Saturday, April 28, 2012

मोबाइल प्रकरणमा विजयकुमारको स्पष्टिकरण - mysansar

लौ सुन , म भन्छु मोबाइल घन्टीको कहानी !
आज शनिबार थियो । त्रिशुली हाइवेमा बिहान २ घन्टा मस्त संग हिडे । तपोबनमा ध्यान गरे । साझ एक मित्रले आफ्नो छोराको बिवाह भोजमा निम्ता गरेका थिए । भोजबाट घर फर्केर , फेजपेज खोल्दा पछिल्लो दिशानिर्देश कार्यक्रमका बिषयमा कार्यक्रमका दौरानमा मेरो मोबाइल फोनको घन्टी बजेको र मैले त्यो फोन उठाएर करिब १५ सेकेण्ड जति एमाले महासचिव इश्बर पोखरेल संग कुराकानी गरेको द्र…श्यका बिषयमा , मेरो फेसबुक साइटमा पक्ष-बिपक्षमा भइ रहेको बहसका बिषयमा मेरा फेसपेज मित्रहरुलाइ केहि लेख्न चाहन्छु ।
१। कार्यक्रम हेर्ने , ‘लाइक’ गर्ने र कमेन्ट पठाउने सबैलाइ धन्यबाद ! म आशा गर्छु कमेन्ट लेख्ने सबैले सो कार्यक्रम पुरा ४९ मिनेट ‘हेरेर मात्र’ कमेन्ट लेख्नु भएको होला । पक्ष-बिपक्षमा कमेन्ट गर्ने बन्धुहरुले यदि त्यो कार्यक्रम सुरु देखी अन्त्य सम्म नहेरिकनै कमेन्ट पठाउनु भएको छ भने , यो पोस्टिङको बाकी भाग पढने कष्ट कृपया नगर्नु होला । बिउझिदा , बिउझिदै , निदाएको अभिनय गर्ने मानिसलाइ जगाउने कुरामा मेरो कुनै बिश्बास छैन ।
यदि त्यसो होइन , तपाइले साच्चिकै पुरा कार्यक्रम हेरेर त्यसलाइ ‘लाइक’ गर्नु भएको छ वा पक्ष- बिपक्षमा कमेन्ट पठाउनु भएको छ भने , म बिनम्रतापुर्वक केहि कुरा शेयर गर्न चाहन्छु ।
२। गत साता , नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल संग कुराकानी रेकर्ड गर्दा गर्दै स्टुडियोमा , अचानक मेरो मोबाइलको घन्टी बज्यो । मैले स्विच अफ गर्न बिर्सेको रहेछु । घन्टी बजे पछि मैले मोबाइल हेरे । एमाले महासचिव इश्वर पोखरेलको फोन रहेछ । फोनमा वहाको नाम देखे पछि , मैले उठाउनै पर्ने थियो , किनभने वहालाइ पनि त्यसै दिनको कार्यक्रममा एक छिन पछि रेकडिङको निम्तो थियो । घन्टी बज्ने बेलामा , मिनेन्द्रजी संग जुन बिषयमा कुराकानी भइ रहेको थियो , त्यो बिषय इश्वरजी संग पनि सन्दरभित थियो । मैले मोबाइल स्विच अफ गर्न बिर्सेकोले र घन्टी पनि इश्वरजी कै आएकोले , तिनै थोक स्वभाभिक ( नेचुरल वे ) मा जोडिन आयो । त्यसलाइ संयोग भनौ या परमात्माको लिला भनौ । खैर , ती तिनै थरि कुराहरु एक आपसमा नजोडिएका भए , म त्यो घन्टी बजेको प्रसंग ‘एडिटिङ’ गर्दा सहजै काटी दिन्थे । टेलिभिजन कार्यक्रम निर्माणका बिषयमा धेरै ज्ञान नभए पनि , त्यति जाबो ‘एडिटिङ’ गर्नका निम्ति चाहि कसैले मेरा निम्ति फेसबुकमा ‘प्रवचन कोचिङ’ कक्षा संचालन गरि राख्नु पर्ला जस्तो लाग्दैन । इश्वर पोखरेलजी त्यो टेलिभिजन कार्यक्रममा समाबेश हुने कुरा पुर्व निर्धारित नभएको भए , मिनेन्द्रजी संग त्यस बिषयमा स्टुडियोमा रमाइलो ठटटा नभएको भए , माथी भरखरै भने , फेरि दोहराइ दिन्छु – त्यस अवस्थामा म आफै त्यो करिब ३० सेकेन्ड लामो ‘सिक्वेन्स’ काटेर फाली दिन्थे ।
अब कृपया मलाइ यो नसोध्नुस कि त्यस दिन ईव्शरजी , मिनेन्द्रजी र संयोगबस बजेको इव्शरजीले मलाइ गरेको फोनको घन्टी कसरी एक आपसमा जोडिएका थिए , सन्दरभित थिए , same context मा थिए ? किनभने त्यस्तो खाले प्रशन सोध्नु भयो भने मैले ओठे जवाफ फर्काउनु पर्ने हुन्छ ‘ पुरा कार्यक्रम नै नहेरी प्रतिक्रिया दिने गुरु ? हो , त्यसदिन मेरो मोबाइल संयोगबस बजेको थियो । त्यो इशवरजीको फोन नभएको भए एडिटिङमा काटि दिने थिए । फोन घन्टी त्यसदिनका निम्ति प्रासङगीक मानिस (इश्बर पोखरेल) को थियो । त्यसले गर्दा अचानक ‘सेन्स अफ ह्युमरले पनि युक्त प्रसंग’ निर्मित भयो । त्यसै कारण देखाइयो ’ । यो पढे पछि , अब कृपया मलाइ नया उपदेश नदिनुस ‘ ए विजय ! अरु कार्यक्रममा त रमाइलो ठटटा हुदैन , सेन्स अफ हयुमर हुदैन , तेरोमा किन हुने ? टेलिभिजनमा मोबाइलको घन्टी बजाउने ?’
म आफ्नो टाउको समातेर भन्न चाहन्छु – हे मेरा बुदिमान मित्रहरु ! टेलिभिजनमा प्रस्तोताको फोनको घन्टी बज्नु अपराध होइन । हो ! दर्शकहरुलाइ अप्रासंङिक टेलिफोन बार्ता देखाउनु चाहि क्षम्य हुन सक्दैन । त्यस दिन मेरो भतिजको , भान्जाको , छोराको वा कुनै मित्रको निजी टेलिफोन बार्ता देखाएको भए पो निश्चितरुपले गलत हुने थियो । यस पटक त संयोगले घन्टी बज्यो , परमात्माको कृपाले सान्दर्भिक रहेछ देखाइयो । प्रशन घन्टीको होइन , प्रशन कुराकानीको सान्दर्भिकता वा असान्दर्भिकताको हो । अब आउने कार्यक्रमहरुमा मेरो टेलिफोनको घन्टी फेरि पनि बज्न सक्छ , हामीहरु कार्यक्रममा फोन इन चलाउने हो कि भनेर बिचार गर्दै छौ । अब कृपया यो नभनिदिनुस , होइन त्यसो गर्न पाइदैन , तपाइको कार्यक्रममा टेलिफोनको घन्टीको आवाज सुनिनै हुन्न । तपाइले कार्यक्रम चलाउदा फोनमा बोल्नै हुन्न (:-
आज , यहि मौकामा म केहि अन्य कुरा समेत प्रस्ट राख्न चाहन्छु । म फेसबुकको दुनियामा नया छु । करिबन ५ महिना भयो होला । तर टेलिभिजनको जगतमा पुरानै हो । आम नेपाली दर्शकले र पाठकले बिगत देखी बर्तमान सम्म , मेरा कार्यक्रमहरुमा वा लेखहरुमा भएका अनेकौ कमी कमजोरीहरुका बादजुद पनि मलाइ जुन निरन्तर स्नेह दिइ राखेका छन , ति हजारौ लाखौ दर्शकहरु प्रति म हमेशा बिनित भावले कृतज्ञ छु । र , हमेशा कृत कृतार्थ रहेछु । दुइ दशक भन्दा लामो समय देखी हामी बिचको ‘सिधा समबन्ध’ अटुट छ । बेला बखतमा म बाट कमी कमजोरी भए होलान तर आम पाठक र दर्शकले क्षमा गरि दिए , बुझि दिए । र , पो जिवन यहा सम्म आइएको छ । पहिला पाठक छ अनि मात्र पो लेखक छ ! पहिला दर्शक छन अनि मात्र पो प्रस्तोता छ भन्ने थोरबहुत अनुभुति मलाइ पनि त होला नि ! दर्शकलाइ प्रेम नगर्ने भएको भए , दर्शकले माया नगर्ने भएको भए यतिका बर्ष देखी टेलिभिजनमा होइन्थ्यो होला । एक बिशाल दर्शक संख्याको रुचि अनुसार कार्यक्रम बनाउनु र पाठकको चाहना अनुसार लेख्नु नै कुनै पनि सन्चारकर्मीले आफ्ना दर्शक र पाठक प्रति अभिव्यक्त गर्ने सबे भन्दा ठुलो सम्मान हो ।
म कुनै सर्वगुण सम्पन्न सन्चारकर्मी होइन । न थिए , न छु , न हुने छु । मलाइ थाह छ , न मेरो लेखनीमा त्यस्तो केहि बिशेष छ , न टेलिभिजन प्रस्तुतिमा । त्यस्तो दावी मैले कहि कतै गरेको छैन । म भित्र जुन गुणहरु छदै छैनन ति गुणहरु कृपया म भित्र नखोजिदिनुस । त्यसका लागी सुयोग्य पात्रहरु धेरै छन । तिनको नाम , आ- आफ्नो फेसबुकमा फोटो समेत सजाएर छाप्नुस , म पनि सादर बिनम्रतापुर्वक स्विकार गरौला , नमन गरौला । कृपया, मलाइ चाहि , तपाइले चाहे जस्तो ‘एक सर्वगुण समपन्न सन्चारकर्मी’ हुन नसकेकोमा क्षमा गरि दिनु होला ।
कहिले काहि सोच्छु , कुन्नी किन हो ? बर्षौ देखी मैले एउटा सानो जमातलाइ कहिलै चित्त बुझाउन सकिन । पहिला , पहिला भन्थे – ‘ बिजय कुमार कराएर , हप्काएर कार्यक्रम चलाउछ , पछि गएर भन्न थाले – बिजय कुमारले कति बिस्तारै बोलेको ? अब पहिला जस्तो दमै छैन ! कस्ले हेर्छ र ? ’ यो जमातको कुरा सुनेर कहिलेकाहि हो जस्तो पनि लाग्छ – साच्चै त हो , कार्यक्रममा दमै छैन । एकमनले सोच्छु ‘ दम सिद्दिएछ , आनन्दै भो ’ । तर फेरि मानिसहरु भेटदा वा इमेलमा वा ५ महिना पहिले खोलेको यो फेसबुकमा लाइक र प्रतिक्रियाहरु यसरी आउछन कि मान्नै पर्ने हुन्छ कि कार्यक्रममा अझै पनि ‘कुछ कुछ’ दम बाकी नै छ ।
त्यस पछि , मैले भन्नै पर्ने हुन्छ – फेसबुक मित्रहरु ! सर्वप्रथम , कार्यक्रम हेरि दिनु भएकोमा धन्यबाद ! कार्यक्रमलाइ त्यति धेरै ‘गहिरो अभिरुचि’ राखेर हेरी दिनु भएकोमा दोस्रो पटक धन्यबाद ! होइन भने केहि मानिसहरु त भन्न थालेका थिए :
‘आजभोली कसले हेर्छ नेपाली टक सो ?
जता हेर्यो उता अन्तरबार्तामा आधारित टेलिभिजन कार्यक्रम
जता हेर्यो उता टक सो
कसलाइ फुरसत छ यस्ता कार्यक्रम हेर्न ?
कसलाइ फुरसत छ ?
हामी त , यस्ता कार्यक्रम आए कि च्यानल फेर्छौ
कस्ले हेर्छ ? यस्ता टक सो ? ’
तर त्यसो होइन रहेछ ! मित्रहरुको कमेन्ट पढेर प्रस्ट हुन्छ ‘त्यस्तो होइन’ रहेछ ! ४९ मिनेट लामो कार्यक्रमलाइ मित्रहरुले आखा नझमिम्काइ हेर्नु हुदो रहेछ । त्यसैले त ४९ मिनेट लामो कार्यक्रम भित्रको मुश्किलले ३० सेकेण्ड लामो ‘टेलिफोन सन्दर्भ’ ले यति धेरै प्रतिक्रिया जन्माउदो रहेछ । होइन भने , आजभोली कसलाइ फुरसत छ ? यति धेरै कार्यक्रम छन , यति धेरै लेख रचना छापिन्छन ? हरेकलाइ त हामी प्रतिक्रिया पठाउदैनौ नि ? होइन र ? हरेक संग त हामी खुसी वा अप्रसन्न हुदैनौ नि ? होइन र ? मलाइ त्यसका निम्ति योग्य ठानी दिनु भयो , त्यसका निम्ति तेस्रो पटक धन्यबाद ! यो कृपा म माथी सदा कायमै रहोस ।
अमेरिकामा मलाइ टेलिभिजन बिंधा पढाउने गुरु भन्नु हुन्थयो ‘ कुनै पनि चर्चित कार्यक्रम प्रस्तोताका प्रशंसक हुन्छन र आलोचक हुन्छन । त्यो प्रस्तोताले प्रयास यो गर्नु पर्छ कि प्रशंसकको संख्या हमेशा आलोचकहरु भन्दा निकै निकै बढी रहोस । प्रशंसाले हौसला दिन्छ र सहि आलोचनाले सुध्रने बाटो खोल्छ । आफ्ना प्रशंसक र आलोचक बाहेक , कुनै पनि चर्चित प्रस्तोताले वा लेखकले , प्रोफेसनल जिवनमा हमेशा एक यस्तो , सानो जमात पनि भेटनु पर्छ जस्ले प्रस्तोताको कुनै पनि कार्यक्रम वा लेख हेर्न चाहि छुटाउदैन तर हेरि सके पछि त्यसमा प्रस्तोता प्रति आफ्नै पुव्राग्रह , कुण्ठा , इर्ष्या र अङकारको ‘प्रतिछाया’ बाहेक केहि देख्दैन । ’ त्यसदिन कार्यक्रममा टेलीफोनको घन्टी बाहेक धेरै थोक देखाइएको थियो । यहा पक्ष बिपक्षमा कमेन्ट छाप्नेहरुले अनुमान गरे भन्दा धेरै ठुलो संख्यामा दर्शकहरुले सो कार्यक्रम हेरेका छन । ऊनीहरुले त्यसमा मोबाइलको घन्टी बाहेक अरु मह्वपुर्ण कुरा पनि देखेका छन । फूलको आखामा फूलै संसार – - -
अब ‘ फर द रोड ’ दुइ चार कुरा यो फेस पेजका समबन्धमा गरौ । एक जना सज्जनले लेखेका छन कि ‘शायद अब उपरान्त म तपाइको कार्यक्रम नेट सर्फिङ पनि गर्दिन होला र मेरो कमेन्ट पनि तुरुन्तै मेटि दिनु होला ’ । बन्धुलाइ मेरो दुइ हात जोडी निवेदन छ ‘ त्यस्तो मन नपर्ने कार्यक्रम हेर्न बेकारमा किन समय बरबाद गर्नु हुन्छ ! आफुलाइ मन पर्ने , घत लाग्ने कुनै अर्को टक सो हेर्नुस न । बजारमा त्यतिका धेरै बिकल्प छन । आज सम्म मन लागी नलागी हेरी दिनु भएकोमा धन्यबाद छ । रह्यो मेरो फेस पेजमा तपाइको कमेन्ट ‘डिलिट’ गर्ने कुरा । त्यो बोझ बाट चाहि म आफै तपाइलाइ सदाका निम्ति मुक्त गर्न चाहन्छु । खुसी बस्नुस बन्धु !
सबै फेसपेज मित्रहरुले बडा गहिरो तवरबाट बुझ्नु पर्ने कुरा छ भने – यो मेरो फेसपेज हो । अरु कसैको होइन । यो पेज , मैले , मलाइ मन पराउने प्रशंसकहरु , सभ्य भाषामा रचनात्मक आलोचना गर्ने मित्रहरु र मेरा आफन्तहरु का लागी मात्र खोलेको हु । भाषाको शिष्टता यो पेजमा सहभागिताको लागी अनिवार्य छ । यो पेज कुनै ‘डिसकसन फोरम’ पनि होइन , जहा एक व्यक्तिले एक भन्दा बढी कमेन्ट छाप्न सकोस । चाहे त्यो कमेन्ट पक्षमा होस वा बिपक्षमा । बिचार – बिबिधता- स्वतन्त्रताको म हमेशा पक्षपाती रहेको छु । तर असभ्य भाषामा ‘तिललाइ पहाड’ बनाउने माध्यमको रुपमा आफ्नै फेस पेज सबैलाइ उपयोग गर्न दिने उदारता म भित्र अझै बिकसित भै सकेको छैन । त्यसैले सबै मित्रहरुले तद अनुसारको सहयोग गरी दिनु होला ।
(विजयकुमारको फेसबुक पेजबाट साभार अंश। पूरा पढ्नका लागि यहाँ क्लिक गर्नुस्)


