आप्पा शेर्पा २१औँपटक सगरमाथा चढेर आएपछि उहाँको सम्मानमा कार्यक्रम राखिएको थियो । बुबासँगै म पनि त्यो कार्यक्रममा गएँ । माओवादी केन्द्रीय सदस्य कृष्ण केसी र जनमुक्ति सेनाका शरदले सगरमाथा आरोहण गर्ने प्रस्ताव ल्याउनुभयो । उहाँहरूले अलिअघि नै त्यो मनस्थिति बनाउनुभएको रहेछ । प्रस्ताव सुनेपछि मैले पनि एकैचोटि 'हुन्छ' भनिदिएँ । नसकिएला, अप्ठेरो होला, दुर्घटनामा परिएला, मरिएला भन्ने नलागेको होइन तर जिन्दगी भनेकै जोखिम त हो । 'युद्ध लडेर आएको मान्छे, के सगरमाथासँग डराउनु' भन्ने लाग्यो ।
वास्तवमा आरोहणको घोषणा गर्दासम्म मलाई सगरमाथाबारे अत्यन्त थोरै जानकारी थियो । सामान्य नेपालीजस्तै म पनि सगरमाथाप्रति गर्व गर्थेँ । सर्वोच्च शिखर हो र यसको आरोहण सजिलो छैन भन्ने थाहा थियो । आरोहणको त कखग पनि थाहा थिएन ।
सुरुमा धेरैले पत्याएनन्
मैले घोषणा गर्दा बुबासँगै हुनुहुन्थ्यो । तर, मैले न उहाँलगायत परिवारका कसैसँग न अरू साथीभाइसँग सल्लाह गरेको थिएँ । कहिल्यै हिमाल नटेकेको, म । एकैचोटि सगरमाथा आरोहणको घोषणा भयो । 'घोषणा त गरिस् तर चढ्न सक्छस् !' बुबाले यत्ति सोध्नुभयो । मैले 'सक्छु' भनेँ । ममीलाई त यिनीहरू चढ्छन् भन्ने पत्यारै लागेको थिएन । 'हावामा गरिएको घोषणा' भन्ने ठानेर होला, उहाँले केही पनि भन्नुभएन ।सुरुमा हामीलाई कसैले गम्भीरतापूर्वक लिएनन् । हाम्रै साथीभाइले पनि 'केटाहरू चढ्नेओर्ने होइनन्, गफै मात्र गरेका हुन्' भन्ने ठाने । तर, जब हामी ट्रेनिङमा गयौँ, बल्ल मान्छेहरूले 'चढि पो हाल्छन् कि' भन्न थाले । ममीले पनि सोध्नुभयो, 'तँ साँच्चिकै चढ्ने होस् र ?' मैले 'हो' भनेपछि उहाँले पनि 'नचढ्' भन्नुभएन । श्रीमतीले पनि आँटिसकेपछि पूरा गर्नुपर्छ भनेर हौस्याइन् ।
मैले पनि घोषणाचाहिँ सोचविचार नै नगरी गरेको थिएँ तर घोषणा गरिसकेपछि भने जसरी पनि चढ्छु, अरू साथी गएनन् भने पनि म जान्छु भनेर संकल्प गरेको थिएँ । मैले आफैँलाई पटकपटक सोधेँ, 'हजारौँले टेकेको सगरमाथाको शिरलाई मैले टेक्न नसक्ने के छ ?'
