Friday, March 28, 2014

एमाओवादी अध्यक्ष प्रचण्ड पुत्रीको अन्तिम संस्कार - onlinekhabar




१३ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डका छोरी ज्ञानु केसीको निधन भएको छ । क्यान्सरबाट पीडित केसीको चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको प्रचण्डका स्वकीय सचिव एवं केन्द्रीय सदस्य चुँडामणि खड्काले बताए ।

केसीप्रति अन्तिम श्रद्धान्जली व्यक्ति गर्न आफन्त तथा विभिन्न दलका नेता कार्यकर्ता ओम अस्पताल पुगेका छन् । केसीको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

केसीलार्इ अन्ति श्रद्दाञ्जली दिन एमाओवादीका नेताद्दय बाबुराम भट्टरार्इ, नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी र हिसिला यमी लगायतका पार्टीका शीर्ष नेता पशुपतिस्थित आर्यघाट पुगेका थिए । पशुपति आर्यघाटमा पुगेका थिए ।

त्यस्तै श्रद्धाञ्जली दिन सरकारका तर्फबाट सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल, नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य, नेकपा एमालेका सचिव विष्णु पौडेल, कांग्रेस नेता शेखर कोइराला र पूर्व प्रहरी प्रमुख कुवेर सिंह रानालगायत उच्च पदस्थ व्यक्ति आर्यघाट पुगेका थिए ।

अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएर छोरीलाई श्रद्धाञ्जली अर्पण गरेका थिए । केसीको हिन्दू संस्कार अनुसार अन्त्यष्टि गरिएको हो । केसीका पति र दुई छोरी छन् ।

४० वर्षकी केसी लामो समयदेखि स्तन क्यान्सरबाट पीडित थिइन् । अमेरिका र भारतमा उपचार गरेपनि स्वास्थ्य लाभ नभएपछि केसीलाई काठमाडौं ल्याइएको थियो । केसीका दुई छोरी छन् ।





तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

Thursday, March 27, 2014

आइफोनको हेडफोनबाट गर्न सकिन्छ यी ८ काम - onlinekhabar



आइफोनको हेडफोनको प्रयोगले तपाई के–के गर्नुहुन्छ ? गीत सुन्ने, फोन उठाउने र काट्ने ? अक्सर मानिसहरु हेडफोनलाई यही रुपमा प्रयोग गर्छन ।

तर, आइफोनको हेडफोनमा यति धेरै फिचरहरु छन जुन तपाईले अहिलेसम्म प्रयोग नगर्नुभएको हुनसक्छ । यो सानो डिभाइसले तपाईको आइफोन प्रयोग अनुभवलाई निकै उन्नत बनाइदिन सक्छ, यदि प्रयोग गर्ने तरिकाबारे जान्नुभयो भने ।

यही हेडफोनका माध्यमबाट तपाईं घण्टी बजिरहेका बेला फोन काट्न सक्नुहुन्छ, गीत बजाउन, फरवार्ड गर्न, कुरा गरिरहेको कललाई होल्डमा राखेर अर्को कल उठाउन र तस्वीर लिन पनि सक्नुहुन्छ । जसले गर्दा तपाईले अधिकांश समय आइफोन खल्तीबाट झिक्नु पर्दैन् ।

१. गीत वा भिडियो बजाउन र रोक्न

यदि तपाई गीत सुनिरहनुभएको छ र अचानक त्यसलाई रोक्न चाहानुहुन्छ भने तस्वीरमा देखाइएको सेन्टर बटनलाई थिच्नुहोस् । गीतलाई पुनः बजाउन चाहे सोही बटनलाई फेरि थिच्नुहोस् ।

२. गीतलाई फरवार्ड र रिवार्ड गर्न

तपाईले हेरिरहेको भिडियो वा सुनिरहेको गीतलाई फाष्ट फरवार्ड गर्न वा रिवार्ड गर्न पनि यही बटन काम लाग्छ । यदि तपाई फाष्ट फरवार्ड गर्न चाहानुहुन्छ भने एकपटक बटन थिच्नुहोस र दोस्रोपटक केहीबेर थिचिराख्नुहोस् । रिवार्ड गर्न चाहानुहुन्छ भने यो बटनलाई तीनपटक थिच्नुपर्छ । तेस्रोपटकको थिचाई केही लामो हुनु जरुरी छ ।



३. कल स्वीच गर्न

तपाईले साथीसँग कुरा गरिरहनुभएको छ । तर, कार्यालयबाट अर्को जरुरी फोन आयो भने तपाईले कुरा गरिरहेको कललाई होल्ड गरेर जरुरी कल उठाउन सक्नुहुन्छ । कुरा गरिसकेपछि दुई सेकेण्डसम्म बटन थिचिराख्नुभयो भने कुरा गरिरहेको कल समाप्त हुन्छ ।

४. तस्वीर खिच्न

हेडफोनको आवाज बढाउने बटन थिचेर तपाई तस्वीर खिच्न सक्नुहुन्छ । खासगरि सेल्फी खिच्न यो तरिका उत्तम हुनसक्छ । यो फिचरले आइफोनको क्यामेरा एपमा मात्र काम गर्छ, इन्स्टाग्राम लगायतका पछि इन्स्टल गरिएका एपमा भने काम गर्दैन् ।



५. अघिल्लो गीत सुन्न

तपाईले सुनिरहेको गीत राम्रो लागेन र स्कीप गर्न चाहानुभयो भने पनि यही बटनले काम गर्छ । यदि तपाई गीत स्कीप गरि अघिल्लोमा जान चाहानुहुन्छ भने यो बटनलाई दुईपटक थिच्नुहोस, तीनपटक थिच्नुभयो भने पछिल्लो गीत सुन्न सकिन्छ ।

६. फोन उठाउन र राख्न

यो फिचर भने सामान्यतयाः धेरै प्रयोगकर्ताले प्रयोग गर्छन् । आइफोनको हेडफोनको आम प्रयोग गीत, आवाज ठूलो सानो बनाउन र फोन उठाउन तथा राख्न गरिन्छ ।

७. फोन काट्न

आगमन कल काटन चाहानुहुन्छ भने पनि यही हेडफोन बटनले सहयोग गर्ने छ । यो बटनलाई केहीबेर थिचिराख्नुभयो भने कल अस्वीकार हुन्छ । कल अस्वीकार हुँदा दुईपटक विप टोन सुनिन्छ ।

८. सिरी अर्थात भ्वाइस कन्ट्रोल गर्न

यदि तपाई आइफोन ४ एसभन्दा पछिल्ला भर्सनका आइफोन चलाइरहनुभएको छ भने सिरी अर्थात भ्वाइस कन्ट्रोल फिचर उपलब्ध छन् । भ्वाइस कन्ट्रोलका लागि हेडफोन बटन सहयोगी हुनसक्छ ।

ट्रकले किच्दाकिच्दै जन्मिएको बच्चा सुरक्षित, आमाबाबु परमधाम - onlinekhabar





यो तस्वीर ती चमत्कारिक बच्चाको हो, जसको गर्भवती आमालाई भयानक सडक दुर्घटनामा ट्रकले किचेको थियो । त्यस समय आमाको गर्भबाट निस्किएको यो बच्चा केही मिटर पर पुगेर बजारियो । तर, सुरक्षित रह्यो ।

घटना चीनको फुजियान प्रान्तको जियामैन शहरमा भएको हो । ४२ वर्षका माओ गर्भवती पत्नी वाङ झाउलाई सुत्केरी गराउन मोटरसाइकलमा अस्पताल लैजाँदै थिए । पत्नीलाई व्यथाले चापेपछि माओले एम्बुलेन्स कुर्नुभन्दा मोटरसाइकलमै कुदाएर अस्पताल पुर्‍याउन सही ठाने ।

तर, बाटोमा एक ट्रकले उनको मोटरसाइकललाई ठक्कर दियो र वाङ झाउलाई ट्रकले किच्यो । घटनाका क्रममा उनको पेटबाट उछिट्टिएको बच्चा झण्डै तीन मिटरपरसम्म पुग्यो । तर, बच्चालाई निधारमा समान्य चोट लाग्नु बाहेक केही भएन । बच्चाको तौल ९.२ पाउण्ड छ ।

दुर्घटनामा बाबुआमा गुमाएका बच्चाको नाम जियाओ झाओ राखिएको छ । प्रत्यक्षदर्शीहरुले बताए अनुसार ट्रकले कुल्चिएकै बेला वाङ झाउले बच्चालाई जन्म दिएकी थिइन् ।

Wednesday, March 26, 2014

चिलिमे सेयरमा लुट - annapurnapost


विकास थापा |

जलविद्युत्‌मा स्थानीय वासिन्दाको स्वामित्व रहोस् र त्यसको लाभ विकट आयोजना प्रभावित क्षेत्रका जनताले पाऊन् भन्ने उद्देश्यले स्वदेशी लगानीमा निर्मित चिलिमे जलविद्युत् कम्पनीले तीन वर्षअघि स्थानीय वासिन्दालाई १० प्रतिशत सेयर दियो। कुल १८ गाविसमध्ये आयोजना प्रभावित तीन र बाँकी १५ गाविसलाई प्रिमियम र साधारण गरी कम्पनीले नौ लाख ६० हजार कित्ता सेयर वितरण गरेको थियो।
चिलिमेको अहिलेको प्रतिसेयर बजार मूल्य एक हजार ६ सय ७० रुपैयाँ छ। गत माघ १२ गतेदेखि धितोपत्र बोर्डले स्थानीय वासिन्दाको सेयर कारोबार गर्न अनुमति (लकिङ पिरियड समाप्ति) दिनेबित्तिकै सेयरका दलालहरू गाउँगाउँ पुगेर 'हिमालमा हिउँ सुकिसक्यो, अब चिलिमेको बिजुली उत्पादन घट्छ, नाफा आउँदैन सेयर बेचिहाल' भन्दै सोझा गाउँलेको सेयर उठाएर ल्याए। उनीहरूले प्रतिसेयर ६ सयदेखि नौ सय रुपैयाँमा स्थानीयलाई दिएर १७ सयमा बेचे।
यसरी सोझा गाउँले ठगिएको त्यतिखेर थाहा पाए, जतिखेर चिलिमे कम्पनीले स्थानीय तहमै गएर सेयर नबेच्न अनुरोध, गर्‍यो, विज्ञप्ति सार्वजनिक गरेर सबैलाई सजग गरायो। कम्पनीले थाहा पाउँदा तीन लाख कित्ता सेयर दलालहरूले बेचाउन सफल भइसकेका थिए। यसरी १७ सय पर्ने सेयरलाई ६ सयमा बिक्री गराउने दाउमा रहेका दलाका गिरोहले बोनससहितको स्थानीय वासिन्दाका पूरै २२ लाख ७१ सय तीन सय ६० कित्ता सेयर एवंरीत बिक्री गराउने योजनामा रहेको खुल्न आयो।
स्थानीय वासिन्दाको नाममा रहेको यो सेयरको रकम हालको बजार मूल्यअनुसार तीन अर्ब ७४ करोड ७७ लाख रुपैयाँ हुन आउँछ। चिलिमेकै कारण प्रतिघर अहिले औसतमा २० लाख रुपैयाँ बराबरको सम्पत्ति स्थानीय वासिन्दाको नाममा छ। यसरी आफ्नो गाउँठाउँको जलविद्युत्‌ले समृद्ध पारेको रसुवाका सोझासीधासितको अर्बौं रुपैयाँ लुट्ने योजना केही दलालहरूको मात्र हरकत होइन। यो कृत्यमा रसुवादेखि काठमाडौंसम्मका ठूलो गिरोहको संलग्नता छ। विभिन्न आधारहरूले यो संलग्नतालाई पुष्टि पनि गरेको छ।
स्थानीय वासिन्दालाई जानकारी र सूचनाको अभावमा ठगहरूले ठग्न थालेको थाहा पाएर चिलिमे कम्पनीले गत फागुन ४ गते धुन्चेमा बृहत् कार्यक्रम आयोजना गरेको थियो। हिजो सेयर किन्नुपर्छ, किनेमा यति र यसरी फाइदा हुन्छ भन्ने चेतना चिलिमेले रसुवाका एक सय पाँच विद्यालयका शिक्षकहरूमार्फत दिलाएको थियो। अहिले ठगहरूले ठग्न थालेपछि सचेत गराउन तिनै शिक्षकहरूले स्थानीयलाई सूचित गराइदिन चिलिमे कम्पनीले आग्रह गर्दा उनीहरू भागे।
स्वयं उद्योग वाणिज्य संघ, रसुवाको ब्यानरमा आयोजना गरिएको कार्यक्रममा संघका पदाधिकारी अनुपस्थित रहे। जिल्ला शिक्षा अधिकारी बद्रीनारायण शर्मालाई हरेक विद्यालयका दुईजना, नभए कम्तीमा एकजना शिक्षक उपस्थित गराइदिन चिलिमे कम्पनीले आग्रह गरेको थियो। शर्माले सुरुमा हुन्छ भने, पछि भागे। मोबाइलमा फोन गर्दा काठमाडौं रहेको भनेर बेपत्ता भए। स्थानीय राजनीतिक दलका कुनै नेता, कार्यकर्ता आएनन्।
चिलिमेले आफ्नो कम्पनीका सदस्यहरूको आर्थिक हितरक्षा गर्न र लुट्नबाट जोगाउन खोज्दा कथित नागरिक समाज, स्थानीय राजनीतिक दलका नेता, उद्योग वाणिज्य संघ कतैबाट सहयोग नपाएपछि धितोपत्र बोर्ड, नागरिक लगानी कोषलाई पत्र लेखेर सेयरको प्रमाणीकरण गर्ने, एकान्टपेयी चेकबाट मात्र भुक्तानी गर्नेलगायतका प्रयास भए। दलालहरू कतिसम्म सक्रिय रहे भने स्वयं आफ्नै नाममा ब्यांक खाता खोलेर ब्यांकबाट भुक्तानी लिनसम्म सफल भए।
कुल ४३ हजार जनसंख्या र नौ हजार सात सय ४१ घरधुरी (जनगणना, २०६८) मध्ये ३० हजार जनाले चिलिमेको सेयर पाएका छन्। चिलिमेका जनता यसरी दिनदहाडै लुटिँदा राजनीतिक दलका नेता, निर्वाचित सभासद्को रबैयाले यो लुटमा सबैको प्रत्यक्षपरोक्ष सहमति/संलग्नता रहेको प्रस्ट देखिन्छ। अर्को शब्दमा यो संगठित लुट हो। यो लुटमा जिल्लादेखि केन्द्रका ठूलाबडाको समेत संलग्नता छ। रसुवाबाट प्रतिनिधित्व गर्ने सभासद्हरूले जनता यसरी लुटिँदा चुँसम्म बोलेका छैनन्।
जलविद्युत् आयोजनामा जथाभावी माग राखेर बखेडा झिक्ने राजनीतिक दलका स्थानीय नेताहरू पनि यो प्रकरणमा मौन छन्। लुट प्रकरण रोक्न सक्दो प्रयत्न गर्ने चिलिमेका प्रबन्धनिर्देशक कुलमान घिसिङलाई दिनहुँजसो ज्यान मार्ने धम्की आइरहेको छ। चिलिमे निश्चय पनि आकर्षक कम्पनी हो। यसले अहिले एकसाथ दुई सय ८० मेगावाटका चारवटा आयोजना एकसाथ निर्माण गरिरहेको छ।
साञ्जेन, माथिल्लो साञ्जेन, रसुवागढी र मध्यभोटेकोसीमा चिलिमे कम्पनी आफैं बहुमत संस्थापक लगानीकर्ता हो। यी चार आयोजना भनेका भोलिका दिनमा सुनको अन्डा पार्ने कुखरा हो। सेयरका दलालहरूले यो कुरा राम्ररी बुझेका छन्। सेयर र बोनस सेयरसमेत गरी स्थानीयको मात्र एक अर्ब ६६ करोड रुपैयाँ लगानी हुँदैछ।
अबको चार वर्षपछि चिलिमे, रसुवागढी र साञ्जेनबाट मात्र स्थानीयलाई ४८ करोड ३० लाख रुपैयाँ लाभांश प्राप्त हुँदैछ। यी सहायक कम्पनीसमेत जोड्दा चिलिमेको सेयर सबैभन्दा महँगो हुनेछ। चिलिमेमा रसुवाका आयोजना प्रभावित तीन गाविसले सुरुमा प्रतिपरिवार तीन सय ३५ कित्ता सेयर पाएका थिए। उनीहरूले त्यतिखेरा जम्मा ७२ हजार रुपैयाँको सेयर पाएका थिए। बाँकी १५ गाविसका व्यक्तिले प्रतिपरिवार दुई सय २५ कित्ताका दरले ७२ हजार रुपैयाँ हालेका थिए।
अहिले आएर ती तीन गाविसका वासिन्दाको सेयर प्रतिपरिवार सात सय ९० (बोनस सेयर समेत) पुग्यो भने यसको सेयर मूल्य १३ लाख रह्यो। बाँकी १५ गाविसका प्रतिपरिवारले पाँच सय ३० कित्ता सेयर पाए, मूल्य आठ लाख ७४ हजार रुपैयाँ पुग्यो। यसरी समग्रमा भन्नुपर्दा रसुवाका प्रति परिवारको हातमा न्यूनतम औसतमा १० लाख रुपैयाँ बराबरको सम्पत्ति (सेयर) छ।
यसबाहेक चिलिमेका सहायक कम्पनीहरूबाट बिजुली उत्पादन भइसकेपछि हुने प्रतिफलको लोखाजोखा छैन। त्यसैले प्रतिफलका नेपालको हालसम्म सबैभन्दा आकर्षक रहेको कम्पनी चिलिमेको सेयरमा दलालहरूको आँखा परेको हो।
सेयर बिक्री गर्न खुला भएपछि रसुवाकै दलालहरूले काठमाडौंका ठूला दलालहरूलाई स्थानीयका घरघर गई नागरिकता प्रतिलिपि, नक्कली मञ्जुरीनामा, सेयरधनी प्रमाणपत्रको फोटोकोपी दिलाए। स्थानीय दलालको सहयोगबिना यी काम सम्भव थिएन। स्थानीयले जिल्ला प्रशासनमा उजुरी हाल्दासमेत प्रमाण नपुगेको भनेर कारबाही भएन। अझै पनि यो क्रम रोकिएको छैन। जिल्लाका सबै प्रमुख अंगहरूले सहयोग नगर्दा स्थानीय सोझासीधा लुटिने क्रम नरोकिएको हो।
नियामक निकाय धितोपत्र बोर्डले चिलिमे कम्पनीबाट प्रमाणीकरण गरेर मात्र सेयर किनबेच गर्ने व्यवस्था मिलाएको भए सोझासीधा यसरी ठगिने थिएनन्।
काठमाडौंबाहिरका कुनाकन्दराका जनता पनि सेयरका मालिक छन् भन्ने सायद बोर्डले अनुभव गरेन। काठमाडौंका सुकिलामुकिला र रसुवाको हाकु गाविसका जनताको चेतनाको स्तर एउटै छैन। राज्य संयन्त्रले दलाललाई रोक्न मात्र होइन, यो अपराधमा संलग्नलाई कारबाही गर्न सक्छ। तर राज्यका निकायहरू पनि यो लुटतन्त्रमा उदासीन देखिएका छन्।
रिडी, सानिमा हाइड्रोलगायत सेयर जारी गरिसकेका र गर्ने क्रममा रहेका अरू कम्पनीका सोझासीधा सेयर धनीले यो नियति व्यहोर्न नदिन ब्यांक तथा धितोपत्र बोर्ड र कम्पनीहरू बेलैमा सचेत हुनु जरुरी देखिन्छ। हिजो आफ्नै गाउँठाउँको कम्पनीको मालिक आफैं हुन पाइने, सेयरको अधिकत मूल्यका कारण काम खोजी गर्न बिदेसिनुनपर्ने, स्थानीय तहमै उद्योग, व्यापार गर्न सकिने र आयोजनालाई दीर्घकालसम्म माया गरी यसको दिगोपना जगेर्ना गर्ने उद्देश्यले वितरीत चिलिमेको सेयरमा भएको लुट अझै जारी हुनु अर्को विडम्बना हो।

