Sunday, July 22, 2012

अटेरी डाक्टरलाई अवकाश - nagariknews

दीपक दाहाल, काठमाडौं, साउन ७ - स्वास्थ्य संस्थामा दरबन्दी छ, डाक्टरको नाममा तलब पनि आउँछ। स्वास्थ्य मन्त्रालय ती ठाउँमा डाक्टर भएको दाबी दोहोर्याीउँछ। तर, जिल्लाबाट समाचार आइरहन्छ- डाक्टर नहुँदा समस्या। मन्त्रालयका अधिकारीलाई सुरुमा त मिडियाको विश्वासै थिएन। धेरैपटक उही/उही स्वास्थ्य संस्थाबाट यस्ता समाचार आउन थालेपछि यथार्थ बुझ्ने प्रयास गरे।

सरकारले ती डाक्टरको खोजी गर्योथ। घरपरिवारमा बुझ्यो। सार्वजनिक सूचना निकाल्यो। तर, अधिकांश सम्पर्कमै आएनन्। सम्पर्कमा आएकाले भने, 'पढ्दै छु, अध्ययन विदा पाउँ।'

एकातिर महिनौदेखि मन्त्रालयलाई औपचारिक रुपमा खबरै नगरी बेपत्ता भएको, अर्कातिर नयाँ मेडिकल अधिकृतलाई विदा दिन मिल्ने प्रावधान नभएपछि मन्त्रालयले ती डाक्टरलाई स्वास्थ्य सेवाबाटै हटाउने प्रक्रिया थालेको छ।

ती डाक्टरहरू आगामी दिनमा सरकारी सेवाका लागि भने अयोग्य हुने छैनन्। स्वास्थ्य सेवामा खटाइएको क्षेत्रमा नगाई सुगममै बस्ने प्रवृत्ति बढेकाले मन्त्रालयले खोजी र कारबाही सुरु गरेको हो।

दरबन्दी भएको स्वास्थ्य संस्थामा डाक्टर नभेटिएपछि कारबाही अगाडि बढाइएको स्वास्थ्य मन्त्रालय प्रशासन महाशाखाले जनाएको छ। अवकाश प्रक्रिया अगाडि बढाइएका सबै डाक्टर लोकसेवा उत्तीर्ण मेडिकल अधिकृत (आठौं) तहका हुन्।

स्वास्थ्य मन्त्रालय प्रशासन महाशाखाका सहसचिव ध्रुव दाहालले विनाजानकारी लामो समयदेखि खटाइएको क्षेत्रमा अनुपस्थित केही डाक्टरको अवकाश प्रक्रिया अगाडि बढाइएको बताए।

'लामो समयदेखि हामी ती डाक्टरको खोजीमा थियौं, पत्रिकामार्फत स्पष्टिकरणलगायत प्रक्रिया पूरा गरेर मात्रै अवकाशको निर्णयमा पुगेका हौं,' उनले भने, 'यससम्बन्धी सम्पूर्ण विवरण लोकसेवाको सहमतिपछि मात्रै सार्वजनिक गर्न मिल्छ।'

थाहै नदिई संस्था छाडेर हिँडेका, हाजिरै नभएका र सम्पर्कमा नरहेका डाक्टरमा सरोजकुमार सिंह, विकास नेपाल, दिनेश संग्रौला, योगेन्द्रप्रसाद गुप्ता, सुजाता निरौला, सुनिलकुमार शाह, प्रवेशकुमार चौधरी, सुरेन्द्र न्यौपाने, गोविन्द कँडेल, अनिलकुमार श्रेष्ठ, प्रतीत पोखरेल, घनश्याम थापा, सुलोचना जोशी र विशाल खनियाँ छन्।

मन्त्रालयले लोकसेवालाई अवकाश सहमतिका लागि पठाएको पत्रमा सरकारले खटाएको क्षेत्र अन्तिम पटक सम्पर्क भएको मिति उल्लेख छ। सिंह गौर, गंगापिपरास्थित प्राथामिक स्वास्थ्य केन्द्र (प्रास्वाके) मा ०६७ असोज २३, नेपाल त्रिशूली अस्पतालमा ०६७ चैत्र ११, संग्रौला प्रास्वाके शनिश्चरेमा ०६६ चैत १८, गुप्ता प्रास्वाके सुरूंगा, झापामा ०६७ जेठ ३१, निरौला प्रास्वाके इटहरीमा ०६७ श्रावणमा अन्तिम पटक हाजिर भएका थिए।

चिकित्सकहरू मध्ये मन्त्रालयबाट कलैया अस्पताल बारामा खटाइएको हाजिर हुनगरी नियुक्ति लिएका शाह, सोही अस्पतालका लागि हिँडेका चौधरी र प्रास्वाके मकैसिङ गोरखा खटाइएका न्यौपानेसमेत ०६७ सालको सुरुदेखि नै हाजिर हुन गएका छैनन्।

प्रास्वाके मनहरी खटाइएका कँडेल भने संस्थामा गएर हाजिर गर्दै फर्कने गरेको पाइएको छ। त्यसैगरी प्रास्वाके पालुङमा खटाइएका श्रेष्ठ ०६७ चैत्र १५ सम्म विदा मागेर हिँडे पनि त्यसपछि सम्पर्कमा आएनन्।

शुक्रराज सरुवा रोग अस्पतालमा खटाइएका पोखरेल ०६७ साउन १५, प्रास्वाके सुन्थान काभ्रेमा ०६७ मंसिर १०, जोशी मेथिनकोट अस्पताल काभ्रेमा ०६७ भदौ १३ र प्रास्वाके मेलम्चीमा खटाइएका खनियाँ ०६७ असोज १ देखि खटाइएको संस्थामा उपस्थित छैनन्।

यसरी कार्यक्षेत्रबाट भागेर हिँडेका अधिकांश डाक्टर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) र केही निजी मेडिकल कलेजमा पोस्ट ग्य्राजुएसन (पिजी) पढ्दै छन्। को कहाँ छन् भन्ने औपचारिक जानकारी नभएको महाशाखाले जनाएको छ।

स्वास्थ्य सेवा नियमावलीअनुसार स्वास्थ्य सेवामा प्रवेश गरेपछि कम्तमा दुई वर्ष दुर्गम क्षेत्रमा काम गरेपछि मात्रै सरकारले अध्ययन विदा दिन्छ। केही डाक्टरले सरकारी कोटामै न्याम्समा अध्ययन अवसर पाउँछन्। निजी खर्चमा पढ्नका लागि बेतलवी विदा पाउन पनि सरकारसँग सहमति लिनुपर्छ।