थिए । नेपालमा पाइने बिषालु प्रजातिको सर्पदंशको टोकाइमा भारतीय कम्पनीका स्नेक एन्टिभेनम् भाइलले मात्र काम गर्छ ।

‘भारतले बेच्न नदिएपछि अघिल्लै वर्षदेखि नेपालमा सर्पदंशको भ्याक्सिन अभाव छ । स्नेक एन्टिभेनम् भाइलको बैकल्पिक व्यवस्थापन स्वास्थ्य बिभागमाथि चुनौति बनेको छ’ भनेर दाहालले लेखेका थिए ।

समाचार पुष्टि गर्न ‘गत वर्ष नै खोपको हाहाकार भएपछि केही बिरामीको अस्पताल आइपुगेर पनि उपचार नपाई मृत्यु भएको थियो’ भनेर जानकारी दिएका थिए ।

इपिडिमोयोलोजी तथा रोग नियन्त्रण माहाशाखा प्रमुख डा.बाबुराम मरासिनीले जनाएअनुसार असार महिनामा डब्लु.एच.ओ. ले ४ हजार प्रति स्नेक एन्टिभेनम् भाइल उक्त शाखालाई उपलब्ध गरायो । अन्य ६ हजारप्रति आउने क्रममा छ । स्नेक एन्टिभेनम् भाइलको अहिलेको मूल्य प्रति भाइल भारु ६ सय हो ।

नेपालका ९० प्रजातिका सर्प छन्

एक लेखअनुसार नेपालमा हालसम्म २२ सर्प प्रजाति विषालु पाइएका छन । विषरहित र विषसहितका गरी नेपालमा ९० प्रजातिका सर्पहरु सुचीकृत भएका छन् ।

इपिडिमोयोलोजी तथा रोग नियन्त्रण माहाशाखा टेकुका अनुसार मुलुकमा बर्षेनी झण्डै १२ हजार मान्छेलाई सर्पले टोक्छ, जसमध्ये २ हजारजतिलाई विषालु सर्पले टोकेको हुन्छ ।

उक्त शाखाले जनाए अनुसार सर्पदंश भएकामध्ये २ सयजतिको अस्पताल पुग्न नसकेर वा ढीलो पुगेको कारण मृत्युसमेत हुने गरेको छ । झापास्थित दमकको आम्दा अस्पतालमा ०७० साल जेठदेखि पुस महिनाभरि १ हजार २९ जना व्यक्ति सर्पदंश उपचारका निम्ति भर्ना भएका थिए । सबै बिरामी सकुशल घर फर्केको अस्पतालको दाबी छ ।

त्यसैगरी कोशी अञ्चल अस्पताल बिराटनगरमा ०६९ सालमा १ सय २९ जना सर्पदंश उपचारका निम्ति भर्ना भएको तथ्यांक अस्पतालको रजिष्टरमा देखिन्छ । तीमध्ये ५० जनालाई विषालु सर्पले टोकेको उल्लेख छ । उपचारका क्रममा ३ जनाको ज्यान गएको थियो ।

झापादेखि कञ्चनपुरसम्म नेपाली सेनाका सहित करिब ३५ वटा सर्पदंश उपचार केन्द्र छन ।

सर्पले टोकेका लक्षणहरु

गोमनजस्ता विषालु सर्पले टोक्दा केही मिनेटपछि नै विष फैलावको लक्षण देखा पर्छ । बिरामीले आँखा उघार्न सक्दैन । मुख बन्द हुन्छ । बिरामीले मुखबाट जिब्रो बाहिर निकाल्न सक्दैन । पानी निल्न असजिलो हुन्छ । स्वास फेर्न गार्‍हो हुन्छ । हात खुट्टाका मांशपेशी चल्न गार्‍हो हुन्छ । मुखबाट र्‍याल निस्कन्छ । उल्टी आउला जस्तो हुन्छ ।

करेत सर्पले अक्सर राति सुतेका बेला टोक्छ । करेतको विष चाँडै फैलँदैन । बिहान पेट दुख्छ, आँखा उघार्न गार्‍हो हुन्छ । तराईमा करेत सर्पको टोकाइबाट अभिभावकले थाहै नपाई अक्सर केटाकेटीहरु मर्ने गर्छन् ।

सर्पले टोक्नेवित्तिकै मृत्यु हुने भयले बिरामीमा विष फैलिसकेको भ्रम पर्दछ । यसले गर्दा विष नफैलिई नै बिरामी सिथिल हुने गर्छन्, जसले गर्दा विष कति फैलिएको छ भन्ने अनुमान गर्न उपचारकर्तालाई असजिलो हुन्छ ।

भाइपर समुहका सर्पले टोक्दा धेरै रक्तश्राव हुन्छ । विष फैलिएको प्रारम्भिक लक्षणस्वरुव पीडितको गिजाबाट रगत बग्छ । गम्भीर विषक्तताका बेला त जुनसुकै ठाउँबाट रगत बग्न थाल्छ । जस्तो, छालाभित्र, आँखामा, पेटभित्र, टाउकाको भित्रपट्ट िअथवा मष्तिष्कमा रक्तश्राव हुन सक्छ ।

उपचार पद्दति

सर्पदंशका पीडितमा विषको लक्षण देखिएको छैन भने २४ घण्टा अवलोकन गर्ने गरिन्छ । बिषको लक्षण देखा परेन भने थप केही समय राख्ने अथवा पीडितलाई डिस्चार्ज गर्ने गरिन्छ । विषको लक्षण देखा परेको छ भने स्नेक एन्टिभेनम् भाइल दिन शुरु गरिन्छ । स्नेक एन्टिभेनम् भाइल सर्पको विषका निम्ति एकमात्र औषधि हो ।

गोमन सर्पले डसेको हो भने गोमन सर्पकै विषबाट बनाइएको स्नेक एन्टिभेनम् भाइल प्रयोग गर्नु राम्रो हो । त्यस्तो स्नेक एन्टिभेनम नहुँदा ‘पोलीभलेन्ट’ लगाउने गरिन्छ । त्यो लाभदायक भए पनि स्वास्थ्यका लागि हानीकारक हुन सक्छ ।

नेपालमा सबैमा प्रयोग गरिने स्नेक एन्टिभेनम् भाइल ‘पोलीभलेन्ट’ नै हो । त्यो ‘पोलीभलेन्ट’ करेत, कमन कोब्रा र २ भाइपर सर्प प्रजातिको विष समि्रश्रण गरी बनाइएको हुन्छ । त्यो स्नेक एन्टिभेनम् भाइलले उल्लेखित ४ सर्प प्रजातिले टोकेको अवस्थामा उपयोगी सिद्ध हुन्छ । तर, पाँचौं प्रजातिको सर्पले टोकेको हो भने त्यो स्नेक एन्टिभेनम् भाइलले काम नगर्ने संभावना बढी हुन्छ र बिरामीको मृत्यु हुन सक्छ ।