Monday, March 24, 2014

लिटो र ढुटोको किन बेवास्ता? - annapurnapost


डा. अरुणा उप्रेती |


मरियम क्रान्त्ज नाम गरेकी एक विदेशी महिला ५० वर्षदेखि नेपालमा बसेर पोषण विषयमा काम गरिरहेकी छन्। उनले लेखेका विभिन्न कार्यपत्र अनुसन्धान, लेख पढेर मैले पनि धेरै कुरा सिकेकी छु। २०३२ सालको गोरखापत्रमा उनले ढुटो खुवाएर कसरी ललितपुर चापागाउँका बासिन्दाको भिटामिन बी कमी हुँदा भएको समस्या समाधान गरिन् भनेर पढेको थिएँ। चामलको ढुटोमा भिटामिन बी पनि हुन्छ भन्ने बल्ल थाहा थियो।
२०३२ सालअघि चापागाउँका बासिन्दा, ढिकीमा कुटेको रातो चामल खान्थे। २०३२ सालमा त्यहाँ बिजुलीबाट चल्ने र चामलको ढुटो निकालेर सेतो चामल बनाउने कारखाना खुल्यो। त्यसपछि नै त्यहाँका बासिन्दाको ओठको कुनामा घाउ हुने, जिब्रोमा पनि घाउ भएर रातो हुने समस्या देखापर्‍यो। तर 'सेतो चामल, राम्रो चामल' खाने बासिन्दालाई यो समस्या सेतो चामल खाएर भएको थाहा भएन। मरियमले चामलको ढुटोमा भिटामिन बी जम्मै पखालेर सेतो चामल खाँदा यस्तो समस्या भएको देखिन्।
अनि उनले त्यहाँका बासिन्दालाई ठीक पार्ने एउटा उपाय निकालिन्। मिलबाट ढुटो ल्याएर राम्रोसँग प्याक गरिन् र चापागाउँका बासिन्दालाई ढुटो भातमा छर्नु र केही दिनपछि यस्तो समस्या निको हुन्छ भनिन्। उनले सायद ढुटो खानु भनेको भए उनलाई सबैले गिज्याउँथे होलान्। तर 'औषधि' भनेर चामलबाट निस्केको ढुटो राम्रोसँग प्याक पारेर दिएपछि सबैजनाले खुसी भएर खाए र समस्याबाट मुक्ति पनि पाए।
गोरखापत्रमा मरियमले यस्तो अनुभव लेखेकी थिइन्। अहिले पनि हामी धेरैजना 'भिटामिन, प्रोटिन, क्याल्सियम' भनेर धेरै पैसा तिरेर औषधि किन्छौं, तर हामी वरिपरि, भान्छामा भएका खानेकुरा र रूखमा भएका सहजै र सस्तोमा पाइने फलको किन वास्ता गर्दैनौं? किनभने हामीलाई बाहिरका वस्तु सबै राम्रा भन्ने लाग्छ।
त्यसैले बालबालिकालाई लिटो खुवाउन चाहँदैनौं। बट्टामा राखेको सेरेलेक, जति महँगो भए पनि राम्रो भन्ठानेर खुवाउँछौं तर हामीलाई थाहा छैन कि सेरेलेक, गहुँबाटै बनेको हो र राम्रोसँग बट्टामा राखेपछि त्यसको मूल्य दसौं गुण बढाएर व्यापारीले हामीलाई बेच्छन्।
२०३२ सालमा चापागाउँका बासिन्दालाई मरियमले दिएझैं कसैले प्याकेटमा पोको पारेर लिटो र गहुँ, भटमास, बदाम, मकैको पिठो राखेर दियो भने हामी कति राम्रो भन्छौं। तर हाम्री बज्यै र आमाले सफा गरेर भुटेर घरमा बनाएको लिटोचाहिँ हामी पुरातन खाना भनेर हेलाँ गर्छौं किन होला? अति आधुनिकताको चमकदमकमा परेर हामीले हाम्रा पनि राम्रा हुन्छन्, पोसिला हुन्छन् भन्ने बिर्सेका हौं कि?
हामी आफ्ना बालबालिकालाई जाउलो खुवाउन चाहँदैनौं, तर सुपरमार्केटमा बालबालिकाको खाना भनेर टिनमा राखेको महँगो वस्तु किन्न तयार हुन्छौं। घरको हरियो सागसब्जी पकाएर खुवाउन नचाहने हामी अरू कसैले पोकामा दिएको 'बालभिटा' भातमा हालेर खुवाउन तयार हुन्छौं। तर जब बालभिटाको स्वाद बालबालिकाले मन पराउँदैन भने कतिपय आमाले बालभिटाको प्याकेट कसैले थाहा नपाएर फ्यालिदिन्छन्। अनि जब सहरबाट ठूला डाक्टर र अनुसन्धान गर्ने व्यक्ति आएर गाउँकै आमालाई सोध्नुहुन्छ, 'तपाइँलाई बालभिटा मन पर्‍यो?'
अनि हामी झुटो बोल्छौं, 'अँ एकदम मन पर्‍यो। बालभिटा खुवाएपछि बच्चा तगडा भएको छ। हामीलाई जाउलो पकाएर खुवाउने बानी बसेको छ।' त्यसो भए के जब सरकारले बालभिटा दिन छोड्छ अनि तपाइँले आफ्ना बालबालिकालाई जाउलो खुवाउन छोड्नु हुन्छ?
महिला स्वयंसेविकाले घरको गहुँ, भटमास, मकै, बदामबाट लिटो बनाउन सल्लाह दिइन् भने जाबो खानेकुरा भनेर अमिलो मुख लगाउँछौं तर प्याकेटमा बाहिरबाट औषधिका रूपमा आएर त्यही मात्र खुवाएर बालबालिकालाई भिटामिन पुग्छ भन्ने गलत विचार नगरे राम्रो हुन्थ्यो कि? बच्चा ६ महिनाको भएपछि भान्छामा पाइने दाल, भात, गाजर, साग, आलु, गोलभेंडा जस्ता वस्तु मसिनो पारेर उमालेर खुवाए बच्चालाई चाहिने सबै भिटामिन पुग्छ भन्ने कुरा हामीलाई थाहा छ कि छैन?
बालबालिकालाई बाहिरबाट दिइने क्याल्सियम पनि चाहिन्न, प्रोटिन, भिटामिन केही पनि चाहिन्न आमाको दूध, रोटी, लिटो र हरियो तरकारी खुवाउनु हो भने। दुई वर्षका बालबालिकालाई पोषण पुगेन भने उसलाई स्वास्थ्यको समस्या पर्छ र पछि पनि गएर बच्चा याउटे हुने, नयाँ कुरा सिक्न गाह्रो हुने, फूर्तिलो नहुने, रोइरहने हुन्छ।
यस्तो भएपछि भूत लाग्यो भने अन्डा लिएर भूत मन्छाउन गइन्छ होला। तर अन्डा किन्ने पैसाले बालबालिकालाई आलु, साग, रायो, लट्टे, दाल खुवायो भने कुपोषणको समस्या हुँदैन। मरियमले ढुटो दिँदा चापागाउँका जनतालाई भिटामिन बी पुगेको थियो। हामीले पनि आफ्ना बालबालिकालाई लिटो, जाउलो खुवाए बालभिटा चाहिँदैन। यसरी धेरै पैसा पनि बच्छ, समय पनि बच्छ।

Monday, March 17, 2014

व्यवसायको सुरु चिया पसलबाट, तर नाफा करोड नसोचौं - bizmandu

साना व्यवसायबाटघाटाभन्दा नाफा नै बढी छ । व्यवसायिक जगतको प्रतिश्पर्धा, ग्राहकको रुची र अदृष्य चलखेल समेत थाहा पाउँदै अगाडि बढन पाइने भएकाले विज्ञहरु सानो पुँजी र क्षेत्र समेटेर व्यवसाय सुरु गरेर विस्तारै बढाउँदै लैजना सल्लाह दिन्छन । त्यसैले साना व्यवसाय कसरी सुरु गर्ने भन्ने भन्ने बारेमा साना व्यवसाय क्यानडाको वेवसाइटमा लेखिएको छ, ‘व्यवसाय सानोबाट सुरु गर्नु नै राम्रो ।’
साना व्यवसाय सुरु गर्न कानुनी अडचन पनि कम हुने भएकोले सजिलै सुरु गर्न सकिन्छ । व्यवसाय दर्ता र साधारण योजना र सानो पुँजीबाट व्यवसाय अगाडि बढाउन सकिन्छ । यो काम जो कोहीले पनि गर्न सक्छन् । सन् २०१४ मा तत्काल सुरु गर्न सकिने र नाफा आर्जन हुने दश व्यवसायको सुची साना व्यवसाय क्यानडाले प्रकासित गरेका छ । व्यवसायमा चियापसलदेखि बालबालिका हेर्ने डेकेयर र इकमर्ससम्म समेटिएको छ । यी व्यवसाय गर्दा रातारात करोडपति बन्छु भनेर सोच्नु हुदैन ।

उत्तम सुरुवात चिया पसल
विश्वमा चिया सबै स्थानमा लोकप्रिय छ । चियाको प्रचलन बढदै गएकोले परम्पराभन्द केही फरक किसिमको चिया पसलको व्यवसायको सम्भावना जहाँ पनि छ । विश्वमा चियाको प्रयोग २० प्रतिशतले बढिरहेको छ ।
विभिन्न किसिमको चिया खाँदै गफगाफको थलो पनि उपलव्ध गराउने पसलको खोजीमा नियमित चिया खानेमध्ये ६० प्रतिशत मानिस हुन्छन, तसर्थ चिया पसलको सम्भावना अथाह छ । चियासँगै खानेकुरा पपकर्न, केक र चियाकै ककटेल पनि लोकप्रिय बन्न सक्छन । यो तपाईको र्सिजनशीलतामा र्निभर छ ।

रेस्टुराँ र बेकरी
चिनी र क्यालोरी कम भएका बेकरी तथा कफी सपको बजार विश्वभर नै विस्तार भइरहेको छ । चेन रेस्टुराँ पनि यसतर्फ आर्कषित हुदै गइरहेका छन् । तपाई सानो सहर वा सहरोन्मुख ठाउँमा हुनुहुन्छ भने यो व्यवसाय सुरु गर्न सक्नु हुन्छ ।
सफा र परम्परागत तथा आधुनिक जुन सुकै सेटिङमा यस्ता रेस्टुराँ तथा बेकरी खोल्न सकिन्छ । युवा युवती लक्षित गर्ने हो भने आधुनिक र वयस्क ग्राहक बढी हुन्छन भने परम्परागत सेटिङ फलदायी हुन सक्छ । सफा मिठा खानेकुरा पस्कने हो भने यो व्यवसायमा असफलता हम्मेसी आउँदैन ।

डे–केयर वा धाईआमा
आधुनिक र व्यस्त युगमा फस्टाएको व्यवसाय हो डे–केयर वा धाईआमा । सानो परिवार, सहरी जीवन र रोजगारीको बाध्यताका कारण सहरका धेरै नानीहरु डे–केयर वा धाईआमाको काखमा हुर्किन्छन् । तपाई व्यस्त सहरमा बस्नुहुन्छ र व्यवसाय सुरु गर्ने हो भने डे–केयर राम्रो व्यवसाय हो । तपाई दिउँसो फुर्सद हुने महिलालाई प्रशिक्षित गरेर धाईआमाको रुपमा घरघरमा पठाएर पनि व्यवसाय गर्न सक्नु हुन्छ ।
पश्चिमी विश्वमा छ वर्ष मुनीका अहिले २२ प्रतिशत बालबालिका धाईआमा वा डे–केयरमा हुर्कर्ने गरेका छन् । यस्तै धाईआमा राख्न नसक्नेले डे–केयरमा पनि आफ्ना बालबच्चा राख्ने गरेका छन् । याद राख्नोस, तपाई वैधानिक रुपमा यो व्यवसायमा पस्न सम्वन्धित निकायमा दर्ता हुनैपर्छ ।

बिरामीको वकिल
दिर्घरोगको उपचार वा ठूलो शल्यक्रिया गर्नु पर्दा निकै खर्च हुन्छ । सहरमा सस्ता, मझौला र निकै महंगा अस्पताल वा नर्सिङ होम हुन्छन । कैयन उपचारमा सरकारले अनुदान पनि दिएको हुन्छ, तर यस्तो सुविधा धेरैलाई थाहा हुदैन । बिरामी वा उसको परिवारलाई उचित सल्लाह दिन बिरामीको वकिलको पेसा पश्चिमी विश्वमा फस्टाउदै गएको छ ।
तपाई मेडिकल पृष्ठभुमीको नभए पनि यो व्यवसाय सुरु गर्न सक्नु हुन्छ । बिरामीको खर्चको क्षमता हेरेर सहरमा उपलव्ध सेवामध्ये सबैभन्दा राम्रो सेवा सुनिस्चित गरिदिने दायित्व बिरामीको वकिलको हुन्छ । नेपालमा घरेलु वित्तिय विश्लेषणको परम्परा नभएकोले यो व्यवसायमा तत्काल अगाडि बढन कठिन छ, तर जोखिम र नयाँ व्यवसाय खोजी गर्नेका लागि यो पनि एउटा अवसर हुन सक्छ ।

टाटु (अर्थात शरिरको साजसज्जा)
केही वर्ष अगाडिसम्म समाजमा प्रतिष्ठित व्यक्ति टाटु खोप्न चाहँदैन्थे । यो ग्ल्यामर विश्व र हिप्पीले मात्र मनपराउने गर्थे । अहिलेको परिस्थिती अलग छ । टाटु विश्वव्यापी बनेको छ । केटा वा केटी जो सुकै भए पनि शरिरमा आर्कषक टाटु बनाउन चाहन्छन् ।
कपडाले मात्र होइन टाटुले शरिरको साजसज्जा गर्ने प्रचलन बढेको सन्दर्भमा यो पेसा पनि साना व्यवसायको रुपमा सुरु गर्न सकिन्छ । यो व्यवसायसँग सँगै कपाल काटने वा व्युटिपार्लर जोडन सक्ने सम्भावना पनि रहन्छ ।

विशेष यातायात सेवा
विश्वमा विभिन्न प्रकारका यातायात सेवा छन् । समान ढुवानी गर्नेदेखि मानिससम्म । तर, अहिले सम्म सुरु नभएको वा अप्रयाप्त भएको सेवामा पर्ने सेवा हो बढी मोटा वा विकलांङ्गको लागि यातायात सेवा । सहरमा यस्तो सेवाको आवश्यकता देखिएको छ र व्यवसायिक रुपमै यो सेवा सुरु गर्न सकिन्छ ।
मानिसको आयु बढ्दै गएको छ । वृद्धवृद्धा थपिदै छन् । मोटोपनाका कारण विशेष यातायात अवश्यक हुने पनि छन् । उनीहरुलाई सेवा दिने व्यवसाय सुरु गर्दा कालान्तरमा यो व्यवसाय बढने छ ।

होम केयर
मानिसहरु लामो समयसम्म बाँच्न थालेका छन् । धेरै देशमा लामो समयसम्म बाँच्ने मानिसका लागि सरकारका तर्फबाट विशेष सुविधा छैन । आफ्नो जीवनमा धेरै कमाएका मानिसले आफ्नो हेरचाह गर्न होम केयर राख्ने प्रचलन सुरु भइसकेको छ ।
यो व्यवसाय अबका दिनमा अझ बढने छ । यसका लागि विशेष तालिम दिने र दक्ष कामदार आपुर्ती गर्ने कम्पनी फस्टाउन सक्छ । विकासित देशमा यस्तो व्यवसाय सहरसहरमा छन् । तिनले समेत सेवा पु¥याउन सकेका छैनन् । त्यसकारण यो व्यवसाय आगामी दिनमा फलिभुत हुने देखिन्छ ।

वित्तिय सल्लाहकार
विश्व आर्थिक एवं वित्तियरुपमा जटिल बन्दै गएको छ । घरमै बसेर लगानी गरेर मनग्ये कमाउन सक्ने अवसरहरु बढदै छन् । मानिसहरु बजारका बारेमा धेरै जानकार हुदैनन् । सेयरबजार, म्युचल फण्ड, घरजग्गा आदि आदि क्षेत्रमा लगानी गर्न र वित्तिय व्यवस्थापन गर्न सिकाउने सल्लाहकारको आवश्यकता बजारमा महसुस भइरहेको छ ।
नेपालमा पनि अबका दिनमा लगानीका अनेकन अवसर आउने र त्यस बारेमा मनिसलाई जानकारी दिने । वित्तिय व्यवस्थापन सिकाउने पेसा उदयमान पेसाका रुपमा देखिन सक्ने सम्भावना छ । अहिले यस्तो व्यवसाय सुरु गर्ने उचित समय हो ।

