Monday, July 16, 2012

कस्तो छ विस्तारित बैठकको तयारी ? - nayapatrika

नेत्र पन्थी, रोशन खड्का
माओवादीले सोमबारदेखि सुरु हुने सातौँ विस्तारित बैठकको तयारी अन्तिम चरणमा पुर्‍याएको छ । पाँच हजार कार्यकर्ता भेला हुने उक्त बैठक सम्पन्न गर्न माओवादीले स्थायी समिति सदस्य कृष्णबहादुर महराको संयोजकत्वमा मूल र त्यसपछि आठ उपसमितिसमेत
बनाएको थियो ।
विस्तारित बैठक मूल व्यवस्थापन समितिका संयोजक महराका अनुसार आइतबार रातिसम्म तयारीको काम सकिएको छ । सोमबार दिउँसो एक बजे बैठक उद्घाटन हुँदै छ । सम्भव भएसम्म उद्घाटन समारोह सकिएपछि अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन बैठकमा पेस गर्ने महराले जानकारी दिए ।
पालुङटार विस्तारित बैठकमा टहरा बनाएर बसेका माओवादी कार्यकर्ता यसपालि पार्टी प्यालेसमा बस्ने भएका छन् । देशभरबाट आएका कार्यकर्ताका लागि खानपिन पनि पार्टी प्यालेसमै हुनेछ भने दिउँसोको खाजा कार्यक्रमस्थलमा हुनेछ । दालभात, तरकारी, अचार र एक दिनको फरकमा कुखुराको मासु उनीहरूको भोजन हुनेछ ।
सहभागीको स्वास्थ्यको हेरचाहका लागि सबै पार्टी प्यालेस र कार्यक्रमस्थलमा स्वास्थ्यकर्मी रहनेछन् । कार्यक्रममा ६ सय स्वयंसेवक परिचालन हुने माओवादीले जनाएको छ । सञ्चारमाध्यमलाई सूचना दिनका लागि फेसबुक र टि्वटरमा खाता, नयाँ बेवसाइट, हरेक दिन दुईवटा बुलेटिन, एउटा मोबाइल नम्बरमा जतिवेला पनि सम्पर्क हुने व्यवस्था मिलाइएको छ ।
बैठक सम्पन गर्न मूल समितिमातहत आठ उपसमिति गठन गरिएको छ । अग्नि सापकोटाको संयोजकत्वमा हल व्यवस्थापन, नवराज सुवेदीको संयोजकत्वमा आवास, यातायात र मेस, महराकै संयोजकत्वमा सुरक्षा, विश्वभक्त दुलालको संयोजकत्वमा प्रचारप्रसार, शक्ति बस्नेतको संयोजकत्वमा आन्तरिक व्यवस्थापन, हिसिला यमीको संयोजकत्वमा आर्थिक र शशि श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य तथा सरसफाइ र महराकै संयोजकत्वमा निरीक्षण तथा अनुगमन उपसमिति बनाइएको छ ।
विस्तारित बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण एवं संश्लेषण, पार्टीको नेतृत्वमा भएका विभिन्न आन्दोलन, कार्यक्रम र कमी-कमजोरी, संविधानसभाको अवसान र पार्टी विभाजनबारे गम्भीर समीक्षा हुने महराले बताए ।
त्यसैबीच प्रचण्डले विस्तारित बैठकबाट विचारको बुझाइमा एकरूपता आउने, गुटहरूको अन्त्य गरेर नयाँ पार्टी बनाउने, महाधिवेशनका लागि कार्यतालिका बनाउने र नयाँ नेतृत्व (पार्टी संगठनमा हेरफेर र थप) बन्ने बताएका छन् ।

प्रचण्डको प्रस्ताव पारित

विस्तारित बैठकमा पेस गर्ने राजनीतिक प्रस्ताव माओवादी केन्द्रीय समितिमा पारित भएको छ । अध्यक्ष प्रचण्डले पेस गरेको ३८ पृष्ठ लामो प्रस्ताव केन्द्रीय सदस्यले धारणा राखेपछि पारित भएको छ । माओवादीको विस्तारित बैठक सोमबारदेखि काठमाडौंमा सुरु हुँदै छ । प्रचण्डले २८ असारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा प्रस्ताव पेस गरेका थिए । प्रचण्डको प्रस्ताव अपुग भएको भन्दै पोलिटब्युरो सदस्यद्वय राम कार्की र सोनाम साथी तथा केही मधेसी नेताहरूले लिखित मत राखेका थिए । प्रचण्डले केन्द्रीय कार्यालयमा दर्ता भएका सुझाब समेटिने बताएका छन् ।

विस्तारित बैठकको विवरण

सोमबार दिउँसो १ बजे उद्घाटन, सोमबार उद्घाटन मात्र हुने
सहभागी : पाँच हजार सहभागी हुने, सोमबार बिहानसम्म सबै काठमाडौं आइपुग्ने
हल व्यवस्थापन : भृकुटीमण्डपस्थित हलमा कार्यक्रम हुने
आवास, यातायात र मेस : बसाइ र खानपिनका लागि काठमाडौंका कृष्णभोग पार्टी प्यालेस थापागाउँ, ओम साई पार्टी प्यालेस सिनामंगल, छावाल पार्टी प्यालेस, क्वालिटी क्याटरिङ अनामनगर, कोटेश्वर पार्टी प्यालेस नरेफाँट, गोल्डेन पार्टी प्यालेस मित्रपार्क, पशुपति गौशाला धर्मशाला, तुलाधर पार्टी प्यालेस भुरुङखेल
खाना : दालभात, तरकारी, अचार र एक दिनको फरकमा कुखुराको मासु
खाजा : कार्यक्रमस्थलबाहिर हुने
सुरक्षा : ६ सय स्वयंसेवक परिचालन हुने
प्रचार-प्रसार : फेसबुक र टि्वटरमा खाता, नयाँ बेवसाइट, हरेक दिन दुईवटा बुलेटिन, एउटा मोबाइल नम्बरमा जतिवेला पनि सम्पर्क हुने
आर्थिक : ६० लाखदेखि एक करोडसम्म खर्च हुने
स्वास्थ्य तथा सरसफाइ : सबै पार्टी प्यालेस र कार्यक्रमस्थलमा जनस्वास्थ्य स्वयंसेवक टोली रहने
सरकारी सुरक्षा : डिएसपी धीरजप्रताप सिंहको नेतृत्वमा १२ जना इन्स्पेक्टरसहित पाँच सय ३४ प्रहरी परिचालन हुने, आइतबार साँझदेखि नै २४सै घन्टा सुरक्षा, माओवादी नेताहरूसँग छलफल, कार्यक्रमस्थलको जाँचमा सोमबार बिहान तीनवटा कुकुर परिचालन हुने