Wednesday, July 25, 2012

"राजु बस्नेत आफैँले बलात्कार गरे" - samabad


-हिमाल शर्मा
(३० जेठ, ०६३ मा रिहा भएलगत्तै अखिल (क्रान्तिकारी) का तत्कालीन नेता हिमाल शर्मासँग प्रमिला देवकोटाले लिएको अन्तर्वार्ता जुन लन्डनबाट प्रकाशन हुने 'युरोपको नेपालीपत्र’मा प्रकाशित भएको थियो । यसले भैरवनाथ गण र राजु बस्नेतको वास्तविकता बुझ्न प्रधानमन्त्रीलाई सहयोग गर्ला भन्ने अपेक्षा छ । सं.)
तपाईं कहिले गिरफ्तार हुनुभयो ?
०६० साल कात्तिक ३ गते । कर्णेल राजु बस्नेत स्वयंले मलाई गिरफ्तार गरेका हुन् ।
भैरवनाथ गणबाट जिउँदै कसरी र्फकनुभयो ?
म मर्न नलेखेर बाँचेको व्यक्ति रहेछु । बाँच्छुजस्तो लाग्ने त कुरै थिएन । मेरै आखा अगाडि हाम्रा साथी तथा कार्यकर्तालाई निकै यातनापछि मारियो र त्यहीँ गाडियो । हामी हाम्रै साथीको चिहानमाथि राखिएका थियौँ । अहिले त्यो गण सम्झँदा सपनाजस्तो लाग्छ ।
भैरवनाथ गणमा बन्दीहरूमाथि निकै निकृष्ट व्यवहार भएको आरोप छ । यो सत्य हो ?
मलाई गिरफ्तार गरी सीधै महाराजगन्जस्थित भैरवनाथ गणमा लगियो । त्यहाँ पहिलादेखि नै हाम्रा साथीहरू ज्ञानेन्द्र त्रिपाठी, दीपेन्द्र पन्तलगायतलाई राखिएको रहेछ । धेरै महिला साथी पनि थिए । सबैलाई आँखामा पट्टी थिए र हात पछाडि बाँधिएका थिए। तिनीहरूमा रेवकला तिवारी, कौशला पोखरेल, रेनुका दुलाल, दुर्गा विसंखेलगायत थिए । उनीहरूले हामीबाट धेरै जानकारी लिन र आत्मसमर्पण गराउन यातनाका विभिन्न विधि अपनाए । हामी आस्थाबाट विचलित नभएपछि यातना थपिँदै गयो । पानीमा डुबाउने, करेन्ट लगाउने, हिटरमा पिसाब फेर्न लगाउने, सिस्नोपानी लगाउने, पत्तीले चिरेर नुन लगाउनेजस्ता यातना त सामान्य थिए ।
सैनिकहरू मुख्य गरी अधिकृतहरू महिला बन्दीमाथि बलात्कारलाई आफ्नो हक मान्दा रहेछन् । ०६० मंसिरको अन्तिम हप्तातिरको कुरा हो । वाइबा नाम गरेकी एकजना महिलालाई तेह्रजना सैनिकले बलात्कार गरेको मैले आफ्नै आँखाले देखेँ । त्यसमा कर्नेल राजु बस्नेत पनि थिए । उनी मलाई राखिएको ठाउँभन्दा पाँच मिटर मात्र टाढा थिइन् । वाइबाको आठ महिनाको गर्भ थियो । उनले 'पहिले बच्चा  जन्माउन देऊ, त्यसपछि चाहेको गर' भनेर गर्नुसम्म हारगुहार गरिन् । यति हुँदाहुँदै पनि सैनिकहरूले 'हामी अहिल्यै जन्माइदिन्छौ' भन्दै बलात्कार गरिरहे । नभन्दै दुई घन्टापछि एउटा मरेको बच्चा जन्मेछ । छोरी रहिछ । ती महिलाको यातनाका कारण भोलिपल्टै मृत्यु भयो । त्यसपछि कर्नेल बस्नेत आएर 'जहाँ मरेकी छ त्यही खाल्डो खनेर पुरिदे, कसैले केही गर्ने वाला छैन' भन्दै गए । र, ती महिलालाई त्यही पुरियो । हामीलाई पनि साङ्लोमा बाँधिएको थियो  र पछाडिबाट हात बाँधिएको थियो । अरूवेला  हाम्रो आँखामा पट्टी बाँधे पनि यातना दिने समयमा भने खोलिन्थ्यो, आतंकित पार्न । उनीहरूले १५, १६ वर्षदेखि ६० वर्षसम्मका महिलालाई पनि छाडेनन् ।
खानपान कस्तो थियो ?
