३१
असार, काठमाडौं । सोमबारदेखि शुरु हुने एकीकृत नेकपा माओवादीको विस्तारित
बैठकमा पेश हुने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय
समितिमा छलफल जारी छ । केन्द्रीय समितिले आइतबार प्रतिवेदन पारित गर्ने
नेताहरुले बताएका छन् । अध्यक्षको प्रतिवेदनमाथि केही नेताहरुले फरकमत पनि
पेश गरेका छन् । तिनै नेतामध्येका एक हुनुहुन्छ, राम कार्की । कार्कीले
निकै मेहनतसाथ प्रस्ताव तयार गर्नुभएको छ । प्रस्तावमा कम्युनिष्ट आन्दोलन,
प्रवृत्ति, पार्टीको संस्थापन पक्ष र फुटेर गएको बैद्य पक्षमाथि रोचक
ढंगले टिप्पणी गरिएको छ । कार्कीको प्रतिवेदनमा रहेका मुख्य अंश यस्ता छन् ?
· हाम्रो पार्टी एनेकपा माओवादीको
संस्थागत जीवनलाई अन्ततः समाप्त पारिएको छ । त्यसको सट्टा नाम कहिलिएका
नेताहरुको निजी नामका पछाडि कार्यकर्ताहरुलाई लामबद्ध हुने फर्मान जारी
गरिएको छ ।
· हाम्रा शीर्षस्थ नेताहरु आआफ्ना गुटलाई ठूलो र शक्तिशाली बनाउने प्रतिष्पर्धामा बेस्सरी जुटेका छन् ।
· माक्र्सवादसम्मत नेतृत्व प्रणालीलाई
पाखा लगाएर हाम्रा अधिकाँश नेताहरु देवत्वकरणको यज्ञमा सामेल भए ।
नेताहरुप्रतिको सम्मान र भरोसा अब देवभक्तिमा फेरियो र भक्तिमा गणेश,
हनुमान आदिलाई मात दिने प्रतिष्पर्धा शुरु भयो ।
· संगठनको मुख्य रुप फौज, संघर्षको मुख्य
रुप युद्ध भन्ने मान्यतालाई कार्यकर्ताका दिमागमा जस्ताको तस्तै राखेर
नेताहरु शान्ति र संविधानको नारा लगाउँदै देशी विदेशी प्रतिकृयावादी
शक्तिहरुसँगको लुकामारी खेलमा सम्पूर्ण रुपले सामेल भए ।
· एकताको मूख्य आधार पारदर्शिता हुने
भएकाले आर्थिक हिसाब खुलस्त पेश गरेर एकता हासिल गर्नु पनि त्यत्तिकै जरुरी
कार्य हो । आफ्नो निजी शान, प्रतिष्ठा र ताकतको मादक कुइरीमण्डलमा
रमिरहेका नेताहरुले महाधिवेशनलाई सत्यनारायण पूजा वा ककटेल पार्टी जस्तो
गरे पनि हुने, नगर्दा पनि केही नबिग्रने आयोजना ठानेर पन्छाउँदै आउन सफल
भएका छन् ।
· परिवर्तित स्थितिमा सुरक्षा नीति
अवलम्बन नगर्नुको परिणाम सेनाको सम्मानजनक संयोजन न पुरानो सेनामा हुने
छाँट देखिन्छ, न समाजमा नै । यी सबैका निम्ति सचेत र गम्भीर बनेर प्रयत्न
गर्नुको सट्टा हाम्रा एकजना बरिष्ठ उपाध्यक्षले अध्यक्षलाई कथित
स्टेटस्म्यानबाट राजीनामा दिएर आफ्नो वर्गको नेता बनिदिने आग्रहमा नै तीन
चारवर्ष बिताउनुभयो । अनि अन्य उपाध्यक्षहरुले भने देवतालाई दाहिने पारिेर
दुनो सोझ्याउने होडमै रमे, रमाएको देखिन्छ । खुल्ला परिस्थितिको खुल्ला
