Monday, July 9, 2012

लिखित सहमति भए पूर्वराजाले देखाउन् : महामन्त्री सिटौला - nagariknews

काठमाडौं असार २५ (नागरिक)- पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्तिको चर्को आलोचना गर्दै नेपाली कंग्रेसका महा मन्त्री कृष्णप्रसाद सिटौलाले उनलाई दिइएको सुविधा खोस्नुपर्ने बताएका छन्। 'पूर्व राजाले विगतमा संवैधानिक राजसंस्था कायमै राखेर २०४७ सालकै संविधानबसेर अघि बढ्ने लिखित सम्झौता भएको अभिव्यक्ति झूट हो।
सम्झौता भएको छैन, भएको छ भने देखाउन चुनौती दिन्छु,' उनले भने, 'नभएको सहमति छ भन्दै सफेद झूट बोल्दै हिंड्नु पूर्व राष्ट्रप्रमुखलाई सुहाउँदैन।'

ज्ञानेन्द्र शाहले हुँदै नभएको कुरा बोल्दै हिंड्नुका पछाडि पुनः राजा बन्ने सपना लुकेको हुनसक्ने बताए। शाहको राजतन्त्र फर्काउने सपनालाई नेपाली जनताले कहिल्यै स्वीकार्न नसक्ने भन्दै प्रतिगामी प्रवृत्तिको सामना नेपाली जनता आफैले गर्ने र गतिलो जवाफ दिने बताए।

प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले दिइआएको सुविधाबारे तत्काल निर्णय गर्नुपर्ने बताए। माघ १९ ल्याउन उक्साउनेहरुले नै पूर्वराजालाई पछिल्लो अभिव्यक्ति दिदै हिंड्न उक्साइरहेको बताए। नेपालमा राजतन्त्र फर्कन नसक्ने ठोकुवा गर्दै उनले भने,'देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको छ, अब फेरि राजतन्त्र आउँछ भन्नु कोरा कल्पना मात्र हो। कसैले राजतन्त्र फर्काउँछु भन्नु मनको लड्डु घ्यूसित खानुबराबर हो।'

रिपोर्टर्स क्लबमा बोल्दै उनले दलहरुबीच सहमतिको खाका कोरिइरहेको भन्दै देश नयाँ ढंगले अघि बढ्ने बताए। 'दश दिनभित्र देशमा नयाँ राष्ट्रिय सहमति बन्छ,' सिटौलाले भने 'राष्ट्रिय सहमतिको सरकार निर्माण भई विद्यमान गतिरोध अन्त हुन्छ।'
नेपाली काँग्रेसकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने दाबी गर्दै त्यसका लागि जोडतोडका साथ छलफल चलिरहेको उनको भनाई थियो। सरकारको नेतृत्वबारे उठेको जिज्ञासामा भने,'काँग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने सहमति भएको एक घण्टाभित्र सर्वसम्मतबाट साझा उम्मेदवार दिन्छौं।' हाल चर्चामा आएका नामहरु हचुवाका भरमा ल्याइएको बताए।

चुनाव या संविधानसभा पुनःस्थापनाबाहेकको विकल्प नभएको भन्दै त्यसैलाई केन्द्रबिन्दुमा राखेर छलफल चलिरहेको खुलाए। काँग्रेस संविधानसभा पुनःस्थापनाको पक्षमा नभएको तर त्यसबारे छलफल गर्न तयार रहेको बताए। पार्टीभित्र पुनःस्थापनाबारे बहस उठेको जानकारी दिए। सहमतिका लागि विकल्पहरुबारे छलफल चलेपनि विद्यमान वाधाअड्चन फुकाउन राष्ट्रिय सहमतिको नयाँ सरकार बन्नैपर्नेमा उनको जोड थियो। वर्तमान सरकारले तोकेको समयमा चुनाव हुननसक्ने ठोकुवा गर्दै राष्ट्रिय सहमतिको नयाँ सरकारले मात्र चुनाव गर्नसक्ने बताए।