के-को खान पाउनु ? त्यहाँको चलन नै यातनाका नयाँ-नयाँ तरिका अपनाउने र मार्ने रहेछ । हाम्रा तीनजना साथी भोकले मरे । १८ घन्टामा एकपटक चिया गिलासको एक गिलास फुको भात खान दिइन्थ्यो । त्यही पनि पछि खान नदिएर साथीहरू छट्पटाइरहेका थिए । बैसठ्ठी वर्षका खड्कबहादुर बुढा भन्ने हुनुहुन्थ्यो । उहाँले मैले दूध र पाउरोटी खान पाए हुन्थ्यो भन्दै हुनुहुन्थ्यो । त्यतिवेलै मेजर आएर कुट्नसम्म कुटे । 'खालास् दूध-पाउरोटी, तँलाई हामी भोकै मार्छौ' भनी कुटे । उहाँ त्यहीँ मर्नुभयो । पदमनारायण नहर्कीको पनि खानै नपाएर मृत्यु भयो । किरण रायमाझीको कुटाइबाट भएको घाउ पाकेर पिपैपिप कुण्ड भएको थियो । उनी पनि त्यो घाउको पीडा र खानै नपाएर मरे । केही नलागेर हामीलाई यतिसम्म गर्न लगाए कि त्यस्तो घटना मानव इतिहासमा बिरलै होला ।
एकजना हाम्रै कार्यकर्ता रेवकला तिवारी र भवनाथ धमलालाई त्यहीँ राखिएको थियो । उनीहरू हामीलाई निकृष्टभन्दा निकृष्ट यातना दिएर मनोरञ्जन लिन चाहन्थे । रेवकला र भवनाथ श्रीमान् श्रीमती थिए । उनीहरूलाई नांगै बनाइयो र त्यही हाम्रा अगाडि शारीरिक सम्पर्क गर भनी आदेश दिइयो । उनीहरूले भिडियो क्यामरा ल्याएका थिए, त्यो दृश्य खिच्नलाई । त्यो पनि हुन सकेन र
रेवकलालाई एकातिर लगेर रेप गरियो भवनाथलाई कुट्नसम्म कुटियो । त्यसपछि तत्कालै हामी सबैलाई नांगै पारियो । महिला बन्दी र पुरुष बन्दी दुवैलाई नांगै पारेर 'ल तिमीहरूले बलात्कार गर' भनी हामी पुरुषलाई आदेश दिइयो । तर, त्यो पनि सम्भव हुने कुरै थिएन । त्यसपछि सबै महिलालाई लाइन लगाएर सेनाले बलात्कार गरे । महिला साथीहरूले बरु हामीलाई मार, गोली हान भनेर कराएको सुनिन्थ्यो । हामीलाई एउटा हलमा राखिएको थियो । नामबाट कसैलाई पनि बोलाइँदैनथ्यो । जबसम्म महिला आत्मसमर्पण गर्दिन बलात्कार गर्नु भनेर माथिबाट आदेश आएका हुन्थे । हामीले किन यसो गर्छौ भनी सोध्दा 'पिट्नभन्दा यही ठीक छ नि' भन्थे ।

तपाईं त मारिएको हल्ला थियो, बाहिर ?
