Wednesday, July 4, 2012

टेष्टट्युबबाट जन्मिए ५० लाख बच्चा - onlinekhabar


विश्वमा टेष्टट्युब प्रविधिबाट अहिलेसम्म ५० लाख बच्चा जन्मिएका छन् । सन् १९७८ मा सुरु भएको टेष्टट्युव प्रविधिबाट अहिलेसम्म यतिधेरै बच्चा जन्मिएको र लाखौँ अभिभावकले सन्तान पाएको टर्कीमा भएको एक सम्मेलनका क्रममा जानकारी दिइएको छ ।
टेष्टट्युव प्रविधि सुरु भएको ३४ वर्षमै यतिधेरै बच्चा जन्मिन सक्नु प्रजनन उपचारको क्षेत्रमा ठूलो कोशेढुंगा रहेको सम्मेलनका सहभागीहरुको भनाइ छ ।
टेष्टट्युब प्रविधिबाट बच्चा पाउने क्रम बढेसँगै बाँझोपनको समस्या झेलिरहेका दम्पतीहरुले बोझ समेत कम भएको र उनीहरुले सन्तान सुख पाउन सफल भएका विज्ञहरुको भनाइ छ । तथ्यांक अनुसार अहिले हरेक वर्ष ३ लाख ५० हजार बच्चा टेष्टट्युब प्रविधिबाट जन्मिने गरेका छन् ।
स्मरण रहोस् विश्वको पहिलो टेष्टट्युबाट जन्मेको बच्चाको नाम लुइस ब्राउन हो । उनी सन् १९७८ मा बेलायतमा जन्मिएका हुन् । लुइसकी आमा लेस्ली ब्राउनको अघिल्लो महिना मात्र निधन भएको छ ।