जब तालिम सुरु भयो
साउनतिर पहिलो ट्रेनिङ नागार्जुनको 'रक क्लाइम्बिङ' मा भयो । सात दिन लामो त्यही ट्रेनिङमा मैले हार्नेस, झुमर, रक डोरी, फिगर अफ एटजस्ता शब्द पहिलोपटक सुनेँ र आरोहणका सामान पहिलोपटक छोएँ । सगरमाथा आरोही शेर्पा दाइहरू 'ट्रेनर' हुनुहुन्थ्यो । सगरमाथाबारे विषयगत जानकारी पनि पहिलोपटक त्यहीँ पाएँ ।फागुनमा दोस्रो ट्रेनिङ भयो । यसपटकको ट्रेनिङ हिउँमा थियो र ठाउँ थियो, रसुवाको लाङटाङ । त्यहाँ हिउँमा कसरी हिँड्ने, कसरी उक्लिने भन्ने ट्रेनिङ लिइयो । १५ दिनको ट्रेनिङ सकेर हामीले ५८०० सय मिटरको 'यला पिक' पनि सफलतापूर्वक आरोहण गर्यौँ ।
पैसाको दुःख
काठमाडौं फर्केपछि भने सबै समय व्यवस्थापकीय तयारीमा बित्न लाग्यो । पैसा छैन । लजिस्टक छैन । हामीले सुन्यौँ, योभन्दा पहिलाको सरकारले पनि केही आरोहीलाई सहयोग गरेको थियो । त्यसैले हामीले पनि प्रधानमन्त्रीलाई आर्थिक सहयोगको आग्रह गर्याँै । हामी व्यावसायिक आरोही पनि त होइनौँ । सरकारले दुई करोड दिने घोषणा गर्यो तर त्यसको नियोजित विरोध भयो । विशेषगरी मलाई निसाना बनाइयो । बुबालाई हान्न मलाई प्रयोग गरेको देखेपछि दिक्दार लागेर हामीले सरकारको सहयोग फिर्ता गर्ने र मिलेसम्म त्यसलाई दुर्गमका विपन्न जनताका लागि खर्च गर्न अनुरोध गर्ने घोषणा गर्याँै ।सरकारको रकम नलिएपछि फेरि आर्थिक समस्या आयो । समय आइसकेको छ तर पैसा छैन । पैसाकै कारण आरोहण गर्न नसकिने अवस्था आयो तर त्यतिखेर प्रवासमा भएका हाम्रा साथीले 'पैसा हामी जुटाउँछौँ' भनेर हौस्याउनुभयो । पार्टीका ती सहृदयी साथीप्रति म अत्यन्त आभारी छु । नेपाली उद्योगपति र संघसंस्थाले पनि सहयोग गर्नुभयो । हाम्रा संगठनले पनि सघाए । जनमुक्ति सेनाले आफ्ना दुईजना साथीका लागि अलिकति सघायो । यसरी आर्थिक अप्ठेरोमा पारेर हामीलाई सगरमाथा चढ्न नदिने षड्यन्त्र
असफल भयो ।
शिखरतिरको पहिलो यात्रा
मैले सगरमाथालाई प्रत्यक्ष देखेको माउन्टेन फ्लाइटमा हो । एकपटक आरोहणको घोषणा गर्नुअघि, दुईपटक गरिसकेपछि । दोस्रो फ्लाइटमा बुबा हुनुहुन्थ्यो, तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र विष्ट र नेता प्रभाकर पनि हुनुहुन्थ्यो । अघिल्लोपटक मैले सगरमाथालाई दर्शकका सामान्य आँखाले हेरेको थिएँ, यसपटक आरोहीका आँखाले । ओहो ! ठाडै पो देखिँदो रहेछ, सगरमाथा । बुबाले भन्नुभयो, 'धेरै अप्ठेरो छजस्तो पो छ, तैँले सक्लास् र !' मैले भनेँ, 'यहाँबाट मात्रै त्यस्तो देखिएको होला । त्यहाँ त त्यस्तो नहोला नि ।' ठाडो सगरमाथा देखेर पनि बुबाले मलाई हौसला दिनुभयो, 'कि नआँट्नु, अब आटँ गरिसकेपछि सफल हुनेगरी चढ्नुपर्छ ।'आखिर आरोहणका लागि प्रस्थानको दिन आयो । २२ चैत, ०६८ मा हामी बिहान ६ बजेतिर बुबाममीका हातबाट टीका र अबिरमाला लगाएर र 'देश र पार्टीका लागि पनि चढेर आउन' आदेशसहित काठमाडौंबाट बिदा भयौँ र सीता एयरलाइन्सबाट लुक्ला गयौँ । म यसअघि कहिल्यै लुक्ला गएको थिइनँ । त्यहाँ पुगेपछि मैले सबैभन्दा पहिले सगरमाथा खोजेँ तर लुक्लाबाट सगरमाथा देखिँदो रहेनछ । खाना खाएर हामी लगातार ६-७ घन्टा हिँडेर फाग्दिङ भन्ने ठाउँमा पुग्यौँ । हामी १२ जना थियौँ, १० टोली सदस्य र दुई शेर्पा साथी ।
