Tuesday, April 30, 2013

आँप खाँदाका फाइदै फाइदा - onlinekhabar

आँपलाई फलको राजा पनि भनिन्छ । नभनियोस् पनि किन ? खाँदा निकै स्वादिलो लाग्ने र सम्भिmँदै मुख रसाउने यो फल मिठो मात्र होइन निकै गुनिलो पनि छ । आपमा हानिकारक स्याचुरेटेड फ्याट, कोलेस्टेरोल तथा सोडियमको मात्रा निकै कम हुन्छ । साथै यसमा फाइबर, भिटामिन बी, भिटामिन ए तथा भिटामिन सी प्रसस्तै पाइन्छ । आप खानुका अनेक स्वास्थ्यबर्धक फाइदा छन् । निकै दुब्लो तथा ख्याउटे भएर चिन्तित भएकाहरुका लागि पनि आँप लाभदायक हुन्छ र यसले वजन बढाउन समेत सहयोग गर्छ ।
images
आँपमा पोटासियम, म्याग्नेसियम तथा कपर जस्ता खनिज लवण प्रचुर मात्रामा पाइन्छ । साथै क्वारसिटिन, बिटाक्यारोटिन र एस्ट्राग्यालिन जस्ता सरीरलाई आवश्यक पर्ने पोषक तत्वहरु पनि आँपमा पाइन्छन् । यो एन्टी अक्सिडेन्ट तत्वको मुख्य श्रोत पनि हो जसले सरीरमा कोषको क्षयिकरण रोक्छ र शारीरिक तन्दुरुस्ती बढाउँछ । आँपको नियमित सेवनले हृदय सम्बन्धि रोग, छिटै बुढ्यौली देखिने समस्या, क्यान्सर जस्ता स्वास्थ्य समस्या समेत कम हुने विज्ञहरु बताउँछन् ।
आँपमा घुलनशील फाइबर पेक्टिन पाइन्छ जसले रगतमा कोलेस्टेरोलको मात्रा कम गर्ने र ग्रन्थीमा हुने क्यान्सरबाट समेत बताउँछ ।
आपको सेवन मोटाउन चाहनेहरुका लागि समेत सहयोगी हुन्छ । आँपमा प्रसस्तै क्यालोरी पाइन्छ । आँपमा स्टार्च पनि पाइन्छ जो सरीरमा सजिलै चिनीमा परिणत हुन्छ ।
अपच तथा अम्लपना जस्ता समस्या हटाउन पनि आपको सेवन लाभदायक हुन्छ ।
रक्तअल्पता भएका विरामीहरुले आँपको नियमित सेवन गर्नु फाइदाजनक हुन्छ । गर्भवती महिलाहरुका लागि आँपको सेवन निकै फाइदाजनक हुन्छ । आँपमा प्रसस्तै आइरन पाइन्छ ।
पाकेको आँपको गुदी अनुहारमा लगाएर केही समयपछि पखाल्ने क्रिया नियमित रुपमा गरेमा अनुहारमा डण्डिफोर आउने समस्या कम हुन्छ ।
आँपमा भिटामिन बी ६ प्रसस्त मात्रामा पाइन्छ । जसले मस्तिष्कको कार्यप्रणालीलाई दुरुस्त बनाउँछ र स्मरणशक्ति पनि बढाउँछ ।
सरीरको रोग प्रतिरोधी क्षमता बढाउन पनि आँपको सेवन फलदायी हुन्छ ।
पाकेको आँपमा भिटामिन ए प्रसस्त पाइने भएकाले यो आँखाको लागि समेत निकै फाइदाजनक हुन्छ ।
आँपमा भिटामिन इ समेत पाइने भएकाले व्यक्तिको यौन क्षमता बढाउन समेत आँपको सेवन उपयोगी हुन्छ ।

यस्तो हुनेछ एप्पलको नयाँ मुख्यालय (फोटोफिचर सहित) - onlinekhabar

आइफोन निर्माता कम्पनी एप्पलको इतिहास खासै पुरानो छैन । स्टिभ जब्सले आफ्ना साथी स्टिभ बोज्नियाकसँग मिलेर आफ्नै बुवाको ग्यारेजमा स्थापना गरेको एप्पल कम्पनीले सन् १९७६ को अपि्रल १ का दिन आफ्नो पहिलो प्रडक्ट एप्पल वान कम्प्युटर निर्माण गरेको थियो । एप्पल वान ६६६.६६ डलरमा बिकेको थियो र लगत्तै स्थानीय बजारमा थप ५० वटा कम्प्युटरको माग आएको थियो ।
1
बुवाको ग्यारेजमा स्टिभले सुरु गरेको एप्पल आर्थिक अवस्था सुरुवाती दिनमा निकै दयनीय थियो र कम्प्युटर निर्माण गर्न जब्सले आफ्नो गाडि नै बेचिदिएका थिए । तर कम्प्युटरको दुनियामा नयाँ आयाम थप्दै आफुलाई स्थापित गर्न सफल भएपछि एप्पल कम्पनी सन् १९८५ मा आइपुग्दा २ अर्ब डलर मूल्य बराबरको कम्पनी बनिसकेको थियो । अहिले एप्पल कम्पनी विश्वको सबैभन्दा मूल्यवान कम्पनीको दोश्रो स्थानमा छ र यसका प्रडक्टहरु विश्वव्यापी रुपमै निकै रुचाइएका छन् ।
2
अरबौँ डलर सम्पत्ति भएको एप्पलले आफ्नो शान झल्काउन निकै भव्य मुख्यालय बनाउने योजना अघि सारेको छ र यसको रुपरेखा पनि सार्वजनिक भैसकेको अवस्था छ । यद्यपि अन्तरीक्षयान जस्तो रुपरेखामा बन्ने त्यो आलिशान महलको निर्माण कार्य सुरु भने भैसकेको छैन । क्यालिफोर्नियाको कुपर्टिनोमा बन्ने उक्त भवन ५ अर्ब डलरको लगानीमा बन्नेछ । २८ लाख वर्गफिट क्षेत्रफलमा यो भवन रहनेछ ।
4

टुप्पीले झुण्डिएर नदी तर्न खोज्दा स्टन्टम्यानको मृत्यु - onlinekhabar

टुप्पीको मद्दतले झुण्डिएर नदी पार गर्ने क्रमममा गिनीज वर्ल्ड रेकर्डधारी स्टन्टम्यान शैलेन्द्रनाथ रायको मृत्यु भएको छ ।
stunt manउनी सिलिगुडी नजिकैको सीवोक कोरोनेशन बि्रजको टिस्टा नदी पार गर्ने प्रयासमा थिए । ४ सय फिट लामो केबल ७५ फिट उचाई थियो र राय घिर्नीमा आफ्नो टुप्पी बाँधेर नदी पार गर्ने प्रयासमा थिए ।
उनको स्टन्ट आफ्नो क्यामरामा कैद गर्न आएका स्थानीय फोटो ग्राफर बलाई सुत्रधारका अनुसार करिव ३ सय फिट दुरी पारे गरेपछि राय अडि्कए । उनले निस्कने निकै कोशिश पनि गरे । झण्डै ३० मिनेटसम्म अडि्एपछि उनको शरीर चल्न छाडेको प्रत्यक्षदर्शीले बताएका छन् ।
त्यसपछि उद्दार गरेर अस्पताल पुर्‍याइएपनि चिकित्सकहरुले मृतृ घोषणा गरेका थिए । स्टन्टका लागि राय स्वयंमले नदीमा डोरी टाँगेका थिए । सुरक्षाका लागि उनले लाइफ ज्याकेट लगाएका थिए, तर डाक्टर र आपतकालीन सेवाको कुनै व्यवस्था गरिएको थिएन ।
उनले यसअघि राजस्थानको अलवर जिल्लाको नीमराणामा आफ्नो कपाललाई तारमा बाँधेर २ सय ७० फिटको दुरी पारे गरेका थिए भने दार्जलिङमा ट्रेनलाई २.५ किलोमिटरसम्म तानेका थिए ।

एमाले र एमाओवादीले देखाए निर्वाचन आयोगमा बालहठ ! 'मुन्ना जहाँ खडा है, वही से लाईन सुरु होता है' ! - onlinekhabar

निर्वाचन आयोगले दल दर्ताका लागि दरखास्त आह्वान गरेको पहिलो दिन नै निर्वाचन आयोग परिसरमा दलहरुवीच झगडा शुरु भएको छ । झगडाको विषय ठूलो छैन, एमाले  र एमाओवादीवीच पहिले को आएको हो र कसले पहिले दर्ता गर्ने भन्ने सानो कुरामा ठूलो भगडा चर्किएको छ । केटाकेटीहरुले म पहिले भनेर झगडा गरेजसरी सामान्य विषयमा हात हालाहालको अवस्था आएपछि दल दर्ताका लागि आयोग कार्यालय पुगेका अन्य दलहरु समेत अन्यौलमा पर्नुपरेको छ ।
आयोगको झगडा सम्बन्धमा एमाले सचिव शंकर पोखरेलको तर्क यस्तो छ- ‘दल दर्ताको लाईनमा नेकपा(एमाले) पहिलो भए पछि एनेकपा (माओवादी) ले ‘मुन्ना जहाँ खडा होता है वही से लाईन सुरु होता है’ को शैलीमा आफुलाई पहिलो नम्वरमा दर्ता गर्नु पर्ने माग अघि सारे पछि निर्वाचन आयोगमा दल दर्ताको प्रकृया नै अघि वढ्न सकिरहेको छैन । कस्तो विडम्वना ।’
निर्वाचन आयोगले दल दर्ता खुलाएकै दिन मंगलबार बिहानैदेखि आयोग परिसरमा दलका नेताहरुको जमघट देखिएको छ । nepal-election-commissionएकीकृत नेकपा माओवादी र नेकपा एमालेका नेताहरु दर्ताको लागि आयोग कार्यालय पुगेका हुन् । अरु दल पनि दर्ताको लागि आयोग कार्यालय जाने तयारीमा छन् ।
 दल दर्ताका लागि एमाओवादीवाट उपाध्यक्ष डा. बाबुराम भट्टराई, महासचिव पोष्टवहादुर बोगटी, एमालेवाट उपाध्यक्षद्वय बामदेव गौतम र विद्यादेवी भण्डारी र अग्नि खरेल निर्वाचन आयोग पुगेका छन् ।यस्तै नेपाली काँग्रेस, राप्रपा नेपाल, राप्रपा लगायतका दलका प्रतिनिधिहरु पनि दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । दल दर्ताका लागि को पहिला पुगेको भन्ने विषयमा एमाओवादी र एमालेवीच विबाद भएको हो । विवाद बढेपछि दुवै दलका कार्यकर्तालाई प्रहरीले निर्वाचन आयोग परिसरवाट बाहिर निकालेको छ ।
विवादपछि आयोगका पदाधिकारीहरु प्रक्रियालाई रोकेर आकस्मिक बैठकमा जुटेका छन् । हठ त्याग्न एमाले र एमाओवादीका नेतालाई आग्रह गर्दा पनि हठ नत्यागेपछि आयोग अन्यौलमा परेको हो । आयोगले बिहान ९ बजेदेखि दल दर्ता शुरु हुने  भनिएपनि  निर्वाचन  आयोगमा को पहिला  पुगेको हो भन्ने विषयमा एकीकृत माओवादी र एमालेवीच विवाद भएपछि अझै दर्ता प्रक्रिया सुरू हुन सकेको छैन ।  दर्ताको काम आउँदो जेठ १५ गतेसम्म सञ्चालन हुनेछ । दल दर्ताको क्रममा नयाँ दलले १० हजार हस्ताक्षर बुझाउनुपर्ने हुन्छ ।
दल दर्ताको लागि के के चाहिन्छ ?
· राजनीतिक दलको नाम र सो दलको प्रधान कार्यालय रहने ठेगाना,
· राजनीतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको केन्द्रीय स्तरको समितिका सदस्य तथा अन्य पदाधिकारीको नाम र ठेगाना,
· राजनीतिक दलको आय श्रोतको कोष र सो जुटाउने स्रोतको विवरण ।
दर्ताका लागि निवेदन दिने राजनैतिक दलले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १४२ को उपधारा (३) द्वारा निर्धारित देहायका शर्तहरु पूरा गरेको वा पूरा गर्ने कबोल गर्नु पर्नेछ : -
राजनैतिक दलको विधान वा नियमावलीमा भएको लोकतान्त्रिक व्यवस्था वा विधान वा नियमावलीमा गर्ने लोकतान्त्रिक व्यवस्था,
राजनीतिक दलको विधान वा नियमावलीमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलका प्रत्येक तहका पदाधिकारीहरुको निर्वाचन हुने व्यवस्था,
राजनीतिक दलको विभिन्न स्तरका कार्यकारिणी समितिमा महिला, दलित लगायत उपेक्षित र उत्पीडित क्षेत्रका सदस्यहरु समेत रहने समावेशी व्यवस्था,
राजनीतिक दलको विधानमा दलका सदस्यहरुलाई अनुशासित तुल्याउने प्रभावकारी व्यवस्था ।
· दर्ताको लागि दिइने निवेदनमा राजनीतिक दलले देहायका विवरणहरु संलग्न गर्नु पर्नेछ :-
(क) विधान,
(ख) घोषणापत्र,
(ग) नियमावली,
(घ) झण्डा,
(ङ) चिन्ह,
(च) केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको केन्द्रीय स्तरको समितिका पदाधिकारीहरुको नेपाली नागरिकताको प्रमाणपत्रको छाँयाप्रति,
(छ) सम्वत् २०६४ सालमा निर्वाचित तत्कालीन संविधान सभामा प्रतिनिधित्व गरेको भए सो प्रमाणित हुने लिखत,
र (ज) केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको सभापति वा महामन्त्री वा सो सरहका पदाधिकारीले राजनीतिक दल दर्ता गर्न निवेदन दिने व्यक्तिलाई दिएको अधिकार पत्र ।
· निवेदन दिने राजनीतिक दलमध्ये सम्वत् २०६४ सालमा निर्वाचित तत्कालीन संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरुबाहेक अन्य राजनीतिक दलहरुले कम्तीमा दश हजार मतदाताहरुको समर्थन सहितको हस्ताक्षरयुक्त निवेदन पेश गर्नु पर्नेछ ।
· कुनै राजनीतिक दलको सदस्यता प्राप्त गर्न केवल धर्म, जात, जाति भाषा वा लिङ्गको आधारमा नेपाली नागरिक उपर भेदभावपूर्ण बन्देज लगाइएको वा कुनै राजनीतिक दलको नाम, उद्देश्य, चिन्ह वा झण्डा मुलुकको धार्मिक वा साम्प्रदायिक एकतालाई खलल पार्ने वा मुलुकलाई विखण्डित गर्ने प्रकृतिको वा त्यस्तो दलको विधान वा नियमावलीमा निर्दलीय वा एकदलीय व्यवस्था सम्बर्धन र संरक्षण गर्ने उद्देश्य रहेछ भने नेपालको अन्तरिम संविधान, २०६३ को धारा १४२ को उपदफा (४) बमोजिम यस आयोगले त्यस्तो राजनीतिक दललाई दर्ता गर्ने छैन ।
· निर्वाचन प्रयोजनको लागि यस आयोगबाट मान्यता प्राप्त गर्न चाहने प्रत्येक राजनैतिक दलले यस आयोगद्वारा निर्धारण गरिएको कार्यविधि पूरा गरी यस आयोगमा दर्ता गराउनु पर्नेछ । यस आयोगबाट निर्धारण गरिएको म्याद भित्र दर्ताको लागि निवेदन नदिने राजनीतिक दललाई निर्वाचन प्रयोजनको लागि मान्यता दिइने छैन ।
· निर्वाचन प्रयोजनको लागि यस आयोगमा दर्ता नहुने राजनीतिक दलले दलको हैसियतमा निर्वाचनमा भाग लिन पाउने छैन ।

Monday, April 29, 2013

तालिम पूरा गरेपछि पूर्व माओवादी लडाकु सिपाहीदेखि महासेनानीसम्म - nagariknews


तालिम पूरा गरेपछि पूर्व माओवादी लडाकु सिपाहीदेखि महासेनानीसम्म
काठमाडौं - नेपाली सेनाले अहिले तालिममा रहेका एक हजार चार सय ४४ पूर्व माओवादी लडाकुको दर्जा निर्धारण गरेको छ। जसअनुसार उनीहरूले सिपाहीदेखि महासेनानीसम्मको दर्जा पाउने भएका छन्। गत फागुन ३० को मन्त्रिपरिषद निर्णयअनुसार सेनाले ७१ जनालाई अधिकृत, ५६ जनालाई पदिक र एकहजार तीन सय ३३ लाई अन्य दर्जामा समायोजन गर्ने व्यवस्था गरेको छ।
'विभिन्न निर्णयले निर्दिष्ट गरेबमोजिम समायोजनमा सम्मिलित तालिमरत पूर्व माओवादी लडाकुको दर्जा निर्धारण गरिएको छ,' दर्जा निर्धारण सम्बन्धमा आइतबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रवक्ता सहायक रथी सुरेश शर्माले भने, 'अनमिनको प्रमाणित तह र प्रवेश मितिलाई आधार मानी समायोजनमा जाने हरेक पूर्व लडाकुको तहअनुसार ज्येष्ठताक्रम निर्धारण हुन्छ।'
शर्माका अनुसार आधारभूत तालिम पूरा भएपछि उनीहरूलाई तीनमहिने 'ब्रिजिङ कोर्स' मा समावेश गरिनेछ। त्यसपछि अन्य दर्जाको हकमा सिपाहीदेखि सुबेदारसम्म र अधिकृतको हकमा उपसेनानीदेखि सेनानीसम्मको दर्जा प्रदान गरिनेछ।
अधिकृतको हकमा सैनिक प्रतिष्ठान, खरिपाटीबाट पासआउट भएपछि सबैलाई आयुक्त पद प्रदान गरी उपसेनानी दर्जा दिने योजना सेनाको छ। दर्जा प्रदान गरेपछि सम्पूर्ण अधिकृतलाई तीनमहिने ब्रिजिङ कोर्समा समावेश गरिनेछ।
पूर्व लडाकुलाई गत मंसिर १० बाट सेनाले तालिम दिन सुरु गरेको हो। अधिकृत तहकालाई ९ महिना र अन्यलाई ७ महिने तालिम निर्धारण गरिएको थियो। तालिम सकिएपछि सबैलाई ब्रिजिङ कोर्समा राखिनेछ।
'ब्रिजिङ कोर्सअन्तर्गत पहिलो चरणको ६ हप्ते तालिममा सबै अधिकृतलाई समावेश गरिनेछ,' प्रवक्ता शर्माले भने, '६ हप्ता पूरा भएपछि २५ जना उपसेनानी दर्जाका अधिकृतलाई मात्र थप ६ हप्ताकोे पेसासम्बन्धी ज्ञान, सम्बन्धित निर्देशनालयको जिम्मेवारी र भूमिकाबारे तालिम सञ्चालन गराइनेछ।'
थप तालिममा नपर्ने ४६ जनालाई सम्बन्धित निर्देशनालयको जिम्मेवारी र भूमिकासम्बन्धी तालिम दिई ज्येष्ठताका आधारमा ३० जना सहसेनानी र १६ जना अधिकृतलाई सेनानी दर्जा प्रदान गरी युनिटहरूमा पठाइनेछ।
'१६ सेनानीमध्येबाट दुई जनालाई प्रमुख सेनानी र एक जनालाई महासेनानी दर्जा प्रदान गरिन्छ। तीनमहिने ब्रिजिङ कोर्स पूरा भएपछि र प्रमुख तथा महासेनानी दर्जा प्रदान गर्नुअघि उनीहरूलाई चार महिना गणपति तालिम दिइनेछ। त्यसपछि मात्र उनीहरूलाई प्रमुख सेनानी र महासेनानीमा पदोन्नति गरिनेछ,' नेपाली सेनाको युद्धकार्य निर्देशनालयका निर्देशक हरिबहादुर बस्नेतले भने।
अधिकृतबाहेक अन्य दर्जाको निमित्त पनि सेनाले पूर्व लडाकुको तह र ज्येष्ठताक्रम निर्धारण गरेको छ। दर्जा र ज्येष्ठताक्रम अनुसार पूर्व माओवादी लडाकुमध्ये सुबेदार १४, जमदार ४२, हुद्दा १ सय ७०, अमल्दार १ सय ९३, प्युठ १ सय ८० र सिपाही ७ सय ९० रहनेछन्।
समायोजन तालिम पूरा गरेकामध्ये सिपाही दर्जा पाएका व्यक्तिलाई सम्बन्धित युनिटमा हाजिर हुन पठाइने सेनाले जनाएको छ। अधिकृतबाहेक अन्य दर्जाका व्यक्तिलाई पनि तीनमहिनेे दर्जा विशेष तालिम दिइनेछ।
'समायोजनमा आएका पूर्व लडाकुको दर्जा निर्धारण गर्दा नेपाल सरकार, मन्त्रिपरिषदको निर्णय, अनमिनको प्रमाणित तह र प्रवेश मितिको ज्येष्ठताक्रम अनुसार भएको छ,' प्रवक्ता शर्माले भने, 'तालिमपछि तोकिएको दर्ज्यानी एकपटक मिलान भइसकेपछि सकल दर्जाको पदोन्नति प्रचलित सैनिक सेवाको पदमा नियुक्ति र बढुवा गर्दा अपनाउनुपर्ने सामान्य सिद्धान्त र सैनिक नियमावलीबमोजिम हुनेछ।'
१ हजार ४ सय ४४ पूर्व माओवादी लडाकुसहित कुल ५ हजार ६ सय १५ जना जनशक्ति रहने सेनाको नयाँ महानिर्देशनालयको नेतृत्व उपरथी रामकृष्ण रेग्मीले गर्नेछन्।