ई–कमर्स
पसल(पसल चाहारेर खरिद गर्ने प्रचलन डिपार्टमेन्ट स्टोर र मलले समापत पारि रहेको छ । अति व्यस्त मानिसहरु अब अनलाइनबाट सपिङ गर्न सुरु गरेका छन् । यही परिप्रेक्षमा ई–कमर्सको सानो व्यवसाय सुरु गर्न अहिले सकिन्छ । सानो स्थानका लागि दैनिक आवश्यकताका वस्तुबाट यस्तो व्यवसाय सुरु गर्नु उपयुक्त हुन्छ ।
सन् २०१२ मा ई–कमर्सबाटको व्यापार विश्वमा १० खर्ब अमेरिकी डलर थियो । यो व्यापार आगामी दिन अझै बढने निस्चित छ । अमेरिका, युरोप र पुर्वी एशियामा ई–कमर्सको वृद्धि निक्कै छ भने विश्वका अन्य देशमा पनि फैलदै गएको छ । नेपालमा पनि यो व्यवसाय विकास भइरहेको छ । सानो व्यवसायको रुपमा यसलाई अहिले नै सुरु गर्न सकिन्छ ।
 

किन बिष्फोट हुन्छन मोबाइल फोन ? कसरी अपनाउने साबधानी ? - onlinekhabar


अचेल मोबाइल फोन ‘हेल्लो यन्त्र’ मा मात्र सीमित छैन । अनेक गेम, संगीत, इन्टरनेट, भिडियो, क्यामरालगायतका सुविधाले मोबाइल फोन सेटको लोकप्रियता बढिरहेको छ । तर, यसको प्रयोगमा सावधानी नअपनाउँदा फोन बिष्फोट हुने लगायतका दूर्घटना हुने गरेका छन् । त्यसैले हरेक मानिसको आवश्यकताको साधन भइरहेको मोबाइल सेट प्रयोगमा अपनाउन सकिने केही सावधानी निम्न छन्ः

(१) सकेसम्म ब्राण्डेड मोबाइल नै किन्नुस् । किन्नुअघि मोबाइल सेटमा आईएमईआई नम्बर छ कि छैन, चेक गर्नुस् । यो नम्बर सेटको खास पहिचान एवं कोड हो । जुन गुणस्तरियताको प्रतीक पनि मानिन्छ ।

साथै, मोबाइल सेटमा आउने अन्य एक्सेसरिजहरु इयरफोन, ब्याट्री, चार्जरहरु पनि परीक्षण गर्नुस् । मोबाइलको क्षमता अनुसार ब्याट्रीको भोल्टेज छ कि छैन विश्लेषण गर्नुस् । हामी मोबाइलमा बढी भोल्टेजको ब्याट्री होस् भन्ने खोज्छौं, तर मोबाइलको आवश्यकता र क्षमता विश्लेषण गर्दैनौं । कम क्षमताको मोबाइलमा बढी क्षमताको ब्याट्री राख्दा पड्किने खतरा रहन्छ ।

(२) मोबाइल चार्जिङ अवस्थामा प्रयोग गर्दा पड्किने खतरा रहन्छ । चार्जिङ अवस्थामा मोबाइलको मदरबोर्डमा चाप परिरहेको हुन्छ । यो बेला फोन गर्दा मदरबोर्डमा परिरहेको चाप असन्तुलित भई पड्किने खतरा रहन्छ । सस्तो खाले मोबाइलमा कमसल पार्टपूर्जा रहने हुँदा यस्तो खतरा बढी हुन्छ ।

त्यसैले मोबाइल चार्ज गरिरहेको अवस्थामा कहिलेपनि फोन गर्नुहुँदैन । यदि फोन गर्नैपर्ने भए चार्ज छुटाएर मात्र गर्नुपर्दछ । ब्याट्री पुरा चार्ज भएपछि चार्जर छुटाउनु पर्दछ । कतिपय ब्याट्री फुलेको पनि हुन्छ । त्यस्ता ब्याट्री यथासक्य छिटो परिवर्तन गरी नयाँ जडान गर्नुपर्दछ ।

(३) खासगरी चार्जिङ अवस्थामा अन्तर्राष्ट्रिय फोन वा मिस्ड कल आउँदा ‘कल बम्बिङ’ हुने गर्दछ । जब ती फोन फर्काइन्छ तब यसले केही समय लिन्छ । यही बेला पड्किने सम्भावना रहन्छ । कतिपय एन्ड्रोइडयुक्त स्मार्ट फोनमा रहने मेलवेरको कारण पनि चार्जिङ अवस्थामा प्रयोग गरिँदा मदरबोर्डमा चाप परी पड्किने गरेको पाइएको छ ।

(४) सस्ता मोबाइल सेट खतरापूर्ण हुन्छ । ती सेटमा गुणस्तरहीन तथा चार्ज, ताप आदि क्षमता धान्न नसक्ने खाले पार्टपूर्जा बढी हुन्छन् । ब्याट्री र इयरफोन पनि गतिलो हुँदैनन् । कामचलाउ गुणस्तरका ती मोबाइल कालान्तरमा घातक हुने गर्छन् । बिग्रिरहने तथा चार्ज, नेटवर्क, साउण्ड आदिको अनिश्चितताले दिर्घकालीन खर्च पनि गराउँछ । त्यसैले सकेसम्म अलि महुँगो नै परेपनि ब्राण्डेड मोबाइल प्रयोग गर्नुपर्दछ ।

(५) मोबाइलमा डाउनलोड गर्ने बानी पनि कतिपयको हुन्छ । यो पनि घातक मानिएको छ । किनकी, मोबाइलमा जडित एन्टिभाइरसको क्षमता कम्प्युटरमा जत्तिको हुँदैन । त्यसैले सम्भव भएसम्म कम्प्युटरबाट डाउनलोड गर्ने र मोबाइलमा सार्नु राम्रो हो ।

(६) स्पष्ट पहिचान नभएका वाई फाईमा मोबाइल नेटवर्क जोड्नु हुँदैन । ह्याकरहरुले पनि वाईफाईमार्फत् चलखेल गर्नसक्ने खतरा हुन्छ । त्यस्तै, सार्वजनिक स्थानमा ब्लुतुथ कनेक्सन अफ गर्नुपर्दछ । नत्र ब्लुतुथ खोलिएका अरुको मोबाइल, तथा ल्यापटपहरुबाट खराब फाइल सर्ने र आफ्नो मोबाइलको अपरेटिङ सिस्टम बिग्रिने खतरा रहन्छ ।

(७) मोबाइल फोन प्रयोग गर्दा सकेसम्म यसलाई आफ्नो शरिरमा प्रत्यक्ष छुवाउनु हुँदैन । प्रत्यक्ष छुवाउँदा शरिरको इलेक्ट्रोम्याग्नेटिक रेडियसन सहनसक्ने क्षमता ह्रास हुन्छ । सम्भव भएसम्म स्पिकर अन तथा वायरलेस ब्लुतुथ टाउकोमा जडान गरी कुरा गर्नुपर्छ । लामो अवधि कुरा गर्नुछ भने ल्याण्डलाइन प्रयोग गर्नु उपयुक्त हुन्छ ।

(८) शरिरमा प्रत्यक्ष स्पर्श हुने गरी मोबाइल सेट हरघडी नबोक्नुस् । घर, अफिस आदिमा बस्दा मोबाइल टेबल वा सुरक्षित ठाउँमा राख्नुहोस् । गोजीमा बोक्दा किप्याड आफूतिर फर्काएको अवस्थामा रहनुहुँदैन । अन्यथा, शरिरको इलेक्ट्रोम्याग्नेटिक शक्ति घट्दै जान्छ ।

(९) सुत्दाखेरि मोबाइल सेट सिरानी वा बिछ्यौनामा राख्नु हुँदैन । गर्भवती महिलालाई त मोबाइल नजिक राखेर सुत्न प्रतिबन्धित नै गर्नुपर्छ । सुत्दा फ्लाइट मोड वा अफलाइन मोडमा राख्न सके इलेक्ट्रोम्याग्नेटिक प्रसार नियन्त्रण गर्न सकिन्छ ।

(१०) नेटवर्क कम टिप्ने अवस्थामा वा गाडी, टे«न आदिमा हिंड्दा मोबाइल फोनको प्रयोग हानिकारक हुन्छ ।

(११) यदि मोबाइल सेट पानीमा डुब्यो वा भिज्यो भने सावधानी अपनाउनु पर्दछ । पानीबाट बाहिर निकाल्ने बित्तिक्कै ब्याट्री निकाल्नु पर्छ । सिमकार्ड र मेमोरी कार्ड पनि स्वीच अफ गर्नुपर्दछ । अब यी सबै चीजलाई सावधानीपूर्वक सुख्दा कपडाले पुछ्नुस् । पुरा नसुकेसम्म प्रयोग गर्नुहुँदैन । धेरै भिजेको छ भने सुख्खा हुन १२ देखि २४ घन्टा लाग्न सक्छ ।

तर कतिपयले हतारोमा हेयर ड्रायरमा पनि सेकाउने गर्छन् । तातो ड्रायरले मोबाइलको पार्टपूृर्जा पगाल्ने तथा त्यसको बाफ मोबाइलभित्र प्रवेश गरी झनै बिग्रिने खतरा रहन्छ ।

(१२) मोबाइल सेट मुखमा ‘होल्ड’ गर्ने बानी हानिकारक हो । यो आदत नियमित गरिँदा मुखमा ट्युमर पलाउने र सालिभा ग्ल्याण्ड क्यान्सर रोग फैलिन सक्छ । साथै, माइग्रेन, टाउको दुख्ने तथा अनिद्राको समस्या पनि आउने गर्दछ ।

-टाइम्स अफ इन्डियाबाट

Friday, March 14, 2014

चिनियाँ एप्सः जो ह्वाट्स एपभन्दा मूल्यवान र फेसबुकभन्दा शक्तिशाली छ - onlinekhabar




वीच्याटको बिज्ञापनमा फुटवल स्टार लियोनल मेस्सी

पछिल्ला दिनमा ह्वाट्स एप, स्न्यापच्याट, लाइन, काकाओटक, ट्याङ्गो लगायतका डाइरेक्ट म्यासेजिङ एपको चर्चा चुलिएको छ । ह्वाट्सएपलाई फेसबुकले १९ अर्ब डलरमा किनेसँगै बिश्वका बिभिन्न मुलुकमा करोडौं प्रयोगकर्तामाझ लोकप्रिय यस्ता एप्स ग्लोबल टेक इन्भेष्टरको प्राथमिकतामा पर्न थालेका छन् ।

पश्चिमा संसारका हरेक महत्वपूर्ण उत्पादनलाई अस्वीकार गर्दै आफ्नै मुलुकमा समामानान्तर उत्पादनलाई प्रर्बद्धन गर्ने चीनमा ह्वाट्सएपभन्दा पनि लोकप्रिय डाइरेक्ट म्यासेजिङ एप छ जसले अब बिश्वब्यापी संजाल विस्तार गर्ने तयारी गर्दैछ ।

हालै भारतीय बजारमा समेत सेवा सुरु गरेको ‘वी च्याट’का अहिले झण्डै ३० करोड प्रयोगकर्ता छन् । वीच्याटलाई चिनियाँ नागरिक, कर्पोरेट र सरकारले पनि उत्तिकै प्राथमिकताका साथ प्रयोग गर्छन् ।

यसका लगानीकर्ताले वीच्याटलाई अन्तराष्ट्रियकरणका लागि सवैभन्दा धेरै सम्भावना भएको चिनियाँ उत्पादनको रुपमा लिएका छन र सोहीअनुसार बजार विस्तारको अभियानमा जुटेका छन् ।

वीच्याट ह्वाट्सएपभन्दा भर्सटाइल छ । प्रयोगकर्ताहरु टेक्स्ट, तस्वीर, भिडियो एकअर्काको स्मार्टफोनमा पठाउन पाउँछन, डेटिङका लागि एकअर्कालाई निम्त्याउन सक्छन र त्यसैमार्फत् ट्क्यासी बुक गर्न वा ट्याक्सीभाडा तिर्न पनि सक्छन् ।

‘वीच्याट अत्यन्तै प्रयोगकर्तामैत्री प्याटफर्म हो जसलाई प्रयोगकर्ताले दैनिक कुनै न कुनै कामका लागि प्रयोग गरिरहन्छन’ कण्डोम कम्पनी डुरेक्सका ब्राण्ड म्यानेजर फे झाओ भन्छन । डुरेक्सले हालै आफ्ना २ लाख फलोअरलाई प्रेम कथा लेखेर वीच्याटमा पोष्ट गर्न अपिल गरेको थियो ।

बिश्लेषकहरुका अनुसार चीनमा सवैभन्दा लोकप्रिय रहेको माइक्रोब्लगिङ वीबो, जसलाई चिनियाँ ट्वीटर पनि भनिन्छ, मा सरकारले निगरानी बढाएपछि चिनियाँ प्रयोगकर्ताहरु वीच्याटतिर आर्कर्षित भएका हुन् ।

सन् २०१३ बाट ब्यबसायिक प्रयोगका लागि खुला गरेको वीच्याटको स्वामित्व टेनसेन्ट कम्पनीसँग छ । वीच्याट प्रयोगकर्ताका लागि निःशुल्क छ तर इमोसन, गेम लगायतका सेवाका लागि केही पैसा लिन्छ । हालै फेसबुकले ह्वाट्सएप किनेपछि हङकङ स्टक एक्सचेन्जमा टेनसेन्टको मूल्यमा निकै बृद्धि भएको थियो ।

बिश्वब्यापी बन्ने दाऊ

सन् १९९८ मा सेन्जेनमा स्थापित कम्पनी टेनसेन्ट चीनको सवैभन्दा ठूलो इन्टरनेट कम्पनी हो जसलाई अलिबाबा र सर्च इन्जिन बाइदुको हाराहारीमा राखेर हेरिन्छ ।

फर्मका सिइओ एवं संस्थापक पोनी मा वी च्याटलाई बिश्वबजारमा स्तथापित बनाउने सपना साकार बनाउने दाऊ साच्दै छन् । जसले यो बर्षमात्र बिदेशमा बजार विस्तारका लागि २० करोड डलरको बजेट छुट्टाएका छन र मेस्सीलाई ब्राण्ड एम्बासडर बनाउँदै आक्रामक बिज्ञापन पनि निर्माण गरेका छन् ।


भारतमा वीच्याट लञ्च गर्दै अभिनेता भरुन धावन र अभिनेत्री परिणीति चोपडा

कम्पनीले ठूलै अपेक्षाका साथ ग्लोबल बजारमा आफ्नो हिस्सा बढाउने तयारी गरेको भएपनि चिनियाँ सामाजिक संजालमा हुने सरकारी निगरानी र हस्क्षपेका कारण उसको अपेक्षा पुरा हुन कठिन हुने बिश्लेषण गरिएको छ । अमेरिकी र युरोपेलीहरुले चिनियाँ दुरसंचार उपकरण निर्माताले जासुसी गरेको आरोप लगाइरहेका बेला के चिनियाँ म्यासेजिङ एपलाई ती देशका उपभोक्ताले बिश्वास गर्लान ? आफ्नो ब्यक्तिगत सूचनामाथि चिनियाँ सरकारले निगरानी गररहेको महसुस भएमा प्रयोगकर्ताले वीच्याटलाई अंगाल्न हिच्किचाउने बिश्लेषकहरुको दावी छ ।

–एएफपीको समाचारमा आधारित

- See more at: http://www.onlinekhabar.com/2014/03/175942/#sthash.zaL1adan.dpuf

Thursday, March 13, 2014

९० रुपैयाँमा पत्ता लाग्छ मृगौला रोगको संकेत - onlinekhabar

विज्ञहरुको रगतमा क्रिएटिनिन र पिसावमा प्रोटिन जाँच गरे सुरुकै अवस्थामा मृगौला रोग पत्ता लाग्नुको साथै समयमै उपचार गरे प्रत्यारोपण वा डायलासिस नगराउनुपर्ने बताएका छन् ।
विश्व मृगौला दिवसको अवसरमा बिहीबार टुँडिखेलमा मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा केन्द्रका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले ९० रुपैयाँ खर्च गरी रगतमा क्रिएटिनिन र पिासबमा प्रोटिनको जाँच गर्दा मृगौला रोग सुरुकै अवस्थामा पत्ता लाग्न सक्ने बताए ।
समयै उपचार भएका रोग निको हुनुको साथै रोगको गतिलाई नियन्त्रणमा राख्न सकिने उल्लेख गर्दै डा. श्रेष्ठले भने, ‘यसका लागि कसैले पनि सरकारको मुख ताक्नु जरुरी छैन् ।’ हाल सरकारले मृगौला फेल भएका प्रत्येक व्यक्तिका लागि ६ लाख ६० हजार लगानी गरिरहेको छ । प्रत्येक १० मध्ये १ जना व्यक्तिलाई मृगौलाको र्दीर्घकालीन रोग लाग्ने गरेको उल्लेख गर्दे डा. श्रेष्ठले उमेरसँगै देखि मधुमेह, उच्च रक्तचाप, मुटुरोग आदि रोगले मृगौलालाई आक्रान्त पार्दै लैजाने बताएको कान्तिपुर दैनिकमा खबर छ ।
उनले विकसित मुलुकमा झै नेपालमा समेत नसर्ने रोगको बाहुल्यता ५२ प्रतिशत भन्दा बढी पुगिसकेकाले यसलाई नियन्त्रण गर्न तत्काल आधुनिक जीवन शैलीलाई परिवर्तन गर्नु आवश्यक रहेको बताए ।
६ अर्ब बिदेसिन्छ
नेपालमा मिर्गौला प्रत्यारोपण कानुन अप्ठ्यारो हुँदा उपचारका क्रममा बर्सेनि ६ अर्ब रुपैयाँ बिदेसिने गरेको छ। रोगीका आफन्त (दिदी, बहिनी, आमाबाबु, बुहारीलगायत हाडनाता) ले मात्रै मिर्गौला दिन मिल्ने कानुन हुँदा बर्सेनि ६ अर्ब रुपैयाँबराबरको धनराशि बिदेसिने गरेको मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको तथ्यांक रहेको अन्नपूर्ण पोस्टमा खबर छ।
विश्व मिर्गौला दिवस, २०१४ का अवसरमा केन्द्र र आरोग्य प्रतिष्ठानले राजधानीमा आयोजना गरेको कार्यक्रममा चिकित्सकहरूले खानपान र व्यायाममा ध्यान दिए मिर्गौला तथा अन्य रोगले आक्रमण नगर्ने बताए। मिर्गौला दिवसको नारा ‘उमेरसँगै तपाईंको मिर्गौला पनि बूढो हुनसक्छ’ थियो।
चिकित्सकहरूले ४० वर्षको उमेरपछि मिर्गौलाको शुद्धीकरण गर्ने क्षमतामा प्रत्येकमा एक प्रतिशतका दरले ह्रास हुँदै जाने बताए।

