Thursday, July 12, 2012

अँध्यारोमा प्रकाश - nagariknews

किशोर नेपाल- हालसालै चिसो सगरमाथाको सफल आरोहणबाट फर्किएका प्रकाश र विना यतिखेर भारतका विभिन्न शहरको गर्मीमा पग्लिँदै गरेका खबर आइरहेका छन्। यी दुई विवाहित प्रेमीहरूको प्रेमपोखरीमा नेपालको पूरै राष्ट्रिय राजनीति चुर्लुम्म डुबेको देखेर रायना छक्क परेकी छ। प्रकाश-विनाको प्रेम सूत्रले चुनाव र सहमतिका दुवै पक्षलाई एउटै डोरीमा गाँसिदिएको छ।

यही एउटा घटनाले प्रकाशका बाको पूरै तीन दशकको राजनीति सफाचट पार्ने दाउमा लागेका छन्, राजनीतिज्ञहरू। यही एउटा समाचारले कान्तिपुरको समाजमा निकै ठूलो हलचल मच्चाएको छ। कान्तिपुरका जनता त जनता भैगए। वसन्तपुरमा साँढे जुधेको दृष्य देख्दा समेत रमाएर थपडी मार्ने परम्परा भएको शहरमा यस्तो उत्तेजक प्रेम गाथाको चर्चा हुनु अस्वाभाविक हुँदै होइन। तर, राजनीतिज्ञहरूले यसैलाई देशको एकमात्र महŒवपूर्ण घटना बनाएको देखेर भने रायनालाई नरमाइलो लागेको छ। सेन्ट मेरिजको स्कुले जीवनमा उसले रोम जलिरहेका बेला रोमका सम्राट निरो बाँसुरी बजाइरहेको कथा पढेकी थिई। यता कान्तिपुरका सारा राजनीतिज्ञ र तन्नेरी आ-आफ्ना कामधन्दा छाडेर प्रकाश र विनाको पछि लागेको देखेपछि रायनालाई लागेको छ, रोमका सम्राट निरोका अनुयायी थुप्रै छन्, नेपाली समाजमा। रायना सोच्दै छे, 'मानौँ कि, दुनियाँमा योभन्दा ठूलो अर्को कुनै घटना नै हुँदैन।
सन्तान पनि विचित्रकै जन्तु हुन्। सन्तानको सुख खोज्ने राजनीतिज्ञले सन्तानको दुःख बेहोर्नैपर्छ। सन्तान प्रकाशमात्रै होइनन्। धृतराष्ट्रका सन्तान दुर्योधन महाभारत कालका बेजोड सन्तान थिए। सन्तान महात्मा गान्धीका पनि थिए। इन्दिरा गान्धी पनि सन्तान दुःखबाट वञ्चित थिइनन्। बेनजीर भुट्टो र आङ सान सु ची पनि सन्तानै हुन्। हाम्री आफ्नै सुजाता पनि सन्तानै हुन्। सन्तानहरू मनग्गे छन संसारमा। दुर्योधनले आफ्नै भाउजू द्रौपदीको चीर हरण गराएका थिए। संसारमा शान्ति र अहिंसाका आइकन महात्मा गान्धीका सन्तान देवदास गान्धी जीवनभर मापसेमा लिप्त थिए। बेनजीर र सु चीले बाको नाममा चार-चारवटा चन्द्रमा थपेका थिए। इन्दिरा पुत्र सञ्जय राजनीतिक धुन्धुकारि साबित भए। उनले जनसंख्या घटाउने बहानामा आधा हिन्दुस्तानीलाई खसी बनाइदिएका थिए। हवाइजहाज उडाउन खोज्दा दुर्घटना नभएको भए अहिलेसम्म हिन्दुस्तानबाट जनसंख्याको समस्या हटिसक्ने थियो होला। हाम्री सुजाताले के गरिन् र के गरिनन्? त्यसको लेखाजोखा भइसकेको छैन। प्रकाशले आफ्ना बाको नामको वास्तै नगरी अँध्यारोमा गर्ने जति काम उज्यालोमा नै गरेका छन्।' रायनाले मनमनै सोची, 'राजनीतिका समस्यामा जेलिएका प्रकाशका बा प्रकाशले थोपरिदिएको अतिरिक्त पीडाले अहिले बिलबिलाइरहेका होलान्। यसमा प्रकाशको पनि के दोष भो र? केटाको ज्यानमा टेस्टस्टेरोन र केटीको ज्यानमा एस्ट्रोजेनको लेभल बढेपछि लभ नभएर अरू थोक के नै हुन्छ र? ज्यानमा एस्ट्रोजेन लेभल बढेका बेला ऊ आफैँ पनि टेस्टस्टेरोन लेभल बढेका केटाको खोजीमा लाग्ने गरेकी छ। ठूला मान्छेका छोरा हुनु पनि दुःखै रहेछ। प्रेम छोराले गरे पनि दोष बाको थाप्लामा बज्रँदो रहेछ।'