♦ कृष्ण धरावासी
पहिलो बिहे गर्दा मलाई काउकुती लागेको थियो । त्यतिवेला म २३ वर्षको मात्र थिएँ । सीताजीसँग बिहे गर्ने तय भयो । रात्रि बिहे थियो त्यो । रातभर बिहेमा मण्डपको वरिपरि बसी जग्गेमा चरु होमेर बिहे गरेको मलाई अझै पनि सम्झना छ । त्यसो त यी सबै कुरालाई मैले मेरो किताब आधा बाटोमा लेखिसकेको छु । सीताजीसँग बिहे गरेपछिका दिनको पनि अहिले याद आइरहेको छ । उहाँको साथ मेरा लागि सधैँ नै स्मृतिमा रहनेछन् । त्यसो त, कोठाभरि विभिन्न समयमा खिचिएका तस्बिर छन्, किताबका पानामा उहाँको सम्झना अझै पनि ताजै छ । मैले आधा लेखेर छाडेको किताबका पानामा पनि सीताजीको स्मृति आइरहन्छ । हिजै मात्र दोस्रो बिहे गरेँ । केही समय अगाडिसम्म यसरी बिहे गर्छु भन्ने सोचेको पनि थिइनँ । कुनै कल्पना नै थिएन । सबै एक्कासि भयो ।मञ्जुजी पनि लेखिका हो । उहाँसँग मेरो भेट भएको जम्मा दुई-तीन महिना मात्र भयो । त्यसो त उहाँको माइती पनि मेरो घरनजिकै हो । उहाँका दाजु त मेरा साथी नै पनि हुन् । उहाँका दाजु अहिले अमेरिकामा हुनुहुन्छ । अहिले म ५२ वर्षको भएँ । मेरी नयाँ जीवनसँगिनी मभन्दा जम्मा १० वर्षले कान्छी हुनुहुन्छ । यसका कारण पनि हामीमा समझदारी हुनका लागि धेरै समय खर्चनुपरेन । उहाँ पनि दुई वर्षदेखि एक्लो हुनुहुन्थ्यो । आफ्नो पहिलेको श्रीमान्सँग सम्बन्धविच्छेद गरेकाले उहाँले पनि मेरैजस्तै दुःखदायी दिन पक्कै भोग्नुपरेको थियो ।
मलाई थाहा छ, सीताजीले हामीलाई छाडेर गएपछि निकै कष्टका दिन मैले बिताउँदै आएँ । हुन त यही अवधिमा उहाँलाई नै सम्झेर मेरो पुस्तक पाण्डुलिपि तयार भएको हो । तर, अहँ त्यति सजिलो हुने रहेनछ, जीवनसाथीविना पुस्तक लेख्नका लागि । सीताजी मेरो लेखनको पहिलो पाठक हुनुहुन्थ्यो । म खाटमा अडेस लगाएर उहाँलाई मेरा लेख सुनाउने गथेर्ं, उहाँले मलाई प्रोत्साहन दिनुहुन्थ्यो । म ती दिन ब्ाारम्बार सम्झन्छु । अझै पनि वेलावेलामा सम्झन्छु । कहिलेकाहीँ त भक्कानो पनि छुट्छ । मानिस सधैँ एउटा अनवरत यात्रामा छ । मानिसले आफूलाई कहाँ लैजाने भन्ने आफैँ निर्णय हुन्छ । तर, जीवनको बीचमा यस्तो दुर्घटना पर्दो रहेछ, जसबाट मान्छेको मोड नै परिवर्तन हुँदो रहेछ । मानौँ तपाईं कतै जानका लागि एउटा गाडीमा चढ्नुभएको छ, त्यो गाडी बीचैमा बिगि्रयो । अब तपाईंले आफ्नो यात्रा पूरा गर्नका लागि अर्को गाडी चढ्नुपर्ने हुन्छ । हो, मेरो जीवनमा पनि अहिले त्यही मोड आएको हो । म यात्रारत थिएँ, कुनै पनि बिन्दुमा नपुग्दै मेरो गाडी बिगि्रयो । मैले गाडी परिवर्तन गर्ने निर्णय गरँे ।