तेस्रो दिन नाम्चे पुगियो । सगरमाथा त्यहाँबाट पनि देखिएन । नाम्चेमा एकरात बसेर तेम्बोचे पुग्यौँ । बल्ल त्यहाँबाट सगरमाथा देखियो । जमिनबाट मैले पहिलोचोटि सगरमाथालाई धीत नमरुन्जेल हेरेँ । त्यहाँबाट पनि डरलाग्दो नै देखिँदो रहेछ तर प्लेनबाट हेर्दाजस्तो चाहिँ होइन ।
हाम्रो यो यात्रा सगरमाथा बेसक्याम्पका लागि थिएन । त्योभन्दा पहिला एउटा 'आइल्यान्ड पिक' चढ्नुपर्ने रहेछ । हामी फेरि हिँड्यौँ र त्यसको 'बेसक्याम्प' मा पुग्याँै । 'आइल्यान्ड पिक' को बेसक्याम्पमा लगभग दुई-तीन सय पाल थिए । केही आरोही यत्ति मात्रै चढ्न आउने पनि हुँदा रहेछन् ।
त्यहाँ दुई दिन बसेपछि हामीले ६२०० मिटरको आइल्यान्ड पिकको सफल आरोहण गर्यौँ । बिहान तीन बजे हिँडेका हामी ७ बजे शिखरमा पुगेका थियौँ । संयोगवश त्यहाँ चुचुरोमा मोबाइलको नेटवर्कले काम गर्दो रहेछ । नयाँ वर्ष थियो, त्यो दिन । मैले त्यहाँबाट बुबालाई फोन गरेँ । आजसम्मको सबैभन्दा अग्लो ठाउँको आरोहण मेरा लागि त्यही नै थियो । बुबाले सबै टोलीलाई नयाँ वर्ष र आरोहण दुवैको शुभकामना दिनुभयो र हामी उत्साहका साथ ओर्लियौँ । एकरात त्यहाँ बसेपछि वैशाख तीन गते सगरमाथा बेसक्याम्पतिर लाग्यौँ ।
सगरमाथा बेसक्याम्पमा
सगरमाथा बेसक्याम्पमा लगभग तीन हजार पाल थिए । त्यो त पालैपालो सानो सहरजस्तै देखिन्थ्यो । ८२ हजार डलरसम्म खर्च गरेर आउने विदेशी पनि त्यहाँ थिए र जीविकाका लागि हिमालमा मृत्युसँग पाँैठाजोरी खेल्ने शेर्पा पनि । युरोपेली, अपि|mकी, अमेरिकी सबै महादेशवासी त्यहीँ भेटिन्थे ।हाम्रो टेन्टमा कम्युनिस्ट झन्डा थियो । त्यो झन्डा देखेर हामीसँग कुरा गर्न आउने धेरै भए । प्रचण्डको छोरा भनेर मलाई हेर्न र भेट्न आउने पनि थुप्रै थिए । शेर्पा दाइहरूलाई पहिला मसँग एक खालको त्रास रहेछ । कस्तो होला, के भन्ने होला भन्ने लागेको रहेछ । किचनमा हुने शेर्पा दाइहरूले पछि भन्नुभयो, 'तपाईं त हामीभन्दा पनि सिम्पल हुनुहुँदो रहेछ ।'
आरोहणबारे थुप्रै स्थानीय अन्धविश्वास रहेछन् । राति कुनै युवतीको सपना देखियो र अझ उनका हातबाट दही पिएको वा तिनले पानी दिएको देखियो भने आरोहण सफल हुन्छ भन्थे, शेर्पा दाइहरू । कालो भैँसी, कालो कपडा र कालो सर्प सपनामा आए नराम्रो मानिँदो रहेछ । मैले न 'राम्रो' सपना देखेँ, न 'नराम्रो' । अरू साथीले पनि 'कुनै देखेनौँ' भन्थे ।
