Tuesday, July 31, 2012

मधुमेहको जटिलता - ekantipur

डा. केदार कर्माचार्य

artical लगभग ६ दशकदेखि स्वास्थ्योपचार क्षेत्रमा संलग्न भइरहँदा मधुमेहको समस्याबाट पीडित अधिकांश रोगीहरूमध्ये कतिपय हृदयाघात, मस्तिष्कघात, डायबेटिजकामा (मूच्र्छा), डायबेटिक रेटिनोप्याटी (अन्धोपन), किड्नीफेलर (मृगौलाको कार्यक्षमतामा ह्रास) आदि जटिलताबाट समेत ग्रसित भई बहुमूल्य ज्यान नै गुमाइरहेका सन्दर्भमा सचेतनाका लागि पाठकवर्गमा अत्यावश्यक बुँदाहरू पस्कन लागिपरेको छु । २०६७ को तथ्यांकअनुसार २० लाख नेपाली मधुमेह (चिनीरोग) बाट ग्रसित रहेकामा यसको संख्या क्रमशः प्रत्येक वर्ष बढ्दै छ । यो रोग प्रायःजसो ४०-५० वर्ष उमेरका मानिसमा देखा पर्छ र उमेर बढ्नुका साथै विभिन्न प्रकारको समस्या स्वास्थ्यमा क्रमशः बढ्दै जान्छ । रगतमा चिनीको मात्रा बढ्नु तथा पिसाबमा चिनीको उपस्थिति हुनु प्रधान लक्षणका रूपमा मधुमेह रोगमा मानिन्छ । प्याङ्क्रियाज -अग्न्याशय) को कोषबाट उत्पादन हुने इन्सुलिनको मात्रा शरीरमा घट्दा रगतमा ग्लुकोजको मात्रा बढी हुन थाल्छ । एकाबिहानै खाली पेटमा रगतमा ग्लुकोजको मात्रा १०० मिग्रा सामान्य मानिन्छ । यो स्तरभन्दा बढी हुनुको अवस्थालाई हाइपरग्लाइसेमिया अर्थात् डाइबेटिज मेलिटस भनिन्छ भने कम हुँदाको अवस्थालाई हाइपोग्लाइसेमिया भनिन्छ । यो रोग वंशानुगत पनि हुनुका साथै अन्य कतिपय कारणले सुविधासम्पन्न परिवारका मानिसमा तीव्र रूपले आक्रान्त पारेको पाइन्छ । विश्वका सबै समुदाय तथा लिंगका व्यक्तिहरू यसबाट पीडित भए पनि तुलनात्मक रूपले पुरुषभन्दा महिला बढी ग्रसित हुने हुन्छ । जुम्ल्याहा सन्तानसमेत समान रूपले पीडित हुने हुन्छ ।
कारण- शरीरमा इन्सुलिनको उत्पादन प्याङ्क्रियाज ग्रन्थिले गर्छ तर कारणवश पर्याप्त मात्रामा उत्पादन नहुँदा रगतमा चिनीको मात्रा बढ्दै जान्छ । वंशानुगत आमा र बाबु ग्रसित हुँदा सन्तानहरू पनि यो समस्याबाट पीडित हुने हुन्छ । बढी खाने र बढी आराम गर्नेको अनुपातमा शारीरिक श्रम कम गर्नेको शरीरमा बोसो जम्मा भई मोटो हुन्छ । इन्सुलिन उत्पादनमा ह्रास हुँदा मधुमेहको लक्षण देखा पर्छ । तीव्र सहरीकरणका कारण खानपान र जीवनशैलीमा परिवर्तन, शारीरिक श्रमको कमी, फास्ट र जंक फुडको प्रयोग तथा कोकाकोला आदि पेयपदार्थको सेवन आदि कारक तत्त्व हुन् ।
लक्षण- दिउँसोको अनुपातमा विशेष गरी राति बारम्बार पिसाब लाग्नु, पिसाब गरेको ठाउँमा कमिलाहरू थुपि्रनु, जिब्रो सुख्खा हुनु, छाला चिलाउनु, खुट्टा झमझमाउनु बढी तिर्खा र भोक लाग्नु, दुब्लो हुँदै वजन क्रमशः घट्नु, आँखाले धमिलो देख्नु, नियमित काम गर्दा अल्छी लाग्नु, कमजोरी र थकानको अनुभूति हुनु, चोटपटक लाग्दा छिटो निको नहुनु, सेक्सुअल इम्पोटेन्सी (नपुसकता) आदि हुन् ।
जटिलता- रोगको निदान भइसकेपछि यथाशीघ्र उचित उपचार अभावमा क्याटारपाक्ट (मोतिबिन्दु), डायबेटिक रेटिनोपैथी -आँखाको पर्दामा खराबी) हुँदा शीघ्र उचित उपचार अभावमा अन्धोपन हुने हुन्छ । उच्च रक्तचाप, हृदयाघाट, पक्षाघात हुने, पिसाबमा बढी प्रोटिनको प्रवाह हुँदा अनुहार सुन्निने र कमजोरी हुने, मृगौलाको कार्यक्षमतामा ह्रास आउने, स्मरणशक्तिमा ह्रास हुने, डायबेटिक कोमा (अचेत) हुने हुन्छ ।
रोकथाम- कार्बाेहाइड्रेट अर्थात् ग्लुकोज भएको र बढी चिल्लो नखाने, परिश्रमको अनुपातमा सन्तुलित खानपान गर्दै क्यालोरीमा ध्यान पुर्‍याई मोटोपन घटाउँदै वजन कम गर्ने, शारीरिक श्रमले रगतमा ग्लुकोजको स्तरमा कमी ल्याउनुका साथै यसलाई उपयोग गर्ने क्षमता प्रदान गर्छ, रगत र पिसाब परीक्षण गराई लक्षण देख्नासाथ उपचार गराउनुपर्छ, चोटपटक र घाउ लाग्नेबाट जोगिनुपर्छ, मकै, गहुँ, चना वा फापरको रोटी, करेला, मेथी, जामुन आदि नियमित खाँदा फाइदाजनक हुन्छ । आलु, तरुल, पिँडालु, रक्सी, चुरोट आदि प्रयोग नगर्नु नै हितकर हुन्छ । चिल्लोरहित मासु, माछा, सागसब्जी खाने तर भुटे-तारेको र गुलियो कम खाने ।
सतर्कता- रगतमा ग्लुकोजको स्तर कम हुँदा हाइपोग्लाइसेमिया (अचेत) भएमा तत्कालै चिनी वा अन्य गुलियो मुखमा राख्नाले चुतना पुनः आउने हुन्छ, रोगीले गोजीमा चकलेट वा अन्य गुलियो चिज राख्नुपर्छ, डायरीमा म चिनीरोगबाट पीडित छु भनेर उल्लेख गर्नुपर्छ, किड्नी फङ्क्सन परीक्षण गराई क्रियटिनाइनको स्तर बढी हुँदा यथाशीघ्र सम्बन्धित रोग विशेषसँग सम्पर्क राखेर आवश्यक प्रक्रिया अपनाउनु हितकर हुन्छ ।
रगत, रक्तचाप, मुटु, मृगौला, आँखा आदिको नियमित परीक्षण गराउने, घरबाहिर जाँदाआउँदा सवारी प्रयोग गर्दा अकस्मात् ब्रेक लगाउँदा कमजोर हाड भाँच्चिन सक्ने हुनाले पैदल हिँड्नु नै फाइदा हुन्छ । -स्मरणीय छ मृगौलालाई स्वस्थ राख्नका लागि मधुमेह नियन्त्रण अत्यावश्यक छ । मधुमेह रोग निको नहुने तर सन्तुलित आहारका साथै सामान्य जीवनशैली अपनाएर औषधोपचार गरिएमा रोगी धेरै वर्षसम्म बाँच्न सक्छ ।)
लेखक ६ दशकभन्दा लामो समयदेखि स्वास्थ्योपचार क्षेत्रमा संलग्न छन् ।

प्रचण्डले भारत विरोधीहरुको मुकाविला गरे - onlinekhabar


–पीके हर्मिस
काठमाडौं उपत्यकामा वैशाख महिनामा वर्षाका देवता रातो मच्छेन्द्रनाथको जात्रा हुने गर्छ । सन् २००९ मा मच्छेन्द्रनाथ जात्राका बेला रथ पल्टियो । बुढापाकाहरुका अनुसार यसरी रथ पल्टिनु अनिष्टको सूचक हो । हुनपनि त्यो वर्ष नेपालका लागि अनिष्टकारक नै रह्यो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन सेना प्रमुख रुक्मांगत कटवाललाई बर्खास्त गरे, तर अन्त्यमा उनी आफैले राजीनामा दिनुपर्यो जसका कारण नेपालको राजनीतिको घडि कम्तिमा तिन वर्ष पछाडि धकेलियो, संविधान निर्माणको दिशामा ।
यो वर्षको मच्छेन्द्रनाथको यात्रामा भने त्यस्तो कुनै दुर्घटना भएन । तर जात्राका बेला काठमाण्डौको आकाशमा मडारिरहेको बादल पनि अनिष्टको सूचक हो भन्नेहरु धेरै छन् । हुनपनि जात्रा चलिरहकै बेला गएको मे २८ मा संविधानसभा विघठन भयो । सर्वोच्चको फैसला अनुसार संविधान सभा संविधान लेख्ने काम नगरिकनै विघठन भयो । विपक्षी दलहरुले आउँदो नोभेम्बर २२ का लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराइले तोकेको चुनावको तिथि अप्रजातान्त्रिक तथा असंवैधानिक भएको आरोप लगाएका छन् । तर, भट्टराइले भने चुनाव नै आफ्नो एकमात्र विकल्प भएको र त्यो सर्वोच्चको गतवर्षको आदेश अनुसार नै भएको दाबी गर्छन् ।
प्रधानमन्त्री भट्टराइले के लेखाजोखा गरेका थिए भने यदि चुनाव भयो भने उनको पार्टी फेरी सत्तामा आउनेछ, किनकी उनको पार्टीलाई जनजाति र मधेशीको समर्थन मिल्नेछ । तर उनको पार्टी एकीकृत नेकपा माओवादी जुन २२ मा अविश्वसनीय रुपमा फुट्यो । मोहन वैद्य तथा सीपी गजुरेलको समूहले प्रचण्ड र बाबुरामले सन् २००५ देखि लिएको कार्यदिशा गलत भएको भन्दै माउ पार्टी छाड्यो । स्मरण रहोस्, माओवादी शान्ति प्रक्रियामा आउँदाको उक्त समयमा गजुरेल तथा वैद्य भारतीय जेलमा थिए, जसका कारण उनीहरुले नेपालमा भएको आन्तरिक पार्टी छलफल तथा बहुदलीय प्रजातन्त्रमा जाने माओवादी पार्टीको ऐतिहासिक निर्णय लगायतका प्रक्रियामा सहभागी हुन पाएनन् । वास्तवमा त्यतिबेला प्रचण्ड र बाबुरामले नेपालका प्रजातान्त्रिक समूहसँग सहमति गर्दा वैद्य र गजुरेलको सकुसल रिहाइ ग्यारेन्टी गरिनुपर्ने सर्त राखेका थिए ।
वैद्य समूहको नेकपा माओवादीले आफुलाई भारत विरोधीका रुपमा उभ्याउनु आश्चर्यजनक कुरा होइन । यो पार्टी चुनावको पनि विपक्षमा छ र यसले संविधानसभाको औचित्य नै देखेको छैन । यो पार्टीले सबै पक्षको गोलमेच सम्मेलनबाट एक संवैधानिक समिति बनाउने र त्यसैले संविधान लेख्नुपर्ने बताएको छ । नेकपा-माओवादीका नेताहरु राजावादीको चंगुलमा परेको चर्चा समेत चल्ने गरेको छ । उता नेपाली कंग्रेस र नेकपा एमालेले पनि विभिन्न राष्ट्रिय मुद्दामा आफुलाई वैद्य समूहतिरै उभ्याउन बाध्य भएका छन् ।
माओवादी फुटेर बनेको नयाँ पार्टीको शक्तिको लेखाजोखा अहिल्यै गर्नु हतार होला । तर यो फुटले एकिकृत माओवादीको शक्ति भने अवश्य घटाएको छ । एकीकृत नेकपा माओवादी अझैपनि सबैभन्दा ठूलो पार्टी हुने सम्भावना छ तरपनि नयाँ संसदमा यसको आयतन भने अवश्य घट्नेछ । मधेशी र जनजातिको समर्थन माओवादीका लागि सकारात्मक छ, तरपनि मधेशी पार्टीमा आएको फुट यो गठबन्धनका लागि सुखद कुरा होइन । एकीकृत नेकपा माओवादीको नेतृत्वले हालैको विस्तारित बैठकमा पनि निकै कठिनाइ झेल्नुपर्यो । माओवादीका पूर्व लडाकुहरुले लडाकु सिविरका पूर्व कमाण्डरहरुले रकम हिनामिना गरेको भन्दै कारवाहीको माग गरे । प्रचण्डमाथि पनि विलासी बनेको आरोप लाग्यो जसका कारण उनले आफु बस्दै आएको सुविधासम्पन्न घर त्याग्ने घोषणा गरे । तरपनि प्रचण्ड र बाबुरामले अन्त्यमा परिस्थितिलाई आफ्नो नियन्त्रणमा राख्न सफल भए ।
आफ्नो पार्टी विभाजन भएपछि प्रधानमन्त्रीले संविधानसभा पुनस्र्थापना हुन सक्ने संभावनालाई अस्विकार गरेका छैनन् । निर्वाचन आयोगले नयाँ चुनाव गर्नका लागि भएका व्यवहारिक कठिनालाईलाई हटाउन अन्तरिम संविधान, निर्वाचन आयोग ऐन तथा संविधानसभा सदस्य निर्वाचन ऐनमा संशोधन हुनुपर्ने बताएको छ । आयोगले निर्वाचनको लागि उपर्युक्त काम गर्न सरकारलाई जुलाई २२ सम्मको समय दिएको थियो, जबकी संविधान संसोधन केबल संविधानसभाले मात्र गर्न सक्छ जुन विघठन भैसकेको छ । त्यसैले पनि होला प्रधानमन्त्रीले आफू संविधानसभा पुनस्र्थापनाको विपक्षमा नरहेको बताएका छन् । तर, एकीकृत नेकपा माओवादी तथा गठबन्धनका अरु दलले संविधानसभा पुनस्र्थापनाका लागि प्रान्तको नाम, संख्या तथा सिमांकन लगायतका विषयमा रहेका विवाद पहिले टुंगिनुपर्ने बताएका छन् । साथै सत्ताधारी दलहरुले संविधानसभा पुनस्र्थापनालाई सर्वोच्च अदालतले पनि स्विकृति दिनुपर्ने पक्षमा छन् ।
जुलाई २२ आयो, गयो, तर सरकार चुनावका लागि भएका बाधा हटाउने विषयमा निर्वाचन आयोगले भनेका कुरा पूरा गर्न सफल भएन । हुन त आयोगले सरकारलाई थप समय देला तर संविधानसभा विघठनपछि दलहरुबिच जुन दुरी बढेको छ त्यसले तत्काल सहमति हुने सम्भावना देखिन्न तसर्थ चुनावको तिथि स्थगित हुने पक्का छ ।
घटनाक्रमहरु रोचक ढंगले अघि बढ्दै जाँदा पूर्व राजा ज्ञानेन्द्र शाहले पनि आफु फेरी राजा बन्न तयार रहेको बताए । ज्ञानेन्द्रको यस्तो अभिव्यक्ति आएलगत्तै राजनीतिक दलहरु उनी विरुद्ध एकजुट भैहाले । यो आश्चर्यजनक त छ, तरपनि पूर्व राजाले राजतन्त्र फर्किने हल्ला पिट्दा नेपालका राजनीतिक दलहरु एक ठाउँमा आए भने त्यो नेपालको लागि भने सुखद हुनेछ ।
नेपालका राजनीतिक दलहरु विगतमा पनि आफुहरुले असम्भव तगाराहरु समेत हटाउन सक्षम भएको उदाहरण दिएका छन् । नेपालका राजनीतिक दलहरुले निकासका लागि प्रयत्न गरिरहेको बेला हामीले भारतमा बसेर अहिलेका घटनाक्रमको विश्लेषण गरिरहेका छौँ । मुख्य रुपमा हामीले नेपालका राजनीतिक व्यक्तित्वलाई खास रुपमा चिन्न सक्यौँ कि सकेनौैँ भन्ने कुराको समीक्षा गर्नुपर्छ ।
कुनै बेला थियो, प्रचण्डलाई भारत विरोधीको रुपमा लिइन्थ्यो । तर, पछिल्ला घटनाक्रमले देखाएको छ की उनले आफ्नो पार्टीभित्रैका भारत विरोधीहरुको मुकाविलामा बाबुराम भट्टराइलाई साथ दिए । माओवादी पार्टीको अध्यक्षको हैसियतले उनले बरु पार्टी बिभाजनको खतरा मोले तर भारतपरस्त भनेर आलोचना भएको पार्टी लाइन छाडेनन् । यद्यपि यो भन्नुको मतलब के होइन भने प्रचण्ड र भट्टराई भारतका पक्षधर हुन् । तर महत्वपूर्ण कुरा के हो भने हामीले अब नेपालको प्रजातान्त्रिक अभ्यासको विषयमा विश्लेषण गर्दा पूरानो मानसिकतालाई ठाउँ दिनु हुँदैन् ।
(हर्मिसको इन्डियन एक्सप्रेसमा जुलाई २५ मा प्रकाशित लेखको भावानुवाद । उनी भारतीय गुप्तचर संस्था ‘रअ’का पूर्व प्रमुख हुन र नेपाल मामिलाका जानकार मानिन्छन् ।)