Monday, March 10, 2014

यसरी पनि चलेका छन् ‘बिजनेश’, व्यापारका अनौठा तथ्य - bizmandu

विश्व अनौठो छ । अनौठो विश्वमा व्यापार व्यवसायमा पनि अनौठा घटना हुने सामान्य कुरा हो । लाभ र हानीको हिसावसंगै विश्वका केही अनौठा व्यवसायिक तथ्य ओएमजी फ्याक्टको सूचीबाट यहाँ प्रस्तुत गरिएको छ ।

चीज धितो राख्ने बैंक

तपाई इटालीमा हुनुहुन्छ । सपिङ गर्न पैसा छैन, तर प्रसस्त चीज छ भने चिन्त नगर्नुस बैंकले चीज धितो राखेर तपाईलाई पैसा दिनेछ । अनि गर्नुस मज्जाले सपिङ । इटालीको पर्मिगिनो—रेजियनो चीज धितो राखेर ऋण दिने गरेको छ । यो प्रणालीको विकास विशेष बैंक मार्फत गरिएको हो । वस्तु बिक्री गर्न नसकेर किसानको नोक्सानी नहोस भनेर यस्तो कार्याक्रम ल्याइको हो ।
बैंकमा आजपनि तीन लाख चीजका ह्विल्स छन् र तिनलाई विशेष तरिकाले संरक्षण गरिएको छ । ऋणको धितोको रुपमा राखिएको चीजको सरंक्षणको जिम्मा बैंकलाई भएपछि किसानहरुले मजाले काम गर्न सक्ने गरेका छन् ।

बबल गम बन्यो रिग्ले

विलियम रिग्ले जुनियर सन् १८९१  देखि शिकागोमा बस्न थाले । २९ वर्षका उनी व्यवसाय सुरु गर्न चाहन्थे । उनका बाबुको साबुन उद्योग थियो । शिकागोमा बस्न थालेपछि नै उनले बाबुको साबुन बेच्न थाले । उनले साबुन किन्नेलाई बेकिङ सोडा उपहार दिन थाले । जब बेकिङ सोडा साबुनभन्दा बढी लोकप्रिय भयो उनले बेकिङ सोडा मात्र बेच्न थाले ।
बेकिङ सोडाको व्यापार बढाउन उनले बबल गम उपहार दिन थाले । अन्तत बबल गम नै बढी लोकप्रिय भयो रिग्लेले बबल गम उद्योग खोले । अमेरिका भर बबल गम रिग्लेको नामले प्रख्यात भयो ।

हिटलर पसल

एक भारतीय व्यापारीले आफ्नो स्टोरको नाम भयानक बनाउने नाममा हिटलर स्टोर राखे । यो नाम उनले आफ्नो साझेदारलाई उसका हजुर बुबाले भनेको सुनेका थिए । नाम क्याची लाग्यो र मैले स्टोरको नाम राखे, उनले भने ।
पुरुषका कपडा बेच्ने उक्त पसलको धुमधामले विज्ञापन पनि गरे । बिक्री पनि बढ्यो तर हिटलरको नामको बारेमा ग्राहकले अब्जेक्सन गर्न थाले । नाम र विज्ञापनमा राक्षसको प्रयोग ग्राहकलाई पचेन तर त्यत्ति बेलासम्म उनले स्टोरको साजसज्जा र विज्ञापनमा दुई हजार सात सय अमेरिकी डलर खर्च गरिसकेका थिए । उनी आफैले गुगलमा हिटलर सर्च गरे र हिटलरको यथार्थ थाहा पाएपछि स्टोरको नाम परिर्वतन गरे । सोच विचार नै नगरी नाम राख्दा उनले धेरै गुमाउनु पर्यो ।

कर्मचारी पहिला

प्रवद्र्धकहरुले पहिले सेयर लिएपछि कर्मचारी र सर्वसाधारणका लागि जारी गर्ने विश्वव्यापी प्रचलन छ । तर, एप्पल कम्युटरका सहसंस्थापक तथा कम्प्युटर इन्जिनियर स्टेभ वोज्निकले आफ्नो अंशको सेयर कर्मचारीलाई दिएर आईपियो मार्फत मात्र आफूले सेयर लिएका थिए । सन् १९७० को दशकमा उनले विकास गरेको एप्पल वान र एप्पल टु कम्प्युटरले विश्वमा माईक्रो कम्प्युटरको भविष्य र्सिजना गरेको थियो । यिनकै दुरगामी सोचका कारण एप्पलका कर्मचारीले लगनले काम गरे र एप्पल उत्कृष्ट एवं गुणस्तरीय कम्पनी बन्यो ।

कार्यकारीको तलब

कार्यकारी अधिकृत को तलब कति हुनुपर्छ भन्ने बारेमा अहिले पनि विवाद नै छ, तर आजभन्दा चार दशक अगाडि नै बेन एण्ड जेरी कम्पनीले यो समस्या समाधान गरेको थियो ।
सानो सहर भर्मोन्टमा स्थापना भएको आईसक्रिम बनाउने कम्पनी बेन एण्ड जेरीले सन् १९८० को दशकमै कर्मचारीको औषत तलबको पाँच गुणासम्म कार्यकारीलाई दिन सकिने नियम बनाएको थियो । यस अनुसार तलब लिदा पनि ८१ हजार अमेरिकी डलर हुन्थ्यो । सन् १९९४ मा बेन एण्ड जेरीले प्रमुख कार्यकारीको तलब एकसय गुण बढी र सन् २००३ मा तीनसय गुणा बढायो ।

आकाशमा रित्ता बिमान

फर्चुन पत्रिकाले सन् २०१३ का एकसय टप फर्ममा राखेको फेडएक्स अर्थात फेडरल एक्सप्रेस विश्वमै सबैभन्दा धैरै सामान एक ठाउँबाट अर्को ठाउमा लैजाने विमान सेवा हो । यसले प्रत्येक दिन विश्वका प्रायः सबै तीन सय ७५ स्थानमा उडान भर्ने गर्दछ ।
फेडएक्ससँग दजनौं विमान छन् र ती मध्ये कैयन विमान आकाशमा रित्तै उडाउने गर्छ । माल सामान पु¥याउन विभिन्न स्थानमा पुग्नका लागि आकाशमै ती बिमान उडिरहेका हुन्छन र नजिकैको बिमानस्थलमा ओर्लेर सामान लिएर गन्तव्य तर्फ लाग्छन् । छिटो र छरितो सेवा दिने नारा प्रतिको समपर्णको रुपमा फेडएक्सका खाली बिमान पनि सधै सक्रिय हुन्छन् ।

वाइन टु वाटर

अफ्रिकाको सुख्खाग्रस्त क्षेत्रमा खानेपानीको सुविधा पु¥याउन गैर सरकारी संस्था वाइन टु वाटरले नयाँ जुक्ति निकाल्यो । सन् २००४ मा निकालिएको यो जुक्ति अनुसार, इनार खनाउन वाइन चाख्न दिने गरिन्थ्यो ।
फ्रान्स र विश्वका अन्य देशबाट वाइन जम्मा गरि अफ्रिका पु¥याइन्थ्यो र त्यहाँका मानिसलाई चाख्न दिइन्थ्यो । एकपटक वाइन चाखे वापत त्यो व्यक्तिले तीन फुट गहिराईसम्म इनार खन्नु पथ्यो । यसरी हजारौ इनार बनाइए । पछि यो कार्यक्रम भारत, कम्बोडिया, सुडान र हैटीमा पनि लागू भयो । विश्वमा अहिले पनि एक अर्ब मानिस सुख्खाबाट पिडित छन् । यस्तै दुई अर्ब ५० करोडसम्म स्वच्छ खानेपानी पुगेको छैन ।

नेस्लेले दिएन मुद्दा

इथियोपिया सरकारले सन् १९७० को दशकमा नेस्लेको सम्पत्ति जफत ग¥यो । कम्पनीले करिव ६ अर्ब अमेरिकी डलर क्षतीपुर्तिमाग गर्दै मुद्दा दयार गर्ने तयारी थियो । त्यसबेला इथियोपियाको कुल ग्राहस्थ उत्पादन नै त्यत्ति थिएन । कम्पनीको निर्णयविरुद्ध करिव ४० हजार इथियोपियन नागरिकले नेस्लेलाई पत्र लेखि मुद्दा दायर नगर्न अनुरोध गरे । नेस्लेले यो अनुरोध स्विकार गर्दै मुद्दा दायर गरेन ।
यो घटनापछि नेस्लेको नाम अझ लोकप्रिय भयो । नेस्लेले विश्व विख्यात चकलेट जस्तै किटकाट, स्माटीज र कफी क्रिप्स बनाउदै आएको छ । इथियोपिया अहिले पनि विश्वकै गरिब मुलुक हो । त्यहाँ विगत दुई दशकदेखि सुख्खा चलिरहेको छ । त्यहाँका मानिसको औषत दैनिक आम्दानी दुई अमेरिकी डलरभन्दा कम छ । 

माइक्रोसफ्टले विन्डोज एक्सपी छोड्ने - aarthikdainik

माइक्रोसफ्टले आगामी महिनाबाट उसको अत्यन्त लोकप्रिय अपरेटिङ सिस्टम माइक्रोसफ्ट विन्डोज एक्सपीबाट सपोर्ट समाप्त गर्ने भएको छ । यसको अर्थ सो सफ्टवेयरका लागि अब नयाँ सेक्युरिटी फिचर, सफ्टवेयर अपडेट र बग फिक्सेज जारी हुनेछैन । सो बारेमा माइक्रोसफ्टले मानिसहरू र व्यापारीहरूलाई कयौँ महिनादेखि सचेत गराइरहेको थियो । अप्रिल ८ बाट माइक्रोसफ्टले सो सिस्टममा कुनै सहयोग गर्नेछैन । माइक्रोसफ्टको सो कार्यको उद्देश्य मानिसहरूलाई विन्डोजको नयाँ संस्करणहरूतर्पm लानु हो । सो बारेमा माइक्रोसफ्टले एक वेबसाइट तयार गरेको छ । सो वेबसाइटअनुसार मार्च ८ को दिन सो अपरेटिङ सिस्टमको प्रयोग गर्नेहरूको स्क्रिनमा एक चेतावनी आउनेछ जसको ठीक एक महिनापछि एक्सपीका लागि सम्पूर्ण सपोर्ट समाप्त हुनेछ । मानिसहरूलाई विन्डोजको नयाँ संस्करणमा लैजानका लागि माइक्रोसफ्टले केही अन्य सफ्टवेयर फर्महरूसँग पनि काम गरिरहेको छ जसबाट मानिसहरूलाई सहयोग गर्न सकियोस् ।

लामो यात्रा

विन्डोज एक्सपीको बिक्री सन् २००१ अक्टोवरमा सुरु भएको थियो र यसलाई ग्राहकहरूले अत्यन्त मन पराए । बजार शोध फर्म नेट एप्किेसन्सका आँकडाअनुसार सन् २०१२ अगस्टसम्म यो माइक्रोसफ्टको सबैभन्दा धेरै प्रयोग हुने अपरेटिङ सिस्टम बनेको थियो । यद्यपि पछि विन्डोज–७ अगाडि भयो । परामर्श फर्म गार्टनरमा शोध उपाध्यक्ष माइकल सिल्भरले भन्नुभयो– ‘मेरो के अनुमान छ भने अप्रिल ९ मा पनि करिब २० देखि २५ प्रतिशत इन्टरप्राइज पीजी एक्सपीमा नै काम गरिरहेका हुनेछन् ।’ सो सफ्टवेयर अहिले पनि केही सरकारी संस्थानहरूमा अत्यन्त लोकप्रिय छ र केही अध्ययनबाट के पत्ता लागेको छ भने विश्वमा अधिकांश क्यास मेसिनहरूमा अहिले पनि यसको प्रयोग भइरहेको छ । सिल्भरका अनुसार सो सफ्टवेयरको लामो उमेरको कारण यो होइन कि एक्सपीमा अन्यहरूको तुलनामा केही विशेष छ, बरु यसको ठूलो कारण भनेको पछि आउने संस्करणहरूमा ढिलाई हुनु हो । यस्तोमा सो अपरेटिङ सिस्टमको सपोर्टले लाइफलाई बढाइयो । लामो समयसम्म एउटै अपरेटिङ सिस्टममा काम गरेपछि कम्पनीहरूलाई यसबाट एक किसिमले लगाव जस्तै भएको छ ।
माइक्रोसफ्टको चिन्ता

एक प्रश्न यो पनि छ कि आखिर माइक्रोसफ्ट मानिसहरूले एक्सपीको प्रयोग बन्द गरुन् भन्ने किन चाहन्छ । यस्तो यसकारण हो कि एकपटक सिक्योरिटी अपडेट बन्द भएपछि यदि मानिस फेरि पनि एक्सपीको प्रयोग गरे भने हाइटेक चोरले उसको सिस्टममा नोक्सान पु-याउन सक्छ भन्ने डर माइक्रोसफ्टलाई रहेको छ । विन्डोज–७ र विन्डोज–८ मा साइबर हमलाकारीहरूबाट अपरेटिङ सिस्टमको आन्तरिक कार्यप्रणाली लुकिरहोस् भन्ने हिसाबले प्रविधिको प्रयोग गरिएको छ । यस्तोमा यदि कसैले एक्सपीको प्रयोग गर्दछ भने विन्डोज–७ र विन्डोज–८ को तुलनामा उसको पीसीमा सजिलै हमला हुने आशङ्का धरै हुन्छ । सेक्युरिटी फर्म फायर आईका जासन स्टिरले दुर्भाग्यले एक्सपीलाई लिएर सबैभन्दा ठूलो खतरा माइक्रोसफ्टको नियन्त्रणभन्दा बाहिर रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘विन्डोज एक्सपीको करिब ९० प्रतिशत जोखिम थई प्रोग्राममा पाइन्छन् ।’ यसको अर्थ साइबरक्रिमिनलले विन्डोज युजर्ससम्म पुग्नका लागि एडोब् वा ओरेकलको जाभाजस्तो प्रोग्राममा बगको प्रयोग गर्दछन् ।

एन्टी–भाइरस

यस्तोमा सेक्युरिटी सपोर्ट समाप्त गर्नुको अर्थ त्यस्ता पीसीमा धेरै नै सजिलो तरिकाले हमला गर्न सकिन्छ भन्ने हो । यस्तोमा एउटा राम्रो समाचार आएको छ कि केही एन्टी–भाइरस कम्पनीहरूले एक्सपीलाई ध्यानमा राखेर भाइरसको रोकथाम गर्ने उत्पादन बनाउने योजना बनाइरहेका छन् । जासन स्टिरका अनुसार जति कम्पनीहरूले अहिलेसम्म आफ्नो सफ्टवेयरलाई अपग्रेड गरेका छैनन् उनीहरूले आगामी ३० दिनमा सो परिवर्तनलाई लागु गर्न सक्नेछैनन् । उहाँले यसमा कयौँ महिना लाग्नेछ । यसबीचमा तिनीहरूमाथि जोखिम अत्यधिक हुनेछ । विन्डोज एक्सपी चीनमा अत्यधिक लोकप्रिय छ तर ती मेसिनहरूमा माइक्रोसफ्टको नियन्त्रण अत्यन्त कम छ किनकी तिनीहरूमा केही सो सफ्टवेयरको नक्कली संस्करणहरूबाट चलिरहको छन् । यसैबीच चीनका अधिकारीहरूले माइक्रोसफ्टसँग मिलेर एक्सपीको सपोर्टलाई बढाउनका लागि आग्रह गरेको बताइएको छ । यद्यपि माइक्रोसफ्टले यसलाई अस्वीकार गरेको छ ।

Friday, March 7, 2014

‘पहुच उद्योगसम्म मात्र सीमित थिएन’ - aarthikdainik

 
एजेन्सी ,
नया दिल्ली, फागुन २१ ,





सहारा प्रमुख सुब्रत रोयले लखनऊ प्रहरीसमक्ष आत्मसमर्पण गरिसक्नुभएको छ । एसएसपी प्रवीण कुमारका अनुसार प्रहरीले उहाँलाई गिरफ्तार गरेको हो । सुब्रत रोयका छोरा सीमान्तो रोयले दिल्लीमा एक पत्रकार सम्मेलनमा भन्नुभयो– ‘अहिलेको समय म तपाईंसँग कुराकानी गरिरहेको छु, सहारा श्री उत्तर प्रदेश प्रहरीसँग हुनुहुन्छ, उहाँले लखनऊ प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको हो, उहाँले सुप्रिम कोर्टको निर्देशानुसार अधिकारीहरूसँग पूरै सहयोग गरिरहनुभएको छ ।’  सुप्रिम कोर्टको आदेशमा गिरफ्तार हुनुभएका सुब्रत रोय भारतको जल्दोबल्दो र रहस्यमयी उद्योगपतिहरूमध्येको एक हुनुहुन्छ । उहाँ भारतको प्रमुख व्यापारिक घराना सहारा इन्डियाको अध्यक्षसमेत हुनुहुन्छ । सहारा समूहसँग ६८२ अर्ब भारुको सम्पत्ति छ । वित्त क्षेत्रबाट आफ्नो व्यवसाय सुरु गरेको सो सहारा मेनुफेक्चरिङ, विमान र मिडियाको क्षेत्रमा पनि गएको छ ।

विदेशमा कारोबार

सुब्रत रोयको कारोबार विदेशमा पनि पैmलिएको छ । उहाँ न्यूयोर्कको ल्यान्डमार्क प्लाजा होटल र लन्डनको ग्रसवेनर हाउसको पनि मालिक हुनुहुन्छ । सहारा इन्डिया भारतीय हकी टिमको प्रायोजक पनि हो । साथै उहाँको फोर्स इन्डिया नामको फर्मूला वान टिममा पनि हिस्सा रहेको छ । एघार लाखभन्दा धेरै कर्मचारीहरूका साथ सहारा इन्डिया भारतमा रोजगार दिने निजी क्षेत्रको सबैभन्दा ठूलो कम्पनी हो । सुब्रत रोय आफ्नो विलासितापूर्ण जीवनशैली र उच्च राजनीतिक पहँुचलाई लिएर प्रायः चर्चामा आइरहनुहुन्छ ।

