Thursday, August 30, 2012

दिल्मा : किन ब्राजिलीको दिलदेखि दिमागसम्म (फर्ब्सको कभर स्टोरी नेपालीमा) - bizmandu

ब्राजिलकी राष्ट्रपति दिल्मा रौसेफको एक दिन आफ्नै कार्यालयमा एक युवा जोडीसँग जम्काभेट भयो, यो युवा जोडी, श्रीमान, श्रीमती थिए र दुवै ३० को उमेरमा थिए, बच्चा हुकाउँदै, भविष्यप्रति आश्वस्त । केही महिना अघिसम्म युवक ब्राजिलका सडकमा गाडी गुडाउँथ्यो, विद्युत, सिंचाई र पूर्वाधारको विकास भएपछि जोडी गाउँमा गयो, बञ्जर भुँमीमा तरकारी उत्पादन थाल्यो, कुखुरा पाल्नुलाई सहायक उद्यम बनायो ।
तिमी कति कमाउँछौ, दिल्माले ती युवकलाई प्रश्न गरिन्, बस गुडाउनुभन्दा चार गुणा बढी कमाउँछु, उसले गर्व गर्दै जवाफ दियो । युवा जोडीले शहरमा भन्दा चार गुणा बढी आम्दानी गाउँमा गर्छ र खर्च शहरमा भन्दा कम हुन्छ, उसले आफ्ना बच्चाका लागि नयाँ लक्ष्य राखेको छ, कृषि विज्ञानमा स्नाकोत्तर गराउनु । ब्राजिली कलाले भरिपूर्ण भव्य राष्ट्रपति कार्यालयमा दिल्मा मुस्कराउँदै भन्न थालिन, ब्राजिलीहरु आफ्नै खुट्टामा उभिन थालेका छन्, हिंड्न थालेका छन् । ब्राजिलीहरु बढीभन्दा बढी उद्यममा लागेका छन्, आफूलाई उद्यमी बनाइरहेका छन् ।


पछिल्ला दुई दशक दिल्माको देशका लागि कठिनपूर्ण थिए, अहिले मूल्यवृद्धिको चाप कम छ, सरकारी टेलिकम कम्पनी र केही खानी निजीकरण गरिएको छ, देशमा भट्टमास र फलामको उत्पादन उच्च छ । २० वर्ष अघि ब्राजिलको कुल ग्राहस्थ्य उत्पादन तीन खर्ब ५८ अर्ब डलर बराबर थियो, देश विश्वको ११ औं ठूलो अर्थतन्त्र थियो । अहिले कुल ग्राहस्थ उत्पादन २५ खर्ब डलर पुगेको छ र ब्राजिल वित्तीय रुपमा छैटौं र आठौं ठूलो देशको वीचमा छ ।
ब्राजिलको आधा जनसंख्या अहिले मध्यमवर्गीय छ र यो जनसंख्या  एक्लैको प्रतिफल छिमेकी अर्जेन्टिनाभन्दा ठूलो छ, हामी जे थियौं, अहिले परिवर्तन हुँदै छौं, ६४ वर्षिया दिल्माले भनिन्, जो फब्र्सले तयार गरेको विश्वका शक्तिशाली महिलामध्ये तेस्रो स्थानमा छिन् ।
ब्राजिल विश्वमा सबैभन्दा धेरै उद्यमी भएको देश बनेको छ, चारमध्ये एक जना वयस्क अहिले ब्राजिलमा स्वरोजगार छन्, सानो व्यापारले दुईदेखि तीन जनालाई रोजगारी दिन्छ । ब्राजिलमा वेरोजगारको संख्या अहिले ५.८ प्रतिशत मात्रै छ । पछिल्ला ४२ महिनामा खुलेका उद्योगमा ४९ प्रतिशत उद्यमी महिला हुन् । जबकी विश्वमा यो ३७ प्रतिशत मात्रै छ । ब्राजिली शहर साव पाउलोमा १८ लाख साना उद्योगीहरु छन् ।
ब्राजिलमा प्रविधि परिवर्तनको सम्वाहक हो, सन् २०१२ को पहिलो त्रैमासमा आठ करोड २४ लाख इन्टरनेट प्रयोगकर्ता पुगे । तीन वर्ष अघि यो संख्या छ करोड २३ लाख थियो । फेसबुक, टम्बलर र ट्विटर जस्ता सामाजिक सञ्जालका प्रयोगकर्तामा अमेरिकापछि ब्राजिली छन् । युवा प्रविधि उद्यमीलाई सहयोग गरिरहेका बेडि याङ भन्छन्, प्रविधिले उद्यमशिलतालाई विकास गरिरहेको छ । ब्राजिलमा २० करोड जनसंख्या छ र २५ करोड मोवाइल छन् ।
ब्राजिलमा जन्मेका र सिलिकल भ्यालीमा बस्दै आएका याङ हरेक महिना सिलिकन भ्याली र ब्राजिल आवातजावत गर्छन । तीन वर्ष अघिसम्म ब्राजिलमा कुनै प्रविधि उद्यमी भेट्नलाई मुस्किल थियो, अहिले साव पाउलोमा यत्रतत्र भेटाउन सक्नुहुन्छ, उनले भने ।
दिल्मा जसले तीन वर्ष अघि मात्रै ब्राजिलको राष्ट्रपतिको कार्यभार सम्हालेकी थिइन, उनले याङ जस्तै प्रविधि उद्यमी र कृषकलाई अनुदानको योजना ल्याएकी छन् । उनले त्यस्ता उद्यमीका लागि कम व्याज, पुँजीको वृद्धि, पूर्वाधारको विकास र करको कटौतीलाई प्राथमिकता दिएकी छन् ।
दिल्मा भन्छिन्, यो सबै वृद्धिका लागि हो, हामी हजाम, मकै बेच्ने व्यापारीसम्मलाई अवकाशपछिको सुविधा र सरकारी उघु कर्जा दिएर जीवनस्तर सुधार गरिरहेका छौं । सम्भवत यी सबै कुराले हुन सक्छ, उनको लोकप्रियता निक्कै बढेको छ । जुनमा गरिएको एक सर्वेक्षणमा ७७ प्रतिशत मतदाताले उनलाई मन पराएका थिए । जो उनी अघिका राष्ट्रपति लुला दा सिल्भा जत्तिकै हो ।
हाम्रो सरकारले पछिल्ला केही वर्षमा थुप्रै सुधारका कार्यक्रम लागु गरेको छ, एइका बाटिस्टाले भने, जो ब्राजिलका ठूला उद्योगपति हुन् र ३० अर्ब डलर सम्पत्ति सहित विश्वका सातौं धनी पनि । उनी भन्छन्, दिल्माले लगानीका लागि उर्भर वातावरण तयार गरेकी छन् ।
मैले कहिल्यै पनि राष्ट्रपति हुन्छु भन्ने सोचेकि थिइनँ, दिल्माले भनिन्, उनी आफै भिन्न भूमिकाबाट यहाँ आएकी हुन् । दिल्माका बाबु बुलगेरियाबाट निर्वासनमा परेका कम्युनिष्ट थिए । उनी ब्राजिलमा आएपछि घरजग्गाको व्यापारमा लागे, दुवै छोरीलाई बोर्डिङ स्कुलमा भर्ना गरे । जहाँ दिल्माले पियानो पढेकी थिइन्, पुस्तकलाई खाएकी थिइन्, जुन अहिले बानीका रुपमा विकास भएको छ । म भलिवल खेल्ने गर्थें, दिल्माले सम्झना गरिन् । मेरा नाडी त्यति बलिया थिएनन्, तर विपक्षीलाई छेक्न म काफी थिए ।
सन् १९६४ मा दिल्मा १७ वर्षकी थिइन, ब्राजिलको सैनिकले जोआवको सरकारलाई अपदस्थ गर्यो, यो २० वर्षमा सेनाको पाँचौं कु थियो । रातारात अधिकारवादीहरुलाई गिरफ्तार गरियो, उनीहरुलाई यातना दिइयो, केहीलाई वेपत्ता पनि बनाइयो । दिल्मा २० वर्षकी थिइन्, उनले ब्राजिलको क्रान्तिकारी सोसलिष्ट पार्टीको सदस्य बनिन् ।
उनको पहिलो विवाह दुई वर्षभन्दा बढी टिकेन, उनले दोस्रोपटक अधिकारवादी कानूनव्यवसायी कार्लोस अराउजोसँग विवाह गरिन् । जो ब्राजिल कम्युनिष्ट पार्टीका विशेष सदस्य थिए । अराउजो र दिल्माले अधिकारवादी एउटा समूहसँग हात मिलाए, जुन समूहले राजनीतिक प्रतिक्रियाका लागि २५ लाख रकम भएको एउटा सेफ चोरी गरे । दिल्माका पूर्व पति अराउजो भन्छन्, तर उनले कहिल्यै हतियार भने उठाइनन् । सन् १९७० को सुरुमै दिल्मा सैनिक कारवाहीमा पक्राउ परिन् । उनलाई २२ दिनसम्म हिरासतमा विद्युतीय झड्काबाट यातना दिइयो । त्यसको तीन वर्ष उनले जेलमा विताइन ।

१९७२ मा दिल्माको जेल यात्रा सकियो, उनी जेलबाट बाहिर आउँदा २० पाउण्ड तौल घटेको थियो, उनी दुब्ली पातली थिइन र शरिरिक रुपमा निक्कै कमजोर । उनले भयरहित ढंगले राजनीति गरिन, सँगसँगै अर्थशास्त्रमा डिग्री पनि लिइन । दिल्माकी एक छोरी पाउला छिन्, अराउजोसँग उनले सम्वन्ध विच्छेद गरिसकिन् । राजनीतिमा सक्रिए हुन थालेपछि दिल्मा स्थानीय सरकारको अर्थ, उर्जा हुँदै ब्राजिलको उर्जामन्त्री बनिन् । पछि राष्ट्रपति सिल्भाको चिफ अफ स्टाफ बनिन् र सिल्भाको उत्तराधिकारीको रुपमा राष्ट्रपति । दिल्मा याताना, कैदीदेखि राष्ट्रपतिसम्मको यात्राका वारेमा विरलै बोल्छिन्, उनले भनिन्, ‘यो सन् १९६८ जेनेरसन हो ।’
दिल्माले हालै २५ लाख जनसंख्या भएको फोर्टलिजा शहरको यात्रा गरिन्, जहाँ उनले चुनौती पनि देखिन् र सम्भावना पनि । उनी त्यहाँ ग्रे गारबान्टसँग गएकी थिइन्, जो इक्वीटी इन्टरनेशनलका प्रमुख कार्यकारी र सहसंस्थापक हुन् । गारबान्टलाई ब्राजिलमाथि ठूलो विश्वास छ, उनले आफ्नो दुई अर्ब डलरको पुँजीमध्ये आधा रकम स्थानीय विकास जस्तै घरको निर्माण, व्यवसायिक रियलस्टेटको विकासमा खर्च गरेका छन् ।
फोर्टलिजामा बाढीले सडक सबै बगाएको थियो, उनीहरुले फोर ह्विल गाडी लिएर शहरसम्म पुगे । यही खराब भौतिक संरचनामा उनीहरुले लगानीको ठूलो सम्भावना देखे । पछि दिल्माले भौतिक पूर्वाधारमा लगानी बढाउने निर्णय लिइन् । यसले सन् २०१० मा साढे सात प्रतिशत वृद्धि हाँसिल गरेको र अहिले दुई प्रतिशतको प्रक्षेपणलाई अझै बढाउने देखियो । यसले मध्यकालिन रुपमा पनि ठूलै फाइदा पुर्याउने छ । सन् २०१४ मा फुटवल विश्वकप र सन् २०१६ मा ओलम्पिक ब्राजिलमा हुँदै छ, पूर्वाधारमा गरिएको यो लगानीले त्यसलाई पनि फाइदा पुर्याउने छ ।
भौतिक पूर्वाधार सबैभन्दा महत्वपुर्ण हो, विश्वमा १४ प्रतिशत सडक हिस्सा त पाँच ठूलो देशसँग मात्रै छ । वल्र्ड इकोनोमिक फोरमले गरेको १४२ राष्ट्रको सर्वेक्षणमा ब्राजिलसँग भएको भौतिक पूर्वाधारको गुणस्तर १०४ औं अंकमा छ । यो ब्रिक मुलुक चीन, भारत र रसियाभन्दा पछि हो । अगस्टमा दिल्माले साढे सात हजार किलोमिटर सडक र १० हजार किलोमिटर लामो रेलवे सञ्चालनका लागि निजी क्षेत्रबाट प्रतिश्पर्धाबाट छान्ने निर्णय गरिन । जसका लागि ६६ अर्ब डलर खर्च गर्नुपर्दछ र अबको पाँच वर्षमा त्यसको आधा रकम खर्च गरिसक्नुपर्दछ ।
उन्को दोस्रो निसाना हो, ब्रोडव्याण्ड इन्टरनेट । अहिले ब्राजिलमा तिव्र गतीको इन्टरनेट चलाउन प्रतिमहिना २७ डलर खर्च गर्नुपर्दछ । जबकी चीनमा यही गतीको इन्टरनेट मात्र १० डलरमा उपलब्ध छ । इन्टरनेट अझै धेरैको पहुँचमा पुर्याउन दिल्माले प्रत्येक वर्ष ५० करोड डलर खर्च गर्ने घोषणा गरेकी छन् । ब्राजिलको टेलिफोन सेवा अझै पनि महँगो छ, यसलाई सस्तो बनाउने उनको अर्को चुनौती हो ।
ब्राजिलमा अहिले प्रतिमिनेटको औषत फोन खर्च ४८ सेन्ट छ, जबकी विश्वका विकसित मुलुकमा यो ६.२ सेन्ट मात्रै छ । ब्राजिलमा मोवाइल सेवाको गुणस्तर यति धेरै कमजोर छ कि दूरसञ्चार नियामकले तीन ठूला मोवाइल कम्पनीलाई नयाँ सेवा विक्री गर्न बन्देज लगाएको छ । सेवाको गुणस्तर वृद्धि गर्न दिल्माले विदेशी कम्पनीलाई दवाव दिएकी छन्, विश्वकप अघि नै फोर जी सेवा सुरु नगरे ती कम्पनीले ठूलै जरिवाना चुकाउनुपर्ने हुन्छ ।
दिल्माको पूर्वाधारको अर्थ हो, नयाँ व्यापार सुरु गर्न लाग्ने दिन घटाउनु । विश्व बैंकको तथ्यांकले ब्राजिलमा व्यापार सुरु गर्न औषतमा १२० दिन लाग्ने जानकारी दिएको छ, यही काम अमेरिकामा जम्मा छ दिन लाग्छ । दिल्माले यसका लागि पनि काम अघि बढाएकी छन् । यसबाहेक कर संरचनामा सुधार गर्नु दिल्माको अर्को प्राथमिकता हो ।
शिक्षामा दिल्माले अझ धेरै वैज्ञानिक र इन्जिनियर उतपादन गर्न चाहेकी छन् । अहिलेसम्म केही ब्राजिलीले मात्र विदेश पढ्ने अवसर पाएका छन् । गतवर्ष जम्मा नौ हजार ब्राजिली अमेरिकी कलेजमा भर्ना भए । जहाँ चीन र भारतबाट दुई लाख ६० हजारले भर्ना लिएका थिए । दिल्माको सिमानाविनाको विज्ञान कार्यक्रममार्फत सन् २०१५ सम्म प्रतिवर्ष एक लाख ब्राजिलीलाई विदेश पढ्न पठाउनेछिन् । अमेरिकी विश्वविद्यालयहरुले अहिले नै ब्राजिलबाट प्रति वर्ष २० हजार विद्यार्थी लिने घोषणा गरिसकेका छन् ।
छोरीबाट हजुरआमा बनेकी दिल्माले अहिले बालबालिकाको पक्षमा काम गर्न थालेकी छन् । प्रत्येक घरमा छ वर्षभन्दा कम उमेरका बालबालिकाले प्रतिमहिना ३५ डलर पाउँछन् । तर त्यस्तो रकम लिनका लागि बालबालिका विद्यालयमा जानुपर्दछ र क्यालेण्डर अनुसार खोप लगाउनुपर्दछ । दिल्माले ब्राजिलमा बालबालिकाका लागि छ हजार दिवा सेवा केन्द्र खोलेकी छन्, गरिव र मध्यमवर्गीय परिवारका लागि निशुल्क औषधी पनि पाउँछन् । बालबालिकालाई दिइने नगद सुविधा आमाहरुले मात्र पाउँछन्, किनकी पुरुषले त्यो पैसा पाए रक्सीमा उडाइदिन सक्छन् । दिल्माले अहिलेसम्म छ जना मन्त्रीलाई बर्खास्त गरेकी छन्, उनले आफ्ना चिफ अफ स्टाफलाई पनि बर्खास्त गरिन्, किनकी उनीहरु कुनै न कुनै काण्डमा सामेल थिए । (फर्ब्सको कभर स्टोरी)

जब हाम्रा चन्द्रले भेटे भारतकी ज्योती, अनि बन्यो अर्को रेकर्ड (तस्वीर सहित) - bizmandu

लण्डन । संसारका दुई होचा भेट भए त्यो संधै ठूलो खबर बन्छ । यो विश्वका सबैभन्दा होचा नेपालका चन्द्रबहादुर डाँगी र विश्वकै होची महिला भारतकी ज्योती अम्गे पहिलोपटक भेट भए, त्यो पनि उनीहरु दुवैलाई संसारमा लोकप्रिय बनाउने संस्थाको कार्यक्रममा  । १८ वर्षकी भारतीय अम्गे र ७२ वर्षे नेपाली चन्द्रबहादुर गत हिउँदमा गिनिज वल्र्ड रेकर्डले दिएको प्रमाणपत्रका आधारमा विश्वभरी समाचारका शीर्षक बनेका थिए । यही व्लर्ड रकेर्डको किताव सार्वजनिक गर्नका लागि गरिएको फोटोसुटमा यी दुई भेट भए । आफ्नो मुलुकलाई महिचान दिने गरी पोशाक लगाएका दुवैले जोक भने, एक अर्कालाई हेरेर हाँसे अनि फोटोका लागि पोज पनि दिए ।

यी दुईको फोटोसुट आफैमा रेकर्ड पनि बन्यो, किनभने संसारका दुई होचा पुरुष र महिला एक अर्कालाई पहिलोपटक भेट गर्दै थिए । गिनिज वल्र्ड रेकर्डसको नयाँ अंक चन्द्र र ज्योतीको बीचमा राखिएको थियो । ज्योती यो कितावभन्दा एक फिट मात्र अग्ली थिइन् । ज्योतीले संसारकै होचीको उपाधी  गतवर्ष उनको १८ औं जन्मउत्सवमा पाएकी थिइन् । भारत नागपुरकी ज्योती एकोन्ड्रोप्लासिया रोग लागेको छ, यसको अर्थ हो उनी अब कहिल्यै दुई फिट शुन्य सात इन्चभन्दा अग्ली हुने छैनन् । ज्योती होची छन् तर उनका सपना होचा छैनन् ।
होचि भए पनि उनी बलिउडका थुप्रै सिनेमामा काम गर्ने अवसर पाएकी छन्, उनले यसलाई नै आफ्नो क्यारिअर बनाउन चाहन्छिन् । उनी आगामी सेप्टेम्बरमा गिनिज बुकको प्रवद्र्धनका लागि लण्डन आउँदैछन्, उनी यसका लागि अधैर्य छन् । गिनिज बुकले पहिचान दिए पछि उनले विश्वका थुप्रै देशमा भ्रमण गर्ने अवसर पाइन, उनी भन्छिन्, मलाई यात्रा रमाइलो लाग्छ । मैले जापान घुमें, युरोपको केही हिस्सामा पुगें, लण्डन पुग्न म तिव्र इच्छुक छु ।

जहाँ ज्योती विश्वलाई चिहाउने तिव्र इच्छामा जीवन अघि बढाइरहेकी छन्, त्यहीं ७२ वर्षे नेपाली चन्द्रका लागि गिनिज रकेर्डमा आफ्नो नाम पर्नु नै ठूलो उपलब्धि भएको छ । म निक्कै खुशी छु, मेरो नाम कितावमा लेखिएको छ, मलाई, मेरो परिवार, मेरो गाउँ र मेरो देशलाई यही नै सबैभन्दा ठूलो उपलब्धि हो ।
काठमाडौंबाट २५० किलोमिटर टाढा रिमखोलाका डाँगीले आफ्नो सम्पूर्ण जीवन यहीं विताएका हुन् । यही फेबु्रअरीमा उनले संसारको सबैभन्दा होचो जीवीत व्याक्तिको सूचीमा आफ्नो नाम लेखाएका हुन् । ७२ वर्षको जीवन विताइ सकेका उनी गिनिज रेकर्डका अधिकारीलाई भेट गर्न पहिलोपटक रिमखोलाबाट काठमाडौं आएका थिए । साढे २१ इन्चका चन्द्र विश्वकै होचा व्याक्ति पनि हुन् । उनले साढे २२ इन्च अग्ला गुल मोहमदको रेकर्ड तोडेका थिए ।
विश्वमा सबैभन्दा बढी विक्री हुने गिनिज वल्र्ड रेकर्डको ५७ औं अंकले पनि विक्रीमा आफ्ना पुराना सबै रकेर्ड तोड्ने अपेक्षा अधिकारीहरुले गरेका छन् । अहिलेसम्म यो पुस्तकको १२ करोड प्रति विक्री भैसकेको छ । हरेक साता यो पुस्तकका लागि एक हजार प्रतिको अडर आउँछ । गिनिज वल्र्ड रेकर्डसका अधिकारीहरुले यो कितावलाई विभिन्न भाषमा प्रकासन गर्छन भने आधिकारिक रेडर्क ब्रेकरहरुको खोजीमा विश्व घुमिरहेका हुन्छन् । डेली मेलबाट

Tuesday, August 28, 2012

कति रियल छन् 'सो!' - nagariknews

'रियालिटी सो', 'ट्यालेन्ट हन्ट', 'लिडरसिप निर्माण' जस्ता आकर्षक वाक्यहरूको जालमा परेर ठगिएका छन् धेरै प्रतिभाहरू। युवा व्यक्तित्वलाई बन्धक बनाएर पैसा कमाउनेहरूको एउटा छुट्टै संसार छ। के हुन्छ त्यो संसारमा? विवरणसहित काठमाडौँमा धनबहादुर खड्का र धरानबाट गोपाल दाहालको रिपोर्ट :