कुनै बिरामी समयमै अस्पताल पुर्‍याई स्नेक एन्टिभेनम् भाइल प्रयोग गर्दागर्दै मृत्यु भयो भने त्योे ‘पोलीभलेन्ट’ ले काम नगरेको हो । अर्थात त्यो सर्प प्रजाति अनुसार स्नेक एन्टिभेनम् भाइल प्रयोग नभएर हो ।

ठूला अस्पतालभन्दा सर्पदंश केन्द्र नै ठीक

सर्पदंशका निम्ति ठूला अस्पतालभन्दा सर्पदंश उपचार केन्द्रमै उपचार गर्न ठीक हुन्छ । अस्पतालमा अनावश्यक स्नेक एन्टिभेनम् भाइल प्रयोग गर्ने गरेको पाइन्छ ।

कोशी अञ्चल अस्पतालमा एक बिरामीलाई १ सय भाइल चढाएको रेकर्ड छ । वीपी अस्पताल धरानमा समेत सावधानीपूर्वक उपचार गरेको पाइएन । प्रेम बिष्टलाई सिन्धुलीमै १४ भाइल चढाइएको थियो । धरानमा थप २० भाइल जति चढाउँदा बिष्टको अवस्था सुधि्रएकै थियो । तर, लगातार थप ३६ भाइल चढाइयो । त्यसपछि बिरामीे ठीक भएजस्तो देखिएर फेरि लल्याक-लुलुक भए ।

सर्प सम्बन्धी अध्ययन गर्दै आएका स्नातकोत्तर क्याम्पस बिराटनगरका उप- प्राध्यापक कुलप्रसाद लिम्बुले स्नेक एन्टिभेनम् भाइल बढी भयो भन्दा मात्रै डाक्टरले बन्द गरेका थिए ।

यसको असर बिष्टमा देखियो । शरीरका केही भाग सुन्नियो । जसले गर्दा उनले ओछ्यानमा हप्तौं बिताउनुपर्‍यो ।

सर्पले टोकेपछि ध्यान दिनुपर्ने कुराहरु

सर्पले टोक्दा पीडितमा अत्यधीक मृत्युको भय फैलिन्छ, जसले गर्दा बिष फैलिएर भन्दा पनि डरकै कारणले पीडितको मृत्यु हुन सक्छ । त्यसैले पीडितलाई नजिक रहेका व्यक्तिले शान्त्वना दिनु पर्छ । केही हँुदैन, विष चाँडै फैलँदैन, फैलिहाले पनि उपचारपछि नियन्त्रण हुन्छ भनेर सम्झाउनुपर्छ ।

जानकारहरुका अनुसार प्राथमिक उपचारका निम्ति सर्वप्रथम सर्पले डसेको हात वा खुट्टालाई हलचल हुन दिनुहुँदैन । पीडितलाई ढल्काएर आरामसँग राख्नुपर्छ । काम्रो लगाएर भए पनि डसेको भाग हल्लिन दिनु हुँदैन । डोरीले कहिल्यै बाँध्नु हुदैन । बाँधिएका कारण नशामा प्रेसर पर्छ र झन चाँडो विष फैलन्छ । अर्कोतिर डोरीले बाँधेपछि हातखुट्टा नै काम नलाग्ने हुनसक्छ ।

त्यसैगरी पीडित आँफै कुदेर अस्पताल वा सर्पदंश उपचार केन्द्रमा जानु हुँदैन । कसैको सहारामा आरामसँग जानुपर्छ ।

सर्पदंशमा पीडितलाई औसत २५ स्नेक एन्टिभेनम् भाइल दिइनुपर्ने हो । बढी प्रयोग गरिनुले औषधिको क्वालिटी शंका गर्ने पर्ने हुन्छ । स्नेक एन्टिभेनम् भाइललाई क्वालिटी परीक्षण गर्न (फर्माको भिजिलियन टेष्ट) आवश्यक छ ।

स्नेक एन्टिभेनम् भाइल बढी प्रयोग भए पीडितमा के कस्तो असर पर्छ भन्ने पनि अनुसन्धान हुनु आवश्यक छ । नेपालमा डाक्टरहरु त्यसप्रति अनभिज्ञ छन् ।

नेपालमै औषधि बनाउन सकिन्छ

नेपालमा स्नेक एन्टिभेनम् भाइल उत्पादन गर्न सकिन्छ । त्यसका निम्ति स्नेक एन्टिभेनम् भाइल कार्यमा संलग्न भई सेवानिवृत्त भएका भारतीय नागरिक वा अन्यबाट त्यो कार्य अघि बढाउन सकिन्छ । घोडा तराई, पहाड, हिमाल जताततै बाँच्न सक्छ ।

सर्पको विष प्रेम बिष्टले पालेका सर्पहरुबाट लिन सकिन्छ । ऐन कानुनको आवश्यकता परे संविधानसभाका युवा सभासदहरुले त्यसप्रति ध्यान दिन जरुरी छ । आज नेपाललाई खाँचो पर्दै आएको स्नेक एन्टिभेनम् भाइल भोलि नेपालले विश्वलाई बेच्न सक्छ ।












