Sunday, July 22, 2012

बन्दविरोधी भनिएको हाइवेले बन्दको पीडा नै दर्शाउँदैन - mysansar

मूलधारे मिडिया र सोसल मिडियामा निकै प्रचारबाजी गरेर सुरु भएको फिल्म हाइवे अब हलमा लागेको छ। प्रचारका लागि यसले सबै संभव उपाय अपनाएको थियो। सबै निर्माता/निर्देशकले आफ्नो फिल्म चलोस् भन्ने सोच्छन्, त्यसैले यस्तो गर्नु अचम्म हैन। यसले फरक तरिकाले गर्‍यो, त्यसैले यो फिल्ममा सबैको चासो भयो। प्रचारबाजीमा यो फिल्म उत्कृष्ट भएकोमा शंका छैन। तर प्रचारले मात्रै फिल्म सफल हुन सक्दैन। नढाँटी भन्नुपर्छ, प्रचारकै कारण मैले पनि आज दिउँसोको सोमा यो फिल्म हेरेको हुँ। यति धेरै ठूल्ठूला कुरा गरेको फिल्म हेरेपछि कस्तो लाग्यो, त्यसको अनुभव मात्रै यहाँ बाँड्दैछु।

के छ कथा फिल्ममा ?

जसले जतिसुकै फिल्म हेर्न नजानेको भनेर गुड्डी हाँके पनि हाइवे फिल्मबाट फिल्मको इतिहास सुरु भएको हैन। फिल्मको इतिहास लामो छ। फिल्मको सर्वमान्य सिद्धान्त हो- सुरुवातदेखि अन्त्यसम्म फिल्म एउटा कथामा बगेको हुन्छ। फिल्ममेकरले दृश्य र संवादको माध्यमबाट कथा बताउँछ।
तर यो फिल्ममा कथा के हो नै थाहा पाइन्न। फिल्म सुरु भएदेखिको कन्फ्युजन अन्तिमसम्म कायमै रहन्छ। एउटै फिल्ममा धेरै वटा राम्रा फिल्महरुको टेक्निक राख्न खोज्दा फिल्म एउटा सिङ्गो फिल्म नभएर गज्याङमज्याङ हुन पुगेको छ। त्यसैले फिल्म एउटा धाराप्रवाह हिसाबले बग्न सकेको छैन।

बेसिलसिलेवार कथा

निर्देशकले बस यात्राबाट कथा सुरु गरेकाले सबै कथाहरुको सम्बन्ध कुनै न कुनै रुपले बससँग जोडिनु पर्छ। तर फिल्म अगाडि बढ्दै जाँदा आउने दुई वटा कथा बससँग जोडिएको छैन- रवीन्द्र मिश्र र पुलिसलाई आक्रमण गर्ने तेस्रो लिङ्गीको कथा।
यति धेरै कथा र यति धेरै इस्युलाई एकै पटक उठान गरिएको छ कि निर्देशक आफै कन्फ्युज भएका जस्ता देखिन्छन्। त्यसैले उनले ती कथा र इस्युलाई सान्दर्भिक तरिकाले जोड्न सकेका छैनन्। अनि त फिल्ममा कहाँनिर flashback हो र कहाँनिर real time हो भन्ने छुट्याउनै गाह्रो।
फिल्म भनेको पजल गेम जस्तो त हैन, आफैले बसेर, जोडेर, मिलाएर- ए यो त टुक्रा त यहाँ राख्ने रहेछ अनि त्यो यहाँ भन्दै हेरेर बुझ्नुपर्ने। फिल्मले त आफै कथा भन्ने हो। फिल्ममेकरले यो फिल्म पजल हो, मान्छेहरुले ट्याकटुक जोडेर हेर्छन् भन्ने अपेक्षा गर्नु गलत हुन्छ।
दर्शकले फिल्म नबुझेको गुनासो गर्दा ‘हेर्न नजानेको’ भन्नु दोष दर्शकलाई थोपर्ने सजिलो बहाना मात्र हो। फिल्म आफैमा स्पष्ट हुनुपर्छ। त्यो clarity नभएकोले निर्देशक धेरै हदसम्म कथाको विषयमा आफैमा confuse भएको हो कि भन्ने देखिन्छ।
एउटा उदाहरण- आशा मगरातीलाई कर्माले चलाएको गाडीले ठक्कर दिन्छ। ठक्कर दिने बित्तिकै कथा बिल्कुलै नयाँ परिवेशको कथाका रुपमा रवीन्द्र मिश्रकोमा जम्प हुन्छ। धेरै पछि कथा कता-कता घुमेर फेरि त्यही ठक्कर दिएको दृश्य दोहोरिन्छ।