......
'सिंगिङ स्टार' भएपछि पोखरा रामबजारकी १८ वर्षीया किशोरी रितु लामालाई सानै उमेरमा ठूलै उपलब्धि हात पर्‍यो भन्ने लागेको थियो। सानैदेखि गायक बन्ने रहर पालेकी उनी संघर्षका दिन चाँडै सकिए भन्दै फुरुङ्ग भएकी थिइन्। तर, उनको प्रतिभा स्रोतासमक्ष पुर्‍याउने जिम्मा लिएको आयोजक षड्ज कला केन्द्रले धोका दिएपछि उनी यतिबेला तनावमा छिन्। एक लाख रुपैयाँ नगद, स्कुटी र पाँच लाख रुपैयाँ बराबरको लगानीमा एल्बम निकाल्ने र सपरिवार मलेसिया घुम्न पाउने आशा देखाएर रितुजस्ता हजारौँ युवायुवतीलाई तीन सय रुपैयाँ तिरेर आवेदन फर्म भर्न उक्साउने आयोजकले विजेतालाई 'डमी चेक' र 'डमी साँचो'बाहेक केही दिएको छैन। एक वर्षसम्म पाउने आशामा लगातार कला केन्द्र धाइरहेकी रितुको धैर्यको बाँध टुटेको छ। भन्छिन्, 'मलाईमात्रै धोका दिइएको होइन, मजस्ता सयौँ साथी पीडित छन्। त्यसैले म यसै चुप लाग्दिनँ।'
उपाधि छ, उपलब्धि छैन
रियालिटी सोमा उपाधि हासिल गरेर उपलब्धि हासिल नगर्ने रितु एक्ली भने होइनन्। अर्काे रियालिटी सो 'भ्वाइस अफ टिन' विजेता वेदु सारुमगर र 'नेपाली तारा' विजेता सन्तोष लामा पनि हुन्। भ्वाइस अफ टिन विजेता वेदु सारुमगरले त चार वर्षसम्म धाएर एउटा बाइक र घोषणा गरिएको भन्दा केही कम रकम हात पारे। तर, पाँच लाख रुपैयाँ बराबरको म्युजिक कन्ट्याक्टको भने आशै मारिसके। नयाँ एल्बमको तयारीमा रहेका उनी भन्छन्, 'नपाउने कुराको आश किन गर्नु भनेर छाडिदिएँ।' त्यसैगरी नेपाली तारा विजेता लामालाई विजयी हुनेबित्तिकै एल्बम निकालिदिने भनेर आयोजकले दिएको वचन तीनवर्षपछि मात्रै पूरा गर्‍यो। नेपाली ताराबाट चम्किएको उनको चर्चा मधुरो हुँदै गएको समयमा आएको उनको एल्बम 'बटुवा' बाटोमै अल्मलिएपछि उनको गायन करिअर सोचेको गन्तव्यमा पुग्न सकेको छैन।
वर्षा यामको भेलसँगै यतिबेला रियालिटी सोमा पनि बाढी आएको छ। लोडसेडिङ घटेको अवसर पारेर यतिबेला रियालिटी सो घोषणाको लहर चलेको छ। प्रतिभा भएका तर पैसा नभएकाहरूको 'सपनाको सौदा' गर्ने व्यापारीहरू सलबलाएका छन्। 'नेपाल आइडल', 'लिटिल नेपाल आइडल', 'नेपाली आइडियल', 'नेपाली डान्सिङ स्टार' जस्ता नाम दिएर उनीहरू प्रतिभा खोज्ने सस्तो नाराका साथ गाउँगाउँ डुलिरहेका छन्। तर, यस्ता रियालिटी सोमा भाग लिएकाहरू भने यसलाई सरासर ठगी भन्छन्। एक वर्षअघि भएको 'सिंगिङ आइकन'मा सहभागी १४ हजारबाट छानिँदै टप टेनमा पुग्न सफल विशाल न्यौपाने भन्छन्, 'यस्ता रियालिटी सोमा भाग लिएर पैसा र समय बर्बाद नगरेकै राम्रो।' त्रिभुवन विश्वबिद्यालयबाट म्युजिकमा एमम्युज गरेका उनले धाँधली, पैसाको लागि आयोजकले गर्ने व्यवहार र कार्यक्रमको असली रूप प्रत्यक्ष देखेभोगेको बताए।
आयोजकले सहभागीलाई लोभ्याउन गरेको घोषणा र पछि भएको व्यवहार चित्त नबुझेपछि उनले प्रतियोगिता नै बहिस्कार गरेर हिँडेका थिए। उनलाई टप टेनमै पर्न सफल दाङका अंकित न्यौपानेले पनि साथ दिए। आइकनका उत्कृष्ट २० जनालाई कार्यक्रम अवधिभर राजधानीमा खानेबस्ने व्यवस्थादेखि प्रथम हुनेलाई कार र रु. पाँच लाखको म्युजिक कन्ट्रयाक्टसम्मका प्रचार आयोजकहरूले गरेका थिए। त्यसैले उनी अर्काे प्रतियोगिता 'सिंगिङ स्टार' बीचमै छाडेर यता आएका थिए। तर, घोषणा गरेका सुविधा दिनुको साटो उल्टै ट्रेनिङको नाममा पैसा असुल्ने, पछि कार पुरस्कार भएको कुरै नगर्ने र ती कुरा कोट्याउ"दा अपमानजनक व्यवहार हुन थालेपछि उत्कृष्ट १० मध्ये सात प्रतिस्पर्धीले ज्ञापनपत्र बुझाए, आयोजक संस्थाका प्रमुख गणेश कार्कीलाई। परिणाम- विशालले शंका गरेजस्तै भयो। भन्छन्, 'भोटिङ, फर्म, प्रायोजक र ट्रेनिङ शुल्क गरी झन्डै ५० लाख असुलिसकेका गणेश प्रतियोगिताको फाइनलै नगरी हराए।' 'सिंगिङ आइकन' बनेर चम्किने सपना पालेकाहरूको सात महिनाको समय र चारदेखि पाँच लाख रुपैयाँसम्मको लगानी यत्तिकै खरानी भयो।
भ्रष्टाचारविरोधी सोमै भ्रष्टाचार
यतिमै सीमित छैन, रियालिटी सोको रियालिटी। नेताहरू 'भ्रष्ट' भए भन्दै 'राम्रा नेता' छान्ने रियालिटी सो भ्रष्टाचारकै कारण रोकियो। नेता भन्नेबित्तिकै खराब छवि मान्छेको मनमा आउने भयो भन्दै असल नेता टेलिभिजनको रियालिटी सोबाट छान्न एक वर्षअघि एउटा अर्काे रियालिटी सो भएको थियो, 'खोज-युवा नेतृत्वको'। मुलुकभरका क्षमतावान् ७५ युवा सहभागी कार्यक्रम निकै लोकप्रिय पनि भएको थियो। पत्रकार युवराज घिमिरे, महिला अधिकारकर्मी सपना मल्ल प्रधान र संविधानविद् भीमार्जुन आचार्य यसका निर्णायक थिए। तर, असल नेता छान्ने कार्यक्रममै खराबी आयो। अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी युएसएडले प्रायोजन गरेको कार्यक्रममा अनियमितता र धाँधली भएको सुइँको पाएपछि सहयोग रोकेर कार्यक्रम नै बन्द भएको थियो। खोज युवा नेतृत्वको नामक रियालिटी टेलिभिजन कार्यक्रमका प्रतियोगीहरूको प्राप्तांकमा स्टुडेन्ट पालिर्यामेन्ट रिडरिङ नेपाल (एसपिआरएन) ले अनियमितता गरेको कुरा प्रस्ट भएपछि केमोनिक्स इन्टरनेसनलले अनुदान स्थगित गर्ने निर्णय गरेको थियो। सो कार्यक्रम एसपिआरएनले निर्माण तथा सञ्चालन गरेको थियो। प्रतियोगीहरूको प्राप्तांकमा अनियमितता भएको आशंका गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको थियो। दुई हप्ताको अनुसन्धानपछि प्राप्तांकमा अनियमितता भएको र सही विजेता तोक्न नसकिने भएपछि कार्यक्रम बन्द गरिएको आयोजकले प्रेस विज्ञप्तिमार्फत जनाएको थियो। रियालिटी सो अरूको प्रतिभाको प्रयोग गरेर कमाउने माध्यमका रूपमा प्रयोग हुन थालेपछि अहिले प्रतियोगिता गर्नेको सामाजिक र आर्थिक हैसियत हेरिन थालिएको छ। अघिल्लो हप्ता नृत्य प्रतियोगिताको रियालिटी सो 'डान्सिङ स्टार-२०१२'को पत्रकार सम्मेलनमा पत्रकारका जिज्ञासामा आयोजकको जवाफ चित्त नबुझेपछि उनीहरूले सामूहिक रूपमा 'न्युज नलेख्ने घोषणा' गरे। 'माई स्टेप एन्ड एकेडेमी'ले आयोजना गरेको उक्त रियालिटी सोका विजेतालाई नानो कार, मोटर साइकल र स्कुटी पुरस्कार दिने घोषणा गरिएको थियो भने फाइनल कार्यक्रम मुम्बईमा गर्ने भनिएको थियो। मुम्बईमै दिइने यी जिन्सी उपहारको भन्सार शुल्क महँगो पर्छ। तर, बाँडिएको प्रेस विज्ञप्तिमा त्यो नखुलाएपछि उपस्थित पत्रकारले शंका गरेका थिए। आवेदन फारमको पाँच सय रुपैयाँ शुल्क लाग्ने उक्त प्रतियोगितामा प्रायोजक नै नखुलाइएपछि थप आशंका उत्पन्न भएको थियो। उक्त कुराको स्पष्टीकरण दिँदै आयोजकमध्येका एक फिल्मका कोरियोग्राफर दिनेश अधिकारीले 'पत्रकार र कलाकार नङमासु जस्तै भएको' भन्दै 'राम्रो समाचार लेखिदिए प्रायोजक खोज्न सजिलो हुने' बताएका थिए।
भारतीय टेलिभिजन च्यानलमा रियालिटी सोले पाइरहेको लोकप्रियताले नेपालमा रियालिटी सो आयोजना हुने क्रम बढे पनि उपलब्धि शून्य छ। अहिले फिल्मका गीत गायनमा निकै व्यस्त मानिएका 'नेपाली तारा' दीपक लिम्बूलाई रियालिटी सोको आयोजकले उदाहरणका रूपमा अघि सारे पनि आयोजकले उनलाई पनि टप ट्वान्टीबाटै बिदा गर्ने सोच बनाइसकेसकेको थियो। निर्णायकले अडान लिएपछि उनको प्रतिभाको कदर भयो। टप ट्वान्टीसम्म स्वतन्त्र निर्णय भए पनि त्यसपछि आयोजकले बार्गेनिङ सुरु गर्न थाल्ने बताउँछन्, यसका भुक्तभोगी विशाल न्यौपाने। उनी दाबी गर्छन््, 'गरिब नेपालीले रियालिटी सो जित्नै सक्दैन।'
एसएमएसः कमाउने खेला
रियालिटी सोका आयोजकहरूले एसएमएस भोटिङलाई पैसा कमाउने अर्काे मुख्य माध्यम बनाएका छन्। केही रियालिटी सोको निर्णायक बनेका संगीतकार राजु सिंह पनि भोटिङ हाबी भएको स्विकार्छन्। आयोजकहरूले सिंगिङ वा डान्सिङ स्टारभन्दा पनि भोटिङ स्टार बनाउन खोजिरहेको भान हुन्छ। अहिलेका बग्रेल्ती भइरहेका रियालिटी सोमा पब्लिक भोट नआउने हुनाले प्रतियोगी आफैँले घरपरिवार, आफन्त, साथीभाइले औसत रु. ६ लाग्ने एसएमएस गरेर भोट बढाउनुपर्छ, जसको ५० प्रतिशत रकम आयोजकको खातामा जान्छ। 'तिम्रो भोट धेरै कम छ, सबैलाई एसएमएस गर्न लगाऊ, नत्र हटिएला' भन्दै आयोजकले सम्झाइरहनुको कारण यही हो,' न्यौपाने भन्छन्। आइकनमै टप ९ बाट हटेकी सुषमा विकलाई त रु.३० हजार बराबरको एसएमएस भोटिङ गराए फेरि कार्यक्रममा फर्काउनेसम्म भनिएको थियो। तर, उनले स्विकारिनन्।
आर्थिक अवस्था कमजोर भएकाले यस्ता प्रतियोगिता जित्ने अपेक्षा नगरे हुने 'खोजी प्रतिभाको'मा दोस्रो स्थानमा चित्त बुझाएका उत्तमजंग लिम्बू बताउँछन्। एउटा रियालिटी सो जित्न कम्तीमा ५ लाख रुपैयाँभन्दा बढीको भोटिङ गर्नुपर्छ। नाम नलेख्ने सर्तमा एक जना प्रतियोगी भन्छन्, 'म रियालिटी सो सकेर घर फर्किँदा मेरा बाआमाले मलाई भोटिङ गरेका रिचार्ज कार्ड संकलन गरेर बोरा भरेका थिए।' रियालिटी सो चल्ने ७ देखि १० महिनासम्म सरदर एउटा प्रतियोगीको ८ देखि १० लाख रुपैयाँसम्म खर्च हुन्छ। डेढ वर्षदेखि आफ्नै एल्बमको तयारी गरिरहेका उनले चुकचुकाउँदै भने, 'त्यति पैसाले एल्बम निकालेको भए चारवटा हुन्थे। म हिट गायक भइसक्थेँ होला।' तर, अहिले बाबुआमासँग एल्बम निकाल्ने पैसा माग्दा त्यही रिचार्ज कार्डले भरिएको बोरातिर उनीहरूले औँला सो‰याउने गरेका उनी बताउँछन्। प्रतिभाशाली भएर पनि विजेता हुन कति गाह्रो छ भन्ने कुरा जान्न रितु लामा र वेदु सारुमगरलाई सोधे हुन्छ। प्रतिभाबाट प्रभावित भएर रितुलाई भोट गर्न जन्मथलो पोखराले अभियान चलाएको थियो भने वेदुलाई जिताउन पश्चिमको क्षेत्रीय संवेदनाले काम गर्‍यो।
पैसाका लागि व्यवसायीले आयोजना गर्ने भएकाले फर्मबाटै कति उठाउने भन्ने हिसाबकिताब गरिन्छ। पहिले एउटा फर्मको तीन सय रुपैयाँ लिइने गरिन्थ्यो भने अहिले फर्मको मूल्य बढाएर पाँच सय रुपैयाँ पुर्‍याइएको छ। प्रतिभा भएर पनि कमजोर आर्थिक अवस्थाले गर्दा मन खुम्च्याएर बसेकाहरू यति शुल्कमै हिट कलाकार बन्न लालायित हुन्छन्। 'सिंगिङ आइकन'को उदाहरण लिने हो भने यस्ता सपना देख्ने १४ हजारले फर्म भरेका थिए। तीन सय रुपैयाँ फर्म शुल्क भएको आइकनको फर्मबाटै आयोजकले ४२ लाख उठाएको देखिन्छ। यीमध्ये १५ सयको हाराहारीमा पहिलो अडिसनबाट पास हुन्छन्।
काठमाडौँमा प्रतियोगी अलपत्र
पहिलो अडिसन पूर्वदेखि पश्चिमका विभिन्न शहरमा गरिने भए पनि दोस्रोदेखि काठमाडौँमै हुन्छन्। यीमध्ये निम्न आय भएका धेरै जना काठमाडौँमा अलपत्र पर्ने गरेका छन्। सिंगिङ स्टारमा पहिलो अडिसन पास गरेका गायक प्रदेश लिम्बूले त्यही भएर सर्टिफिकेट च्यातेर कार्यक्रमै बहिस्कार गरे। उनले भने, 'सिंगर बन्न गाउँबाट आएकाहरूलाई दोस्रो अडिसनमा स्वर होइन, लगाएको लुगा हेरेर फालिन थालेपछि प्रतियोगिता नै बहिस्कार गरेँ।'
खोरको खसी बेचेर काठमाडौँ आएका धेरैले टेम्पूमा रात बिताएको कुरा सुनेपछि उनलाई यस्ता कार्यक्रमले कम आम्दानी भएकाको प्रतिभा बाहिर ल्याउन सक्दैन भन्ने लागेको थियो। संगीतकार राजु सिंह पनि यसमा सहमत छन्। उनी भन्छन्, 'पहिलो अडिसन नै निकै टाइट हुन जरुरी छ।'
अरूको प्रतिभामा खान पल्केको गिरोह
आयोजक भने रियालिटी सोबाट फाइदा नहुने दाबी गर्छन्। 'सिंगिङ स्टार' आयोजक षड्ज कलाकेन्द्रका प्रवास कटुवालले प्रतियोगिता गर्दा १ करोड रुपैयाँ खर्च भएको बताए। उनी भन्छन्, 'हामी ३५ लाखभन्दा बढी घाटामा छौँ।' विजेतालाई पुरस्कारको प्रायोजनका लागि सम्झौता गरेकाले नै धोका दिएकाले पुरस्कार दिन नसकिएको दावी गरेे, 'शुभारम्भ रेकर्डिङ स्टुडियोले एल्बम निकाल्ने र मालिंगो रेस्टुरेन्टले एक लाख क्यास दिने र यामाहाले बाइक दिने भनेका थिए, तर सबैले धोका दिए।' ढिलै भए पनि दिने प्रयास गरिरहेको प्रवासले बताए। रितुका बुबा खेम लामा तीनचोटिसम्म रितुको नागरिकता नभएकाले बाइक लिन आउनुपर्‍यो भनेर पोखराबाट काठमाडौँ बोलाएर रित्तो हात फर्काएको बताउँछन्। उनी भन्छन्, 'अर्काको प्रतिभालाई प्रयोग गरेर खान पल्केको गिरोह नै सक्रिय भएको छ। यसलाई रोक्न हामीले विरोध गरेका हौँ।' खेमले आयोजकविरुद्ध ठगी मुद्दामा हनुमानढोकामा उजुरीसमेत गरेका थिए। प्रहरीले आयोजकलाई पक्राउ गरे पनि पुरस्कार दिने सर्तमा छोडेको थियो। 'प्रतिभा जन्माउने थलो भनिएको षड्ज कला केन्द्रले नै प्रतिभालाई ठग्न हुन्छ?' खेमको आक्रोश थियो। भर्खरै रियालिटी सो 'खोजी प्रतिभाको-२' सकाएका दिनेश डिसीले सानो बजार र विज्ञापनदाताको अभावले गर्दा नेपालमा रियालिटी सो जम्न नसकेको बताए। 'खर्चअनुसार आम्दानी नहुने हुनाले नेपालमा रियालिटी सो गरेर विजेता घोषणा गर्नु नै ठूलो कुरा हो,' उनी भन्छन्।
विजेतालाई पुरस्कार दिन नसके पनि नाम दिएकोमा गर्व गर्छन् अयोजकहरू। सानो बजार र आयोजना गर्नेको बढ्दो संख्याले जीत हासिल गरेकाहरू बिक्ने बजार छैन नेपालमा। अहिलेका रियालिटी सो 'अस्थायी सेलिब्रिटी' उत्पादन गर्ने कारखानाजस्तो भएको नेपालको पहिलो रियालिटी सो 'प्रतिभाको डबली' का निर्देशक संगीतकार शम्भुजीत बास्कोटाको धारणा छ। उनी भन्छन्, 'दुई दिन शिखरमा चढाएर छोडिदिने आयोजकको कारणले प्रतियोगी र विजेतामै यसको नकारात्मक प्रभाव परेको छ।'
नेपालमा रियालिटी सो
नेपालमा पहिलोपल्ट २०४५ सालमा 'प्रतिभाको डबली' नामक रियालिटी सो नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो। संगीतकार शम्भुजीत बास्कोटाले उक्त कार्यक्रमको निर्देशन गरेका थिए। '२०४४ सालमा नेपाल टेलिभिजनले कार्यक्रम निर्माणका लागि अफर गरेको थियो। मलाई पहिल्यैदेखि प्रतिभा देखाउन रेडियो नेपाल, राष्ट्रिय नाचघर र प्रज्ञा प्रतिष्ठान धाइरहेकाहरूलाई केही गर्न सकिन्छ कि भन्ने लागिरहेको थियो। कार्यक्रमको अफर आएपछि उनीहरूलाई मञ्च दिन यो कार्यक्रमको निर्माण गर्ने सोच आयो,' उक्त रियालिटी सो निर्माणबारे बास्कोटा भन्छन्। मह सञ्चार, थापाथलीमा अडिसन लिएर प्रज्ञाभवनमा रेकर्ड भएको कार्यक्रम तीनमहिनासम्म प्रसारण भएको थियो।

 
पीडितका प्रतिक्रिया
म १२ कक्षा पढ्दै गर्दा सिंगिङ स्टारमा भाग लिएकी हुँ। प्रतियोगितामा भाग लिएपछि अवसरको ओइरो लाग्छ भन्ने आशा थियो। तर, अहिले आयोजकले दिन्छु भनेको पुरस्कार नै पाएकी छैन। म यत्तिकै चुप लाग्दिनँ। किनभने मैले यसका लागि कलेज, संगीतको पढाइ छाडेकी थिएँ। पैसा र समय दुवै बर्बाद भएको छ मेरो।
रितु लामा, विजेता सिंगिङ स्टार
मैले 'भ्वाइस अफ टिन' जितेको चार वर्ष भयो। तर, म्युजिकका लागि अन्य सपोर्टका कुरै छाडौँ, आयोजकबाट पूरा पुरस्कार नै पाइनँ। एल्बम निकालिदिन्छ भनेर कुरेको चार वर्ष भयो। तर, निकालिदिएन। अहिले आफ्नै लगानीमा 'आँधी चलेर हो' नामक गीत बजारमा ल्याएको छु। धाउँदाधाउँदा दिक्क लागेर अहिले त भन्नै छाडिदिएँ।
वेदु सारुमगर, विजेता, भ्वाइस अफ टिन
दुइटा एल्बम निकाल्न पुग्नेजति पैसा 'खोजी प्रतिभाको'मा प्रतिस्पर्धा गर्दै सकियो। घरबाट मागौँ भने त्यत्रो पैसा त्यतिबेलै सकियो। डेढ वर्षदेखि आफ्नै एल्बमको तयारीमा छु। कहाँबाट पैसा जुटाएर एल्बम निकाल्ने भन्ने टेन्सनमा छु।
उत्तमजंग लिम्बू, उपविजेता, खोजी प्रतिभाको-१
'सिंगिङ स्टार'मा भाग लिँदा म म्युजिकमा मास्टर्स गर्दै थिएँ। राजधानीमा खानेबस्ने व्यवस्थाका लागि केही स्कुलमा संगीत पढाउँथेँ। एल्बम निकाल्न र प्रचार गर्न आर्थिक क्षमताले धान्ने नभएपछि तीन सय रुपैयाँमै करिअर बन्छ भनेर भाग लिएको थिएँ। तर, अन्तिममा आएर आयोजकले धोका दियो। मेरो त झन्डै भएको जागिर नै गएको। त्यसैले निम्न आय भएकाले रियालिटी सोबाट मालामाल हुन्छु भन्ने सपना देख्नु मूर्खता हो।
विशाल न्यौपाने, सिंगिङ आइकन, टप टेन प्रतियोगी
सानैदेखि गीतसंगीतमा रुचि भएकाले फेयर कम्पिटिसन हुन्छ होला भन्ने ठानेर 'सिंगिङ स्टार'मा भाग लिएको थिएँ। पहिलो अडिसन पास पनि गरेँ। तर, दोस्रो अडिसनमा धाँधली हुन थाल्यो। खसी बेचेर गाउँबाट आएका प्रतिभालाई गेटअप हेरेरै फालिएपछि हामी केही साथीले सर्टिफिकेट नै च्यातेर विरोध जनायौँ। मभन्दा पनि टेम्पूमा रात बिताएर अडिसन दिने प्रतिभालाई अन्याय भएको थियो।
प्रदेश लिम्बू, प्रतियोगी, सिंगिङ स्टार रियालिटी सो प्रतिभा जन्माउने थलो हो भनिन्छ। तर, मलाई त्यस्तो लागेन। लहडमै गरिएका रियालिटी सो प्रतिभालाई दुःख दिने थलोजस्ता भएका छन्। यहाँ जजिङ र भोटिङ दुवै 'फेयर' हुँदैन जस्तो लाग्छ मलाई। त्यसैले नेपालमा रियालिटी सो नै नहोस् भन्छु म त।
प्रनेश लिम्बू, टप थ्री, सिंगिङ स्टार
 
 