हावा लागेर होला मुख्य देवताको अभिरुची भने आफ्ना पुराना पुजारी
पण्डितहरुले चढाउने धूप, दीपभन्दा नैवेद्यतिर एकोरिएको छ भन्ने चर्चा
छ्यासछ्यास्ती सुन्न पाइन्छ ।
· पाँचौ महाधिवेशन जहाँ मोहनविक्रम
सिंहलाई कारवाही गरेर नेतृत्वबाट हटाउने सफलता त कमरेड किरण, प्रचण्ड,
सीपी, बादललगायत नेताहरूलाई प्राप्त भयो तर वैकल्पिक राजनीतिक, वैचारिक
कार्यदिशा, कार्यक्रम, नारा आदि तय गर्ने मेसो र जागर भएन । त्यसैले
अधिकांश राजनीतिक दस्तावेजहरू मोहनविक्रमले नै तयार पारेको बोकेर,
मोहनविक्रमलाई पछारियो भन्दै विजयदम्भका साथ उहाँहरू महाधिवेशन हलबाट
बाहिरिनु भयो । त्यसैले खुल्ला र स्पष्ट वैचारिक, राजनीतिक संघर्षभन्दा
बुद्धिचाल र बाघचालद्वारा विरोधीलाई मात दिने र आफू श्रेष्ठ भएको दावा
गर्ने प्रवृत्ति यो धारको राजनीतिक संस्कृति बन्न गयो । जनवाद होइन
केन्द्रीयता, स्वतन्त्रता होइन आवश्यकता, कर्तव्य, सेवा र त्याग होइन,
अधिकार र प्राधिकारबाट सोच्न सुरु गर्ने यो राजनीतिक संस्कृतिले सत्ता र
शक्तिलाई मात्रै एकतर्फी महत्व दिने काम गर्दछ ।
· प्राप्त नभएको सत्ता, नबनेको संगठनआदिको
विलोपीकरण हास्यास्पद बन्यो र बनिरहेको छ । वितेका वर्षहरूमा प्रचण्डलाई
रिझाएर किरण-प्रचण्डद्वारा निर्मित संगठनमार्फत आफ्नो राजनीति छिराउने यो
असम्भव खेल धेरैपटक दोहोर्याइयो । सरकारमा पुग्न सफल भएपछि हाम्रा नेताको
अगाडि मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्म फैलिएको अजङ्गको
कर्मचारीतन्त्र देखापर्यो । अनि त के थियो र ? बुद्धि र ज्ञान आफ्नै
टाउकोमा अटाई नअटाई भएकै थियो । त्यसलाई लागू गर्ने संयन्त्र
कर्मचारीतन्त्र फेला परिहाल्यो । हो यही सोचले हो यो सिर्जनशील धार पनि
लैनो होइन, बाँझो र थारो रहेछ भन्ने कुरा उद्घाटित हुँदै गएको छ ।
· चुनवाङको दस्तावेज र समग्र निर्णय
हाम्रो पार्टीभित्र हावी जडसुत्रवादी चिन्तन र त्यसले डोर्याउने बाटोसँगको
विच्छेदको विन्दु थियो । यसलाई माक्र्सवादसँगकै सम्बन्धविच्छेद गराउने
विन्दुको रूपमा अथ्र्याएर आन्दोलनलाई भडुवा विकासवादतिर विसर्जन गर्ने
दुस्प्रयासका विरुद्ध सचेत रहँदै चुनवाङका निर्णयहरूलाई लिन सकियो
भनेमात्रै त्यो माक्र्सवादसम्मत हुन्छ ।
· चटगाउँको जंगलमा मच्छडले टोक्दा चीनका
कम्युनिष्टहरूले मच्छड विरुद्ध के नीति बनाएका रहेछन् भनेर रातो किताव
पल्टाउनेखाले माओवादी दृष्टिकोणले क्रान्तिलाई निरन्तरता दिन नसक्ने कुरा