युएन मिसनमा जान योग्य
सेनाले समायोजन रोजी तालिमरत पूर्व माओवादी लडाकु संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान पाउने बताएको छ। तालिम सकी दर्ज्यानी चिह्न पाएपछि लडाकु शान्ति मिसनमा जान योग्य हुने सेनाले बतायो।
'नेपाली सेनामा आएपछि लडाकु राष्ट्रसंघको शान्ति मिसनमा जान योग्य हुन्छन्,' युद्धकार्य निर्देशनालयका निर्देशक हरिबहादुर बस्नेतले भने, 'नेपाली सेनामा सेवा गरेको ६ वर्ष पूरा गरेपछि मात्र राष्ट्रसंघको शान्ति मिसनमा जान पाइन्छ।'
राष्ट्रसंघको शान्ति मिसनमा जाँदा लडाकुको सेवाअवधि समायोजनमा आएपछिको गनिने वा माओवादी सेनामा प्रवेश गर्दाको मितिबाट गनिने भन्नेबारे पनि उनले स्पष्ट बताएनन्।

डिजिटल पेमेन्टको पहुँच सर्वसाधरणवीच पुर्याउन इ–सेवा जोनको सुरुवात, आखिर यो कारोवार हुन्छ कसरी ? - bizmandu

नेपालमा डिजिटल पेमेन्ट सेवा प्रदान गर्दै आएको कम्पनी इ–सेवाले सर्वसाधरणको पहुँच बढाउन ‘इ–सेवा जोन’को सुरुवात गरेको छ । नयाँ व्यवस्थापछि ‘इ–सेवा’का प्रयोगकर्ताले बैंक खाता नभए पनि कम्पनीका सेवा उपयोगमा ल्याउन सक्नेछन् । यसअघि यी सुविधा उपयोगमा ल्याउन प्रयोगकर्तासँग बैंक खाताको आवश्यकता पर्दथ्यो, अब ‘इ–सेवा जोन’ अन्र्तगत बैंक खाताको आवश्यकता पर्ने छैन्, फोन– पेका प्रमुख कार्यकारी अधिकृत असगर अलीले जानकारि दिए । उनले भने, यसका लागि कम्पनीले आफ्नो सञ्जाल विस्तार गरिरहेको छ ।


सोमवार इ-सेवा जोनको लोगो सार्वजनिक गर्दै इ-सेवा टीम

कम्पनीले यसका लागि देशभर एजेण्ट सञ्जाल विस्तार गर्दैछ, पहिलो चरणमा काठमाडौंमा तीन वटा सुपर एजेण्ट र देशभर सय एजेण्टको सञ्जाल बनाएका छौं, प्रमुख कार्यकारी अधिकृत अलीले भने, आगामी दुई महिना भित्र हामीसँग काठमाडौंमा दश सुपर एजेण्ट हुनेछन्, देशभर एक हजार एजेण्ट हुनेछन्, र प्रत्येक जिल्लामा कम्तिमा पनि तीन एजेण्ट बनाइनेछ, त्यसपछि पनि कम्पनीले सञ्जाल विस्तारलाई अझ बढाउनेछ । यो बर्षको अन्त्यमा देशभर एजेन्ट सञ्जाल विस्तार गरि हाल डेढ लाख रहेको इ सेवाका ग्राहक ६० लाख माथि पु¥याउने कम्पनीको लक्ष्य छ ।
इ–सेवाका एजेण्टाले ‘कस्टमर रजिष्ट्रेशन’ गर्नेछन् र इ–सेवामा आवद्ध उपभोक्तालाई नगद ‘टप अप’को सुविधा दिनेछन्, एक जनालाई इ–सेवाको सदस्य बनाएवापत एजेण्टले १५ देखि २० रुपैयाँ प्राप्त गर्नेछ, तर त्यसका लागि सदस्यले रकम भने दिनु पर्नेछैन्, यो रकम कम्पनीका तर्फबाट एजेण्टलाई प्रदान गरिने प्रमुख कार्यकारी अधिकृत अलीले जानकारि दिए । एजेण्टले आफूसँग भएको बैंक खाताबाट इ–सेवाका रजिष्ट्रड सदस्यलाई रकम ‘टप अप’ गर्नेछ । यसरी टप–अप गर्दा एजेण्टको बैंक खाताबाट रकम सदस्यको इ–सेवामा रहेको खातामा सर्नेछ । यो रकमलाई सदस्यले इ–सेवामार्फत विभिन्न अत्यावसकिय सेवा र वस्तुको खरिद गरेर उपयोगमा ल्याउन सक्नेछन् ।
सञ्जाल बढेसँगै इ–सेवाले वस्तु तथा सेवा विक्रीस्थलमा आफ्नो उपस्थिति पनि बढाउनेछ । यी स्थलमा कम्पनीले मोवाइल पिओएस मेशिन जडान गरिदिनेछ । वस्तु तथा सेवा विक्रीस्थलको संख्या बढाउन प्रोत्साहित गरेवापत इ–सेवाका एजेण्टलाई पाँच सय रुपैयाँ प्रदान गरिनेछ । यस्तो स्थानमा सेवा वा वस्तु खरिद गरेवापत इ–सेवाका सदस्यले आफ्नो खाताबाट रकम ट्रान्सफर गर्न सक्नेछन् ।
उपभोक्ताले कुनै पनि सेवा वा वस्तु खरिद गरेपछि नगद नबोके पनि भुक्तानी गर्न सक्छन् भन्ने अवधारणालाई हामी मूर्त रुप दिने प्रयासमा छौं, डिजिटल पेमेन्टमा इ–सेवाको प्रभावकारी उपस्थिति र सदस्यवीचको लोकप्रियताले त्यो सफल भएको पनि छ । त्यसलाई अझ प्रभावकारी बनाउन ‘इ–सेवा जोन’को अवधारणा आएको हो, कम्पनीले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष विश्वास ढकालले भने ।
कहाँ उपयोग गर्न सकिन्छ ?
मोवाइल र इन्टरनेट उपयोग गरी इ–सेवाका माध्यमबाट सर्वसाधरणले रकम आदान–प्रदान गर्न, विजुली, पानी, टेलिफोनको महसुल भक्तानी गर्न, मोवाइल रिचार्ज गर्न, इन्टरनेटको महसुल भक्तानी गर्न, हवाई टिकट खरिद गर्न, क्रेडिट कार्डमा रकम जम्मा गर्न, कलेज, स्कुलको शुल्क बुझाउन र बजारमा सपिङ्ग गर्न सक्छन् ।
उपभोक्तालाई फाइदा के हुन्छ ?
इ–सेवा उपयोगबाट उपभोक्ताले सेवा तथा वस्तु खरिद गर्दा नगद छुट पाउने छन् भने समयको बचत पनि हुनेछ । प्रमुख कार्यकारी अधिकृत अलीले भने, ई–सेवाको प्रयोगपछि विद्युत, टेलिफोन र खानेपानीको विल भुक्तानी गर्दा लामो लाइन झेल्नुपर्दैन्, इ–सेवाको आफ्नो खातामा रकम छ भने, मोवाइलमा डाउनलोड गरिएको इ–सेवाको एप्सबाट सहजै रकम भुक्तानी गर्न सकिन्छ ।
इ–सेवाबाट मोवाइलमा व्यालेन्स रिचार्ज गर्न पनि सकिन्छ, अध्यक्ष ढकालले भने अहिले रिचार्ज कार्ड, टप अप सेन्टरबाट नेपाल टेलिकमको व्यालेन्स रिचार्ज गरे सयमा सय व्यालेन्स ट्रान्सफर हुन्छ, तर इ–सेवाबाट रिचार्ज गरे ९७ रुपैयाँमा सय रुपैयाँको व्यालेन्स ट्रान्सफर हुन्छ, एक उपभोक्ताले औषतमा प्रति महिना तीन सय रुपैयाँको व्यालेन्स रिचार्ज गर्छ, महिनामा नौ रुपैयाँका दरले वर्षमा विनाकुनै शुल्क १०८ रुपैयाँ बचत गर्न सक्छ, अध्यक्ष ढकालले जानकारि दिए । उनले एनसेलमा समेत यसैगरी अन्यत्रभन्दा सस्तो मूल्यमा व्यालेन्स रिचार्ज गर्न सकिने बताए ।
इ–सेवाबाट हवाई, बस र केवल कारको टिकट पनि खरिद गर्न सकिन्छ, इ–सेवाबाट हवाई टिकट खरिद गरेमा कम्पनीले उपभोक्तालाई सात प्रतिशतसम्म छुट दिनेछ । अध्यक्ष ढकालले भने, तपाई बुद्ध, यतीको टिकट काउण्टरमा गएर टिकट काटे पनि सात प्रतिशत छुट पाउनुहुन्छ, इ–सेवाबाट पाउनुहुन्छ, उनले भने, तपाई वर्षमा दश हजारको टिकटमा सात सय रुपैयाँ बचत गर्न सक्नुहुन्छ ।
इ–सेवा उपयोग गरेर क्युएफएक्स वा बिगसिनेमाको टिकट पनि काट्न सकिन्छ । तपाईं सिनेमा हलमा अग्रिम टिकट बुक गर्न त सक्नुहुन्छ तर त्यो टिकट सिनेमा सुरु हुनुभन्दा एक वा आधा घण्टा अघि हलमा पुगेर लिनुपर्दछ, इसेवाबाट टिकट किने, सिनेमा सुरु हुनु पाँच मिनेट अघि हलमा पुगे हुन्छ, यसले तपाई समयको बचत पनि गर्न सक्नुहुन्छ, अध्यक्ष ढकालले जानकारी दिए ।
इ–सेवा कसरी सुरु गर्ने ?
इ सेवा एकाउन्ट खोल्न अंग्रेजी ‘आरइजी’ टाइप गरि २१२१ मा एसएमएस गर्न सकिन्छ । साथै इ–सेवाको एजेण्ट कहाँ गएर पनि तुरुन्तै एकाउन्ट खोल्न सकिन्छ । इन्टरनेट चलाउने सर्वसाधारले भने डब्लुडब्लुडब्लु डट इसेवा डट कम डट एनपीमा गएर पनि एकाउन्ट लग अन गर्न सक्नेछन् । इसेवाको एन्ड्रोइड, आईओएस एप्स समेत उपलब्ध छ, यी एप्स स्मार्टफोनमा डाउनलोड गरेपछि सजिलैसँग चलाउन सक्ने सुविधा उपलब्ध छ, कम्पनीका उपाध्यक्ष सुवास शर्माले भने, एप्स साधरण पढलेख गर्न सक्नेले समेत चलाउन सक्ने गरी विकास गरिएको छ ।
शुल्क कति लाग्छ ?
इसेवा उपयोग गरेर सेवा तथा वस्तु खरिदमा कुनै शुल्क लाग्दैन्, उपभोक्तालाई रजिष्टे«सन गर्न पनि शुल्क लाग्दैन्, इसेवाका सम्पूर्ण सुविधा निशुल्क छन्, बरु इसेवाको प्रयोगबाट उपभोक्ताले भने समय र पैसाको भने बचत गर्न सक्छन्, प्रमुख कार्यकारी अधिकृत अलीले बताए ।
त्यसो भए कसरी सञ्चालन हुन्छ कम्पनी ?
कम्पनी प्रविधिमा आधारित छ, यसकारण यसको लागत कम पर्दछ, नेपाल टेलिकमले हामीले चार प्रतिशत छुटमा व्यालेन्स उपलब्ध गराउँछ, त्यसको तीन प्रतिशत हामी उपभोक्तालाई फिर्ता गर्छौं, बाँकी एक प्रतिशत हाम्रा लागि राख्छौं, ढकालले पत्रकार सम्मेलनमा जानकारी दिए । हामीले ठूलो–ठूलो कारोवारबाट सानो–सानो मार्जिन राखेर कम्पनी चलाउँदै छौं, प्रविधिको प्रयोगले हाम्रो मात्र होइन् कम्पनीको पनि खर्च न्युन हुन्छ, घटेको खर्चको केही हिस्सा कम्पनी आफै राख्छ, केही हामी लिन्छौं, केही उपभोक्तालाई बाँड्छौं, उनले भने । विजुलीको बिल भुक्तानी लिन विद्युत प्राधिकरणले कर्मचारी राख्नुपर्यो, कार्यालय खडा गर्नुपर्यो, तर हामी सिधै उपभोक्तासँग लिएर कम्पनीको बैंक खातामा जम्मा गर्छौं, यसले सेवा तथा वस्तु बेच्ने कम्पनीको लागत पनि घटाउँछ ।
इसेवामा कहाँबाट जम्मा गर्ने पैसा ?
इसेवासँग टाइ–अप भएका २७ बैंक तथा वित्तीय संस्थामा खाता हुनेले सिधै इमेल, इन्टरनेटबाट इसेवामा रकम जम्मा गर्न सक्छन्, बैंक खाता नहुनेलाई एजेण्टकहाँ पुगेर टप अप गर्न सक्छन्, इ–सेवा जोनको अवधारणा यही कारण आएको हो, अलीले भने । एजेण्टको भने कम्पनीसँग साझेदारी भएका बैंकमा खाता हुनेछ, एजेण्टले इसेवा सदस्यको इसेवा खातामा रकम जम्मा गरेको कन्फर्मेशन आएपछि रकम तिरे हुन्छ, उनले भने, यो मोवाइल ‘टपअप’ गरेजस्तै हो ।

मृत्युको सट्टा दोस्रो बिहे रोजेँ - हरिबंश आचार्य - setopati


आजकै दिन म सधै मीराको जन्मदिन मनाउँथे । उनी रातो लुगामा सजिन्थिन् । मन खुसि हुन्थ्यो । र, आजै उनको दुई वर्षको पुण्यतिथिमा घरमा श्राद्ध थियो । जताततै पहेँलो । छोरो मोहित पहेँलो टिकामा भित्र–बाहिर गर्दा मीरालाई सम्झिएर मेरो मन भक्कानियो । मैले आफूलाई थाम्नै सकिनँ । भित्र कोठामा पसेँ । मनलागे जति रोएँ ।
त्यसैले आज खुसी र दुख दुबै छ मलाई । मिरा गुमाएको दु:ख छ । अहिले उदाएको पुस्तकको खुसि पनि । मेरो पुस्तकको लागि यहाँ यति धेरै व्यक्तिहरु आइदिनुभयो । मन त तपाईँहरु सबैलाई यहीँ अगाडि स्टेजमा राख्ने छ । तर, ठाउँ पुग्दैन । त्यसैले तपाईँ सबैलाई मैले मेरो हृदयमा राखेको छु । 
...
खास मलाई जन्मिन मनै थिएन । मेरो इच्छा नुहँदा नहुँदै म बुवाआमाको इन्टरेस्टमा जन्मिएँ । बेलाबेला लाग्छ म नजन्मिएकै भए हुन्थ्यो । त्यसमाथि पनि चेतनशील भए पछि झन् यो संसारमा जिउन झन् गाह्रो छ । जन्मिँदा जन्मिएकामा पीर हुर्कँदै गएपछि पढ्न नसकेकोमा पीर, एसएससी दिने बेला पास नभइएला भन्ने पीर, प्रेममा पर्न थालेपछि बिहे नहुँदै प्रेमिकाले छोड्ली भन्ने पीर, विवाह भएपछि छोरा छोरी जन्मिएनन् भन्ने पीर, जन्मिएपछि जन्मिएकामा पीर' सधैँ पीरै पीर ।
त्यसैले मलाई लाग्छ मानिस भन्दा त चेतना नभएको पशु हुनै वेश रहेछ । 
तर, सम्झिँ ल्याउँदा पशुलाई पनि कहाँ सजिलो छ र ।
मृग भनेको अवोध प्राणी हो । त्यसले कसैको केही बिगार्दैन । त्यो भेजिटेरियन हो । अरु कुनै जनावरको केही बिगार्दैन । घाँस खान्छ । उफ्रि हिँड्छ । नबिराउनु, नडराउनु भन्छन् । तर, मृगले केही नबिगारे पनि बाघले पनि त्यसैलाई झम्टिन्छ, स्यालले पनि त्यसैलाई झम्टिन्छ ।
फेरी बाघ त जंगलको राजा हो । उसलाई के को टेन्सन भन्ठान्यो । उसको रामकहानी उसैलाई थाहा छ । बुढेसकालमा उसलाई जति टेन्सन कसैलाई हुँदैन । जवान छँदासम्म उसले जंगल थर्काएर बस्छ । बुढो भए पछि दाँत किरा लागेर झर्छ । आँखामा मोतिबिन्दु हुन्छ । सिकार खोजेर ल्याउने बल हुँदैन । उसको जतिको कारुणिक मृत्यू कसैको हुँदैन । हामी जसले आफूलाई बाघ ठान्ने गरेका छौं, हाम्रा नेताहरु जो आफूलाई बाघ ठान्नुहुन्छ उहाँहरुको भोली त्यसतै बुढो बाघको हालत हुन्छ । 
जंगल छोडौं । पानीमुनिका माछालाई आनन्द साच्योँ । त्यहाँ पनि गोइ, अक्टोपसले माछा खाइदेला भन्ने पीर । अर्को माछाले आहारा बनाउला भन्ने पीर । आकाशका चरा स्वतन्त्र छन् भन्ठान्यो । तिनीहरुलाई पनि चिल आएर ठोकिएला भन्ने पीर । गुलेलीले हान्ला भन्ने पीर । अरुको सिकार भइएला भन्ने डर । आखिर शान्ति कहाँ छ । टेन्सन कहाँ कसलाई छैन ?
यो टेन्सन कहाँबाट सुरु भयो त ? मलाई जन्माईदिने बुवाआमाबाट । उहाँहरुलाई जन्माउने बाजेबजैहरुबाट । मानव जुनी ल्याइदिने देवताबाट ।
हामी सधैँ देवतालाई रहस्यको रुपमा हेर्छौं । आजसम्म कोही छैन जसले भन्न सकोस्, मैले देवतालाई भेटेको छु । त्यसैले मलाई देवताको अस्तित्वमा विश्वास लाग्दैन । तर फेरी कहिलेकाहीँ डराउँछु पनि । कतै देवताले केही बिगारिदिने त होइन ? मानिसलाई त यत्रो दुख छ भने भगवानलाई किन दुख दिनु भनेर म सानो तिनो कुरामा भगवान गुहार्दीन । सबै आपत आफै सल्टाउँछु । ठुलै केही आइपरे भगवान्लाई पुकारौंला भनेर जोगाएर राख्छु । 
तर श्रीमती मिरा बिरामी हुँदा मैले भगवानलाई जोगाएर राखेको चाकडी सबै गरेँ । मन्दिर धाएँ । मन्त्रका किताबहरु ल्याएर पाठ गरेँ । तर देउताले मेरो पाठ सुनेनन् । मेरी श्रीमतिको भौतिक शरिर मबाट छिनेर लगिदियो । म घोर पीडामा भएका बेला रिस पोख्न खोजेँ ? श्रीमती बिरामी हुँदा देउताबाहेक डाक्टर, आफन्त सबैले मेरो साथ दिए । त्यसैले मैले रिस भगवानलाई नै पोखेँ ।
देवतासँग रिसाएर मैले उनलाई एउटा कविता लेखेँ । तर मेरो पुस्तकको पाण्डुलिपि पढ्ने डा. रविन्द्र समिर र अमर न्यौपाने भाईले त्यसलाई पुस्तकमा अटाउन मानेनन् । आज म त्यही कितावमा नअटाएको कविता यहाँ बाचन गर्न चाहन्छु जहाँ मैले भगवानसँग बदलाका शब्द पोखेको छु । बाचन गरिसकेपछि तपाईँहरुले यो अशं पुस्तकमा राख्नुपथ्र्यो भने म झन् खुसि हुने थिएँ ।
अर्को जन्ममा म देवता हुन्छु
अर्को जन्ममा म देवता हुन्छु
देवताहरूलाई मान्छे बनाउँछु
तिमीहरूको चिना म आफैं लेख्छु
भए जति दशा तिमीहरूलाई खन्याउँछु
सानो छँदै टुहुरो बनाउँछु
जन्मस्थलबाट उठिबास लगाउँछु
मेरो मन्दिर घुम्न लगाउँछु
भजन किर्तन गर्न लगाउँछु
मेरा खुट्टा ढोग्न लगाउँछु
खुट्टा पखाली जल खुवाउँछु
धुप दीप बाल्न लगाउँछु
दान दक्षिणा गर्न लगाउँछु
यति धेरै चाकडी गराउँछु
वर दिनुको साटो बरबाद बनाउँछु
अर्को जन्ममा म देवता हुन्छु
देवताहरूलाई मान्छे बनाउँछु
तिमीहरूको पनि म प्रेसर बढाउँछु
मुटु चलाउन यन्त्र जडाउँछु
पाठेघरमा ट्युमर रोप्छु
पित्तको थैलीमा ढुंगा ठोक्छु
एकएक दिनको हिसाब गर्छु
मिर्गौलामा पनि रोग थप्छु
देवताहरू हो,
अर्को जन्ममा म देवता हुन्छु
तिमीहरुलाई म मान्छे बनाउँछु ।
...
भगवानको रहस्यवादमा विश्वास गर्छौं, हामी । छैठीमा भाविले आएर भाग्य लेखिदिन्छ भन्छौं । मेरो बा पण्डित हुनुहुन्थ्यो । उहाँले पनि ठ्याक्कै घडी पला मिलाएर लेख्नु भएको थियो होला मेरो चिना । मेरो जिन्दगीको मोड छर्लंग देखिन्थ्यो होला । तर, त्यो अनुसार भयो भएन थाहा छैन । मैले आफ्नो भाग्य थाहा पाउन चिना देखाउन पाइन । त्यसैले मैले आफैँ कोरेको चिनामा संसारको सबैभन्दा बढी भाग्यमानि पनि भएँ र संसारको सबैभन्दा बढी अभागी पनि । 
सानैमा आमाको काख छुट्यो म यसै अभागी भएँ । आमा जस्तै गरी ममता दिने दिदी पाएँ मेरो भाग्य त्यहीँ थियो । विन्दु दिदीले मलाई आमा जतिकै माया दिएर हुर्काउनु भयो । 
सानैमा मैले बुवा गुमाएँ । म अभागी थिएँ । अहिले बुवा बिर्साउने छोराहरु पाएको छु । मलाई त्यति नै माया गर्छन् । यिनीहरु नै मेरा बुवा हुन् जस्तो लाग्छ । मेरो बाल्य अवस्था बिताएको नक्सालमा मेरा थुप्रै बालसखा थिए । तिनीहरुको साथ सानैमा छुट्यो र मदनकृष्ण श्रेष्ठ जस्तो व्यक्तिको साथ पाएँ मैले । मेरो जीवनमा त्यति ठूलो भाग्य नै कुनै छैन । 
संसारमा मैले सबैभन्दा बढी माया गर्ने र मलाई सबैभन्दा बढी माया गर्ने श्रीमती मीरालाई गुमाए । त्यति ठूलो दुख मलाई कुनै छैन । म जति अभागी कोही भएन । र, मैले फेरी रमिला पाएँ म फेरी भाग्यमानि भएँ । त्यसैले लाग्छ म संसारको सबैभन्दा भाग्यमानि मानिस हुँ र त्यति कै अभागी पनि ।
मेरो चिना हराए पनि अब मलाई लाग्न थालेको छ जीबनमा पाउनुपर्ने दुख र सुख दुबै पाईसकेँ । छोराहरु हुर्किसके । आफैँ दक्ष छन् । मैले मीरा बितेको डेढ वर्षपछि रमिलासँग बिहे गरेँ । कति मानिसले भने– श्रीमती बितेको डेढ वर्षमै बिहे गर्यो । तर त्यो डेढ वर्षको समय पर्नेलाई मात्रै थाहा हुन्छ । एक्लोपनको पीडा भोग्नलाई थाहा हुन्छ । सिति मिति मानिसले एक्लोपनको पीडा भोग्ने आँट गर्नै सक्दैन । डेढ वर्षपछि कि म डिप्रेसन भएर जान्थेँ । कि मैले मृत्यू रोज्नुपथ्र्यो । रक्सि नपिई मलाई निद्रा नलाग्ने भइसकेको थियो । मैले डिप्रेशनको सट्टा दोस्रो बिहे रोजेँ । मृत्यूको सट्टा दोस्रो बिहे रोजेँ ।
मेरो हालत देखेर बसुन्धारा भुसाल दिदीले रमिलालाई मागीदिनुभयो । कति मानिसले त भने 'रमिलासँग पहिल्यै देखि प्रेम थियो रे । हो प्रेम छ । तर अहिले विवाह पछि । अमर प्रेम छ हामीबीच ।
यो किताबमा मैले मिरा गुमाएपछिको एक वर्षमा भोगेका तिनै वियोगका कथा लेखेँ । कसलाई पीडा सुनाउँदै हिँडौं । मैले सबै पीडा कलमको माध्यमबाट कपिलाई सुनाएँ । यो गर्न मलाई डा. रविन्द्र समिले सधैभरी उत्साह दिनुभयो । मेरा लेखाईमा भाई अमर न्यौपानेले जोड, घटाउ, गुणन, भागा गरिदिनुभयो । फलामका मेरा शब्दलाई सुन बनाएर निकालिदिनु भयो । फाईन प्रिन्टका भाईहरुले यसलाई निकाल्न सहयोग गर्नुभयो । मिरा सधैँ बालबच्चालाई माया गर्थिन् । छोरो त्रिलोकले अमेरिकाबाट पठाएको पहिलो कमाईबाट उनले बालबच्चालाई खुवाउने र लुगा दिएकी थिइन् । उनको यही सपनाका लागि मैले काभ्रेमा दुई रोपनी जग्गा दान गरेर बालबच्चालाई सहयोग गर्ने निधोँ गरेको छु । यस पुस्तकबाट जम्मा भएको रकम त्यही च्यारिटीलाई दिन्छु । 
यहाँ मीराको भाई, बुहारी छन् । म तिमीहरुलाई बचन दिन्छु भौतिक शरिर नरहे पनि म तिमीहरुको दिदीलाई यसैगरी बचाई राख्छु । छोराहरुलाई बचन दिन्छु, म तिमीहरुको आमालाई बचाई राख्छु । 
सरी र थ्यांक्यू सार्है सहज तर अति गहन अर्थ राख्ने शब्द हुन् । मेरा सबै गल्तीमा म सबैलाई सरी भन्छु र सबै सहयोगहरुलाई धन्यवाद भन्छु । 
... 
मलाई सानामा सबैभन्दा मन नपर्ने चिज पुस्तक थियो । किताब देख्यो कि रिस उठि हाल्थ्यो । दिदी आमाको करले आँखा अक्षरमा अडाए पनि ध्यान लट्टाइँ, चंगा, खोपि र साथीहरुसँग लिन बाकिँ गुच्चामा हराईरहेको हुन्थ्यो । जो मान्छेलाई किताब हेर्नै मन लाग्दैन थियो आज उसैले किताब लेखेको छ । 'चिना हराएको मान्छे' ।
(स्वर्गीय पत्नी मीराको पूञ्य तिथी पारेर आफ्नो पुस्तक विमोचन कर्यक्रममा हरिब‌ंश अचार्यले दिएको मन्तव्यको अंश)

