Friday, November 30, 2012

मुम्बईका नेपाली ‘डन’ - onlinekhabar

भारतको प्रशिद्ध शहर मुम्बईबाट एकजना खाइलाग्दा मान्छे यतिबेला काठमाडौं आइपुगेका छन् । गेरु रंगको स्वीटर लगाएका, खजुरो जस्तै जुँगा पालेका र पश्चिमाहरुको उचाइ भएका यी व्यक्ति मुम्बईका चल्तापूर्ता ‘डन’ मानिन्छन् । तर, उनी भारतीय नभएर नेपाली हुन् । उनी काठमाडौं आउनुको उद्देश्य हो, भारतीय शिवसेना प्रमुख बाल ठाकरेको अस्तु सेलाउने ।
बाल ठाकरेको अस्तु मुस्ताङको मुक्तिनाथमा सेलाएर राजधानी आएका यी नेपालीको कथा बडो रोचक रहेछ । यिनको नाम हो, मास्टर थापा । उनी आफूलाई राज ठाकुर पनि भन्छन् । उनको जन्मघर स्याङजा हो । तर, उनले मुम्बईको जेलमा रहेका बेला आफ्नो नाम परिवर्तन गरेका हुन् । उनी कतिपटक जेल परे, गणना छैन । डनहरुका लागि यो त सामान्य घटना हो । ठाकरेनिकट ‘भारतीय कामगार सेना महासंघ’मा आवद्ध ‘नेपाली श्रमिक मजदुर युनियन’ का अध्यक्ष रहेका यिनी मुम्बईमा बस्न थालेको ३१ वर्ष भयो भने ठाकरेको संगत गरेको २८ वर्ष ।
आसामको गुहाटीमा केही समय भिनाजुसँग वाल्यकाल बिताएका यिनी त्यहाँ काफ्ले महाजनकहाँ बस्थे । काफ्ले महाजनले १४ सय भैंसी पालेका थिए भनेपछि उनले गर्ने काम सहजै अनुमान लगाउन सकिन्छ । त्यहीँबाट भागेर उनी दिल्ली र त्यसपछि मुम्वई भासिएका हुन् ।
मुम्बईमा होटलमा भाँडा माझ्नेदेखि लिएर चौकीदारी गर्नेसम्मको बाध्यताले गर्दा यिनले ३ कक्षाभन्दा माथिसम्म पढ्न पाएनन् । तर, चौकीदारी गर्दागर्दै मुम्बईका डनसित भौतिक झगडा परेपछि यिनी जेल गए । र, त्यहीँबाट शुरु भयो यिनको ‘डन’ संसारको आजीवन यात्रा ।
नेपालका दीपक मनांगे र चक्रे मिलनहरु यिनका अगाडि सामान्य हुन् । किनभने मनांगे र मिलनले नेपालका राष्ट्र प्रमुखहरुसित तस्विर खिचाउने मौका पाएका छैनन् । तर, यिनले महाराष्ट्रका मनोहर जोशीदेखि लिएर प्रहरीका हाकिमहरुसित धेरैपटक फोटो खिचाएका छन्, अवार्डहरु थापेका छन् । बाल ठाकरेसँग उनले खिचेका तस्विरको त हिसाबै नगरौं ।
हिन्दी र नेपाली भाषा छासमिस पारेर बोल्ने यिनको नेपालका केही नेतासित पनि राम्रो दोस्ती रहेछ । मधेसी जनअधिकार फोरमका नेता उपेन्द्र यादव मुम्बई पुगेका बेला यिनले प्रवासी नेपालीवीच भव्य कार्यक्रमको आयोजना गरेका थिए । माओवादी प्रवक्ता पम्फा भुसाल आफ्नी आमालाई लिएर तीर्थ जाँदा यिनले मद्दत गरेका थिए । त्उही नाताले उनले काठमाण्डौं आएका बेला पम्फा भुसाललाई टेलिफोन गरेर भेट्न आग्रहसमेत गरे । उपेन्द्र यादवसमर्थित जनआधिकार फोरमका केन्द्रीय सदस्य अर्जुन थापा यिनका पुराना साथी हुन् ।
मुम्बईमा नेपालीमाथि हुने कुनै पनि अन्यायका घटना यिनीसमक्ष आइपुग्छन् । नेपालीको हितका लागि संगठन र कार्यालयसमेत खोलेर बसेका थापाले कुटेर हुन्छ कि कसरी हुन्छ, नेपालीको पक्षमा काम गर्छन् । मुम्वईमा अभर परेका धेरै नेपाली चेलीहरुकोसमेत उद्धार गरेको उनी दाबी गर्छन् । बाग्लुङकी श्यामला शर्माको दुईवटै मृगौला काम नलाग्ने भएपछि ७ लाख उठाएर सहयोग गरेको उनको कथन छ । ‘हिन्दू राष्ट्र’का नागरिक भएकाले बाल ठाकरेले समेत नेपालीहरुलाई औधी माया गर्ने गरेको थापा स्मरण गर्छन् ।
भारतको प्रशिद्ध मुम्बईलाई उसै पनि ‘डन’हरुको शहर भनिन्छ । तर त्यो डनहरुको सूचिमा होटलमा भाँडा माझ्ने एकजना नेपाली ‘बहादुर’को नामसमेत आउनुलाई चाँहि निकै रोचक घटना मान्नुपर्छ । बाल ठाकरेको संरक्षण पाएपछि उनी मुम्बईको ‘डन’ बन्न सफल भएका हुन् ।
थापाका अनुसार मुम्बईमा लगभग तीन लाख नेपाली छन् । जसमध्ये १ हजार ५ सय जत्ति धनाढ्य नेपाली रहेका छन् ।
 

म बाँदरको परम मित्र - souryadaily

-डा. मुकेश चालिसे

मानिसको हेपाइमा परेको निम्छरो प्राणी हो बाँदर । उसको चकचकेपनलाई मानिस पटक्कै रुचाउँदैन । मानिसले मानिसलाई नै गाली गर्दा पनि ‘बाँदर’ भन्छन् । हो, म तीनै हेपाइमा परेका, निम्छरा जनावरको साथी । आजसम्म धेरै बाँदर मेरा परममित्र भए ।
यसरी नजिकिएँ बाँदरसँग
सन् १९९१ देखि हो, मैले बाँदरका विषयमा अनुसन्धान थालेको । सुरुमा सामान्य चाखले गरेको थिएँ । पछि मेरो रुचिले मोड लियो । यसैको अनुसन्धानमा विद्यावारिधि गरेँ । त्यस बेला म चितवनको जंगलमा पसेँ । बाँदरसँगै बसे । उनीहरूको आनीबानी पत्ता लगाउनु चानचुने कुरो थिएन । त्यो काम गर्न बाँदरको वासस्थानमै रहेर उनीहरूको क्रियाकलापसँग अभ्यस्त हुनपथ्र्यो । त्यसलाई ‘हाब्युचियसन’ भनिन्छ । त्यहाँ बादरका भिन्नाभिन्नै दसवटा समूह थिए । मैले २६ बाँदर सदस्य रहेको एउटा समूह छानेँ । त्यही समूहसँगै उठबस गर्न थालेँ । १२ वटा बाँदर वयष्क थिए भने बाँकी सबै किशोर र बच्चा ।
सुरुसुरुमा अपरिचित मानिसलाई आफ्नो समूहमा देख्दा उनीहरूले अस्वाभाविक माने । नजिक गयो भने भागिहाल्ने, लुक्ने गर्न थालेँ । बिस्तारै उनीहरू पनि अभ्यस्त भएछन् । लगभग १५ दिनपछि त उनीहरू मेरा साथी बनिहाले । मेरो खुट्टामा घुमेर खेल्न थाले । मलाई देखेर आनन्द मान्न थाले । मैले कुनै घाँस चुँडाले भनेँ, ‘नचुँडाल’ भन्ने भावमा कराएर घुर्की देखाउने थाले । झगडा पर्दा कमजोर खालका बाँदर मेरो पछाडी आएर लुक्ने गर्थे । मेरा कतिपय भाव उनीहरूले बुझ्थे कि जस्तो लाग्न थाल्यो । ‘म अब हिँडेँ, आउदिनँ’ भन्ने भावको इसारा गर्‍यो भने ‘नजा’ जस्तो गरेर बाटो छेक्ने । त्यसबेला म बाँदरसँग एक्लै के–के पो बोल्दोरहेछु । भावुक हुन थालेछु । एक मन त लागेर आयो, ‘बाँदरजस्तै भएँ कि क्या हो π’
राजमार्ग नजिकै भएका कारण कतिपय बाँदर सवारीसाधनले किचिएर मर्ने गरेका रहेछन् । म उनीहरूको समूहलाई लिएर राजमार्ग क्रस गराउथेँ । गाडी आयो भने ‘पख मेरा बाँदरहरू बाटो काट्दै छन्’ भन्दै रोक्न लगाउथेँ । म सँधै बाँदरको पछिपछि कागजको पोको लिएर हिँडिरहन्थे । जंगलमा केही महिला घाँस, दाउरा गर्न आउँथे । उनीहरू मेरो ताल देखेर गीतबाट व्यंग्य गर्थे । वनैभरि गुन्जिन्थ्यो–
‘बाँदरलाई किन हेरिबस्या, मलाई हेर न …बाँदर्नीभन्दा मै राम्री छु ….।’ म मनमनै हाँस्थेँ ।
मान्छेकै जस्तो पारिवारिक संस्कार
बाँदर र मानिसबीच धेरै कुरा मिल्छन् । मानिसको दिमागको क्षमताभन्दा बाँदरको दिमागको क्षमता लगभग आधा कम हुन्छ । यही एउटा कुराले बाँदर पछाडि छ । त्यसो त आदिम मानवसँग वर्तमान बाँदरको सामाजिक संरचना लगभग मिल्छ । बाँदरको पनि परिवार हुन्छ । लोग्ने, स्वास्नी हुन्छन् । मानिसमा जस्तै बाँदरमा पनि एकल परिवार र संयुक्त परिवार हुन्छ । एकल परिवारमा लोग्ने र स्वास्नी हुन्छन्, बच्चाहरू हुन्छन् । बहुविवाह गर्ने बाँदर पनि हुन्छन् । बाँदरले मानिसले जस्तै स्वास्नी फेर्छ । कतिपय जातका बाँदरले चाहिँ लोग्ने फेर्छन् । लोग्ने फेर्ने चलन चिम्पान्जीहरूमा बढी हुने गर्दछ । चिम्पान्जी र मानिसको बनोट त झन् ९८ प्रतिशतसम्म मिल्छ । चिम्पान्जीको दिमागी क्षमता अन्य बाँदरको भन्दा बढी हुन्छ ।
बाँदर पनि समूहमा बस्न रुचाउँछ । मैले अहिलेसम्म बाँदरको एक सय २० संख्याको समूह देखेको छु । केही अनुभवी र बलियो बाँदर त्यो समूहको नेता हुन्छ । त्यसलाई ‘समूह नाइके’ भन्न सकिन्छ । समूहका सबै सदस्यहरू नेताले देखाएको बाटोमा हिँड्छन् । र, नेताले पनि उत्तरदायित्व निर्वाह गर्दछ । भाले बाँदरको तुलनामा पोथी बाँदर बढी जिम्मेवार हुन्छन् । भाले बाँदर बढी स्वच्छन्द भएर हिँड्दछ, लोग्नेमानिसजस्तै । कतिपय अवस्थामा बाँदर आफ्नो स्मरणशक्तिबाट पनि काम गर्छ । कुनै स्थानमा खानेकुरा देखेको छ भने उसले आफ्नो समूहलाई त्यहाँ लैजान्छ । भोकमुक्त गराउँछ ।
काउकुती लगाइदिएर हाँस्छन्
जंगल चहार्दाचहार्दा बाँदरले पनि जीवनको लामो यात्रा गरेको हुन्छ । उसलाई पनि भोक लाग्छ, निद्रा लाग्छ, कामेच्छा हुन्छ, रोग लाग्छ । ऊ पनि संवेदना बोकेर हिँड्छ । रमाइलो गर्छ । दु:ख पोख्छ । घुर्की देखाउँछ । अनि माया गर्छ, एकदम निश्चल ।
वयष्क बाँदरहरू गम्भीर प्रकृतिका हुन्छन् । किशोरहरू अलि बढी छुकछुके । अनि बच्चाचाहिँ किशोरभन्दा बढी चञ्चल । रमाइलो गर्ने मामिलामा किशोर र बच्चाहरू सिपालु हुन्छन् । अर्को साथीको पुच्छर तान्दिएर खुरुरु रुखको टुप्पोमा पुगेर मजा लिन्छन् किशोरहरू । चिम्पान्जीहरू त झन् एक आपसमा काउकुती लगाएर रमाइलो गर्छन् । अनि मज्जाले हाँस्छन् । बाँदरहरू लुकामारी, तेलकासा अनि पौडी पनि खेल्छन् । पौडीमा त प्रतिस्पर्धा नै हुन्छ । राम्रोसँग पौडी खेल्न जान्नेले अरू नजान्नेलाई नाइके पाराले गाली गर्दै सिकाउँछ ।
समूहको सदस्य मर्दा उनीहरू शोक मनाउँछन् । केही समयअघि काठमाडौँको ब्लू स्टार होटल अगाडी एउटा बाँदर बिजुलीको तारमा करेन्ट लागेर मरेको थियो । त्यसबेला सम्पूर्ण बाँदर सडकमा निस्किएका थिए । ट्राफिक जाम नै भएको थियो । आफ्नो बच्चा मरेमा बाँदर्नीले त्यसलाई दिनहुँ लिएर हिँडिरहन्छे । कुहिएर नझरेसम्म छोड्दिनँ । एकपटक त्यस्तै मृत बच्चा च्यापेर हिँडिरहेकी बाँदर्नी देखेँ । उसको पिछा गर्न थालेँ । त्यो बाँदर्नी भोक लागेर एउटा रुखमा फल खान चढी र बच्चालाई तलै छाडी । मैले त्यस बच्चालाई लुकाइदिएँ । तल झर्दा बच्चा नदेखेपछि उसले निकै खोजेजस्तो गरी अनि हिँडी । यसबाट उनीहरूको संवेदना अड्कल गर्न सकिन्छ ।
नेपालका बाँदर
नेपालमा तीन प्रजातिका बाँदर पाइन्छन् । एकखाले प्रजातिलाई हामी राता बाँदर भन्छौँ, ती प्राय: मन्दिरतिर भेटिन्छन् । कतिपय जंगलमा पनि भेटिन्छन् । मध्यपहाडी क्षेत्रमा पाइने बाँदर पहरे बाँदर हो, जसको संख्या नेपालमा व्यापक छ । अर्कोचाहिँ तराईमा पनि पाइने हनुमान लंगुर हो । यसले रातो बाँदरले जस्तो आहार पनि खाइरहेको हुन्छ, कीरा–फट्याङ्ग्रादेखि फलफूलसम्म । पहाडी क्षेत्रका बाँदरले अन्नबालीमा नोक्सानी पुर्‍याएर मानिसलाई दु:ख दिएका हुन्छन् । सहरी क्षेत्रका बाँदरहरूचाहिँ मानिससँगको उठबसबाट कृत्रिमतामा प्रवेश गरेका छन् । सहरका बाँदरले आइसक्रिम, चाउचाउजस्ता कृतिम आहार खान थालेका छन् । मानिसमा जस्तै बाँदरमा पनि कृतिम खाद्यकुराको गम्भीर प्रभाव देखिन थालेको छ । टिबी , छालाको रोगजस्ता बाँदरमा हराइसकेका रोग फेरि बल्झीन थालेका छन् । आजकल कतिपय बाँदरहरू रौँ झरेका, पुच्छर खुइलिइएका अनि मानिसको जस्तै खुँडे भएका देखिन्छन् । त्यो सबै मानिससँगको सम्बन्धबाट उत्पन्न परिणाम हुन् ।
जंगली बाँदरले भने मानिसले दिएको कुनै पनि कुरा खाँदैन । ऊ प्राकृतिक आहारमा नै रमाउँछ । त्यसैले ऊ तुलनात्मक रूपमा स्वस्थ्य पनि छ । बाँदरलाई आहारा छनोट गर्न प्रकृतिले नै सिकाइदिएको छ । उनीहरू पेट सन्चो भएन भने टर्रो खालका बनस्पतीहरू टोक्न थाल्छन् । तिर्खा लागेको बेलामा ‘पानीलौ’ जस्ता डाँठ चुस्न थाल्छन् ।
नेपालमा अन्वेषणबाट जिराफ र हिप्पोपोटामसलगायत जीवको अवशेष भेटइसकिएको छ । त्यसैले नेपाल अनुसन्धानका लागि रहस्यमय भूमि हो । हिमालयन रेन्ज सभ्यतासँग मानव सभ्यताको सम्बन्धलाई नयाँ हिसाबबाट अध्ययन गर्नुपर्ने देखिएको छ । नेपालमा बाँदरको ऐतिहासिक अनुसन्धान गर्दा मानिसको पनि धेरै कुरा थाहा पाउन सकिन्छ ।
यौनमनोविज्ञान
वास्तवमा प्राय: जनावर वर्षको एक समय यौनसम्पर्क गर्छन् र सन्तुष्ट हुन्छन् । बाँदरमा पनि त्यही लागू हुन्छ । यौनको प्राकृतिक चक्रबाट बाहिर जाँदैन ऊ । बाँदरको घ्राणक्षमताले विपरीत लिंगीको अवस्था थाहा पाउँछ । पशुपति, स्वयम्भूका बाँदरले केटी मान्छेलाई देखेर झम्टने वा हस्तमैथुन गरेको सुन्नमा पाइन्छ । यसको पनि कारण छ । बाँदरले घ्राणक्षमताका आधारमा रजस्वला भएको या रजस्वलाको समय भर्खरै सकिएको पत्ता लगाउँछ । त्यसले गर्दा ऊ उत्तेजित भएको हुन सक्छ । बाँदर्नी रजस्वलाको समयमा छे र गर्भाधानको समय आएको छ भन्ने कुरा बाँदरले सँुघेर पत्ता लगाउँछ र यौन सम्पर्क राख्दछ । गर्भाधान गरिसकेकी बाँदर्नीमाथि फेरि यौनसम्पर्क राख्दैन ।
बाँदरहरू हत्तपत्त आँखा जुधाउँदैनन् । आँखा जुधाउनुले दुई किसिमको भाव व्यक्त गरिरहेका हुन्छन् । कि त उनीहरू माया गर्दै छन् वा केही समयमा यौन सम्बन्ध राख्दै छन् । कि त उनीहरू झगडा गर्दै छन् र केही समयमा टोकाटोक गर्नेछन् । संसारका सम्पूर्ण स्त्रीजातिका लागि प्राकृतिक रूपमा यौन सम्बन्धको निश्चित समय हुन्छ । यो प्राकृतिक अनुशासनमा बाँदर पनि बस्ने गर्छ । बाँदर्नीलाई आफ्नो सन्तानको बाउ को हो भन्ने थाहा हुन्छ, त्यसैले ऊ आफ्नो लोग्नेलाई माया गर्छे । तर, बच्चा भने बाउबारे अनभिज्ञ हुन्छ, त्यसैले ऊ आमासँगै नजिकिन्छ । आमापट्टीका सानीआमा, ठूलीआमा या हजुरआमासँग राम्रो सम्बन्ध राख्छ ।
गर्भाधानका बेला समूहसँग नमिल्ने बाँदर गर्भाधान गराउनबाट वञ्चित हुन्छ, एक वर्षसम्मका लागि । उसलाई समूहबाट निकालिन्छ । हामीले यदाकदा देख्ने एक्ले बाँदर त्यही हो, जो सजाय कटाउनका लागि फिरन्ते जिन्दगी बिताइरहेको हुन्छ । भाले बाँदरहरू आफ्नो वंश विस्तार होस् भन्ने चाहन्छन् अनि उनीहरू सकेसम्म धेरैलाई गर्भाधान गराउन खोज्छन् ।
एकपटक एउटा बाँदर हत्तपत्त रुखबाट झरेर तल रहेकी किशोरी बाँदर्नीमाथि यौनसम्पर्क गर्न तम्सियो । किशोरी बाँदर्नीकी हजुरआमाले परबाट यो दृश्य देखिरहेकी रहिछे । ऊ दौडिएर आएर त्यस बाँदरतिर आफ्नो पृष्ठभाग तेस्र्याइँ । त्यतिन्जेलमा किशोरी बाँदर्नी भागी । बाँदर अक्क न बक्क पर्यो । यसरी बुढी बाँदर्नीले उमेर नपुगेकी किशोरीमाथि गर्भाधान हुनबाट रोकी ।
उस्तैखाले रोग
हालसम्म भएका प्राय: अनुसन्धान बाँदरकै सहयोगबाट सफल भएका छन् । विकासक्रम हेर्दा बाँदरलाई ठ्याक्कै मानिसको पुर्खा त भन्न मिल्दैन तर आदिम मानवसँग उसको केही कुरा भने मिल्छ । त्यसैले पनि मानिसलाई फाइदा हुने विविध अन्वेषण बाँदरमा गरिन्छ । उसैको सहयोगले धेरै औषधि पत्ता लागेका छन्, रोग खुट्याइएका छन् । सभ्यताको विकासमा पनि बाँदरबाट मानिसले धेरै कुरा सिकेका छन् ।
मानिसले बाँदरबाटै सिकेर ब्लड प्रेसरको औषधि, प्रसूतिरोगसम्बन्धी समाधान, आङ झर्ने रोगको निराकरण, पोलियो थोपा अनि फूलो पर्ने समस्याको समाधान पत्ता लगायो । बाँदर र मानिसमा लाग्ने धेरै रोग उस्तै खाले हुन्छन् । यति धेरै फाइदा लिएर पनि बाँदरलाई मानिसले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सकेन । अनि, मानिसले आफूबाट लिएको फाइदाको प्रतिफल बाँदरले पाउन सकेन ।
माक्र्सले कल्पना गरेको आदिम साम्यवाद र वर्तमान बाँदरको अवस्थाबीच धेरै कुरा मिल्छ । मिल्दैन भने एउटै कुरा– श्रमको समान विभाजन । यद्यपि, प्राकृतिक अनुशासनमा बाँदर मानिसभन्दा धेरै अगाडि छ । त्यस स्थानमा पुग्न मानिसले राम्रै सभ्यता निर्माण गर्नुपर्ला । बाँदरहरू भावनालाई शब्दमा अभिव्यक्त गर्न सक्दैनन् तर उनीहरूमा भावना प्रचूर हुन्छ ।
प्रस्तुति : सरोज ढुंगाना

