Saturday, March 31, 2012

म दोस्रो विवाह गर्छु… - onlinekhabar

भवानी क्षेत्री

“म दोस्रो विवाह गर्छु । साठी-पैँसट्ठीको उमेरसम्ममा भनेजस्तो साथी कोही भेटिए भने म विवाह गर्छु ।”

त्यो दिन मैले यसो भन्दै गर्दा मेरो कुरा सुन्नेहरू थिए ‘आफूलाई नारीका पक्षमा लेख्छु’ भन्ने चर्चित साहित्यकार कृष्ण धरावासी र जिसु स्टेसनरीका प्रोपाइटर भीष्म न्यौपाने । त्यो दिन मेरा कुरा सुनेपछिका ती दुई अनुहार म कहिल्यै बिर्सन्नँ । ती अनुहार यस्ता भए मानौँ, मैले केही यस्तो अश्लील शब्द बोलेकी छु अथवा मैले यस्तो गलत कुरा बोलेकी छु जुन उनीहरूसामु बोल्न हुँदैनथ्यो । मैले बोलेका कुरा अति लाज लाग्ने खालका हुन् ।

दुवैले मेरो मुखबाट यस्तो कुराहरू निस्कन्छ भनेर सोचेकै थिएनन् । यस्तै भावहरू बोल्दै थिए ती दुई अनुहार त्यो बेला । ती अनुहारहरू कुनै अशिक्षितको भइदिएको भए म लामो समय सम्भिmरहने पनि थिइनँ । तर यी दुवै दाइहरू समाजका चर्चित, प्रतिष्ठित व्यक्तिहरूमा गनिन्छन् । समाजले चेतनाका हिसाबले शिर्षस्थानमा स्विकारेका यी दाइहरू समाजका प्रतिनिधि पात्र पनि हुन् । हाम्रो समाज यस्तै छ- महिलाले एक्लोपन र अप्ठ्यारो जति पनि भोगे हुन्छ तर सहजता र रहरहरू पूरा गर्न खोज्नु हुँदैन । अप्ठ्यारो हाम्रो समाजले यस्तै भन्छ ।

मेरो मनमा विद्रोह जन्माउँछ यस्ता कुराले- “किन हुँदैन ? किन पाउँदैनन् नारीहरूले आफ्ना रहरहरू व्यक्त गर्न? किन एउटा मान्छेसरह जीवनयापन गर्न हुँदैन नारीले ?” थरीथरीका जबाफ आउँछन् तर मेरो चित्त बुझ्दैन वा भनौँ चित्त बुझ्दो जबाफ नै आउँदैन ।

नारीका निम्ति समाजले निर्धारण गरेका धेरै ‘हुँदैनहरू’ मध्येको एउटा ‘हुँदैन’ हो, दोस्रो विवाह ।

नेपाली आइमाईले एकभन्दा बढी विवाह गर्न हुँदैन भन्ने मान्यतालाई तोड्न चाहन्छु म । यस्ता कुरा जीवनविरोधी हुन्, गतिविरोधी हुन् र प्रगतिका बाधक हुन भन्ने ठान्छु म । यदि पुनर्विवाह गर्न नहुने भए पुरुषलाई पनि त बर्जित गरिन्थ्यो होला Û तर यस्तो ‘हुँदैन’ र भएको पनि छैन । पुरुषलाई त दोस्रो विवाहका निम्ति हौस्याइन्छ । उसको मनोबल बढाइन्छ र मनमा पुनर्विवाहको रहर जगाइन्छ ।

मेरा बाले दोस्रो विवाह गरे तर मेरी ठूली फुपू सानैमा विधवा भएर आजीवन एक्लै बस्नुभयो । मामाले दोस्रो विवाह गरे, छिमेकीले गरे, साथीले गरे । यसरी उनीहरूले आफ्नो जीवन सहज बनाए । खै कसैले असजिलो महसुस गरेन । पछिकै कुरा गर्दा पनि मभन्दा उमेरले पाका मेरा पुरुष साथीहरू कमल जङ्गली, विष्णुकुमार भट्टराईजस्ता हजुरबा भइसकेकाले दोस्रो विवाह गरे । जो म एक्लिनुभन्दापछि नै विधुर भएका हुन् उनीहरू । खै, उनीहरूको दोस्रो विवाहले कसैको अनुहार बिगि्रएन Û

पुरुषले विवाह गर्न उमेरको हद छैन । सत्तरी वर्षको हुँदासम्म विवाह गर्दछन् पुरुषहरू । उनीहरू स्वस्थानी व्रतकथाबाट दीक्षित छन्, जसमा सत्तरी वर्षका बूढाले सात वर्षकी बालिकालाई विवाह गरेको कथा छ । ल, यो त धार्मिक कथा भयो । समसामयिक उदाहरणका रूपमा रामबाबु प्रसाईंलाई लिन सकिन्छ, जसले सत्तरी वर्ष पार गरेर पुनर्विवाह गरेका थिए । तर नारीहरू आठदेखि पचास वर्षको उमेरसम्ममा विधवा बनेर एक्लै जीवन बिताएका कुराहरू लिपिबद्ध गर्ने हो भने हाम्रो साहित्यभण्डार भरिनेछ ।

महिलाहरूको सामाजिक परिचयअनुसार परेको खण्डमा महिलाले पुनर्विवाह गर्ने छुट पाउनुपर्ने हो । किनकि समाजमा महिलाहरूको पहिचान काँतर, कमजोर, असहाय, अबला, रुन्चे, एक्लै हिँडडुल गर्न नसक्ने… जस्ता शब्दावलीद्वारा बनेको छ । हुन त जो काँतर र कमजोर छ, सहाराको खाँचो उसैलाई हुनुपर्ने हो । पुरुषलाई समाजमा वीर र बहादुरका रूपमा परिभाषित गरिएको छ तैपनि उनीहरू एक्लो वा श्रीमतीविहीन हुनासाथ टुहुरै भएजस्तो गर्छन् ।

एक्लो पुरुषका लागिँघरको ढोका खोल्ने मान्छे नै भएनन्, बत्ती नै बलेन, खानै पाएन, लुगा धोइदिने मान्छे नै भएन’आदि इत्यादि सहानुभूतिका स्वरहरू निस्कन्छन् । त्यो सहानुभूतिका स्वरहरूमा घरपरिवार, छोराछोरी, कुलकुटुम्बदेखि समाजका सम्पूर्ण भद्रभलादमीसम्मको स्वर मिसिएको हुन्छ । त्यसविपरीत नारीहरू विधवा हँुदा, लोग्नेले छोड्दा वा लोग्नेलाई छोड्दा जुनसुकै कारणले एक्लिो हुँदा, ‘यो आइमाई हो एक्लै गरिखान विविध अप्ठ्यारा पर्छन्, यसलाई एउटा मान्छेको साथ र सहयोग चाहिन्छ’ भनिँदैन । मलाई अचम्मै लाग्छ, यो दोधारे नीति देखेर । काँतर र स्वनिर्णय लिन नसक्ने भनिएकाहरूलाई समाजरूपी जङ्गलमा एक्लै छोडिन्छ बाँच्नका निम्ति । यसरी छोडेर निर्धक्कसँग गरिखान पनि कहाँ दिइन्छ र ? नानाथरीका आरोप र विभिन्नखाले शोषणको सामना गर्नुपर्ने हुन्छ । अझ त्यो महिला साहसी र स्वाभिमानी पनि छ भने त झन् खुट्टा तान्ने, असहयोग गर्ने र मानमर्दन गर्नेको लर्को नै लाग्छ । अर्कोतिर वीर र बहादुर भनिएकालाई सबैले काखी च्याप्छन् ।

कति धेरै फरक छ कथनी र करनीमा Û कस्तो दोधारे चरित्र छ समाजको Û

यस्ता धेरै नियमहरू बनाएर स्थापित गरिएको छ हाम्रो समाज, जसले नारीलाई अघि बढ्नदेखि रोकेको छ । विशेष गरेर प्रकृतिजन्य नियमबाहेक महिलाहरूका निम्ति मात्र लागू हुने गरी बनाइएका नियमहरू म मान्दिनँ । जुन संस्कार, संस्कृति, धर्म र कानुनले नारीलाई मान्छे हुन दिँदैन, त्यो पनि म मान्दिनँ । हुन त मैले मात्र नमानेर हुनेवाला केही छैन तर…. ।

मेरा केही साथीहरू विवाहलाई उमेरसँग जोड्ने गर्छन् । उमेरको यो हदबन्दी महिलालाई मात्र किन ? आकार र प्रकार फरक भए पनि समस्या त दुवैका उस्तै हुन् । मेरा ती साथीले विवाहलाई यौनजीवन मात्र ठानेर यस्तो भनेका हुन् कि? भनिन्छ चालीस उकालो लागेपछि महिलामा यौनेच्छा तीव्र रूपमा घट्ने गर्दछ । मेरो अनुभवले यसलाई गलत साबित गरेको छ । यद्यपि यस्तो हो भने पनि केही प्रश्नको उत्तर माग्छ मेरो मनले- “के यौनक्रियाका निम्ति मात्र हो वैवाहिक सम्बन्ध ? विवाह गर्नु अथवा दुई विपरीत लिङ्गी एकाघरमा बस्न खोज्नु सम्भोगको आनन्द लिनका निम्ति मात्र हो ? वा सन्तान उत्पादन मात्र यो सम्बन्धको उद्देश्य हो त?” यदि यस्तो हुन्थ्यो भने बुढेसकाल एक्लो हुदैनथे होला र ?

साथीहरू त फराकिला छन्, उनीहरूसँग दोस्रो विवाहको कुरा गर्न सकिन्छ तर आमा, हजुरआमासँग त कुरै गर्न हुँदैन । आइमाईले गर्नै नहुने कुरा ठान्छन् दोस्रो विवाहलाई । त्यसै पनि ‘लोग्नेहरू मालिक र आइमाई दास’ हुन् भन्ने मानसिकता पालेका छन् उनीहरूले । उनीहरू यस्ता कुरा गर्नेलाई बिग्रेकी, पात्तिएकी पो भन्छन् है Û साथी, आमा र हजुरआमा एउटै ड्याङका मुला रहेछन् ।

केही समय छुट्टिएर अलग बसेपछि मात्र सम्बन्धविच्छेद गरेकी हुँ मैले । सम्बन्ध विच्छेद गर्नु अगाडिदेखि नै अर्को विवाह गरेर देखाउने सोच बनाएकी थिएँ । यो कुरा मैले आमा र फुपूकी छोरी विष्णु दिदीलाई सुनाएँ । उहाँहरू दुवैबाट एक थोपो समर्थन आएन बरु पूरै भड्किनुभयो । उनीहरूको व्यवहार मलाई अस्वाभाविक पनि लागेन । सदियौँदेखि जमिनमा जरा गाडेर बसेको वृक्ष उखेल्न त समय लाग्छ भने यो त मान्छेको मन मस्तिष्कमा कोचीकोची खाँदिएको कुरा हो, कसरी फेरिन्थ्यो । स्वस्थानी व्रतकथा सुनाएर र सुनेर हुर्केकाहरूसँग अपेक्षा नै के गर्न सकिन्छ र भन्ने लाग्यो ? तर पनि मैले भन्न छोडिनँ । सभा, समारोह, वैवाहिक कार्यक्रहरूमा जाँदा “उहाँ नि ?” भन्ने प्रश्नको जबाफमा ठाडै “डिभोर्स गरेको हो” भन्छु । कोही अचम्म मान्छन्, कोही ओठ लेपार्छन् र कोही लाज मान्छन् । मलाई माया गर्नेहरू मैले यस्तो कुरा नगरे हुन्थ्यो जस्तो गर्छन् तर म चाहन्छु धेरैभन्दा धेरै मान्छे यो शब्द सुन्न अभ्यस्त हुन् । पुरुषको दोस्रो विवाहजस्तै महिलाहरूको दोस्रो विवाहको विषय पनि समाजमा सामान्य र सहज बनोस् भन्ने मेरो चाहना हो । कमसे कम महिलाहरूको दोस्रो विवाहको कुरा सुन्नसम्म त अप्ठ्यारो नलागोस् ।

आजसम्म पनि महिलाको दोस्रो विवाहको कुरा सुन्न डराउँछन् मान्छेहरू । यस्ता कुरा गर्दा मानिसहरू कतिसम्म आतङ्कित हुन्छन् भन्ने कुरा बुझ्न यसको पात्र वा नायक आफै बन्नुपर्छ । हिजो पनि म यसरी नै कुरा गर्थे महिलाको पक्षमा तर मेरा कुरा सुनेर यसरी डराउँदैनथे मान्छेहरू । फरक यत्ति हो, हिजो म अर्कै पात्रको कुरा गर्थें तर आज म आफै यो दोस्रो विवाह गर्ने पात्र बनेकी छु ।

यसरी डराउने मान्छेहरूमा आमाहरू त छँदैछन्, साहित्यकार कृष्ण धरावासी र डिग्री गरेका भीष्म दाइजस्ता मान्छेहरू पनि छन् । अझ महिलाका विषयमा लेख्ने, बोल्ने भाषणमा महिला अधिकारका कुरा गरेर नथाक्नेहरू त झन् धेरै छन् । साथीहरूको माझमा मेरो माथिकै कुरा “म विवाह गर्नेछु” लाई बेलाबेला भन्ने गर्छु । मेरो कुरा सुनेर केही साथीको अनुहार त धरावासी र भीष्मदाइकै जस्तो हुन्छ । केहीको घाँटीमा गुच्चा अड्किएजस्तो हुन्छ । केहीको अनुहार भावशून्य बन्छ, मानौँ मैले केही भनेकै छैन । यस्तो लाग्छ, असहमति जनाउनु गलत हो तर सहमति जनाउन आफू हुर्केको संस्कारले दिँदैन उनीहरूलाई ।

बाहिर फेरिएजस्तो देखिए पनि भित्र पुरातन वैचारिक दह जमेकै छ । कसैकसैको ओठमा स्मित हाँसो उमि्रन्छ, जसले मेरो मुटु र कलेजो जलाउने गर्छ । हुन त माथिका कुनै पनि प्रतिक्रियाले शान्ति दिँदैन, त्यसमा पनि बेजोडको दुखाइ त्यो मन्द मुस्कानले दिन्छ । यस्तो उपेक्षाले मभित्र दनदनी आगो बालिदिन्छ ।

मेरो चाहना त ‘मान्छेहरू मसँग तर्क गरून्, मेरा कुराको विरोध वा समर्थन गरून्’ भन्ने हो तर यस्तो हुँदैन । उनीहरू मेरा कुराको उपेक्षा नै गर्छन् । जल्दैबल्दै भए पनि म आफ्ना कुरा राखिरहन्छु । हार्दिनँ म । भनिरहन्छु म मान्छे हँु भन्नेहरूसँग । ती मान्छेहरू शिक्षित र बौद्धिक भनेर समाजमा चिनिएका छन् । महिला अधिकार र समानताका कुरा गर्छन् । वास्तवमै महिलाहरू अन्यायमा परेका छन्, एउटा मान्छेले पाउने न्यूनतम अधिकार पनि पाएका छैनन् भन्ने कुरा थाहा छ तिनलाई तर पनि मेरो कुरा सुन्दा अनुहार लतार्छन् ।

मैले थोरै मात्र यस्ता मान्छे भेटेकी छु, जसले मेरो सोचाइलाई साथ दिएका छन् ।

शिक्षण पेसाबाट अवकाश पाइसकेका अलि पुराना मान्छे साहित्यकार रोहिणीविलास लुइँटेललाई यो लेख देखाएँ । उहाँलाई देखाउन म थोरै धकाएकी थिएँ तर आशाविपरीत उहाँले त पूरै ऊर्जा पो थपिदिनुभयो । भन्नुभयो- “मेरा बाले असी वर्षको हुँदा एउटा कार्यक्रमको आयोजना गर्नुभयो र भन्नुभयो, ‘विधवाहरूको पुनर्विवाह गरिदिनुपर्छ ।’ त्यसबेला एउटी महिलाले समर्थन गरेको कुरा सुनेको छु । म तिनको नाम खोज्दैछु । त्यस्तो बाबाको छोरो म, मेरो पूर्ण समर्थन छ तपाईंको कुरामा ।”

एक दिन एउटी ७५ वर्षकी आमाले आफैँ भन्नुभयो- “के सोचेकी छौ नानी ? हेर्दा भर्खरकै छौ । एक जना साथीबिना त गाह्रो हुन्छ नि । ऊ हेर, बुबा नहुँदा म के गर्न सक्थेँ र ?” राजन शिवाकोटी दाइकी आमाले यसो भन्दा सपना देखेझैँ भयो । अमेरिकाबाट भर्खरै नेपाल घुम्न आएकी खैरेनीजस्तो पो लाग्यो मलाई उहाँ । लामो समयदेखि भारततिरै बस्नुहुने आमा आकाशजस्तै विशाल धरतीजस्तै फराकिली लाग्यो । एउटी नेपाली वृद्ध नारीको यस्तो उच्च विचार सुनेर कत्ति हो कत्ति रमायो मेरो मन ।

प्रसङ्गवश एक दिन लीला उदासीसामु कुरा कोट्टियो तर उहाँको अनुहार बिगि्रएन । उहाँको अनुहारको भाव पनि माथिका साथीहरूको जस्तै भएको भए मभित्र हुर्किसकेको एउटा ठूलै मान्यता ढल्ने थियो । धन्न म बाँचेँ Û मेरा आस्था र विश्वास बाचे Û उहाँले मुसुक्क हाँस्दै भन्नुभयो, “नराम्रै होला भन्ने होइन तर सोचेजस्तै सहज जीवन होला भन्ने कुराको के ग्यारेन्टी छ र ? त्यो बेला ठूलै पश्चात्ताप हुनुभन्दा अगाडि नै राम्ररी सोच्न सके राम्रो होला ।”

“मज्जाले गरे हुन्छ, कसले भन्यो हुँदैन भनेर?” डाक्टर बी.पी. खरेलले भने, “आँट चाहियो नि आँट, छ आँट ?” उनले त मलाई हाँक पो दिए । उनलाई देखाउन पनि बिहे गरिहालौँ लाग्यो मलाई ।

मैले सुटुक्कै विवाह गरे हुन्छ नि, कसले के नै पो गर्न सक्छ र Û हाँस्ने हाँस्दै गर्थे रुने रुँदै गर्थेतर म त्यसो गर्दिनँ । मेरो आफ्नो उद्देश्य होइन पुनर्विवाह । सिङ्गो समाज परिवर्तन गर्नु मेरो उद्देश्य र लक्ष्य हो । महिलाको दोस्रो विवाहलाई हाउगुजी बनाइएको छ । समाजले त्यही हाउगुजीलाई बलियो बनाएको छ र मैले यस्ता धेरै हाउगुजीहरूलाई पराजित गर्नु, निमिट्यान्न पार्नु छ । मार्नु छ ।