Saturday, April 21, 2012

सावधान, असारदेखि इन्टरनेट नचल्न सक्छ - mysansar


दुई महिनापछि तपाईँले आफ्नो ल्यापटप वा डेस्कटपमा माइसंसार चलाउन खोज्दा केही पनि नदेखिन सक्छ। माइसंसारमात्रै हैन, तपाईँको कम्प्युटरमा कुनै पनि साइट नखुल्ने स्थिति आउन सक्छ। अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआइ)ले अहिले यस्तै चेतावनी दिइरहेको छ। यदि तपाईँ प्रभावित हुनुहुन्छ र एफबीआइले भने सरह गर्नुभएन भने आगामी जुलाई ९ तारिख अर्थात् असार २५ गते सोमबारपछि तपाईँको कम्प्युटरमा कुनै साइट खुल्ने छैन। यस्तो स्थितिबाट कसरी बच्ने त ? एफबीआइले अहिले केही उपायहरु बताइरहेको छ। अहिले नै केही क्लिक गर्नुभयो भने तपाईँ त्यो स्थितिबाट बच्न सक्नुहुनेछ।
यदि गर्नुभएन भने ?
केही लाख प्रयोगकर्ताहरुको इन्टरनेटसँग सम्बन्ध विच्छेद हुनेछ। त्यसमध्य एक तपाईँ पनि हुन सक्नुहुनेछ। 
तपाईँले थाहै नपाईँ अन्तर्राष्ट्रिय ह्याकरहरुले विश्वका धेरै कम्प्युटरलाई संक्रमित बनाइसकेका छन्। त्यसमध्ये एउटा कम्प्युटर तपाईँको पनि हुनसक्छ। एफबीआइले केही महिना अघि अमेरिकाको सरकारी कम्प्युटरहरुलाई बचाउन एउटा सुरक्षा जालो बनाएको थियो। अब त्यो सिस्टमलाई सट डाउन गर्न लागिएको छ।
एफबीआइले अहिले आफ्नो सेक्युरिटी पार्टनरको वेबसाइट www.dcwg.org मा गएर तपाईँको कम्प्युटर संक्रमित हो कि हैन हेर्न आह्वान गरिरहेको छ। यदि संक्रमित हो भने त्यहीँ यो समस्यालाई कसरी समाधान गर्ने उपाय सिकाइएको छ।
मैले त्यो साइटको http://www.dns-ok.us/ मा क्लिक गरी हेर्दा मेरो कम्प्युटरमा हरियो चिह्न देखायो
यसको मतलब मेरो कम्प्युटर संक्रमित छैन। यदि यस्तो खालको रातो देखिएको भए तपाईँको कम्प्युटर संक्रमित हुन्थ्यो र तपाईँले जुलाई ९ पछि इन्टरनेट चलाउन सक्नुहुन्न।
हरियो आए त केही गर्न परेन। रातो आयो भने नि ? धन्दा नमान्नुस्, यो साइटमा क्लिक गरीhttp://www.dcwg.org/fix/ तपाईँले निःशुल्क टुल डाउनलोड गरी बनाउन सक्नुहुन्छ।
ह्याकरहरुले विश्वभरका ५ लाख ७० हजारभन्दा बढी कम्प्युटरलाई आफ्नो नियन्त्रणमा लिएका थिए। माइक्रोसफ्ट विन्डोजको अपरेटिङ सिस्टममा भएको कमजोरीको फाइदा उठाउँदै उनीहरुले ती कम्प्युटरहरुमा विभिन्न सफ्टवेयरहरु इन्सटल गरेका थिए। यसले एन्टिभाइरस अपडेट अफ मात्र गरेन, इन्टरनेटको डीएनएसलाई समेत बिगारिदिने काम गर्‍यो।
अमेरिकामा सबैभन्दा बढी ८५ हजार कम्प्युटर यसबाट प्रभावित भएको भनिएको छ। २० हजारभन्दा बढी कम्प्युटर प्रभावित भएका देशहरुमा इटाली, भारत, इंगल्यान्ड र जर्मनी छन्। त्यसैगरी स्पेन, फ्रान्स, क्यानाडा, चीन र मेक्सिकोका कम्प्युटर पनि प्रभावित भनिएको छ। प्रभावित कम्प्युटरहरुको हिट इन्डेक्स म्यापमा नेपाल पनि छ जस्तो देखिन्छ।








Sunday, April 15, 2012

रंगमञ्चमा टाइसन - souryadaily

लस भेगास, २ वैशाख । बक्सिङ ‘लिजेन्ड’ माइक टाइसन यतिबेला अमेरिकामा रिङलाई कलामञ्चको रूपमा प्रयोग गर्दै दर्शकसँग आफ्नो खेल जीवनका उतारचढाव अभिनयसहित सुनाइरहेका   छन् । लास भेगासस्थित एमजिएम ग्रान्ड क्यासिनोको पछाडिपट्ट ७ सय ४० सिट क्षमताको ‘थिएटर’ मा उनको एकल ‘सो’ ‘माइक टाइसन -निर्विवाद सत्य, मञ्चमा प्रत्यक्ष -माइक टाइसन -अनडिस्प्युटेड ट्रुथ, लाइभ अन स्टेज) शुक्रबारदेखि सुरु भएको छ ।
बुधबारसम्म चल्ने दुई घन्टा लामो ‘सो’ मा ४५ बर्षीय टाइसनले बलात्कारको अभियोगमा पाएको जेल सजाय र लागुऔषधसितको आफ्नो लडाइँसमेत जीवनका अति विवादास्पद घटनाबारे अभिनयमार्फत वास्तविकता झल्काउनेछन् । यसक्रममा आफू विश्वप्रसिद्ध खेलाडी बनेको अवधिसम्मको यात्राबारे उनले सम्झनेछन् । ‘मेरो बैठककक्षमा सबैलाई स्वागत छ,’ ‘सो’ को सुरुआतमा उनी भन्छन्, ‘तपाइर्ंहरूमध्ये धेरैलाई आश्चर्य लागिरहेको होला, मञ्चमा मैले नराम्रो के गर्न लागेँ भनेर । इमानदारीपूर्वक भन्नुपर्दा, म आज तपाईंहरूलाई त्यही अचम्ममा पार्न लागिरहेको छु ।’
जीवनका क्रमिक घटनामार्फत उनले यस प्रश्नको उत्तर दिन्छन्, यस ‘सो’ मा । आफ्नो जन्मदेखिको घटना सुरु गर्दै उनी आफू अज्ञात बाबुको सन्तान भएको जानकारी दिन्छन् र जीवनका वियोगान्त घटना दर्शाउँदै कथालाई बक्सिङसँग जोड्छन् । कथाअनुसार १६ वर्षको उमेरमा आमाको निधनपछि एक्लिएका उनी त्यसपछि बक्सिङतर्फ मोडिन्छन् । बक्सिङतर्फ लाग्न प्रेरणा दिने कस डि’आमाटोले नै उनलाई अपराध जगत र कारागारबाट मुक्त गर्दै विश्वप्रसिद्ध खेलाडी बनाउन मद्दत गर्छन् ।
‘मेरा धेरै समस्या भावनात्मक थिए,’ उनी भन्छन् । विगतमा आफूबाट भएका मुख्र्याइँलाई जनाउन उनी भाषिक संकेतको प्रयोग गर्छन्, विशेषगरी अंग्रेजी अक्षर ‘एन’ को पटकपटक प्रयोग । खराब बानीका बाबजुद पनि हेभिवेट च्याम्पियन हुने सबैभन्दा कान्छो खेलाडी बन्नबाट उनलाई कसैले छेक्न सक्दैनन् । सुरुआती १९ बाउट नकआउट आधारमा जितेका उनले २० वर्षको उमेरमै प्रोफेसनल बक्सिङको हेभिवेट उपाधि जितेका थिए ।
अभिनेत्री रोबिन गिभेन्ससँग भएको उनको पहिलो विवाह र सन् १९८९ मा त्यसको समाप्ति अनि अभिनेता ब्राड पिटले गिभेन्ससित सम्बन्ध जोडेको प्रसंगलाई टाइसन निकै मनोरञ्जक शैलीमा सुनाउँछन् । त्यसपछि उनीभित्र रहेका स्वघोषित ‘दानवहरू’ ले कसरी उनलाई परित्याग गर्दै एकपछि अर्को छाड्दै गए भन्ने चर्चा पनि उनी उत्तिकै रोचक ढंगमा गर्छन् ।
सन् १९९२ मा इन्डियाना पोलिसमा आयोजित सुन्दरी प्रतियोगितामा एक प्रतियोगीलाई बलात्कार गरेको अभियोगमा टाइसनलाई ६ वर्षको सजाय सुनाइएको थियो । तर, तीन वर्षको जेल सजायपछि ‘राम्रो व्यवहार’ को आधारमा उनी सन् १९९५ मा जेलमुक्त भएका थिए । तर, उक्त बलात्कार अभियोगलाई टाइसन हालसम्म पनि अस्वीकार गर्दै आएका छन् । ‘म आफूले केही नगरेको विषयमा जेल गएँ,’ उनी भन्छन् ।
टाइसनले हेभिवेट उपाधि फेरि पनि जिते तर सन् १९९६ मा इभान्डर होलिफिल्डद्वारा पराजित भएर उक्त उपाधि गुमाए । सन् १९९७ मा उनीहरूबीच भएको ‘रि-म्याच’ मा उनले होलिफिल्डको कान दुईपटक टोकेर टुक्रा नै निकालिदिए । त्यो बदनामीपूर्ण कार्यका लागि उनलाई एक वर्ष लामो प्रतिबन्धसहितको कठोर सजाय सुनाइएको थियो ।
सन २००३ मा टाइसनले आफू टाट पल्टेको घोषणा गरे भने त्यही वर्ष उनको दोस्रो विवाह पनि टुंगियो । उनले हालकी श्रीमतीसँग सन् २००९ मा विवाह गरेका थिए तर चार बर्षीय छोरी एक्जोडसको घरमै दुर्घटनमा परी निधन भएपछि उनले जीवनमा अर्को भुल्नै नसक्ने दुर्घटना व्यहोरेका थिए । उनी पछिल्लो केही समयदेखि टेलिभिजनमा ‘परेवा प्रेमबारे प्रशिक्षण कार्यक्रम’ नामक रियालीटी ‘सो’ गरिरहेका छन् ।
टाइसनको यो ‘सो’ उनकै तेस्रो श्रीमती किकी र हलिउड नाटक लेखक तथा निर्देशक रेन्डी जोनसनको सहलेखनमा तयार भएको हो । ‘यसलाई वेस्ट लन्डनमा पनि देखाउने मैले आशा गरेको छु,’ जोनसनले भने, ‘त्यसो त हामी यसलाई विश्वका हरेक रंगमञ्चमा देखाउन सक्छौं ।’ जोनसनले टाइसन प्राकृतिक मनोरञ्जनकर्ता भएको बताए । उक्त ‘सो’ हेर्नेमा अधिकांश गोरा मानिस थिए भने तीमध्ये पनि बढी सहरका बक्सिङ फ्यान । दर्शकले टाइसनको ‘स्ट्यान्डअफ ट्यालेन्ट’ को खुलेर प्रशंसा गरेका थिए । ‘टाइसन बौलाहा पाराका विद्वान् हुन् । औपचारिक शिक्षाविना नै यसरी सशक्त दिमाग हुनु अचम्मको कुरा हो ।’ लस एन्जेलसबाट आएकी ३६बर्षीय जोए जर्टजम्यानले भनिन्, ‘यस क्यासिनो -थिएटर) मा भएका मानिसले केहीछिन मुख बन्द र दिमाग खोलेर टाइसनले भनेको कुरा सुने भने धेरै सिक्न सक्छन् ।’