मौलाउदो प्रतिभा खोज्ने धन्दा
धरान- धरानको एक होटलमा काम गर्ने शम्भु तामाङ दुई वर्षअघि देशव्यापी गायन प्रतियोगिता 'सिंगिङ आइकन'को अडिसनमा पास भएर काठमाडाँै गए। होटलको कामबाट फुर्सद निकालेर उनी हार्मोनियम बजाउँदै अभ्यास गर्थे। उनको सपना थियो- ठूलो गायक बन्ने। त्यसैले 'गायन प्रतिभा' खोजेर स्थापित गराउने नारासाथ आएको सिंगिङ आइकनमा सपनाको ठूलो भारी बोकेर प्रवेश गरे शम्भु। उनले ऋण खोजेर पैसा खर्च गरे, काठमाडौँमा लामो समय बस्नुपर्‍यो। तर, त्यतिबेला उनका सपना खरानी भए, जब कार्यक्रम अलपत्र पारेर आयोजकहरू नै भागे। झापा, उर्लाबारीका निसान भट्टराई पनि यही मारमा परे। सानै उमेरमा ठूलो गायक हुने सपना बोकेर उनले सिंगिङ आइकनमा भाग लिएका थिए। टप टेनमा पर्न सफल उनले यही क्रममा पाँच लाख रुपैयाँ र समय बर्बाद गरे।
केही साता अघिको कुरा हो। झापा बिर्तामोडको ओझेल ब्यान्डले पूर्वाञ्चलव्यापी 'ब्यान्ड च्यालेन्ज' आयोजना गर्‍यो। च्यालेन्जमा भिड्न धरान, इटहरी, विराटनगरलगायत शहरबाट ब्यान्डहरू सहभागी भएका थिए। तर, दर्शक र निर्णायकहरूको समेत छनौटमा परेका ब्यान्डलाई पछि पार्दै झापा, केर्खाको एउटा ब्यान्ड विजेता घोषित भयो। धरानका एक सहभागी भन्छन्, 'त्यो ब्यान्डले आयोजकलाई राम्रो सहयोग गरेको रहेछ। सहयोग नगर्ने छनौटमा परेनन्।'
पूर्वमा ताल-तालका रियालिटी सो भइरहेका छन्। आइडल, तारा, आइकन, सुन्दरीजस्ता उपाधिसँगै नाम र दाम कमाउने सपनाका साथ लाखौँ रुपैयाँ खर्च गर्न तम्सने युवायुवती नभएका होइनन्। तर, अधिकांशका सपना भताभुंग भएका छन्। प्रतिभा खोजीको नाममा केहीको कमाउने धन्दा फस्टाएको छ।
आफ्नो प्रतिभा प्रदर्शन गर्ने नाममा लाख रुपैयाँसम्म खर्चिनेहरू 'हारे पनि हार, जिते पनि हार' को स्थितिमा हुन्छन्। यस्ता प्रतियोगिताको सुरुमै फारम भर्नदेखि, अडिसन, तालिमजस्ता अनेक बहानामा आयोजकलाई पैसा बुझाउन बाध्य हुन्छन्, प्रतियोगीहरू। यस्ता प्रतियोगितामा सहभागीका गायन, नृत्य वा अरू बौद्धिक क्षमताको कुनै मूल्यांकन गरिँदैन। बरु उनीहरूको मार्केटिङ सिप र अरूबाट पैसा झार्ने क्षमताको मूल्यांकन गरिन्छ। अर्थात्, आयोजकले तोकेका टिकट जसले बढी बेच्न सक्यो या जसले बढी सहयोग ल्याउन सक्यो, उही विजेता बन्ने गरेको छ। अझ कतिले त एसएमएस भोटिङमा खर्च हुने पैसा सिधै लिने आइडिया लगाएर भोटको नाममा टिकटसमेत बेच्ने गरेका छन्। गत वर्ष धरानमा भएको गायन प्रतियोगिता 'म पनि के कम'का आयोजकले सहभागीलाई एक-एक बिटो टिकट दिएर बेच्न लगाए। 'मोबाइलबाट एसएमएस गर्दा ५ रुपैयाँ खर्च हुन्छ,' प्रतियोगिताका एक सहभागीले भने, 'त्यसबाट आयोजकले थोरै पैसा पाउँछ रे, अनि सिधै ५ रुपैयाँको चिट बनाएर चिनेजानेकालाई बेचेर आयोजकलाई बुझायौँ। कति साथीका परिवारले नै हजारौँ चिट किनिदिए।'
गत वर्ष गरिमा डान्स सेन्टरले आयोजना गरेको नृत्य प्रतियोगिता 'नटराज ३' मा पनि आयोजकले सहभागी प्रतिस्पर्धीहरूलाई टिकट बेचेको आधारमा अंक दिएर विजय बनाएको विषयमा विवादसमेत भएको थियो। प्रतियोगिताका मुख्य निर्णायक नगेन्द्र राईले नटराजको विजेता घोषणा गर्ने क्रममा मञ्चमै गएर बोलेका थिए, 'हामी निर्णायकले छानेको विजयी, विजयी नहुँदो रहेछ। आयोजकका केही बाध्यता होलान्।' 
 

खोज (भाग १) - mysansar

बस्, म एउटा असल मान्छे बन्न चाहन्छु
-कर्ण शाक्य-
‘सोच’ ले मलाई नयाँ पहिचान दियो — एउटा लेखकको। यो कुरा मैले यसअघि नै भनिसकेको छु। र ‘कान्तिपुर’मा समय–समयमा छापिने मेरा लेखहरूले पनि मलाई केही पहिचान दिएका छन्। तर त्यस्तो पहिचान मैले पचाउन सकिरहेको छैन। किन हो कुन्नि, आफूलाई लेखकका रूपमा स्वीकार्न नै मैले सकिरहेको छैन। कहिलेकाहीँ साहित्यिक कार्यक्रमहरूमा मलाई निम्तो गरियो भने पनि म अनेक बहाना गरी त्यहाँ नजाने प्रयास गर्छु। थुप्रै साथीहरूले मलाई एउटा चिन्तकका रूपमा हेर्न थाल्नुभएको छ। त्यो पनि मलाई स्वीकार्य भइरहेको छैन। चिन्तक हुन त महान् आदर्शवान् व्यक्ति हुनुपर्छ, नैतिकवान् हुनुपर्छ। म न त ठूलो नैतिकवान् व्यक्ति हुँ, न आदर्शवान् नै।

