Wednesday, June 25, 2014

‘बार्इ’ ‘होल्ड’ र ‘सेल’ समयमा गरे नाफा हुन्छ, विश्लेषक जीवन बस्नेतको अन्तर्वार्ता - bizmandu



किन्दा आधारभुत पक्ष हेरेर किन्ने, कुन कम्पनीको सेयर मूल्य तीन हजार बढि जाने सम्भावना छ ती किनेर छोड्दा बजार बढ्दा कम्पनीको मूल्य बढ्दै जान्छ । बजारमा तीन कुराले काम गर्छ, एउटा ‘बाइ एट अ राइट टाइम’, ‘होल्ड फर सब्ट्यान्सियल पिरियड’ र ‘सेल एट अ राइट टाइम’ । यति अनुशरण गर्न सके पूँजी बजारबाट कमाउन सकिन्छ
---
जारले निश्चित अवधिमा आफ्नो बुलिश र बियरिश चक्रहरु पूरा गर्छ, मात्र यति हो कि यो पटक यो चक्रमा बुल हिट बैंकिङ क्षेत्रमा भएको छैन । बुल हिटको प्यार्टन फरक फरक सेक्टरमा पर्न सक्ला तर समग्र सूचकको बुलिश र वियरिश प्रवृत्तिमा फरक पर्दैन । बजार बुलिश हुँदा बजारले सधै नयाँ रेकर्ड बनाउने भएकोले थप माथि जान्छ
---
एनएलआइसीकै सेयर मूल्य पाँच हजार सात सय रुपैयाँ हुँदा कम्पनीको मूल्य आम्दानी अनुपात एक सय ३२ थियो । अहिले कम्पनीको सेयर मूल्य तीन हजार पाँचसयको हाराहारीमा छ भने यस्तो अनुपात ७० माथि नै छ । त्यसकारण तुलनात्मक रुपमा हेर्दा केही राम्रा बैंक अण्डरभ्यालु भएको मान्न सकिन्छ । तर जब बजारमा ‘डस्ट सेटल’ हुन्छ तब भने धेरै कम्पनी अण्डर भ्यालु हुन्छ
---
सेयर बजार बुलिस ट्रेण्डमा छ । नेप्से परिसूचक नौं सय २० भन्दा माथि छ, केही कम्पनीको सेयर मुल्य ओभर भ्यालुड भयो पनि भनिन्छ । लगानीकर्ताहरु थप सेयर किन्ने वा अब बेच्ने दोधारमा पनि छन् । बजारलाई निकै लामो समयदेखि सुक्ष्म रुपमा हेरिरहेका प्राविधिक र सैद्धान्तिक पक्षलाई समेत केलाउने विश्लेषक तथा लगानीकर्ता जीवन बस्नेतलाई बिजमाण्डू संवाददाता विजयराज खनालले सोधे, दीर्घकालिन लगानी गर्ने कम्पनी कसरी छान्ने ?

नेप्से परिसूचक अहिले नौं सय अकंभन्दा माथि छ, बजार बढेको पनि छ । तर लगानीकर्तालाई यतिबेला सेयर बेच्ने वा किन्ने कुन समय हो भनेर छुट्याउयन कठिन भइरहेको छ । तपाँईको सुझाव के हो ?
अहिले बेच्ने बेला होइन र किन्ने पनि होइन, होल्ड गर्ने समय हो । नेप्सेको रेखाचित्र हेर्ने हो भने अहिलेसम्म बनाएको रेखा आधिकारिक भयो, त्यसपछि भनेको भविष्य हो, जुन आधिकारिक होइन । हामी सबैले भन्छौ नि, बजार यहाँ पुग्छ वा त्यहाँ पुग्छ, त्यो भनेको गेसवर्क हो । उपलब्ध पुराना तथ्यांकको आधारमा नै गेस गरिएको हुन्छ र त्यो मोटामोटी मिल्छ पनि । जहाँसम्म तपाईको प्रश्न छ, हाम्रो बजार माथि जाने छ, किन्नको निम्ति राम्रा कम्पनीको सेयर निकै महंगो भइसकेको छ । त्यसैले भएको सेयर होल्ड गर्ने हो । तर बजार माथि जान्छ भने किन्न त भयो नि । किन्ने ठाउ पनि छ, जस्तो कि मध्यम किसिमका बैंकहरु जसको मूल्य हजार रुपैयाँभन्दा कम छ । यी कम्पनीहरुमा धेरै पूँजी पनि लगाउनु पर्दैन, तर यी कम्पनीमा नाफाको दर कम हुन्छ ।
अब यहाँ पनि सोच्नु पर्ने के छ भने मूल्य उच्च भइसकेका कम्पनीहरु नागरिक लगानी कोषलगायतको खरिद गर्ने हो भने त्यति नाफा लिन्छु भन्नु पनि काल्पिनिक हुन सक्छ । हामी भने अहिलेको समयमा बजारमा पस्दैनौं । बजारमा पसेर कम्तिमा पाँच गुणा आम्दानी हुने अवस्था छैन भने हामी इच्छुक हुँदैनौं । हामी न्युनतम बिन्दुमा नै बजारमा प्रवेश गरेका हौं । अब केही समय होल्ड गर्छाै ।

अहिले बजारमा कुनै अण्डर भ्यालु भएका कम्पनी छैन त लगानी गर्नको लागि ?
प्राविधिक विश्लेषण गर्दा चिलिमे जलविद्युत कम्पनीको सेयरको भ्यालु वास्तवमा एक हजार एक सय छ । अहिले कम्पनीको सेयर मूल्य दुई हजार दुई सय रुपैयाँ भन्दा बढी छ । अहिले कम्पनीको सेयर ओभर भ्यालु छ । तर विगतमा धेरै लामो समयसम्म यही कम्पनीको सेयर मूल्य आठ सयमा रह्यो । त्यतिखेर पनि चिलिमेको वास्तविक भ्यालु नौं सय थियो, त्यो अण्डर भ्यालु थियो । एभरेष्ट बैंक कै उदाहरण हेर्ने हो भने, दुई हजार माथि छ । तर कुनै बेला आठ सय नौं सय थियो । त्यतिखेर बैंक अण्डर भ्यालु थियो, अहिले मूल्य ओभर भ्यालु भइसकेको छ । अहिले कुनै पनि कम्पनी अण्डर भ्यालु भएका छैनन् ।

तर अहिलेसम्म पनि कतिपय कम्पनी अझै अण्डर भ्यालु भएका छन भन्ने विश्लेषण आउने गरेको छ त ?
अहिले केहीले नेपाल बैंक, प्राइम कमर्सियल बैंक लगायतलाई अण्डर भ्यालु भयो भनेका छन् । तर त्यसो होइन । अहिले कुनै पनि कम्पनीको सेयर मूल्य अण्डर भ्यालु भएको मलाई लाग्दैन, तर के हो भने बैंकहरुको सेयरको मूल्य आम्दानी अनुपात २२ देखि २५ रहेको छ । अन्य कम्पनीहरु जस्तो एनएलआइसीकै सेयर मूल्य पाँच हजार सात सय रुपैयाँ हुँदा कम्पनीको मूल्य आम्दानी अनुपात एक सय ३२ थियो । अहिले कम्पनीको सेयर मूल्य तीन हजार पाँचसयको हाराहारीमा छ भने यस्तो अनुपात ७० माथि नै छ । त्यसकारण तुलनात्मक रुपमा हेर्दा केही राम्रा बैंक अण्डरभ्यालु भएको मान्न सकिन्छ । तर जब बजारमा ‘डस्ट सेटल’ हुन्छ तब भने धेरै कम्पनी अण्डर भ्यालु हुन्छ ।

मूल्य आम्दानी अनुपातलाई मात्र आधार लिएर सेयर मूल्य अण्डर भ्यालु वा ओभर भ्यालु भयो भन्न मिल्छ ?
मिल्दैन । हामीहरु दुई तीन किसिमबाट हेर्छौ । जस्तो सोल्टी होटेलको मुल्यांकन गर्दा हामी एसेट बेस्ड भ्यालु (सम्पतीको आधार) लाई लिन्छौं, त्यसमा अन्य कुरा लागु हुदैन । बैंक तथा बीमा कम्पनीहरुको मुल्यांकन गर्दा पीइजी (प्राइस अर्निङ एण्ड ग्रोथ÷मूल्य आम्दानी र वृद्धि अनुपात) को आधारमा पनि हेर्छाै । यो अनुपात तीन भयो भने अति राम्रो, २.५ भयो भने राम्रो र दुई मुनि भयो भने ठिकै खालको हुन्छ ।

बजार बढेको बेला प्राविधिक विश्लेषणले काम गर्दैन भन्ने तर्क पनि छ, तपाई प्रावधिक पक्षलाई निकै जोड दिदै हुनुहुन्छ, वास्तविकता के हो ?
हामीले सेयर किन्दा सबै आधारभुत तयार पार्छाै, त्यसपछि त्यो प्राविधिक रुपमा माथि जान्छ कि जादैन भनेर हेर्छाै । यसलाई हामी दुई तरिकाबाट हेर्छाै, एउटा मार्केट डायनामिक्स अर्थात् बजार कहाँ छ भन्ने अध्ययन । अझै माथि जाने सम्भावना छ कि छैन, छ भने हाम्रो त्यहाँ सम्भावना भयो । दोस्रो त्यो क्षेत्रमा बुल हिट भएको छ कि छैन । बुल हिट हुँदा सेयर मूल्य पाँच हजार माथि पनि जाँदो रहेछ । नबिल त्यति राम्रो बैंक छ, तर सेयर मुल्य दुई हजारमा थन्किएको छ ।
नबिल र एभरेष्ट बैंकको तुलनामा बीमा कम्पनी त केही होइनन्, तर त्यो क्षेत्रमा बुल हिट भयो सेयरको मूल्य बैंकहरुको भन्दा बढ्यो । त्यसैले किन्दा आधारभुत पक्ष हेरेर किन्ने, कुन कम्पनीको सेयर मूल्य तीन हजार बढि जाने सम्भावना छ ती किनेर छोड्दा बजार बढ्दा कम्पनीको मूल्य बढ्दै जान्छ । बजारमा तीन कुराले काम गर्छ, एउटा ‘बाइ एट अ राइट टाइम’, ‘होल्ड फर सब्ट्यान्सियल पिरियड’ र ‘सेल एट अ राइट टाइम’ । यति अनुशरण गर्न सक्यो भने पूँजी बजारबाट कमाउन सकिन्छ ।