Saturday, April 14, 2012

हे दैव ! फेरि अर्को साइबाबा !! - mysansar



HB_KTM_Shiv Saibab lai Samman (10)
निकै चलेका भारतको ओरिजिनल साइबाबा मरेको एक वर्ष पुग्न लागेको छ। तर उस्तै कपाल र उस्तै लुगा लगाएर आफूलाई साइबाबा भनिटोपल्नेहरुको कमी छैन। हाम्रै नेपालमा पनि एक जना त्यस्तै साइबाबा रहेको बारे ब्लग अस्ति नै माइसंसारले लेखेकै हो। होममेड साइबाबाले चित्त नबुझेर हो कि के हो, धर्मको ठेक्का लिने एउटा समूह राष्ट्रिय धर्मसभा नेपालले भारतको कर्नाटकबाट आएका एक जनालाई आज अभिनन्दनै गरी सम्मान गर्‍यो। उस्तै जिम्मी हेन्ड्रिक्स स्टाइलको जिङ्ग्रिङ्ग कपाल अनि उस्तै रङ्गको पहिरन। नाम पनि शिव साइबाबा रे। अनि नामको अगाडि तीन वटा श्री लगाइएको रहेछ श्री श्री श्री शिव साइबाबा रे। अर्थात् श्री ३। श्री ३ त राणाहरुको मात्र हुन्थ्यो। साइबाबाहरुले नि प्रयोग गर्न थालेछन् भाइ।
HB_KTM_Shiv Saibab lai Samman (10)
HB_KTM_Shiv Saibab lai Samman (7)
फोटो साभारः हीरालाल विश्वकर्मा/रासस

काठमाडौँमा आयोजित यो कार्यक्रममा यिनले पनि साइबाबाले जस्तै नै चटक देखाए। अर्थात् विभूति निकाल्ने काम। विभूति अर्थात् खरानी निकाल्ने काम। चटकबाजीको विरोध गर्ने केही समूहहरुले साइबाबा जिउँदै रहेकै बेला यस्तो चटक कसरी देखाउन सकिन्छ भनेर देखाइसकेका थिए। उनीहरुका अनुसार हातमा क्याप्सुल लुकाएर त्यसलाई फुटाएर खरानी निकाल्ने काम हुन्छ। त्यसरी हातको क्याप्सुल फुटाएको नदेखियोस् भन्नलाई आँखामा झुक्याउन त्यसो गर्ने क्रममा यी चटकेहरुले हात फनफनी घुमाउने गर्छन्। तर अन्धभक्तिको अगाडि के लाग्छ र, कार्यक्रममा शिव साइबाबाले विभूति निकालेर प्रसादका रुपमा सबैलाई बाँडे। मान्छेहरुले नि रमाइ रमाइ लिए।
भारतको आइटी राजधानीका रुपमा लिइने कर्नाटका राज्यमा यस्ता बाबा नि छन्। यी बाबाका भक्तहरुको संख्या लाख जति छन् भनिन्छ। आफ्नो बजार बढाउन शायद् उनी नेपाल आएका हुन्। नभन्दै उनलाई सम्मान गरेर बजार बढाउने काम गरिहाले यहाँ।
हामीले यहाँ सम्मान गर्दैगर्दा उनकै देशको उनकै क्षेत्रको टिभीले उनको चटकलाई कसरी पर्दाफास गरेका छन्, भिडियो हेरौँ-
http://www.youtube.com/watch?feature=player_embedded&v=g9lq7V88MSc
अनि यो चाहिँ मरिसकेका साइबाबाको चटकको भिडियो-
http://www.youtube.com/watch?feature=player_embedded&v=UOhH1oBJOiw
 

Thursday, April 5, 2012

कहाँ चुके नागरिक अगुवाहरु ? नागरिक अगुवा पनि पार्टी-पार्टीका पेवा - onlinekhabar

कृष्ण अविरल
के २०६२-०६३ को जनआन्दोलनलाई उठान गरेर निष्कर्षमा पुर्‍याउन अथक र ऐतिहासिक योगदान गरेका नागरिक आन्दोलनका अगुवाहरु दलिय संकीर्णता र अवसरवादिताको दलदलमा भासिएकै हुन् ? कि गोष्ठी र सेमिनार आयोजना गरेर पत्रिकामा छापिएका समाचारका कटिङ भेला पारी विदेशी दातालाई देखाएर डलर झार्ने ‘व्यवसाय’मा बिजी भएका हुन् ? आगामि जेठ १४ भित्र सर्वस्वीकार्य नयाँ संविधान जारी गराउनका लागि खरो खबरदारीमा उत्रिनु पर्ने बेलामा नागरिक आन्दोलनको चालचुल नदेखिनुले यस्तै संशय उत्पन्न भएको छ ।  २०५८ माघ १९ मा तात्कालीन राजा ज्ञानेन्द्रले सत्ता हरण गरेर निरंकुशता लादेपछि सडकमा उत्रिएका राजनीतिक दलहरुले महिनौं प्रयास गर्दा पनि आन्दोलनमा जनउभार ल्याउन सकेका थिएनन् ।
आन्दोलनका तात्कालीन अगुवा गिरिजाप्रसाद कोइराला हरेकचोटि ‘निर्णायक आन्दोलन’ शब्द प्रयोग गर्थे । आन्दोलनमा जनसहभागिता जुटाउने अनेकौं प्रयास एकातिर थियो भने अर्कातिर दलहरुको असफलताबाट हौसिएको सरकार चर्को दमनमा उत्रिएको थियो । तर पत्रकार, चिकित्सक, वकिल, प्राध्यापक, शिक्षकहरुका आ-आफ्ना छाता संगठन मिलेर शान्ति र संविधानका लागि पेशागत संजाल पापडको निर्माण गरी सडकमा उत्रिएपछि सरकारलाई थेग्नै हम्मेहम्मे भयो । अझ त्यसमा देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मल्ल के सुन्दर, श्याम श्रेष्ठ, खगेन्द्र संग्रौला, सत्यमोहन जोशी, मनोज गजुरेल, रुविन गन्दर्भ, बैरागी काइला, हरि रोका, डा. तुलसी भट्टराई, कनकमणि दीक्षित, केदार खडकालगायतका आ-आफ्नो क्षेत्रका हस्तीहरु सडकमा आएपछि त आन्दोलनले साँच्चै निर्णायक मोड लियो । र, केही सातामै निरंकुशतालाई घुँडा टेकायो । गणतन्त्रको घोषणापछि आन्दोलनका उपलब्धीहरुको रक्षाका खातिर पनि उत्तिकै खबरदारी गरेको नागरिक आन्दोलन संविधानसभाको निर्माणपछि झनै सशक्त हुन जरुरी थियो । यदि त्यसो हुन्थ्यो भने संविधानसभाले थप दुईवर्षे अवैध अवधिमा गुज्रनुपर्ने नै थिएन । मुलुकले पनि अनिश्चय र अन्योलसँगै महँगा सभासदहरुलाई सुँगुर पोसेसरह पोस्दै अर्बौँको आर्थिक बोझ बोक्नुपर्ने अवस्था आउने नै थिएन । साथै राजनीतिक दलहरु जनस्तरमा यति आलोचित पनि हुन पाउने थिएनन् । देशले एउटा मोड लिएर आर्थिक विकासको बाटो तय गर्ने थियो । यसकारण पनि विगतमा संविधानसभाको आयु थप्नेदेखि जति पनि विकृति विसंगति भए तिनको जिम्मेवार नागरिक आन्दोलनका अगुवाहरु समेत हुन् ।
कहाँ चुके नागरिक अगुवाहरु ?
संविधानसभाको निर्वाचन सम्पन्न भएर मुलुकमा गणतन्त्रको घोषणा भइसकेपछि निरन्तर खबरदारीमा नजुटेर अवसरवादितातिर लाग्नु नै नागरिक आन्दोलन कमजोर हुने कारण बन्यो । हुन पनि त्यही आन्दोलनमा लागेवापतको ‘ब्याज’बाट हरि रोका र शान्ता श्रेष्ठ माओवादी तर्फबाट समानुपातिक कोटामा सभासद बन्न सफल भए । शम्भु थापा र सपना मल्ल प्रधानलाई पुरानो आस्थाका आधारमा एमालेले काखी च्याप्यो । प्राध्यापक सुप्रभा घिमिरेलाई कांग्रेसले त्यसैगरी गर्‍यो । उता बैरागी काइला, किरण मानन्धर, गंगाप्रसाद उप्रेती, डा. बेन्जु शर्मा, सुलोचना मानन्धरलगायतका स्रष्टाहरु कुलपति तथा प्राज्ञ बनेर सुविधा दोहनमा लागे -जिम्मेवारी लिएर पनि प्रभावकारी काम गर्न नसेकेकोले सुविधा दोहन भनिएको हो ।) श्याम श्रेष्ठ त एमाओवादीका पोलिटब्युरोमै पुगे । उता नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डे बुढ्यौलीले थाकेजस्तो गरी निष्त्रिmय भए । गेरुवस्त्रधारी कृष्ण पहाडीलाई जवर्जस्त साहित्यकार हुने भुत सवारले पछाडि पार्‍यो ।
मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र मनोज गजुरेलहरुलाई आफ्नो कलाकारितामै भ्याइनभ्याइ हुन थाल्यो । सडककवि अर्जुन पराजुलीलाई भुँडीपुराड प्रकाशन र स्कुलको ‘जनवादी’ आम्दानीमै रमाउन थाले । खरा लेखक खगेन्द्र संग्रौलालाई गाली-निबन्ध लेखनबाटै फुर्सद मिल्न छाड्यो । आन्दोलनले स्थापित गरेका अर्का कवि मणि काफ्लेलाई नेविसंघको केन्द्रीय पद नै बहुमूल्य भयो । पत्रकार महासंघको सभापतिको जिम्मेवारीबाट मुक्त भएपछि विष्णु निष्ठुरीलाई बोझ बिसाएजस्तो हुन गयो । बुढ्यौली वयका सत्यमोहन जोशीलाई विमोचनमा प्रमुख अतिथि हुँदैमा फुर्सद हुन छाड्यो भने डा. तुलसी भट्टराईलाई आफ्नै व्यवसाय प्यारो भयो । त्यसैगरी पत्रकार कनकमणि दीक्षित र पुरुषोत्तम दाहालहरु माओवादीविरुद्धको अखबारी बीषबमनमै ब्यस्त रहे ।
मल्ल के सुन्दर र पद्मरत्न तुलाधरहरु देशभन्दा जातिवाद नै प्यारो हुन थाल्यो । डा. कृष्णबहादुर भट्टचनलाई नाकचुच्चेहरुको आरिस गर्दैमा फुर्सद हुन छाड्यो । मन्दिरा शर्मालगायतका कतिपयचाहिँ संघीयता, मानवअधिकार आदिका बाहनामा गोष्ठी सेमिनार आयोजना गरी अखबारका कटिङ विदेशी दातालाई बुझाएर आफन्तलाई जागीर खुवाउने व्यवसायमा बिजी भए । त्यसका वावजुद पनि नागरिक आन्दोलन कमजोर भएको थिएन । जब नागरिक आन्दोलनका कतिपय अगुवाहरुले आफ्नो दायित्व र निष्पक्षता बिर्से, तव नागरिक आन्दोलन कमजोर हुन पुग्यो । ‘हामी नागरिक आन्दोलनमा लागेकाहरु युगले दिएको दायित्व बिर्सेर दलका कार्यकर्ता बन्यौँ ।’ २०६२-०६३ को आन्दोलनमा तन, मन र धनले समर्पित रहेका नागरिक अधिकारकर्मी बलरामकृष्ण मानन्धर भन्छन्, ‘रुक्मांगत काण्डमा शितलनिवास घेर्न गएपछिदेखि नै नागरिक आन्दोलनप्रतिको जनविश्वास र शाख गुमायो ।’ मानन्धर ०९७ साल काण्डका जिउदा शहिद कम्पाण्डर चन्द्रमानका छोरा हुन् ।
अबको खाँचो
सर्वोच्च अदालतले गत चैत १५ मा संविधानसभाको म्याद अब थप्न नमिल्ने फैसला गरेपछि संविधान निर्माणका लागि सेकेन्ड सेकेन्डको महत्व सुरु भएको छ । आगामी जेठ १४ को समयसीमा भित्र नयाँ संविधान जारी हुन नसके राजनीतिक दलका नेताहरु असफल सावित हुने मात्र नभइ गणतन्त्रको भविष्य नै अश्चित हुने लगभग पक्का छ । विगतमा सर्वोच्चले म्याद थप्न नमिल्ने फैसलाविरुद्ध प्रधानमन्त्री र सभामुखले चढाएका फिरादमा सर्वोच्चका सहरजिष्टार नहकुल सुवेदीले दरपीठ लेख्दा आक्रोश ओकल्ने नेताहरु यतिखेर आफ्नो काँधमा रहेको ऐतिहासिक जिम्मेवारीका बारेमा केही गम्भीर देखिएका छन् । तर शासकीय स्वरुप, केन्द्र र प्रदेशका अधिकार बाँडफाँड लगायतका कतिपय एजेन्डामा दलहरुबीच अझै मतभेद कायमै छ ।
सेना समायोजनमा मिलिसकेको कुरा पनि फेरि बल्झिएको छ । त्योभन्दा पनि चर्को समस्याको रुपमा दलहरुमा आन्तरिक रडाको देखिएको छ । त्यही कारण पनि सर्वसाधारण नागरिकहरु जेठ १४ मा सर्वस्वीकार्य नयाँ संविधान जारी हुने कुरामा ढुक्क हुन सकिरहेका छैनन् । विगतको व्यवहारका कारण नागरिकहरुमा जरो गाडेको नेताहरु प्रतिको संशयलाई विश्वासमा परिणत गर्न र जेठ १४ मा सर्वस्वीकार्य नयाँ संविधान सुनिश्चित गराउनका लागि अहिले सशक्त नागरिक खबरदारीको खाँचो छ । किनकि दलका नेताहरुले बाटो बिराएको बेला उनीहरुलाई बाटो पहिल्याउन मद्दत गर्ने दायित्व नागरिक समाजका अगुवाहरुकै हो । त्यसो नगर्ने हो भने जनताको त्याग र संघर्षबाट प्राप्त उपलब्धीहरु कुन नै कुनै रुपमा हरण भएर मुलुकको भविष्य अनिश्चितता तर्फ धकेलिने निश्चित छ । तर केही समययताको देशको दिशाविहीन स्थितिको अवधिमा २०६२-०६३ को जनआन्दोलनताकाका नागरिक आन्दोलनका अगुवाहरुबीचको दलीय संकीर्णता एवम् अवसरवादिता देख्दा नागरिक आन्दोलन फेरि कहिल्यै उठ्न नसक्ने गरी थला परेजस्तो देखिएको छ ।
दावी आ-आफ्नै
नेपाल पत्रकार महासंघका सभापति शिव गाउँले २०६२-०६३ अघिको जस्तो लक्ष्य स्पष्ट नभएको कारण पनि नागरिक आन्दोलन सशक्त हुन नसकेको बताउँछन् । ‘अहिलेको लक्ष्य शान्ति र संविधान निर्माण भए पनि कस्तो ? भन्ने विषयमा हरेक नागरिक अगुवाका बीचमा विवाद छ ।’ गाउँलेले भने, ‘पार्टी पार्टीको नागरिक समूह भएपछि कसरी नागरिक आन्दोलन सशक्त हुन्छ ?’ यद्यपि उनले महासंघलगतायतका सन्चार संस्था र पापडमा आबद्ध सबै संस्थाले आआफ्नै ढंगबाट शान्ति र संविधान निर्माणका लागि दवाव सिर्जना गरिरहेको दावी गरे ।जनआन्दोलनको अगुवाई गरेका देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी, महजोडीलगायतका अगुवा र देशब्यापी सन्जाल भएका पापडमा आबद्ध संस्थाहरु अहिले अझै सक्रिय हुनुपर्ने बेला आएको भनाई महासंघका पूर्वसभापति विष्णु निष्ठुरीको छ ।
‘दलका नेताहरुलाई व्याकफोर्स छ भनेर आत्मविश्वास बढाउन पनि नागरिक आन्दोलन अझै सक्रिय हुनुपर्ने हो ।’ निष्ठुरीले भने, ‘तर पार्टी पार्टीका बनेर हामी नागरिक अगुवाहरु चुकिरहेका छौं ।’ अन्तरद्वन्द्व भएका दलका नेताहरुलाई भेटेर ‘झगडा गर्ने बेला यो होइन’ भनेर समझाउनका लागि पनि नागरिक आन्दोलन आवश्यक भएको उनको भनाई छ ।तीन-तीन महिना एउटा संस्थाले नेतृत्व लिने चलन भए पनि विगत ६ महिनादेखि एकलौटी रुपमा पापडको नेतृत्व ओगटिरहेको नेपाल वार एशोसिएसनका अध्यक्ष प्रेमबहादुर खडका नागरिक आन्दोलन कमजोर भएको वास्तविकता स्वीकार्दैनन् । ‘हामीले सडकदेखि सदनसम्म निरन्तर दवाव सिर्जना गरिराख्या छौं, चार वर्षको अवधिमा १३ वटा त ज्ञापनपत्र नै बुझाइसक्यौं ।’ उनले भने, ‘आउँदो चैत २३ गते पनि वसन्तपुरबाट र्‍याली निकाल्दै छौं ।’ दवावका लागि एशिया बार र अन्तर्राष्टिय बार काउन्सिलका प्रेसिडेन्टहरुलाई ल्याएर कार्यक्रम गरिसकेको बताउने उनले नागरिक संघसंस्थाहरु दाता रिझाएर डलर झार्ने धन्दामा लागेको आरोप स्वीकारेनन् ।
‘एनजिओ आइनजिओलाई पापडसँग दाँज्न मिल्दैन ।’ खड्काले दावी गरे, ‘हामी पार्टीका विचारसँग बाँडिएका छैनौं । काम गरिरहेका छौं ।’नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेचाहिँ वर्तमान परिस्थितिबाट निकै निराश भेटिए । ‘नागरिक आन्दोलन सक्रिय हुनुपर्छ भन्ने तपाईहरु २-४ जनाबाहेक कोही पनि देख्दिन ।’ उनले भने, ‘बरु यसबारेमा बोल्दै नबोलूँ ।’