विर्तामोड, झापा

हालै बजारमा आएको अर्चना थापा सम्पादित ‘स्वअस्तित्वको खोज’ पुस्तकबाट)

Friday, March 30, 2012

माथिल्लो तामाकोसी विवाद बढ्यो - souryadaily

भीम गौतम

काठमाडौं, १६ चैत । स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत्  आयोजनाबारे नेपाल विद्युत् प्राधिकरण र लगानीकर्ताबीच विवाद बढेको छ ।
विदेशी व्यवस्थापन समूह नियुक्तिबारे प्राधिकरण तथा आयोजनाका लगानीकर्ता, कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानबीच विवाद चर्किएको हो । प्राधिकरणले हालै स्मेकका प्रतिनिधिलाई बोलाएर बिनानिर्णय फिर्ता गरेपछि विवाद बढेको हो । प्रतिस्पर्धाका आधारमा कार्यकारी अधिकृत छनोट गर्नुपर्नेमा प्राधिकरणका सुनिलकुमार ढुंगेललाई नियुक्त गरिएको र समझदारीअनुसार नभएको भन्दै लगानीकर्ताले विरोध गरेका छन् । उनीहरुले प्रतिस्पर्धाका आधारमा छनोट गरिएको संस्थालाई नै समझदारी अनुसार नै व्यवस्थापन समूह गठन प्रक्रिया अगाडि बढाउनुपर्ने बताउँदै आएका छन् तर पहिला समझदारीको क्रममा बिनाअर्थव्यवस्थापन ल्याउने भनेर राखिएको समझदारी गलत भएको प्राधिकरणका एक अधिकारीले बताए ।
‘पहिल्यै परामर्शदाता र ठेकेदार नियुक्ति गरिसकिएको छ, अब अपर तामाकोसी व्यवस्थापनलाई नै बलियो बनाउनुपर्छ तर अर्को व्यवस्थापन समूह ल्याउने कुरा गलत छ ।’-प्राधिकरणका एक अधिकारीले भने, ‘एउटासँग मात्र आर्थिक प्रस्ताव मागेर त्यसलाई व्यवस्थापन दिने कुराले यसमा ठूलो आर्थिक चलखेल छ भन्ने बुझ्नुपर्छ ।’
प्राधिकरणले आफ्नै कर्मचारीलाई निर्देशक बनाएर पठाउँदा र स्वदेशी नै व्यवस्थापन हुँदा ७० करोड रुपियाँभन्दा खर्च कम हुने भन्दै व्यवस्थापनका लागि छनोट गरिएको अस्ट्रेलियाको स्मेकलाई पठाउन आनाकानी गरेको छ । लगानीकर्ता चारै संस्थाले आयोजना निर्माणका क्रममा भएको समझदारी र ऋण सम्झौताअनुसार व्यवस्थापन समूह नियुक्ति गर्नुपर्ने बताउँदै आएका छन् । टेलिकमले  व्यवस्थापन समूह गठन नगरेको भन्दै ऋणको किस्ता रोकिदिएको छ भने नेपाल बिमा संस्थान, नागरिक लगानी कोष र सञ्चय कोषले समेत समझदारीअनुसार नभए रोक्ने चेतावनी दिएका छन् ।
आयोजनामा सञ्चय कोषको १० अर्ब रुपियाँ, टेलिकमले ६ अर्ब रुपियाँ तथा लगानी कोष र बिमा संस्थानले २/२ अर्ब रुपियाँ लगानी गर्ने उल्लेख छ । बाँकी ११ अर्ब आठ करोड रुपियाँ सरकारले लगानी गर्ने सहमति भएको छ । विवादसँगै तामाकोसीले ठेकेदार कम्पनीलाई भुक्तानी दिन समस्या थपिएकाले आयोजना निर्माणसमेत प्रभावित हुने अवस्थामा पुगेको छ ।
बिमा संस्थानका अध्यक्ष राजेन्दप्रकाश लोहनीले समझदारीअनुसार कार्य नभएको र प्राधिकरण सम्झौताविपरीत हिँड्न थालेको बताए । ‘पहिला भएका सहमतिअनुसार नै हिँड्नुपर्छ, त्यसविपरीत हिँडेकाले तत्कालका लागि माथिल्लो तामाकोसीका लागि रकम थप दिन छलफल गर्नुपर्ने भएकाले तत्काल नदिन मैले संस्थानका प्रमुखलाई भनेको छु ‘उनले भने । सञ्चय कोषका तर्फबाट माथिल्लो तामाकोसी व्यवस्थापनमा प्रतिनिधित्व गर्ने राधाकृष्ण पोतेले पनि समझदारीअनुसार नै तामाकोसीलाई अगाडि बढाउनुपर्ने बताए ।
‘समझदारीपत्रमा व्यवस्थापन समूह गठन गर्ने उल्लेख छ तर यसलाई हटाउनेबारे प्राधिकरणले केही पठाएको छैन, समझदारीअनुसार नै अघि बढ्नुपर्छ भन्नेमा हामी छौंँ,’ उनले भने । स्वदेशी लगानीमै निर्माण भइरहेको तामाकोसीलाई जसरी हुन्छ, सफल गर्ने दायित्व भएकाले समझदारीविपरीत गएर अस्तव्यस्त बनाउन नहुने तर्क लगानीकर्ता संस्थाका प्रतिनिधिको छ । ‘प्राधिकरणको राजनीति रोग माथिल्लो तामाकोसीमा नसरोस् भन्ने चाहना हाम्रो छ, यो सफल भए, अरु विद्युत् आयोजनामा लगानी गर्नका स्वदेशी संस्थालाई बाटो खुल्छ ।’ नागरिक लगानी कोषका अध्यक्ष डा. चन्द्रमणि अधिकारीले भने । उनले समझदारीअनुसार नभए माथिल्लो तामाकोसीलाई दिनुपर्ने रकम तत्काल नदिन कोषलाई भनिसकिएको बताए ।
यता प्राधिकरण अधिकारीले भने स्मेकसँग वार्ता भइरहेको बताउँदै समझदारीलाई कसरी जवाफदेही बनाउने भन्नेतिर मात्र केन्दि्रत रहेको र स्वदेशी व्यवस्थापन गर्दा करोडौं फाइदा हुने भएकाले त्यसबारे पनि प्राधिकरणले प्रयास मात्र थालेको बताए । ‘विदेशी व्यवस्थापन समूह गठन गर्दा ७० करोड रुपियाँभन्दा बढी खर्च हुने भएकाले प्राधिकरणकै कर्मचारी पठाएर त्यसलाई जोगाउने प्रयास गरिएको छ,’ उनले भने । परामर्शदाता, ठेकेदार र व्यवस्थापन समूहको मिलेमतोमा आयोजना निर्माणको समयलाई लम्ब्याउन सक्नेतर्फ सचेत हुँदै स्वदेशी माथिल्लो तामाकोसी व्यवस्थापनलाई सबैभन्दा बलियो बनाउनका लागि प्राधिकरणले गरेको प्रयास सकारात्मक भएको टिप्पणी उनको छ ।
माथिल्लो तामाकोसी व्यवस्थापन समितिमा ऊर्जा मन्त्रालयका सहसचिव अर्जुन कार्कीलाई सदस्य नियुक्ति गरेपछि सञ्चालक सदस्य प्राधिकरणकै तर्फबाट हुनुपर्ने व्यवस्थालाई मिचिएको भन्दै प्राधिकरणलगायत चारै लगानीकर्ताको संस्थाका कर्मचारीले विरोध गर्दै निर्णय सच्याउन आग्रह गरेका छन् । दोलखामा निर्माण भइरहेको ४५६ मेगावाटको जलविद्युत् आयोजना सन् २०१५ भित्र बनाइसक्ने लक्ष्य राखिएको छ ।

Thursday, March 29, 2012

किन जाने विदेशमा, यहीँ टन्न पैसा कमाइँदो रैछ त - mysansar

नेपालीहरुको औसत तलब कति होला। सामान्य लेखपढ गरेका, एसएलसीसम्म पास गरेकाहरुको तलब कति होला ? पाँच अङ्कको तलब…त्यो पनि १० हजार हैन ३६ हजारसम्म! राष्ट्रिय दैनिक कान्तिपुरमा छापिने विज्ञापनहरु हेर्ने हो भने नेपालीहरुको तलबमा अस्वभाविक वृद्धि भएको देखिन्छ। हेरौँ त हिजो छापिएका केही विज्ञापनहरु र त्यसमा उल्लेख गरिएका तलबहरु-

तर के साँच्चै यति तलब पाइन्छ ? त्यसो भए विदेशमा किन गइरहनु पर्‍यो। विदेशमा पनि कति न कमाइने हो र। त्यही पत्रिकाका अरु पेजमा विदेशमा कति तलब पाइन्छ, त्यसको विज्ञापन पनि हेर्न पाइन्छ त।

यो विदेशमा जाने नेपालीले पाउने तलब-

देख्‍नुभो त ? भनेपछि विदेशमा जाने नेपालीले पाउने तलब र यहीँ पाइने तलब झण्डै उस्तै रहेछ त। त्यसो हो भने किन मरी मरी काम गर्न विदेशतिर जानु पर्‍यो त ?
कुरो यति सजिलो छैन।
सबैभन्दा पहिला ३६ हजारसम्म तलब दिने फूँइ देखाउने कम्पनीहरुको नाम हेर्नुस् त। कसैले आफ्नो कम्पनीको गतिलो नामै दिन सकेका छैनन्। कुनैले एनजीओ भनेका छन्। एनजीओ भन्दैमा एउटा कर्मचारीलाई त्यत्रो हजारौँ रुपियाँ तलब दिनसक्ने हैसियत हुन्छ उनीहरुको ? कुनैले प्रतिष्ठित कम्पनीहरुको नामसँग जोडेर सीजी, एलजी कम्पनी रे। अधिकांशको फोन नम्बर मात्रै छ सम्पर्क ठेगाना।
अब यी हजारौँ तलबको धमास दिने कम्पनीहरुको आर्थिक हैसियत हेरौँ। एकैजनालाई यत्रो तलब दिनसक्ने कम्पनीको आर्थिक पक्ष निकै बलियो हुनुपर्छ। त्यसैले उनीहरुले राम्रा मान्छे पाउन विज्ञापन पनि राम्रै पैसा दिएर राम्रै ठाउँमा दिनुपर्ने हो। तर हेर्नुस् हालत, यी विज्ञापनमा उनीहरुले २०० देखि दुई तीन हजार रुपियाँसम्म मात्र खर्च गरेका देखिन्छन्। अनि छाप्‍न पनि सबैभन्दा सस्तो वर्गीकृत विज्ञापनका साना अक्षर रोजेका छन्। यस्तो ठाउँमा विज्ञापन छाप्न लाग्ने पैसा यति मात्रै हो-

छैन त राम्रो व्यापार ? एक शब्दको २५ रुपियाँ मात्र तिरे पुग्‍ने विज्ञापन छाप्यो, मान्छेलाई झुक्यायो, ठग्यो- मोज गर्‍यो। यति थोरै पैसामा र्‍याल चुहाएर पत्रिकाले ठगीलाई प्रश्रय दिइरहेको छ।

के हुन्छ यस्ता ठाउँमा ?

यस्ता ठाउँमा जब कोही बेरोजगारले थुप्रो तलबको लोभमा फोन गर्छन्, उनीहरुलाई फोनबाटै सबै कुरा बताइँदैन। उनीहरुलाई सम्पर्क कार्यालयमा आउन प्रेरित गरिन्छ। त्यहाँ कार्यालयको ढोङ रचिएको हुन्छ। उनीहरुलाई एउटा फाराम भर्न भनिन्छ र त्यसवापत् केही रकम लिइन्छ। केही हजार रुपियाँ आवेदन शुल्क लिएपछि उनीहरुलाई अन्तर्वार्ताका लागि बोलाइने भनिन्छ। केहीलाई अन्तर्वार्ता लिएको नाटक गरिन्छ, केहीलाई त त्यही पनि गरिँदैन। अन्तर्वार्ता लिएका मान्छेहरुलाई भने पछि लौ, तपाईँ छनौट हुनुभएन भनेर जानकारी गराइन्छ।
अगरबत्ती कम्पनीहरुको विज्ञापन पनि तपाईँले देख्‍नुभएको होला माथि। त्यसमा भने अर्कै हुन्छ। त्यहाँ जाने एक गृहिणीले बताए अनुसार सुरुमा त २ हजार रुपियाँ लिएर ‘तालिम’ दिइन्छ। त्यसपछि अगरबत्ती बनाउ भनेर सामान दिएर पठाउँछन्। हात दुख्‍ने गरेर अगरबत्ती बनायो, एक किलोको ५० रुपियाँ हो कि कति मात्र दिने। भन्नलाई भने दिनमा यति किलो बनाउन सकिन्छ, यति रुपियाँ आउँछ भनेर लोभ देखाउने रहेछन्।
ठू्ल्ठूला ठगीमा सबैको आँखा गए पनि यसरी स-साना स्तरमा हुने ठगीलाई कसैले वास्ता गरिरहेको छ‍ैन। त्यसैले यस्तो धन्दा दिनप्रतिदिन बढ्दैछ।

Wednesday, March 28, 2012

के हो अस्ट्रेलियामा भिसा खुलेको भनेको? - mysansar

दीपक भेटवाल-
सन २००८ देखी २०१० सम्म नेपालीहरुलाई बिद्यार्थी भिसामा अस्ट्रेलिया जानको लागी रक्सौलबाट रेलको टिकट काटेर दिल्ली जानु भन्दा पनि सजिलो थियो। अस्ट्रेलियाको सिडनीमा आफनै ल फर्म चलाईरहेका नेपालका पहिलो र एक मात्र वकिल डा शम्सेर सिंह थापाका अनुसार सोही अवधिमा २३००० को हाराहारीमा नेपालीहरुले पढने भिसामा नेपालीहरु अस्ट्रेलिया छिरे। पढ्ने भिसामा आउनेहरुलाई आफुसँगै डिपेन्डेन्ट पनि ल्याउन दिने भए पछि त्यतिबेला धेरैले नक्कली बिहे गरी नक्कली श्रीमान वा श्रीमति बनेर पनि अस्ट्रेलिया छिरे। त्यसपछि एक्कासी अस्ट्रेलियाले नेपाली विधार्थीहरुलाई भिसा दिन बन्द गयो।
अहिले फेरि काठमाडौँबाट प्रकाशन हुने दैनिक पत्रपत्रिकामा पढने भिसामा अस्ट्रेलियामा पठाउने भनेर ठूला ठूला विज्ञापन छापिन थालेका छन्। दिनहुँ जस्तो पाँचतारे होटलमा एजुकेसनल सेमिनार हुने गरेको छ। बोलीचालीको भाषामा अस्ट्रेलिया फेरि खुल्यो भन्न थालिएको छन। पढेको सर्टिफिकेट सिरानीमुनि थन्याएर बेरोजगारले आक्रान्त भएका युवाहरु रिनै गरेर भएपनि अस्ट्रेलिया छिर्ने सपना बोकेर झोलामा सर्टिफिकेट बोक्दै बिभिन्न कन्सेल्टेन्सी धाउन थालेका छन्। के अस्ट्रेलिया खुलेकै हो त? अस्ट्रेलियामा के सम्भावना छ? के चुनौति छ? आउनु अघि के कुरामा ध्यान पुर्‍याउनु पर्छ ?