Monday, July 30, 2012

कलियुगका कृष्णहरुका फरक-फरक अवतार - onlinekhabar


कुमार समदर्शी
कृष्ण धरावासी मेरा आर्दश लेखक हुन् । राधाका कृष्ण जस्तै । उनका हरेक कृतिहरु पढें, सकेसम्म धेरै । उनका पुस्तकको पछाडि गातामा लेखिएका पुस्तक, कृति खोजी खोजी पढें । सबै भन्दा प्रभाव पारेको पुस्तक थियो राधा, शरणार्थी, टुँडाल र आधाबाटो । उहाँको झोला कथा ति बाहेकको सबै भन्दा उत्कृष्ट कृति लाग्यो मलाई । एउटा पाठक भईकन लेखकको व्यक्तिगत जीवनसँग सरोकार राख्नु पाठकको लेखकसँग गोरु बेचेको साईनो मात्र होईन भन्ने ठान्छु म । म लेख्न जान्दिन । त्यहि भएर म पाठक । सबै कुरा भुलें, जब उहाँको कृति आधाबाटो किनेर पढें । आफ्नो वाल्यकाल प्रतिको उहाँको इमान्दारिता एउटा पाठकको कतिसम्मको अनुकरणिय विषय हुनसक्छ, त्यो मलाई भयो ।
मैले त्यति चर्चा पाईन सिताजी (धरावासीकी सिताजी) बिरामी हुनुभएको । उहाँको मृत्यु पश्चात धरावासीको रोदन पत्रिकामा पढ्न पाईयो । मनपर्ने लेखककी श्रीमतीको निधनमा अनायसै आँशु बगाईयो । सुनियोजित थिएन । तर पनि आँशु झरे । आत्मपरक उपन्यास आधाबाटोकी एउटी पात्रको निधनमा । अब धरावासीले दोस्रो विवाह गर्लान्, त्यो त सोच्दै सोचिएन । एउटा कृष्णले स्रोह सय गोपिनीलाई विवाह गरे र राधालाई हुनसम्मको पागल प्रेमिका बनाए भनेर हामी पाठकलाई ज्ञान बाँढेर मदन पुरस्कार पाएका कलियुगका कृष्णले आफ्नै युगका कृष्ण (स्व. प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई) को जीवनलाई समेत बिर्सिएर दोस्रो विवाह गरेको सुन्दा आश्चर्य लाग्यो । सिताजीलाई तपाईसम्म भन्न भ्याएका धरावासीले सिता महाताम्यको रुपमा पाण्डुलिपी निकाले । थुप्रै पैसा कमाए । आँशु बेचेर काठमाडौमा महल ठड्याए । आफ्नो दुःख बेचेर । सिपालु धरावासीका लागि सबै धर्ती वास वस्न योग्य भयो क्यान्सर पीडित आफ्नी आमाको कथा, आफ्नो गरिवी, आफ्नी पत्नि सिताको कथा । त्यहि कथा हामी सोझा पाठकले मख्ख पर्दै पढ्यौं । सहानुभूतिले होईन । सम्मानले । स्रष्टा प्रतिको सम्मानले ।
एउटा गाईनेले गाएको कर्णपि्रय दुखान्त गीत सबैले बुझ्दछन् तर उसको हविगत कहिल्यै सुध्रेको देखिंदैन । तर बाठा धराबासीले आफ्ना दुःख कथेर पाँचथरको अमरपुर, शनिश्चरे, बिर्तामोड हुँदै काठमाडौसम्म महल ठड्याउन सक्षम भए । घरको स्याहार सम्भार गर्न एकल भनिएकी मञ्जु विमलीसँग दोस्रो विवाह गरे । २०६९ आउन १३ गतेका पत्रिकाहरुमा हामीले यो कारणले विवाह गर्यो भनेर आफ्नो विवाह गर्नुपर्ने कारण खुलेको वकपत्र पनि पेस गरे । साहित्यकार भवानी क्षेत्रीले अनलाइनखबरमा धरावासीको पाण्डुलिपीको प्रसङग कोट्याउनु भएछ । फुर्सदमा पढें । धराबासीसँग रिस उठेको थियो । झन रिस उठेर आयो । पाठक हुँ । धराबासीले लेखेका कृति पढेर सकारात्मक हुन सिकेको मैले भवानी दिदीको कुरामा किन विश्वास नगर्ने ? हुन त म पनि संवेदना नभएको र समीक्षा गर्न नसक्ने पाठक होईन । तर उनको लेखकीय मलाई मन पर्यो । २०६९ साउन १० गतेको कान्तिपुरमा निर्मला शर्माले लेखेको लेख “दुई सेलिब्रेटीको दोस्रो बिहे” शिर्षकले मलाई झन दुखित बनायो । हरिवंश आचार्य त एउटा नटुवार हुन् । उनले जीवनमा धेरै नाटक गरे सबैलाई मनोरञ्जन दिन । आफैंले मनोरञ्जन गर्न कसले उनलाई रोक्थ्यो र ? आफ्नै समकक्षी राजेश हमाल अहिलेसम्म अविवाहित हुँदा त उनलाई जीवन प्रतिको भय छैन भने हरिवंशलाई बाँकी बिस तिस बर्ष गुजार्ने सकस भो रे । हुन त फिल्मी लाईन नै त्यस्तै हो । सक्नेले लुट, एटिएम, इसारा, द लाष्ट किस भन्दै मोजमस्ती गरीरहेको बेला हरिबंशले किन मन थाम्न सक्थे र Û तर धरावासी त लेखक परे । स्वयं अभिनय गर्दैनथे । तर हरिवंशको पछि लागे । लेखकको पछि कलाकार लाग्छन् भनिन्थ्यो तर यहाँ त कलाकारको पछि लेखक लागेको देख्दा आश्चर्य लाग्यो ।
कसैले पत्रकार आएको बेला चिया पकाउन र कसैले घर सम्हाल्न दोस्रो विवाह गरेको भन्ने सुन्न पढ्न पाईयो । बाँकी जीवन र आफ्नो अशक्तताको कुरा कसैले गरेको पाईएन । तर धराबासीका भाई कुमार भट्टराईले भवानी दिदी प्रति व्यक्त अनलाईन प्रतिक्रियाले एउटा लेखकको होईन मात्र दाईको वचाव गरेको मात्र लाग्यो । उनलाई भवानी क्षेत्रीले लेखेको लेख सन्तुलित लागेन । एकहोरो मनको भडास पोखेको लाग्यो । यसमा मलाई खेद छ । पाठकीय खेद । पाण्डुलिपीमा सिताजीको त्यति वर्णन नगरेको भए ठिकै थियो तर पाण्डुलिपीको मसी सुक्न नपाउँदै सिताजीको माया वाग्मतीमा विर्सजन गरेर मञ्जु विमलीको अंगालोमा बाँधिनु कतिसम्म उचित होला । सिताजी बाँचुञ्जेल प्रकाशनमा नआएको कृति “म हिंडेको बाटो” सिताजीको मृत्युपछि अकस्मात आयो । उक्त कृति माथि पनि हामी पाठकको शंका रहेकै छ । कतै धरावासीकै आँशुलाई क्यासमा भजाउने चलाख चाला त हैन भन्ने लागेकै छ । अब अरुको बौद्धिक दरिद्रता, अपरिपक्वता, अदुरदर्शिता र प्रगतिशिल चेत प्रति प्रश्न गर्नेहरुले सोच्नुपर्ने बेला भएको छ । पाण्डुलिपीबाट आएको नाफाको केहि अंश सिताजीको नाममा अक्षयकोष स्थापना गर्ने भनेर मात्रै सिताजी प्रतिको सच्चा श्रद्धा र सम्मान भएको मान्न सकिंदैन ।
एउटी नारीले म मरेपछि मेरो श्रीमान्ले दोस्रो विवाह गरिहालोस् भन्ने कसैले पनि नसोच्ला । माधव प्रसाद घिमिरेको हवाला दिईरहनु पर्दैन । पानी माथिको ओभानो हुन । अविवाहित रहेर पनि थुप्रै उदाहरणिय कार्य गरेका महापुरुष हाम्रै सामु छन् । रामभक्त लक्ष्मणहरुले बुझ्नु जरुरी छ । भवानी क्षेत्रीले पक्कै पनि आफ्नो घर बनाउन नसकेर अरुको घर भत्केको हेर्न लालयित भएर सो लेख लेख्नुभएको मलाई लागेन । लेखक, कलाकार साझा हो । उसको विचार साझा हो र उसको जीवनी प्रति सबैको सरोकार हुन जरुरी छ । श्रीमान् श्रीमती प्रति मेलमिलाप नहुनु र धरावासीको जस्तो अति मेलमिलाप हुनु र मृत्यू हुन नपाई घर व्यवाहार सम्हानेको निहुँमा दोस्रो विवाह गर्नुमा फरक छ कुमार जी । पाण्डुलिपी नाम दिएर सिता महाताम्य निकाल्नु थियो भने दोस्रो विवाह किन ? दोस्रो विवाह गर्नुथ्यो भने सिता महाताम्य किन ? प्रश्न हाम्रो यति मात्र हो । धराबासीको उचाई दोस्रो विवाहले बढ्ने होईन । घटेको छ बरु । अब चाहेर, नचाहेर पनि धरावासीको उचाई घट्नेछैन भन्ने कुमार भट्टराईको भनाई अत्यन्तै बेतुकको लाग्यो । पुर्वाग्राही । धरावासीको उचाई पाठकले बनाएका हुन । नकी धरावासी स्वयंलेे मात्र । घमण्ड नगर्दा राम्रो हुन्छ ।
सबै नारी पात्रहरुले धरावासीको जस्तो श्रीमती हुन नपरोस् भनेर सडकमा टायर बालेको टुलुटुलु हेर्न मन नलाग्ला दुई दाजुभाईलाई । समग्र नारी हृदय प्रतिको कुठाराघात हो, धरावासी र हरिवंशको विवाह । यसले समाजलाई सकारात्मक होईन नकरात्मक सन्देश दिन्छ । किन ढाँट्नु हुन्छ हामी सिधासादा पाठकलाई ? कोहि पनि लोग्ने स्वास्नी मरेको बर्ष दिन नबित्दै दोस्रो विवाह गरिहाल्दो रहेछ, लोग्ने प्रति हाम्रो धारणा के हुने भनेर सबै महिलाले सोच्ने कि नसोच्ने ? कुरो र कुलो जता बङग्याए पनि हुन्छ भनिन्छ । तर गाईलाई गधा र गधालाई गाई भनेर हामीलाई पटमुर्ख नबनाईयोस् लेखक, कलाकार महोदय । कालिदास पनि अल्पज्ञानी थिएनन् ।
-----------------------------------------------------------------------------------------------------

पाण्डुलिपी, धराबासी र भवानी 

- कुमार भट्टराई

दुई किसानहरु गफ गर्ने धुनमा कुराको अन्त्यमा एक जनाले भनेछन्- ‘तिमीलाई त घरमा त्यति दुःख छैन हौ, त्यही गाई छ दुहृयो खायो । मेरो पो गोठ सोर्नु पर्छ, बाल्टी माझ्नु पर्छ, घाँस काट्नु पर्छ, कुटी काट्नु पर्छ, बाझो लाउनु पर्छ, दुहुनु पर्छ, दुध तताउनु पर्छ अनि मात्र खान पाइन्छ ।’
प्रसङ्ग- भवानी क्षेत्रीले अनलाइन खबरमा कृष्ण धराबासीमाथि लेखेको लेखका बारेमा । त्यो ‘धराबासीको रुवाई’ शीर्षकको लेख पढेपछि मेरा मनमा आदरणीय दिदी भवानी क्षेत्रीको लेख सन्तुलित लागेन । त्यसैले यो लेख्ने धृष्टता गरें ।
उहाँले पूरा लेख एकोहोरो मनको भडास पोख्न लेख्नु भएको जस्तो लाग्छ । त्यो पढेपछि लाग्छ- भवानी क्षेत्रीले मौका कुरेरै उनलाई हतौडाले हानेकी हुन् । त्यस लेखले जम्मा तीन कुराप्रति आक्रोश व्यक्त गरेको देखिन्छ । पहिलो- धराबासीले गरेको दोस्रो विवाह । उनले लेखमा लेखेकी छिन्- ‘धराबासीको शारीरिक स्थितिले गर्दा उनले दोस्रो विवाह गर्छन् भन्ने मलाई लागेको थियो ।’
दोस्रो- धराबासीको कृति पाण्डुलिपीको छैटौं सँस्करण समेत प्रकाशित भएकोमा । तेस्रो- त्यसबाट प्राप्त आम्दानीले ऊ आर्थिक रुपमा सम्पन्न भई मासुभात खायो भन्नेमा । धराबासीलाई सबैभन्दा नजिकबाट चिन्ने मध्येमा भवानी क्षेत्री पनि पर्नु हुन्छ । पारिवारिक, आर्थिक, सामाजिक, मनका भावनाहरु समेत बुझ्ने उनीहरु असल मित्र हुन् झैं लाग्थ्यो मलाई । तर यो लेख पढेपछि भवानी क्षेत्रीको बौद्धिक दरिद्रता, अपरिपक्वता, अदूरदर्शिता र उहाँको प्रगतिशील चेतप्रति केही प्रश्न गर्न मन लाग्यो ।
भवानी क्षेत्री बामपन्थी आस्थावान भएकी प्रगतिशील लेखक । उहाँको आस्थाले भौतिकवादी चिन्तनलाई अगाडि सारेर मान्छेलाई डढाएर आएर मासुभातै खाउ भन्छ । आध्यात्मिक आस्थाभन्दा भौतिक शरीरलाई मूख्य ठानेर न ईश्वर मान्छ, न त आत्मा । भौतिक चेतले जीवन सरलताका लागि बाँच्ने आधारहरु नै संसार चल्नु पर्छ भन्ने सार व्यक्त गर्छ जस्तो लाग्छ मलाई । तर उहाँको व्यवहार ?
हामीलाई परिवर्तनका भाषणहरु गर्न सजिलो छ, तर आत्मवोध गर्न चाहिं गाह्रो । भवानी क्षेत्रीको कलम हेर्दा लाग्छ, उहाँ जड पुरातनवादी सोंच भएकी कठोर महिला हुनुहुन्छ । जो आफ्नो घर बनाउन नसकेको पीडाले अर्काको घर भत्केकै हेर्नमा खुशी छ । जीवनभर अपहेलना गरेर मरेपछि पिण्ड दिने सँस्कारमा हुर्केकाहरुले मात्र त्यस्तो एकतर्फी लेख्न सक्छ । भवानी क्षेत्री आफै श्रीमान्-श्रीमतीको सम्झौतामा जीवन व्यथित गर्न नसकेकी महिला । फर्केर हेर्दा समाज अनुकुल आफूलाई समायोजन नगरेकाले नै होला उनले त्यो पारिवारिक सुख उहाँले भोग गर्न पाउनु भएन । मान्छेका व्यक्तिगत जीवनतिर फाल हानेर कुरा गर्नु हो भने यो संसारका कुनै पनि व्यक्ति हामी चोखा छैनौं । प्रत्येक व्यक्ति कहीं न कहीं चुकेकै छ ।
धराबासीको पत्नीप्रेम, कृति पाण्डुलिपी र उनको दोस्रो विवाह समाजका लागि कुनै मिथक होइन । यो मिथक यसअघि नै प्रतिपादन भइसकेको छ ।
हाम्रो धार्मिक शास्त्रमा सत्यदेवी मरेपछि उनको शरीरलाई काँधमा बोकेर शिवजीले ब्रहृमाण्ड परिक्रममा गरे । उनको पीर नघट्ने देखेपछि विष्णुले औंस्या किराको प्रतिपादन गरी शरीर कुहाएर झारेको कथा छ । त्यसपछि शिवजी कठोर साधनमा लिन भएर बाहिर आउनै नसक्ने भएपछि विष्णु आफै लागेर पार्वतीसँग विवाह गरेको हामी हिन्दु धार्मिक ग्रन्थमा पाउँछौं ।
राष्ट्रियकवि माधव घिमिरे आज जिउँदै हुनुहुन्छ । उहाँकी धर्मपत्नी गौरी ००४ सालमा बितेपछि उहाँले ००६ सालमा पुनः विवाह गर्नु भयो र पछि गौरी लेख्नु भयो । आज पनि त्यो कृतिको महत्व उत्तिकै छ । पुनः विवाह गर्ने बित्तिकै माधव घिमिरेको आफ्नी पत्नी गौरीप्रतिको प्रेम कम भएको छ र ? आज पनि उहाँले दोस्रो विवाह गर्नुभएकी श्रीमतीसँग चौरानब्बे बर्षको उमेर व्यथित गरिरहनु भएको छ । गौरी किताब धेरै बिक्री हुने किताबका रुपमा आज पनि बिक्री भइरहेको छ ।
यी कुराहरु उहाँले आफ्नो लेखमा कहाँ समायोजन गर्नुभएको छ ? प्रेम गर्नु र जीवन चलाउनु फरक कुरा हुन् भन्ने समेत कसरी हेक्का नरहेको भवानी दिदीलाई ।
लेखेका कृतिहरु सबै उत्तिकै पाठकले रुचाउने लेखक कमै छन् नेपालमा । त्यो कम मध्ये धराबासीले समेत आफ्नो छवि बनाएको अब कसैलाई भनिरहनु पर्दैन । आफूसँगैको साथी माथी पुगेपछि ईष्याले डढ्नु स्वभाविक हो । तर त्यो ईष्या सकारात्मक हुनुपर्छ । भवानी दिदी र केही उहाँ जस्तै साथीहरु धराबासीको ईष्याले डढेजस्तो देखिन्छ । अब चाहे पनि, नचाहे पनि धराबासीको उचाई उहाँहरुले प्राप्त गर्नसक्नु हुन्न । यस्तो अवस्थामा धराबासीका बारेमा अनर्गल प्रचार गरेर उनका विरुद्धमा जनमत संकलन गर्न खोजेको हो कि जस्तो देखिन्छ ।
धराबासीले सीताजीको कोरामा बसेकै बेला घोषणा गर्नुभएको थियो सीताजीको नाममा एउटा पुरस्कारको । जसलाई त्यस बेला देवीभक्त श्रेष्ठज्यूहरुले समेत आफ्नो तर्फबाट रकम संकलन गरी जम्मा गर्नुभएको छ । जुन पुरस्कार घरेलु महिलाहरुले गरेको सिर्जनालाई सम्मान गर्नेसँग सम्बन्धित थियो । पाण्डुलिपी पुस्तकको विमोचन कार्यक्रममा पनि उहाँले घोषणा गर्नुभयो- पाण्डुलिपीबाट प्राप्त आम्दानी त्यो वितरण गर्ने कोषमा राखिने छ । धराबासीले अन्यत्रबाट लेखेर आएको आम्दानी र किताबबाट प्राप्त पैसाले बैंकमा छुट्टै खाता सञ्चालन भई आगामी बैशाखमा कार्यक्रमको तयारी भइरहेको छ । तर उहाँले त्यो बुझेर पनि ‘किताब बेचेको पैसाले मासुभात खायो’ भन्नु नबुझेको भान गर्नु भएको मात्र हो जस्तो लाग्छ ।
धराबासी तारा हुन् । सबैले देख्नु स्वभाविक हो । उनीप्रति चर्चा परिचर्चा हुनु पनि स्वभाविक हो । तर भवानी क्षेत्रीले बुझ्न अझै धेरै जरुरी छ ।
घर भनेको पुरुष होइन । जीवको जीवन चक्र हेनुपर्छ हामीले । समाज स्थापनाका खोज अनुसन्धानहरु हेर्नु पर्छ । एक्लो पुरुष सडक किनारमा पनि सुत्छ, होटलमै खान्छ । बाटा छेउमा नै आची गर्छ, पिसाव फेर्छ । तर महिला त्यसो गर्न सक्दिनँ । महिलाका लागि हुन्छ घर । घर भनेको महिला हो पुरुष होइन । हो त्यो महिलाको घरलाई आफ्नो ठानेर अडिन्छ पुरुष त्यहाँ । पुरुष र महिला एकअर्काको लागि परिपुरक भएर ठडिन्छ एउटा घर । पुरुषको आड, सहयोग र सद्भाव चाहिन्छ महिलालाई । महिलाको प्रेम, सहयोग र चिन्तामुक्त निद्रोको लागि उनको काखको सिरानी चाहिन्छ ।
धराबासीलाई गाली गर्नुभन्दा अगाडि भवानी क्षेत्रीहरुले सोच्न जरुरी छ- धराबासीको विवाहले समाजलाई क्षति के गर्‍यो ? विवाह गर्ने धराबासी एक्लै होइनन्, उनीसँगै उनीजस्तै एक्लो जीवन विताइरहेकी अर्की महिला पनि छन् । महिलावादी लेखिका ठान्ने भवानी दिदीले ती एक्लो जीवन बिताइरहेकी महिलाले समेत सहारा पाएकोमा हर्ष गर्न किन नसकेको ? धराबासीसँगै हरिवंश आचार्यको पनि विवाह भयो । दुबैको विवाह गर्ने जोडी हेर्दा लाग्छ- दुई जोडी भत्केर आधा-आधा भएकाहरु मिलेर दुई जोर पूर्ण घर बनाएका हुन् । दुबैले तरुनी, कन्ने केटी रोजेर सम्भोग, यौन आकांक्षा मात्र पूरा गर्नका लागि विवाह गरेका होइनन् ।
धराबासीको शारीरिक अवस्था कसैबाट लुकेको छैन । उकालो चढ्न सक्दैनन्, बसेपछि उठ्न केही न केही आड चाहिन्छ । ‘ब्लड प्रेसर लो’ कारण कयौं चोटी लेखेकै ठाउँबाट लडेको मुडोजस्तो उठाएर टिचिङ पुर्‍याइएको छ । विवाह अघिसम्म पनि राति सुत्दा कान्छो छोरो विवेकसँगै सुत्थ्यो साथीका लागि । जीवनभर छोराछोरीले सुतिदिन सक्दैनन् ।
आज समाजमा महिलावादी कुरा ओक्लने, पुरुषलाई गाली गर्ने कयौं महिलाहरु स्वयं आफ्नो आङको जुम्रा नदेखिरहेको अवस्था छ । भवानी दिदी आफैले आफ्नो जीवनका पाइला पछाडि फर्केर हेर्न जरुरी छ ।
आदर्श हुन एक्लो जीवन जिउने ढोङ रच्ने धेरै पुरुषहरुका कारण आज कयौंको घरवार बिगि्रएको छ । अर्काकी श्रीमतीसँग अनुचित सम्बन्ध र प्रेम प्रसङ्ग चलाएर घर बिगि्रएका उदाहरणका कथाहरु छ्याप्छ्याप्ती छन् समाजमा । त्यसै गरी एक्लो महिलाको रुपमा प्रस्तुत गर्ने महिलाहरु समेत यौन र सहयोगको अपेक्षामा कयौं गृहस्थ पुरुषहरुसँग सल्किएर घर भत्काइरहेको कथा पनि हाम्रा सामु छरपष्ट छन् समाजमा । कोही घरभरि श्रीमती राखेर डामेर छाडेको साँडेजस्तो अर्काकी स्वास्नी र छोरीहरुलाई ओगटेर बस्नेहरु पनि कमी छैनन् ।
समाज परिवर्तनका लागि सम्वाहक हुनेहरु र हुन खोज्नेहरुले तिनीहरुका बारेमा खोई कलम चलाएको ? उनीहरुको विरुद्धमा खोई जेहाद छेडेको ?
भवानी क्षेत्रीको आसय भएको लेख तीन कारणले मात्र लेखिन्छ । पहिलो- ज्यानभन्दा ज्यादा माया गरेको पुरुषले अर्की केटीसँग विवाह गर्‍यो भने त्यसको आवेग । दोस्रो- लेखकीय हिसाबले उसले गरेको प्रगतिको जलन तथा लेखक भएरै बाँचेको देखेर असैहृय ईष्या । तेस्रो- चेतना नभएका व्यक्तिलाई कुनै चेतनशील व्यक्तिले गराएको प्रयोग ।
‘प्रत्येक क्रियामा समान तर विपरीत प्रतिक्रिया हुन्छ’, विज्ञानले चालको तेस्रो नियममा भन्छ । धराबासीको अहिलेको कार्यले पनि त्यही सिद्धान्तसँग जोडिएकै छ । अहिले क्रिया र प्रतिक्रियाहरु शुरु छन् । प्रतिक्रिया आएको हो । अहिले यसले मान्छेलाई केही समयका लागि नयाँ स्वाद दिएको छ ।
जीवन बाँचिञ्जेल नै माया गर्ने पनि । धराबासीजी ! दुःखका सम्झानाहरु बिर्सन नयाँ सिर्जनाहरु गर्नुपर्छ । भवानी क्षेत्रीहरु आफूले सिर्जना गर्न नसकेकोमा पीडा बोलेका मात्र हुन् । तर कलम चलाउन खोज्नेहरुले कलमको दुरुपयोग गर्‍यो वा गर्न थाल्यो भने समाजको विश्वास कम हुन्छ । अहिले कलम चलाउन हरेक व्यक्ति जान्दछ । कलम चलाउनेले व्यक्तिगत नाफाघाटाको लागि होइन, सामाजिक नाफाघाटाका लागि सोच्न जरुरी छ ।

