गंगा दाहाल एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालका एउटैमात्र भाइ हुन्। हाल बेलायतको रिडिङमा बसोबास गरिरहेका दाहाल प्राकृतिक स्रोतमाथि जनताको अधिकार स्थापित गर्ने अभियानका सहभागी छन्। प्राकृतिक स्रोतविज्ञका रूपमा विश्वका विभिन्न मुलुकमा काम गरिसकेका गंगा हाल राइट्स एन्ड रिर्सोसेज (आरआरआई) का एसिया संयोजक हुन्। Ganga-dahal

राजनीतिक संलग्‍नताबाट टाढा रहेका गंगा प्राकृतिक स्रोतमा जनताको अधिकार कानुनी रूपमा स्थापित गर्ने अभियानअन्तर्गत तीन दिनअघि नेपाल आएका हुन्। उनले यसबीचमा मुलुकका प्रमुख दलका शीर्ष नेताहरूसँग प्राकृतिक स्रोतमा जनताको अधिकार स्थापित गर्ने विषयमा छलफल गरिरहेका छन्। आफ्ना दाजु प्रधानमन्त्री हुँदा आफूले कुनै किसिमको दबाब वा प्रभाव पार्ने काम नगरे पनि नक्‍कली भाइहरूले देखाएको हर्कतप्रति भने आक्रोश पोखे। गंगाले आइतबार अन्नपूर्ण पोस्ट्का लागि पिताम्बर सिग्देलसँग आफ्नो जीवनयात्रा र नेपालको राजनीतिबारे लामो कुराकानी गरे:
पढाइमा सधैं अब्बल
विसं २०१९ मंसिरमा पोखरामा जन्मिएका गंगा दाहाल पढाइमा सानैदेखि अब्बल थिए। डेढ वर्षपछि परिवारसँगै चितवन बसाइँ सरेका गंगाले शिवपुरी गाविसस्थित नारायणी माध्यमिक विद्यालयबाट विद्यालयस्तरको पढाइ पूरा गरेका थिए। भैरहवाबाट उनले ९२ प्रतिशत अंक ल्याएर आईएस्सी गरेका थिए। आईएस्सी गरेपछि उनलाई छात्रवृत्ति दिनेको लहरै चल्यो। ‘चेकोस्लोभाकिया, भारत तथा बंगलादेशबाट एकसाथ नि:शुल्क छात्रवृत्तिसहित अध्ययनका लागि प्रस्ताव आयो।’ गंगाले भने।
उनले कहाँ पढ्ने भन्ने कुराको निष्कर्ष भने माओवादी नेता रामबहादुर थापाको सल्लाहमा निकालेछन्। ‘बादल दाइ आउनुभएको थियो, उहाँले नै अरू देशको भन्दा भारतकै पढाइ राम्रो छ भनेपछि भारत गएर पढ्ने निधो गरेको थिएँ’, दाहालले सम्झिए। उनले एग्रो फरेस्टीमा भारतको सिमलाबाट अमेरिकी छात्रवृत्तिमा बीएस्सी उत्तीर्ण गरेका थिए। उनले त्यहाँ पनि राम्रो अंक ल्याएका थिए। गंगाले स्नातकोत्तर पनि बेलायतको रिडिङ विश्वविद्यालयबाट छात्रवृत्तिमै पूरा गरे। बेलायकै यूके युनिभर्सिटीबाट ‘वन सुशासन र भूमि अधिकार’ विषयमा विद्यावारिधि गरे। ‘मेरो पढाइमा कहिले पनि उतारचढाव आएन, सधैं एकनास’ गंगाले सम्झिए।
सधैं काम
बीएस्सी उत्तीर्ण गरेपछि गंगालाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूबाट आउन थालेको जागिरको अफर अहिलेसम्म पनि जारी छ। ‘मैले बीएस्सी सकेपछि सुरु गरेको काम अहिलेसम्म कहिल्यै ब्रेक भएको छैन’, दाहालले भने।