Wednesday, April 4, 2012

विशेष अदालतले फेरि भन्यो- पूर्व आइजीपी खरेल भ्रष्टाचारी हैनन् - mysansar

हिजो एक पूर्व आइजीपी मोतिलाल बोहरा भ्रष्टाचारी ठहर भएपछि आज अर्का पूर्व आइजीपीको उस्तै मुद्दाको पनि विशेष अदालतले फैसला गरेको छ। पूर्व आइजीपी अच्युतकृष्ण खरेल भने यस पटक पनि विशेष अदालतबाट सफाइ पाउन सफल भएका छन्। यसअघि पनि विशेष अदालतले हदम्यादको कारण दर्शाएर मुद्दाको विषयवस्तुभित्र प्रवेशै नगरी उनलाई सफाई दिएको थियो। तर सर्वोच्चले त्यसलाई खारेज गरी मुद्दा फेरि विशेष अदालतै फर्काइदिएको थियो। त्यसमा आज फैसला गर्दै विशेषले उनले भ्रष्टाचार नगरेको भन्दै सफाइ दिएको छ। यो फैसलाविरुद्ध अख्तियार सर्वोच्च गएन भने उनले सदाका लागि यो अभियोगबाट मुक्ति पाउनेछन्।
अख्तियारले पदमा रही अच्युतकृष्ण खरेलले भ्रष्टाचार गरी गैरकानूनी तवरबाट सम्पत्ति आर्जन गरी सोबाट बढे बढाएको समेत गरी रु. १ करोड ६३ लाख ३६ हजार १ सय ३० रुपियाँ मूल्य बराबरको सम्पत्ति आर्जनको स्रोत पुष्टि नभएको तथ्य स्थापित हुन आएको बताएको थियो। तर विशेषले भने एक करोड उनान्नब्बे लाख अन्ठाउन्न हजार तीनसय सोह्र रुपैयाँ बयानब्बे पैसा बराबरको सम्पत्ति मात्रै रहेको देखिन आएको बताएको छ। यही अवधिमा उनको स्रोत खुलेको वैध आय रु. १,९२,२६,७४२।७७ (एक करोड बयानब्बे लाख छब्बीस हजार सातसय बयालिस रुपैयाँ र सतहत्तर पैसा) रहेको र यस अनुसार निज संग रहेको सम्पत्ति रु. २,६८,४२५।८५ (दुई लाख अठ्सठ्ठी हजार चारसय पच्चीस रुपैयाँ र पचासी पैसा) निजको आय भन्दा कम नै देखिन आएकाले उनले गैर कानूनी सम्पत्ति आर्जन गरेको भन्न नमिलेको तर्क छ।
हिसाब त्यहीँ मिलेन। अख्तियारले कूल सम्पति २ करोड ५६ लाख ९० हजार ६३२ छ भन्ने अनि विशेषले एक करोड उनान्नब्बे लाख अन्ठाउन्न हजार तीनसय सोह्र रुपैयाँ मात्रै देख्‍ने।
विशेष अदालतले आजको फैसलासँगै गरेको टिप्पणीले अख्तियारको अनुसन्धान मै गल्ती औँल्याएको छ। अख्तियारले “हालको मोल भनी बढी मोल कायम गरी बढी बिगो देखाएबाट अभियोग यथार्थभन्दा बाहिर जाने र गलत सन्देश प्रवाह हुने गरेको पाइन्छ” भनी विशेषले टिप्पणी गरेको छ। खरेलको मुद्दामा करोडौँको बिगो स्वात्तै घट्नुको पछाडि मूख्य कारण यही हो।
विशेष भन्छ- अख्तियारले जग्गा खरिदमा हालको मोल भनी १ करोड ५७ लाख रुपैयाँ बढी मोल कायम गरी भ्रष्टाचार गरी कमाएको भनी आरोप लगाएको छ। लगानी वा परेको मोल त सिर्फ १५ लाख ४७ हजार मात्र हो।
फैसलामा टिप्पणी लेखिएको छ- प्रतिवादीको जग्गा खरीद गर्दा लिखतबाट जम्मा रु. १५,४७,२००। (तालिका नं. १०) मा कारोबार भएको देखिनेमा आयोगले हालको मूल्य भनी रु. १,७२,८०,६९३।९३ (तालिका नं.१० पृ.७,८)। १ करोड ७२ लाख कायम गरेको देखिन आयो। जस अनुसार रु. १,५७,३३,४९३।९३ एक करोड ५७ लाख भन्दा बढी मूल्यांकन गरेको छ। जग्गा खरिद गर्दा परेको मोल भनेको रु. १५,४७,२००। पन्ध्रलाख सतचालिस हजार मात्र हो, १ करोड ७२ लाख होइन।
घर निर्माणको मोल अभियोग लगाउँदा हालको मोलको आधारमा रु. ८४,८२,८८२।७६ चौरासी लाख ८२ हजार मोल कायम गरी लागत मूल्य भन्दा रु ३१,९४,८२१।८४ एकतीस लास ९४ हजार बढी मोल कायम गरेको विशेषको टिप्पणी छ।
विशेषको यो टिप्पणीले अख्तियारको अभियोग र दावी सुरुदेखि नै गलत रहेको देखाउन खोजेको छ। अख्तियारले यो विषयमा कुनै टिप्पणी गरिसकेको छैन।
विशेष अदालतमा खरेलको तर्फबाट प्रतिवादीको वरिष्ठ अधिवक्ता त्रय हरिहर दाहाल, श्यामप्रसाद खरेल र सुशीलकुमार पन्त तथा अधिवक्ता त्रय कृष्णप्रसाद सापकोटा, सतीश कृष्ण खरेल र रमणकुमार श्रेष्ठले बहस गरेका थिए।