प्राविधिक विश्लेषण गर्दा चिलिमे जलविद्युत कम्पनीको सेयरको भ्यालु वास्तवमा एक हजार एक सय छ । अहिले कम्पनीको सेयर मूल्य दुई हजार दुई सय रुपैयाँ भन्दा बढी छ । अहिले कम्पनीको सेयर ओभर भ्यालु छ । तर विगतमा धेरै लामो समयसम्म यही कम्पनीको सेयर मूल्य आठ सयमा रह्यो । त्यतिखेर पनि चिलिमेको वास्तविक भ्यालु नौं सय थियो, त्यो अण्डर भ्यालु थियो । एभरेष्ट बैंक कै उदाहरण हेर्ने हो भने, दुई हजार माथि छ । तर कुनै बेला आठ सय नौं सय थियो । त्यतिखेर बैंक अण्डर भ्यालु थियो, अहिले मूल्य ओभर भ्यालु भइसकेको छ । अहिले कुनै पनि कम्पनी अण्डर भ्यालु भएका छैनन्
---




यस्तो अध्ययन त केही लगानीकर्ताले मात्रै गर्लान जो सँग प्राविधिक र सैद्धान्तिक ज्ञान छ । यस्ता ज्ञान नहुने सर्वसाधारण लगानी कर्ताले ‘बुल हिट’ कुन समूहमा हुन्छ भनेर कसरी हेर्न सक्छन ?
हेर्नुस्, सेयर बजारमा कतिपय प्रश्न अनुत्तरित छ । यो पनि त्यस्तै किसिमको प्रश्न हो । अमेरिकामै हेर्नु भयो भने त्यहाँ ११ किसिमका समूह छन्, अहिले त्यहाँ हेल्थ केयर सेक्टरमा छ । पहिलेको सम्रग बुलमा यो क्षेत्रमा थिएन तर अहिले त्यसमा देखियो । अब नेपालको सन्दर्भमा के भन्न सकिन्छ भने बजार बढ्नु पनि छ, अरु सेक्टरमा बुल हिट भइसक्यो, ती क्षेत्रभन्दा राम्रो कम्पनी बैंकिङमा छ ।
त्यसैगरि बजार पनि अब तीन सय देखि तीन सय ५० माथि जानु छ, यही कारण बैंकिङ सेक्टरमा अब हिट गर्छ भन्ने हो । तर आधार भने कुनै पनि छैन । खोज्नु हुन्छ भने त्यस्तो केही छैन । ओरियण्टल होटेल बढ्नु पर्ने कारण के छ ल भन्नुस । न त कम्पनीले ऋण तिर्छ न लाभांश दिन्छ । अब कारण के हो त सेयर मूल्य बढेको भन्दा त्यो क्षेत्रमा नै बुल हिट भएको हो । बजार घटेपछि हेर्नुस, त्यस्ता कम्पनीको अवस्था के हुनेछ । बजारले निश्चित अवधिमा आफ्नो बुलिश र बियरिश चक्रहरु पूरा गर्छ, मात्र यति हो कि यो पटक यो चक्रमा बुल हिट बैंकिङ क्षेत्रमा भएको छैन । बुल हिटको प्यार्टन फरक फरक सेक्टरमा पर्न सक्ला तर समग्र सूचकको बुलिश र वियरिश प्रवृत्तिमा फरक पर्दैन । बजार बुलिश हुँदा बजारले सधै नयाँ रेकर्ड बनाउने भएकोले थप माथि जान्छ ।

हामीले प्राविधिक पक्षबाट बजारलाई हेर्यौं, के आधारभुत पक्ष हेर्न आवश्यक छैन् ?
अहँ, अहिले हामीले बजारलाई आधारभुत पक्षबाट हेर्नुपर्ने समय सकिसकेको छ । अब फेरी बुल फर्किएर बजार तल आउँछ र डस्ट क्लियर हुन्छ, तब हेर्नुपर्छ । हामीले जहिले पनि आधारभुत पक्ष हेरेर सेयर किन्नु पर्छ, हाम्रो आधारमा सेयर किन्ने समय गइसकेको छ । आधारभुत पक्ष हेरेर सेयर किन्ने, प्राविधिक पक्ष हेरेर होल्ड तथा बिक्री गर्ने गर्नुपर्छ । अहिले बजारमा आधारभुत पक्ष पुरै वेवास्ता गर्दा हुन्छ । ब्याक अफ दि माइण्डमा यो कम्पनी राम्रो भनेर अलिकति सेयर बिक्री नगरि राख्छु भन्न सकिन्छ । तर अहिले नयाँ इन्ट्रि गर्न आधारभुत पक्ष मुल्यांकन गरौं भने त्यसरी खरिद गर्नुपर्ने सेयर नै भेटिदैन ।

अहिले बैंकमा चुक्तापूँजी बढ्छ भन्ने आधारले मात्र लगानीकर्ताहरुले लगानी बढाएको देखियो । तर चुक्तापूँजी बढाउन अनिवार्य नभएको समाचार सार्वजनिक भएपछि लगानीकर्ता केही विचलित पनि देखिए, अब उनीहरुले के गर्ने ?
यो जुन हल्ला आयो र राष्ट्र बैंकले स्पष्ट पार्यो नि, यो कस्तो हो भने हामी नेपालमा छौं र यस्ता भित्रि सुचना पाउँछौ वा कुनै स्रोतबाट नियामक निकायसँग पनि केही पहुँच राख्छौं । तर अमेरिकामा लगानी गर्नुपर्यो भने कसरी गर्छौ त, यस्ता सूचना त पक्कै पाउँदैनौं । त्यसैले यस्ता हल्ला, इन्साइडर इन्फरमेसन, राजनीतिक कारण, होप (आशा), यी सबैलाई तपाईले निकाल्नु पर्छ । यस्ता पक्षलाई आइसोलेसनमा राखेर बजारको अलग्गै विश्लेषण गरेर लगानी गर्नुपर्छ । यस्तो गर्दा तपाईलाई धेरै नाफा नहोला तर मर्कामा पर्नुहुन्न । अहिलेकै स्ट्याण्डर्ड चार्टर्ड बैंककै उदाहरण हेर्ने हो भने पनि हल्लाको भरमा मूल्य बढ्दा सेयर किनेका लगानीकर्तालाई केही घाटा भयो नि ।

तर हाम्रो बजार तपाईले भनेको जस्तो मात्रै छैन, सरकारले बजेट ल्याउँदा, सानातिना राजनीतिक सहमति हँुदा तलमाथि हुन्छ ?
बजेटले सकारात्मक केही कुरा दियो भने मानौं एक सय अंक बढ्ला र अहिलेको अवस्थामा नेप्से एक हजार माथि जाला । तर हामीलाई त अहिले नै थहा छ बजार एक हजार एक सय ७५ बिन्दु वरिपरि पुग्छ भन्ने । त्यो एक सय अंकको वृद्धि त कन्जुम भइगयो नि । तत्काल देखिनका लागि त केही असर देखिएला । तपाईहरु जुन कुरा भन्नुहुनछ नि राजनितिक कारण सुध्रियो, अर्थतन्त्र सुध्रियो तर त्यो यसैमा मिसिएको हुन्छ । एउटा उदहारण हेर्नुस्, नेप्से एक हजार एक सय ७५ पुग्न २०५७ सालको दुई सय पाँच बिन्दुबाट उकालो लागेको हो नि । यो २०५७ साल देखि २०६५ सालसम्ममा के सुधार भएको थियो र ? तर बजार त माथि गयो । हामीले जतिसुकै कुरा गरौं न, यो तर्क मात्र हो । बजारको ‘बेस्ट जजमेन्ट इज मार्केट इटसेल्फ’ ।