मैले जिन्दगीमा थुप्रै भूलहरू गरेको हूँला। कतिपयलाई सायद चित्त पनि दुखाएको हूँला। यो प्रतिस्पर्द्धात्मक जिन्दगीमा आफू अगाडि बढ्दा अरूलाई मैले पछाडि धकेलेको पनि हुन सक्छु। जानेर वा नजानेर मैले केही शत्रु पनि बनाएको हूँला। विद्यार्थीकालमा कहिलेकाहीँ चोरेर पनि जाँचमा पास गरेँ हूँला। जवानीमा लफङ्गो भएर प्रेमका अनेक खेलहरू त खोलेकै हुँ र घरपरिवारलाई दुःख पनि दिएँ नै हूँला। उद्योग र व्यापार गर्ने क्रममा मैले कहिलेकाहीँ नैतिक सिद्धान्तलाई शतप्रतिशत पालना नगरेको पनि हुन सक्छ। तर एउटा कुरा छातीमा हात राखेर अहिले पनि म गर्वका साथ भन्न सक्छु — जिन्दगीमा म कसैको टाउकोमा टेकेर माथि उक्लेको छैन र कसैलाई बिगारेर आफू बनेको छैन। बस्, म एउटा सभ्य र असल मान्छे बन्न खोज्छु, असल काम गर्न खोज्छु। सकभर अरूको चित्त दुखाउने र अरूलाई बिगार्ने काम म गर्न चाहन्नँ। अन्जानमै पनि कसैको चित्त दुखेको हुन सक्छ, त्यसमा म के गर्न सक्छु र?
म एउटा साधारण मान्छे हुँ। म आफ्ना साथीभाइसित रमाइलो गरेर बस्ने इच्छा राख्छु। साथीभाइसित गफ गर्दा असनमा गुच्चा खेलेको सम्झना गर्ने, जवानीकालमा आफ्ना केटीसाथीहरूका रोमाञ्चकारी घटनाक्रमलाई याद गर्न रुचाउने र आफ्नो परिवारका सदस्यहरूलाई औधी मन पराउने एउटा आम नागरिक हुँ म।
कुनै–कुनै पाठकले मलाई एउटा ठूलो राष्ट्रवादीका रूपमा हेर्न खोजेका छन्। म आम राष्ट्रवादी नागरिकजस्तै हुँ र राष्ट्रलाई माया गर्छु। तर राष्ट्रका नाममा सारा कुरा त्याग गरेर राष्ट्रवादी भावनाको पोखरीमा चुर्लुम्म डुबी ‘त्वम् शरणम्’ गर्न सकूँलाजस्तो मलाई लाग्दैन। यद्यपि जब मैले अमेरिकामा बस्ने एउटी नेपाली महिलासित दोस्रो विवाह गरेँ, त्यो बेला आफ्नो राष्ट्रियताप्रति म बढी नै भावुक भएर मैले आफ्नी श्रीमतीको अमेरिकाको राहदानी र ग्रीनकार्ड फर्काउने कोसिस गरेको थिएँ। मेरी श्रीमतीले पनि मेरो आग्रहलाई स्वीकारेर आफ्नो अमेरिकी ग्रीनकार्ड नेपालकै राजदूतावासमा फर्काइदिएकी थिइन्। थुप्रै साथीहरूले भनेका थिए, ‘अमेरिकाको ग्रीन कार्ड प्राप्त गर्न कति गाह्रो हुन्छ, किन फर्काउने!” तर मैले मानिनँ र फर्काउन लगाएँ। मेरो आग्रहलाई उनले पनि विनाप्रतिवाद सहज रूपमा स्वीकारिन्। त्यो बेला मलाई राष्ट्रवादको स्वादले आत्मसन्तुष्टि भयो र गर्व पनि लाग्यो। तर राष्ट्रवादको स्वादकै लागि मैले त्यसो गर्नु आवश्यक थियो कि थिएन भन्ने प्रश्न अचेल कहिलेकाहीँ मेरो मनमा उठ्ने गर्छ।
मेरा कान्छा छोराले अमेरिकामा अध्ययन गरी फर्किंदा अमेरिकामै होटल चलाउने योजना बनाएका थिए। मैले त्यो योजनामा अस्वीकृति जनाएँ र विषम परिस्थितिका बाबजुद पनि सम्पूर्ण लगानी नेपालकै पर्यटन–उद्योगमा लगाएँ। त्यो बेलामा मैले रमाइलो स्वाभिमानको अनुभूति गरेको थिएँ। तैपनि कहिलेकाहीँ म आफैँसँग प्रश्न गर्छु, ‘आफ्नो इच्छाका लागि मैले आफ्ना छोराको सपनालाई लत्याउनु ठीक थियो कि थिएन?”
वि. सं. २०५४ मा मेरी कान्छी छोरी त्रिशाग्नी भारतका शाही परिवारका बच्चाहरू प्ाढ्ने अजमेरको एउटा स्कुलमा पढ्दै गर्दा मैले त्यस स्कुलबाट निकालेर उनलाई नेपालकै स्कुलमा भर्ना गराएको थिएँ। त्यो बेला पनि मलाई आत्मसन्तुष्टि मिलेको थियो। मेरी कान्छी छोरी अमेरिकामा जन्मिएकी हुँदा उनी अमेरिकी पासपोर्ट सजिलै पाउन सक्थिन्। तर छोरी जन्मेको १६ वर्षसम्म मैले उनका लागि अमेरिकी पासपोर्ट लिइनँ। पछि नेपालको शिक्षण अवस्था गोलमाल भएपछि मात्र मैले छोरीलाई अमेरिकामा पढाउन पठाउने विचार गरेँ। अमेरिकामा पढ्न जाँदा त्यहाँकै नागरिक भइयो भने थुप्रै सहुलियत प्राप्त गर्न सकिन्छ भन्ने लोभले मैले मेरी छोरीको अमेरिकी पासपोर्ट लिएँ। पहिले त मेरो विचार थियो म मेरी छोरीलाई नेपालकै स्कुलमा पढाउँछु र नेपालकै कलेजबाट डिग्री हासिल गराउँछु। तर जतिसुकै सकारात्मक सोच राखे पनि नेपालको तत्कालीन राजनीतिक गतिविधि र स्थितिलाई मैले सामान्य रूपमा लिन सकिनँ।
म केही समयअघिको कुरो गर्न चाहन्छु। त्यस बेला दिनप्रतिदिन नेपालको स्थिति बिग्रँदै गइरहेको थियो। संसारको सबैभन्दा सुरक्षित सहर मानिने काठमाडौँैमा दिउँसै बैङ्क लुटियो, मानिसलाई अपहरण गरियो, फिरौती मागियो। तैपनि तत्कालीन गृहमन्त्री, राजनीतिक नेता र मानव–अधिकारवादीहरूले दुई शब्द पनि बोलेनन्। राजनीतिक सङ्क्रमणकालको बहाना बनाएर यस्ता छिटपुट घटना हुन्छन् भन्दै ठूला–ठूला आपराधिक क्रियाकलापहरू नदेखेजस्तो गरे। मलाई त्यस बेला लाग्यो, ‘कसरी बाँच्न सकिन्छ यस्तो सामाजिक अवस्थामा? दिउँसै खुला सडकमा लाखौँलाख रुपियाँ डकैती हुन्छ, बच्चाहरूलाई अपहरण गरेर लास नदीमा फ्याँकिन्छ, काम गरिखाने परिश्रमी मान्छेलाई अनाहकमा दुःख दिइन्छ, यस्तो अन्योल परिस्थितिमा कुन आशा र विश्वास लिएर बाँच्ने?” अनि अहिलेकै कुरो गर्ने हो भने पनि जुन स्थितिमा हामी बाँचिरहेका छौँ, हामीले पहिले यस्तो स्थितिको कल्पनै गरेका थिएनौँ। लामो समयसम्म लोडसेडिङ हुन्छ, पानी छैन, मट्टितेल छैन, खाना पकाउने ग्याँस छैन, पेट्रोल छैन, डिजेल छैन। सहरका हरेक सडक र गल्ली कति अस्तव्यस्त छन् भने दस मिनेटको बाटो काट्न दुई घन्टा समय लाग्छ।
भावना मात्र भएर कहाँ हुन्छ! मानिस आफ्नो व्यक्तिगत जिन्दगीको स्वार्थका लागि मात्र बाँच्तैन। उसको आफ्नो परिवार हुन्छ र परिवारको भविष्यका लागि पनि उसले बाँच्नुपर्छ। सबैजना भगवान् बुद्ध, महात्मा गान्धी र विनोवा भावेजस्ता बन्न सक्तैनन्। त्यसैले अन्तमा मैले मेरी छोरीका लागि अमेरिकी पासपोर्ट लिएँ।
त्रिशाग्नी मैले बुढेसकालमा पाएको सबैभन्दा कान्छी छोरी भएकी हुँदा म उनीप्रति अलि बढी नै नजिक छु। दस–बाह्र वर्षसम्म म उनलाई सधैँ स्कुल पुर्‍याउने र लिन जाने गर्थेँ। मेरो औँला समातेर उनले हिँड्न जानिन्, काँधमाथि बसेर स्विट्जर्ल्यान्डको आल्प्सदेखि पोखराको अन्नपूर्ण हिमालसम्मको देशदर्शन गरिन्। यसपालि सौभाग्यवश अमेरिकाको म्यासाचुसेटस्थित एउटा अत्यन्त राम्रो र प्रसिद्ध स्मिथ कलेजमा उनको दाखिला भयो। छोरीको पढाइ राम्रो भएको हुँदा सो कलेजमा उनलाई ६० प्रतिशत आर्थिक सहयोग पनि दिइयो। नान्सी रेगन, लाउरा बुस र प्रसिद्ध महिलाहरूले अध्ययन गरेको ‘स्मिथ’ जस्तो प्रसिद्ध कलेजमा आफ्नी छोरीको दाखिला हुँदा मलाई धेरै गर्व लागे तापनि बच्चैदेखि आफ्नोमुटुसँगै हुर्काएकी छोरीलाई विदेशमा पढ्न पठाउँदा मन एकदमै गह्रौँ हुनु स्वाभाविकै थियो।
सन् २००८ साल अगस्टको १७ तारिखमा छोरीलाई पुर्‍याउन म म्यासाचुसेटस्थित नर्थ≈याम्प्टन सहरमा पुगेँ। कलेजका भव्य ऐतिहासिक भवनहरू देखेर मन सन्तुष्टिले गदगद भयो। तैपनि छोरीलाई भर्ना गराइसकेपछि आफू नेपाल फर्केर जानुपर्ने सोचले म डराइरहेको थिएँ। छोरी पनि बाबुलाई छोड्न सक्ने मानसिक स्थितिमा थिइनन्। अगस्ट २३ तारिखमा म नेपाल फर्कनुभन्दा एक दिन अगाडि छोरीसित एउटा राम्रो रेस्टुरेन्टमा गएर सँगै डिनर खाने विचार गरेको थिएँ। डिनर खान जानुभन्दा पहिले छोरीलाई स्मिथ कलेजमा पढ्न आउने अरू नयाँ विद्यार्थीहरूसित चिनजान गराउन कलेजको डाइनिङ हलमा लगेँ।
‘छोरी, दस–पन्ध्र मिनेटजति नयाँ साथीहरूसित चिनजान गर्नू, अनि हामी दुवैजना रेस्टुरेन्टमा खान जाउँला।” — मैले भनेँ।
छोरीले भनिन्, ‘पर्दैन ड्याडी, उनीहरूसित त म भोलिपर्सि भेटिहाल्छु नि! आजको साँझ ड्याडीसितै बिताउँछु।”
तैपनि मैले फेरि भनेँ, ‘होइन, नयाँ साथीहरूलाई भेट्नुपर्छ। बरू चाँडै भेटेर आऊ।”
त्रिशा डाइनिङ हलमा पसिन् र नयाँ विद्यार्थीहरूसित चिनापर्ची गर्न थालिन्। दस मिनेट बित्यो, छोरी बाहिर निस्किनन्। बीस मिनेट भयो, आधा घन्टा भयो, छोरी हलबाट बाहिर निस्किनन्। पछि मैले आफ्नो मोबाइलबाट छोरीलाई सम्पर्क गर्दै भनेँ, ‘जाऊँ छोरी डिनर खान, अबेर भइसक्यो, मलाई पनि भोक लागिसक्यो। डिनर खाएर भोलि नेपाल फर्कनलाई प्याकिङ गर्नुपर्छ।”
त्रिशाले टेलिफोनबाट भनिन्, ‘ड्याडी! आज मैले यहाँ साथीहरूसित नै डिनर खाए कसो होला? तपाईं रेस्टुरेन्टमा डिनर खान जानुस् न!”
छोरीको कुरा सुनेर मलाई अनायास एउटा अनौठो सुख र दुःखको अनुभूति भयो। त्यो बेला मैले रुडियार किप्लिङ्को जङ्गलबुकको कथा सम्भि्कएँ। एउटा जङ्गलमा लावारिस फ्याँकिएको मुङ्ली नामक एउटा मान्छेको बच्चालाई एउटा भालुले पाल्छ, माया गर्छ र हुर्काउँछ। मुङ्ली ठूलो भएपछि जब उसले अरू मानिसलाई भेट्छ, ऊ भालुलाई छोडेर गाउँतिर पस्न थाल्छ। त्यो बेला सायद भालुलाई पनि मलाई जस्तै दुःख र सुखको अनुभूति भयो होला। दुःख कुन कुरामा भने अब आफूले पालेको मुङ्ली आफ्नो रहेन, र सुख कुन कुरामा भने आफूले हुर्काएको बच्चा अब आफ्नै संसारमा रमाउँदैछ।
अगस्टको २४ तारिखमा म नर्थ≈याम्प्टननजिकैको एयरपोर्टबाट न्युयोर्क हँुदै नेपाल फर्कनु थियो। रातभरि बाबुछोरी दुवैलाई निद्रा लागेन। मलाई आफ्नी छोरीलाई कसरी छाडेर जाने भन्ने विचार आइरहेको थियो भने छोरीलाई पनि त्यही चिन्ताले सताइरहेको थियो। रातभरि हामी दुवैजना खाटमा यताउता पल्टिरहेका थियौँ र निदाउन सकिरहेका थिएनाँै। बिहान साढे सात बज्यो। छोरीलाई उठाएँ। दुवैजना चुपचाप नुहाई–धुवाई गरेर डाइनिङ हलमा ब्रेकफास्ट खान गयौँ। हामीले अन्नको एक दाना पनि घाँटीबाट निल्न सकिरहेका थिएनौँ। मलाई बोल्न मुस्किल भइरहेको थियो पुत्रीमोहको मायाको भकानो फुट्ला भनेर।
स्मिथ कलेज हामी बसेको होटलबाट तीन सय मिटर मात्र टाढा थियो। मैले त्रिशालाई भनेँ, ‘छोरी! अब तिमी कलेज जाऊ। म यहीँबाट एयरपोर्ट जान्छु।” त्यो बेला बाबु–छोरी दुवैका आँखाबाट अनियन्त्रित रूपले बरर आँसु झरिरहेका थिए। छोरीका सामानहरू पहिले नै होस्टलमा पुर्‍याइसकिएको हुँदा उनले आफ्नो सानो झोला बोकेर मलाई अँगालो मार्दै रुन्चे स्वरले ‘गुड बाइ ड्याडी, आइ लभ यू, डोन्ट वरी एबाउट मी, मेरो चिन्ता नलिनू’ भनिन् र कलेजको होस्टलतिर लागिन्।
त्यो बेला नर्थ≈याम्प्टनको एलोम सडक हुस्सुको मलमली पातलो पछ्यौरीले ढाकिरहेेजस्तो थियो। सडकका दायाँ–बायाँ ठूलाठूला म्यापल रूखमा टम्म ढाकेका आकर्षक पाँचकुने राता र पहेँला पातहरूले शरद ऋतुको आगमनको सङ्केत गरिरहेका थिए। रङ्गीन पातले वातावरणलाई अलौकिक बनाइरहेको थियो एउटा सुन्दर तस्बिरको एष्अतगचभ उभचाभअत दृश्यजस्तै। फुटपाथमा झरेका रङ्गीन पातहरूमा कुल्चँदै त्रिशा विस्तारै कलेजतिर गइरहँदा मलाई उनी सानी बच्ची हुँदा टुकुटुकु हिँडेर स्कुल गइरहेजस्तो लागिरहेको थियो। सायद आँखाबाट निरन्तर बगिरहेको आँसु लुकाउन नसकेकीले होला, त्रिशाले मलाई फर्केर हेरिनन्।
मेरी सानी छोरी, बाबुका लागि कहिल्यै नहुर्केकी छोरी त्यो क्षणमा अन्जान बाटोमा खुरुखुरु हिँडिरहँदा बुढेसकालको मेरो खेलौना एउटा नौलो संसारमा लम्किरहेको जस्तो आभास भयो। १७ वर्षसम्म छातीमा हुर्किएकी छोरीको त्यो बिछोडको अनुभव एक किसिमले मीठो र पिरो थियो। त्रिशा बिस्तारै नर्थ≈याम्प्टनको हुस्सुमा हराउन थालिन्। त्यो बेला मलाई लाग्यो, मेरो जीवनको धनुषबाट निस्किएको छोरीरूपी वाण अब स्मिथ कलेजको विद्यासागरको गर्भमा लक्ष्यभेदन गर्न गइरहेको छ। मेरो जीवनको धनुषबाट निस्किएको मेरो त्यो बाण अब मेरो नियन्त्रणमा रहने छैन। त्यो आफ्नो संसारमा लम्किरहेको छ। त्यो क्षणमा मलाई लाग्यो, मेरी सानी छोरी अब ठूूली भइछे।
मलाई थाहा छ, राम्रो भविष्यले मेरी छोरीलाई पर्खेर बसिरहेको छ। तर छोरीको बिछोडको पीडालाई मैले सजिलै सहन सकिरहेको छैन। मूलतः मैले आफ्नी छोरीलाई देशको असुरक्षित परिस्थितिका कारणले नै विदेशमा पठाउने निर्णय गरेको हुँ। कस्तो दुःखद विडम्बना, संसारको विश्वस्तरीय वैभव र सम्ाृद्धिलाई चटक्कै त्यागेर आफ्नै मातृभूमि नेपालमा कटिबद्ध र प्रतिबद्ध भई काम गरिराखेका हाम्रा डाक्टरहरूका छोराछोरीलाई समेत अपहरण गरी अमानवीय दुःख र पीडा दिँदा पनि राज्यले ती सपूत नागरिकहरूको सुरक्षा गर्न सकेन। यस्तो विषम परिस्थितिमा कुन छाती लिएर हामी शान्तिपूर्वक जीविकोपार्जन गर्न सक्छौँ? साँच्चै, देशको परिस्थिति राम्रो भएको भए सायद म कुनै पनि हालतमा आफ्नो सन्तानलाई बाहिर पठाउने थिइँन हुँला।
पाठकहरूले मलाई राष्ट्रवादी चिन्तकका रूपमा लिने गरेका हुँदा छोरीका लागि अमेरिकी पासपोर्ट लिने बेलामा र विदेशमा पढ्न पठाउदा मैले आफैँसँग एउटा अप्ठ्यारो प्रश्न गरेको थिएँ, ँके मेरी छोरीका लागि अमेरिकी पासपोर्ट लिनु जरुरी थियो? के उनलाई विदेशमै पठाउनुपर्ने आवश्यकता थियो?” तर त्यसो गरेकोमा मलाई लघुताभास भएन। यो मैले ठीक गरेँ वा गरिनँ, मलाई थाहा छैन। तर धरातलीय व्यवहारमा कहिलेकाहीँ यी सैद्धान्तिक कुराहरूको कुनै माने हुँदो रहेनछ।
एकचोटि एकजना वरिष्ठ राजनीतिक क्रान्तिकारी नेताको अन्तर्वार्ता टेलिभिजनमा हेरेको थिएँ। उहाँले आफ्नो क्रान्तिकारी जीवन बिताउँदा–बिताउँदै पनि आफ्नी छोरीलाई विदेशमा पढ्न पठाउनुभएको थियो। त्यो बेला अन्तर्वार्तामा ‘तपाईंकी छोरी कहाँ हुनुहुन्छ?’ भनेर प्रश्न गर्दा ‘विदेशमा छिन् तर सुरक्षाका कारणले म ठीक ठेगाना भन्न चाहन्नँ’ भनी उनीबाट जवाफ दिइएको थियो।
जनक्रान्तिका निमित्त आफ्नो सम्पूर्ण जिन्दगी दाउमा राख्ने उहाँहरूजस्ता ठूलाठूला राष्ट्रवादीहरू त आफ्ना बालबच्चाको भविष्यप्रति त्यति चिन्तित हुनुहुन्छ भने, मैले भन्ठानेँ – के म उहाँहरूभन्दा माथिको राष्ट्रवादी हुँ र? मैले विचार गरेँ, किन अप्ठेरो मान्ने मजस्तो एउटा साधारण व्यवसायी र उद्यमीले? आफ्नी छोरीले पाएको अधिकारलाई किन लत्याउने? अमेरिकी नागरिकताको प्रमाणपत्र उनले पाउन सक्छिन् र अमेरिकामा सजिलै पढेर उनले आफ्नो भविष्य सुरक्षित बनाउन सक्छिन् भने मैले आफ्नो भावनात्मक स्वार्थका निमित्त आफ्नो छोरीको भविष्यको बलिदान किन दिने? हो, आफ्नो सैद्धान्तिक भावनाका लागि आफ्नी छोरीको उज्ज्वल भविष्यलाई भोग दिने अधिकार मसँग थिएन र छैन। आमाबाबुको कर्तव्य हो आफूले जन्माएका सन्तानको भविष्य सुनिश्चित गर्नु। बस्, मैले त्यही गरेँ।
‘सोच’ किताबमा मैले प्रस्तुत गरेका मेरा केही भावनात्मक घटनाक्रमहरू पढेपछि केही पाठकवर्गले मलाई सन्त–महन्तका रूपमा पनि लिन थाले, कसैले ‘आर्ट अफ लिभिङ’ अभियान सञ्चालन गर्ने एउटा व्यक्तित्वका रूपमा पनि हेर्न थाले र कसैकसैले त मलाई दीपक चोपडा र शिव खेराजस्तै ‘म्यानेज्ामेन्ट गुरु’ का रूपमा पनि लिन थाले। एक दिन एकजना व्यक्तिले मलाई टेलिफोन गरे र भने, ँसोच किताब पढिसकेपछि मेरो जिन्दगीमा एउटा स्प्ा्कूर्ति जागरण भयो, म आशावादी भएँ। म तपाई‘लाई भेट्न चाहन्छु।”
आफ्नो पाठकको कुरो सुनेर म दङ्ग परेँ र मैले उनलाई तुरुन्तै आफ्नो घरमा बोलाएँ। उनले सरकारी कार्यालयमा अधिकृत पदमा काम गरेका रहेछन् र देशका विभिन्न जिल्लाहरूमा काम गरिसकेका रहेछन्। तर उनको पारिवारिक जिन्दगीचाहिँ अलि अप्ठ्यारो रहेछ। श्रीमती र छोरी साइबाबाका भक्त भएका हुँदा बिहानदेखि साँझसम्म साइबाबाको भक्तिमा लीन हुने गर्दा रहेछन्। उनीचाहिँ एक्लै घरमा बसेर दिन कटाउँदा रहेछन्। पछि उनले जागिर छाडेछन् र पाँच–छ वर्षसम्म त्यस्तो जिन्दगी बिताएपछि दिक्क भएर घरै छाडी नैराश्यपूर्ण जिन्दगी बिताउन थालेछन्। उनले भने, ँतपाईंको किताब पढेपछि अब फेरि बाँच्ने रहर आयो। अब तपाईँ मलाई कहीँ काममा लगाइदिनुस्। म काम गरेर नयाँ जिन्दगी बिताउन चाहन्छु।”
अब मलाई पर्‍यो आपत! कहाँ काममा लगाउने! सरकारी कर्मचारी भएर काम गरेको मान्छेलाई होटलको कुन काममा लगाउने? तैपनि मेरो
शरणमा आएको मान्छेलाई मैले कसरी निराश बनाई फर्काउने! अप्ठ्यारो मानी–मानी मैले आफ्ना छोराहरूलाई उनका लागि होटलमा निरीक्षण गर्ने काम दिन अनुरोध गरेँ। बाबुको कुरा नाइँ भन्न नसकेर होटलमा काम गर्ने मानिसहरू धेरै हुँदाहुँदै पनि उनलाई मेरा छोराहरूले काममा लगाइदिए। त्यसपछि त उनले आफ्ना झिटीगुन्टा सबै बोकी होटलकै एउटा सानो कोठामा बसेर काम गर्ने योजना बनाए। बाबुले पठाएको मान्छेसँग जस्तो पायो त्यस्तो व्यवहार गर्न मिलेन भन्ने ठाने छोराले। होटलकै कोठामा बसेर उनले काम गर्न खोजेको कुरो मलाई छोराले सुनाए। मैले उनलाई सम्झाई–बुझाई स्टाफक्वार्टरमा बसेर काम
गर्न अह्राएँ। वास्तवमा उनी मान्छे नराम्रा रहेनछन्, तर सरकारी अधिकृत भएर काम गरेका हुँदा उनमा त्यस्तो भावना जागृत भएको हुन सक्छ।
