Tuesday, February 28, 2012

नेपाली नेटवर्किङ साइटहरु - ekantipur - Lilanath Ghimire

काठमाडौ, फाल्गुन १५ - फेसबुकको क्रेज नेपालीमाझ निकै बढ्दै गएको छ । केही गुगलप्लसमार्फत एकअर्कासग जोडिएका छन् । ट्वीटरमा ट्वीट गर्नेहरु त्यतिकै छन् । यस्ता सामाजिक संजाल निर्माण गरेर केही विदेशीले नामदाम दुवै कमाएका छन् । हामी नेपालीलाई समेत एकअर्कासग जोडिन उनीहरुले सजिलो बनाइदिएका छन् ।
अव हामी विदेशी सामाजिक नेटवकिङ साइटमै भर पर्नुपर्ने छैन । नेपालीले फेसबुक, ट्युटर, गुगलप्लसजस्तै सुविधा भएका साइटहरु नेपालमै बनाएका छन् । तिनमा खाता खोलेर हामी एक अर्कासग जोडिन सक्छौं । मेरोपोस्ट डटकम, संगालो डट कम, हाम्रोबुक डटकम, ठूलो डटकम, नेपालनेपाल डटकम जस्ता साइटले एकअर्कालाई जोड्ने छन् । तिनमा हामीले आफ्ना मनका भावनाहरु आफ्नो पेजको भित्तामा पोस्ट गर्नुका साथै फोटो, भिडियोलगायतका सामग्री एकअर्कालाई सेयर गर्न सक्छौं । 
मेरोपोस्ट डटकम
यो साइटलाई निर्माताले कम्प्लिट नेपाली नेटवर्क साइट भनेका छन् । यसमा पूराना साथीलाई खोज्न र नया बनाउन सकिने सुविधा छ । यसमा पनि सबै प्रकारका कुरा सेयर गर्न सकिन्छ । आफ्नो प्रोफाइल पेजलाई आफ्नै ढंगले लेआउट गर्न सकिन्छ । च्याट रुपममा साथी बनाउन सकिन्छ । आफ्नो पोष्टलाई धेरैजनासग जोड्न सकिन्छ । 
संगालो डटकम
प्रिन्सटन मिडियाले विकास गरेको यो वेवसाइटमा प्रयोगकर्ताको गोपनियतालाई जोड दिएको कम्पनीको दावी छ । यसमा अकाउन्ट र वाल पोस्टिङमा फरक तरिकाले गोपनियता सेट गर्न सकिन्छ । यो साइटमा वाल पोष्टिङ, ग्रुप च्याट, प्राइभेट च्याट गर्नुका साथै आफ्ना फोटो, भिडियो पोस्ट गार्न सकिन्छ । यसमा ग्रुप बनाउने, पेज बनाउने सुविका पनि छ । यसमा प्वाइन्ट, किनबेच र उपहारको ब्यवस्था छ । प्रयोगकर्ताले साइटमा आफ्नो रजिस्टर गरेपछि साइट भिजिट गर्दा गरिने क्रियाकलापको आधारमा प्वाइन्ट थपिदै जान्छ । त्यसलाई प्रयोग गरेर अरुलाई गिफ्ट पठाउन सकिन्छ । 
यो साइटमा आफ्नो सामान विक्रीमा राख्ने र अरुले राखेको किन्न सक्छन् । यसमा साधारण, स्मार्ट र एडभान्स लेभल गरी तिन प्रकारका प्रयोगकर्ता हुन्छन् । साधारणमा प्रवेश गर्ने ब्यक्ति आफ्ना क्रियाकलापका आधारमा बढुवा हुदै जान्छ । 
लाइभनेपाल डटकम
विश्वभर रहेका नेपालीलाई एउटै साइटले जोड्न यो साइट बनाएको निर्माताले दावी गरेका छन् । फेसबुक, माइस्पेस, ट्युटरजस्ता साइट अन्तराष्ट्रिय आधारमा निर्माण भएका बेला उनीहरु नेपालीलाई मात्र लक्षित गरेर यो साइट बनाएको उनीहरुको भनाइ छ । धेरै साइटहरु विज्ञापन संकलनका लागि बनाइन्छन् । लाइभनेपाल भने विज्ञापनबाट टाढै राख्ने उनीहरुको दावी छ । 
हाम्रोबुक डटकम
हाम्रोबुकले पनि फेसबुकले जस्तै वाल, इन्फो, इभेन्ट, सिस्कसन, म्युजिक, फोटो, भिडियोलगायत पोस्ट गर्ने सुविधा दिएको छ । यसले पनि यो निशुल्क छ र सधै रहनेछ भनेर प्रयोगकर्तालाई आस्वस्त पार्न खोजेको छ । 
नेपालनेपाल डटकम
यो साइटमा साथी बनाउने, साथीहरुसग छलफल गर्ने, ब्लग लेख्ने, च्याट गर्ने, भिडियो सेयर गर्ने, संगित अपलोड÷लाउनलोड गर्ने, आन्तरिक रुपमा एकअर्कालाई इमेल गर्ने, विजनेस डाइरेक्टरी खोज्नेलगायतका सुविधा छन् । साइटले नेपाल र नेपालीलाई केन्द्रीत गरेर संजाल बनाएको दावी गरेको छ । यसमा ‘न्युयोर्क सिटीमा रहेका नेपाली इमिग्रेसन वकिलको लिस्ट, कोरियामा नेपालीका लागि रहेको श्रम बजार, लंडनबाट दोहा, कतार जाने सस्तो टिकट कहा पाइन्छ, कुन कम्प्युटर कोर्ष गर्दा काठमाडौंमा रोजगारी पाउन सजिलो हुन्छ’ जस्ता जानकारीसमेत पाउन सकिन्छ । साइटले सक्रिय प्रयोगकर्तालाई आइपोड, आइप्याड, डिजिटल क्यामेरा, क्यामकोर्डर, ल्यापटप, नगदलगायतका पुरस्कारसमेत उपलब्ध गराउने जनाएको छ । 
नमस्तेमित्र डटकम
बेल्जियममा रहेका सुदर्शन सिम्खडाको  अगुवाइमा संचालित उक्त वेव संजालमा फेसबुकमा जस्तै सुबिधा उपलब्ध छन् । स्ट्याटस सेयर गर्न, साथी बनाउने, च्याट गर्ने, समूह बनाउने, फोटो, भिडियो तथा लिंकहरु राख्ने र सेयर गर्नलगायतका सुबिधा यसमा छन् । नेपालीहरुबिच छलफल, बहस, कुराकानी, कला, मनोरंजन, भावना सम्प्रेषणलगायतका सुविधा दिएर इन्टरनेट सामाजिक संजालमा नेपालीपन ल्याउन चाहेको साइटले जनाएको छ । 