तर अहिलेको बुलिश ट्रेण्ड सुरु हुनु अघि नेप्से तीन सय बिन्दु आसपास हुँदा माओवादी शान्ति प्रक्रियामा प्रतिवद्ध छ भनेर विश्वस्त हुने आधार बन्यो, त्यसपछि अन्य राजनीतिक कारण जस्तो संविधान सभाको निर्वाचन पनि भयो, मधेसमा ससस्त्र विद्रोह गर्नेहरु सकिए, यस्ता कारणले पनि बजार बढाउन सहयोग गरेको होइन र ?
त्यसो होइन, म तपाईलाई बुझाउन सक्छु कि सक्दिन । तर कुरा के हो भने बजारलाई समग्रमा हेर्नु पर्छ । बजारको डायनामिक्सि हेर्नुपर्छ, बजार कसरी चल्छ भन्ने हेर्नुपर्छ । बजारमा जम्मा ‘फाइभ वेभ’ हुन्छ, बजार बढ्दा वा घट्दा दुवै समय त्यही पाँच छाललाई अनुसरण गर्छ । तपाईले यसपटकको बुलिश टे«न्ड शुरु भएको बिन्दुमा हेर्नुभयो भने त्यहाँ बजार घट्ने क्रममा फाइभ बेभ पुरा गरिसकेको देख्न सक्नु हुन्छ । अहिले बढ्ने क्रममा पनि अब फोर वेभ पुरा हुँदैछ । त्यसैले यस्तो कुरा हुने भएकोले त्यो शान्ति प्रक्रिया जस्ता राजनितिक कुरालाई अलग्गै लिइरहनु परेन । हो त्यसको प्रभाव हुन्छ, तर यही वेभमा समाहित भएर आउने हो, त्यो वेभ पुरा गर्न सहयोग पुर्याएको मात्रै हो । बजार निश्चित ट्रेण्डमा बग्ने भएकोले अन्य कुरा छोडेर बजारको ट्रेण्ड न्युनतम बिन्दु हुँदा प्रवेश गर्नुस् । कस्तो समयमा बजारमा यस्तो ट्रेण्डमा असर पर्छ भने युद्धको समयमा । मुख्यतया अन्तरदेशीय वा अन्तर्राष्ट्रिय स्तरमा युद्धहुँदा त्यसमा संलग्न वा असर पर्ने राष्ट्रको बजार प्रभावित हुन्छ ।

तपाई दीर्घकालिन उद्देश्यले लगानी गर्ने व्यक्ति, तर बजारमा अल्पकालमा लगानी गर्दा पनि फाइदा हुन्छ भने किन लामो समय पर्खने भन्ने सोच पनि छ ?
अल्पकालमा थोरै पैसा बन्छ र जोखिम पनि बढि हुन्छ । मानिसको स्वभाव निकै चञ्चल हुन्छ, त्यसैले घाटामा गएमा अन्य र्खच धान्न पनि समस्या पर्न सक्छ । जहिले पनि बजारमा ठूलो पैसा बनाउन दिर्घकाललाई नै हेर्नुपर्छ ।

दीर्घकालका लागि लगानी गर्दा तपाईको बजार रणनीति के के हुन्, अरु लगानीकर्तालाई पनि भनिदिनुस ?
कुन सेयर तीन हजार पुग्छ बुल हुँदा हेर्नुपर्छ । यतिको कुरा गर्ने मान्छेले तीन हजार माथि पुगेको सबै कम्पनीको सेयर खरिद गरेको होला नि भन्ने लाग्ला । तर बजार न्युनतम बिन्दुमा हुँदा कुन कम्पनीको तीन हजार सेयर मूल्य पुग्छ भन्न सकिदैन । मेरो कोर पोर्टफोलियोमा नागरिक लगानी कोष, एभरेष्ट बैंक, चिलिमे र सगरमाथा इन्स्योरेन्स गरेर चार कम्पनी छन् । तर कोषको मात्र सेयर मूल्य तीन हजार माथि पुग्यो । एभरेष्टमा पनि पाँच गुणा बढि कमाएको छु ।
मैले लगानी गर्दा लाइफ इन्स्योरेन्स, सोल्टी होटलको सेयर किन्न खोजेको थिएँ । सस्तोमा किनेर महंगोमा बेच्ने र कुन सेयर तीन हजार क्रस गरेर जान्छ खोज्ने यी दुई रणनीति लिनुपर्छ । सेयर किन्दा आधारभुत पक्षलाई हेरेकै थिएँ, सोल्टी होटेलकै कुरामा पनि मैले बिश्लेषण गर्दा कम्पनीको भ्यालुएसन दुई सय ३४ निस्किएको थियो, त्यसमा स्पेकुलेटिभ पोर्सन १० प्रतिशत राख्दा पनि भ्यालुएसन दुई सय ६० हाराहारीमा देखियो । कम्पनीको मूल्य दुई सय ६० भएमा किन्न भने, तर मूल्य तल आएन । मैले फेरी दुई सय ७० सम्म हल्न तयार भएँ तर मूल्य तल आएन र म छुटे । अंकित मूल्य १० रहेको यो कम्पनीको सेयर मूल्य छ सय रुपैयाँ हुनु भनेको छ हजार हो । त्यसैले यो कम्पनी मेरो रोजाईमा थियो ।

त्यसो भए लगानी गल्ती कहाँ कहाँ हुन्छ ?
सबैभन्दा ठुलो कुरा के हो भने, यो एउटा विद्याको साथसाथै व्यवसाय पनि हो । व्यवसायमा गल्ति पनि गरिन्छ । अहिले नै मैले बताएँ, सोल्टीको सेयर लिंदा दुई सय ७० मा च्याँखे थाप्नु भन्दा दुई ८० हालेको भए मैले पाउँथे । त्यस्तै, बजार बुलको टपमा पुग्दा पनि कसैले बजार अझै माथि जान्छ भनेर बसिरह्यो भने बेचेर ‘एक्जिट’ लिन सकेन वा बजार न्युन्तम हुँदा पनि ‘इन्ट्रि’ गरिएन भने गल्ति हुन्छ ।

तपाईले बजारबाट कमाउँदा कतिसम्म प्रतिफल पाउनु भएको छ र गुमाउदा कतिसम्म ?
मैले बजारबाट १० गुणासम्म कमाएको छु । लस भएको छैन । मूल्य पाँच गुणा बढि नपुगेकोका लागि म त्यसलाई ‘लस’ कै रुपमा लिन्छु । तर, मोनेटरी भ्यालुको आधारमा म घाटामा छैन । एक्कुमुलेटेड आधारमा मात्र होइन, कम्पनीहरुलाई अलग अलग गर्दा पनि मैले नोक्सान व्यहोरेको छैन । स्वतन्त्र छलफल गर्न समस्या छैन । गण्डकी बिकास बैंकको सेयर मैले सुरुमा लिदा कम्पनी सात, आठ करोडको थियो तर कम्पनीमा असी करोड जति पैसा थियो ।
मैले कम्पनीको सेयर एक सय ८० रुपैयाँमा लिएको थिएँ । कम्पनीले लाभांश दिन्छ, बोनस दिन्छ, हकप्रद पनि दियो तर प्राइस ज्याक अप हुँदैन । अहिले कम्पनी ३२ करोडको भएको छ भने कम्पनीको सेयर मूल्य करिब दुई सय २० छ । मलाई मोनिटरीवाइज लस छैन । तर पाँच गुणा बढि कमाइ हुनुपर्छ भनेर सोच राख्ने भएकोले मैले लसको रुपमा लिएको छु ।

Thursday, June 19, 2014

पानी पिउनुका फाइदै फाइदा - onlinekhabar


पानी जिवनको आधार हो । पानी विना कुनैपनि जिवको अस्तित्व सम्भव छैन । हाम्रो सरीरको अधिकांस हिस्सा पानीले नै ओगटेको हुन्छ । एक वयस्क पुरुषको सरीरको कुल तौलको झण्डै ६५ प्रतिशत हिस्सा पानी भने महिलाको सरीरको तौलको ५२ प्रतिशत ।

दुब्लो पातलो मानिसको सरीरमा मोटो मानिसमा भन्दा पानीको मात्रा बढि हुन्छ । यसको मुख्य कारण के हो भने बोसोको तुलनामा मांशपेशीमा पानी संचय गर्ने क्षमता बढि हुन्छ । यसबाट पनि के पुष्टि हुन्छ भने मोटोपनाबाट ग्रसित मानिसको सरीरमा पानीको हाहाकार हुने हुनाले विभिन्न खाले रक्तविकार तथा अन्य रोगको जोखिम बढ्छ ।

दिनभर स्वास प्रस्वासमा झण्डै २-३ कप पानी खर्च हुन्छ । पसिना तथा पिसाबको रुपमा निस्कने पानीले सरीरमा रहेका हानिकारक तत्वहरुलाई बाहिर निकाल्ने काम गर्छ । सरीरमा १० प्रतिशत तरल पदार्थ कम हुने हो भने पनि डिहाइड्रेसनको खतरा उत्पन्न हुन्छ । त्यसैले मृगौलाको स्वास्थ्यका लागि समेत पानी पिइरहनु पर्दछ ।

सरीरमा पानी कम हुनाले टाउको दुख्ने, मांशपेशीमा कमजोरी उत्पन्न हुने, थकान, स्मरण शक्तिमा ह्रास जस्ता समस्या उत्पन्न हुन्छन् ।

पर्याप्त पानी पिउनाले सरीरको छाला चम्किलो हुने, अनुहार उज्यालो हुनका साथै चाउरीपन समेत कम गर्छ । विज्ञहरुका अनुसार पानी छालाको लागि प्राकृतिक पोषक हो ।

खाना खानुभन्दा ३० मिनेट पहिले २ गिलास पानी पिउनाले पाचन शक्ति बढ्दछ । बिहान उठेसँगै १ गिलास पानी पिएर मात्र अन्य भोजन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

सुत्नुभन्दा पहिले पानी पिउनु मुटुका लागि लाभदायी हुन्छ । नुहाएपछि पानी पिउने बानीले रक्तचाप कम हुने जोखिमबाट बचाउन मद्दत गर्दछ ।

पर्याप्त पानी पिउनाले सरीरबाट हानिकारक तत्वको निष्कासन सहज हुन्छ, जसका कारण पत्थरी जस्ता समस्या दूर हुन्छन् ।

भोजनलाई पचाउनका लागि पेटमा इन्जाइम तथा अम्ल समेतको उत्पादन हुन्छ । यस्तो अम्ललाई निस्कृय बनाउनका लागि पर्याप्त पानी पिउनु आवश्यक हुन्छ । यदि पानी कम पिउने हो भने त्यसले ग्यास्टि्रक, अपच जस्ता समस्या निम्ताउँछ ।

