Friday, July 13, 2012

किरणजीहरूभित्र तीन धार देखिन्छन् - nayapatrika

माओवादी पार्टीभित्र चर्काे अन्तरसंघर्ष चलिरहेका वेला दुई धारका नेतालाई मिलाउन भगीरथ प्रयत्न गर्ने मध्यमार्गी नेता कृष्णबहादुर महरा पार्टी फुटिसकेपछि पनि बुधबार दिउँसो पेरिसडाँडास्थित कार्यालयमा मेलमिलापकै प्रयासमा थिए । तर, यो मेलमिलाप प्रचण्ड वा वैद्य पक्षका नेताबीच नभएर कार्यकर्ता तहबाट वैद्य पक्षमा लागेका श्रीमान् र संस्थापन पक्षमा लागेकी श्रीमतीबीचको थियो । 'हेर्नाेस् न, पार्टी फुटेपछि यस्तोसम्म हुँदो रहेछ, श्रीमान् उतापट्ट िलागे, श्रीमती यतापट्ट िलागिन्, यिनलाई कसरी मिलाउने ?’ महराले हामीलाई नै प्रश्न गरे । सालीन नेताका रूपमा चिनिने एकिकृत माओवादीका स्थायी समिति सदस्य महराले भावुक हुँदै भने, मलाई पार्टी सदस्यता किरणजीले दिनुभएको हो, विप्लवजीलाई मैले सदस्य बनाएको हुँ ।’ पार्टी फुट्ने वेलामा दुवै पक्षका नेताबीच के-कस्ता सघन वार्ता भएका थिए भन्नेबारे महराले नयाँपत्रिकामार्फत केही रहस्यसमेत खोलेका छन् :

० पार्टी विभाजित हुनुअघिसम्म यहाँ पार्टी एकताको औपचारिक वार्ता टोलीमा हुनुहुन्थ्यो । अन्तिम घडीमा एकताका लागि के-कस्ता प्रयास भएका थिए ?

अध्यक्ष कामरेडले पहिले दुवै पक्ष छलफलमा बसौँ भन्ने प्रस्ताव राख्नुभयो । किरणजीहरूबाट लामो समय त्यसको 'रेस्पोन्स' आएन । पछि वार्तामा बस्ने भन्ने जवाफ आयो । त्यसपछि २९ जेठतिर द्विपक्षीय वार्ता भयो ।

० वार्तामा कोको हुनुहुन्थ्यो ? के-कस्ता कुराकानी भए ?

उहाँहरूतर्फ किरणजी, बादलजी, सिपी गजुरेल, देव गुरुङ र विप्लवसहित पाँचजना हुनुहुन्थ्यो । यताबाट अध्यक्ष प्रचण्डजी, पोष्टबहादुरजी र म तीनजना थियौँ । पहिलो दिन किरणजीको निवासमा तीन घन्टाजति बसियो । दिउँसो १ बजेबाट जुटेका थियौँ, खाजाका रूपमा फलफूल र चिया थियो । वार्तामा एकताको विकल्प छैन, एकता गरौँ भन्ने नै सबैको भनाइ रहे पनि के आधारमा एकता गर्ने भन्नेबारे बहस भयो । किरणजीहरूको माग के थियो भने पालुङटारको विस्तारित बैठकयता, पछिल्लोपटक संयुक्त सरकार बनेदेखि यता अध्यक्ष कामरेडले धेरै गल्ती गर्नुभयो, यी गल्ती सच्याउनुपर्छ । उहाँहरूले चारबुँदेदेखि बिप्पा सम्झौता, सेना समायोजन हुँदै संविधानसभा विघटनसम्मको समीक्षा गरौँ भन्नुभो । त्यसैगरी, कार्यदिशाका सवालमा पनि चर्चा गर्नुभयो । पालुङटारमा पारित कार्यदिशा अर्थात् क्रान्तिकारी लाइन अध्यक्षले छाड्नुभयो भन्ने उहाँहरूको सार थियो । यता अध्यक्षजीले अहिले फुटको कतै पनि 'ग्राउन्ड' छैन, झन् अहिले संविधान नबनेको र पहिचानको मुद्दा कमजोर पारिएका वेला हामी मिल्नैपर्छ भन्नेमा जोड दिनुभयो । तर, अहिले आफूले एक्लै गल्ती भयो भन्नुभन्दा पनि दुइटै पक्षका भेला स्थगित गरेर केन्द्रीय समितिको पूर्ण बैठक बसौँ र विगतका सबै निर्णयको समीक्षा गरौँ भन्ने प्रस्ताव अध्यक्षले राख्नुभयो । त्यही केन्द्रीय समितिको बैठकमै नेतृत्वको कुरा पनि लैजाऔँ र सरकारको विषयमा पनि त्यहीँ छलफल गरौँ भन्ने अध्यक्षले प्रस्ताव राख्नुभयो । तर, किरणजीहरूले हुँदैन भन्नुभयो र यो मिल्ने दिशा होइन भन्ने टिप्पणी गर्नुभयो । तैपनि मिल्ने आधार केके हुन सक्छन् लेखेर ल्याउनोस् भनेपछि सो वार्ता फेरि बस्ने गरी टुंगियो ।