एक मिनेटमा केके हुन्छ इन्टरनेटमा ? - ekantipur

कम्प्युटरको प्रोसेसर निर्माण गर्ने प्रख्यात कम्पनी इन्टेलले हालै इन्टरनेटमा १ मिनेटमा के-के हुन्छ भन्ने विषयमा अध्ययन गरेको थियो।

डाटा वा इमेल :

सबैको जीवनको अहम् हिस्सा बनेको इन्टरनेटमा १ मिनेटमा ६ लाख ३९ हजार ८ सय ११ जीबी डाटा ट्रान्सफर हुन्छ। यस्तै ६१ सेकेन्डमा २१ करोड ४१ लाख इमेल आदान प्रदान हुन्छ।

फोटो-भिडियो :
१ मिनेटमा इन्टरनेट प्रयोगकर्ताले २ करोड तस्बिर हेर्छन्। बिभिन्न साइटका प्रयोगकर्ताले ३ हजार तस्बिर अपलोड गर्छन्। १३ लाखले युट्युब हेर्छन् भने १ मिनेटमा ३१ घण्टाको भिडियो डाउनलोड हुन्छ ।
मोबाइलबाट इन्टरनेट:

स्मार्टफोनको बढ्दो प्रयोगले १ मिनेटमा ४७ हजार मोबाइल अप्लिकेसन डाउनलोड हुन्छ र १ मिनेटमै १ हजार ३ सय नयाँ मोबाइल प्रयोगकर्ता इन्टरनेटसँग जोडिन्छन्।

Sunday, April 28, 2013

व्यर्थै एमाओवादीलाई भोट हाल्न लगाएछु - sourya daily

-रामेश, जनवादी गायक

देशमा पञ्चायती शासनको दबदबा थियो । त्यतिबेला हाम्रो सांगीतिक आवाज जनताका बीच जाने गतिलो माध्यम बनेको थियो । ‘गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ’ भन्दै गाउँगाउँ पुग्थ्यौँ । परिवर्तनका लागि जनतालाई जागृत गराउने सशक्त माध्यम बनेका थिए, हाम्रा सांस्कृतिक कार्यक्रम ।
Ramesh
०२४ सालमा पारिजातको नेतृत्वमा सांगीतिक समूह ‘राल्फा’ बनायौँ । ‘राल्फा’ कुनै पार्टीको नजिक थिएन । हामी आफ्नै किसिमले देश र जनताप्रति प्रतिबद्ध थियौँ । समाजका अन्याय, अत्याचार, असमानता, विकृतिविरुद्ध जनतामा जागरण ल्याउने उद्देश्य थियो । हाम्रा गीतमा श्रमजीवी जनताको भोको पेट र नांगो आङका दारुण कथा हुन्थे । असमानता हटाउनुपर्ने युगीन सन्देशहरू गुन्जिन्थे ।
सबैको रगत रातो हुन्छ, जातिपातीका आधारमा भेदभाव हुनुहँुदैन भन्दै गाउँबस्ती पुग्थ्यौँ । उति बेलाका कम्युनिस्टहरू पनि त्यसै भन्थे । अन्तर्राष्ट्रिय भाषा र जातिको वकालत गर्थे । तर, अहिले आएर जातीय राजनीतिको वकालत भएको देख्दा दु:ख लाग्छ । हाम्रै गीतका कारण आजको लोकतान्त्रिक नेपालको आधारभूमि तयार भएको हो । उतिबेला हामीले समानताको गीत गाउँदा गाउँका जालीफटाहरू भन्थे– ‘दमाईं, कामी उचाल्ने यिनीहरूलाई खेद्नुपर्छ ।’ हामी डटिरहन्थ्यौँ, वर्गविभेद गर्न पाइँदैन भन्दै ।
अहिले लाग्छ– हामीलाई पार्टीहरूले प्रयोग गरेछन् । खासमा त हामी जनताका लागि उपयोग हुन चाहन्थ्यौँ । तर, कसरी–कसरी पार्टीका लागि हुन पुगेछौँ । जनताको जीवन उकास्न आन्दोलनमा होमिएका हामी । आज हेर्दा त जनता होइन, नेता पो उकासिएछन् । उतिबेला हाम्रा गीत समाज परिवर्तनको लक्ष्य बोकेर हिँडेका पार्टीहरूका लागि सहयोगी बनेका थिए । परिवर्तनको मुख्य शक्ति पार्टी हो भन्ने हामीलाई लागेको थियो । तर, आज त पार्टीहरू मैलिइसकेछन् । त्यसैले त हाम्रा सपना अधुरै रहे । हिजो राणाहरूले जे गर्थे, कांग्रेस त्यही बाटोमा हिँड्यो । कांग्रेसकै बाटो एमालेले पछ्यायो । एमालेको पछि एमाओवादी लाग्यो । जनताको अवस्थामा केही सुधार भएन । तत्कालीन अवस्थामा माले पार्टी बनाउन अग्रणी भूमिका खेलेका थियौँ हामीले । यसैकारण हामीलाई कलाकार होइन, ‘झापाली, टाउको कटुवा’ भन्ने पनि थिए । गीतमार्फत जनताको साथ नजितेको भए पञ्चायतले हामीलाई उतिबेलै सकिसक्थ्यो । उर्दी त जारी गरेकै थियो– यिनीहरूलाई गोली ठोकेर मार्नू †
पार्टीहरू जनताका बीच जान सक्ने अवस्था थिएन । नेता–कार्यकर्ता कोही जेलमा त कोही भारततिर । कोहीचाहिँ कम्युनिस्ट सिध्याउन सघाउँछौँ भन्दै पञ्चायततिरै मिलिरहेका थिए । यो स्थितिमा हामी गितार र हार्मोनियम बोकेर गाउँगाउँ पुग्थ्यौँ । जनताबीच जाने भरपर्दो माध्यम हाम्रा लागि त्यही आवाज नै थियो । कठिन अवस्थामा राजनीतिबाट पलायन हुनेहरू नै आज ठूल्ठूला कुरा गरिरहेका देखिन्छन् । हामीले पनि आफ्ना लागि मात्रै सोचेका भए अवसरहरू नदेखेका होइनौँ । तर, अध्ययन र अनुभवले एउटै कुरा सिकाएको छ– मानवजातिको सेवा । जीवनभर यसैलाई पछ्याउँदै हिँड्यौँ ।
‘उठ हे जाग भोका नांगा, जाग हे संसारका श्रमजीवी’ गीत उतिबेला निकै लोकप्रिय भयो । खासमा यो अंग्रेजी शब्दलाई मैले नेपालीमा अनुवाद गरेको हुँ । आज सबै कम्युनिस्टले गाउँछन् । तर, त्यसको भावना कत्तिको व्यावहारिक हुँदै छ, उनीहरूलाई थाहा छैन । माले पार्टीका लागि बनाइएको थियो त्यो गीत । गीत गाउँदागाउँदै धेरैपटक प्रहरीले गिरफ्तार प्रयास गर्थे । प्रहरीबाट जनताले उम्काइदिन्थे । एकातिरबाट प्रहरीले तान्ने, अर्कोतिरबाट जनताले तान्ने अवस्था धेरैपटक भयो । ०२७/ ०२८ तिर थुप्रै गाउँमा कार्यक्रम गरियो । प्रहरी आएको सुइँको पाउनासाथ बत्ती निभाएर जनता हामीलाई लुकाउँथे । रातभरि हिँडाएर सुरक्षित स्थानमा पुर्‍याउँथे । कता पुग्यौँ, आफँैलाई थाहा हुदैनथ्यो । धेरै ठाउँमा सरकारी कर्मचारीले पनि बचाएका थिए ।
भोजपुरमा ‘कोही त भने जहाजमा हरर, कोहीको भने पसिना तरर हाम्रो नेपालमा’ गीत गाउँदा प्रहरीले पक्राउ गर्‍यो । जनताले प्रतिकार गरिदिए– ‘यही गीत गाउँदा यिनीहरूलाई थुन्ने भए राजा महेन्द्रलाई पनि थुन । ‘काहीँ छ पेट खाली काहीँ छ सुनको थाली’ बोलको गीत उनले पनि त लेखेका छन् नि † त्यो गीतमा पनि समानता नारा छ ।’ त्यसपछि हामीलाई छोडिदियो ।
०२८ सम्म राल्फाको ‘चार्म’ निकै थियो । तर, नेपालका कम्युनिस्ट पार्टीमा आएको विभाजनको प्रभाव हामीमा पनि पर्‍यो । पारिजातको नेतृत्वमा एउटा समूह चौथो महाधिवेशन भन्ने पार्टीतिर लाग्यो । हामी मालेमै रह्यौँ । समयसँगै म पनि पार्टीमा रहन सकिनँ । नेताहरूको त्याग–निष्ठाको भावनामा ह्रास आउन थालेपछि हामीले विरोध गर्‍यौँ । हाम्रै आवाजका कारण पार्टीमा लाखौँ जनता समेटिएका थिए । देशमा मन्डलेहरूको जगजगी थियो । जनताको माया जति पाउँथ्यौँ, जाली–फटाहहरूको घृणा र अपमान पनि उत्तिकै खेप्नुपथ्र्यो । नेताहरू भागाभागको अवस्थामा रहँदा पनि पार्टीको प्रचार गर्‍यौँ । तर, त्यही पार्टीले ०३९ सालमा हामीलाई निकालिदियो ।
त्यसपछि हामी एउटै विचारका राल्फालीहरू पार्टीमा लागेनौँ । ०४६ सालको आन्दोलनमा आफ्नो किसिमले सहयोग गर्‍यौँ । पक्राउ पर्‍यौँ । सोही क्रममा रायनलगायतसँग जेलमा भेट भयो । हिजो पनि सँगै थियौँ, आज पनि सँगै हिडौँ भनेर फेरि हात मिलायौँ । युवावस्थाको त्यो जोस आज ६९ वर्षको उमेरमा पनि कायमै छ । जबसम्म जनताको माया र साथ पाइन्छ, जोस रहिरहनेछ । र, हामी पनि सँगै छौँ ।
०००
टाढाटाढाबाट जनता हाम्रा गीत सुन्न आइपुग्थे उतिबेला । उनीहरूको चाहना पूरा गर्न हामी कहिलेकाहीँ दिनभरि भोकभोकै गाउँथ्यौँ । जनताले हामीलाई मन पराउनुमा हाम्रो आनीबानी पनि मुख्य थियो । हाम्रो चालचलन, व्यवहार नियाल्थे । सबैलाई माया र सम्मान गथ्र्यौं, बदलामा आफूले पनि त्यही पाउँथ्यौँ । एकपटक भोजपुरमा कार्यक्रमका लागि जाँदा बिरामी परेर साहै्र थलिएको थिएँ । नजिकैका औषधिपसलेले औषधि र भिटामिन ल्याएर दिए, स्वत:स्फूर्त रूपमा । लुगा फाटेका हुन्थे, पैसा हुँदैनथ्यो । तर, जनतासँग केही माग्दैनथ्यौँ । खानेकुरा जे दिन्थे, त्यसैले भेट भथ्र्यौं ।
हुन त म सम्पन्न परिवारकै मान्छे हुँ । वैभवमा हुर्किएँ । चाहेको भए व्यक्तिगत हितका लागि धेरै गर्न सक्थेँ । तर, आफ्नो सीप, क्षमता र समय सबै जनतामै समर्पण गर्न मन लाग्यो । अहिलेको राजनीतिक परिणाम देख्दा दु:ख त लाग्छ तर आफूले समय बर्बाद गरियो कि भन्ने पछुतो पटक्कै छैन । प्राप्त उपलब्धिको उपयोग हुन पाएन, एउटा पाटो हो । तर, त्यो उपलब्धिप्राप्तिका खातिर आफ्नो पनि केही भूमिका रहेकोमा गौरव लाग्छ । ‘आमा, दिदीबहिनी हो, कत्ति बस्छाँै दासी भई सुखको सधैँ प्यासी बनेर,’ ‘छोरीको यो जुनीलाई हेला गरी हिँड्नेलाई आफ्ना शक्ति देखाउछौँ अब तिनैलाई’ जस्ता गीत गाउँदा सुन्ने महिला निकै कम हुन्थे पहिले तर आज सामाजिक नेतृत्वमा महिलाहरू पुगेका छन् । सन्तुष्टि लाग्छ । भरिया, हली, महिला, ज्यामीलगायत थिचोमिचोमा परेका सबैको प्रतिनिधिपात्र भएर गीत गायौँ । जे गर्‍यौँ ठीक गर्‍याँै, एउटा नागरिक भएका नाताले हामीले गर्नुपर्ने त्यही थियो ।
पछिल्ला दिन मुलुकमा आएको राजनीतिक परिवर्तनसँगै हामी जनताबीच जानुपरेका छैन । ३२ वर्ष भयो, साथीहरू मिलेर स्कुल खोलेका छौँ । त्यहीँ पढाउँछु, संगीत सिकाउँछु । उतिबेला विद्रोहको गीत गउँथेँ, अहिले बालाबालिकालाई जीवन जिउने गीत सिकाउँछु । आज पनि हाम्रा गीतको उत्तिकै महत्त्व छ । तर, सत्तामा पुगेपछि सबै उस्तै हुँदा रहेछन् । उति बेलाको सत्तासीन पञ्चायतले हाम्रा गीत दबाउन खोज्यो । समयसँगै सत्तामा पुग्ने अरूले पनि दबाउन खोज्दै छन् । तर, संगीतको शक्ति उनीहरूले सोचेभन्दा धेरै बलियो हुनेछ, जनताका बीच गए थाहा पाउनेछन् ।
हाम्रा गीतलाई टेकेर माथि पुगेकाहरू नै आज ती गीतसँग झस्किँदै छन् । देशमा बहुदल आएपछि ‘बलिदान’ फिल्ममा ती गीत घन्किए तर एकाएक रोक लगाइयो । झलनाथ खनाल सञ्चारमन्त्री थिए, उनलाई गएर भनेँ– ‘यिनै गीतहरूले तपाईंहरू स्थापित हुनुभयो, आज यिनैलाई रोक लगाउने †’ मालेमा हामी सँगै थियौँ । उनले सहयोग गर्छु भने ।
पछिल्लो समय एमाओवादीलाई सहयोग गरेँ । उनीहरूले केही गर्लान् कि भन्ने आशा थियो । आफू जमानी बसेर माओवादीलाई भोट दिन जनतासँग आग्रह गरेँ । आखिर ऊ पनि उस्तै रहेछ । यो सत्ता भन्ने चिजै यस्तो हो कि के हो ? जजसलाई भोट दिन आग्रह गरेको थिएँ, उनीहरू आज मैलाई सोध्छन्– ‘यो पनि उही त रहेछ नि ? किन भोट दिन लगाउनुभयो ?’ पीडा हुन्छ यस्तो सुन्दा, व्यर्थै भोट हाल्न लगाएछु । राणाको नेपाल, साहको नेपाल, काग्रेसको नेपाल, एमालेको नेपाल र एमाओवादीको नेपाल हेरौँ । अब जनताको नेपाल हेर्नु पर्छ । ‘उहिलेजस्तो छैन है अब नेपालमा, तिम्रो विश्वास छैन है हाम्रो नेपालमा’ भन्ने गीत गाउन मन लाग्छ, बेलाबेला ।
प्रस्तुति : चमिना भट्टराई