----------------------------------------------------------------------------------------------------------

 धाराबासीको रुवाई

- भवानी क्षेत्री, झापा
यसबेला म कृष्णधराबासीको पाण्डुलिपि पढ्दैछु । पत्नी सीताको बियोगलाई मूल बिषय बनाएरलेखिएको यो कृतिमा पत्नीसँगको २७ बर्षे सहयात्राका भोगाइ छन् । पत्नीको प्रेम,ब्यवहारिक कुशलता, आँट, निडरता उनीसँगै भोगेका दुःखसुख, पीडा, रोदन, सीताजीकोबिरामीदेखि मृत्युसम्मको अवस्थाको ब्याख्या गरिएको पाण्डुलिपि सुरुदेखि नै धेरैपल्ट घाँटीबाँधिदै र आँशु खसाउँदै पढ्दै थिएँ म ।
सीताजी अब बाँच्नु हुन्न, उहाँ अब यस धरतीकी थोरै दिनकी बासिन्दा हुनुहुन्छ भन्ने थाहा पाएकोकुरा पढ्दा फेरि आँशु खसे पुस्तकै भिज्नेगरी । हो जतिबेला म रुँदै यो पुस्तक पढ्दैथिएँ ठिक यही बेला फेसबुकमार्फत धरावासीको दोस्रो बिबाह हुँदैछ भन्ने समाचार पढ्नुपर्यो मैले । उनले दोस्रो बिबाह गर्छन् भन्ने कुरा मलाइ थाहा थियो, तर यस्तरीहतारमा गर्लान् भन्ने सोचेकै थिइनँ छु ।
फेसबुकमा बेहुलाबेहुलीको फोटो देखेपछि एउटा सचित्र मेरो सामु उभियो । त्यो चित्र यस्तो थियो,एउटा लोग्नेमान्छे बलिन्द्रधारा आँशु खसाउदै र कोकोहोलो मच्चाउदै पत्नी बियोगमा रुँदैमासु र भात खाँदैछ । कस्तो तालमेल नमिलेको चित्र हो यो ? कमसेकम रोइ सकेरहातमुख धोएर मासु भात खाँदा यो चित्र मेरो सामु आउने थिएन सायद । बडो बेगका साथअघि बढिरहेको मेरो पढाइमा ब्रेक लाग्यो । त्यहाँभन्दा अगाडि पढ्न सकिनँ मैले योकिताब । किताब भित्रका सबै कुराहरु फोस्रा तथ्यहीन र नेताहरुको भाषण जस्तो, योदेशको सबै क्षेत्रका मान्छेहरुको इमान्दारितामा खडेरी परेछ जस्तो लागेर आयो । अब कसकोबिश्वास गर्ने जनताले र पाठकले ? कस्तो दोहोरो चरित्र हो यो ? एउटी पत्नीकोबियोगमा लेखिएको शोकमय पुस्तक छैंठौ सस्करणमा प्रकाशित भइरहेछ । पाठकहरुसहानुभूतिपूर्ण रोदन रुँदै पढ्दैछन् पाण्डुलिपि । एकातिर पाठकहरु भित्र खाँदीखाँदी भर्दैछन् आफू र सीताजी प्रतिको सहानुभूति, माया, प्रेम पाण्डुलिपि मार्फत। अर्कातिर धमिरा लाग्दैछन् आफैँ पाठकका हृदय भित्र ।
धरावासीले सीताजीलाई यति चाँडै कसरी धराकी बासी अनि मनकी बासी बनाइदिन सके होलान् आश्चर्यलागेको छ । यस्तो लाग्यो उनी सिडी वा क्यासेटका चक्का हुन । उनी साँच्चै बिछोडकोपीडाले थलिएका थिएनन् बरु सचेतनाका साथ आफूलाई पूर्णरुपमा खाली बनाएरत्यहाँ नयाँ खुसीका, रहरका, उत्साहका र उमंगका रंगहरु भर्न चाहन्थे । त्यसैले हतारहतारपुराना, थोत्रा र बासी कुराहरु मिल्काएका हुन् पाण्डुलिपि मार्फत । या त उनी चतुर, चलाखमान्छे हुन् । कहाँ, कतिबेला र कसरी शोकलाई क्यासमा भजाउन सकिन्छ भन्ने कुरा थाहाभएका । नत्र दोस्रो बिबाह र पाण्डुलिपि प्रकाशनमध्य एउटा काम थाती राख्ने थिए ।
हुन तबिबाहलाई थाती राख्न सक्ने थिएनन् उनले । किनकि उनी उमेरले धेरै बुढो नभए पनि एउटाकमजोर र रोगी शरीरधारी मान्छे हुन् । यो कुरा पाण्डुलिपि पढ्ने सबैलाई थाहा छ । उनले भनेका पनि छन् आफ्नो स्याहार सुसारका लागि अर्को बिबाह गर्छु भनेर । आफनोस्याहार आफैँ गर्न नसक्ने, छोराछोरीको माया र स्याहारले पनि नपुग्ने, अरु नैसाइनोका वा काम गर्नेहरुले पनि नहुने, श्रीमतीकै स्याहार चाहिने ? कस्तो उदेककोकमजोरी हो यो ? यस्ता कमजोर मान्छेलेबिबाह थाती राख्ने कुरै भएन ।
त्यसैले पाण्डुलिपिदुइ चार बर्षपछि छपाउँथे भने भलै त्यो बेला यो किताब छैठौं सस्करणसम्म नछापिनसक्थ्यो तर पाठकका मनमा उनको निम्ति आदर र श्रद्धा बढेर जाने थियो । पुस्तक पसलमागएर पाठकले “बेकार किन्न लगायौ यो किताब मलाइ” भन्ने थिएनन्, किताब किनेको मापछुतो पनि मान्ने थिएनन् त्यो बेला पाठकले । तर एकै साथ रहर र दाम पुरा गर्न चाहेउनले ।
अथवा उनले उमेरपुगेका छोराछोरीको बिहे गरिसकेपछि आफूले दोस्रो बिहे गर्थे भने पनि उनीप्रतिको भ्रम यसरी भत्किने थिएन । उनको सामाजिक साख र प्रतिष्ठामा पहिरो जाने थिएन ।पाण्डुलिपि किनेकोमा पाठकले पछुतो मान्नु पर्ने थिएन । किनकि त्यतिखेर उनी वास्तवमैएक्लिएका छन्, उनलाई नजिकबाट माया गर्ने मान्छेको खाँचो छ भन्ने कुरा आम पाठकहरुमापर्ने थियो । उनलाई आगामि दिनका लागि पनि रुवाइ बेच्न सजिलो हुने थियो ।
त्यसै अनिच्छापूर्बककिताब पल्टाएँ, २५६ पेजमा पल्टिएको रहेछ । त्यहाँ धरावासीले “यस संसारमा मेरोजीवनले पाएको यो प्रथम र अन्तिम पि्रयमान्छेलाई म कसरी छटपटाउँदै मरेको देख्न सक्छु?” लेखेका रहेछन् । कति ठूलो ब्यंग्य मान्छेलाई मान्छेले गर्ने प्रेममाथि ?अझ लोग्ने स्वास्नीको प्रेममाथि ? के सबै लोग्नेले स्वास्नीलाई गर्ने माया यस्तैफितलो, यस्तै पातलो, बर्ष दिन कट्दा नकट्दा सलल बगेर जाने सतही खालको हुन्छ ?के सबै लोग्नेहरु यस्तै स्वार्थी चेपारे हुन्छन् ? सेवा र स्याहार पाउन्जेल प्रिय, प्यारी,आमाजस्ती, देवीजस्ती अनि सेवा सकिना साथ सबै सकिने ? यस्तै हुन्छ होला ।
अपबाद बाहेकसमाजमा देखिएको पुरुष ब्यबहार यस्तै छ । तर अरु पुरुषहरु यसरी बिलौना गाएर सार्बजनिकरुपमा रुदैनन् धरावासी जस्तो । पत्नी वियोगले पीडित भएको कुशल र जीवन्त अभिनय गरेरसमवेदनालाई क्यासमा भँजाउने काम पनि गर्दैनन् । पत्नीको मृत्युलाई व्यापारको विषयबनाउँदैनन् । आफनो पीरलाई पीरकै रुपमा लिन्छन् । जति दिन सक्छन्, पीडा खप्छन्,नसकेका दिन अर्को बिबाह गर्छन् ।
तर धरावासीकोरुवाइ कहिल्यै नमेटिने गरी लिखत रुपमा आएको छ । पत्नीको वियोगलाई व्यापार बनाउने रत्यसबाट आएको पैसाले मोजमस्ती गर्ने नयाँ नजिर बनेको छ । दुःखद पक्ष यही हो ।यहाँभन्दा उता पढिनँ मैले यो किताब । पढ्नै सकिनँ । तर पढ्छु पछि, एउटा पाल्पनिककथाका रुपमा भए पनि ।
धरावासीलाईपाण्डुलिपिमा पढेर आम नेपाली महिलाले के सिक्ने ? आफ्ना लोग्नेहरु प्रति कस्तोधारणा बनाउने ? लोग्नेको जीवनमा आफनो उपस्थिति र उपयोगिताकोमूल्यलाई कसरी हेर्ने उनीहरुले ? के सचेत महिलाहरुले जीवन रुपी किताबका पन्ना पल्टाउदैनन् होला र ? लोग्नेजस्तो अवसरबादी अरु कोही हुन्न रहेछ भन्ने पाण्डुलिपिले बुझाएन ?










Sunday, July 29, 2012

के छ कसैको विरोध बिना सुटुक्क पास भा’को अध्यादेशमा? - mysansar

अहिले निकै चर्चा छ भूपू भीआइपीहरुलाई आजीवन दिइने सुविधाबारे अध्यादेशको। अरु अध्यादेश भए पास गर्नु हुन्न है भन्दै राष्ट्रपति कार्यालय धाउने कङ्ग्रेस, एमाले लगायतका विपक्षी दलहरु यो अध्यादेश ल्याउन लाग्दा चुँ बोलेनन्। राष्ट्रपति पनि अरु अध्यादेशमा भए यसो परामर्श, सरामर्श गर्थे, यसमा त केही नभनी अनुमोदन गरिदिए। आखिर के छ त यो पूर्व पदाधिकारी तथा विशिष्ट व्यक्तिलाई उपलब्ध गराइने सुविधा सम्बन्धी मापदण्ड–२०६९ अध्यादेशमा हेरौँ-


हेर्नुभयो होला, पूर्व राष्ट्रपतिदेखि पूर्व उपराष्ट्रपति र पूर्व प्रधानमन्त्री अनि पूर्व प्रधानन्यायाधीशदेखि पूर्व सभामुखसम्मले ५० लाख रुप्पेको गाडी पाउँछन्। पूर्व गृहमन्त्री र विशिष्ट व्यक्तिले ३५ लाखसम्मको गाडी पाउँछन्।
अब यो विशिष्ट व्यक्ति भन्ने चाहिँ को हो त भन्ने प्रश्न उठ्न सक्छ। अध्यादेशमा विशिष्ट व्यक्तिबारे केही उल्लेख छैन। भनेपछि मन्त्रिपरिषद्को बैठकले कसैलाई विशिष्ट व्यक्ति हो भन्ने निर्णय गर्‍यो भने उसले यो सुविधा पाउन सक्छ। विशिष्ट व्यक्तिको कुनै मापदण्ड नहुनाले जो पनि विशिष्ट हुनसक्छ, तपाईँ पनि!
गाडी बाहेक अरु के के सुविधा छ त ? जेठ ११ गते राजपत्रमा प्रकाशित सूचना अनुसारको व्यवस्था हेरौँ-

त्यति मात्र हैन, उनीहरुको घरमा लाग्ने पाहुनाका लागि पनि खर्चको व्यवस्था छ, हामीले नै तिरेको करबाट-

गाडीमात्र दिएर भो त, बिग्रेको बेला कसले मर्मत गर्छ त ? यी राज्यकै ढुकुटीबाट हुन्छ नि मर्मत हेर्नुस्-