Monday, February 27, 2012

पड्काउनेको हुँकार : ‘अझै शक्तिशाली बम पड्कन सक्छ’ - onlinekhabar

१५ फागुन, काठमाण्डौ । झलनाथ खनालको पालामा सरकारसित वार्तामा वसिसकेको ‘जातीय मुक्ति मोर्चा’ नामक समूहले आयल निगम गेट अगाडी बम बिष्फोट गराएको दावी गरेको छ । त्यसका प्रवक्ता बताउने बिश्व क्रान्तिले बिभिन्न संचारमाध्यममा टेलिफोन गरि आफुले बम पड्काएको दावी मात्र गरेनन, लामै अन्र्तवार्ता दिनसमेत भ्याए ।
सगरमाथा टेलिभिजनमा लाइभ अन्र्तवार्ता दिएका उनले आगामी दिनमा अझ भयंकर बिष्फोट हुनसक्ने बताए । आयल निगमभित्रै पड्काउन प्रयास गरेको भएपनि त्यो सफल नभएको बताउने उनले ठूल्ठूला राजनीतिक गफ दिन पनि भ्याए ।
उनको भनाईको सम्पादित अंश-
जनतालाई महंगीको भार बोकाउने र अभाव गराउने सरकारलाई चेतावनी दिनको लागि हो । सरकारसितको वार्ता भंग गर्दै हामी जनयुद्धमा जान लागेको संकेत पनि हो । हामीले होइन, सरकारले हिंसा चाहेको छ । हामीले मात्रै होइन, प्रचण्डले पनि मान्छे मारेका छन् । त्यसको पनि हिसाबकिताब हुन पर्यो । सरकारले उनीहरुसित चाहिं वार्ता गर्ने, हामीसित चाहिं नगर्ने ? हामी सौताको छोरा हो ? सरकारले हामीलाई बाध्यता बनाएको हो ।
यो सरकार भनेको सुतेको सरकार हो, कहाँ छ सरकार हामीलाई थाहा छैन । अरु ठाउँमा पनि पड्कन सक्छ, अझै शक्तिशाली हुन सक्छ त्यो । हामी सर्वसाधारणलाई अपील गर्न चाहन्छौं, एकदमै भ्रष्टाचारी र राष्ट्रघाती काम हुने अखडामा नबस्नोस् । पेट्रोल पम्प, नेटवर्क व्यवसायको कार्यालयको अगाडि, दिनदहाडै कालोबजारी र ठगी गर्ने कार्यालय वरिपरी नबसिदिनोस् । ठीक ठाउँमा पर्यो भने २० देखि ५० जनासम्म मानवीय क्षती हुन सक्छ ।
आज त हामीले सानो प्रकृतिको मात्रै राखेका हौं । भित्रै पड्काउन खोजेका हौं । एक हप्तादेखि नियमित रुपमा भित्रबाहिर गर्दा पनि खोजेको ठाउँमा राख्न सकिएन । त्यसैले बाहिर राखेका हौं । भित्रै राखेको भए धेरै क्षति हुन्थ्यो । नेपालमा भ्रष्टाचार सबैभन्दा बढी हुने नगरपालिका, गाविस, कर, काठ तस्करी हुने ठाउँ, आयल निगम, मिस कलको पनि पैसा लिने एनसेलको टावर लगायत भोलि अख्तियारमा पनि पड्कन सक्छ । किनभने अख्तियारले पनि बिशुद्ध छानविन गर्नुपर्यो ।
को हुन् पड्काउने ?
बबरमहल बिष्फोटको जिम्मेवारी लिने संयुक्त जातीय मुक्ति मोर्चासित सरकारले गएको साउन २६ मा वार्ता गरेको थियो । ऊबेला झलनाथ खनाल नेतृत्व सरकारले बार्ता गरेको यो समूहसित अहिलेको सरकारले पनि वार्ताको तयारी गर्दैथियो । सरकारसित अनौपचारिक छलफलको क्रममा रहेको मोर्चा गएको मंसिर २४ मा विभाजन भयो ।
पहिले मुक्तिदान भन्ने मोर्चाको महासचिव थिए र मोर्चा महासचिव प्रणालीमा चलेको थियो । तर अनन्त क्रान्ति भन्नेहरुको समूहले मोर्चालाई अध्यक्षतात्मक प्रणालीमा लैजाने भन्दै महासचिव मुक्तिदानलाई हटाएको घोषणा गरे ।
अनन्त क्रान्ति अध्यक्ष रहेको मोर्चामा विश्व क्रान्ति सञ्चार विभाग प्रमुख छन् । उनको खास नाम देवराज लामा हो । बबरमहल बिष्फोटपछि उनले नै सञ्चारमाध्यममा फोन गरेर जिम्मेवारी लिइसकेका छन् ।