सुन्तलाको बोक्रा : क्यान्सर देखि रक्तचापको औषधि - onlinekhabar

सुन्तला निकै मिठो फल हो र यो गुनकारी पनि हुन्छ । यसमा प्रसस्तै भिटामिन सि लगायतका पोषण तत्व पाइन्छन् । हामीले सुन्तलाको बोक्रा छोडाएर फ्याँक्छौँ र गुदी मात्र खान्छौँ । सुन्तलाको बोक्रा खाइँदैन मात्र होइन यसको अरु काममा पनि उतिसारो प्रयोग गरिँदैन ।
pelling
तथापि युवतीहरुले आफ्नो अनुहार सुन्दर बनाउन भन्दै सुन्तलाको बोक्रा पिँधेर लेदो बनाएर अनुहारमा दल्ने गरेको भने कहीँकतै देखिन्छ । यद्यपि सुन्तलाको बोक्राको उपयोगिताको बारेमा भने हामी अधिकांस जानकार छैनौँ । यदि सुन्तलाको बोक्राका फाइदाको बारेमा जान्नुभयो भने साँच्ची तपाइँले अब सुन्तलाको बोक्रा फ्याँक्नुहुने छैन र जतन गर्नुहुनेछ ।
  • यदि कपाल एकदम खश्रो तथा जर्जर छ भने कपाललाई सुन्दर, सिल्की बनाउका लागि सुन्तलाको बोक्रा वरदान सावित हुनसक्छ । सुन्तलाको बोक्रालाई पिँधेर लेदो बनाएर कपालमा लगाउनुपर्छ । केहीबेर सुक्न दिनुपर्छ र मज्जाले कपाल धुनुपर्छ । यसले कपाललाई चम्किलो तथा मुलायम बनाउँछ ।
  • अनुहारमा दाग, धब्बा छ ? यदि त्यसो हो भने सुन्तलाको बोक्रालाई मज्जाले पिँध्नुहोस् र त्यसको लेदोमा गुलाव जल मिसाएर अनुहारमा लगाउनुहोस् । नियमित रुपमा सुन्तलाको बोक्राको लेदो र गुलाब जलको मिश्रण अनुहारमा लगाउँदा अनुहारका दागधब्बा हराउनेछन् ।
  • सुन्तलाको बोक्रामा छाला शुद्धिकरण गर्ने तत्व पाइन्छ । यसमा ढुसी प्रतिरोधक तथा जिवाणु प्रतिरोधक तत्व पनि पाइन्छ । सुन्तलाको बोक्रालाई सुकाएर पिसेर धूलो बनाउनुहोस् र त्यो धूलोमा दही मिसाएर छालामा लगाउनुुहोस् । त्यसो गर्दा सरीरको छाला चम्किलो तथा नरम बन्छ । अनुहारको छाला बढि चिल्लो भएर हैरान हुनुभएको छ भने सुन्तलाको बोक्रा पिँधेर त्यसमा बेसन मिसाएर अनुहारमा लगाउँदा फाइदा गर्छ ।
  • सुन्तलाको बोक्रा केवल छालाको लागि मात्र होइन हृदयरोगको निवारणमा पनि सहयोगी बन्छ । रगतमा उच्च कोलेस्टेरोलको समस्या भएका हरुका लागि सुन्तलाको बोक्रा खानु लाभदायी मानिन्छ । उच्च रक्तचाप र कोलेस्टेरोलको समस्या भोगिरहेकाहरुले सुन्तलाको बोक्रा खाँदा फाइदा हुन्छ । साथैँ सुन्तलाको बोक्राको सेवनले क्यान्सर तथा हड्डीको समस्या भएकाहरुका लागि पनि फाइदा गर्ने विज्ञहरुको भनाइ छ ।
  • सुन्तलाको बोक्रामा पाचन शक्ति बढाउने गुण हुन्छ । अपच हुने, अमिलो डकार आउने, उल्टी हुने जस्ता समस्या भएकाहरुले मात्र होइन पेटमा जुका परेकाहरुले पनि सुन्तलाको बोक्रा खाँदा फाइदा हुन्छ ।
  • निद्रा नपर्ने समस्या भएकाहरुले सुन्तलाको बोक्राको सेवन गर्दा अनिद्राको समस्या कम हुने र गहिरो निद्रा पर्ने अध्ययनले देखाएको छ ।

ट्राफिक जाम घटाउन काठमाडौंका सडकमा केवुलकार ! गाडीको भाडा तिरेर केवुलकारको यात्रा - onlinekhabar

काठमाण्डौंको सडकमा घण्टौं जाममा तपाईलाई कहिलेकाहीँ लाग्दो हो- सडक माथिबाटै उडेर फुत्तै गन्तब्यसम्म पुग्न पाए पनि हुने नी ! अहिलेसम्म तपाईले गरेको यस्तो हावादारी कल्पना अब वास्तविकता हुने भएको छ ।
MEDELLIN-METROCABLEकाठमाण्डौको ट्राफिक जाम हटाउने उदेश्य राखेर नेपालको एक कम्पनीले ब्यस्त सडकमाथि यात्रुबाहक केवुलकार चलाउने तयारी गरिरहेको छ । नेपाल उद्योग बाणिज्य महासंघकी उपाध्यक्ष भवानी राणाको कम्पनी बिएनएस अर्वन केवुलकार प्रालिले राजधानीका व्यस्त सडकमाथि ‘अर्वन केवुलकार’ संचालन गर्न सम्भाब्यता अध्ययन गरेर सरकारसमक्ष इजाजत मागिसकेको छ ।
‘हाम्रो योजनाअनुसार काम हुन सक्यो भने आगामी चार बर्षमा काठमाण्डौंका सडक केवुलकारमा चढेर पार गर्न सकिने छ’ राणाले अनलाइनखबरसँग भन्नुभयो-’स्वीकृतिका लागि सरकारसमक्ष प्रस्ताव गरेका छौं, प्रकृया अगाडी बढनासाथ विस्तृत अध्ययन थाल्छौं ।’
१ घण्टाको बाटो १५ मिनेटमा
दक्षिण अमेरिकी मुलुकमा पछिल्लो दशकमा अर्बन केवुलकारको अबधारणाले तिब्रता पाएको छ । सन् २००६ मा कोलम्बियाको मेडलिन सिटीमा संचालनमा आएको मेट्रो केवल पहिलो अर्बन केवलकारका रुपमा चिनिन्छ । त्यसबाट प्रभावित भएर ब्राजिल, भेनेजुयला, पोर्टल्याण्ड लगायतका स्थानमा सार्वजनिक यातायातका रुपमा केवलकार निर्माण गरिएको छ ।
MEDELLIN-METROCABLE-1
‘अझै २० बर्ष काठमाण्डौमा मेट्रो रेल बन्न सक्ने अबस्था छैन’ राणाले भन्नुभयो-’काठमाण्डौमा बढ्दो ट्राफिक जामबाट मुक्ति पाउने यो नै सस्तो र उत्तम बिकल्प हो ।’ केवुलकार संचालनमा आएपछि १ घण्टामा पुगिने ठाउँमा १० देखि १५ मिनेटमा पुगिने राणाले बताउनुभयो । कम्पनीले नारायणगोपाल चोकदेखि लगनखेलसम्म र कोटेश्वरदेखि बौद्धसम्म केवुलकार संचालन गर्न सम्भाब्यता अध्ययन गरिसकेको छ । दुई लाइन केवलकार संचालन गर्न १२ देखि १५ अर्ब रुपैयाँसम्म लगानी अनुमान गरिएको राणाले बताउनुभयो । मुख्य मुख्य स्थानमा यात्रु चढ्ने र झर्ने स्टेशनहरु पनि राखिनेछन ।
एउटा डिब्बामा ३० यात्रु
केवुलकारको एउटा डिब्बामा २५/३० जनासम्म अटाउने छन् । काठमाडौंको साँघुरा सडकमा केवुलकार अति उत्तम विकल्प हुने राणाले बताउनुभयो । रेडिमेड पोल ल्याएर गाडिने हुँदा केवुलकारको संरचना निर्माण गर्दा सडक र भौतिक संरचनामा ठूलो फेरबदल गर्नुपर्ने छैन । मेट्रो रेलको तुलनामा केवुलकार सस्तो समेत हुने उहाँको दाबि छ । सरकारले राजधानीका विभिन्न ठाउँमा मेट्रो रेल संचालन गर्नका लागि अध्यायन समेत गरिसकेको छ ।
केवुलकारको भाडा गाडिको लिने भाडा बराबर हुने उहाँले बताउनुभयो । केवुलकार संचालन भएको १०/१५ वर्षमा लगानी सबै उठिसक्ने हुँदा विदेशी कम्पनीहरु अर्वन केवुलकारमा लगानी गर्न उत्सुक रहेका हुन् ।
बिदेशी लगानी, दुई बर्षमा निर्माण सकिने
केवुलकारमा लगानी गर्नका लागि फ्रान्सका २/३ वटा कम्पनीहरु सकरात्मक देखिएको बताउँदै उहाँले भन्नुभयो- ‘फ्रान्सेली कम्पनीहरु यो परियोजनामा लगानी गर्न इच्छुक छन, उनीहरुकै सहयोगमा प्रारम्भिक अध्ययन सकिएको छ ।’
काम सुरु गरेको २ वर्षभित्रमा केवुलकार संचालन भईसक्ने बताउँदै राणाले सरकारले संचालन अनुमति चाँडै दिनेमा भने शंका व्यक्त गर्नुभयो । सरकारले तत्काल अनुमति दिएमा आवश्यक सबै प्रकृया सिध्याएर २ वर्षभित्रमा काम सुरु गरिसक्ने लक्ष्य कम्पनीले लिएको छ । ‘हामीले लगानी गर्छौं भन्दा पनि सरकारले काम गर्न दिँदैन’ उहाँले भन्नुभयो- ‘हामीले जतिसुकै राम्रा प्रोजेक्ट ल्याएपनि सरकारले काम गर्ने अनुमति दिन ढिलाई गरिदिन्छ, त्यसले लगानीकर्ता निराश र हतोत्साही हुन्छन ।’
पर्यटन प्रवर्द्धनका लागि उपर्यूक्त
अर्वन केवुलकार यातायातको लागिमात्र नभएर पर्यटन विकासका लागि पनि अति उपयोगी हुने कम्पनीको विश्वास छ । ‘केवुलकार संचालन भयो भने राजधानीको रुपै परिवर्तन हुनेछ’ राणाले भन्नुभयो- ‘साथै यो वातावरणमैत्री पनि हुनेछ ।’

शरीर एउटै तर, अनुहार दुई (फोटो फिचरसहित) - onlinekhabar

उनीहरुको शरीर एउटै छ तर, अनुहार दुई । उनीहरु एब्बी र ब्रिटनी हेन्सल । एब्बी र ब्रिटनी जुम्हाला हुन् । उनीहरु एकसाथ काममा जान्छन् । साथीभाईसँग रमाइलो गर्छन्, भलिबल खेल्छन्, ड्राइभिङ पनि गर्छन । एक शरीरमा दुई अनुहारको जीवन कति सजिलो वा कठिन होला ?
Abby-and-Brittany-Hensel
डिग्री दुर्इ तर, तलब एककै 
३२ वर्षीया एम्बी र ब्रिटनी अमेरिकाको मिनेसोटामा बस्छन । दुबै प्राइमरी स्कुलमा शिक्षिका छिन् । उनीहरुसँग पढाउन दुई लाइसेन्स पनि छ । तर, तलब एकको मात्र पाउँछन् । एब्बी भन्छिन्-हामीसँग दुई डिग्री छ । किनकी हाम्रो दृष्टिकोण अलग-अलग छन् । पढाउने तरिका पनि एक अर्कामा फरक छ ।’ आफूहरुले एक व्यक्ति भन्दा बढी काम गर्ने एब्बी बताउँछिन् ।
अनौठो शरीरिक बनोट
एब्बी र ब्रिटनी कक्षमा हुँदा उनीहरु मध्ये एकले विद्यार्थीलाई पढाउँछन् भने अर्कोले प्रश्नहरुको जवाफ दिने वा बच्चाहरुमाथि निगरानी गर्नेछन् ।
Abby-and-Brittany-Hensel-1
जीवनको हरेक पल सँगसँगै बिताउने उनीहरुको शरीरिक बनोट अनौठो छ । उनीहरुको फोक्सो, मुटु र पेट दुई छ तर, प्रजजन अंग र कलेजो एउटै छ । एब्बी र ब्रिटनीले बाल्यकालदेखि नै शरीर जोडिएका कारण एकअर्काको गतिविधीमा तालमेल मिलाउन सिके । जस्तो कि एब्बी दायाँ हात नियन्त्रण गर्छिन् भने बि्रटनी बायाँ ।
उनीहरुको उचाईमा पनि अन्तर छ । एक्बी ५ फुट २ इन्चकी छिन् भने बि्रटनीको लम्बाई ४ फुट १० इन्च छ, जसका कारण बि्रटनी संतुलन कायम राख्न खुट्टाको पंजाले टेक्छिन् । यस्तो सन्तुलन उनीहरुले खानपानलेखि समाजिक जीवन र कपडामा समेत मिलाउनु पर्छ ।
एब्बी भन्छिन्-’हाम्रो एकदमै अलग छौं । म मस्त र रमाइलो गर्न रुचाउँछु भने ब्रिटनी सन्तुलित र गम्भीर स्वभावकी छिन् ।’ कुन कपडा लगाउने भन्नेमा एब्बीले सँधै जित्ने ब्रिटनीले बताइन् । एब्बी घरमै बस्न रुचाउँछिन् भने ब्रिटनीलाई बाहिर घुम्न मन लाग्छ ।
बि्रटनीलाई उग्लो ठाउँमा जान डर लाग्छ भने एब्बीलाई त्यस्तो ठाउँमा जान रुचाउँछिन् ।  गणित र विज्ञान अध्ययन एब्बीको रुचीको विषय हो भने बि्रटनीको रुची कलामा छ ।
Abby-and-Brittany-Hensel-2
केही कप कफी खाएपछि ब्रिटनीको मुटुको धड्कन बढ्छ । तर, एब्बीलाई कुनै असर गर्दैन ।– एनेन्सीको सहयोगमा
Abby-and-Brittany-Hensel-3

एप्पलका ह्याकर गुगलमा जागिरे बन्दै - onlinekhabar

सफ्टवेयरको दुनियाका कट्टर प्रतिद्धन्दी एप्पल र गुगलबीचको आपसी प्रतिस्पर्धामा अर्को अध्याय थपिएको छ । एप्पलको आइफोन र आइप्याडको अपरेटिङ सिस्टम आइओएस ह्याक गर्नका लागि निकै चर्चित सफ्टवेयर ‘जेलब्रेक’ निर्माण गरेर आइफोन ह्याक गर्ने ह्याकर निकोलस एलिग्राले गुगलमा छिर्ने भएका छन् । उनी प्रशिक्षार्थीको रुपमा गुगल कम्पनीमा प्रवेश गर्ने भएका हुन् ।
Apple-vs.-Google
जेलब्रेक एउटा यस्तो सफ्टवेयर हो जसका माध्यमबाट आइफोन र आइप्याडका प्रयोगकर्ताहरुले आइओएस डिभाइसमा अर्को एप्लिकेसन पनि इन्स्टल गर्न सक्छन् ।
यस्तो चर्चित सफ्टवेयर बनाउने निकोलसले आफ्नो टि्वटर अकाउण्ट मार्फत आफु गुगलमा प्रशिक्षार्थीको रुपमा छिर्न थालेको खुलास गरेका हुन् । आफुले आउँदा केही हप्तामा गुगलमा इन्टर्नशीप गर्न लागेको उनको भनाइ छ ।
तर आफुले एन्ड्रोइड सफ्टवेयरका लागि भने काम नगर्ने उनले बताएका छन् । स्मरण रहोस् निकोलसलाई एप्पलले सन् २०११ मा प्रशिक्षार्थीको रुपमा कम्पनीमा भित्राएको थियो । त्यसको एकवर्ष पछि एप्पलले निकोलसको करार अवधि बढाउने सोँच बनाएको थियो ।
तर निकोलसले एप्पलप्रति नै घात गर्दै आइफोन ह्याक गर्ने सफ्टवेयर बनाएपछि एप्पलले उनको करार अवधि टुंग्याएको थियो । हेरौँ यी ह्याकरले गुगलमा पनि केही बदमासी पो गर्ने हुन् की । आइओएस ह्याक गर्ने निकोलसलाई गुगलले भित्राउन लागेको खबरप्रति एप्पलले कस्तो प्रतिक्रिया दिने हो त्यो पनि हेर्न बाँकी छ ।

यसरी दिइयो मृतकलाई लाइसेन्स - ekantipur

बीरगञ्ज , वैशाख १५ - वीरगन्ज सहर प्रवेश गर्नेबित्तिकै आउने पावरहाउस चोक, पूर्वतिर करिब २ सय मिटरको दूरीमा नारायणी यातायात व्यवस्था कार्यालय छ । सवारी लाइसेन्स लिने प्रक्रिया, नवीकरण, सवारी दस्तुर, सवारी अञ्चलीकरणलगायतका सवारीसम्बद्ध काम हुने अड्डामा बिदाबाहेकका दिनमा सधैं भीडभाड हुन्छ । अझ लाइसेन्सको आवेदन खुलेपछि त ससानो मेलाकै झझल्को दिने भीड ओइरिन्छ ।

license यो अड्डाअगाडि सडकको दायाँबायाँ दुई दर्जनजति सटरमा पसल छन् । सबैजसो पसलमा फोटोकपी मेसिन, लोडसेडिङको समयमा पनि सेवा दिन जेनरेटरसहित तम्तयार अवस्थामा छन् । एक दर्जनजति त ड्राइभिङ इन्स्िटच्युटको नाममा खोलिएका बिचौलिया सेन्टर । सटरमा हुने काम हेर्दा तिनलाई उपअड्डा भन्न फरक नपर्ने । सेवाग्राहीको सामान्य काम पनि ती दलालबेगर असम्भव भन्ने कुरा पनि थाहा पाइएकै हो । कर्मचारी पनि बाठा, सेवाग्राहीकै हातबाट सोझै 'माल' नलिने । दलालमार्फत मात्र रकम बुझ्ने 'स्वच्छछवि' ।

गजब के छ भने यातायात व्यवस्था विभागले भ्रष्टाचार नियन्त्रण गर्न भनेर दिएको सीसीटीभी क्यामेरा कर्मचारीले थन्क्याएका छन् । अरू बेला चलिहाले नि ट्रायलको बेला बन्द हुने निश्चित ।

ड्राइभिङ सेन्टरको दोकान खोेलेर बसेका बिचौलियालाई रकम दिएपछि एकमुष्ट आवेदन दर्ता हुन्छ । अनि लाइसेन्सका लागि अड्डामा उपस्थिति नै नजनाए पनि होमडेलिभरीको सुविधा । उपस्थित हुनेको एउटा रेट र होमडेलिभरीका लागि तेब्बर दस्तुर । मैले यस विषयमा एकाधचोटि समाचार पनि लेखें । अरूले पनि लेखिरहेका हुन् । समाचार लेख्ने क्रममा भेट्दा कर्मचारीका आफ्नै गनगन हुन्थे, 'राजनीतिक दल, तीनका भ्रातृ संगठन, भूमिगत, सञ्चारकर्मी, प्रहरीलगायतबाट थुप्रै सिफारिस आउँछ । स्थानीय गुन्डा, ट्यापे मुन्द्रेको पनि सिफारिस नमान्दा पिटाइ खाइएला भन्ने डर । बरु तपाईंका पनि कोही छन् भने भन्नुस्' भन्थे । र सदायशयता देखाएझैं गर्थे ।

एकातिर सडक दुर्घटनामा बर्सेनि हजारभन्दा बढीले ज्यान गुमाइरहेको संवेदनशील अवस्था । अर्कोतिर सरकारीतन्त्रको लाइसेन्स वितरणमा यस्तो संवेदनहीनता । यातायात अड्डाको यस्तै बेथितिबारे चर्चा चल्यो । समाचार त लेखियो तर कसैको कानमा बतास लाग्ने होइन । बरु 'ए तेरो सिफारिसचाहिँ चलेन कि क्या हो' भनेर जिस्किने साथीभाइ । अबचाहिँ नयाँ ढंगले काम गरौं भन्ने भयो । तहल्काडटकमले स्टिङ अपरेसन गरेर भारतमा तहल्का मच्चाएको विद्यार्थीकालमै सुनिएको थियो । यहाँ पनि स्टिङ अपरेसन गरी मृत व्यक्तिको नाममा सवारी लाइसेन्स निकालेर अड्डाको मानवीय संवेदनाहीन भ्रष्टाचारको खुलासा गर्ने योजना बुनियो । काठमाडौंमा सरसल्लाह गर्दा योजना अघि बढाउने हौसला मिल्यो । तर, जो मृत व्यक्तिको नाममा लाइसेन्सको आवेदन दिने हो, त्यो परिवारको स्वीकृति चाहिने कुरा आयो ।