फैसलाका रमाइला प्रसंग

  • तराईको जग्गामा प्रति बिघा वार्षिक २० हजार रुपैयाँ आम्दानी गर्न सकिन्छ। फलफूल खेती हो भने त्यसको दोब्बर आम्दानी हुन्छ।
  • जनताको करको तलब खाने प्रहरीलाई प्रहरीका हाकिमको निजी काममा लगाउन पाइन्छ ? पाइँदो रैछ त। अच्युतकृष्ण खरेलले आफ्नो घर बनाउँदा कामदार, ज्यामी, मजदूर प्रहरीबाट लगेकाले आफ्नो रकम खर्च गर्न नपरेको भनेका छन्। प्रहरी कामदार पठाउने गरेको छ भनी प्रहरी प्रधान कार्यालयबाट सिफारिश समेत ल्याएका छन्। घरको लागतमा कामदार र ज्यामी खर्च २०।२५ प्रतिशत लाग्ने भएकाले सो रकम छुट हुनु पर्दछ भनी खरेलले माग गरेका थिए तर प्रहरीलाई निजी काममा लगाउने कार्य कानून अनुरुप नभएको भन्दै विशेष अदालतले त्यसलाई मान्यता दिएको छैन। मान्यता नदिए पनि आखिर उनले निजी काममा त लगाएका रहेछन् नि। प्रहरीलाई हाकिमहरुले कति शोषण गर्दा रहेछन् भन्ने प्रमाण हो यो।
  • काठमाडौँ महानगरपालिका वडा नम्बर २३ को १० आना जग्गाको मोल  १५ लाख ४७ हजार २०० मात्रै।
  • स्वयंकर घोषणामा तिरेको भनी विशेष अदालतले १ लाख ८२ हजार रुपियाँलाई पनि सम्पति मानेको छ जबकि प्रतिवादी खरेलले समेत त्यसको दावी गरेका छैनन्। प्रतिवादीले दावी नै नगरेको रकमलाई विशेषले आय मानेर खरेललाई राहत दिएको छ। 
हेर्नुस् फैसलाको मुख्य अंश-
अच्युत खरेलको ठहर मात्र फैसला ०६८।१२।२२।४
यस अदालतबाट अभियोग पत्र र प्रतिवादीहरुले बयानमा लिएका जिकिर र पेश गरेका प्रमाणको आधारमा सम्पत्तिको मूल्यांकन गर्दा माथीको तालिका अनुसार जाँच अवधिमा प्रतिवादी अच्युतकृष्ण खरेल र निजको परिवारसंग घर, जग्गा, गाडि, शेयर, बैंक ब्यालेन्स लगायत गरी जम्मा रु. १,८९,५८,३१६।९२ (एक करोड उनान्नब्बे लाख अन्ठाउन्न हजार तीनसय सोह्र रुपैयाँ बयानब्बे पैसा) बराबरको सम्पत्ति रहेको देखिन आयो। यही अवधिमा निजको स्रोत खुलेको वैध आय रु. १,९२,२६,७४२।७७ (एक करोड बयानब्बे लाख छब्बीस हजार सातसय बयालिस रुपैयाँ र सतहत्तर पैसा) रहेको देखिन आयो। यस अनुसार निज संग रहेको सम्पत्ति रु. २,६८,४२५।८५ (दुई लाख अठ्सठ्ठी हजार चारसय पच्चीस रुपैयाँ र पचासी पैसा) निजको आय भन्दा कम नै देखिन आएकाले निजले गैर कानूनी सम्पत्ति आर्जन गरेको भन्न मिलेन।
प्रतिवादी पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलसंग बैध आम्दानी भन्दा कम नै सम्पत्ति रहेको देखिएकाले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने अभियोग दावी पुग्न नसक्ने भई यी प्रतिवादी अच्युत कृष्ण खरेल, निजकी पत्नी प्रतिवादी मीना खरेल र निजका छोरा प्रतिवादी आयुष खरेलले अभियोगबाट सफाई पाउने ठहर्छ।
अदुअआले कायम गरेको जम्मा सम्पत्ति रु. २,५६,९०,६३२।०८
श्रोत खुलेको रु.९३,५४,५०१।६४
श्रोत नखुलेको रु.१,६३,३६,१३०।४४
विशेष अदालतबाट ठहराएको
प्रतिवादीसंग रहेको जम्मा सम्पत्ति रु. १,८९,५८,३१६।९२ (एक करोड उनान्नब्बे लाख अन्ठाउन्न हजार तीनसय सोह्र रुपैयाँ बयानब्बे पैसा)
स्रोत खुल्ने प्रतिवादीको वैध आय रु. १,९२,२६,७४२।७७ (एक करोड बयानब्बे लाख छब्बीस हजार सातसय बयालिस रुपैयाँ र सतहत्तर पैसा)
प्रतिवादीको आय भन्दा कम रहेको सम्पत्ति रु. २,६८,४२५।८५ (दुई लाख अठ्सठ्ठी हजार चारसय पच्चीस रुपैयाँ र पचासी पैसा)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यी प्रतिवादीसंग जम्मा रु. २,५६,९०,६३२।०८ सम्पत्ति रहेको त्यस मध्ये श्रोत खुलेको रु.९३,५४,५०१।६४ बराबरको सम्पत्ति रहेको र वैध श्रोत नखुल्ने भ्रष्टाचार गरी कमाएको रु.१,६३,३६,१३०।४४ बराबरको अकुत सम्पत्ति कमाएको भनी आरोपपत्र दायर हुन आएको थियो।