Thursday, November 29, 2012

के कम छु र ? - souryadaily

पञ्चालीले कपालसहित किरिया बसेको दृष्टान्तका आधारमा हामीले पनि कपाल खौरन आवश्यक ठानेनौा । आमालाई पनि गरुड पुराणको यो प्रसंग थाहा थियो । उहाँले पण्डितलाई सम्झाउनुभयो, ‘शास्त्रमा यस्तो उल्लेख छ, त्यसैले मेरा छोरीहरू किरिया बस्छन्, तपाईंले विधिविधान गराइदिनुपर्‍यो ।’ व्रतबन्धका सवालमा पनि त छोराको गर्दा कपाल काटिन्छ, छोरीको काटिँदैन । हामी कुशको जनै लगाएर किरिया बस्यौ ।
नारीहरूले पितृको किरिया गर्न हुन्न भन्ने सामाजिक परम्परालाई खुला चुनौती दिइन् अम्बुभवानी कार्कीले । २०४९ सालमा पिताको निधन भएपछि उनले आफैँ १३ दिनसम्म कोरा बसेर किरिया गरिन् । उनलाई अनेकौँ आरोप लागे । त्यति बेला निकै चर्चामा आएकी उनले पछि आमाको निधनमा पनि किरिया बारिन् । नेकपा (एमाले) बाट राजनीतिमा पनि लागेकी उनका दाजुभाइ छैनन् । त्यति मात्र होइन, उनले आफ्ना मातापिताको सम्झनामा काभ्रेको पनौतीमा तेजगंगा बहुमुखी क्याम्पस स्थापना पनि गरेकी छन् । सोही क्याम्पसकी प्रमुख रहेकी उनी नेपालकै पहिलो महिला क्याम्पसप्रमुख मानिन्छिन् । उनी सम्झिँदै छिन्, मातापिताको बरखी बार्दाका दिनहरू :
‘एउटा छोरा त चाहिन्छ कर्णेल साहब †’ बुबालाई यसो भन्नेहरू प्रशस्तै थिए । आर्मीदेखि घरपरिवारसम्मको यस्तो कचकच उहाँले सुनिरहनुपथ्र्यो । बुबाको जवाफ हुन्थ्यो– ‘यिनै छोरीहरू मेरा लागि छोरा पनि हुन् । तपाईंहरूलाई थाहा छैन ? जवाहरलाल नेहरूकी एउटै छोरी थिइन्, ती प्रधानमन्त्री बन्न सकिन् । मेरा त ६ जना छोरी पो छन् त †’
मेरा दिदीबहिनी ६ जना । दाजुभाइ छैनन् । छोरा नजन्मेकोमा मेरा आमाबुबालाई थुप्रै घोचपेच भए । तर, उहाँहरूले हामीलाई चाहिँ छोराजस्तै व्यवहार गर्नुभयो । त्यस कारण छोरीलाई हुने विभेद परिवारभित्र हामीले सहनुपरेन । त्यो समाज, जहाँ छोरी मात्र पाउने बुहारी सासुससुरा, गाउँले सबैको नजरमा राम्रो मानिन्नथी । यी सबै देख्दा मेरो मनले उति बेलै ठहर्‍याएको थियो– छोरी भए पनि म छोराले गर्ने कामहरू पनि गर्नेछु । बुबा आर्मीको जागिरे । जहाँजहाँ सरुवा हुन्थ्यो, हामी त्यतै पुग्यौँ । बाल्यकाल विभिन्न जिल्लामा बित्यो ।
आठ कक्षामा पढ्थेँ, ०२९ सालतिरको कुरा हो । बुबासँगै हामी पाल्पामा थियौँ । एक जनाले हेपेर भने– ‘यो मेजरको छोरा छैन, छोरीहरूचाहिँ किन यस्ता फुर्केका होलान् †’ बुबाले एक चड्कन लगाएर त्यसको सातो झारिदिनुभयो– ‘कसलाई यसो भनेको तिम्ले ? के छोरा मात्र सन्तान हो, छोरीचाहिँ आफ्ना हुँदैनन् ?’
हामी दिदीबहिनीबीच सल्लाह थियो– कुनै पनि काम गर्दा बुबाआमालाई छोराको अभाव महसुस हुन दिनु हुँदैन, सबै काम हामीले गर्न सक्नुपर्छ । त्यसो त हामीले नभने पनि बुबालाई चाहिँ यो कुरामा विश्वास थियो । उहाँ चाहनुहुन्थ्यो पनि यही ।  म काइँली छोरी । बुबालाई हामीले छोरी मान्छेले लगाउने कपडा लगाएको मन पर्दैनथ्यो । एक दिन मैले म्याक्सी लगाएकी थिएँ । बुबाले भन्नुभयो– के लगाएको यस्तो फ्याङ्लो ? त्यसपछि मैले सर्ट–पाइन्ट लगाउन थालेँ । उहाँ हामीलाई मनोवैज्ञानिक रूपमै प्रेरित गर्न यस्तो भन्नुहुन्थ्यो– ‘पाइन्ट लगाए छोरा हुन्छ, घाँगर लगाए छोरी, बुझ्यौ ?’ त्यसैले हामी सबै दिदीबहिनीले पाइन्ट लगायौँ । आइएमा क्याम्पसको ड्रेस भएकाले मात्र मैले साडी लगाएँ ।
कसैकोमा छोरी जन्मिएको सुन्दा मलाई खुसी लाग्थ्यो । मभन्दा पछि आमाले बहिनी जन्माउनुभएछ । मैले छोरा भनेको सुनेछु । म त फन्किएर झगडा पो गर्न थालिछु– नाइँ मलाई बहिनी नै चाहिन्छ । त्यो बालमस्तिष्कमा मलाई छोराछोरीलाई फरक नजरले हेरिन्छ भन्ने चेतनै थिएन ।
पछि त मलाई सबैले छोरी भएर छोराको जस्तो काम गर्ने भन्थे । लाग्छ– छोरा नभएको घरमा छोरीले निर्वाह गर्नुपर्ने दायित्व मैले राम्ररी बुझेकी छु । त्यसो त ३५/३६ सालदेखि नै मैले सार्वजनिक रूपमा भन्न थालेकी थिएँ– ‘हामी हाम्रा बाउआमाप्रतिका सबै कर्तव्य पूरा गर्नेछौँ ।’ धेरैले छेड हानेर भन्थे– ‘छोरी भएर फुर्ती गर्नुपर्ने, किरियाचाहिँ कसले गर्छ नि ?’ म साहस देखाउँथेंँ– ‘म आफैँ पूरा गर्छु, सबै कर्तव्य ।’
२०४९ मा बुबाको निधन भयो । मसँगै दुई बहिनीले सेतो वस्त्र पहिरिएर बुबाको काजकिरिया गर्‍यौँ । अरू तीन जनाले कोराबाहिरको जिम्मेवारी सम्हाले । किनकि कोराबाहिरका काम गर्न पनि हामीमध्येबाट खट्नुपथ्र्यो । पुरुषप्रधान समाजले छोरीलाई बाबुआमाको मृत्युमा आँसु झार्नेसम्मको मात्र अधिकार दिएको थियो । यी प्रतिकूलताको बाबजुद हामीले बुबालाई दागबत्ती दिनेलगायत सम्पूर्ण काम गर्‍यौँ । उपत्यकाबाहिरबाट आउँदा ढिला भएकाले दागबत्तीचाहिँ बहिनीले दिइन् । म सिधै कोरा बसेँ । त्यसो त हामीभन्दा अघि पनि बाबुको किरिया गर्ने छोरीहरू नभएका होइनन् । तर, हामीले जसरी सेतो वस्त्रमा ढिकुरो उठाएरचाहिँ बसेका थिएनन् । मैले वर्ष दिनसम्म छोराले जस्तै बरखी बारेँ । छोरा नभएकाले फलानु मेजरको किरिया अरू नै कसैले गर्‍यो रे भन्ने अवस्था हामी आउन दिनेवाला थिएनौँ । छोरा मात्र सन्तान हो भन्ने बुझेको समाजलाई हामीले छोरासरहका काम गरेर देखाइदिनै थियो । आफन्तहरू दाहसंस्कारमा मात्र आए, हामी किरिया बसेको ठाउँमा भेट्न आएनन् । धेरैलाई पचेन पनि हामीले बाबुप्रति गरेको कर्तव्य । राजनीतिक रूपमा चाहिँ सबैतिरबाट राम्रो समर्थन पायौँ ।
लाजिम्पाटस्थित घरमा किरिया बसेका थियौँ । छोरीहरूले किरिया बसे भनेर चर्चा भएछ । मदन भण्डारी, माधव नेपाल, गणेशमानलगायत नेता भेट्न आए । राधाकृष्ण मैनालीले भन्नुभयो– ‘ए † साँच्चै हाम्रै अम्बुजीहरू पो हुनुहुँदो रहेछ ।’ मदन भण्डारीले प्रशंसा गर्नुभयो– ‘तपाईंहरूले राम्रो काम गर्नुभएछ, पार्टीको विधानमै यो कुरा उल्लेख गर्नुपर्छ । छोरीले पनि बाबुआमाको किरिया गर्न सक्छन् ।’ विभिन्न क्षेत्रका दश हजारभन्दा बढी व्यक्ति हामीलाई हेर्न आए ।
समाज पनि अचम्मको छ । मज्जाले गरुड पुराण लगाउँछ घरमा तर त्यसमा के लेखिएको छ भन्ने कुराको पत्तो पाउँदैन । जसले जे भन्यो त्यसैको मात्र पछि लाग्छ । अरूले गरेको कामलाई अनेक आरोप लगाउँछ । जबकि पौराणिक युगमै छोरीले बुबाको किरिया गरेका घटना पाइन्छन् । गरुड पुराणमा ऋषिपुत्री पञ्चालीले पिताको किरिया गरेको मैले पढेकी थिएँ । कपाल नारीको गहना भएकाले छोरीले किरिया बस्दा कपाल काट्नु पर्दैन भन्ने उल्लेख थियो । पञ्चालीले कपालसहित किरिया बसेको दृष्टान्तका आधारमा हामीले पनि कपाल खौरन आवश्यक ठानेनौँ । आमालाई पनि गरुड पुराणको यो प्रसंग थाहा थियो । उहाँले पण्डितलाई सम्झाउनुभयो– ‘शास्त्रमा यस्तो उल्लेख छ, त्यसैले मेरा छोरीहरू किरिया बस्छन्, तपाईंले विधिविधान गराइदिनुपर्‍यो ।’ व्रतबन्धका सबालमा पनि त छोराको गर्दा कपाल काटिन्छ, छोरीको काटिँदैन । हामी कुशको जनै लगाएर किरिया बस्यौँ ।
जब १३औँ दिनको कार्य सकियो, ठूलै कर्तव्य पूरा गरेको अनुभूति गरेँ । बुबाआमा त सृष्टिकर्ता हुन्, उनीहरूप्रतिको शास्त्रीय कर्तव्य पूरा गर्न पाउनु गर्वको विषय हो । एक वर्षसम्मै लगाएँ सेतो लुगा । आर्मीका एक सुबेदारले कजसाहेबको किरिया बस्ने छोरीको मुख हेरेर मर्न पाए हुन्थ्यो भन्ने चाहना राखेछन् । यो सुनेर म उनलाई भेट्न गएँ । तर, म पुग्नेबित्तिकै उनकी श्रीमतीले मलाई हेर्न नसकेर आँखा चिम्लिइन्, बाहिर निस्किन् । मलाई लाग्यो– त्यो उनको दोष होइन, समाजको हो । यदि समाजमा पहिल्यैदेखि नारीले किरिया बस्ने कुरालाई सामान्यीकरण गरेको भए आज उनलाई अनौठो लाग्दैनथ्यो ।
२०५७ सालमा आमाको निधन भयो । बहिनी इन्दु र म कोरा बस्यौँ । जति संघर्ष बुबाको पालामा भएको थियो, यसपटक सजिलो भयो । परिवारका सबैले सहयोग गरे । समय बित्दै जाँदा उहाँहरूलाई हाम्रो कदम राम्रो लागेको पनि होला ।
उन्नाइस वर्ष भयो बुबाको निधन भएको । उति बेला नयाँ काम गरेजसरी हाम्रो चर्चा भयो । हामीले कुनै ठूलो काम गरेका थिएनौँ, सन्तान हुनुको कर्तव्य मात्र पूरा गरेका थियौँ । पत्रपत्रिकामा समाचार बन्ला, टिभीमा अनुहार देखिएला भन्ने स्वार्थ हामीमा पटक्कै थिएन ।
जे होस्, हाम्रो कार्य देखेपछि छोरी मात्र जन्माएका थुप्रै बुबाआमाले राहत अनुभव गरे । छोरी पाएकै कारण सौता बेहोर्नुपर्ने अवस्थामा पुगेका नारीहरूले पनि भन्न पाए– ‘किन गर्ने अर्को बिहे, छोरी भए पनि छोराको जस्तो काम गर्न सक्दा रहेछन् त ।’ छोरालाई ढिकुराको पुजारी भन्ने अनि छोरीलाई नगन्ने सामाजिक प्रचलन अब फेल भइसकेको थियो । पछि पनि अरू थुप्रै नारी किरिया बसेको सुनियो । उनीहरू भेट्दा भन्छन्– ‘तपाईंहरूकै प्रेरणाले हामीले किरिया बस्न सकेका हौँ ।’
अचम्मको छ समाज पनि । सासूससुराको मृत्यु हुँदाचाहिँ त्यही बुहारीले लुगा खोलेर किरिया गर्न हुने, आफ्नै बाबुआमाको चाहिँ किन नहुने ? अनेक थरी कुरा गरेर दु:ख दिन्छन् । समाजमा छोराले बाबुआमाको काजकिरिया, श्राद्ध गरिदिएबापत पैत्रिक सम्पत्तिको हक खोज्छ । हामी पनि नियमित श्राद्ध गर्छौ तर बुबाआमाको सम्पत्तिले कल्याणकारी संस्था खोलिदिएका छौँ । धेरै जना भन्थे– ‘भएका छोरीहरू पराई घर गइहाल्छन्, यी कर्णेलको आँगनमा त सिस्नो उम्रने भयो, कसले स्याहार्ने †’ तर, हाम्रा मातापिताको दैलोमा सिस्नो होइन, उहाँहरूकै नाममा क्याम्पस ठडिएको छ ।’ महिलाको नेतृत्वमा नेपालमै पहिलोचोटि खोलिएको पब्लिक क्याम्पस पनि यही हो । १३ वर्ष भयो, यो कलेज खोलेको । अहिले जीवनको एकाउन्नौँ वर्षमा हिँड्दै छु । समाजसँगको लडाइँ कहिल्यै नसकिने रहेछ । कति मात्रै लड्ने, सम्झिँदा दु:ख लाग्छ कहिलेकाहीँ । विषय र समय मात्र फरक, लडाइँ त जहिल्यै गर्नैपर्ने ।
अहिले पनि पुरुषलाई जति सम्मान र विश्वासपूर्वक हेरिन्छ, महिलालाई हेरिन्न । त्यति बेला दु:ख लाग्छ । आमरूपमा महिलालाई हेर्ने दृष्टिकोण गलत छ । तर, बुबाको प्रेरणाले मलाई अझै पनि बल दिइरहन्छ । संघर्ष गरेर अगाडि बढिरहन मन लाग्छ ।
प्रस्तुति : चमिना भट्टराई