जति साँचो हो, विभिन्न सूचनाहरू थुपारेर क्रान्तिको सम्भावनालाई
अनन्तकालसम्म घचेट्ने निष्कर्ष त्यति नै झुटो हो । यस्तो ‘यथार्थवादी’
निष्कर्षले क्रान्तिकारी आशावादीतालाई सम्पूर्ण रूपले सिध्याईदिन्छ । आशाको
मृत्यु भएपछि क्रान्तिकारी पार्टी क्रान्तिकारी रहिरहँदैन । परिणाम
क्रान्ति केवल थेगो बन्न जान्छ । उत्तर-आधुनिकतावादीहरूको भाषामा पाठमा
सीमित बन्न पुग्छ क्रान्ति ।
· दिगो शान्ति, प्रजातन्त्रको सम्वर्धन र
स्वाधिन अर्थतन्त्रको निर्माणका निम्ति सहयोग गर्न विदेशीहरू व्यग्र छन्
भन्ने कुरा अन्य शिविरबाट त सुन्दै आइएको थियो अब हाम्रो ‘क्रान्तिकारी’
शिविरबाट पनि त्यो व्यग्रताप्रतिको आशक्ति देखिन थालेको छ । भेडाको रखवारी
व्याँसाहरूले गर्नेछन् भन्ने हाम्रा नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ
नेपाल आमालाई मौलोमा बाँधिएको छ । हाम्रा ‘मित्र’ राष्ट्रहरू शान्ति, मानव
अधिकार, प्रजातन्त्र आदिद्वारा पर्सिने काम गरिरहेका छन् । अनि हाम्रा
कतिपय नेताहरू ताली पिटीरहेका छन् । नेपालको यथार्थ स्थिति यस्तै बनिरहेको छ
भन्ने हाम्रो ठम्याई हो ।
· हाम्रो देशलाई प्रभावित पार्दै आएका
विदेशी सरकारहरूले आजको दिनमा नेपालमा स्थिरता, प्रजातन्त्र, शान्ति,
सुशासन, समृद्धि, स्वाधिनता, सुदृढ भएको चाहन्छन् भनेर कसैले मान्दछ भने
त्यो या त पटमूर्ख हो या बेइमान । सबभन्दा पहिलो कुरा त त्यस्तो मान्यता
राख्ने व्यक्तिको देशभक्तिप्रति नै प्रश्न उपस्थित हुन्छ । अहिले यतिमात्र
भनौं नेपाली जनतासँगै हामी पनि हाम्रा नेताहरूलाई पटक्क पटमूर्ख मान्न तयार
छैनौं । अर्कातिर हाम्रा केही कराँतिला क्रान्तिकारी कामरेडहरू माओलाई
घडी, क्यामराआदिको विज्ञापनमा सीमित पारेर उनका योगदानहरूलाई अभिसाप ठान्ने
‘समाजवादीहरू’बाट नेपालमा माओवादी क्रान्ति सम्पन्न गर्न सहयोग प्राप्त
हुने लˆफाजी वघारिरहेका छन् ।
· आगामी चुनावमा पार्टीलाई लगेर
हेलिदिएपछि सब ठीक हुन्छ भन्ने संस्थापन पक्षले पनि संघर्ष भनेको शसस्त्र
संघर्ष नै बुझिरहेको छ । त्यसैले त शसस्त्र संघर्षको आवधिक परित्यागलाई
संघर्षकै परित्याग ठानेर यो खेमा संसदीय अभ्यासमा अभ्यस्त हुन थालेको छ ।
हामी भने रक्तपातपूर्ण संघर्ष र शान्तिपूर्ण संघर्षलाई परिस्थिति अनुसार
फेरी फेरी अपनाउनु पर्ने ठान्दछौ । संघर्ष भन सतत् संचालन गरिरहनु पर्दछ
भन्ने हाम्रो सिद्दान्त नै हो ।
तिक्तता बढ्न नदिएर विभिन्न गुट, उपगुटमा
छरिएका कमरेडहरूबीच सम्वादको थालनी पहिलो कर्तव्य बन्न गएको छ । परिवर्तित