Friday, August 8, 2014

मोदी सम्मोहनको अर्को पाटो - आनन्दस्वरुप वर्मा - ekantipur

ananda swarup

सायदै कुनै मुलुकको समग्र नेतृत्व यसरी हीनताबोधको सिकार हुन्छ होला, जसरी मोदीको यात्रा क्रममा नेपालमा देख्न पाइयो। संविधानसभा भवनमा मोदीले भाषण गरिरहँदा एक किसिमको जादुयी सम्मोहनमा डुबेका सभासदहरू हतप्रभ देखिन्थे। उनीहरूले कहिल्यै कल्पना पनि गरेका थिएनन्, आफ्नो दबदबाले आक्रान्त राख्ने 'विस्तारवादी' भारतका कुनै पनि प्रधानमन्त्रीले यस्तो माया-ममताको कुरा उनीहरूसँग गर्न सक्छन् भनेर। उनीहरूमध्ये अधिकांशले नरेन्द्र मोदीलाई पहिलोपटक आफ्ना अगाडि प्रत्यक्ष देख्दै थिए र पहिलोपटक नै सुन्दै थिए। त्यो नरेन्द्र मोदी जसका बारे यावत आशंकाहरू व्याप्त थिए: के उनले फेरि नेपाललाई हिन्दु राष्ट्रका रूपमा देख्न चाहन्छन्? के उनको आँखा कर्णाली नदीमा छ? के उनले नेपालमा बढ्दै गरेको चिनियाँ प्रभावबारे चिन्ता व्यक्त गर्छन्? आदि-इत्यादि। मोदीले उनीहरूको आशंका विपरीत त्यस्तो केही गरेनन्, जबकि उनको नेपाल यात्राको मुख्य ध्येय नै नेपालमा बढ्दै गरेको चिनियाँ प्रभावलाई रोक्नु र नदी तथा जलसम्झौताहरूलाई आफ्नो अनुकूल बनाउने बाटो तय गर्नु थियो। उनी जुन संघ सम्प्रदायदेखि आएका हुन्, त्यसको एउटा घटक विश्व हिन्दु परिषद्का नेता अशोक सिंघलले पूर्वराजा ज्ञानेन्द्रलाई 'हिन्दु हृदय सम्राट' भनेका थिए। अरु कुरा त छाड्नुस, मोदीको पार्टी भाजपाको हालैसम्म अध्यक्ष रहेका गृहमन्त्री राजनाथसिंह सहित सबै प्रमुख नेताहरूले कुनै न कुनै समय नेपाल हिन्दु राष्ट्र हुन नसकेकोमा दुःख व्यक्त गर्दै नेपाललाई पुरानो गौरव पुनः प्राप्त होस् भन्ने कामना गरेका छन्। तर मोदीले यस विषयमा केही बोलेनन् र उल्टै 'संघीय लोकतान्त्रिक गणतन्त्र'प्रति पुरै आदरभाव दर्शाउँदै राजावादीहरूलाई निराश पारिदिए।
मोदीले आफ्नो भाषणको लगभग तीन चौथाइ समय नेपालीहरूको गौरवगानमा खर्चिए। उनले भने, 'हिन्दुस्तानले त्यस्तो कुनै पनि लडाइँमा विजय प्राप्त गरेका छैनन्, जुन विजयमा नेपालीहरूको रगत नबगेको होस्।' भाडाका सैनिकहरूको रूपमा नेपाली गोर्खा सैनिकलाई विश्वभरि नै जुन 'कुख्याति' प्राप्त छ, त्यसमा प्रचण्डजस्ता मानिसहरूले थपडी पिटेको देख्दा हैरान परिन्छ। मोदीको दुईदिने भ्रमणलाई समग्रमा हेर्ने हो भने यस्तो लाग्छ- कुनै हिन्दु राष्ट्रको प्रधानमन्त्री अर्को हिन्दु राष्ट्रमा गएको छ। उनको भाषणको सम्पूर्ण 'अन्डरटोन' धार्मिक आग्रहहरूले भरिएको थियो।
एमाले नेता माधव नेपालले तिरुपतिको मन्दिरमा टाउको खुइल्याउनुदेखि लिएर माओवादी नेता अमिक शेरचनले देवीलाई राँगोको बलि दिनेसम्मका घटनाहरूदेखि अनभिज्ञ नरहेका मोदीलाई विश्वास छ कि प्रचण्ड, बाबुराम र यिनीजस्ता केही नेताहरूलाई छोड्ने हो भने यहाँका कम्युनिष्टहरूलाई पनि धर्मको अफिम चटाउनु असाध्यै सजिलो छ। मोदीले यस मानसिकताको पुरापुर लाभ उठाए। उनले आफ्नो भाषणमा सोमनाथको भूमिदेखि हिँडेर काशी विश्वनाथको छत्रछायामा राष्ट्रिय राजनीति थालेको र पशुपतिनाथको चरणमा आइपुगेको बताए। उनले स्मरण गराए कि काशीको प्रतिनिधि हुनुका नाताले नेपालसँग उनको स्वतः नाता जोडिन पुगेको छ। 'किनभने काशीमा एउटा मन्दिर छ, जसमा नेपालका पुजारी हुन्छन् र नेपालको पशुपतिनाथ छ, जसमा हिन्दुस्तानको पुजारी हुन्छ,' मोदीले संसदमा भने।
उनले यो पनि स्मरण गराए कि हिन्दु धर्ममा पूज्य मानिने ५१ शक्तिपीठ हुन्छन्, जसमध्ये दुई नेपालमै पर्छन्। उनले जनकपुरको भूमिलाई स्मरण गरे, जहाँ सीतामाता जन्मेकी थिइन्। सम्पूर्ण दुनियाँमा गणेशको मूर्तिलाई दूध ख्वाउन माहिर संघी प्रचारतन्त्रले बडो सुनियोजित ढंगले भारतमा प्रचार गरिरहेको छ कि मोदीले अबका २०-२५ वर्षसम्म त आरामले राज गर्नेछन् र नेपालजस्तो 'हल्लै-हल्लाको देश'मा यस प्रचारको प्रभावमा डुबेका सभासदहरूबीच मोदीप्रतिको अनुराग भावको कारण सजिलै बुझ्न सकिन्छ। उनीहरू भावविभोर र मन्त्रमुग्ध भएर मोदीको भाषण सुनिरहेका थिए। त्यसले सीमा त्यसबेला नाघ्यो, जब मोदीले भने, 'नेपाल एउटा सार्वभौम राष्ट्र हो।' सदन थपडीहरूको गडगडाहटले भरियो। यस्तो लाग्यो- भारतका प्रधानमन्त्रीको मुखबाट यो मीठो वाणी सुन्न उनीहरूका कान आतुर थिए। के उनीहरूलाई पहिलोचोटी यो कुराको बोध भयो कि नेपाल वास्तवमै एउटा सम्प्रभु राष्ट्र हो?
जतिबेला मोदीको खुट्टा काठमाडौंको धरतीमा पर्‍यो, उनको स्वागत हेर्दा यस्तो अनुभूति हुन्थ्यो, मानौं अंग्रेज शासनकालमा महारानी भिक्टोरिया भारत भ्रमणमा आएकी छन्। स्वयम् प्रधानमन्त्री सुशील कोइराला 'प्रोटोकल'को अवज्ञा गर्दै विमानस्थल जानु, सानदार 'गार्ड अफ अनर', १९ तोपको सलामी, संसदलाई सम्बोधनको अवसर दिइनु आदिले त्यही देखायो। मोदीले आफ्नो वाक्पटुता र भाषणशैलीले यस्तो सङ्गीतमय वातावरण सिर्जना गरिदिएका थिए कि लगभग २० मिनेटको भाषणपछि जब उनको हाउ-भाउ र 'बडी ल्याङग्वेज'मा एउटा उग्र आत्मविश्वासले प्रवेश गर्‍यो, त्यसलाई सभासदहरूले खुट्याउन सकेनन्। त्यसबेला उनी उपदेशको मुद्रामा आइसकेका थिए र भन्दै थिए- संविधान कस्तो हुन्छ र संविधान निर्माणमा कुन-कुन कुरालाई ध्यानमा राख्नुपर्छ।