Monday, November 26, 2012

मेरो शरीर टालेको कपडा जस्तो - sourya daily

‘दाइ म मरेँ भने मेरो लास आमाबुबा र दर्शकलाई नदेखाइदिनू है’, मेरो मुखबाट अनायासै निस्किएछ । दाइ रामकृष्ण छेवैमा हुनुहुन्थ्यो । मेरो मुहारमा मडारिइरहेका मृत्यत्रास अनि जीवन–मोह पढिरहनुभएको थियो । म लडिरहेको थिएँ अस्पतालको शय्यामा । क्यान्सरले गाँजेर शरीर थङथिलो बनाइसकेपछि म दिल्ली ल्याइपुर्‍याइएको थिएँ । १४ वर्षअघि सेप्टेम्बर ९ को त्यो दिन । अत्यधिक पीडाले छटपटिइरहँदा सायद मेरो अन्तरात्माले अड्कल काटिसकेछ– अब साँच्चै मर्छु क्यारे † पलपल छोटिँदै गएझँै लाग्ने जिन्दगीको माया झनझन् बढ्दै थियो ।
ती पल सम्झिँदा आज लाग्छ– मान्छे सबैभन्दा बढी स्वार्थी आफ्नै जीवनप्रति हुँदो रहेछ । केही उपाय नलागेर शरीर नासिएछ भने पनि स्मृतिमै भए नि आफ्नो अस्तित्वचाहिँ बाँचिरहोस् भन्ने चाहँदो रहेछ । दर्शक अनि मातापिताको मायाको अम्मली बनिसकेको म त्यो अलिकति पनि नघटोस् भन्ने चाहन्थेँ । आमाबुबा र दर्शकको नजरमा सधैँ बाँचिरहने चाहना थियो । मृत्युले डरलाग्दो मुख बाएर मलाई निल्ने तयारी गर्दैगर्दा मनमा अनेकौँ कुरा मडारिँदै थिए– ‘शव सार्वजनिक गरिदिए विस्तारै आमाबुबा अनि प्यारा दर्शक मेरो अन्त्य स्वीकार्न बाध्य हुनेछन् । मप्रतिको स्मृति विस्तारै धूमिल हुँदै जानेछ । लास त मृत्युको जीवन्त प्रमाण पो हो त † त्यो नदेखेसम्म उनीहरूलाई विश्वास लाग्ने छैन, ‘श्रीकृष्ण मर्‍यो’ भनेर । जिन्दगीका थुप्रै प्रसंगहरूमा म उनीहरूको स्मृतिमै भए पनि बाँचिरहन पाउनेछु ।’ थाहा छैन, मृत्युपछि कुनै अस्तित्व रहन्छ/रहन्नँ, चेतना होला–नहोला । तर, पनि त्यो पल मभित्र दर्शकको माया पाइरहने स्वार्थ ह्वात्तै बढेको थियो, चाहे मरणोपरान्त नै किन नहोस् । थुप्रै चलचित्रमा आफू मरेको अभिनय गरेको थिएँ तर त्यस बेला अहिले अस्पतालको शय्यामा छटपटिइरहेजस्तो पीडा कहाँ हुन्थ्यो र ? कल्पनाको जीवन र यथार्थमा कति भिन्नता रहेछ † फिल्मको हिरो म । फिल्मभित्र त जस्तासुकै परिस्थितिलाई आफ्नै तागतले पार लगाउन सकेको अभिनय गर्थें । सोच्थेँ– यो क्यान्सरलाई पनि फिल्ममा जस्तै गरी जित्न पाए †
दाइले भन्नुभयो– ‘बाबु, चिन्ता नलिऊ, हरेस नखाऊ । यति धेरै माया गर्ने आफन्त र दर्शक हुँदाहुँदै तिमीलाई केही हुन सक्दैन ।’ दाजुको जवाफले मभित्र तत्क्षण सञ्जीवनीको काम गर्‍यो । मृत्युत्रास केही पलका लागि टाढिएजस्तो भयो । कालसँग लड्न बल मिलेजस्तो लाग्यो, आत्मविश्वास बढ्यो । हुन पनि दाजुले भनेजस्तै मायामिश्रित तिनै शुभकामनाहरूले मलाई बचाए । बीचमा लत्रिरहेको थियो मेरो जीवन । एकातिरबाट यमराज तानिरहेका थिए, अर्कातिरबाट मेरा आफन्त अनि दर्शकको असीम मायाले । बुबाआमा बूढाबूढी भएकाले नेपालमै हुनुहुन्थ्यो । बाँकी चारै दाजु मेरो हेरचाहका लागि अस्पतालमै हुनुहुन्थ्यो, पालैपालो मलाई कुर्नुहुन्थ्यो । आखिर यमराज मायाका अगाडि पराजित भएरै छाडे । त्यसैले त आज सशरीर छु । जिन्दगीलाई रिफ्रेस गरेर फेरि जिउन सकेको छु । पेटको देब्रेतिरको भागमा क्यान्सर भएको थियो मलाई । त्यो काटेर फाल्नमा सफलता मिलेपछि बल्ल म बाँचेँ ।
अहिले तन्दुरुस्तै देखिन्छु । तर, मेरो शरीर च्यातिएर सिलाएको लुगाजस्तै हो, जसै गरे नि सिलाएको दाग त कहाँ मेटिन्छ र ? काममा जीवनै दिएर लाग्दा भोग्नु नियति थियो यो । १४ वर्षअघि चलचित्र दुनियाँमा निकै छाइरहेको थिएँ । एक्सनकटको चटारोले शरीरलाई माया गर्ने फुर्सदै भएन । कामको मायाले ज्यानको माया कमजोर बनाइदियो ।
‘जीवनसाथी’ चलचित्रको सुटिङमा थिएँ । शरीर कमजोर लाग्न थालेको थियो, केही दिनदेखि ज्वरो आइरहेको थियो । सकिएला त नि भनेर काममा जोतिइरहेकै थिएँ । प्रेमदृश्यको छायांकन थियो । निर्देशक दीपक श्रेष्ठ बोलाएको बोलायै थिए रिहर्सलका लागि । ज्वरोलाई जितेर काम गर्न सक्छु जस्तो लागेको थियो तर गर्नै सकिनँ, दुखेर भक्लक्कै ढलेँ । सबैले मलाई उठाए । असिस्टेन्ट बाबु तामाङले अस्पताल पुर्‍याए । डा. शेखर थापाले स्वास्थ्यजाँच गरे । जाँच गर्दा थाहा भयो, क्यान्सर भएछ । द्वन्द्वदृश्यका क्रममा कसैले हानेको किक जोडले पेटमा लागेपछि त्यहीँको मासु बिग्रिएर भित्रभित्रै क्यान्सर भएको अनुमान डाक्टरले गरे । मलाई पनि त्यस्तै लाग्यो । अब ‘जीवनसाथी’को काम पूरा गर्न नसक्ने अवस्थामा पुगेँ, लिएको एड्भान्स फिर्ता गरिदिएँ ।
‘क्यान्सर लागेपछि कहिल्यै निको हुँदैन’, क्यान्सरबारे डरलाग्दो बुझाइ थियो मेरो । नराम्रोसँग झस्किएँ, धरातल भास्सिँदै गएभैँm भान भयो । घरीघरी त मुटु भक्कानिएर आँसु निचोरिन खोज्थ्यो । तर, परिवारले मेरो आँखामा आँसु आउनै दिएनन् । चार दाजुभाउजू अनि बुबाआमाले एक छिन पनि एक्लै छाड्नुभएन । म नआत्तियूँ भनेर होला, उहाँहरूले आफ्नो मुहारमा पनि सकेसम्म पीडा देखाउनुभएन । मेरो आँसु नझरोस् भनेर आफ्नो आँसु पनि लुकाउनुभयो । सबैजना ढाडस दिनुहुन्थ्यो– ‘बाबु तिमीलाई केही हुँदैहुँदैन ।’ त्यो मायाले क्यान्सरको दुखाइ कम गरिदिएजस्तो लाग्थ्यो ।
१५ दिन भारत बसेर उपचार गराएपछि अपरेसन सफल भयो । एक वर्ष पूरा रेस्ट बसेँ । त्यसपछि अलि तङ्ग्रिएँ । तर, असर त बुढ्यौली लागेपछि अझै बढ्दै जान्छ । हुन त म २३ वर्षे ठिटो न हुँ, हाहाहा…..† (लामो हाँसो)
बाल्यकालदेखि नै स्वास्थ्यबारे सचेत नभएको होइनँ । त्यसअघि शरीरमा कुनै रोग पनि थिएन । तर, जति बेला सचेत हुनुपर्ने हो त्यति बेलाचाहिँ काममा मात्र ध्यान दिएछु । सुटिङको टाइमटेबुल नमिल्दा दैनिकी अस्तव्यस्त थियो । नियमित गर्ने व्यायाम पनि रोकियो । खानपानमा लापरबाही झनै चर्कियो । चुरोट, खैनी, रक्सीजस्ता लत मैले कहिल्यै अपनाइनँ तर चलचित्रको दुनियाँमा व्यस्त हुन थालेपछि कोकको झोलमा बानी लागेछ । छिनछिनमा कोकले कामको तनाब घटाउने प्रयास गरिरहन्थेँ । खाँदै नखाएको दिन पनि १९ बोतल कोक सक्थेँ । यही अस्तव्यस्त दैनिकीले पनि क्यान्सर बढाउन सघायो कि †
रोगले मान्छेलाई कमजोर बनाउँछ । रोगसँगै मानसिक कमजोरी पनि बढ्यो भने मान्छे जीवनदेखि नै हार्न थाल्छ । आपसी मायाले मानसिकतालाई कमजोर हुन दिँदो रहनेछ । मलाई पनि मायाले नै जीवनशक्ति बढाउँछ, औषधि त एउटा सन्तुष्टिको बाटो मात्रै हो । घरमा आएपछि आमा अनि बाको न्यानो मायाले हरसमय जिउन प्रेरित गरिरह्यो । मेरो जीवनलाई आफन्त मात्रै होइन, स्कुले बालिकाले पनि माया गरेका छन् । दिल्लीबाट फर्किएपछि चलचित्रका सहकर्मी, दर्शकदेखि शुभचिन्तकसम्म मलाई घरमा हेर्न आइरहन्थे । एक दिन आराम गरिरहेको थिएँ । दुई सय जनाजति विद्यार्थी मेरो घर आए । तीमध्ये एउटी सानी नानीको हातमा गुलाबको फूल थियो । उनले मेरो हातमा त्यो फूल राखिदिइन् । अनि भनिन्, ‘अंकल, भगवान् छन् भने तपाईंलाई लागेको रोग मलाई सारिदिन भन्छु है ।’ मेरो आँखाबाट हर्षको आँसु बग्यो । उनलाई फर्काउने शब्द थिएन मसँग । तर, ती शब्दले जिउने हजार गुना बढी शक्ति मेरो आत्मामा भरिदिए । जवाफमा फिस्स हाँसिदिएँ मात्रै ।
०००
तीन वर्षअघि । उकालिँदो बुढ्यौलीसँगै मेरो बुबा कमजोर बन्दै जानुभयो । रोगले च्याप्दै लग्यो । उहाँको उपचारमा हरसम्भव लागिरहेका थियौँ । आइसियुमा हुनुहुन्थ्यो, म खानेकुरा लिएर जान्थेँ । मुखैनेर गाँस पुर्‍याएपछि प्रश्न गर्नुहुन्थ्यो– ‘तेरी आमाले खाई त ?’  यति धेरै माया गर्नुहुन्थ्यो आमालाई बुबा । ‘बुबा मैले खुवाइसकेँ, हजुर खानुहोस् ।’ मैले यसो भने पनि आफ्नै आँखाले नदेखेसम्म उहाँलाई सन्तोषै लाग्दैनथ्यो । आमालाई अस्पतालै पुर्‍याइन्थ्यो । आमाले खाएको देखेपछि बल्ल बुबाको घाँटीबाट खानेकुरा छिथ्र्यो ।
आइसियुमै मैले बुबालाई सम्झाएँ– ‘बुबा, म कहिल्यै आमालाई नखुवाई खाँदिनँ । हजुर ढुक्क हुनुस्, आमालाई मायाको कमी हुन दिन्नँ । मामाघर गए पनि पुर्‍याउन जान्छु, लिन पनि जान्छु । हजुरले केही चिन्ता लिनुपर्दैन ।’ बुबाको अनुहार हँसिलो भएको थियो । दोहोर्‍याएर मलाई भन्नुभयो– ‘आमालाई एक्लै नबनाऊ है त †’ मैले आश्वस्त पारेको भोलिपल्ट बिहानै बुबा स्वर्गे हुनुभयो । म विश्वस्त छु, मृत्युलाई जित्ने केही चिज छ भने माया नै हो । आमाको मायाले नै मेरो बुबालाई पनि केही घण्टा बढी बचायो । माया हस्तान्तरणको टुंगो लागेपछि मात्रै उहाँले जीवन त्याग्नुभयो ।
बुबालाई दिएको वचन मैले पूरा गरेको छु । अझै पनि म आमाकै कोठामा सुत्छु । उहाँले खाएपछि मात्रै भात खान्छु । आमा निदाएपछि मात्रै आफू सुत्छु । ८३ वर्षकी पुग्नुभयो उहाँ । आमाप्रतिको जिम्मेवारी अनि मायाले नै मलाई लामो सयमसम्म बिहेबारे सोच्न दिएनजस्तो लाग्छ । सोच्थेँ– अरू कसैको आगमनले आमाप्रतिको मेरो माया कम नहोओस् । त्यो नबाँडियोस् । तर, आमा मेरो बिहेबारे बढी नै चिन्तित हुनुहुन्छ । बिहे गर भन्नुहुन्छ । बुबाको प्रसंग जोडेर फकाउनु पो हुन्छ यसरी– ‘बाबु जसरी बुबाले मप्रतिको आफ्नो माया तँलाई हस्तान्तरण गर्नुभयो, तैँले पनि आफ्नो माया हस्तान्तरण गर्ने कोही मान्छे ल्याउनुपर्दैन त ?’ अबचाहिँ चाँडै बिहे गर्नुपर्लाजस्तो छ । तयारी सुरु गरिसकेँ ।
०००
अहिले मैले फिटनेस सेन्टर सञ्चालन गरेको छु । हरेक दिन एक घन्टा यहाँ ल्याएर मानिसहरूलाई स्वस्थ जीवनबारे चासो जगाउने र कसरत गराउने मेरो उद्देश्य हो । यसका लागि मैले चलचित्र क्षेत्रबाट एक वर्ष विश्राम लिने निर्णय गरिसकेँ । धनसम्पत्ति सुखको आधार होइन । मायाप्रेम नभए सम्पत्तिले मात्र मान्छेलाई जीवन दिन सक्दैन । आफ्नो शरीरलाई माया गर्न जान्नु पनि जिउने कला हो । आफ्नै भोगाइले दिएको जीवनदर्शन बुझाउन लालायित हुन्छु म हिजोआज ।
०००
जीवन र मृत्युको कुनै ठेगान हुँदैन । छैठीको दिन लेखिएको भावीलाई विश्वास गर्छु म । आफ्ना शव बोक्ने ४ जना व्यक्ति कमाउनु मेरो जीवनको सबैभन्दा ठूलो सोख हो । त्यसो त सबैले दिने गरेको मयाको धन मसँग प्रशस्तै छ । यो मैले आफ्नै व्यवहारका कारणले कमाएको हुँ । जानेर गल्ती गर्दिनँ । अन्जानमा भएको गल्तीमा पनि चाँडै माफी मागिहाल्छु । आफूले सच्चा दिलले गरेको विश्वासमा धोका पाउँदा पनि मलाई रिस उठ्दैन । बरु दिल दुख्छ । कहिल्यै कसैको नराम्रो चिताउँदिनँ । लाग्छ– मृत्युको तीन मिनेटअघिसम्म पनि मान्छेले सकारात्मक सोचिरहनुपर्छ । सकारात्मक सोच आउन आत्मा मायाले भरिएको हुनुपर्छ । जसरी सेप्टेम्बर ९ को त्यो दिन मृत्युले मलाई आफूतिर तानिरहँदा मेरो आत्मामा भरिएका दाजुहरूका मायालु शब्दले मलाई मृत्युशय्याबाट उठाएका थिए ।
प्रस्तुति : प्रतिमा सिलवाल

Sunday, November 25, 2012

हरिबोधिनी एकादशी - onlinekhabar

व्रत, उपवास तथा पुराणको पर्व हरिबोधिनी एकादशी शनिवार मनाइँदैछ । हिन्दु धर्ममा हरिबोधिनी एकादशीको व्रत बस्नाले पापको नास, पुण्यवृद्धि र मोक्ष प्राप्ति हुने तथा सो दिन उपवास बस्नाले हजार अश्वमेध तथा सय राजसूर्य यज्ञको फल प्राप्त हुने जनविश्वास छ ।
असार शुक्ल एकादशीका दिनदेखि क्षीर सागरमा सयन गरेका भगवान विष्णु चार महिनापछि आजका दिन जागा हुने भएकाले यस दिनलाई हिन्दु धर्मावलम्बीले विशेषरूपमा मनाउने गर्छन् । आजकै दिन गृहिणीहरूले घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गर्दछन् । आजका दिनलाई तुलसी विवाह भन्ने गरिन्छ ।
तुलसीको मठलाई गोवरमाटोले लिपपोत गरी सेतो, रातो, पहेँलो बस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गर्दछन् । कात्तिक महिनाभरि सम्पूर्ण तीर्थसहित देवताहरू तुलसीमा बास गर्दछन् । तुलसीको धार्मिक-सांस्कृतिक महत्वका साथै वैज्ञानिक महत्वमा यसको पात, डाँठ तथा फूलको रस रुघाखोकी, औलो रोग ठीक गर्न प्रयोग गरिन्छ । तुलसीको हावा मात्रले विषालु कीटाणु नास हुने जनविश्वास रहेको छ ।
हरिबोधनी एकादशीका अवसरमा मुलकभर विष्णु मन्दिर तथा त्रिवेणीमा मेला लाग्ने गर्दछ । विशेष गरी आज हिन्दु संस्कृतिअनुसार तुलसीको विवाह सम्पन्न गरी व्रतालुहरूले फलारको रूपमा पिंडालु र सक्खरखण्ड आदि कन्दमूल खानेे प्रचलन छ ।

चियापान र चड्कनको प्रसंग - ekantipur

चड्कनबाट होइन, चियापानको पृष्ठभूमिबाट सुरुवात गर्न चाहन्छु । पञ्चायतकालको नितान्त भिन्न पृष्ठभूमिमा तत्कालिक शासनबाट 'अराष्ट्रिय तत्त्व' घोषित गरिएका बीपी कोइरालाले राष्ट्रिय मेलमिलापको अवधारणाअन्तर्गत यो चलन सुरु गरेका थिए । पछि गणेशमानजीले समाजका अलगअलग पक्षहरूलाई आमन्त्रित गरेर वाषिर्क चियापानको त्यो परम्परालाई निरन्तरता दिनुभयो । चाक्सीबारीमा आयोजन हुञ्जेल, म पनि बडो उत्साहका साथ त्यो चियापान दिवसको प्रतीक्षा गर्दथेँ । पञ्चायत व्यवस्था कायम रहुन्जेल बडो गरिमा थियो, त्यो चियापान कार्यक्रमको । निम्ता पाएर पनि चियापानमा उपस्थिति जनाउने साहस सबैले गर्दैनथे । दरबारियाहरूको कोपभाजनमा परिने खतरा मोल्न अधिकांश चाहँदैनथे । खुल्ला रूपले प्रजातन्त्रप्रेमी मानिसहरूको जमघट हुने गर्दथ्यो । एक्का-दुक्का 'साहसी' पञ्चहरू भने त्यहाँ पुग्न शंकोच मान्दैनथे । चियापानमा को आयो ? को आएन ? कसले के भन्यो ? भन्नेे चर्चा त्यसबेलाको बन्द समाजमा हप्तौं हुन्थ्यो । आजभोलि कहिलेकाहीं 'बन्द' हुँदा हामी यति धेरै सास्ती भोग्छौं, गुनासा गर्छौं । वर्तमान पुस्तालाई यो कुराको अनुमान गर्न पनि कठिन हुनेछ कि कसरी त्यतिका वर्षसम्म सारा देश एक अधिनायकवादी व्यवस्थाको बन्दी भएर बाँच्यो होला ?
२०४६ मा प्रजातन्त्रको पुनःस्थापनापछि जनता अधिनायकवादको जेलबाट मुक्त भएझैं देखियो । तर यथार्थमा उनीहरू प्रजातन्त्रका नाममा एक नयाँ जेलमा कोचिने खतरा उत्पन्न भयो । पञ्चायती अधिनायवादको जेलबाट मुक्त भएर जनता त थाहै नपाई 'अराजकता' को बन्दीगृहमा पो बसाइसराइ गराइएका रहेछन् । जेल चाहे पारिवारिक अधिनायवादको होस् या दलीय अराजकताको, कुरा एउटै हो ।
 खैर, अहिलेका निम्ति चियापान कार्यक्रमहरूतिरै र्फकन चाहन्छु । २०४७ पछि कांग्रेसी चियापान कार्यक्रमहरूले आपmनो गरिमा गुमाउँदै गए । तिनीहरूले पञ्चभेलाको चरित्र नक्कल गर्न थाले । चोर र पुलिस दुवै एकैसाथ मञ्चमा देखिन थाले । इमान्दार पुलिस अफिसरहरू पनि त्यहीं, पुलिसको ड्रेस लगाएका चोरहरू पनि त्यहीं ! सारा जीवन इमान-जमानमा बस्ने राष्ट्रसेवक पनि त्यहीं, कहलिएको भ्रष्टाचारी पनि त्यहीं ! चियापान यस्तो छ्यास्मिस भयो कि छुट्याउनै गाह्रो । चियापान कार्यक्रममा कहलिएका बदमासहरूलाई बोलाउनै हुन्न भन्ने मेरो मनसाय कदापि होइन । मानिस सज्जन होस् या दुर्जन, चिया त उसले पनि खानै पर्‍यो नि ! तर मेरो दृढतापूर्वक आग्रह के छ भने राजनीतिक दलहरूले आयोजन गर्ने चियापानलगायत कुनै पनि समारोहमा कुनै पनि सरकारी सेवाका राष्ट्रसेवकलाई आमन्त्रण गर्ने परिपाटी बन्द गरियोस् । नेपालमा एकातिर अहोरात्र प्रशासनतन्त्रमा राजनीतीकरण भयो भनिन्छ, अर्कोतिर राजनीतिक नेताहरू र सरकारी कर्मचारीबीच आपसी सम्बन्धका आधारहरू ज्यादै अस्पष्ट र अपारदर्शी छन् । यस्तो 'कार्टेलिङ' ले नै प्रशासनलाई खतरनाक हदसम्म राजनीतीकरणको संघारमा पुर्‍याएको हो ।
के तपाईंले भारतमा कांग्रेसले आयोजन गर्ने कार्यक्रममा वा भारतीय जनता पार्टीको आयोजनमा हुने कुनै सभामा सुरक्षा निकायका प्रमुखहरू दलबलसहित उपस्थित भएको अनुमान गर्न सक्नुहुन्छ ? के अमेरिकामा रिपब्लिकन बा डेमोक्र्याटिक पार्टीका भेलाहरूमा प्रशासन र सुरक्षा निकायका प्रमुखहरूलाई दलबलसहित हाजिर बजाउने निमन्त्रणा पत्रको कल्पना गर्न सकिन्छ ? सत्य के हो भने राजनीतिक कार्यक्रममा सरिक हुने कुनै पनि कर्मचारी ती देशहरूमा तत्काल विभागीय कारबाहीका भागी हुन्छन् । त्यहाँ न त राजनीतिक दलहरूले गर्ने कार्यक्रममा सरकारी कर्मचारीलाई निमन्त्रणा दिने परम्परा छ, न त कर्मचारीहरूका तर्फबाट त्यस्ता ठाउँहरूमा उपस्थिति जनाउने चलन नै छ ।
हो, कहिलेकाहीं, जस्तो एकपटक भारतको उत्तर प्रदेशमा मायावती मुख्यमन्त्री छँदा उनको पार्टीले आयोजन गरेको चियापान समारोहमा त्यस राज्यका प्रहरी महानिरीक्षक केक लिएर पुगेको घटनाले मिडियामा लामो समयसम्म हल्लीखल्ली मच्चाएको थियो । तर यस्ता घटना प्रायः हँुदैनन् । भइहाले समाज र प्रेसबाट तत्काल निरुत्साहित गरिन्छन् । तर हाम्रो देशमाचाहिँ फरक पर्दैन, किनभने यहाँ को कर्मचारी ? को नेता ? भन्नेे लक्ष्मणरेखा बडो अपारदर्शी छ । राजनीतिक पार्टीहरूले आयोजन गर्ने कार्यक्रमहरूमा सरकारी कर्मचारीहरूको सगौरव उपस्थिति रहन्छ । यहाँ सानोभन्दा सानो पदमा बसेको कर्मचारीले पनि मन्त्री र प्रधानमन्त्रीभन्दा कम्तीको धमास दिँदैन । यहाँ मन्त्री र प्रधानमन्त्री पदमा बसेकाहरू पनि सानो-सानो पदमा कार्यरत मानिसहरूको सरुवा, बढुवा, ठेक्कापट्टा आदिमा रुचि राख्न छाड्दैनन् । यस्तो छ्यास्मिस छ कि छुट्याउनै मुस्किल । यहाँ आफ्नो भुइँतले बैंक राम्ररी चलाउन नसक्नेहरू राजनीतिक उपदेश छाँट्दै हिँड्छन र त्यसैको सिको गरेर होला, हाम्रा कतिपय नेताहरू पनि हलोदेखि 'हाइड्रो' सम्म पुगेर आर्थिक दर्शनको खोक्रो ड्रम पिट्दै
हिँड्छन् । कहिलेकाहीं लाग्छ कि हामीलाई आपmनो कामबाहेक बाँकी सबै मानिसको काम गर्न आउँछ ।
प्रचण्ड चड्कन प्रकरणपछि रवीन्द्र अधिकारीको बडो विचारणीय टिप्पणी सुनियो, 'नेपालमा मानिसहरूको भीड जम्मा गरेर, सबैसँग दाँत देखाउँदै हात मिलाएर, मीठो कुरा गरेर लोकपि्रय हुने चलन छ । समाजमा ठोस र राम्रो काम गरेर लोकपि्रय हुनुको साटो चिल्लो, मीठो व्यवहारको आवरण प्रदर्शन गरेर लोकपि्रय बन्ने चलन छ । वर्तमान युगमा त्यसरी प्राप्त लोकपि्रयता क्षणिक हुन्छ ।' हो, हामी सबैले र विशेषतः नेताहरूले बडो गहिरो तवरले बुझ्नुपर्ने कुरा के छ भने कुनै व्यक्ति वा समूहको झुन्ड आफूसित खुसाउला वा रिसाउला भनेर व्यवहार गर्ने मानिस वास्तविक अर्थमा नेता हुनै सक्दैन । नेताले व्यक्तिविशेषको होइन, समाजको बृहत्तर हितमा निर्णय गर्ने क्षमता राख्न अनिवार्य छ । हो, व्यक्ति पनि समाजकै अंग हो, तर व्यक्तिविशेषका भावनाले मात्र सिंगो समाजको प्रतिनिधित्व नगर्न पनि सक्छ, गर्न पनि सक्छ । यो साह्रै चुनौतीपूर्ण अन्तर बुझ्नसक्ने मानिस नै साँचो अर्थमा नेता हो । अहिले समाजसँग समय र धैर्य दुवै धेरै छैन । अतः कुनै व्यक्तिविशेष वा सानो झुन्डको जायज वा नाजायज स्वार्थसिद्धि वा अहंकारको तुष्टिका निम्ति मात्र नेताहरूले मीठो मसिनो आचरण प्रदर्शन गर्ने फुर्सदिलो बेला होइन यो । देश र जनताको बृहत्तर हितका लागि गर्नुपर्ने प्राथमिक कामहरू नगरेर बसेपछि समाजमा नेताहरूप्रति वितृष्णा र आक्रोश बढ्नु स्वाभाविकै हो ।
बल प्रयोग नगरी आपmना समस्याहरू समाधान हँुदैनन् भन्नेे नकारात्मक विश्वासले एक प्रकारको मौन स्वीकारोक्ति हाम्रो समाजमा प्राप्त गर्नु दुर्भाग्यको अवस्था हो । यो विश्वासको र्ऊवरभूमी तयार गर्नका निम्ति माओवादी विद्रोहका क्रममा माओवादी र राज्यपक्षबाट भएका हिंसा-प्रतिहिंसाले खेलेको भूमिकालाई नजरअन्दाज गर्न सकिँदैन । त्यतिमात्र होइन, पछिल्ला वर्षहरूमा विभिन्नखाले आन्दोलनको नाममा हँुदै आएका हिंसात्मक जबर्जस्तीका कृत्यहरूको फेहरिस्त पनि निकै लामो छ । शान्तिपूर्वक विरोध गर्ने हक सुरक्षित हँुदाहँुदै पनि बलको बाटोले सामाजिक स्वीकारोक्ति पाउनु कुनै पनि समाजको दीर्घकालीन हितका निम्ति चिन्ताको विषय हो ।
हुन त 'समाज र राजनीतिमा हिंसाको प्रयोग' इतिहासकालदेखि नै अत्यन्तै जटिल र विवादित विषय रहीआएको छ । हिंसाको समर्थन गर्न सकिन्न तर सबैलाई थाहा छ, इतिहासमा हिंसा भएको छ । एक कालखण्डको मानव इतिहास वास्तवमा हिंसा र प्रतिहिंसाको इतिहास हो । नेपालमा हिंसालाई प्रयोग गर्ने माओवादी पहिलो दल कदापि होइन । तर माओवादी विद्रोहका दौरान नेपालमा राजनीतिक उद्देश्य प्राप्तिका लागि जुन अनुपातमा हिंसा र प्रतिहिंसा भयो, त्यो मात्राको रक्तपातचाहिँ कहिल्यै भएको थिएन । म बितेका कुरा आज धेरै कोट्याउन चाहन्न र बिर्सन पनि चाहन्न । जो-जो र जसका परिवारजन हिंसा र प्रतिहिंसाको सिकार भए, तिनीहरूको पीडालाई हल्का रूपमा प्रस्तुत गर्ने धृष्टता पनि कदापि गर्न सकिँदैन ।
साथै सधैंभरि इतिहासमा टाँसिएर बसे जीवन निर्वाह पनि हुँदैन । नेल्सन मन्डेलाले भनेका छन्, 'क्षमा गर तर नबिर्स ।' हो सक्छौ भने क्षमा गरिदेऊ तर नबिर्स ।
प्रचण्ड चड्कन प्रकरणमा पदम कँुवरको दोष कति थियो ? र प्रचण्डको कति थियो भन्नेे विषयमा म जानिफकार हुन चाहन्न । आध्यात्मिक गुरुहरूबाट निकै प्रभाभित मेरा निम्ति बुद्ध र गान्धीको बाटोले मात्र समाजमा दीर्घकालीन समाधान दिन्छ भन्नेे विषयमा कुनै सन्देह छैन । प्रचण्डले हिजोका दिनमा के गरे वा गरेनन् भन्नेे कुराभन्दा उनले आज के गर्दैछन् भन्नेे कुराले बढी महत्त्व राख्नु पर्दछ । गत बिहीबार 'दिशानिर्देश' कार्यक्रममा प्रचण्डले प्रस्ट स्वरमा भने, 'मेरो मनमा पदम कुँवरप्रति कुनै दुर्भावना छैन । मैले उनलाई त्यसै दिन क्षमा गरिदिएँ, जुन दिन उनले मलाई गालामा पिटेका थिए ।' म राजनीतिक हिसाबले प्रचण्डजीका धेरै कुराहरूसित असहमत छु । म उहाँले गर्नसक्ने धेरै किसिमका नाटकहरूसित पनि राम्ररी परिचित छु । तर त्यस दिन अन्तर्वार्ताका क्रममा प्रचण्डजीको आँखाभित्र नियालेर हेर्दा मैले त्यहाँ पदम कँुवरप्रति कुनै दुर्भावना पाउन सकिनँ । कुन्नि किन हो, त्यसले मेरो मन छोयो ।
मानिस जब आपmनो निजी अहंकारबाट अलिकति माथि उठिदिन्छ, मानिस जब आफू अपमानित भएर पनि, गल्ली-हाँसोको विषय बनेर पनि, जब कुनै अर्को मानिसप्रति जब सद्भाव प्रकट गर्छ, तत्तत् क्षणहरूमा सारा मनुष्यताको गरिमा अलिकति बढेको अनुभूत हुन्छ । प्रचण्ड चड्कन प्रसंग न गलगल हाँस्ने विषय हो, न छाती पिटेर दुःख मनाउ गर्ने विषय हो । यो त शिक्षा लिएर अगाडि बढ्ने प्रसंगमात्र हो ।  