Saturday, February 25, 2012

गुप्ता गन्हाइसके, कति कोट्याउनु ? - onlinekhabar


उपेन्द्र यादव, अध्यक्ष, मधेसी जनअधिकार फोरम नेपाल
प्रसङ्ग गुप्ताबाटै सुरु गरौं न ।
- गुप्ता कुहिसके, गन्हाइसके, नालीमा गइसके । त्यो दुर्गन्धलाई कति कोट्याउनुहुन्छ ? छाडिदिनुस उनको कुरै नगरौं ।
जेपी गुप्ताको पतनमा सबैभन्दा बढी उपेन्द्र यादव खुसी छन् भन्छन् नि हो ?
अहिले देश नै खुसी छ । एउटा भ्रष्टाचारी एउटा अपराधी जेल गयो भने को दुखी हुन्छ र ? त्यो अपराजबाट लाभ पाउनेहरु न दुःखी हुने हुन् । व्यक्तिगत हकमा भन्दा म खुसी पनि छैन, दुखी पनि छैन । किनभने उनी कांग्रेसमा हुँदा गरेका कार्यहरुका लागि अदालतले सजाय सुनाएको हो । गिरिजाप्रसादको शरणमा उनले अकुत सम्पत्ति कमाएका हुन् र त्यो उनको व्यक्तिगत मामिला हो । त्यससँग हाम्रो कुनै सरोकार छैन ।
तपाईले त मिठाई नै बाड्नु भो रे ?
-जनताहरुले बाँडे । उनकै गाउँमा, उनकै जिल्लामा सबैभन्दा ठूलो खुसी छ । किनभने उनलाई सबैले चिनेका छन् नि ।
व्यक्तिगतरुपमा तपाई गुप्ताको जेल यात्राबाट कति खुसी या दुःखी हुनुभयो ?
-यो सामान्य कुरा हो । चिरञ्जिवी बाग्ले जेल गएर सुशील कोइराला किन खुसी हुने, किन दुःखी हुने ? एउटा भ्रष्टाचारी जेल जान्छ भने म किन खुसी हुने किन दुःखी हुने ?
तपाई नै उनीहरुलाई ‘ब्राण्डेड भ्रष्टाचारी’ भन्नुहुन्छ । त्यो थाहा हुँदाहुँदै रातो कार्पेट विच्छ्याएर पार्टीमा भित्र्याउनु भयो र मधेस आन्दोलनको सुनपानी छर्केर चोख्याउने प्रयास गर्नुभयो । त्यतिखेर तपाईलाई थाहा थिएन उनीहरु भ्रष्ट हुन भन्ने कुरा ?
-त्यसको परिणाम हामीले राम्रैसँग भोगिसक्यौं । उनीहरुलाई हामीले सुधि्रन्छन् भनेर रातो कार्पेट विच्छ्याएर पार्टीमा ल्याएकै हो । तर, तीनले त विगार्ने, मधेस आन्दोलनलाई कमजोर बनाउने र पार्टीलाई तोड्ने फोड्ने अनेक काम गरे । उनीहरुले गरेका गलत कामको असर र दुष्परिणाम हामीले भोगिसक्यौं । अहिले साथीहरुले के भन्न थालेका छन-’पार्टीबाट बाहिरै गएर जेल गयो त्यही राम्रो भो, पार्टी कलंकबाट बच्यो ।’