Flashback र Real को confusion

कथा भन्ने शैलीका रुपमा प्रयोग गरिएको flashback आफैमा नराम्रो हैन। तर त्यसको उचित प्रयोग गर्न एकदमै जरुरी हुन्छ। नत्र कथा एकदमै कन्फ्युज हुन पुग्छ। पूजाको कथामा flashback सौगात मल्लतिर जान्छ। तर त्यो flashback जस्तै देखिँदैन। किनभने कथा भर्खर लाहुरेबाट बसमा प्रवेश गरेको छ र बस बन्दको मारमा परेको छ। पूजा भन्ने पात्र राम्रोसँग स्थापित नै नभई flashback मा सौगातसँग सेक्स गर्नेमा jump गरेको छ। यो कथाको स्वभाविक धारको एकदमै विपरीत छ।
त्यस्तै भएको छ इलम दीक्षितको कथामा पनि। बसमा यात्रु रहेका दीक्षित flashback मा जान्छ। यहाँसम्म त ठीकै थियो। तर उसको flashback मा फेरि मोटे तेस्रो लिङ्गी केटाको action पो घुस्छ। दीक्षितले नदेखेको घटना मोटे केटाले देखाइरहेको हुन्छ। जस्तै डान्सबारमा नाचेको, तेस्रो लिङ्गी बाथरुममा घाइते भएको, अस्पताल लगेको आदि। दीक्षितको flashback हो भने त्यो सबै देखिनै सकिँदैन।
दयाहाङ राईको कथामा पनि दयाले त flashback उसकी श्रीमतीलाई दियो, तर श्रीमतीको action भने जारी रहन्छ। यसलाई कसरी justify गर्न सकिन्छ ? त्यसैले कुन flashback र कुन real गज्याङमज्याङ भएको छ। छुट्याउनै नसकिने गरी।

 निर्देशक धेरै महत्त्वाकांक्षी देखिए

एक जमानामा फिल्म कै समीक्षा लेख्ने निर्देशक दीपक रौनियार धेरै महत्त्वाकांक्षी देखिएका छन्। यति धेरै कथा एउटै फिल्ममा ह्यान्डल गर्ने चेष्टा सितिमिति निर्देशकले गर्दैनन्। फिल्मको रिदम र फिल्मको पेस मिलाउन कम्ता गाह्रो हुँदैन धेरै कथा र इस्युलाई एउटै भाँडामा हाल्दा।
धेरै कथा मिसाउँदैमा फिल्म action oriented हुन्छ भन्ने निर्देशकले सोचेका देखिन्छन्। तर त्यसमा रिदम निकाल्न नजान्दा फिल्म गज्याङमज्याङमा अड्‌किएको छ। जति अरुको कपी गरेको हैन भनेर गफ गरे पनि यो फिल्ममा उनी Robert Altman को सन् १९९३ मा रिलिज भएको फिल्म Short Cuts बाट कुनै कुनै ठाउँमा प्रभावित भएको देखिन्छ। तर स्व. Altman ले आफ्नो गजबको निर्देशकीय क्षमताका कारण त्यति धेरै कथाहरुलाई पनि रिदम र पेस मिलाएर गज्याङमज्याङ बन्न दिएका छैनन्। त्यसमा धेरै कथा छन् तर उनले सबै कथालाई न्याय गरी पूर्ण देखाएका छन्।
धेरै कथा मिसाउने शैली Short Cuts बाट प्रभावित देखिए जस्तै बस यात्रामा हुने टेन्सनको शैली चाहिँ हिन्दी फिल्म मिस्टर एन्ड मिसेज ऐयरबाट प्रभावित जस्तो देखिन्छ।
टुक्राटाक्री घटनाहरुलाई मिलाएर फिल्म बनाउन सकिन्छ। तर त्यसका लागि उत्तिकै दक्ष, फिल्म बुझेको निर्देशक हुनुपर्छ। त्यो भएन भने फिल्म छेउ न टुप्पोको हुन्छ, हाइवे त्यस्तै भएको छ। उनले फिल्म नबुझेको भनेर दर्शकलाई दोष दिनु आफ्नो कमजोरी लुकाउने असफल प्रयास मात्रै हो।