नेपालमा नेताहरुको छवि राम्रो भइदिएको भए र जनतालाई उनीहरुले साँच्चिकै हाम्रै लागि काम गरिरहेका छन् भन्ने परेको भए यति सुविधा दिँदैमा विरोध हुँदैन थियो होला। तर सँधै कुर्सीका लागि झगडा गरिरहनेहरुले घर हुँदाहुँदै घरभाडा खर्च र गाडी बिग्रँदा र आफूकहाँ आउने पाहुनाका लागि समेत खर्च राज्यबाट लिएको कसरी सहन्थे? नबिर्सनुस् है मितव्ययिताका लागि मुस्ताङ चढ्ने प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारले यो अध्यादेश ल्याएको हो। यसअघि मन्त्रिपरिषद्को तजबिजी निर्णयमा यस्ता सुविधा बाँडिन्थे। पूर्व प्रधानमन्त्री र गृहमन्त्रीले आफूखुशी महँगा विलासी गाडी लैजान्थे। त्यसलाई रोक्न मापदण्ड बनाएर मात्र बाँड्नू है भनी सर्वोच्चले फैसला गरेको थियो। त्यही अनुसार मापदण्ड बनाएर अध्यादेशबाट लागू गरिएको थियो। तर संसदबाट पास नभएकोले भर्खरै फेरि त्यो अध्यादेश जारी गरिएको हो।
अध्यादेश पूरै हेर्नुस्-
नेपाल सरकार
गृह मन्त्रालयको सूचना
पूर्व पदाधिकारी तथा विशिष्ट व्यक्तिलाई उपलब्ध गराइने सुविधा सम्बन्धी मापदण्ड–२०६९
पूर्व पदाधिकारीहरुको सुविधा तथा सुरक्षा सम्बन्धी अध्यादेश, २०६९ ले दिएको अधिकार
प्रयोग गरी पूर्व पदाधिकारी तथा विशिष्ट व्यक्तिलाई सुविधा उपलब्ध गराउने सम्बन्धमा नेपाल
सरकारले देहाय बमोजिमको मापदण्ड वनाएको छ।
१. सङ्क्षिप्त नाम र प्रारम्भ :
(१) यस मापदण्डको नाम “पूर्व पदाधिकारी तथा विशिष्ट
व्यक्तिहरुलाई उपलब्ध गराईने सुविधासम्बन्धी मापदण्ड २०६९” रहेको छ।
(२) यो मापदण्ड नेपाल राजपत्रमा सूचना प्रकाशन भएपछि लागू हुनेछ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस मापदण्डमा : –
क) “अध्यादेश” भन्नाले पूर्व पदाधिकारीहरुको सुविधा तथा सुरक्षासम्बन्धी
अध्यादेश, २०६९ लाई संझनु पर्छ।
ख) “आवास” भन्नाले पूर्व पदाधिकारी तथा विशिष्ट व्यक्तिहरुलाई नेपाल सरकारले
उपलब्ध गराएको आवास सम्झनुपर्छ र सो शब्दले आवास बापतको भाडा
रकमलाई समेत जनाउँछ।
ग) “सवारी साधन” भन्नाले पूर्व पदाधिकारी तथा विशिष्ट व्यक्तिहरुलाई नेपाल
सरकारले अनूसूची–१ बमोजिम उपलब्ध गराएको सवारी साधन सम्झनु पर्छ।
३. आवास सुविधा :
(१) नेपाल सरकारले पूर्व पदाधिकारी तथा विशिष्ट व्यक्तिहरुलाई भवन
निर्माण गरी वा खरीद गरी आवास सुविधा उपलब्ध गराउने छ।
(२) नेपाल सरकारले पूर्व पदाधिकारी तथा विशिष्ट व्यक्तिहरुलाई आवासको व्यवस्था
नभएसम्म सो वापत अनुसूची–४ बमोजिम घरभाडा खर्च अध्यादेशको दफा ९ मा उल्लेख
भएअनुसारका निकायमार्फत उपलब्ध गराउने छ।
४. सवारी साधनको सुविधा :
(१) नेपाल सरकारले पूर्व पदाधिकारी तथा विशिष्ट व्यक्ति एवं पूर्व
गृहमन्त्रीलाई अनूसूची –१ बमोजिमको सवारी साधन उपलब्ध गराउने छ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि हाललाई चालू भइरहेको
सवारी साधन मध्येबाट नै उपलब्ध गराइनेछ र नयाँ सवारी साधन दिनुपर्दा भने अनुसूची–१
बमोजिमको सवारी साधन उपलब्ध गराइनेछ।
(३) उपदफा (१) वा (२) बमोजिमको सवारी साधनको स्वामित्व अध्यादेशको दफा ९
बमोजिमको निकायमा रहनेछ।
५. निजी सचिवालय, अतिथि सत्कार तथा मसलन्द खर्च :
(१) पूर्व पदाधिकारी तथा विशिष्ट
व्यक्तिको सचिवालयको लागि तोकिएका कर्मचारी र सवारी चालकको व्यवस्था पूर्व
पदाधिकारी तथा विशिष्ट व्यक्ति स्वयंले गर्नेछ।
(२) उपदफा (१) बमोजिमका कर्मचारीको पारिश्रमिक बापतको रकम अध्यादेशको
दफा ९ बमोजिमको सम्बन्धित निकायले उपलब्ध गराउने छ।
(३) पूर्व पदाधिकारी तथा विशिष्ट व्यक्तिहरुलाई उपलब्ध गराउने मसलन्द तथा
अतिथि सत्कार खर्च अनुसूची–२ मा उल्लेख भएबमोजिम अध्यादेशको दफा ९ अनुसारको
सम्बन्धित निकायबाट उपलब्ध गराइने छ।
(४) अध्यादेशको दफा ६ को उपदफा (२) बमोजिम सुरक्षा प्रदान गर्नुपर्ने पूर्व
गृहमन्त्रीको हकमा सवारीचालकको नियुक्ति पूर्व गृहमन्त्री स्वयंले गर्नुपर्नेछ र निजको
पारिश्रमिक रकम गृह मन्त्रालयले उपलब्ध गराउनेछ।
(५) यस मापदण्डबमोजिम उपलब्ध हुने सचिवालयका कर्मचारी तथा सवारी
चालकको पारिश्रमिक रकम तोकिएका श्रेणी वा पदको शुरु तलब स्केल बराबर हुनेछ।
(६) यस दफा बमोजिम उपलब्ध गराउनुपर्ने सुविधा र सचिवालयमा रहने कर्मचारी
तथा चालकको पारिश्रमिक रकम अर्थ मन्त्रालयबाट अध्यादेशको दफा ९ बमोजिमको
सम्बन्धित निकायलाई उपलब्ध गराइनेछ।
६. इन्धन सम्बन्धी व्यवस्था :
(१) पूर्व पदाधिकारी र विशिष्ट व्यक्तिहरुलाई अध्यादेशको
अनुसूचीमा उल्लेख भए बमोजिम इन्धनको व्यवस्था अध्यादेशको दफा ९ बमोजिमका
निकायहरुबाट उपलब्ध गराइने छ।
(२) विशिष्ट व्यक्ति र पूर्व गृहमन्त्रीलाई मासिक १०० लि.(पेट्रोल/डिजेल) का दरले
गृह मन्त्रालयले उपलब्ध गराउने छ।
७. सवारी साधन मर्मत खर्च : पूर्व पदाधिकारी, विशिष्ट व्यक्ति र पूर्व गृहमन्त्रीलाई उपलब्ध
गराइएका सवारी साधनको मर्मत खर्च वर्षको एक पटक अनूसूची –३ अनुसार एकमुष्ट
रुपमा अध्यादेशको दफा ९ बमोजिमको सम्बन्धित निकायबाट उपलब्ध गराइने छ।
८. आचार संहिता पालन गर्नुपर्ने : सुविधाको सवारी साधन प्राप्त गर्ने पूर्व पदाधिकारी, विशिष्ट
व्यक्ति तथा पूर्व गृह मन्त्रीले सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचार संहिता देहाय
बमोजिम हुनेछ :
(क) सुविधाको सवारी साधन उपलब्ध गराइएको व्यक्ति बाहेक अरुले प्रयोग गर्नु
हुंदैन।
(ख) सवारी साधनको स्वरुप परिवर्तन गर्नु गराउनु हुंदैन।
(ग) कानून बमोजिम सवारी चालक अनुमति प्राप्त व्यक्तिलाई मात्र सवारी
चालकको रुपमा राखी चलाउन दिनु पर्छ।
(घ) अनुमति नपाएको व्यक्तिलाई सवारी साधन चलाउन दिंदा कुनै घटना भई
सिर्जना हुने दायित्व सम्बन्धित सुविधा प्राप्त पदाधिकारीले नै व्यहोर्नु पर्नेछ।
(ङ) सुरक्षाका लागि अंगरक्षकको सुविधा पाएको पदाधिकारीको सवारी साधनमा
अङ्गरक्षकलाई नराखी वा निजको कर्तव्य पालनामा असहज हुने गरी अन्य
मानिस राखी चलाउनु हुँदैन।
(च) सवारी साधनको सुविधा पाएको व्यक्तिले आफ्नो परिचय खुल्ने निस्सा
साथमा राख्नु पर्नेछ।
(छ) सवारी साधनमा प्रयोग हुने लुब्रिकेन्ट्स लगायतका सामाग्रीहरु यथासमयमा
राखी सर्भिसिङ्ग तथा मर्मत सम्भार गरी चलाउनु पर्नेछ।
(ज) सवारी साधनको तेस्रो पक्षीय बीमा गरी नियमित रुपमा नवीकरण समेत
गर्नुपर्नेछ।
(झ) सवारी साधनलाई हिफाजत गरी सुरक्षित स्थानमा राख्नुपर्नेछ।
(ञ) कुनै कारणबश बाटोमा सवारी साधन विग्रेमा बेवारिसे अवस्थामा नछाडि
सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाई तुरुन्तै मर्मत गर्नु पर्नेछ।
(ट) सवारी साधन माथि सुरक्षाको खतरा हुन सक्ने, हुल–हुज्जत वा दङ्गा भएको
क्षेत्रमा सवारी साधन लगी कुनै क्षती भएमा सवारी साधन प्रयोग गर्ने
पदाधिकारी वा व्यक्ति नै जिम्मेवार हुनेछ।
९. अर्को सवारी साधन उपलब्ध नहुने : एकपटक सवारी साधन उपलब्ध गराएपछि बाह्र वर्ष
पूरा नभई सोको सट्टामा अर्को सवारी साधन उपलब्ध गराइने छैन।
१०. सुविधा कटौती गरिने : कुनै पनि पदाधिकारी वा विशिष्ट व्यक्तिले अध्यादेश वा यस मापदण्ड
विपरीत कुनै कार्य गरी पाएको सुविधा दुरुपयोग गरेमा त्यस्तो दुरुपयोग गर्ने पदाधिकारी वा
विशिष्ट व्यक्तिको सुविधा जुनसुकै बखत नेपाल सरकारले कटौती गर्नेछ।
११. सुविधा नलिन वा फिर्ता गर्न सक्ने :
(१) कुनै पदाधिकारी वा विशिष्ट व्यक्तिले अध्यादेश वा
यस मापदण्ड बमोजिम पाएको सुविधा निजले चाहेमा नलिन वा पाएको सुविधा जुनसुकै
बखत फिर्ता गर्न सक्नेछ।
(२) सुविधाप्राप्त गर्ने पदाधिकारी वा विशिष्ट व्यक्तिको मृत्यु भएमा कानूनबमोजिमका
निजका निकटतम हकदारले अध्यादेशको दफा ९ मा उल्लेख भएबमोजिमको सम्बन्धित
निकायमा पन्ध्र दिनभित्र फिर्ता बुझाउनुपर्नेछ।
(३) उपदफा (२) बमोजिम फिर्ता नबुझाएमा अध्यादेशको दफा ९ बमोजिमको सम्बन्धित
निकायले तुरुन्त फिर्ता लिनुपर्नेछ।
१२. अनुसूचीमा हेरफेर गर्नसक्ने : नेपाल सरकारले यस मापदण्डका अनुसूचीहरु आवश्यकता
अनुसार हेरफेर गर्नसक्नेछ ।

Wednesday, July 25, 2012

अदालतले भन्यो- गोविन्दराज जोशी भ्रष्टाचारी नै हो - mysansar


सालो र ससुरालाई समेत सजाय

भ्रष्टाचार सम्बन्धी मुद्दा हेर्न गठित विशेष अदालतले यो आर्थिक वर्षको पहिलो फैसला सुनाउँदै नेपाली कङ्ग्रेसबाट पटक पटक मन्त्री भएका गोविन्दराज जोशीलाई भ्रष्टाचारी ठहर गरेको छ। उनलाई भ्रष्टाचार गरेवापत् १ वर्ष र मन्त्रीसमेत रहेको बेला भ्रष्टाचार गरेकोले थप छ महिना गरी कूल १ वर्ष छ महिना कैद सजाय सुनाइएको छ। त्यसैगरी उनले २ करोड १६ लाख १४ हजार ३ सय ७६ रुपियाँ ४१ पैसा जरिवाना तिर्नुपर्नेछ। गैरकानुनी रुपमा आर्जन गरेको उनका सम्पतिसमेत जफत हुनेछ।
फैसलालगत्तै उनी हत्कडी लगाएर जेल जानु पर्ने भने हैन। किनभने यो मुद्दाको अन्तिम फैसला यही हैन। यो फैसलाविरुद्ध उनी सर्वोच्चमा जान पाउने छन्। तपाईँ भन्नुहोला सर्वोच्चमा त यो मुद्दा पहिले नै गइसकेको हैन र ? हो, तर कुरा अलि फरक छ। कुनै विद्यार्थीले जाँच दिँदा रिजल्ट फेल भएको आएपछि रिटोटलिङ गर्दा नम्बर बढी आएर पास भएर रिजल्ट उल्टिएको उदाहरण बुझ्नुभो भने यो पनि बुझ्न सजिलो हुन्छ।
खासमा तीन करोड ९३ लाख ६२ हजार रूपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। २०६३ सालको कात्तिक ३० गते विशेष अदालतका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारी तथा सदस्यद्वय कोमलनाथ शर्मा र चोलेन्द्र शम्शेर ज.व.रा.ले तैइत, पदबाट बाहिरिएको एक वर्षभित्रै मुद्दा दर्ता गर्न आउनुपर्छ नि, म्याद गुजारेर मुद्दा दर्ता गरेकोले कानुन लाग्दैन बाबै भन्दै अख्तियारलाई हिस्स बनाइ फर्काइदियो। मुद्दाको तथ्यभित्र प्रवेशै नगरी। यो मात्र हैन, विशेष अदालतको त्यो बेलाको नेतृत्वले धेरै यस्ता भ्रष्टाचारको मुद्दालाई यसरी नै फर्काइदिएको थियो। यस्तो फैसलाको विरोधमा खुबै आलोचना भयो। अनि पछि सर्वोच्चले भ्रष्टाचारको मुद्दामा हदम्याद नलाग्ने नजिर बसाइयो, कानुन पनि त्यसै अनुसार संशोधन भयो।
विशेष अदालतको त्यतिबेलाको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा गएको थियो २०६३ फागुन १० गते। अहिले खुमबहादुर खड्काको मुद्दामा जस्तो त्यतिबेला पनि पेशी सर्दै बिस्तारै सुनुवाई हुँदाहुँदा मुद्दा हालेको पाँच वर्षपछि बल्ल गएको वर्षको पुसमा न्यायाधीशद्वय सुशिला कार्की र तर्कराज भट्टले
यस्ता मुद्दामा हदम्याद लाउन मिल्दैन, अभियोगको पहिलो किनारा सुरु अदालतबाटै गर्नू भनिदिए। अर्थात् मुद्दाको बल फेरि फर्कियो विशेष अदालतको कोर्टमा। त्यसपछि विशेषमा सुनुवाई हुँदाहुँदा बल्ल आज फैसला भएको हो।

जेल जानुपर्छ त ?

उनले बिगो बमोजिमको २ करोड १६ लाख १४ हजार ३ सय ७६ रुपियाँ ४१ पैसा धरौटी राखे भने जेल जानु पर्दैन। बाहिरै बसेर सर्वोच्चमा मुद्दा लड्न पाउँछन्। धरौटी राख्न सकेनन् भने चाहिँ ३५ दिने म्याद जारी गरी उनलाई जेल चलान गरिनेछ।

आफन्तलाई समेत जेलमा ताने

अदालतले उनका साला वासुदेव पन्त र सालाका कान्छा ससुरा ताराराज पाण्डेलाई समेत भ्रष्टाचारीको मतियार बन्दै सम्पति लुकाउन सहयोग गरेको भन्दै सजाय सुनाएको छ। वासुदेवले छ महिना जेल बसी ६५ लाख रुपियाँ जरिवाना तिर्नुपर्नेछ। ताराले भने उत्तिनै जेल सजाय पाए पनि जरिवाना भने १ लाख रुपियाँ मात्रै तिर्नुपर्नेछ। भ्रष्टाचारी आफूमात्र डुबेनन्, आफन्तलाई समेत डुबाए। अझ धन्न अदालतले मरिसकेकी सासुलाई चाहिँ सफाइ दियो, बूढी मान्छेले आफै केही गरेकी हैनन्, सब छोरा वासुदेवले गरेको हुनुपर्छ भन्दै। नत्र स्वर्गमा पनि उनको आत्माले सराप्थ्यो होला- के गरिस् गोविन्दे तैँले मलाई भन्दै।

मागेको कति, भयो कति ?

अख्तियारले जोशीविरुद्ध २०६० माघ २८ मा ३ करोड ९३ लाख ६२ हजार ५ सय ७६ रुपैयाँ पदीय दुरुपयोगबाट कमाएको अभियोगसहित १३ वर्षसम्म कैद सजाय र जरिवाना मागेको थियो। तर विशेषले २ करोड १६ लाख १४ हजार ३ सय ७६ रुपियाँ ४१ पैसाको मात्रै स्रोत नपुगेको भन्दै १ वर्ष छ महिनामात्रै कैद सजाय सुनायो। २ करोड भ्रष्टाचार गर्दा १ वर्षमात्रै जेल सजायले सजाय कम भएको जस्तो महसूस सबैलाई भएको छ। तर जति रकमको स्रोत खुलेको छैन, त्यति रकम जरिवाना तिर्नुपर्ने पनि आदेश छ। साथै यी सम्पति पनि जफत हुनेछन्
१.प्रतिवादी दिनेशराज जोशी र गोविन्दराज जोशीको नाममा आरोपपत्रको तालिका नं. २६ मा उल्लेख भएको ने.वै.लि.तथा नवील वैंकको खातामा रहेको रु. १५,५४,९६१।२७ र सोबाट बढे बढाएको सम्पत्ति।
२. प्रतिवादी दिनेशराज जोशी र रक्षा भट्टराईको भागको नारायणी प्रिन्टिंग एण्ड टे्रड सहकारी संस्थाको अफसेट मेसिनको मूल्यांकन प्रतिवेदन बमोजिमको रु. ८८,६४०। र शेयर खरिद रु. १०,०००। समेत जम्मा रु. ९८,६४०।
३. प्रतिवादी गोविन्दराज जोशीको नाममा रहेको रु. २२,०२,८१९।५० मोल कायम भएको बा. २ च ९०४१ नम्बरको टोयोटा ल्याण्डक्रुजर गाडी एक।
४. गण्डकी टेक्निकल ट्रेनिंग सेन्टरको नाममा २०५३।९।२८ मा जिल्ला तनहुँ कुर्लुङ गाविस वडा नं. ६(ङ ) कि.नं. ११५,१३४,५५९ र ६३ को लिखत मूल्य २,३६,२५०। कायम भएको मध्ये प्र.दिनेशराज जोशीको हक पुग्ने एक तिहाई जग्गा।
५. प्रतिवादी दिनेशराज जोशी समेत ३ जनाले संयुक्त रुपमा खरिद गरेको तनहुँ फराकचौर ९ग कि.नं.८०१ र ८०२ को लिखत मूल्य ३,५८,२००। कायम भएको जग्गा मध्ये एक तिहाई जग्गा।
६. प्रतिवादी ताराराज पाण्डेको नाममा रहेको मूल्य रु. ३१,१३,२००। उल्लेख भएको ललितपुर उपमहानगरपालिका वडा नं. २० (ख) कि.नं.५३०,४५१,४७४ र ४७६ समेतको जग्गा रोपनी १–९–१–३ र सो जग्गामा भएको घर लगापात समेत।
७. प्रतिवादी गोविन्दराज जोशीको नवील र्वैंकमा अमेरिकी डलरको खाता नं ०११०२१३०४३२०१ मा रहेको अमेरिकी डलर १६,०६८।१९ को आजको सटही दर रु. ८९.३१ अनुसार हुने रुपैयाँ १४,३५,०५०।०५।
जफत गर्न नपुग बाँकी विगो रु. १,३०,११,५५५।५९ को हकमा प्रतिवादी गोविन्दराज जोशीको अन्य जायजातबाट प्रचलित कानून बमोजिम असूल उपर गर्ने आदेश पनि छ।

जोशीको पक्षमा कसले बहस गरे ?

वादी नेपाल सरकारको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयका उप न्यायाधिवक्ता तेजनारायण पौडेल र शाखा अधिकृत राजेन्द्रसिंह भण्डारीले बहस गरेका थिए।
प्रतिवादी गोविन्दराज जोशीको तर्फबाट भने घघडान वकीलहरु थिए- वरिष्ठ अधिवक्ता हरिहर दाहाल, अधिवक्ताहरु गोपालकृष्ण घिमिरे, यदुनाथ खनाल, धव बास्कोटा, हिरा रेग्मी। प्रतिवादी सासु नीरकुमारी पन्त र सालो बासुदेव पन्तका तर्फबाट अधिवक्ताहरु कृष्ण सापकोटा, माधव कुमार बस्नेत, मदन रेग्मी, वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी संभव र प्रतिवादी ताराराज पाण्डेको तर्फबाट वरिष्ठ अधिवक्ता यज्ञमूर्ति बन्जाडे र अधिवक्ता यदुनाथ खनालले बहस गरेका थिए। २०६९।२।२९ देखि २०६९।३।६।४ सम्म ९ दिन बहस भएको थियो।

किताब बेचेर ३० लाख कमाएको

झण्डै ४ करोड रुपियाँको स्रोत खुलेन भन्दै अख्तियारले मुद्दा दायर गरेपछि गोविन्दराज जोशीलगायत उनका आफन्तलाई समस्या पर्‍यो। ती सम्पतिको स्रोत देखाउने नाममा उनले के केसम्म गरे, त्यसको केही झलक यहाँ हेरौँ-
जोशीले नामै नसुनिएका चार किताबहरु ‘मेरो अनुभूतिहरु’ भाग, १, भाग २, भाग ३ र ‘शव्द चित्रमा नेपाल’ बेचेर ३० लाख ८७ हजार ८१५ रुपियाँ कमाएको भनेर दावी गरेका थिए।
तर अदालतले किताव प्रकाशन गर्न लगानी लेखकको रुपमा रहेका जोशी आफैंले गरेकोमा सो लगानी खुलाएको पाइएन भनेर बिताइदेको छ। लेखक आफ्नै मिलेमतोको नारायणी प्रिन्टिंग प्रेस वाहेक अन्य प्रकाशन तनहुँ नेपाली कांग्रेस बाहेक आधिकारिक दर्तावाला प्रकाशक भन्ने देखिन नआएबाट पनि लगानी प्रतिवादी गोविन्दराज जोशीको नै रहेको मान्नु पर्ने हुन आयो। ३० लाख आम्दानी हुने किताव प्रकाशन गर्न बढीमा २० प्रतिशत रोयल्टी पाउनेमा बिक्रेता कमिशन बाहेक अर्को ५० प्रतिशत लगानी आफैंले गरेको मान्नु पर्ने हुन्छ भनिएको छ फैसलामा।
३० लाख आम्दानी हो भनेर जिकिर गरेकोमा अदालतले अख्तियारले जस्तै २ लाखमात्र आम्दानी ठहर गरेको छ। तर त्यो पनि बढी हुनुपर्छ भन्ने चाहिँ मेरो ठहर हो। नामै नसुनेका किताब बेचेर त्यत्रो आम्दानी हुने भए त जसले नि किताब लेख्छ।

विदेशी मुलुकले मन्त्रीलाई पैसा दिन्छ?