उनी इम्ाँनदार र मिहिनेती त रहेछन्, तर मैले थाहा पाएँ उनको एउटा कमजोर पक्ष पनि रहेछ। कहिलेकाहीँ उनी कसैसित नबोलीकन चुपचाप बसिरहँदा रहेछन्। केही समयपछि फेरि उनलाई एकैचोटि रिस उठ्तो रहेछ र जोसित पनि झगडा गर्न खोज्दा रहेछन्। सायद उनमा द्वैध मनस्थिति (बाइपोलार सिन्ड्रम) भएको हुन सक्छ। वास्तवमा यो समस्या विकसित समाजका थुप्रै मानिसलाई हुने गर्छ। तर थाहा नपाएर यो मानसिक रोगलाई व्यक्तिविशेषको आचरणसँग गाँसेर हेर्ने गरिन्छ। यस्ता मानिसहरू कहिलेकाहीँ धेरै निस्त्रि्कय हुन्छन्, कहिलेकाहीँ चाहिनेभन्दा बढी सक्रिय हुन्छन्। धेरैजसोलाई यो थाहा नै हँुदैन। तर जुन घरमा बाइपोलारका व्यक्ति हुन्छन्, उनीहरूले मात्र बुझेका हुन्छन् यस्ता मनोरोगीहरूलाई सम्हाल्न कति गाह्रो हुन्छ! सायद उनको यही जटिल व्यक्तित्वका कारणले हुन सक्छ उनकी श्रीमती र छोरी साइबाबाको शरणमा गएका।
होटलमा दुई–तीन महिना काम गरेपछि उनले सबै कर्मचारीहरूसित झगडा गरे। पछि उनलाई होटलबाट बाहिर पठाउन मलाई धेरै गाह्रो पर्‍यो। त्यो बेला मलाई धेरै दुःख पनि लाग्यो विना कुनै दोष उनलाई मैले काम गराउन सकिनँ भन्ने कुरामा। तर मैले गर्ने के? अरूलाई माया गरेर मैले आफ्नो होटलको व्यवस्थापन बिगार्न पनि त भएन! कहिलेकाहीँ यस्तो अप्ठ्यारो परिस्थितिले मलाई उकुसमुकुस बनाउँछ। अहिलेसम्म पनि मैले उनलाई केही सहयोग गर्न नसकेकोमा दुःख लाग्छ।
कहिलेकाहीँ कतिपय पाठकले मलाई ‘दानवीर कर्ण’ पनि भन्ठान्दा रहेछन्। हो, मलाई कसैसित लिनभन्दा कसैलाई दिन मन लाग्छ। तर दिन पनि कतिसम्म दिने? घरमा कहिलेकाहीँ रोगीहरू आउँछन्, अनेक बिरामीहरू आउँछन्, सामाजिक कार्यकर्ताहरू चन्दा लिन आउँछन्। आउने जति सबैलाई अलिअलि मात्र दियो भने पनि हजारौँहजार पुग्छ। त्यत्रो धनसम्पत्ति दिन सक्ने धनाढ्य पनि त होइन नि म! थुप्रै पाठक मलाई एउटा दाता भन्ठानेर अनेक सहयोगको अपेक्षा गर्न घरमा आउँछन्। कोही जागिर खान, कोही आफ्नो रोगको उपचार
गर्नका लागि मकहाँ आर्थिक सहयोग लिन आउँछन्। नाइँ भन्न गाह्रो हुन्छ, तर सबैलाई दिन पनि सकिन्नँ।
वर्ष दिनपहिलेको कुरो हो। एउटा अधबैँसे मान्छे मलाई भेट्न आयो। ं एक दिन ऊ बिहान सबेरै मेरो घरमा आइपुग्यो। म चाँडै नउठ्ने मानिस भएको हुँदा ऊ दुई घन्टासम्म ढोकाबाहिरै पर्खिरहेको रहेछ। नुहाइ–धुवाइ गरिसकेपछि म अखबार पढिरहेको बेला ढोकाबाट पालेले मलाई फोन गरेर ऊ मलाई दुई घन्टादेखि पर्खिरहेको कुरो सुनायो।
बिहान सबेरै समय नमिलाईकन आएको अपरिचित मान्छेलाई भेट्न म असाध्यै हिच्किचाउँछु। काम हुने मानिस त पहिले नै फोनबाट समय मिलाएर आउँछ। समय नलिई आउनेहरूमध्ये धेरैजसोचाहिँ जबर्जस्ती चन्दा उठाउनका लागि आउँदा रहेछन्। कोही मन्दिर, धर्मशाला र गुम्बा बनाउनका लागि, कोही इन्डिया, श्रीलङ्का र बङ्गलादेशमा शैक्षिक भ्रमण गर्नका लागि र कोही उपचार गर्नका लागि। कहिलेकाहीँ राजनीतिक कार्यकर्ताहरू बिहानैदेखि किचकिच गर्न आउँछन्। अनि त दिनभरि नै खल्लो लाग्छ।
राजनीतिक, धार्मिक र सामाजिक क्षेत्रमा लागेका समाजसेवीहरूको भावना मैले नबुझेको होइन। म आफैँ पनि विगत बीस–तीस वर्षदेखि समाजसेवामा लाग्दै आएको हुँदा चन्दाविना नेपालमा कुनै पनि काम हुँदैन भन्ने कुरा मलाई थाहा छ। सामाजिक, राजनीतिक र धार्मिक कामहरूका निमित्त सरकारले पैसा दिँदैन र दिन पनि सक्तैन। तसर्थ उनीहरूले चन्दा उठाउनु बाध्यता पनि हो। कि त समाजसेवा नै गर्न भएन, गर्ने नै हो भने चाहे पनि नचाहे पनि चन्दा उठाउनका निमित्त जोरजुलुम त गर्नैपर्‍यो।
चन्दा उठाउन सजिलो छैन र अहिलेको माहोलमा जबर्जस्ती गरेर चन्दा उठाउनुपर्ने स्थिति पनि छ। तर विडम्बना के छ भने समाजसेवीहरूले चन्दादाताहरूको सम्ास्या बु‰न सक्तैनन्। समाजसेवीहरू धेरैजस्ाो आफूलाई अत्यन्त स्वाभिमानी र अरूहरूका लागि हामी काम गर्दैछाँै, त्यसैले अरूले हामीलाई आदर–सम्मान दिनुपर्छ भन्ठान्छन्। हुन पनि हो, समाजसेवीहरूको आदर–सम्मान समाजमा हुनैपर्छ। तर समस्या कहिलेकाहीँ के हुँदो रहेछ भने समाजसेवीहरू जहाँ अर्थसङ्कलन गर्न जान्छन्, त्यहाँ उनीहरूजस्ता धेरै समाजसेवीहरू चन्दा उठाउन पुगेका हुन्छन्। सबै चन्दादाताहरूले सबै
समाजसेवीहरूको भावनालाई बुझेर कदर गर्नैपर्छ भन्ने छैन। किनभने चन्दादाताका निमित्त त सबै समाजसेवी। क्यान्सरका क्षेत्रमा काम गर्ने पनि समाजसेवी, एड्सका क्षेत्रमा काम गर्ने पनि समाजसेवी र मठमन्दिरको निर्माणदेखि लाखबत्ती बाली होम गर्नेहरूसम्म समाजसेवी। चन्दादाताहरूले ती सबै समाजसेवीहरूलाई चन्दा दिएर पनि साध्य हुँदैन। जब चन्दादाताहरू समाजसेवीहरूलाई चन्दा दिँदैनन् र उनीहरूको भावनालाई कदर गर्दैनन्, तब समाजसेवीहरूलाई रिस उठ्छ र चन्दा नदिनेहरूलाई अगाडि वा पछाडि अनेक प्रकारका गाली गर्छन्।
वास्तवमा चन्दा स्वेच्छाले दिने कुरा हो। जसलाई इच्छा छ, उसले दिन्छ। दबाब सिर्जना गरेर चन्दा लिनु हुँदैन। समाजसेवीहरूले चन्दादाताहरूको बाध्यतालाई पनि बु‰नुपर्छ। नेपाल धनाढ्य देश होइन। जतिसुकै धनी भनेर फुर्ति गरे पनि विदेशीहरूको दाँजोमा यहाँका धनाढ्यहरू केही होइनन्। त्यसमा पनि नेपालमा धनाढ्य भनेकै कति नै छन् र? सीमित धनाढ्यहरूका घर–आँगनमा सधैँ चन्दा उठाउनेहरूको ओइरो लाग्छ। एक–दुईजनालाई मात्र चन्दा दिने हो भने चन्दादाताले विनाझन्झट चन्दा दिन सक्छ। तर अनगन्ती समाजसेवीहरू आउन थाले भने उसले क–कसलाई चन्दा दिइरहने? यो बाध्यतालाई धेरै कम समाजसेवीहरूले बुझेका छन्।
अर्कातिर कतिपय चन्दादाताहरूले समाजसेवीहरूको भावनालाई पनि बुझेका हँुदैनन्। नेपालका धेरैजसो धनाढ्यहरू राजनीतिक कार्यका लागि पार्टीहरूलाई चन्दा दिन हिच्किचाउँदैनन्। अझ एक कदम अगाडि नै बढेर आर्थिक अनुदान दिन कम्मर कस्छन्। नेपालमा यस्ता धनाढ्यहरूको कमी छैन जो आफ्नो विलासपूर्ण जिन्दगी बिताउन र निहित पारिवारिक स्वार्थका लागि लाखौँलाख रुपियाँ खर्च गर्न हिच्किचाउँदैनन्, तर सामाजिक कार्यका लागि सय रुपियाँ चन्दा दिनुपरे दाँतबाट पसिना चुहाउँछन्। कहिलेकाहीँ ती व्यक्तिहरूको मनस्थिति देेखेर मलाई साँच्चै घृणा लाग्छ। वास्तवमा त्यस्ता धनाढ्यहरूको पैसा कहीँ न कहीँबाट फजुल रूपमा खर्च भइरहेको हुन्छ। या त उनीहरूको पैसा नेता र कार्यकर्ताहरूले उडाइदिएका हुन्छन्, या त उनीहरूको अनियमित व्यापारिक बदमासी ढाकछोप गर्न सरकारी कर्मचारीले खाइदिएका हुन्छन्।
मेरो घरमा पनि चन्दा लिन आउनेहरूको ताँती कम हुँदैन। सच्चा समाजसेवी हो रहेछ भने आफ्नो औकातले भ्याएसम्म मद्दत गर्छु। सकिनँ भने अलिअलि दिएर पठाउँछु, कसैलाई सम्झाएर पठाउँछु र सम्झाउँदा पनि मानेनन्
भने त्यस्तालाई बाध्यतावश गाली पनि गर्छु। मकहाँ कुनै गरिब क्यान्सरपीडित वा उसका परिवार आर्थिक वा कुनै किसिमको सहयोग लिन आए भने सहयोग गर्न म कोसिस गर्छु। जोसुकैलाई चन्दा दिन सकिँदैन र जसलाई पायो त्यसलाई चन्दा दिएर सम्भव पनि छैन। क्यान्सररोगसम्बन्धी समस्याबाट भुक्तभोगी भएको हुँदा म अलि बढी सहयोग क्यान्सरका क्षेत्रमा पुर्‍याउने गर्छु। तर धार्मिक र राजनीतिक कामका निमित्त म चन्दा दिन हिच्किचाउँछु। कहिलेकाहीँ राजनीतिक कार्यकर्ता र नेताहरूको दबाबमा आफ्नो सिद्धान्तलाई कायम राख्न सकिँदैन। उनीहरूसित रिसाउन पनि भएन र सम्झाएर सम्झने खालका मानिस पनि होइनन् उनीहरू। वर्तमान राजनीतिक परिवेशमा यो समाजको पोखरीमा बस्ने हो भने गोहीहरूसित वैरभाव गरी बस्न पनि सकिन्न। त्यसैले राजनीतिक क्रियाकलापका निमित्त नचाहँदा–नचाहँदै पनि कहिलेकाहीँ चन्दा दिनैपर्ने हुन्छ।
प्रसङ्ग थियो मलाई बिहानै भेट्न आउने मान्छेको। ढोकामा दुई घन्टासम्म बसेर मलाई को पर्खिरहेको छ, त्यसमा मलाई कौतूहल थियो। पहिले ‘छैन भन’ भन्न खोजेको थिएँ, तर पछि मन फेरेँ। को आएको हो भन्ने थाहा पाउन फोनबाटै ‘कस्तो खालको मान्छे हो? राजनीतिक कार्यकर्ता हो कि मलाई चिन्ने कुनै आगन्तुक हो?’ भनेर सोधेँ। पालेले ‘कमिज–सुरुवाल लगाएको छ, अलि दुःखीजस्तो देखिन्छ, एक्लै आएको छ’ भनी मलाई फोनबाटै खबर दियो। धेरैजसो चन्दा लिन आउने मान्छे एक्लै आउँदैनन्, समूह भएर आउने गर्छन्। त्यसैले चन्दा लिन त अवश्य आएको होइन होला भन्ने ठानेर मैले त्यस मानिसलाई भित्र पठाउन लगाएँ। पैँतीस–चालीस वर्षको अधबैँसे मानिस थियो त्यो। झट्ट हर्दा इमानदारजस्तै देखिन्थ्यो। निधार अलि अँध्यारो थियो। नमस्ते गर्दै ऊ मेरो अगाडिको मेचमा बस्यो। मेचमा बस्नासाथ विनाहिच्किचाहट उसले आफ्नो समस्या मलाई पोख्यो।
उसकी श्रीमतीलाई पाठेघरको अपरेसन गर्नुपरेको रहेछ। अलि लामै समयसम्म वीर अस्पतालमा बस्नुपर्ने देखेको हुँदा मसित अपरेसनको खर्च र औषधिका लागि आर्थिक सहयोग माग्न आएको रहेछ। उसका लागि झन्डै पचास–साठी हजार रुपियाँको आवश्यकता थियो। उसले मसित सिधै पैसा माग्ोन। पहिले त उसले अस्पतालका डाक्टरहरूलाई खर्च कम गराउन केही भनसुन गर्न सकिन्छ कि भनेर मलाई सोध्यो। पछि स्वास्थ्यकोषबाट केही आर्थिक सहयोेग प्राप्त गराउन सकिन्छ कि भन्ने प्रश्न गर्‍यो। म एकदमै अलमल्ल परेँ त्यसले साँचो बोलिरहेको छ कि झूटो भनेर। किनभने हिजोआज
स्वास्थ्य–उपचारको बहाना गरी सहयोग लिन आउनेहरू यस्तै खालका चलाखीपूर्ण कुराहरू गर्ने गर्छन् र डाक्टरको कागज लिएर आर्थिक सहयोग माग्नका निमित्त घरदैलोमा डुलिहिँड्ने फटाहाहरू पनि धेरै छन्।
तैपनि उसको कथा सुनेर म किंकर्तव्यविमूढ भएँ। केही दिनअघि मात्र दुईजना क्यान्सरपीडितहरूलाई सहयोग दिई पठाएको थिएँ। अब यस मानिसलाई कति पैसा दिने मैले? उसको व्यथा साँचो त होला, तर कतिजनालाई दिने र दिइरहने? अब त यस्ता मानिसहरूका आपतविपत्का कुराहरू सुन्दासुन्दा ममा अहिले सम्वेदनशीलता नै कम भइसकेको छ। अब पहिले–पहिलेजस्तो दुःखीहरूको दुःखको धारमा बग्ने बानी पनि अलि कम भइसकेको छ। मैले उसलाई सिधै भनेँ, ‘हेर्नुस्, तपाईँलाई अलिअलि पैसाले पुग्ने कुरा भएन। म तपाईँलाई हजार रुपियाँ त दिउँला, तर यसले तपाईँलाई पुग्दैन। तपाईँकी श्रीमतीलाई क्यान्सर भएको रहेछ भने म संस्थालाई भनेर अर्काे हजार–पन्ध्र सय मिलाइदिन्थेँ होला। तर तपाईँलाई यतिका दाम म एकैचोटि दिन सक्तिनँ, के गर्ने?”
केही पनि नबोलीकन उसले जमिनमा टोलाएर हेरिर≈यो। एकछिनपछि उसले भन्यो, ँहुन्छ हजुर! हजुरले दिन सक्नेजति दिइबक्सियोस्, अरू नपुग हजुरका साथीहरूलाई एकचोटि भन्दिबक्सियोस्। म उहाँहरूकहाँ सहयोग माग्न जाउँ्कला। आखिर आफ्नी बिरामी श्रीमतीलाई त बचाउनैपर्‍यो।” त्यो कुरा सुनेर किन–किन मेरो मनमा शङ्का लाग्यो यो मानिस मसँग साँचो कुरा गरिरहेको छैन कि भनेर। मैले उसलाई मेरा साथीहरूको नाम बताउन चाहिनँ। किनभने पहिले–पहिले पनि मैले मेरा धेरै साथीहरूलाई अरूलाई सहयोग गर्न अनुरोध गरेको थिएँ र उनीहरूले खुसीसाथ सहयोग गरेका थिए, तर अचेल झर्काे मानेर गर्छन्। अब त उनीहरूलाई आग्रह गर्न पनि अप्ठ्यारो लागिसक्यो। जे होस्, त्यो मानिस बडो चलाखजस्तो भान भयो मलाई, अरूभन्दा फरक। उसका बारेमा थप जानकारी लिन मलाई उत्सुकता भयो। मैले उसलाई सोधेँ, ँतपाईँले मेरा बारेमा कसरी थाहा पाउनुभयो?”
पहिले त उसले मेरो नाममै गल्ती गर्‍यो ‘कर्णमान शाक्य’ भनेर। जब कसैले मेरो नाम सही तरिकाले सम्बोधन गर्दैन, मलाई रिस उठ्छ। वास्तवमा ऊ मकहाँ आउनुभन्दा पहिले अन्त कहीँ आर्थिक सहयोग माग्न गएको रहेछ। त्यहाँबाट क्यान्सरका क्षेत्रमा मैले काम गरिरहेको थाहा पाएर त्यस मानिसले मकहाँ पठाएको रहेछ। मकहाँ पठाउने मान्छेको नाम पनि उसले भनेको थियो,
तर मैले उसलाई चिनेको थिइनँ। त्यो मान्छे पढेलेखेको देखिन्थ्यो र मर्म र भावनासँग खेल्न जानेको मान्छे पनि थियो। उसका सम्पूर्ण हाउभाउ र मनोदशा देखेर मैले यकिन गर्न सकिनँ त्यसले झूटो बोलिरहेको थियो वा साँचो। कहिले भुइँमा हेर्थ्यो, कहिले मेरा आँखामा। घरीघरी मलाई लाग्थ्यो उसका दुःखी आँखाले अनेक उपायहरू खोजिरहेका छन्। कहिले मैले उसका आँखामा अस्पतालमा बसिरहेकी उसकी श्रीमतीको व्यथा देखिरहेको थिएँ। उसको मायालाग्दो मुहार देख्ता मलाई केही पैसा दिएर पठाऊँ जस्तो पनि लागेको थियो। तर म बेइमान मानिसहरूबाट ठगिन पनि चाहन्नँ र मैले उसलाई खुलस्त नकार्न सकिरहेको पनि थिइनँ।
आर्थिक सहयोग गर्नुभन्दा अर्कै किसिमले मदत गर्ने तरिका सोचेर खल्तीबाट निकाल्न लागेको एक हजार रुपियाँ खल्तीमा राख्तै मैले उसलाई भनेँ, ँहेर्नुस्, म तपाईँलाई पैसा त दिन सक्तिनँ, तर एउटा सल्लाह दिन्छु।” अनि मैले उसलाई एउटा उपाय दिएँ, ँम तपाईँलाई एउटा स्टोभ किनिदिन्छु, चिया पकाउने भाँडो किनिदिन्छु र गिलास राख्नका लागि फलामे तारले बनाएको किस्ती किनिदिन्छु। तपाईँकी श्रीमतीको अपरेसन गरिसकेपछि पनि अस्पतालमा राख्नुपरिहाल्छ। तपाईँ कुरुवा भएर तपाईँकी श्रीमतीको खाटमुनि बस्नुपर्ने नै हुन्छ। त्यो बेला तपाईँले अस्पतालको कुनै कुनामा चिया पकाएर जनरल वार्डमा बस्ने बिरामी र बिरामीकुरुवाहरूका निमित्त चिया बेच्ने र कहिलेकाहीँ बिस्कुट र दुनोटसमेत बिक्री गर्न सक्नुभयो भने केही आम्दानी हुन्छ। स्टोभ र चिया पकाउने भाँडो भएपछि त्यसैमा तपाईँलाई र तपाईँकी बिरामी श्रीमतीलाई खाना पकाउन पनि सक्नुहुन्छ। यसले गर्दा बाहिर होटलमा खर्च हुने पैसा बच्छ। यसै गर्नुस्। तपाईँ दिउँसो आउनुस्, स्टोभ र भाँडाकुँडा म किनिदिन्छु।” मैले आश्वासन दिँदै फेरि भनेँ, ँचिया बेचेर कमाएको पैसाले पुगेन भने म अरू थप आर्थिक सहयोग पनि गरौँला र अर्बुद रोग निवारण सङ्घलाई अनुरोध गरेर त्यहाँबाट पनि केही पैसा मिलाइदिउँला।”
ऊ मलाई ट्वाल्ल परेर हेरिरहेको थियो। मेरो बोलीबाटै उसले अड्कल गरिसकेको थियो होला ‘यस्तो काम पनि गर्न सकिन्छ र?’ भनेर, अनि नाइँ भन्यो भने म उसलाई हकार्नेछु भनेर। मनमनमा म दङ्ग परेँ। अब अन्योलमा
पर्नुपर्ने आवश्यकता भएन। उसकी श्रीमती साँच्चै बिरामी परेकी हो, ऊ आफ्नी श्रीमतीलाई माया गर्छ र बचाउन चाहन्छ भने लोग्ने भएको नाताले ऊ जेसुकै पनि गर्न सक्छ। त्यसको स्थितिमा म भएको भए म त्यसै गर्थें भन्ने विश्वास
ममा थियो। त्यसैले मैले उसलाई निर्धक्क आफ्नो सल्लाह दिएँ। उसले नाइँनास्ती केही गरेन, बरू विचार गरेर मलाई दिउँसो भेट्न आउने कुरा गर्‍यो। तर त्यो मान्छे आएन। अनि मलाई खुसी लाग्यो म एकजना ठगबाट ठगिन पाइनँ भनेर।
त्यो रात मैले बिहान त्यो मान्छेलाई दिएको सल्लाह सम्झँदै केही सोचिरहेँ। कस्तो अर्थपूर्ण खोज यो! अरूसित भीख पनि माग्नुपरेन, श्रीमती बचाउन खर्च पनि जोडियो र अलिअलि आम्दानी बचाएर आफ्नो गाउँमा समेत लान सकियो। मेरो परिभाषामा खोज यही हो। त्यो मानिसले चिया बेचेर आफ्नी श्रीमतीलाई बचाउन सकेको भए थुप्रै पैसा खर्च गरी विदेशमा लगेर औषधि–उपचार गर्नुभन्दा कम हुँदैनथ्यो त्यसको सेवाको भावना, मूल्य र मान्यता। त्यसो गरेको भए ऊ असल मान्छे हुँदैनथ्यो र? असल मात्र होइन, अरूका लागि उदाहरणीय पनि हुन्थ्यो। हुन त यो सानो घटनाक्रम हो। तर यसमा हामीले गहिरिएर सोच्यौ‘ भने हामीलाई प्रभावकारी एवं व्यावहारिक शिक्षा प्राप्त हुन्छ। चन्दाका लागि घर–घर धाउने समय बिरामीको सेवामा समर्पण गर्न सकिन्छ। बिरामीले अपनत्व प्राप्त गरी उसको रोग चाडै बिसेक हुन सहयोग पुग्छ। विदेशिने पैसा बच्न सक्छ। त्योभन्दा पनि ठूलो कुरा, बिरामी र उसका आफन्तको स्वाभिमान शिखरजस्तै अग्लिन्छ।
मनमा आशा लिएर मेरो घरमा चन्दा लिन आउनेहरूलाई चन्दा दिन सकिनँ भने कहिलेकाहीँ असाध्यै अप्ठ्यारो लाग्छ। म सोच्छु, चन्दा लिन खालि मकहाँ मात्र आउँछन् कि अरूकहाँ पनि जान्छन्? सायद मेरो पुस्तक ‘सोच’मा ‘लिनुभन्दा दिनु रमाइलो हुन्छ’ भनेर लेखिएको हँुदा मप्रति आशा जागेको हो कि? एकचोटि वनस्थली विद्याश्रममा दस जोड दुईका विद्यार्थीहरूलाई काउन्सिलिङ गर्ने क्रममा भाषण गर्न जाँदा स्कुलका संस्थापक लक्ष्मण राजवंशीले उपस्थित विद्यार्थी र शिक्षकसामु ‘कर्ण शाक्य दानवीर कर्ण हो’ भनी परिचय दिँदा मलाई असाध्यै असजिलो लागेको थियो। हुन त ‘सोच’ पुस्तकले मलाई धेरै इज्जत दियो, तर कहिलेकाहीँ अनपेक्षित सम्मानले मलाई धेरै अप्ठ्यारो पनि पार्छ। यो किताबले मलाई सहरदेखि दुर्गम क्षेत्र र अस्टे्रलिया, अरब र अमेरिकाजस्ता थुप्रै मुलुकहरूमा पनि पहिचान दियो। पहिले–पहिले त प्रशंसाबाट मन फुरुङ्ग भएको थियो, तर पछि पाठकवर्गका भावुक प्रतिक्रियाहरूबाट असजिलो अनुभव हुन थाल्यो।
युवा पाठकहरूले आफ्नो कल्पनाको संसारमा मलाई एउटा आदर्श पुरुष (रोल मोडल) का रूपमा राख्न लाग्ोको अनुभव भयो। यो उचाइ मेरा लागि धेरै माथिको जस्तो लागेको छ र त्यहाँ बस्ने आँट मैले गर्न सकिरहेको छैन। यस स्थितिले गर्दा आफूले आफैँसँग डराउनुपर्ने अवस्था सिर्जना हुन गयो। सच्चाइको जिन्दगीभन्दा ठूलो आकार Larger than life मा बाँच्न गाह्रो हुँदो रहेछ। म जो हुँ, त्यसैमा बाँच्न सजिलो छ।