अब मृत व्यक्तिको नागरिकता र फोटो खोज्न थालियो । प्रयोजन बताउँदा योजना लिक भई तुहिने डर, नबताउँदा घरजग्गा आफ्नो बनाइदेला वा दुरुपयोग गर्ला कि भन्ने डरले कसैले नदिने । तीनजनासँग प्रस्ताव राखियो तर रित्तो हात र्फकनुपर्‍यो । अब स्वर्गवासी आफन्तको नाममा लाइसेन्स निकालेर हामीलाई के फाइदा भन्ने तिनको जवाफ हुन्थ्यो । तर योजनाबारे कसैलाई नभन्न गरेको अनुरोधलाई तिनले मानेकाले कुरो कर्मचारीलाई र दलालसम्म पुग्न पाएन ।


यो स्टिङ अपरेसनमा सम्मिलित एकजना साथीको अर्को घनिष्ट साथीको बुवा गएको माघमा शंकास्पद अवस्थामा मृत्ा अवस्थामा फेला परेका थिए, भक्तपुरमा । परिवारजनले मृत्युलाई स्वाभाविक मान्न नसकिरहेका थिएनन् । यही मेसोमा बुवाको मृत्युको कुरा उप्किएर फेरि अनुसन्धानले गति लिन सक्ने आसमा ती साथीले बुवाको नागरिकताको फोटोकपी र फोटो प्रयोग गर्ने अनुमति दिए र कुरियरमार्फत वीरगन्ज पठाइदिए । काजगपत्र हात लागेपछि चल्तापुर्जा दलालको खोजीमा जुटियो । दुईजना दलालले ठूलो रकम माग गरे । 'सवारी चालक नै नआउँदा धेरै ठाउँमा सेटिङ गर्नुपर्ने हुन्छ,' ती दलालको भनाइ थियो ।

यसैबीच यातायात व्यवस्था कार्यालयले चैत १८ गते नयाँ सवारीचालकको आवेदन आह्वान गर्‍यो । त्यो दिन कार्यालयमा पुग्दा भेटिएका दलालले तीन हजार मागे । यो रकम बेहोर्न सकिने नै थियो र अगाडिका दलालले मागेको भन्दा कम पनि थियो । उनीसँगै डिल फाइनल भयो । यसबाहेक सरकारी दस्तुर १५ हजार रुपैयाँ त अलगै बुझाउनुपर्ने भयो । व्यक्ति उपस्थित हुँदा ५ हजार लाग्ने भए पनि अनुपस्थित हुने भएकाले तेब्बर दस्तुर लाग्ने ती दलाले बताए ।

मसँग मात्र भएको पैसाले पुग्ने भएन । एकजना साथीसँग सापट लिएँ । दलाललाई दुई चरणमा रकम दिने कुरो तय भयो । घूस नदिँदा पास हुनेले पनि लाइसेन्स पाउन गाह्रै हुन्छ । यहाँ त, मान्छै नै उपस्थित नहुने अवस्था थियो । नदिएर सुख थिएन । लाइसेन्स लिनेको नागरिकताको फोटोकपी, चार प्रति फोटो र तय भएको रकम ती दलाललाई दिइयो ।

रामेश्वर राउतको नाम दर्ता भएपछि प्रवेशपत्र जारी भयो । चैत २२ गते लिखितमा पास हुनेको सूचीमा उनको नाम १२७ नम्बरमा देखिएपछि आपmनो योजना सफल हुनेमा पचास प्रतिशत विश्वस्त भइयो । चैत २४ गतेको ट्रायलमा समेत पास भएको दलालले जानकारी गराएपछि योजना ९० प्रतिशत सफल भयो । तर ट्रायलको नतिजा कार्यालयले प्रकाशमा ल्याउँदैन रहेछ । वैशाख ८ देखि लाइसेन्स वितरण गरिने दलालबाटै थाहा भयो । उक्त अवधिमा कार्यालय सुनसान देखिन्थ्यो । 'निवासमै कर्मचारीले लाइसेन्स बनाउँछन्,' दलाल भन्दै थिए, 'लेनदेनको हिसाब नमिलेपछि यसपालि अलिकति ढिलो भएको हो ।' वैशाखदेखि लाइसेन्स लिन नयाँ खाले ट्रायल लिने भएकाले यसपालि चाप बढी भएको तिनको भनाइ थियो  । दुईपाङ्ग्रे सवारी इजाजत लिन तीन हजार ३६ जनाले आवेदन दिएका थिए । लिखितमा दुई हजार सात सय ४७ पास भए  ।

झन्डै तीन महिनाअघि मृत्यु भएका व्यक्तिको नाममा वैशाख ८ गते नारायणी यातायातले लाइसेन्स दियो । शाखा अधिकृत ईश्वरी ढकालको हस्ताक्ष्ार रहेको राउतको लाइसेन्स नम्बर २३०५३३२ थियो । दिउँसो २ बजे लाइसेन्स हात पर्‍यो । अब मुख्य काम गर्ने पालो थियो, समाचार लेख्ने । तर, लाइसेन्सकै भरमा समाचार प्रकाशित गरे कर्मचारीले त्यो नक्कली भनिदिने र कार्यालयमा रहेका ढड्डालगायतका सबुत सजिलै नष्ट गरिदिने सम्भावना थियो । ढड्डाको तस्बिर लिन पुग्दा भीडभाड भएको भन्दै कर्मचारीले प्रवेश गर्नै दिएनन् । नारायणी अञ्चलका एसएसपी सर्वेन्द्र खनाललाई जानकारी गराई ढड्डा नियन्त्रणमा लिन लगाउने सल्लाह भयो । मृत व्यक्तिको लाइसेन्स जारी भएको प्रमाण देखाएपछि ढड्डा नियन्त्रणमा लिन उनी तयार भइहाले । आफैं लाइसेन्स फाँटमा पुगेर वितरित लाइसेन्सका ढड्डा, लिखित, ट्रायलको नतिजा, हाजिरी पुस्तिका सिलबन्दी गरेर नियन्त्रणमा लिए । अनियमितताको भरपर्दो सूचना आएको बताए पनि उनले गाँठी कुरा खोलेनन् । सोही समयमा सवारीचालकको स्वास्थ्य चेकजाँच गर्ने चिकित्सक मदिरा सेवन गरेर त्यहाँ आइपुगे । मेरो सिफारिसबिना नै लाइसेन्स किन वितरण गरेको भन्दै कर्मचारीलाई हप्काउन थाले । प्रहरीले उनलाई मापसे गरेको भन्दै सँगै लिएर गयो ।

लाइसेन्सको लागि दिइने लिखित परीक्षा होस् वा ट्रायल सवारीचालकको उपस्थिति अनिवार्य हुन्छ । ढड्डामा ल्याप्चेसमेत लगाउनुपर्छ । सबै प्रक्रिया पूरा भएपछि चालककै उपस्थितिमा अधिकृतले लाइसेन्समा हस्ताक्षर गर्छन् । तर, तोकिएको घूस दिएकै भरमा जो कोहीले पनि सजिलै लाइसेन्स पाउन सक्ने नारायणी यातायातले प्रमाणित गरिदिएको छ । मृतकलाई लाइसेन्स जारी भएको खुलासा भएपछि यातायात विभागले स्पष्टीकरण सोधेको छ । एसएसपी खनालले भोलिपल्टै कारबाहीका लागि नियन्त्रणमा लिइएका कागजात प्रमुखलाई जिल्ला अधिकारी वेणीमाधव ज्ञवालीलाई जिम्मा लगाएका छन् । त्यसयता यातायात अड्डा प्रमुख कृष्ण पाण्डेले फोन उठाउन छाडेका छन् ।

घूसकै लागि लाइसेन्स वितरणमै यस्तो अनियमितता गरी मान्छेको जीवनसँग खेलबाड गर्ने क्रोनिक रोग दशकौंदेखि जारी छ । पहिला प्रहरीले वितरण गर्दा पनि यस्तै ताल थियो अहिले निजामतीको हातमा पनि उस्तै छ । यो स्टिङ अपरेसनले त्यसको खुलासा मात्र गरेको हो । लाइसेन्सका लागि आउने यस्तो घूस रकममा यातायातका कर्मचारीका साथै वितरणमा सहभागी हुने प्रहरीको समेत भाग लाग्ने गर्छ । अनि यातायात र वीरगन्जजस्तो ठाउँमा जान कर्मचारीको तँछाडमछाड चल्दैन त ?
को हुन् रामेश्वर राउत ?

यो अपरेसनमा जसको नाममा लाइसेन्स निकालियो ती रामेश्वर राउत माघ २२ गते तय भएको जेठी छोरी लक्ष्मीको विवाहको निम्ता बाँड्न १९ गते घरबाट निस्केका थिए । भक्तपुर दधिकोटका ४५ वषर्ीय राउतको शव भोलिपल्ट घरबाट करिब एक किलोमिटर दूरीमा फेला परेको थियो । ढलका लागि प्रयोग गरिने ह्युमपाइपमा आगो लागेर जलेको अवस्थामा उनको शव २० गते बिहान स्थानीयले फेला पारेका थिए । घटनास्थालनजिकै उनले चढ्ने नीलो रगंको बा३८प ५२५९ नम्बरको मोटरसाइकल पनि भेटिएको थियो । घर जाने बाटोतर्फ फर्काएर बाटोमा साइड लगाएको मोटरसाइकलको साँचो फेला परेन । मृतकको कालो ज्याकेट मोटरसाइकल भएको स्थानबाट केही पर भेटिएको थियो । ज्याकेटमा रहेको पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाको एक लाख रुपैयाँको चेक, ६ हजार ८ सय ९० रुपैयाँ नगद, बिहेको निम्तो कार्ड, डायरी, नागरिकता, लाइसेन्स, ब्लुबुक भेटिएको थियो । ज्याकेट नजिकैको कान्लामा हँसिया हथौडा अंकित रातो झन्डासमेत भेटिएको थियो । परिवारले उनको हत्या भएको बताएका छन् । तर, अनुसन्धानले हत्या वा आत्महत्याको टुंगो लगाउन सकेको छैन ।

हामी प्रचण्डकै स्कुलिङमा छौं - nagariknews


नागरिकलाई अन्तरवार्ता दिँदै नेत्रविक्रम चन्द। नागरिकलाई अन्तरवार्ता दिँदै नेत्रविक्रम चन्द। तस्विरः विकास कार्की
'विप्लव'को छोटकरी नामले बढी चिनिनुहुने नेत्रविक्रम चन्द माओवादको आदर्शबाट प्रेरित युवा हुनुहुन्छ र माओवादी युवाबीच उहाँको लोकप्रियता पनि स्थापित छ। कुनैबेला उहाँ प्रचण्डका निकट हुनुहुन्थ्यो भने अहिले राजनीतिक हिसावले निमेसिस। एकीकृत कम्युनिष्ट पार्टी माओवादीदेखि नेपाल कम्युनिष्ट पार्टी–माओवादीसम्मको छोटो यात्रामा पनि विप्लवलाई विवादले पछ्याउन छाडेको छैन। संविधान सभाको आगामी निर्वाचनका सन्दर्भमा विप्लव एकपटक फेरि चर्चामा आउनुभएको छ। विप्लवसँग किशोर नेपालको अन्तर्वार्ता :
तपाईँले आफ्ना जवानीका दिन युद्धमा लगाउनुभयो। प्रचण्डसँग तपाईँको सम्बन्ध पनि निकै आन्तरिक थियो। अचानक पार्टी छोड्नुभयो, विभाजित गर्नुभयो। पार्टी विभाजन गर्नुमा 'ड्राइभिङ फोर्स' तपाईँको महत्वाकांक्षा पनि एक महत्वपूर्ण पक्ष थियो भन्ने चर्चा छ। वास्तविकता के हो?
प्रचारमा आएको कुरा त अलि बढी हो जस्तो लाग्छ मलाई। पहिलो कुरा के हो भने हामी युवा हुँदा हामीले मानेको योग्य र आदर्श नेताचाहिँ प्रचण्ड नै हो। त्यसैले पनि उहाँसँग विशेष प्रकारको लगाव र सहकार्य थियो। त्यो घनिष्ठ थियो। दोस्रो कुरा उहाँभित्र हामीले जे खोजेका थियौं र जे हेरेको थियौँ, जे कुरा उहाँले गर्नुहुन्छ भन्ने आशा थियो, त्यो पूरा भएन। यसले गर्दा हाम्रो व्यावहारिक जीवन र राजनीतिमा, हाम्रो आदर्शमा चोट पुग्यो। तपाईँले भनेजस्तो पार्टी विभाजनको योजना नै हामीले बनाएको चाहिँ होइन। विभाजन नभइदिएको भए हुन्थ्यो भन्ने नै थियो। अहिले हामी जहाँ छौँ, त्यहा" प्रचण्डले सुरुमा दिएको स्कुलिङअनुसार नै छौँ।

तपाईँ र अनन्त दुवैलाई प्रचण्डले नेतृत्व तहका लागि तयार गर्नुभएको थियो। पछि गएर उहाँले 'मगर' अनन्तलाई समात्नुभयो र 'ठकुरी' विप्लवलाई छोड्नुभयो भन्ने चर्चा पनि छ। त्यसले तपाईँलाई आक्रोशित बनाएको हुनुपर्छ। के भन्नुहुन्छ?
होइन। साँचो कुरा के भने नि राजनीतिक मान्यता र विचार मानवीय भावनाभन्दा पृथक कुरा हो जस्तो लाग्छ मलाई। प्रचण्डजीले जे कुरामा हामीलाई स्कुलिङ गर्नुभएको थियो, पुरानो जीवनबाट नयाँ जीवन, पुरानो व्यवस्थाबाट नयाँ व्यवस्था, पुरानो समाजबाट नयाँ समाज बनाउने भन्ने जुन स्कुलिङ थियो, म त्यसैमा छु। उहाँहरु अलिकति ब्याक हुनुभयो जस्तो लाग्छ। अन्तरविरोध त्यही हो। हामी छुट्टिँदा उहा"लाई पनि भावनात्मकरूपमा चोट पर्‍यो होला, त्यो कुराचाहिँ म मान्छु।

अनन्तजी र तपाईँबीच कुनै मनमुटाव छैन त?
छैन। मैले अनन्तजीलाई यही कोठामा सोधेको थिएँ– बाहिर यस्तो चर्चा छ। यो कुरा हो त? उहाँले हाँसेर जवाफ दिनुभएको थियो– हामी यो पार्टीमा नआउँदै प्रचण्डजीहरु लडिरहनुभएको थियो। बाहिर बाबुरामजीलाई एउटाले ब्याकिङ गर्छ र प्रचण्डजीलाई अर्कोले ब्याकिङ गर्छ भन्ने पनि त चर्चा थियो।

राजनीतिमा तपाईँहरू एकअर्काबाट टाढा हुनुभयो। व्यक्तिगत जीवनमा कस्तो छ सम्बन्ध?
सरल छ। ठीक छ।

बाहिर भनिएजस्तो कटुता छैन?
हैन। हैन। त्यसलाई उहाँले स्वाभाविकरूपमा लिनुभएको छ होला। राजनीतिमा आफ्नो कन्भिक्सनको कुरा हो। आफ्नो सोचाई, विचारको कुरा हो। त्यसमा व्यक्तिगत कटुता, तिक्तता र पूर्वाग्रहको खास अर्थ हुँदैन।

तपाईँको बहुमूल्य समय त्यो पार्टी बनाउन खर्च भएको छ। त्यसमा रगत–पसिना परेको छ। अन्तमा तपाईँहरु पार्टी नै छाडेर हिँडिदिनुभयो। त्यहीँभित्रै बसेर संघर्ष गर्न सक्ने अवस्था थिएन?
मेरो आफ्नो हेराइमा त पार्टी छाडेको होइन। हामी पुनर्गठन गरेको भन्छौँ।

त्यो त लिखितम्को कुरामात्र हो, हैन?
यथार्थ के हो म भन्छु। पार्टी छाडेको भए माओवादीको आधारभूत मान्यता छाडेको प्रचण्डजीले हो। यो मेरो आफ्नो मान्यता हो। त्यसैले हामीले पार्टी छाडेको त भन्न मिल्दैन।

पार्टीको नीतिगत तहमा बसेको मान्छे, तपाईँहरुले नै अध्यक्ष बनाउनुभएको, प्रचण्डपथ भनेर उहाँको मार्गमा हिँड्नुभएको। त्यो मान्छेले नीतिगत परिवर्तन त गर्न सक्छ नि, हैन?
त्यो सबै हुन हार्मोनी मिल्नुपर्छ । सृजना भनेको वैज्ञानिक मान्यताका आधारमा हुनुपर्छ। काल्पनिक कुरा गरेर त्यसलाई सृजना भन्न मिल्दैन। नयाँ राज्य निर्माण गर्ने भनेर हामी अगाडि बढ्यौँ। त्यसमा परिवर्तन गरेर फेरि पछाडि नै जाने कुरा त मान्य हुँदैन नि त। त्यसैले हामी जुन बाटोमा छौँ, त्यो ठिक छ।

तपाईँहरु ठीक हुनुहुन्छ भन्ने पुष्टि कसरी गर्नुहुन्छ?
जनयुद्धका केही मान्यता थिए। जनता र राज्यबीचको अन्तरविरोधलाई हल गर्ने एउटा। दोस्रो, जनताका अधिकारलाई उपभोग्य हुनेगरी संस्थागत गर्ने। तेस्रो, हाम्रो राष्ट्रलाई आफ्नै खुट्टामा उभिन सक्ने बनाउनुपर्छ भन्ने थियो। पछिल्लो शान्ति प्रक्रियासम्म आइपुग्दा यी विचारहरु नराम्रो ढंगमा विघटनतिर लागेको छ जस्तो हामीलाई लागेको छ। हामीले जे कुराको प्रतिबद्धता जनता र नागरिकलाई गरेका थियौँ, त्यो नै ठीक छ। त्यसकारण हामीले गरेको तर्क कुनै काल्पनिक आधारमा होइन।

त्यसो भए तपाईँहरु शान्ति प्रक्रियामा आउँदाखेरि नै तपाईँहरुबीच असहमति थियो।
होइन। त्यो थिएन। शान्ति प्रक्रियामा आउँदाखेरि हामी सहमत थियौँ। शान्ति प्रक्रियाको नतिजा हामीले के चाहेका थियौँ भने राज्य र जनताबीचको अन्तरविरोध हटोस्। जनयुद्धका उपलब्धि महसुस हुनेगरी र उपभोग गर्ने तहसम्म लैजानेमा हाम्रो सहमति थियो। यसैमा हामीलाई घात भयो भन्ने लागिरहेको छ।

शान्ति प्रक्रियामा आएपछि कम्युनिष्ट समाज निर्माण हुनुपर्छ भन्ने तपाईँहरुको धारणा थियो?
होइन। त्योमात्र पनि होइन। हामीले अर्को समझदारी गरेका थियौँ। त्यो के भने माओवादीले भनेजस्तो नौलो जनवादी व्यवस्था पनि अहिलेका लागि त्यति व्यावहारिक नहोला। किन नहोला भन्दा कांग्रेस, प्रजातन्त्रवादीहरुले हामीसँग सहकार्य गर्न उचित ठानेको बेलामा, त्यो व्यावहारिक नहोला भन्ने थियो। अनि उनीहरुले पनि पुरानो संसदीय व्यवस्थाबाट अब चल्दैन भन्ने महसुस गरेको बेला हो यो भन्ने हामीलाई पनि परेको थियो। यहाँ सात दल, आठ दल पनि थियो। तर यथार्थमा भन्नुपर्दा शान्ति प्रक्रियाको पार्टनर भनेको प्रजातन्त्रवादी र कम्युनिष्टमात्रै थिए। यो दुईवटा धारबीचको सम्झौता थियो त्यो। यो दुईवटा धारको सहकार्यमा जनतालाई अधिकार सम्पन्न बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास थियो। त्यो भएन।

कांग्रेस र माओवादीबीचको सम्भौता मात्र हो भन्नुहुन्छ?
काँग्रेस र माओवादीमात्र भन्दा उचित नहोला। प्रजातन्त्रवादीहरुको नेतृत्व काँग्रेसले गरेको र कम्युनिष्टहरुको नेतृत्वचाहिँ माओवादीले गरेको भन्ने लाग्छ।

त्यो सहकार्यबाटै त गणतन्त्र आयो नि आखिर। आएन र?
गणतन्त्र त आयो। गणतन्त्र भनेको राज्यको उपल्लो तहको संरचनामा हेरफेर हो। जसले जनताको दैनिक जीवनमा केही परिवर्तन ल्याउँदैन। जनता जे कारणले परिवर्तनको पछाडि लागेको थियो, त्यसलाई सम्बोधन गर्न सकिएन। समात्न सकिएन।

के समात्न सक्नुभएन?
हामीले किसानको कुरा गरेको थियौँ। उनीहरुको हक अधिकार सुनिश्चित गर्ने कुरा। नेपालमा उत्पीडित जातिहरुको विशिष्ट प्रकारका समस्या छन्। राज्यले त्यसलाई पनि वैधानिकरूपमै सम्बोधन गरोस् भन्ने थियो। त्यसपछि राष्ट्रवादको कुरा, जनजातिका कुरा, युवाहरुको कुरा। त्यो सबैलाई राज्यले सम्बोधन गर्न सक्नुपर्थ्यो। आन्दोलनको नारा सबै पार्टीले बनाए तर वैधानिकता दिन सकेनन्।

पार्टी त्यसै कारणले फुटेको हो त?
हो, चुरो कुरा यही हो। अझ मैले जनमुक्ति सेनाको कुरा छुटाएछु। दुईवटा सेना मिलाएर राष्ट्रिय सेना बनाउने भन्नेमा सहमति थियो। प्रचण्डजी यसैमा ब्याक हुनुभयो। यस्तो कुरामा ब्याक भएपछि पार्टीमा कसरी कुरा मिल्छ?