० त्यसपछि अर्काे वार्ता भयो कि भएन ?

भोलिपल्ट अध्यक्षले सातबुँदे आधार तयार पार्नुभयो । विगतका निर्णयबारे समीक्षा गर्न र नेतृत्वको विषयमा पनि छलफल गर्न तयार रहेको अध्यक्षले सात बुँदामा उल्लेख गर्नुभएको थियो । बुँदा तयार भएपछि फेरि पाँचजना र तीनजना वार्तामा बस्ने कुरा भएको थियो । तर, उहाँहरूले हामी पहिले यी बुँदा हेर्छाैं, हामीलाई पठाइदिनोस् भनेपछि हामीले पठायौँ । सात बुँदा लिन लाजिम्पाटमा किरणजी आफैँ आउनुभएको थियो, त्यहाँ म पनि थिएँ । तर, उहाँ छलफल गर्न आएको भन्दा पनि बुँदा लिनमात्रै आएकोजस्तो भयो । त्यहाँ पनि अध्यक्षजीले मिल्नुपर्‍यो भन्ने नै आग्रह गर्नुभयो । तर, किरणजीको भाव कस्तो थियो भने मिल्न त मिल्ने नै हो । तर, हाम्रो कार्यदिशामै अन्तर भयो, कार्यदिशा तपाईंहरूले अन्तै लान खोज्नुभो, पार्टीले सोचेको अर्कै थियो । यति भनेर किरणजी सातबुँदेबारे आफ्नो समूहसित छलफल गर्ने भन्दै लाजिम्पाटबाट जानुभयो । पछि अर्काे वार्ता भएन । हामी अरू दिन पनि वार्तामा बस्न सक्थ्यौँ । भेलाअघि केही दिन उहाँहरू खाली नै हुनुहुन्थ्यो । तर, बैठक बस्दै बसेन । यसले गर्दा एकताका आधार के हुन सक्छन् भनेर छलफल गर्नै पाइएन ।


० अध्यक्षबाट प्रस्तावित सात बुँदाबारे किरणजीहरूको प्रतिक्रिया कस्तो थियो ?

भोलिपल्ट ६ बुँदे लेखेर किरणजीहरूले तीनजनालाई लाजिम्पाट पठाउनुभयो । त्यो लिएर आउनेमा हरिभक्त कँडेल, दिनेश शर्मा र कृष्णदेवसिंह दनुवार हुनुहुन्थ्यो । उहाँहरूले भेला स्थगित नहुने र जारी रहने बताएपछि अध्यक्ष कामरेडले सकेसम्म फुट्ने निर्णय नगर्नाेस्, भेलाले पनि एकताको प्रस्ताव पास गरोस् है भन्नुभयो । त्यसपछि उहाँहरू भेलातिर लाग्नुभयो । फेरि वार्ता गरौँ न त भन्दा किरणजीहरूले हामी भेलातिर लागिहाल्यौँ, अब बस्न भ्याइन्न भन्ने जवाफ दिनुभयो । उहाँहरूले वार्तातिर सोच्नुभएन । बाहिर आएका कुरालाई क्रस गर्नमात्रै बैठकमा बसेजस्तो गर्नुभयो । साँच्चै वार्तामा बस्ने गम्भीरता उहाँहरूमा देखिएन ।


० भेला सकिएपछि दुई पक्षबीच कुनै संवाद भएको छ कि छैन ?

फोन त भैहाल्छ नि ! किरणजीहरूको भेला सिद्धिएपछि उहाँहरूले पत्रकार सम्मेलन गरेको बिहानै मैले बादलजी, विप्लवजी र गुरुङजीलाई फोन गरेँ । किरणजीलाई गरेको उहाँको फोन लागेन । मैले तीनैजना नेतालाई भनेँ, 'नफुट्नुपथ्र्याे फुटिहाल्नुभो । तर, अब साथीहरूका बीचमा अस्वस्थ स्थिति आउन नदिऔँ, बोलचालै बन्द नगरौँ । उहाँहरूको रेस्पोन्स ठीकै थियो ।


० बादल र तपाईं बीचमा बसेर एकताको प्रयास गरिरहेका वेला बादलजी अनायास धोबीघाट प्रकरणमा मुछिनुको कारण के थियो ?