Thursday, June 5, 2014

एम्बुलेन्स व्यापार: तिम्रो बिरामी 'लैनो' कि 'बकेर्नो'? - annapurnapost



स्याङजा पकवादीका मधुमेहका रोगी ६७ वर्षीय पूर्णबहादुर रानाको खुट्टा नचल्ने भएपछि लुम्बिनी मेडिकल कलेज पाल्पाले अप्रेसन गरिदियो। मधुमेहका कारण घाउ निको भएन। थप उपचारका लागि एक महिनापछि उनी त्रिवि शिक्षण अस्पताल महाराजगन्जको इमर्जेन्सीमा भर्ना भए। त्यहाँ केही दिनपछि डिस्चार्ज गरेर ओपीडीमा बोलायो। ओपीडीले चाहिँ 'अवस्था नाजुक छ' भनेर फेरि भर्ना गरिदियो। अस्पतालको शौचालय जान लाग्दा अचेत भएर लडेपछि चिकित्सकले आईसीयूमा भर्ना गर्न रेफर गरे। तर अस्पतालले आईसीयू खाली नभएको भन्दै ब्लुक्रस लैजान सुझाए। ब्लुक्रसले ३० हजार धरौटी लिएर आईसीयूमा भर्ना गरिदियो। तर बिल भने २५ हजार लेखिएको थियो। पूर्णबहादुरका छोरा अरुणले भने, '५ हजार कमको बिल किन नि भनेर सोध्दा त्यो भेन्टिलेटरको शुल्क हो, लेख्नु पर्दैन भने। हामीले आईसीयू पायौं। पैसा तिरियो।'
अरुणलाई अस्पताल प्रशासनले धरौटीबाहेक आईसीयूको दैनिक ६ हजार, चेकअप र औषधिको छुट्टै चार्ज लाग्छ भनेका थिए। तर तेस्रो दिन भेन्टिलेटरका लागि थप ६ हजार लाग्छ भने। अरुणले दुखेसो गरे, 'पछि त दैनिक १५ हजारका दरले बिल दिए। दस दिनको एक लाख ७५ हजारजति तिरें। तर बाबा बाँचेनन्।'
धादिङ कटुञ्जेका लालबाबु सुनारलाई पत्थरी भयो। धादिङको सहिद मेमोरियल अस्पतालमा लैजाँदा अस्पतालले 'दुईवटा पत्थरी छ। यहाँ साधन छैन' भनेर फर्काएपछि राजधानीको मनमोहन मेमोरियल अस्पताल आए। त्यहाँबाट कलंकीको सिटी सेन्टर हस्पिटलमा पठाइदियो। पत्नी सुनिता सुनारले भनिन्, 'त्यहाँ आईसीयूको धरौटी २० हजार लियो। चार दिन राख्दा ७५ हजार तिरियो।'
स्याङ्जाका अरुण र धादिङकी सुनितामात्र होइन, निजी अस्पतालमा उपचार गराउन आउने जोकोहीले पनि यसरी नै धेरै पैसा खर्च गर्नुपर्छ। महँगो धरौटी तिर्न नसक्नेले उपचारै पाउँदैनन्। निजी अस्पतालहरू किन यति महँगा छन्? खोज्दै जाँदा अस्पतालले बिरामीलाई चार्ज गर्ने पैसा एम्बुलेन्स ड्राइभर र दलालसम्म पुगेको पाइयो।

लैनो कि बकेर्नो
पहिले डाँकुहरूले सुराकी लगाएर लैनो (दुधालु, धनी) कि बकेर्नो (थोरै दूध दिने, गरिब) भन्ने सोधेर सिकारलाई टाढैबाट चिन्थे रे। निजी अस्पतालहरूले पनि बाटैमा बिरामीको आर्थिक अवस्था जान्न एम्बुलेन्स ड्राइभरलाई सोध्छन्, 'बिरामी कस्तो हो?' ड्राइभरलाई फकाउँछन्, 'लिएर आउनुस्। बिरामी हेरेर ५ देखि १० हजारसम्म दिन्छौं।' बिरामी लैनो परे एम्बुलेन्स ड्राइभरलाई १० हजार, बकेर्नो परे ५ हजार। यसरी अस्पतालले बिरामीलाई कस्तो उपचार दिने भन्दा पनि उसबाट कति दुहुन सकिन्छ भनेर अग्रीम निक्र्योल गर्छन्।

अडियो १
रिसेप्सन : हेलो, लाइफकेयर हस्पिटल।
पत्रकार : म चितवनको एम्बुलेन्स ड्राइभर हो। बिरामी ल्याउँदा कस्तो व्यवस्था हुन्छ भनेर।
रिसेप्सन : लिएर आउनुस्। बिरामी हेरेर ५ देखि १० हजारसम्म दिन्छम्।
पत्रकार : सधैं त्यहाँ ल्यायो भने कस्तो हुन्छ नि?
रिसेप्सन : सधैं ल्याउन थाल्यो भने बढाइदिँदै जानुहुन्छ।
पत्रकार : क्यास दिनुहुन्छ कि?.........
रिसेप्सन : बिरामीको आफन्तले डिपोजिट नगरेको अवस्थामा एकदुई दिनपछि जान्छ। नत्र ल्याउने बेलामै दिन्छौं।
पत्रकार : राति आइपुगियो भने के गर्ने? रिसेप्सन बन्द हुन्छ होला?
रिसेप्सन : यहाँ आएर मलाई सोध्दा पनि हुन्छ। मेरो नाम जसना शाक्य। नत्र हाम्री देवश्री श्रेष्ठ दिदी हुनुहुन्छ। उहाँसँग कुरा गर्दा पनि हुन्छ।
अडियो २
देवश्री श्रेष्ठ : हेलो।
पत्रकार : दिदी नमस्कार। म ड्राइभर। नयाँ परें। कस्तो व्यवस्था हुन्छ, थाहा छैन मलाई। भर्खरै रिसेप्सनमा फोन गर्दा हजुरलाई फोन गर्न भने।
देवश्री श्रेष्ठ : केही समस्या हुँदैन। भाइ, तपाईं जानुस्। म फोन गरिदिन्छु।
पत्रकार : कति हुन्छ भन्नु न दिदी।
देवश्री श्रेष्ठ : कति बेरमा पुग्नुहुन्छ?
पत्रकार : अब हिँड्न लागेको।
देवश्री श्रेष्ठ : ५/६ घन्टा पछि?
पत्रकार : त्यस्तै। कति पाउँछु बिरामी लगें भने?
देवश्री श्रेष्ठ : तपाईं जानेबित्तिकै डिपोजिट गराउनु। पाइहाल्नुहुन्छ। पत्रकार : कति?
देवश्री श्रेष्ठ : १० हजार।
पत्रकार : सधैं बिरामी ल्याएँ भने कस्तो व्यवस्था छ?
देवश्री श्रेष्ठ : अहिले घरमा छु। बोल्न मिल्दैन के। भोलि फोन गर्छु नि।
पत्रकार : हुन्छ।
आईसीयू व्यापार
निजी अस्पतालहरूले आईसीयूको व्यापार चलाउन कर्मचारी र एजेन्ट खटाएका हुन्छन्। तिनको काम एम्बुलेन्स चालकहरूसँग लगातार सम्पर्कमा रहनु हुन्छ। राजधानीबाहिरबाट बिरामी ल्याउँदै गरेका एम्बुलेन्स चालकले पनि अस्पतालसँग कमिसनको बार्गेनिङ गरिरहेका हुन्छन्।
अडियो ३
ग्रिनसिटी हस्पिटल
रिसेप्सन : हजुर भन्‍नुस् त।
पत्रकार : चितवनबाट बिरामी ल्याउँदैछु, आईसीयूका लागि। कति दिनुहुन्छ भनेर?
रिसेप्सन : आईसीयूका लागि हो भने वन थाउजेन्ड (एक हजार) हुन्छ। बिरामी कहाँ भर्ना हुन्छ, त्यसमा भर पर्छ।
पत्रकार : जम्मा? अन्त त धेरै दिन्छन् नि।
रिसेप्सन : त्यसो भए म बुझ्छु, एक्कैछिन ल।
रिसेप्सन : बिरामी आईसीयूमै ल्याउने हो नि?
पत्रकार : हो, हो।
रिसेप्सन : त्यसो भए थ्री थाउजेन्ड पाउँछ रे। ल्याउँदा हुन्छ। क्यास नै दिन्छौं।
अडियो ४
अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल
काउन्टर : हजुर।
पत्रकार : बिरामी ल्याए कति पाउँछु भनेर।
काउन्टर : आईसीयूमा हो भने पाँच सय।
पत्रकार : अन्त त धेरै दिन्छन् नि?
काउन्टर : यहाँ त यत्ति नै हो रेट।
पत्रकार : त्यहाँ आएर कसलाई भेट्ने?
काउन्टर : यहाँ काउन्टरमा आउनुस्, भैहाल्छ।
थापाथलीको 'नर्भिक इन्टरनेसनल हस्पिटल' र त्रिपुरेश्वरको 'ब्लु क्रस हस्पिटल' ले आईसीयूमा एउटा बिरामी ल्याइदिएबापत एम्बुलेन्स चालकलाई ३/४ हजार रुपैयाँसम्म कमिसन दिन्छन्।

