Sunday, July 1, 2012

फेरि चल्यो डोजर (फोटो फिचरसहित) - onlinekhabar

काठमाडौं । स्थानीयको बिरोध र अवरोधका कारण झण्डै डेढ महिनासम्म रोकिएको राजधानीको सडक विस्तार कार्य शनिबारदेखि फेरि सुरु भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले बिहानैदेखि ८ वटा डोजर लगाएर लाजिम्पाटदेखि गोल्फुटारसम्मको सडक आसपासका टहरा र पर्खाल भत्काउन शुरु गरेको हो । सडकलाई २२ मिटर फराकिलो पार्ने योजना भएपनि धेरै घर भत्काउनु पर्ने भएकाले तत्काल सडकलाई १८ मिटर फराकिलो पार्न लगिएको प्राधिकरणले जनाएको छ ।
‘हामीले पहिलो चरणमा व्यापारिक प्रयोजनका घर, टहरा र पर्खाल मात्र भत्काएका छौं’ उपत्यका विकास प्राधिकरणका जिल्ला आयुक्त भाइकाजी तिवारीले भन्नुभयो -’निजी घरहरुको अध्ययनपछि मात्र मापदण्ड विपरीत भएकालाई भत्काइनेछ ।’ सडक विस्तारको कामले अब निरन्तरता पाउने पनि उहाँले बताउनुभयो । स्थानियबासीलाई विस्थापित नगरी सडक विस्तार गर्न लागेको भन्दै उहाँले ‘मानिसलाई माथिल्लो तलामा सारेर, तलको भाग सडक बनाएपछि उनीहरु विस्थापित हुने छैनन् ।’
तर पछिल्लो समयमा सार्वजनिक जग्गा मिचेर बनाएका घरहरु भने भत्काईने उहाँले जानकारी दिनुभयो । सडक विस्तारको क्रममा स्थानीयको अवरोध हुनसक्ने आशंकाले दिनभर सुरक्षाकर्मीको बाक्लो परिचालन गरिएको थियो ।