तर, जेपीजीले त मधेस आन्दोलनमा लागेकाले मलाई दण्डित गरिएको हो भन्नुभएको छ नि ?
-यो त दोहोरो चरित्र भयो । आफैँ अदालतमा उपस्थित भएर म सजाय भोग्न तयार छु भनेर लिखित रुपमा कबुल गर्ने, अनि जब प्रहरीको गाडी बढ्ने बेलामा चाँही पत्रकारका अघि चर्को कुरा गर्ने ? भ्रष्टाचारीलाई भ्रष्टाचारीकै रुपमा हेर्नुपर्छ । भ्रष्टाचारीको कुनै जात, धर्म, समुदाय हुँदैन, उनीहरु ‘भ्रष्टाचारी’ मात्र हुन् । फेरि जेपी कहाँबाट मधेसको पक्षमा लडेका थिए र ? पहिलो मधेस आन्दोलन हुँदा त उनी त्यसको बिरोधमा बक्तब्यबाजी गरेर हिडेका थिए । तपाई त्यतिबेलाका पत्रिका पल्टाएर हेर्नुस न ।
जेपी मात्र हैन, अरु ब्राण्डेड भ्रष्टाचारीहरुलाई पनि लाइन लगाएरै भित्र्याउनु भएको हैन र ?
- भ्रष्टै भन्दा पनि पार्टीमा राम्रा नराम्रा धेरै खालका मान्छे आएका छन् । नयाँ पार्टीमा त धेरै मान्छे बाहिरैबाट आउँछन् नि ।
पार्टी छाडेर गएकाहरुलाई भ्रष्टाचारी भनिरहँदा तपाई त्यसबाट अछुत हुनुहुन्छ भनेर कसरी पत्याउने ?
-हामी भनेको धेरै साधारण मान्छे । हाम्रा सबैकुराहरु खुला हुन्छन, लुकाउने ठाँउ पनि छैन् ।
मधेस आन्दोलनपछि काठमाडौंको वत्तिसपुतलीमा साथीहरुले थाहा नपाउन भनेर अर्कैका नाममा घर किन्नुभएको तर, जसको नाममा किनियो उसैले खाइदियो भन्ने चर्चा छ नि ?
-त्यो सौभाग्य त मैले पाउँदै पाइन । -लामो हाँसो)…. । एउटा घर, एउटा पार्टी कार्यालय किन्न पाए हुन्थ्यो भन्ने सँधै लागिरहन्छ । तर, सकिएको छैन । बत्तिसपुतली त मैले राम्रोसँग देखेको पनि छैन् । मलाई थाहै थिएन, तपाईलाई मेरो घर खाई दिएको थाहा रहेछ । बरु मलाई दिलाई दिनुहोस् न । -फेरि लामो हाँसो) ।
मधेस आन्दोलन पहिले र पछि तपाईको आर्थिक हैसियतमा म परदर्शी छु र सार्वजनिक गर्न सक्छु भन्न सक्नुहुन्छ ?
-त्यो सबैकुरा जनतालाई थाहा छ ।
उसो भए पैसा नभएकै कारण तपाईको पार्टी चोइटेको चोइटेकै गर्दो रहेछ हो ?
म सँग पैसा भएको भए त जेपी गुप्ता र गच्छदारले जसलाई पैसा दिएर लगे, उनीहरुलाई मै पैसा दिन्थें । अनि किन जान्थे र ? हाम्रो सबैभन्दा ठूलो समस्या भनेको पार्टीमा फण्डको अभाव हो । धेरै गाह्रो छ ।
तपाईको पार्टी ऋणमा हो ?
ऋण, साँबा, ब्याज भन्दा पनि हामी आर्थिकरुपले ज्यादै जटिल अवस्थामा छौं । धेरै राम्रा योजनाहरु छन् तर आर्थिक अभावका कारण गर्न सकिएको छैन । पहिले पो सभासदहरु थिए, अलिकती स्रोत पनि हुन्थ्यो, अहिले त सभासद पनि थोरै छन् । धेरै गाह्रो छ ।
सत्ताबाट बाहिरिएपछि झनै गाह्रो भएको होला है ?
सत्तामा बस्दा पनि त्यस्तै हो । म परराष्ट्रमन्त्री भएँ, परराष्ट्र मन्त्रालयमा तलब बाहेक कुनै आर्थिक कारोबार हुँदैन । विकास निर्माण, खरिद विक्री केही हुँदैन् ।
तपाई परराष्ट्रमन्त्री हुँदा गच्छदार जी भौतिक योजना तथा निर्माण र गुप्ता जी कृषिमन्त्री जस्तो आर्कषक ठाउँमा हुनुहुन्थ्यो । स्रोत जम्मा भएन ?
उहाँहरुले त जम्मा पार्नु भो तर, पार्टी फुटाउन र आफ्नो पार्टी बनाउन लगानी गर्नु भो । तीनले किन अर्काको पार्टी बनाउँथे र ?
कस्तो विडम्बना- मधेस आन्दोलनको राप र तापबाट उमि्रएका केन्द्रीय सदस्य, सभासद सबै पैसामा बिके भन्नुहुन्छ ?
- सबै पैसामा विके भन्दा पनि कतिपय राजनीतिक भ्रममा जान्छन्, कतिपयलाई मन्त्री बनाइदिन्छु भन्ने जस्ता गलत आश्वासन पनि दिइएको हुन्छ । नभए, मानिलिनुस, मंसँग बस्दा असन्तुष्टि थियो, विजय गच्छदारकहाँ गएपछि त सन्तुष्ट हुनु नि । त्यहाँ पनि कलह छ । जेपी गुप्ता जेल गए, तर, त्यसअघि नै त्यहाँ पनि कलह नै थियो नि । ३/३ महिना, ६/६ महिनामा सरकार बदली हुने कारणबाट पनि अबसर पाइन्छ कि भनेर मानिसहरु जान्छन् । हाम्रो मात्र हैन अरु पार्टीमा पनि यस्तै छ । त्यसैले अहिलेको फुटको मुख्य कारण विचार भन्दा पनि अबसर नै हो । मानिसमा अत्यधिक महत्वकांक्षा र त्यसलाई परिपूर्ति गर्ने साधन श्रोतको सिमितता पनि हो ।
मधेस आन्दोलनमा तपाईका साथमा रहेको युवाहरुले अहिले एक एक गर्दै साथ छाड्दै गएको जस्तो देखिन्छ । एक्लो महसुस गर्नुभएको छैन ?
-आन्दोलनमा देखिएको मास संधै कसैको पछि रहँदैन । ३६ सालको आन्दोलनपछि जनमत संग्रहको घोषणा भयो र एउटा विशाल मास कांग्रेस र कम्युनिष्टको पछि लाग्यो । परिणाम घोषणापछि ठूला आन्दोलन त कहीँ पनि भएनन नि, कहाँ गयो त त्यो मास ? ज्ञानेन्द्र पूर्वाञ्चल, पश्चिमाञ्चल जाँदा एउटा ठूलो भिड पछि लाग्थ्यो, तर ज्ञानेन्द्र झिटीगुन्टा कसेर नागार्जुन जाँदा त कोही पनि साथमा गएनन् । त्यसकारण कुन बेलामा कुन भिड आउँछ र को जान्छ त्यसको आधारमा राजनीति नापिँदैन । आधार भनेको नीति, कार्यक्रम र मुद्धा हो । हिजो आन्दोलन हुँदा हाम्रो पार्टी नै थिएन, सानो जमात थियो । आज गाउँदेखि केन्द्रसम्म हाम्रो नेटवर्क छ । भनेको हिजोको भन्दा त कयौं गुणा हामी अगाडी बढ्यौं ।
पार्टी टुक्रेको टुक्रियै छ, सभासदको संख्या समिति भइसक्यो । अगाडी भन्दा पछाडी गएको पो देखिन्छ त ?
-हैन, भिड भनेको संधै हुँदैन । भूकम्प त संधै आउँदैन नि । जुन बेला आउँछ, कसेर झड्का दिन्छ । त्यसअघि पछि पनि धक्का दिइरहन्छ । तर, सँधै धक्का त दिँदैन नि । त्यसैले राजीतिक पार्टीहरुमा अन्दोलनका बेला जुटेको मास सँधै रहिरँदैन र त्यो मासमा कति जना छ र छैन भनेर नाप्नु गलत हो ।
हामीले जान्न खोजको नि, हिजो आन्दोलनमा युवा मास गियो, आन्दोलन सफल भयो, त्यसपछि चुनावका बेला अरु हृवारहृवार्ति आए । तर, अहिले न हिजोका युवा सारथी रहे न पछि आएकाहरु ?
-त्यसो हैन । अहिले तराईका जिल्लाहरुमा हामीले विशाल कार्यक्रमहरु गरिरहेका छौं । २/४ जना सभासद यताउता हुँदैमा सबै गयो, सिद्दियो भन्नु गलत हो । वास्तविकता के हो भने पार्टी यथावत नै छ, अझ बढेर गएको छ । जुन सभासदको संख्या गणितको थियो, त्यो गणितिय संख्या मात्र हामीले गुमाएका छौं । लुजर हामी त्यहाँ मात्र हौं ।
तपाईबाट छुटि्टएर गएकाहरु अहिले मधेसी मोर्चामा गोलबन्द भएका छन्, सत्तामा छन् । उनीहरुले सेनामा मधेसी भर्ना, नागरिकता जस्ता एजेण्डा पूरा गराउन पहल गरिरहेका छन । एजेण्डा उनीहरुले पूरा गर्ने, भिड चाहिं तपाईको पछाडी लाग्ने । यस्तो पनि हुन्छ र राजनीतिमा ?
-ती सबै फोरमकै एजेण्डा हुन् । फोरमकै आन्दोलनले मुलुकमा युगान्तकारी परिर्वतन ल्याएको हो । जसका नाम तपाईहरु लिँदै हुनुहुन्छ, मधेस आन्दोलनका बेला उनीहरु कोही कांग्रेसका मन्त्री थिए, कोही एमालेका सभासद थिए । मधेस आन्दोलनमा त थिएनन् ।
जहाँसम्म जागिर लगाइदिने कुरा छ, दुई-चार जनालाई जागिर लगाउने हो कि देशै खुसी पार्ने हो ? त्यही जागिर लगाउने काम पनि गर्न सकेको भए त हुन्थ्यो नी । मुद्धा विचार र एजेण्डा हामीसँगै छ । उनीहरुसँग त सत्ता र पैसामात्र छ ।
राजनीतिमा त पैसा र सत्ता भयो भने सब थोक हुन्छ हैन र ? अझ मधेसमा त पैसा र सत्ता नै शक्तिको स्रोत हो भन्छन् ।