सेना त मिल्यो नि, मिलेन?
भन्न त मिल्छ। तर, रियालिटी के हो? त्यो त तपाईँलाइ पनि थाहा छ नि।

सेना समायोजन भयो। तपाईँका लडाकुहरु बुट बजारेर तालिम लिँदैछन्। अब मेजर, कर्नेल जस्ता पदको खोजी हुँदैछ। तपाईँ कसरी मिलेन भन्नुहुन्छ?
दबाएको मित्रता र साँच्चिकैको मित्रतामा त फरक हुन्छ नि। सम्पन्नशाली र एउटा निमुखाबीचको मित्रता जस्तो हुन्छ नि, त्यस्तै समायोजन भयो। उन्नाइस हजार जनमुक्ति सेनालाई रुवाउँदै घर फर्काएको समायोजनको अर्थ र औचित्य कहाँ छ?

अब तिनीहरुलाई पुनर्संगठित गर्न थाल्नुभएको छ, हैन?
तिनीहरुलाई पुनर्संगठित गर्नैपर्दैन नि। उनीहरु त्यसै संगठित छन्।

पोलिटिकल मुभमेन्टका लागि संगठित गर्दै हुनुहुन्छ?
पोलिटिकल मुभमेन्ट त कसरी जान्छ, त्यो हामीले पछि हेर्ने कुरा हो। तर, ती प्रायःजसो हाम्रा संगठित सदस्य नै हुन्। उनीहरु कार्य विभाजनअनुसार जनमुक्ति सेनामा थिए। तर, उनीहरु पार्टीकै संगठित कार्यकर्ता नै हुन् नि।

तपाईँहरु कम्युनिष्ट डक्ट्राइनबाट प्रेरित र संगठित सेनालाई नेपाली सेनामा लगेर मिसाउन चाहनुहुन्थ्यो, जसले गर्दा तपाईँहरुलाई भोलि नेपाली सेनाकै रुपान्तरणमा सहयोग होस्।
होइन। सेनाका सम्बन्धमा प्रजातन्त्रवादी र कम्युनिष्टको मान्यतामा जानुभयो भने केही भिन्नता होला। तर, त्यसको समृद्धीकरणमा हामी दुवैको मत मिल्छ। सेना भनेको हतियारधारी फोर्समात्र होइन। सेना भनेको जनताको सेवक पनि हो। समायोजनमा सबैलाई ठाउ" दिनुपर्थ्यो। त्यसो गर्दा के बिग्रन्थ्यो होला त? एउटा ब्यारेकमा थुनिएर खाएर बस्ने भन्दा त जनताको जीवनमा सहयोग गर्ने सेनाका रूपमा जनमुक्ति सेनाले लान्थ्यो भने के नराम्रो थियो त?

तर लडाकु बिदा गर्दा तपाईँ पनि यही राज्य व्यवस्थाको एउटा अंग हुनुहुन्थ्यो। सम्पूर्ण प्रक्रिया भइरहँदा सक्रिय हुनुहुन्थ्यो, त्यसमा सहमत हुनुहुन्थ्यो। हैन?
साँचो कुरा के हो भने शान्ति प्रक्रियाको दुई वर्षसम्म हाम्राबीच कुनै विवाद थिएन। हामी सबैलाई के विश्वास थियो भने हामी नेपाललाई केही दिन सक्छौँ। चाहे संस्थागत ढंगले होस्, चाहे व्यक्तिगत ढंगले होस्। त्यो हुँदासम्म हाम्रो केही विवाद थिएन। जब हामीले सबै कुरा हेर्न थाल्यौँ, बुझ्न थाल्यौँ, आफैँले अध्ययन गर्न थाल्यौँ, नेताहरु ठूलो घेराबन्दीमा परेको फिल हुन थाल्यो। उहाँहरुको इच्छाविपरित पो हो कि त यो भन्ने पनि लाग्यो। उहाँहरु त अगाडि नै लैजान चाहनुहुन्थ्यो, उहाँहरुलाई परिवेशले घेराबन्दीमा पार्‍यो कि क्या हो? त्यसपछि त्यो घेराबन्दीबाट मुक्त गर्न हामीले प्रयास गर्‍यौँ। मैत्रीपूर्णरूपमा हाम्रो कुरा पनि राख्यौँ र फेरि लिडर त तपाईँ नै हो नि है पनि भन्यौँ। त्यसपछि उहाँ मनोगतरूपमा पनि चल्न थालेको जस्तो लाग्यो। अनि यो विभाजन भएको हो।

एनेकपा माओवादी भने पनि, नेकपा–माओवादी भने पनि नेपालको सामाजिक संरचनामा आमूल परिर्वतन गर्न त सफल भएको छ। त्यसलाई मान्नुहुन्छ?
त्यो कुरा म मान्छु। जागरण भएको छ। यो जागरण निकै महŒवपूर्ण छ। तर, जागरण ठोस हुन्छ कि हुन्न भन्नेमा चाहिँ चिन्ता छ। जागरणमात्र ठूलो कुरा होइन।

त्यो जागरण लिएर आउन नेताका रूपमा त प्रचण्डलाई नै अघि सार्नुभएको होइन?
हो। एकदमै हो। र, त्यति बेला हामीले निर्णय गलत गर्‍यौँ भन्ने पनि हामीलाई परेको छैन। हामीले उचित पात्र नै छानेका थियौँ भन्ने हामीलाई थियो।

प्रचण्डका बारेमा बारम्बार यो कुरा तपाईँलाई किन सोधिरहेको छु भने नेकपा–माओवादीको फाउन्डेसनमा धेरै योगदान तपाईँको पनि छ। तपाईँले मोहन वैद्यजीहरुलाई पार्टी विभाजनतर्फ लान प्रेरित गर्नुभयो भन्छन्। वास्तवमा के हो बताउनूस् न?
यो कुरा सत्य हैन।

यो कुरा कति प्रतिशत सत्य होइन?
तपाईँलाई किरण कमरेडका बारेमा थाहै छ। उहाँ अहिलेको संघर्षमा मात्र हैन, धेरै पहिलेदेखि भित्री संघर्षमा जुद्धै आउनुभएको छ। बादलजी पनि र अरु पनि। त्यसैले जे कुरा बाहिर प्रचारमा आएको छ, त्यो सत्य होइन। जहाँसम्म पछिल्लो समयमा देशभरका युवाहरुसँगको सहकार्य, जनतासँग भेटघाटका हिसाबले उत्प्रेरित गरेको भन्ने छ, त्यो हो र त्यसलाई म मान्छु।

नेकपा–माओवादी भन्नेबित्तिकै मान्छेको मनमा विप्लवकै तस्बिर आउँछ। तपाईँ बिस्तारै यस्तो नेताका रूपमा चित्रित गरिँदै जानुभएको छ, जसले सकारात्मक र नकारात्मक दुवै प्रतिफल दिन सक्छ। के भन्नुहुन्छ?
अब हाम्रो कार्यकर्ता, नागरिक, बुद्धिजीवीको सवालमा त्यो अपेक्षा हो भने त्यो मेरो निम्ति च्यालेन्ज नै हो। तर यदि त्यो अतिरञ्जित हो भने त्यो सही कुरा होइन। हामी राष्ट्रका सचेत नागरिक हौँ। र, राज्यप्रतिको दायित्व पूरा गर्नुपर्छ भन्नेमा सचेत छौँ।

व्यक्तिगतरूपमा पनि तपाईँ ठकुरी क्लासको मान्छे, कम्युनिष्ट आन्दोलनमा होमिनुभएको छ। तपाईँलाई लाग्दैन कि तपाईँजस्तो साहस गर्न सक्ने ठकुरी निकै कम छन् ? आफैँलाई कसरी मूल्यांकन गर्नुहुन्छ?
मार्क्स पनि सम्पन्न र शिक्षित परिवारकै मान्छे हुनुहुन्थ्यो। एंगल्स त झन् कम्युनिष्ट विरोधी परिवारकै मान्छे। त्यसैले सभ्यताको अन्वेषण र आत्मशक्तीकरणमा कुनै जाति विशेष वा पुरानो विश्वासले फरक पार्छ भन्ने कुरा मलाईचाहिँ लाग्दैन। त्यसकारण मलाई त्यो कुरा ठूलो लाग्दैन। तर, नेपालको पुरातन सोचबाट हेर्ने हो भने ठकुरी परिवारबाट म आएँ।

तपाईँहरु त रुलिङ क्लास नै हो नि? हाहा...
हो। र, इतिहासमा हेर्नुभयो भने सबैभन्दा पहिला संघर्षमा होमिने पनि त हामी नै हौँ नि। हाहा...

तपाईँ यस्तो रमाइलो कुरा गर्नुहुन्छ, पढे/लेखेको हुनुहुन्छ, लुगा पनि राम्रो मिलाएर लगाउनु हुन्छ। तर, तपाईँको राजनीतिक सोचचाहिँ किन यति साह्रो ...क्रुड' छ?
हाहा... यो एउटा अन्तरविरोध हो। यो क्रान्ति भन्ने जातै एउटा अनौठो कुरा हो। सुन्दर परिकल्पनाको केही समय क्रुड पनि हुनुपर्छ। तपाईँको शब्दलाई एकैछिन सापटी लिएको मात्र है। तपाईँले भनेजस्तो क्रुड पनि हैन। विश्वको सुन्दरता वैज्ञानिक समाजवादमै छ। त्यसमा मलाई पूर्ण विश्वास छ। र, त्यही मात्र सोचर हिँडेकाले पनि होला कि शायद?

वैज्ञानिक समाजवादको पतन भयो पूर्वी यूरोपमा, रुसमा। चीनको वैज्ञानिक समाजवाद पुँजीवादी अर्थतन्त्रको हिस्सा बन्यो। कम्युनिष्ट विचारको धेरै नया" हाँगाबिँगा फैलिएको छ। तपाईँचाहिँ किन यो पुरानो थोत्रो हाँगामै?
प्रजातन्त्रवादी जस्तो त अझै कम्युनिष्टहरु भइसकेका छैनन्। उनीहरु त एकले अर्कोलाई बन्दूकले नै तह लगाउँछन् र आफूलाई प्रजातन्त्रवादी भन्छन्। उनीहरुबीचको संघर्ष अगाडि त कम्युनिष्ट कान्छो नै हो।

दाउपेचको मामलामा त प्रजातन्त्रवादीहरु मूर्खै छन् नि। त्यसमा त तपाईँहरु माहिर हुनुहुन्छ।
हाहा... जुनसुकै किसिमको कम्युनिज्म अपनाए पनि म कम्युनिष्ट हुने कुराको सम्मान नै गर्छु। समाजवादमा जाने हो भने वस्तुगतरूपमा सोच्नुपर्छ।

ग्लोबल इकोनमीको जमाना छ अहिले। धेरै कम्युनिष्ट देशहरुले मल्टिनेसनल कम्पनी भित्र्याएका छन्। अब तपाईँहरु नेपालमा ठूला योजनाको विरोध गर्नुहुन्छ। विदेशीले केही कुरा पनि प्रमोट गर्नुहुन्न भन्नुहुन्छ। यसैगरी चल्छ?
यसमा हामीलाई के लाग्छ भने विश्व त मार्क्सवादले परिकल्पना गरेकै क्षेत्रतर्फ प्रवेश गर्दैछ– अन्तर्राष्ट्रिय। मानव जातिको क्यारेक्टर त अन्तर्राष्ट्रिय नै हुन्छ। जहाँसम्म नेपालमा पुँजीको कुरा आयो, त्यो आउनै हुँदैन, त्यो गलत हो भन्ने पक्षमा म छैन। मात्रै कुरा के हो भने यहाँ उत्पादन भएका कुरा र नाफा कसका लागि प्रयोग हुनुपर्छ त भन्ने कुरामा मात्र हाम्रो विरोध हो। पुँजी आउने तर उपभोग र वितरण बाहिर हुने हो भने नेपालीलाई के फाइदा भयो त भन्ने हाम्रो प्रश्न हो। नेपालका अहिलेकै पुँजीपतिहरूको पुँजी ६० प्रतिशत बाहिर छ भन्ने कुरामा अहिले पनि त विवाद भइरहेको छ। हाम्रो राज्यसम्बन्धी नीति छोडर हिँडेकाले प्रचण्ड बाबुरामजीहरुको सपोर्ट पुरानो राज्यलाई नै जान्छ। पुरानो राज्यको नीति नै पुँजी पलायन गर्नेखालको छ। हामी त यसलाई बचत गरेर यहीँ राख्न सक्नुपर्छ भन्छौँ।

देश गणतन्त्र भएपछि सिस्टममा बाँध्नमात्र समस्या भएको हो नि, नत्र त देशमा परिवर्तन त भएको हो नि हैन? तर पद्धति निर्माण गर्न तपाईँहरु चुक्नुभयो। त्यसको दोषी त तपाईँ पनि हो नि, हैन?
यो सही कुरा हो। म यसबाट भाग्न खोजेको हैन। हामी त्यसको दोष बोक्न तयार छौँ। तर हामीले मात्र बोक्ने त हैन नि। सबैले बोक्नुपर्छ, हाम्रो भागमा जति प्रतिशत पर्छ, हामी त्यति दोष बोक्न तयार छौँ। हामी त पार्टीभित्र बाहिर जताततै लड्यौँ। नेपाली जनतालाई हामीले सूचना पनि दियौँ। हामीले धेरै निर्णयको विरोध यो कारणले गरेका थियौँ कि त्यसले पार्टीको सत्ता त टिकाउन मद्दत गर्थ्यो होला तर देश र जनतालाई फाइदा गर्दैन थियो। परिवर्तन ठूलो कुरा हो। गणतन्त्र आएको त कालजयी परिवर्तन नै हो। तर यसलाई नेताको जीवनमा आउने हेरफेरमा मात्र सीमित रहन दिनुभएन। यसलाई जनताले भोग गर्ने तहसम्म पुर्‍याउनुपर्छ। त्यो कुरा गर्न त जनताको एजेण्डामा बहस गर्नुपर्थ्यो। त्यो भएन, बरु भाग्ने काम भयो। त्यहाँनिर राजनीति संकीर्णता, मनोत्रास नेताहरुमा पैदा भयो। जग बलियो भएन भने त माथिको संरचना जतिखेर पनि भत्कन सक्छ।

तपाईँले हाम्रो भागमा जति प्रतिशत दोष पर्छ, भोग्न तयार छौँ भन्नुभयो। तपाईँहरु छुट्टिँदा पत्रपत्रिकामा तपाईँहरु तीस प्रतिशत, बा"की एनेकपा माओवादी भन्ने पढ्न पाइएको थियो। त्यति नै प्रतिशत हो त?
हाहा... त्यो पनि रमाइलो कुरा छ। त्यो तपाईँहरुकै साथीभाइले बनाइदिनुभयो। कसले बनाइदिएको भन्ने हामीलाई थाहा छैन। त्यो सत्य थिएन। त्यो केवल मनोवैज्ञानीक कुरा थियो।

वास्तविक्ता के थियो त?
माओवादी भनेको केवल एक, दुई, तीन, चारको अंक गणितमात्र होइन। माओवादी भनेको अवधारणा हो, चिन्तन धारा हो, जीवन पद्धति हो।

तपाईँहरुले चुनाव बहिष्कार गर्ने कुरा गर्नुभएको छ। शान्तिपूर्ण राजनीतिमा पनि हतियारको सर्वोपरितालाई इन्कार गर्नुभएको छैन। कुरा के हो?
कुरा सही हो यो। किन सही हो भने शान्ति प्रक्रियामा माओवादीलाई घात भएको अनुभूति हामीलाई छ। माओवादी भनेको कुनै एउटा व्यक्ति विशेष होइन, एजेण्डा हो भन्ने बुझ्नु जरुरी छ। त्यसैले हाम्रो एजेण्डामा वस्तुगतरूपमा सहमतिबिना निकासको परिकल्पना गर्नु तर्कसंगत छैन। हामी चुनावको विरोधी पनि होइनौँ। चुनाव त हामीले पनि लडेर जितेरै आएका हौँ। तर चुनावको औचित्य सावित गर्नुपर्‍यो। एकचोटी नेपालमा संविधान सभाको चुनाव आवश्यक थियो। त्यो भयो। तर त्यो किन निस्तेज भयो भन्ने कुराको गहन समीक्षा नै नगरी त्यस्तै प्रकृतिको अर्को चुनाव थोपर्ने कुरा त मान्य हुँदैन। त्यसले राष्ट्रलाई घाटा हुन्छ।

एउटा कुरा त हो नि। बीस तीस हजार मान्छेको ज्यान गयो, अझै कयौँ लापत्ता छन्। त्यत्रो दुःखद् स्थिति पार गरेर यहाँसम्म आउँदा पनि हतियारकै सर्वाेपरितालाई मान्नुहुन्छ। तपाईँहरुलाई जनताप्रति विश्वास छैन?
हैन, जनतामा विश्वास हुनेले मात्र यो कुरा गर्न सक्छ।

त्यो हतियारले अब कसलाई ताक्ने त? राजा छैनन्। कि प्रचण्ड, सुशील, झलनाथलाई ताक्नुपर्‍यो, कि आफैँविरुद्ध बन्दूक ताक्नुपर्‍यो...
हैन, प्रचण्डविरुद्ध नताक्ने। सुशील, झलनाथविरुद्ध पनि किन ताक्नु? तर जनतालाई हेप्नेविरुद्ध त ताक्नुपर्‍यो नि।

कसले हेप्यो जनतालाई?
जसले बीसौँ हजार मान्छेको रगतलाई संस्थागत गर्ने कुरामा अवमूल्यन गरे। जिम्मेवारी बोध गरेनन्। गणतन्त्रसम्म आयौँ, तर के अझै रगत नपुगेकै हो त?