मोदीले सभासदहरूलाई भन्दै थिए- आफ्नो नेतृत्वको परिचय दिनुस्, भारत तपाइहरूलाई साथ दिन्छ। त्यसपछि उनले 'हिट'को चमत्कारिक मन्त्र दिए- 'एच' अर्थात हाइवे, 'आई' अर्थात आइवे र 'टी' अर्थात् ट्रान्सपोर्टेसन वे। यहाँसम्म पुग्दा उनको शैलीमा यस्तो परिवर्तन आइसकेको थियो कि उनी नागाल्यान्ड अथवा मिजोरमजस्ता कुनै पिछडिएको राज्यको 'असेम्बली'मा गएर भाषण दिइरहेका छन्। यहाँसम्म पुग्दा उनले आफ्नो उपकार र उपहारहरूको झोला खोलिसकेका थिए र त्यसबाट झिक्दै एक-एक गरी बाँडिरहेका थिए। हिमालयमाथि अनुसन्धान गर्नेदेखि फोनको दर कम गर्ने, गरिबी विरुद्ध मिलेर लड्ने, नेपाली छात्रहरूलाई दिइने छात्रवृत्तिको संख्या बढाउने, महाकालीमा पुल बनाउने जस्ता वाचा गर्दागर्दै उनले समापनको रूपमा १० हजार करोड नेपाली रुपियाँ सजिलो दरमा ऋण दिने कुरा गरे।
मोदी वास्तविक मुद्दामा धेरै पछि केन्द्रित भए। तर माथिल्लो कर्णाली परियोजनाको उल्लेखसमेत गरेनन्, जसलाई लिएर नेपालमा निकै तनाव र आशंका छ। ९ सय मेगावाटको यस परियोजनामा जीएमआर नामक कम्पनीसँग २००८ मै 'एमओयु'मा हस्ताक्षर भइसकेको थियो, तर स्थानीय जनताको विरोधका कारण अझैसम्म काम सुरु हुनसकेको छैन। मोदीले त्रिशूली र सेती जलविद्युत परियोजनाको पनि उल्लेख गरेनन्। हाल ती परियोजनाहरूमा भारतलाई पछि पार्दै चीनले हत्याइसकेको छ। मोदीलाई थाहा छ- भारतसँग जोडिएका नेपालको जलविद्युत परियोजनाहरू नेपालका लागि कहिल्यै सन्चो नहुने घाउजस्तै हुन्। विगतमा गण्डकी र कोशी नदीहरूमा भारतसँग भएको सम्झौतापछि नेपाली जनताले ठगिएको महसुस गरेका छन्। सन् १९९७ मा महाकाली नदीसँग सम्बन्धित परियोजनाले त यति गम्भीर रूप लियो कि एमाले पार्टी विभाजनसमेत निम्तियो र कैयौं वर्षपछि मात्र पार्टी फेरि एक हुनसक्यो। निश्चय नै उनले पञ्चेश्वरसँग जोडिएको ५ हजार ६ सय मेगावाटको परियोजनाबारे उल्लेख गरे र १७ वर्षदेखि निर्माणकार्य हुन नसकेको परियोजनालाई एक वर्षभित्र काम थाल्ने वाचा गरे।
मोदी भ्रमणको सबैभन्दा विडम्बनापूर्ण अंश त्यो थियो, जतिबेला उनले हिंसा र अहिंसाको कुरा गरे। उनले सदनमा सहभागी तिनलाई बधाई दिए, जसले 'शस्त्र छाडेर शास्त्रका सहयोगले जीवनलाई फेर्ने' बाटो अपनाएका छन्। उनीहरूको प्रशंसा गरे, जसले युद्ध छाडेर बुद्धको शरणमा जानु नै वेश ठाने र यस सन्दर्भमा उनीहरूको प्रयासलाई सम्राट अशोकसँग जोडे। मोदीको संकेत नेपालका माओवादीतर्फ थियो र यो नै पहिलो क्षण थियो, जब भाषणको यस सन्दर्भमा प्रचण्ड र बाबुराम भट्टराईको हात मेचमा ठोक्किनुको सट्टा एक ठाउँमै अडिएका थिए र मुहारमा मुस्कानको सट्टा तनावले ठाउँ ओगटेको देखिन्थ्यो।
युद्ध र बुद्धका विषयमा मोदीले लामो प्रवचन दिए- पाखण्डपूर्ण प्रवचन। सायद उनले भुले, नेपालका जनतालाई पनि सन् २००२ को गुजरातको उनको अतीत थाहा छ। युद्धदेखि बुद्धतर्फ जाने कुरा गर्ने यिनै व्यक्तिले हालै आफ्नो रक्षा उत्पादनको क्षेत्रमा ४९ देखि ७५ प्रतिशतसम्म प्रत्यक्ष विदेशी निवेशको अनुमति दिएका छन्। यसबाट जुन हातहतियार निर्माण हुन्छ, त्यसले कुन बुद्धको निर्माण गर्छ? रक्षा उत्पादनका क्षेत्रमा पुँजी निवेशका लागि ब्रिटेन, फ्रान्स र इजराइलका जुन कम्पनीहरू आतुर देखिएका छन्, के तिनीहरूले एउटा सीमापछि मुनाफा कमाउन यी हतियारलाई संघर्षरत क्षेत्रहरूमा बेच्ने छैनन्? यो कुरा कसैसँग लुकेको छैन, हतियारका मुनाफाखोर व्यापारीहरू कसरी दुनियाँका विभिन्न संसदहरूमा आफ्ना प्रतिनिधि नियुक्त गर्छन्, जसले संघर्षका नयाँ-नयाँ क्षेत्रहरू बनाउन सकुन, जसले गर्दा तिनका हतियारहरूको खपत बढोस्। त्यस स्थितिमा के भारतले कहिल्यै पनि चाहन्छ होला- यस उपमहाद्विपका मुलुकहरूमा शान्ति कायम होस्? जब तपाई स्वयम् यसलाई बढावा दिँदै हुनुहुन्छ भने युद्ध र बुद्धको यो कस्तो पाखण्ड हो?
नरेन्द्र मोदीले आफ्नो यात्राको मिति धेरै विचार पुर्‍याएर तय गरेका थिए। साउनको त्यो सोमबार, जुन दिन शिवको मूर्तिमा जल चढाउने गरिन्छ। देशको सर्वश्रेष्ठ काँवरियाको हैसियतमा पुगेको धर्मनिरपेक्ष मुलुकको प्रधानमन्त्री जुन भेषभूषामा सोमबार पशुपतिनाथ मन्दिरमा प्रकट भए, त्यसले उनले एक दिनअघि दिएको भाषणको उदारता र उदात्त भावनाको पर्दाफास हुन एकक्षण पनि लागेन। आउने दिनले नै भन्नेछ- प्रधानमन्त्री मोदीका यी मीठा वचन, प्रवचन र सुभाषितहरू तथा नेपालको जलसम्पदामा लोभी आँखाहरूले हेरिरहेका भारतका कर्पोरेट घरानाहरूबीच कस्तो खाले सम्बन्ध कायम हुन गइरहेको छ।
नेपाली मामिलाका जानकार वर्मा भारतीय पत्रकार हुन्।