हुँदैन । राजनीतिमा विचार भयो भने सबथोक हुन्छ । सहि विचार छ तर, एक्लै हुनुहुन्छ भने चिन्ता नगर्नुस् भोली धेरै साथीहरु हुन्छन् । तपाईसँग विचार नै छैन, मुद्धा नै छैन भने जतिसुकै पैसा र सत्ता भएपनि त्यो क्षणिक हुन्छ । पछि सबैले छोड्छ र एक्लै हुनुहुन्छ । राणाहरुपछि सबैभन्दा लामो समय त मरिचमान प्रधानमन्त्री भए, खै त ? ज्ञानेन्द्रसँग सत्ता, पैसा, सेना के थिएन ? तर, जाने बेलामा त झिटिगुण्टा मात्र लगे ।
जेपी गुप्ताको पतनपछि अब मधेसको नेतृत्व कस्ले लिन्छ, उपेन्द्र कि गच्छदार भन्ने प्रश्न उठेको छ नि ?
यसलाई व्यक्तिमा केन्द्रीत गरेर नहेरौं । जोसँग विचार हुन्छ, त्यही अगाडी बढ्छ ।
अब फुटेर गएकाहरुसँग एकताको पहल गर्नु हुन्छ ?
नेपालमा कम्युनिष्ट पार्टी ६७ चोटी फुट्यो । कांग्रेस २७ पटक टुक्रियो, शेरबहादुर देउवा लास्ट एपिसोड थियो । तर, ती टुक्रिएकाहरु कहाँ पुगे ? अंक पनि भेट्टाउन गाह्रो छ । सभासदहरु हुँदैमा ठूलो हुने र जाँदैमा सानो हुने भन्ने हुँदैन । पार्टी एकता असम्भव हैन तर, तत्कालै सम्भव छैन ।
तपाईलाई माओवादीसँग नजिक भएको आरोप लाग्छ नि ?
-यस्तो आरोप पार्टी फुटाउने बेला मात्र काम लाग्छ । पार्टी फुटाएपछि त उनीहरु नै माओवादीको शरणमा गए । त्यसपछि उपेन्द्रभन्दा बढी नजिक हामी भएछौं भन्नु पथ्र्यो नि ।
यथर्थता के हो भने यो मुलुकको परिर्वतानकारी शक्ति भनेको माओवादी र हामी हौं । मधेस आन्दोलन र माओवादी जनयुद्ध नभएको भए ज्ञानेन्द्रले डण्डाले पेलेर राजनीति गथ्र्यो । त्यो परिर्वतनलाई निष्कर्षमा पुर्‍याउनु पर्नेमा परिर्वतनकारी शक्तिहरु लडे भने प्राप्त उपलब्धीहरु सिद्दिन्छ । त्यसैले परिर्वतनलाई निष्कर्षमा नपुर्‍याउँदासम्म परिर्वतनकारी शक्तिहरु आपसमा लड्नु हुँदैन ।
गौर घटना चाँही लडाई नै थियो हैन ?
त्यो दुर्भाग्यपूर्ण दुर्घटना हो ।
माओवादीले त तपाईलाई मुख्य योजनाकार र मतियारको आरोप लगायो, तपाई लुकेर वस्नुपर्ने अबस्था पनि आयो , तर अहिलेसम्म त्यो आरोपको राजनीतिकरुपले प्रतिबाद नै गर्नुभएन ?
-माओवादीले अहिले रियलाइज गरिसकेको छ । ‘विगतमा गलत सुचनाका आधारमा केही सोंच बनाइएको थियो’ भन्ने महसुस उनीहरुले गरेपछि यसलाई कोट्याउन आवश्यक छैन ।
व्यक्तिगत रुपमा तपाई र प्रचण्डको सम्वन्ध सुमधुर छ भन्छन् नि ?
नेपालको राजनीतिमा कसैसँग पनि मेरो सम्वन्ध नराम्रो छैन, सबैसँग सुमधर नै छ । तर विचारका आधारमा फरक छ । विचारका आधारमा हामी दुई ध्रुवमा छौं ।
तपाईले माओवादी चाँही किन छाड्नु भएको हो ?
जब समातेकै थिएन भने छाड्ने कुरा किन आउँछ ? म कहिल्यै माओवादी भइन तर, एक समयमा मैले राम्रैसँग सहयोग गरेको हो । म माओवादीको कार्ड होल्डर भइन । त्यसबेला म एमाले नै थिएँ । मैले सहयोग चाहिं राम्रै गरेको हुँ । किन सहयोग गरेँ भने माओवादी गणतन्त्रका लागि लडेको हो । र त्यतिवेलाको परिर्वतनका लागि लडेको हो ।
भनेपछि इतिहासमा तपाई कहिल्यै पनि माओवादी हुनुहन्थेन ?
म माओवादी थिएँ भन्नु मनगढन्ते कुरा हो । मैले सहयोग गरें, केही समय सहयात्रा पनि भयो । त्यस्तो सहयाात्रा अरु कम्युनिष्ट पार्टीसँग पनि भयो ।
माओवादीसित लामो सहयात्रा गर्नुभयो तर, अन्त्यमा पार्टी नै छोड्नु भो किन ?
मैले नेपालका कम्युनिष्ट पार्टीका धेरै नेताहरुसँग काम गर्ने सौभाग्य पाएँ । मलाई पुष्पलालले सदस्यता दिएका हुन् । तुलसीलाल, मनामोहन, मदन भण्डारी हुँदै राजाका पाउमा दाम राखेर ढोग्नेसम्मसित सहयात्रा भयो । बाबुराम, प्रचण्डसँग पनि संगत गरें । मैले नेपाली कम्युनिष्ट पार्टीका सबै ब्राण्ड र भेराइटीका नेताहरुको क्यारेक्टरलाई राम्रोसँग बुझ्ने मौका पाएँ । र म के निष्कर्षमा पुगेँ भने नेपालमा आइडोलोजी, क्यारेक्टर र प्राक्टिसमा कोही पनि कन्युनिष्ट भएटिएनन् । अहिले एमाले र कांग्रेसको पार्टीको बाहिरको कभरको पार्टीको चिन्ह हटाइदिनुस् त के फरक छ ? अब त्यही बाटोमा माओवादी विस्तार विस्तारै जाँदैछ । तत्काललाई त्यता जान गाह्रो देखिएको मात्र हो ।
मधेसबादी दलहरुलाई अक्सर भारत परस्त भनिन्छ । किन होला ?
पहिले म कम्युनिष्ट पार्टीमा काम गर्दा जो सँग रिस उठ्छ उसलाई सीआईएको एजेण्ट भनेर गाली गथ्र्यौं । रिस उठेका बेला त जे भनेपनि भो तर, यथार्थ त्यस्तो होइन । अहिले बाबुराम, माधवकुमार तथा पहिला मात्रिकाप्रसाद कोइरालासम्म कसरी प्रधामन्त्री बने ? मधेसीलाई गाली गरिन्छ तर, गैरमधेसीहरु कहिले काँही त नेपाली हुँ भन्ने पनि बिर्सन्छन् । उनीहरु हिन्दीमा भट्याउँदै ‘हामारा जन्म कान्याकुब्जमे हुवा था । हाम कान्याकुब्जी ब्राम्हण हे, हामारा पुर्वजओका जन्म कुमाउँ गढबलमा हुवा था, इसिलिए हाम कुँमाई ब्राम्हण हे । हाम और आप उपाध्याय हे और एक हि हे’ भनेर व्याख्या गरेको पनि यही कानले सुनेको छु । प्रधानमन्त्रीकै चुनावअघि माधव नेपालले मेरो जन्म सितामढिमा भएको हो किन भने ? त्यसकारण केहीले मधेसीलाई बदनाम गर्ने तर कुर्कम जति आफै गर्ने गर्छन् ।
तर, भारतबाट आउने नेताहरुले पनि मधेसीहरुसँग खानपिनसहित वेग्लै भेट्ने, अलिक बढी स्नेह देखाउने गर्छन् नि ?
-कसले कसलाई कहाँ भेटे त्यो अलग कुरा हो । तर यर्थाथ त्यस्तो हैन । यो भनेको एउटा मधेसीलाई बदनाम गर्ने र अर्को एन्टी इण्डियन सेन्टिमेन्टका आधारमा पहाडी जनमानसलाई दिगभ्रमित गर्ने ‘अल्ट्रा लेफ्ट’हरुको रणनीति हो । यता एक थोक र पारी गएपछि अर्को कुरा बोल्ने गरिन्छ । उनीहरु सुविधा अबसरका लागि त्वमं शरणम् गरेर आत्मसमर्पण गर्ने गरेका छन् ।
तपाईले प्रचण्डलाई साथ दिएपछि दक्षिणी मित्रहरु रिसाएको र पार्टी फुटनुमा पनि उतैको हात रहेको चर्चा भयो । तपाईले पनि अनौपचारिक रुपमा त्यही कुरा बताउनुभयो रे ?
-त्यो भएको भए त बाबुराम प्रधानमन्त्री नै नबन्नु पर्ने । दक्षिण र माओवादीको सम्वन्धलाई विश्लेषण गर्ने हो भने माओवादी यत्रो शक्तिशाली हुनुमा दक्षिणको पनि ठूलो हात छ । के के भूमिका छन् अहिले नै बाहिर नल्याउँ तर, दक्षिण र माओवादी टाढाका विषय हैनन् । विचमा सामान्य ठाकठूक मात्र भएको हो ।
पुष्पलाल, एमाले, माओवादी हुँदै फोरमसम्मको राजनीतिक यात्रा गरिसक्नु भएको छ। कुनै यस्तो निर्णय छ, जसप्रति अहिले पनि गहिरो पश्चाताप छ ?
-कहिले काँही बढी आशाबादी हुनाले मान्छले दुःख पाउँछ । हामीले विजय गच्छदार र जेपी गुप्ता जस्तालाई पार्टीमा ठाउँ दिनु ऐतिहासिक भूल नै थियो भनेर हामीले स्वीकार गरेका छौं । त्यसो नगरिएको भए आजको परिस्थिति फरक हुन्थ्यो ।
तर, तपाईको उचाई निर्माणमा जेपी गुप्ताको ठूलो भूमिका छ भन्नेहरु पनि छन् नि ?
-त्यो तपाई विश्वास गर्नुहुन्छ ? । मान्छेले त त्यस्ता पा पापीहरुलाई गंगाजल छर्केर शुद्ध पार्नु भयो भन्छन मलाई । जेपीलाई त मैले सप्तरीको आफ्नो क्षेत्रबाट उठाएर जिताएको हुँ । कसैले पनि जेपीलाई भोट हाल्न मानेको थिएन् । मेरो ठूलो परिवार छ, उनीहरुलाई भनेर, म आफैं मतदान केन्द्रमा पुगेर जेपीलाई जिताउन लागेको हुँ ।