रवीन्द्र मिश्र थोपरिएको छ

बीबीसीका चर्चित पत्रकार रवीन्द्र मिश्रको क्यारेक्टर जबर्जस्ती फिल्ममा थोपरिएको छ। उनको पात्रलाई फिल्ममा गरिएको introduction नै गलत छ। सबै कथा बसबाटै सुरु भइरहेको छ भने मिश्र एकाएक कहाँबाट पसे ? रवीन्द्र मिश्र चर्चित पत्रकार भएकोले उनलाई खुसी बनाउन मात्रै सिनहरु जबर्जस्ती थोपरिएको भान हुन्छ।
कुनै पात्रलाई कुनै सिचुएसनमा राखेर त्यसले अनुभव गरेको कुरा देखाउँदा पो अडियन्सले फिल गर्ने हो, पात्रलाई जबर्जस्ती थोपरेको भरमा अडियन्सले त्यसको state of mind र सिचुएसन त ग्रहण गर्न सक्दैन नि।
मध्यान्तर अघि एकाएक फिल्ममा पसेका मिश्रको एक्टिङ यति फितलो छ कि हलका दर्शक उनी रिसाएर श्रीमतीलाई गाली गर्दा हाँस्छन्। जबकि त्यो इमोसनल सिन हो। ‘जाऊ जाऊ, तिमी जाने भए जाऊ’ मिश्र भन्छन्। तर त्यसो भन्दा उनको अनुहारमा न पीडा छ न आक्रोश। समताभावमा पो छ उनको अनुहार। फेरि अचानक श्रीमती भेटिएको, अंगालेको भ्रमलाई पनि निकै अमिल्दो तरिकाले प्रस्तुत गरिएको छ। नौटंकी देखिन्छ।
उनले पसलको सजाउनलाई राखिने पुतली mannequin लाई यौन रुपले आकर्षित भएर हेरेको दृश्य निकै राम्रो सिक्वेन्स बन्न सक्थ्यो। तर त्यो धेरै टुक्राटाक्रीका बीच यसरी आउँछ कि वास्तवमा त्यो जति संवेदनशील हुनुपर्थ्यो, त्यति हुनै सकेको छैन।

 बन्दविरोधी फिल्मले बन्दको पीडा नै दर्शाउँदैन

फिल्म बस यात्रासँगै सुरु हुन्छ र अन्त्य पनि। तर फिल्म दर्शकलाई बसभित्र राखेर यात्रामा लैजान असफल छ।
बीचमा त्यसभित्रका यात्रुहरुले हाइवेमा हुने बन्द भोग्छन्। त्यसमा बन्दको दुःख पीडा फिल गराउनु पर्ने हो। बन्दविरोधी फिल्मका रुपमा समेत यसलाई प्रचार गरिएको थियो। बन्दविरोधी सन्देश लेखिएका टिसर्टबाट यो बन्दविरोधी फिल्म भएको प्रचार गरिएको थियो। तर नेपालको परिवेश नबुझ्नेहरुले त बन्द के हो, यसले कस्तो दुःख हुन्छ भन्ने नै बुझ्दैनन् यो हेरेर। बन्दका कारण हुने तनाव र यात्रुहरुले भोग्नुपर्ने पीडा, संवेदना यसमा रत्तिभर पनि देखिँदैन। बन्दको दुःख यसले अडियन्सलाई ‘फिल’ नै गराउन सकेको छैन।
बन्द हुन्छ, कुनै ठूलो कष्ट बिना बस सजिलै बिहेको नाटक गरेर पार हुन्छ। हाइवेमा बन्दको पीडा तपाईँ हामी मध्ये धेरैले भोगेकै होला। मैले पनि भोगेको छु। तर फिल्मका पात्रहरुले चाहिँ बन्दको पीडा र तनाव फिलै गरेका छैनन्। बन्दविरोधी भनिएको फिल्मका पात्रहरुले नै फिल नगरेपछि दर्शकहरुले फिल गर्ने त कुरै भएन।

पहेँलिएको किन ?

निर्देशक रौनियारले फिल्मका सबै दृश्यको रङ पहेँलो-पहेँलो देशको स्थिति दर्शाउन जानाजानी बनाएको तर्क न्युनेपालीसिनेमा ग्रुपमा गरेका छन्।  तर कलर मैले यस्तो यस्तो देखाउन खोजेको भनेर निर्देशकले बयान गरेर हैन कि कलर आफैले दर्शकलाई environment feel गराउन सक्नुपर्छ। तर यसमा कलरले खासै अर्थ राखेको देख्न सकिएन। यो त सुटिङमा के नपुगेको जस्तो पो देखियो त। सुटिङमा भएको हुनसक्ने प्राविधिक गल्तीलाई लुकाउन excuse खोजेको जस्तो मात्र देखियो कलरले। निर्देशकले सबैलाई बुझाउन सक्दैनन्, बुझाउने मौका पनि पाउँदैनन्। अडियन्सले फिल गर्ने हो भने यो गर्न जरुरी पनि हुँदैन।