यिनै बिषयमा मैले अस्ट्रेलियन सरकारबाट मान्यताप्राप्त नेपाली माइग्रेसन एजेन्ट सन्जीव पाण्डेसँग कुराकानी गरेको थिएँ। पाण्डेले सिडनीमा मन्डला कन्सल्टेन्सी खोलेका छन जहाँ उनले भिसा तथा माइग्रेसन सम्बन्धी सल्लाह बिक्री गर्छन्।
पाण्डेका अनुसार दुई तीन महिनादेखि नेपालीहरुको लागी अस्ट्रेलियामा भिसा खुलेको हल्ला र बिज्ञापन छापिए पनि नेपालीहरुको लागि पढ्ने भिसाको नियम परिवर्तन भएको चाहिँ दुई दिन पहिले मात्र रहेछ। किन त यति पहिलेबाट हल्ला?
पाण्डे भन्छन्, आ आफनो कन्सेल्टेन्सिमा बिद्यार्थी थुपार्दै गर्ने र कागज पत्र बनाउन लगाएर अल्झाई राख्ने। बिद्यार्थी जति धेरै जम्मा गर्न सक्यो उति धेरै फाइदा। भिसा लागे पनि नलागे पनि विद्यार्थीहरुबाट असुल्ने सेवा शुल्क त छँदैछ त्यो बाहेक भिसा लाग्यो भने यता कलेजबाट पनि मोटो रकम कमिशन आउँदो रहेछ। जुन विद्यार्थीको भिसा लाग्यो त्यो बिद्यार्थीले एक बर्षसम्म कलेजमा तिरेको शुल्कको दशदेखि पन्ध्र प्रतिशत कमिसन आउँदो रहेछ। एउटा विद्यार्थीले व्याचलर लेभल पढनको लागी पन्ध्र हजार डलरसम्म बार्षिक तिर्नु पर्दो रहेछ। पाण्डेको काठमाडौमा आफनै कन्सल्टेन्सी अफिस छ जहाँ उनले भिसा प्रक्रिया अघि बढाउन दश हजार रुपैया असुल्छन् जुन भिसा लागे पनि नलागे पनि फिर्ता हुँदैन। अनि भिसा लाग्यो भने फेरि पाँच हजार रुपैया अर्को शुल्क बुझाउनु पर्छ
पाण्डेका अनुसार अस्ट्रेलियामा नेपाली बिद्यार्थीको लागी भिसा खुलेको होइन, केही खुकुलो चाहिँ पक्कै भएको हो। त्यो पनि साँच्चैको पढ्न आउन चाहने जेहेन्दार बिद्यार्थीको लागि। पछिल्लो पटक जस्तोखाले विद्यार्थीलाई पनि भिसा दिँदा अस्ट्रेलियामा मान्छे धेरै भएर कामको हाहाकार भयो। कति नेपालीहरु काम नपाएर कलेजको फि तिर्न नसकेपछि रित्तै हात घर फर्के। तर फेरि अहिले अस्ट्रेलियामा कामको फालाफाल भएको छ। त्यसैले काम गर्ने मान्छेको अभाव टार्न पनि हुन सक्छ भिसाको नियम अलि खुकुलो बनाइएको छ। तर यो खुकुलो नियम पढ्नकै लागी अस्ट्रेलिया आउन चाहने विद्यार्थीको लागि मात्र उपयोगी हुने खालको रहेछ। पढ्ने भिसामा अस्ट्रेलिया छिर्छु अनि टन्न पैसा कमाउछु भन्ने सोचाई राख्नेको लागी खुकुलो भएको भिसा नियम अप्ठेरोमा फलेका चिचिण्डो जस्तो छ ।
खुकुलो भएको नियममा बिद्यार्थीको पढाईको योग्यता, उसले पढन चाहेको बिषय , उसले पहिले पढेको पढाईको तह र बिषय संग फेरी अस्ट्रेलियामा पढन चाहेको पढाई संगको शिलशिला मिल्ने नमिल्ने हेर्ने जिम्मा अष्टेलियन ईमिग्रसनले कलेज तथा युनिभर्सिटीलाई दिएको रहेछ। युनिभर्सिटीले मिहीन रुपले पढेको सर्टिफिकेट र पढन आउने मान्छको पढाईको पृष्टभुमी र उसको अग्रेजी दक्षता केलाएरमात्र आफनो कलेजमा भर्ना लिदो रहेछ। चित्त नबुझेमा कलेजले सोझै बिद्यार्थी संग भर्ना लिनु भन्दा पहिले अन्तरवार्ता लिदो रहेछन। पहिलेको जस्तो मास्टरर्स पढेको मान्छेले पिआर( स्थायी बसोसास अनुमती) पाउने लोभमा वा कमाउछु भन्ने दाउमा सस्तो पढाई रोजेर कुकरीमा डिप्लोमा पढन आउनेलाई चाही भिसाको ढोका बन्द रहेछ।
यति सवै कुरा मिलेर कलेजले बिद्यार्थीको भर्ना लियो , सो बिद्यार्थी पढनकै लागी अस्ट्रेलिया आउन लागेको हो भन्ने ईमिग्रसनलाई लाग्यो भने सजिलै भिसा दिदो रहेछ। बिद्यार्थीले देखाउनु पर्ने पैसाको थैलीको लागी चाही अलि खुकुलो प्रावधान बनाईएको रहेछ। यसरी पढनकै लागी जाने विद्यार्थीलाई कलेजले भर्ना लिन मान्यो भने देखाउनु पर्ने पैसाको थैली सम्बन्धि प्रावधान अलि खुकुलो बनाएको कुरालाई नै अस्ट्रेलिया खुलेको भनेका रहेछन।
के हो त्यो थैलि देखाउनु पर्ने खुकुलो प्रवाधान?
पहिले पहिले नेपाली विद्यार्थीले भिसाको लागी ईमिग्रेसन नियमको लेभल ४ अन्तरगत रहेर पैसाको थैली देखाउनु पर्ने रहेछ। त्यो भनेको तोकिए बमोजीमा नगद मौज्दात, यथेष्ट आयश्रोत र आफनै खर्च खाएर पढन जान सक्ने सम्पतिको हैसियत देखाउनु पर्ने थियो। अहिले त्यसलाई परीवर्तन गरेर लेभल १ अन्तरगत त्यसलाई राखिएको रहेछ। त्यो भनेको अमेरीका, जापान वा कोरीयाजस्ता बिकशित मुलुकबाट अस्ट्रेलिया पढन आउने बिद्यार्थी सरहको सुबिधा हो जसमा म संग पढन पुग्ने आर्थिक हैसीयत छ भनेर घोषणा गरेमात्र पुग्छ। तर पनी नेपालीहरुले भिसा पाउन नक्कली कागजात पनि पेश गर्छन भन्ने चालपाईसकेको कन्सुलरको भिसा अफिसरले शंका लाग्यो भने पढन पुग्ने थैली छ भने देखाउन त? भनेर सोध्ने अधिकार समेत हुदो रहेछ। अनि भिसा अफिसरले बिथार्थी के पढने? काहा पढने? किन पढने भनेर? भिसा दिनु भन्दा पहिले केरकार समेत गर्न सक्ने रहेछ। यो सवै परीवर्तित प्रावधानहरुको मुल उद्देश्यचाही पढनै आउन चाहने विद्यार्थीहरु चाही नरोकिउन र पढने निउमा अस्ट्रेलिया छिरेर कमाउ धन्दा लाग्नेहरु नछिरुन भन्ने नै रहेछ। सन्जिव पाण्डे भन्छन यी सवै मिल्यो भने भिसा पाउने सम्भावाना नब्बे प्रतिशत जति हुन्छ।
नयाँ नियमले डिप्लोमा लेभलमा पढन आउने विद्यार्थीहरुलाई निरुत्साहित गरेको बताउछन ,पाण्डे। यसको मतलव डिप्लोमा लेभलको लागी भिसै नदिने चाही होइन। डिप्लोमा पढने निउँमा सस्तो कलेज भर्ना गरेर कमाउ उद्देश्यले अस्ट्रेलिया छिर्ने बिद्यार्थीको संख्या बढन थालेपछि यस्तो कडाई अपनाईएको रहेछ।
व्याचलर र मास्टर्स पढन आएर नेपाली बिद्यार्थीले कमाउँछन् त?
अष्टेलियमा ब्याचलर पढन आउने विद्यार्थी र उसको डिपेन्डेन्टमा आउनेले हप्ताको बीस घण्टा काम गर्न पाउछन। अस्ट्रेलियामा बिद्यार्थीहरुले सरदर घण्टाको पन्ध्र डलर कमाउछन भने खान , बस्न र यातायात गरेर घटीमा पनि एकजनाको हप्तामा एकसय पचास डलर खर्च हुन्छ। अनि २० घण्टा काम गरेर कलेजको शुल्क तिर्न पनि पुग्दैन। हुन त अस्ट्रेलियामा नेपाली बिद्यार्थीहरुले हप्ताको साठी घण्टा सम्म काम गर्छन तर त्यति धेरै काम गर्दा एक त पक्राउ प्यो भिसा रद्द भएर भर्कनु पर्ने सम्म पनि हुन सक्छ। पण्डे भन्छन पहिलो यसरी पक्राउ हुदा सिधै भिसा रद्द हुन्थ्यो तर अहिले अलि खुकुलो भएर एकचोटी सुनुवाईको मौका पाईन्छ। सुनुवाई चित्त बुझदो नभएमा भिसा रद्द हुन्छ र फर्किनु पर्छ। अर्को तीर त्यति धेरै काम गरे पछी पढाईलाई समय पुग्दैन। पढाईमा फेल भयो भने उसको अस्ट्रेलिया बसिरहने चाहाना लामो समय सम्म टिक्दैन।
हप्तामा चालिस घण्टा सम्म काम गरेर मरीमेटेर पढछु भन्दा फारोतिनो गरेर खान बस्न र कलेजको फि तिर्न सम्म सकिन्छ तर पैसा कमाएर पठाउन सकिदैन तर आफु संगै डिपेन्डेन्ट ल्याएको छ भने एकजनाले लुकीचोरी हप्ताको चालीस घण्टा काम गर्दा खान बस्न र कलेजको फि तिर्न जेनतेन पुग्छ भने एक जनाको कमाई जोगिने रहेछ।
यस भन्दा अघि अधिकाश बिद्याार्थी डिप्लोमा लेभलको कोर्स पढन आउथे जुन धेरै नै सस्तो हुन्थ्यो र बिद्यार्थीहरुले अलि पैसा जोगाएर घर पठाउथे। तर अहिले ब्याचलर वा मास्टर्स पढन आउनु पर्ने भएको पढाई पनि अलि गाहृो हुने , पढाईमा अलि धेरै समय दिनु पर्ने र शुल्क तिर्न पनि महंगो हुने भएकोले पैसा जोगाउन गाहो हुन्छ। तर हरेक बर्ष तीन देखी चार महिना कलेजको छुटटी हुन्छ जुन अवधिमा फुल टाईम काम गर्न पाईन्छ।त्यो छुटटीको अवधिमा नेपाल नगई मरीमेटेर काम गयो भने चाही बिद्यार्थीलाई केही आर्थिक राहत हुन्छ।
नयाँ पढन आउन चाहने बिद्यार्थीको सञ्जिव पाण्डे सल्लाह दिन्छन अस्ट्रेलियामा पिरआर को लोभले नआउनु। साउको रिन गरेर कमाउने लोभले त झन मरीगए नआउनु। आफनो रुचि र दक्षता भएको बिषयमा पढछु। पढाईको खर्च टार्न र दुई छाक खान पढाई नबिथोलिने गरी काम गर्छु। मिहिनेत गरेर पढेर बिज्ञता हासिल गर्छु। आफुले पढेकै बिषयमा व्यवहारीक ज्ञान हासील गर्न केही समय काम गर्छु र अगाडी आफुले आर्जेको ज्ञान शिप बेचेर जुन ठाउमा बसेपनि जीवनको गाडी कुदाउछु भनेर यता आउनेको लागी अस्ट्रेलिया ठिकै पनि हो।उसो त पढने जेहेन्दार बिद्यार्थीलाई पढाई सकेपछी अष्टेलियन ईमिग्रेसनले व्याचलर लेभलको पढाई सकेपछी २ बर्ष, मास्टर्स सकेपछी तीन बर्षको काम गर्ने भिसा दिन्छ। उक्त अवधिमा आफुले पढेको बिषयको काम गयो भने कामको अनुभव र पढाईको आधारमा पिआर आउने सम्भावाना बढी हुन्छ तर काम गर्न पाउन लागी अग्रेजी लेभलको परीक्षामा कम्तिमा ६ अकं प्राप्त गनुपर्छ। कतिपय नेपालीहरुले आफुले काम गर्ने कम्पनीको मालिक रिझाएर त्यहि कम्पनीको स्पोन्सरमा वर्कभिसा लगाएर बसेका हुन्छन। जुन भिसाको अवधि दुई देखी चार बर्ष सम्मको हुन्छ। यसरी भिसा लागेको बिद्यार्थीहरुको दुई बर्ष पछी पिआर लिने बाटो खुल्छ। तर पिआर लिए पनि आफुलेकाम गर्ने कम्पनीकामा जति बर्ष काम गर्छु भनेर सम्झौता गरेको त्यति समय काम गर्नु नै पर्छ।
व्याचलर लेभलको पढाई गर्न आउने बिद्यार्थीले एक सेमेस्टरको फि, हेल्थ इन्सुरेन्स, हवाई टिकट, र भिसा प्रक्रिया गर्दा लाग्ने एकमुष्ट शुल्क झण्डै दश जति खर्च हुन्छ। भिसा नलागे पनि डेढ लाख रुपैया खोलामा बग्छ। आफु एक्लै पढन आएको छ भने आएको खर्च उठाउन नै हम्मे पर्छ। तसर्थ आफु संग आफनो डिपेन्डेन्ट पनि ल्याउनु बुद्दीमानी हुन्छ।
अस्ट्रेलियामा आउने प्राय बिद्यार्थीको सपना हुन्छ याहाको पिआर लिने। तसर्थ बिद्यार्थीहरुले आफनो पढाई सकेपछी कसरी पिर आर लिन सकिन्छ भनेर पुर्व तयारी अपनाउनु पर्छ। अस्ट्रेलिया आउनु पुर्व नै बिद्यार्थीहरु संग पढाईसके पछीको प्रष्ट योजना हुनु पर्छ। आफनो पढने बिषय, पढाईको तह र यता आईसकेपछि गर्ने कामको छनौट त्यसै अनुसार गनुपर्छ। अस्ट्रेलिया छिरीसकेछी याहाको बसाईलाई लम्ब्याउने अनेक बाटोहरु हुन्छन तर आफु त्यस बिषयमा चनाखो भईरहनु पर्छ। बिगत तीनबर्ष अघि अष्टेलिय छिरेका चितवनका शुरेस रेग्मि भन्छन हामीलाई आउने बितिकै बाटो देखाईदिने मान्छे भएन नत्र उति बेलाबाटै तयारी गर्न पाईएको भए अहिले भिसा र पिआरको लागी अलमलमा पर्नु पर्ने थिएन। अहिले सबै कुरा थाहा भयो अव तयारी शुरु गर्दा बेला बितिसक्छ।
अस्ट्रेलियामा माईग्रेसन तथा ल फर्म चलाएर बसेका सम्सेर सिह थापा भन्छन बर्षेनी दुई देखी तीन हजार नेपालीहरुले अस्ट्रेलियामा पिआर पाउदै आएका छन। नेपालीहरुको गम्भिर रुपमा कुरा बुझन नखोज्ने, अरुको कुरा सुनेर लहै लहैमा लाग्ने बानीले गर्दा पाउने पनि अवसर गुमाउछन। अष्टेलियमा २० जनाको हाराहारीमा मान्यता प्राप्त नेपाली माइग्रेसन एजेन्ट छन भने तीस देखी चालिसको हाराहारीमा एजुकेशनल कन्सल्टयान्ट छन। अस्ट्रेलियाको कानुन अनुसार माइग्रेसन एजेन्टले मात्र पिआरको पक्रिया चाल्न पाउछन तर अस्ट्रेलियामा कतिपय नेपाली एजुकेशनल कन्सल्टयान्टहरुले गैरकानुनी रुपमा बिद्यार्थीसंग पिआर एप्लाई गरीदिन्छु भनेर पैसा असुल्छन तर पिआर सम्बन्धि बिधि र प्रक्रियामा अनुभव नपुगेका यस्ता कन्सल्टयान्टहरुले बिद्यार्थीको पिआरको समस्यलाई पार लाउन सक्दैनन। यस्ता कन्सल्टयान्टबाट ठगिएका कतिपय बिद्यार्थीहरु आफनो समय र पैसा बर्बाद भएको गुनासो गर्दै आफनो कार्यालयमा आइरहने बताउछन सञ्जिव पाण्डे। त्यसैले बिद्यार्थीहरुको अष्टेलियको भिसा , माइग्रेसन सम्बन्धि कुनै पनि चासोको बिषयमा अनुभवी र माइग्रेसन एजेन्टको लाईसेन्स प्राप्त व्यक्ति संग छलफल गर्नु पर्ने बताउँछन् उनी।

Tuesday, March 27, 2012

‘हाकिमसँग मिलिजुली तीन करोड खायौ’ - souryadaily

-जीवन विसी

काठमाडौं, १३ चैत । तीन करोड १३ लाख रुपिया भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलाइएका आन्तरिक राजस्व कार्यालय ललितपुरका लेखा अधिकृतले उपमहानिर्देशकसहित सातजना कर्मचारी भ्रष्टाचारमा संलग्न रहेको खुलासा गरेका छन् ।
भ्रष्टाचार अभियोग लागेका लेखा अधिकृत पिताम्बरप्रसाद पोखरेलले सोमबार विशेष अदालतमा बयान दिदै उपमहानिर्देशक र निर्देशकसहित सातजना अधिकृत भ्रष्टाचारमा संलग्न रहेको खुलासा गरेका हुन् । ३९ थान चेकमा किर्ते गरी तीन करोड १२ लाख ८५ हजार नौ सय ८९ रुपिया भ्रष्टाचार गरेको आरोप लागेका उनले आफ्नो बयानमा सातैजना अधिकृतले लिएको रकमको विवरणसमेत खुलाएका छन् ।
बयानमा पोखरेलले उपमहानिर्देशक नवराज भण्डारीले एक करोड १४ लाख ८० हजार, उपसचिव कृष्ण देवकोटाले ७२ लाख १० हजार, निर्देशक रुद्र बस्यालले ६८ लाख ८ हजार ५ सय, निर्देशक कुलप्रसाद चुडालले ३२ लाख ८० हजार, लेखा अधिकृत ईश्वरी श्रेष्ठले २७ लाख ४६ हजार ५ सय, निर्देशक प्रेम उपाध्यायले १३ लाख २७ हजार र निमित्त निर्देशक ध्यानकुमार थापाले सात लाख ३४ हजार रुपिया भ्रष्टाचार गरेको बताए । कुल भ्रष्टाचार रकमको १८ प्रतिशत मात्र आफूले लिएको उनको भनाइ छ ।
आन्तरिक राजस्व कार्यालयका ३९ थान चेकमा किर्ते गरी ठूलो रकम भ्रष्टाचार गरेको अभियोगमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा चलाएको थियो । चेकमा अंक र अक्षर किर्ते गरी करोडौं रकम ‘झ्वाम’ पारेको भन्दै अख्तियारले पोखरेलविरुद्ध मुद्दा चलाएको थियो । उनै पोखरेलले रकम भ्रष्टाचारमा अन्य सातजनाको नाम बयानमा उल्लेख गरेका हुन् ।
राजस्व धरौटी खाता र चलचित्र विकास शुल्क खाताबाट उक्त रकम अनियमितता भएको थियो । व्यक्तिलाई धरौटी रकम फिर्ता गर्ने प्रयोजनमा उक्त रकम हिनामिना गरेको अभियोग अख्तियारले लगाएको थियो । अख्तियारले मुद्दा चलाएपछि विशेष अदालतले दुई दिन लगाएर लिएको बयानमा उनले भ्रष्टाचार भएको स्विकारेका हुन् । विशेषका प्रवक्ता धीरबहादुर चन्दले अभियुक्त पोखरेलले आफूलगायत अन्य सात कर्मचारीको

“बेलायतको जस्तै राजतन्त्र ल्याउन सरकार लागिबक्सेको छ” पूर्वपञ्चहरूसित पूर्वराजाको छलफल - souryadaily