चर्चित विवाह

उहाँ बलिउड सुपरस्टार अमिताभ बच्चनलाई आफ्नो मित्र भन्नुहुन्छ भने बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरसँग कुम मिलाएको अवस्थामा देखिनुहुन्छ । सन् २००४ मा भएको सुब्रत रोयका दुवै छोराको विवाहको समारोह करिब १५ दिनसम्म मनाइएको थियो । यसलाई यस शताब्दीको सबैभन्दा चर्चित भारतीय विवाह भनिएको थियो र सो विवाह मिडियामा छाइरहेको थियो । सो विवाह समारोहमा करिब १० हजार मानिस सहभागी भएका थिए । त्यसमा व्यवसाय जगतका हस्तीहरू, बलिउडका सिताराहरू, क्रिकेट खेलाडी र फेसन जगत्का दिग्गज सहभागी भएका थिए । ती अतिथिहरूलाई विशेष विमानहरूबाट लखनऊ लगिएको थियो । तत्कालीन प्रधानमन्त्री अटल बिहारी बाजपेयी पनि नवविवाहित जोडीहरूलाई आशीर्वाद दिन पुग्नुभएको थियो । सुब्रत रोयका आलोचकहरूका अनुसार उहाँले आफ्नो कम्पनीलाई एक पन्थजस्तै गरी चलाउनुहुन्छ र स्वयम्लाई कम्पनीको प्रबन्ध कार्यकर्ता बताउनुहुन्छ । उहाँ स्वयम्लाई सहारा परिवारको अभिभावक भन्नुहुन्छ ।

राजसी ठाटबाट

सहारा प्रमुख ठाँटबाटसँग बस्नुभएको छ । उहाँसँग निजी विमानहरू र हेलिकप्टरहरूको आफ्नै बेडा छ । उहाँको एउटा घर अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसको जस्तै बनेको छ । एक निजी सहरमा बनेको उहाँको एक घर लाखौँ डलरको लागतमा तयार भएको हो जुन बेलायतको शाही निवास बकिङ्घम प्यालेसको अनुकृति हो । समाचारहरू अनुसार उहाँसँग रोल्स रोयस, बेनटली र बीएमडब्ल्यूजस्ता महँगा कारहरूको बेडा छ । ६५ वर्षीय सहारा प्रमुख उत्तर प्रदेशको राजधानी लखनऊमा बस्नुहुन्छ । भारतीय समाचार पत्रपत्रिकाहरूमा उहाँलाई प्रायः भारतको सबैभन्दा अधिक प्रभावशाली व्यवसायी बताइन्छ । अहिले सुब्रत रोय गलत कारणहरूले चर्चामा रहनुभएको छ । लगानीकर्ताहरूको करोडौँ रुपैयाँ फिर्ता नगरेको मामिलामा सुप्रिम कोर्टमा पेश नभएका कारणबाट अदालतले उहाँको विरुद्धमा गैर जमानती वारेन्ट जारी गरेको थियो ।

गैरकानुनी बन्ड

उहाँका दुई कम्पनीले पाँच वर्ष पहिला करिब २४० अर्ब भारुको राशि एक गैरकानुनी बन्डमार्पmत् जुटाएका थिए । अधिकारीहरूका अनुसार अदालतको आदेशपछि पनि उहाँ लगानीकर्ताहरूको पैसा फिर्ता गर्न असफल रहनुभएको छ । अलग–अलग कारण बताएर सुब्रत रोय अदालतमा प्रस्तुत हुनबाट बचिरहनुभएको छ । गत बुधबार उहाँका वकिलले अदालतलाई उहाँकी ९२ वर्षीय आमाको स्वास्थ्य ठीक नभएको र आमाले उहाँको ठूलो छोरा आपूmसँगै रहोस् भन्ने चाहनुभएको बताउनुभएको थियो । सो दलिलप्रति सुप्रिम कोर्टले आफ्नो धैर्य गुमाएको देखिएको छ । गत साता न्यायाधीशहरूले सहाराका प्रमुखहरूले यदि लगानीकर्ताहरूको पैसा फिर्ता गरेनन् भने उनीहरूलाई जेल पठाउन सकिने बताएका थिए ।

Thursday, March 6, 2014

यस्ता थिए रुपचन्द्र विष्ट - naya patrika

विश्वकान्ति कलावती पराजुली सुमार्गी


मकवानपुर जिल्लाको दामन गाविसको घर्ती खोलामा विसं. १९९०, २६ पुसमा जन्मिएका रुपचन्द्र विष्टलाई रहस्यमय व्यक्तित्वका रूपमा चित्रित गरिन्छ । आजीवन जनताको पक्षमा लडेका विष्टलाई कतिले पागल पनि भने । पञ्चायतकालमा चर्चित विष्टको ‘थाहा’ अभियान अहिले ओझेलमा छ । ०५६ असारमा विष्टको वीर अस्पतालमा निधन भयो । उनलाई चिन्ने र उनीसँग संगत गर्नेहरू उनलाई ‘जनताका मान्छे’ भन्न रुचाउँछन् । ‘थाहा’ अभियानमा झन्डै २० वर्ष विष्टसँगै कार्यक्रममा सहभागिता जनाएकी मकवानपुरकी विश्वकान्ति कलावती पराजुली सुमार्गी अहिले पनि बारम्बार विष्टलाई सम्झिन्छिन् । प्रस्तुत छ, उनको सम्झना :

पहिलो भेट


पहिलोपटक मैले रुपचन्द्र विष्ट (रुदाने)लाई नख्खु जेलमा देखेकी थिएँ । मेरो बुबा (कलानाथ अधिकारी)लाई राजनीतिमा लागेको आरोपमा पक्राउ गरेर नख्खु जेलमा राखिएको थियो, उहाँलाई भेट्न जाँदै पहिलोपटक मैले रुदानेलाई देखेँ । म त्यस्तै ११ वर्षजतिकी थिएँ होला । बुबालाई नख्खु जेलमा भेट्न जाँदा उहाँले रुदानेलाई देखाएर भन्नुभयो, ‘त्यो मान्छे पालुङको हो । पालुङमा जनतालाई सहयोग गरेको र राजनीतिमा लागेकाले समातिएको रे । अत्यन्तै असल मान्छे छ । झुटो बोल्दैन ।’ बुबाले रुदानेको प्रशंसा गरेको सुनेपछि मैले उहाँलाई हेरेकी थिएँ । सानै भएकाले त्यसवेलाका सम्झना यतिवेला धुमिलिएका छन्, धेरै प्रसंग भुलिसकेकी छु ।

मेरो घरको पाहुना


पहिलो भेटपछि लामो समय मैले रुदानेलाई देखिनँ । ०३८ को निर्वाचनअघि राजनीतिक सरगर्मी बढेको थियो । मेरो घरमा बुबा आउनुभएको थियो । उहाँले भन्नुभयो, ‘त्यो रुपचन्द्र विष्ट बढो राम्रो मान्छे छ । उसले बाहिर केही खाँदैन । कुनै दिन यहाँ आयो भने आफ्नो भान्सामा जे पाकेको छ त्यो दिनु ।’ बुबा पनि राजनीतिमा लागेकाले रुदानेलाई माया गर्नुहुनेरहेछ । बुबा उहाँलाई ‘जनताको मान्छे’ भन्नुहुन्थ्यो । मेरा श्रीमान्ले पनि उहाँको सम्मान गर्नुहुन्थ्यो, उहाँ राम्रो मान्छे हो भनेर बारम्बार भन्नुहुन्थ्यो ।

त्यसवेला म चार छोराछोरीकी आमा भइसकेकी थिएँ । मेरा पतिको निधन भइसकेको थियो । समाजमा पतिको निधन भएपछि महिलाको कुनै काम हुँदैन भन्नेहरू थिए । तर, राजनीतिक संस्कारमा हुर्किएकी मलाई बुबाले सधैँ उत्साह दिनुहुन्थ्यो– अगाडि बढेर समाजमा केही गनुपर्छ भन्नुहुन्थ्यो । यस अर्थमा म आफूलाई ‘लक्की’ मान्छु । त्यही समयमा मैले पनि निर्वाचनमा उम्मेदवारी दिएकी थिएँ । ३८ सालकै निर्वाचनअघि रुदाने पनि एकदिन हाम्रो घर आइपुग्नुभयो । बुबाले उहाँबारे राम्रो भनेकाले उहाँलाई हामी अत्यन्तै सम्मान गथ्र्यौं, गर्छौं ।

‘तिमीहरू क–कस्को हो यो खानेकुरो, मैले खाएर हुन्छ र ?’ उहाँले जंगिएर भन्नुभयो । उहाँको बोली त्यति सजिलै बुझिँदैनथ्यो, ठाडो अनि रुखो । खाना खाइसकेपछि उहाँले भन्नुभयो, ‘अब मलाई एउटा कोठा देओ ।’ उहाँले त्यति भनेपछि मेरो जेठो छोरा (अजय सुमार्गी)ले उहाँलाई कोठा देखाइदियो । बिहान उहाँ कोठामा हुनुहुन्थेन । कतिवेला उहाँ बाटो लाग्नुभयो हामीलाई पत्तै भएन ।

रुपचन्द्रको सभाको सभाध्यक्ष म


३८ सालकै अर्को प्रसंग म सम्झन्छु । रुदाने मेरो घर आउनुभएको केही समयपछिको कुरा हो । उहाँले एउटा सभा आयोजना गर्नुभएको रहेछ । हाम्रो घरमा पनि त्यो जानकारी रहेछ । मेरा भान्जाभान्जी तथा घरका अन्य सदस्यले मलाई भन्नुभयो, ‘रुपचन्द्रको भाषण छ, सुन्न जाने होइन ?’ धेरैजनाले मलाई आग्रह गरेपछि म पनि भाषण गर्ने ठाउँमा पुगेँ ।

तर, त्यहाँ ५/६ जनामात्रै थिए । मलाई अचम्म लाग्यो, भाषण गर्ने ठाउँ भने पनि कुनै मञ्च बनाइएको छैन । न त मानिसै धेरै छन् । उहाँलाई सम्मान गर्ने भएकाले मलाई चिन्ता पनि लाग्यो । नजिकैको चिया पसलबाट एउटा टेबल ल्याएर मञ्चजस्तो बनाएँ । त्यसपछि अचानक त्यहाँ रुपचन्द्र विष्ट देखा पर्नुभयो । उहाँ टेबलअगाडि देखापरेपछि त्यहाँ मान्छेको ओइरो लाग्यो । म फेरि अचम्ममा परेँ– भाषण सुन्न अचानक मानिस कहाँबाट ओइरिए ? एकैछिनमा त्यहाँ हजारभन्दा धेरै मानिस आइपुगेका थिए ।

उहाँले त्यो सभा सुुरु गर्नुभयो, ‘म कलावतीलाई यो सभाको सभापति बनाऊँ कि नबनाउँm ?’ म फेरि अर्को अचम्ममा परेँ । त्यहाँ जम्मा भएका मानिसले मेरो नाममा समर्थन जनाएर ताली बजाए । त्यसपछि म सभाको सभापति भएँ ।

उहाँले भाषण गर्नुभयो । तर, मैले अत्यन्तै कम बुझेँ । उहाँले नेपालीमै भाषण गर्नुभएको थियो तर, उहाँले प्रयोग गरेका शब्द त्यति चलनचल्तीका थिएनन् । लामो समय संगत गरेपछि र उहाँको कार्यकर्ताको रूपमा विभिन्न ठाउँ पुगेपछि भने मैले उहाँको भाषण बुझ्न थालेकी थिएँ ।

‘थाहा’को अर्थ


म त्यसवेला महिला संघको अञ्चल सभापति थिएँ । उहाँको भाषण दुईचारपटक सुनेपछि मलाई अत्यन्तै मन पर्न थाल्यो । उहाँ भन्नुहुन्थ्यो, ‘गाउँलेलाई, झुत्रेझाम्रेलाई थाहा दिनुपर्छ । सबैलाई जगाउनुपर्छ । थाहा भएपछि मात्र समाजको विकास हुन्छ । थाहा भएन भने समाज र हाम्रा गाउँका मानिसको विकास सम्भव छैन । त्यसैले हामीले सबैलाई थाहा दिनुपर्छ ।’

मलाई त्यसवेला उग्रवादीकी छोरी भनेर भन्थे । मलाई त्यो मन पर्दैनथ्यो । मेरो बुबाका कारण मेरो ‘इमेज’ किन बिगार्ने ? तर, समाजले मलाई बुझेन । त्यसपछि मलाई मन नपराउने समाज मलाई पनि मन परेन । अनि मैले त्यो समाजलाई छोडिदिएँ । ४०/४२ सालको कुरा हो । म पनि ‘थाहा’ आन्दोलनमा सहभागी हुन थालेँ ।

उहाँका ८२ भन्दा धेरै सभामा भाग लिएर उहाँको अभियानबारे प्रचार गर्न थालेपछि एउटा सभामा उहाँले भन्नुभयो, ‘यो अब जनताकी मान्छे भई ।’ उहाँले त्यो वाक्य भन्दा मलाई अत्यन्तै खुसी लाग्यो । गर्व लाग्यो, मैले ‘थाहा’ आन्दोलनमा समर्पण हुने अठोट लिएँ ।

गाउँलेको माया र वितृष्णा


३८ सालको निर्वाचनमा उहाँ चुनिनुभयो । उहाँलाई गाउँलेले अत्यधिक भोट दिए, उहाँलाई अत्यन्तै माया गर्थे । गाउँलेहरू भन्थे, ‘रुपचन्द्र हाम्रो मान्छे हो । उसले हाम्रो भान्सामा आएर बाँडीचुँडी खान्छ । हाम्रा कुरा गर्छ ।’

एकथरी मानिस उहाँको प्रशंसा गर्थे भने अर्काथरी मानिस उहाँसँग डराउँथे । ‘बोलेको पनि केही बुझिँदैन, पर्चा र पम्प्लेट बोकेर हिँडिरहेको छ । को हो को ? खुकुरी पनि बोकेर हिँड्छ भन्या,’ एकथरी गाउँलेले सुरुवातीमा उहाँबारे टिप्पणी गर्थे ।

विस्तारै सबै गाउँलेले उहाँलाई बुझ्न थाले । उहाँले गाउँलेलाई बुझाउने र जगाउने काम गर्नुभयो । त्यो क्षमता र विशेषता भएको मान्छे अहिले नेपालले पाउने हो भने धेरै प्रगति हुने थियो ।

उहाँका जनमुखी सभामा कहिल्यै पनि मानिसलाई बोलाउन हुँदैनथ्यो । ‘फलानो ठाउँमा जनमुखी सभा छ,’ मात्रै भन्नुपर्ने । एकपटक मैले झुक्किएर ‘फलानो जनमुखी सभामा आउनु है’ भनेँ । त्यो उहाँले थाहा पाउनुभएछ । सभा सुरु गर्नेबित्तिकै उहाँले मलाई सभामै थर्काउनुभयो, ‘तँलाई भाते, बौलाही, जनता तेरा नोकर हुन् र उनीहरूलाई आदेश दिने ?’ मन अमिलो भयो, तर मैले त्यसपछि जनमुखी सभाको महत्त्व बुझेँ । अर्को कुरा, उहाँले गाउँमा गरेका सभा सबै बिदाका दिन पारिन्थे । अझ, स्कुलको ग्राउन्डमा सभा गर्नुपर्ने छ भने उहाँ शनिबारै रोज्नुहुन्थ्यो । उहाँले कुनै पनि दिन स्कुलको पढाइ डिस्टर्ब गर्नुभएन ।

‘भाते, खाएरै बस’


रुदाने मान्छेलाई भन्नुहुन्थ्यो, ‘भाते, खुब गरेको छस् ।’ सुरुमा मलाई उहाँले भाते भनेको सुन्दा अनौठो लाग्थ्यो । विस्तारै उहाँले भाते किन भन्दै हुनुहुन्छ भन्ने थाहा भयो । दिनभर काम गरेर साँझ–बिहान भातका लागि मात्र मरिमेट्ने मान्छेलाई उहाँले भाते भन्नुहुँदो रहेछ । उहाँको प्रस्ट धारणा थियो, ‘भात खाएर आफ्नो जीवनबारे मात्रै सोच्ने मान्छे भाते हो । सज्जन मान्छे हुनका लागि एउटा मान्छेले आफ्नो मात्र होइन, भातको मात्र होइन, समाजबारे सोच्न सक्नुपर्छ ।’ उहाँले भाते भन्दा नबुझ्नेहरू रिसाउँथे होलान् । तर, उहाँको कुरा सुनेपछि मान्छेले बुझ्थे ।

रुदानेको विचार तथा दृष्टिकोणलाई बुझ्न गाह्रो हुन्थ्यो । उहाँ सबै कुरालाई ६ पाटाबाट हेर्नुपर्छ भन्नुहुन्थ्यो । कुनै पनि कुराको विश्लेषण गर्दा उहाँले ६ पाटाबाट त्यसलाई अथ्र्याउनुहुन्थ्यो । त्यसैले उहाँलाई बुझ्न सजिलै सकिँदैनथ्यो ।

एकपटक जिल्ला अधिकारीको बैठक चलिरहेको ठाउँमा उहाँ पुग्नुभएछ । त्यहाँ तत्कालीन रानीको जन्मोत्सवको शुभकामना दिने कार्यक्रमबारे चर्चा चलिरहेको रहेछ । सांसद भएकाले उहाँ बैठकमा सोझै जानुभयो । त्यहाँ म पनि थिएँ । शुभकामना लेखिएको फाइलमा दुई शब्द शुभकामनाका लागि लेखिदिनु भनेर उहाँसमक्ष बढाइयो । उहाँले लेखिदिनुभयो, ‘मान्छेको मूल्यांकन घाटमा मात्र हुन्छ । म पनि कहिल्यै जन्मदिन मनाउँदिनँ, अर्काको जन्मदिन पनि मनाउने सोच राख्दिनँ ।’ उहाँको तर्क थियो, ‘ज्युँदो मान्छेलाई पूजा–अर्चना गर्नुहुँदैन । उसले बाँकी जीवनमा नराम्रो गर्न पनि सक्छ ।’

तर, उहाँले गाउँले सबैलाई विभिन्न चाडपर्व तथा अवसरमा शुभकामना दिनुहुन्थ्यो । पालुङमा उहाँ सबै घरमा गएर सुखदु:खका कुरा गर्न रुचाउनुहुन्थ्यो । त्यसैले त्यहाँका जनताले उहाँलाई अत्यन्तै माया गर्थे ।

‘शत्रुले चिने, मित्रले चिनेनन्’


हामी गाउँगाउँमा उहाँको सभा आयोजना गर्न जान्थ्यौँ । तर, उहाँले कहिल्यै पनि हामीलाई मलाई सहयोग गर भनेर भन्नुभएन । उहाँले हामीलाई बोलाउनुहुन्थेन, हामी आफैँ उहाँको अनुयायी भएका थियौँ । उहाँले कहिल्यै पनि मसँग तथा अन्य अनुयायीसँग दोहोरो कुरा गर्नुभएन । जे भन्नुपथ्र्यो, सभामै भन्नुहुन्थ्यो । हामी उहाँको विचार मन पराएर उहाँको अभियानमा लागेका तर हामीसँग उहाँले केही नभन्ने, भन्ने केही भए सभामै भन्ने । उहाँले एकदिन सभामा भन्नुभयो, ‘मलाई शत्रुले चिने, तर मित्रले चिन्न सकेनन् ।’

लामो समयसम्म उहाँको त्यो कुरा मैले बुझिनँ । पछि बुझेँ, हामीले उहाँका विचार पूर्ण रूपमा बुझ्न सकेनाँै, शत्रुले बुझेर उहाँको अभियानमा रोक लगाउन विभिन्न षड्यन्त्र गरे ।

उहाँ सधैँ महिलाका हकहितका कुरा गर्नुहुन्थ्यो । त्यसैले समाजका महिलाले उहाँलाई अत्यन्तै मन पराउने । म पनि मैले भोगेका समस्यालाई उहाँले सम्बोधन गरेकाले उहाँसँग लामो समय सँगै हिँडे । उहाँ भन्नुहुन्थ्यो, ‘हाम्रो समाजमा महिला पिछडिएका छन् । महिला सिर्जना हो । ऊ पछाडि पर्नु भनेको सिंगो समाज पछाडि पर्नु हो । महिलालाई अगाडि बढाउनुपर्छ, समाज राम्रो बन्छ ।’ त्यसवेला त्यस्तो राम्रो विचार राख्ने थप केही मान्छे भएको भए कति राम्रो हुनेथियो होला ?