Friday, November 23, 2012

विश्वकै ‘गरिब’ राष्ट्रपति यिनी, जीवनशैली अचम्मको ! - hamrakura

जोस मुजीका उरुग्वेका राष्ट्रपति हुन् तर उनलाई देखेर कसैलाई पनि उनी राष्ट्रपति हुन् र ? भन्ने विश्वास नहुन सक्छ । कारण जोस एक गरिब किसानले जस्तो आफ्नो जिन्दगी बाँच्ने गर्छन् ।
समाचार एजेन्सी बीबीसीका अनुसार एक सामान्य फार्म हाउसमा उनले जीवन व्यतित गरिरहेका छन् । जुन कुनै पनि देशको राष्ट्रप्रमुखको लागि लगभग असम्भव कुरा हो ।
एक पंक्तिमा उल्लेख गर्दा जोसको जीवन शैली यस्तो छ–एक जीर्ण फार्म हाउसमा निकै कम सुविधाका साथ उनी बसिरहेका छन् । जहाँ कुवाबाट पानी भर्ने गरिन्छ भने आफ्नो कपडा पनि बाहिर खुल्ला स्थानमा धुने गरिन्छ ।
राष्ट्रपति जोसले भने आफ्नो जीवन शैलीलाई कसैकसैले पागल र सन्की देख्लान् तर यो त जीवन जिउने आफ्नो–आफ्नो तरिका भएको बताउँछन् ।
जोस उरुग्वेका वर्तमान राष्ट्रपति हुन् तर उनको सुरक्षाको लागि जम्मा २ जना मात्रै प्रहरी अधिकारी रहेका छन् र निजी रुपमा उनको ‘मनुएला’ नामक एक कुकुरले उनलाई सुरक्षा दिने गर्छन् ।
यस्तो होइन कि उरुग्वेको राष्ट्रपतिलाई सुविधा कम दिइन्छ, जोस आफ्नै खुशिले यसरी बसेका हुन् । जोसले उरुग्वेको तर्फबाट दिएको आलिशान घर त्यागेर आफ्नी पत्नीको सानो फार्म हाउसमा बस्ने रहर गरेका हुन् । जुन राजधानी मोनतेविडियोको नजिकै छ ।
जोस आफ्नी पत्नीको साथमा त्यहाँ बस्छन् र फूलको खेती पनि गर्छन् । जोस आफ्नो तलब मध्येबाट ९० प्रतिशत तलब दान गर्ने गर्छन् । जुन लगभग १२ हजार डलर हुने गर्छ ।
उरुग्वेका राष्ट्रपति जोस मुजीका ‘क्युबा क्रान्ति’बाट उदाएका नेता हुन् । उनी सन् २००९ मा उरुग्वेको राष्ट्रपति चुनिएका थिए । जोस १९६० र १९७० मा उरुग्वेमा भएको गुरिल्ला संघर्षको सबैभन्दा ठूला नेता पनि हुन् । उनले आफ्नो छातीमा ६ पटक गोली समेत खाएका छन् । उनले १४ वर्ष जेल जीवन विताएका छन् ।
आफ्नो जीवन शैलीका बारेमा जोस भन्छन्–‘म सबैभन्दा गरिब राष्ट्रपति कहलिने गरेको छु, तर म सम्झिन्छु कि म गरिब छैन । गरिब त ति हुन्छन्, जो आफ्नो पूरा जीवन खर्चिलो जीवन शैलीमा बिताउँछन् र धेरै भन्दा धेरै कमाई गर्ने इच्छा राख्छन् ।’


काँग्रेसमा विचार छँदै छैन, एमाले म बुझ्दिनँ : देवेन्द्रराज पान्डे - nagariknews


प्रखर बौद्धिक व्यक्तित्व तथा अर्थ-राजनीतिविद्का रूपमा विख्यात् डा. देवेन्द्रराज पाण्डे नागरिक समाजका अगुवा हुनुहुन्छ। २०३६ सालको जनमत संग्रहका बेला पञ्चायतका पक्षमा राज्यको ढुकुटी दुरुपयोग गर्ने दबाबविरुद्ध अर्थ सचिवबाट राजीनामा दिएर स्वतन्त्ररूपमा परिवर्तनको पर्यवेक्षण र पहरेदारी गरिरहनुभएका डा. पाण्डेले पहिलो र दोस्रो जनआन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। डा. पाण्डेको निर्भिक र स्पष्टवादी चिनारी पनि छ। उहाँकै शब्दमा केही समयदेखि 'शिथिल' पाण्डेले निकै लामो समयपछि किशोर नेपालसँग वार्ता गर्दै बताउनुभयो- लोकतन्त्रको बाटो कहिले पूर्ण हुँदैन। विस्तृत विवरण :
दोस्रो जनआन्दोलनपछि जनतामा जुन उत्साह थियो, त्यो हराएकोजस्तो देखिन्छ। सुनौलो भविष्यको त्यो आशा दुःस्वप्न भएको छ। हिजो-आज तपाईँ मौन हुनुहुन्छ। अहिलेको वातावरणलाई कसरी हेर्नुभएको छ?
यो प्रश्नको उत्तर रचनात्मकरूपमा दिने समय सीमित हुँदै गएको छ। वातावरणले पनि अब के गर्ने भन्ने लाग्दोरहेछ। कसैको पेशा नै राजनीति हो भने त्यसमा लागिरहने हो। राजनीति मेरो पेशा होइन। म त अनायासै अन्दोलनमा सामेल भएको हो। पञ्चायतकालमा म कर्मचारी थिएँ। तपाईँहरूको संगतले गर्दा नै आन्दोलनमा होमिएको हो। पछिल्लो आन्दोलनसम्म आइपुग्दा पनि २०३६ वा २०४६ मा जेका लागि आन्दोलन भएको थियो, त्यो प्राप्त भएको छैन। स्थिति अहिले पनि त्यही छ। लोकतन्त्रको बाटोबाट नै समाजले एउटा दिशाबोध गर्छ। त्यो दिशाबोेध गरेर समाजलाई अगाडि बढाउने नेतृत्व जनताबाटै निस्कन्छ भन्ने मान्यतामा मेरो विश्वास छ। त्यो कुरा प्रष्टरूपमा प्रकट नभइरहेको र लामो समयसम्म देश यथास्थितिमा नै रहेकाले जनतामा निराशा आएको हुन सक्छ। एकथरी त्यस्ता मानिसलाई सजिलो छ, जसले जे भए पनि पहिलाकै शासन-व्यवस्था ठीक थियो भनिरहन्छ। यो किसिमका मान्छे नेपालमा मात्र होइन, संसारभर नै छन्। मान्छेको कमजोरी पनि हो कि नयाँ बाटो अप्ठ्यारो भए पुरानै बाटो ठिक थियो भन्ने। शाश्वत कुरा लोकतन्त्र नै हो। त्यो चाहियो भनेर त्यसको खोजी गर्दै हिँड्ने काम नागरिकको होइन, पार्टीहरूकै हो। हामीले सघाउनेमात्र न हो। तर उनीहरूले काम नै नगरेकाले सघाउने ठाउँ पनि रहेको छैन। त्यो अवस्थाले बेलाबेलामा मलाई शिथिल बनाइदिन्छ।
• हाम्रो समाज लोकतान्त्रिक बाटोमै हिँडिरहेको त छ?
कुन समाज लोकतान्त्रिक बाटोमा हिँडेको छ, कुन छैन, कहीँ पनि प्रष्ट छैन। हामीले कुन समाजसँग आफ्नो तुलना गर्छौँ, त्यसैमा भर पर्छ यो कुरा। अमेरिकाकै कुरा गर्ने हो भने संसारकै सबैभन्दा विकसित लोकतन्त्र भएको देश हो त्यो। दुई सय बीस-तीस वर्ष भइसक्यो होला। त्यहाँ पनि लोकतन्त्रबारे विवाद छ, बहस हुँदैछ। त्यो भनेर मैले हाम्रो जे/जस्तो अवस्था छ, त्यसैमा चित्त बुझाउनुपर्‍यो भन्न खोजेको पनि होइन। लोकतन्त्रको बाटो कहिले पूर्ण हुँदैन। हिँडेर त्यो कहिल्यै सकिँदैन। कहिलेकाहीँ हाम्रा पार्टीहरू पूर्ण लोकतन्त्रको कुरा गर्छन् नि। त्यो त हुँदै हुँदैन। प्रश्न त हामी बाटोमा हिँड्यौं कि हिँडेनौं भन्नेमात्र हो।