सन् १९८७ मा अध्ययन सकेर नेपाल फर्किएलगत्तै स्विस विकास सहयोग नियोग (एसडीसी) मा वन कार्यक्रम संयोजकका रूपमा जागिर थालेका दाहाल हाल वासिङ्टन डीसीमा मुख्यालय रहेको आरआरआईको एसिया संयोजक छन्। एसडीसीमा काम गर्दागर्दै बेलायतमा छात्रवृत्ति पाएर पढ्न गएका थिए। पढाइ सकिएपछि उनले वनसम्बन्धी काम गर्ने अन्तर्राष्ट्रिय संस्था सिफोरमा आबद्ध भए। उनले त्यहाँ दक्षिण एसियामा वनसम्बन्धी अध्ययनको संयोजन गर्थे। उनले लेखेका ‘फरेस्ट फर पिपुल’ र ‘फरेस्ट डिस्ट्रिब्युसन इन एसिया प्यासिफिक’ नामक पुस्तक अन्तर्राष्ट्रिय जगत्‌मा चर्चित छन्। ‘म पढाइमा अब्बल त होइन तर धेरै मेहनत गर्न सक्छु’, गंगाले आफ्नो विशेषता सुनाए।
माओवादी द्वन्द्व र दाहालको जागिर
माओवादी द्वन्द्व सुरु हुने बेलामा गंगा दाजु पुष्पकमलसँगै वीर अस्पतालमा आमाको रेखदेखमा थिए। बिरामी आमालाई कुरेर गंगाले एक महिना अस्पतालमै बिताए। ‘कहिलेकाहीँ दाइ पनि आउनुहुन्थ्यो, खासगरी सुत्‍ने बेला आएर बिहानै जानुहुन्थ्यो’, गंगाले भने। उनका अनुसार त्यतिबेला पुष्पकमल दाहालहरू अर्ध भूमिगत रूपमा जनयुद्धको तयारी गरिरहेका थिए। एक महिनापछि आमाको मृत्यु भएपछि दाजु पुष्पकमल भूमिगत भएको गंगाले बताए। अस्पतालमा बस्दा पनि प्रहरी प्रशासनको निगरानी भइरहने अनुभव पनि गंगाले सुनाए।
माओवादी द्वन्द्व चरम उत्कर्षमा हुँदा गंगा एसडीसीको कार्यक्षेत्र दोलखा, ओखलढुंगालगायतका दुर्गम गाउँमा जनतासँग काम गरिरहेका थिए। ‘आम सर्वसाधारणले प्रचण्डको भाइ भनेर चिन्दैनथे तर प्रहरी प्रशासनले भने चिन्दो रहेछ नियमित निगरानीमा राखेको थियो।’, उनले भने, ‘लामो समय प्रशासनले निगरानी गर्दा पनि माओवादी द्वन्द्वसँग कुनै सम्बन्ध भेटेन र कहिल्यै सोधपुछसमेत गरेन।’, दाजु भूमिगत भएपछि धेरै भेटघाट नभएको गंगाले सुनाए। ‘कहिलेकाहीँ घरतिर एकदुईपटक भेट भएको थियो’, उनले भने। ‘दाजुसँगै भाउजू पनि भूमिगत हुन थालेपछि भेटघाट पातलियो।’, माओवादी द्वन्द्व सुरु हुनुभन्दा पहिले नै उनीहरू भिन्न भइसकेका थिए।
दलीय राजनीतिमा चासो छैन
गंगालाई राजनीतिक रूपमा अघि बढ्न सहज वातावरण भए पनि उनलाई दलीय राजनीतिमा धेरै चासो रहेनछ। ‘मेरो बाटो र दाजुको बाटो नै फरक थियो, मलाई उहाँले गर्ने राजनीतिप्रति कहिल्यै पनि रुचि भएन’, गंगाले खुलाए ‘द्वन्द्वपछि पनि अपेक्षा गरेजस्तो दाइहरूले काम गर्न सक्‍नुभएन।’ गंगाका अनुसार उनी जसरी पनि बढी पढ्ने भन्नेमा मात्रै ध्यान दिन्थेँ रे। आफ्ना एउटै मात्र दाजु प्रधानमन्त्री हुँदासमेत गंगाले केही आस गरेनन्। ‘ मैले पनि दाइलाई केही मागिनँ, दाइले पनि मसंग केही अपेक्षा गर्नु भएन’, गंगाले भने,‘मलाई आएर राजदूत बनिदेऊ भने पनि बन्नेवाला छैन, मेरो काम म आफैं गर्ने हो।’, दाजुको नाम बेचेर धेरैले फाइदा लुटेको पनि गंगाले देखेका छन्। ‘नक्कली भाइ बनेर लुट्ने पनि छन्, मेरो नाम बेचेर फाइदा लिने ठूलाठूला कर्मचारी पनि छन् तर मलाई दाइको नाम लिएर केही गर्नु छैन।’, स्वाभिमानी गंगाले भने।
दाजुसँगको सम्बन्ध
जेठो दाइ पुष्पकमल दाहालसँग गंगाको नेपाल आएका बेलामात्रै भेटघाट हुन्छ। दाइभाउजूलाई भेट्नै भनेर गंगा नेपाल आएका छैनन् रे। ‘अफिसकै काम परेका बेला आउँछु र त्यहीबेला भेट्छु’, हिमालय होटेलको लविमा आइतबार साँझ गंगाले भने। उनले दुई दिनअघि दिउँसो दाइलाई भेटेर सँगै खाना खाएका रहेछन्। ‘दिउँसो खाना खायौं, पारिवारिक कुरा गरियो, राजनीतिक गफै भएन।’, गंगाले भेट सुनाए। भेटका क्रममा पुष्पकमल दाहाललाई गंगाले सुझावचाहिँ दिने रहेछन्। ‘तपाईंले गरेका काम राम्रो भएन, सुधार्नुस् भन्ने गरेको छु’, गंगाले भने। पारिवारिक समस्यामा आफूले पनि सहयोग गर्ने गरेको गंगाले सुनाए। ‘अस्ति जेठी छोरी ज्ञानु बिरामी परेकी थिइ, दाइले भन्नु भो अमेरिका लगेर उपचार गराएँ।’, गंगाले भने। आगामी संविधानसभाको निर्वाचनमा वैद्यलाई ल्याउन पनि दाइलाई सुझाव दिएको बताए। ‘पार्टी पनि दाइकै गल्तीका कारण फुटेको हो, वैद्यलाई ल्याए पनि दाइलाई नै राम्रो हुन्छ, जनताको अपेक्षाअनुसार काम भएन भनिदिएको छु।’ खुलस्त हुँदै गंगाले भने।
हुन्छ भन्ने काम नगर्ने दाइ
दाइ पुष्पकमल दाहालको हुन्छ हुन्छ भन्ने तर काम नगर्ने बानी भने गंगालाई ठीक लाग्दैन। ‘केही कुरा भन्यो भने हुन्छ अँ, अँ भन्ने तर काम नगर्ने दाइको समस्या छ।’, गंगा भन्छन्। सुनेका कुरालाई दस्तावेजीकरण गर्न नसक्‍ने दाइको कमजेारी पनि उनले औंल्याए। दाइको नाम बेचेर फाइदा लिनेलाई पनि दाइले केही गर्न नसकेकोमा उनको गुनासो छ। ‘दाहाल भएकै नाताले केही नेताले भाइ भन्दै लुटिरहेका छन् तर त्यसले दाइलाई फाइदा होइन हानिमात्रै गरेको छ’, गंगाको विश्लेषण छ। दाइको नाम लिएर शक्तिको दुरुपयोग गरेकोमा भने उनले आपत्ति जनाए। पारिवारिक रूपमा पनि छोरा प्रकाशले दाइको बेइज्‍जती गरेको ठहर गंगाको छ।
‘प्रकाशले दाजुको पनि आफ्नो पनि इज्‍जत फाल्यो’, गंगा भन्छन्। भेटैपिच्छे प्रकाशलाई गाली गर्ने पनि गंगाले सुनाए। ‘तैले खत्तम पारिस् फटाहा, भन्छु केही बोल्दैन’ गंगाले भने।