०६० साल पुस ५ गते राति साढे १० बजेतिर एउटा ठूलो ट्रक आयो । त्यसमा हामी सबैलाई राखियो । तिमीहरूलाई कुन ठाउँमा मर्न मन छ भन भनेर सोधियो । हामी केहीलाई बाँच्न लेखेको रहेछ । माथिबाट के आदेश आएछ कुन्नि, 'तिमीहरूको पालो भोलि' भन्दै बिना मगर, कृष्ण केसी र मलाई हलमा लगेर राखियो । सायद त्यतिवेला लगेर मारेका भए हामी मरिसक्थ्यौं। त्यही घटनापश्चात् हामी मारियौँ भन्ने हल्ला फिजिएको हुन सक्छ । तर, हाम्रा अन्य साथी रेवकला तिवारी, भवनाथ घमला, निश्चल नकर्मी, ज्ञानेन्द्र त्रिपाठी, रेनुका दुलाल, दुर्गा विसंखे, गोकुल निरौला, भीम महर्जनलगायतलाई हाम्रै आँखासामुन्ने त्यो ट्रकमा राखिएको हो । र, त्यहाँबाट गएका हाम्रा अन्य साथी अहिलेसम्म फर्केका छैनन् । पछि हामीले त्यहाँबाट फर्केका सैनिक जवानबाट पाएको जानकारीअनुसार शिवपुरीमा उनीहरूलाई मारेर पुर्न पहिला नै खाल्डो तयार पारिएको रहेछ । त्यहाँ गोली हान्ने समयमा सैनिक जवानहरू आतंकित भएर  भागाभाग गरेछन् । पछि,  कर्नेल  राजु बस्नेत, विवेक विष्ट, इन्दीवरसमसेर राणाले हाम्रा सबै साथीलाई गोली हानेर मारेछन् र पुरेछन् । त्यो कुरा त्यहाँबाट आएका सैनिकले नै हामीलाई  बताए ।
त्यसपछि मार्ने प्रयास गरिएन ?
यातानाका क्रियाकलाप त यथावत् नै थिए । ५ पुसपछि धेरै ठाउँबाट हामीलाई खोजीनीति गर्न थालियो । त्यहाँ राखिएको छ भन्ने भइसकेपछि मिडियाले मलाई फलो गर्‍यो । त्यसपछि उनीहरूले मलाई मारिहाल्न सकेनन् । केही समयपछि पर्खेर मार्ने विचारमा उनीहरू थिए ।
भैरवनाथ गणमा कति बस्नुभयो ?
सत्ताइस महिना । हामीहरू त्यहाँ एक घन्टा होसमा हुन्थ्यौँ र तेइस घन्टा बेहोसीमा । हामीलाई अठार घन्टामा एकपटक खान दिइन्थ्यो, एक चिया गिलास भात । हामीलाई दिइएको यातनाको पीडा त हुन्थ्यो नै त्यसमाथि भोक । हामी खाना खाएर भाडा मोल्न जाँदा त्यहाँ खसेका जुठो टिपेर खान झगडा पर्थ्यो। यस्तो घटना त हिटलरले पनि यहुदीमाथि गरेको थिएन होला । हामी पीडाले गर्दा 'बरु गोली हानीदिए हुन्थ्यो' भन्थ्यौँ । सत्ताइस महिनापछि मलाई  सर्बोच्चले रिहा गर्न आग्रह दियो । तर, लगत्तै मलाई त्यहाँबाट पनि पक्राउ गरियो र अन्य झुटा मुद्दा लगाएर नख्खु कारागारमा लगियो ।
नख्खु जेलमा पनि यातना दिइन्थ्यो ?
यातना त दिइन्थ्यो, तर भैरवनाथ गणभन्दा त्यहाँ धेरै होलो थियो ।