गोविन्दराज जोशीले ४९ लाख रुपियाँ पाएको हिसाब देखाएका छन्। आम्मामा, विदेश घुम्दा त्यत्रो कमाइ हुँदो रैछ है। अझ एउटा अर्को बुँदा देखेर त तीन छक्क परेँ। विदेश भ्रमणको क्रममा विदेशी संस्था वा मुलुकवाट प्राप्त रकम रु.२५,६३,७८३। अहो विदेशी मुलुकले पनि पैसा दिँदो रहेछ ? कुन देश होला त्यो नेपाली मन्त्रीलाई पैसा दिने हँ ? कुन संस्था होला त्यो ? त्यसरी दिएको पैसा लिन नैतिकताले दिन्छ ?

११ वर्ष पढाएर २ लाख, १२ वर्ष वकालत गरेर ३५ लाख

जोशीले २०२४ सालदेखि २०३४ सालसम्म ११ वर्ष कहिले शिक्षक र कहिले हेडसर भएर २ लाख रुपियाँ कमाएको भनेका रहेछन्। शंकास्पद ! एउटा हेडसरले यति कमाउँछ ? कमाउन कमाउला लौ, खर्च हुँदैन ? त्यतिबेलाको २ लाख रुपियाँ भनेको कति हुन्छ, तपाईँहरुलाई भनिरहनु पर्ने कुरा हो ?
एक शिक्षक र हेडसरले ११ वर्षमा कति कमाउला? गो‍विन्दराज जोशीले २ लाख कमाएको भनेका रहेछन् खर्चै हुन्नथ्यो कि के हो खाली आम्दानी?
त्यसैगरी उनले २०३५ सालदेखि ०४७ सालसम्म १२ वर्ष वकालत गर्दा ३५ लाख कमाएँ भनेका रहेछन्। अदालतले त्यो पनि मानेन। किन त ?
किनभने त्यो सम्पति उनले मन्त्री हुँदा सम्पति विवरणमा पेश गरेका रहेनछन्। त्यसैले अदालतले फैसला गरिदियो पहिले आफूले पेश गरेको सम्पत्ति विवरणमा नदेखाएको सम्पत्तिलाई सो मिति भन्दा पछि मेरो सम्पत्ति भनी जिकिर लिन नमिल्ने।
फैसलामा भनिएको छ-
आफूले विधिवत रुपमा पेश गरेको सम्पत्ति विवरणलाई खण्डन गर्न मिल्दैन। पेश गरेको सम्पत्ति विवरणमा लेखिएको भन्दा बढी सम्पत्ति आफूसंग त्यतिबेला थियो भनी वैधानिक रुपमा प्रमाणित गर्र्नु पर्दछ।
सम्पत्ति विवरण भर्दा बाबु बाजेबाट आएको पुर्खौली सम्पत्ति, बिक्री गरेको जग्गाको आर्जन, शिक्षक भएर कमाएको तलव भत्ता, ट्युशनबाट कमाएको आर्जन, सकृय चालु वकील भएर कमाएको सम्पत्ति आदि केही पनि जोड्दै नजोडेका होलान् भनी भन्न सकिदैन भने मन्त्री पदमा नियुक्त भए पछि आफैले भरेको सम्पत्ति विवरणमा नदेखाएको सम्पत्तिलाई अहिले मुद्दा परे पछि मेरो यो यो सम्पत्ति थियो भनी भनेको भरमा सो जिकिरलाई मान्न सकिने कानूनी आधार पनि प्रतिवादीले देखाउनु सक्नु पर्दछ। यदि त्यसरी विभिन्न श्रोतबाट जोडेको सम्पत्ति बाँकी रहेको भए त मन्त्री पदमा नियुक्ति भए पछि आफूले पटक पटक पेश गरेको सम्पत्तिको विवरणमा देखाउने दायित्व पनि निजकै हुन्छ। सो विवरणमा लेखेको बाहेक सम्पत्ति कतै बाँकी थियो भनी उहाँले देखाउन सकेको पाइदैन।
७ पटक ७।८ मन्त्रालयका विभागीय पूरा मन्त्री भएको पदाधिकारीले पेश गरेको विवरणलाई झूटो भन्न सकिने अवस्था भएन। सो विवरण निज आफैंले लिखित रुपमा पेश गरेको हो। अरुले भरि दिएको वा करबलले भरेको होइन।
प्रतिवादी गोविन्दराज जोशीको मन्त्री भएपछि सम्पत्ति विवरणमा नदेखाएको अन्य पेशबाट आर्जित आय थियो भनी विना आधार प्रमाण मान्न मिलेन।
विदेशबाट ड्राफ्टबाट पैसा पठाएकोमा पनि श्रोत खुल्नु पर्ने, हातहातै पठाएर नहुने, विदेशबाट पैसा आएर मात्र नहुने वैध श्रोत खुल्नु पर्ने, छोरीको कमाई बाबुको आयमा जोड्न नमिल्ने,छोरीको तलव लगायत आय बाबुको आयमा जोडिनु पर्छ भन्ने जिकिरमा छोरीको आर्जनले घर व्यवहार नगरिने फैसलाले उनले वैध प्रमाणित गर्न नसकेको सम्पति बढ्दै गरेको देखिन्छ।

छोराहरु अमेरिका र अस्ट्रेलियामा

खर्चमा उनले आफ्ना एक छोरा दीपकराज जोशीलाई अमेरिका पठाउँदा लागेको खर्च १,२३,८७३।७५ देखाएका छन्। त्यसै गरी अर्का छोरा दिनेशराज जोशीलाई अष्ट्रेलिया पठाउँदा लागेको खर्च ७५,३९८।४० देखाएका छन्। उनीहरुले पठाएको भनिएको पैसा पनि हातबाट पठाएको भए मान्यता दिइएको छैन। बैङ्कमार्फत् स्रोत पुष्टि भएको मात्र मान्यता दिइएको छ।
उनले आफ्नो खातामा छोरी ज्वाईले अमेरिकाबाट पठाएको ५८,००० अमेरिकी डलर मेरो आयमा गणना गरिपाउँ भनी जिकिर गरेका थिए। तर फैसलामा भनिएको छ- ‘छोरीको आय बाबुको आयमा गणना गरिँदैन। त्यसमा पनि उक्त डलर बाबुको लागि नभई आफ्नै घडेरी किन्न र घर बनाउन पठाएको कुरा घडेरी खरिद गरेको र घरको नक्सा पास गरेका समेत प्रमाणबाट स्पष्ट भएको देखिएकाले गोविन्दराज जोशीको आय मान्न मिलेन।’

आफन्तहरु बारे के भो फैसला ?

सालो बासुदेव पन्त प्रतिवादी गोविन्दराज जोशीका गैरकानूनी आर्जनका सम्पत्तिका सम्बन्धमा सम्पूर्ण बैंकिंग कारोवार गर्ने कार्यमा प्रत्यक्ष रुपमा संलग्न रहेको, घर जग्गा समेतका अचल सम्पत्ति विभिन्न व्यक्तिका नाममा राख्ने रखाउने बन्दोबस्त गर्ने, गराउने समेतका कार्य गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ क र प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा २२ को कसूर गरेकाले सोही ऐनको दफा २२ बमोजिम कारणी सरह नै सजाय गरी पाउँ भन्ने अभियोग दावी भएकोमा प्र.गोविन्दराज जोशीले अवैध रुपमा आर्जन गरेको रकमबाट आमा नीरकुमारी पन्तको नाममा रु.३१,१३,२००। मूल्य उल्लेख भएको घर जग्गा राखी प्र.ताराराज पाण्डेको नाममा लुकाउने उद्देश्यले हक सार्ने कार्य र आमा नीरकुमारीको नाममा सोही अवैध रुपबाट आर्जित रकमको मुद्दती खाता खोली एक करोड रुपैयाँ लुकाउने छिपाउने समेतको कार्य गरी प्रतिवादी वासुदेव पन्तले तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६क र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको मतियारको कसूर गरेको ठहर्छ।
सो ठहरेकोले सजायको हकमा सोही ऐन बमोजिम सो विगोको आधी रु. ६५,५६,६००। जरिवाना र कैद महिना ६ (छ) समेत हुने ठहर्छ।
सालोका ससुरा प्रतिवादी ताराराज पाण्डेको हकमा फौ.नं. ९३–६८–००१२२ को छुट्टै भ्रष्टाचार मुद्दा दायर भई सोही मुद्दाको फैसला बमोजिम हुने भएकाले निजको कसूर सम्बन्धमा यस मुद्दामा बोली रहन परेन। प्रतिवादी ताराराज पाण्डेको नाममा रहेको मूल्य रु. ३१,१३,२००। म्ाोल कायम भएको ललितपुर उपमहानगरपालिका वडा नं. २० (ख) कि.नं.५३०,४५१,४७४ र ४७६ समेतको जग्गा रोपनी १–९–१–३ र सो जग्गामा भएको घर लगापात समेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ समेत बमोजिम जफत हुने ठहर्छ।
सासु प्रतिवादी नीरकुमारी पन्तको मिति २०६३।२।३१ मा मृत्यु भैसकेको देखियो। निज नीरकुमारी पन्तको नाममा प्रतिवादी गोविन्दराज जोशीले अवैध रुपमा आर्जन गरेको रकमको मुद्दती खाता खोलिएको र जाउलाखेल स्थित घर जग्गा खरिद भएको देखिएपनि निजको उमेर अवस्थाले गर्दा ती कार्यमा आफैं संलग्न भएको नभै छोरा प्रतिवादी बासुदेव पन्तको अग्रसरता र संलग्नता रहकोले निज नीरकुमारी पन्तले आरोपित कसूर गरेको नदेखिँदा सफाई पाउने ठहर्छ।
त्यसैगरी प्रतिवादी रामकृष्ण तिवारीको हकमा विचार गर्दा नीरकुमारी पन्त तीर्थाटन जाने भएकीेले निजको अधिकृत वारेसको नाताले जाउलाखेलको घर पारित गराउने कार्यमा सम्म संलग्न रहेको साथै गोविन्दराज जोशीको खाताबाट प्राप्त चेकको रकम निकाली बासुदेव पन्तलाई उपलब्ध गराएकोसम्म देखिँदा प्रतिवादी गोविन्दराज जोशीको गैरकानूनी आर्जनको कुनै सम्पत्ति राख्ने, लुकाउने, छिपाउने कार्यमा मतियारको रुपमा संलग्न रहेको कुराको पुष्ट्याई शंकारहित रुपबाट भएको नपाइएकोले निजले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ।
छोरा प्रतिवादी दिनेशराज जोशीका हकमा निज समेतको नाउँमा दर्ता रहेको जग्गा जफत प्रयोजनको लागि आरोप पत्रमा दावी लिएको र निजको नाउँको जग्गा जफत हुने ठहरेकाले अरु केही गरिरहनु परेन। अन्य कुरामा नेपाल सरकारको अभियोग दावी पुग्न सक्तैन।

"राजु बस्नेत आफैँले बलात्कार गरे" - samabad


-हिमाल शर्मा
(३० जेठ, ०६३ मा रिहा भएलगत्तै अखिल (क्रान्तिकारी) का तत्कालीन नेता हिमाल शर्मासँग प्रमिला देवकोटाले लिएको अन्तर्वार्ता जुन लन्डनबाट प्रकाशन हुने 'युरोपको नेपालीपत्र’मा प्रकाशित भएको थियो । यसले भैरवनाथ गण र राजु बस्नेतको वास्तविकता बुझ्न प्रधानमन्त्रीलाई सहयोग गर्ला भन्ने अपेक्षा छ । सं.)
तपाईं कहिले गिरफ्तार हुनुभयो ?
०६० साल कात्तिक ३ गते । कर्णेल राजु बस्नेत स्वयंले मलाई गिरफ्तार गरेका हुन् ।
भैरवनाथ गणबाट जिउँदै कसरी र्फकनुभयो ?
म मर्न नलेखेर बाँचेको व्यक्ति रहेछु । बाँच्छुजस्तो लाग्ने त कुरै थिएन । मेरै आखा अगाडि हाम्रा साथी तथा कार्यकर्तालाई निकै यातनापछि मारियो र त्यहीँ गाडियो । हामी हाम्रै साथीको चिहानमाथि राखिएका थियौँ । अहिले त्यो गण सम्झँदा सपनाजस्तो लाग्छ ।
भैरवनाथ गणमा बन्दीहरूमाथि निकै निकृष्ट व्यवहार भएको आरोप छ । यो सत्य हो ?
मलाई गिरफ्तार गरी सीधै महाराजगन्जस्थित भैरवनाथ गणमा लगियो । त्यहाँ पहिलादेखि नै हाम्रा साथीहरू ज्ञानेन्द्र त्रिपाठी, दीपेन्द्र पन्तलगायतलाई राखिएको रहेछ । धेरै महिला साथी पनि थिए । सबैलाई आँखामा पट्टी थिए र हात पछाडि बाँधिएका थिए। तिनीहरूमा रेवकला तिवारी, कौशला पोखरेल, रेनुका दुलाल, दुर्गा विसंखेलगायत थिए । उनीहरूले हामीबाट धेरै जानकारी लिन र आत्मसमर्पण गराउन यातनाका विभिन्न विधि अपनाए । हामी आस्थाबाट विचलित नभएपछि यातना थपिँदै गयो । पानीमा डुबाउने, करेन्ट लगाउने, हिटरमा पिसाब फेर्न लगाउने, सिस्नोपानी लगाउने, पत्तीले चिरेर नुन लगाउनेजस्ता यातना त सामान्य थिए ।
सैनिकहरू मुख्य गरी अधिकृतहरू महिला बन्दीमाथि बलात्कारलाई आफ्नो हक मान्दा रहेछन् । ०६० मंसिरको अन्तिम हप्तातिरको कुरा हो । वाइबा नाम गरेकी एकजना महिलालाई तेह्रजना सैनिकले बलात्कार गरेको मैले आफ्नै आँखाले देखेँ । त्यसमा कर्नेल राजु बस्नेत पनि थिए । उनी मलाई राखिएको ठाउँभन्दा पाँच मिटर मात्र टाढा थिइन् । वाइबाको आठ महिनाको गर्भ थियो । उनले 'पहिले बच्चा  जन्माउन देऊ, त्यसपछि चाहेको गर' भनेर गर्नुसम्म हारगुहार गरिन् । यति हुँदाहुँदै पनि सैनिकहरूले 'हामी अहिल्यै जन्माइदिन्छौ' भन्दै बलात्कार गरिरहे । नभन्दै दुई घन्टापछि एउटा मरेको बच्चा जन्मेछ । छोरी रहिछ । ती महिलाको यातनाका कारण भोलिपल्टै मृत्यु भयो । त्यसपछि कर्नेल बस्नेत आएर 'जहाँ मरेकी छ त्यही खाल्डो खनेर पुरिदे, कसैले केही गर्ने वाला छैन' भन्दै गए । र, ती महिलालाई त्यही पुरियो । हामीलाई पनि साङ्लोमा बाँधिएको थियो  र पछाडिबाट हात बाँधिएको थियो । अरूवेला  हाम्रो आँखामा पट्टी बाँधे पनि यातना दिने समयमा भने खोलिन्थ्यो, आतंकित पार्न । उनीहरूले १५, १६ वर्षदेखि ६० वर्षसम्मका महिलालाई पनि छाडेनन् ।
खानपान कस्तो थियो ?
के-को खान पाउनु ? त्यहाँको चलन नै यातनाका नयाँ-नयाँ तरिका अपनाउने र मार्ने रहेछ । हाम्रा तीनजना साथी भोकले मरे । १८ घन्टामा एकपटक चिया गिलासको एक गिलास फुको भात खान दिइन्थ्यो । त्यही पनि पछि खान नदिएर साथीहरू छट्पटाइरहेका थिए । बैसठ्ठी वर्षका खड्कबहादुर बुढा भन्ने हुनुहुन्थ्यो । उहाँले मैले दूध र पाउरोटी खान पाए हुन्थ्यो भन्दै हुनुहुन्थ्यो । त्यतिवेलै मेजर आएर कुट्नसम्म कुटे । 'खालास् दूध-पाउरोटी, तँलाई हामी भोकै मार्छौ' भनी कुटे । उहाँ त्यहीँ मर्नुभयो । पदमनारायण नहर्कीको पनि खानै नपाएर मृत्यु भयो । किरण रायमाझीको कुटाइबाट भएको घाउ पाकेर पिपैपिप कुण्ड भएको थियो । उनी पनि त्यो घाउको पीडा र खानै नपाएर मरे । केही नलागेर हामीलाई यतिसम्म गर्न लगाए कि त्यस्तो घटना मानव इतिहासमा बिरलै होला ।
एकजना हाम्रै कार्यकर्ता रेवकला तिवारी र भवनाथ धमलालाई त्यहीँ राखिएको थियो । उनीहरू हामीलाई निकृष्टभन्दा निकृष्ट यातना दिएर मनोरञ्जन लिन चाहन्थे । रेवकला र भवनाथ श्रीमान् श्रीमती थिए । उनीहरूलाई नांगै बनाइयो र त्यही हाम्रा अगाडि शारीरिक सम्पर्क गर भनी आदेश दिइयो । उनीहरूले भिडियो क्यामरा ल्याएका थिए, त्यो दृश्य खिच्नलाई । त्यो पनि हुन सकेन र
रेवकलालाई एकातिर लगेर रेप गरियो भवनाथलाई कुट्नसम्म कुटियो । त्यसपछि तत्कालै हामी सबैलाई नांगै पारियो । महिला बन्दी र पुरुष बन्दी दुवैलाई नांगै पारेर 'ल तिमीहरूले बलात्कार गर' भनी हामी पुरुषलाई आदेश दिइयो । तर, त्यो पनि सम्भव हुने कुरै थिएन । त्यसपछि सबै महिलालाई लाइन लगाएर सेनाले बलात्कार गरे । महिला साथीहरूले बरु हामीलाई मार, गोली हान भनेर कराएको सुनिन्थ्यो । हामीलाई एउटा हलमा राखिएको थियो । नामबाट कसैलाई पनि बोलाइँदैनथ्यो । जबसम्म महिला आत्मसमर्पण गर्दिन बलात्कार गर्नु भनेर माथिबाट आदेश आएका हुन्थे । हामीले किन यसो गर्छौ भनी सोध्दा 'पिट्नभन्दा यही ठीक छ नि' भन्थे ।