Thursday, February 23, 2012

भ्रष्टाचारीलाई सजायँ कम भो भन्छन्, फाँसी नै दिने त? विज्ञ के भन्छन् ? - mysansar

गैरकानुनी रुपमा सम्पति जोडेको ठहर गर्दै बहालवाला मन्त्री जेपी गुप्तालाई जेल पठाउने सर्वोच्च अदालतको फैसलालाई सर्वसाधारणले स्वागत गरेका छन्। भ्रष्टाचारविरोधी अभियानमा लामो समयदेखि कार्यरत एन्टी करप्सन एक्सपर्ट नारायण मानन्धरले यो मुद्दालाई कसरी विश्लेषण गरेका छन् ? आउनुस् उनको विचार पढौँ-
  • ढिला न्याय दिनु भनेको न्याय नदिनु बराबर हो। यो फैसला झण्डै १० वर्षपछि आएको छ। तपाईँ अनुमान लगाउन सक्नुहुन्छ १० वर्षमा सम्पतिको मूल्याङ्कन कति बढ्छ। सन् २००३ को ८४ लाख रुपैयाँको ‘भ्यालु’ सन् २०१२ मा उति नै हुन सक्दैन।
  • भ्रष्टाचारको अपराधको एउटा विशेष विशेषता हुन्छ- यो गनाउँछ। मान्छेले प्रमाणहरु हेर्दैनन्, बस् यो गनाउँछ।
  • मृत्युदण्डले भ्रष्टाचार रोक्न सकिने भए चीन र भियतनाम यो संसारमा सबैभन्दा स्वच्छ देश हुन्थे। तर दुर्भाग्यवश यी देशहरु बढी भ्रष्ट देशहरुको सुचीमा छन्।
  • जरिवाना ठहर भएको रकमभन्दा सय गुणा बढी होस्। यस्तो भएमा मात्रै भ्रष्टाचार जस्तो अपराधसँग हामी जुध्न सक्छौँ। आत्मसमर्पण गर्‍यो भने डिस्काउन्ट दिने अहिलेको हाम्रो न्याय प्रणाली हास्यास्पद छ।