चार-पाँच दिनपछि हामी 'क्याम्प-वान'का लागि हिँड्यौँ । त्यहाँ एक रात बिताएर फेरि बेसक्याम्पमा झर्यौँ । त्यो एउटा प्रोसेसअन्तर्गत भएकाले चार-पाँच दिन फेरि 'क्याम्प-टु'का लागि गयौँ । त्यहाँ दुई रात बिताएपछि 'क्याम्प-थ्री' का लागि हिँड्यौँ । त्यहाँ पुग्याँै र फेरि 'क्याम्प-टु' मा फर्कियौँ । त्यहाँ एक रात बिताएर फेरि बेसक्याम्पमा झर्यौँ । अल्टिच्युड पचाउने अभ्यास
रहेछ, यो ।
बेसक्याम्पमा हरियाली र अक्सिजन दुवैको कमी थियो । त्यसका लागि हामी फेरि नाम्चे आयाँै । त्यहाँ ५-६ दिन बसेर फेरि बेसक्याम्पतिर लाग्यौँ ।
आरोहणका अन्तिम दिनहरू
अब सबै तयारी पूरा भएर आरोहरणको अन्तिम समय आएको थियो । दिमागमा आरोहणबाहेक केही थिएन । तर, न शिखरसम्म बाटो खुलिसकेको थियो, न मौसम नै राम्रो थियो । त्यतिखेर आरोहण गर्नेमध्ये केही घाइते भएका थिए भने दुई-तीनजनाको त मृत्यु नै भयो । केही टोली त अब अर्को सिजनमा चढौँला भनेर फर्किसकेका थिए । हामीलाई पनि लाग्यो, 'कतै प्रकृतिले हाम्रो संकल्पलाई डगाउने त होइन ?'सुरुमा हामी १९ तारिखमा चढ्ने कुरा थियो । एजेन्सीका साथीले 'मौसम खराब छ' भनेपछि २५ तारिखमा सर्यो । तर, २० तारिखमै फेरि खबर आयो, २५ मा पनि मौसम खराब हुन्छ, धेरै हावा चल्न सक्छ । फेरि २६ मा सर्यो ।
हामीलाई थाहा भयो, २९ तारिखमा भर्याङहरू निकालिँदै छन् । हाम्रो 'डेट' फेरि सर्यो भने हामी सगरमाथा चढ्न नसक्ने निश्चित थियो । त्यसैले हामी एकदमै चिन्तित भयौँ । २१ तारिखमा अचानक एसियन ट्रेकिङका साथीले 'आज मौसम राम्रो छ' भनेपछि क्याम्प-टुतिर लाग्यौँ । त्यहाँ एकदिन आराम गराइयो । अर्को दिन पनि त्यहीँ बस्यौँ । यहाँसम्म दालभात, तरकारी र मासुकै पनि व्यवस्था थियो ।
तेस्रो दिन क्याम्प-थ्री मा पुग्यौँ । त्यतिखेर साँझ पर्न लागेको थियो । त्यो ७२०० मिटरको उचाइमा रहेछ । चाउचाउको सुप खाएर र अक्सिजन लगाएर सुत्यौँ । अक्सिजन मास्क लगाएको यो मेरो पहिलो अनुभव थियो । एकातिर पेट खाली छ, त्यसमाथि मास्क । आरोहणको खुलदुली त छँदै छ । कत्ति निद्रा लागेन ।
भोलिपल्ट बिहान चार बजे नै क्याम्प-फोका लागि हिँड्यौँ । बाटो ठाडै छ । क्याम्पन लगाएर रक र ठाडो हिउँ चड्दै लगभग नौ घन्टापछि दिउँसो दुई बजेतिर क्याम्प-फोमा पुगियो । बहिनी इशु भट्ट भने अलि ढिलो मात्र आइपुगिन् ।
त्यही दिन अर्थात् २५ तारिखकै राति आठ बजेतिर हामी शिखर आरोहणका लागि हिँड्यौँ । दुई-तीन दिनदेखिको खाली पेट छ, खाना कत्ति नरुच्ने रहेछ । मानसिक तनाव छँदै छ । शेर्पा साथीहरूले भन्नुभयो, 'दुई-तीन घन्टा आराम गरौँ' । ढिलो भएकाले इशु बहिनीलाई त्यहीँ छाड्नुपर्ने भयो । उनलाई आजै लैजाँदा शेर्पा पनि मर्ने र बहिनी पनि मर्ने डर देखाए, पथप्रदर्शकहरूले । बहिनी भावुक हुँदै त्यहीँ बस्नुभयो ।
त्यो निणर्ायक दिन