-------------------------------------------------------------------------------------------------

सञ्जीवनी
-कर्ण शाक्य-
अरूहरूका निमित्त बाँच्नु सजिलो छैन। क्यान्सरबाट मेरी पहिली श्रीमती र छोरीको देहावसान भएपछि म आठ–दस वर्षसम्म यो क्षेत्रमा अन्तरात्माबाटै लागेको थिएँ। क्यान्सर रोगी र उनीहरूका आफन्तसित पीडा र दुःख कम गर्न जानी–नजानी मैले काउन्सिलिङको काम गरेको थिएँ। पछि यसले मेरो दिमागमा एउटा प्रतिकूल असर पार्न थाल्यो। अकस्मात राति दुई बजे निद्राबाट झसङ्ग बिउँझिने, मनमा अनायास डर लाग्ने, अनि एकैछिनमा चिटचिट पसिना आउने हुन थाल्यो। काठमाडौँमा यो मानसिक समस्याबारे मैले कुनै साइक्याट्रिक डाक्टरहरूसित छलफल गर्दा अर्कै हल्ला हुन्छ भनेर अमेरिकाको हवाइ जाँदा मानसिक रोगका एकजना डाक्टरसित जाँच गराएँ।
सबै कुरा सुनेपछि डाक्टरले बीचैमा ‘आइन्दा अब कुनै पनि बिरामी र बिरामीका परिवारहरूलाई सरसल्लाह दिने काउन्सिलिङको काम नगर्नू’ भनी सल्लाह दिए। वास्तवमा कसैको दुःख र पीडाबारे कुरा गर्ने पनि एउटा प्रक्रिया र प्रविधि हुँदो रहेछ। बिना ज्ञान कसैको दुःख साट्न लाग्यो भने यसले दूरगामी असर पार्दो रहेछ। वास्तवमा के भएको रहेछ भने जब म कुनै बिरामी र उसका परिवारलाई ढाडस दिन खोज्छु, त्यो बेला उनीहरूको दुःखद पीडाका अंश मेरो दिमागका कोशकोशमा गएर सुटुक्क बस्दा रहेछन्। पछि जब पीडाका धेरै कथाहरू दिमागमा थुप्रिन्छन्, अनि त्यसलाई धान्न नसकेर कहिलेकाहीँ मध्यरातमा त्यो पीडाले तर्साउँदो रहेछ।
कैयौँचोटि मेरा परिवारका सदस्यहरूले मलाई भनेका छन्, ‘अब भयो, जेजति गर्न सक्नुहुन्थ्यो, गर्नुभयो। अब तपाईले जिन्दगीको अर्को धार सुरु गर्नुपर्‍यो।’ दोस्रो विवाह गरेपछि क्यान्सरसम्बन्धी समाजसेवाबाट संन्यास लिने विचार मैले पनि गरेको थिएँ। किनभने जुन बेला म क्यान्सरको कुरो गर्छु, त्यो बेला मेरो मनभित्र बितेका भावनात्मक एवम् मार्मिक लहरहरूमा म बग्ने गर्छु। त्यसरी अतीतका सम्झनाहरूमा हराउँदा सायद मेरी दोस्री श्रीमतीको मनमा अवश्य पनि असजिलोपन र अप्ठ्यारोपन अनुभव भएको हुन सक्छ। किनभने कुनै पनि श्रीमतीलाई आफ्ना श्रीमान्को अरूसितको सम्बन्ध स्वीकार्न सजिलो हुँदैन, चाहे त्यो अर्की आइमाई मेरै पहिलेकी श्रीमती नै किन नहोऊन्।
मनमा यस्ता खालका संवेदनशील व्यावहारिक कुराहरू आए पनि मैले क्यान्सरसम्बन्धी समाजसेवाको क्षेत्रलाई छोड्नै सकिनँ र यस क्षेत्रमा लागेका मेरा अन्य मित्रहरूले पनि मलाई छोड्न दिएनन्। खास गरी मेरा अत्यन्त प्रिय मित्र दिवाकर राजकर्णिकार, जो अहिले नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष हुनुहुन्छ, उहाँ मलाई क्यान्सरसम्बन्धी हरेक कार्यक्रमहरूमा सहभागी बनाइरहनुहुन्छ। यस क्षेत्रमा निरन्तर लागिरहेको हुँदा यस रोगबारे ममा धेरै जानकारी पनि भइसकेको छ। डाक्टरले जस्तै यो रोगको प्रतिकारात्मक एवम् उपचारात्मक पक्षसमेत मैले विस्तृत रूपले जान्ने मौका पाएको छु।
तीन वर्षपहिले बैङ्ककको बुम्रुङग्राड अस्पतालबाट मेरो प्रोस्टेटमा क्यान्सर नभएको रिपोर्ट दिइएको थियो। छ महिनापछि रगत जचाउँदा PSA मा फेरि बढोत्तरी भएको देखियो। त्यसपछि मैले क्यान्सरबारे अरू थप जानकारी लिन खोजेँ। लोग्नेमान्छेको रगतमा PSA बढी देखियो भने यसले ट्युमरको सङ्केत गर्छ। मलाई थाहा छ, साठी वर्ष नाघेपछि थुप्रै मानिसलाई प्रोस्टेटमा पिसाबसम्बन्धी अनेक रोगहरू हुन सक्छन्। साधारणतया रगतमा PSA बढी हुनासाथ क्यान्सरको शङ्का गरिन्छ। तर कतिपय साथीहरू PSA बढी हुँदाहुँदै पनि केही नगरीकन डरले होला सायद त्यसै बसिरहन्छन्। यसरी बस्न हुन्छ भनेर त भन्न सकिन्न, तर भन्छन् मानिस प्रोस्टेटको क्यान्सरले मर्दैन रे ! किनभने यो कति ढीलो बढ्छ रे भने भविष्यमा उसलाई प्रोस्टेटको क्यान्सरले सताउनुभन्दा पहिले नै बुढेसकालका अन्य रोगहरूले उसलाई सताउँछन् रे !
तर क्यान्सरसम्बन्धी ज्ञान र चेतनाले मलाई त्यसै चुपचाप बस्न दिएन। मैले आफ्नो रोगबारे विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय डाक्टरहरूसित सरसल्लाह लिने काम गरिरहेँ। यसै क्रममा दुई वर्षपहिले म फेरि बैङ्ककको बुम्रुङग्राड अस्पतालमै पुगेँ र मेरो पहिलेकै डाक्टरलाई जचाएँ, बोन स्क्यानिङ गराएँ, केही देखिएन। पेटको अल्ट्रासाउन्ड गराएँ, केही भेटिएन। मुत्रद्वारमा डाक्टरले औँला घुसारेर जाँच गरे, त्यहाँ पनि कुनै असाधारण सङ्केत देखिएन। तर PSA भने घट्तै घटेन। प्रोस्टेटसम्बन्धी बेल्जियमका विश्वविख्यात डाक्टर आइन मार्गरेटले त भने पनि, ‘अब केही धन्दा मान्नुपर्दैन, रक्तपरीक्षण गर्ने काम छोडिदेऊ, आरामले बस, मासु धेरै नखाऊ, एक्सरसाइज गर र क्यान्सरको चिन्ता छोड।’
मलाई पनि लाग्यो, अब त्यसरी नै जिन्दगी बिताउनुपर्ला ! तर कहाँ हुन्छ ! एकचोटि क्यान्सरको शङ्का लागेपछि त्यसका बारेमा निर्क्योल त गर्नैपर्‍यो ! शङ्कैशङ्कामा जिन्दगी आरामले बाँच्न सकिँदैन। एकचोटि सत्य थाहा पाएपछि जे हुन्छ, देखा जाएगा। जिन्दगी बिताउन धेरै गाह्रो त हुँदैन ! बैङ्ककका डाक्टरले फेरि प्रोस्टेटको बायोप्सी गर्ने सल्लाह दिए। बायोप्सी गर्न खोजेको थिएँ, तर पहिलेजस्तै इन्फेक्सन हुन्छ होला भन्ठानेर मैले बैङ्ककमा बायोप्सी गर्न मानिनँ र काठमाडौँमा फर्केर दिल्लीमा गई एउटा राम्रो डाक्टरकहाँ बायोप्सी गराउने विचार गरेँ। मेरा जेठा छोरा सुनील मसँग रिसाए, ‘यस्तो राम्रो अस्पताल छोडेर अब कहाँ नेपाल र इन्डियामा बायोप्सी गर्ने ! यहाँसम्म आइसकेपछि यहीँ गर्ने नि ! अब कहाँ फर्कने !’
छोराले जबर्जस्ती गरे पनि मैले मानिनँ र नेपालमै फर्किएँ। काठमाडौँ आएपछि मेरी श्रीमतीले अमेरिकामा आफ्ना माइती भएका हुँदा त्यहीँ गएर उपचार गर्ने कुरा गरिन्। त्यो पनि मैले मानिनँ। नमान्नुको पनि कारण छ। त्यो के भने अमेरिकामा मेरो एउटा मित्र छ डा. स्टिभ स्टिभेन्स। ऊ युनिभर्सिटी अफ म्यासाच्युसेट, युम्यासको समाजशास्त्रको प्राध्यापक हो। उसलाई पनि प्रोस्टेटको क्यान्सर भएको थियो। सात वर्षपहिले बोस्टन सहरको एउटा उच्चस्तरीय अस्पतालमा शल्यक्रिया गरेको थियो। शल्यक्रियापश्चात घाउ नै राम्ररी निको नभईकन तीन दिनमै पेटमा पाइप र पिसाब सङ्कलन गर्ने प्लास्टिक ब्यागसमेत झुन्ड्याई उसलाई डिस्चार्ज गरेर घर पठाइएको थियो। अपरेसनको टाँका नकाटेसम्म उसले अस्पतालमै बसेर उपचार गर्न खोजेको थियो। तर ‘इन्सुरेन्स पोलिसी याने’ बीमासम्बन्धी नियमले नदिएपछि घरैमा बसेर उपचार गर्नुपर्ने बाध्यता भयो। घर गएको तीन दिनपछि नै पाइप्ाबाट आउनुपर्ने पिसाब बन्द भएछ। उसलाई परेको पीरमर्का मलाई सुनाउँदा यस्ता समस्याहरू नेपालमा मात्र होइन, अमेरिकामा पनि हुँदा रहेछन् भन्ने कुरा थाहा पाइयो। विदेशीहरू त बच्चैदेखि स्वतन्त्र जीवनशैली बिताउने भएका हुँदा यस्ता समस्याहरूलाई उनीहरू सहजै लिन्छन्, तर टाउको मात्र दुख्यो भने पनि
परिवारको सहानुभूति चाहिने हामी नेपालीहरूका लागि त्यो त्यति सजिलो हँुदैन। जब अमेरिकामा स्टिभजस्ता विशिष्ट स्थानीय बासिन्दालाई त त्यस्तो आपत पर्न सक्छ भने हामीलाई त्यहाँ कस्तो हालत हुन्छ होला?
पैसा बढी खर्च हुन्छ भनेर अमेरिकामा उपचार गर्न नचाहेको होइन। कहिलेेकाहीँ हामीलाई अपर्झट आपतविपत् आइपर्दा हतारिएर हामी त्यस्तो निर्णय गर्छाैं जसका कारण हामीले पछि पछुताउनुपर्ने हुन्छ। क्यान्सर रोग लाग्यो भने यस रोगलाई एकचोटि मात्र उपचार गरेर पुग्दैन। एकचोटि मात्र उपचार गरिने भए त जहाँ पनि गइन्थ्यो होला। तर समय–समयमा स्वास्थ्य–परीक्षणका लागि विदेशमा धाइरहनुपर्छ। कतिचोटि जाने? भिसा चाहियो, डलर साट्नुपर्‍यो, परिवार र आफ्ना सबै उद्योग–व्यापारलाई छाडेर महिनौँँ–महिनासम्म बाहिर बस्नुपर्‍यो। स्वास्थ्य–उपचारका निमित्त विदेश जाँदा सम्पूर्ण परिवारका सदस्यको र आºनो पनि मन स्थिर हुँदैन। बिरामी शरीर बोकेर विदेश जाँदा शारीरिक, मानसिक र आर्थिक तनाव खप्नु सजिलो कुरो होइन। विदेशमा बसी उपचार गराउँदा बिरामीलाई घरको सम्झनाले सताउँछ र सम्पूर्ण परिवारलाई पनि विदेशमा बिरामीलाई के भइरहेछ भन्ने डर–त्रासले सताउँछ। त्यसैले मैले या त नेपालमा या भारतमा स्वास्थ्य–उपचार गर्ने निर्णय गरेँ। अन्तमा मैले दिल्लीको राजीव गान्धी क्यान्सर अस्पतालमा बायोप्सी गर्ने विचार गरेँ। कथम्कदाचित् क्यान्सर भएको थाहा पाइयो भने पनि त्यहीँ शल्यक्रिया गरेर उपचार गर्ने मनसाय बनाएँ।
दिल्ली जान टाढा पनि छैन। हवाइजहाजको टिकट पाइएन भने रेलबाट पनि जान सकिन्छ। भारतको कुनै पनि सहरमा उपचार गर्न जाँदा एक्लै पनि जान सकिन्छ र केही पैसाको व्यवस्था गर्न सकियो भने सम्पूर्ण परिवारलाई समेत लिएर जान सकिन्छ। योभन्दा आरामदायी उपचार के हुन सक्छ?
म सबै परिवार र काम गर्ने मानिसहरूलाई समेत लिएर दिल्लीमा उपचार गर्न गएँ। दिल्लीको रोहनीस्थित राजीव गान्धी अस्पतालका डाक्टर सुधीर रावलसित अनुमति ९ब्उउयष्लत्कभलत० लिएर भेट्न गएँ। चालीस–पैँतालीस वर्षका, अग्ला, हेर्दैमा डाक्टर भन्न लायकका व्यक्ति रहेछन् उनी। कुरा गर्ने धेरै कम, तर रोगका बारेमा उनको ज्ञान धेरै राम्रो रहेछ। पन्ध्र–बीस मिनेट कुरा गरेपछि मेरो मनमा लाग्यो यही डाक्टरसित म बायोप्सी गराउँछु र क्यान्सर रहेछ भने पनि यही डाक्टरको हातबाट शल्यक्रिया गराउँछु।
रोगको उपचारका निमित्त डाक्टरलाई विश्वास गर्न सक्नुपर्छ। आशा र विश्वासविना रोगको उपचार गर्न सकिँदैन।
बैङ्ककमा बायोप्सी गराउँदा अति नै नराम्रो किसिमले इन्फेक्सन भएको हुँदा राम्ररी विचार गरिदिनका निमित्त मैले डाक्टर रावललाई अनुरोध गरेँ। डाक्टर रावलले बायोप्सी गर्नुभन्दा एक दिनअगाडि नै अस्पतालमा भर्ना गराएर सुरुदेखि नै एन्टिबायोटिक इन्जेक्सन दिएपछि मात्र बायोप्सी गर्ने विचार गरे ताकि इन्फेक्सन हुने सम्भावना एकदमै कम रहोस्। डाक्टर रावलकै उपस्थितिमा अन्य दुईजना डाक्टरले मेरो प्रोस्टेटमा इन्जेक्सनको ट्युब घुसारे र दस–पन्ध्र ठाउँबाट सूक्ष्म तरिकाले बायोप्सीका लागि मासुहरू निकाली जाँच गर्न पठाए। बायोप्सीको नतिजा ४८ घन्टापछि आउँदो रहेछ। बायोप्सीपश्चात् म अस्पताल छाडेर पनि जान सक्थेँ। तर मैले रिपोर्ट नआउन्जेलसम्म अस्पतालमै बस्नका लागि डाक्टरसँग अनुरोध गरेँ। यस्तो अवस्था के अमेरिकामा सम्भव थियो? भइहालेको भए पनि के अलिअलि पैसाले त्यस्तो व्यवस्था मिलाउन सकिन्थ्यो?
दुई दिनपछि डा. रावलले अस्पतालको मेरो कोठैमा आएर बायोप्सीको रिपोर्ट दिए। त्यो बेला म एक्लै खाटमा सुतिरहेको थिएँ। जब मैले बायोप्सीको रिपोर्ट हेरेँ, मेरा आँखा सबैभन्दा पहिले ‘कार्सिनोमा’ भन्ने शब्दमा गइहाले। यसको मतलब हो मेरो प्रोस्टेटको कुनै कुनामा क्यान्सर सुटुक्क लुकेर बसिरहेको रहेछ। रिपोर्ट हेर्दाहेर्दै मलाई भगवान्सित साह्रै रिस उठ्यो। यही रोगले बीस वर्षपहिले मेरी श्रीमतीलाई लग्यो, मेरी जवान छोरीलाई लग्यो। विगत बीस वर्षदेखि म यही क्षेत्रमा मन, वचन र कर्मले सेवा गर्दै आएँ र एउटा मान्छेले जेजति गर्न सक्छ, यस क्षेत्रमा मैले काम गरेँ। आखिर मलाई नै किन फेरि यो रोग लागेको? वास्तवमा त्यो बेला मेरो मन शून्य थियो, कुनै खास डर त थिएन तर खालि भगवान्सँग रिस उठिरहेको थियो।
त्यही बेला छोरा सुनील अस्पतालको कोठामा टुप्लुक्क आइपुगे। सायद उनको मनमा एउटा अन्योलपूर्ण त्रासदीको आँधी उठिरहेको थियो। अनुमतिविना नै ‘यो के हो?’ भन्दै उनले मेरो हातबाट बायोप्सीको रिपोर्ट झ्वाट्ट लिएर हेरे। मैले छोरालाई केही भनिनँ। केही भन्ने शब्द पनि आएन। छोरो आत्तिएला भन्ठानेर मैले जबर्जस्ती मुखमा कृत्रिम मुस्कान ल्याउन खोजेँ। तर त्यो बेला मैले आºनो चेहरामा कुनै परिवर्तन ल्याउन सकिनँ। उनको मनभित्रको बेचैनी मैले अनुभूत गरेँ। रिपोर्टमा जब उनले ‘क्यान्सर’ शब्द लेखेको देखे, उनी केही बोल्न सकेनन्। एकटक रिपोर्टलाई तलमाथि हेर्दै गए। म पनि उनीसँग केही बोलिनँ। साँच्चै भन्ने हो भने त्यस क्षणमा मैले आºनोभन्दा पनि आफ्नो छोराको विषम मानसिक स्थितिलाई सम्भि्करहेको थिएँ। छड्के आँखाले बीच–बीचमा म सुनीललाई हेर्दै थिएँ। उनको आँखा रसाइसकेको थियो। तर उनी आँसु झर्नबाट रोक्न कोसिस गरिरहेका थिए। के बोल्ने, के नबोल्ने ! उनले केही ठम्याउन सकेनन्। अन्तमा मनभित्रको पीडालाई रोक्नै नसकी ‘हत्तेरी ! यो के भएको?’ भन्ने शब्दहरू उनको मुखबाट अनायास निस्किहाले। जब उनका आँखाभित्र रोकिएर टलपल भइरहेको आँसु टपक्क खसेर लगाइरहेको चस्माको सिसामा पर्‍यो, अनि उनी कुनै शब्द नबोली खुरुक्क अस्पतालको कोठाबाट बाहिर निस्किए।
छोराको आँखाबाट झरेको आँसुको एउटा थोपोले मेरो मनमा ठूलो हलचल ल्यायो। एकैचोटि मेरो शून्य दिमागमा एउटा परिवर्तन आयो। मैले पितृत्वको भावनाको स्पन्दन र स्पर्श अनुभव गरेँ। क्षणभरमै मेरो मनलाई एउटा अत्यन्त मार्मिक चिन्तनले झक्झक्यायो र लाग्यो अब मैले मेरो परिवारका निमित्त बलियो हुनुपर्छ। त्यसपछि भगवान्प्रतिको रिस तुरुन्तै हरायो र मनभित्रको अन्तरकुन्तरमा रहेका डर–त्रासयुक्त विचारहरू पनि न्यून भएर गए। मैले आफ्नो सम्पूर्ण मनमस्तिष्क एउटै कुरामा केन्द्रित गरेँ। कसरी बलियो हुने? अब के हुन्छ होला? कति बाँच्ने हुँ? जस्ता कुनै पनि कुरामा ध्यान गएन र डर पटक्कै लागेन। बरू एउटै कुरा सोचेँ, ‘अब मैले कसरी आफूलाई सम्हाल्ने? कसरी आफूलाई बलियो पार्ने? ताकि मेरो परिवारले चिन्ता नलेओस्।’ सुनील अस्पतालको बाहिर कुनै कुनामा बसेर आँसु झारिरहेका थिए होलान् वा आफ्ना साथीहरू र डाक्टरहरूसित मेराबारे कुरा गरिरहेका थिए होलान्, तर मचाहिँ एक्लै खाटमा बसेर आफूले आफैँलाई सम्हाल्ने र आफूले आफैँलाई बलियो पार्ने तरिकाहरू खोज्न थालेँ।
आँखा चिम्लेर सबैभन्दा पहिले मैले सोचेँ, ‘मेरा बुबाको ५७ वर्षमा देहावसान भएको थियो। म अब ६३ वर्ष पुगेँ। बुबाभन्दा बढी त ५ वर्ष बाँचेको छु म।’ यसरी आफूलाई बलियो पार्न खोजेँ। मैले फेरि सोचेँ, ‘आम नेपाली जनताको ५०–५५ वर्षमा देहावसान हुन्छ। मैले १३ वर्षको जिन्दगी बोनसका रूपमा बाँचेको छु, किन पछुताउने?’ फेरि आफूले आफैँलाई ढाडस दिएँ। आफूलाई बलियो बनाउने प्रयासमा मैले विचार गरेँ, ‘मेरा सबै परिवारको सामाजिक र आर्थिक स्थिति राम्रै छ, खान–लाउन पुग्छ, परिवारका कुनै पनि सदस्य बदमास छैनन्, बेइमान छैनन्, दुर्व्यसनी छैनन्, रक्सी पिउँदैनन्, रन्डीबाजी गर्दैनन्, कसैको उधारो खाँदैनन्, आफ्नो पारिवारिक व्यवसाय सफलतापूर्वक चलाइरहेका छन्, र आफ्नो कर्तव्य–कर्म पालना गरी जिन्दगीलाई सुचारु रूपले चलाइरहेका छन्। देशको अवस्था राम्रो भयो भने अरू सात पुस्तासम्म उनीहरूलाई खान–लाउन पुग्छ। कान्छी छोरी पनि १७ वर्ष नाघिसकी। ऊ पढाइमा चुस्त छे र उसको भविष्य पनि राम्रै हुन्छ भन्ने कुरामा म निर्धक्क छु। यसमा पनि मैले केही चिन्ता लिनुपर्ने आवश्यकता छैन।’ त्यसपछि, एउटा जिम्मेवार नागरिकका हैसियतले मैले गर्न बाँकी के छ? त्यो कुरा म सोच्न थालेँ। आफूले आफैँलाई बलियो पार्न आफ्नो आत्मबल बलियो पार्नुपर्ने रहेछ। आत्मबललाई बलियो पार्न स्वाभिमान हुनुपर्दाे रहेछ र स्वाभिमानी बन्न हामीले आफूलाई गौरवान्वित हुने काम पनि गर्नुपर्दा रहेछ।