०४६ सालको जनआन्दोलनयता हामी पूर्ण लोकतान्त्रिक बाटोमा हिँडेका छौँ भन्थ्यौँ। अहिले हिँडेका रहेनछौँ भन्ने सावित भएको हो?लोकतन्त्रको बाटोमा त हिँडेका थियौँ। तर, हामीले लोकतन्त्रको पूर्ण परिभाषा बुझेनौँ। ०४६ सालको कुरा गर्दा त्यो बेला सबैभन्दा ठूलो धोका भएको नेपाली काँग्रेसबाटै हो। किनभने प्रजातान्त्रिक पृष्ठभूमि बोकेका बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता नेताको प्रेरणादायी नेतृत्व पाएको पार्टीमा वैचारिक चिन्तन नै भएन। बीपीले आफ्नो पालामा जे/जति गर्नुभयो, त्योभन्दा अघि बढ्नै सकेन कांग्रेस। पञ्चायतलाई फाल्ने र बहुदलीय व्यवस्था स्थापना गर्ने जुन उद्देश्य थियो, त्यसैमा मात्र सीमित भयो पहिलो जन-आन्दोलनको उपलब्धि। त्यसपछि के त भन्ने कसैले सोचेनन्। काँग्रेसले कहिले पनि लोकतन्त्रलाई संस्थागत गरेर विभिन्न तप्काका मान्छेहरूको सामाजिक, आर्थिक विकासका लागि केही गर्नुपर्छ भन्ने चिन्तन गरेन।
बाहिरी दुनियाँमा जे/जे आर्थिक मुद्दा आए, जे/जति परिवर्तन भए, जे/जस्ता नयाँ सिद्धान्त आए, त्यसैलाई लिएर अगाडि बढ्यो कांग्रेस। त्यो सजिलो पनि भयो। सबै हिँडेको बाटोमा पछि लाग्न त सजिलै हुन्छ नि। सोचिरहनुपर्दैन। फेरि डोनरहरूले पनि त त्यस्तै खोज्छन्। म अमेरिकाबाट पीएचडी गरेर आएको भए पनि म मेरो देशका बारे अशिक्षित थिएँ। काठमाडौँमै हुर्कियो, पढियो, विदेश गइयो, आइयो, जागिर खाइयो। म कर्मचारी हुँदा मलाई वास्तवमा नेपाल कस्तो छ भन्ने कुरा थाहा थिएन। सिंहदरबारमा बजेट बन्दाखेरी नेपाल भन्ने देश छ, त्यहाँभित्र हिमाल, पहाड, तराई छ, त्यहाँ यति जनसंख्या छ, कृषि विकास गर्नुपर्छ, उद्योग विकास गर्नुपर्छ, शिक्षामा सुधार गर्नुपर्छ, बाटोघाटो बनाउनुपर्छ, यही हेर्ने न हो। जनता छन् भन्ने त बोध नै छैन। जनता छन् भन्ने बुझेर मात्र पनि नहुने। हिमालमा कस्ता छन्, तराईमा कस्ता छन्? त्यो छँदै छैन। धेरै पछिसम्म पनि थिएन।
• पहिलो जनआन्दोलनले त्यो सोचलाई परिवर्तन गर्न सकेन?नेताहरूमा कुनै प्रकारको सोच थिएन। पञ्चायत फाल्ने, बहुदल स्थापना गर्ने। सकियो। त्यही कारणले गर्दा ०४६ सालयता पनि जनताको निम्ति होइन, पार्टीको निम्ति काम गर्ने हुन थाल्यो। पार्टीकै वर्चश्व बढाउनका लागि के गर्न सकिन्छ भन्ने कुरामात्र भए। अरू देशका पार्टीमा पनि त्यो हुन्छ। तर मुलुकको बारेमा पनि त सोच्नुपर्छ नि। यो सबै नहुँदा यसको फाइदा कसले लिए? भन्दा माओवादीले लिए। जनयुद्धमा त्यही त देखियो नि। हैन र? नेपाली काँग्रेस समाजवादी पार्टी रहिरहेको भए त्यो हुने नै थिएन। उनीहरूले लोकतन्त्रलाई संस्थागत गर्दै अगाडि बढेको भए लोकतन्त्रको पद्धति पनि बन्दै जाने थियो। देश पनि बन्थ्यो। उनीहरूले जनयुद्धका लागि आधार बनाइदिएकै हुन्।
• दोस्रो जनआन्दोलनमा पनि तपाईँको भूमिका एक हिसावले रोमाञ्चक थियो। तपाईं मध्यस्थतामा पनि लाग्नुभएको थियो। त्यो आन्दोलनलाई तपाईँले कसरी हेर्नुभएको थियो? पहिलो जनआन्दोलन भन्दा कति भिन्न थियो त्यो?खासै भिन्न थिएन। मेरो भूमिका रोमाञ्चक थियो जस्तो पनि लाग्दैन। केही समय गिरिजाबाबुले विश्वास गरेकाले प्रचण्डसँग सम्पर्क गरेर हिंसा रोक्न के गर्न सकिन्छ भनेर विचार विमर्श गरेको हो। त्यो अरूले पनि गरिरहेका थिए। यो काम मैले ज्ञानेन्द्रले सत्ता लिनुअघिदेखि नै गरिरहेको थिएँ। त्यसलाई निरन्तरतामात्र दिएको हो। पहिलो जनआन्दोलनमा भाग लिनका लागि मलाई जे कुराले पे्ररित गरेको थियो दोस्रो जनआन्दोलनमा पनि त्यही कुराले प्रेरित गरेको हो। म राजनीतिक आन्दोलनमा लाग्ने गैरराजनीतिक मान्छे हुँ। (हाहा...) दोस्रो जनआन्दोलनमा नयाँ कुरा भनेको ज्ञानेन्द्रको निरंकुश सत्ता थपिएको थियो। किनभने हामीले प्रजातन्त्र त २०४६ सालमै ल्याइसकेका थियौँ। अर्को शान्ति हो। राजनीतिक परिवर्तन र शान्तिको मुद्दा एकापसमा गाँसिएका थिए। त्यो दुईटैलाई सघाउनका लागि म त्यसमा होमिएको हो।
• गणतन्त्रको स्थापना दोस्रो आन्दोलनको एजेन्डा थियो कि थिएन?
भित्रीरूपमा थियो। काँग्रेस, एमालेको के थियो के थिएन थाहा छैन। गणतन्त्र भन्ने कुरा बाह्र बुँदेमा परेको छैन। तर सहमति करिव करिव त्यस्तै थियो जस्तो लाग्छ मलाई। बाह्र बुँदे हुनुभन्दा पहिला माओवादीहरू संविधान सभाको त कुरा गर्थे। गणतन्त्रको त खै मलाई सम्झना छैन। तर जुन प्रकारले शान्ति सुनिश्चित गर्नुपर्ने बाध्यता भयो, तब पहिला मुखरित नभएका कुरा भएर पनि दबाइएका कुरा अगाडि आए। अहिले त्यो थियो कि थिएन भनेर कुरा झिक्ने हो भने ज्ञानेन्द्रले निरंकुशता नलादेको भए के हुन्थ्यो? वीरेन्द्र नै बाँचिरहेको भए के हुन्थ्यो? त्यता जान्छन् प्रश्नहरु।
पहिला त संविधान सभा नै मानिरहेका थिएनन् नि काँग्रेस-एमाले। हामीहरू कहिलेकाहीँ भेटघाट हुँदा काँग्रेस र एमालेलाई कसरी संविधान सभाका लागि मनाएर शान्तिको बाटोमा मुलुकलाई हिँडाउने भनेर चिन्तन गर्थ्यौँ। बाँकी सबै संविधान सभाबाट भइहाल्छ भनेर हामीले सोचेका थियौँ।
महŒवपूर्ण कुरा के हो भने संसद पुनर्स्थापना हुनुभन्दा अघिसम्म एउटा इक्वेसन बनेको थियोे। संसद पुनस्थापना भएपछि त्यो बदलियो। त्यसैले म त राजनीतिक संकट सुरु भएको दिन २०६३ वैशाख ११ भन्छु। संसद पुनर्स्थापनापछि काँग्रेस-एमालेलाई माओवादी घाँडो भयो। किनभने उनिहरूलाई पनि त भाग त दिनुपर्‍यो। अब यिनीहरूले सत्ता कब्जा गरेर लखेट्छन् कि भन्ने पनि डर थियो। वैशाख ११ पछि हामी नागरिक समाजले के गर्‍यौँ भन्दा संविधान सभाको निर्वाचन नभएसम्म हाम्रो आन्दोलन जारी छ भन्यौँ। त्यसपछि नै हामीलाई माओवादी भएको बात लगाइयो। उनीहरू आफैँ भिड्न थाले फेरि। गिरिजाप्रसादले बाह्र बुँदे गर्नै हुन्न थियो सम्म भने। माओवादी राजनीतिक मूलधारमा आउँदा शान्तिको बाटो त खुल्यो नि। त्यो पनि बिर्सिने? त्यो त ठूलो उपलब्धि हो नि। अर्को सहयात्रीले पछि पार्ला भन्ने डरले गरिसकेको सम्झौता नै ठिक थिएन भन्नु त हुँदैन नि। हामी राजनीतिको कुरा गर्छौँ। यी नेताहरू त राजनीतिक प्राणी नै भएनन्। राजनीतिक प्राणीले त थुप्रै प्रकारको चिन्तन गर्छन् नि त। यी त खालि सत्तामा को जाने भन्नेमात्र कुरा गर्छन्। त्यो त एउटा साधारण सेक्सन अफिसरले कहिले उपसचिवमा प्रमोशन होला भनेर सोचेजस्तै भयो। (हाहा...) हो कि होइन?
• तपाईँको विचारमा संसद पुनर्स्थापना नै सबैभन्दा ठूलो बाधकका रूपमा आयो।
पुनर्स्थापना होइन। पुनर्स्थापनापछिको समझदारी नभएको अवस्था बन्यो बाधक। दुईथरी मिलेर आन्दोलन गर्ने। आन्दोलन सकिएपछि हामी मिलेकै होइनांै भन्ने प्रवृत्ति बाधक भएको हो।
• के संसद पुनर्स्थापना जरुरी थियो त?मैले आफैँले पनि सुरु सुरुमा संसद पुनर्स्थापना भनें कि? याद छैन। यसो गर्दा होला कि, उसो गर्दा होला भनेर के के भनियो याद आउँदैन। म त गोलमेचको पक्षमा थिएँ। यसो भन्यो भने फेरि नयाँ माओवादी भयो भन्लान्। अहिले नयाँ माओवादीले त्यही भन्दैछ क्यारे।
पुनर्स्थापनापछि राजनीतिक पार्टीहरूको स्वार्थमा पनि परिवर्तन आयो। हुन त हामीले पनि सहेर बस्यौँ। हामीसँग अर्को उपाय पनि थिएन। पुनर्स्थापित संसदमा माओवादीलाई पनि सामेल गर्नुपर्ने भएपछि उनीहरूले सीट नै थपे। भएको सीट भाग लगायो भने त आफूलाई नपुग्ने। अनि के गर्ने भन्दा थप्ने! राजनीतिक मनोविज्ञान यहाँ प्रष्ट हुन्छ। काँग्रेस-एमालेले आफूले खाइपाइ आएको नछाडेर हामीलाई थप भार बोकाए।
• संसद पुनर्स्थापना गिरिजाप्रसादको अहंतुष्टिभन्दा केही थिएन नि, होइन?
त्यसमा होली त सबैले खेले नि। उहाँलाई मात्र भन्नुहुँदैन।
• संसद पुनर्स्थापनाको सट्टा गोलमेचमा गएको भए अहिलेसम्ममा निकास निस्किसक्थ्यो कि?
राजनीतिको आफ्नै प्रकारको सीमा हुन्छ, बन्देज हुन्छ। मैले भन्दा म गिरिजाबाबुको ठाउँमा भएको भए के गर्थेँ भन्ने सोचेर भन्नुपर्छ। '०४६ सालपछि अनेकन पटक प्रधानमन्त्री भएको व्यक्ति। आफ्नै भाइ आफूसँग छुट्टिएर गएर संसद भंग गरिदियो।' यस्तो मानसिक स्थितिमा उहाँले संसद पुनर्स्थापना भन्यो भने त्यो अहंतुष्टि नभनीकन याचना हो।
• संसद पुनर्स्थापनापछि तपाईँहरू निस्कृय हुनुभयो त?
निस्कृय भएको होइन, निस्कृय बनाइयो। हामीलाई केही गर्ने मौका नै दिएनन्। संविधान सभाको निर्वाचनपछि पनि हामीलाई केही रोल दिएको भए यो स्थिति आउने थिएन कि भनेर सोच्छु म।
• नेपालमा विगत फर्केर हेर्ने चलन छैन। मैले के गल्ती गरेको थिएँ वा उपलब्धि के हासिल गरेको थिएँ कसैले हेर्दैन। २०६३ सालपछि २०६९ सालसम्म आइपुग्दा के के चुकहरू भएका छन् राजनीतिक पार्टीको तर्फबाट, जसले गर्दा हामी अहिले लगभग अराजकताको स्थितिमा आइपुग्यौँ?वैचारिक रिक्तताको स्थिति कायम रह्यो। काँग्रेसमा विचार छँदै छैन, एमाले म बु‰िदन। मार्क्सवादी-लेनिनवादी भन्छन्। क्या हो, क्या हो! माओवादीमा भने उनीहरूले खेल्नुपर्ने भूमिकाको बारेमा सोच भएन। बाह्र बुँदेपछि स्थापना गर्न खोजेको व्यवस्था भनेको लोकतान्त्रिक व्यवस्था नै हो। उनीहरूले अन्तरिम संविधान मानेर आइसकेपछि हाम्रो पार्टीको स्थिति के हुन्छ भनेर चिन्तन नै गरेनन् नि। उनीहरू पनि जनयुद्धकै बेलाको धङधङी बोकेर हिँडे, त्यही बेलाको बोली , त्यही बेलाको संरचना निर्माण गर्न खोजे। दुवैतर्फबाट जुन वैचारिक गृहकार्य हुनुपर्ने थियो, त्यो भएन। सबै कुरा भइसक्यो अब त हाम्रो चुनावी प्रतिस्पर्धामात्र हो भन्ने बुझाइ। दुवैतर्फ के गर्दा एकअर्कालाई पछार्न सकिन्छ भन्ने सोच विकसित भयो। सत्ता आफ्नो हातमा परेपछि के गर्ने भन्ने सोच नै भएन।
• संविधान सभाको चुनावअगाडि मैले माओवादीले ११५-१२० सिट ल्याउँछ भन्दा कसैले पनि पत्याएका थिएनन। गिरिजाबाबु र काँग्रेसमात्र होइन, माओवादीले पनि पत्याएका थिएन। उनीहरू नै ठूलो पार्टी भएर संविधान सभाभित्र प्रवेश गरेे पनि र ८०/९० प्रतिशत काम सकिएको भनिए पनि संविधान बन्न सकेन। किन बन्न सकेन जस्तो लाग्छ तपाईलाई?पहिला तपाईँको प्रक्षेपणमै जाउँ। तपाईँले जुन हिसाबमा गाउँगाउँ गएर स्थिति मूल्यांकन गर्नुभएको थियो, त्यो उनीहरूले बु‰ने कुरै भएन। किनभने उनीहरू गाउँमा, जनताको सम्पर्कमा जानै चाहँदैनन्। त्यो कत्तिको महŒवपूर्ण रहेछ भनेर अब बुझे होलान्। तपाईँको कुरा गिरिजाप्रसादले नसुनेको पनि राम्रै भयो। तपाईँको कुरा पत्याएको भए चुनावै हुँदैन थियो। त्यो चुनाव यसकारण मात्र सम्भव भएको हो कि अरू सबैको प्रक्षेपणमा माओवादी सानो पार्टी हुन्छ भन्ने थियो। माओवादीले जित्छ भन्ने भइदिएको भए धेरै अड्को थापिन्थे होलान्।
संविधान किन बनेन भन्दा ०४६ सालदेखि अझ त्योभन्दा अघिदेखि नै उठेको सबैभन्दा ठूलो कुरा परिवर्तनको हो। परिवर्तन भएपछि विकास हुन्छ भनेर सबैले बुझेका थिए। तर त्यो परिवर्तन कहिल्यै भएन। अहिलेसम्म पनि परिवर्तनको नाममा स्वार्थको लडाइँ भइरहेको छ।
• हुने र नहुनेबीचको मात्र झगडा हो त यो?
त्यो त आर्थिक हिसाबमात्र भयो। त्यतिमा मात्र सीमित रहेन अब। अहिले त भाषा, धर्म, लिङ्ग, जातको कुरा आइसक्यो। यो फेरि असहज कुरा पनि होइन, विकासकै एउटा पाटो हो। विकास भनेको बेग्लै र जातीय, भाषिक, सांस्कृतिक अधिकार भनेको बेग्लै होइनन्। यी सबै विकासकै पाटो हो। सबै सँगै अगाडि जान्छन्। विकास भनेको केवल एक पेट खान/लाउन पाउनुमात्र होइन। अरु विभिन्न आकांक्षा, आफ्नो अस्मिताका कुरासँग पनि जोडिएको हुन्छ। यसरी बु‰नेलाई प्रष्ट हुन्छ। जसले यसरी बु‰दा आफ्नो स्वार्थ सिद्ध हुँदैन जस्तो लाग्छ, उसले बखेडा खडा गर्छ। संविधान त्यसैले नबनेको हो।
संघीयताको कुरा पनि देखिन्छ। संघीयताको पछाडिको कुरा त त्यही नै हो नि। जातीय राज्यका पक्षधरहरूले आफ्नो कुरा अतिरञ्जित तवरले राख्दा सबै जना शंकित हुनु पनि सामान्य नै हो।
• जातीय राज्य कि जातीय अधिकार?
राष्ट्रको चाहिँ जात, धर्म हुँदैन भनेर धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्ने। धर्मनिरपेक्ष राष्ट्रभित्र हुने राज्यको चाहिँ जात हुने? म बुझ्दिनँ यो कुरा। मैले अघि नै भने नि- जनसंख्या छ, जनता भनेको के हो थाहा छैन भन्ने सोच पनि राख्नुभएन।
• कुरो कसरी मिल्छ त अब?
बढो गाह्रो कुरा नै त त्यही हो नि। त्यसैको उत्तर नपाएर त घरमा घोत्लिएर बसिरहेको छु। (हाहा...) राजनीतिक विचार विमर्श नै छैन यहाँ। अमेरिका जस्तो मुलुकमा यतिका वर्षपछि अझै पनि पछौटेपन बाँकी छ। हाम्रोमा यो ठूलो कुरा होइन। तर वास्तै नगर्नु पनि त भएन। राजनीतिमा दुई पार्टीबीच स्वार्थको द्वन्द्व हुन्छ। पार्टीहरू बनेकै त्यही कारणले हुन्। ठूलो कुरा बहस जरुरी छ। मनलागि गर्नुभएन। बौद्धिक क्षेत्रमा पनि त्यो किसिमको बहस देख्दिन। मिडियाको के कुरा गरौँ? उद्योग चलिरहेको छ।
• मिडियाले एजेन्डा सेट गर्न सकेको छैन-
एजेन्डा भन्दा पनि सुसूचित गर्ने काम गरिदिए हुन्थ्यो। सकभर निस्पक्ष भएर जनतालाई सुसूचित गरिदिए हुन्थ्यो।
• हामीले त्यो पनि गर्न सकेका छैनौँ भनेको?
छैन। कुन च्यानलको न्युज हेर्दा के आउँछ भन्ने कुरा सबैलाई थाहा छ नि।
• संघीयता राजनीतिको विषय होइन। यो राजनीति गर्ने विषय हुनु पनि हुँदैन। तपाईँलाई के लाग्छ, नेपालको अर्थतन्त्रले संघीयता थेग्न सक्छ?त्यो गौण प्रश्न हो। मैले तपाईँको प्रश्नको तुक छैन भन्न खोजेको होइन। धेरै पूर्व अर्थमन्त्री, अर्थशास्त्रीहरूले उठाएको कुरा हो यो। अहिले कुनचाहिँ अर्थतन्त्र सरकारले धानिरहेको छ र? संघीयतामा गयो भने हाम्रो अर्थतन्त्रले धान्न सक्दैन कि भनेर प्रश्न उठ्नु स्वाभाविक हो। तर त्यसलाई नै अघि सारेर संघीयतालाई पन्छाउने काम गर्नुहुँदैन। हामीलाई कतिवटा राज्य चाहिन्छ भन्ने विषयमा प्रवेश गरेपछि तपाईँको प्रश्न जायज हुन्छ।
म जस्तो मान्छे किन संघीयतामा लागेको भने यसको सम्बन्ध सिधै विकाससँग छ। हामीले पञ्चायतकालमा पनि र ०४६ पछि पनि धोकेबाज विकेन्द्रीकरण भोगेर आइयो नि। लोकतान्त्रिक गणतन्त्र नेपाल भन्दा हामीले पाउने के त? केवल राजा गए गणतन्त्र भयो भन्ने मात्र त होइन नि। हामीले चाहेको त काठमाडौँकेन्द्रित राज्यसत्तालाई विकेन्द्रित गरेर जनताको घर दैलोसम्म पुर्‍याउने हो। त्यो गराउन वास्तवमा नारायणहिटी जहिले पनि बाधक भयो। म पहिला भन्ने गर्थेँ विकेन्द्रीकरणको कुरा आउँदा 'शक्ति जति राजदरबारमा, विकेन्द्रीकरणको गफ सिंहदरबारमा।' बहस हुनुपर्ने त राज्यभित्रको पनि स्थानीय निकायहरूको स्वरूप कस्तो बनाउने भन्ने हो। संघीयता भयो भने जनतासँग अलिक नजिक हुन्छन् नेताहरू। अनि अलिक जिम्मेवार हुन्छन् कि भनेर न हो।
• पार्टीका नेताहरू आफैँ राजा जस्तो भएर कतै संघीयता पनि फेल हुने त हैन भन्ने शंका पनि छ।
फेल हुने परको कुरा हो। नेपाली काँग्रेस, एमाले संघीयताप्रति कति प्रतिबद्ध छन् भन्ने प्रश्न उठ्न थालिसकेको छ।
• अहिले राजनीतिक गतिरोध सृजना गरेर संघीयताको एजेन्डा रोक्ने आशय कत्तिको छ जस्तो लाग्छ?
यसले ऊर्जा केबाट पाइरहेको छ भने संघीयताले राष्ट्रलाई विखण्डनतर्फ लान्छ भनेर हल्ला चलाइएको छ। त्यसले सामान्य जनतामा चिन्ता उत्पन्न गराइदिएको छ। आशयको कुरो त म के जानौँ? म त के भन्छु भन्दा हामी कुन राष्ट्रको कुरा गरिरहेका छौँ? बी.पी.ले नेपाल राष्ट्र भएकै छैन भन्दा गोदाइ खाएका होइनन्? पिटाई नै त हैन। उनले त बौद्धिक हिसाबमा भनेका थिए नि। पृथ्वीनारायणले त स-साना राज्य जितेर एउटा राज्य बनाएका थिए। राष्ट्र निर्माण प्रकृया त चलिरहन्छ। ०६२-०६३ को आन्दोलनले त्यही राष्ट्र निर्माण गर्ने नयाँ प्रकृया सुरु गरेकोमात्र हो नेपाल राष्ट्रको विविधतालाई कविता र गीतमा मात्र सीमित नगरेर। वास्तवमै सबैलाई समावेश गराएर नयाँ संविधान लेखेर अगाडि बढ्नुपर्ने हो।
• प्रकारान्तरमा तपाईँले के भन्नुभयो भन्दा अहिलेको गतिरोधको कारण दुई शक्तिबीचको द्वन्द्व नै हो।
बिल्कुल हो। कहिले त्यो संघीयतामा गएर अभिव्यक्त हुन्छ। कहिले केमा। मूल कुरा त अझ एक तप्काले २०४७ सालकै संविधान ठीक थियो भनिरहेका छन्। यी माओवादीहरू आएर बेकारको भड्खालोमा हाले भन्ने पनि छन्।
• कम्युनिष्टहरू संघीयताको पक्षपाति हुँदैनन्। चीन पनि छैन। सोभियत संघ छँदा पनि तिनीहरूको केन्द्रीकृत व्यवस्था नै थियो। अब हामीकहाँ चाहिँ कम्युनिष्टहरू संघीयताको शक्तिशाली पक्षधर भएर उभिएका छन्। के हो यो?मार्क्सवादीहरू त छैनन्। माओवादीहरू छन्। तपाईँको कुरामै म के थप्न चाहन्छु भने यिनीहरू पनि चाहेर परेका होइनन्। दुर्घटनावश परेका हुन्। उनीहरूले जनयुद्धका बेला बृहत् शक्ति परिचालन गर्नु परेर न सबै मुद्दा उठाएका हुन्! सबै जात-जाति, लिङ्ग, धर्मका मान्छेलाई आफ्नो बनाउन। प्रजातन्त्रवादीले त ठाउँ बनाइदिएकै थिए। उनीहरूले जातीय राज्यको कुरा उठाइदिए। त्यो लडाइँको आधारमात्र थियो। अब अहिले सामान्यकालमा पनि त्यसैलाई बोकेर हिँड्नुपरेको छ। नत्र त उनीहरू पनि केन्द्रीकृत सत्ताकै पक्षपाती हुन् नि। अब त भाग्ने ठाउँ नै छैन। नयाँ नेपालमा त सबैले आफ्नो अधिकार खोज्छन् अब। त्यो जायज पनि हो।
• अहिलेको स्थितिमा के चुनाव सम्भव छ?
यो स्थितिमा त हुँदैन। यो स्थितिमा बजेट त ल्याउन मिल्छ तर चुनाव गराउन मिल्दैन। किनभने कानुनी अड्चन छन्। विपक्षीको कुरै नसुनीकन चुनाव गराउन पनि सकिन्न। उनीहरु आफ्नो हितमा चुनाव हुने भए हुन्छ भन्छन्, नत्र हुन्न भन्छन्। त्यो पनि होला।
• फ्रेस म्यान्डेट त लिनुपर्‍यो नि?
अहिलेको सरकारले पाइरहेको म्यान्डेट ०६२-०६३ को आन्दोलनबाट न हो। अन्तरिम संविधानमा अहिलेको अवस्थाको कल्पनै गरिएको छैन। हामी नेपाली जनताले सडकमा उत्रिएर यो सरकार लेजिटिमेट छैन भनेका छैनांै। त्यो नै यो सरकारका लागि म्यान्डेट भइरहेको छ। हामी भन्थ्यौँ पनि होला। तर आधार र विकल्प छैन। विकल्प हौं भन्नेहरु कराइरहेका पनि छन्। फेरि कुरा त्यही आउँछ यिनीहरू राजनीतिक प्राणी हुन् या होइनन्? हुन् भने चुनाव जस्तो कुरामा त सहमति हुनुपर्‍यो नि। खाली बाबुरामको राजीनामाको अत्तो थापेरमात्र हुँदैन। प्रधानमन्त्री जो भए पनि भयो नि।
• तपाईं जस्ता स्वतन्त्र व्यक्तिहरुलाई चुनावी सरकार गठन गर्न दिए के हुन्छ?
त्यस्तो प्रकारको आवाज जहाँबाट उठेको छ, तिनीहरूको एकमात्र मनसाय भनेको नेपालका राजनीतिक पार्टीहरू फेल भएको घोषणा गर्नुमात्र हो। यो बहुदलीय प्रजातन्त्रको भावनाको खिलाफ हुन्छ। त्यसमा फेरि अनेकन जोखिम छन्। को हो स्वतन्त्र व्यक्ति भनेको? मलाई त माओवादी भन्छन्। स्वतन्त्रै भए पनि तिनीहरू परिवर्तनको पक्षमा छन्/छैनन्? कसले हेर्ने? समग्ररूपमा स्वतन्त्र व्यक्ति ल्याउनुपर्छ भन्ने कुरा उठेको देख्दा कहीँ न कहीँ कसैको स्वार्थ लुकेको जस्तो लाग्छ। यो बिराला र बाँदरको लड्डु बाँड्ने कथा जस्तै हो।
सहयोगी : स्वरूप आचार्य

Thursday, November 22, 2012

भाग्य फुटेका भ्रष्टाचारी - mysansar



विशेष अदालतले आज थप एक जनालाई गैरकानुनी सम्पति आर्जन गरेको भन्दै भ्रष्टाचारी ठहर गरेको छ। चिरन्जीवी वाग्ले, जेपी गुप्ता, खुमबहादुर खड्का, गोविन्दराज जोशी आदि कुख्यात भ्रष्टाचारीको तुलनामा आजका पात्रको कथा अलि फरक छ। भाग्य फुटेर जेल नपर्दै यिनले धेरै दुःख पाइसके। अब भ्रष्टाचारीको दाग, ६६ लाख रुपियाँ बराबरको सम्पति जफत, उति नै रकम जरिवाना र साढे एक वर्ष जेल सजाय पनि भोग्नुपर्नेछ, सर्वोच्चले विशेषकै फैसला सदर गर्‍यो भने।
चार वर्ष रक्षा सचिव भएर २०५६ सालमा रिटायर्ड भएका ७२ वर्षीय बूढा चक्रबन्धु अर्याललाई छातिमा क्यान्सर भएको छ। बाँच्ने- नबाँच्ने दोसाँधमा छन्।
दुई छोरा थिए – सुवास अर्याल र सुदर्शन अर्याल। दुवै जना अहिले उनको साथमा छैनन्। अमेरिकाबाट फर्केका जेठा छोरा सुवासलाई कान्छा छोरा सुदर्शनले हत्या गरिदिए। सुदर्शन अहिले आजीवन कारावासको सजाय भोग्न जेलमा छन्। एक बुहारी विधवा भएकी छिन् भने अर्की एक्लै। कान्छा छोरा जापानमा पीएचडी गर्न जाँदै थिए। भिसा समेत आइसकेको थियो। २१ दिनपछि जाँदै थिए। जेठा छोरा ३४ दिन पछि अमेरिका फर्कँदै थिए। अचानक त्यस्तो भयो। जिल्ला र पुनरावेदन अदालतबाट जिते पनि सर्वोच्च अदालतले कान्छो छोरालाई दाजुको हत्यारा ठहर गर्‍यो र सर्वस्वसहित २० वर्षको जेल सजाय दियो। तीन जना स-साना नातिहरुको पालनपोषण गर्दै बस्नुपरेको छ अहिले।
अर्याल शाखा अधिकृतका रुपमा सरकारी सेवामा २०२२ सालमा प्रवेश गरेका थिए। उनले सिडिओ भई गुल्मीमा ४ वर्ष, मोरङमा ४ वर्ष, झापामा २ वर्ष, सुर्खेतमा १ वर्ष र केन्द्रीय सेवा विभागमा महानिर्देशक भई समेत काम गरेका थिए।
बाँच्ने नबाच्ने दोसाँधमा रहेकाले पनि उनीविरुद्धको अभियोग मानवीय रुपमा खारेज हुनु वा सफाई पाउनु पर्दछ भन्ने समेत वकीलहरुले बहस गरेका थिए।
यसलाई सम्बोधन गर्दै विशेष अदालतले फैसलामा भनेको छ -
प्रतिवादीको पारिवारिक जीवनमा आएको यो विपत्ती प्रति यो अदालत सहानुभूति प्रकट गर्दछ। उहाँमा लागेको रोगबाट शीघ्र स्वास्थ्य लाभ होस् भन्ने पनि कामना गर्दछ।
निजले बहाल रहँदा गरेको कामको सम्बन्धमा यो मुद्दाबाट बोल्न सकिने अवस्था रहेन। यस अदालतमा परेको विवादको सम्बन्धमा मात्र बोल्नु पर्ने हुन्छ। निजमाथि लागेको अकुत सम्पत्तिको अभियोगमा पारिवारिक पीडा र चोटको कारण तथा निजमाथि लागेको क्यान्सर रोग र वृद्धावस्थाको कारणले मात्र यो मुद्दा खारेज हुने वा मुद्दाको कारबाही नै टुंग्याई दिने कानूनी व्यवस्था रहेको पाइदैन। यस अदालतले कानून बमोजिम र मान्य कानूनका सिद्धान्त बमोजिम विवादको निराकरण गर्नु पर्ने हुन्छ। भावनामा आएर, वृद्ध, रोगी वा पारिवारिक पीडालाई हेरेर इन्साफ गर्न यस अदालतलाई विद्यमान कानूनले अधिकार प्रदान गरेको पाइदैन। प्रतिवादीप्रति संवेदनशील हुँदाहुँदै पनि यस मुद्दामा विवादमा आएको स्रोत नखुलेको सम्पत्तिको सम्बन्धमा हिसावकिताबबाट छिनोफानो गर्नु पर्ने भएकाले प्रतिवादीमाथि परेको विपत्तीको कारणले मानवीय आधारमा मात्र मुद्दाको अन्त्य हुने अवस्था देखिन आएन।

पहिले त चोख्खिएका थिए

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध २०६० सालमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। चार वर्षपछि हदम्याद अर्थात् पदबाट अवकाश पाएको एक वर्षभित्र मुद्दा दर्ता नगरेको भन्दै विशेष अदालतले तथ्यभित्र प्रवेशै नगरी यो मुद्दा खारेज गरिदिएको थियो। त्यसविरुद्ध सर्वोच्चमा परेको रिटमा चार वर्षपछि गत पुसमा मुद्दा सुरुदेखि सुनुवाई गर्नु भन्दै फेरि विशेष अदालत फर्काइदिएको थियो। त्यसपछि फेरि वैशाखमा विशेष अदालतमा मुद्दा दायर भएकोमा सात महिनामा यो फैसला आएको हो। यो फैसलाविरुद्ध उनले सर्वोच्चमा पुनः अपील गर्न पाउने छन्। सर्वोच्चको फैसलापछि मात्रै मुद्दाको टुङ्गो लाग्छ।

के के अभियोग थिए ?