यसरी हिँड्थे रुदाने


रुदाने सधैँ गाउँलेका विषयमा कुरा गर्नुहुन्थ्यो । उहाँले सधैँ गाउँलेलाई ब्युँझाउन चाहनुभयो । त्यही भएर पनि होला उहाँले गाउँलेले जे खान्थे, त्यही खानुहुन्थ्यो । एकपटक हेटौँडा आउँदा उहाँलाई राम्रो खाना दिइयो । उहाँ रिसाउनुभयो । भन्नुभयो, ‘मेरा गाउँमा मान्छे गिट्ठा खाएर बसेका छन्, म यहाँ यति मीठो खाना किन खाने ?’

उहाँ सधैँ एउटा ज्याकेट लगाउनुहुन्थ्यो । पटुका बाँध्नुहुन्थ्यो । पटुका वरपर उहाँ राजनीतिक विचार तथा समाज जगाउने पर्चा–पम्प्लेट राख्नुहुन्थ्यो । राजनीतिक विचारका पानाहरू उहाँ बेच्नुहुन्थ्यो भने सूचना तथा अन्य पर्चा सित्तैमा बाँड्नुहुन्थ्यो । उहाँले एउटा धोक्रो पनि बोक्नुहुन्थ्यो । त्यसमा विभिन्न पर्चा, किताब राखिएका हुन्थे ।

मेरो एकजना आफन्तले भन्नुभएको थियो– ‘रुपचन्द्रलाई कलेजमा सबैले छिछि गर्थे । फोहोर लुगा, झुत्रेझाम्रे भएर उहाँ कलेजमा जाने । कलेजमा सहपाठी कसैले पनि उहाँलाई मन नपराउने । उहाँले कैयौँपटक एक्लै बेन्चमा बस्नुपरेको थियो ।’ उहाँ कलेजमा पनि झुत्रेझाम्रे भएर जानुको कारण थियो– उहाँका जनता । उनीहरूले भौगोलिक विकटता तथा अशिक्षाका काराण कहिल्यै सुखसयलमा जीवन बिताउन पाएनन् । उनीहरूको जीवनलाई नजिकबाट स्पर्श गर्नुभएकाले रुदानेले पनि कहिल्यै राम्रा लुगा र मीठो खानामा ध्यान दिनुभएन । उहाँ भटमास र पानीमै धेरै दिन बिताउन सक्नुहुन्थ्यो ।

उहाँले जे बोल्नुभयो, त्यो गर्नुभयो । जे गर्नुहुन्थ्यो, त्यही मात्र बोल्नुहुन्थ्यो ।

बाबुले विश्वास गर्थेनन् रुदानेलाई


अहिले रुपचन्द्रको ‘थाहा’ अभियानबारे बारम्बार चर्चा परिचर्चा हुन्छ । उहाँलाई विश्वास गर्ने उसवेला पनि हजारौँ थिए, अहिले पनि हजारौँ छन् । तर, उहाँलाई आफ्नै बाबुले विश्वास गर्थेनन् । पालुङकै एउटा स्कुलमा पढाउनुहुन्थ्यो रुदाने । रुदानेले पढाएका विद्यार्थी जिल्लास्तरीय परीक्षामा सबै पास भएछन्, राम्रो अंक ल्याएर । तर, उहाँलाई घरमा उहाँको बाबुले भन्नुभएछ, ‘तँजस्ताले पढाएका विद्यार्थी पनि पास हुन्छन् ? तँ त यस्तो छस्, तैले के पढाउँछस् ? सबैले चोरेर पास भएका हुन् ।’

स्वतन्त्र स्वभावको रुदानेलाई बाबुका ती कुरा मन परेनन् । उहाँले भन्नुभएछ, ‘ए ममाथि अविश्वास गर्ने ? यस्तो अविश्वासीको घरमा म बस्दिनँ ।’ उहाँले एउटा सभामा भन्नुभएको थियो, ‘त्यस दिनदेखि म घर छोडेर हिँडेको मान्छे हुँ ।’ त्यसपछि उहाँ कहिल्यै पनि घर जानुभएन ।

रुदानेको बिहे


२६ सालमा मेरो विवाह भइसकेको थियो । रुदानेको भएको रहेनछ । एकदिन घरमा बसिरहेको समयमा मेरा जेठाजुलाई एकजना मानिसले आएर एउटा सानो चिर्कटो दिएर गए । चुरोटको खोल थियो त्यो चिर्कटो । चुरोटको खोलमा रुदानेले बिहेको निम्तो पठाउनुभएको रहेछ । मेरा जेठाजुले त्यो निम्तो पढेपछि हामीलाई भन्नुभयो, ‘ओहो, अब नेपालमा पनि यस्तो विवाह सुरु गर्ने भए रुपचन्द्र विष्टले ।’ त्यसवेला मलाई त्यस्ता कुरामा त्यति वास्ता थिएन, आफ्नै घरपरिवार सम्हाल्न पाए पुग्छ भन्ने लाग्थ्यो । तर, मेरा पतिले फेरि रुदानेको विवाहकै कुरा उठाउनुभयो । मेरा जेठाजुलाई निम्ता गरिएको कागजमा लेखिएको थियो, ‘पुस २६ गते फलानो ठाउँमा मेरो विवाह हुँदै छ । आफ्नो खानेकुरो आफैँले लिएर आउनू ।’ त्यो कागज देखाएपछि हाम्रो घरमा छलफल भयो र नेपालमा परिवर्तन हुँदै छ भन्ने निष्कर्ष निकालियो ।

उहाँको विवाह भयो । तर, रुदाने अलिक शंकालु हुनुहुन्थ्यो । गाउँगाउँ घुम्दै हिँड्ने मान्छेले श्रीमतीलाई भने शंका गर्ने । त्यसैले पनि होला उहाँको वैवाहिक जीवन लामो समय टिकेन । घरजम गरेर मक्ख परेर बस्ने सोच नभएकाले मानिस भएर पनि होला उहाँको पारिवारिक जीवन त्यति सफल भएन ।

प्रस्तुति : शिखर घिमिरे

Wednesday, March 5, 2014

नाक, कान, घाँटीको डाक्टर उस्ट्रासन - annapurnapost



संस्कृतमा उस्ट्र भनेको ऊँट हो। ऊँटले आफ्ना बच्चा र आफन्तलाई बोलाउँदा जस्तो आवाज निकाल्छ, यो आसनको अभ्यासमा पनि त्यस्तै आवाज निस्कने भएकाले उस्ट्रासन भनिएको हो। यो आसनको साधना नियमित गर्दा सहनशील हुने प्रेरणा मिल्छ।




यो आसनले ऊँटको जस्तै गुण नि:स्वार्थभाव बढाउन मद्दत गर्छ। त्यसैले भनिन्छ- गायक, संगीतकार, वाचकजस्ता आवाज बेचेर रोजीरोटी कमाउनेका लागि यो आसन वरदान सिद्ध छ। यसले बाह्य सौन्दर्य वृद्धि गराई मुखमा कान्ति ल्याउँछ। त्यसैले अचेल यसलाई डा. फर ईएनटी (नाक, कान, घाँटी) भन्ने प्रचलन पाश्चात्य मुलुकमा बढेको छ।

विधि
स्वच्छ वातावरण तथा सम्म धरातलमा तन्ना, चटाईमाथि, आफ्नो सम्म शरीर स्वाभाविक अवस्थामा आएपछि दुवै घुँडा मोडेर कम्मरलाई दुवै हातले टेवा दिँदै चिउँडोले छाती छुवाएर स्वाभाविक श्वासमा रहने। विस्तारै मुख बन्द गरी नाकबाट श्वास लिँदै गर्धन पछाडि तान्दै श्वास लिने।

श्वास लिन सकिनेबित्तिकै सम्भव भएजति मुख ठूलो पारेर जिब्रो बाहिर निकाली श्वास फ्याँक्ने। आँखा पनि सम्भव भएजति ठूलो पारी जिब्रोको माध्यमबाटै श्वास फेरि सक्दो बाहिर फ्याँक्ने र लिने। यसो गर्दा आउने आवाज ऊँटको जस्तो हुन्छ। यो क्रम दुई/दुई, चार/चार वा ६/६ पटक आफ्नो अवस्थाअनुसार दोहोर्‍याउँदा मुखमा तातोपन अथवा हल्का पसिना आएको महसुस हुन्छ।

त्यसपछि जिब्रो विस्तारै भित्र लगी मुख बन्द गरी नाकले श्वास बाहिर फ्याँक्दै चिउँडोलाई छातीमा पुर्‍याउने अनि स्वाभाविक श्वासमा आइपुग्दा यो आसन पूर्ण हुन्छ। सुरुका दिनमा राम्रोसित अभ्यास नहुँदासम्म दुई/दुईपटक दोहोर्‍याउने। त्यसपछि दिनको एकपटक गर्दा यसबाट लाभ प्राप्त गर्न सकिन्छ। निरन्तर अभ्यासबाट यो आसन गर्न सजिलो भएपछि कम्मरलाई आड दिएको दुवै हातलाई विस्तारै सास फेर्दै कुर्कुचामा समाएर माथि भनेबमोजिम अभ्यास गरे मेरुदण्ड लचिलो बनाउन पनि सहयोग पुग्छ। यो आसन सम्भव सूर्य उदयको समयमा खुला स्थानमा गर्नु राम्रो मानिन्छ।

लाभ
नाकको हड्डी पलाएको समस्या समाधानमा सहयोग पुग्छ। गर्धन र मुखको चाउरीपन हटाई पाचनप्रणाली बलियो बनाउँछ । पिनास, टाउको दुख्ने, स्वर बसेको, भकभकाउने, मेरुदण्ड, फोक्सोसम्बन्धी, कम कान सुन्ने, आँखा कमजोर भएका, टन्सिल, स्मरण शक्ति, थाइराइड आदि समस्यामा फाइदा पुर्‍याउँछ।

Sunday, March 2, 2014

दिलशोभा प्रकरणःअपुरो फोन रेकर्डले ल्याएको बबन्डर - अमित ढकाल र किरण भण्डारी - setopati

सम्पादकीय नोटः
(हामीले यो रिपोर्टिङ गर्ने सिलसिलामा दिलशोभा, उनको चर्चित फोन वार्ता रेकर्ड गर्ने अप्सरा गुरुङ, काठमाडौं एसएसपी रमेश खरेल, केन्द्रीय बाल कल्याण समितिका पदाधिकारीत्रय तारक धिताल, नमुना भुषाल, झनहरि,आमाको घरका १५ जाना बालबालिकालाई निशुल्क पढाउने एन्जेल एकेडेमीका जोतिक नापित, आमाको घरका कोषाध्यक्ष राजु शाक्य, लेखापरीक्षक युवराज घिमिरे, हुम्लाबाट विद्यार्थी ल्याउन सहयोग गरेकानवराज महतारा, आमाको घरमा काम गर्ने स्वयंसेवक लगायतसँग कुराकानी गरेका थियौं। यी मध्ये कतिपयलाई संवेदनशीलता कारण उद्धृत गरेका छैनौं।)
दिलशोभा श्रेष्ठको काठमाडौँ रविभवनस्थित 'आमाको घर'को पहिलो तला चढ्नेबित्तिकै एउटा कोठामा पुगिन्छ।
कोठाका भित्ता उनले पाएका सम्मानले भरिएका छन्। ठूलै आकारको त्यो कोठामा पनि नअटेका दर्जनौँ सम्मानपत्रका फ्रेमहरु थुप्रिएका छन्। यो कोठाआमाको घरको बैठक र कार्यालय पनि हो।
माघको कुनै साँझ यही कोठामा दिलशोभा फोनमा कुरा गर्दै थिइन्। यो कोठासँगै जोडिएको अर्को कोठामा आमाको घरमा कार्यरत कर्मचारी अप्सरा गुरुङ र एक वर्षदेखि त्यहीँ काम गर्दै आएकी आनी संगीता तामाङ सुत्थे।
अप्सरालाई दिलशोभाको कुरा 'शंकास्पद' लाग्यो। उनले तुरुन्त मोबाइलमा दिलशोभाको एकतर्फी फोन संवाद रेकर्ड गर्न सुरु गरिन्।
अर्को कोठाबाट रेकर्ड गर्दा राम्ररी नसुनिएपछि अप्सराले संगीताको खल्तीमा आफ्नो मोबाइल हाल्दिन् र दिलशोभाको छेउमा गएर बस्न भनिन्। बेखबर दिलशोभाले फोनमा निश्चिन्त कुरा गरिन्।
उनको एकतर्फी संवाद अप्सराको मोबाइलमा रेकर्ड भयो।

को हुन अप्सरा?