मैले गर्व गर्नुपर्ने कुरा के छ भनी म खोतल्न थालेँ। पहिले मैले आफ्नो होटलका बारेमा सोचेँ। तीन–चारवटा होटल छन्, अलिअलि धनसम्पत्ति कमाइएको छ। तर मैले त्यो धनसम्पत्तिको आडमा आफूलाई गौरवान्वित बनाउन सकिनँ। पैसा त सबैले कमाउँछन्, स्म्ाग्लिङ गरेर कमाउँछन्, ठगेर कमाउँछन्, कुकर्म गरेर पनि कमाउँछन्। धनसम्पत्तिले मात्र के गर्छ? के गर्ने त्यो धनसम्पत्तिले? जिन्दगीको मूलधन पैसा मात्र होइन रहेछ। मरेपछि त त्यसलाई पनि छाडेर जानुपर्दाे रहेछ। त्यस बेला कुनै पनि धनसम्पत्ति र वैभवको माया, मोह र लालसा आएन। त्यति मात्र होइन, यो धनसम्पत्तिले मलाई गौरवान्वित र स्वाभिमानी बनाउन सकेन।
मैले फेरि स्वाभिमानको पोखरीमा आफ्नो अस्तित्व खोज्न थालेँ। गौरवको महसुस गर्न जिन्दगीमा आफूले गरेका काम कुराहरू सोच्न थालेँ। एकचोटि लाग्यो आफूले पुर्‍याएको योगदानको कुरा गर्दा अहम्पना र घमन्ड हुन खोज्ला। तर मलाई लाग्यो आफ्नो क्रियाकलापप्रति कहिलेकाहीँ घमन्ड पनि हुनुपर्दाे रहेछ मान्छेमा। सरल भाषामा हामी घमन्ड शब्द प्रयोग गर्छौँ, तर कूटनीतिक भाषामा यसलाई स्वाभिमान पनि भन्न सकिन्छ। आफूले आफैँलाई स्वाभिमानी बनाउने क्रममा मैले अस्पतालको खाटमा बस्ताबस्तै आँखा चिम्लेर तीस वर्षपहिले चितवनमा पहिलो राष्ट्रिय निकुञ्ज स्थापना गर्दाका क्रियाकलापहरू सम्झेँ। असनको एउटा सानो गल्लीमा जन्मेर देशका अनकन्टार दुर्गम क्षेत्रहरूमा पैदल घुमेका कष्टपूर्ण दिनहरू याद गरेँ। स्याल कराउने ठाउँ ठमेलमा पर्यटन–विकासका लागि गरेको औद्योगिक प्रयासलाई स्मरण गरेँ। अन्नपूर्ण क्षेत्रका उकाली–ओरालीमा जैविक विविधता अध्ययन गरेर संरक्षण र विकासको अवधारणा तयार गरेको अनि क्यान्सर अस्पतालदेखि नेपाल भ्रमणवर्ष र केशरमहलको स्वप्नबगैँचासम्मको विकासयात्रासम्ममा आफूले गरेका केही ठोस योगदानहरू सम्झेँ।
मेरो अन्तरात्मामा एउटा आभास भयो — मैले जिन्दगीमा केही न केही त गरेकै रहेछु, र यसले मनमा सन्तोष जगायो। आफ्नो जीवन–इतिहास पल्टाउने क्रममा मैले आफ्नो मनभित्र एउटा तराजु पनि बनाएँ जसको एउटा भागमा आफूले आफैँलाई राखेँ र तराजुको अर्काे भागमा अर्काे एउटा कर्ण शाक्यलाई राख्न खोजेँ। तुरुन्तै मैले अर्को कोही पाइनँ तराजुको अर्का भागमा राखेर जोख्न। नेपालमा अथाह धनसम्पत्तिका मालिकहरू छन्। धेरै धन भएका धनाढ्यहरू छन्। तर श्रमजीवी भएर उद्योग सञ्चालन गर्ने र समाजलाई ठोस योगदान पुर्‍याउनेहरू त्यति धेरै पाइनँ। भाषणैभाषण गरेर नेता बन्ने पनि धेरै छन्, तर भाषणअनुसारको काम गर्ने मान्छे त्यति धेरै छैनन्। यहाँ धेरै सपना देख्नेहरू छन्, तर सपनालाई साकार पार्नेहरू कम छन्। दार्शनिक कुरा गर्नेहरू धेरै छन्, तर दर्शनलाई व्यवहारमा उतार्नेहरू कम छन्।
मलाई आश्चर्य लाग्यो — आशा र निराशाको पिङमा झुलिरहेको अवस्थामा मसित भएको भौतिक धनले मलाई स्वाभिमानी बनाउन सकेन, तर समय–समयमा आफूसित भएको सीमित स्रोत र साधनलाई परिचालन गरेर परिवारमा, समुदायमा, समाजमा र राष्ट्रमा सानातिना कामहरू गरी केही हदसम्म योगदान दिन सकेकोमा मैले आफूलाई सन्तुष्ट पाएँ र त्यही सन्तुष्टिले मलाई विस्तारै गौरवान्वित र बलियो पनि बनायो।
जिन्दगीको मूल्याङ्कन लम्बाइले होइन, गहिराइले गर्ने हो। जिन्दगीको सार गहिराइमा पाइन्छ। सयवर्ष मूल्यहीन जिन्दगी बिताउनुको के अर्थ? जिन्दगी
अर्थपूर्ण भयो भने छोटै समय जिउनुमा पनि मजा आउँछ। मोतीराम भट्टको ३० वर्षमा देहावसान भयो, नेपोलियनले अल्पायुमा नै संसारलाई जिते। परजीवी भएर १०० वर्ष बाँच्नुको के सार? त्यही बेलादेखि मैले आफूलाई बलियो पार्ने कोसिस गरेँ र आज पनि त्यो आत्मबल, आत्मविश्वास र स्वाभिमानले केही हदसम्म मलाई बलियो बनाइरहेको छ। वास्तवमा आत्मबल र स्वाभिमान नै जिन्दगीको सबभन्दा ठूलो सञ्जीवनी हो।
जब आफ्नो मन बलियो भयो, मेरो मुहारबाट डर गायब भयो। म हाँस्न सकेँ, खुला दिलले कुरा गर्न सकेँ र आफ्ना छोराछोरी र श्रीमतीलाई पनि
आफूलाई क्यान्सर लागेको कुरो स्पष्ट भन्न सकेँ। जब मैले आफ्नो भावनालाई स्पष्ट व्यक्त गरेँ, क्षणभरका निमित्त मेरो परिवारलाई केही मानसिक कष्ट अवश्य भयो। तर मलाई थाहा थियो, उनीहरूले पनि वास्तविकतालाई स्वीकार्नेछन् र विस्तारै उनीहरू पनि बलिया हुँदै जानेछन्। मलाई अलि बढी कठिन मेरी कान्छी छोरीलाई आफूलाई लागेको क्यान्सरको खबर दिँदा भयो। अस्पतालकै टेलिफोनबाट मैले कान्छी छोरीलाई आफ्नो मेडिकल रिपोर्टबारे खुलस्त रूपमा तर क्यान्सर शब्द उच्चारण नगरीकन विषयवस्तुलाई घुमाइफिराई बताउन खोजेँ। तर जब छोरीले सिधासिधा प्रश्न गर्न लागिन्, स्पष्ट जवाफ दिन मलाई साह्रै
गाह्रो भयो। क्यान्सर एउटा यस्तो शब्द हो जो अहिलेको आधुनिक र विकसित समयमा पनि उच्चारण गर्न हिच्किचाइन्छ। भन्नेलाई पनि भन्न गाह्रो हुन्छ र सुन्नेलाई पनि सुन्न।
क्यान्सर रोगमा सबभन्दा गाह्रो क्षण हो ‘क्यान्सर लाग्यो’ भन्नु। हरेक बाबुका निमित्त छोराछोरीको मन सधैँ कमलो हुन्छ। मैले पनि कान्छी छोरीको कमलो मनमा ठेस पुग्न जाला भनेर घुमाइफिराई कुरा गरिरहेको थिएँ। तर आत्माको आत्मासित कुरा हुन्छ। कुरालाई जतिसुकै बङ्ग्याए तापनि त्यसको मर्म लुकाउन सकिँदैन। टेलिफोनको अर्काे छेउमा मैले आङ्खनी छोरीको मुख नदेखे तापनि उनको मुहारमा आएको मनोव्यथालाई म स्पष्टै अनुमान गरिरहेको थिएँ। जब छोरीले मलाई प्रश्नमाथि प्रश्न सोधिन्, आखिर मैले वास्तविक तथ्यलाई लुकाउन सकिनँ र पछि विस्तारै स्पष्ट रूपमा भनेँ, ‘छोरी ! ड्याडीको प्रोस्टेटमा क्यान्सरको लक्षण देखियो। तर तिमीले डराउनुपर्दैन। यो भर्खर–भर्खरको भएको हुँदा यसलाई उपचार गरेर निको पार्न सकिन्छ।’
छोरीलाई ढाडस दिँदै मैले फेरि भनेँ, ‘प्रोस्टेटको क्यान्सर निको पार्न अस्ााध्यै सजिलो छ र विज्ञानले यसका लागि उपचारका धेरै प्रक्रियाहरू पनि विकास गरिसकेको छ।’ टेलिफोनबाट मैले छोरीको कुनै आवाज सुनिनँ। मलाई थाहा भयो उनी स्तब्ध भएकी छन् र अवश्य पनि आवाजलाई दबाएर लुकाएर रोइरहेकी छन्। पछि छोरीले अङ्ग्रेजी भाषाबाट रोकिई–रोकिई ‘ड्याडी, टेक केयर अफ योरसेल्फ’ भन्दै टेलिफोन तुरुन्तै राखिदिइन्। कान्छी छोरीसँगको टेलिफोन वार्तालाप धेरै कष्टदायी थियो। अगाडि जेठा छोरा सुनील बसिरहेका थिए। टेलिफोनवार्तापश्चात् मेरो आँखाबाट आउने आँसुलाई मैले रोक्न सकिनँ। केही क्षणमै सुनीलका आँखा पनि रसाउन थालिहाले। तर मलाई थाहा थियो मेरो परिवारले यसलाई स्वीकार्दै जानेछ र भोलिको समय त्यति गाह्रो हुने छैन।
प्रोस्टेटमा जब क्यान्सर भेटियो, मैले त्यही बेला विदेशमा गएर प्रोस्टेटको शल्यक्रिया नगर्ने विचार गरेको थिएँ। बायोप्सीपश्चात डा. सुधीर रावलले तीन हप्तापछि शल्यक्रिया गर्ने समय दिए। बायोप्सी गर्नासाथ अपरेसन गर्न नहुने रहेछ। बायोप्सीको घाउ निको भएपछि मात्र अपरेसन गर्नुपर्ने हुँदा तीन हप्तासम्म अब कसरी उपचार गर्ने भन्नेबारेमा परिवार र साथीहरूसित छलफल गरेँ। प्रोस्टेटको क्यान्सरलाई वास्तवमा तीन किसिमले उपचार गरिँदो रहेछ : पहिलो श्ाल्यक्रिया, दोस्रो रेडियोथेरापी र तेस्रो हार्माेनथेरापी। तीनवटै उपचारका प्रक्रियाहरूबाट हुने फाइदा र बेफाइदाबारे मैले मूल्याङ्कन गरेँ र अन्तमा मेरो
प्रोस्टेटको स्थिति राम्रो देखिएको हुँदा शल्यक्रिया नै गरेर ºयाँकियो भने पछिसम्म क्यान्सर नदोहोरिने सम्भावना बढी भएको हुँदा शल्यक्रिया गर्ने नै विचार गरेँ।
कुनै पनि कडा रोगको उपचार गर्दा, खास गरी शल्यक्रियाजस्तो प्रविधि अपनाउँदा हामीले यसका बारेमा विस्तृत जानकारी त अवश्य पनि लिनुपर्छ। तर जानकारी लिने क्रममा के गर्ने के नगर्ने भनेर अल्मलिइरहनु पनि हुँदैन। आफूमा विश्वास जगाउनैपर्छ। हरेक दृष्टिकोणबाट मनमा आशा जगाएर र आफूलाई उपचार गर्ने डाक्टरलाई विश्वास गरेर मेरा लागि यही प्रविधि राम्रो हो भनी ठोकुवा गरी उपचार गर्न सकियो भने मलाई लाग्छ यसले धेरै फाइदा पुर्‍याउँछ। मैले पनि त्यही गरेँ।
जब शल्यक्रिया गर्ने कुरा उठे, छोराहरूले बैङ्कक वा सिङ्गापुरमा शल्यक्रिया गर्न जोड दिए। तर मैले मानिनँ। मैले डा. रावलमाथि विश्वास गरेँ र दिल्लीमा नै शल्यक्रिया गर्ने निधो गरेँ ताकि मलाई कुनै आर्थिक, सामाजिक, मनोवैज्ञानिक र पारिवारिक तनाव नहोस्। यो निर्णय लिन मलाई सजिलो भएन। सायद विदेशमा गएर उपचार गर्न सक्ने मान्छे ठानेर होला धेरै साथीभाइले अनेक सरसल्लाह दिए। केही समय त बाबु र छोराहरूको विवादै भयो। छोराहरूको डर थियो पैसा बचाउन बाबुको उपचार महँगो अस्पतालमा गराएनन् भन्लान् कि भन्ने। हो, बैङ्कक र सिङ्गापुरका अस्पतालहरू सुव्यवस्थित छन् र त्यहाँका उपकरण पनि अत्याधुनिक छन्। तर स्वास्थ्यको उपचार मेसिन र उपकरणबाट मात्र गरिँदैन, डाक्टरको दिमागले पनि गर्नुपर्छ। तसर्थ मैले आङ्खनै देश नेपाल वा हिन्दुस्तानका डाक्टरहरूमा नै भर पर्ने विचार गरेँ। किनभने उनीहरू विदेशी डाक्टरहरूभन्दा कम दिमाग भएका छैनन्।
दिल्लीमै उपचार गर्ने हो भने एपोलो अस्पतालमा शल्यक्रिया गराउने हो कि भनी सल्लाह पनि दिए, ताकि क्यान्सर भएको कुरो अरूलाई थाहा नहोस्। तर मैले राजीव गान्धी क्यान्सर अस्पतालमै जून महिनाको १४ तारिखमा शल्यक्रिया गराउने निधो गरेँ। आफूलाई क्यान्सर लागेको कुरो लुकाउन चाहिनँ। यतिमात्र होइन आफूलाई क्यान्सर भएको विषयमा लेखहरू लेखेर विभिन्न पत्रपत्रिकामा छपाएँ। डरसित भागेर मान्छेले कहाँ लुक्ने? भाग्यो भने डरले झन् लखेट्छ। बरू डरसित डटेर मुकाबिला गर्न सकियो भने आत्मबल बलियो हुन्छ।
आफ्नो क्यान्सर रोगबारे मैले आफ्ना परिवार, इष्टमित्र र साथीभाइहरूलाई विनाहिच्किचाहट खुलेर भनिसकेको हुँदा मलाई अरूसित कुरा गर्दा त्यती अप्ठ्यारो परेन। रोगलाई लुकाएर या यसबारे बोल्न डराएर अरूलाई केही नभनेको भए मलाई हरदिन हरपल जीन्दगी बिताउन गाह्रो हुने थियो। जब म कसैसित कुरा गर्थे‘, एक न एक दिन त उसले अवश्य थाहा पाउने थियो मलाई क्यान्सर लागेको कुरा। अनि जब म ऊसित कुरा गरिरहेको हुने थिएँ, ऊ केही नबोलीकन आँखाबाट मलाई दया र मायाको भावनाले हेरिरहेको हुने थियो, जुन मलाई स≈य र सजिलो हुँदैनथ्यो। आफूलाई कसैले दयाको पात्र बनाउने कुरा सोच्नै सक्तिनँ। जब कसैलाई पहिल्यै थाहा हुन्छ मलाई के भएको छ, अनि ऊसित कुरा गर्दा धेरै सजिलो हुन्छ। आज मलाई कसैसित कुरा गर्दा कुनै सङ्कोच र अप्ठ्यारो पर्दैन र यसले मेरो आत्मबल बलियो बनाउँछ।
आत्मबल बलियो भएपछि खुलेर वार्तालाप गर्न सकिन्छ, भावनाहरू अभिव्यक्त गर्न सकिन्छ, अनि मुहार नै हँसिलो पारेर कुरा गर्न सकिन्छ। जब मसित कुरा गर्ने व्यक्तिले मेरो मुहारमा कुनै चिन्ताको सङ्केत देख्तैन, उसलाई पनि मसित कुरा गर्न धेरै सजिलो हुन्छ। यही आत्मबलका कारण मलाई बाँच्न धेरै सजिलो भएको छ।
आखिर मैले १५ दिनपछि वि.सं. २०६३ जेठ ७ गते डा. सुधीर रावलकै हातबाट शल्यक्रिया गर्ने निर्णय गरेँ। राजीव गान्धी क्यान्सर अस्पतालमा प्राइभेट कोठा दुई–तीन्ावटा मात्रै रहेछन्। सामाजिक ट्रस्टबाट सञ्चालन गरिएकोले यसमा सबै कमन वार्डहरू मात्रै रहेछन्। प्राइभेट वार्ड लिन धेरै गाह्रो पर्ने भएको हुँदा मैले भारतीय राजदूतावासबाट पत्र लिएर ट्रस्टका अध्यक्षसँग कुरा गरेको थिएँ र बल्लबल्ल अस्पतालको एक मात्र भी. आई. पी. कोठा बुक गर्न सकेको थिएँ।
जुन बेला मेरो शल्यक्रिया भयो, त्यो बेला मेरो परिवारका सबैजना मेरै साथमा थिएँ : दुई छोरा, छोरी अनि श्रीमती। मेरा मित्र दिवाकर राजकर्णिकार पनि सँगै हुनुहुन्थ्यो। सबैको अपार माया र ढाडस पाएकोले अपरेसन गर्न जाँदा मनमा कुनै डर–त्रास भएन। आफू पनि हँसिलो मुहारले अपरेसन थिएटरतिर गएकाले कसैको मुहारमा कुनै टेन्सन भएन। उनीहरूको मुहारमा टेन्सन नदेखेपछि मलाई पनि टेन्सन भएन। मैले बेलायत वा अमेरिकामा गएर शल्यक्रिया गरेको भए के मेरो परिवारका सबै सदस्यहरू र मेरा साथीहरू सँगै हुन्थे होलान् त? हदसेहद भइदिएको भए मेरा एउटा छोरा र श्रीमती मसित हुन्थे होलान्। अपरिचित समाजमा कडा रोगको उपचार गर्न जाँदा बिरामीलाई भन्दा पनि बिरामीकुरुवाहरूलाई ठूलो आघात पुग्छ। अन्ततोगत्वा यसले बिरामीलाई नै मानसिक दबाब दिन्छ। खास गरी घरको मुली बिरामी भइदियो
भने मुलीले परिवारको मानसिक, शारीरिक र आर्थिक कठिनाइमा पनि ध्यान दिनुपर्छ। यस्तो दबाब खप्न सजिलो हुँदैन। यो त भुक्तभोगीलाई मात्र थाहा हुन्छ।
शल्यक्रिया गर्न झन्डै दुई घन्टाजति लाग्यो होला। तीन–चार घन्टासम्म होसै आएन। जब आई. सी. यू. मा मेरो आँखा खुल्यो, मैले स्पष्ट रूपमा केही देखिनँ। रक्सी खाएको मान्छे झुलेजस्तो झुलझुलाहट थियो। कहिले के–के सुन्ने, कहिले नसुन्ने। जब मलाई पूरा होस आयो, त्यो बेला मेरो पेटको दायाँ–बायाँ पाइप जडान गरी पिसाब सङ्कलन गर्न रबरका ब्यागहरू झुन्ड्याइएको पाएँ। घाउ त धेरै दुखेन, तर दिसा–पिसाबले च्याप्ने र यताउता चल्न नहुने अवस्थाले गर्दा अत्यन्तै असजिलो अनुभव भइरहेको थियो। कस्तो विडम्बना ! वर्षमा ३६५ दिन हुन्छ, तर दुई दिनको अस≈य पीडाले नै वर्षको सम्पूर्ण लामो समयलाई ठ्याम्मै बिर्साइदिन्छ। दुःख र पीडाका क्षणहरू पलपल गरी कसरी विस्तारै बित्दा रहेछन्, त्यस्तो बेलामा मात्रै थाहा हुँदो रहेछ। अपरेसनको टाँका ननिकालेसम्म चौध दिनसम्म म अस्पतालमै बसेँ। अस्पतालमा बसुन्जेल पिसाबले च्याप्ने र आउँजस्तो लाग्ने असजिलो पीडाले चौबीसै घन्टा सताउन थाल्यो। सुत्ने औषधिले पनि छोएन। पहिले विपश्यना गरेको अनुभवबाट ध्यान गरेर पीडालाई नियन्त्रण गर्न खोजेँ, तर कहाँ सक्नू ! ध्यान गरेर एकचित्त हुन खोज्दा पीडा झन् अस≈य हुँदो रहेछ।
पेटमा जडान गरेको पाइप ननिकालेसम्म अर्थात् दुईहप्ता म अस्पतालमै बसेँ। एक हातले पाइप र अर्काे हातले ब्याग समात्दै म विस्तारै–विस्तारै वार्डमा ओहोरदोहोर गरिरहन्थेँ। अस्पतालको लबीमा मात्र ओहोरदोहोर गरिरहँदा दिक्क लागेपछि हरियो घाँसमा खुट्टा टेक्न रहर लागेर म एक दिन मेरी श्रीमतीका साथ अस्पतालको बगैँचामा डुल्न गएँ। बगैँचाको एउटा कुनामा एकजना लोग्नेमान्छे र एउटी आइमाई बसिरहेका थिए। उनीहरूसँगै एउटा टिनको बाकस, रातो प्लास्टिकको झोलामा केही मालसामान र दोलाइँ भएको एउटा पोको थियो। नेपालीजस्ता लागेका हुँदा मैले उनीहरूलाई ‘के तपाईँहरू नेपालबाट आउनुभएको हो?’ भनी सोधेँ। अन्दाजी ५५–६० वर्षका ती मान्छेले ‘हो हजुर, हामी भैरहवाबाट आएका, हाम्रो घर पाल्पाबाट दुई–तीन कोस टाढाको गाउँमा पर्छ’ भने। भैरहवाका डाक्टरले उपचार गर्न दिल्ली जाऊ भनेका हुँदा छोरालाई लिएर दुवै लोग्नेस्वास्नी पहिलोपल्ट दिल्ली आएका रहेछन्। छोराचाहिँ डाक्टरको समय माग्न रिसेप्सनमा सोधपुछ गर्न गएका रहेछन्। बाबुचाहिँलाई पेटको क्यान्सर भएको रहेछ। लोग्नेस्वास्नी दुवैलाई थाहा रहेछ क्यान्सर भन्ने रोग कडा छ भनेर। तर उनीहरूलाई त्यो रोगका बारेमा विस्तृत जानकारी रहेनछ।
उनीहरूसित भलाकुसारी गर्दागर्दै बिरामी मान्छेका छोरा पनि त्यहीँ आइपुगे। मलाई नमस्कार गर्दै उनले ‘हजुर पनि यहाँ उपचार गर्न आउनुभएको?’ भनेर सोधे। उनीहरू दुईदिन पहिले दिल्ली आई रेलवे–स्टेसनसँगैको एउटा होटलमा बसेपछि त्यही दिन झिटिगुन्टा बोकेर ट्याक्सीबाट राजीव गान्धी क्यान्सर अस्पतालमा आएका रहेछन्। मैले उनीहरूलाई भनेँ पनि, ‘किन त्यति महँगो पैसा तिरेर ट्याक्सीबाट आउनु भएको? दिल्लीको कनाट प्लेसबाट अस्पतालसम्म आउन त ट्रेन छँदैछ नि ! ट्रेन सस्तो पनि छ र चाँडो पनि आइपुग्छ।’ तर उनीहरूले दिल्लीका बारेमा के थाहा पाउनु ! जिन्दगीमा पहिले कहिल्यै आएका भए पो !
त्यो बिरामी मान्छेको गला सुकिसकेको थियो, आँखामा कुनै चमक थिएन। श्रीमतीचाहिँको मुहार हेर्दा उनलाई एउटा अत्यास, अन्योल र भयले सताइरहेझैँ देखिन्थ्यो। उनी हामीसँग हाँस्न खोज्थिन्, तर हाँस्न सक्तिनथिन्। बोल्न खोज्थिन्, तर बोल्न सक्तिनथिन्। छिनछिनमा उनी आºनो बिरामी लोग्नेको हात सुमसुम्याउन पुग्थिन्। अनि माया भरिएको आँखाले आºनो लोग्नेको मुख ताकिरहन्थिन्। लोग्ने–स्वास्नीको त्यो आन्तरिक र मर्माहत व्यथालाई महसुुस गरेर मेरो मन चिसिइरहेको थियो। तर आºनो भावनालाई प्रकट गरिरहेको थिइनँ। बीचबीचमा मेरी श्रीमती सुशीला उनीहरूका बारे थप जानकारी लिन खोज्थिन्। तर म उनलाई नेवारी भाषामा रोक्थेँ। किनभने त्यस्तो संवेदनशील अवस्थामा उनीहरूसित रोगको डरलाग्दो पक्षका बारेमा छलफल गर्नु उपयुक्त थिएन।
बिहानको अन्दाजी दस–एघार बजिसकेको थियो, लोग्नेस्वास्नी दुईटैको मुख सुकेको थियो। सायद उनीहरूले त्यस बेलासम्म खाएकै थिएनन्। सुशीलाले आफूले बोकेर ल्याएको मिनेरल वाटर उनीहरूलाई दिइन्। बिरामीले अलिकति पानीको घुट्को पिएपछि ‘ल तिमी पनि अलिकति पिऊ’ भन्दै पानीको बोतल श्रीमतीको हातमा स्नेहपूर्वक थमाइदिए। उनकी श्रीमतीले पनि तिर्खा रोक्न नसकेर पानीको बोतल आºनो मुखभन्दा एक इन्च माथि राखी घटघट पानी पिइन्। पानीको हरेक घुट्को निल्दा उनको घाँटीको कण्ठी तल–माथि चलिरहेको थियो। पानीको खूबै प्यास लागेको रहेछ उनलाई, त्यसैले स्वाद लिएर पानी पिइन्। पानी पिइसकेपछि उनले छोरालाई पानीको बोतल समाउन दिइन्।
छोराचाहिँ एकदम अलमलमा देखिन्थे। उनको दिमागमा त्यो बेला सायद कसरी डाक्टरको समय लिने, अस्पतालमा बाबुलाई कसरी भर्ना गर्ने, कति खर्च हुन्छ र कहाँ बस्ने आदि–इत्यादि कुराहरू खेलिरहेका थिए होलान्। उनलाई त्यहाँको वस्तुस्थितिको कुनै भेउ थिएन।
बाबु बिरामी, आमा अनभिज्ञ। त्यस्तो बेलामा छोराको दुर्दशा र पीडा भुक्तभोगीले मात्र अनुभव गर्न सक्छ। मैले ती छोराचाहिँको वेदना राम्ररी अनुभव गरिरहेको थिएँ। २५–३० वर्षका ती केटा र उनको परिवारको आर्थिक अवस्था र दुःखबारे मैले धेरै जानकारी लिन चाहिनँ। किनभने उनीहरूका बारेमा जति बढी थाहा भयो, उति नै बढी मलाई दुःख हुन्थ्यो। मलाई लाग्यो अब मैले यहाँ उनीहरूसित धेरै बस्नु हुँदैन, त्यसबाट मलाई पीरमाथि पीर थपिन्छ। मैले मनमनमा विचार गरेँ ‘अब जाऊँ उठेर, अब यिनीहरूलाई आङ्खनै भाग्यमा छाडिदिऊँ। तर मनले मानेन। एकचोटि मैले केटाले काखीमा च्यापिराखेको बिरामीको मेडिकल रिपोर्ट हेरेँ। रिपोर्टमा फोक्सोमा क्यान्सर भएको डाइग्नोसिस गरिएको रहेछ। स्टेज पनि चर्कै खालको देखिन्थ्यो। नेपालका डाक्टरले अब यहाँ उपचार हुँदैन भनेपछि उनीहरू दिल्लीमा आएका रहेछन्।
सुशीलाले मलाई खुसुक्क नेवारी भाषामा भनिन्, ‘यिनीहरूले बिहानदेखि केही खाएका छैनन् जस्तो छ। क्यान्टिनमा गएर म केही खाने कुराहरू किनेर ल्याउँछु।’ म्ौले सुशीलालाई अलि बढी नै खाना किनेर ल्याऊ भनी पठाएँ। एकैछिनमा उनी केही पराठा, आलुचप र पाउरोटीहरू लिएर आइन्। छोराचाहिँले लाज मानेर भने, ‘होइन हजुर, अलि–अलि खाना त हामीले पनि ल्याएका छौँ, किन दुःख गर्नुभएको?’
‘होइन–होइन, केको दुःख ! तपाईँहरूलाई कहाँ खाना किन्ने भनेर थाहा छैन नि ! लिनुस्, खानुस्’ भन्दै सुशीलाले खानाको पोको बिरामीका अगाडि राखिदिइन्। बिरामीले मसिनो सास हाँङ्खतै सानो स्वरले स्वास्नीलाई हेरेर भने, ‘तिमीलाई भोक लाग्यो होला, ल तिमी खाऊ। हिजो राति पनि तिमीले केही खाइनौ !’ तर पेटमा भोकको आगो दन्किरहे पनि आºनो बिरामी लोग्नेलाई नखुवाई उनले खान चाहिनन्। पोकाबाट एउटा पराठा निकाल्दै पहिले उनले आºनो लोग्नेलाई दिइन्। उनीहरूको त्यो अपार माया–पिरती देखेर सुशीला र मैले अलिकति खुसी र अलिकति दुःख मानेर एक–अर्कालाई हेर्‍यौँ।
नदीको तीरमा माया गरी बस्न्ो चखेवा–चखेवीहरूको जस्तो उनीहरूको मायाप्रीतिको त्यस्तो मार्मिक दृश्यलाई हामीले धेरै बेर हेर्न सकेनौँ। मेरो छाती अलि फुलेर आयो, अलि गह्रौँ भएर आयो। त्यो बेला सुशीला झन् आत्तिएकी जस्तो लाग्यो। उनले आºना आँखाको आँसु रोक्न सकिनन्, अनि खुरुक्क उठेर अन्तै गइन्। ती बिरामी मान्छेले सुकेको मुखबाट थुक निलेर लामो सास तान्दै, ‘खै हजुर, मानिसको जिन्दगीमा के–के दुःख आउँदो रहेछ’ भने। अनि आºनो छोराको काँधमा हात राखेर ‘यो बिचरोलाई हामीले कति दुःख दिने, हामी दुवैजना अनपढ छौँ, केही थाहा छैन, अब यो एकजनाले मात्र के–के गर्ने हो’ भन्दै सुस्केरा हाली मनको बह पोखे।
त्यो बेला उनका छोराको मनमा अब के गर्ने, कसो गर्ने भन्ने अनेक प्रश्नले पिरोलिरहेको हुँदो हो, त्यसैले बाबुका ती मार्मिक शब्दहरूले उनलाई केही असर पारेनन्। उनलाई त्यस बेला पीर मान्ने फुर्सद पनि थिएन। उनी त त्यो बेला कहाँ बस्ने, कसरी डाक्टरको समय लिने आदि अन्यँेल्’पूर्ण अवस्था र व्यवस्थामा अल्भि्करहेका थिए। केटाको अवस्था देखेर मैले हाम्रो दिल्लीस्थित ट्राभल एजेन्सीमा काम गर्ने एउटा केटालाई मोबाइलमा फोन गरेर उनका लागि डाक्टरको बउउयष्लत्कभलत लिने व्यवस्था गरिदिएँ र उनीहरूलाई धन्धा नमान्न ढाडस दिएँ। त्यसपछि केटालाई अस्पतालसँगैको एउटा सानो लजमा पहिले बस्न जान, पछि मात्र बाबुलाई अस्पतालमा जचाउन सल्लाह दिएँ।
मैले र सुशीलाले उनीहरूसित धेरै बेर कुरा गरिरहन सकेनौँ। मलाई डर पनि लाग्यो उनीहरूका बारेमा अरू थप जानकारी लिएँ भने म उनीहरूलाई सहयोग दिन सकौँला कि नसकौँला भनेर। खास गरी बिरामीको अवस्था निराशाजनक स्थितिमा पुग्यो भने कहिलेकाहीँ जतिसुकै सहयोग गर्न चाहेर पनि गर्न सकिँदैन, झन् म त आफैँ बिरामी। त्यसैले एकैछिन कुरा गरेर उनीहरूसित बिदावारी भई म र सुशीला अस्पतालको कोठामा फर्कियौँ।
क्यान्सरसम्बन्धी यस्ता दुःखद कुराहरू सम्भि्कँदा कहिलेकाहीँ मनमा रिस पनि उठ्छ, खास गरी जब निको नै नहुने बिरामीहरूलाई नेपालबाट डाक्टरले विदेशमा उपचार गर्न पठाएको पाउँदा। विपन्न परिवारका यस्ता निको नहुने terminal cancer patientहरूलाई नेपालमै भएका क्यान्सर अस्पतालहरूमा किन पठाइँदैन? किन दिल्लीसम्म पठाइन्छ? नेपाल अर्बुद रोग निवारण संस्था र भरतपुर क्यान्सर अस्पतालको सञ्चालक समितिको सदस्य हँुदा म त्यहाँका सम्बन्धित डाक्टरहरूलाई सधैँ आग्रह गर्थे‘, ‘बिरामीको रोग निको हुँदैन भने कृपया बिरामी र बिरामीका परिवारलाई झुलाउने र झुक्याउने काम नगरौँ। उनीहरूले थाम्नै नसक्ने आर्थिक र मनोवैज्ञानिक बोझ दिएर झूटो आशा न्ादेखाऔँ। कुनै घरमा कसैलाई क्यान्सर रोग लाग्यो भने त्यो घरमा एकजना मात्र बिरामी हुँदैन, परिवारका सबै सदस्यहरू नै मानसिक र आर्थिक रूपले ग्रस्त हुन्छन्। कहिलेकाहीँ यस्ता विवेकहीन हेलचेक्य्राइँकँ कारणबाट कतिपय बिरामीहरूको उपचार गराउँदा–गराउँदै भएभरको सम्पत्ति बेच्नुपर्ने हुन्छ र अन्तमा बिरामी एकजना मात्र होइन, सम्पूर्ण परिवार नै आर्थिक रूपले सङ्कटग्रस्त हुन्छ। त्यस्तो दुःखद अवस्थामा हामीले मन मारेर भए पनि कठोर तर व्यावहारिक बाटो अपनाउनुपर्छ। कडा रोगबाट अन्तिम अवस्थामा पुग्न लागेका terminal cancer patientहरूलाई महँगा–महँगा केमोथेरापी दिएर बिरामी र उसको परिवारको पैसा बर्बाद गराउनुको सट्टा सस्तो जडिबुटी र अन्य प्रशोधित परम्परागत औषधि दिएर बिरामीलाई आशा जाग्ने खालका धार्मिक र आध्यात्मिक कामहरू गर्न–गराउन लगाउनुपर्छ। यसो गर्दा बिरामीको मन पनि शान्त हुन्छ र तिनका परिवारको आर्थिक अवस्था पनि बिग्रँदैन।’
नेपालबाट प्रशस्त बिरामीहरू राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गर्न पुग्छन्, कोही निको हुने खालका त कोही निको नहुने खालका। हाम्रंा गाउँघरमा क्यान्सर रोग पत्ता लगाउने चेतना र प्रविधि नभएका कारणबाट बिरामीहरू रोगले धेरै च्यापिसकेपछि मात्रै डाक्टरकहाँ जँचाउन जान्छन्। यसमा बिरामी र उसको परिवारलाई दोष दिन पनि मिल्दैन। किनभने यो रोग पहिले दुख्तैदुख्तैन। रोगले नराम्ररी च्यापेपछि मात्र अन्य लक्ष्’णहरू देखापर्छन्। अनि डाक्टरकहाँ देखाउन जाँदा धेरै ढीलो भइसकेको हुन्छ।
राजीव गान्धी क्यान्सर अस्पतालमा बचाउन सकिने थुप्रै बिरामीहरू पनि पुग्छन्। खास गरी पेटमा क्यान्सर लागेका साना–साना बच्चाहरूलाई त्यहाँ लगिँदो रहेछ। त्यो बेला नेपालबाट झन्डै चारजना बच्चाहरूलाई क्यान्सरको उपचार गराउन त्यहाँ लगिएको थियो। साना–साना बच्चाहरूलाई पेटको क्यान्सर हुँदो रहेछ। नेपालमा अहिले पनि त्यसको उपचारमा खास कुनै उपलब्धि हासिल हुन सकेको छैन। एउटा बच्चा बिरामी भयो भने तीन–चार महिनासम्म आमाबाबु दुवैले उसको उपचारका लागि दिल्लीसम्म पुग्नुपर्छ। म कल्पना पनि गर्न सक्तिनँ उनीहरू त्यो दुःख कसरी सहन्छन्। तर मान्छे बडो बलवान् हुँदो रहेछ। जस्तोसुकै दुःख पनि मानिसले सहन सक्छ। घरका सबै
काम छोडेर बिरामी बच्चाको उपचार गर्न तीन–चार महिनासम्म अस्पतालमै बसिरहँदा उनीहरूलाई शारीरिक, आर्थिक र मनोवैज्ञानिक सङ्कट कति पर्छ, सजिलै अनुमान गर्न सकिन्छ। राजीव गान्धी क्यान्सर अस्पतालको कमन रूममा बच्चालाई खाटमा सुताइँदो रहेछ अनि खाटमुनि कहिले आमा त कहिले बाबु आलोपालो गरेर सुत्ने गर्दा रहेछन्। दिनभरिचाहिँ बच्चालाई बोकेर अस्पतालको कोठाबाहिरको लबीमा ओहोरदोहोर गरिरहँदा रहेछन्। बच्चाहरूलाई खेलाउन भनेर राखिएको एउटा सानो कोठा रहेछ। त्यहाँ दुई–चारवटा खेलौनाहरू राखिएका रहेछन्।
मैले डा. रावलको सहयोगबाट अस्पतालका अध्यक्ष र केही सञ्चालकहरूसित कुरा गरेर बच्चा खेल्ने कोठामा रङ्गरोगन गरी अलि रमाइला तस्बिरहरू राखिदिन अनुरोध गरेँ। आफ्ना तर्फबाट पनि मैले त्यहाँ एउटा डीभीडी र थुप्रै कार्टुन–फिल्महरू किनेर बच्चाहरूलाई फिल्म देखाउने व्यवस्थाका लागि ट्रस्टसित अनुरोध गरेँ। दुई दिनमै व्यवस्थापन पक्ष्’ले मेरो अनुरोधलाई स्वीकार्‍यो र पछि त्यो कोठा बच्चालाई रमाइलो गर्ने ठाउँ भयो। मलाई धेरै खुसी लाग्यो, किनभने त्यो ठाउँ बच्चाहरू मात्र होइन, अभिभावकहरू पनि जम्मा हुने ठाउँ भयो।
१५ दिनपछि म अस्पताल छाडेर डेरामा पुगेँ। त्यहाँ मेरा पी. ए. ले कुरियरबाट पठाएको मेलब्याग पाएँ। त्यसमा केही समयअघि मलाई क्यान्सर रोग लागेको विषयमा मैले लेखेको लेखका पाठक–प्रतिक्रियाहरू थिए। ‘कान्तिपुर’ पत्रिकामा छापिएको पाठक–प्रतिक्रियाको एउटा प्रतिलिपि पनि पठाइएको थियो। त्यसमा एकजना पाठकले क्यान्सरसम्बन्धी मेरो लेखप्रति व्यङ्ग्यात्मक टिप्पणी गर्दै ‘कर्ण शाक्यलाई त कस्तो क्यान्सर पनि फापेको !’ भन्ने लेखेका थिए। पढेर खूब चित्त दुख्यो। किन मानिस सभ्यताको सीमा नाघेर आफ्नो कलम र शब्दलाई अस्त्र बनाई अरूको मन दुखाउने काम गर्छ? किन गोलीले प्वाल पार्न नसक्ने मुटुलाई बोलीले घोचेर परपीडक बन्न खोज्छ? कस्तो मनोविज्ञानले त्यहाँ काम गरेको हुन्छ? मैले अझै बु‰न सकेको छैन।
तर मेरो लेखको प्रकाशनपश्चात् आएका अन्य पाठक–प्रतिक्रियाहरू र अभिव्यक्तिहरू नकारात्मक थिएनन्। कैयौँ पाठकहरूले सकारात्मक र भावपूर्ण प्रतिक्रियाहरू पठाएर नेपाली मानवीय मनको उज्यालो पक्षलाई दर्शाएका थिए। मलाई प्रोस्टेटमा क्यान्सर लागेको कुरा थाहा पाएपछि मजस्ता थुप्रै पीडितहरूले मसँग सम्पर्क गरे। उनीहरूलाई पनि आशा जाग्यो र यसबारे छलफल गर्न अगाडि सरे। प्रोस्टेटको क्यान्सरका सन्दर्भमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरका मेरा थुप्रै डाक्टर साथीहरूले मलाई अनेक व्यावहारिक, प्रतिकारात्मक एवम् उपचारात्मक सुझावहरू दिए। ती सुझावहरू म अन्य प्रोस्टेटका क्यान्सरपीडितहरूलाई पनि सुनाउने गर्छु।
तीस वर्षपहिले अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीमा अध्ययनरत एउटी साथी जीन टिज स्वयम्भू र पशुपतिका बाँदरको अध्ययन गर्न नेपाल आएकी थिइन्। पछि उनले सोही विश्वविद्यालयबाट क्यान्सर रोग निको पार्ने विभिन्न खाद्यपदार्थबारे धेरै अनुसन्धान गरिन्। अहिले उनी यस विषयकै ठूलो ज्ञाता भइसकेकी छन्। कताकताबाट मेरा बारे खबर पाएपछि उनले मलाई ढाडस दिँदै प्रोस्टेटमा क्यान्सर लागेर पनि मानिस २०–३० वर्ष बाँच्न सक्छ र आत्मबल बलियो भयो भने तिमी यो रोगलाई जित्न सक्छौ भन्ने आशयको पत्र लेखेर पठाइन्। डा. टिजले भनेजस्तै मैले आफ्नो आत्मबललाई बलियो पारेँ।
मलाई जीन टिजले समय–समयमा योगासन गर्नू, हरियो सागपात धेरै खानू, दिनमा एकचोटि अनारको रस पिउनू, गोलभेडा धेरै खानू, रातो वाइन पिउनू, भटमासको दूधबाट बनेको तोफू खानू, प्रोस्टेटको क्यान्सर रोक्न यसले धेरै मद्दत गर्छ भनेकी थिइन्। उनले भनेजस्तै म अहिले गरिरहेको छु। एक वर्षसम्म हरेक तीन–तीन महिनामा मैले आफ्नो रगत जाँच गराउनुपर्छ र एक वर्षपछि हरेक वर्ष पाँच वर्षसम्म रगत जँचाउनुपर्छ। पाँच वर्षपछि रगतमा PSA भएन भने क्यान्सर निको भएको सम्भि्कइन्छ।
मैले प्रोस्टेटको शल्यक्रिया गरेको वर्षदिन हुन लागिसक्यो। हरेक तीन–तीन महिनामा म रगत जँचाउँछु। भगवान्को कृपा र आमाबाबुको आशीर्वादले मेरो रगतमा अहिले PSA निर्मूल भइसकेको छ। डाक्टर रावलले खुसी भएर भनेका थिए, ‘यो सबै तिम्रो आत्मबलको कारणले हो। औषधिले त ५० प्रतिशत मात्र काम गर्छ, अर्को ५० प्रतिशत आत्मबलले।’
हुन त क्यान्सर मानव–जीवनको एउटा डरलाग्दो पक्ष मानिन्छ, तथापि निरन्तर भइरहेको वैज्ञानिक प्रविधिको नवीनतम आविष्कारबाट क्यान्सरजस्तो डरलाग्दो अभिशाप एक दिन न एक दिन अवश्य उन्मूलन हुनेछ। जीन टिज र डा. रावलजस्ता वैज्ञानिकहरूको क्रियाशील खोजले मानव–जीवनमा सधैँ आशा र विश्वास जगाउनेछ।