वादी नेपाल सरकारको तर्फबाट उपस्थित महान्यायाधिवक्ताको कार्यालयका शाखा अधिकृत श्री राजेन्द्र सिंह भण्डारीले बहस गर्दै यस्ता अभियोग लगाएका थिए-
• जाँच अवधिमा प्रतिवादीको राजधानीको सहरी क्षेत्रमा ८० लाख रुपैयाँमा ३ वटा आधुनिक भवन निर्माण गरेका,
• काठमाडौंमा १५ रोपनी जग्गा खरिद गरेका।
• वैंकमा २० वटा खाता खोलेका,
• प्राइभेट अस्पताल र डनबस्को कलेज लगायतमा ४३ लाख रकमको शेयर लगानी गरेका,
• सम्पत्ति न्यायिक जाँचबुझ आयोगमा अधुरो विवरण पेश गरेका,
• पत्नी र आफ्नो खाताबाट ३४ लाख रकम झिकेर लुकाएका।
• नाता सम्बन्ध नभएका व्यक्तिबाट काठमाडौंमा आफ्नो पत्नीको नाममा ६ रोपनी बढी जग्गा वकसपत्रबाट प्राप्त गरेको देखाएका।
• पुर्खौली सम्पत्तीको जिकिर लिएतापनि २०२२ साल देखि २०३५ साल सम्मको नोकरी अवधिमा कुनै घर जग्गामा लगानी गर्न नसकेबाट पनि पुर्खौली सम्पत्तिको प्रयोग भएको देखिँदैन।
• स्रोत नखुलेको सम्पत्ति २ करोड ६० लाख बढी मूल्यको सम्पत्ति प्रतिवादीले गैरकानूनी रुपले जोडेका

‘खाते हैन खातापिता परिवारको’

प्रतिवादीहरुको तर्फबाट चार अधिवक्ताहरु सुदीप पौडेल, माधवकुमार बस्नेत, हिरा रेग्मी र कृष्णप्रसाद सापकोटाले बहस गर्दै यस्ता तर्क गरेका थिए-
• प्रतिवादी चक्रबन्धु अर्याल स्याङ्जाका हुने खाने जिमिदार अर्याल परिवारका भएको।
• पुर्खौली जग्गा जमीन थुप्रै भएकोमा निजको भागमै धनहर खेत ४७ रोपनी र २८ रोपनी पाखो जग्गा अंशभाग परेको प्रमाणबाट नै देखिन्छ।
• पुर्खौली सम्पत्तिको लरलगानीबाट थुप्रै आयआर्जन हुने गरेको,
• प्रतिवादीका पिता प्यामनारायण जिम्मावाल हुन्। खाते होइनन्, खातापिता परिवारका हुन्। स्याङ्जामा सबभन्दा पहिले बस चलाउने परिवार हुन्। राइस मिल थियो। भ्रष्टाचार गरेर कमाएको होइन। जागीरबाट गरेको आम्दानीले सम्पत्ति जोडेको होइन। पुर्खौली सम्पत्तिबाट चल अचल सम्पत्ति जोडेको हो।
• शाही शासन कालमा पूर्वाग्रह राखेर राजनीतिक उद्देश्यले मुद्दा लगाइएकाले अख्तियारको दुराशयपूर्ण अभियोगलाई खारेज गरिनु पर्दछ। निवृत्त भएपछि आएको नयाँ भ्रष्टाचार निवारण ऐन निजको हकमा आकर्षित नै हुँदैन। हदम्याद बाहिर दर्ता भएको अभियोगपत्र शुरुमा यस अदालतले खारेज गरेको फैसला मिलेको छ।
माधवकुमार बस्नेतले बहस नोटमा यस मुद्दा सम्बन्धी कानूनी र सैद्धान्तिक प्रश्न उठाएका थिए। उनले सर्वोच्च अदालतले गरेको अर्थ र व्याख्या मिलेको छैन, सन्तुलित छैन। त्यस्तो फैसला र अर्थ यस अदालतको लागि बन्धनकारी हुँदैन भन्ने तर्क गरेका थिए। विधिशास्त्रीय आधारमा माथिल्ला अदालतले जे जस्तो फैसला गरे पनि त्यसलाई तल्लो तहको अदालतले मान्नु पर्दछ भन्ने होइन। तहगत रुपमा तल्लोतहको अदालत भए पनि बाध्य हुँदैन। सर्वोच्च अदालतले गरेको फैसलामा नजीरमा हुनु पर्ने गुणहरुको अभाव भएकोले सर्वोच्च अदालतका हरेक फैसलाको पालना यस अदालतले पालना गर्नु पर्ने होइन भन्ने समेत उनले जिकिर लिएका थिए।
तर विशेष अदालतले भनेको छ- संविधानतः अभिलेख अदालतको रुपमा रहेको सर्वोच्च अदालतले सिद्धान्त कायम गरी न्याय निरोपण गरिसकेको अवस्थामा सर्वोच्च अदालत उपरको पुनरावेदन हेरे सरह यस अदालतले हेर्न विद्यमान संविधान, कानून र न्यायिक अनुशासन समेतको आधारमा नहुने भएकाले विद्वान अधिवक्ताले उठाउनु भएका ती प्रश्नमा यस अदालतले व्याख्या गरिरहनु पर्ने देखिन आएन।

आरोपित पक्षले नै प्रमाण पुष्टि गर्नुपर्ने

अख्तियार अहिले सुतेर बसेको छ। अहिले भइरहेका फैसलाहरु सुन्ने हो भने र अख्तियारले यसैगरी मन्त्री भइसकेका नेताहरुलाई मुद्दा लगाउने हो भने थुप्रै जेल जाने अवस्था आउन सक्छ। भ्रष्टाचारको मुद्दा अलि फरक किसिमको मुद्दा हो र यसमा आफ्नो सम्पति वैध हो भनी आफैले प्रमाण जुटाउनु पर्ने हुन्छ। अहिलेका माओवादी,एमाले, कङ्ग्रेसका मन्त्री भइसकेका नेताहरु, सचिवहरु, कर्मचारीहरु त्राहिमाम् हुने अवस्था आउँछ। हेर्नुस् विशेषको आजको फैसलामा के भनिएको छ-
गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दा फौजदारी कसूर अन्तर्गत पर्ने भए पनि अन्य परम्परागत किसिमका फौजदारी कसूरको प्रकृतिभन्दा नितान्त फरक किसिमको रहेको छ। श्वेतग्रीवी भनिने यस प्रकारका कसूरमा अभियोग दावीको प्रकृतिबाटै कसूर गरेको देख्ने प्रत्यक्षदर्शी साक्षी प्रमाण नहुने, कसूर गर्न वा अबैध सम्पत्ति आर्जन गर्न प्रतिवादीले के कस्तो पद्धति अपनाएको थियो भन्ने यकिन गर्न कठीन हुने र प्रतिवादीले यो यस मितिमा कसूर गरेको भनी निश्चयका साथ भन्न नसकिने हुन्छ। अस्वभाविक जीवनशैलीले भरपर्दो बैधानिक स्रोत बिना आधारभूत आवश्यकताभन्दा बाहिर गई सम्पत्तिको सञ्चय, कारोवार र व्यवहार गर्नु, धान्न सक्ने बैधानिक आय स्रोत नभई विश्वास गर्न नसकिने गरी सन्तानको शिक्षा दीक्षामा पर्याप्त र उल्लेख्य खर्च गर्नु, महंगा विलासी सामानहरुको भरपुर प्रयोग गरी विलासीपूर्ण जीवनयापन गर्नु, अस्वभाविक रुपमा दान दातब्य वा खर्च गर्नु आदि जस्ता कुराहरुलाई नै इँगित गर्न खोजेको देखिन्छ। आयस्रोतको तुलनामा सम्पत्ति सम्बन्धी त्यस्ता व्यवहार र क्रियाकलाप अस्वभाविक हुन गएको देखिएमा गैर कानूनी माध्यमबाट सम्पत्ति प्राप्त गरेको भन्ने अनुमान गरिने र त्यसैको आधारमा मुद्दा चलाइने हुँदा यस प्रकारका मुद्दाहरु अन्य सामान्य र परम्परागत फौजदारी मुद्दाको अपवादको रुपमा रहेको हुन्छ। कसूर गरेको देख्ने साक्षीको अभाव, कसूरको पहिचानहीन पद्धति र कसूर गरेको समयको यकिन निर्धारण गर्न नसकिने भएको कारण यस प्रकारका मुद्दाहरुमा प्रतिवादी सार्वजनिक सेवामा प्रवेश गरेको अवधिबाटै निजले आर्जन गरेको सम्पत्तिको मूल्यांकन र त्यस्तो सम्पत्ति आर्जित स्रोतको छानविन गरिने हुँदा आफूले आर्जन गरेको सम्पत्ति बैधानिक स्रोत र बैधानिक प्रक्रियाबाटै आर्जन गरेको हो भनी आरोपित पक्षलेे नै पुष्टि गर्नुपर्ने प्रमाण सम्बन्धी दायित्व पनि प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) ले निर्धारण गरेको देखिन्छ।
आफ्नो सम्पत्तिलाई अवैध भनी अभियोग लगाएकोमा त्यस्तो सम्पत्तिको वैध श्रोत खुलाउने दायित्व अभियुक्तको हुन जान्छ। मानौ फलानो मालपोतको हाकिमले चार वटा घर ठड्याएको छ भनी अभियोग लगाइयो भने यो घर मैले यो आम्दानीबाट बनाएको हुँ भनेर हाकिमले वैध देखाउन सक्नुपर्छ। देखाउन सकिएन भने भ्रष्टाचारी भइन्छ।

अख्तियारको गल्ती

अकुत सम्पतिसम्बन्धी मुद्दाहरुमा अख्तियार एउटा कुरामा सँधै चुक्ने गरेको छ। यसले अनुसन्धान गर्दा मानौँ कुनै एउटा घर छ भने त्यतिबेलाको मोललाई आधार बनाउनु पर्नेमा हालको मोल भन्दै रकम राख्ने गरेको छ। मानौँ कुनै घर अभियुक्तले त्यतिबेला २५ लाखमा किनेको भए र अहिले एक करोड पर्ने भए एक करोडको सम्पति भनी अख्तियारले राख्‍ने गरेको छ। अदालतले भने त्यसलाई मान्यता दिँदैन। ‘सम्पत्ति आर्जन गर्दाको लागत मूल्यका आधारमा सम्पत्तिको मूल्यांकन गरी विगो कायम गर्नु पर्ने’ सिद्धान्तका कारण धेरै मुद्दामा अख्तियार चुकेको छ। तत्कालीन कारोबार गरेको अर्थात् खरिद गरेको वा परल मोललाई मान्यता नदिई मुद्दा चलाउने बेलाको मोललाई हालको मोल भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कायम गरेको मोललाई मान्यता दिन मिल्ने देखिन आएन भन्ने गरिन्छ।
फेरि मुद्दाको फैसला गर्दा घरजग्गा जफत गर्नुपर्ने अवस्था आएमा पनि त्यस्तै हुने हो। २५ लाखको भ्रष्टाचार भएको ठहर भई घर जफत गर्नुपर्ने भए घरको मूल्याङ्कन उतिबेलाको कारोबार २५ लाख कै आधारमा हुन्छ, अहिलेको एक करोड हुँदैन।
त्यसैगरी अर्यालले डन बस्को कलेजमा रु ५ लाखको शेयर लगानी गरेकोमा पछि सो शेयरको मूल्य बढेर २५ लाख पुगेकोमा अभियोग पत्रमा २५ लाख लगानी गरेको भनी विगो दावी लिइएकोमा निजको लगानी ५ लाख मात्र भएकाले प्रतिवादीको लगानी ५ लाख मात्र कायम गरिएको छ।

गोरु बेच्या साइनो नभएकोले दिन्छ राजधानीमा ६ रोपनी जग्गा बकस?

खासमा बकसपत्रबाट प्राप्त सम्पत्ति आयश्रोतबाट नै खरिद गरेको मानिन्छ। बकसपत्रबाट प्राप्त भएको जग्गाको स्रोत पुष्टि गर्न नपर्ने हो। तर बकसपत्र प्राप्त गर्ने कार्य कानूनविपरीत हुँदैन भन्ने कुराको आडमा गैरकानूनी आर्जनलाई लुकाउने माध्यमको रुपमा यस्तो व्यवहारलाई सदैब मान्यता दिइनु पर्दछ भन्ने तर्क न्यायोचित हुन नसक्ने” भन्ने समेत सिद्धान्त प्रतिपादन भएको देखिन्छ। यस मुद्दामा पनि राजधानी जस्तो ठाउँमा एकै पटक ६ रोपनी जग्गा बेसरोकारका व्यक्तिबाट राज्यको प्रमुख जिल्ला अधिकारी वा विशिष्ट श्रेणीको सचिवको पत्नीले वकस पाएको, एक पैसा लगानी नगरेको भनी मान्न मिलेन भन्ने फैसला अदालतले गरेको छ।
कम मोलमा लिखित पास नगर्न निर्देश
अदालतले सम्पतिको लिखित पारित गर्दा ढाँटेर अति न्यून मोल राख्ने गरिएको पाइएको भन्दै त्यसलाई रोक्न कानुनी निर्देश जारी गरेको छ। फैसलामा भनिएको छ-
वकस पाएको र कतिपय खरिद गरेको सम्पत्तिको लिखत पारित गर्दा अति न्यून मोल राखेको देखिन आएतापनि मोलको सम्बन्धमा यस मुद्दाबाट केही बोल्नु उचित देखिन आएन। तथापी जग्गा र घरको मनासिव माफिकको मोल राखेर लिखित पास गर्ने गराउने तर्फ नेपाल सरकारबाट उपयुक्त संयन्त्र निर्माण गरिनु पर्दछ। जग्गाको मनासिव मोल नराखेमा वा घरको तला, सवै तलाको निर्मित वर्गफिट, भूप्रयोग गरेको क्षेत्रफल,सडक र अन्य पूर्वाधार सुविधा सुविधा आदि ढाँटेर अति न्यून मोल राखेर लिखत पारित गरी गराई राजस्व छल्ने प्रवृत्ति र कृयाकलाप प्रति सरकारी पक्ष चनाखो भएर प्रभावकारी कदम चाल्नु पर्ने र उपयुक्त कानूनी प्रावधान राख्ने रखाउने तर्फ नेपाल सरकारको भूमिसुधार तथा व्यवस्था मन्त्रालय, अर्थ मन्त्रालय, मालपोत विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग समेतको ध्यानाकर्षण हुन र उपयुक्त कदम चाल्न ती निकायका नाममा कानूनी निर्देश समेत जारी हुन्छ।
लिखितमा कम मूल्य कायम गरे अप्ठेरो पर्ने उसैलाई हो। जस्तै यो मुद्दामा भयो। लिखतमा कम मूल्य पारी बढी मूल्यमा बेचेको भनी वैंकमा रकम जम्मा भएको देखिन आएतापनि लिखत मूल्यलाई बिक्री मूल्य कायम गरिनु पर्ने भनी सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादन भइरहेकाले त्यस्तो कार्यलाई अदालतले मान्यता दिन सक्दैन।
यस मुद्दामा पनि चक्रबन्धु अर्यालकी पत्नी सीतादेवीको नामको जग्गा विभिन्न ६ व्यक्तिहरुलाइ रु. ११,३५,०००। थैली अंक राखी २०५९।११।२० मा लिखत पारित गरी बकसपत्रबाट विक्री गरेकोमा सोही दिन लाजिम्पाटस्थित एभरेष्ट बैंकमा २२ लाख जम्मा भएको भनी २२ लाख आम्दानी गरेको र पछि सो रकम झिकेर लुकाएको भनी जफत समेतको अभियोग लगाएकोमा जग्गा बिक्रीबाट पारित लिखितमा उल्लेखित रु.११,३५,०००। लाई जग्गा विक्रीको आय मानिएको छ। २२ लाख रु आय गणना हुनु पर्दछ भन्ने प्रतिवादी पक्षको जिकिर र बहस नोटसंग सहमत हुन सकिएन। २२ लाख मै बेचेको भए पनि ८ लाख चानचुन रकम अवैध अर्थात् भ्रष्टाचार गरेकै ठहर भयो।

विदेश भ्रमणको भत्ता बचत हुन्छ ?

विदेश भ्रमणमा जाँदा कर्मचारी, मन्त्रीहरुले निश्चित रकम भत्ता वापत पाउने गर्छन्। उनीहरुले त्यसलाई आम्दानीको रुपमा देखाउने गर्छन्। त्यो रकम त विदेशमा खर्च होला भनी पो राज्यले दिएको हो त। प्राप्त गरेको रकम बचत हुने हो वा होइन भन्ने प्रश्न स्वयंमा विचारणीय भए तापनि विदेश भ्रमण वापत प्राप्त भएको आयमा ३० प्रतिशत खर्च भै जाने हुँदा ७० प्रतिशत मात्र बचत हुने भनी सर्वोच्चले सिद्धान्त कायम गरेको विशेष अदालतको भनाई छ। यो मुद्दामा पनि त्यस्तै गरिएको छ। यदि यस्तै हो भने खर्च नहुने रकमको भत्ता राज्यले किन दिइरहनु पर्ने ? यो विचारणीय पक्ष हो। कसैले सार्वजनिक सरोकारको मुद्दा हाल्दियो भने भत्ता घटाउने आदेश आउन सक्छ है।

घर भाडाको आम्दानी देखाउन प्रमाण चाहिन्छ

अर्यालले साढे ४९ लाख रुपियाँ घरभाडा वापत् आम्दानी गरेको भनेर भने पनि अदालतले त्यसलाई स्वीकार गरेन। सामान्य आय हुने राष्ट्रसेवकद्वारा काठमाडौं लगायत महत्वपूर्ण शहरी क्षेत्रमा एकभन्दा बढी घर निर्माण गरिएको तथा घरहरु भाडामा लगाई उल्लेख्य घरभाडा प्राप्त गरेको जिकिर लिइन्छ भने घरभाडा सम्झौता तथा कर तिरेको प्रमाण दाखिल नभई मौखिक जिकीरलाई मान्यता दिन सकिन्न भन्ने नजिर कायम भइसकेको छ। घर भाडा दावी गर्नेले सम्झौता, कर तिरेको प्रमाण पेश गर्नु पर्नेः मुद्दा फैसला भैसकेपछि पेश गरेको सम्झौताले मान्यता नपाउने सिद्धान्त पनि कायम भइसकेको छ। साढे ४९ लाखमा अदालतले ३ लाख ९० हजारलाई चाहिँ घरभाडाबाट आय भएको मान्यता दिएर यस्तो फैसला गरेको छ-
आफूले ३ वटा घरको भाडा, स्याङ्जाको घडेरी, चितवनको जग्गा र काठमाडौं धापासीको जग्गा भाडामा लगाएर जम्मा रु. ४९,५०,०००। उनान्चास लाख पचासहजार रुपैयाँ आय आर्जन गरेको भनी प्रतिवादीको जिकिर र बहस नोट भएकोमा यी प्रतिवादीले घर जग्गा भाडामा लगाएको भन्ने कुनै सम्झौता भएको नदेखिएको र त्यत्रो पचास लाख रुपैयाँ भाडा प्राप्त गरेको भनी जिकिर लिएकोमा भाडा वापत आय आर्जन गरेको भए नेपाल सरकारको सचिव जस्तो पदाधिकारीले कानून बमोजिम तिर्नु बुझाउनु पर्ने कुनै सरकारी कर तिरेको देखिन आएन। यस्तो अवस्थामा घर भाडालाई प्रतिवादीको जिकिर बमोजिम आय मान्न मिल्ने देखिदैन। तथापी घरको मूल्यांकन गर्न खटाईएको पदाधिकारीको प्रतिवेदनमै काठमाडौं लाजिम्पाटको एउटा घर भाडामा लगाइएको देखिन आएकाले न्यायोचित रुपमा सो घरको भाडा कायम गरी रु. ३,९०,०००। घरभाडाबाट आय भएको कायम गरिएकोछ।

विदेशबाट छोराले ल्याएको रकमको श्रोत खुल्नु पर्ने

विदेशबाट ड्राफ्टबाट पैसा पठाएकोमा पनि श्रोत खुल्नु पर्ने, हातहातै पठाएर नहुने प्रमाणले समर्थन गर्नु पर्ने, विदेशबाट पैसा आएर मात्र नहुने वैध श्रोत समेत खुल्नु पर्ने जस्ता सिद्धान्त कायम भएकोले यस मुद्धामा प्रतिवादी चक्रबन्धु अर्यालले जेठो छोरा सुवास अर्यालले अमेरिकाबाट आफूलाई पटक पटक गरी २० लाख र उसकी आमा (आफ्नी पत्नी)लाई ५ लाख रुपैयाँ गरी २५ लाख उसका साथीहरुको माध्यमबाट पठाएको भनी आय कायम गर्न माग गरेकोमा छोरा अमेरिकामा बसेको र काम गरेको भएतापनि रकम पठाएको कुनै प्रमाण नभएकाले मुखको भरमा आय कायम गर्न मिलेन भन्ने फैसला भएको छ।