सुनकोसीका अन्धविश्वासी किस्सा - pahilopost

पहिरोको असर। फोटोः कञ्चन अधिकारी

आफु भागेर बाँचेका दिनेश नेपालीले भने, ‘सबैजना गाई काटेकोले र नाग मारेकोले भगवानले सजाय दिएको भन्छन्, खै के पत्याउने! के नपत्याउने!’

पहिलोपोस्ट-
सिन्धुपाल्चोक : माङ्खा गाविसको जुरेमा गएको पहिरोका प्राविधिक कारणहरुलाई छोडेर स्थानीयका किस्सा सुन्ने हो भने अनौठो लाग्न सक्छ। स्थानीयहरु यहाँको भौगोलिक बनौट, पहिलैदेखि चर्किँदै गएको जमिनका बारेमा एकै शब्द बोल्दैनन्। स्थानीयले भन्ने गरेका किस्साले हाम्रो समाजको अन्धविश्वास झल्काउँछ।

किस्सा १: नागपञ्चमीका दिन नाग मारिएको थियो त्यति ठूलो पहिरो जानुको मुल कारण स्थानीयले नागपञ्चमीको दिन नाग मारेकोले हो भन्ने किस्सा घटनास्थल वरपर हरेकले भन्छन्। नागपञ्चमीका दिन स्थानीय एकजनाको घरमा नाग पसेको थियो। उनका साना छोरालाई नागले टोक्नसक्ने भन्दै उनले कोदालोले हिर्काएर नाग मारेका थिए। नागपञ्चमी कै भोलिपल्ट अर्थात् २ बजे राति विशाल पहिरो गयो।

नाग मार्नेको पारिवार मात्र हैन पहिरोले पूरै गाउँ नै सखाप पार्‍यो। ड्यामसाइट र पहिरो खसेको स्थानको बीचमा कोदारी राजमार्ग मै घर भएका इश्वरीलाल श्रेष्ठ भन्छन्, ‘ नागपञ्चमीका दिन दुईवटा नाग मारेकै हो। तामाङ बस्तीमा मारेको हो तर त्यसकै कारण पहिरो गएको हो कि होइन, थाहा छैन,’ उनले भने, ‘विगत पाँच बर्षदेखि सानो सानो गर्दै पहिरो गइरहेको थियो।‘

किस्सा २: एक वर्षअघि अजिंगर मारिएको थियो पहिरोको कारणको अर्को किस्सा अजिंगरमा गएर जोडिन्छ। चौताराबाट उद्दारका लागि शनिबारै घटनास्थल पुगेका र उद्दारमा खटिइरहेका एक सैनिकले भने, ‘स्थानीयहरुले बताएअनुसार पोहोर साल यही गाउँमा एउटा ठूलो अजिंगर मारेर १० केजी त बोसो निकालिएको थियो रे।‘ यो किस्सालाई माथ दिँदै स्थानीयहरुले अझ अगाडि बढेर भन्छन्, ‘कोसी थुनिएर ताल बनेको ठाउँमा पहेँलो रंगको एउटा बच्चाजस्तोको टाउको देखिन्छ। मान्छेको शव भनेर सेना डुंगा लिएर पुग्छ, तर त्यो गायब हुन्छ।‘

उनीहरु मारिएको अजिंगर भाले भएको र उसको पोथी अजिंगर अझै जिवित भएको विश्वास गर्छन्। त्यही बाँचेको पोथी अजिंगरले आफ्ना बच्चा खोजिरहेको बताउँछन्। तर उद्दार कार्यमा खटिएको सेनाले यसलाई पुष्टि गर्दैन। ‘एकपटक मान्छेको शवजस्तो केही देखिएको हो, तर त्यो काठ नि हुनसक्छ, जुन पानीमा डुब्दै तैरिँदै गर्छ,’ उद्दारमा खटिएका एक सैनिकले बताए।

किस्सा ३: ब्याउने गाई काटिएको थियो पहिरो गएको माथिल्लो बस्ती तामाङ बस्ती हो। तौथली ड्यामसाइटका बासिन्दाका अनुसार माओवादी जनयुद्दताका यो तामाङबस्ती माओवादीको ‘सेल्टर एरिया’ थियो। त्यतिबेलादेखि नै तामाङबस्तीमा गाई काटेर खाने क्रम बढेको थियो। घटनाको ६ महिना अघि तामाङ बस्तीमा ब्याउने गाई काटेको कारण नै पहिरोको कारण हो भन्छन् स्थानीय। पहिरोमा घर गुमाएका तर आफु भागेर बाँचेका दिनेश नेपालीले भने, ‘सबैजना गाई काटेकोले र नाग मारेकोले भगवानले सजाय दिएको भन्छन्, खै के पत्याउने! के नपत्याउने!’

किस्सा ४: वरिपरीका घर बगे तर मन्दिर बगेन अन्धविश्वासका किस्सा अझै सकिँदैनन्। स्थानीयहरु ड्यामसाइट पुग्ने जोसुकैलाई किस्सा सुनाउन व्यस्त देखिन्छन्। पहिरोले गाउँ नै सखाप पार्दा स्थानीयबासीहरु कुन घर किन बगेन भनेर किस्सा हालिरहेका छन्। ड्याम साइटको किराना पसलमा बसेर केही अँधबैंसे युवकहरु विश्लेषण गर्दै थिए, ‘वल्लो घर नि बग्यो, पल्लो घर नि बग्यो तर दुई घरको बीचको सानो मन्दिरको एउटा बत्ती सम्म फुटेको छैन। दैवी शक्ति हुँदैन भनेर कसरी मान्नू।‘ पहिरो खस्दा गहिरो भागतिर बग्ने भएपनि एउटै स्तरमा रहेका अरु घर भत्केर मन्दिरमा कुनै क्षति नपुगेकोमा उनीहरु चकित परेका देखिन्थे।