तपाईं त मारिएको हल्ला थियो, बाहिर ?
०६० साल पुस ५ गते राति साढे १० बजेतिर एउटा ठूलो ट्रक आयो । त्यसमा हामी सबैलाई राखियो । तिमीहरूलाई कुन ठाउँमा मर्न मन छ भन भनेर सोधियो । हामी केहीलाई बाँच्न लेखेको रहेछ । माथिबाट के आदेश आएछ कुन्नि, 'तिमीहरूको पालो भोलि' भन्दै बिना मगर, कृष्ण केसी र मलाई हलमा लगेर राखियो । सायद त्यतिवेला लगेर मारेका भए हामी मरिसक्थ्यौं। त्यही घटनापश्चात् हामी मारियौँ भन्ने हल्ला फिजिएको हुन सक्छ । तर, हाम्रा अन्य साथी रेवकला तिवारी, भवनाथ घमला, निश्चल नकर्मी, ज्ञानेन्द्र त्रिपाठी, रेनुका दुलाल, दुर्गा विसंखे, गोकुल निरौला, भीम महर्जनलगायतलाई हाम्रै आँखासामुन्ने त्यो ट्रकमा राखिएको हो । र, त्यहाँबाट गएका हाम्रा अन्य साथी अहिलेसम्म फर्केका छैनन् । पछि हामीले त्यहाँबाट फर्केका सैनिक जवानबाट पाएको जानकारीअनुसार शिवपुरीमा उनीहरूलाई मारेर पुर्न पहिला नै खाल्डो तयार पारिएको रहेछ । त्यहाँ गोली हान्ने समयमा सैनिक जवानहरू आतंकित भएर  भागाभाग गरेछन् । पछि,  कर्नेल  राजु बस्नेत, विवेक विष्ट, इन्दीवरसमसेर राणाले हाम्रा सबै साथीलाई गोली हानेर मारेछन् र पुरेछन् । त्यो कुरा त्यहाँबाट आएका सैनिकले नै हामीलाई  बताए ।
त्यसपछि मार्ने प्रयास गरिएन ?
यातानाका क्रियाकलाप त यथावत् नै थिए । ५ पुसपछि धेरै ठाउँबाट हामीलाई खोजीनीति गर्न थालियो । त्यहाँ राखिएको छ भन्ने भइसकेपछि मिडियाले मलाई फलो गर्‍यो । त्यसपछि उनीहरूले मलाई मारिहाल्न सकेनन् । केही समयपछि पर्खेर मार्ने विचारमा उनीहरू थिए ।
भैरवनाथ गणमा कति बस्नुभयो ?
सत्ताइस महिना । हामीहरू त्यहाँ एक घन्टा होसमा हुन्थ्यौँ र तेइस घन्टा बेहोसीमा । हामीलाई अठार घन्टामा एकपटक खान दिइन्थ्यो, एक चिया गिलास भात । हामीलाई दिइएको यातनाको पीडा त हुन्थ्यो नै त्यसमाथि भोक । हामी खाना खाएर भाडा मोल्न जाँदा त्यहाँ खसेका जुठो टिपेर खान झगडा पर्थ्यो। यस्तो घटना त हिटलरले पनि यहुदीमाथि गरेको थिएन होला । हामी पीडाले गर्दा 'बरु गोली हानीदिए हुन्थ्यो' भन्थ्यौँ । सत्ताइस महिनापछि मलाई  सर्बोच्चले रिहा गर्न आग्रह दियो । तर, लगत्तै मलाई त्यहाँबाट पनि पक्राउ गरियो र अन्य झुटा मुद्दा लगाएर नख्खु कारागारमा लगियो ।
नख्खु जेलमा पनि यातना दिइन्थ्यो ?
यातना त दिइन्थ्यो, तर भैरवनाथ गणभन्दा त्यहाँ धेरै होलो थियो ।

Tuesday, July 24, 2012

नुन कम खानुस्, क्यान्सरबाट बँच्नुस् - onlinekhabar


खानामा नुन कम राखेर खाने मानिसलाई उच्च रक्तचाप तथा मुटु सम्बन्धि रोगको खतरा केही कम हुने कुरा त धेरै जनालाई थाहा होला । तर नुन कम भएको खाना खाने मानिसमा क्यान्सर जस्तो असाध्य रोग लाग्ने सम्भावना समेत कम हुन्छ भन्ने कुरा भने थाहा नहुन सक्छ । थाहा होस् पनि कसरी हालैमात्र एक अनुसन्धानले यस्तो कुरा पत्ता लगाएको हो ।
विश्व क्यान्सर अनुसन्धान कोषले गरेको अनुसन्धानले भोजनमा नुन लगायतका लवणको मात्रा कम गर्ने मानिसमा पेटको क्यान्सर हुने सम्भावना कम हुन्छ । जो मानिसले बढि नुन हुने ब्रेड जस्ता तयारी खाद्य पदार्थ कम खान्छ र तरकारीमा समेत नुनको मात्रा नियन्त्रण गर्छ उसमा पेटको क्यान्सर हुने सम्भावना घटेर जाने शोधको निष्कर्ष छ ।
कति नुन खानु उपयुक्त ?
भोजनमा धेरै नुन हुनु रक्तचापका लागि समेत हानिकारक हुन्छ र यसले अन्य मुटुरोग तथा हृदयाघात जस्ता समस्याको समेत खतरा बढाउँछ । यतिमात्र होइन बढि नुनले क्यान्सर समेत गराउँछ । त्यसैले हामीले भोजनमा नुनको मात्रा नियन्त्रणमा अति सावधानी अपनाउनुपर्ने भएको छ । भोजनमा प्रत्येक दिन ६ ग्राम सम्म मात्र नुन खानु स्वास्थ्यको लागि लाभदायक मानिन्छ । यो भनेको लगभग एक चियाचम्चा जत्ति हो । तरकारी,अचार तथा अरु खानामा गरी हामीले अवश्य पनि यो भन्दा बढि नुन खाइरहेका हुन्छौँ । यसले अवश्य पनि हामीलाई पेटको क्यान्सरतर्फ अग्रसर गराइरहेको कुरा थाहा पाउनैपर्ने हुन्छ । हामीले मात्र कहाँ हो र विश्वमा हरेक व्यक्तिले प्रत्येक दिन औषतमा ८.६ ग्राम नुन खाने गरेको क्यान्सर अनुसन्धान कोषको तथ्यांकले देखाउँछ । यदि नुनको यो मात्रालाई ६ ग्राममा झार्न सकेमा पेटको क्यान्सरमा १४ प्रतिशतले कमी हुने कोषको भनाइ छ ।
खानलाई स्वादिलो बनाउन मात्र होइन नुन लगायतका लवण सरीरका लागि अत्यावश्यक पनि हुन्छन् । तर यस्ता लवणको मात्रा आवश्यकता भन्दा बढि भयो भने त्यो हानिकारक हुन्छ । त्यसैले आफैले तयार पार्ने तरकारी तथा अचार लगायतका खाद्यपदार्थमा नुन कम राख्ने गर्नु उपयुक्त हुन्छ । साथै नुनको मात्रा बढि हुने विभिन्न फास्टफुड पनि कम मात्र खानु हितकर हुन्छ ।

जरिवाना तिर्न ग्लोबल आइएमई बैँक नै किन ? - mysansar

गलत ठाउँमा पार्किङ गरेको, रङ्ग साइडमा चलाएको, ट्राफिक लाइटको पालना नगरेको, मापसेमा पक्रेको जस्ता ट्राफिक नियम उल्लङ्घन गरेर प्रहरीको फन्दामा पर्नुभएको छ भने अब पहिले जसरी जरिवाना तिरेर हुन्न। भोलि बुधबार (१० गते) देखि प्रक्रिया परिवर्तन हुँदैछ। पहिले भए पूर्जी लिएर ट्राफिक कार्यालय जाने, जरिवाना बुझाउने, कागजात लिएर फर्कने हुन्थ्यो। अब चाहिँ मानौँ तपाईँको मोटरसाइकल गलत ठाउँमा पार्क गरेको भन्दै प्रहरीले लाइसेन्स खोस्यो भने पूर्जी लिएर नजिकैको ट्राफिक कार्यालयमा जानुपर्छ। त्यहाँ ट्राफिकले जरिवाना तोकेको तीन प्रति बैंक भौचर भर्नुपर्छ, उही टियुको ट्रान्सक्रिप्ट निकाल्दा भरेको भौचर जस्तो क्या! अनि त्यो भौचर लिएर कहाँ जानु पर्‍यो- बैँकमा। बैँकमा जाने, पैसा तिर्ने, अनि भौचरको एक प्रति फेरि लिएर ट्राफिक कार्यालयमा नै आउने। यी पैसा तिरेँ त भन्ने, भौचर बुझाउने, अनि लाइसेन्स लिएर जाने। पैसा तिर्नलाई बैँक चाहिँ ग्लोबल आइएमइ बैँकको कुनै पनि शाखा तोकिएको छ। यही बैँक किन तोकियो त ? सरकारी बैँक खोज्ने हो भने शाखा धेरै भएका राष्ट्रिय वाणिज्य बैँक, नेपाल बैँक छन्। निजी नै हो भने पनि शाखा धेरै भएका अरु बैँक पनि छन्। ग्लोबल आइएमइ बैँक नै किन त ? जसको भक्तपुर जिल्ला भर कुनै शाखा नै छैन।
हेर्नुस् त, भक्तपुर घर भएको कसैको लाइसेन्स त्यता जफत भयो भने उसले के गर्नुपर्छ अब ? पहिले त्यहाँको ट्राफिक कार्यालयमा जान्छ, पूर्जी देखाउँछ, जरिवाना तोकेको तीन प्रति भौचर लिन्छ। अब जरिवाना तिर्न कहाँ जानुपर्‍यो त-बैँक। जुन पायो त्यही बैँकमा गएर हुन्न। जानुपर्‍यो ग्लोबल आइएमई बैँक। यो बैँकको भक्तपुर जिल्ला भर कुनै शाखा नै छैन। त्यसैले कि ललितपुर जानुपर्‍यो कि चाहिँ काठमाडौँ। त्यहाँको बैँकमा लाइन बसेर पैसा तिर्‍यो, भौचर बोक्यो अनि फेरि लाग्यो भक्तपुर कै ट्राफिक कार्यालयतर्फ। त्यहाँ भौचर बुझायो अनि लाइसेन्स फिर्ता लियो।
कति झण्झट !
अझ काठमाडौँ बाहिर जान लागेको गाडी नागढुंगामा समातियो भने ? कागजात लिन फेरि राजधानी आउनुपर्छ।
ट्राफिकले राजस्व स‍ंकलन गर्दा भित्रभित्र पैसा गायब गरेर पैसा खान थाले भनेर ट्रान्सपरेन्ट देखाउन यसो गर्नुपरेको भनिएको छ। खाने मुखलाई जुङ्गाले त के छेक्थ्यो र, तर बैँकमार्फत् नै गर्ने भएपछि २० वटा काठमाडौँमा र ३ वटा मात्र ललितपुरमा शाखा भएको बैँकलाई नै किन रोजेको होला त ?
यो बैँक रोज्ने काम चाहिँ ट्राफिकले गरेको हैन। राजस्व भनेको देशको ढुकुटी भएको हुनाले र यो बैँक छान्ने निर्णय गर्ने काम गरेको हो देशको केन्द्रीय बैँक नेपाल राष्ट्र बैँकले। राष्ट्र बैँकले नै अरु सबै वाणिज्य बैँकहरुको लागि नियमहरु बनाउने गर्छ। राष्ट्र बैँकले ग्लोबल आइएमइलाई माया गर्नुको कारण के हो त ?
केही समाचारहरु हेर्नुस्-
राष्ट्र बैंक सञ्चालकमा पौडेल र अर्याल
बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला गत चैतमा रामहरि अर्याल राष्ट्र बैँकको सञ्चालकमा नियुक्त भए। समाचारमा भनिएको छ- पौडेल एमाओवादीमा प्रभावशाली व्यक्तिका रूपमा चिनिन्छ।
उनी राष्ट्र बैँकमा सञ्चालक भइसकेपछि ट्राफिकको राजस्व ग्लोबल आइएमइले उठाउने निर्णय भएको हो।
ग्लोबल आइएमइ कसको बैँक हो त ? यो भर्खरै मर्ज भएको बैँक हो। मर्ज हुनुअघि ग्लोबल बैँकका अध्यक्ष चन्द्र ढकाल र आइएमई फाइनान्सियल इन्स्टिच्युसनका अध्यक्ष हेमराज ढकाल थिए। दुवै दाजुभाइ हुन्। ती दुवै पनि एमाओवादी निकट नै मानिन्छन्। निर्णय गर्ने राष्ट्र बैँकको सञ्चालक समितिका सदस्य रामहरि अर्यालका छोरीज्वाइँ हुन् हेमराज ढकाल।
अर्याल यसअघि पनि राष्ट्रपति कार्यालयका सचिव हुँदा यिनै छोरीज्वाइँ हेमराज ढकालको धापासीस्थित घरलाई राष्ट्रपति आवास बनाउन भाडामा लिएको भन्ने आरोप लागेर विवादित बन्न पुगेका थिए। प्रतिमहिना ३ लाख रुपैयाँ भाडा तिर्ने गरी घर लिइएको थियो। अर्थ मन्त्रालयले तीन लाख भाडालाई चलनचल्तीभन्दा अस्वभाविक माने पनि मुख फोर्न भने सकेको थिएन। आखिर नौ महिना भाडा तिरेर राष्ट्रपति त्यहाँ बसे। (विस्तृत समाचार यो लिङ्कमा छ)
अनि यो समाचार हेर्नुस्, मर्ज भइसकेपछि ग्लोबल आइएमइ बैँकको उद्‌घाटन कसले गरेको थियो ?
अब केही बुझ्नु भो त- भक्तपुरमा शाखा नै नभएको बैँकलाई राजस्व उठाउने जिम्मा राष्ट्र बैँकले किन दियो ? मैले त केही बुझिनँ। राष्ट्र बैँकका कोही कर्मचारीले बुझाइदिनुहुन्थ्यो कि !

Sunday, July 22, 2012

एउटा सुपरस्टारको अन्त्य - nagariknews

प्रकाश सायमी- सन् १९६४ भारतीय चलचित्र जगत्मा ऐतिहासिक घटना मानिन्छ। यही वर्ष फिल्मफेअर पत्रिकाले प्रसिद्ध अभिनेता, निर्माता, निर्देशक गुरुदत्तको आत्महत्या, पतन र सफलताको कथासहित विशेषांक प्रकाशित गर्‍यो। त्यही वर्षको अर्को महिना फिल्मफेअरले युनाइटेड प्रोड्युसर्ससित मिलेर नयाँ प्रतिभा खोजीका क्रममा पञ्जाब अमृतसरमा जन्मेका जतिन खन्नालाई नायकका रूपमा छान्यो।
सन् १९६५ मा यिनै जतिनले राजेश खन्ना नामबाट चेतन आनन्दद्वारा निर्देशित 'आखरी खत' बाट पहिलो पाइला सुरु गरे। एक वर्षपछि यो चलचित्र रिलिज भयो तर चलेन। अर्को वर्ष उनकै 'राज' रिलिज भयो, त्यो पनि चलेन। फिल्मफेअर-युनाइटेड प्रोड्युसर्सले यसअघि नन एक्टरका रूपमा परिचित धर्मेन्द्रलाई पनि पर्दामा ल्याएका थिए। उनी पनि चलेका थिएनन्। चलचित्र जगत्मा नेपाली कदका देखिने भएकाले राजेश खन्नालाई सुरुमा गोर्खे हिरो भनेर हेपिन्थ्यो। दुई वटा असफल फिल्मको धक्का खाइसकेका यी गोर्खे हिरो नेपालीको बाहुल्य भएको पहाडी राज्य गोर्खाल्यान्ड आइपुगे, बंगालीभाषी फिल्मकार शक्ति सामन्तको 'आराधना' सुटिङ गर्न । दार्जीलिङमा स्वागतार्थ सामन्तका नेपाली मित्रले एलिस भिल्लामा उनलाई कालो भादगाउँले टोपी दिए। त्यही टोपी लगाएर उनले दार्जीलिङको उकालीमा 'मेरे सपनोँ के रानी कब आएगी तू' गाएपछि उनी सफलताको उकालो चढको चढ्यै भए।