यसरी ठहरिए दोषी

प्रतिवादी चक्रबन्धु अर्यालको आय तालिका
जाँच अवधि २०२२।१०।१७ देखि २०६० साल कार्तिकसम्म
१. पारिश्रमिक आय रुपैयाँ १०,३७,७३९।०४
२. विदेश भ्रमण २,३८,५४३।५१
३. सञ्चय कोष २,५८,८०२।५५
४. २०४८ मा अवकाश हुँदा प्राप्त विदा र औषधोपचार रकम ४६,३९९।७२
५. अनिवार्य अवकाश (२०५६ मा हुँदा औषधोपचार र संचित विदा रकम
(रक्षा मन्त्रालयको मिति २०६९।४।२८ को पत्र अनुसार) १,०६,६५३।२०
६. पेन्सन ५,३१,८४५।
७. डनबस्को कलेजबाट चक्रबन्धु अर्यालले प्राप्त गरेको ६,८१,३७८।२०
(प्रतिवादीले ९ लाख प्राप्त गरेको जिकिर लिएपनि प्रमाणको आधारमा
अभियोगपत्रको पृ.४० मा उल्लेख भए अनुसारको रकममात्र प्रदान गरिएको)
८. निर्वाचन भत्ता १५,०००।
९. भ्रमण भत्ता ४५,०००।
(नोटः प्रमाण नभएपनि यस्तो प्रकृतिको रकम कर्मचारीले प्राप्त गर्ने प्रकृतिको भएकोले ७० प्रतिशत बचत मानी आय कायम गरिएको)
१०. प्रतिवादी सुदर्शन अर्यालको अध्यापन आय (युनाइटेड स्टडी सेन्टरको २००३ मे २५ को पत्रानुसारको रकममात्र) ५,०३,५७५।३३
२०५५।५६ को १७,८००।
२०५६।५७ को ६२,७७५।
२०५७।५८ को १,२०,०००।
२०५८।५९ को १,३३,१२०।
२०५९।६० को १,३६,५८७।
०६०।६१ आश्विनसम्म ३३,२९३।३३
११. प्रतिवादी सुदर्शन अर्यालले डनबस्को कलेजबाट प्राप्त गरेको भनी आरोपपत्रको पृ. ४२।४३ मा उल्लेख भए अनुसारको अध्यापन आय रकम रु ४,५५,४७३।
०५६।५७ २,००,५७५।
२०५८।४।९ देखि २०६० जेठसम्म २,५४,८९८।
१२.अमृत साइन्स क्याम्पसमा आंशिक शिक्षकको रुपमा काम गरी प्रतिवादी सुदर्शन अर्यालले गरेको आय (प्रतिवादीले ५ वर्षको आय माग गरेकोमा २०५९।१।१८ को मिसिल संलग्न पत्रानुसार ३४ महिना पढाएको देखिएकाले प्रतिमहिना सरदर ५०००। को दरले हुने रकम १,७०,०००।
१३. कृषि आयः ६,८४,८७५।०३
(प्रतिवादीले विभिन्न वाली लगाई कृषि आय रु ४५,९९,३०६।७० आर्जन गरेको भनी जिकिर लिए पनि सम्मानित सर्वोच्च अदालतले रामाज्ञा चतुर्वेदी प्रतिवादी भएको र त्यसपछिका मुद्दामा प्रतिपादित सिद्धान्तको आधारमा पहाडी भेगको हकमा काठमाडौं उपत्यकामा निर्धारित दरअनुसार कृषि आय गणना गरिएको।
त्यसैगरी फलफूल खेती गरी आय गरेको जिकिर प्रतिवादीको रहे पनि निजको जग्गाको प्रकृतिबाट माग अनुसारको फलफूल खेती गरेको तथ्य प्रमाणित नभएकाले त्यसतर्फ कुनै आय प्रदान गरिएको छैन।)
१४.घर भाडा आय
एउटा घर बनाई आफूसमेत बसी केही भाग भाडामा लगाई गरेको आय आर्जनका हकमा कर तिरेको समेतका प्रमाण खोजी रहन न्यायोचित नभएको भनी सम्मानित श्री सर्वोच्च अदालतबाट प्रतिवादी केशवराज गौतमको मुद्दामा उल्लेख रहेको साथै प्रतिवादीको घरको भाग भाडामा भएको कुरा आयोगबाट भएको मूल्यांकनबाट देखिन आएकोले लाजिम्पाटको एउटा घरको भाडा न्यायसम्मत रुपमा औचित्यता हेरी प्रदान गरिएको छ।
अतः लाजिम्पाट स्थित कि.नं. ५८ को एकनाले घरको २०३६ देखि २०४४ सम्म रु.५०० प्रति महिनाले ९ वर्षको रु ५४,०००। र २०४५ देखि २०५९ सम्म प्रतिमहिना २०००। का दरले हुने रु ३,३६,०००। घर भाडा वापत आय कायम गरिएको -३,९०,०००।
प्रतिवादीले घर भाडामा जम्मा ४९ लाख ५० हजार आय भएको भनी माग गरेको भए तापनि अन्य घरको घर भाडाको हकमा कर तिरेको नदेखिएकाले घर भाडा आय कायम गर्न मिलेन।
१५. जग्गा भाडाः
घडेरी प्रयोजनको लागि भएका जग्गाको भाडाको हकमा ठोस प्रमाणको अभाव रहेबाट आय कायम गर्न मिलेन।
१६. वैंक ब्याजः
निक्षेप वैध भए व्याज स्वतः वैध हुने र निक्षेप अवैध भए ब्याज आय कायम हुन नसक्ने हुनाले बैंक ब्याजलाई आय कायम गर्न मिलेन।
१७. पुर्ख्यौली आय, गोडधुवा, दान दक्षिणा समेत (न्यायोचित आधारमा) १,००,०००।
१८. पैतृक जग्गा विक्री सम्बन्धी प्रमाण पेश हुन नआएको, श्रीमती पी ए बसेको प्रमाण नभएको, सुनबिक्री भएको तर्कसम्मत आधार र प्रमाण प्रस्तुत गर्न नसकेकाले सो वापत आय कायम गर्न मिलेन।
१९. कि.नं.४७० काठमाडौं धापासी ७।ख को १–१५–० जग्गा बिक्री आय ११,३५,०००।
(प्रतिवादीले सो जग्गा विक्री वापत रु. २२ लाख आय भएको जिकिर लिएपनि लिखत हेर्दा ११ लाख ३५ हजारमा मात्र बिक्री भएको देखिएकाले आयोगले २२ लाखमा बिक्री भएको माने पनि लिखत मूल्यलाई मान्यता दिई आय कायम गरिएकोछ।)
२०. छोरा सुवास अर्यालले (अमेरिकाको ग्रीन कार्ड प्राप्त) अमेरिकाबाट पटक पटक गरी २५ लाख पठाएकोमा सो रकम आयमा समावेश हुन पर्ने जिकिर प्रतिवादीको रहेपनि वैंक मार्फत वा यो यस माध्यमले रकम नेपाल आएको भनी कुनै भरपर्दो प्रमाण प्रस्तुत नभएकाले उक्त रकम आयमा गणना गर्न मिलेन।)
प्रतिवादी चक्रबन्धु अर्यालको जम्मा आय रु. ६४,००,३३८।५८
प्रतिवादी चक्रबन्धु अर्यालको खर्च वा सम्पत्तिको तालिका
जाँच अवधि २०२२।१०।१७ देखि २०६० साल कार्तिकसम्म
१. जग्गा खरीद (लिखत मूल्य) रु. ८,४७,४५५।
२. घर निर्माणः
क)तालिका नं. ९.१ (घ) को घर १५,२६,६६३।१५
पहिलो मूल घर ७,०२,५५४।१९
दोस्रा नयाँ ग्यारेज सहितको घर ३,७४,७०५।४६
फर्निचर ६,४२,८०७। को आधा ३,२१,४०३।५०
विद्युतीय सामाग्री (फ्रिज टिभीसमेत १,२८,०००।
ख) तेस्रो घर (तालिका नं. ९. १. ग.) को १२,१६,६२३।०२
ग) चौथो घर धापासीमा २०५२ मा निर्मित घर, ट्वाइलेट,
गार्ड हाउस समेत ११,१८,८५४।६०
३. छोरी सुमित्राको विवाह खर्च (ता.नं १३) १५,०००।
४. छोरा सुदर्शनको विवाह खर्च (ता.नं. १३) २,५०,०००।
५. गाडि खरिद (ता.नं. १२) ६,१७,२११।२८
६. शेयर (ता. नं. ११) २३,०६,६००।
(नोटः डनबस्कोमा रु. ५ लाख मात्र लगानी भएको साथै SBI को शुरु शेयर ६० मात्र भएकोले सो अनुसारकै रकम यो शीर्षकमा समावेश गरिएकोछ।)
७. वैंक मौज्दात (ता .नं. १०) १८,५७,२६१।९८
८. २०६०।२।४ र २०६०।२।५ मा झिकी बेपत्ता बनाएको रकम १२,५०,०००।
(नोटः उक्त रकम भाञ्जा केशव आचार्यसमेतको भएको जिकिर लिएका तर सम्बन्धित व्यक्तिले जम्मा गरेको र प्राप्त गरेको तथ्यसम्मत प्रमाण नभएको)
९. २०५९।१२।११,२०५९।१२।१८,२०६०।२।४ र २०६०।२।५ मा झिकी बेपत्ता
बनाएको रकम १०,४६,०००।
(नोटः प्रतिवादीले रु.२२ लाखमा जग्गा बिक्री गरी सो मध्येबाट रु. २१,८१,०००। उपरोक्त मितिमा झिकी बेपत्ता बनाएको दावी आरोपपत्रमा भएकोमा दावीको जग्गा रु. ११,३५,०००। मा हस्तान्तरण भएको कुरा लिखतबाट देखिएकाले
रु.२१,८१,०००। बाट लिखत म्ूल्य अनुसारको रकम घटाउँदा बाँकी रकम बेपत्ता बनाएको देखिएकोले खर्च कायम गरिएको।)
९. पारिवारिक र घर खर्च ९,५१,२००।
२०२२।१०।१७ देखि २०३४ सम्म १४६ महिना २०० का दरले २९,२००।
२०३५ देखि २०३९ सम्म ६० महिना ४०० का दरले २४,०००।
२०४० देखि २०४४ सम्म ६० महिना १००० का दरले ६०,०००।
२०४५ देखि २०४९ सम्म ६० महिनाको १५०० का दरले ९०,०००।
२०५० देखि २०५४ सम्मम ६० महिनाको ३००० का दरले १,८०,०००।
२०५५ देखि २०५६ सम्म २४ महिना ५००० का दरले १,२०,०००।
२०५७ देखि २०५८ सम्म २४ महिना ८,००० का दरले १,९२,०००।
२०५९ देखि २०६०।७ सम्म १९ महिनाको १३,५०० का दरले २,५६,०००।
(नोट घरखर्च वापत १२ देखि १५ हजार लाग्ने भनी प्रतिवादीले आयोग समक्ष भएको बयानमा लेखाई दिएकोले सो रकमलाई आधार अंक मानी न्यायोचित अनुमानको आधारमा अन्य वर्षको खर्च कायम गरिएको।)
प्रतिवादीको परिवारको जम्मा खर्च रु. १,३०,०२,८६९।०३
प्रतिवादी चक्रबन्धु अर्यालको जम्मा आय रु. ६४,००,३३८।५८
जम्मा सम्पत्ति वा खर्च रु. १,३०,०२,८६९।०३ मा आय रु. ६४,००,३३८।५८ घटाउँदा
रु. ६६,०२,५३०।४५ स्रोत नखुलेको देखिन आयो।
मुद्दाको निचोड ठहरः
अतः माथिको हिसावकिताव र विवेचनाबाट प्रतिवादी चक्रबन्धु अर्याल र निजको परिवारसंग घर, जग्गा, गाडि, शेयर, बैंक ब्यालेन्स लगायत गरी जम्मा रु. १,३०,०२,८६९।०३ बराबरको सम्पत्ति रहेको देखिन आयो।
सो मध्ये स्रोत खुलेको वा प्रतिवादीको वैध आय कायम हुने रु. ६४,००,३३८।५८ बराबरको सम्पत्ति रहेको देखिन आयो।
प्रतिवादीको वैध आम्दानी भन्दा निजसंग रहेको सम्पत्ति रु. ६६,०२,५३०।४५ बढी देखिन आयो। जस्को स्रोत खुलेको नदेखिनाले सो सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिम निजले गैरकानूनी रुपमा भ्रष्टाचार गरेर आर्जन गरेको ठहर्छ।
सो ठहरेकाले सोही ऐनको दफा २०(२) बमोजिम कैद वर्ष १ (एक) हुन्छ। निज नेपाल सरकारको सचिव जस्तो विशिष्ट श्रेणीको पदाधिकारी भएकाले ऐनको दफा २४ बमोजिम थप सजाय कैद महिना ६ (छ) समेत गरी जम्मा कैद १ वर्ष ६ महिना (एक वर्ष छ महिना) र विगो बमोजिम रु. ६६,०२,५३०।४५ जरिवाना हुने समेत ठहर्छ।
के के सम्पति जफत भए ?
बिगो रु. ६६,०२,५३०।४५ बराबरको सम्पत्ति जफत हुने भएकोले बिगो वापत आरोपपत्र पत्रमा खुलाइए अनुसार
तालिका नं. ९, १ (ग) मा उल्लेखित कामनपा २२ घ कि.नं. ५८ हाल वडानं. २ कि.नं. ११ क्षेत्रफल १–१–०–० एक रोपनी एक आना जग्गामा बनेको घर, ग्यारेज, ट्वाइलेट समेतको रु. १२,१६,६२३।०२ मूल्यांकन भएको घर
र ऐं तालिका नं. ९. १ (घ) मा उल्लेखित कामनपा वडा नं. २२ कि.नं. ५८ हाल वडा नं. २ कि.न.. ११ मा नै बनेको घर र नयाँ ग्यारेज सहित मूल्यांकित रु १५,२६,६६३।१५ र मोल रु. २,०००। मूल्यांकित उक्त कि.नं.११ को ससीम जग्गा समेत रु २७,४५,२८६।१७ मूल्यांकन भएको घर र जग्गा समेत।
शेयर लगानीको रु २३,०६,६००।
अभियोग पत्रको तालिका नं..१० मा उल्लेख भएको बैंक निक्षेपबाट रु. १५,५०,६४४।२८ समेत गरी विगो रु. ६६,०२,५३०।४५ को सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति समेत ऐ. ऐनको दफा २०(२) बमोजिम जफत हुने ठहर्छ।
अन्य कुरामा नेपाल सरकारको अभियोग दावी पुग्न नसक्ने ठहर्छ। सो ठहर्नाले अरुमा तपसील बमोजिम गर्नु।
अध्यक्ष माननीय न्यायाधीश श्री गौरीबहादुर कार्की
सदस्य माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
सदस्य माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे

Wednesday, November 21, 2012

विवाहमा समेत ‘विधान’ उल्लंघन पण्डित सुधार्न सम्मेलनको तयारी -onlinekhabar

६ मंसिर, काठमाडौं । मंसिरको यो बेला विवाहको तयारीमा लाग्नुभएको छ भने पण्डित, पुरोहितबाट चनाखो हुनुहोला । तपाईंको दबाबमा उनीहरुले जथाभावी विवाह गराइदिए भने तपाईंको दाम्पत्य जीवनमा ठूलो असर पर्न सक्छ ।
मंसिरमा १४, १५, २०, २२ र २३ गते मात्र विवाहको लगन छ । १४ गते दिउँसो र राति, १५ गते दिउँसो, १० गते राति, २२ गते दिउँसो र राति तथा २३ गते दिउँसोको लागि मात्र विवाहको उपयुक्त समय छ । शास्त्रले तोकेको विधान र नियम मान्ने हो यी दिन र त्यो दिनमा पनि निश्चित समय बाहेक अरु बेला विवाह गर्न हुँदैन । तर हिजोआज हाम्रा पण्डित, पुरोहितहरुले जुनसुकै दिन र समयमा पनि विवाहको लगन निकाल्न थालेका छन् ।
गाउँठाउँका पण्डित, पुरोहितहरुले जथाभावी विवाह गरेर भद्रगोल अवस्था उत्पन्न गराएको भन्दै धर्म गुरुहरु हैरान भएका छन् । जथाभावी विवाह गराउने त्यस्ता पण्डित, पुरोहितहरुलाई सपार्न धर्म गुरुहरुले बृहत सम्मेलन गर्ने सोचाई समेत बनाएका छन् ।
के गरे पण्डितहरुले ?
धर्मशास्त्रका विद्वानहरुका अनुसार गाउँठाउँमा न्यायाधीशको रुपमा काम गर्ने पण्डित, पुरोहितहरुले विवाहको लगन र समयलाई लत्याउन थालेका छन् । ‘हामीले ग्रह, नक्षत्र र शास्त्रका धेरै कुराहरुको हिसाब गरेर विवाहको लगन निकालेका हुन्छौं’ नेपाल पञ्चांग निणर्ायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले अनलाइनखबरसित भन्नुभयो-’तर कसैको आग्रहमा पुरोहितहरुले मनलाग्दी रुपमा जथाभावी लगन निकालेर विवाह गर्ने प्रवृत्ति बढेको छ ।’ उहाँका अनुसार यस्ता पुरोहित, पण्डितहरुले धर्मशास्त्र र विधान विपरीत काम गरेका छन् । ‘शास्त्र र विधानले हुँदैन भनेको कुरालाई त मान्नुपर्यो नि’ ढुंगेलले भन्नुभयो-’पण्डितहरुकै कारण विवाहको संस्कार, परम्परा र मान्यता खलबलिन पुगेको छ ।’
हतारमा विवाह गर्नुपर्यो पुरोहितसँग सल्लाह गरेर लगन नभएको बेलामा पनि साइत जुराउने चलन हिजोआज हृवात्तै बढेको छ । विवाहको लागि निशेध गरिएको कात्तिक र चैतमा समेत हिजोआज विवाह हुन्छ । मायाप्रेम, विदेश जाने हतारो या अरु कुनै कारणले केटाकेटी तथा अभिभावकले गाउँठाउँका पण्डितसँग विवाहको बारेमा सल्लाह गर्छन् । लौ लगन भन्दा पहिल्यै या त्यो भन्दा पछि गर्नुपर्यो भनेर दबाब दिन्छन् । पुरोहितहरुले पनि यसो पात्रो पल्टाएजसो गर्छन् । लौ न त यो दिन मिल्ने रहेछ भनेर तर्क गर्छन् । अनि लगन नभएको दिन पनि विवाह हुन्छ । यो परिपाटी विस्तारै बढ्दै जाँदा हिजोआज विवाहको लागि लगन पर्खनेहरुको संख्या घट्दै गएको छ ।
यसरी निकालिन्छ लगन
धर्म गुरुहरुका अनुसार मंसिर, माघ, फागुन, बैशाख, जेठ र असार मात्र विवाहको लागि उचित महिना हो । यी महिनामा पनि सबै दिन विवाह गर्न सकिन्न । ग्रह, नक्षत्र र धर्मशास्त्रका अरु धेरै हिसाब गर्नुपर्छ । ‘२७ वटा नक्षत्र मध्ये ११ वटामा मात्र विवाह गर्न हुन्छ’ ढुंगेलले भन्नुभयो-’यस्ता धेरै हिसाब गरेर लगन निकाल्न हामीहरुलाई झण्डै १५ दिन मेहनत गर्नुपर्छ ।’
उहाँका अनुसार पात्रो निकाल्ने बेला नेपाल पञ्चांग निणर्ायक समितिका सदस्य र पात्रो तयार पार्ने अरु पण्डितहरुले छुट्टाछुट्टै बसेर आआफ्नो ढंगले लगन हिसाब गर्छन् । यसरी हिसाब गरेर लगन निकाल्न एकजनालाई झण्डै दुई दिन लाग्छ । १० जनाले छुट्टाछुट्टै बसेर तयार पारेको लगनलाई एक ठाउँमा राखेर हेरिन्छ । सबैकोमा सबै लगन मिलेको छ भने उतिखेरै पारित हुन्छ । तर छुट्टाछुट्टै भयो भने फेरि सामुहिक बसेर साझा दिनको टुंगो लगाइन्छ । यसरी छुट्टाछुट्टै र सामुहिक रुपमा बसेर तयार भएको लगन पारित गरेर पात्रोमा लेख्ने काम हुन्छ ।
‘यसरी हामीले धेरै मेहनत र आपसी छलफल गरेर लगन निकालेका हुन्छौं, तर यसको उल्लंघन गर्ने काम भैरहेको छ’ ढुंगेलले भन्नुभयो । शास्त्रले दिउँसो १२ बजेदेखि साँझसम्म विवाह गर्न हुँदैन भनेको छ । तर हिजोआज यही समयमा बढी विवाह हुन्छ । ‘जन्ती ढिलो पुगेको, नभ्याएको भनेर लगनको दिन पनि समयको ख्याल गरिएको हुँदैन’ ढुंगेलले भन्नुभयो-’लगनमा, त्यो पनि समयमै विवाह गर्नेहरु निकै नगण्य मात्रै छन् ।’
जथाभावी गर्दाको असर
धर्मगुरुहरुका अनुसार लगन र समयको ख्याल नगरी विवाह गर्दा दम्पत्ती, घरपरिवार र समाजमा नकारात्मक असर परिरहेको छ । तर यसमा कसैले ख्याल गरेको हुँदैन । ‘विवाह हुने बित्तिकै कसैको मृत्यु भयो या छिटै सम्बन्ध विच्छेद भयो भने मात्र मान्छे झल्याँस्स हुन्छन्, तर कालान्तरमा हुने असरको चाहिँ ख्याल गर्दैनन्’ पञ्चांग निणर्ायक समितिका सदस्य सचिव ढुंगेलले भन्नुभयो । उहाँका अनुसार दम्पत्तीबीच मनमुटाब, पारिवारिक कलह, सन्तान प्राप्तीमा दोष, स्वास्थ्यमा समस्या लगायतका असरहरु बढ्दै गएका छन् । ‘विवाह जस्तो महत्वपूर्ण कुरामा अरु विषयजस्तै लगन र समयको महत्व निकै छ भन्ने कुरा बुझ्न जरुरी छ’ ढुंगेलले भन्नुभयो ।
पण्डित सम्मेलनको तयारी
विवाह लगायतका धर्मशास्त्रका धेरै कुरामा विकृति, विसंगति फैलिन थालेको भन्दै धर्मगुरुहरुले बृहत पण्डित सम्मेलनको तयारी गरेका छन् । ‘देशभर काजकर्म, संस्कार र धार्मिक कार्यलाई एकरुपता ल्याउने हिसाबले हामीले सम्मेलन गर्ने सोच बनाएका हौं’ नेपाल पञ्चांग निणर्ायक समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले अनलाइनखबरसित भन्नुभयो-’ गाउँका न्यायधीश मानिने पुरोहितहरुले जथाभावी गर्न थालेपछि अब सुधार नगरी नहुने भएको छ ।’
समिति र धर्मसभा नेपालको आयोजनामा हुने सम्मेलनमा देशभरका पण्डित, पुरोहित प्रतिनिधिहरुलाई सहभागी गराउने लक्ष्य लिएको ढुंगेलले जानकारी दिनुभयो । उहाँका अनुसार चैतसम्ममा सम्मेलन गर्ने तयारी छ ।