किस्सा ५: माताजी बच्नु भो स्थानीयबासीहरु पहिरोमा कस्को घर भत्क्यो र कस्को बच्यो भन्ने हिसाब गर्दै उसले पहिला के भनेको थियोसम्म जोडेर किस्सा हाल्छन्। कोही एउटी माताले पहिले नै नागको पूजा गर्नु भनेकी तर गाउँलेले नमानेको किस्सा हाल्छन्। यो किस्साले भन्छ, ‘माताजीले सबै गाउँलेलाई नाग रिसाएको बताएकी थिइन्। गाउँलेले मानेनन्। पछि माताले आफ्नो घरको एउटा कुनामा नाग पूजा गर्ने ठाउँ बनाइन् र पूजा गरिन्। उनको घर त बचेन तर उनी घाइते भएर बचिन्।‘

किस्सा ६: भगवान काशी गए अझ ठूलो पहिरो जान्छ चौताराबाट पहिरो हेर्न पुगेका एकजनाले उद्दारका लागि खटिएका सैनिकसँग हालेको किस्सा झन् चाखलाग्दो छ। ‘यो ठाउँ नागको बस्ती हो। अजिंगर पनि त्यही नागको एक अंश हो।‘ उनले यति मात्र भनेनन्, थपे, ‘पशुपतिका मूल भट्टले बकिसके, यो ठाउँका मान्छेले नागलाई गरेको व्यवहारले नाग रिसाएका छन्। यी नाग काशी गए भने यो ठाउँमा अझै पहिरो जान्छ र केही पनि बाँकी रहँदैन।‘ सैनिकले ‘ए, हो !’ भनेर प्रतिक्रिया जनाउँदै गर्दा उनले थपे, ‘थाहा पाउनु भएन? भट्ट हेलिकोप्टरमा यो ठाउँ हेरेर गइसके। तपाइँहरुकै हेलिकोप्टर त चढेर आए होलान् नि !’ उनको कुरा सुनेर सैनिकले मुन्टो मात्र हल्लाए र भने, ‘खै, म हिजोदेखि मास्तिर गएकै छैन।‘

पहिरोबाट विस्थापित भएकाहरुलाई लामासाँघुमा राखिएको छ। परिवार गुमाएकाहरु शव फेला परेका र नपरेकाहरु काजकिरीया गर्दैछन्। पहिरो गएको स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी उत्खनन्‌ गरिरहेका छन्। यता किस्सा हाल्नेहरु चाहिँ तौथली ड्यामसाइटमा बसेर त्यहाँ पुग्ने नयाँ मानिसहरूलाई किस्सा सुनाइरहेका छन्। किस्सा हाल्नेमा स्थानीयबासी त अग्रपंक्तिमा छँदैछन्, सुरक्षाकर्मी पनि यसबाट अछुतो छैनन्।

सिन्धुपाल्चोकको जुरेमा शनिबार गएको पहिरोमा १ सय ५६ जनाले ज्यान गुमाए। मृत्यु हुनेमा मांखाका ड्याम, कागुने र इटनी बस्तीका १ सय २५, टेकानपुरका दाबी गाउँका २३ र राम्चेका ८ जना रहेको प्रहरी प्रमुख डिएसपी भरतबहादुर बोहराले बताएका छन्।

त्यस्तै पहिरोमा राम्चेका २ सय ७, मांखाका १ सय ९४, टेकानपुरका ४२ र धुस्कुन गाविसका ३४ गरी ४ सय ३६ घरपरिवार विस्थापित भएका छन्। शनिबार बिहान डेढ किलोमिटरमाथिबाट आएको मांखा कान्ले पहिरोले सुनकोसी नदी थुनिएको थियो।

Wednesday, August 6, 2014

५० करोड इमेल र ४ लाख वेबसाइटका डाटा चोरी रुसी ह्याकरले बनाए हैरान - onlinekhabar



रुसी हृयाकरको एक समूहले ५० करोड इमेल ठेगानाका लगभग सवा अर्ब युजर नेम र पासवर्ड हृयाक गरेको अमेरिकी इन्टरनेट सुरक्षा कम्पनी होल्ड सेक्यूरिटीले जनाएको छ ।

यो डाटा करीब चार लाख २० हजार वेबसाइटबाट चोरिएको हो, जसमा इन्टरनेट जगतका ठूला कम्पनीसमेत सबै प्रकारका वेबसाइटहरु छन् ।

होल्ड सेक्यूरिटीले भनेको छ- हृयाकरहरुले ठूला कम्पनीलाई मात्रै निशाना बनाएका छैनन्, साना वेबसाइटको पनि डाटा चोरिएको छ ।’ यद्यपि होल्ड सेक्यूरिटीले हृयाकिङबाट प्रभावित भएका कम्पनीको नाम भने सार्वजनिक गरेको छैन ।

यसअघि न्यूयोर्क टाइम्सले एक स्वतन्त्र इन्टरनेट सुरक्षा विशेषज्ञबाट चोरी भएको डाटाबेसको जाँच गराएको थियो, जसमा चोरीको दाबी पुष्टि भएको थियो ।

अर्का एक सुरक्षा विशेषज्ञले ठूला कम्पनीहरुलाई डाटाबेस चोरी भएको जानकारी आफूहरुसँग रहेको बताए । होल्ड सेक्यूरिटीले यो ठूलो डाटा चोरीको पत्ता लगाउन सात महिनासम्म अध्ययन गरेको बताएको छ ।

कम्पनीका अनुसार हृयाकरहरुले सबैभन्दा पहिले डाटाबेस हासिल गरे । त्यसपछि सामाजिक सञ्जाल, इमेल, सेवा र अन्य वेबसाइटमा स्पाम पठाएर डाटा चोरिएको छ ।