-रामशरण बजगाईं

काठमाडौं, १३ चैत । आगामी १४ जेठमा नया संविधान जारी हुने सम्भावना क्षीण हुदै गएपछि पूर्वराजा ज्ञानेन्द्रले ०४७ सालको संविधान ब्युताउने माहोल बनाउन कसरत थालेका छन् । उनले बेलायतको जस्तै संवैधानिक राजतन्त्र नेपालमा पुनस्र्थापित गर्ने महत्वकांक्षा राखेको एक राजावादी नेताले सौर्यसग खुलासा गरे ।
विशेषगरीआफ्नो अघिल्लो भारत भ्रमणपछि पूर्वराजामा राजतन्त्र फर्काउन सकिने महत्वकांक्षा जागेको हो । राजपरिषद् स्थायी समितिका पूर्वसभापति डा. केशरजंग रायमाझीका अनुसार भारत भ्रमणका क्रममा शाहले भारतीय वरिष्ठ नेताहरूसग ०४७ को संविधान ब्युताउन सकिने विषयमा चर्चा गरेका थिए ।
‘०४७ सालको संविधानलाई सबैले मानेर संवैधानिक राजतन्त्र, बहुदलीय संसदीय प्रजातन्त्र र मानवअधिकारको अपरिवर्तनीय प्रावधानमा जानुपर्छ भन्ने ज्ञानेन्द्र सरकारको भित्री चाहना मैले बुझेको छु,’ रायमाझीले सौर्यसग भने, ‘अराजकता र अस्थिरताबाट मुलुकलाई जोगाउन बेलायतमा जस्तै संवैधानिक राजतन्त्रको पक्षमा सरकार लागिबक्सेको छ ।’ आफ्नो एकमहिने भारत भ्रमणमा पूर्वराजाले कांग्रेस आई नेत्री सोनिया गान्धीसहित त्यहाको उच्च राजनीतिक नेतृत्वसग भेट गरेको र भ्रमण सकारात्मक रहेको पनि रायमाझीले बताए ।
भारतकै चाहनामा नेपालमा गणतन्त्र स्थापना भएको दाबी गर्दै रायमाझीले बदलिदो परिवेशमा ०४७ सालको संविधान ब्युताउन भारत सकारात्मक हुन सक्ने पनि अनुमान गरे । ‘राजाले भारतमा सोनियासग कुराकानी गरिबक्स्यो,’ रायमाझीले आश्वस्त हुदै भने, ‘राजसंस्थालाई राष्ट्रिय एकताको प्रतीक बनाएर बहुदलीय संसदीय प्रजातन्त्र र मानवअधिकारको प्रावधान आवश्यक छ भन्ने कुरा त्यहा पनि भयो ।’
रायमाझीले ज्ञानेन्द्र राजा भएपछि माओवादीको उच्च नेतृत्वले उनीसग संवाद गरी संवैधानिक राजतन्त्र र बहुदलीय संसदीय प्रजातन्त्रमा सहमति गर्न आफूसग कुरा गरेको खुलासा गरे । ‘माओवादीले पहिले पनि संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रमा सहमति जनाएर राजासग कुरा टुंग्याउन खोजेको थियो । वीरेन्द्र सरकार छदै पुष्पकमल दाहालजीले भेट्न खोज्नुभएको थियो । मैले समय मिलाइदिन्छु पनि भनेको थिए,’ रायमाझीले भने, ‘दरबारमा भएको घटना (हत्याकाण्ड)पछि त्यो सम्भव भएन । त्यसपछि ज्ञानेन्द्र सरकारसग पनि कुरा गर्न चाहेको थियो, माओवादीले । तर, ज्ञानेन्द्र सरकारले भेट्न मानिबक्सेन ।’
रायमाझीले प्रजातन्त्रका आधारभूत मान्यतालाई अपरिवर्तनीय रूपमा आत्मसात् गरिएको र विश्वले प्रजातान्त्रिक संविधानका रूपमा मान्यता दिएकाले त्यही संविधानलाई मानेर सबै अगाडि बढ्नुपर्ने बताए ।
रायमाझीसितको संक्षिप्त कुराकानी
पूर्वराजाले तपाईंसगको भेटमा के कुरा गर्नुभएको छ ?
राजाको विचार मैले बुझेको छु । ०४७ सालको संविधानलाई सबैले मान्नुपर्छ र मुलुकमा बढेको अराजकता अन्त्य गर्नुपर्छ भन्ने सरकारको भित्री चाहना छ । संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र, मानवअधिकार, स्वतन्त्र न्यायालय रहने व्यवस्था त्यो संविधानमा छ ।
अहिले पनि मुलुकमा हत्या, हिंसा र अराजकता कायमै छ । अराजकताबाट मुलुकलाई जोगाउन बेलायतमा पनि पछि राजतन्त्रको स्थापना भएको थियो । यहा त्यस्तै गर्न सकिन्छ भन्ने मलाई पनि लाग्छ । त्यसका लागि ०४७ सालको संविधान नै चाहिन्छ भन्ने राजाको मनमा छ । इन्डिया भ्रमण पनि सकेर आइबक्सेको छ । त्यहा सोनिया गान्धीलगायत नेतासग पनि कुरा भएको छ ।
सोनियाले पनि नेपालमा ०४७ सालकै संविधान ब्युताउनुपर्छ भनेकी छन् रे नि राजासग हो ?
अ भारत नेपालमा राजतन्त्र चाहदैनथ्यो । तर, अस्ति राजा दुई दिन बसेर सोनियासग कुरा गरेर आइबक्सियो । माओवादीले पहिले पनि संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रमा सहमति जनाएको र राजासग कुरा गरेर टुंग्याउन खोजेको थियो । वीरेन्द्र सरकार छदै पुष्पकमल दाहालजीले भेट्न खोज्नुभएको थियो । मैले समय मिलाइदिन्छु पनि भनेको थिए । तर, दरबारमा भएको घटनापछि सम्भव भएन, त्यसपछि ज्ञानेन्द्र सरकारसग पनि कुरा गरेर टुंग्याउने कुरा माओवादीले गरेको थियो ।
तर, ज्ञानेन्द्र सरकारले भेट्न मानिबक्सेको थिएन । मैले त्यतिवेलै माओवादीलाई संवैधानिक राजतन्त्र, संसदीय व्यवस्थासहितको बहुदलीय प्रजातन्त्रमा कुरा मिलाऊ, चुनाव गरौ, तपाईंहरू चुनाव जितेर प्रधानमन्त्री हुनुस् भनेको थिए । त्यसवेला ज्ञानेन्द्र सरकारले अहिले नगरौ भनिबक्सेको थियो । अहिले भारत गएपछि कुरा भयो भन्ने मैले थाहा पाएको छु ।
पूर्वपञ्चहरूसित पूर्वराजाको छलफल
भुवन शर्मा
काठमाडौं, १३ चैत । एक महिनाभन्दा लामो भारत बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाहले ०४७ सालको संविधान ब्युताउने आफ्नो चाहना विभिन्न माध्यमबाट व्यक्त गर्न थालेका छन् । यस विषयमा उनले राजावादीनिकट केही नेतासग छलफलसमेत गरिसकेका छन् ।
भारतबाट फर्किएलगत्तै शाहले राप्रपा, राप्रपा नेपाल र जनशक्तिका अध्यक्ष पशुपतिशमशेर राणा, कमल थापा र सूर्यबहादुर थापासग भेटघाट गरेका थिए । यसैगरी, लोकेन्द्रबहादुर चन्द, राजेश्वर देवकोटालाई पनि उनले भेटे । भेटघाटमा ०४७ सालको संविधान ब्युताउने विषयमा कुराकानी भएको स्रोतले बतायो । राप्रपा नेपालका अध्यक्ष थापाले आगामी १४ जेठमा संविधान बनेन भने विभिन्न विकल्पमध्ये ०४७ सालको संविधान पनि एउटा विकल्प हुन सक्ने धारणा राखेका थिए ।
जनशक्ति अध्यक्ष थापाले भने अब त्यो स्थिति नरहेको जवाफ दिएको स्रोतले बतायो । पूर्वराजासग भेटघाट भएको केही दिनपछि आफ्नो जन्मोत्सवको अवसरमा गरिएको कार्यक्रममा उनले नेपालमा अब राजतन्त्र ब्यतन नसक्ने बताएका थिए ।
पूर्वराजाकै चाहनाअनुसार उनी भारतबाट फर्किएको केही दिनपछि पूर्वपञ्चका पार्टी राप्रपा, राप्रपा नेपाल र जनशक्तिबीच एकताको प्रयास सुरु भएको थियो । तर, जनशक्ति र राप्रपाले राजतन्त्रलाई अस्वीकार गरेपछि एकीकरण भाडिएको छ । स्रोतको दाबी छ, ‘तीन पार्टीबीच एकीकरण गर्न पूर्वराजा निकै इच्छुक थिए । तर, उनको चाहना पूरा हुने स्थिति भने रहेन ।’
धनगढीमा भव्य तयारी
पूर्वराजा यही १६ चैतमा सुदूरपश्चिमको धनगढीमा जादै छन् । त्यहा उनी पाच दिन बस्ने कार्यक्रम छ । धार्मिक कार्यक्रममा सहभागी हुन सुदूरपश्चिम जान लागे पनि उनको भित्री उद्देश्य भने राजनीतिक रहेको स्रोतले दाबी गर्‍यो ।
पूर्वराजा जाने कार्यक्रममा भिड जुटाउन राजावादीले ठूलै तयारी गरेका छन् । तयारीका लागि सुरक्षाकर्मीसहित २० जनाको एउटा टोली सोमबार बिहान काठमाडौंबाट धनगढी गएको छ । पूर्वराजाका स्वकीय सचिव सागर तिमिल्सिना मंगलबार त्यहा जादै छन् । नेपालगन्जमा रहेका राजावादी धनगढी जाने क्रम सुरु भएको छ ।
केही दिनअघि सुनसरीको झुम्कामा भएको कार्यक्रम सफल भएपछि उत्साहित बनेका पूर्वराजाले त्यही सफलता दोहोर्‍याउन सुदूरपश्चिम रोजेका हुन् । ‘झुम्कामा जसरी मान्छेहरू आए यसबाट सरकार निकै खुसी होइबक्नुभयो र सुदूरपश्चिम जान रुचि राखिबक्स्यो,’ पूर्वराजाका एक सहयोगीले भने ।

Monday, March 26, 2012

नेपाली भाषा यसरी लेखौँ रे - mysansar

कमल दीक्षित, जगदीश घिमिरे, खगेन्द्र संग्रौला, हरि अधिकारी, नारायण ढकाल लगायतका केही लेखकहरुले ललितपुर घोषणापत्र, २०६८ जारी गर्दै नेपाली भाषा यसरी लेखौँ भनी संकल्प गरेका छन्। विशेष गरी यसमा मोटो ‘श’, पातलो ‘स’मा भइरहेका प्रयोग, ह्रस्वदीर्घलाई सजिलो बनाउने नाममा भएका मनपरीको विरोध गरिएको छ र पहिला जस्तो छ त्यसरी नै प्रयोग गर्ने भनिएको छ। रमाइलो कुरा त के छ भने केही अघि नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको प्राज्ञहरुको सभाले जारी गरेको यस्तै घोषणापत्रका बूँदा र यसमा निकै कुरा बाझिन्छन्। हेरौँ आफूलाई नेपाली भाषा प्रयोगकर्ता भन्ने लेखकहरुले के के भनेका छन्, घोषणा पत्र जस्ताको तस्तै

नेपाली भाषा प्रयोगकर्ताहरूको संकल्प, ललितपुर, २०६८ चैत ११

भाषामा भिजिसकेका, प्रयोगकर्ताले पचाइसकेका, सर्वत्र प्रचलित शुद्ध–स्वाभाविक हिज्जेलाई जबरजस्ती परिवर्तन गर्न खोज्नु भाषामाथि अन्याय गर्नु हो। भइरहेको प्रचलन बिथोलेर सरलताका नाममा जटिलता र दुर्बोध्यता थप्ने यस्तो अनधिकार चेष्टाले भाषामा अव्यवस्था सृजना गर्दछ। परम्परागत लेखन प्रणालीमा एकमुष्ट हस्तक्षेप गरी बलपूर्वक लागू गर्न खोजिएका कतिपय अस्वाभाविक नियमले नेपाली भाषालाई संकुचित र कमजोर बनाउँदै लगेका छन्। प्रयोगकर्तालाई अन्योलग्रस्त बनाएको यो भुमरीबाट मुक्त हुन हामीले आफैं पहल गर्नुपर्ने भएको छ।
हिज्जेका समस्या विभिन्न प्रकृतिका छन्। मुख्य समस्या चाहिं लामो समयदेखि व्यापक चलनचल्तीमा रहेका शुद्ध शब्दहरूलाई तिनको हिज्जे बिगारेर विकृत बनाइनु नै हो। यस्ता शब्दहरूबाट श–ष हटाएर तिनको ठाउँमा पातलो स मात्र राख्ने, शुरू र बीचमा रहेको दीर्घ इकार–उकारलाई ह्रस्व बनाउने प्रचेष्टा कुनै पनि दृष्टिले उपयुक्त होइन। शब्दको रूपात्मक तथा ध्वन्यात्मक पक्ष र त्यसले पार्ने प्रभावप्रति देखिएको यो असंवेदनशीलताले भाषाको ओज र सौन्दर्यमा समेत नकारात्मक प्रभाव पार्दछ। संस्कृतबाट आएका तत्सम शब्दलाई जस्ताको तस्तै राखेर अन्य भाषाबाट त्यसैगरी आएका शब्दमाथि मात्र गरिएको यो लहडबाजीले नेपाली भाषालाई अनुदार एवम् छुवाछुतवादी छवि दिएको छ जो झन् आपत्तिजनक छ। यो समग्र प्रक्रियाप्रति हामी पूर्णतः असहमति व्यक्त गर्दछौं। साथै, विवादहीन तवरले प्रचलनमा रहँदै आएका अन्य शब्दहरूको समेत श–ष–स र ह्रस्व–दीर्घमा जबरजस्ती हेरफेर गरेर भाषामा अनावश्यक विवाद, अन्योल एवं अराजकता सिर्जना नगर्न सबैलाई आग्रह गर्दछौं।
यस पृष्ठभूमिमा, हिज्जे लगायतका विभिन्न समस्याबाट उन्मुक्ति दिलाएर नेपाली भाषालाई सहज–स्वाभाविक गतिमा अघि बढाउनुपर्ने बृहत्तर दायित्वको बोध गर्दै, प्रारम्भिक कदमका रूपमा, हामी नेपाली भाषाका निम्नलिखित प्रयोगकर्ताहरू यो संकल्प गर्दछौं :
• जुनसुकै भाषाबाट आएका भए पनि, लोकव्यवहारमा पचिसकेका ‘तत्सम’ शब्दको इकार–उकार, श–ष–स आदि नबिगारी जस्ताको तस्तै लेख्ने। जस्तै —
— नीर, तीर, चीफ, जीप, टीचर, टीम, ठीक, डीन, बीच, भीड, मीटिङ, रीट, लीलाम, सीट, स्टील, हीटर आदि।
— समीप, शरीर, शहीद, अपील, कारीगर, खरीद, गरीब, जमीन, जागीर, तपसील, तस्बीर, तारीफ, तालीम, दलील, नजीक, नजीर, नतीजा, नसीब, पनीर, रईस, वकील आदि।
— खूबी, छूट, तूफान, फूटपाथ, बूट, भूल, भूटान, स्कूटर, स्कूल, लूट आदि।
— अटूट, कपूत, कसूर, कानून, कार्टून, जुलूस, देहरादून, नमूना, बावजूद, मजदूर, मजबूत, महसूस, सबूत आदि।
— शर्त, शर्बत, शहर, शान, शायद, शायर, शायरी, शिकार, शुरू, शेक्सपियर, शेखी, शेयर, शेर, शो रूम आदि।
— कुश्ती, कोशिश, कोशी, खुशी, चश्मा, जोश, दशैं, निशान, निशाना, पेशा, पिशाब, फेशन, बेहोश, मशाल, मालिश, मुश्किल, लाश, सिफारिश, होश, होशियार आदि।
• परम्परागत रूपमा दीर्घ लेखिंदै आएका शब्द यथावत् लेख्ने। जस्तै —
— कीरो, खीर, चीसो, चूलो, जीउ, तीतो, नीम, पीठो, पीर, पीरो, भीड, मीठो, मीत, रीस, शीत, हीरा≤ बीस, तीस, चालीस≤ ठूलो, दूध, धूलो, पूरा, फूल, बूढो, मूला आदि।
• नेपाली भइसकेका तत्सम शब्दमा प्रत्यय लगाउँदा मूल शब्दको ह्रस्व–दीर्घ, श–ष–स आदि जबर्जस्ती नबिगारी लेख्ने। जस्तै :
— जोशिलो, विश्वासिलो, विदेशिनु, तुषारो, पोषिलो, वर्षेनि, पुष्ट्याइँ, दुष्ट्याइँ, प्रष्ट्याउनु, वर्षिनु, स्वीकार्नु, पूर्वी, पूर्वेली, एकवर्षे, दुईवर्षे आदि।
(कमल दीक्षित, जगदीश घिमिरे, खगेन्द्र संग्रौला, हरि अधिकारी, नारायण ढकाल, रोचक घिमिरे लगायत ८० जना लेखकहरू)
यसअघिको संगोष्ठीका केही निर्णयहरु
  • संयुक्त वर्णलाई सकेसम्म हलन्त व्यञ्जनका साथ लेख्न प्रोत्साहित गर्ने
  • संख्यावाचक शब्द तीनलाई ‘तिन’ लेख्न र मध्य जनाउने शब्द बीचलाई ‘बिच’ गर्न भनिएको छ। बोटबिरुवामा अब ‘फूल’ होइन, ‘फुल’ फुल्छ भनिएको छ।
  • तत्सम शब्दमा तद्भव प्रत्यय लाग्दा आदि र मध्यमा ह्रस्व बनाउने। जस्तै : स्विकार्नु, दर्सायो, बिदेसिए, पुर्बेली, बर्से।
  • संयुक्त क्रियामा छुट्टाछुट्टै आउने सबै इकारान्त रूप दीर्घ लेख्ने, जस्तै : लेखी सकी हाल्छ, गरी दिई छ, ल्याई सकेको।