अच्युत खरेलको फैसलाको संक्षिप्त ठहर खण्ड
प्रेस विज्ञप्ति नं. ७०
विशेष अदालत, काठमाडौं
इजलास
अध्यक्ष माननीय न्यायाधीश श्री गौरी बहादुर कार्की
सदस्य माननीय न्यायाधीश श्री ओम प्रकाश मिश्र
सदस्य माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे
फैसला
सङ्क्षिप्त तथ्य र ठहर
मुद्दाः गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ।
मुद्दा नं. ९३–०६८–०००८१
यो मुद्दा दायर मिति २०६८।७।२८
फैसला मितिः २०६८ चैत्र २२ गते मंगलवार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत चेतनाथ
घिमिरेको प्रतिवेदनले नेपाल सरकार वादी
विरुद्ध
पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल समेत प्रतिवादी
ठहर खण्डको संक्षिप्त रुप,
पूर्ण पाठ तयार भइ नसकेको।
अभियोग र मागदावीः सम्पत्ति न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन समेतका आधारमा प्रतिवादी अच्युतकृष्ण खरेल उपर भएको हालसम्मको अनुसन्धानको क्रममा विश्लेषण भएबमोजिम मिति २०२७।२।५ मा सार्वजनिक पदमा प्रवेश गरेपछि आफ्नो तथा आफ्ना परिवारका नाममा विभिन्न चल अचल सम्पत्ति आर्जन गरी भोग गरिरहेको देखिन्छ। प्रतिवादी अच्युतकृष्ण खरेलले मिति २०५७।९।२० मा आफ्नी पत्नी मीना खरेल तथा छोरा आयुष खरेलबीच अंशवण्डा लिखत तयार गरी अंश प्रदान गरेको देखाई सार्वजनिक सेवामा प्रवेश गरे पश्चात् आर्जन गरेको ठूलो मात्राको सम्पत्ति कागजी रुपमा आफूबाट पृथक देखाउने प्रयत्न गरेको तथ्य निजको अंशवण्डा पछिको निजहरूबीचको सम्पत्तिको सगोल रुपमा भएको प्रयोगले स्पष्ट गर्दछ।
निजको वैधानिक आयका रूपमा रहेका तलव भत्ता, विदेश भ्रमणबाट प्राप्त रकम, जग्गा बिक्रीबाट प्राप्त रकमलाई प्राप्त वर्ष, प्रकृति एवं परिमाणको तर्क र तथ्यसंगत रूपमा यथास्थानमा आरोपपत्रको तालिकामा उल्लेख भएबमोजिम गणना गर्दा पनि स्रोत नखुलेको सम्पत्तिको प्रकरण समेतमा विश्लेषण गरिएबमोजिम निज अच्युतकृष्ण खरेलले भ्रष्टाचार गरी गैरकानूनी तवरबाट सम्पत्ति आर्जन गरी सोबाट बढे बढाएको समेत गरी रु. १,६३,३६,१३०।४४ मूल्य बराबरको सम्पत्ति आर्जनको स्रोत पुष्टि नभएको तथ्य स्थापित हुन आएको छ।
भ्रष्टाचार जस्तो श्वेतग्रीवी अपराधको विशिष्ट प्रकृति र यसको समष्टिगत दुष्प्रभाव समेतलाई दृष्टिगत गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले अनुमानित कसूरसम्बन्धी व्यवस्था गरेको र ऐ. ऐनको दफा १६ग. ले जफतसम्बन्धी र दफा ३ र ७(१) ले दण्डसम्बन्धी व्यवस्था समेत गरेको परिप्रेक्ष्यमा तिनै कानूनी व्यवस्थाहरूलाई निरन्तरता दिंदै अझ प्रभावकारी र समयसापेक्ष बनाउने उद्देश्यले लागू गरिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) ले कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्तिले प्रचलित कानूनबमोजिम पेश गरेको सम्पत्तिको विवरण अमिल्दो र अस्वाभाविक देखिन आएमा वा मनासिव कारणविना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेमा सो सम्पत्ति के कस्तो स्रोतबाट आर्जन गरेको हो भन्ने कुराको प्रमाण निज स्वयंले पुर्‍याउनुपर्ने र यसरी प्रमाण पुर्‍याउन नसकेमा गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको मानिने कानूनी व्यवस्था छ। उपरोक्त कानूनी व्यवस्थाहरूको कसीमा निज अच्युतकृष्ण खरेल एवं निजका परिवारका नाम समेतमा रहेका आरोपपत्रको तालिका नं.२३ मा उल्लेखित सम्पत्तिको वैधानिक स्रोत नखुलेको र निजको वैध आय स्रोतको अवस्था हेर्दा निज समेतले अमिल्दो र अस्वाभाविक जीवनयापन गरिरहेको स्पष्ट भएकोले निजले भ्रष्टाचार गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको तथ्य स्थापित भएको छ।
अतः निज अच्युतकृष्ण खरेल एवं निजकी पत्नी मीना खरेल एवं छोरा आयुष खरेलका नाममा रहेका र लुकाई छिपाई राखेका समेत रु.१,६३,३६,१३०।४४ बराबरको चल अचल सम्पत्ति भ्रष्टाचार गरी गैरकानूनी रूपमा आर्जन गरेको उल्लेखित आधार प्रमाणबाट पुष्टि हुन आएकोले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, ७(१), १० र दफा १५ अनुसार कसूर भई त्यसैलाई निरन्तरता प्रदान गरेको हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिमको कसूर प्रतिवादी अच्युतकृष्ण खरेलले गरेको देखिन आएको छ। अतएव, प्रतिवादी अच्युतकृष्ण खरेललाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, ७(१), १० र दफा १५ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) को कसूरमा साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा ३, ७(१), १०, १५, र २९ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) बमोजिम हदैसम्म सजाय गरी त्यसरी भ्रष्टाचार गरी आर्जन गरेको निज अच्युतकृष्ण खरेल, निजकी पत्नी मीना खरेल, निजको छोरा आयुष खरेल समेतका नाममा रहेको उल्लेखित विगो रु.१,६३,३६,१३०।४४ मूल्यको सम्पत्ति साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को १६ग., दफा २९ र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० (२), र दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत गरी पाउँ।
प्रतिवादी अच्युतकृष्ण खरेल प्रहरी महानिरीक्षक भई श्री ५ को सरकारको विशिष्ट श्रेणीको पदाधिकारी सरहका व्यक्ति भएकोले तत्कालीन भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १४क. र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम निजलाई हदै सम्म थप सजाय समेत गरिपाऊँ भन्ने समेत व्यहोराको आरोपपत्र मागदावी।
प्रतिवादी अच्युतकृष्ण खरेलको सम्बन्धमा अभियोगपत्र शुरुमा मिति २०६१।४।३२ मा अभियोग पत्र दायर भएकोमा यस अदालतबाट हद म्याद बाहिर अभियोग पत्र दायर भएको कारण देखाई हदम्यादको अभावमा अभियोगपत्र नै खारेज हुने गरी मिति २०६३।११।२४।५ मा फैसला भएको थियो।
सो फैसला उपर नेपाल सरकारको तर्फबाट परेको पुनरावेदनमा श्रीसर्वोच्च अदालतबाट हदम्यादको आधारमा खारेज गर्न नहुने प्रमाणको आधारमा इन्साफ गर्नु पर्ने भनी यस अदालतको फैसला मिति २०६८।७।२५।६ मा बदर भई प्रमाणको आधारमा पुनः इन्साफ गर्न यस अदालतमा यो मुद्दा मिति २०६८।७।२८ मा दायर हुन आएको देखिन्छ।
पेशी सूचीमा चढी सुनुवाईको क्रममा २०६८ साल फागुन १७,१८,१९,२१ र २२ गते बहस भएको थियो। वादी नेपाल सरकारको पक्षबाट महान्यायाधिवक्ताको कार्यालयका विद्वान उप न्यायाधिवक्ता श्री तेजनारायण पौडेल र शाखा अधिकृत श्री पुण्यप्रसाद सापकोटाले बहस गर्नु भएको थियो।
प्रतिवादीको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता त्रय श्री हरिहर दाहाल, श्री श्यामप्रसाद खरेल र सुशीलकुमार पन्त तथा अधिवक्ता त्रय श्री कृष्णप्रसाद सापकोटा, श्री सतीश कृष्ण खरेल र श्री रमणकुमार श्रेष्ठले बहस गर्नु भएको थियो।
दुवै पक्षका कानून व्यवसायीहरुको बहस सुनी निर्णय तर्फ विचार गर्दा सर्वोच्च अदालतका न्यायाधीश भैरव प्रसाद लम्सालको अध्यक्षतामा गठित संपति न्यायिक जाँच बुझ आयोगले पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलको कूल स्वआर्जित सम्पत्तिमध्ये जम्मा रु. ५०,५१,३०३।६० बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नआएको भनी दिएको प्रतिवेदनलाई समेत अख्तियार दु अ आयोगले छानबिनको आधार लिएको देखिन आयो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यी प्रतिवादीसंग जम्मा रु. २,५६,९०,६३२।०८ सम्पत्ति रहेको त्यस मध्ये श्रोत खुलेको रु.९३,५४,५०१।६४ बराबरको सम्पत्ति रहेको र वैध श्रोत नखुल्ने भ्रष्टाचार गरी कमाएको रु.१,६३,३६,१३०।४४ बराबरको अकुत सम्पत्ति कमाएको भनी आरोपपत्र दायर हुन आएको थियो।
अच्युतकृष्ण खरेलले प्रहरी संगठन अन्तर्गतको सार्वजनिक पदमा प्रहरी निरीक्षकमा २०२७।२।५ मा प्रवेश गरी मिति २०५७।७।२७ प्रहरी महानिरीक्षक पदबाट राजीनामा गरी निवृत्त हुँदासम्म जम्मा अवधि ३० वर्ष ५ महीना २२ दिन कार्यरत रहेको देखिएको।
हदम्यादको सम्बन्धमा कानूनमा जे व्यवस्था भएतापनि श्रीसर्वोच्च अदालतले अभियोग लगाउन हदम्याद हुने भनी व्याख्या गरिसकेकाले अब हिसाबकिताबको आधारमा फैसला हुनु पर्दछ भनी प्रतिवादी पक्षका वकीलहरुले बहस जिकिर गर्नु भएको थियो। हदम्यादको सम्बन्धमा शुरुमा मुद्दा नै खारेज भएकोमा हदम्यादको आधारमा खारेज गरेको नमिल्ने भनी हदम्याद लाग्ने व्याख्या अभिलेख अदालतको रुपमा रहेको श्री सर्वोच्च अदालतले गरिसकेकाले प्रतिवादीको त्यससम्बन्धी बयान जिकिरको सम्बन्धमा थप व्याख्या गरिरहनु परेन।
त्यस्तै सम्पत्तिको स्वयंकर घोषणा गरेको अवस्थामा कुनै मुद्दा लाग्न नसक्ने भन्ने सम्बन्धमा पनि श्री सर्वोच्च अदालतका ५ जना माननीय न्यायाधीश रहेको विशेष इजलासबाट ईश्वरप्रसाद पोखरेल समेत भएको भ्रष्टाचार मुद्दामा सम्पत्तिको स्वयंं घोषणा गर्दैमा भ्रष्टाचारको आरोपबाट मुक्ति नमिल्ने, छानबिन गर्न मिल्ने भनी व्याख्या भई सोही नजीरलाई रामाज्ञा चतुर्वेदी र जय प्रकाश गुप्ताको मुद्दामा समेत अनुशरण गरिएकाले अब यस अदालतबाट थप व्याख्या गर्नु पर्ने देखिन आएन, सोही नजीर सिद्धान्तलाई अनुशरण गर्नु पर्ने हुन आयो।
सम्पत्ति र आयको सम्बन्धमा अभियोक्ताले लगाएको आरोप भित्र रहेर कानूनी हो वा होइन भन्ने नै अदालतबाट निरुपण गरिन्छ। कतिपय आय र सम्पत्तिको सम्बन्धमा यस अदालतबाट अन्यथा प्रमाणित भएमा बाहेक सवै मुद्दामा एकरुपता कायम होस् भन्ने अभिप्रायले आय र सम्पत्तिको आन्तरिक मूल्यांकन मापदण्ड बनाई सोही आधारमा यस अदालतबाट मूल्यांकन गरिने गरिएको छ। प्रमाणले अन्यथा प्रमाणित नभएमा सम्पत्ति किनबेच अर्थात् तत्कालीन समयको कारोबार लिखतलाई मान्यता दिइने गरेको छ।
एआइजी हुँदा नै विभिन्न शीर्षकमा भ्रष्टाचार गरेको भनी अदुअआ मा २०५३।५।२३ मा उजुरी परेको रहेछ। हतियार खरिदमा भ्रष्टाचार गरेको भनी परेको उजुरीमा पनि कारबाही गर्न नपर्ने गरी नि.नं.१५१ बाट मिति ०६०।१।४ मा निर्णय भएको।
प्रहरी कल्याण कोषको रकम र पेट्रोल पम्पमा भ्रष्टाचार भएको भन्ने अर्को उजुरीमा पनि भ्रष्टाचार नदेखिएको भनी नि.नं. १५२ बाट मिति ०६०।१।४ मा निर्णय भएको।
प्रहरीको पोसाक खरिदमा भ्रष्टाचार गरेको भनी परेको उजुरीमा नि.नं.१५३ बाट अहिलेको ऐनको जस्तो दफा २० त्यतिबेला नभएकाले भ्रष्टाचार निवारण ऐन, २०१७ बमोजिम भ्रष्टाचारमा मुद्दा नचलेकोले दफा १५ बमोजिम मुद्दा चलाउन नमिल्ने भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट एक पटक निर्णय भएको थियो। प्रहरी महानिरीक्षक पदबाट मिति ०५७।७।२७ मय राजीनामा दिए पछि पुनः ०५७।९।१० मा अर्को उजुरी परी अख्तियारले भ्रष्टाचारमा मुद्दा चलाएको। भ्रष्टाचार गरेको भनी उजुरी परी भ्रष्टाचार गरेको नपाएपछि मुद्दा नचलाउने गरी अदुअआ बाट एक पटक निर्णय भइसकेकोमा सो अवधि पछि छानबिन गर्न र मुद्दा लगाउन नमिल्ने र मुद्दा नै लगाईएमा पनि त्यसपछिको अवधिलाई मात्र जाँच अवधि मानिनु पर्दछ भन्ने बहस जिकिर रहेको र कुनै अमुक काम कारबाहीमा भ्रष्टाचार गरेको नदेखिएकोमा मुद्दा नचलाउने निर्णय एक पटक गरिसकेकोमा ऐनको दफा २० को अधीनमा मुद्दा लगाउन नमिल्ने भन्ने जिकिर तर्फ हेर्दा कुनै अमुक कार्यको सम्बन्धमा भ्रष्टाचार गरेको प्रमाणित नभएको अवस्थामा पुनः अकुत सम्पत्ति आर्जन सम्बन्धमा छानबिन गर्न नसकिने गरी संवैधानिक र कानूनी बचाउ कुनै नागरिक माथि भएको पाइदैन। अमुक काम कारबाहीमा भ्रष्टाचार नगरेकोमा सेवा अवधि भरीमा कमाएको वैध सम्पत्ति र आयको सम्बन्धमा सम्पत्तिको छानबिन गर्न सक्ने गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० ले अदुअआ लाई अधिकार प्रदान गरेकाले यो मुद्दा नै लाग्न नसक्ने भन्ने प्रतिवादी पक्षका विद्वान वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरुको बहस जिकिरसंग सहमत हुन सकिएन। अवैध भनी लगाएको अभियोगलाई आफ्नो वैध सम्पत्तिको श्रोत खुलाउने दायित्व अभियुक्तको हुन जान्छ। तथापी अकुत सम्पत्तिको अभियोग लगाएर मात्र नहुने प्रतिवादीको साथमा रहेको अकुत सम्पत्तिको प्रमाण समेत वादी नेपाल सरकार पक्षले दिनु पर्ने हुन्छ। वादीले पेश गरेको प्रमाणको खण्डन भने प्रतिवादीले गर्न सक्नु पर्दछ। सेवाबाट निवृत्त भए पछि कर्मचारी संचय कोषबाट पाएको रकम, निवृत्तीभरण सुुविधा, जग्गा बिक्री लगायतबाट प्राप्त भएको आयमा गणना गरिएकाले सार्वजनिक पदमा वा सेवामा रहँदा आर्जन गरेको सम्पत्तिलाई मात्र जाँच अवधिमा गणना गरिएको छैन। निजले दावी गरेको सवै वैध स्रोतका आयलाई छानबिन गरिएको छ।