संसारमा ठूलाठूला स्वतन्त्रता संग्राम भएका छन्, आन्दोलन र क्रान्ति भएका छन्। कसैले पनि त्यसको ब्याज मागेका छैनन्। तपाईँहरु गलत परम्पराको थालनी गर्दै हुनुहुन्छ, हैन?
हैन, हैन। हामीले हाम्रो कुरा गरेको हैन। हामीले जनताको हक अधिकार खोजेका हौँ। हामी त हिजो पनि दुःखै पाएको मान्छे, भोलि पनि दुःख पाउन तयारै छौँ। हाम्रो भनाई त के भन्दा बीस हजार मान्छे मरेको पीडाबोध त सुशीलजी, झलनाथजी, प्रचण्डजीलाई धेरै हुनुपर्छ। आमजनतालाई होइन। पीडाबोध हुनु भनेको मञ्चमा उभिएर दुई थोपा आँसु झार्नु होइन। त्यो त नेपाली जनतालाई शक्तिसम्पन्न गराउने कुरा हो। नेपालको राजनीतिमा जनताको स्थानलाई माथी उठाइदिने कुरामात्र हो। त्यो गर्न सक्नुभएन।

तपाईँ त्यत्रो वर्ष प्रचण्डजीसँगै हुनुहुन्थ्यो। किन गर्न सक्नुभएन त? गर्न नचाहेर कि नदिएर?
एक त उहाँ घेराबन्दीमा परेकै हो। अर्को उहाँले चुनौतीको सामना गर्न सक्नुभएन। त्यो मानेमा उहाँ झुकेकै हो।

तपाईँहरु पार्टीहरुलाई भोट माग्न जान नदिने सुरमै हुनुहुन्छ, हैन?
दिने। तर हामीसहित सबैजना जाने नि भोट माग्न। उहाँहरुलाई मात्र किन दुःख दिने? हामी पनि माग्छौँ नि। त्यो बनाउनुपर्‍यो नि त।

तपाईँहरुको चुनावमा भाग लिने सर्त के हुन त?
जनयुद्धकालमा गिरिजाप्रसाद कोइराला र प्रचण्डजीबीच भएको विस्तृत शान्ति सम्झौतालाई अक्षरशः पालना गर्नुपर्ने थियो। त्यो भत्कियो। अब त्यो भन्दा पनि उच्चस्तरीय सहमति आवश्यक छ।

उच्चस्तरीय सहमति भनेको के हो?
यो केही हैन। प्रमुख कुरा के भने नमिलेको डेमोक्र्याट र कम्युनिष्ट नै हो। यी दुई मिल्नुपर्‍यो भन्ने नै हो। कमसेकम माओवादीले राखेको एजेण्डामा डेमोक्र्याटहरु जे गर्न तयार भएका थिए, त्यो गर्नुपर्छ।

त्यो नमानेर तपाईँहरुलाई पन्छाएरै अगाडि गए भने के हुन्छ?
उहाँहरु कहाँसम्म पुग्न सक्नुहुन्छ, हामी भन्न सक्दैनौँ।

बन्दूक बोक्नुहुन्छ?
एकैचोटि तर्कलाई त्यहाँ पुर्‍याउनुहुँदैन। हतियार कसैले रहरले उठाउँदैन। कुरा मिल्छ नै भनेर सोचुँ न अहिले।

जग्गेबाटै लगनगाँठो गायव ! - nagariknews

दृश्य १, विवाहमण्डपमा हर्षोल्लास छ। छेउमा बाजाको तालमा नाच चलिरहेछ। जन्ती–लोकन्ती आ–आफ्ना झुन्डमा गफिँदै बिहे नियाल्दैछन्। दुलाहा–दुलहीलाई छेड हान्दै मण्डपको माहोल तताउनेको कमी छैन। सबै आ–आफ्नै सुरमा छन्। मण्डपमा एउटा अपरिचित (जसलाई लोकन्तीले जन्ती, जन्तीले लोकन्ती र कसैकसैले पुरोहितका सहयोगी ठानिरहेछन्) को सक्रियता हेर्नलायक छ। अग्लो, ख्याउटे अनुहार, क्याप लगाएको ऊ दुवै पक्षलाई सहयोग गरिरहेको छ। यसो गर्नुस्, उसो गर्नुस् भनेर खटनपटनसमेत गर्दैछ। यत्तिकैमा खाने समय भयो, सबै भोजभतेर खान–खुवाउन व्यस्त भए।
दृश्य २
खानपिनपछि बाँकी विवाह प्रक्रिया सुरु भयो। दुलाहा–दुलहीले लगनगाँठो समातेर जग्गे परिक्रमा गर्ने बेला भयो। पुरोहितले विवाह–सम्बन्ध दिगो बनाउन राम्ररी कसिएको लगनगाँठो समातेर जग्गे परिक्रमा गर्न दुलाहा–दुलहीलाई अह्राए।
लौ बर्वाद! अघिसम्म जग्गेमै रहेको लगनगाँठो त्यहाँ देखिएन। कसले, कहाँ लग्यो? हल्लीखल्ली भयो, तर भेटिएन। अचम्म त अघि लगनगाँठो कस्न सघाउने ती अनौठा व्यक्ति पनि त्यहाँ देखिएनन्।
लगनगाँठो त उनैले टप्काएर भागेछन्। प्रहरी बोलाइयो। केहीबेरमै प्रहरी आए र निरीक्षण गरे। लगनगाँठो चोरिएको र ती अनौठा व्यक्ति कसैको निम्तालु वा सहयोगी नभएर चोर नै भएको खुल्यो।
पण्डितले नयाँ लगनगाँठो कस्न लगाएर विवाह सम्पन्न गरे।
...
चलचित्रको दृश्यझैँ यो घटना सामाखुसीस्थित एबी पार्टी  प्यालेसमा शुक्रबार भएको विवाहको हो। प्रहरीलाई खबर गर्ने र आफन्तले समेत वरपर खोजी गरे पनि …चोर' भेटिएन। विवाहमण्डपमा फोटो र भिडियो खिच्नेहरुले समेत नजिकैका आफन्त ठानेर ती व्यक्तिलाई 'फोकस' गरेको बताए। हराएको लगनगाँठो चोर त्यही भिडियो हेरेर पहिचान भयो। प्रत्यक्षदर्शीका अनुसार ती व्यक्तिले कम्तीमा एक/डेढ घन्टा विवाहमण्डपमा सघाउँदा पनि दुवै पक्षका आफन्तले पत्तो पाएनन्।
आफन्तका अनुसार ती व्यक्तिले जग्गेका विभिन्न ठाउँमा कति पैसा राख्ने भन्नेसमेत बारम्बार सल्लाह दिएका थिए। उनले सुरुमै दुलहीकी आमालाई 'विदेश बस्ने ज्वाइँ, इज्जतको सवाल हो' भन्दै लगनगाँठोमा कम्तीमा १४–१५ हजार राख्न सुझाव दिएका थिए। दुलही पक्षका अनुसार लगनगाँठोमा १४ हजार राखिएको थियो।
लगनगाँठोमा दुलाहा पक्षले कम्तीमा दुलही पक्षले राखेको जति रकम राख्नैपर्छ। दुवै पक्षलाई पैसा राख्न लगाएपछि ती व्यक्तिले दुलाहा र दुलहीलाई लगनगाँठो कस्न सघाएका थिए। 
लगनगाँठो तयार भएपछि आफूनजिकै राखेर ती व्यक्ति खाना खाने समय पारेर सबैका आँखा छलेर भागेको प्रारम्भिक अनुसन्धानमा देखियो।
प्रत्यक्षदर्शीका अनुसार ती व्यक्ति ट्याक्सीमा भागेका थिए। 'पैसा लिएर हिँडेको भनेर कसरी थाहा पाउने? ट्याक्सी रोकेर हिँडेको हो,' दुलाहा पक्षका एक आफन्तले भने।
खबर पाउनासाथ आएको प्रहरीले घटनास्थल निरीक्षण गरे पनि पीडित पक्षले लिखित उजुरी नदिएको सामाखुसीस्थित तिलिङटार प्रहरी प्रभागका सइ आदित्य सिंहले बताए। 'लिखित उजुरी आएको छैन, फोटोसहित उजुरी आए खोज्न सकिन्छ,' उनले भने।
लगनगाँठो चोरिनु दुर्लभ घटना भएको उनले बताए।

Friday, April 26, 2013

१४ अर्बमा विक्री हुन लागेको लण्डनको नेपाली दूतावास कस्तो छ, विरोध किन ?(तस्वीर समाचार) - bizmandu

लण्डनको नेपाली दूतावास विक्री गर्न प्रक्रिया सुरु गरेपछि सर्वसाधरण नेपाली हैरान छन्, उनीहरुको प्रश्न हुने गरेको छ, आखिर किन विक्री गर्नु पर्यो नेपाली दूतावास ? बेलायतमा बस्ने नेपालीले दूतावास विक्री प्रस्तावको विरोध गरेका छन् । आखिर लण्डनको नेपाली दूतावास किन विक्री गर्न खोजिंदैछ ? किन भैरहेको छ विरोध र विक्री गरे कति पर्ला अनुमानित मूल्य ?


बेलायतको नेपाली दूतवास, यो भवनको ट्वाइलेटमा फ्ल्स हुँदैन्, छतमा मर्मतको आवश्यकता छ र भिसा आवेदन गर्न आउनेलाई प्रेसर कुकरको सिठ्ठीले स्वागत गर्दछ

बेलायती ट्यावलोइड डेलीमेललाई आधार मान्ने हो भने लण्डनको नेपाली दूतावास दश करोड पाउण्ड (झण्डै साढे १३ अर्ब नेपाली रुपैयाँ)मा विक्रीको प्रयास गरिंदैछ । लण्डनको सबैभन्दा महत्वपूर्ण सडकमा रहेको यो भवन विक्रीको भने लण्डनमा बस्ने गोर्खा समुदायले चर्को विरोध गरेको छ ।
पश्चिम लण्डनको केन्सिटन दरवार गार्डेनमा रहेको नेपाली दूतावास रियलस्टेट कम्पनीका लागि ‘एक्सक्लुसिभ’ सम्पत्ती हो । विश्वकै धनाढ्य, विभिन्न शक्तिशाली देशका दूतावास रहेको यो क्षेत्रमा विरलै सम्पत्ती विक्रि हुन्छ । नेपाली दूतावासको नाममा रहेको यो सम्पत्ती विक्री हुने भएपछि विश्वकै धनीहरुको चासो यो क्षेत्रमा रहेको डेली मेलले लेखेको छ ।


यो दूतावासको मूल्य दश करोड पाउण्ड साढे १३ अर्ब नेपाली रूपैयाँ पर्ने अनुमान गरिएको छ

नेपालले बेलायती राजदूत सुरेशकुमार चालिसेको नेतृत्वमा नेपाली दूतावास विक्रीसम्वन्धी निर्णय गर्न १२ सदस्यीय टोली गठन गरेको छ, यो टोली अहिले लण्डनमा छ । लण्डनमा सबैभन्दा सुरक्षित मानिने र अर्वपतीको सडक भनेर चिनिने यो क्षेत्रमा विभिन्न देशका दूतावास, राजदूतका निवास र विश्वका प्रतिष्ठित उद्योगी व्यापारीहरु बस्छन् ।
केन्सिटन दरवार गार्डेनमा रहेको ‘१२ए’ भवन सन् १८६५ मा निर्माण गरिएको हो, यो भवन बेलायतले नेपाललाई सन् १९३७ मा उपहार दिएको हो, युद्धमा गोर्खाले देखाएको अदम्य साहस र विरताको कदर गर्दै बेलायतले नेपाललाई ‘थ्यांक यु’ उपहार दिएको, डेली मेलले लेखेको छ । बेलायती सेनामा काम गरेका गोर्खाले यो भवनलाई ‘भक्टोरियन भिल्ला’का रुपमा लिने गरेको र यो बहुमूल्य भएको बताउँदै आएका छन् ।
बीबीसीसँगको सम्वादमा परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले भने, अहिलेसम्म सरकारले भवन विक्रीको निर्णय गरेको छैन्, समितिले दिएको सुझावका आधारमा सबै निर्णय तय हुनेछ । नेपालले यो सम्पत्ती लिजमा पाएको हो । त्यसवापत नेपालले हरेक वर्ष एक हजार पाउण्ड लिज रकम तिर्दै आएको छ ।


नेपाली दूतावासलार्इ जोड्ने सडक, यो क्षेत्रमा २९ वटा सम्पत्ती छन्, ती सम्पत्तीको कुल मूल्य तीन अर्ब ४० करोड पाउन्ड पर्छ

नेपालको यो पहिलो दूतावास हो, यसको लिज सन् १९८० थप ९९ वर्षका लागि नविकरण गरिएको थियो । नेपालले यो भवन अझै पनि ६६ वर्ष उपयोग गर्न पाउँछ, नेपालले त्यसका लागि हरेक वर्ष मात्र एक हजार पाउण्ड लिज रकम तिरे पुग्छ । भवन भव्य स्थानमा भए पनि त्यसको पूर्ण मर्मत भने पछिल्लो ५० वर्षदेखि गरिएको छैन् । भवनलाई पूर्ण मर्मत गर्न ५० लाख डलर (६६ करोड रुपैयाँ) लाग्ने अनुमान गरिएको छ ।
मर्मत नगरिएको अहिलेको अवस्थाको यो सम्पत्तीलाई ‘राष्ट्रिय बेइज्जत’ भनिएको छ, ट्वाइलेटमा फ्ल्स हुँदैन्, छतमा मर्मतको आवश्यकता छ र भिसा आवेदन गर्न आउनेलाई प्रेसर कुकरको सिठ्ठीले स्वागत गर्दछ ।
यी समस्याका बाबजुत पनि ३२ हजार स्क्वायर फिटमा फैलिएको यो सम्पत्ती औपचारिक रुपमा खुला प्रतिश्पर्धामा विक्रीमा राखे  महँगोमा किन्न युद्ध ‘बिडिङ वार’ हुने अनुमान रियलस्टेट कम्पनीले गरेका छन् । लक्ष्मी मित्तललाई सन् २००४ मा बर्नी एक्केलेस्टोनको घर विक्री गर्ने ग्लेनट्री स्टेटका तेरोभर आव्राहमसनले नेपाली दूतावास भएको भवनको पुरानो ‘ग्लोरी’ फर्काउन लाखौं पाउण्ड खर्च हुने बताए ।


नेपाली दूतावासका छिमेकी, बेलायतका धनीमध्येका एक लक्ष्मी मित्तलको यो घर नेपाली दूतावास नजिकै छ,१२ बेडरूमको यो भवन सन् २००४ मा पाँच करोड ७० लाख डलरमा खरिद गरेका थिए

ती एजेण्टले भने, भवन निक्कै भव्य छ, भवनको गार्डेन, इन्ट्रान्स हल र भर्याङ्ग अद्भूत छ । उनले भने यो सम्पत्ती यो क्षेत्रकै महत्वपूर्ण सम्पत्ती हो । भवनलाई जिर्णोद्वार र नयाँ स्वरुपमा ल्याउन कम्तिमा पनि चार करोड पाउण्ड खर्च लाग्ने पनि उनले बताए । सडकसँग जोडिएको नेपाली दूतावास ठूलै गार्डेनले घेरिएको छ र यो केन्द्रीय लण्डनमा नौलो पनि छ । अवश्य पनि जब दूतावास भएर जाने सडकबाट तपाई बाहिर निस्कनुहुन्छ, तपाई लण्डनको केन्द्रमा पुग्नुहुन्छ ।


नेपाली दूतावासका छिमेकीको ग्राफ, डेली मेलबाट साभार

दूतावासले भनिएको यो क्षेत्रमा सम्भवत अन्य निजी सडकमाभन्दा बढी सुरक्षा छ, धेरै लामो समयदेखि यो सडकमा कुनै पनि सम्पत्ती विक्री भएका छैनन्, पक्कै पनि यो भवन विक्रीमा राखिए ‘विडिङ वार’ हुन्छ, उनले भने । व्युच्याम्स स्टेटका निर्देशक ग्यारी हर्षमले भने, भवन निक्कै आर्कषक छ र दश करोड डलरभन्दा बढी मूल्इ पर्दछ, विक्रीमा राखिए किन्न चाहनेको कुनै कमि हुनेछैन् । उनले भने केन्सिटन दरवार गार्डेनमा प्रति स्क्वायर फिट छ हजार पाउण्ड पर्छ, भवन जिर्णोद्धार गरिए १८ करोड डलभन्दा बढी मूल्यमा विक्री हुन्छ ।



केन्सिटन दरवार गार्डेनको लिज होल्डर क्राउन स्टेट हो, उसको सहमतिमा मात्रै नेपालले यो सम्पत्ती विक्री गर्न सक्छ, यो क्षेत्रमा २९ वटा सम्पत्ती
छन्, ती सम्पत्तीको कुल मूल्य तीन अर्ब ४० करोड पाउन्ड बराबरको छ । यो रकमको छ भागको एक भाग मूल्यले बेलायतकै चिपिङ नोर्टनस्थित कोट्सवल्र्ड टाउनको दुई हजार छ सय सम्पत्ती खरिद गर्न सकिन्छ । नेपाली दूतावासको छिमेकीका रुपमा रसिया, लेवनान, रोमनिया, सोल्भाकिया, चेज र नर्वेको दूतावास र राजदूतको निवास छ । यही स्थानमा साउदी राजपरिवारका सदस्य, बु्रनईका सुल्तान, रसियन अर्वपती बाल्भाटनिक र फक्स्टनका पाउण्डर जोन हन्टको भवन छन् । भारतीय मुलका बेलायती नागरिक लक्ष्मी मित्तलका यो स्थानमा धेरै घरहरु पनि छन् । मित्तलले सन् २००४ मा पाँच करोड ७० लाख डलर, बाल्भाटनिकले चार करोड १० लाख डलर र हण्टले एक करोड ५७ लाख डलरमा भवन खरिद गरेका थिए ।

तस्वीर र समाचार साभार डेलीमेल

मुकेश अम्बानीलाई भारतमा ‘जेड’ सुरक्षा, साथमा हरपल १३ सुरक्षाफौज, महिनाको खर्च १५ लाख भारु - bizmandu

रिलायन्स इन्ण्डष्ट्रिजका मुखिया मुकेश अम्बानीलाई भारत सरकारले ‘जेड’ तहको सुरक्षा दिने निर्णय गरेको छ । सरकारले बिहिवारबाट मुकेशलाई केन्द्रिय सुरक्षा बलका ३३ जवानबाट सुरक्षा दिने निर्णय गरेको हो । मुकेशसँग रहने सुरक्षाकर्मीसँग एके ४७ राइफल, ग्लक सेमि अटोमेटिक पिस्तोल र बुलेट प्रुफ ज्याकेट हुनेछ ।
अम्बानी भारतमा ‘जेड’ तहको सरकारी सुरक्षा पाउने पहिलो आमनागरिक हुन्, उनी मुम्बईमा यात्रा गर्दा १३ जना प्रहरीले दुईवटा गाडीबाट एक्सकर्ट गर्नेछन्, त्यसमध्ये एक जवान अम्बानीको गाडीको पहिलो सिटमा हुनेछन् । मुकेशलाई सुरक्षा दिन दुई वटा मारुती जिप्सी र उनकोको कार अघि एस्कर्ट गर्न एउटा गाडी दिइएको, सरकारी स्रोतले इकोनोमिक टाइम्सलाई बताएका छन् । अम्बानीका लागि छुट्टयाइएका ३३ मध्ये एक पटकमा सात जनाभन्दा बढीले छुट्टी पाउने छैनन्, २६ जनाले दुई १२ घण्टाको दुई सिफ्टमा सुरक्षा दिनेछन् । अम्बानी जहाँ पनि पुग्नेछन्, त्यहाँ सुरक्षाबलका १३ सैनिक उपस्थित हुनेछन् । यी १३ मध्ये कुनै पनि बेला दुई सुरक्षाकर्मी अम्बानीको पिएसओज् बन्नेछन् । यही पिएसओस अम्बानीको गाडीको पहिलो सिटमा बस्नेछन् । अधिकारीहरुले यो सुरक्षा अम्बानीलाई प्रदान गरिएको र उनका परिवारका कुनै पनि सदस्यले यो सुरक्षा नपाउने पनि अधिकारीहरुले बताएका छन् ।
अम्बानीले यी सुरक्षा अधिकारीलाई मुम्बई बाहिर पनि पनि लैजान सक्नेछन् तर उनीहरुको यात्रा र खानको खर्च भने उनैले उठाउनुपर्ने छ । अम्बानीले सुरक्षाका लागि प्रत्येक महिना १५ लाख भारु सरकारलाई तिर्नुपर्ने बताइएको छ । यसबाहेक सुरक्षा अधिकारीलाई बस्न अम्बानीले नै भवन बनाइदिनुपर्ने छ । मुकेश अम्बानीलाई ‘जेड’ तहको सुरक्षा दिने सरकारी निर्णयको भने त्यहाँका राजनीतिक दल र सर्वसाधरणले भने विरोध गरेका छन् । सबैभन्दा ठूलो विरोध आम आदमी पार्टी खोलेका अरविन्द केजरिवालले गरेका छन् ।

Thursday, April 25, 2013

मिडियाले पेलेको देख्दा आत्महत्या गरौँजस्तो लाग्छ - nayapatrika


गणेश लामालाई धेरैले शक्तिशाली डनका रूपमा चिन्छन् । तर, आफूलाई डन भनेर मिडियाले लेखेको उनलाई मन पर्दैन । ँमिडियाले पेलेको देख्दा कहिले आत्महत्या गरौँ त कहिले विदेश जाऔँजस्तो लाग्छ,’ उनी भन्छन् । गुन्डागर्दीको पृष्ठभूमि भएका लामा पछिल्लो समय भने नेता कहलिएका छन्, लोकतान्त्रिक फोरमको केन्द्रीय सदस्यका रूपमा । विजय गच्छदारसित विशेष सम्बन्ध भएका उनै लामासँगको कुराकानी :