Sunday, March 25, 2012

लौ चिनौँ, चोरीको बात लागेका स्रष्टालाई - onlinekhabar

कृष्ण अविरल
काठमाडौं । चोरी आफैँमा अपराध कर्म हो । साहित्यिक सिर्जना चोरी त झन् बनिसकको र बन्दै गरेको सामाजिक इज्जत, प्रतिष्ठासमेत आफैँले धरापमा पार्ने काम । यस्तो चोरीको अभियोग लागेकै कारण शंकर लामिछानेलगायत कतिपयले लेखनबाटै सन्यास लिएका छन्, महेश प्रसाईलगायतका कतिपयलाई सामाजिक रुपमा मुख देखाउनै नमिल्ले अवस्था उत्पन्न भएको छ । तैपनि यस्तो चोरी रोकिएको छैन, दिन प्रतिदिन मौलाइरहेको छ ।
‘कवि शिरोमणि’को उपाधि पाएका लेखनाथ पौड्याल, नेपाल साहित्यमा प्रगतिवादी धार भित्र्याउनेमध्येका विजय मल्ल, स्थापित आयमेली कवि ईश्वर बल्लभ, पूर्व प्राज्ञ एवम् प्रगतिशील स्रष्टा रमेश विकल, नेेपाल प्रज्ञा प्रतिष्ठानका वर्तमान कुलपति बैरागी काइँला, ननस्टप उपन्यासकार डा. धु्रवचन्द्र गौतमसमेत चोरीको बात लागेका नेपाली स्रष्टा हुन् भन्ने सुन्दा पाउँदा धेरैलाई पत्याउन मुस्किल पर्छ । तर राणाकालमा कैदी हुनुपर्दाको अनुभूति समेटिएको भनेर बहुचर्चित उनको कृति ‘पिंजडाको सुगा’ भारतका स्थापित कवि मैथलीचरण गुप्तको ‘पिंन्जरके सुगाएँ’ को अनुवाद हो । यो विषयलाई लिएर ०७ सालपछि कवि शिरोमणिको चर्कै आलोचना पनि भएको थियो । तर उनले कुनै प्रतिवाद गरेनन् । २०३२ सालमा चोरीको प्रमाणसहित साहित्यिक पत्रिका रुपरेखामा कुमुदिनीका नाममा लेख छापिएपछि स्वाभिमानमा ठेस पुगेको ठानी शंकर लामिछानेले जस्तो लेखनबाटै सन्यास पनि लिएनन् । जानकारहरु भन्छन्, कुमुदिनीका नाममा शंकरको चोरी पक्रने काम माधव शर्मा पन्थी नामका सरकारी कर्मचारीले गरेका हुन् । सहसचिवबाट अवकाश प्राप्त पन्थी अहिले पाल्पाको चिदिपानीम्ाा बस्छन् ।
डा.ध्रुवचन्द्र गौतमको उपन्यास ‘अलिखित’ चोरीको बात लागेको सबैभन्दा विवादास्पद कृति हो । २०३८ सालको मदन पुरस्कार प्राप्त अलिखितका बारेमा डा. रामदयाल राकेशले ‘नेपाली साहित्यः विभिन्न आयाम’मा हुबहु अनुच्छेदका अनेक प्रमाण अघि सारेका छन् । डा. राकेशका अनुसार फणिश्वरनाथ रेणुको ‘मैला आँचल’, राही मासुम रजाको ‘आधा गाँव’ र श्रीलाल शुक्लको आन्चलिक उपन्यास ‘रागदरवारी’ मिसमास अनुकरण नै ‘अलिखित’ हो । गौतमले पछिल्ला चरणमा हिन्दी टेलिसियिलबाट प्रभावित भएर उपन्यास लेखिरहेको दावी गर्ने डा. राकेशको दावी छ, ‘उनले नचोरी लेख्नै सक्तैनन् । अध्ययन गर्ने हो भने उनका हरेक उपन्यासमा प्रमाण भेट्न सकिन्छ ।’ डा. गौतमको चोरी अभियानका बारेमा ललिजन रावलले समेत लेखेका छन् । तर त्यही उपन्यास बर्षौँदेखि कलेजको पाठ्यक्रममा छ ।
२०२९ सालको मदन पुरस्कार प्राप्त ईश्वर बल्लभको कवितासङ्ग्रह ‘आगोका फूलहरु हुन्, आगोका फूलहरु होइनन्’ पनि चोरीको बात लागेको कृति हो । बल्लभको सिर्जनात्मक चोरी कला पक्रने स्रष्टाचाहिँ असमी मूलका नेपाली लेखक चन्द्रेश्वर दुवे हुन् । ‘तेस्रो आयामको शवपरीक्षा’ लगायतका तीनवटा कृति लेखेर उनले बल्लभको ‘मौलिक ?’ लेखनको धुस्नो नै काढेका छन् । त्यस्तै प्रगतिवादी धारका प्रभावशाली स्रष्टा विजय मल्लको ‘कुमारीशोभा’ अमृता पि्रतमको ‘पिगलकी चट्टान’को हुबहु अनुकरण मानिन्छ । पूर्व प्राज्ञ तथा प्रगतिशील स्रष्टा रमेश विकलको बहुचर्चित उपन्यास ‘अविरल बग्छ इन्द्रावती’ र उत्तिकै चर्चित कथा ‘लाहुरी भैसी’माथि पनि चोरीको अभियोग छ । हुन पनि रसियन लेखक मिखायल सोलोखोबको हिन्दी अनुदित उपन्यास ‘डोन नदी चूपचाप बहती है’सँग ‘अविरल बग्छ इन्द्रावती’का कतिपय अनुच्छेद हुबहु मिल्छन् । पछिल्लोचोटि प्राज्ञ भएका बेला कलेजको कोर्षमा रहेको अंग्रेजी कथाको हुबहु अनुवाद गरी एकेडमीले प्रकाशित गर्ने ‘समकालीन साहित्य’मा आफ्नो नाममा छपाएपछि विकलको चर्को आलोचना भएको थियो । त्यस्तै हरेक कृति एकसेएक मानिने विश्वेश्वरप्रसाद कोइरालाको ‘बैदारको मृत्यु’ शीर्षकको कथा पनि रसियन कथाकार एन्तोन चेखबको ‘डेथ अफ क्लर्क’सँग निकैहदसम्म दुरुस्त छ ।
वर्तमान कुलपति वैरागी काइला चोरीको बात लागेका अर्का स्रष्टा हुन् । ०३२ सालतिर प्रकाशित बैरागीको एकमात्र बहुचर्चित ‘मातेको मान्छेको भाषण मध्यरातको सडकसित’ कविता भारत पश्चिमबंगालका कवि शक्ति घोषको एउटा कवितासँग हुबहु मिल्छ । अनौठो कुराचाहिँ के हो भने काइलाको उक्त सङ्ग्रहमा भूमिका लेख्ने डा. ईश्वर बरालले नै ०५२ सालमा बसन्त लोहनी सम्पादित परिस्थिति साप्ताहिकमा बंगाली लिपिसहितको अंश छापेर बैरागीको धज्जी उडाएका छन् । अर्को आश्चर्यको कुराचाहिँ के हो भने काइलाको त्यही कविताको शैली अनुकरण गरेर श्रवण मुकारुङले ०६२-०६३ का जनआन्दोलनताका लेखेको ‘बिसे नगर्चीको बयान’ले खुवै चर्चा पायो ।
०४३-०४४ सालतिर सर्वनामको सडक नाटक ‘हामी वसन्त खोजिरहेछौँ’ खुबै चर्चित थियो । अशेष मल्ल नाटककार भनिएको उक्त नाटक बंगाली नाटककार बादल सरकारको ‘जुलस’को हुबहु हो भनेर त्यसबेलाको रुपरेखामा प्रताप अधिकारीका नाममा एउटा लेख छापिएपछि मल्लको शाखमै प्रश्न उब्जियो । जानकारहरुका अनुसार प्रताप अधिकारीको नाममा पत्र लेख्नेचाहिँ कवि हरिहर अधिकारी उर्फ श्यामल थिए । त्यस्तै अविनाश श्रेष्ठको ‘ललिता बाहिर रात पर्‍यो’ कथा रसियन कथाबाट चोरिएको हो भनेर पक्राउ गर्ने काम रमेश केसीले गरेका थिए । ०४४ साल ताका त चोरीका बारेमा पोल खोलाखोल गर्ने अभियनै चलेको थियो । त्यहीबेला दिनेश सत्याल सौरभले ‘सरुभक्तबाहेक अरु सबैले चोर्दा रहेछन्’ भनेर लेखै लेखे । लगत्तै सरुभक्तको चोरी कला शिव अधिकारीले पक्रे । अधिकारीको लेखअनुसार एच.जी. वेल्सको ‘इनभिजिवल म्यान’को हुबहु नै सरुभक्तको पहिलो उपन्यास ‘एक अभिनवको अन्त्य’ हो ।
पछिल्ला वर्षमा चर्चामा रहेका युग पाठकको ‘उर्गेनको घोडा’ र बुद्धिसागरको ‘कर्नाली ब्लुज’ माथि पनि शैली चोरेको बात लागेको छ । पाठकको ‘उर्गेनको घोडा’मा पाकिस्तानी लेखक कमलेश्वरको ‘कितने पाकिस्तान’को फर्मूला चोरिएको छ भने बुद्धिसागरको कर्नाली ब्लुजमा अफगानी लेखक ‘खालिदा हसेनी’को बेस्टसेलर उपन्यास ‘द काइट रनर’को शैली हुबहु अनुकरण गरिएको छ । बेग्लै कुरा हो कि ती दुवै कृतिलाई केही संस्थाले उत्कृष्ट ठहर्‍याएर पुरस्कृत गरिसकेका छन् ।
चोरी अभियोगमा पटकपटक पक्राउ पर्ने कविहरुमा पुरु रिसाल, महेश प्रसाई, रामविक्रम सिजापति र इन्द्रकुमार श्रेष्ठ हुन् । मधुपर्कमा छापिएका यी स्रष्टाका कविता हिन्दीका सरिता लगायतका पत्रिकाबाट हुबहु अनुवाद गरिएका प्रम्ााण फेला परेपछि मधुपर्कले ती कविलाई विरलै स्थान दिने गरेको छ । त्यस्तै दिनेश अधिकारीको ‘हर्के उर्फ हर्कबहादुर’ र विमल कोइरालाको ‘ध्रुवे उर्फ धु्रवबहादुर’ शीर्षकका कवितामा पनि कसले कसको अनुकरण गरेको हो भन्ने कुरामा पनि विवाद छ । बैरागीको कविता ‘जिन्दगी मफलर भैदिए टाँगिदिन्थे किलामा’ र तुलसी दिवसको ‘जिन्दगी कमिज भैदिए टाँगिदिन्थे किलामा’ को पहिलो हो भन्ने टुंगो लागेको छैन ।
हुबहु चोरीसँगै प्रभाव ग्रहण गरेर आफ्नो नाम चर्चामा ल्याउनेहरु पनि प्रशस्तै छन् । पुस्तक समीक्षा मार्फत् अरुलाई अर्ति दिँदै हिँड्ने हरि अधिकारीको कथासङ्ग्रह ‘संसदमा एक दिन’ र ‘रामलालको आकाश’ शीर्षक अनुकरणका अब्बल उदाहारण हुन् । किनकि भारतीय कवि सर्वेश्वरदयाल सक्सेनाको ‘संसदमे एक दिन’ झन्नै ६० वर्षअघि र दुर्गालाल श्रेष्ठको ‘रामलालको आकाश’ २०२० सालतिर निस्केका देखिन्छन् । त्यसो त आनी छोइङले गाएको दुर्गालालको बहुचर्चित गीत ‘फूलको आँखा फूलै संसार’ पनि भारतीय कवि अन्जानको ‘फूलको आँखोमे फूली संसार’सँग हुबहु मिल्छ । ओशो रजनिशले आफ्ना कयौँ प्रवचनमा यो गीत गाएका उदाहारण अनगन्ती भेटिन्छन् ।
पछिल्लो समयमा शितल कादम्बिनीको नाममा बज्ने गीत ‘कहाँ थियौ तिमी रंगमन्च उठेपछि आयौ’ र अन्जु पन्तले गाएको विपिन किरणको गीत ‘न बिर्सेँ तिमीलाई’ हरेक गीत हुबहु भाव मिलेको आरोपमा पक्राउ परेका छन् । स्वरुपराज आचार्यले गाएको उनको अर्को गीत ‘बल गरेर त्यो मन यता मोड भन्दिन’मा समेत चोरीको बात लागेपछि विपिन अहिले गीति लेखनबाटै ओझेल परेका छन् । त्यसो त ‘यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छ्यौँ’ का सर्जक भनिएका त्रिभुवन विश्वविद्यालयका प्रोफेसर कृष्णहरि बरालमाथि पनि चोरीको बात लागेको छ । किनकि उक्त गीत सर्जक फैज अहमद फैजको ‘और भि गम है दुनियाँमे मोहब्बतकी शिवाय’सँग पूरै प्रभावित देखिन्छ ।

Thursday, March 22, 2012

श्रम मन्त्री गिरी पद मुक्त-souryadaily



काठमाडौं, १० चैत्र । श्रम विभागका महानिर्देशक सरुवा प्रकरणमा बिवादमा मुछिएकी श्रम तथा यातायात व्यवस्था मन्त्री सरिता गिरीलाई प्रधानमन्त्री बाबुराम भट्टराईले आज पद मुक्त गरेका छन् ।
मन्त्री गिरीले पनि आफूलाई श्रम मन्त्रीको जिम्मेवारीबाट प्रधानमन्त्रीले हटाएको जानकारी आईसकेको स्वीकार गरेकी छन् । श्रम बिभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई सरुवा गरेपछि मन्त्री गिरीको चर्को आलोचना हुँदै आएको थियो ।
महानिर्देशक भट्टराईले नयाँ मेनपावर कम्पनी दर्ता गर्न नमानेपछि गिरीले सरुवा गरेकी आरोप छ ।
प्रधानमन्त्री भट्टराईले महानिर्देशकको सरुवालाई लिएर गिरीसँग स्पष्टिकरण समेत सोधेका थिए ।
स्पष्टिकरणप्रति चित्तनबुझेपछि गिरीसँग भट्टराईले राजीनामा माग गरेका थिए ।
गिरीले राजीनामा दिन नमानेपछि पदमुक्त गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
गिरीलाई पदमुक्त गरिएपछि उनको ठाउँमा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष तथा सभासद एमएस थापालाई श्रम मन्त्री बनाईने स्रोतको भनाई छ ।

Wednesday, March 21, 2012

‘तिब्बती कार्ड’ले मुनको नेपाल भ्रमण स्थगित सम्मेलनलाई तिब्बतीको अखडा बनाउन पर्चा छरियो - onlinekhabar

८ चैत, काठमाण्डौ । लुम्बिनी बिकाशका लागि आयोजित अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन आगामी बैशाख दोस्रो साता नेपाल आउने तयारीमा रहेका राष्ट्रसंघका महासचिव वान की मुनको भ्रमण स्थगित भएको छ ।
भ्रमणका लागि स्थीति अनुकुल नभएको भन्दै मुनको सचिवालयले परिस्थीति परिवर्तन नभएसम्मका लागि भ्रमण स्थगित गर्ने निर्णय गरेको राष्ट्रसंघनिकट उच्चस्रोतले दावी गरेको छ । मुनको भ्रमणका लागि सरकार र लुम्बिनी बिकाश राष्ट्रिय निर्देशक समितिले तयारी गरिरहंदा मानवअधिकारबादीको एउटा समूहले उनको भ्रमण नगराउन कुटनीतिक लविङ तिब्र पारेको थियो । कुटनीतिक लबिङबाट मुनको भ्रमण रोकिने अबस्था नरहेपछि सोही समूहले तिब्बती कार्ड प्रयोग गरि मुनको भ्रमण रोक्न सफल भएको स्रोतको दावी छ ।
कसरी रोकियो भ्रमण ?
लुम्बिनी बिकाशका लागि नभई माओवादी अध्यक्ष प्रचण्डको शान्तिबादी ब्यक्तित्व निर्माणका लागि मुनलाई प्रयोग गर्न खोजिएको भन्दै कनकमणि दिक्षित, कुलचन्द्र गौतम, सुबोधराज प्याकुरेल, चरण प्रसाई, मन्दिरा शर्मा लगायतको टोलीले कुटनीतिक र राजनीतिक लविङ गरेको थियो । उनीहरुले राष्ट्रसंघ सुरक्षा परिषद्का ५ स्थायी र १० अस्थायी सदस्य राष्ट्रका प्रतिनिधिलाई भेटेर भ्रमण स्थगित गराउन दबाब दिएका थिए प्रतिपक्षी दल कांग्रेस र एमालेलाई पनि मुन भ्रमणको बिरोध गर्न भनेका थिए । कुटनीतिक र राजनीतिक प्रयास असफल भएपछि सोही समूले तिब्बती कार्डको प्रयोग गरि मुनको भ्रमण स्थगित गराएको सुत्रको दावी छ ।
स्वतन्त्र तिब्बतका लागि समेत काम गरिरहेका तिनै मानवअधिकारीको समूहले काठमाण्डौका तिब्बती क्याम्पहरुमा ‘बैशाख १६ गते लुम्बिनी जाऔं’ भन्ने ब्यहोराका पर्चा छरेका थिए । सम्मेलनस्थल तिब्बती शरणार्थीहरुको अखडा बन्ने र त्यसले तिब्बतीहरुको मुद्दालाई अन्तराष्ट्रियकरण गर्ने अबस्था आएपछि राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यसमेत रहेको चीनले मुनको भ्रमण स्थगित गराएको बताइएको छ ।
मुनको भ्रमण स्थगनसागै नेपालको शान्ति प्रकृयामा समेत ढिलाई हुने भएको छ । मुनको सर्तअनुसार उनको भ्रमण अगावै शान्ति प्रकृया सक्न आतुर देखिएको माओवादी नेतृत्व भ्रमण स्थगनसागै सेलाउने छ ।
मुनको भ्रमण रोक्न लागि परेका कनकमणि दिक्षितले भने शान्ति प्रकृयामा गति दिनका लागि भ्रमण स्थगित भएको वताएका छन् ।