अवैध आर्जन

-नारायण मानन्धर-
विशेष अदालतले सन् २००७ को जुन महिनामा सफाइ दिने भनी गरेको फैसलालाई उल्ट्याउँदै सर्वोच्च अदालतले बहालवाला मन्त्री जेपी गुप्तालाई जेल र जरिवानाको फैसला गर्‍यो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मार्च २००३ मा यो मुद्दा दायर गरेको थियो र विशेषको फैसलापछि सन् २००७ को नोभेम्बरमा पुनरावलोकनका लागि सर्वोच्च पुगेको थियो। भ्रष्टाचार गरी गैरकानुनी सम्पति आर्जन गरेको ठहर हुँदै जेलमा जाने गुप्ता तेस्रा व्यक्ति हुन्। यसअघि पूर्वमन्त्री चिरन्जीवी वाग्ले र रामाज्ञा चतुर्वेदी जेल गइसकेका छन्। उनीहरु अहिले जेल मै छन्।
सर्वोच्चको फैसलाको जतिसुकै प्रशंसा भए पनि सर्वसाधारणको आलोचना पनि सहनु परेको छ। आलोचना विशेष गरी दुई विषयमा केन्द्रित छन्। एक- लामो समयसम्म सार्वजनिक पदमा रहेको व्यक्तिलाई सजाय निकै कम भयो। सजाय भ्रष्टाचारका लागि ६ महिना र सार्वजनिक पदमा रहेकोले १ वर्ष गरी १८ महिनाको मात्र छ। त्यसैगरी स्रोत नखुलेको ८४ लाख रुपियाँको सम्पति जफत र उति नै रकम जरिवाना सजायमा छ।
१० वर्षअघि र अहिलेको ‘भ्यालु’ एउटै ?
दोस्रो, एउटा भनाई छ, ढिला न्याय दिनु भनेको न्याय नदिनु बराबर हो। यो फैसला झण्डै १० वर्षपछि आएको छ। विगतका रेकर्ड हेर्ने हो भने पनि हाइ प्रोफाइलका भ्रष्टाचारका केसहरु १० वर्षभन्दा कम समयमा छिनोफानो भएका छैनन्। यदि भ्रष्टाचार भनेको गैरकानुनी रुपमा चल अचल सम्पति जो‌ड्नु हो भने तपाईँ अनुमान लगाउन सक्नुहुन्छ १० वर्षमा सम्पतिको मूल्याङ्कन कति बढ्छ। सन् २००३ को ८४ लाख रुपैयाँको ‘भ्यालु’ सन् २०१२ मा उति नै हुन सक्दैन। दुर्भाग्यवश, हाम्रो न्याय प्रणालीमा भने समय रोकिएको झैँ लाग्छ। एउटा मुद्दाको छिनोफानो गर्न वर्षौँ लाग्नुको कारण यो पनि हुनसक्ला।
भ्रष्टाचारीलाई डिस्काउन्ट 
यो मुद्दामा एउटा अर्को अनौठो आयाम पनि छ। गुप्ताले अदालतसमक्ष आत्मसमर्पण गरे। हाम्रो यही अनौठो न्याय प्रणालीका कारण आत्मसमर्पण गरेका कारण उनले जेल सजाय र जरिवाना दुवैमा २० प्रतिशत बोनस डिस्काउन्ट पाउने भए। शायद् त्यही भएर होला भ्रष्टाचारी ठहर भएर जेल जानुअगाडि रामाज्ञा चतुर्वेदीको मुहारमा ठूलै हाँसो थियो।
जेल जानुअघि चतुर्वेदीको हाँसो (माथि) र उनले गरेको २० प्रतिशत डिस्काउन्टको माग।

भ्रष्टाचारको अपराधको एउटा विशेष विशेषता हुन्छ- यो गनाउँछ। मान्छेले प्रमाणहरु हेर्दैनन्, बस् यो गनाउँछ। वाग्लेको केसमा गन्ध एक महिनामा ८० लाख रुपियाँ जम्मा गरेर वा जग्गाहरु लगातार किनेर आएको थियो; जेपी गुप्ताको केसमा तीन वटा बैँकबाट ५५ लाख रुपियाँ अकस्मात् झिकेर आएको थियो। गुप्ताले त्यसको बारेमा भन्न सकेका छैनन्। छोटो समयमा ठूलो परिमाणमा पैसा निकाल्दा मान्छेले सम्झन नसक्ने भन्ने हुँदैन। जबर्जस्ती बिर्सेको बहाना बनाउँछ भन्ने कुरा अर्कै।
मूल्याङ्कनमा फरक
अवैध आर्जनको मुद्दाको विश्लेषण त्यति सजिलो छैन। नेपालको संयुक्त परिवार प्रणाली, पुर्ख्यौली सम्पतिको प्रणाली, व्यवसाय सञ्चालनमा अनौपचारिकता अनि कृषियोग्य जग्गा र त्यसको उत्पादनको बारेमा वैज्ञानिक रुपमा सम्पति मूल्याङ्कनको अभावले यसलाई झन् कठिन बनाएको छ।
तलको तालिकामा ४१ पेज लामो अदालतको फैसला र अख्तियारको चार्ज सिटबाट गुप्ताको सम्पति मूल्याङ्कन र आय स्रोतहरु बारे देखाइएको छ। तालिकाको माथिल्ला भागमा अख्तियारको मूल्याङ्कन र विशेष अदालत र सर्वोच्चको मूल्याङ्कनमा फरक देखिएको छ। तालिकाको मुनि अख्तियारले २ करोडभन्दा बढी अवैध आर्जन गरेको अभियोग लगाएको देखिन्छ भने विशेष अदालते चाहिँ ७ लाख मात्रै जुन ७ प्रतिशत हो। यही कारण देखाउँदै गुप्तालाई विशेषले सफाइ दिएको थियो। सर्वोच्चले भने त्यो संख्यालाई बढाएर ८४ लाख पुर्‍याएको छ र दोषी ठहर गरेको छ। सम्पति मूल्याङ्कनको बारेमा यो फराकिलो फरकले अवैध आर्जनबारे हाम्रो धारणालाई गम्भीर रुपमा सोच्न बाध्य बनाउँछ। तालिकामा अधिकांश रकम अनुमानित हुन्। मलाई थाहा छैन हाम्रा कानुनी पण्डितहरु यस्ता संख्यालाई कसरी हेर्छन् ?