कृषि आयको सम्बन्धमा डा.लक्ष्मीराज पाठकको मुद्दामा तराईको जग्गामा प्रतिविघा वार्षिक ३७ हजारसम्म कृषि आय कायम गरियो। डिल्लीरमण निरौला र अन्य मुद्दामा रु १५ देखि २० हजार वा सो भन्दा बढी पनि कृषि आय कायम गरिएकोलाई सर्वोच्च अदालतले सदर गरेकोछ, जयप्रकाश गुप्ताको मुद्दामा पनि १५ हजार प्रतिविघा कृषि कायम गरेको विशेष अदालतको फैसलालाई सर्वोच्च अदालतबाट सदर गरिएबाट तराईको जग्गाको प्रति विघा फैसला भएका अन्य मुद्दाहरुमा पनि वार्षिक २० हजारसम्म कृषि आय कायम गरिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट नै कतिपय मुद्दामा कृषि आय विभिन्न रुपले प्रति विघा वार्षिक २० हजार रुपैयाँ भन्दा बढी पनि प्रदान गरिदै आएको छ। आयोगले नै विभिन्न मुद्दामा विभिन्न रुपले कृषि आय कायम गरेकोले सोही अनुसार यस मुद्दामा पनि प्रति विघा वार्षिक २० हजार रुपैयाँ कृषि आय कायम गरिनु पर्दछ भन्ने समेत प्रतिवादी पक्षको बहस जिकिर रहेको थियो।
कृषि आयको सम्बन्धमा पनि सम्वत् २०२० साल भन्दा अगाडिको आयको पनि मूल्यांकन गर्नु पर्ने अवस्था आएकाले २०२० अगाडि र त्यस पछिका दशकको आय कायम गर्ने मापदण्ड यस अदालतबाट निर्धारण गरिएको थियो। अदुअआ ले कतिपय अभियोगपत्रमा प्रतिविगाहा २० हजार रुपैयाँका दरले कृषि आय निर्धारण गरेकोलाई दृष्टिगत गरी २०५० साल भन्दा अगाडिको तराईको जग्गाको प्रतिविघा रु २० हजार कृषि आय दिइने गरिएको थियो।
विधायिकी कानूनमा प्रष्ट नभएकोमा भने देशको संविधानतः अभिलेख अदालतको रुपमा रहने सर्वाेच्च अदालतले व्याख्याको माध्यमबाट बनाएको कानूनलाई यस अदालत लगायतले पालना गर्नु पर्ने संवैधानिक कर्त्तव्य र दायित्व भएकाले श्री सर्वोच्च अदालतले नै पहिलेका डिल्लीरमण निरौला, डा.लक्ष्मीराज पाठक लगायतको मुद्दामा प्रतिविघा १५ हजार वा सो भन्दा बढी रकम कृषि आय कायम गरे तापनि पछिल्लो पटक कृषि आय कायम गर्ने सम्बन्धमा मापदण्ड नै निर्धारण गरी रामाज्ञा चतुर्वेदी र जयप्रकाश गुप्ता प्रतिवादी भएको मुद्दामा व्याख्या गरी कायम गरेको पछिल्लो व्याख्या नै कानून व्याख्याको सिद्धान्त अनुसार जेठो हुने भएकाले सोही नजीर सिद्धान्तलाई यस मुद्दामा अनुशरण गरिएकोछ। सोही मापदण्ड बमोजिम प्रतिवादीको कृषि आय कायम गर्नु पर्ने हुन आयो। सो सिद्धान्त भन्दा बढी कृषि आय कायम गरिनु पर्दछ भन्ने प्रतिवादीको बयान जिकिर तथा निज पक्षका विद्वान कानून व्यवसायीहरुको बहस जिकिर र बहस नोटसंग सहमत हुन सकिएन।
भूमि सम्बन्धी ऐन, २०२१ को दफा ३३ मा कुत सम्बन्धी कानूनी व्यवस्था भै उक्त दफा तथा सो बमोजिमको सूचित आदेशमा कुन प्रकृतिको जग्गा कमाउने मोहीले के कति कुत बुझाउनु पर्ने भन्ने कुराहरू उल्लेख भएको देखिन आउँछ। खास गरी मुख्य बार्षिक उब्जनीको आधामा नबढ्ने गरी मोही लागेको जग्गाको कुत जग्गाधनीलाई प्राप्त हुने कानूनी व्यवस्था रहेको देखिन्छ। त्यसरी कुत निर्धारण गर्दा सो जग्गामा मोहीको तर्फबाट पर्न जाने श्रम, मल, बीउ लगायतका लगानी समेतलाई विचार गरी बचत हुने खुद आयलाई कुत प्रयोजनको लागि कायम गरिएको अनुमान गर्नुपर्ने हुन्छ। त्यसरी प्राप्त हुने खुद कृषि आयबाट श्रम गर्ने मोहीलाई आधा र सम्बन्धित जग्गाको धनीलाई आधा कृषि आय बाँडिने भन्ने नै भूमि सम्बन्धी ऐनको उद्देश्य र भावना रहेको देखिन आउँछ।
उपरोक्त कानूनी व्यवस्थाका आधारमा मोही लागेको जग्गाको कृषि आय निर्धारण गर्दा भूमि सम्बन्धी ऐनबमोजिम कुत प्रयोजनका लागि तोकिएको उब्जनीको आधारलाई अवलम्बन गरिनु कानूनसम्मत र न्यायोचित हुने देखिन आउँछ। त्यसै गरी जग्गाधनीले नै जग्गा कमाएको भन्ने जिकीर रहेको अवस्थामा समेत कृषि उत्पादनको क्रममा मल, बीउ श्रमलगायतका हुन जाने उपरोक्त मनासिब खर्चहरू कटाई मुख्य बार्षिक उब्जनीबापत कुत प्रयोजनका लागि तोकिएको उब्जनीको दोब्बर खुद आय निर्धारण गर्नु उचित र विवेकसम्मत हुने देखिन्छ। साथै सिंचाई आदिको सुविधा भएको र एकभन्दा बढी बाली लाग्ने जग्गाका सम्बन्धमा कुत प्रयोजनका लागि तोकिएको मुख्य बार्षिक उब्जनीको आधा हिउँदे बालीबापत खुद आय निर्धारण गर्नु न्यायोचित हुनेे भनी व्याख्या भएबाट प्रस्तुत मुद्दामा प्रतिवादीको जग्गामा सिँचाईको सुविधा भएकोले मुख्य बाली वापत कुत प्रयोजनको लागि तोकिएको दोब्बर र वर्षे बालीबापत तोकिएको मुख्य बार्षिक उब्जनीको आधा खुद आय निर्धारण गरिएको छ। त्यसैगरी फलफूल खेती वापत कृषि आयको दोब्बर खुद आय निर्धारण गरिएकोछ।
रामाज्ञा चतुर्वेदीको मुद्दामा कृषि आयको सम्बन्धमा व्याख्या भई कृषि आय कायम गर्ने न्यायोचित मापदण्ड नै निर्धारण गरियो। साथै फलफूल खेतीको आय, वीमाको रकम भुक्तानी र स्वदेशभको भ्रमणभत्तामा समेत आय कायम गर्ने मापदण्ड कायम भएको छ। (नेकाप २०६८ असोज अंक ६ निनं. ८६३० पृ. ९१७) पछि सोही आधारलाई जय प्रकाश गुप्ताको मुद्दामा समेत अनुशरण गरियो।
फलफूलको आय सम्बन्धमाः कृषि आयको दोब्बर गरेको मनासिब नै देखिने। (प्र.७९)
बीमा भने अवधि भुक्तान भएपछि प्रिमियमको दोब्बरसम्म भुक्तानी पाउन सक्ने अनुमानमा आधारित भई आधा रकमलाई मान्यता दिईएको छ।
स्वदेशी भ्रमण भत्ता बापत पाउने रकममा समेत विदेशी भ्रमणमा जस्तै ७० प्रतिशतलाई आय कायम गरिएको छ।
तलव भत्ताको माग सम्बन्धमा प्रतिवादीको जिकिर बमोजिम लिखतबाट पुष्टि भएको रकमलाईसम्म थप गरिएकोछ।
घर निर्माण गर्दा कामदार, ज्यामी, मजदूर प्रहरीबाट लगेकाले आफ्नो रकम खर्च गर्न नपरेको, प्रहरी कामदार पठाउने गरेको छ भनी प्रहरी प्रधान कार्यालयबाट सिफारिश ल्याएकोले घरको लागतमा कामदार र ज्यामी खर्च २०।२५ प्रतिशत लाग्ने भएकाले सो रकम छुट हुनु पर्दछ भनी प्रतिवादीको माग र बहस जिकिर भएकोमा प्रहरीलाई निजी काममा लगाउने कार्य कानून अनुरुप नभएकाले मान्यता दिन मिलेन।
घर निर्माणमा कम खर्च लागेको भन्ने प्रतिवादीको जिकिर तर्फ हेर्दा निर्माण भएको सालको सरकारी लागत अनुमानमा १५ प्रतिशत ओभरहेड खर्च र ५ प्रतिशत ठेक्का कर वापतको रकम घटाई अन्य मुद्दामा झैं घर निर्माणको मोल रु. ५२,८८,०६०।९२ कायम गरिएकोछ। अभियोग लगाउँदा हालको मोलको आधारमा रु. ८४,८२,८८२।७६ मोल कायम गरी लागत मूल्य भन्दा रु ३१,९४,८२१।८४ बढी मोल कायम गरेको अख्तियारको मागलाई मान्न मिलेन। घरको नक्सापास ३९३४.१० वर्गफिटको निर्माण लागत कायम हुनु पर्दछ, अख्तियारले ४६४७. वर्गफिटको मूल्यांकन गरेको मिलेन भन्ने प्रतिवादीको जिकिर माग सम्बन्धमा नक्सा पास भन्दा बढी बनाएको नापबाट देखिएकाले प्रतिवादीको जिकिर बमेजिम घटाउन मिलेन।
रु. ५,०५,८६२। मूल्यांकनको फर्निचर मध्ये बिबाहमा आएको र प्रहरी प्रधान कार्यालयबाट पदीय हिसावले प्रयोग गर्न दिइएकोमा आफूले खरिद गरेको फर्निचर भने रु १,७५,०००। मात्रको भएकोले सोलाई मान्यता दिनु पर्दछ भन्ने प्रतिवादीले जिकिर गरेकोमा फर्निचर पुरानो भइ जाने भएकाले लागत अनुमानको ५० प्रतिशत मात्र मोल कायम गरिएको छ।
विजुली जडानको काममा भने सामान बजार खरिद गर्नु पर्ने भएकाले लागत अनुमानलाई मोल कायम गरिएको छ।
प्रतिवादीको जग्गा खरीद गर्दा लिखतबाट जम्मा रु. १५,४७,२००। (तालिका नं. १०) मा कारोबार भएको देखिनेमा आयोगले हालको मूल्य भनी रु. १,७२,८०,६९३।९३ (तालिका नं.१० पृ.७,८)। कायम गरेको देखिन आयो। जस अनुसार रु. १,५७,३३,४९३।९३ भन्दा बढी मूल्यांकन गरेको घटाइनु पर्दछ भन्ने प्रतिवादी पक्षको जिकिर रहेको छ। अन्यथा प्रमाणित भएमा बाहेक सम्पत्ति प्राप्त गर्दा र खर्च गर्दाको कारोबार मूल्यलाई मान्यता दिनु पर्ने भनी सर्वोच्च अदालतले रामाज्ञा चतुर्वेदी, जय प्रकाश गुप्ता लगायतको मुद्धामा सिद्धान्त कायम गरिसकेकाले लगानी मूल्य वा कारोबार मूल्य अर्थात् क्भभम ्कयलभथ लाई नै मान्यता दिइएको छ। जग्गा खरिदको परल मोललाई जग्गाको मोल कायम गरिएकोछ। अख्तियारले कायम गरेको अभियोग लगाउँदाको अवस्थाको हालको मोललाई कायम गर्न मिलेन। बरु अख्तियारले परल मोल कायम गर्दा कामनपा २३ त किनं. १८० को १० आना जग्गा खरिदको मोल समावेश नगरेकाले सो समेत समावेश गरी खरिद मोल रु. १५,४७,२००। कायम गरिएकोछ।
भ्रष्टाचार गरी आर्जन गरेको विगो बढाी देखाउन पनि अभियोग पत्रमा जग्गा खरिद गर्दाको कारोबार मूल्यलाई मान्यता नदिई हालको मूल्यको आधारमा दावी लिने गरिएको पाइन्छ। प्रतिवादीले जग्गा खरिदमा १५ लाख ४७ हजार खर्च गरेकोमा हालको मूल्य भनी १ करोड ७२ लाखको विगोको आधारमा दावी लिई १ करोड ५७ लाख बढी मूल्यांकन गरिएको छ। अन्य मुद्दामा पनि यसै गरी बढी विगो दावी गर्ने गरेको पाइन्छ। मोतीलाल बोहराको मुद्दामा पनि ९ लाख १८ हजारमा खरिद गरेको जग्गाको हालको मोल भनी ३ करोड ४ लाख विगो दावी गरी २ करोड ९४ लाख बढी मूल्यांकन अख्तियारले गरेकोबाट कारोबार र प्रतिवादीको यथार्थ लगानीलाई नहेरी मुद्दा लगाउँदाको अवस्थाको मोलको आधारमा अभियोग लिने गरेकाले बिगो धेरै देखिने गरेकोछ।
यसै मुद्दामा प्रतिवादीको श्रोत नखुलेको सम्पत्तिको तालिका नं. २३ मा परेका विभिन्न जग्गाको खरिद मोल भन्दा ५० लाख बढी मोलको विगो दावी गरिएबाट अभियोग यथार्थतामा उभिएको देखिन आउँदैन।
शेयरको खरिद मोललाई कायम गरिएकोछ।
छोरा आयुषको बीडिएस अध्ययन खर्च शिक्षण संस्थाले प्रमाणपत्रमा लेखे बमोजिम ४ वर्षको खर्च जोडिएकोछ। अंश बण्डामा छोरा आयुषलाई दिएको भनिएको १२ लाख रुपैयाँ खर्चमा कायम गरिएकोछ। प्रतिवादीले अ दु अ आ मा पेश गरेको सम्पत्ति विवरण फराममा र बयानमा आफैले छोरालाई दिएको स्वीकार गरेकोमा पछि व्यवहार मिलाउन भविष्यमा दिने बचन गरेको भन्ने भनाई पत्यार लायक भएन।
बैंक खातामा जम्मा रहेको रकमलाई सम्पत्तिमा कायम गरिएकोछ।
स्वदेशमा प्रहरी सेवामा आर्जित प्रमाणले पुष्टि गरेको स्रोतको आधारमा भ्रमणभत्ता लगायतका रकम कायम गरिएकोछ।
राशन वापतको रकम नगदमा लिने र घर व्यवहार काभे्रको जग्गाको आयस्ताबाट चल्ने भएकाले सो रकम खर्च नभई पूरै बचेकोले आयमा कायम गरिनु पर्दछ भन्ने प्रतिवादीको माग भएकोमा राशन खानको लागि दिइने भएको र राशनको नगद लिएर बचाएको भन्ने भनाई पत्यार लायक देखिन नआएकाले राशन वापत नगद पाई पूरै रकम नगदमा बचाएको भनी मान्न र आयमा जोड्न मिलेन।
विदेश भ्रमण वापतको रकमको हकमा पनि प्रमाणित जतिलाई मान्यता दिइएकोछ।