बादलजी धोबीघाटको डिजाइनमा पर्नुभयो । सचेत ढंगले पर्नुभयो कि अन्य तरिकाले पर्नुभएको हो मलाई थाहा छैन । धोबीघाटको डिजाइन बेठीक छ भनेपछि म गइनँ । त्यसपछि हामी दुईतिर भयौँ । मैले अझ बढी सक्रियतापूर्वक अध्यक्षलाई समर्थन गरेँ । लिडरसिपमा अहिले अध्यक्षको विकल्प छैन । राजनीतिमा शान्ति र संविधानलाई अहिले टुंग्याउनुपर्छ । मेरो सुरुदेखिकै भनाइ यही थियो ।

० सेना समायोजन पनि पार्टी विभाजनको एउटा कारण हो कि ?

सेना समायोजनको विषयमा मैले हतियार बुझाएर आत्मसमर्पणजस्तो देखिन्न भने सबै साथीहरूलाई बाहिर निकालौँ र युवा परिचालन गरौँ भनेको थिएँ । युएनले ट्याग लगाएका हतियार त हामीले बुझाउनै पथ्र्याे । सेना समायोजनको विषयमा म एकदम क्लियर छु । हतियार व्यवस्थापन सम्बन्धमा चार वर्षअघि म आफैँले सही गरेको हुँ । त्यसैले हतियार बुझाएर गल्ती भो भन्ने मलाई लाग्दैन । कि त लड्नुपथ्र्याे, कि चाँडै समायोजन गरिहाल्नुपथ्र्याे ।

० संस्थापन पक्षबाट के गरेको भए फुटलाई जोगाउन सकिन्थ्यो ?

अहिलेको राजनीतिक कार्यदिशाबारे उहाँहरूलाई बुझाउन नसकिएको हो कि ? क्रान्ति बाँकी नै भएकाले सकियो भनेर ढुक्क मान्ने स्थिति पनि होइन । तर, यसबारे किरणजीहरूलाई बुझाउन सकिएन कि ? हामीलाई त के लाग्छ भने उहाँहरूले बुझ्न सक्नुभएन ।

० योभन्दा अगाडि पनि यहाँले आफ्नै पहलकदमीमा धेरैपटक किरण पक्षका नेतासित एकताका लागि वार्ता गर्नुभएको थियो भन्ने सुनिन्छ, ती वार्तामा केके भए ?

पार्टीमा अन्तरविरोध सुरु भएको बालाजुको पाँचौँ विस्तारित बैठकबाटै हो । खरिपाटीमा अलि बढी देखियो । खरिपाटीदेखि धोबीघाट प्रकरणभन्दा अघिसम्म बादलजी र म सँगै थियौँ । हामी दुईजनाले पार्टीलाई मिलाउने जोड गरेका थियाँै । यसबीच मैले किरणजी, विप्लवजीलगायत धेरै साथीसँग छलफल गरेँ । त्यसवेला मैले अध्यक्षको राजनीतिक नेतृत्वलाई समर्थन गरे पनि उहाँले बोलाउनुभएको कार्यक्रममा गएको थिइनँ । वैद्यजीका कार्यक्रममा पनि गएको थिइनँ । सांगठनिक रूपमा बीचमा थिएँ । तर, अध्यक्षको राजनीति र नेतृत्व सही छ भनिरहेको थिएँ । खासगरी धोबीघाटमा उहाँहरूको गतिविधि देखिसकेपछि अलि अराजक भएको ठानेर मैले उहाँहरूको सार्वजनिक आलोचना गरेँ । पार्टीभित्रै अर्काे पार्टी बनाउने, संगठनभित्र अर्काे संगठन बनाउने, योजनाभित्र अर्काे योजना अनि कार्यक्रमभित्र अर्काे कार्यक्रम बनाउने काम गर्नुभयो र बाहिर सडकमै जान थाल्नुभयो । चित्त नबुझेको विषय पार्टीभित्रै राखेको भए हुन्थ्यो । उहाँहरूले अलि बढी नै गर्नुभयो । त्यसपछि मैले अध्यक्षजीसँग अलि बढी नै छलफल र बहस गरेँ ।

० धोबीघाट प्रकरणप्रति यहाँ यतिधेरै गम्भीर हुनुको कारण ?