Tuesday, August 5, 2014

मोदी यात्रा : रमाइलो जात्रा - mysansar

vlcsnap-2014-08-04-19h24m58s194
भारतीय प्रधानमन्त्री दुई दिने नेपाल यात्रा सकाएर फर्किसके। यो यात्रा केहीका लागि भने रमाइलो जात्रा जस्तै भयो। पटक पटक आयोजना गरिएका भोजहरुमा सहभागी हुन पाए उनीहरु। हेरौँ दुई दिने यात्राका क्रममा आयोजित केही भोजहरुका फोटो। माथिको फोटो प्रधानमन्त्री सुशील कोइरालाले समकक्षी नरेन्द्र मोदीको सम्मानमा सोल्टी होटलमा आयोजना गरेको रात्रिभोजको हो। 
vlcsnap-2014-08-04-19h24m39s16
सोल्टीको रात्रिभोजमा उपप्रधानमन्त्री वामदेव गौतम।
vlcsnap-2014-08-04-19h24m29s152
ल है उपप्रधानमन्त्री गौतमले टिपे खानेकुरा।
vlcsnap-2014-08-04-19h23m25s22
यो चाहिँ सोमबार राष्ट्रपति भवनमा आयोजित लन्चसहितको कार्यक्रमको हो। नेताहरु उपस्थित थिए यहाँ। मोदी परिचय गर्दैछन्। पछाडि देखिएकी महिला पात्र चाहिँ राष्ट्रपति पुत्री हुन्।
vlcsnap-2014-08-04-19h23m18s217
vlcsnap-2014-08-04-19h22m48s178
भारतीय प्रधानमन्त्रीलाई परिचय गराउँदै छन् हाम्रा राष्ट्रपति रामवरण यादव।
vlcsnap-2014-08-04-19h22m37s73
नेपाली नेताहरुसँग परिचय गर्दै मोदी।
vlcsnap-2014-08-04-19h22m16s113
मोदीले प्रचण्डसित हात मिलाएपछि काँधमा धाप मारे। प्रचण्ड चाहिँ हात कहाँ आयो भनेर हेर्दै।
vlcsnap-2014-08-04-19h22m09s27
धाप मार्नुअघि यसरी हात मिलाएका थिए मोदीले।
vlcsnap-2014-08-04-19h22m01s215
लोकेन्द्रबहादुर चन्दसित भेट्दै मोदी।
vlcsnap-2014-08-04-19h21m49s84
बाबुराम भट्टराई, कमल थापा. सभामुख सुवास नेम्वाङबीच कुराकानी।
vlcsnap-2014-08-04-19h21m10s216
प्रधान न्यायाधीशको गोजीमा के परेछ कुन्नि।
vlcsnap-2014-08-04-19h21m00s113
माधव नेपाल, उपेन्द्र यादव।
vlcsnap-2014-08-04-19h20m53s48
चित्रबहादुर केसी, विजयकुमार गच्छदार, कमल थापा, रामचन्द्र पौडेल।
vlcsnap-2014-08-04-19h20m36s131
vlcsnap-2014-08-04-19h20m24s14
एमाले अध्यक्ष केपी ओलीसित कुरा गर्दै बाबुराम भट्टराई।
vlcsnap-2014-08-04-19h20m18s202
तीन नेताका तीन पहिरन।
vlcsnap-2014-08-04-19h19m53s197
मोदी आउनुअघि नेताहरु कुरेको कुर्‍यै।
vlcsnap-2014-08-04-11h30m10s242
यो भारतीय राजदूतले होटल हयातमा आयोजना गरेको रिसेप्सनको फोटो। दूतावासले बोलाएका पाहुनाहरु आमन्त्रित थिए त्यहाँ।
vlcsnap-2014-08-04-11h29m29s73
vlcsnap-2014-08-04-11h27m02s159
आइतबार हयात होटलको रिसेप्सनमा बाबुराम भट्टराईलाई भेट्दै मोदी। त्यसको केही समयपछि सोल्टीमा रात्रिभोज भएको थियो। भोलिपल्ट फेरि राष्ट्रपति कार्यालयमा अर्को भोज।
vlcsnap-2014-08-04-11h26m42s213
हयात होटलको रिसेप्सनमा उपेन्द्र यादव, प्रधान सेनापति लगायत।
vlcsnap-2014-08-04-11h26m33s127
प्रचण्ड र सभामुख।
vlcsnap-2014-08-04-11h26m05s77
महिला पात्र थाहा भएन। उनी रामचन्द्र पौडेल र माधव नेपालको बीचमा बसेकी थिइन्। बायाँ छेउका भने प्रधान न्यायाधीश हुन्।
vlcsnap-2014-08-04-11h25m43s142
अन्नपूर्णका साहु रामेश्वर थापा, गगन थापा र विजय कुमार।
vlcsnap-2014-08-04-11h20m28s214
कान्तिपुरका साहु कैलाश सिरोहिया, आइएमईका साहु चन्द्र ढकाल लगायत।

साउदीमा मृत्युदण्ड दिइएकी शोभाको कथा - pahilopost


mainphoto
शोभाका बाबुआमा तथा नाबालक छोरा। फाइल फोटो: काठमाण्डू पोस्ट्
पहिलोपोस्ट -
पतिसँगको सम्बन्ध खासै राम्रो थिएन। छोरा पनि अपांग जन्मियो। तनहुँ भिमादस्थित हिमालय उच्च माविमा प्लस टु पढेकी शोभा परियारलाई जीविका चलाउनै गाह्रो हुन थाल्यो। जीवनमा दुःखैदुःख भोगेकी उनले  आफ्नै कमाइले परिवारमा सुख ल्याउने आशामा साउदी अरब जाने सोच बनाइन्। दुलेगौँडाका एजेन्ट कबिर वाक्स मियाँलाई रकम बुझाइन् र मुम्बई हुँदै तीन वर्षअघि पुगिन् अरब।

६० वर्ष पार गरेका बाबु भीमबहादुर र आमा बुद्धिसरालाई उनले साउदी जान लागेको बारे सुइँकोसमेत दिएकी थिइनन्। दलालले नै परिवारलाई 'जानकारी नदिनू है' भनेको हुनसक्छ।

तर विदेशको जीवन त्यति सजिलो भएन। यता श्रीमानले पनि दोस्रो विवाह गरे। उता उनले काम गर्ने ठाउँमा यातना खप्न सकिनन्।
गएको वर्ष साउन २ गते घरमा फोन गरी उनले भनिन्, 'मालिक र मालिक्नीले साह्रै यातना दिए। म यहाँ बस्नै सकिनँ। लौ न मलाई फर्काइदिनु पर्‍यो।'

वृद्धावस्थाका आमाबाबु चिन्तित भए। शोभालाई साउदी पठाउने एजेन्टसँग सल्लाह गरे। १९ हजार रुपियाँ माग्यो उसले। छोरीको ज्यानभन्दा पैसा ठूलो हैन। ऋणपान गरेर १९ हजार जोहो गरेर बुझाए।

तर छोरी फर्किनन्। गत वर्ष चैतमा अचानक शोभाले घरमा फोन गरेर भनिन्, 'घर मालिकका दुई वर्षको छोरो मेरो हातबाट मर्न पुग्यो। तर धन्दा नमान्नुस्, अहिले म जेलमा भए पनि साहुले वैशाखसम्म नेपाल फर्काइदिन्छु भनेर औँठाछापसहितको कागजात बनाइसके।'

बाबुआमाले शोभालाई फर्काउन बुझाएको १९ हजार रुपियाँ बुझेको एजेन्ट मियाँलाई खोज्न थाले। तर मियाँ पनि गैरकानुनी रुपमा महिलालाई साउदी पठाउन खोजेको आरोपमा भैरहवाको जेलमा रहेछन्। 'म नै जेलमा छु, के गर्न सक्छु र' भनेपछि उनीहरु रुँदै घर फर्किए।

शोभाले फोनमा मृत्युदण्डबारे केही बताएकी थिइनन्। तर पत्रपत्रिकामा मृत्युदण्ड हुनसक्ने भन्दै समाचार आएपछि आमाबाबु दिनरात आँसुमा डुबे।