सोखका लागि मैले यो बिहे गरेको हुँदै होइन । यो त मेरो बाध्यात्मक परिस्थिति हो । सीताजी गुमाएपछि म डिप्रेसनमा फस्दै गएँ । यस्तोसम्म अवस्था आयो कि मलाई सधैँ के गरौँ-गरौँ भन्ने लाग्यो । पहिले त झन् अफिसमा जान्थेँ, दिनभर समय बिताइन्थ्यो । दिनभर साथीभाइसँग रमाइलो गरेर टाइम पास गरिन्थ्यो । बेलुकी घर फर्केपछि सीताजीसँग रमाइलो हुन्थ्यो । एउटा सुन्दर जीवन बाँचिरहेको थिएँ । जीवन यतिसम्म रमाइलो थियो कि पाँच दशकको यो उमेरमा पनि केही गरौँ भन्ने भावनाको विकास हुन्थ्यो । केही गरौँ भन्ने जाँगर र साहित्यमा केही लेखौँ भन्ने सोचका साथ मैले जागिरबाट अवकाश प्राप्त गरेँ । त्यसपछि सीताजीको सहयोग र साथमा केके न गरौँला भन्ने सोच थियो । तर, भाग्यले मलाई साथ दिएन । सीताजीले मलाई बीचैमा छाडेर जानुभयो । अब के गरौँ भन्ने भावना सधैँ रहिरह्यो । दिनभर न त अफिसमा नै गइयो न त साथीभाइसँग कतै गएर रमाइलो मनाउने समय रह्यो । प्रत्येक दिन ममा चिन्ता थपिँदै गयो । चिन्ताले नै मलाई खान्छ कि भन्ने लाग्यो । यो मलाई मात्र अनुभव भएको होइन । मेरो परिवारलाई पनि सोही अनुभव भएको थियो । परिवारका अन्य सदस्य र मेरा नातागोता पनि चिन्तित थिए । अन्ततः हाम्रो पारिवारिक सल्लाह भयो । मैले फेरि बिहे गर्ने । उता, मञ्जुजीको परिवारमा पनि सल्लाह भयो । उहाँको परिवारको पनि साथ पाइयो । निरस निरस दुईजनाको जिन्दगी बितिरहेको थियो, त्यो भन्दा त राम्रोसँगै जिन्दगी बिताउनु राम्रो होइन र !
जोगी भएर बस्नुभन्दा त यही नै राम्रो उपाय हो भन्ने मलाई लाग्यो । म स्वभावैले भलाद्मी प्रकारको मान्छे हुँ । मलाई अबको उमेरमा आएर यौन तथा अन्य केही कुराको पनि लोभ छैन । न त कुनै सन्तान उत्पादन गर्ने चाहना नै । समाजमा एउटा मान्छे रोगी भएर बसेको भन्दा सामाजिक मान्यतालाई साथ दिँदै केही राम्रो सोच बनाउनु पक्कै पनि राम्रो हो । मलाई थाहा छ, यो मेरो दोस्रो बिहेले मलाई भावनात्मक रूपमा लेखनमा सहयोग गर्नेछ भन्ने सोचेको छु । पूर्णकालीन लेखनमा लाग्नका लागि सबै कामकाज छाडेर म फेरि पनि लेखनमा नै लाग्नेछु ।
लेखेर नै केही गरौँ भन्ने सोच मेरो छ । यसमा मलाई पक्कै पनि मेरी नयाँ जीवनसँगिनीको साथ हुनेछ भन्ने लागेको छ । यी बीचका वर्षमा मलाई जहिले पनि मेरो पहिलो पाठकको अभाव खड्किरहेको थियो । अब त्यो पूरा भएको छ । मानिसमा घाउ निको भए पनि खत त सधैँ बाँकी नै रहने रहेछ । झन् मनको घाउ त अझै गहिरो हुँदो रहेछ । मेरो बिहे पूर्णतः व्यक्तिगत विषय हो । म महिलाको भावनाको कदर गर्ने मानिस हुँ । त्यसो त मैले नै राधा पनि लेखेको हुँ । मलाई लाग्छ राधामा पनि मैले महिलामाथि अन्याय गरेको छैन । जीवनको यो मोडमा आएर समाजले मलाई महिलामाथि अन्याय गर्यो त भन्ला तर मलाई व्यक्तिगत रूपमा भने त्यस्तो लाग्दैन । रातदिन कुनै प|mेस काम गर्न मन नलाग्ने कुरा मेरो पुरानो ससुरालीलाई पनि थाहा थियो । त्यहाँबाट पनि मलाई यो कदममा सहयोग पुगेको अवश्य नै हो । हामीले सल्लाहबाट नै बिहे गरेका हौँ । कुनै सल्लाहबेगर बिहे भएको होइन । यो मेरो नितान्त निजी जीवन हो । यो कदमले मलाई र मेरो लेखनलाई पक्कै सहयोग गर्नेछ । मेरा पाठकले मलाई नराम्रो सोच्नुहुनेछ भन्ने मलाई लाग्दैन ।
-शिखर घिमिरेसँगको कुराकानीमा आधारित)