धोबीघाटको गठबन्धन मेलमिलापतिर थिएन । धोबीघाटको उहाँहरूको बैठक निकै खतरनाक थियो । अहिले उहाँहरूले भन्नुहुन्न, तर त्यो बैठक नेतृत्व हत्याउने खालको थियो । तर, वहाँहरू कसैले यसलाई स्विकार्नुहुन्न । उहाँहरूको उद्देश्य सबै मिलेर अध्यक्षलाई अल्पमतमा पार्ने र नैतिक रूपमा अध्यक्षबाट हट्न बाध्य पार्ने भन्ने थियो । यो हदसम्म जानु मलाई उचित लागेन । त्यसैगरी, झलनाथजीको सरकारले काम गर्न सकेको, नसकेको बेग्लै कुरा थियो तर यो कमसेकम स्वतन्त्र र स्वाभिमानी चरित्रको सरकार थियो । सरकारका कमीकमजोरी सच्याउन सकिन्थ्यो । मन्त्रिमण्डलमा अरू मिलाउन सकिन्थ्यो । मन्त्रिमण्डलका विषयमा यताबाट पनि केही कमी कमजोरी भएका हुन सक्छन् । तर, यो मुख्य थिएन । राजनीतिक रूपमा खनाल सरकार ठीकै दिशातिर गएको थियो । तर, धोबीघाटले यी सबै कुरालाई तहस-नहस पारिदियो । धोबीघाटपछि पनि मैले मेरै घरमा दुई-तीनपटक बैठक बसालेँ । तर, पछिल्लो समयमा उहाँहरू धेरै पर जानुभयो ।

० पार्टी एकताको अभियानमा लागिराख्नुभएका बादल एकाएक फुटतर्फ लाग्नुको भित्री कारण के थियो ?

राजनीतिक रूपमा उहाँ हामीतिरै बढी नजिक हुनुहुन्थ्यो । पछि त उहाँले संशोधनवादी, राष्ट्रिय आत्मसमर्पणवादी भन्दै गाली गर्नुभयो । केही कार्यशैलीगत प्रश्नमा केही असन्तुष्टि थिए भने पनि हामीसँग त्यति व्यक्त गर्नुभएको होइन । यीबाहेक म ठूलो भिन्नता देख्दिनँ । किरणजीले त राजनीतिक, सैद्धान्तिक विषय उठाउनुभएको हो । बादलजी अलि बढी रिजर्भमै बस्ने मान्छे हो । उहाँहरू राजनीतिक कारणले छुट्टएिको भन्नुहुन्छ तर मलाई किरणजी र बादलजीमा केही व्यक्तिगत असन्तुष्टि पनि थिए भन्ने लाग्छ ।

० बादलजी अब र्फकेर आउनुहुन्न भन्ने तपाइर्ंलाई कहिलेदेखि लाग्यो ?

मलाई त अहिले पनि त्यता गएको पार्टी र यता रहेको दुवै पार्टीबीच कुनैवेला एकता हुन्छ जस्तो लाग्छ । किनभने जनयुद्धभन्दा पहिलेदेखि हामी एउटै स्कुलिङबाट हुर्किएका हौँ ।

० बादल लामो समय बीचमा बस्नुभयो । धेाबीघाटपछि उहाँ नै सबैभन्दा बढी आक्रामक देखिनुभयो, किन ?

धोबीघाटभन्दा अघिसम्म बादलजीले अध्यक्षमाथिको मतभेद व्यक्तै गर्नुभएन । धोबीघाटसम्म पनि राजनीतिक अन्तरविरोध देखिएको थिएन । राजनीतिक अन्तरविरोध थिएन भने कसैसँग अरू व्यक्तिगत अन्तरविरोध थियो होला ।

० विभाजनका पछाडि राजनीतिक कारण पनि छन् कि ?

हामीले भनिरहेका छौँ, अहिलेको बाटो शान्ति र संविधानकै हो । तर, यो बाटोबाट हिँड्दा एमाले भइन्छ, सिद्धिइन्छ भन्ने उहाँहरूको तर्क थियो । अहिले जनयुद्धको पुरानै बाटोमा जान सम्भव छैन भनेर हामीले कुरा राख्दा उहाँहरू भन्नुहुन्थ्यो- सम्भव त छैन तर तपाइर्ंहरूले हिँडेको बाटोबाट पतन भइन्छ । यसबारे हामी छलफलमै थियौँ । विचारको संश्लेषण गर्ने वेला भएकै थिएन । क्रान्ति कसरी गर्ने भन्ने त बहसमै थियो । पालुङटारमा तीनवटा डकुमेन्ट पेस भएकै हुन् ।

० उहाँहरूका व्यक्तिगत गुनासा के थिए ? अध्यक्षले राजीनामा दिनुपर्छ भन्ने नै मुख्य थियो कि ?