त्यसो भए पनि छोरीले म अब छिट्टै फर्कन्छु भनेकीले एउटा सानो आशा थियो। उनको जीवन रक्षा गर्न परिवारले राष्ट्रपति रामवरण यादवलाई सम्म गुहारे।

तर, अब जिउँदी शोभा मात्र हैन, लाश समेत नेपाल आउने स्थिति छैन। सोमबार साउदीको अररा जिल्लामा बिहान साढे १० बजे शिरछेदन गरेर उनलाई मृत्युदण्ड दिइयो। विक्षत उनको शवलाई नेपाल नपठाइ त्यहीँको परम्परा अनुसार गाडिएको छ।

नेपाली दूतावासका अनुसार शोभालाई मृत्युदण्डबाट बचाउन सक्दो प्रयास गरिएको हो। आफूमाथि भएको अत्याचारका कारण आवेशमा आउँदा यो घटना भएको जिकिर गर्दै सजाय कम गराउन र त्यहीँको कानुन अनुसार 'ब्लडमनी' लिन नेपाली दूतावासले गभर्नर तहसम्म प्रयास गर्‍यो।
तर मृतक बालकको परिवारले मानेन। तल्लो अदालतले गरेको फैसलालाई पुनरावेदन र सर्वोच्चले पनि सदर गरेपछि राजाको आदेशमा उनलाई मृत्युदण्ड दिइएको हो।

स्थानीय बालज्योति प्राविमा ५ कक्षामा अध्ययनरत शोभाका १२ वर्षका छोरा दिवसको जन्मजात ओठ फाटेको थियो। शल्यक्रियापछि ओठ पुरिएको छ तर आवाज स्पष्ट छैन।

अस्पष्ट आवाजमा उनले केही अघि पत्रकारहरुलाई भनेका थिए, ‘ममीले अस्ति फोनमा वैशाख अन्तिममा आउँछु भन्नुभएको छ। घर आउँदा साइकल ल्याइदिन भनेको छु।‘

उनलाई थाहा छैन, अब साइकल आउने छैन, न त उनकी ममी नै आउने छिन्। उनकी ममीको जीवनको साइकलको चेन चुँडिसकेको छ।

मंगल ग्रहमा अक्सिजन उत्पादन गरिने - onlinekhabar



अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगल ग्रहमा अक्सिजन उत्पादन गर्ने महत्वाकांक्षी योजना तय गरेको छ । सन् २०२१ मा मंगल ग्रहमा अवतरण गर्ने नासाको नयाँ रोवरले उक्त ग्रहमा जिवनदायिनी अक्सिजन ग्यास उत्पादन गर्ने कोसिस गर्नेछ ।


मंगलको उक्त स्वचालित यन्त्रले विभिन्न ७ वटा वैज्ञानिक परिक्षण सम्पन्न गर्नेछ जसको उद्देश्य भविष्यमा मंगल ग्रहमा मानिस पठाउनका लागि मार्ग प्रसस्त गर्नु हुनेछ । साथै मंगल ग्रहमा जिवको अस्तित्व रहेको प्रमाण खोज्नुका साथै पृथ्वीमा ल्याउनका लागि चट्टानका नमूनाहरु समेत जम्मा गर्नेछ ।
मंगल ग्रहमा पर्याप्त मात्रामा रहेको कार्वनडाइअक्साइडलाई अक्सिजनमा बदल्ने उपकरण समेत यी परीक्षण मध्ये एक हुनेछ ।
रोबर सँगै मंगल ग्रहमा एक अर्को ४० किलो तौलको उपकरण समेत पठाइनेछ जसमा दुइवटा क्यामरा रहनेछन् र मौसम परीक्षण सम्बन्धि उपकरण समेत रहनेछ ।
अमेरिकाको वासिंटन डिसीमा मंगल २०२० अभियान घोषणा गर्दै नासाका प्रशासकीय अधिकृत जोन ग्रसफेल्डले उक्त दिन एक रोमाञ्चक दिन हुने बताए ।


मंगल ग्रहमा पठाइने रोवरको तौल झण्डै १ टनको हुनेछ र सो निर्माण गर्न १ अर्ब ९० करोड अमेरिकी डलर खर्च लाग्नेछ । सन् २०१२ मा मंगल ग्रहमा पठाइएको क्युरोसिटी रोवर जस्तै तरिकाले उक्त रोवर निर्माण गरिने बताइएको छ । यद्यपि क्यरोसिटीमा भन्दा यसमा कम उपकरण लादेर पठाइने र बँचेको ठाउँलाई मंगल ग्रहका चट्टान जम्मा गर्नमा प्रयोग गरिनेछ ।
स्मरण रहोस् नासाको विद्यमान अन्तरीक्ष यानले समेत अक्सिजन निर्माण गर्न सक्छ तर उक्त रोवरले पहिलोपटक मंगलग्रहको वातावरणमा अक्सिजन उत्पादन गर्नेछ ।

विश्वका सबैभन्दा मनमोहक १० पुलहरु (फोटोफिचर सहित) - onlinekhabar





पुलको काम यात्रालाई सहज गर्नु नै हो । तर विश्वमा कतिपय यस्ता पुल छन् जसको उपादेयता केवल यात्रा गर्नुमा मात्र छैन । ती पुलहरु साँच्चीकै मनमोहक र ऐतिहासिक पनि छन् । ती पुलमा यात्रा गर्दा मात्र होइन देख्दै र हेर्दैमा पनि वाह नभिनरहन सकिँदैन । चिनिया संचार माध्यम सिन्ह्वाले चिनिया प्रणय दिवको अवसर पारेर विश्वका उत्कृष्ट १० पुलहरुको सूचि तयार पारेको छ ।



ठूलो नदिको वारी र पारि बस्ने मायालुलाई भेट गराउनका लागि लाखौँ मैना चरीको बथान एक आपसमा जोडिएर पुल बनाइदिएको र प्रणय जोडीको मिलन गराइदिएको किम्बदन्ती अनुसार चिनिया प्रणय दिवस मनाइन्छ । त्यो किम्बदन्तीको युगमा सायद पुल थिएनन् र यसरी चराले पुल बनाइदिएका होला्न मानिसलाई । तर अहिले विश्वमा निकै अत्याधुनिक पुल समेत बनिरहेका छन् समुद्र वारपार गर्ने गरी । त्यसैले यो युगमा अब पुलको अभावमा मायालुहरु भेट गर्न बाट बञ्चित हुनु परोइन । विश्वका यी पुलहरु साँच्चीकै विशेष छन् र संजोग मिलेमा मायालु जोडीहरु जानैपर्ने खालका छन् ।