किरणबिनाको किरण हल - सुधीर शर्मा - ekantipur

प्रायः पश्चिमा कूटनीतिज्ञहरूको जमघट हुने ललितपुरको समिट होटलमा सोमबार एउटा छुट्टै भेला थियो माओवादीहरूको । त्यो कार्यक्रम पार्टी उपाध्यक्ष मोहन वैद्यको उपनामसँग मिल्दो 'किरण हल' मा गरिएको थियो, तर त्यहाँ किरण र उनी पक्षधर नेता कोही थिएनन् । संस्थापन पक्षले आफूसम्बद्ध करिब सय जना केन्द्रीय सदस्यलाई मात्र निम्त्याएर पहिलोपटक गरेको छुट्टै केन्द्रीय भेलाले निष्कर्ष निकाल्यो- शान्ति र संविधान मान्ने कि विद्रोहमा जाने वैद्यहरूले तुरुन्त निर्णय लिनुपर्‍यो ।
वैद्य पक्षले पनि दुई दिनभरि छुट्टै भेला गरी शनिबार राजधानीको अर्को तारे होटल र्‍याडिसन, जहाँको मजदुर युनियनमा उनीहरूको वर्चस्व छ, मा आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थापनपक्षीय नेताहरू कोही देखिएनन् । त्यहाँ वैद्य पक्षले आफ्नै पार्टीको सरकारविरुद्ध 'जिहाद' छेड्ने घोषणा गर्‍यो । शान्ति प्रक्रियाको 'सम्मानजनक समापन', 'जनसंविधानको निर्माण' र 'भारतीय विस्तारवादको विरोध' आन्दोलनका अन्य एजेन्डा
हुन् । यी यस्ता मुद्दा हुन्, जो पूरा हुँदैनन् भन्ने वैद्य पक्षधर नेताहरू स्वयंलाई थाहा छ, तर त्यसैको बहानामा पार्टीलाई 'विद्रोह' तर्फ मोड्न सकिने दाउपेचमा उनीहरू छन् ।
हिजोआज माओवादी पार्टी स्पष्टतः दुइटा धु्रवमा बाँडिएको छ र उनीहरूका छुट्टाछुट्टै भेला/भेटघाट सामान्य हुन थालेका छन् । तर संस्थापन पक्षमा जसरी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईका छुट्टाछुट्टै गुट छन्, त्यसैगरी वैद्य गुटभित्र पनि अनेक उपगुट छन् । चर्को अन्तरसंघर्षका बाबजुद माओवादी पार्टी फुटिहाल्न नसक्नुको एउटा मुख्य कारण वैद्य समूह आफैं बहुमुखी धारमा विभाजित हुनु पनि हो । तत्काल पार्टी फुटाउनुपर्छ भन्नेदेखि संविधान निर्माण र शान्ति प्रक्रियाको अवतरण हेर्नुपर्छ भन्नेहरू पनि त्यहाँ छन् । भनिन्छ, वैद्य स्वयं पार्टी विभाजन गरिहाल्ने पक्षमा छैनन् । यतिचाहिँ पक्का हो- कम्तीमा संविधानसभा रहुन्जेल जेठ १४ सम्म यो पार्टी फुट्दैन ।
नयाँ संविधान बन्यो भनेचाहिँ माओवादीलाई फुट्नबाट सायद कसैले जोगाउन सक्दैन । किनभने त्यसपछि दाहाल-भट्टराई नयाँ मूलधारे शासकीय अभ्यासमा लाग्नेछन् भने वैद्य पक्षले आफ्नो दार्शनिक मान्यताअनुसार 'विशुद्धतावादी माओवादी पार्टी' बनाउने प्रयत्न थाल्नेछ । उनीहरूले जेठ १४ मा संविधान बन्यो भने त्यसलाई जलाउने योजना बनाइसकेका छन् । कथंकदाचित नयाँ संविधान जारी नगरी संविधानसभा भंग भयो भने बरु माओवादी पार्टी एकीकृत रहिरहन सक्छ । सम्भवतः मोहन वैद्यले चाहेको परिदृश्य यही हो ।
वैद्य पक्षको मार्गचित्र स्पष्ट छ- उपाध्यक्ष बाबुराम भट्टराईले नेतृत्व गरेको आफ्नै पार्टीको सरकार ढाल्ने । यो सरकार ढल्यो भने सम्पन्न हुनै लागेको शान्ति प्रक्रिया तुरुन्तै बिथोलिनेछ । अब पनि लडाकु समायोजन नहुने हो भने जेठ १४ भित्र संविधान लेखिने छैन । त्यस्तो अवस्थामा अध्यक्ष दाहालमात्र होइन, प्रधानमन्त्री भट्टराईसमेत विद्रोहको आफ्नो लाइनमा आउन बाध्य हुन्छन् भन्ने वैद्य पक्षका नेताहरूको बुझाइ छ । त्यही भएर र्‍याडिसनको पत्रकार सम्मेलनमार्फत उनीहरूले संसद्मा अविश्वास प्रस्ताव ल्याएर भए पनि भट्टराई सरकार ढाल्ने उद्घोष गरेका हुन् ।
अहिले कस्तो देखिन्छ भने मुलुकमा सत्ता पक्ष त माओवादी हुँदै हो, त्यही सत्ताविरुद्ध प्रतिपक्षीको भूमिका पनि उसैले खेल्दैछ । अनि एकातिर ऊ सेना समायोजनमा लागेको छ भने त्यो हुनु हुँदैन भनेर सबभन्दा चर्को वकालत पनि उसैले गर्दैछ । संविधानसभा नै सबैथोक हो भन्नेदेखि संविधानसभाका चर्का विरोधी पनि माओवादीमै छन् । नयाँ संविधान जारी गरेपछि क्रान्तिको चरण पूरा हुन्छ भन्ठान्नेदेखि त्यस्तो भएमा प्रतिक्रान्ति भइहाल्छ भन्ने विरोधाभासबाट पनि त्यही पार्टी ग्रस्त छ । अर्थात् एउटै माओवादी पार्टीभित्र अनेक माओवादी देखिन्छन् । त्यसैले अब यो विस्तारै दल होइन, एउटा भद्रगोल मोर्चाजस्तो बन्दै गएको छ जो लामो समयसम्म यही अवस्थामा रहन सक्दैन ।
अध्यक्ष दाहाल स्वयंले समिटको 'समिट' मार्फत घोषणा गरे- गुट-उपगुटको यस्तै स्थिति कायम रहे पार्टी विसर्जन हुन्छ । यो सायद सत्य हो, तर आफ्नो पार्टीलाई एकीकृत राख्न नसकेको राजनीतिक दोष अध्यक्ष दाहाललाई पनि जानेछ । भलै विभाजनको सबभन्दा ठूलो कारकचाहिँ वैद्यहरू नै हुनेछन्, जसले १२ बुँदे समझदारीमार्फत थालिएको शान्ति प्रक्रियालाई कहिल्यै गहिरोसँग आत्मसात् गरेनन् । गएको ६ वर्षदेखि जारी यो प्रक्रियामा उनीहरूलाई समाहित गराउने गम्भीर प्रयास दाहाल र भट्टराईले पनि गरेनन्, जो उनीहरूको राजनीतिक भूल थियो ।
भट्टराई त सुरुबाटै शान्ति/संविधान नै अन्तिम लक्ष्य हो भन्नेमा प्रस्ट थिए तर दाहालचाहिँ विद्रोह गर्न सकिन्छ कि भन्ने प्रयासमा लामै समय लागिरहे । वैद्य पक्ष पनि दाहाललाई नै नेता बनाएर विद्रोहमार्फत सत्ता कब्जा गर्न सकिने सोचमा थियो । दाहाल स्वयंले खुलासा गरेका छन् कि उनले अन्य सबै उपाय काम नलागेर पार्टीको गाडीलाई शान्तिमार्गमा ल्याएको एक वर्षअघि मात्र हो ।
दाहालको शान्ति प्रस्थानलाई वैद्य पक्षले 'धोका' ठान्यो र बाबुराम भट्टराईदेखि नारायणकाजी श्रेष्ठसम्मलाई साथमा लिएर चर्चित 'धोबीघाट भेला' गर्‍यो । घेराबन्दीमा परेका दाहाल पनि के कम, उनले भट्टराई र श्रेष्ठलाई नै प्रधान र उपप्रधानमन्त्री बनाइदिए । त्यसबीचमा युवा पुस्ताका शक्ति बस्नेतदेखि अघिल्लो पुस्ताका कृष्णबहादुर महरासम्मका वैद्यपक्षीय नेताहरू दाहाल-शिविर छिरिसकेका थिए । यो सबै घटनाक्रम र अझ खासगरी धोबीघाटको असफलतापछि वैद्य पक्ष अरू आक्रोशित बन्यो नेतृत्वप्रति ।
वैद्यहरू रिसाउनुको पछिल्लो कारण दाहालले भट्टराई सरकारलाई काँध थापिरहे भन्ने पनि हो । यसअघि राष्ट्रिय सहमतिको सरकार गठन गर्ने निर्णय पार्टीबाट गराएर दाहालले वैद्यलाई थामथुम पारेका थिए । तर त्यो नहुने देखेपछि वैद्य पक्ष अरू असन्तुष्ट बनेको छ । तापनि सरकारको मुद्दा नै यस्तो विषय हो, जसलाई लिएर भट्टराईविरुद्ध दाहाल र वैद्यबीच फेरि गठबन्धन बनेमा त्यसले माओवादीको आन्तरिक समीकरण उल्टाउन पनि सक्छ ।
यद्यपि वैचारिक एवम् व्यावहारिक दुवै दृष्टिले हेर्दा एउटै माओवादीभित्र दुइटा पार्टी जन्मिरहेको स्पष्ट तस्बिर देखिन्छ । खासगरी यसबीचमा वैद्य पक्षले गरेका दुइटा घोषणा विचारणीय छन् । पहिलो, उनीहरूले स्वैच्छिक अवकाश रोजेर शिविरबाट निस्केका लगायत अन्य पूर्वलडाकुहरूलाई समेट्दै राष्ट्रिय भेला नै गरे केही दिनअघि दाङमा । नेपाली सेनामा समायोजन हुन लागेका लडाकु अब आफ्नो नरहेका र आफूहरू छुट्टै 'जनसेना' बनाउने तयारीमा लागेको उनीहरूको भनाइ थियो । यसको सन्देश हो- वैद्य पक्ष लडाकु दस्ता निर्माणको प्रयत्नमा छ जसको उद्देश्य सशस्त्र द्वन्द्वको पुनरोदय गर्नु हो ।
दोस्रो घटना, गएको सोमबार उनीहरूले सीपी गजुरेलको अध्यक्षतामा 'संयुक्त राष्ट्रिय जनपरिषद्' गठन गर्नु हो । माओवादीले २०५८ सालमा बाबुराम भट्टराईको नेतृत्वमा यस्तै जनपरिषद् बनाएको थियो, जसलाई उसबेला द्वन्द्वकालमा 'केन्द्रीय जनसरकार' को नाम दिइएको थियो । अहिले वैद्य पक्षले त्यस्तै 'जनसत्ता' जन्माएको सन्देश दिन खोजेको छ ।
'जनसत्ता' र 'जनसेना' को निर्माणसँगै वैद्य पक्ष व्यापक भेला, बैठक गर्ने र माथिदेखि तलसम्म समानान्तर रूपमा अनौपचारिक संगठन/कमिटी निर्माण गर्नमा सक्रिय छ । जुनसुकै विन्दुमा पनि नयाँ पार्टीको घोषणा गर्न सक्ने तयारीमा उनीहरू जुटेका छन् । तर कहिले ? यसमा चाहिँ उपाध्यक्ष वैद्य, महासचिव रामबहादुर थापा, सचिव सीपी गजुरेल र युवा नेता नेत्रविक्रम चन्दका फरकफरक बुझाइ र व्याख्याहरू छन् । सायद त्यसैले अन्तिम निर्णय लिन सहज भइरहेको छैन ।
वैद्य पक्षले के गर्छ, त्यो निकट भविष्यमै थाहा हुनेछ । तर जेठ १४ मा शान्ति र संविधानको प्रक्रिया पूरा नभए राजनीतिक रूपमा सबभन्दा क्षति आफूहरूले बेहोर्नुपर्ने दाहाल र भट्टराईले चाहिँ बुझ्नुपर्छ । थाहा भएकै कुरा हो- आफ्नो राजनीतिक कार्यदिशा असफल भएको खण्डमा उनीहरू पार्टीमै कमजोर हुनेछन् र वैद्यहरूको बोलवाला बढ्नेछ । त्यसैले पार्टी अध्यक्षका रूपमा दाहालको र सरकार तथा विशेष समिति प्रमुखका रूपमा भट्टराईको जिम्मेवारी भनेको शान्ति र संविधानको प्रक्रियालाई तीव्रता दिनु हो ।
अहिले शान्ति प्रक्रिया वैद्यहरूका कारण रोकिएको पनि होइन । यो मुख्यतः माओवादी र कांग्रेस/एमालेबीच सहमति हुन नसकेर सुस्त बनेको हो । अब तत्काल समायोजन थालेर यसलाई टुंग्याउनुपर्छ । शान्ति प्रक्रियालाई वैद्य पक्षले पनि रोक्ने छैनन् । किनभने शिविरमा रहेका नौ हजार लडाकुप्रति उनीहरूको कुनै मोह छैन । ती सबै संस्थापन पक्षधर हुन् भन्ने उनीहरूको बुझाइ छ । त्यसैले आफू पक्षधर पूर्वलडाकुलाई अलग्गै ढंगबाट संगठित गर्दैछन् ।
लडाकु समायोजन सुरु हुनासाथ संविधान निर्माणले गति पक्रनेछ । माओवादी संस्थापन एकढिक्का भयो भने संविधानसभामा वैद्य पक्षको विरोधले खासै अर्थ राख्ने छैन । यद्यपि संस्थापन पक्ष शान्ति/संविधान पूरा नहँुदासम्म पार्टी नफुटोस् भन्नेमा देखिन्छ । त्यसका निम्ति वैद्य पक्षका नेताहरूलाई फकाइरहेको पनि छ । उनीहरूले पार्टी नीतिविपरीत जे बोले र जस्तो गतिविधि गरे पनि कारबाही गर्ने आँट नगर्नुको कारण यही हो ।
सम्भवतः क्रान्तिकारी कित्ताका वैद्य स्वयं पनि केही द्विविधामा छन् । २२ वर्षअघि कात्तिकको एक बिहान वैद्य नै थिए, जसले दाहाललाई आफ्नो उत्तराधिकारीका रूपमा पार्टी महामन्त्री घोषित गरे । 'चेला' सँग जतिसुकै रिस उठे पनि वैद्यको दाहालसँग प्रेम र घृणाको सम्बन्ध रहिआएको छ पछिल्लो कालखण्डमा ।
संस्थापनले जब किरण हलमा किरणबिनै पहिलोपटक अलग भेला गर्‍यो, त्यसले चाहिँ वैद्यलाई पक्कै आन्दोलित गरेको होला । तर उनी यस्तो अवस्थामा छन्, आफैंले वर्षौं ऊर्जा लगाएको र आफ्नै ठानेको पार्टी छाडेर हिँडिहाल्न पनि सक्दैनन्, बसिरहने वातावरण पनि छैन । सायद यस्तै पेन्डुलम अवस्था माओवादीले कम्तीमा जेठ १४ सम्म भोगिरहनुपर्नेछ ।

Saturday, March 17, 2012

विरोधपछि फेसबुकलाई बाइबाई दुई करोड मात्रै पाउँदा दुःख लागेको छ -खगेन्द्र पन्त - souryadaily



‘मेरोबारे सकारात्मक र नकारात्मक स्टाटसले आफ्नो वाल रङ्ग्याउने अथवा मिडियामा प्रचार गर्नुहुने सबैलाई विशेष धन्यवाद…’ एमाओवादी अध्यक्ष पुष्पकमल दाहालपुत्र प्रकाशले आफ्नो फेसबुकमा शनिबार बिहान यस्तो ‘स्टाटस’ राखेका थिए । तर, उनले बेलुकी एकाएक आफ्नो फेसबुक खाता निष्क्रिय बनाए ।
हरेक दिनजसो थरीथरी विचार र टिप्पणी पोस्ट गरेर फेसबुकमा व्यस्त रहने प्रकाशले किन यसो गरे ? कारण हो, सरकारले शुक्रबार उनीसहितको टोलीलाई सगरमाथा चढ्न दुई करोड दिने भनी गरेको निर्णयको कटु आलोचना । फेसबुक प्रयोगकर्ताले उनको वालमा लगातार तिखा टिप्पणी र घोचपेच बर्साउन थालेपछि उनले आफ्नो खाता बन्द गरेका हुन् ।
फेसबुक प्रयोगकर्ताले शुक्रबार र शनिबार आफ्ना पेजमा सरकारको निर्णयविरुद्ध कठोर टिप्पणी गरिरहेका छन् । सुरुमा सबैलाई धन्यवाद दिए पनि अन्ततः प्रकाशले आलोचना सहन नसकी फेसबुक नै परित्याग गरे । सरकारले शुक्रबार मात्रै प्रकाशसहितको ११ सदस्यीय टोलीलाई सगरमाथा चढ्न दुई करोड रुपियाँ दिने निर्णय गरेको थियो । उनको टोलीबाट एक करोड रुपियाँबराबरको आरोहण शुल्क पनि नलिने निर्णय सरकारले गरेको छ ।
यद्यपि, प्रकाशले आफ्नो फेसबुक अरू कसैले बन्द गरिदिएको हुन सक्ने दाबी गरेका छन् । ‘मैले बन्द गरेको छैन, म बाहिर छु । फेसबुक कम्पनीमै भनेर अरूले नै बन्द गर्न सक्छन् । यसअघि पनि एक दुईपटक मेरो फेसबुक बन्द गरिएको छ,’ उनले सौर्यसँग भने ।