राजीनामा चाहिन्छ भन्नेमा पनि सबै साथी थिएनन् । कोही चाहिँ नेतृत्व नै परिवर्तन गर्ने पक्षमा थिए । एउटा हिस्सा नेतृत्व हैन, कार्यदिशा सोझिनुपर्छ भन्नेमा थियो । केहीलाई चाहिँ कार्यदिशा यही भए पनि लिडरसिप चित्त बुझेको थिएन । तर, कार्यदिशा र नेतृत्वलाई अलग गरेर हेर्नु उहाँहरूको त्रुटि हो ।


० किरणजीहरूसित जति जानुभएको छ, त्यहाँ पनि कार्यदिशालाई बुझ्ने विषयमा समस्या छन् कि ? उहाँहरूको बुझाइमा एकरूपता छ ?

मेरो बुझाइमा त्यहाँभित्र मोटो रूपमा दुइटा बुझाइ थिए- पार्टीलाई एकताबद्ध राख्नुपर्छ भन्ने र फुट्नुपर्छ भन्ने । विषयवस्तुका दृष्टिकोणले अहिले किरणजीहरूभित्र तीन धार देखिन्छन्- एउटा छिटै जनयुद्धमा जानुपर्छ भन्ने धार, दोस्रो छिटै विद्रोह गर्नुपर्छ भन्ने धार र तेस्रो तयारी गरेर जानुपर्छ भन्ने धार । यो आधारमा उहाँहरूको नेतृत्वमा पनि संकट देखिन्छ । कुन धारमा केन्द्रीकृत हुने भन्नेमा उहाँहरूमा समस्या देखिएको छ । तर, यस्तो समस्या हामीतिर छैन । हामीले कहीँ पनि क्रान्ति सकियो भनेका छैनौँ । क्रान्ति पुरानै तरिकाले होइन, नयाँ तरिकाले गर्नुपर्छ हामीले भनेका छौँ ।


० एमाओवादीभित्र अन्य चुनौती पनि छन् कि ?

राजनीतिक कार्यदिशाका हिसाबबाट हामी सही ठाउँमा भए पनि संगठनका दृष्टिकोणबाट अस्तव्यस्त स्थिति छ । अराजकता एवं जनवादी केन्द्रीयता नभएको जस्तो अवस्था छ । संगठनका दृष्टिले हामीमा 'करेक्सन' जरुरी छ । कतिपय व्यवहार आचरण र कम्युनिस्ट शैली हामीले सच्याउन जरुरी छ । शान्ति प्रक्रियापछि हामी सहर केन्दि्रत भयौँ । हामीमा लोभलालच बढ्यो । कार्यकर्ताको व्यवस्थापन नहुने र कोही व्यवस्थापनभन्दा माथि उठ्ने अवस्था आयो । यस्ता विकृति-विसंगति हामीले सच्याउनुपर्छ ।


० एमाओवादीभित्र पनि त दुई-तीनवटा गुट छन्, यी पनि त सतहमा आउने होलान् ?

विचारमा छलफल त छँदै छ । तर, राजनीतिक कार्यदिशामा भिन्नता छैन । हामीले एकता गर्ने
भनेको राजनीतिक कार्यनीतिमै हो । यसमा अहिले मतभेद छैन ।


० राजनीतिक सहमति र सरकारको अवस्था अब के हुन्छ ?

मुख्य कुरा संविधानको नमिलेको विषयमा सहमति गर्ने हो । संविधानमा सहमति भयो भने संविधानसभाको चुनाव पनि हुनसक्छ, केही दिनका लागि संविधानसभाको पुनस्र्थापना गर्न पनि सकिन्छ अथवा संसद्ले अनुमोदन गर्न पनि सकिन्छ । यसरी संविधानका विवादित विषयमा सहमति बन्यो भने हामी सरकारबाट हट्न तयार छौँ । पहिले सरकारमा सहमति होइन, संविधानका नमिलेका बुँदामा सहमति हुनुपर्छ । सहमति भैसकेपछि हामी सरकारको विकल्पमा जान तयार छौँ ।

प्रस्तुति : अरुण बराल