Friday, July 6, 2012

प्राध्यापक केसी अनशनमा - ekantipur

 अतुल मिश्र

काठमाडौ, असार २२ - त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगन्जका रिक्त पदाधिकारी नियुक्ति लगायतका तीन सूत्रीय मागसहित बिहीबार दिउँसोदेखि प्राडा गोविन्द केसी आमरण अनशनमा बसेका छन् ।
प्राडा केसीको माग पदाधिकारी नियुक्ति राजनीतिक भागबण्डाका आधारमा नभई योग्यता, वरिष्ठता दृष्टि भएका व्यक्तिबाट प्रतिस्पर्धात्मक र पारदर्शी आधारमा हुनुपर्ने रहेको छ । प्राडा केसीले माग पूरा नभए आमरण अनशन बस्ने जनाउँदै आएका थिए ।
शिक्षण अस्पताल हाडजोर्नी विभागका केसीले तीन सूत्रीय मागअन्तर्गत धाँधली, भ्रष्टाचार, अनियमितता र पदको दुरुपयोगमा दोषी पाएका संस्थानका हाल पदमुक्त डिन लगायतका उच्च पदाधिकारीलाई कारबाहीसँगै पुनः नियुक्तिका लागि अयोग्य ठहर गर्नुपर्ने माग गरेका छन् । यस्तै त्रिविका उपकुलपति लगायतका जिम्मेवार पदाधिकारीको राजीनामासमेत माग गरेका छन् ।
'त्रिवि अन्तर्गतको अध्ययन संस्थानहरू र आंगिक क्याम्पसहरूमा पदाधिकारीहरू भागबण्डामा चयन गर्ने राजनैतिक दलहरू र यसका स्थानीय संयन्त्रको नग्न नृत्य भइरहेको छ,' आफ्नो अनशन बस्ने कारण जनाउँदै केसीले भने, 'अहिलेका यस संस्थानका (छुट्टीमा बसेको नाटक गर्ने) काम चलाउ डिन डा. अरुण सायमी तथा अरू पदाधिकारीहरूलाई टिकाइ राख्ने/पुनःनियुक्ति दिने अथवा राजनैतिक भागबण्डाबाटै पदाधिकारीको चयन गर्ने षड्यन्त्र रचेको प्रस्ट भएपछि पूर्वघोषित कार्यक्रमअनुसार अनशनमा बसेको छु ।'
करिब नौ महिनादेखि संस्थानका डिन, ३ सहायक डिन, क्याम्पस चिफ, सहायक क्याम्पस चिफ लगायतका पद रिक्त छन् । शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. विमल सिन्हाले केसी आमरण अनशनमा बसेकाले सरकारलाई तुरुन्त निर्णय गरेर अस्पतालको सेवा प्रभावित हुन नदिन पाइला चाल्नुपर्ने बताए । संस्थानका प्याथोलोजी विभागका सहप्राध्यापक डा. अभिमन्यू झाले भने, 'धेरैअघि देखि उहाँ विकृति विसंगतिविरुद्घ आमरण अनशन बस्ने भन्दै आउनुभएकामा यसलाई हटाउने विभिन्न आश्वासनले गर्दा उहाँ पर्खनुभएको थियो ।'
'सरकारले चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठ, इमानदार र सक्षम पदाधिकारीको अविलम्ब नियुक्ति गर्नुपर्छ,' नेपाल चिकित्सक संघका अध्यक्ष डा. किरण श्रेष्ठले भने, 'हाम्रो कुरा सरकारले मानेन भने साता पछि हडतालमा जाने छौं ।' डा. श्रेष्ठले सरकारमा बस्नेहरू संवेदनशील नभएकाले हडतालमा उत्रनुपर्ने स्थिति आएको बताए । यसअघि त्रिवि शिक्षण अस्पतालमा कार्यरत चिकित्सकहरूले असार ११ गतेदेखि अस्पतालको सबै बहिरंग सेवा बन्द गर्ने तथा अनशन लगायतका आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिसकेका थिए ।