Tuesday, July 3, 2012

‘आइपड’ को विवादमा एप्पलले तिर्यो ६ करोड डलर - onlinekhabar

कम्प्युटर तथा मोबाइल फोन क्षेत्रको चर्चित अमेरिकी कम्पनी एप्पलले आफ्नो लोकपि्रय उत्पादन आइपडको प्रतिलिपि अधिकारको विवादमा ६ करोड डलर तिर्नुपरेको छ ।
आइपड नामको विषयमा चिनको एक कम्पनीसँग प्रतिलिपि अधिकारको विवाद परेपछि एप्पल कम्पनी उक्त विवादलाई टुंगाउन ६ करोड डलर तिर्न सहमत भएको हो । सोमबार चीनको एक अदालतले उक्त विवादमा सहमति गर्न एप्पल र चीनको प्रोभ्यु कम्पनीलाई आदेश दिएपछि ६ करोड डलर एप्पलले तिर्नेगरी दुइ कम्पनीबीच सहमति भएको हो । सहमति सँगै एप्पलले अदालतको खातामै प्रोभ्यूले पाउनेगरी ६ करोड डलर जम्मा गरिदिएको छ ।
प्रोभ्यू कम्पनीले सन् २००० मै आफुले आइपड नामको कुनैपनि उत्पादन बजारमा ल्याउन प्रतिलिपि अधिकार लिइसकेको अवस्थामा एप्पलले सो नाम चोरेर प्रतिलिपि अधिकार हनन गरेको दाबी गर्दै मुद्धा हालेको थियो । एप्पलले भने आफुले सन् २००९ मा आइपड नामको प्रयोग गर्ने विश्वव्यापी अधिकार खरीद गरेको दाबी गरेको थियो । प्रोभ्यूको ताइबान शाखाबाट आफुले ५५ हजार डलरमा उक्त नामको अधिकार खरीद गरेको एप्पलको दाबी भएपनि प्रोभ्यूले भने उसको शाखालाई प्रतिलिपि अधिकार बेच्ने कुनै अधिकार नरहेकोले सो खरीद सम्झौता अवैध रहेको बताएको थियो । सो विवादका कारण एप्पलले आइपडलाई चीनको बजारका केही हिस्साहरुबाट हटाएको थियो । तर अब विवाद अन्त्य भएसँगै चीनमा एप्पलका उत्पादनको बिक्रि सहज बन्ने विश्वास गरिएको छ । यसले एप्पलले आफ्ना प्रतिस्पर्धी उत्पादनहरुसँग प्रतिस्पर्धा गर्न पनि सहज हुने बताइएको छ ।