अडियो ५
पत्रकार : दिदी नमस्कार।
रिसेप्सन : नमस्कार।
पत्रकार : म एम्बुलेन्स ड्राइभर। त्यहाँ बिरामी ल्याउँदा के छ व्यवस्था?
रिसेप्सन : एकछिन है। म सेक्युरिटीमा दिन्छु। फेरि कल गर्न भनियो।
पत्रकार : दिदी अघि फोन गरेको थिएँ।
रिसेप्सन : ए, चितवनबाट होइन?
पत्रकार : अँ।
रिसेप्सन : त्यहाँ हाम्रो अंकित सर हुनुहुन्छ। उहाँलाई कुरा गर्दिएको छु। उहाँले फोनमा कुरा गराइदिनू भन्नुभएको छ। उहाँको नम्बर म दिन्छु तपाईंलाई। उहाँसँग कुरा गर्नु न।
पत्रकार : नम्बर दिनु न।
रिसेप्सन : ९८५१०५००८६, यो अंकित सरको नम्बर हो। उहाँलाई भन्नुस्।
पत्रकार : अंकित के दिदी?
रिसेप्सन : अंकित अग्रवाल।
पत्रकार : ल। अंकितलाई फोन गर्दा
पत्रकार : सर नमस्कार।
अंकित : नमस्कार।
पत्रकार : हजुरलाई फोन गर्न भनेर गरेको। म ड्राइभर हो।
अंकित : यातायातको हो कि अरू बिरामी?
पत्रकार : मुटुसम्बन्धी हो। रेफर गरेको।
अंकित : कहाँ रेफर गरेको?
पत्रकार : त्यहाँ ल्याउँदा केकस्तो छ हामीलाई भनेर।
अंकित : बढी त हुँदैन। मिलाएर गर्दिउँला नि।
पत्रकार : कति हो भन्ने थाहा नभई कसरी ल्याउनु?
अंकित : रोग हेर्नुपर्‍यो। पेसेन्ट भर्ना नै भएन भने के गर्ने?
पत्रकार : आईसीयूकै बिरामी हो के।
अंकित : मिलाएर गर्दिउँला नि हजुरलाई।
पत्रकार : कति दिनुहुन्छ त?
अंकित : हजुरको आस कति छ?
पत्रकार : अन्त ६/७ हजार दिँदा रैछन्।
अंकित : ६/७ हजार त हुँदैन।
पत्रकार : कति दिने भन्नु न।
अंकित : म ३/४ हजारसम्म गराइदिन्छु।
अडियो ६
रिसेप्सन : नमस्ते ब्लु क्रस हस्पिटल।
पत्रकार : नमस्ते।
रिसेप्सन : भन्नुस्।
पत्रकार : सर म चितवनबाट, एम्बुलेन्स ड्राइभर हो। एउटा बिरामी छ, आईसीयूमा लैजानुपर्ने।
रिसेप्सन : आईसीयूमा कुरा गरिसक्नुभयो र?
पत्रकार : गरेको छैन।
रिसेप्सन : तपाईं आउनुस्। बिरामी भर्ना होस्। आईसीयूमा ल्याउन ड्युटी डाक्टरसँग कुरा गर्नुपर्छ। तपाईंको सेल नम्बर दिनुस् न। पत्रकार : आइसीयू खाली छ भने त म ल्याइहाल्छु। तर कति दिने त भन्‍नुपर्‍यो नि।
रिसेप्सन : तपाईंलाई हेरिहाल्छौं नि हामी।
पत्रकार : अन्त पनि दिन्छन्। त्यहाँ कति हुन्छ, त्यहीअनुसार ल्याउने कुरा भयो नि त।
रिसेप्सन : बिरामी भर्ना भएपछि सक्दो गरिहाल्छौं नि।
पत्रकार : यति हो भन्ने भए पो।
रिसेप्सन : एक हजार हो।
पत्रकार : जम्मा? अन्त त धेरै दिन्छन् नि?
रिसेप्सन : हाम्रो त त्यहीअनुसार हो। केही समयपछि श्रीप्रसाद तिवारीले कलब्याक गरे।
श्रीप्रसाद : गुरुजी बोल्नुभको होइन?
पत्रकार : हो।
श्रीप्रसाद : म ब्लु क्रस हस्पिटलबाट के।
पत्रकार : अँ भन्नु त।
श्रीप्रसाद : अघि फोन गर्नुभएको रैछ हैन?
पत्रकार : हो, गरेको थिएँ।
श्रीप्रसाद : चितवनबाट ल्याउने भन्‍नुभा?
पत्रकार : हो हो।
श्रीप्रसाद : ए, म पनि चितवनकै हो। यहींको स्टाफ हो म। लिएर आउनु न त। मिलाएर गरौंला नि।
पत्रकार : कति दिने भन्‍ने नै भएन? जम्मा हजार भन्छन्।
श्रीप्रसाद : मिलाउँला नि। चार हजारसम्म दिउँला।
पत्रकार : अघि फोन गर्दा जम्मा हजार भने।
श्रीप्रसाद : यहाँ हजार नै दिने प्राक्टिस छ। तपाईंलाई मिलाउँला नि। लिएर आउनुस्, पछिलाई पनि रिलेसन हुन्छ।
कलंकीको 'यती अस्पताल' र 'सिटी सेन्टर अस्पताल', बल्खुको 'स्टार हस्पिटल' र 'शिवज्योति अस्पताल' ले आईसीयूमा राख्ने बिरामीका लागि ५-५ हजार रुपैयाँ दिएर एम्बुलेन्स चालकलाई नै किन्छन्। वसुन्धराको 'ग्रिन सिटी हस्पिटल' ले ३ हजार, जाउलाखेलको 'अल्का अस्पताल' ले १ हजार, 'दियाज अस्पताल' र 'अन्तर्राष्ट्रिय बालमैत्री' अस्पतालले पाँचपाँच सय रुपैयाँ दिन्छन्।
गम्भीर रोगीको व्यापार
बिरामीको अवस्था गम्भीर भए एम्बुलेन्स चालकको बार्गेनिङ शक्ति बढ्छ। आईसीयूमा बिरामी ल्याउन लागेको थाहा पाउनेबित्तिकै अस्पतालले चालकलाई फकाउन थाल्छन्। बिरामी सिकिस्त भए कमिसन पनि बढ्छ।
अडियो ७
रिसेप्सन : गुड इभिनिङ, सिटी सेन्टर हस्पिटल।
पत्रकार : म एम्बुलेन्स ड्राइभर। बिरामी ल्याउँदा केकस्तो व्यवस्था छ भनेर।
रिसेप्सन : के केस हो?
पत्रकार : लङ्स (फोक्सो) सँग सम्बन्धित हो।
रिसेप्सन : एकैछिन ल। इमर्जेन्सीमा ट्रान्सफर गर्छु।
पत्रकार : हुन्छ। इमर्जेन्सीमा दिएपछि
इमर्जेन्सी : हजुर दाइ।
पत्रकार : कस्तो व्यवस्था हुन्छ भनेर फोन गरेको के।
इमर्जेन्सी : कहाँ आइपुग्नुभयो?
पत्रकार : मुग्लिन।
इमर्जेन्सी : एकैछिन ल, म डाक्टरलाई नै दिन्छु। फेरि रिसेप्सनमा रिसेप्सन : कति दिने गरेको छ, त्यो हामीलाई थाहा हुँदैन। बिरामी ल्याइसकेपछि सरहरूले कुरा गरेर बिलिङबाट दिने गर्नुभएको छ। पत्रकार : सरहरूलाई फोन गरेर बुझ्न सकिँदैन?
रिसेप्सन : त्यसो भए म बुझेर कल गर्छु नि ल।
पत्रकार : हुन्छ। नवराज थापाले कल ब्याक गरे।
नवराज : रिसेप्सनमा फोन गर्नुभएको रैछ?
पत्रकार : हो, कति व्यवस्था छ भनेर?
नवराज : चण्डिभन्ज्याङको नवराज थापा मै हो। म पनि एम्बुलेन्स चलाउँछु के।
पत्रकार : कति व्यवस्था हुन्छ?
नवराज : आउनु न। फरकै पर्दैन। के केस हो?
पत्रकार : फोक्सोको हो।
नवराज : आउनुस्। चित्त बुझाएर पठाइदिम्ला।
पत्रकार : कति हो? थोरै भए अन्तै लैजान्छु।
नवराज : पाँच हजारसम्म दिन्छु।
अडियो ८
रिसेप्सन : नमस्ते, यती हस्पिटल।
पत्रकार : म एम्बुलेन्स ड्राइभर। बिरामी ल्याउन खोजेको। कस्तो व्यवस्था छ।
रिसेप्सन : व्यवस्था त छ। यहाँ सरसँग कुरा गर्नु न। सुरेन्द्रले बोले। सुरेन्द्र : कहाँबाट हो हजुर?
पत्रकार : फोक्सोसम्बन्धी हो। मलाई कति आउँछ?
सुरेन्द्र : आउनुस् न। डा. सुनिल यहीं हुनुहुन्छ। दिउँला नि चार, साढे चार हजार।
बम्पर उपहार
आईसीयूमा बिरामी ल्याइदिएबापत 'बम्पर उपहार' दिने गरेको सुन्धाराको लाइफ केयर अस्पतालले एम्बुलेन्स चालकलाई थप 'पुरस्कार' को पनि व्यवस्था गरेको छ। अस्पतालले ल्याएको 'नयाँ स्किम' अनुसार तीन महिनामा १० वटा बिरामी ल्याए एम्बुलेन्स चालकले एउटा मोटरसाइकल पाउँछ।
अडियो ९
पत्रकार : हेलो।
देवश्री श्रेष्ठ : म लाइफ केयरबाट। हिजो बिरामी ल्याएनछौ त? पत्रकार : बिरामीका आफन्तले अन्तै लग्ने भने। अनि ल्याउन पाइनँ।
देवश्री श्रेष्ठ : ल भाइ ठीकै छ। हिजो घरमा कुरा गर्न मिलेन के। एकपटक मलाई भेट्न आउनु। अहिले कुरा गर्न मिल्छ तपाईंसँग? पत्रकार : अँ मिल्छ।
देवश्री श्रेष्ठ : यस्तो छ के भाइ। तपाईं आउनेबित्तिकै हामीले १० हजार रुपैयाँ दिन्छौं। अहिले हामीले एउटा स्किम ल्याएका छौं के। त्यो भनेको के भने फागुन, चैत र वैशाखभित्रमा एउटै ड्राइभरले १० केस पुर्‍यायो भने एउटा मोटरसाइकल दिन्छौं।
पत्रकार : कुन मोटरसाइकल नि?
देवश्री श्रेष्ठ : खै, मोटरसाइकलको नाम त मलाई आउँदैन। जे होस् एउटै गाडीको १० केस पुग्यो भने दिन्छौं।
पत्रकार : हुन्छ दिदी।
अस्पतालको चिटिङ
बिरामीको खडेरी परेमा अस्पतालले रेट बढाएर कमिसन दिन्छन्। यो रकम बिरामीबाट असुलिन्छ। बिरामी भर्ना हुनुअघि नै कमिसनसमेत जोडेर डिपोजिट गर्न लगाउँछन्। चितवनको कलेज अफ मेडिकल साइन्सेसले आकस्मिक र आईसीयूमा एउटा बिरामी ल्याउने चालकलाई चार सय रुपैयाँ दिन्छ। बिरामी लिएर आएपछि चालकहरूले सुरक्षा गार्डबाट स्लिप पाउँछन्। त्यो स्लिप काउन्टरमा देखाएपछि चालकले चार सय रुपैयाँ पाउँछ। चितवनको एनपीआई नारायणी सामुदायिक अस्पतालले एम्बुलेन्स चालकलाई वार्षिक कमिसन दिन्छ। चालकहरू भन्छन्, 'बिरामीपिच्छे लिनुभन्दा वार्षिक लिनु राम्रो भो।'
लुट गर्ने छुट
धेरै अस्पतालले बिरामी किन्न उपहार कार्यक्रमसमेत चलाएर नेपाल मेडिकल काउन्सिलको हुर्मत लिइरहेको देखियो।
मेडिकल काउन्सिलका अध्यक्ष डा. दामोदर गजुरेलले यो विषय व्यक्तिमा भन्दा संस्थासँग जोडिएकाले आफूहरूले केही गर्न नसक्ने बताए। 'चिकित्सकले इन्डिभिजुअल रूपमा यस्तो क्रियाकलाप गरेको हो भने हामीले कारबाही गर्न सक्थ्यौं', गजुरेलले भने, 'यो म्यानेजमेन्टसँग जोडिएकाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी हो।'
वीर अस्पतालका निर्देशक डा. बुलन्द थापाले भने, 'सरकारले स्पष्ट मापदण्ड ल्याउन नसकेको हुनाले अस्पतालहरूले मनपरी गरेका छन्। अस्पतालहरूले बिरामी भर्ना लिँदा वा नियमित परीक्षण गर्दा कति शुल्क चार्ज लिने भन्ने कुराको स्पष्ट मापदण्ड छैन। सरकारले उचित मापदण्ड बनाएर कार्यान्वयन गर्नुपर्ने थियो, गरेको छैन।'
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. बाबुराम मरासिनी गुनासो गर्छन्, 'बिरामीहरू मर्कामा परिरहेका छन् तर मापदण्ड बनाउन विभागलाई मन्त्रालयले नै स्वीकृति दिएको छैन।'
स्वास्थ्यमन्त्री खगराज अधिकारी भन्छन्, 'कमिसनको खेलले निजी अस्पताल महँगा भएका हुन् भनेको सुनेको छु तर प्रमाण पाइएको छैन। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा खेलबाड गर्नेलाई छूट दिइनेछैन।' अस्पतालको अनुगमन गर्ने विधि बनाउन नसक्ने स्वास्थ्य मन्त्रालयको यही कमजोरीको फाइदा उठाएर अस्पतालले बिरामीहरूलाई अनेक तरहले लुटिरहेका छन्। मन्त्रालयसँग यसको निदान छैन। -खोजपत्रकारिता केन्द्र