सन्दर्भमा विचारको विकास गर्नु हाम्रो महत्वपूर्ण कार्यभार हो ।
कि. प्रचण्ड, क. किरण, क. बाबुराम आदिले
आ-आफ्नो लाइन भनेर समातेको कुरा आम कार्यदिशा होइन । केवल अंश समातेर
उहाँहरू गुटको निर्माणमा जुट्नु भएको छ । त्यसैले आम कार्यदिशाको निर्माण
हाम्रो दोस्रो चुनौती हो ।
इितिहासको समीक्षा अत्यन्त आवश्यक भएकाले
त्यसको निम्ति तीनै समूहभित्र रहेका र त्यहाँ नअटाएका कमरेडहरूसमेत मिलेर
महाधिवेशनका निम्ति प्रयास थाल्नु पर्दछ ।
विकृति, विसंगति, अपसंस्कृति, भ्रष्टाचार
आदि मुद्दाहरूमा अभियान चलाएर हामी पश्चादगामी र यथास्थितिवादीहरू विरुद्ध
जनमत सृष्टि गर्न सक्थ्यौं । दुर्भाग्य हाम्रै कतिपय नेताहरू त्यस्तो
कम्युनिष्ट विरोधी विचार/आचारको शिकार बनेकाले हाम्रो स्थिति
प्रतिरक्षात्मक बन्न गएको छ । अब हामीले हामीसँग रहेका इमान्दार र
सच्चरित्र कमरेडहरूलाई एक ठाँउ केन्दि्रत गरेर पार्टीभित्र र बाहिरका समाज,
राष्ट्र र उत्पीडित जनताका विरोधीहरूको भण्डाफोर अभियान संगठित गर्नु
पर्दछ ।
भि्रष्टाचार क्यान्सर बनेर सर्वव्यापी
बन्दै गएको छ । इमान्दार र सच्चरित्र व्यक्तिहरू सम्मिलित बलबाट नै त्यसलाई
पराजित गर्न सक्ने रेडियम तयार हुन सक्छ । त्यो तयारीमा अविलम्ब जुट्नु
पर्दछ ।
मिहिला, किसान, मजदुर, विद्यार्थी,
सुकुम्वासी, साना व्यापारी, तल्ला तहका कर्मचारीहरूको हितलाई पक्षपोषण
गर्ने कार्यक्रमहरूको तयारीमा जुट्नु पर्दछ ।
जिनमुक्ति सेना शिविरमा रहुञ्जेल हामीले
चलाउने शान्तिपूर्ण संघर्ष शसस्त्र प्रतिरक्षासहितको आन्दोलन हुने गर्दथ्यो
। आज त्यो स्थिति रहेन । तथापि हामी शहरमा निशस्त्र, तर छापामार चरित्रका
आन्दोलनहरू संगठित गर्न सक्छौं । अर्कातिर गाउँमा भने जुझारु संघर्ष आवश्यक
र सम्भव भएकाले त्यसै अनुसार हाम्रा कार्यक्रमहरू बनाइनु पर्दछ ।
आन्तरिक राष्ट्रियताको मुद्दालाई हाम्रा
नेताहरूले बेस्सरी गिजोलिदिनाले अन्यौलपूर्ण वर्तमान र खतरनाक भविष्य
दृष्टिगोचर हुन थालेको छ । सर्वहारा वर्गको नेतृत्वमा उत्पीडित जाति,
राष्ट्रियताहरूको मुक्तिको संघर्षलाई अगाडि बढाउनु पर्दछ ।
बढ्दो परनिर्भरता र त्यही स्तरमा
विदेशीहरूको अवाञ्छित चलखेल हस्तक्षेपमा फेरिदैछ । यो स्थितिमा राष्ट्रिय
स्वाधिनताप्रति सिंगो मुलुकलाई जगाउँदै आत्मनिर्भर अर्थतन्त्रको विकासमा
अघि बढ्ने राजनैतिक आर्थिक कार्यभारहरू तय गर्ने, त्यसलाई दृढतापूर्वक
कार्यान्वयन गर्ने काममा जुट्नु पर्दछ ।