दुई करोड मात्रै पाउँदा दुःख लागेको छ
प्रकाश दाहाल
तपार्इं लगायतको टोलीलाई सगरमाथा चढ्न सरकारले दुई करोड रुपिया दिने निर्णयको चौतर्फी विरोध भयो नि ?
मिडियामा जसरी माओवादी अध्यक्षको छोरालाई सरकारले पैसा दियो भनेर प्रचार गरिएको छ, यो त्यसरी प्रचार गर्नुपर्ने विषय नै होइन । हामीले ६ हजार मिटर अग्लो लाङटाङ हिमाल चढेपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नै प्रमाणपत्र दिनुभएको थियो । त्यतिखेर प्रधानमन्त्रीले ‘तपार्इंहरूले राम्रो काम गर्नुभयो, अझै राम्रो काम गर्नुस्, मेरो तर्फबाट नैतिक र आर्थिक सबै सहयोग रहन्छ’ भन्नुभएको थियो । अहिले विपक्षी दलहरूले राम्रो काम गर्न थाले भनेर डराएर मुद्दा बनाइरहेका छन् । पहिल्यै त्यस्तो थाहा भएको भए हामी पहल नै गर्दैनथ्यौं ।
भनेपछि विपक्षी दलहरू तपाईंको कामसित डराएर विरोधमा उत्रिएका हुन् ?
हो नि ! नत्र झलनाथ खनालको सरकारका बेला राज्यको ढुकुटीबाट अर्बौं बाँडियो, कसैले केही भनेन । निजामती कर्मचारी बिनाउद्देश्य सगरमाथा चढे, उनीहरूलाई कसैले केही भनेन । हामी दलहरूलाई शान्ति र संविधानको काम समयमै पूरा गर भनेर दबाब दिन र नेपालका प्रमुख पर्यटकीय स्थल सगरमाथा र लुम्बिनीलाई संसारमा चिनाउन सगरमाथा चढ्न गइरहेका छौँ । तर, बिनाकारण विरोध गरिरहेका छन् ।
तपाईंहरूले सगरमाथा चढेर शान्ति र संविधान बन्छ र ?
हामीले सगरमाथाको चुचुरोमा उक्लिएर त्यहाँबाट संविधान तल फाल्ने होइन, दलहरूलाई हामी सगरमाथा त चढ्यौँ, तपार्इंहरू संविधान बनाउन सक्नुहुन्न ? बनाउनुस् भनेर नैतिक दबाब दिने मात्रै हो । संविधान बनाउन राज्यको अर्बौं खर्च गरेर सभासद्हरू काठमाडौँमा बसिरहेका छन् तर संविधान बन्ने छाँट छैन । हामीले दबाब दिने मात्रै हो । हामीले त कांग्रेसका गगन थापा, एमालेका योगेश भट्टराईलाई पनि जाऊँ भनेका हौँ । सुरुमा उहाँहरूले हुन्छ भन्नुभयो, पछि मरिन्छ कि भनेर डराएर हो कि जान तयार हुनु भएन ।
यही घटनालाई लिएर विपक्षी दलका युवा–विद्यार्थीले तपाईंलाई ‘नया पारस’ भनिरहेका छन् नि ?
हाम्रो टोलीमा ११ जना छौँ । कृष्ण केसीले नेतृत्व गर्नुभएको छ । अहिले विपक्षी मित्रहरूले सरकारले दिएको दुई करोड मैले लिएर भाग्छु जसरी प्रचण्डको छोरालाई दियो भनेर प्रचार गरिरहेका छन् । हामीले मागेको तीन करोड हो । सरकारसित नमागेर कोसित माग्ने ? दुई करोड मात्रै दिएकामा दुःख लागेको छ । त्यो सामन्ती राजसंस्थाको पारस र म दुःख, कष्ट झेलेर आएको प्रकाशबीच कुनै तुलना हुन सक्दैन ।
उनीहरूले त सरकारी निर्णय फिर्ता नभएसम्म आन्दोलन चर्काउने भनिरहेका छन् नि ?
मैले उहाँहरूलाई भन्ने यत्ति मात्रै हो कि, तपार्इंहरू प्रतिपक्षमा हुनुहुन्छ, गर्नोस् । अझ एमालेको त सत्ताबाहिर बस्ने बानी नै छैन । तैपनि, राष्ट्रिय एकताका लागि हौसला बुलन्द गरेर आउनुस्, सबैले सहयोग गर्छन् । हामीलाई हाम्रो पार्टी माओवादीले सघाउँछ ।
आलोचना सहन नसकेर हो कि तपार्इंले आफ्नो फेसबुक नै बन्द गर्नुभएछ त ?
मैले बन्द गरेको छैन, म बाहिर छु । अरू कसैले गरेको होला ।
तपाईंको फेसबुक अरूले कसरी बन्द गर्ला र ?
होइन, फेसबुक कम्पनीमै भनेर पनि बन्द गर्न सक्छन् । यसअघि पनि एक दुईपटक मेरो फेसबुक बन्द गरिएको छ ।
फेसबुकमा यस्ता प्रतिक्रिया आए
प्रकाश आस्था ढुङ्गा लडाऊ ए शेर्पा दाजुभाइ, सगरमाथामा जाने बाटामा बसेर शान्तिका लागि ढुङ्गा लडाऔँ ।
हरेराम कार्की जनताका छोराछोरीले जीवनजल खान नपाउने देशमा नेताको छोरालाई सगरमाथा चढ्न दुई करोड ! कस्तो लाजमर्दो सरकारी निर्णय ।
शम्भु कट्टेल होइन, यो संविधान सगरमाथाको टुप्पोमा छ कि क्या हो ?
प्रेणित पोखरेल सगरमाथा चढेर देशमा शान्ति र संविधान आउँछ भन्ने ज्ञान भएको भए जनताले आप्पा शेर्पा र लाक्पा शेर्पाहरूलाई मत दिन्थे होलान् ।
विपुल पोखरेल सगरमाथा चढेर शान्ति र संविधान ल्याउनेलाई दुई करोड दिने सरकारले धरहराबाट प्याराग्लाइडमार्फत शान्ति र संविधान ल्याउनेलाई कति पैसा
देला ? माग्नुपर्छ कि क्या हो……
माधव रोस्यारा ए भाइ, सगरमाथा चढ्ने भनेको गाडी चढ्याजस्तो होइन । प्रकाश दाहाललाई मात्रै दे’को होइन, ११ जना अरू छन् । एउटा अभियानसहित यो यात्रा सुरु भा’को छ । बरु पर्यटन अभिवृद्धिका साथै यो अभियानले भविष्यमा दिन सक्ने परिणामको परीक्षा लिऊँ न !
विष्णु प्याकुरेल गणतन्त्र भनेको श्री ६ महाराजाप्रचण्डाधिराज भनेको त होइन कतै ?
अधिकारी सरोजराज प्रचण्डपुत्र प्रकाशले राज्यको अर्बांै रुपियाँ जोगाइदिएछन् । धन्न चन्द्रमामा जान्छु भनेनन् ।
हेमन्त बेलबासे ल ल बाबुराम, फेरि प्रधानमन्त्री हुन पाउँछौ पाउँदैनौ, जति सक्छौ राज्यको रकम कुम्ल्याऊ । तिमीले जनतालाई थाङ्नामा सुताइहाल्यौ, अब जति मोज गर्नु छ गर । तिमीप्रतिको मेरो समर्थन फिर्ता है अब ।
गणेश ओली बधाई छ डाक्टर साप, भित्र–भित्र खोक्रिसकेको देशलाई तपाईंको कार्यकालसम्म रित्तो र भीख माग्ने बनाउनुहोस् ।
विजयराज अधिकारी सगरमाथाको टुप्पोबाट संविधान आउने भए किन ग¥यौ दशक लामो जनयुद्ध ?
ध्रुवकुमार तुलाधर भट्टराईपुत्री मानुषीले त विवादमा तानिएको भन्दै नेपाल क्रिकेट सङ्घको सदस्य पदमा नबस्ने बताएकी छन् । दाहालपुत्र प्रकाशले पनि दुई करोड अस्वीकार गर्दै सगरमाथा चढ्दिन भन्ने हुन् कि ।
खगेन्द्र दैलेखी प्रचन्नका सु….पुत्र सगरमाथा नचढी संविधान नबन्ने भए नबनोस् । तर, आज म स्वयम्भूको डाँडा नचढे मेरो मायापिरिम नै छुट्छ सरकार ! जनता त फकाए नि फकिन्छन् तर उनी त हजुरकै वैद्यभन्दा नि चर्की छिन् । सरकार ढले फेरि बहुमत जुटिहाल्छ । तर, उनले छाडे म सधैँका लागि ढल्छु सरकार । लौ हामीजस्ता कर्महारा, रात दुःखी, मायाका भोका, पिरमका नाङ्गाहरूको उद्धारका लागि दुई हजार रात प्याकेजमै पाऊँ सर्कार…….
प्रकाश ढुङ्गाना प्रधानमन्त्रीज्यू, म पनि प्रकाश नै हो । शान्ति र संविधानमा सघाउन म पनि चन्द्रमामा जाने सोचमा छु । दुई करोड चाहियो ।
जीवन भण्डारी १५ हजार नेपालीको ज्यान लिने जनयुद्ध गरेको त आफ्नै छोरालाई राज्यको ढुकुटी बाँड्न पो रहेछ भन्ने आज फेरि पुष्टि भयो ।
कांग्रेस–एमालेका भ्रातृसङ्गठन आन्दोलनमा
सौर्य समाचार
काठमाडौँ, ४ चैत । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालपुत्र प्रकाशको टोलीलाई सगरमाथा चढ्न सरकारले रकम दिने सरकारी निर्णयको तीव्र विरोध सुरु भएको छ । कांग्रेस र एमालेका भ्रातृसङ्गठन निर्णय फिर्ता लिन माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
कांग्रेसनिकट नेपाल विद्यार्थी सङ्घ तथा नेकपा (एमाले)निकट युवा सङ्घ नेपाल र अनेरास्ववियु सरकारी निर्णयको विरोधमा उत्रिएका हुन् । राजधानीमा शनिबार पत्रकार सम्मेलन गरी युवा सङ्घ र अनेरास्ववियुका नेताले दाहालपुत्र प्रकाशलाई नयाँ पारसको संज्ञा दिए । सरकारी निर्णयको विरोधमा आइतबारदेखि मुलुकभरका क्याम्पसअगाडि विरोध प्रदर्शन गर्ने उनीहरूले जानकारी दिएका छन् । प्रकाशको हालत पूर्वयुवराज पारस शाहको जस्तै बनाउने चेतावनीसमेत कार्यक्रममा दिइएको थियो ।
अनेरास्ववियुका महासचिव किशोरविक्रम मल्लले राज्यको ढुकुटीबाट दाहालपुत्रलाई दुई करोड रुपियाँ दिने निर्णय ‘जनघाती’ भएको बताए । ‘सरकार शान्तिप्रक्रिया र नयाँ संविधान निर्माणको काम पूरा गर्न लाग्नुपर्ने बेला देशको ढुकुटी रित्याउने खेलमा लागेको छ,’ मल्लले भने । निर्णय २४ घन्टाभित्र फिर्ता नलिए सडक सङ्घर्ष गरेर सरकार ढाल्ने उनको चेतावनी  थियो ।
सङ्घका उपाध्यक्ष झपट रावलले माओवादी नेताका छोरालाई सगरमाथा आरोहणका नाममा दुई करोड दिने निर्णयले नयाँ सामन्तको उदय भएको बताए । ‘नयाँ पारसलाई समाप्त पारेरै छाड्छौँ,’ रावलले भने । मन्त्रिपरिषद् बैठकले शुक्रबार प्रकाश सम्मिलित ११ सदस्यीय टोलीलाई शान्तिको कामना गर्दै सगरमाथा आरोहण गर्न लागेको भन्दै आर्थिक सहायतास्वरूप दुई करोड रुपियाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।
यसैबीच, कांग्रेसनिकट नेपाल विद्यार्थी सङ्घले शनिबार राजधानीमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पुत्ला दहन ग¥यो । निर्णयको साङ्केतिक विरोधस्वरूप उसले ‘प्रचण्डपुत्रका लागि चन्दा सङ्कलन गरेर प्रधानमन्त्रीलाई बुझाउने’ जनाएको छ ।
राजधानीको त्रिचन्द्र क्याम्पसअगाडि भट्टराईको पुत्ला दहन तथा कोणसभा गरिएको हो । कार्यक्रममा नेविसङ्घ अध्यक्ष रञ्जित कर्णले भने, ‘नेपाली जनता सिटामोल खान नपाएर मरेका बेला  प्रचण्डका छोरालाई दुई करोड दिने सरकार नालायक हो ।’
प्रधानमन्त्रीको व्यवहारले उनको विश्वसनीयता गुम्दै गएको समेत कर्णले बताए । स्ववियु चुनाव घोषणा, विद्यार्थीलाई पेट्रोलियम पदार्थमा सहुलियत दिनेलगायत विषयमा सहमति गरे पनि कार्यान्वयन नगरेको भन्दै उनले सरकारको आलोचना गरे ।

कुलचन्द्र र कनकका कचकच किन ? - onlinekhabar

प्रचण्डपुत्रलाई सगरमाथा चढ्न दुई करोड दिने सरकारी निर्णयभन्दा पनि खराब व्यवहार देखाए भनेर कुलचन्द्र गौतम र कनकमणि दीक्षितहरुको अहिले चौतर्फी बिरोध भैरहेको छ ।
बेलाबेला विवादमा तानिरहने राष्ट्रसंघका पूर्व सहाययक महासचिव गौतम र पत्रकार दीक्षित अहिले राष्ट्रसंघ महासचिव बान की मुनको हुने भनिएको नेपाल भ्रमण असफल पार्न ज्यान फालेर लागेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको बृहत्तर लुम्बिनी विकास समितिको निम्तामो महासचिव बान नेपाल आउन लागेको भन्दै उनीहरुको टाउको दुखेको हो ।
लुम्बिनीमा हुने बानको भ्रमणबारे गौतमले केही दिनअघि एउटा पत्रिकामा लेख लेखेर त्यसको केही अंश आफ्नो फेसबुक पेजमा यसरी पोष्ट गरेका छनः
…..विश्वको नासो लुम्बिनी: “अध्यक्ष पुष्पकमल दाहाललाई बिना प्रायश्चित लुम्बिनीको स्वर्ण गङ्गामा आफ्नो पापको भारी पखाल्नु थियो। त्यसैले जनतालाई भार र आफूलाई लाभ हुने महासचिव बान कि-मुनको भ्रमण योजना उनले बुने।”………..
पत्रकार दीक्षितको यो पोष्टमा कमेन्ट गर्नेहरुले उल्टै उनको विचारलाई तुच्छ भनेर मूल्याँकन गरेका छन् । केही कमेन्ट यस्ता छनः
”।आफै माहाविद्वान घोषणा गर्दै हिड्ने कनकमणि दक्षितलाई के मा पिर परेछ र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बिरोध गर्दै हिड्दैछन् कनकमणि दिक्षित एक स्वतन्त्र पत्रकार भनेर चिनेको थिए उनी त आफै माहाविद्वान आफैलाई घोषणा गरेर तीन करोड नेपालीको परिवर्तनको चाहानालाई छेक्न खोज्दै गरेका अनुभुति भएको छ यो त राम्रो होइन । उनी आफ्नो कलम किन संविधान निर्माणमा आलटाल गर्ने अन्य दलहरुप्रति कोरिदैन । उनी नेपाली जनताका प्रिय नेता प्रचण्डलाई किन शत्रु ठानिरहेका छन् ।”’
”।।प्रचण्ड वा कनकमणिको यो स्वार्थ युद्धमा मलाई सुका लिनुदिनु छैन। यी निरीहरुलाई हौसला बढाउनु वा उक्षित्तो काडिरहन नि आवश्यक छैन। बुद्ध बारेको ठूलो विद्वान ठान्ने कनकमणि वा बुद्ध जन्मस्थललाई केही गर्छु भन्ने प्रचण्डहरुले एक पटक त्रिपिटक पढेर त्यसका ८२ हजार बुद्ध वचनमध्ये दुईवटा सुत्त मात्र पनि व्यवहारमा उतारे यति ठूलो लेख वा युद्ध दुवै आवश्यक पर्दैनन्। यो देश र जनताले दुःख पाउनुमा यस्तै खास कारणहरु छन्। मेरो कामना छ- सम्यक सम्बुद्धको विद्यालाई धोती ला र उनैका नाउँमा फोहोरी राजनीतिको दुर्गन्धपूर्ण ‘टग अफ वार’ चलाइरहेको बुद्धले कहिलै थाहा नपाउन् १ मेरो कामना छ- कनकमणि र प्रचण्डले यो घृणाको प्रायश्चित जन्मभर गर्नु नपरोस् !
जे नाममा भएपनि राष्ट्रसंघ महासचिवको नेपाल भ्रमण महत्वपूर्ण पक्ष हो । बानको भ्रमणले पक्कै पनि नेपालबारे अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश जान्छ । यस्तो जान्दाजान्दै गौतम र दीक्षितले शान्ति र संविधान पूरा नभई बान आउन हुँदैन भन्ने कुतर्क गर्दैछन् । यसलाई कटाक्ष गर्दै पत्रकार अरुण बरालले आफ्नो फेसबुक वालमा गौतमले राष्ट्रसंघको एक कार्यक्रममा प्रचण्डसित खानेखुसी गरिरहेको तस्बीर राखेर यस्तो लेख्नुभएको छ:
””।कुलचन्द्र गौतमज्यूले बुधबार एउटा राष्ट्रिय दैनिकमा लेख लेखेर प्रचण्डलाई हत्यारा भन्दै उनको निमन्त्रणामा वानकी मुन नेपाल आउनु राष्ट्र संघको बडापत्र विपरीत हुने बताउनुभएछ । तर, मैले गुगलमा सर्च गर्दा गौतमजीको यस्तो रुप देख्न पाइयो । ‘हत्यारा’लाई यसरी चाकडी बजाउँदा गौतमजी यूएनमा हुनहुन्थ्यो कि हुनुहन्थेन रु अनि यसरी चाकडी गर्नुचाहि बडापत्र अनुरुप भयो कि भएन रु मान्छे किन यसरी दुईवटा रुप बनाउँछन् ‘।।
पत्रकार बरालको स्टाटसमा अमेरिकामा रहेका उत्तमबाबु श्रेष्ठले लेखेका छन्र,
…….. सेप्टेम्बर २६ २००८ साँझमा न्युस्कुल युर्निभरसिटीमा आयोजित ‘माओवादीको दृष्टीकोणमा नयाँ नेपालु कार्यक्रमको संचालन कुलचन्द्र गौतमले गर्नु भएको थियो । मलाई याद भए अनुसार गौतमले त्यतिबेला प्रचण्डलाई विपीसँग तुलना गर्नुभएको थियो । गौतमको कथन थियो प्रचण्ड वर्तमान नेपालको सबैभन्दा प्रष्ट भिजन करिस्मेटेक नेता हुन् । कार्यक्रममा प्रचण्डले गौतमलाई आदरणीय भनेर सम्बोधन गर्नु भएको थियो । ४ बर्षमा बाग्मतीमा धेरै पानी बगिसकेको छ ।’
यसरी आफूलाई बिद्धान, बुद्धिजीवि र मानवअधिकारवादी भन्नेहरुले बेलाबेला गर्ने कुतर्कका कुराले धेरैलाई चिढ्याउने गरेको छ । राष्ट्रसंघ महासचिव नेपाल आउनु आफैंमा ठूलो र महत्वपूर्ण कुरा हो । यसमा यो र त्यो भनेर बिरोध गर्नुको साटो महासचिव बानको भ्रमणलाई कसरी फलदायी बनाउने भन्नेतर्फ ध्यान दिनुपर्ने होइन र ?

‘स्पर्श उपचार’ भन्दै लाखौंको लुट टीभीमै लाईभ दिएर भ्रमको खेती - onlinekhabar

५ चैत, काठमाडौं । चिकित्सकले उपचार असम्भव ठहर्‍याएर बिदा दिएका क्यान्सर, ब्रेन ट्युमर, प्यारालाइसिस, बाथ, अन्धोपन आदिका विरामीलाई छोएको भरमा निको बनाइदिने दावी कसैले गर्‍यो भने के तपाईँ पत्याउनु हुन्छ ?
तर मान्छे जब उपचार गर्दागर्दा सबैतिरबाट निराश हुन्छ, उसका लागि अन्धविश्वासका आडमा गरिने त्यसखाले सुनियोजित प्रचार पनि विश्वसनीय लाग्दोरहेछ । त्यसका लागि ऊ जति शुल्क पनि तिर्न तयार हुने रहेछ । हुन पनि सूचना प्रवाहका आधिकारिक मानिने टेलिभिजन च्यानलले नै अन्धविश्वासको आडमा गरिने त्यसखाले ‘इमोशनल ब्यल्याकमेलिङ’लाई हरेक दिन लाइभ प्रशारण गरेपछि सर्वसाधारणले नपत्याएर पनि के गरुन् !
नेपालकै पहिलो न्यूज च्यानल दावी गर्ने सगरमाथा टेलिभिजन च्यानलबाट हरेक दिन बिहान सवा नौंदेखि प्रत्यक्ष प्रशारण हुने स्पर्श थेरापीसम्बन्धी कार्यक्रमको हो ।
आफूसँग दुनियाँमा कसैसँग नभएको अद्भुत दैवी शक्ति भएको र त्यसको आडमा जस्तोसुकै असाध्य रोगको पनि छिनभरमा उपचार गरेर देखाइदिने दावी गर्ने कथित तान्त्रिक वाइ.के. पाण्डे र उनकी सहयोगी नमिता शर्माले त्यही टेलिभिजनमा लाइभ प्रशारण गरेको कथित उपचार विधिका आधारमा दैनिक दर्जन बढी सोझासिधालाई सिकार बनाइरहेका छन् । उपचार शुल्क पनि कम महँगो छैन, आएपिच्छे, पाँच हजार सात सय पचास । नाम दर्ता गराउनका लागि मात्रै पनि पाँच सय । ‘उपचार गर्दागर्दै घरबारी सबै गुमाए पनि मान्छेमा बाँच्ने आस हुँदोरहेछ ।’ त्यहाँ भेटिएका एकपीडितले भने, ‘दुईपटक आइसकेँ तर खासै कम भएको छैन ।’ आश्चर्य त यो हो कि भ्रममा परेका मानिसहरु पाण्डेको कथित उपचार पाउनका लागि साउनसम्मको पालो पर्खिन पनि तयार छन् !