Tuesday, June 3, 2014

विगत बिर्साइपाउँ भन्दै गुगलमा निवेदनकाे ओइरो - onlinekhabar



हरेक ७ सेकेण्डमा एक जना व्यक्तिले आफ्नो विगत बारेको सूचना लुकाइदिन माग गर्दै गुगलमा निवेदन दिने गरेको खुलासा भएको छ । गुगल प्रयोगकर्ताले आफ्नो बारेमा सेन्सर गर्न निवेदन दिन सक्ने व्यवस्था गरेसँगै आफ्नोबारेका सूचना लुकाइदिन यतिविधि मान्छेले गुगललाई गुहारिरहेको खुलासा भएको हो ।



विगतमा अनलाइनमा राखिएका कतिपय सूचनाहरु अब गुगलमा सर्च गर्दा नदेखिउन् र गोप्य रहुन् भन्नका लागि गुगल प्रयोगकर्ताले यस्तो निवेदन दिन सक्ने व्यवस्था गुगलले गरेको छ । युरोपेली अदालतको पछिल्लो फैसला सँगै गुगलले यस्तो निर्णय गरेको थियो । युरोपेली अदालतले हालै कुनैपनि व्यक्तिको बिर्सिन पाउने अधिकारको सम्मान गर्नका लागि आवश्यक कदम चाल्न हालै इन्टरनेट सर्च इन्जिनहरुलाई आदेश जारी गरेको थियो । युरोपेली न्यायालयले अघिल्लो महिला सर्च इन्जिनहरुलाई निर्देशनात्मक आदेश जारी गर्दै आफ्नो बारेको अपर्याप्त, असान्दर्भिक तथा अतिशयोक्तिपूर्ण सामाग्रीलाई हटाउन सर्च इन्जिनलाई आग्रह गर्नसक्ने र सर्च इन्जिनहरुले आग्रह मुताविक गर्नुपर्ने उल्लेख गरेको थियो ।

यस्तो आवेदन शुक्रबार पहिलो पटक खुल्ला गरिएकोमा पहिलो दिनमै युरोपेली युनियनका २८ देशबाट १२ हजार जनाले यस्तो फाराम भरेको गुगलका व्यवस्थापकहरुले बताएका छन् । एक मिनेटमा झण्डै २० वटा सम्म यस्ता निवेदनहरु आउने गरेका छन् । निवेदन दिनेमध्ये धेरै बेलायतका रहेका छन् ।

यद्यपि इन्टरनेट क्षेत्रको अगुवा विकेपिडियाका संस्थापक जिम्मी वेल्सले भने गुगलबाट सूचना लुकाउने युरोपेली प्रयास निरर्थक हुने बताए । इन्टरनेटको विश्वव्यापी संजालका कारण यो सम्भव नहुने उनको तर्क छ । युरोपभित्र यस्तो सेन्सर भएपनि अमेरिकी गुगलको संस्करणमा सूचना लुकाउन नसकिने भन्दै उनले विश्वका कतिपय सर्च इन्जिनहरुको युरोपमा उपस्थिति नै नभएको अवस्थामा त्यस्ता सर्च इन्जिनमा हुने सामाग्रीमा कुनै सेन्सर गर्न नसकिने दाबी गरे । तर यता गुगल अमेरिकी कम्पनी भएपनि यसको सेल्स अफिसहरु युरोपमा भएकाले यसलाई युरोपेली कम्पनी सरह नै व्यवहार गरिने युरोपेली न्यायलयको ठहर छ ।

गुगलमा सूचना सेन्सर गर्ने पछिल्लो प्रयाससँगै आरोपित अपराधीहरुलाई सहज हुने र उनीहरुले आफ्नो विगतका आपराधिक गतिविधि बारेका सूचना गुगलबाट हटाएर आफुलाई स्वच्छ छविको सावित गर्न सफल हुने कतिपय विश्लेषकको भनाइ छ । बेलायतमा आफ्ना सूचना हटाउन निवेदन दिनेमा बाल यौन दूराचारी, भ्रष्टाचारी नेता तथा खराब काम गरेका डाक्टरहरु धेरै रहेको बताइएको छ ।

स्मरण रहोस् गुगल सर्चमा आफ्नो नाम टाइप गरेर खोज्दा डरलाग्दो सामाग्री भएको लिंक आउने गरेपछि त्यसलाई रोक्न माग गर्दै स्पेनका एक व्यक्तिले हालेको मुद्दामा युरोपेली न्यायलयले गुगललाई प्रयोगकर्ताले चाहेको उनीहरुको सूचना लुकाइदिन आदेश दिएको थियो ।