दिलशोभाको फोन संवाद रेकर्ड गरिएको केही हप्ताअघि, पुस १८ गते मात्रै, अप्सरा आमाको घरमा कर्मचारीका रुपमा नियुक्त भएकी थिइन्। अप्सरा र दिलशोभाबीच तीन वर्ष पुरानो चिनजान थियो। उतिखेर अप्सराले आमाको घरमा आएर केही दिन दिलशोभालाई सघाएकी थिइन्।
‘मैले पहिला ५० हजारसम्म तलबमा काम गरेँ। अहिले खालि छु। सेवाका लागि यहाँ १० हजारमै काम गर्दिन्छु,’ अप्सरालाई उद्धृत गर्दै दिलशोभा भन्छिन्, ‘आठ हजार दिने गरी काम लगाएको हुँ।’
७/८ वर्ष बालबालिकाको क्षेत्रमा काम गरेकी अनुभवी कर्मचारी पाएर दिलशोभा दंग थिइन्। अप्सराले संस्था व्यवस्थित गरेर लाने र एकजना बच्चा बराबर वार्षिक दुईलाख रुपैयाँसम्म सहयोग पाउन सकिने बताइन्। दिलशोभा थप प्रभावित भइन्।दुवै जना क्रिश्चियन धर्म मान्ने, चर्च जाने भएकाले सम्बन्धको अर्को सेतु थपियो। दुई बीचमा आमाछोरीको साइनो स्थापित भयो।
अप्सराले विस्तारै सुधारको कुरा गर्न थालिन्।
अन्नपानीको गुणस्तर, बालबच्चाको लुगाफाटो, जुत्ताचप्पल लगायत कुरा उठाइन्। पारदर्शिताको कुरा उठाइन्। दिलशोभालाई अप्सराको कुरा कता कता चित्त बुझेन। बिस्तारै उनीमाथि नै शंका लाग्न थाल्यो। उनले ठानिन्, ‘कुनै एनजिओले अप्सरालाई आमाको घरको जासुसी गर्न पठायो।’
खटपट हुनुभन्दा अघि नै अप्सरा केटाकेटीहरुसँग घुलमिल भइसकेकी थिइन्।
केटाकेटीलाई पनि उनले आमाको घरले बालगृहको मापदण्ड अनुसार खानलाउन नदिएकोबारे सचेत तुल्याउन कोशिश गरिसकेकी थिइन्। अप्सराको मायालु स्वभावले ३२ मध्ये धेरै केटाकेटी उनीसँग रत्तिइसकेका थिए।
दिलशोभा र अप्सराको खटपट बढेर भान्छा अलग्गिइसकेको थियो। दिलशोभा आमा र केटाकेटीलाई पकाउने माथिल्लो तलाको भान्छामा नै खान थालिसकेकी थिइन्। अप्सराले पनि मोबाइलमा, आफ्नो ल्यापटपमा सकेजति संवाद र भिडियो रेकर्ड गर्न थालिन्।
दिलशोभा अप्सरालाई कामबाट हटाउने टुंगोमा पुगिन्। आफू प्रार्थना गर्न जाने चर्चबाट केही दिनका लागि आफूलाई सहयोग गर्न दुई जना मानिस झिकाइन्। संस्थाको काममा उनीहरुले सघाउन थालेपछि, अप्सरा भूमिका विहीन हुँदै गइन् र अन्तत: महिना दिन नपुग्दै आठ हजार तलब लिएर आमाको घरबाट बिदा भइन्। अप्सरासँगै आनी संगीता तामाङले पनि आमाको घर छाडिन्।
संस्थाबाट निस्केपछि अप्सराले आफूसँग भएका रेकर्डहरु आफ्नो मनले खाएका मानिस र एनजिओकर्मीलाई देखाइन्।
रेकर्डहरुमध्ये आमाको घरको बैठक/कार्यालय कोठाबाट दिलशोभाले गरेको एकतर्फी टेलिफोन संवादमा भनिएको थियो, ‘१५ सय जति पैसा दिने, बेलुका पकाएर ख्वाउने एकछाक, बिहान ख्वाउनुपरेन, तपाईँलाई माया लाग्छ भने एक कप चिया ख्वाएर पठाउनू, बेलुका आएर तपाईँलाई पकाएर ख्वाउँछ, रातभरि तपाईँसँग सुत्छ,माया माया माया गरेर बस्छ।’
अप्सरालाई पहिलेदेखि नै यो संवादले शंकित तुल्याएको थियो। रेकर्ड सुन्ने अरुले पनि उनलाई उक्साए- यो दिलशोभा देह व्यापारमा संलग्न भएको बलियो प्रमाण हो।
अप्सरा, आमाको घरमै पहिले काम गरेका कर्मचारी र अरु केहीले सल्लाह गरेर जिल्ला प्रशासन कार्यालयमा यसबारे टेलिफोन रेकर्डसहित आफूले जुटाएका 'प्रमाण'राखेर उजुरी दिए। केन्द्रीय बालकल्याण समितिलगायतलाई अप्सरा आफैँ गएर उजुरीको बोधार्थ दिइन्।
जिल्ला प्रशासन कार्यालय, बालकल्याणमा हल्लीखल्ली मच्चियो। त्यो हल्लीखल्लीको मूल कारक त्यही एकतर्फी टेलिफोन संवाद थियो। जिल्ला प्रशासन,बालकल्याण र अरु सरोकारवाला निकायको बैठकमा पनि त्यो टेलिफोन संवादको अर्थ 'देहव्यापार' गरेको भन्ने नै लगाइयो।
बालबालिका राख्ने अनुमति नलिएको र आमाको घरको दुर्व्यवस्थाको मुद्दा छँदै थियो, 'देह व्यापार' को शंकाले बालबालिकालाई तुरुन्त उद्धार गर्नुपर्ने तदारुकता उब्जियो।
दिलशोभालाई बोलाएर काठमाडौँका सिडिओ वसन्तराज गौतमले बालबालिका उद्धार गर्ने जानकारी दिए।
उद्धार हुनु दुई दिनअघि दिलशोभाबिरुद्धको उजुर र फोन रेकर्ड सम्मिलित इमेल केही सञ्चारगृहलाई पठाइएको थियो। सेतोपाटीलाई पनि त्यो इमेल आएको थियो।
जुन रेकर्डलाई आधार मानेर देहव्यापारको शंका गरिएको छ, त्यसले मात्र त्यो संगिन आरोप पुष्टि हुन्न। दिलशोभा स्वयमले त्यो फोन वार्ता क्यान्सरपीडित ७० वर्षीया राधिका मानन्धरसँग गरेको पत्रकार सम्मेलनमा बताएकी छन्। त्यो संवादको मसिनोसँग विश्लेषण गर्ने हो भने दिलशोभाको भनाइ झुटो मान्ने आधार छैन।
अनुसन्धानमा संलग्न प्रहरी, प्रशासन, समिति कसैले पनि ‘यौन व्यवसाय’बारे टेलिफोन रेकर्डबाहेक अहिलेसम्म अरु प्रमाण नभेटिएको बताएका छन्। संवाद रेकर्ड गर्ने अप्सरा स्वयमसँग पनि देहव्यापारको सवालमा अरु प्रमाण वा तर्क छैनन्।

बालगृह सुधार्नुपर्थ्योउद्धार गरियो

दिलशोभाले आफूविरुद्ध उजुरीबारे जानकारी पाएपछि सिडिओ कार्यालय रबालकल्याण धाउन सुरु गरिन्। बालकल्याण, सिडिओ र प्रहरी देहव्यापारको शंकाले उनीप्रति नकारात्मक भइसकेका थिए।
काठमाडौंका सिडिओ गौतमको अध्यक्षतमा बैठक बस्यो। सहायक सिडिओले सबैनिकायलाई डाकेर पटकपटक छलफल चलाए।
माघ अन्तिमदेखि फागुनको पहिलो साता बालगृह संचालनको अनुमति लिने प्रयासमा दिलशोभा लागिरहिन्। घरि कानुन, व्यवसायी घरि लेखापरीक्षकलाई लिएर सिडिओ कार्यालय र बालकल्याण धाइन्।
‘उजुर परेकाले बालगृह संचालन अनुमति दिन सकिँदैन,’ सिडिओ अफिसले नाइँनास्ती गर्‍यो। विधान संशोधनमा बालगृहको अनुमति थप गर्ने मस्यौदाको पाना संस्था दर्ता शाखाका कर्मचारीले च्यातेरै फ्याँकिदिए।
त्यो घटना भएको दुई दिनमा आमाको घरमा छापा मार्न सरकारी टोली पुग्यो।त्यहाँ रहेका ३४ बालबालिकालाई ललितपुर गोदावरीको 'सानो पाइला' बालगृह सारियो।
सरकारी टोलीले बालबालिकाको राम्रो स्याहारसुसार नभएको, घरघरमा काम गर्न पठाएको, खानपान राम्रो नभएको र बालगृहको मापदण्ड नै नपुगेको जानकारी गराए। दिलशोभाले दर्ता नै नगरी गैरकानुनी क्रियाकलाप गरेको आरोप बालकल्याण लगायतले लगाए।
दर्ता गर्ने भन्दाभन्दै मेलो नपाएर अलमल र गल्ती भएको दिलशोभाले स्विकारेकी छिन्। ‘मान्छे हो गल्ती हुन्छ, मबाट पनि भयो होला,’ उनले भनिन्, ‘मसँग दिल छ। माया, न्यानो, तातो दिन मात्र जानेको छु।’
‘क्राइटेरिया’ पूरा गर्न दुई महिना समय मागेको र त्यो पनि नपाएको दुखेसो उनको छ।
बालकल्याणका अधिकारीले आफूले वर्षौँदेखि पटकपटक दर्ता गर्न र मापदण्ड अनुसार संचालन गर्न अनुरोध गरेको तर दिलशोभाले नटेरेको बताए।
‘हामीले अकस्मात् छापा मारेका होइनौं, धेरैचोटि उहाँलाई दर्ता गर्न भन्यौं,’बालकल्याणकी अनुगमन अधिकृत नमुना भुषालले भनिन्, ‘जति मौका दिँदा पनि दिलशोभा सुध्रनु चाहनुभएन।’
दिलशोभाले भने आजसम्म दुईपटकमात्र बालकल्याणका मानिस आएको बताइन्।'पाँच वर्षअघि नागरिक पत्रिकामा मेरो कामको बारे लेखेपछि उहाँहरु एकपटक आउनुभएको थियो, त्यसपछि यसपालिमात्रै आउनुभएको हो,' दिलशोभाले भनिन्।बालकल्याणका सदस्यसचिव तारक धितालभन्दा पुरानी भुषालले 'तीनवर्ष पहिला र यसपाला माघको' अनुगमनमात्र सम्झिन सकिन्।
अप्सराले आमाको घर छोडेको भोलिपल्ट बालकल्याण अनुगमन गर्न रविभवन पुग्यो। दिलशोभाले अनुगमनमा गएका बालकल्याणका अधिकारीहरुलाई तपाईँहरु अप्सराले भनेर आउनुभएको भनेर प्रश्न गरिन्।
अप्सराले छोडेको भोलिपल्ट आफूहरु अनुगमनका लागि पुग्नु एउटा संयोगमात्र रहेको दाबी बालकल्याणका सदस्य सचिव धितालले गरे। 'वालगृहहरुकाे अनुगमन अन्तरगत आमाघरमा गएका हौं,' उनले भने, 'यहिँ चरणमा १९ वटाको अनुगमनमा गएका थियौं ।'
बालगृहलाई मापदण्ड अनुसार संचालन गराउने र बालबच्चाका लागि आधारभूत वातावरण ग्यारेन्टी गराउने जिम्मा पाएको नियमनकारी निकाय हो, बालकल्याण समिति।
आमाको घरमा बालगृह संचालन भएको छ वर्ष भयो। यसबीचमा कुनै पनि अनुगमनमा समितिले दिलशोभालाई आधिकारिक रुपमा सचेत गराएको वा पत्र लेखेर सुधार्ने कोसिस गरेको देखिएन। दिलशोभालाई लिखित सुझाव नदिएर आफूहरुबाट कमजोरीभएको बालकल्याणका अधिकारीहरुले स्विकारेका छन्।
बालगृह गैरकानुनी भने पनि केन्द्रदेखि जिल्ला बालकल्याणले आमाको घरमाबच्चा पठाएको अर्को तथ्य फेला परेको छ। बालकल्याणले २०७० जेठ १७ गते आमाको घरलाई छ वर्षको एक बालकलाई संरक्षण र पालनपोषण गरिदिन लेखेको सिफारिसपत्र सेतोपाटीलाई प्राप्त भएको छ।
‘म त सेवा गर्न जान्दछु, धेरै कानुन जान्दिन,’ दिलशोभाले प्रश्न गरिन्, ‘आमाको घर कामै नलाग्ने थियो भने किन बालकल्याण, सिडिओ, गाविसहरुले बच्चा पठाए त?’ बालकल्याणको सिफारिसमा तीन, कालिकोट, हुम्ला, मुगु लगायत सिडिओ,गाविस, जिल्ला बालकल्याण समितिको सिफारिसमा तीस जनाभन्दा बढी बच्चा राखेको दाबी उनले गरेकी छन्।
बालगृहमा कर्णालीका बच्चा अत्यधिक हुनुलाई पनि बालकल्याणका पदाधिकारीहरुले शंकास्पद् ठानेका छन्। 'कर्णालीबाट ल्याएका कतिपय बालबालिकालाई अन्त काम गर्न पठाएको लगायत आरोपमा छानबिन भइरहेको छ,’ भुषालले भनिन्, ‘बालगृह खोलेर बच्चा अन्त पठाउनु त भएन नि।’
धेरैले ठानेजस्तो र दिलशोभाले कतिपय प्रसंगमा दाबी गरेजस्तो आमाको घरमा भएका बालबालिका सडकबाट उठाइएका भने होइनन्। बुधबार 'उद्धार' गरिएका ३२ मध्ये ३० बालबालिका कर्णालीका विभिन्न जिल्ला र एकजना चितवनका हुन्।
कर्णालीका बच्चा बालगृहमा आइपुग्नुलाई दिलशोभा संयोगमात्र मान्छिन्। ‘बिबिसी साझा सवालमा जुम्ला गएकी थिएँ,’ उनले भनिन्, ‘त्यसपछि कर्णालीका बच्चा आउन थाले।’
दिलशोभालाई कर्णालीबाट बालबालिका पठाइदिनेमध्ये हुम्लाका नवराज महतरालेसेतोपाटीसँग भने, ‘टुहुरा बच्चा पठाएको छ, उनीहरुले पेटभरि खान र स्कुल जान पाएका छन्।’
हुम्लामा कहिले पढाइ नहुने, कहिले पाठ्यपुस्तक नहुने लगायत समस्या झेल्नुभन्दा मापदण्ड पूरा भए पनि नभए पनि आमाको घरको आश्रय महतरालाई सुविधाजनक लाग्छ।
बालगृहका पन्ध्र जना बच्चालाई निशुल्क पढाइरहेको एन्जेल एकेडेमी कीर्तिपुरका संस्थापक प्रिन्सिपल जोतिक नापितलाई दिलशोभा घटनाले मर्माहत बनाएको छ।
उनले तीन वर्षअगाडि नै कानुनी प्रकृया पूरा गर्न, दर्ता गर्न र पारदर्शी बनाउनदिलशोभालाई सुझाव दिएका थिए। संस्था ठूलो भइसकेकाले कर्मचारीसहितको अफिस खोलेर व्यवस्थित गर्न उनले पटकपटक घच्घच्याए।
‘कुन दिन दशा आइपर्ला र धुरुधुरु रुनुपर्ला,’ जोतिकले सम्झाएका थिए।
उनलाई दिलशोभाले नियतवश सुधार नगरेको भन्ने लाग्दैन। किनकि ‘ल न त संस्था दर्ता गर्न सहयोग गरिदिनुस्’ भनेर दिलशोभाले धेरैपटक उनीसँगै सहयोग मागिन्। बालगृहका विद्यार्थी निशुल्क पढाइदिने अर्को स्कुलको प्रिन्सिपललाई पनि त्यस्तै अनुरोध गरेको उनले सुनेका थिए।
‘हामी शुभेच्छुकले सहयोग गर्नुपर्ने कुरा थियो,’ जोतिकले भने, ‘आ–आफ्नो व्यस्तताले सकिएन, अहिले आएर बच्चाहरु उठाएर लाँदा दुखद स्थिति सिर्जना भयो।’
कानुन उल्लघंन गरौं वा अरु छलछाम गरौं भन्ने दाउ दिलशोभाले गरेजस्तो नलाग्ने मात्र हैन, सरकारी निकायले आमाको घरलाई सुधार्न लागिपर्नुपर्थ्यो भन्ने जोतिकको धारणा छ।
‘बालगृह सुधार गर्नुपर्थ्यो,’ उनले भने, ‘उद्धार गरियो।’ हुन त आमाको घरका कतिपय शुभेच्छुक र सहृदयीहरुलाई प्रशासनले प्रयोगमा ल्याएको यो ‘उद्धार’ भन्ने शव्द नै चित्त बुझेको छैन।

दुरावस्था र दुर्व्यवहारको आरोप

आमाको घरको ‘दुरावस्था’ले पनि उद्धार गर्नुपरेको सरकारी तर्क छ।बालबालिकालाई राम्रो व्यवहार नगरेकोदेखि ‘दुर्व्यवहार’ सम्मको आरोप उनलाई छ। बालबालिका राख्न कस्तो भौतिक पूर्वाधार हुनुपर्छ भन्ने बालकल्याणको पुस्तिका नै छ। ती मापदण्ड भने आमाको घरले पूरा गरेको छैन।
बालबालिका र बृद्धलाई एउटै घरमा राखिएको छ। बालबालिका सुत्ने कोठा साँघुरो छ। सुत्ने र लगाउने कपडा फोहोर छन्। आमाको घरमा बस्दा धेरै बालबालिकाका खुट्टामा चप्पल हुन्न। तर आमाको घरको अवस्था पहिलेदेखि नै यस्तै हो। पत्रपत्रिकाको प्रशंसा, दर्जनौं सम्मान पाएर दिलशोभाको हाईहाई हुँदा आमाकोघरको अवस्था अहिलेभन्दा पनि नाजुक थियो।
आमाको घरका बुढापाका र बालबच्चालाई भरथेग गर्ने शुभेच्छुक र सहृदयीहरु पहिलाभन्दा भौतिक अवस्था निकै सुध्रेको ठान्छन्। ‘पहिला भन्दा ६० प्रतिशत स्तर बढेको छ,’ प्रिन्सिपल जोतिकले भने, ‘चार/पाँच वर्ष पहिला झन् फोहोर, झन् साँघुरो र झन् अव्यवस्थित थियो।’
दिलशोभाले आफ्नो माइतीले पेवामा दिएको घरमा आफन्तले वास्ता नगरेर सडकमा आइपुगेका बुढापाकालाई आश्रय दिएर अठार वर्ष पहिला आमाको घरलाई जन्म दिएकी हुन्।
त्यसले चार वर्षपछि मात्र दर्ताको औपचारिकता पूरा गर्‍यो। त्यही घरमा एउटा पाखो थपेपछि उनले बालबालिकालाई पनि आश्रय दिन थालिन्। दुखम्, सुखम् चलाइन्।
भौतिक अवस्था सुधार्दै लगेको दिलशोभाको पनि दाबी छ। ‘विजयकुमारले अन्तर्वार्ता लिएपछि दुई वर्षयता आमाको घरलाई धेरै सहयोग आउन थालेको हो,’दिलशोभाले भनिन्, ‘सँगै जग्गा बढाइसकेको थिएँ, जापानिज दूतावासले घर बनाइदिन नक्सा बनाइसकेको थियो ।’
चामल, दाल, भुटुन, मसला, बिस्कुट लगायत खानेकुरा प्रशस्त जिन्सी सहायतामा आउने गरेको छ। श्राद्धको तिथि, जन्मोत्सव, विवाहको वार्षिकी लगायतमा खाना खुवाउनेको भीड नै हुन्छ। त्यतिबेला अघिपछि भन्दा मिठो, मसिनो पाक्छ।
‘पकाउने, सरसफाई, लुगा धुने, भान्छे गरेर चार जना छन्,’ उनले भनिन्, ‘बिहान ३ बजे उठेर अरु चार जानाको काम मै गर्छु।’
पछिल्ला वर्षमा उनको संस्थालाई सहयोग गर्नेको जुन भीड छ, त्यो तुलनामा आमाको घर फुर्तिलो देखिदैन। बच्चालाई राखेको भुँइतल्ला घाम पस्ने र हावा खेल्ने खालको छैन। बुढापाकालाई राखिएको कोठा पनि ओछ्यान जोडिएजस्तै छ।
‘सडकपेटीमा सुतेका वृद्धा उठाएर जीउमा कटकटिएको दिशा धुन नै मैले घन्टौं लगाएकी छु,’ उनी भन्छिन्, ‘हाम्रो घर सडकभन्दा राम्रो र तातो होला, त्यो भन्दा राम्रो छैन।’
उनले केटाकेटीलाई हप्की, दप्की लगाउने गरेको र चप्पल समेत लगाउन नदिएको आरोप पनि छ। चप्पल दियो कि छिनालिहाल्छन् भन्ने पीर उनलाई छ नै। हप्काएनन् भन बिग्रिन्छन् भन्ने उनको मान्यता छ।
पन्ध्र वर्ष निकै दुखजिलो गरेर संस्था चलाएकी उनको ‘टार्ने, पुर्‍याउने’ बानी गएको छैन।
नयाँले पुग्ने भए पनि पुराना लुगाफाटो लिन दिलशोभाले छाडेकी छैनन्। कसैले महँगो चामल दियो भने त्यो बेचेर मझौला खालको ल्याएर फारु गर्ने बानी पनि उस्तै छ।
खासै लेखपढ नगरेकी उनको चेतनास्तर र वृद्ध/बालबालिकाबारे ऐन/कानुनले तोकेको मान्यतामा ठूलो खाडल छ। कतिसम्म फोहोर र कति गरे सफा भन्ने उनको व्यक्तिगत चेतमै निर्धारित छ।
उनले विद्यार्थी पठाउने स्कुलका शिक्षकहरुलाई पनि बालबालिकाको सरसफाइमा ध्यान नपुगेको खट्किन्छ। ‘कतिपल्ट मैले नै स्कुलमा बच्चालाई नुहाइदिएको छु,’एन्जल एकेडेमीका संस्थापक प्रिन्सिपल जोनिकले भने।
उनले पाँच जना बच्चालाई विभिन्न व्यक्तिको घरमा काम लगाउन पठाएको आरोप पनि छ। दिलशोभाले भने काम गर्न नभई आमाको घरभन्दा राम्रो हुन्छ भनेर शिक्षादिक्षाका लागि पठाएको स्विकारेकी छिन्।
बालकल्याणका अनुसार तीन जना पोखरा र दुईजना काठमाडौंमा अरुको घरमा छन्। ‘मेरो भाइले तपाईँ मात्र कति दुख गर्नुहुन्छ, हामी पनि अलिकति सेवा गरौं भनेर लगेको हो,’ दिलशोभाले पत्रकार सम्मेलनमै भनेकी थिइन्।
बालकल्याणका अधिकारीहरुले भने त्यसबारे अनुसन्धान भइरहेको बताएका छन्।‘बालगृहले जिम्मा लिएर अन्त पठाउन कहाँ पाइन्छ?’ धितालले भने।