-----------------------------------------------------------------------------------------------


Saturday, August 25, 2012

दीनबन्धुका बारेमा लेखेपछि……. - onlinekhabar


शशी पौडेल
गतहप्ता मैले दिनबन्धुका बारेमा तीनवटा सामाग्रीहरु लेखें । एउटै बिषय- एनआरएन बेलायतले उनलाई महायज्ञ गर्न भनि नेपालबाट बेलायत निम्त्याएर पनि महायज्ञ गर्न नसकि यत्रतत्र प्रबचन गर्न लगाएको र प्रबचन सुनेपछि मैले देखेका, सुनेका र भोगेका बिषयमा फरक-फरक ढंगले टिप्पणी गरंे । एउटा अनलाइन खबरका लागि, अर्को सौर्य दैनिकका लागि दोस्रो र तेस्रो मेरो आफ्नै ब्लगका लागि ।
यी तीनवटै लेखहरु आ-आफ्नो ठाउँबाट प्रकाशित भएपछि मलाई ब्यक्तिगत रुपमा फरक-फरक प्रतिक्रिया आए । कसैले धम्काउने शैलीमा ‘यदि तपाइले यस्तै लेख्दै जाने हो भने तपाइलाई नै नोक्सान हुने छ ।” भनेर चेतवनी दिए । कसैले आखिर दिनबन्धुले तपाइको के बिगारेका थिए र उनलाई हान्नु पर्‍यो ? भने । तेस्रो तर्क आयो-यदि कसैले नितान्त आफुलाई नोक्सान गरेको छैन भने त्यसबारे लेख्न हुन्न । र, चौथो अहिले बिश्वभर हिन्दु धर्मको बिरोध भैरहेको बेला हामी हिन्दु भएर हिन्दुकै बिरोधमा कलम चलाउन हुन्न ।
टेलिफोनको स्पिकरबाट यी भिन्न-भिन्न तर्कहरु आइरहँदा मलाइ पनि कतै गल्ती त भएन भन्ने सोंचमा पुर्‍यायो । र, मलाई उनले गरेको प्रवचनको रेकर्ड फेरि सुन्न मन लाग्यो । त्यो रेकर्ड दोहोर्‍याएर सुनेपछि म ढुक्क भएँ-’मैले कुनै गल्ती गरेको रहेनछु ।’
पि्रय पाठकबृन्द यो लेखलाई मेरो स्पस्टीकरण भनेर नबुझ्नु होला । किनभने यो स्पस्टीकरण होइन, यो त मात्र एउटा छलफल र बहसको बिषय हो र मैले माथीका प्रतिकृया र बिषय बस्तुबारे बहस, छलफल होस् भन्ने चाहेर यहाँ प्रस्तुत गरेको हुँ ।
“यदि तपाइले यसरी लेख्दै जाने हो भने तपाइलाइनै नोक्सान हुने छ ।” भन्ने भनाइ र उपरोक्त अन्य प्रतिकृयाबारे म के भन्न चाहान्छु भने – पि्रय मित्रहरु यदि मैले लेख्न बस्दा मेरो जीवनभर मलाई हुने नाफा र घाटाको हिसाब गरेको भए मेरो जीउनुको अर्थ र अवस्था अहिलेको भन्दा धेरै फरक हुने थियो । मेरा समकालीन पत्रकार मित्रहरु जसले लेख्न बस्नु अघि सधै नितान्त ब्यक्तिगत नाफा र घाटाको हिसाब किताव राख्ने गर्दथे, अनि साँझ परेपछि न्यूरोडको पिपलबोट मुनी उभिने र आफ्ना पाखुरामा भएका सुइका डोवहरु देखाउँदै “तिमी नामर्दहरुलाइ के थाहा छ यी डोव लाख लाखका हुन्” भन्दै फुर्ति गर्ने मित्रहरुले आज ब्यक्तिगत रुपमा थुप्रै बिकाश गरेका छन् र आलिशान महलमा बसेर भिरङ्गी सन्चो गराउन लगाएका लाख लाखका डोव होइन बरु लाख-लाख रुपैयाँ तलव खाँदै आइरहेका छन् ।
मैले कहिल्यै पनि ब्यक्तिको बिरोधमा लेखेको छैन । यदि कसैले मेरो लेखमा “फलानो मान्छे खराव” भनेर लेखेको पाउनु भयो भने र त्यो मलाई देखाउन सक्नु भयो भने म तपाइप्रति कृतज्ञ हुने छु । मैले लेख्दाखेरि जहिले पनि ब्यक्ति र ब्यक्तिले गरेको कार्य, ब्यक्तिको स्वभाव र शैली छुट्ट्याउने गरेको छु । ब्यक्ति र उसको परिचय परिवर्तन हुन सक्तैन तर उसले गरेको कर्म, शैली, र उसको स्वभाव परिबर्तन हुन सक्छ । दीनबन्धुका बिषयमा पनि मैले ब्यक्तिले गरेका वा भनेका कुराहरुमा गलत भयो भनेर कमजोरी औंल्याउने काम मात्र गरेको हुँ ।
प्रायः मानव स्वभाव कस्तो हुन्छ भने आफैले आफ्नो गल्ती देखिदैन, अरुले देखाउनु पर्छ । यदि गालामा कालो दाग लागेको छ भने स्वयंले देख्न सक्तैनौ । या त त्यो कालो दाग कसैले तपाइलाई भनिदिनु पर्‍यो, या त तपाइले ऐना हेर्नुपर्‍यो । अनि मानिसलाई ऐना हेर्नु पर्ने आबश्यकता त्यतिखेर मात्र महशुस हुन्छ जतिखेर अर्काले तपाइको गालाको दागबारे प्रतिकृया जनाउँछ ।
ऐना हेर्दा पनि यदि कमसेकम २० देखि ४० सेन्टीमिटरको दुरीमा राखेर हेर्‍यौं भने अनुहार प्रष्ट देखिने छ, तर ऐना नाकमै टास्यौं भने अनुहार देख्नै छैनौं । जो दिनबन्धुसंग टाँसिएका छन्, उनीहरुले दिनबन्धुको गल्ती देख्ने छैनन् तर यदि कसैले उनलाई अलिकती दुरीबाट हेर्छ त्यतिबेला उनको सक्कली अनुहार प्रष्ट देख्न सक्ने छ । तर दुर्भाग्य हाम्रा नेताहरु, पण्डितहरु अथवा समाजमा आफुलाइ प्रतिष्ठित ठान्नेहरुले आफ्नो नजिक टासिएकाहरुलाई मात्र मन पराउँछन् ता की आफ्नो गल्ती नदेखुन् र यदि देखिहाले भने पनि ढाक छोप गरुन् ।
गल्ती कमजोरी वा रोग ढाक छोप गर्दा आफुलाई कति नोक्सान हुन्छ भन्ने कुरा उनीहरु बिर्सिदिन्छन् । यो कुरा समग्र नेताहरुमा पनि लागू हुन्छ । त्यसैले त उनीहरु भर्‍याङ्ग चढेपछि प्रायः एकैचोटी गर्ल्याम्म पछारिन्छन् ।
यी पंतिहरु लेख्दै थिएँ, मोबाइलको घण्टी बज्यो । एकजना मित्र अर्को लाइनमा रहेछन् । उनले भने – “मेरो हिजो साँझ दीनबन्धुसंग भेट भयो, उनी आफैले तपाइको लेखबारे चर्चा गर्दै भने-खै मैले उहाँलाइ चिन्दिन, मैले उहाँको कुनै नोक्सान पनि गरेको छैन् । किन मेरो बिरोधमा लेख्नु भयो ? यसबाट उहाँलाई केही फाइदा त हुँदैन ।”
प्राय टेलिफोन नगर्ने मित्रले मलाइ यही सुनाउन टेलिफोन गरेका रहेछन् । उनले मबाट केही जवाफ पर्खेजस्तो गरि भने अरुत सबै ठिकै होला ? त्यसैले मैले भनें -मैले दीनबन्धुको बिरोध गरेको होइन । मैले त मात्र उनले प्रवचन गर्दा गरेका गल्ती, कमजोरी औंल्याउने प्रयास मात्र गरेको हुँ । यदि तपाइले दीनबन्धुलाई राम्रोसंग चिन्नुहुन्छ भने उनलाई भनिदिनुहोस् कि उनी एउटा राष्ट्रिय अन्तरराष्ट्रिय ब्यक्तित्व हुन्, उनी नेपाल र समग्र हिन्दु धर्मका लागि सम्पूर्ण कुरा त्यागेर लागी परेका छन् । उनका लागि आफ्नो जीवन, परिवार भन्दा धर्म, समाज, राष्ट्र र राष्ट्रियता प्यारो छ । यसरी हिड्नेहरुले जे पनि बेहोर्नु पर्छ भन्ने कुरा उनलाई थाहा त पक्कै होला । यही काममा हिड्दा उनका बाबुको अल्पायुमै हत्या भयो । उनका बाबुको हत्या हुनुमा उनका कमी कमजोरीहरु कारक थिएनन् भन्न सकिन्न । जव उनलाई यो थाहा छ ।(भलै औपचारिक रुपमा होइन) भने उनले त्यसबाट केही सिक्नु पर्दछ ।
मैले त जसरी एउटा डाक्टरले कुनै ब्यक्तिमा लागेको रोगको डाइग्नोसिस गरेर बताउँदै भन्छ- तपाइलाई यस्तो रोग लागेको छ, रोगको उपचार गर्नु पर्‍यो ।’ त्यसरि नै मैले उनमा देखिएको कमि कमजोरी बताएको हुँ । यस हिसाबले त उनी धन्य हुनु पथ्र्यो । मेरो उनीप्रति कुनै आग्रह वा पूर्बाग्रह छैन् । बरु उनको त्याग र बलिदान प्रति श्रद्धा छ । मलाई उनीसंग बसेर एक छाक खानु पनि छैन् । मैले त मात्र एउटा ब्यक्तित्व जसले आफ्नो प्राण भन्दा बढि राष्ट्र, राष्ट्रियता, समाज र धर्मको रक्षार्थ पाइला चालेको छ । त्यस्तो ब्यक्तिको सफलताको कामना मात्र गरेको हुँ ।
यदि तपाइ पनि साँचो अर्थमा उनले गरेका योगदान र धर्म रक्षार्थ एवं समाज सुधारका कार्यप्रति अनुग्रहित हुनुहुन्छ भने उनका कमि कमजोरीहरु औंल्याउने हिम्मत गर्नु होस् । उनको अनुहारमा यदि धुलो लागेको छ भने पुछ्न सघाउनुहोस् । जसबाट उनले आफुलाई सुधार्ने, सिक्ने र आफूलाई थप परिमार्जीत गर्ने मौका पाउने छन् । र, धर्म, समाज, राष्ट्र र राष्ट्रियताको एक बलियो खम्बाको रुपमा उभिन सक्ने छन् ।
-------------------------------------------------------------------------------------------------------

दीनबन्धुको काष्टिङबाट एनआरएन बेलायतलाई पहेँलो कार्ड


-शशी पौडेल
‘जहाँसम्म साइबाबाको प्रश्न छ, उहाँ एक शिद्धिशक्ति प्राप्त व्यक्ति हो । र साइ संगठन उहाँको शिद्धि र शक्तिको प्रभावबाट विश्वभर फैलिएको छ । अब रहृयो रजनिशको कुरा । रजनिश एक दार्शनिक व्यक्ति थिए । उनले आफ्नो छुट्टै दर्शन प्रतिपादन गरे । ओशो संगठन यही रजनिशको दर्शनका आधारमा चलेको छ । उनको दर्शन अत्यन्त प्रभावकारी र मननयोग्य छ । यस अर्थमा दुवैको आ-आफ्ना महत्व र भूमिका पनि ।’
पण्डित दीनबन्धु पोखरेलसँग अघिल्लो आइतबार भएको भेटमा उनी यसो भन्दै थिए । भारतीय योग गुरु रामदेवका बारेमा राखेको एक जिज्ञाशामा उनले भने, ‘रामदेबको सिद्धान्त योग र ब्यायाममा आधारित छ । योग पनि एउटा दर्शन हो । उनले केही समय यता भारतमा कालो धन र भ्रष्टाचारविरुद्ध चलाएको अभियानप्रति उनले प्रसन्नता जनाए । सबैभन्दा ठूलो कुरा धार्मिक र आध्यात्मजनको एकतामा काम गरेको खण्डमा सफलता सम्भव रहेकामा पोखरेलको जोड थियो । एक्लै काम गर्न खोज्दा गाह्रो हुनसक्ने भएकाले एकताबद्ध पहल जरुरी हुने पोखरेलले बताए । मैले दीनबन्धुसँग उनका पिताको हत्याका सम्बन्धमा पनि जिज्ञासा राखेको थिएँ । जवाफमा उनले भने, ‘पिताजीको हत्याराको अहिलेसम्म आधिकारिक पहिचान भएको छैन् । राज्यले यसतर्फ कदम चालेकै छैन ।’ के त्यसो भए अनाधिकारिक रूपमा तपाइँलाई थाहा छ त ? पोखरेलले भने, ‘मैले थाहा पाएर पनि बोल्न मिल्दैन ।’ दीनबन्धुसँग मैले बेलायतको फानबरोमा उनको प्रवचन सकिएपछि छोटो कुराकानी गरेको थिएँ । अहिले उनी बेलायत यात्रामा छन् । गैरआवासीय नेपाली संघ -एनआरएन) यूकेले आगामी अपि्रलमा महायज्ञ आयोजना गर्ने सोच राखेको छ । महायज्ञबाट उठेको रकमले बेलायतमा एक नेपाली घर बनाउने पुण्यकर्म गर्ने एनआरएनको योजना छ । महायज्ञको प्रचार-प्रसारका लागि पोखरेललाई बेलायत निम्त्याइएको हो । बेलायत आगमनको उद्देश्यअनुरूप उनले बेलायतका विभिन्न ठाँउमा प्रवचन दिइरहेका छन् । ती प्रवचन हेर्दा चलचित्र प्रदर्शनअघि हुनुअघि देखाइने च्यारिटी शो जस्तै लाग्छ ।

अन्यत्र अर्थात रेडिङ साउथअल वा लण्डनमा भएका प्रवचनहरुका बारेमा प्रतिक्रिया दिन सक्दिन । किनकि त्यतिखेर म आफैं उपस्थित हुन सकिन । तर फानबरोमा भएको प्रवचनबाट भने सुन्नेहरु त्यति प्रभावित हुन सकेजस्तो मलाई लागेन । श्रोतागण सुरु-सुरुमा उनका कुरा सुन्न अति उत्साहित देखिन्थे । तर त्यो बृहत जनसमुदायको उत्साह र जाँगर त्यतिबेला मर्दै गयो जतिबेला पोखरेलको प्रवचन सुरु भयो । मेरो विचारमा उनले प्रवचनको सुरुआत नै अप्रासंगिक विषयवस्तुबाट गरे । आफूले जीव विज्ञानसमेत अध्ययन गरेको भन्दै उनले मानिसले बच्चा जन्माउने प्रक्रियासम्बन्धी व्याख्याबाट प्रवचन थाले । उनले प्रवचनका हरेक विषयमा यौनका सवाललाई पहिलो प्राथमिकतामा राखेका थिए ।
मानौ कि त्यहाँ कुनै धर्मकर्म र ज्ञानगुनका होइन, यौनका बारेमा प्रवचन चलिरहेको छ । पोखरेलले यौनका बारेमा गरेको ब्याख्या सुनेर आफ्ना आमाबाबुका साथ रहेका युवायुवती लाजले भुतुक्कै भएका थिए । मानौं त्यो कुनै हलिउडको ‘एरोटिक सिने’मा थियो । मेरो नजिकै बसेका एक सहभागीले भने ‘धन्न मैले श्रीमती, छोरी र बुहारीलाई साथमा ल्याइनछु । के यस प्रकारको व्याख्या धार्मिक प्रवचनमा जरुरी छ ?’ उनको प्रश्नको जवाफ फर्काउने सामथ्र्य ममा रहेन ।
प्रवचन चलिरहेकैबेला पोखराका स्थायी बासिन्दा जसले दीनबन्धुका बाबु नारायण पोखरेललाई पनि नजिकैबाट चिन्दथे । उनले भने- ‘यिनी पनि ठ्याक्कै बाबुजस्तै रहेछन्, ‘युवतीहरूलाई मन्त्रमुग्ध गराउने प्रयासमात्र गर्दा रहेछन् ।’ उमेरले झण्डै आठ दशक पार गरिसकेका वृद्धवृद्धा -श्रीमान-श्रीमती) पनि म भन्दा अघिल्लो लहरमा बसेर प्रवचन सुनिरहेका थिए । उनीहरुले कहिल्यै माछामासु खाएका रहेनछन् । त्यस्ता पवित्र जीवित पितृलाई आफ्नो प्रवचनको पात्र बनाउँदै दीनबन्धुले भने ‘तपाइँले सायद दाँत झरेपछिमात्र मासु खान छोड्नु भयो होला हैन ?’ प्रवचन सकिएपछि म ती आमा समक्ष आदरपूर्वक प्रणाम गर्न पुगेँ । त्यहाँ मलगायत उहाँप्रति श्रद्धा गर्ने अन्य व्यक्तिहरू पुग्दा उहाँका आँखा रसाएका थिए । उहाँको मानस्पटल र आत्माले भनिरहेको थियो कि ‘यति ठूलो आरोप मलाई जीवनभर कसैले लगाउन सकेको थिएन । आज ८० वर्ष पार गरेपछि कसैले सार्वजनिकरूपमै मलाई झुठो आरोप लगायो, जुन नितान्त गलत छ, त्यस व्यक्तिलाई भगवानले सजाय दिने छन् ।’
समग्रमा भन्दा एनआरएन बेलायतले दीनबन्धुको काष्टिङ यात्राबाट एउटा ठूलै पहेंलो कार्ड प्राप्त गरेको छ । यद्यपि, एनआरएन बेलायतले बेलायती जनताबाट पाएको पहेंलो कार्ड यो पहिलो होइन । यसले काउन्सिल बैठक भनी विभिन्न संघसंस्थाका प्रतिनिधीलाई बोलाएर हाइड्रो पावरका लागि लगानी गर्ने भन्ने जुन प्रचारबाजी गर्‍यो त्यसमा पनि एउटा प्रश्न चिन्ह खडा भएको छ । रसियाका केही नवधनाढ्यहरू, जसले नेपालमा भएको आफ्नो जायजेथा बेचबिखन गरेर सम्पत्ति बेलायत ल्याई थन्क्याएका छन् । उनीहरूले बेलायतमा दुःख गरी सातामा ६०/७० घण्टा काम गरेर आर्जन गरेको सानो रकममा आँखा गाढ्नु कहाँसम्मको न्यायसंगत छ कुरा हो ? आफ्नो मातृभूमिको विकासमा लगानी गर्ने कुरामा कसैको विवाद रहँदैन र रहन हुँदैन पनि । तर कुरा न्यायसंगत हुनु पर्‍यो र लगानीको सुरक्षा अनि ग्यारेन्टी हुनुपर्‍यो । यदि अहिले नेपालमा गरेको लगानीमा सुरक्षा र ग्यारेन्टी हुने भए एनआरएनका हस्ती उपेन्द्र महतोले नेपालमा रहेको व्यावसाय बेचेर त्यो सम्पत्ति किन बेलायत ल्याएर थन्क्याएका छन् ? के एनआरएन बेलायतका पदाधिकारीले यसको चित्तबुझ्दो जवाफ दिन सक्छन् ? तेस्रो पहंेलो कार्ड एनआरएन बेलायतले पाएको उसको काम गराई र बचनबद्धतामा कुनै सीमा/बन्धन नभएर हो । जस्तै पत्रकारका लागि अक्षय कोष राख्ने भन्नेदेखि लण्डन ओलम्पिकमा भाग लिन आएका नेपाली खेलाडीलाई सम्मान गर्ने भनी गरेको गाइजात्रासम्म ।