Sunday, June 1, 2014

नकाबपोस हुँडारको संजाल - nagariknews

प्रतीक प्रधान

केही दिन पहिले उप प्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले रत्नपार्कनिर सडकको बीचैमा डोरी नाघ्दै सडक पार गरेको फोटो अत्यन्त चर्चित बन्यो। धेरै व्यक्तिले त्यस विषयमा आफ्ना विचार प्रकट गरे।
कतिले अति अश्लील र अशोभनीय भाषा प्रयोग गरे भने कतिले शीष्ट भाषामा मर्म पुग्नेगरी आफ्ना विचार प्रकट गरे। त्यस्तै अर्को घटनाका प्रमुख पात्र काठमाडौं प्रहरी प्रमुख रमेश खरेल बने। उनले आफ्ना वरिष्ठ अधिकारीका सम्बन्धमा प्रयोग गरेको शब्दका बारेमा पनि सामाजिक संजालमा धेरै प्रकारका विचार आए। यी दुवै घटनामा कतिपय विचार कुनै पनि व्यक्तिले केही मानिसका अगाडि उभिएर प्रकट गर्न सक्दैन। तर फेसबुक वा टि्वटरमा उनीहरु यस्तो घटना सामान्य ढंगले प्रकट गर्छन्।
मनमा दबिएको इच्छा वा भावना धेरै व्यक्ति समक्ष प्रकट गर्न लालायित रहनु एक प्रकारको मानसिक अवस्था हो। कुनै व्यक्ति, समाज, व्यवस्था, धर्म, सम्प्रदायविरुद्ध वा यौनजन्य भावना प्रकट गर्न नपाएर आफैँमा दबिएर बसेको हुन्छ। कुनै उपयुक्त माध्यम भेट्नेबित्तिकै यस्ता भावना प्रकट गर्न व्यक्ति लालायित हुन्छ। केही समय पहिलेसम्म यस्तो भावना प्रकट गर्न स्कुल, कलेज, कार्यालयका सामूहिक शौचालयको प्रयोग धेरै हुन्थ्यो। यस्तो कार्य गर्ने व्यक्ति ज्यादै थोरै हुन्थे तर तिनको मानसिक अवस्था देख्ने धेरै हुन्थे। अहिले पनि सामूहिक शौचालयमा दमित यौनजन्य कुण्ठा प्रकट गर्ने सिलसिला अन्त्य भएको छैन, भलै यस्ता भावना प्रकट गर्नेको संख्याभने जनसंख्याको तुलनामा धेरै घटेको देखिन्छ। तर अहिलेका मानिस धेरै अनुशासित भएकाले त्यसो भएको होइन। यस्तो मानसिक अवस्था भएका व्यक्तिले आफ्ना दमित कुण्ठा व्यक्त गर्ने वैकल्पिक माध्यम भेटाएका कारण ‘शौचालय सिर्जना' कम भएको हो।
आधुनिक युगमा दबिएको भावना प्रकट गर्न लुकेर सार्वजनिक शौचालयमा फोहोर चित्र कोर्ने, यौनजन्य अश्लीलता प्रकट गर्ने र कसैलाई गाली गरिरहनुपर्ने अवस्था रहेन। अब कसैको कुरा काट्न वा गाली गर्न कुनै अर्को व्यक्तिको कानमा भर पर्नु पनि परेन, न त कसैलाई भगवानको कसम खुवाएर स्रोत नखोल्ने आग्रह गर्दै गोप्य कुरा बाँड्नुपर्ने अवस्थै रह्यो।
आधुनिक जमानाका हुँडार जंगलमा तीखा दाँत लिएर आफ्नो समूहसँग घुम्दैनन्। तर जसरी हुँडारको समूहले घाइते अवस्थामा बाघलाई समेत सबैतिरबाट अलि अलि टोक्दै सुस्तरी मृत्यु वरणगर्न बाध्य बनाउँछन् त्यसैगरी सामाजिक संजालका हुँडार पनि आफ्नो सिकार अलिकति कमजोर भएको बेला सबैतिरबाट आक्रमण गरेर त्यसको मन, मस्तिष्क र सामाजिक जीवन थिलथिलो बनाउँछन्।
आधुनिक कम्प्युटर युगमा हुँडारहरुलाई पनि नकाब लगाएर आउने छुट छ। जब नकाबपोस हुँडार संजाल कुनै पनि राजनीतिक नेता वा सामाजिक अगुवाको पछि लाग्छ त्यसबेला उसले विवेक, सामाजिक मान्यता, अनुशासन आदि कुनै सिद्धान्तको परवाह गर्दैन। उसका लागि सबै राजनीतिक नेता चोर हुन् र तिनलाई घोक्रेठ्याक लगाएर देश निकाला गर्नुपर्छ। सबै न्यायाधीश पैसा भरिएको ब्रिफकेसका पुजारी हुन्, सबै प्रहरी फटाहा र तस्करका व्यापारिक साझेदार हुन् वा सबै पत्रकार पैसा लिएरमात्र समाचार लेख्ने पुँजीपति र नेताका दलाल हुन्। जब मानिसले विवेक प्रयोग गर्न बन्द गर्छ अनि उसमा र सडकमा मानसिक सन्तुलन गुमाएर लठ्ठी लिएर बटुवा लखेट्ने मानसिक रोगीबीच कुनै तात्विक भिन्नता हुँदैन। तर सामाजिक संजालमा नकाब लगाएर झुल्कने यस्ता सफेदपोसहरूलाई मानवीयता, शिष्टाचार र विवेक प्रयोग हास्यास्पद तर्क मात्र हुन्। ऊ को हो भनेर कसैले चिनेको छैन भने जिम्मेवार किन हुने?
यो लेखको सार कसैले पनि कसैका विरुद्ध बोल्न, लेख्न वा सामाजिक संजालको ‘टाइमलाइन'मा विचार व्यक्त गर्न हुँदैन भन्ने होइन। तर जो जे बोली रहेको छ त्यसको जिम्मेवारी लिने आँट र साहस त हुनुपर्छ भन्ने आग्रह हो। धेरै युवा जमात जो देश छाडेर विदेशमा बसिरहेका छन् तिनीहरू केही मात्रामा आफ्नो परिचय नलुकाई मनमा लागेका विषयमा निश्चिन्त विचार अभिव्यक्त गरिरहेका हुन्छन्। त्यसबाहेक अन्य धेरै जना कुनै जाली परिचय बनाएर आफूलाई लागेका विद्रुप विचार रौसिँदै पोखिरहेका हुन्छन्। यस्ता नकाबपोस हुँडारको विचारले समाजलाई सकारात्मक दिशामा अघि बढ्न मद्दत गर्दैन बरु यस समाजले हरेक प्रकारको गल्तीलाई एकै प्रकारको सजाय दिँदो रहेछ त्यसैले राम्रो काम गरेर सानो कुरामा बदनाम हुनुभन्दा आफ्नो स्वार्थपूर्ति हुने जतिसुकै घीनलाग्दो काम गरेपनि हुँदोरहेछ भन्ने सन्देश दिन्छ। मुला चोरलाई पनि मृत्युदण्ड दिने हो भने ज्यान मारेर डकैती गर्नुमै धेरैले फाइदा देख्न बेर छैन। किनभने बदमासीजस्तो भएपनि समातिएको अवस्थामा समाजले दिने सजाय एउटै हुने हो भने के फरक पर्ने भयो र?
समाजमा कुनै पनि विषयमा टीकाटिप्पणी हुन नहुने, समाजमा प्रतिष्ठित व्यक्तिका विषयमा केही नराम्रो लेखिनु नहुने भन्ने पटक्कै होइन। तर त्यसरी लेख्ने व्यक्ति को हो? के कारणले उसले कुनै घटनालाई एउटा खास दृष्टिकोणले हेर्‍यो र भोलि उसलाई उसैले लेखेका विषयमा जिम्मेवार बनाउन सकिन्छ कि सकिँदैन भन्ने चाहिँ महत्वपूर्ण विषय हुन्। सबै नकाब लगाएका व्यक्तिको विचारमा मात्र डोरिन थाल्यो भने समाज अराजकता तिर लम्कँदैन? त्यसैले समाजको कुनै पनि क्षेत्रमा जनताको हितका लागि कार्य गर्ने व्यक्ति वा संस्थाले नकाबपोस संजालको झुन्डको डरमा गल्ती हुने डरले केही नगरी हातै बाँधेर नबसुन्। हामीले सचेत हुनुपर्ने विषय यही हो। त्यसैले सामाजिक संजालमा आबद्ध भएका वा नभएका सबैले टाइमलाइनमा आउने विचार कति विचार योग्य हुन् र कति होइनन् भन्ने मनन गर्नुपर्छ। गुहु र गोबरको फरक छुट्याउन नसक्ने हो भने समाजको विकास हुनुपर्छ भनेर आवाज उठाउनु पनि पाखण्डमात्र हुन जान्छ।
इन्टरनेट र सामाजिक सञ्जालको विकास भएपश्चात सामाजिक सञ्जालमा नकाबधारी वा खुल्ला परिचय बोकेका संजाल सदस्यहरूको प्रादुर्भाव भएको हो। राईडर विश्व विद्यालय, अमेरिकाका मनोविज्ञानका प्राध्यापक जोन सुलर भन्छन्, जब कसैको आँखामा आँखा जुधाएर कुरा गर्नु पर्दैन त्यसबेला कुनै पनि व्यक्ति अलि बढी निर्धक्क हुन्छ र उसले आफ्ना धेरै व्यक्तिगत पाटा सजिलै खोल्ने संभावना रहन्छ। यस प्रकारको प्रवृत्तिलाई उनी अनलाइन हिचकिचाहटमुक्ति (अनलाईन डिसइनिभिसन) भन्न रुचाउँछन्। यस्तो हिचकिचाहटबाट मुक्त व्यक्तिमा कोहीसँग बढीनै नजिक पुग्ने, आफ्नो गोप्यता सुनाउने, कसैको बढी नै प्रशंसा गर्ने, कसैसँग कुनै कुरामा चित्त बुझेको छैन भने अलि बढी नै खोइरो बोल्ने प्रवृत्ति हुन्छ। साइबर साइकोलोजी एन्ड बिहेभिअर नामक जर्नलको सन् २००४ नोभेम्बरको अंकमा सुलरले यस्ता व्यवहारलाई सौम्य हिचकिचाहट मुक्ति भनेका छन्। अर्थात् यस्तो व्यवहारले कतिपय अवस्थामा बढी कुरा खोलेकोमा सम्बद्ध व्यक्तिलाई नै दोषी महसुस हुनुबाहेक यस प्रवृत्तिले ठूलो हानि पुर्‍याउँदैन।
तर सुलरका अनुसार सौम्य हिचकिचाहट मुक्तिबाहेक कतिपय व्यक्ति अनलाइनमा जाँदा घृणा व्यक्त गर्ने, अति नमीठो भाषा प्रयोग गर्ने, रिस देखाउने, कसैलाई धम्क्याउने, कसैको बेइज्जत गर्ने कार्य पनि गर्छन्। यस्तो अवस्थालाई सुलर विषालु हिचकिचाहट मुक्ति भन्छन्। मनोविज्ञानमा यस्तो अवस्था किन हुन्छ? किन मान्छे अनलाइनमा अलि बढीनै दुष्ट वा धेरै कमलो हुन्छ? भन्नेजस्ता विषयमा उनको अध्ययनले धेरै जानकारी दिएको छ। तर उनको अध्ययनको अन्य बुँदाबाहेक हाम्रो अवस्थामा प्रयोग भएको मानसिक प्रवृति भने सौम्य र विषालु हिचकिचाहटको एक प्रकारको मिश्रण हो।
सूचना प्रविधिको वर्तमान युगमा आफ्नो परिचय लुकाउन सजिलो ठानेर कसैले जथाभावी लेख्छ भने त्यो नादानीमात्र हो। कुनै पनि व्यक्तिको कम्प्युटरको विशेष परिचय हुन्छ, उसले कुन इन्टरनेट प्रयोग गरेको छ भन्ने पनि सजिलै ठम्याउने प्रविधि छन्। अर्थात् कुन देशको कुन इन्टरनेट सेवा प्रदायकको कुन ग्राहकको कुन कम्प्युटरबाट के खबर सम्प्रेषित भयो भन्ने सजिलै थाहा पाउन सकिने वर्तमान अवस्थामा नकाबपोस हुँडारहरुले नकाबको सहारामा कसैको व्यक्तिगत इज्जतमा सधैँ खेल्नसक्छु भन्ने नसोचे पनि हुन्छ।
प्राविधिक कुरो जे भए पनि सम्पूर्ण आधुनिक युगका टाइमलाइनका प्रयोगकर्ताले नकाबपोस हुँडार र खुल्ला निडर विचारकबीचमा फरक छुट्याउन सक्नुपर्छ। हामीले समाजमा सही र सहीका बीचमा र गलत र गलतका बीचका दूरी पनि जान्नुपर्छ होइन भने नकाबपोसहरूले समाजमा धेरै विष फैलाउँछन् र हामीलाई मानव मल र गोबरबीचको फरक पनि निर्क्योल गर्न गाह्रो हुनेछ।