आफुलाई दैवीशक्तिप्राप्त दावी गर्ने पाण्डे नायक शिव श्रेष्ठसाग । उनले यसरी नै कलाकारको छविलाई पनि प्रयोग गर्छन
खासगरी चलचित्रका स्थापित कलाकारहरुलाई बोलाएर उनीहरु मार्फत् आफ्नो ‘ब्यवसाय’को प्रचार गराउने यो समूहले स्पर्श थेरापी गरेपछि जस्तोसुकै असाध्य रोग पनि तुरुन्तै निको हुने दावी गर्दै आएको छ । ‘बर्षौदेखि प्यारालाइसिस भएर अरुले बोकेर ल्याएको मान्छेलाई पनि उपचारपछि आफैँ ठमठमी हिँडेर घर जाने बनाइदिन सक्छु ।’ रिपोर्टिङको सिलसिलामा आइतवार नागपोखरीस्थित उनीहरुको उपचारस्थलमा पुगेको जनआस्था प्रतिनिधिसँग पाण्डेले भने, ‘यस्तो काम दुनियाँमा कसैले गर्न सक्छ ?’ संसारका जुनसुकै रोग पनि निको पार्ने दावी गर्ने पाण्डेले भने, ‘यो देशमा त्यस्तो कोही ठूलो मान्छे छैन जो मकहाँ उपचारका लागि नआएको होस् ।’
तर आइतवार र मंगलवार गरी चार बढी घन्टा उनकोमा बिताउँदा पनि उपचारले ठीक भयो भन्ने मान्छे एकजना फेला पार्न सकेन । बरु उनले ठीक नभएको गुनासो गर्नेहरुलाई उल्टै हप्काएको दृश्यको प्रत्यक्षदर्शी भयो । उनको हप्काइबाट बच्नकै लागि पनि ठीक नभएकाहरुले पनि ठीक भयो भन्दै हिँडेको दृश्य पनि देखियो । पाण्डेका गतिविधिलाई नजिकैबाट नियाल्दै आएका जानकारहरुचाहिँ अतिविश्वास गरेर जाने सयमा दुई-चार जना मनोवैज्ञानिक कारणले पनि ठीक हुने र त्यसैलाई हौवा बनाएर अरु सोझासिधालाई त्यो समूहले आफ्नो सिकार बनाउने गरेको बताउँछ । टीभीमा लाईभ चलिरहंदा उनले बिचमै माइकमा बोल्दै दावी गर्छन- म भित्र अदभूत शक्ति छ ।’
चलचित्रकी नायिका रेजिना उप्रेतीको साथी हुनुबाहेक लुजा ब्युटि पार्लरकी प्रमुख नमिता शर्माको सार्वजनिक पहिचान छैन । कुनैबेला रेजिनाकी रुमपार्टनरसमेत रहेकी नमितामा चलचित्र खेल्ने तिब्र चाहना भएको र त्यसैलाई पूरा गर्न अहिले टिभीमा देखापर्ने गरेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । उता आफूमा अद्भूत दैवीशक्ति भएको दावी गर्ने काभ्रे धुलिखेल घर भएका कथित तान्त्रिक पाण्डेचाहिँ आफ्नो पहिचन खुलाउन चाहँदैनन् । जोकोहीलाई ‘तिमी’ भनेर आफूलाई जबर्जस्ती अब्बल सावित गराउन खोज्ने उनले आफूमा ०३९ सालदेखि यस्तो शक्ति आएको र ०५२ सालदेखि उपचार थालेको दावी गर्छन् । अहिलेका अर्थ राज्यमन्त्रीका छोराको १५ वर्ष पुरानो रोग पनि निको पारेको दावी गर्ने उनका गफ सुन्ने जोकोहीलाई पनि हाँसो लाग्छ । २०६२-०६३ को जनआन्दोलनका जिउँदा सहिद मुकेश कायस्थलाई तीन महिना उपचार गरेपछि आफूले नै उठेर बस्न सक्ने अवस्थामा पुर्‍याएको दावी गर्ने उनले आफू कहाँ उपचारका लागि ६४ राष्ट्रबाट सम्पर्क आइसकेको बताए ।
त्यति मात्र होइन, यो समूहले लुजा ब्युटि पार्लरका नाममा क्रिम र औषधिहरु पनि निकालेको छ । आधिकारिकताबिना ती कथित औषधिहरु आफूकहाँ आउनेहरुलाई जर्वजस्ती भिडाउने गरेको आरोप पनि छ । तर पाण्डे आफूले ब्यक्तिगत सम्पत्ति थुपार्नका लागि नभई सेवाका लागि यो काम थालेको बताउँछन् । आफूले कमाएको सम्पत्तिले राजधानीका पुराना मन्दिरहरुको जीर्णोद्धार थालेको र जीवनमा सय बढी मन्दिर बनाउने लक्ष्य राखेको बताउने उनले भने ‘हामीले कर भ्याट तिरेर ब्यवसाय सन्चालन गरेका छौँ । हामीबाहेक कुन तान्त्रिक, ज्योतिष छ कर भ्याटमा दर्ता हुने ?’
उपचारका बारेमा अरु धेरैलाई थाहा दिनका लागि टेलिभिजनमा लाइभ गर्नु परेको र त्यसको खर्च उठाउनका लागि महँगो शुल्क लिनु परेको पाण्डेको दावी छ । साथै उनले आफ्नो उपचारको लाइभ न्युज २४ लगायत अन्य एक टेलिभिजनमा पनि प्रशारण गर्ने तयारी भइरहेको बताए । स्रोतका अनुसार सगरमाथा टेलिभिजनले मासिक १२ लाख लिएर लुजाको लाइभ प्रशारण गर्दै आएको छ । यद्यपि यो प्ररकणले टेलिभिजनले विज्ञापनका नाममा के देखाउने, के नदेखाउने भन्ने विषयमा सोच्नै पर्ने स्थिति सिर्जना गरिदिएको छ । साथै भौतिकवादमा विश्वास गर्ने कम्युनिष्टहरु मुलुकको सर्वेसर्वा भएका बेला पनि अन्धविश्वासको आडमा गरिएका यस्ता ठगी रोक्ने राज्य संयन्त्र नभएको पुष्टि भएको छ ।

Wednesday, March 7, 2012

मृगौला र मुटु दाजुभाइ – एउटाको चोट अर्कालाई - mysansar

आज ८ मार्च। यो दिनलाई विश्व मृगौला दिवसको रुपमा मनाइन्छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा.सञ्जीवकुमार शर्माले यही सन्दर्भमा एउटा चेतनामूलक ब्लग लेखेका छन्।
हामीले हाम्रो मृगौला जंचाउनै पर्ने ६ वटा मुख्य कारणहरु के के हुन्?
१ हाम्रो परिवारका कुनै सदस्यमा मृगौला रोग छ भने
२ हामीमा मधुमेह छ भने
३ हामीमा उच्च रक्तचाप, उच्च कोलेष्टरल र मुटुरोग छ भने
४ हामीमा मोटोपन छ भने
५ हाम्रो उमेर ६० वर्षमाथि छ भने
६ हामी धूमपान वा मद्यपान गर्छौं भने
मुटु र मृगौलाको अन्तरसम्बन्ध हुन्छ
हामीलाई हाम्रो मृगौला खराब भएका बेला हाम्रो मुटु पनि जचाउनु पर्छ कि, भन्ने कहिल्यै नलाग्न सक्छ। वा मुटुको रोग हामीमा छ भने हामीलाई मृगौला पनि जचाउनु पर्छ कि, भन्ने पनि कहिल्यै नलाग्न सक्छ। तर मृगौला वा मुटु कुनै एकको सिकायत हुने सबैले परीक्षण गराउंदा दुवैको परीक्षण गराएको राम्रो हो।
किन?
किनभने यी दुई मध्ये कुनै एकमा लाग्ने रोगले अर्कालाई पनि क्षति पुर्‍याउने गर्छ। वास्तवमा, धेरै चिकित्सकहरु मुटु र मृगौलालाई शरीरका दुई बेग्ला बेग्लै अङ्ग भन्दा पनि एक आपसमा अन्तरसम्बन्ध भएको एउटा शारीरिक प्रणाली मान्दछन्।
मुटु र मृगौला दुवै रोग हुनेहरुमा कुनै एक रोग हुनेको भन्दा २० गुणा बढी जोखिम मुटुको समस्याले मृत्युहुने खतरा हुन्छ। अनुसन्धानले के देखाएको छ भने मृगौलाले काम गर्न छाडेका बिमारीहरुको मुटुकै कारणले मृत्युहुने जोखिम ६२ प्रतिशत बढी हुन्छ। मृगौला रोगको सुरुवाती अवस्थामा नै मुटुरोग हुने खतरा भएकाले मृगौलाको क्षमतामा थोरैमात्र पनि कमी आयो भने मुटु बचाउने प्रयास गरिहाल्नु पर्दछ।
मुटु र मृगौला कहिल्यै सुत्दैनन्
हामी कडा परिश्रम गरेका दिन थकाई मार्छौ तर हाम्रो मुटुले कहिल्यै थकाई मार्न पाउदैन। मुटुको काम भनेको हरेक क्षण हरेक दिन अक्सिजनयुक्त रगतलाई फोक्सोबाट पम्प गरेर शरीरका प्रत्येक कोसिकासम्म पुर्‍याउनु हो। हाम्रो मुटु एक मिनेटमा औसत ७५ पटक धड्कियो भने वर्षमा झण्डै ३ करोड ९४ लाख पटक यो धड्किन्छ। मुटुले हरेक धडकनमा मृगौलामा रगत छान्नका लागि धकेल्छ। हामीसंग भएका हाम्रा मुठी जत्रा दुइटा मृगौलाले सिर्फ दुई लिटर पिसाब बनाउनका लागि हरेक दिन २०० (दुईसय) लिटर रगतको प्रशोधन गर्नुपर्छ। मृगौलालाई नियमित रुपमा चालु राख्न एक निश्चित चापमा रगतको निरन्तर प्रवाह आवश्यक हुन्छ। रगतको वा चापको अति न्यूनता भयो भने मृगौला अकस्मात फेल हुनसक्छ। र, अति नै उच्च रगत वा चाप भयो भने पनि त्यसले मृगौलाको दीर्घरोग वा स्थायी सिकायत गराउनसक्छ।
उच्च रक्तचापका खराब पक्षहरु
स्वस्थ मृगौलाले मुटुसंगै उच्च रक्तचाप नियन्त्रणमा काम गर्छन। कुनै पनि समय यदि हाम्रो रक्तचाप तल झर्‍यो भने मृगौलाले रेनिन (renin) नाम गरेको एउटा रसायन उत्पादन गर्छ र त्यसलाई रगतमा पठाउछ। रेनिनले अर्को एउटा एन्जियोटेन्सिन (angiotensin) नाम गरेको रसायन उत्पादन गर्न कलेजोलाई सूचना दिन्छ जसले रक्तकोसिका हरुलाई खुम्चिएर रक्तचाप बढाउन अह्राउदछ। यो रेनिन–एन्जियोटेन्सिन–प्रणाली (RAS) हाम्रो मुटु र मृगौलामा चलिरहेको हुन्छ। यो RAS अतिधेरै सक्रिय भयो भने हाम्रो मृगौलामा समस्या देखापर्छ। कोसिकाहरु कि त अति चाडो कि अति ढिलो बढ्न थाल्छन, पोल्न थाल्छ, धमनी कडाहुन थाल्छ र रगत जम्न सुरु गर्छ।
नेपालका सन्दर्भमा भन्ने हो भने उच्च रक्तचाप आम समस्या हो र जसले मुटु तथा मृगौला दुवैलाई क्षति पुर्‍याउन सक्छ। उच्च रक्तचापले हाम्रा रक्त नलिकाहरुमा साना साना दरार ल्याइदिन्छ। चिरिएका ती धर्काका दागहरुले रक्त नलिकाको पर्खाललाई कडा बनाइदिन्छन्। यसो भएपछि ती बिग्रिएका नलिकाहरुबाट रगत पम्प (प्रवाह) गर्न मुटुलाई बढी खट्नुपर्ने हुन्छ। साथसाथै बिग्रिएका नलिकाहरुबाट अरु अ¨हरुलाई पुग्नेगरी रगत प्रवाह नहुन पनि सक्छ जसले गर्दा मुटु र कृगौला दुवै फेल हुने खतरा बढ्छ।
मुटु र मृगौला समस्याका रगत सम्बन्धी अन्य जोखिमहरु
१. मधुमेह,
२. रगतमा उच्च कोलेष्टरल– एउटा लस्सायुक्त बोसो जसले धमनीलाई थुन्छ र रगत ढिक्का पार्छ अनि मुटु र मृगौलामा क्षति पुग्छ,
३. जलन– अन्य कारणबाट इन्फेक्सन हुंदा वा घाइते हुंदा पनि हाम्रो शरीर सुनिन्छ त्यसले रक्त नलिकाहरुमा नोक्सान पुर्‍याउंछ,
४. रक्त नलिकामा क्याल्सियम जम्नु– हाम्रो रगतमा जब मृगौलाले क्याल्सियम र फस्फरसको सन्तुलित प्रवाह गर्न सक्तैन त्यतिबेला क्याल्सियमको ढुङ्गा जस्तो स्फटिक बन्न पुग्छ,
मानव शरीर अति नै जटिल छ, र अहिले पनि चिकित्सकहरु मानिसको मृगौला र मुटुले किन एक अर्कालाई यसरी असर गर्छन् भनेर गहिरो अध्ययनमा जुटेका छन्।
हामी के गर्न सक्छौं?
हाम्रो मुटु र मृगौलालाई स्वस्थ राख्न जति सकिन्छ हामीले शारीरिक काम गर्नुपर्छ। हाम्रो शरीरको भित्री सन्तुलन कायम राख्न पनि आफूले जे सकिन्छ त्यो काम आफैं गरेको राम्रो हो।
मृगौलाको मुख्य कार्य भनेको नै हाम्रो शरीर भित्रको वातावरणलाई एकनास राख्न मद्दत गर्नु हो। मृगौला त संवेदन यन्त्र ( कभलकयचक) जस्तो हुन्छ। कुनै पनि बेला रगगतमा पानीको मात्रा कमबेसी भएको, नुन वा अरु रसायनहरु सन्तुलनमा भए नभएको बारे मृगौलाले सूचित गर्छ। र, स्वस्थ मृगौलाले त यी कुराको पूर्ण सन्तुलनको प्रत्याभूत नै गर्छ। जब मृगौलाले काम गर्न छोड्छ हाम्रो शरीरको यो प्रणाली पनि काम गर्न नसक्ने हुन्छ। हामीलाई कारण थाह नहुन सक्छ कि किन हाम्रो मुटुलाई यसले असर गर्‍यो? भनेर, तर हामी यो कुरा चैं थाह पाउंछौ कि मुटुमा असर परेको छ। हामीले गर्नसक्ने केही कुराहरु तल सुझाइएको छ।
केही सुझावहरु
१. मधुमेह नियन्त्रण गरौं– मधुमेहका औषधीहरुले मधुमेह नियन्त्रण गर्न सकिन्छ। नियन्त्रित मधुमेहबाट मुटु र मृगौला बचाउन सकिन्छ।
२. रक्तचाप नियन्त्रण गरौं– रक्तचापका दवाई, खाना र व्यायामबाट रक्त नलिका भित्रको तनाव वा रक्तचाप नियन्त्रण गर्न सकिन्छ। यसले हाम्रो मुटु र मृगौला स्वस्थ राख्न मद्दत पुग्छ। उच्च रक्तचापका विमारीहरुले कम नुन भएको खाना खाएमा, चिकित्सकले भनेको रक्तचाप कायम राख्न सघाउ पुग्छ।
३. मृगौलाको छान्ने दर (glomerular filtration rate-GFR) बारे समय समयमा जानकारी लिऔं– हाम्रो मृगौलाले कस्तो काम गर्दैछ भन्ने कुरा अनुमान गर्न हाम्रो उमेर, लिङ्ग, वर्ण र रगतमा बग्ने क्रिएटिनका आधारमा निकालिने जिएफआर हेर्दै गर्नुपर्छ। जीएफआरले मृगौलाको दीर्घरोगको ५ अवस्थामध्ये कुन अवस्थामा छ भनेर पत्ता लगाउंछ। र, समय मै यस्तो कुरा थाह पाइयो भने आफ्ना मृगौला र मुटु दुवै जोगाउने उपचार गर्न सकिन्छ। धेरै केसहरुमा सुरुवाती अवस्थामा नै मृगौला रोग पत्ता लाग्यो भने मृगौला फेल हुनबाट बचाउन वा रोकथाम गर्न सकिन्छ।
४. फस्फरसलाई नियन्त्रणमा राखौं– यदि हामीलाई मृगौला रोग छ भने चिकित्सकले पक्कै पनि कुनै औषधी खाना वा खाजासंग खानु भनेर दिएको हुनसक्छ। यस्ता औषधीले चुम्बकले फलाम टांसे जस्तै फस्फरसमा टांसिएर हाम्रो शरीरबाट फस्फरस बाहिर निकाल्छन् जस्ले गर्दा शरीरमा क्याल्सियम र फस्फरसको सन्तुलन कायम हुन जान्छ। किनभने फस्फरस बढी भयो भने शरीर भित्रका कमजोर रक्त नलिकाहरुमा क्याल्सियम जम्न थाल्छ। कवच लिएर यसता कुराबाट बच्न सकिन्छ।
५. रक्तअल्पता जचाऔं मुटु र मृगौला बचाऔं
अधिकांश मानिसहरु जसलाई मृगौलाको अलिकति पनि समस्या हुन्छ उनीहरुमा, रगतको सामान्य जांचबाट नै थाह पाउन सकिने, रक्तअल्पता भएको पाइएको छ। रक्तअल्पताका सामान्य लक्षणहरु यस्ता हुनेगर्छन्ः थकाई लाग्नु, कमजोरी महसुस गर्नु, जुनसुकै बेला जाडोलाग्नु, अनुहार, ओठ र नङ्गहरु फुङ्ग उडेको देखिनु आदि। यी लक्षणहरु हामीलाई महसुस नै नहुनेगरी एकदमै ढिलो देखापर्छन्। यदि हामीमा रक्तअल्पता छ र उपचार तुरुन्तै गरायौं भने त्यसले मुटु र मृगौला दुवैलाई तागत दिन्छ।