कृषि आयको सम्बन्धमा आयोगले रु.४,४५,५९२। दिएकोमा सप्तरी नर्घोको कोशी पश्चिमी नहरले सिंचाई हुने ३ बाली लाग्ने जग्गाबाट राम्रो उत्पादन हुने भई जम्मा रु ४४,७७,१०६। कृषि आय कायम हुनु पर्दछ भनी प्रतिवादीको माग रहेको सम्बन्धमा विचार गर्दा संमानित सर्वोच्च अदालतबाट रामाज्ञा चतुर्वेदी र जय प्रकाश गुप्ताको मुद्दामा निर्धारित मापदण्ड बमोजिम सिंचाई सुविधा भएको प्रतिवादीको तराई सप्तरी नर्घोको १२–०७–६.५ बाह्र विघा बढी अंशमा पाएको पुर्खौली जग्गा, मध्ये २०५१ साल देखि २०५७ सालसम्म धेरै जसो बिक्री भएकोमा बिक्री हुनु पहिलेसम्मको अवधिको तथा चितवनको १ बिगाहा र काभे्रको ४५–०९–१–३ रोपनी पुर्ख्यौली जग्गाको सोही निर्धारित मापदण्डको हिसाबले कृषि आय कायम गरिएकोछ। काभे्रको जग्गा मध्ये घर खर्चमा खर्च भएको भनी निजको बयान अनुसार ४५ रोपनी मध्ये बालुवाको १४ रोपनी १५ आना २ पैसा खेतको मात्र कृषि आय दिइएको छ। सप्तरी नर्घोको सिंचाइ हुने जग्गामा समेत तीनबाली लाग्ने भएकाले उल्लेखित मापदण्ड अनुसार कृषि आय कायम गरिएको छ।
धोबीधारा घर ४ कोठे भएकोमा २ कोठा भाडामा दिएको भनी भाडा आय कायम हुन माग गरेकोमा प्रहरी अधिकृत पदमा कार्यरत भएको अवस्थामा आफू २ कोठामा बसेर २ कोठा भाडामा दिएको भनाई पत्यार लायक नदेखिएकाले भाडा आय कायम गर्न मिलेन। त्यस्तै बानेश्वर घरको पनि प्रहरी महानिरीक्षक भएको अवधिको मात्र भाडा आय दिइएको छ। पछि खडा गर्न सकिने व्यक्तिगत कागजातको भरमा माग बमोजिमको भाडा दिन मिलेन।
घर भाडाः धुम्बाराही घरको शम्भु कन्स्ट्रक्सन भाडामा बस्दा कर तिरेको भाडा ११ लाख २० हजारलाई आय कायम गरिएको छ। आइजीपी हुँदाको अवधिमा न्यायोचित रुपमा भाडा दिइएको छ। १८ लाख २० हजार भाडा आएको भनी स्वयंकर निर्धारण ख्म्क्ष्क् मा रु १ लाख ८२ हजार कर तिरेको भनी पछि तिरेको करको आधारमा माग बमोजिम घर भाडा पाएको भनी मान्न मिलेन।
काठमाडौंको जोरपाटीको जग्गा भाडामा दिइ आय प्राप्त भएको माग पत्यारिलो नभएकोले मान्यता दिन मिलेन।
बैंक मौज्दात रकम र शेयरका लाभांशबाट प्राप्त सवै ब्याज रकम रु. ७,७३,६६२।३० लाई आयमा कायम गरिनु पर्दछ भन्ने प्रतिवादी पक्षको जिकिर भएकोमा प्रमाणबाट पुष्टि भएको रकम रु. ६,१९,१०९।७२ कोे ३० प्रतिशतलाई मात्र यस अदालतबाट आय मान्दै आएकाले अन्य मुद्दामा दिइएसरह सोही हदसम्म रु. १,८५,७३२।९२ ब्याज आय कायम गरिएकोछ।
प्रतिवादीको सप्तरी नर्घोमा रहेको अंशबण्डाबाट प्राप्त १२ बिघा जग्गा मध्ये २०५१ साल देखि २०५७ सालसम्म धेरै जसो बिक्री भएकोमा पारित लिखितमा रु.२,९४,००० भएकोमा अधिकृत वारिसनामाबाट बिक्री गरेकोमा कम मूल्य राखेर बिक्री गरेको, खरिद कर्ता र अधिकृत वारेसनामाबाट बिक्री गर्नेले समेत अख्तियार र अदालतमा समेत आई बढी रकम लेनदेन भएको र बुझी लिएको भनी बकपत्र गरेकाले रु. २६,५४,९५०। मूल्य आय कायम गरिनु पर्दछ भन्ने जिकिर भएकोमा अन्यथा प्रमाणित भएको अवस्थामा बाहेक पारित लिखतलाई मान्यता दिने यस अदालत र सर्वोच्च अदालत समेतबाट समेत नजीर सिद्धान्त कायम भइसकेको र मौखिक भनाई बाहेक अन्य तथ्ययुक्त प्रमाणबाट कारोबार रकमको समर्थन नगरेकाले सोही अनुसार लिखत मूल्यलाई नै आय कायम गरिएकोछ।
सप्तरीमा आँप उत्पादन १० लाखको दावी गरी ५ लाखको आय कायम हुन माग गरेकोमा जग्गाको न्यायोचित रुपमा रु.५७,१४०। मात्र आय कायम गरिएकोछ।
काठमाडौ बानेश्वरको कि.नं.२५९ को घर जग्गा २०५८।८।६ मा रु ४५ लाखमा बिक्री गरेकोमा आयोगले तयार पारेको आरोपत्रको पाना नं. ४२ को अन्तिम र पाना नं. ४३ को पहिलो प्यारामा उल्लेखित व्यहोरा एवं आय व्यय प्रवाह तालिका नं. २१ को १४ (ङ) र (झ) (पृ.३३) मा रु ४५ लाख उल्लेख गरी श्रोत खुलेको सम्पत्तिमा समावेश गरी गणना गरिएकाले सो बिक्री मूल्य बमोजिम शोभा खनालबाट प्राप्त रकम प्रतिवादी अच्युत खरेलले बैंक खातामा जम्मा गरेको समेत देखिएकाले आयोगले श्रोत खुलेको मानेकाले सो घर जग्गा बिक्रीबाट प्राप्त रकमलाई निजको आयमा कायम गरिएकोछ।
दाजु राम खरेल र भाउजु पद्मा खरेलबाट बकसपत्रबाट व्यवहार मिलाउन पाएको भनेको जग्गालाई खरिद गरेको सम्पत्तिमा लिनु हुँदैन भन्ने प्रतिवादीको जिकिर भएकोमा अंशबण्डाबाट पाएको जग्गा नभएको र पछि खरिद गरेकाले भाउजु र दाजुबाट बकस पाएको भनी मान्न मिलेन। सम्पत्तिमा गणना हुने।
चितवन घर भाउजु पद्मा खरेलको जग्गामा बनेको निजकै भने पनि भाउजुको भनी मान्यता दिन मिलेन, प्रतिवादी अच्युत खरेलले नै खरिद सगरी घर बनाएको मानिएको।
पत्नी मीना खरेलले स्त्री अंश धन १२ लाख प्राप्त गरेको भनी प्रतिवादीपक्षबाट जिकिर आए तापनि माइती पक्षबाट दिएको जग्गा बिक्री गरेको लिखत बमोजिमको रु. ९७,०००। र गोडधुवा, पास्नी, दशैं, तीज आदि पर्वमा प्राप्त हुने दक्षिणा भनी रु.एक लाख रकमलाई आयमा समावेश गरिएकोछ। नजिकका नातेदारबाट हालको बकसपत्र गरी प्राप्त गरेकोले खर्चमा जोडिएको छैन।
हिमालयन बैंकबाट पटक पटक लिएको कर्जा लगानीबाट प्राप्त प्रतिफललाई आयमा कायम गरिनु पर्दछ भनी ९,४०,२६६। रुपैयाँको माग भएकोमा प्रहरी आइजीपी भएको बेलामा समेत छोटो छोटो अवधिको लागि २४ लाख सम्म १९ प्रतिशत ब्याजमा कर्जा लिई भान्जामार्फत लगानी गरी प्रतिफल प्राप्त गरेको भनी जिकिर गरेतापनि कुनै आधिकारिक आयको प्रमाण बिना प्रहरी महानिरीक्षक जस्तो पदमा रहेको व्यक्तिले १९ प्रतिशत ब्याजमा कर्जा लिई अनधिकृत आय आर्जन गरे होलान् भनी मौखिक भनाईको आधारमा प्रतिफल दिन मिलेन।
अंशबण्डा हुँदा २ लाख नगद पाएको भन्ने जिकिर तर्फ हेर्दा पनि काभे्रको ४५ रोपनी जग्गा र सप्तरी नर्घोमय १२ बिघा भन्दा बढी जग्गा पाए तापनि त्यतिबेला २०३३ सालमा जम्मा मोल १६ हजार पर्ने जग्गा बण्डा भएकोमा बण्डापत्रमा नखुलेको २ लाख रुपैयाँ पलान्चोक भगवतीको मन्दिरमा सुनको छाना छाउने बाजे गंगाधरका छोरा आफ्ना बाबु गोपीकृष्णले दिएको भनी लिएको मौखिक जिकिरको भरमा मात्र प्रमाणको अभावमा कानूनी आय मान्न मिलेन।
जीवन बिमाबाट प्राप्त रकम मध्ये प्रिमियम तिर्न पूर्व लगानी गर्नु पर्ने भएकाले आधालाई मात्र आय अन्य मुद्दामा झंैं कायम गरिएकोछ।
व्यक्तिगत ऋण ११ लाख लिएको भन्ने जिकिरलाई पनि मौखिक भनाईको भरमा आय कायम गर्न मिलेन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यी प्रतिवादीसंग जम्मा रु. २,५६,९०,६३२।०८ सम्पत्ति रहेको त्यस मध्ये श्रोत खुलेको रु.९३,५४,५०१।६४ बराबरको सम्पत्ति रहेको र वैध श्रोत नखुल्ने भ्रष्टाचार गरी कमाएको रु.१,६३,३६,१३०।४४ बराबरको अकुत सम्पत्ति कमाएको भनी आरोपपत्र दायर हुन आएको थियो।
यस अदालतबाट अभियोग पत्र र प्रतिवादीहरुले बयानमा लिएका जिकिर र पेश गरेका प्रमाणको आधारमा सम्पत्तिको मूल्यांकन गर्दा माथीको तालिका अनुसार जाँच अवधिमा प्रतिवादी अच्युतकृष्ण खरेल र निजको परिवारसंग घर, जग्गा, गाडि, शेयर, बैंक ब्यालेन्स लगायत गरी जम्मा रु. १,८९,५८,३१६।९२ (एक करोड उनान्नब्बे लाख अन्ठाउन्न हजार तीनसय सोह्र रुपैयाँ बयानब्बे पैसा) बराबरको सम्पत्ति रहेको देखिन आयो। यही अवधिमा निजको स्रोत खुलेको वैध आय रु. १,९२,२६,७४२।७७ (एक करोड बयानब्बे लाख छब्बीस हजार सातसय बयालिस रुपैयाँ र सतहत्तर पैसा) रहेको देखिन आयो। यस अनुसार निज संग रहेको सम्पत्ति रु. २,६८,४२५।८५ (दुई लाख अठ्सठ्ठी हजार चारसय पच्चीस रुपैयाँ र पचासी पैसा) निजको आय भन्दा कम नै देखिन आएकाले निजले गैर कानूनी सम्पत्ति आर्जन गरेको भन्न मिलेन।
प्रतिवादी पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलसंग बैध आम्दानी भन्दा कम नै सम्पत्ति रहेको देखिएकाले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने अभियोग दावी पुग्न नसक्ने भई यी प्रतिवादी अच्युत कृष्ण खरेल, निजकी पत्नी प्रतिवादी मीना खरेल र निजका छोरा प्रतिवादी आयुष खरेलले अभियोगबाट सफाई पाउने ठहर्छ।
सदस्य सदस्य अध्यक्ष
ईति सम्वत् २०६८ साल चैत्र २२ गते रोज ४ शुभम् ……………………………………………
नोटः
१. प्रतिवादी अच्युतकृष्ण खरेलको सम्बन्धमा अभियोगपत्र शुरुमा मिति २०६१।४।३२ मा अभियोग पत्र दायर भएकोमा
२.यस अदालतबाट हद म्याद बाहिर अभियोग पत्र दायर भएको कारण देखाई हदम्यादको अभावमा अभियोगपत्र नै खारेज हुने गरी मिति २०६३।११।२४।५ मा फैसला भएको थियो।
३.सो फैसला उपर नेपाल सरकारको तर्फबाट परेको पुनरावेदनमा श्रीसर्वोच्च अदालतबाट हदम्यादको आधारमा खारेज गर्न नहुने प्रमाणको आधारमा इन्साफ गर्नु पर्ने भनी यस अदालतको फैसला मिति २०६८।७।२५।६ मा बदर भई
४.प्रमाणको आधारमा पुनः इन्साफ गर्न यस अदालतमा यो मुद्दा मिति २०६८।७।२८ मा दायर हुन आएको देखिन्छ।
५. पेशी सूचीमा चढी सुनुवाईको क्रममा २०६८ साल फागुन १७,१८,१९,२१ र २२ गते बहस भएको थियो।
अच्युतकृष्ण खरेलले प्रहरी संगठन अन्तर्गतको सार्वजनिक पदमा प्रहरी निरीक्षकमा २०२७।२।५ मा प्रवेश गरी मिति २०५७।७।२७ प्रहरी महानिरीक्षक पदबाट राजीनामा गरी निवृत्त हुँदासम्म जम्मा अवधि ३० वर्ष ५ महीना २२ दिन कार्यरत रहेको।
प्रतिवादी अच्युत खरेलले अंशबण्डा हुँदा २०३३।१।१४ मा तराई सप्तरी नर्घोको पुर्खौली जग्गा १२–०७–६.५ बाह्र विघा बढी जग्गा अंशमा पाएको।
काभे्रको ४५–०९–१–३ रोपनी पुर्ख्यौली जग्गा अंशमा पाएको।
प्रतिवादीको जग्गा खरीद गर्दा लिखतबाट जम्मा रु. १५,४७,२००। (तालिका नं. १०) मा कारोबार भएको देखिनेमा आयोगले हालको मूल्य भनी रु. १,७२,८०,६९३।९३ (तालिका नं.१० पृ.७,८)। १ करोड ७२ लाख कायम गरेको देखिन आयो। जस अनुसार रु. १,५७,३३,४९३।९३ एक करोड ५७ लाख भन्दा बढी मूल्यांकन गरेको छ।
जग्गा खरिद गर्दा परेको मोल भनेको रु. १५,४७,२००। पन्ध्रलाख सतचालिस हजार मात्र हो, १ करोड ७२ लाख होइन।
अख्तियारले जग्गा खरिदमा हालको मोल भनी १ करोड ५७ लाख रुपैयाँ बढी मोल कायम गरी भ्रष्टाचार गरी कमाएको भनी आरोप लगाएकोछ। लगानी वा परेको मोल त सिर्फ १५ लाख ४७ हजार मात्र हो।
अन्यथा प्रमाणित भएमा बाहेक सम्पत्ति प्राप्त गर्दा र खर्च गर्दाको कारोबार मूल्यलाई मान्यता दिनु पर्ने भनी सर्वोच्च अदालतले रामाज्ञा चतुर्वेदी, जय प्रकाश गुप्ता लगायतको मुद्धामा सर्वोच्च अदालतले सिद्धान्त कायम गरिसकेकाले लगानी मूल्य वा कारोबार मूल्यलाई नै मान्यता दिनु पर्ने हुन्छ।
घर निर्माणको मोल अभियोग लगाउँदा हालको मोलको आधारमा रु. ८४,८२,८८२।७६ चौरासी लाख ८२ हजार मोल कायम गरी लागत मूल्य भन्दा रु ३१,९४,८२१।८४ एकतीस लास ९४ हजार बढी मोल कायम गरेको छ। जबकी घर निर्माणको वर्षको अख्तियारले गरेको सरकारी इष्टमेटमा ओभरहेड कष्ट १५ र ठेक्का कर ५ प्रतिशत गरी २० प्रतिशत घटाउँदा रु. ५२,८८,०६०।९२ मात्र लागत लागेको देखिन आउँछ।
अन्य मुद्दामा पनि यसै गरी बढी विगो दावी गर्ने गरेको पाइन्छ। मोतीलाल बोहराको मुद्दामा पनि ९ लाख १८ हजारमा खरिद गरेको जग्गाको हालको मोल भनी ३ करोड ४ लाख हालको मोल कायम गरी बढी विगो दावी गरी २ करोड ९४ लाख बढी मूल्यांकन अख्तियारले गरेकोबाट कारोबार र प्रतिवादीको यथार्थ लगानीलाई नहेरी मुद्दा लगाउँदाको अवस्थाको मोलको आधारमा अभियोग लिने गरेकाले बिगो धेरै देखिने गरेकोछ।
मोतीलालले जग्गा खरिदमा लगानी गरेको वा खर्च गरेको भनेको त ९ लाख १८ हजार मात्र हो। ३ करोड ४ लाख होइन। २ करोड ९४ लाख हालको मोल भनी बढी मोल कायम गरी अख्तियारले बढी बिगो देखाएबाट अभियोग यथार्थभन्दा बाहिर जाने र गलत सन्देश प्रवाह हुने गरेको पाइन्छ।