डायलगको समस्या

डायलगमा धेरै नै समस्या देखिएको छ। सबै डायलग एउटै साइडबाट आएको सुनिएको छ। Audio को dimension नै छैन। flat सुनिएको छ सबै। जस्तै कोठाभित्र फोनको आवाज अर्कै हुन्छ। नजिकको आवाज अर्को हुन्छ, टाढाको आवाज अलि सानो हुन्छ। यसमा त्यस्तो हुन्न।
इलम दीक्षितले इलामको चियाबारी देखिएको ठाउँमा फोनमा कुरा गर्दैगर्दा पृष्ठभूमिमा टिभी रिपोर्टरले इन्टरभ्यु लिँदै गरेको आवाज किन आवश्यक भयो ? धेरै यस्ता अडियोमा आएका जानकारीहरु थोपर्नलाई मात्र राखिएको जस्तो देखिन्छ।
दीक्षितले बेहुलीसँग गरेको कुराकानीलाई नै लिउँ। कथाले पूर्णता नपाएको भएर ती जानकारीहरु थोपरिएको जस्तो देखिएको छ।

सम्पादनमा समस्या

फिल्ममा निकै जम्प-कट हुन्छ। जम्प-कट आफैमा स्टाइल हैन। रिदम मिलाएर प्रयोग गरियो भने यसलाई कथा भन्ने एउटा तरिका बनाउन सकिन्छ। तर त्यति गहिराइमा पुगेर यसको प्रयोग गरिएको लाग्दैन। यसले जम्प-कटको अर्थै आउँदैन। यो पनि जबर्जस्ती थोपरिएको भान हुन्छ। यो डायलग लामो भयो, पूरा फिल्म ८० मिनेटमा अटाउनु पर्छ, यसलाई छोट्याउनु पर्‍यो भनेर मात्रै जम्प-कट गरेको जस्तो देखिन्छ। यसमा जम्प-कटलाई फिजिकल एस्पेक्टबाट देखाउन खोजिएको छ, जबकि यसलाई साइकोलोजिकल एस्पेक्टबाट देखाउनु पर्थ्यो।
जम्प‌-कट कि टाइमलाई तन्काउन कि खुम्च्याउन प्रयोग गरिन्छ। तर हाइवेका जम्प‌-कटहरु सम्पादन गर्नेको सुविधाका लागि मात्रै प्रयोग गरिएको छ।
सम्पादनसहितको पोस्ट प्रोडक्सनका लागि नै यो फिल्मलाई अमेरिका लगिएको थियो र क्राउडफन्डिङबाट फन्ड जम्मा गरिएको थियो। तर विडम्बना, यसको सम्पादन पक्ष नै सबैभन्दा फितलो देखिएको छ।

फरक फिल्म ?

फिल्म राम्रो भएर फरक हुने हो, फरक हुँदैमा राम्रो हुन्छ भन्ने जरुरी हुँदैन। हामीले फरक फिल्म बनाएका छौँ भनेर भनिएको छ। तर फरक आफैमा उत्कृष्ट हुँदैन।
फिल्म पक्कै फरक छ, औसत हिन्दी र नेपाली फिल्मको फर्मुला कथा र गाना बजाना यसमा छैन। तर त्यो नहुनु मात्र राम्रो फिल्मको मानक हैन। ‘सिक सिटी’लाई पनि केहीले यस्तै हाइप गरेका थिए। तर बजारमा त्यसको हालत देखियो।
यो फर्मूला फिल्म हैन, अफट्रयाक फिल्म भनिएको छ। तर पूरै फिल्म हेरेपछि थाहा हुन्छ यो त अफ ट्रयाक पनि हैन, कन्फ्युजन एक्सपेरिमेन्ट हो।
हाइवे फिल्म यो अर्थमा पनि एउटा परीक्षण थियो- यो फिल्म चल्ने हो भने फरक खालका फिल्म बनाउनेहरुलाई अझ सजिलो हुने थियो। ‘हाइवे जस्तो फिल्म ? अहो त्यो त हेर्नुपर्छ यार’ भन्ने हुन्थ्यो। ओभरहाइप गरेकै कारण यो फिल्म चलेन भने यसले नकारात्मक सन्देश जान्छ। कसैले अर्को त्यस्तै फिल्मबारे चर्चा गर्दा ‘ए, त्यही हाइवे जस्तो’ भनेर नाक खुम्च्यायो भने त्यसले सबैभन्दा घाटा फिल्म उद्योगलाई नै हुने हो।

फिल्मले नेपाल चिनायो ?