Monday, November 19, 2012

को प्रभावशाली ?, अमेरिकी मिचेल कि चिनियाँ पेङ ? - निर्मल श्रेष्ठ - ekantipur


हङकङ, मंसिर ४ - विश्वका दुई मुख्य आर्थिक महाशक्ति राष्ट्रका प्रथम महिलामध्ये को बढी प्रभावशाली होलान् ? अमेरिकी मिचेल ओबामा कि चिनियाँ पेङ लियुआन ? विश्लेषकहरूले बहस छेडिसकेका छन् ।
मिचेल विश्व जगत्मा यसअघि नै परिचित रहेकाले सञ्चारमाध्यमका ध्यान यतिबेला समकक्षी पेङमाथि केन्द्रित छ । अमेरिका र चीनले करिब एक साताको फरकमा मुलुकको नेतृत्व चयन गरे । बाराक ओबामाले राष्ट्रपतिका रूपमा आफ्नो दोस्रो कार्यकाल सुरु गरिसके । भावी राष्ट्रपतिका पक्का उम्मेदवार सीले चार महिनापछि सत्ता सम्हाल्दै छन् । तर यतिञ्जेलसम्म पनि सर्वसाधारणमाझ सीका तुलनामा पत्नी पेङ नै अधिक चर्चित रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
४९ वर्षीय पेङ प्रसिद्ध चिनियाँ लोकगायिका तथा मोडल हुन् । सुन्दरता, मञ्चमा उपस्थित हुँदाको कला र उच्च सार्वजनिक छविलाई नेताका श्रीमतीमा हुनुपर्ने आवश्यकीय गुण बताउँदै विश्लेषकहरूले उनी शक्तिशाली प्रथम चिनियाँ महिला बन्न सक्ने दाबी गरेका छन् । सन् १९८० को दसकमा लोकसंगीतमा स्नातकोत्तर गर्ने पहिलो चिनियाँ महिला हुन् पेङ । विश्व स्वास्थ्य संगठनले गतवर्ष उनलाई क्षयरोग तथा एचआईभी एड्स जागरण अभियानको सद्भावना राजदूत नियुक्त गरेको थियो । विभिन्न सामाजिक क्रियाकलापमा संलग्न रहेर यिनले उच्च तहमा रहेका चिनियाँ महिलाहरू घरबाट ननिस्कने परम्परालाई तोडेकी छन् ।
करिब ५० मुलुकमा सांगीतिक प्रस्तुति दिइसकेकी पेङ १८ वर्षमै चिनियाँ जनमुक्ति सेना -पीएलए) प्रवेश गरेकी मेजर जनरल हुन् । सन् १९२७ मा स्थापित पीएलए करिब तीस लाख सदस्य रहेको विश्वकै ठूलो सैन्य दल हो । गायिका तथा मोडल पेङलाई पश्चिमा सञ्चारमाध्यमहरूले पूर्वप|mान्सेली प्रथम महिला कार्ला ब्रुर्नीसँग पनि दाँजेका छन् । पूर्वराष्ट्रपति निकोलस सार्कोजीकी पत्नी ब्रुनी चर्चित गायिका तथा मोडल थिइन् । 'के चीनमा पनि अन्तमा कार्ला ब्रुनी सार्कोजी युग नै आएको हो त ?' न्युयोर्क टाइम्सले शनिबार प्रकाशित एक लेखमा प्रश्न गरेको छ ।
रेनमिन विश्वविद्यालय बेइजिङका प्राध्यापक झ्याङ मिङले चिनियाँ समाजमा भावी राष्ट्रपतिको सार्वजनिक छवि उकास्न पत्नी पेङले गतिलो योगदान पुर्‍याएको बताए । 'मलाई आशा छ उनको व्यक्तित्वले चीनमा पहिलो महिलाका सबै कुरा गोप्य हुनुपर्छ भन्ने रुढिवादी परम्परालाई परिवर्तन गर्नेछ,' प्राध्यापक झ्याङको भनाइ उद्धृत गर्दै हङकङबाट प्रकाशित अंग्रेजी दैनिक साउथ चाइना मोर्निङ पोस्टले लेखेको छ । चिनियाँ फेसन म्यागजिन आइलुककी प्रकाशक हङ ह्वाङले चीनमा महिला रोल मोडलको खाँचो उनले टार्ने बताएकी छन् । 'चीनले उनीजस्ती महिला पाउनु अत्यन्तै सकारात्मक हो,' ह्वाङले कल्पना गर्न आग्रह गर्दै भनिन्, 'तपाईं सोच्नुस् त, यदि उनी मिचेल ओबामाजस्तो हुन सकिन् भने ।'
तर चीनको संस्कार अन्य पश्चिमा मुलुकभन्दा धेरै भिन्न रहेकाले उनलाई अघि बढ्न सजिलो नरहेको प्राध्यापक झ्याङको बुझाइ छ । 'आधा आकाशमा महिलाको पकड छ,' माओत्सेतुङको यो भनाइ चिनियाँ समाजमा निकै चर्चित रहे पनि व्यवहारमा भने लागू हुन नसकेको चीनलाई आरोप छ । चिनियाँ कम्युनिस्ट पार्टी -सीपीसी) को १८ औं राष्ट्रिय कंग्रेसले लिउ यानदोङलाई वर्तमान पोलिटब्युरो स्थायी कमिटीमा समेटेर अहिलेसम्मको इतिहासमै महिला सहभागिता नरहेको परम्परा तोड्ने अधिकांश्ाको अनुमान थियो । तर नेतृत्वले उनलाई केन्द्रीय कमिटीमै सीमित राखेकाले चिनियाँ समाज अझै महिलाप्रति विश्वस्त हुन नसकेको ठम्याइ छ ।
पेङलाई भने चिनियाँ क्रान्तिका नायक माओत्सेतुङकी तेस्रो पत्नी जियाङ किङपछिको सबैभन्दा प्रभावशाली उच्च चिनियाँ महिला बताइएको छ । चलचित्र अभिनेत्रीसमेत रहेकी उनले सांस्कृतिक क्रान्ति सफल पार्न ठूलो योगदान पुर्‍याएको उल्लेख छ । माओ सत्तामा रहँदा भने जियाङले छुट्टै कट्टरपन्थी राजनीतिक गठबन्धन 'ग्याङ अफ फोर' मार्फत राज्यका महत्त्वपूर्ण निकायमा नियन्त्रण जमाएकी थिइन् । माओको मृत्युपछि चिनियाँ सत्तामा आएका हुवा गुफेङ सरकारले राज्यशक्ति पूर्ण नियन्त्रणमा लिने प्रयासमा प्रतिक्रान्तिकारी समूह सञ्चालन गरेको आरोप लगाउँदै जियाङलाई जन्मकैदको सजाय सुनाएको थियो । सन् १९९१ मा उनले आत्महत्या गरेकी थिइन् । त्यसयता शीर्ष चिनियाँ नेताहरूले प्रथम महिलालाई अत्यन्तै कम मात्र सार्वजनिक समारोहमा उपस्थित गराउने अघोषित परम्परा बसालेका छन् ।
सार्वजनिक समारोहहरूमा निकै कम मात्र उपस्थिति जनाएका राष्ट्रपति हु जिन्ताओ पत्नी लिउ योङकिङ र पूर्ववर्ती जियाङ जेमिन पत्नी वाङ येपिङलाई सञ्चारमाध्यमले 'अदृश्य तथा शान्त प्रथम महिला' को पगरी गुथाएका छन् । 'यदि कसैले यो परम्परा तोड्न सक्छ भने पेङ नै एक मात्र योग्य महिला हुनेछिन्,' प्राध्यापक झ्याङले भनेका छन् ।
आफ्नो प्रतिभाका कारण पहिले नै लाखौं प्रशंसक बनाइसकेकी पेङलाई सीले यसअघिका प्रथम महिलाजस्तो सार्वजनिक नगराइने चिनियाँ परम्पराबाट मुक्त गर्ने अनुमान छ । प्रान्तीय राजधानी फुजाउमा सी पार्टी सचिव रहँदा पत्नीको सार्वजनिक सक्रियताले उनको छवि उकास्न राम्रो सहयोग पुगेको थियो । अमेरिका जस्तो सशक्त प्रथम महिला कहिल्यै पाउन नसकेको चिनियाँ अभाव पेङले पूर्ति गर्नेसमेत विश्लेषकहरूको दाबी छ ।
पेङले सन् २००७ मा पति सी स्थायी पोलिटब्युरो सदस्यमा चुनिएपछि सार्वजनिक समारोहमा सहभागिता कम गरेकी छन् । चीनको उत्तरपूर्वी सानडोङ प्राप्तमा जन्मिएकी उनको सन् १९८७ मा सीसँग विवाह भएको हो । यिनका एकमात्र छोरी सी मिङ्झे हाल अमेरिकास्थित हार्भड विश्वविद्यालयमा अध्ययन गर्छिन् । महासचिव सी चिनियाँ केन्द्रीय सैन्य दलका समेत अध्यक्ष हुन् ।

Sunday, November 18, 2012

श्रीमानबिनाका ६,७२३ रात - सुरज कुँवर - ekantipur


feature
काठमाडौ, मंसिर २ - जापानी महिलाको बलात्कारपछि हत्याको निराधार अभियोगमा १५ वर्ष जेलमा बिताउँदा इलाम गोलाखर्कका गोविन्द मैनालीलाई भएको पीडाको लेखाजोखा गर्न सकिँदैन । उनको अनुपस्थितिमा यता इलाममा मैनाली परिवारको पीडाको पनि लेखाजोखा गर्न कठिनै छ । मैनाली जेल जानुअघि बिताएका तीन वर्षसहित १८ वर्षको अवधिमा उनकी तरूनी पत्नी राधाले भोगेको पीडाको पनि लेखाजोखा गर्न सकिँदैन । १७ वर्षको उमेरमा बिहे गरेकी राधाका पति गोविन्द बिहेको दुई वर्षपछि जापान जान इच्छुक भए । दोस्रो विश्वयुद्धमा अमेरिकासँग हारेको जापानको हिरोसिमा र नागासाकी हेर्ने र धन कमाउने उद्देश्य साँचेर २०५० माघमा गोविन्द जापान उडेपछि राधा मैनालीका ६ हजार ७ सय २३ रात कसरी बिते उनकै भाषामा:
उहाँ जापान जान बिदावारी भइरहेका बेला म गोलाखर्कस्थित घरकै शयनकोठामा सुँकसुँक गर्दै रुँदै थिएँ । माघको महिना थियो । जेठी छोरीको मुखबाट 'बा-बा' शब्द फुटेको मात्रै थियो । कान्छी ६ महिनाकी थिई । त्यसताका जेठीले रुँदै बाबा भनी बालसुलभ शैलीमा बाटो छेकिन् ।  उहाँले बलपूर्वक नानीका दुवै हात गलाबाट छुटाई हातमा थुकेर जापान जान इलामबाट काठमाडौंका लागि बस चढेको धुमिल सम्झना ताजै छ । 
उता पुगेपछि टेलिफोन र चिठीमार्फत तीन वर्ष हाम्रो  बरोबर खबर आदानप्रदान भइरह्यो । तर, एकदिन हाम्रो घरमा दुःखद समाचार पुग्यो । 'जापानी महिलाको हत्यामा संलग्नको आरोपमा अनुसन्धानका लागि' प्रहरीले उहाँलाई पक्राउ गरेको खबर काठमाडौंबाट टेलिफोनमार्फत सुनियो । आकाश खसेजस्तो लाग्यो । घरमा रुवाबासी भयो । 'धत् ! उहाँका हातबाट यस्तो हुनै सक्दैन,' मनले भन्यो । किनकि उहाँसँग मेरो बाल्यकालदेखिको चिनजान, पारिवारिक साइनो, त्यसपछि स्कुले जीवनमा गाँसिएको प्रेम सम्बन्ध र त्यसपछि बनेको 'श्रीमान्/श्रीमती' को साइनोबाट मैले उहाँको आदत बुझ्ने मौका पाइसकेकी थिएँ । यिनै कारण मलाई उहाँबाट त्यस्तो अपराध हुने विश्वास लागेन । 
तर पनि, मन बेचैनी हुन थाल्यो । मेरो मन इलाममै अडिएन । हरपल चासो जापानतिरै जान थाल्यो । अहिलेजस्तो छिटोछिटो सूचना पाइँदैनथ्यो । केही महिनापछि  हामीलाई जोड्ने माध्यम बन्यो चिठी । उहाँको १५ वर्ष जेल बसाइमा ५० थानजति चिठी लेखियो होला ।
स्कुल पढ्दा परीक्षामा 'चिठी लेख्ने' प्रश्न खुबै आउँथ्यो । मलाई भने चिठी लेख्न जाँगर चल्दैनथ्यो । एक/दुईपटक प्रेमपत्र लेखेको बाहेक मसँग चिठी लेखेको अनुभव थिएन । दुई छोरी, सासू/ससुरालाई खुवाई-चुठाई सकेपछि जब म ओछ्यानमा पुग्थेँ, सुत्न सक्दिनथेँ । कलम र कापी समातेर चिठी लेख्न थालिहाल्थेँ, 'मेरो हृदयको देउता ! मेरो दिलका राजा, म हजुरकी अर्धाङ्गिनी राधाका तर्फबाट प्रणाम । हामी घरपरिवार यहाँ सन्चै छौं । आशा छ, हजुर पनि आरामै हुनुहुन्छ होला । हजुरको कल्याणका लागि म श्री पशुपतिनाथसँग कामना गरिरहेकी छु...!' लेख्न बाँकी केही हुँदैनथ्यो । खेती के लगाएँ । धान कहिले रोप्ने । मकै कति पाथी भो । गाउँमा को मर्‍यो । सारा चिठीमा अटाउँथे । पत्र कोरेको रात निद्रा लाग्दैनथ्यो । छेउमा छोरीहरू सुतिरहेका हुन्थे । उहाँसँगै खाएका, डुलेका, हाँसखेल गरेका सम्झनाका पत्र एकएक गरी आँखामा नाच्थे अनि मेरा आँखाबाट आँसु झर्थे । सारीको फेरोले आँसु पुछ्दै अर्को हत्केलाले छोरीहरूका निधार सुम्सुम्याउँदै भन्थेँ, 'अभागी मोरीहरू, कठै ! बाउबिनाका हुने भए !'
उहाँ जेल परेपछि समाजमा मेराबारे कुरा काटेको सुन्न थालेँ । ढाडसको दाँजोमा धेरै नसुन्नुपर्ने घिनलाग्दा कुरा सुनिन थाले । तर मलाई उहाँले चिठीमा उद्धृत गर्ने 'गीताका सार' ले ढाडस दिइरहन्थ्यो । उहाँले जेलबाट लेखेका पत्रमा निराशा र चिन्ता हुँदैनथ्यो । उपदेश हुन्थे । तिनले मलाई सासू, ससुरा र छोरीहरूको ख्यालमा लगनशील हुन आत्मबल दियो । उहाँले पत्रमा धेरैपटक महाभारतमा जूवा हारेर वनबास भासिएका युधिष्ठिरलाई ऋषिले सुनाएको नल राजा र उनकी सुन्दरी रानी दमयन्तीको कथा लेखेर पठाउनुभयो जहाँ 'वनबास गएका बेला दमयन्ती कसरी पतिव्रतामै रहिन् र बिछोडको प्रेम प्रसंग' बारे कथा छ ।
उहाँको सम्झना आउनेबित्तिकै पुराना चिठी खोल्थेँ । नयाँ चिठी नआउन्जेलसम्म पुरानै चिठी दोहोर्‍याइ- तेहोर्‍याई पढिरहन्थेँ । सामलतुमलको जोहो गर्न इलाम बजार जाँदा हुलाकघर पसिहाल्थेँ । जापानबाट चिठी आए हल्काराले कसै न कसैका हातमा पठाइदिन्थे । हाम्रा गाउँबाट इलाम बजार गएकाहरू बेलुका घर फर्किंदा 'यिनीहरूका हातमा चिठी आयो होला कि ?,' भन्ने आशामा गाउँलेहरू बारीका डिलमा ओर्लिरहेको हेर्दै टोलाइरहन्थेँ । उहाँले लेखेका पत्रमा धेरै बेडरुमभित्रका र प्रेमका कुरा हुन्थे । म पनि लेख्थेँ, 'गैरीमा बिझेका काँडाहरू यी आँखाले हेर्न सक्दिनँ, मनमा लागेका कुराहरू यी पत्रमा कोरेर सक्दिनँ' यो सायरी धेरै चिठीमा दोहोर्‍याएँ । वास्तवमा हाम्रो बिहे भएपछि 'लभ' पर्‍यो । 
चिठी टुंग्याउन मनै लाग्दैनथ्यो । मध्यरातको प्रहर सकिएर आकाशमा सप्तऋषिका ताँती देखिने बेला भइसक्थ्यो । म लेख्थँे, 'हवस् त आजलाई यति नै । हजुरकै यादमा रात कट्न लागिसक्यो । बाँकी भेट अर्को पत्रमा ।
उही हजुरकी अर्धाङ्गिनी राधा गोलाखर्क इलाम ।'
उहाँ जेल परेपछि मलाई चाडबाड किन आउँछन् जस्तो लाग्न थाल्यो । तीज आउँथ्यो । साथीसंगी रातै भई व्रत बस्थे । पतिसँगै मन्दिर जान्थे । म'नि सोच्थेँ, 'मेरो श्रीमान्'नि साथमा भैदिए गोडा धुन्थेँ, पानी खान्थेँ ।' जोडी बाँधेर हिँडेको देख्ता मेरा दिन कहिले आउलान् हुन्थ्यो । परिवारभित्रै नाचगान चल्थ्यो । सकभर भाग लिन्नथेँ । गइहाले टुलुटुलु हेर्थेँ । उहाँ काराबास भएपछि नाच्ने उमंग र हौसला आएन । स्कुले जीवनमा नाचगानमा रुचि नभएको पनि होइन ।
बिहेपछिका दुई वर्ष राम्ररी बस्न पाइएन । किनकि छोरीहरू साना थिए । अधिक समय नानी हुर्काउनमै बित्यो । अब श्रीमान् हँदा र नहुँदाको भेद छुट्याउन सक्ने अनुभव बढेको छ । कसैले श्रीमान्को महत्त्वबारे सोधे जति पनि बोल्न सक्ने भएकी छु । कुरा काट्नेहरूलाई देख्दा 'मेरो श्रीमान् एकदिन आउँछन्, त्यसपछि यिनीहरूलाई बताउनेछु' हुन्थ्यो ।
इलाममा हुदाँ रेडियोले किन मार्मिक गीत बजाउँछ जस्तो लाग्थ्यो । प्रेम सम्बन्ध वा पति/पत्नीबारेका कार्यक्रमले पनि मन रोइहाल्थ्यो । 'पर्खाइमा भिज्यो सिरानी र चिठ्ठी तिम्लाई लेखुँ भन्थेँ' गीतले मलाई धेरैपटक रुवाएको छ । तर छोरीहरूलाई आँसु कहिल्यै देखाइनँ ।
चाडबाड आउँदा जहिल्यै मेरो घरमा रुवाबासी चल्थ्यो । बुबाको मुख हेर्ने औंसी र स्कुलमा हुने 'प्यारेन्स डे' मा  छोरीहरू 'मम्मी हाम्रो बाबा खोइ ?' भनी उहाँको खोजी गर्थे । दसैंमा छिमेकीहरूले साना नानीको हात समातेर नयाँ कपडा किनिदिन लगेका बेला पनि छोरीहरू बुबा खोज्थे । सुरुका दिनमा धेरै कुरा ढाकछोप गरेँ । तर एकदिन ठूली छोरीले स्कुलमा उहाँ जोडिएको घटनाबारे साथीहरूबाट थाहा पाई । त्यसबेला ऊ २ मा पढ्थी । कुनचाहिं साथीले 'तिम्रो बुबा जेलमा परेको छ हगि' भनी सुनाएपछि ऊ रुँदै-रुँदै घर आई । त्यो नै जेठी छोरीले बाउबारे थाहा पाएको पहिलो स्मरण थियो । अलि राम्ररी दुवै छोरीले ४/५ कक्षा पढ्न थालेपछि थाहा पाए । किनकि त्यसबेला जापानबाट धेरै पत्रकार हाम्रो अवस्थाबारे समाचार लेख्न इलाम पुगिसकेका थिए ।
उहाँसँग छुट्टएिको आठ वर्षपछि म जापान जाने निश्चित भयो । काठमाडौंबाट उडेपछि कतिबेला जापान ओर्लिएर उहाँलाई न्यानो स्पर्श गरौंला भयो । तर मेरो सपना त्यतिबेला टुट्यो, जब उहाँ र मेरो स्पर्शरहित संवाद भयो । सिसाको बार भएको त्यहाँ शारीरिक स्पर्शबिना एकअर्काका कुरा सुन्यौं मात्रै । उहाँ जेलभित्र र म जेलबाहिर । बीचमा बाक्लो ठूलो सिसाको पर्खाल । बस ! यतिमै चित्त बुझाउनुपर्‍यो । त्यसबेला एक महिना जापान बस्नुपरेको थियो । तर मलाई नेपाल फर्किन मनै लागेन । मैले पत्रकार सम्मेलनमा भनिदिएँ, 'तिमीहरू निर्दोष मान्छेलाई जेल हाल्दारहेछौ, म पनि निर्दोष छु, जेल पठाइदेऊ ।' १० वर्षपछि छोरीहरूलाई जापान लगेँ । त्यसबेला छोरीहरू हुर्किसकेका थिए । उहाँले जेठीलाई कान्छी, कान्छीलाई जेठी बनाउनुभो । त्यो मेरो तेस्रो खेप थियो । त्यसअघि सासूलाई जापान लगिसकेकी थिएँ ।
श्रीमान् जेल परेपछि मात्रै काठमाडौं आउजाउ बढ्यो । मेरो स्मरणमा अहिले पनि एउटा सम्झना ताजै छ । इलामबाट आउँदा राजमार्गमा हामी चढेको बस अघिल्तिर गुडिरहेका सवारीसाधनको पछाडि 'नदीकिनारको रूखमुनि शिर झुकाई प्रेमीलाई कुरिरहेकी प्रेमिकाको चित्र खुबै चर्चित थियो । म ठान्थँे, कठै बिचरी ! त्यो पनि मजस्ती अभागी  रहिछे । उता इलाम चियाबगान डुल्ने बढी जोडी नै हुन्थे । तिनलाई देखेर म गम्थँे, 'यिनीहरूले किन प्रेम गरेका होलान् ? किनकि प्रेम बिहे सफल नै हुँदैनन् । मेरो भएन । यिनीहरूको पनि छुट्ने पो हो कि ?
चिठी आदानप्रदान गर्दा धेरै फोटाहरू पठाइयो । त्यसमा धेरैजसो मेरो र छोरीहरूकै हुन्थे । उहाँ पनि मेरो र छोरीहरूको फोटो बढी माग्नुहुन्थ्यो ।
मसँग उहाँ जेल पर्नुअघिका फोटा थिए । १८ वर्षको अवधिमा मेरो ओछ्यानबाट उहाँका फोटा कहिल्यै छुटेनन् । दुईवटा फोटो सिरानीसँगै राख्न कहिल्यै छाडिनँ । फोटोको उद्देश्य सपनामा भेट होस् भन्ने हुन्थ्यो । म अक्सर सपनामा धेरैजसो उहाँलाई देख्थेँ, तर जहिल्यै टाढा- टाढा मात्र । उहाँ पारि डाँडामा एक्लै कुदिरहेको, म वारि डाँडामा । उहाँले बोलाउने, म कुद्दै जाने, तर छोप्नै नसक्ने । यस्तै सपना मात्रै बढी देखिए । १५ वर्षको जेल बसाइ अवधिमा १० पटक जापान ओहोर-दोहोर गरेँ । कहिल्यै स्पर्श गर्न पाइनँ ।
१५ वर्षपछि यसपालि असार १ गते मात्रै उहाँलाई स्पर्श गर्ने मौका पाएँ, त्यो पनि जापानमा होइन, जहाजमा । त्यहाँको कारागार प्रशासनले उहाँलाई एयरपोर्टबाट सोझै जहाजभित्र राखेपछि मात्रै छुन पाएँ । मेरा हातले कताकता स्पर्श गरे, थाहा छैन । किनकि त्यसबेला मेरो होसै थिएन । जापानबाट उडेको जहाज ६ घन्टापछि बैङ्कक पुग्दा पनि उहाँको हात समाती नै रहेँ । त्यो क्षण अहिले पनि सपनाजस्तो लाग्छ । तर बैङ्ककको १३ घन्टाको ट्रान्जिटमा उहाँलाई त्यहाँको अध्यागमनले अलग्गै राख्यो । सँगै बस्न पाइनँ । काठमाडौं ओर्लिएपछि मात्रै सोचेँ, अब हाम्रा चिठी लेख्ने दिन सकिए । अब रातो सारीमा छड्के तिलहरी हालेर तीजको व्रत बस्छु ।
हात समातेर घुम्छु । (धोको मेटाउन राधाले यसपालि तीजमा व्रत बसी पतिसँग फोटोसेसन गरिन: हेर्नुहोस् तस्बिर)  
यसपटक उहाँ काठमाडौं ओर्लिंदा हाम्रो बसाइ इलामबाट काठमाडौं सरिसकेको थियो । उहाँ जापान गएपछि जहिल्यै मेरो ओछ्यानमा छोरीहरूको साथ हुन्थ्यो । कहिल्यै एक्लै सुतिनँ । उहाँ फर्किएपछि छोरीहरूको साथ यसपटक  काठमाडौंमा टुट्यो । उहाँ मेरो ओछ्यानमा आएको रात 'पाहुना' जस्तो कस्तो अर्कै महसुस भयो । त्यस रात हामी दुवैलाई निद्रै लागेन । ओछ्यानमा ढल्किए पनि हामी दुवै बिहानसम्म गफमै डुबिरह्यौं ।