सम्पति मूल्याङ्कन


अख्तियार
विशेष अदालत
सर्वोच्च अदालत
सम्पति विवरण



जग्गा
2388875
343450
343450

घर
5113647
2280411
2280411

कूल अचल सम्पति
7502522
2623861
2623861

सवारी साधन
2463016
1800000
2463016

फर्निचर
801191
400595
400595

इलेक्ट्रोनिक्स
182000
182000
182000

लगानी
6931624



बैँक ब्यालेन्स
700172
700172
700172

बैँक खाताबाट रकम निकालिएको
5556752
5361365
5361365

कूल चल सम्पति
16634755
8444132
9107148

शिक्षा खर्च
195387
195387
195387

कूल शिक्षा खर्च
195387
195387
195387

कूल रकम
24332664
11263380
11926396
2
आय स्रोत



तलब
4438062
1788956

विदेश भ्रमण
589876
461153.43

जीप बिक्री
425000
425000

कार भाडा
768000
0

कार बिक्री
836984
0

जग्गा भाडा
83125
18375

घर भाडा
422700
105675

जग्गा बिक्री
275766
275766

कृषि आय
947620
257792.5

आँप खेतीको आय
735000
183750

बैँक ब्याज
1035108
0

कूल3524618*
10557241
3516467.93
3
अवैध आर्जन (1-2)
20808046*
706139
8409928.07
*अख्तियारको चार्ज सिटबाट
सवारी साधनको मूल्याङ्कनलाई छाडेर सम्पति मूल्याङ्कनमा सर्वोच्च अदालत र विशेष अदालतमा कुनै फरक छैन। तर तालिकाको तल पट्टी आय स्रोतहरुको निर्धारण गर्ने क्रममा भने अख्तियारको मूल्याङ्कन र सर्वोच्चको मूल्याङ्कन निकै नजिक छ, विशेषको भने ठूलै अन्तर छ। तालिकालाई ध्यान दिएर हेर्ने हो भने तीन वटा चिजले गुप्तालाई दोषी बनाएको देखिन्छ-
क)     पारिश्रमिकको कम मूल्याङ्कन; यो विशेष अदालतले गरेको भन्दा ३८ प्रतिशतले कम छ
ख)     सांसद सुविधामा खरिद गरेको कार भाडामा दिँदा र बेच्दा आएको रकमलाई मान्यता नदिइनु; र
ग)      स्रोत खुलाउन नसकेका बैँक खाताबाट आएको ब्याज रकमको पैसालाई मान्यता नदिइनु।
हामीकहाँ एउटा उखान छ, पाप धुरीबाट कराउँछ। सांसदहरुलाई महँगा विलासी गाडी महँगो भन्सार छुट दिएर किन्न पाउने व्यवस्था गर्नु नै एउटा भ्रष्टाचार थियो सुरुमा। त्यसैले यही पाप आकाशबाट कराउनुमा कुनै आश्चर्य भएन।
भ्रष्टाचारीलाई फाँसी दिने कि जरिवाना बढाउने?
अन्त्यमा म भ्रष्टाचारविरोधी अभियानका क्रममा एउटा विचार राख्‍न चाहन्छु। यो भ्रष्टाचारीलाई कडा सजाय दिने प्रावधान राख्‍नु पर्‍यो भन्ने हाम्रा कानुनी पण्डितहरुका लागि जवाफ हुनसक्छ। कोहीकोही त अझै मृत्युदण्डको कुरा गरिरहेका छन्। मेरो जवाफ यस्तोमा हुन्छ- मृत्युदण्डले भ्रष्टाचार रोक्न सकिने भए चीन र भियतनाम यो संसारमा सबैभन्दा स्वच्छ देश हुन्थे। तर दुर्भाग्यवश यी देशहरु बढी भ्रष्ट देशहरुको सुचीमा छन्। भ्रष्ट मान्छेहरुको मनोविज्ञानलाई बुझेर विश्वका एन्टि करप्सन एक्सपर्टहरु भनिरहेका छन् कि भ्रष्टहरुलाई सबैभन्दा बढी चिन्ता उनीहरुले अवैध रुपमा आर्जन गरेको सम्पति जफत होला भन्ने हुन्छ। उनीहरुलाई जेल सजायको चिन्ता हुन्न; संभावित मृत्युदण्डसँग पनि उनीहरु डराउँदैनन्। यदि भ्रष्टहरुको यस्तै मनोविज्ञान छ भने हामीले हाम्रो दण्ड प्रणालीलाई यसरी डिजाइन गर्नुपर्‍यो कि भ्रष्ट ठहरिएकाहरुबाट बढीभन्दा बढी सम्पति असुल उपर होस्। जरिवाना दोब्बर गरेर र थप जेल सजाय राखेर अनि मुद्दाको छिनोफानो हुने समय घटाएर हामी हाम्रो दण्ड प्रणाली परिवर्तन गर्न सक्छौँ। अहिलेको छिनोफानोको समय र क्षतिको स्तर हेर्दा सजायँ हात्तीको मुखमा जीरा जस्तो हो। हामीलाई संभवतः यस्तो प्रणालीको आवश्यकता छ, जसमा जरिवाना ठहर भएको रकमभन्दा सय गुणा बढी होस्। यस्तो भएमा मात्रै भ्रष्टाचार जस्तो अपराधसँग हामी जुध्न सक्छौँ। आत्मसमर्पण गर्‍यो भने डिस्काउन्ट दिने अहिलेको हाम्रो न्याय प्रणाली हास्यास्पद छ।