बर्लिन फिल्म फेस्टिभलको पानोरमा सेक्सनमा छनौट हुनुलाई यो फिल्मसम्वद्धले उपलब्धिका रुपमा चित्रण गरेका छन्। पक्कै पनि नेपाली फिल्म अन्तर्राष्ट्रिय मञ्चमा पुग्नु उपलब्धि हो। तर धेरैले के बिर्सेको देखियो भने ‘नेपाल’ देशको फिल्म भन्दै ओस्कर अवार्डमा उत्कृष्ट विदेशी फिल्मका रुपमा क्याराभान पनि पुगेको थियो। अस्कर अवार्डको लाइभ टेलिकास्ट हुँदा क्याराभान/नेपाल भनेर देखाउँदा निर्माताका रुपमा नीर शाह टिभी पर्दामा देखिएका थिए। फिल्ममा उनको पनि लगानी थियो। फिल्मले त त्यतिबेला पनि नेपाललाई चिनाएको हो।
बर्लिन फिल्म फेस्टिभलको पानोरमा सेक्सन भनेको एक किसिमको आरक्षण खालको सेक्सन हो। यसमा सन् ८० को दशकदेखि तेस्रोलिङ्गी, समलिङ्गीका फिल्महरु प्राथमिकतामा पर्छन्। हाइवेमा पनि तेस्रोलिङ्गीको कथालाई नकारात्मक रुपमा हैन, सकारात्मक हिसाबले प्रस्तुत गरिएको छ। फिल्मका अनेकौँ कथामध्ये यो कथा पनि एक प्रमुख कथा हो।
बर्लिन फिल्म फेस्टिभल नै फिल्मको उत्कृष्टता जाँच्ने कसी हो भने र यो फिल्म साँच्चिकै राम्रो हो भने किन अरु प्रख्यात फिल्म फेस्टिभलहरुमा छनौट भएन ? फेस्टिभलसँगै यसले अन्तर्राष्ट्रिय डिस्ट्रिब्युटर किन पाएन ? बर्लिनमा यो फिल्म यसका को-प्रोड्युसर अमेरिकी कम्पनी भएकोले त्यसैमार्फत् गएको हो कि, अरु नेपाली फिल्मले यसका लागि प्रयासै नगरेकाले पो नगएका हुन् कि- यो पनि बहसमा आउन जरुरी छ। बर्लिन फिल्म महोत्सवमा यो फिल्म पुग्नु भने यसको उपलब्धि नै हो। त्यसलाई मान्नै पर्छ।

राम्रो पक्ष

फिल्मको प्रचार शैली यसको राम्रो पक्ष हो। फिल्मले यति आक्रामक हिसाबले प्रचार गर्‍यो कि दर्शक हलसम्म तानिए। क्युएफएक्सको सिभिल मलमा दिनको दोस्रो तथा अन्तिम सो हेरेका थियौँ हामीले। हल पूरै जसो भरिएको थियो। वेबबाट सिट दर्ता गर्ने कोटा सकिएको थियो। फिल्मबारे सामाजिक सञ्जालमा बहसहरु भए। नेपाली दर्शकलाई हलसम्म तानिएर आउन सक्ने बनाउनु यसको सबल पक्ष हो।
अभिनयको कुरा गर्दा सौगात मल्ल जस्ता थियटरमा समेत राम्रो अभिनय गरेर आएका कलाकारले यसमा अभिनय देखाउने मौका नै पाएका छैनन्।

बसमा बेहुली बन्ने सृष्टि घिमिरेको यो पहिलो फिल्म हो। तर उनले ज्यादै राम्रो, स्वभाविक अभियन गरेकी छिन्। उनको भविष्य उज्ज्वल देखिन्छ। ऋचा शर्माले पनि राम्रो गरेकी छिन्।
फिल्मको सबैभन्दा राम्रो दृश्य मलाई यो लाग्यो- पत्नीलाई प्रेगनेन्ट गराउने जडिबुटी खाएर ३६ घण्टाको समयसीमामा भेट्न आएका हुन्छन् लाहुरे (दयाहाङ राई)। एक्सिडेन्टमा परी घाइते भएकी श्रीमती आशा मगराती बेडमा पल्टिरहेकी हुन्छिन्। यस्तैमा नर्सले ‘तपाईँहरुको बच्चा चाहिँ बचाउन सकिएन’ भन्दा देखिने कन्फ्युजन, पीडालाई एकै साथ प्रस्तुत गरिएको ज्यादै मन छुने छ।