गोर्खाल्यान्डमा पाएको भादगाउँले टोपीले उनका आँखाको भावप्रवणशीलता अनि सुरम्य मुखमोहोडालाई पर्दामा स्टारको रूपमा रूपायित गरिदियो। यो एउटा कथा यहीँबाट सुरु भयो। उनी कहलिए सुपरस्टार। यो पगरी पाउने उनी हिन्दुस्तानका पहिलो कलाकार मानिए। उनका प्रचारप्रसार प्रमुख हरिशकुमार मेहरा र के राजदानले यो पदवीलाई राष्ट्रियकरण गरेर छाडे। थ्री बीग (देव आनन्द, दिलीपकुमार र राज कपुर) को अपार सफलता, शम्मी कपुरको याहु अनि जुबिलीस्टार राजेन्द्र कुमारको सौर्यकै बीचमा राजेश खन्नाले ६९ देखि ७२ सम्म चार वर्षमा १५ सुपरहिट चलचित्र दिए, त्यो पनि एकल नायकका रूपमा। यही सफलताले उनको जीवनमा रातारात परिवर्तन ल्यायो। उनी स्टार, सुपरस्टार अनि सुप्रीमस्टारको पदवीबाट पुजिन थाले। उनलाई आफ्ना प्रशंसक र समर्थकले उचालेको उचाल्यै गरे। उनले कहिल्यै धरातल देखेनन्।
उनका असंख्य किंवदन्ती बने। उनलाई ज्वरो आउँदा उनका महिला फ्यानले तस्बिरमा जल छर्के, उनीसित अनुमति नलिईकन कैयन् युवतीले सिन्दूर हाले, उनको बीएमडब्ल्यु कारमा लिपिस्टिकको अनगन्ती दाग भेटिनु, उनको गुरुसर्टको लोकप्रियता, 'हाथी मेरे साथी' को सफलतापछि अभिभावकले आफ्ना बच्चालाई राजेश खन्नाको स्वर्ण स्पर्श (हिलिङ टच ) दिलाउने क्रम बढ्दै जानु र उनको बिहेको खबरले ५० हजारभन्दा बढी युवतीले आत्महत्याको घोषणा गर्नुजस्ता घटनाले राजेश खन्ना बिस्तारै ईश्वरीय जीवन बाँच्न थाले। त्यति बेला भर्खर उदाएका नवनायक अमिताभ बच्चनले सन् १९७२ सेप्टेम्बर २२ मा सिने गोयर्स क्लब बम्बई फिल्म सोसाइटीको प्रेस क्लबमा आफ्नो बिहेको प्रसंग उठ्दा यस्तो जवाफ दिएका थिए, 'म अहिले बिहे गर्नेवाला छैन। बिहे फिल्मस्टारको निम्ति सामान्य समस्या हो, हाम्रा प्रिय अभिनेता राजेश खन्नाले आज बिहे गर्न चाहे भने ५० हजारभन्दा बढी महिलाले आत्महत्या गर्नेछन्। हुन त म उहाँकोे श्रेणीमा छैनँ तर पनि मजस्तो कलाकारसित बिहे गर्न हिम्मत भएकी बुझक्की महिला चाहिन्छ।'
अमिताभको जवाफले नै राजेश खन्नाको लोकप्रियताको अनुमान गर्न सकिन्छ। खन्नाको लोकप्रियता बढ्दै गएपछि फिल्म एसोसियसनले एकपटकमा छ वटाभन्दा बढी चलचित्र खेल्न नपाउने नियम लागू गर्‍यो जसको घोर भर्त्सना भयो। 'आराधना' सफल भएपछि उनका अर्का एक निर्देशक जे ओमप्रकाशले 'अ' नामबाट मात्र फिल्म बनाए, 'आप की कसम' देखि 'अमृत' सम्म। यसमा उनका अरु सफल चलचित्र आन मिलो सजना, अनुरोध, अवतार, आखिर क्योँ पनि पर्छन्।
राजेश खन्नाको उदयसँगै संगीतकार आरडी बर्मन, गायक किशोरकुमार, अनि गीतकार आनन्द वक्षी पनि टिकिरहे। उनका नायिका मुमताज, केश विन्यासक हकिम किरानवी, नृत्य निर्देशक सोहनलालजी पनि खुबै चले। एउटा अद्भूत कुरा के रह्यो भने मल्टीस्टार चलचित्रको युग आइसक्दा पनि राजेश खन्नाले एकल नायककै रूपमा सयभन्दा बढी चलचित्र धानिरहे। यसमा कति त अत्यधिक चले। यही सफलताले खन्नालाई उग्र अहम्को सिकार बनायो। बिस्तारै हिटलर शैलीको उनको नायकीय जीवन, नायिकाको संवाद पनि आफैँ खोसेर बोलिदिने, अनि आफ्ना सहकलाकारलाई हटाउने आदि उनका खराब बानी इन्डस्ट्रीमा आलोचनाको विषय बन्न पुग्यो। राजेश खन्नाको चक्लिङ आइज, दायाँ कुम माथि दुवै हात लगेर नचाउने स्टाइल, अनि हत्केलाले दुवै ओठ छोपेर गरिने उनका भावलीन अभिनय, प्रवचनीय शैलीको लामो डायलग डेलिभरी उनमा पुनरुक्ति हुन थाल्यो। उनी अलोकप्रिय बन्दै गए।
खाट्टी पञ्जाबी परिवारमा जन्मिएका राजेश खन्नालाई चलचित्र उद्योगमा बढ्दै गएको इस्लामीकरणको ज्ञान नहुनु अनि गुट उपगुट बढ्दै गएको परिघटनाबाट अपरिचित रहनु, सदैव आफ्नै सुपरिचितको घेरामा रहिरहनुले विस्तारै ओझेल पार्दै लगे। उनी आफैँले स्थापित गर्न खोजेका लेखकद्वय (सलिम-जावेद) सित मनमुटाव बढ्नु, जावेद अख्तरलाई सुटिङ स्पटमै गालामा झापड हानेपछि उनले नै नयाँ एंग्री यंगम्यानको परिकल्पना गर्नु, उनका पक्षधर निर्देशक यश चोपडा, मनमोहन देशाई, रमेश सिप्पी, हृषिकेश मुखर्जीसित विस्तारै दुरी बढ्नु उनको उग्र अहम्को परिणाम बन्न पुग्यो। प्रसिद्ध मराठी लेखक महेश एलन्कुञ्चवारले भनेका छन्, 'सफलताको उचाइ हुन्छ तर त्यहाँ टिकिरहन सक्ने हावा हुँदैन। कुनै पनि बेला झर्नुपर्छ।' त्यस्तै भयो सुपरस्टार राजेश खन्नाको जीवनमा, त्यो क्षण पनि छिट्टै आयो, उनी नपत्याउने किसिमले किंवदन्ती बन्दै गए।
आफ्नो गर्वशाली अतीतको दुर्दान्त पाटो सम्भि्कँदै उनले सन् १९९० मा एकपटक फिल्मफेअरलाई भनेका थिए, 'गल्तीहरू मेरै हुन्। मलाई ज्ञानै थिएन कसरी मैले त्यस सफलताको चरम चुलीलाई समाल्ने?' उपाय बिस्तारै खस्किँदै गएपछि उनले फर्केर पनि हेर्न सकेनन्। बम्बई चलचित्र नगरीमा संघर्षको बेला नै जीप हाँकेर काम माग्न हिँड्ने राजेश खन्नाले आफ्ना असफलताका दिनमा झन् कसैसित हात जोड्न सकेनन्। सम्बन्ध चाइनिज रेडियोजस्तै बिग्रे पनि बनाउन सकिन्छ भन्ने सूत्रका अनुयायी भए पनि उनले कहिल्यै पुराना साथी-सहकर्मीसितको कटुता मेट्न सकेनन्। फलःस्वरूप उनी आफ्नाबाट पराई अनि परायाबाट अपरिचित हुँदै गए।
प्रसिद्ध गसिप पत्रकार हेड्डा होप्परले भनेकी छिन्, 'जब उसको पोस्टबक्समा पत्र आउन छाड्छ, जब उसको घरमा प्रशंसकको फोनको घन्टी बज्न छाड्छ, त्यसपछि स्टारको अवसान भएको बुझिन्छ।' दुर्भाग्यले त्यो दिन पनि आयो राजेश खन्नाको जीवनमा। उनका वरिपरि तिनै दस-एघार जना पात्र थिए जो सधैँ उनलाई वाहवाह गरिरहन्थे। उनले खुवाएको रक्सीमा रातभरि उनका प्रतिस्पर्धीलाई गाली गर्थे ... त्यही मातमा राजेश खन्ना सारा समयसत्रलाई शत्रु मान्थे।
उनले चाहेर पनि सम्बन्धहीन भइसकेकी पत्नी डिम्पल कपाडिया र आफ्ना निकटवर्ती प्रतिस्पर्धी अमिताभ बच्चनबाहेक कसैसित सम्बन्ध नवीकरण गर्न सकेनन्। डिम्पलले उनलाई उनकै चलचित्र 'जय जय शिव शंकर' मा निःशुल्क खेलेर सहयोग गरिन् भने अमिताभले आफ्नै आयोजनामा आइफा अवार्डमा उनलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड दिलाएर सम्मान गरे। यी दुई घटनाले उनको जीवनमा सापेक्षिक प्रभाव पारे पनि आमूल परिवर्तन गर्न सकेनन्। उनलाई समयको शक्तिले किनारा लगाइसकेको थियो।
भारतीय चलचित्र जगत्का पहिलो सुपरस्टार राजेश खन्नाको देहान्त यही साउन ३ गते बुधबार भएको मानिन्छ। तर, ३० वर्षभन्दा बढी उनका ड्राइभर रहेका दीपक अधिकारीका अनुसार खन्नाको 'देहान्त' अस्सीको दशकमै भइसकेको थियो।' स्याङजा जिल्लाको बिर्घा निवासी दीपकले राजेश खन्नाको सफल जीवनदेखि पतनको अवस्थासम्म दुई सग्ला आँखाले ३० वर्ष हेर्नुपर्‍यो।
भारतीय दर्शकका प्रिय, आफ्ना 'साहेब'को घनघोर अवसादका दिन चालक दीपक साहेब नसुतेसम्म कारमा उँघेर बस्नुपर्थ्यो। रक्सीले उन्मत्त आफ्ना साहेबलाई पछाडि राखेर मध्यरातको मुम्बई सहरका सुनसान सडकमा ७०-८० किलोमिटर वेगमा कार कुदाएर सुताउने अनि बिहान ५ बजेतिर साहबलाई पलङमा लगेर लडाउँथे। अनि अर्को दिन साहब नउठेसम्म दीपक र उनका सहकर्मीहरू उनलाई घर बाहिर पर्खेर बस्थे। जुबली स्टार राजेन्द्र कुमारसित किनेको आशीर्वाद नामको घर बनाउँदै गर्दा राजेश खन्नाको आफ्नो घरचाहिँ ध्वस्तन्यस्त भइसकेको थियो। उनको जीवनमा त्यति बेला एकांकीपनबाहेक केही थिएन। उनीभन्दा १४-१५ किलोमिटर पर खारमा बस्ने प्रेमिका टीना मुनिम उनलाई छोडेर भारतको सम्भ्रान्त अम्बानी परिवारमा बुहारी भएर गइसकेकी थिइन्। आफूभन्दा १५ वर्ष कान्छी पत्नी डिम्पल कपाडियाले पारपाचुकेको कागज वकिलकहाँ थन्काएर माइतीघर फर्किसकेकी थिइन्। तिनी एकल महिलाका रूपमा समुन्द्र महलमा बस्न थालिसकेकी थिइन्। तिनले पतिको इच्छाविरुद्ध चलचित्रमा पुनर्प्रवेश गरिसकेकी थिइन्। जीवनमा सफलताको प्वाँख बनेको शब्द सुपरस्टार उनका निम्ति ऐनाभित्रको आकाश भइसकेको थियो।
राजेश खन्नाले यस्तो जीवन करिबकरिब बीस-बाइस वर्ष बाँचे। उनी सफलताको सिँढी चढ्दै गर्दा जोजो उनका तल थिए, उनी झर्दा ती सबै माथि पुगिसकेका थिए। राजेश खन्नाको जीवन आफैँमा एउटा मिथकजस्तो बन्न पुग्यो। उनी कम समयमा उदाए र छिट्टै उनको सौर्य शक्ति पनि सेलाउँदै गयो।
मध्यान्तरपछि आफ्ना असफलताका दिनमा आफ्नो चलचित्र 'दाग' को एउटा 'नज्म' सभा-समारोहमा खुब सुनाउँदै हिँड्थे। प्रसिद्ध उर्दू कवि साहिरको यो 'नज्म' उनकै जीवनलाई हेरेर लेखिएजस्तो भयो ..
इज्जतेँ, शोहरतेँ, चाहते, उल्फतेँ
कोइ भी चीज दुनियाँ मे रहते नहीँ
आज मै जहाँ हुँ कल कोइ और था
यही भी एक दौर है वह भी एक दौर था।।

राजेश खन्नाको देहान्तपछि धेरै मिडियाले उनको पतन हुनुमा अर्का सुपरस्टार अमिताभ बच्चनको उदयलाई कारण मानेका छन्। तर, त्यो त्यति नै हास्यास्पद तर्क हो जति अमिताभ उदाएपछि रोमान्टिक चलचित्रको युग अन्त्य भयो भनिन्छ। राजेश खन्ना र अमिताभको दुरी 'नमक हलाल' पछि बढेको स्वभाविक हो तर अमिताभ बच्चनले राजेश खन्नाको छविमा केही विनाश गरेको देखिँदैन। बरु अमिताभ स्वयंले राजेश खन्नाले अस्विकारेका चलचित्र खेलेर परम्परा धानेको पाइन्छ। कवि प्रेमीकोे रूपमा अमिताभले पनि रोमान्टिक चलचित्र कभीकभी, सिलसिला, खेले भने ८० दशकको अन्त्यसम्ममा त राजेश खन्नाले पनि आफ्ना फरक शैलीका चलत्रि दिइरहेका थिए। तीमध्ये वृद्धको भूमिकामा अवतार, असफल पतिको भूमिकामा थोडी सी बेवफाई, अनि नयाँ पुस्तासितको सहकार्यमा सौतन, स्वर्ग उनकास्मरणीय केही चलचित्र अवश्य हुन्।
राजनीतिक धारको चलचित्र आजका एमएलए, रामअवतार खेलेपछि उनकै पदचाप पछ्याउँदै जीतेन्द्रले मेरा देश र अमिताभ बच्चनले इन्कलाब खेलेको पाइन्छ। तर, दुई नायकको द्वन्द्वभन्दा निर्माता-निर्देशकको प्रतिस्पर्धा त्यति बेला प्रस्ट देखिन्थ्यो। बारम्बार भनिएको एउटा कुराचाहिँ सही हो, राजेश खन्नाले समयअनुसार आफूलाई बदल्न सकेनन्। उनी खस्किँदै गए र उनलाई सफलताले साथ छोड्दै गयो। यो त मायानगरीको चलनै हो। गुरुदत्त, श्याम, विश्वजीत, उत्तमकुमारजस्ता थुप्रै नायक यसका कारण बनिसकेको इतिहासमा राजेश खन्नाले आफूलाई सुधार्न सकेनन्। सन् १९६९ देखि १९७२ सम्मको आफ्नो सुपरस्टारडमको ब्याजमा उनले बाँकी जीवन बाँचे।
बलेको आगो ताप्ने बम्बई मायानगरीमा उनलाई वाहवाह गरेर ठग्ने, लुट्ने अनि बर्बाद गर्ने एकातिर थिए भने उनको असफलतापछि पिठिउँ फर्काएर हिँड्ने उनका भक्तको लस्कर पनि प्रशस्तै थियो। वैवाहिक जीवनको असफलता, आयकर विभागबाट आँखा छल्न लुकाएको धन नफर्किनुजस्ता आर्थिक संकट, प्रसिद्धिमा दाग अनि आफूभित्र फैँलिदै गरेको उग्र अहम्ले उनलाई विक्षिप्त बनाउँदै लगेको थियो। उनी चलचित्र आउनुभन्दा दस वर्षअघि गुरु दत्तले सन् १९५९ बनाएको चलचित्र 'कागज के फूल' का नायकजस्तै भए उनी। यसै चलचित्रको गीत उनको जीवनकथा बन्न पुग्यो-
देखी जमाने की यारी
विखडे सभी बारी बारी

अटेरी डाक्टरलाई अवकाश - nagariknews

दीपक दाहाल, काठमाडौं, साउन ७ - स्वास्थ्य संस्थामा दरबन्दी छ, डाक्टरको नाममा तलब पनि आउँछ। स्वास्थ्य मन्त्रालय ती ठाउँमा डाक्टर भएको दाबी दोहोर्याीउँछ। तर, जिल्लाबाट समाचार आइरहन्छ- डाक्टर नहुँदा समस्या। मन्त्रालयका अधिकारीलाई सुरुमा त मिडियाको विश्वासै थिएन। धेरैपटक उही/उही स्वास्थ्य संस्थाबाट यस्ता समाचार आउन थालेपछि यथार्थ बुझ्ने प्रयास गरे।

सरकारले ती डाक्टरको खोजी गर्योथ। घरपरिवारमा बुझ्यो। सार्वजनिक सूचना निकाल्यो। तर, अधिकांश सम्पर्कमै आएनन्। सम्पर्कमा आएकाले भने, 'पढ्दै छु, अध्ययन विदा पाउँ।'

एकातिर महिनौदेखि मन्त्रालयलाई औपचारिक रुपमा खबरै नगरी बेपत्ता भएको, अर्कातिर नयाँ मेडिकल अधिकृतलाई विदा दिन मिल्ने प्रावधान नभएपछि मन्त्रालयले ती डाक्टरलाई स्वास्थ्य सेवाबाटै हटाउने प्रक्रिया थालेको छ।

ती डाक्टरहरू आगामी दिनमा सरकारी सेवाका लागि भने अयोग्य हुने छैनन्। स्वास्थ्य सेवामा खटाइएको क्षेत्रमा नगाई सुगममै बस्ने प्रवृत्ति बढेकाले मन्त्रालयले खोजी र कारबाही सुरु गरेको हो।

दरबन्दी भएको स्वास्थ्य संस्थामा डाक्टर नभेटिएपछि कारबाही अगाडि बढाइएको स्वास्थ्य मन्त्रालय प्रशासन महाशाखाले जनाएको छ। अवकाश प्रक्रिया अगाडि बढाइएका सबै डाक्टर लोकसेवा उत्तीर्ण मेडिकल अधिकृत (आठौं) तहका हुन्।

स्वास्थ्य मन्त्रालय प्रशासन महाशाखाका सहसचिव ध्रुव दाहालले विनाजानकारी लामो समयदेखि खटाइएको क्षेत्रमा अनुपस्थित केही डाक्टरको अवकाश प्रक्रिया अगाडि बढाइएको बताए।

'लामो समयदेखि हामी ती डाक्टरको खोजीमा थियौं, पत्रिकामार्फत स्पष्टिकरणलगायत प्रक्रिया पूरा गरेर मात्रै अवकाशको निर्णयमा पुगेका हौं,' उनले भने, 'यससम्बन्धी सम्पूर्ण विवरण लोकसेवाको सहमतिपछि मात्रै सार्वजनिक गर्न मिल्छ।'

थाहै नदिई संस्था छाडेर हिँडेका, हाजिरै नभएका र सम्पर्कमा नरहेका डाक्टरमा सरोजकुमार सिंह, विकास नेपाल, दिनेश संग्रौला, योगेन्द्रप्रसाद गुप्ता, सुजाता निरौला, सुनिलकुमार शाह, प्रवेशकुमार चौधरी, सुरेन्द्र न्यौपाने, गोविन्द कँडेल, अनिलकुमार श्रेष्ठ, प्रतीत पोखरेल, घनश्याम थापा, सुलोचना जोशी र विशाल खनियाँ छन्।

मन्त्रालयले लोकसेवालाई अवकाश सहमतिका लागि पठाएको पत्रमा सरकारले खटाएको क्षेत्र अन्तिम पटक सम्पर्क भएको मिति उल्लेख छ। सिंह गौर, गंगापिपरास्थित प्राथामिक स्वास्थ्य केन्द्र (प्रास्वाके) मा ०६७ असोज २३, नेपाल त्रिशूली अस्पतालमा ०६७ चैत्र ११, संग्रौला प्रास्वाके शनिश्चरेमा ०६६ चैत १८, गुप्ता प्रास्वाके सुरूंगा, झापामा ०६७ जेठ ३१, निरौला प्रास्वाके इटहरीमा ०६७ श्रावणमा अन्तिम पटक हाजिर भएका थिए।

चिकित्सकहरू मध्ये मन्त्रालयबाट कलैया अस्पताल बारामा खटाइएको हाजिर हुनगरी नियुक्ति लिएका शाह, सोही अस्पतालका लागि हिँडेका चौधरी र प्रास्वाके मकैसिङ गोरखा खटाइएका न्यौपानेसमेत ०६७ सालको सुरुदेखि नै हाजिर हुन गएका छैनन्।

प्रास्वाके मनहरी खटाइएका कँडेल भने संस्थामा गएर हाजिर गर्दै फर्कने गरेको पाइएको छ। त्यसैगरी प्रास्वाके पालुङमा खटाइएका श्रेष्ठ ०६७ चैत्र १५ सम्म विदा मागेर हिँडे पनि त्यसपछि सम्पर्कमा आएनन्।

शुक्रराज सरुवा रोग अस्पतालमा खटाइएका पोखरेल ०६७ साउन १५, प्रास्वाके सुन्थान काभ्रेमा ०६७ मंसिर १०, जोशी मेथिनकोट अस्पताल काभ्रेमा ०६७ भदौ १३ र प्रास्वाके मेलम्चीमा खटाइएका खनियाँ ०६७ असोज १ देखि खटाइएको संस्थामा उपस्थित छैनन्।

यसरी कार्यक्षेत्रबाट भागेर हिँडेका अधिकांश डाक्टर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) र केही निजी मेडिकल कलेजमा पोस्ट ग्य्राजुएसन (पिजी) पढ्दै छन्। को कहाँ छन् भन्ने औपचारिक जानकारी नभएको महाशाखाले जनाएको छ।

स्वास्थ्य सेवा नियमावलीअनुसार स्वास्थ्य सेवामा प्रवेश गरेपछि कम्तमा दुई वर्ष दुर्गम क्षेत्रमा काम गरेपछि मात्रै सरकारले अध्ययन विदा दिन्छ। केही डाक्टरले सरकारी कोटामै न्याम्समा अध्ययन अवसर पाउँछन्। निजी खर्चमा पढ्नका लागि बेतलवी विदा पाउन पनि सरकारसँग सहमति लिनुपर्छ।

बन्दविरोधी भनिएको हाइवेले बन्दको पीडा नै दर्शाउँदैन - mysansar

मूलधारे मिडिया र सोसल मिडियामा निकै प्रचारबाजी गरेर सुरु भएको फिल्म हाइवे अब हलमा लागेको छ। प्रचारका लागि यसले सबै संभव उपाय अपनाएको थियो। सबै निर्माता/निर्देशकले आफ्नो फिल्म चलोस् भन्ने सोच्छन्, त्यसैले यस्तो गर्नु अचम्म हैन। यसले फरक तरिकाले गर्‍यो, त्यसैले यो फिल्ममा सबैको चासो भयो। प्रचारबाजीमा यो फिल्म उत्कृष्ट भएकोमा शंका छैन। तर प्रचारले मात्रै फिल्म सफल हुन सक्दैन। नढाँटी भन्नुपर्छ, प्रचारकै कारण मैले पनि आज दिउँसोको सोमा यो फिल्म हेरेको हुँ। यति धेरै ठूल्ठूला कुरा गरेको फिल्म हेरेपछि कस्तो लाग्यो, त्यसको अनुभव मात्रै यहाँ बाँड्दैछु।

के छ कथा फिल्ममा ?