२५ तारिखको बेलुका आठ बजे चाउचाउ खाएर सगरमाथा चुचुरोका लागि प्रस्थान गर्यौँ । युवराज दुलाल 'शरद'चाहिँ हामीभन्दा एक घन्टाअघि नै त्यहाँबाट हिँडिसक्नुभएको थियो । आठजना एकसाथ थियौँ ।क्याम्प-फोभन्दा अलिकति तल मैले लास घिसार्दै गरेको देखेँ । कोरियालीको रहेछ । साह्रै दिक्दार लाग्यो । पछि त १५-२० मिटरकै दूरीमा पनि पाँच-सातवटा लास देखिए । तीे कोही त्यही सिजनका रहेछन्, कोही वषौर्ं पुराना पनि । लास झार्न ५०-६० लाखसम्म लाग्दो रहेछ । पैसाकै कारण पनि लास नल्याउँदा रहेछन् । लासको किनारैकिनार हिँड्दा, आफू पनि यस्तै भइने हो कि भन्ने डर लाग्दो रहेछ । हुन पनि ९० डिग्रीसम्मका उकाला थिए, डोरीमा झुन्डिएर
पार गर्नुपर्ने ।
मसँग हुनुभएका आङकाजी शेर्पाको स्वास्थ्य अलि तल नै खराब भइदियो । मेरो अतिरिक्त अक्सिजन उहाँसँगै थियो । म एक्लै हिँड्नेमा परेँ । आङकाजीले बान्ता गर्न थाल्नुभयो । 'तपाईं अगाडि बढ्दै गर्नुस्, म बिस्तारै आउँछु,' भन्नुभयो । सबै एउटै डोरीमा झुन्डिएर जाने हुनाले बाटो बिराउने त कुरै भएन । चार घन्टापछि बालकोनी भन्ने ठाउँ आउँदो रहेछ । हामी चार-पाँचजना साथी त्यहाँ भेट भयाँै । अरू साथी अगाडि गइसक्नुभएको रहेछ । म शेर्पा दाई बिरामी भएर ढिलो भएँ ।
त्यहाँ पानी पियाँै । हाम्रो सरदारको अक्सिजन मास्क फुट्यो र उहाँ जान नसक्ने अवस्था आयो । हामी भने अघि बढ्यौँ । त्यहाँबाट सायद तीन घन्टा जतिपछि साउथ समिटको तल पुग्यौँ । त्यहाँ पुगिसकेपछि हाम्रो आरोहण दलका एक सदस्य, शिव सापकोटाको पनि अक्सिजन मास्क फुटेर जान नसक्ने हुनुभयो । ८६०० मिटरबाट र्फकनुपर्दा उहाँ दुःखी हुनुहुन्थ्यो । तर, के गर्ने ! उहाँले 'म र्फकन्छु' भन्नुभयो । ज्यान बचे अर्कोपटक पनि त चढ्न सकियो ।
हामी अगाडि बढ्याँै । ताराहरू जमिनतिर हेर्नुपर्ने । बादल पनि तल । हिमालहरू तल । हिँड्दै जाँदा स्वर्गमै छु किजस्तो लाग्ने । हामी हिलारी स्टेपमा पुग्यौँ । बल्ल आङकाजी भेट हुनुभयो । त्यो खास एउटा ढुंगो रहेछ, लगभग त्रिभुज आकारको । त्यहाँ
जाममा फसियो ।
शेर्पा दाइहरूले धेरै बेर बस्यो भने हिउँले हात-खुट्टा खान्छ भन्नुभएको थियो । त्यसो होला कि भन्ने डर पनि लाग्यो । जाममा परेपछि हात-खुट्टा चलाइराख्नुपर्ने रहेछ । बल्लतल्ल डेढ घन्टापछि हिलारी स्टेप पार गर्याँै ।
अलिअघि शरदजीसँग भेट भयो । आरोहण गरेर र्फकनुभएका उहाँ एकदमै खुसी हुनुहुन्थ्यो । चुचुरो एकदमै नजिक देखिइरहेको थियो । मैले 'अब कति समयमा पुगिएला' भनेर सोधेँ । शरदले भन्नुभयो, 'जाम नभए आधा नत्र एक घन्टा ।' मैले भनेँ, 'केही हात पर मात्रै छ त । त्यत्रो लाग्छ ?' तर, होइन रहेछ । शिखर अलि उता रहेछ । जाम पार गरेर अघि बढ्यौँ । ५० मिनेटपछि शिखरमा पुगियो । मैले कम्युनिस्ट झन्डा, राष्ट्रिय झन्डा र बुबाममीको फोटो लगेको थिएँ । म खुसीले चिच्याएँ । शिखरमा ५०-६० जना अट्ने ठाउँ रहेछ, डोरी
लगाएर अड्कने ।
म सगरमाथाको शिखरमा थिएँ । मैले सगरमाथालाई जितेको थिएँ । त्यतिखेर मलाई त्यसभन्दा बढी केही
चाहिएको थिएन ।
(प्रकाश दाहालसँग संवादमा आधारित)