'मृत्यु संस्कार तीन दिनमात्र' - annapurnapost

गोपीकृष्ण ढुंगाना |




काठमाडौं : मृत्यु संस्कारमा गरिने १३ दिने काजकिरिया घटीमा तीन दिन र बढीमा सात दिनमा छोट्याउन बहस सुरु भएको छ। निर्णयसिन्धु र धर्मसिन्धुजस्ता शास्त्रको आधारमा मृत्यु संस्कार छोट्याउन सकिने तर्क विज्ञको छ।

प्रकाशोन्मुख पुस्तक 'मृत्यु संस्कारको सरलीकृत अवधारणा' का लेखक शंकरप्रसाद पोखरेलले १३ दिने काजकिरियालाई घटाएर सात, पाँच वा तीन दिनमा गर्न सकिने शास्त्रीय प्रमाण रहेको बताए। उनले भने, 'यो समयको पनि माग हो।' यसबाट आशोच बार्नेलाई राहत हुने, पुरोहितको कार्यक्षमतामा पनि ६२ प्रतिशत वृद्धि हुने, निष्ठा, एकाग्रता र श्रद्धा बढी हुने उनको तर्क छ। उनले काजकिरियाका लागि सरकारी बिदा कटौती भई सेवाग्राहीलाई सहज हुने पनि बताए।

पोखरेलले भने, 'काजकिरिया गर्ने कतिपयले भित्रभित्रै जुठो बार्न छाडेका पनि छन्, आँटिलाले हाकाहाकी संस्कारमा कटौती गर्न थालेका छन्।' मृत्यु संस्कारमा सुधार आवश्यक छ भनी उदाहरण बनेर अगुवाइ गर्नेमा बीपी कोइराला, माधवकुमार नेपाल, पुष्पकमल दहाल, वामदेव गौतम, सीपी गजुरेल, प्रदीप गिरी, ईश्वर पोखरेल, हरिबोल गजुरेल, गोपाल बुढाथोकी, शेखर कोइराला, जीवेन्द्रदेव गिरी, खगेन्द्र संग्रौलालगायत छन्। लेखेर मृत्यु संस्कार सुधार गर्नुपर्ने धारणा व्यक्त गर्नेमा वामदेव गौतम, बालकृष्ण पोखरेल, भिक्टर प्रधान, निनु चापागाईं, कृष्ण पहाडीलगायत छन्।

कानुन व्यवसायी काशीराज घिमिरेले यही जेठ १२ गते बुबाको १३ दिने काम सके। उनलाई पनि यो कर्म तीन दिनमा सक्न पाए हुने रहेछ भन्ने लागेको छ। उनले भने, 'शास्त्रले अनुमति दिने बुझें। व्यवहार नै संस्कृति हुने भएकाले समाज यसमा लचिलो हुनुपर्ने समय आएको छ। १३ दिनपछि बाँचेकालाई पनि रोगतिर धकेल्ने अवस्था बन्दोरहेछ।'

पोखरेलका अनुसार धर्मसिन्धुको पृष्ठ ७३५ मा उल्लेख छ, 'तीन दिनको आशौचमा छ, त्यस्तो पर्णशर दाह आदिमा पहिलो दिन एक पिण्ड, दोस्रो दिन चार पिण्ड, तेस्रो दिन पाँच पिण्ड। यही क्रम जान्नु। यस विधिले दशवटा पिण्ड दानको कार्य सम्पन्न गर्दा शास्त्रअनुसार मृतक व्यक्ति प्रेत बन्ने काम तीन दिनमा पूरा हुन्छ र त्यसपछि सोही दिन ढिकुरो फुटाइन्छ।'

पराशर ऋषिले समेत मृत्यु संस्कार तीन दिनमा सक्न हुने मत राखेको पोखरेलको भनाइ छ। उनका अनुसार परासरस्मृतिमा लेखिएको छ, 'ब्राह्मणहरू जुठोमा तीन दिनमा शुद्ध हुन्छन्, क्षत्रीय १२ दिनमा, वैश्य पन्ध्र दिनमा र शुद्र एक महिनामा शुद्ध हुन्छन्।'

भारतीय योगगुरू स्वामी दयानन्द सरस्वतीद्वारा लिखित संस्कार विधिमा तीन दिनसम्म बिहान र बेलुका होम गरिसकेपछि मृतकका नातेदार स्मशान भूमिमा गएर अस्थी (चितामा नडढेर बाँकी रहेको) उठाएर अर्कै ठाउँमा गाडिदिने बाहेक अरू कुनै कर्म नभएको उल्लेख छ। यजुर्वेदमा पनि मरिसकेपछि दाह कर्म र अस्थी सञ्चयबाहेक अरू कुनै कर्म, कर्तव्य नभएको उल्लेख छ।

पोखरेलले सतीप्रथा बन्द भएका कारण सरकारले चाहेमा मृत्यु संस्कार पनि छोट्याउने सकिने बताए। यसका लागि सरकारले नियम बनाएर लागू गर्नुपर्ने उनको भनाइ छ।

काजकिरिया गर्ने कतिपयले भित्रभित्रै जुठो बार्न छाडेका छन्, आँटिलो हाकाहाँकी कटौती गर्न पनि थालेका छन्।

निर्णयसिन्धुमा लेखिएको छ, 'शौच गर्न नसक्ने बूढो मानिस, वैद्यले औषधि गर्न नसकेको रोगी, पहाडबाट लडेको मानिस, व्रत गर्दैमा मरेको मानिस, पानीमा डुबेर वा आगोमा डढेर मरेको वा भोकभोकै मरेको मानिसको तीन रात आशौच लाग्छ।'

साहित्यकार एवं समालोचक खगेन्द्र संग्रौलाले केही ख्यातिप्राप्त व्यक्तिले जोखिम मोलेर नजिर स्थापित गर्न सके तीन, पाँच वा सात दिनमा काजकिरिया गर्ने परम्परा बस्ने बताए। उनले भने, 'समाजले सहजै स्वीकार त नगर्ला किनकि सत्ता परिवर्तन गर्नेभन्दा कठिन काम हो यो। तर राजनीतिक दल र संघसंस्थासमेत एक भएर अघि बढे असम्भव पनि छैन।'

नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष माधव भट्टराई भने १३ दिने काजकिरिया कुनै हालतमा घटाउन नहुने तर्क गर्छन्। धर्मसभा नेपालका कोषाध्यक्ष एवं ज्योतिषी टेकराज शास्त्रीले बुधबार र आइतबार १३ दिन परे १२ दिनमै क्रिया सक्ने परम्परा रहे पनि त्यो भन्दा छिटो गर्दा शास्त्रीय अपहेलना हुने बताए।