जसले जतिसुकै फिल्म हेर्न नजानेको भनेर गुड्डी हाँके पनि हाइवे फिल्मबाट फिल्मको इतिहास सुरु भएको हैन। फिल्मको इतिहास लामो छ। फिल्मको सर्वमान्य सिद्धान्त हो- सुरुवातदेखि अन्त्यसम्म फिल्म एउटा कथामा बगेको हुन्छ। फिल्ममेकरले दृश्य र संवादको माध्यमबाट कथा बताउँछ।
तर यो फिल्ममा कथा के हो नै थाहा पाइन्न। फिल्म सुरु भएदेखिको कन्फ्युजन अन्तिमसम्म कायमै रहन्छ। एउटै फिल्ममा धेरै वटा राम्रा फिल्महरुको टेक्निक राख्न खोज्दा फिल्म एउटा सिङ्गो फिल्म नभएर गज्याङमज्याङ हुन पुगेको छ। त्यसैले फिल्म एउटा धाराप्रवाह हिसाबले बग्न सकेको छैन।

बेसिलसिलेवार कथा

निर्देशकले बस यात्राबाट कथा सुरु गरेकाले सबै कथाहरुको सम्बन्ध कुनै न कुनै रुपले बससँग जोडिनु पर्छ। तर फिल्म अगाडि बढ्दै जाँदा आउने दुई वटा कथा बससँग जोडिएको छैन- रवीन्द्र मिश्र र पुलिसलाई आक्रमण गर्ने तेस्रो लिङ्गीको कथा।
यति धेरै कथा र यति धेरै इस्युलाई एकै पटक उठान गरिएको छ कि निर्देशक आफै कन्फ्युज भएका जस्ता देखिन्छन्। त्यसैले उनले ती कथा र इस्युलाई सान्दर्भिक तरिकाले जोड्न सकेका छैनन्। अनि त फिल्ममा कहाँनिर flashback हो र कहाँनिर real time हो भन्ने छुट्याउनै गाह्रो।
फिल्म भनेको पजल गेम जस्तो त हैन, आफैले बसेर, जोडेर, मिलाएर- ए यो त टुक्रा त यहाँ राख्ने रहेछ अनि त्यो यहाँ भन्दै हेरेर बुझ्नुपर्ने। फिल्मले त आफै कथा भन्ने हो। फिल्ममेकरले यो फिल्म पजल हो, मान्छेहरुले ट्याकटुक जोडेर हेर्छन् भन्ने अपेक्षा गर्नु गलत हुन्छ।
दर्शकले फिल्म नबुझेको गुनासो गर्दा ‘हेर्न नजानेको’ भन्नु दोष दर्शकलाई थोपर्ने सजिलो बहाना मात्र हो। फिल्म आफैमा स्पष्ट हुनुपर्छ। त्यो clarity नभएकोले निर्देशक धेरै हदसम्म कथाको विषयमा आफैमा confuse भएको हो कि भन्ने देखिन्छ।
एउटा उदाहरण- आशा मगरातीलाई कर्माले चलाएको गाडीले ठक्कर दिन्छ। ठक्कर दिने बित्तिकै कथा बिल्कुलै नयाँ परिवेशको कथाका रुपमा रवीन्द्र मिश्रकोमा जम्प हुन्छ। धेरै पछि कथा कता-कता घुमेर फेरि त्यही ठक्कर दिएको दृश्य दोहोरिन्छ।

Flashback र Real को confusion

कथा भन्ने शैलीका रुपमा प्रयोग गरिएको flashback आफैमा नराम्रो हैन। तर त्यसको उचित प्रयोग गर्न एकदमै जरुरी हुन्छ। नत्र कथा एकदमै कन्फ्युज हुन पुग्छ। पूजाको कथामा flashback सौगात मल्लतिर जान्छ। तर त्यो flashback जस्तै देखिँदैन। किनभने कथा भर्खर लाहुरेबाट बसमा प्रवेश गरेको छ र बस बन्दको मारमा परेको छ। पूजा भन्ने पात्र राम्रोसँग स्थापित नै नभई flashback मा सौगातसँग सेक्स गर्नेमा jump गरेको छ। यो कथाको स्वभाविक धारको एकदमै विपरीत छ।
त्यस्तै भएको छ इलम दीक्षितको कथामा पनि। बसमा यात्रु रहेका दीक्षित flashback मा जान्छ। यहाँसम्म त ठीकै थियो। तर उसको flashback मा फेरि मोटे तेस्रो लिङ्गी केटाको action पो घुस्छ। दीक्षितले नदेखेको घटना मोटे केटाले देखाइरहेको हुन्छ। जस्तै डान्सबारमा नाचेको, तेस्रो लिङ्गी बाथरुममा घाइते भएको, अस्पताल लगेको आदि। दीक्षितको flashback हो भने त्यो सबै देखिनै सकिँदैन।
दयाहाङ राईको कथामा पनि दयाले त flashback उसकी श्रीमतीलाई दियो, तर श्रीमतीको action भने जारी रहन्छ। यसलाई कसरी justify गर्न सकिन्छ ? त्यसैले कुन flashback र कुन real गज्याङमज्याङ भएको छ। छुट्याउनै नसकिने गरी।

 निर्देशक धेरै महत्त्वाकांक्षी देखिए

एक जमानामा फिल्म कै समीक्षा लेख्ने निर्देशक दीपक रौनियार धेरै महत्त्वाकांक्षी देखिएका छन्। यति धेरै कथा एउटै फिल्ममा ह्यान्डल गर्ने चेष्टा सितिमिति निर्देशकले गर्दैनन्। फिल्मको रिदम र फिल्मको पेस मिलाउन कम्ता गाह्रो हुँदैन धेरै कथा र इस्युलाई एउटै भाँडामा हाल्दा।
धेरै कथा मिसाउँदैमा फिल्म action oriented हुन्छ भन्ने निर्देशकले सोचेका देखिन्छन्। तर त्यसमा रिदम निकाल्न नजान्दा फिल्म गज्याङमज्याङमा अड्‌किएको छ। जति अरुको कपी गरेको हैन भनेर गफ गरे पनि यो फिल्ममा उनी Robert Altman को सन् १९९३ मा रिलिज भएको फिल्म Short Cuts बाट कुनै कुनै ठाउँमा प्रभावित भएको देखिन्छ। तर स्व. Altman ले आफ्नो गजबको निर्देशकीय क्षमताका कारण त्यति धेरै कथाहरुलाई पनि रिदम र पेस मिलाएर गज्याङमज्याङ बन्न दिएका छैनन्। त्यसमा धेरै कथा छन् तर उनले सबै कथालाई न्याय गरी पूर्ण देखाएका छन्।
धेरै कथा मिसाउने शैली Short Cuts बाट प्रभावित देखिए जस्तै बस यात्रामा हुने टेन्सनको शैली चाहिँ हिन्दी फिल्म मिस्टर एन्ड मिसेज ऐयरबाट प्रभावित जस्तो देखिन्छ।
टुक्राटाक्री घटनाहरुलाई मिलाएर फिल्म बनाउन सकिन्छ। तर त्यसका लागि उत्तिकै दक्ष, फिल्म बुझेको निर्देशक हुनुपर्छ। त्यो भएन भने फिल्म छेउ न टुप्पोको हुन्छ, हाइवे त्यस्तै भएको छ। उनले फिल्म नबुझेको भनेर दर्शकलाई दोष दिनु आफ्नो कमजोरी लुकाउने असफल प्रयास मात्रै हो।

रवीन्द्र मिश्र थोपरिएको छ

बीबीसीका चर्चित पत्रकार रवीन्द्र मिश्रको क्यारेक्टर जबर्जस्ती फिल्ममा थोपरिएको छ। उनको पात्रलाई फिल्ममा गरिएको introduction नै गलत छ। सबै कथा बसबाटै सुरु भइरहेको छ भने मिश्र एकाएक कहाँबाट पसे ? रवीन्द्र मिश्र चर्चित पत्रकार भएकोले उनलाई खुसी बनाउन मात्रै सिनहरु जबर्जस्ती थोपरिएको भान हुन्छ।
कुनै पात्रलाई कुनै सिचुएसनमा राखेर त्यसले अनुभव गरेको कुरा देखाउँदा पो अडियन्सले फिल गर्ने हो, पात्रलाई जबर्जस्ती थोपरेको भरमा अडियन्सले त्यसको state of mind र सिचुएसन त ग्रहण गर्न सक्दैन नि।
मध्यान्तर अघि एकाएक फिल्ममा पसेका मिश्रको एक्टिङ यति फितलो छ कि हलका दर्शक उनी रिसाएर श्रीमतीलाई गाली गर्दा हाँस्छन्। जबकि त्यो इमोसनल सिन हो। ‘जाऊ जाऊ, तिमी जाने भए जाऊ’ मिश्र भन्छन्। तर त्यसो भन्दा उनको अनुहारमा न पीडा छ न आक्रोश। समताभावमा पो छ उनको अनुहार। फेरि अचानक श्रीमती भेटिएको, अंगालेको भ्रमलाई पनि निकै अमिल्दो तरिकाले प्रस्तुत गरिएको छ। नौटंकी देखिन्छ।
उनले पसलको सजाउनलाई राखिने पुतली mannequin लाई यौन रुपले आकर्षित भएर हेरेको दृश्य निकै राम्रो सिक्वेन्स बन्न सक्थ्यो। तर त्यो धेरै टुक्राटाक्रीका बीच यसरी आउँछ कि वास्तवमा त्यो जति संवेदनशील हुनुपर्थ्यो, त्यति हुनै सकेको छैन।

 बन्दविरोधी फिल्मले बन्दको पीडा नै दर्शाउँदैन

फिल्म बस यात्रासँगै सुरु हुन्छ र अन्त्य पनि। तर फिल्म दर्शकलाई बसभित्र राखेर यात्रामा लैजान असफल छ।
बीचमा त्यसभित्रका यात्रुहरुले हाइवेमा हुने बन्द भोग्छन्। त्यसमा बन्दको दुःख पीडा फिल गराउनु पर्ने हो। बन्दविरोधी फिल्मका रुपमा समेत यसलाई प्रचार गरिएको थियो। बन्दविरोधी सन्देश लेखिएका टिसर्टबाट यो बन्दविरोधी फिल्म भएको प्रचार गरिएको थियो। तर नेपालको परिवेश नबुझ्नेहरुले त बन्द के हो, यसले कस्तो दुःख हुन्छ भन्ने नै बुझ्दैनन् यो हेरेर। बन्दका कारण हुने तनाव र यात्रुहरुले भोग्नुपर्ने पीडा, संवेदना यसमा रत्तिभर पनि देखिँदैन। बन्दको दुःख यसले अडियन्सलाई ‘फिल’ नै गराउन सकेको छैन।
बन्द हुन्छ, कुनै ठूलो कष्ट बिना बस सजिलै बिहेको नाटक गरेर पार हुन्छ। हाइवेमा बन्दको पीडा तपाईँ हामी मध्ये धेरैले भोगेकै होला। मैले पनि भोगेको छु। तर फिल्मका पात्रहरुले चाहिँ बन्दको पीडा र तनाव फिलै गरेका छैनन्। बन्दविरोधी भनिएको फिल्मका पात्रहरुले नै फिल नगरेपछि दर्शकहरुले फिल गर्ने त कुरै भएन।

पहेँलिएको किन ?

निर्देशक रौनियारले फिल्मका सबै दृश्यको रङ पहेँलो-पहेँलो देशको स्थिति दर्शाउन जानाजानी बनाएको तर्क न्युनेपालीसिनेमा ग्रुपमा गरेका छन्।  तर कलर मैले यस्तो यस्तो देखाउन खोजेको भनेर निर्देशकले बयान गरेर हैन कि कलर आफैले दर्शकलाई environment feel गराउन सक्नुपर्छ। तर यसमा कलरले खासै अर्थ राखेको देख्न सकिएन। यो त सुटिङमा के नपुगेको जस्तो पो देखियो त। सुटिङमा भएको हुनसक्ने प्राविधिक गल्तीलाई लुकाउन excuse खोजेको जस्तो मात्र देखियो कलरले। निर्देशकले सबैलाई बुझाउन सक्दैनन्, बुझाउने मौका पनि पाउँदैनन्। अडियन्सले फिल गर्ने हो भने यो गर्न जरुरी पनि हुँदैन।

डायलगको समस्या

डायलगमा धेरै नै समस्या देखिएको छ। सबै डायलग एउटै साइडबाट आएको सुनिएको छ। Audio को dimension नै छैन। flat सुनिएको छ सबै। जस्तै कोठाभित्र फोनको आवाज अर्कै हुन्छ। नजिकको आवाज अर्को हुन्छ, टाढाको आवाज अलि सानो हुन्छ। यसमा त्यस्तो हुन्न।
इलम दीक्षितले इलामको चियाबारी देखिएको ठाउँमा फोनमा कुरा गर्दैगर्दा पृष्ठभूमिमा टिभी रिपोर्टरले इन्टरभ्यु लिँदै गरेको आवाज किन आवश्यक भयो ? धेरै यस्ता अडियोमा आएका जानकारीहरु थोपर्नलाई मात्र राखिएको जस्तो देखिन्छ।
दीक्षितले बेहुलीसँग गरेको कुराकानीलाई नै लिउँ। कथाले पूर्णता नपाएको भएर ती जानकारीहरु थोपरिएको जस्तो देखिएको छ।

सम्पादनमा समस्या

फिल्ममा निकै जम्प-कट हुन्छ। जम्प-कट आफैमा स्टाइल हैन। रिदम मिलाएर प्रयोग गरियो भने यसलाई कथा भन्ने एउटा तरिका बनाउन सकिन्छ। तर त्यति गहिराइमा पुगेर यसको प्रयोग गरिएको लाग्दैन। यसले जम्प-कटको अर्थै आउँदैन। यो पनि जबर्जस्ती थोपरिएको भान हुन्छ। यो डायलग लामो भयो, पूरा फिल्म ८० मिनेटमा अटाउनु पर्छ, यसलाई छोट्याउनु पर्‍यो भनेर मात्रै जम्प-कट गरेको जस्तो देखिन्छ। यसमा जम्प-कटलाई फिजिकल एस्पेक्टबाट देखाउन खोजिएको छ, जबकि यसलाई साइकोलोजिकल एस्पेक्टबाट देखाउनु पर्थ्यो।
जम्प‌-कट कि टाइमलाई तन्काउन कि खुम्च्याउन प्रयोग गरिन्छ। तर हाइवेका जम्प‌-कटहरु सम्पादन गर्नेको सुविधाका लागि मात्रै प्रयोग गरिएको छ।
सम्पादनसहितको पोस्ट प्रोडक्सनका लागि नै यो फिल्मलाई अमेरिका लगिएको थियो र क्राउडफन्डिङबाट फन्ड जम्मा गरिएको थियो। तर विडम्बना, यसको सम्पादन पक्ष नै सबैभन्दा फितलो देखिएको छ।

फरक फिल्म ?

फिल्म राम्रो भएर फरक हुने हो, फरक हुँदैमा राम्रो हुन्छ भन्ने जरुरी हुँदैन। हामीले फरक फिल्म बनाएका छौँ भनेर भनिएको छ। तर फरक आफैमा उत्कृष्ट हुँदैन।
फिल्म पक्कै फरक छ, औसत हिन्दी र नेपाली फिल्मको फर्मुला कथा र गाना बजाना यसमा छैन। तर त्यो नहुनु मात्र राम्रो फिल्मको मानक हैन। ‘सिक सिटी’लाई पनि केहीले यस्तै हाइप गरेका थिए। तर बजारमा त्यसको हालत देखियो।
यो फर्मूला फिल्म हैन, अफट्रयाक फिल्म भनिएको छ। तर पूरै फिल्म हेरेपछि थाहा हुन्छ यो त अफ ट्रयाक पनि हैन, कन्फ्युजन एक्सपेरिमेन्ट हो।
हाइवे फिल्म यो अर्थमा पनि एउटा परीक्षण थियो- यो फिल्म चल्ने हो भने फरक खालका फिल्म बनाउनेहरुलाई अझ सजिलो हुने थियो। ‘हाइवे जस्तो फिल्म ? अहो त्यो त हेर्नुपर्छ यार’ भन्ने हुन्थ्यो। ओभरहाइप गरेकै कारण यो फिल्म चलेन भने यसले नकारात्मक सन्देश जान्छ। कसैले अर्को त्यस्तै फिल्मबारे चर्चा गर्दा ‘ए, त्यही हाइवे जस्तो’ भनेर नाक खुम्च्यायो भने त्यसले सबैभन्दा घाटा फिल्म उद्योगलाई नै हुने हो।

फिल्मले नेपाल चिनायो ?

बर्लिन फिल्म फेस्टिभलको पानोरमा सेक्सनमा छनौट हुनुलाई यो फिल्मसम्वद्धले उपलब्धिका रुपमा चित्रण गरेका छन्। पक्कै पनि नेपाली फिल्म अन्तर्राष्ट्रिय मञ्चमा पुग्नु उपलब्धि हो। तर धेरैले के बिर्सेको देखियो भने ‘नेपाल’ देशको फिल्म भन्दै ओस्कर अवार्डमा उत्कृष्ट विदेशी फिल्मका रुपमा क्याराभान पनि पुगेको थियो। अस्कर अवार्डको लाइभ टेलिकास्ट हुँदा क्याराभान/नेपाल भनेर देखाउँदा निर्माताका रुपमा नीर शाह टिभी पर्दामा देखिएका थिए। फिल्ममा उनको पनि लगानी थियो। फिल्मले त त्यतिबेला पनि नेपाललाई चिनाएको हो।
बर्लिन फिल्म फेस्टिभलको पानोरमा सेक्सन भनेको एक किसिमको आरक्षण खालको सेक्सन हो। यसमा सन् ८० को दशकदेखि तेस्रोलिङ्गी, समलिङ्गीका फिल्महरु प्राथमिकतामा पर्छन्। हाइवेमा पनि तेस्रोलिङ्गीको कथालाई नकारात्मक रुपमा हैन, सकारात्मक हिसाबले प्रस्तुत गरिएको छ। फिल्मका अनेकौँ कथामध्ये यो कथा पनि एक प्रमुख कथा हो।
बर्लिन फिल्म फेस्टिभल नै फिल्मको उत्कृष्टता जाँच्ने कसी हो भने र यो फिल्म साँच्चिकै राम्रो हो भने किन अरु प्रख्यात फिल्म फेस्टिभलहरुमा छनौट भएन ? फेस्टिभलसँगै यसले अन्तर्राष्ट्रिय डिस्ट्रिब्युटर किन पाएन ? बर्लिनमा यो फिल्म यसका को-प्रोड्युसर अमेरिकी कम्पनी भएकोले त्यसैमार्फत् गएको हो कि, अरु नेपाली फिल्मले यसका लागि प्रयासै नगरेकाले पो नगएका हुन् कि- यो पनि बहसमा आउन जरुरी छ। बर्लिन फिल्म महोत्सवमा यो फिल्म पुग्नु भने यसको उपलब्धि नै हो। त्यसलाई मान्नै पर्छ।

राम्रो पक्ष

फिल्मको प्रचार शैली यसको राम्रो पक्ष हो। फिल्मले यति आक्रामक हिसाबले प्रचार गर्‍यो कि दर्शक हलसम्म तानिए। क्युएफएक्सको सिभिल मलमा दिनको दोस्रो तथा अन्तिम सो हेरेका थियौँ हामीले। हल पूरै जसो भरिएको थियो। वेबबाट सिट दर्ता गर्ने कोटा सकिएको थियो। फिल्मबारे सामाजिक सञ्जालमा बहसहरु भए। नेपाली दर्शकलाई हलसम्म तानिएर आउन सक्ने बनाउनु यसको सबल पक्ष हो।
अभिनयको कुरा गर्दा सौगात मल्ल जस्ता थियटरमा समेत राम्रो अभिनय गरेर आएका कलाकारले यसमा अभिनय देखाउने मौका नै पाएका छैनन्।

बसमा बेहुली बन्ने सृष्टि घिमिरेको यो पहिलो फिल्म हो। तर उनले ज्यादै राम्रो, स्वभाविक अभियन गरेकी छिन्। उनको भविष्य उज्ज्वल देखिन्छ। ऋचा शर्माले पनि राम्रो गरेकी छिन्।
फिल्मको सबैभन्दा राम्रो दृश्य मलाई यो लाग्यो- पत्नीलाई प्रेगनेन्ट गराउने जडिबुटी खाएर ३६ घण्टाको समयसीमामा भेट्न आएका हुन्छन् लाहुरे (दयाहाङ राई)। एक्सिडेन्टमा परी घाइते भएकी श्रीमती आशा मगराती बेडमा पल्टिरहेकी हुन्छिन्। यस्तैमा नर्सले ‘तपाईँहरुको बच्चा चाहिँ बचाउन सकिएन’ भन्दा देखिने कन्फ्युजन, पीडालाई एकै साथ प्रस्तुत गरिएको ज्यादै मन छुने छ।