डन कसरी बनियो ?
मलाई कहिल्यै डन हुँ भन्ने कुनै 'फिल' नै छैन । म डन हँुदा पनि होइन । मलाई डन भनेको मन पनि पर्दैन । मलाई कुन व्याख्या लगाएर डन भनियो, थाहा भएन ।
गुन्डागर्दीमा त लागिएको हो नि ?
मैले बारम्बार भन्दै आएको छु । हिजोको दिनमा जानी-नजानी झगडा गरेँ होला । त्यसबापत सजाय पनि पाइसकेको छु । सजाय भोगेर पब्लिकमा आइसकेपछि मैले यो समाजमा बाँच्न पाउने
कि नपाउने ?
हिजो नेताहरूले नै युवालाई दुरुपयोग गरेका हुन् । विपक्षीलाई कुट्न/ठोक्न लगाउने नेता नै हुन् । नेताले गलत बाटोमा लाग्नुहँुदैन भनेर सिकाउनेभन्दा पनि कुट्न र ठोक्न सिकाए । म पनि त्यसैको सिकार भएँ । टिनएजमा राम्रोसँग सोच्न सकिन्न । १६ वर्षको उमेरमा कसैले डाइरेक्ट हेर्दा पनि घुरेकोजस्तो लाग्छ । अहिले ३२/३४ वर्षको उमेरमा चिनेर पो हेरेको हो कि भन्नेे लाग्छ । सोच नै परिवर्तन भइसक्यो ।
सुरुमा तपाईंंको दुस्मनी कोसित थियो ?
यो/ऊ भन्ने त्यस्तो स्थायी दुस्मनी कोहीसँग भएन । त्रिचन्द्र क्याम्पसको स्ववियु चुनावको विषयमा भीम गुरुङसित झगडा भएको थियो । चुनावमा उनीहरू एकातिर थिए, म अर्काेलाई सहयोग गर्न गएको थिएँ । मेरो सुरुको झगडा भएको त्यही थियो । त्यो २०५७/५८ सालतिरको कुरा हो । त्यो झगडापछि पार्टीज्म बढ्दै गयो र यसरी नै झगडा बढ्दै गएको हो । न मेरी श्रीमती उसले लगेको हो, न मेरा पैसा खाएको हो । कुनै इस्युभन्दा पनि हामीलाई गलत रूपमा प्रयोग गरिएको हो ।
पछि समूह नै बनाएर झगडा गरेको होइन र ?
त्यस्तो धैरै पनि होइन । कहिलेकाहीँ आफ्नो सुरक्षाका लागि पनि झगडा भयो । अरूलाई मारे पनि जेलमै जानुपर्छ, म पनि कानुनभन्दा बाहिर छैन । मलाई मारे पनि अरू उम्कनेवाला छैनन् । झगडाभन्दा काम गर्नुपर्छ । अब सुध्रनुपर्छ भन्ने भावना आएपछि त्यस्तो झगडा गर्न छाडेको हुँ ।
क्यासिनोबाट जागिर सुरु गर्नुभयो, होइन ?
हो, मैले पहिला ८/९ महिना क्यासिनोमा जागिर खाएको थिएँ । त्यसपछि सानै रेस्टुरेन्टबाट भए पनि मैले आफ्नै व्यवसाय सुरु गरेँ । राज्यको दायरामा छिरेर, कर तिरेर मैले व्यापार गरेको हुँ । त्यसरी व्यवसाय गर्नु भनेको अपराध गर्नु जस्तो त मलाई लाग्दैन । त्यसरी व्यापारमा नलागेकोमा भए सायद म हप्ताखोरी हुन्थँे । धम्काउन जान्थेँ होला । मेरो सद्बुद्धिले गर्दा सुरुदेखि नै दुःख गर्न सिके । दाबाका साथ भन्न सक्छु, मैले अहिलेसम्म धम्काएर, रुवाएर, बिगारेर पैसा खाएको रहेछु भने जे सजाय पनि भोग्न तयार छु । त्यो मैले गरिनँ । किनकि, मैले गुजाराका लागि आफ्नै काम थालिसकेको थिएँ । गलत गर्नेलाई मैले आफ्नो टिममा कहिल्यै प्रश्रय दिइनँ ।
एकताका दीपक मनाङेसँग कडा दोस्ती थियो नि ?
काम गर्ने सिलसिलामा उनलाई भेटेको हुँ । कतिले मलाई दीपक मनाङेका बाउन्सर, मनाङेको केटाजस्ता आक्षेप लगाउने गर्छन् । होे, उनी मभन्दा सिनियर हुन् । दरबारमार्गमा ट्वान्टीफो आवर रेस्टुरेन्ट खोल्ने वेला भेट भएको थियो । मैलै त्यसमा थोरै सेयर हालेको थिएँ । त्यसपछि निकटता बढ्यो । त्यसलाई नै मान्छेले विभिन्न किसिमले लिन थाले । म पनि पढेको मान्छे हँु, उनले गलत काम लगाउँदैमा गर्ने मान्छे त होइन नि । म कुकुर हो र, टोकभन्दा टोक्न जाने, छोड्भन्दा छोड्ने ?
पहिला ठमेल क्षेत्रमा दीपक मनाङेको राज थियो, मनाङे जेल परेपछि तपाईंंको राज भयो भनिन्छ नि ?
यो एदमक झुट कुरा हो । त्यस्तो हुनलाई यो हिन्दी फिल्म पनि होइन । हाम्रो देश भनेको लेकाली आलुजस्तो हो । जुनसुकै ठुलो क्राइम गरे पनि अपराध गर्ने मान्छे बच्न सक्दैन । त्यसमा पनि उपत्यकामा । व्यापार गर्ने सिलसिलामा म ठमेलमा थिएँ । तर, ठमेल मेरो बाउबाजेको बिर्ता त होइन, मेरो राज चल्नलाई । व्यापार गर्ने सिलसिलामा म झापामा पनि पुग्न सक्छु नि । भन्न सक्नेले त दीपक मनाङ जेल गए पछि गणेश लामाले राज गर्‍यो, यति उठायो भन्न सक्नुपर्‍यो नि ! मैले कोसँग पैसा खाएँ, त्यो कसैले भन्न सक्छ ? कामको सिलसिलामा एक समय म ठमेलमा बढी बस्थेँ । पछि रेस्टुरेन्ट व्यवसाय छाडेपछि त म कहिल्यै गइनँ नि । त्यसरी मैले राज चलाएको भए त उनीसँग लडेर पनि त्यहीँ बसिहाल्थँे नि !
दीपक मनाङेसँग चाहिँ सम्बन्ध किन बिगि्रयो ?
सम्बन्ध बिगि्रएको पनि होइन । उनलाई म दाइ भन्छु, उनी मलाई भाइ भन्छन् । पछाडि के भन्छन्, थाहा छैन । न मैले उनको केही बिगारेको छु, न उनले मेरो । अहिले पनि दाजुभाइको सम्बन्ध छ । आ-आफ्नो क्षेत्रमा छौँ । मेरो कोहीसँग त्यस्तो धेरै राम्रो र दुस्मनी भन्ने छैन ।
काभ्रेली समूहचाहिँ कसरी बन्यो ?
यो पनि गलत कुरा हो । विभिन्न सिलसिलामा मान्छे विभिन्न जिल्लाबाट काठमाडौं आउने गर्छन् । यहाँ आएर कोही पढ्छन्, कोही जागिर खान्छन् । त्यस क्रममा आफ्नो जिल्लाको मान्छेसँग चिनजान हुन्छ, निकटता हुन्छ । सहयोग आदानप्रदान हुन्छ । काभ्रे मात्र होइन, जुनसुकै जिल्लाबाट आएकाबीच पनि स्वाभाविक निकटता हुन्छ । काभ्रेली समूह भनेर आरोप मात्र लगाएका हुन् । त्यस्तो कुनै समूह छैन । त्यो कम्पनी पनि होइन । कुनै ग्याङ पनि होइन ।
तर धेरै काभ्रेली युवालाई ठमेलमा स्थापित गराउनुभएको
होइन ?
हाम्रो देशको प्रमुख समस्या बेरोजगारी र अशिक्षा हुन् । यो राज्यको कमीकमजोरी पनि हो । व्यावसायिक क्षेत्र तहसनहस भइरहेको छ । एसएलसी पास गरेर हजारौैँ युवा गाउँबाट काठमाडौं आउने गरेका छन् । तर, यहाँ अवसर पाउन धेरै गाह्रो छ । म दाबाका साथ भन्न सक्छु, प्रत्यक्ष/अप्रत्यक्ष रूपमा तीनदेखि चार हजार युवालाई रोजगारी दिने व्यक्ति मै हुँ । रेस्टुरेन्टमा पाँच जना भए पुग्ने ठाउँमा १० जनालाई राखेर भए पनि रोजगारी दिएँ । सायद कुनै नेताले यति धेरै रोजगारी दिएको छैन होला । त्यही कारण काभ्रेका धेरै साथी रेस्टुरेन्ट लाइनमा छन् । त्यसरी जागिर दिनु मेरो अपराध हो र ?
प्रहरीलाई चाहिँ कत्तिको सहयोग गर्नुभयो ?
त्यस्तो छैन । नयाँ एसपी आउनेबित्तिकै सोधपुछ भनेर लान्छन् । यो छ, ऊ छ भन्दै बाटोमा पिसाब फेरेको, हातपात गरेको भनेर झुटो विवरणका आधारमा सार्वजनिक मुद्दा चलाइदिन्छन् । तर, यति पैसा चाहियो भनेर चाहिँ प्रहरीले मसँग मागेको छैन । कसैले उचालेर हो कि दुःख दिएपछि स्वार्थ पूरा हुन्छ भनेर पो हो कि ? तर, विनागल्ती सोधपुछका लागि बोलाई मुद्दा चलाएर प्रहरीले दुःखचाहिँ दिएको छ ।
अपराधमा युवाको मनोबल बढाउनमा प्रहरीको पनि हात छ भन्ने लाग्छ । उदाहरणका लागि काठमाडौंमा नयाँ एसपी आउनेबित्तिकै काम देखाउने नाममा जथाभावी मान्छे पक्राउ गरी दुई सयको क्षमता भएका ठाउँमा पाँच सय मान्छे खाँद्छन् । तर, त्यहाँ अपराध नगरी पनि थुनिएका धेरै व्यक्ति हुन्छन् । कहिले कपाल काट्ने अप्रेसन भनेर प्रहरीले मान्छेको स्वतन्त्रता हनन गरिरहेको हुन्छ । अहिले अपराधको पाठशाला जेल बनेको छ ।
जेल हालिदिन्छुभन्दा मलाई डर लाग्दैन । पटक-पटक बसेर आएकाले त्यहाँको वस्तुस्थिति बुझेको छु । तर, कहिल्यै जेल नगएको मान्छेलाई जेल हालिदिन्छु भन्यो भने ऊ डराउँछ । जेल गएपछि यस्तै त रहेछ नि भनेर 'युज्ड टु' हुन्छ ।
अर्काे कुरा, डनको यति सम्पत्ति छ, यसरी कमायो भनेर मिडियामा चर्चा चल्छ । यसबाट पनि अरूले सिको गर्छन् । कतिपय ठग्ने मान्छेले म गणेश लामाको मान्छे भनेरसमेत संरक्षण खोज्ने गरेका छन् । यो सबै मिडियाले गर्दा भएको हो । मैले चिन्दै नचिन्ने मान्छेले पनि गणेश लामा बोलाएर ठीक बनाइदिऊँ भनेर पनि धम्काएको सुनिन्छ ।
आफूलाई डन भनेको साँच्चै मन पर्दैन त ?
कहिल्यै त्यस्तो रहर लागेन । हुन त राजनीति मलाई मन नपर्ने फिल्ड हो । म काभ्रेमा जन्मिएर नर्सरीदेखि नै काठमाडौंमै पढेको हुँ । सम्पन्न परिवारको व्यक्ति त होइन, तर बिहान-बेलुका खान पुर्‍याएर बच्चालाई काठमाडौंमा पढाउन पठाउनुपर्छ भन्ने परिवारको व्यक्ति हुँु । राम्रो परिवारको व्यक्तिले जानीजानी त अपराध गर्दैन नि । प्रहरीले यसलाई धम्काएर पैसा खाइस् भनेर अहिलेसम्म भन्न सकेको छैन । मैले भनिहालेँ पहिला अलि-अलि झगडा गरियो, जब बुभ\mने भइयो, त्यसयता म आफ्नो काम गरेर अघि बढेको छु । आफ्नो काम गर्दा म कसरी डन भएँ ? मलाई त्यत्तिकै डनगिरी झुन्ड्याइएको हो ।
कसले बनाइदियो त डन ?
मलाई अचम्म लाग्छ । मिडियामा समाचार आएपछि नै थाहा पाउँछुु, आफू डन भएको ।
अहिले राजनीतिमा लाग्नुको कारण ?
एकातिर मेरो बाध्यता पनि हो । अर्काे, समाजमा केही गर्ने उद्देश्य हो । मैले राम्रो काम गरेको भन्ने कुरा कुनै मिडियामा सुन्नुभएको छ ? मैले यो समाजमा जन्मिएर केही गर्नुपर्छ भन्ने उद्देश्ले हरेक वर्ष गरिब बालबालिकालाई छात्रवृत्ति दिइरहेको छु । स्ुकलमा लाइब्रेरी बनाइदिएको छु । शिक्षक नभएको स्कुलमा व्यक्तिगत रूपमा तलब दिएर शिक्षक राखिदिएको छु । गाउँमा हेल्थक्याम्प राख्ने गरेको छु । यसबारेमा त कहिल्यै मिडियामा आएको छैन । तर, प्रचार होस् भनेर मैले गरेको पनि होइन । मिडियाले पेलेको देख्दा कहिले आत्महत्या गरौँ त कहिले विदेश जाऔँजस्तो लाग्छ ।
विजय गच्छदारसँगको निकटताको रहस्यचाहिँ के हो नि ?
उहाँसँग नेपाली कांग्रेसमा हँुदादेखि नै साधारण चिनजान थियो । लोकतान्त्रिक फोरममै लाग्नुको कारणचाहिँ यो पार्टी नयाँ बन्ने क्रममा छ । सक्षम र योग्य युवालाई अन्य पार्टीले प्रयोग मात्र गर्छन्, ठाउँ दिँदैनन् । युवालाई चन्दा उठाउन र ढुंगा हान्न मात्र प्रयोग गर्दै आएका छन् । तर, लोकतान्त्रिक फोरममा मलाई जिम्मेवारी पनि दिइएकाले यसमा लागेको हुँ ।
देश चुनावी माहोलमा छ, चुनाव पनि लड्ने योजनामा
हुनुहुन्छ कि ?
अहिलेसम्म चुनाव हुने निश्चित छैन । भोलि जनताको माग र चाहना भयो भने उठ्न सक्छु । अहिले आश राखेको छैन । म सेवाको भावले राजनीतिमा लागेको हुँ । सेवा गर्दै जान्छु । जनता न्यायाधीश हुन्, जबसम्म जनताको भोटिङमा गइन्न, त्यसवेलासम्म नेता
हुन सकिन्न ।
विजय गच्छदार गृहमन्त्री हँुदा तपाईं उहाँको निकट हुनुभयो, निकै फाइदा लिनुभयो भन्ने चर्चा छ नि ?
यो पनि एउटा निराधार हल्ला मात्र हो । न विजय गच्छदारका कारण गणेश लामा बनेको हो, न गणेश लामाका कारण विजय गच्छदार बनेका हुन् । पटक-पटक सत्तामा बसेको मान्छे भएकाले उहाँ गणेश लामाको निर्देशनमा चल्ने कच्चा हुनहुन्छजस्तो लाग्दैन । उहाँको पार्टीको सिपाही हँु म । माया गर्नुहुन्छ । कोही प्रहरी 'ल भाइ, तिम्रो मन्त्रीज्यूसँग रिलेसन छ, भनिदिनुपर्‍यो' भनी आग्रह गर्छन् र मैले भनेर हुन्छ भने किन नगर्ने ? सम्बन्ध, नातागोता त सबैको भइहाल्छ नि । मैले कुनै पुलिसलाई आउनोस्, म तपाईंको प्रमोसन गरिदिन्छु, राम्रो ठाउँमा सरुवा गरिदिन्छु भनेको होइन नि । चिनेको नाताले कतिपयले सहयोग माग्दा मैले सहयोग गरेको हँु । मेरो जहिले पनि पोजेटिभ सोच हुन्छ । सक्ने वेला गुन लगायो भने भोलि कुनै वेला मलाई पनि काम लाग्ला भन्ने सोचले गरँे होला, गरिनँ भन्दिनँ । तर, कसम खान्छु, आर्थिक तथा अन्य स्वार्थले मैले त्यसरी काम गरेको छैन ।
तपाईंलाई सबैभन्दा चलाख डन पनि भन्छन् नि ?
समाजमा एउटा मान्छे देखाइदिनुस् बिचरा लाटो रहेछ, केही नजान्दो रहेछ भन्ने खालको । पेटका लागि सबै चलाख हुन्छन् । चलाख हुनु त राम्रो कुरा हो नि होइन र ? चोरेर खाने चलाख हुनु पो गलत त, राम्रो कामका लागि चलाख हुँदा के भयो र ?
आजभोलि बिजनेसचाहिँ के-के छ ?
बिजनेस पनि खासै छैन । सबै क्षेत्रमा डामाडोल छ । सम्पत्ति शुद्धीकरणका नाममा दुई वर्षदेखि सबै खातापाता बन्द गरिएका
छन् ।
धेरै कमाएर छानबिन भएको होला नि, होइन र ?
एउटा नेपालीको छोराले काम गरेर २/४ पैसा कमाउनु गलत होइन नि । रियल स्टेटमा कतै २० लाख रुपैयाँ लगाइएको छ भने एक वर्षभित्र त्यो जग्गा एक करोड जाने भएको थियो । त्यसको स्रोत कसरी देखाउने ? त्यति धेरै नाफा त ड्रग्स बेचेर पनि कमाइँदैन । त्यतिवेला मैले मात्र होइन, धेरैले पैसा कमाएका थिए । तर, अहिले राज्यले यस्तो अवस्था बनाइदियो कि रियल स्टेटका ठूला टाइकुनहरूसमेत ५/१० लाख रुपैयाँ निकाल्न नसक्ने अवस्थामा पुगेका छन् ।
तपाईंले चाहिँ कति कमाउनुभयो ?
मिडियामार्फत नै सम्पत्तिको विवरण खुलाउन म तयार छु । मेरो कोटेश्वरमा आफू बस्ने एउटा घर छ, एउटा कर्जा लिएर बालाजुमा होटल बनाएको छु । अरू अलिकति जग्गा छ । १०/१२ वर्षदेखि म व्यवसाय गर्दै आएको छु । एक/दुई करोड पनि कमाउनै नसक्ने त होइन नि म । त्यो पनि अनुसन्धानमा हेर्नुपर्‍यो ।
रक्तचन्दनको पनि कारोबार गरियो नि, होइन र ?
यो पनि मविरुद्धको षड्यन्त्र नै हो किजस्तो लाग्छ । रक्तचन्दनको कारोबारमा पनि कुनै रूपमा प्रयोग भएँ । तर, कारोबारीले आफू बच्नका लागि मलाई मोहरा बनाए किजस्तो लागेको छ । ६ सय किलोमिटर पार गरेर रक्तचन्दन काठमाडौं आइपुग्छ । त्यहाँ कतिवटा जिल्ला छन् ? त्यहाँ सिडिओ, डिएफओ, पुलिसका हाकिम होलान् । पत्रकार पनि होलान् । उनीहरूको नाम कतै आउँदैन । तर, सधैँ मेरो नाम आउँछ । पछि मैले सुनेँ, एक ट्रक जाँदाखेरि ५० करोडको सामान हुन्थ्यो रे । रातमा पाँचवटा गाडीसम्म जान्थ्यो रे । रातमा साढे दुई अर्बको सामान जान्थ्यो रे । साढे दुई अर्बको सामान खरिद गरेर लिने मेरो हैसियत थियो र ? न मेरो चाइनामा रिलेसन थियो न त इन्डियामा । मैले त्यतिको काम गरेको भए मेराबारे नराम्रो आउने पनि थिएन होला । त्यति पैसा भएको भए म पनि मिडिया हाउस खोल्थेँ होला । दुई/चार ठाउँमा बुझाएपछि मुख बन्द हुन्थ्यो होला । जसले तस्करी गर्थे उनीहरूको कतै नाम आउँदैन, छानबिन पनि हुँदैन अनि गणेश लामालाई चन्दनको ब्रान्ड बनाइदिए ।
रमेश बाहुन भन्ने मान्छेले तपाईंलाई पनि धम्काएर रकम
असुलेको हो ?
त्यो गलत कुरा हो । तपाईं आफैं एकातिर मलाई डन भन्नुहुन्छ । अर्काेतिर मलाई असुल्यो भन्नुहुन्छ । म इमानदारितामा बाँच्ने मान्छे, म मर्न तयार हुन्छु, तर रमेश बाहुनजस्तालाई पैसा बुझाउन तयार हुन्न । न उनलाई म चिन्छु न कुनै दुस्मनी नै छ । कुरा के हो भने ठेक्कापट्टा गर्ने सिलसिलामा रामेछापमा काम थियो मेरो । काजी शेर्पालगायत तीन/चारजनाको गु्रप मिलेर काम गरेका थियौँ । कामको क्रममा गाडीको सिसा फुटायो रे भन्ने हल्ला आयो । उनले हप्ता मागेे रे । म विदेशमा थिएँ । मैले कुनै हालतमा पैसा नदिने भनेँ । साथीहरूले प्रहरीमा रिपोर्ट दिए, तर प्रहरीले केही गरेन । त्यही क्रममा त्यो हल्ला भएको हो । यो देशको विडम्बना यही छ, त्यसरी हप्ता गरेर खाने मान्छेलाई कुनै कारबाही हुँदैन । हामीजस्तो दुःख गर्नेलाई सताउने काम हुन्छ ।
सबैले तपाईंले डन भनेर चिन्छन्, आफैँले चाहिँ कसरी
चिनाउनुहुन्छ त ?
म साधारण मान्छे हँु । सधैँ म नेपाल र नेपालीका लागि राम्रो काम गर्न सकूँ । म डन भएको भए सबै पावर मसँग हुनुपथ्र्यो नि । मान्छे मार्न सक्थेँ, पक्राउ परेको व्यक्तिलाई छुटाउन सक्थेँ । डनको परिभाषामा त त्यस्ता व्यक्ति पर्छन् । देशमा नेता र प्रहरीका हाकिमले त्यस्तो काम गर्छन्, उनीहरू पो डन हुन्छन् । हामी केही गर्न नसक्ने मान्छे कसरी डन हुन्छौँ र ?

प्रस्तुति : नवराज मैनाली
तस्बिर : ज्ञानेन्द्र कार्की