आर्थिक स्रोतमा दिलशोभाकै तजबिज

दिलशोभाकै अनुसार पछिल्लो दुई वर्षदेखि उनको संस्थालाई आर्थिक सहायता गर्नेको संख्या ह्वात्त बढेको छ। परोपकारको भावनाले आमाको घरलाई सहायता गर्नेमा लगभग सबैजसो नेपाली छन्, स्वदेश र विदेशमा बसेका।
सहायतामा आएको रकम बैठककोठामा रहेको मोटो खातामा लेख्ने चलन छ। तर त्यसको खर्चमा कञ्जुस्याइँ गरेको, हिसाबकिताब दुरुस्त नराखेको र हिनामिना गरेको आरोप उनीमाथि छ। उनीबिरुद् जिल्ला प्रशासन कार्यालयमा गरिएको उजुरीमा ४० लाख रुपैयाँ अमेरिकामा रहेका छोरीज्वाइँलाई पठाएकोसमेत दाबी छ।
दिलशोभाको विश्वासमा दिएको सहायताको खटनपटन उनले व्यक्तिगत तजबिजमा गर्ने गरेकी छन्। संस्थाको संचालक समिति खासै सकृय छैन।
कोषाध्यक्ष राजु शाक्यले आफूलाई हिसाबकिताबबारे केही थाहा नभएको बताए।‘दिलशोभा आमालाई सहयोग गर्न म कोषाध्यक्ष बस्दिएको मात्र हुँ,’ शाक्यले भने, ‘सबै जिम्मा आमाकै हो।’
यसपाला संस्थाको लेखापरीक्षण गर्ने युवराज घिमिरेले सेतोपाटीलाई दिएको जानकारी अनुसार यो आर्थिक वर्ष २०६९/७०मा संस्थालाई १ करोड १२ लाख भन्दा बढी नगद सहायता प्राप्त भएको छ। ‘६९ लाख संस्थाको खातामा बाँकी छ,’घिमिरेले भने, 'सिकाउने मानिस नभएर कागजपत्र दुरुस्त राख्न नसकेको देखिन्छ।'
उनका अनुसार ६० भन्दा बढी केटाकेटी र बुढापाकाका लागि संस्थामा मासिक ३ लाख ५० हजार रुपैयाँ भन्दा बढी खर्च हुन्छ।‘बुढापाकाको औषधिउपचारमा प्रशस्त खर्च देखिन्छ,’ उनी भन्छन्, ‘एकजना वृद्धाको अपरेसन गरेर बीस किलोको ट्युमर झिकेको कागज समेत छ।’
स्कुलहरुले फि माफी गरिदिए पनि ड्रेस, कापी कलम, औषधि उपचार खर्च पनि महँगो नै हुने दिलशोभा बताउँछिन्।
अनुगमन गर्ने निकायले आर्थिक पारदर्शितामा आजसम्म  प्रश्न उठाएको देखिन्न। बालकल्याण वा समाज कल्याण परिषद्ले आजसम्म हिसाबकिताब वा लेखा परीक्षणमाथि प्रश्न उठाएका छैनन्।
दिलशोभाले पनि हिसाबकिताब पारदर्शी र दुरुस्त राख्न शुभेच्छुकहरुले दिएको सुझाव कार्यान्वयन गरेकी छैनन्।
उनले व्यवस्थापन गर्न नजानेर त्यसो गरिन् वा नियतवश गरिन्, सबै जाँचपडताल नगरी भन्न कठीन छ।
उनको संस्थाको खातामा खर्च भएर बचेको ६९ लाख रुपैयाँ देखिएको तथ्यले भने आमाको घरमा आएको स्रोत बालबच्चा र वृद्धको लालनपोषणमा खर्च नगरी व्यक्तिगत लाभ लिएको भन्ने आरोपको धेरै हदसम्म खण्डन गर्छ।

युरिक एसिड कसरी नियन्त्रण गर्ने ? - onlinekhabar



आधुनिक जीवनशैली र खानपानले धेरैजना युरिक एसिडको समस्याले पीडित भइरहेका छन् । दिर्घकालीन रोगको रुपमा लिइने युरिक एसिडबाट जोगिने केही उपाय छन् । ती पालना गरे तपाईं पनि जोगिन सक्नुहुन्छ ।

१) शरिरको तौल नियन्त्रण गर्नुहोस् । बढी तौल भएको शरिरमा युरिक एसिड थुपि्रएर बस्दछ र रगतमा प्रसार हुन्छ ।

२) मासुजन्य खाद्यपदार्थमा प्युरिन रहेको हुन्छ, जसको सेवनले युरिक एसिड बढाउँछ । खासगरी रातो मासुको उपभोग कम गर्नुपर्दछ । कलेजो, किड्नी, मुटुजस्ता मांस पदार्थको उपभोग सकेसम्म घटाउनुपर्छ । मासुको सुप, बियरजस्ता यिष्टबाट प्रशोधित तरल पदार्थको सेवन पनि कम गर्नुपर्छ । सिमी, तोरीको साग, पालुंगोको साग, खसी, हाँसको मासु, गंगटा, आइसक्रिम, पाउरोटी, केक आदिको सेवन पनि युरिक एसिडको कारक बन्न सक्छन् ।

३) किड्नीको संचालन प्रभावकारी नहुँदा युरिक एसिडको मात्रा बढ्ने गर्दछ । त्यसैले दैनिक कम्तिमा १० गिलास पानी पिउनुपर्दछ ।

४) क्याल्सियमयुक्त खानाको सेवन बढाउनुपर्छ । केरा, आलु, दूध, दही, स्ट्रबेरी, कागती आदिको नियमित सेवन गर्नुपर्दछ ।

५) अल्कोहल, कोक, फ्यान्टा, स्प्राइट, पेप्सी, मिरिण्डाजस्ता सफ्ट डि्रँकको सेवन घटाउनु पर्दछ ।

६) तेलमा तारेको खानेकुरा कम खानु पर्दछ । तारेको खानेकुरामा भएको तेल तथा फ्याट रेनसिडमा परिणत हुन्छ । रेनसिडको उपभोगले शरिरमा अन्तरनिहित भिटामिन ई नष्ट गरी युरिक एसिड प्रसार हुन्छ ।

७) शारीरिक व्यायाम र मानसिक तन्दुरुस्ती नियमित राख्नुपर्दछ ।

सेयरमा लगानी गर्ने हो ? भन्नुस मलाई तत्काल धनी हुनु छैन्, वारेन बफेटको पढ्नै पर्ने पत्र - bizmandu

गैर व्यवसायिक लगानीकर्ताका लागि ‘केमा लगानी गर्ने’ र ‘कहिले लगानी गर्ने’ जस्ता विषय महत्वपूर्ण हुन्छन् । बजारमा धेरै उतारचढाव भैरहेको बेला भर्खर लगानी गर्नेका लागि उपयुक्त हुदैन । बुलिस र बियरिस बजार दुवै लगानी सुरु गर्ने समय हुन तर त्यसको जोखिम पनि हेर्नै पर्छ । बार्टोन बिग्सले बुलिस बजारका बारेमा भनेका छन्, ‘बुलिस बजार सेक्स गरे जस्तै हो । यो अन्त्य हुनुभन्दा अगाडि चरमोत्कर्षमा हुन्छ ।’ समय निर्धारण गर्न नसक्दा सेयर बजारको लगानी जोखिममा पर्न सक्छ
---
मेरो लगानीबाट फाइदा नै हुन्छ, घाटा हुँदैन भन्ने निर्णय गर्न मलाई विशेष ज्ञान र बुद्धिको आवश्यकता परेन । कहिले काहीं बालीनाली खराब भैदिंदा म दिक्क भने भएँ । त्यो भएर के भो र ? केही राम्रा वर्ष पनि आए, तसर्थ ममा जग्गा बिक्री गर्ने दवाव कहिल्यै भएन । अहिले २८ वर्ष भयो, त्यो जग्गाको आम्दानी तीन गुणा बढेको छ, यो आम्दानी मैले जग्गामा हालेको पैसाको पाँच गुणा हो । मलाई अहिले पनि कसरी खेतीपाती गर्ने थाहा छैन, मैले हालै दोस्रोपटक त्यो फार्मको भ्रमण गरेको हुँ
---
लगानीबाट सन्तोषजनक फाइदा पाउन तपाई विशेषज्ञ नै हुनुपर्छ भन्ने छैन् । यदि तपाई विशेषज्ञ होइन भने, तपाईलाई आफ्नो सीमा र उपयुक्त बाटोका बारेमा थाहा हुनुपर्छ । कुनै पनि कुरालाई सहजरुपमा लिनुपर्छ र मनको लड्डु घिउसँग खाने काम गर्नु हुदैन । कसैले तत्काल नाफा दिन्छु भन्छ भने सँधै भन्नुस, मलाई तत्काल धनी हुनु छैन् । 
---
लगानीकर्ताका लागि निरन्तर परिर्वतन भैरहने सेयर सुचकांकका आधार आफ्नो लगानीको अवस्था थाहा पाउनु लाभदायक नै हुन सक्छ, केही लगानीकर्तामा यस्तो देखिएको पनि छ । यो कुरा मेरो फार्म नजिकको कुनै सन्काहाले मेरो जग्गाको मूल्य दिन दिनै फलाके जस्तै हो । उसले मेरो जग्गा पनि किन्दैन र आफ्नो पनि बेच्दैन । यो सबै कुरा उसको दिमागी हालतमा भरपर्छ । यस्तो व्यवहारबाट कसरी संसारको परिर्वतन सम्भव छ ?
---
यो लेख विश्वकै धनाढ्य वारेन बफेटले आफ्ना लगानीकर्ता (सेयरहेल्डर्स) लाई सम्बोधन गर्दै लेखेका हुन् । लेखमा बफेटले आफूले किनेका केही रियल स्टेटको प्रसंग उदृत गर्दै स्थिर सम्पत्तिमा लगानी गर्दाको अनुभव व्यक्त गरेका छन् । सबैभन्दा ठूलो उनले सेयर बजारमा कहिले र कसरी लगानी गर्ने भन्ने टिप्स लगानीकर्तालाई दिएका छन् । वर्कसायर हाथवेका प्रमुख कार्यकारी अधिकृत बफेटले यो लेखमा आफ्नो सेयर लगानीको सुत्र पस्किएका छन् ।  फेब्रुअरी २४ मा लेखेको यो पत्र फर्चुन पत्रिकाको १७ मार्च २०१४ को अंकमा प्रकाशित हुदैछ ।
 
लगानी व्यवसायिक हुन सक्यो भने त्यो नै बुद्धिमत्तापूर्ण लगानी हो: बेन्जामिन ग्राहम, दि इन्टेलिजेन्ट इन्भेस्टर 
यो लेख सुरु गर्दा बेन्जामिन ग्राहमको महानवाणी उदृत गर्नु आवश्यक देखें किनकी मैले लगानीका धेरै विषय उनीबाट सिकेको हुँ । म बेनका बारेमा केही समयपछि कुरा गर्नेछु, तर अहिले साधारण सेयरका बारेमा केही भन्न चाहन्छु । अहिले मैले केही वर्ष अगाडि गरेका केही गैरसेयर लगानीका बारेमा मलाई बोल्ने अनुमति दिनुहोस् । ती लगानीले मेरो कुल सम्पत्तिमा कुनै फरक पारेनन्, केवल लाभदायी मात्र बनि रहे । 
यो कथा नेब्रस्काबाट सुरु भयो । सन् १९७३ देखि सन् १९८१ सम्म मध्यपश्चिममा जमिनको मूल्य निकै बढ्यो । यसको कारण थियो, बढ्दो मुद्रास्फिती र बैंकहरुको अत्याधिक लगानी नीति । त्यसपछि जग्गाको मूल्य एक्कासि झर्यो, बेलुन फुटे जस्तै गरी । जग्गाको मूल्य ५० प्रतिशत वा त्योभन्दा बढी तल झर्दा किसान र घरजग्गाका लगानीकर्ता पनि तहसनहस भए । हालैको महान मन्दीभन्दा पाँच गुण बढी ।  आईओवा र नेब्रस्कामा बैंकहरु पनि डुबे ।  
सन् १९८६ मा मैले चार सय एकड जमिन एफडिआईसिको ऋणमा ओमाहाभन्दा ५० माईल उत्तरमा किने । यसको लागि मैले दुई लाख ८० हजार अमेरिकी डलर चुक्ता गर्नु पर्यो, यो मूल्य केही वर्ष अगाडि असफल भएका बैंकले ऋण दिएको भन्दा तुलनात्मकरुपमा कम थियो । मलाई फार्म कसरी चलाउने भन्ने थाहा थिएन् । तर, मेरो छोराले फार्म मन पराउँथ्यो, मैले यसबाट त्यहाँ कति मकै र सोयाविन उत्पादन हुन्छ र त्यसका लागि कति लगानी आवश्यक हुन्छ भन्ने सिके । यो हिसाब कितावबाट मैले बुझे, फार्ममा गरेको लगानीबाट सामान्यत करिव १० प्रतिशत नाफा पाउन सकिन्छ । केही वर्षमा उत्पादकत्व बढने छ र खाद्यान्नको मूल्य पनि बढने छ, त्यसबाट नाफा बढ्ने मैले सोचें । मेरा दुवै अनुमान पुरा पनि भए ।
मेरो लगानीबाट फाइदा नै हुन्छ, घाटा हुँदैन भन्ने निर्णय गर्न मलाई विशेष ज्ञान र बुद्धिको आवश्यकता परेन । कहिले काहीं बालीनाली खराब भैदिंदा म दिक्क भने भएँ । त्यो भएर के भो र ? केही राम्रा वर्ष पनि आए, तसर्थ ममा जग्गा बिक्री गर्ने दवाव कहिल्यै भएन । अहिले २८ वर्ष भयो, त्यो जग्गाको आम्दानी तीन गुणा बढेको छ, यो आम्दानी मैले जग्गामा हालेको पैसाको पाँच गुणा हो । मलाई अहिले पनि कसरी खेतीपाती गर्ने थाहा छैन, मैले हालै दोस्रोपटक त्यो फार्मको भ्रमण गरेको हुँ ।  
सन् १९९३ मा मैले अर्को सानो लगानी गरें । म कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुँदा सालोमनका जग्गा धनी लारी सिल्भर्सटेनले न्युयोर्क विश्व विद्यालयसँग जोडिएको रिजोलुसन ट्रष्ट कर्पोरेसन बिक्रीमा छ भन्ने बताए । फेरी जग्गाको कारोबार उत्सर्गमा पुगेर सुस्ताएको थियो । रिजोलुसन ट्रष्ट कर्पोरेसनले लगानीकर्ताको साँवाव्याज तिर्न भवन बेच्न थालेको थियो । 
यहाँ पनि लगानीको फण्डा सिम्पल छ । यहाँ पनि फार्मको जस्तै लगानीको प्रतिफल १० प्रतिशत जति मात्र थियो, तर रिजोलुसन ट्रष्ट कर्पोरेसनले सम्पत्तिको व्यवस्थापन गर्न सकेको थिएन । खाली भएका धेरै भवन भाडामा लगाउन सके व्यापार बढने निश्चित थियो । यसका अतिरिक्त भवन आयोजनाको २० प्रतिशत ओगटने व्यवसायीले एक वर्गफुटको पाँच डलर मात्र तिर्ने गरेको थियो जबकी अन्य व्यवसायीले प्रतिवर्गफुट ७० डलर तिर्दै आएका थिए । यो भवन भाडामा लगाउने कामले नौ वर्षमा आम्दानी निकै बढ्यो । जग्गा न्युयोर्कको मुटुमा थियो, न्युयोर्कको भविष्य थियो । 
म लारी र मेरा साथी फ्रेड रोज सहितको सानो समूहमा मिलेर भवन खरिद गर्न थाल्यौ । लारी अनुभवी र माथिल्लोस्तरका रियल स्टेट लगानीकर्ता थिए । उनी परिवारको सहयोगमा सम्पत्ति व्यवस्थापन गर्थे । लिज समय समाप्त भएपछि आम्दानी तीन गुणा बढ्यो । वार्षिक वितरण ३५ प्रतिशतले बढ्यो । पहिलेको भवन सन् १९९६ र सन् १९९९ मा पुनः लगानी बढाइयो । यसबाट एकसय ५० प्रतिशत लिज एरिया थपियो । त्यो सम्पत्ति कहाँ छ, मैले अझै हेरेको छैन् । 
त्यो फार्म र न्युयोर्क रियल स्टेटको आम्दानी आगामी दशकमा पनि बढ्ने छ । आम्दानी नाटकीय नभए पनि मेरोे जीवनमा यी दुई लगानीको निकै महत्व छ । यसमा म सन्तुष्ट छु । यो सम्पत्ति म, मेरा छोराछोरी र नातिनातिनाका लागि समेत हुने छ । मैले यो कथा लगानीका यी केही अधारभुत कुरा बताउन भनेको हुँ ।
  • लगानीबाट सन्तोषजनक फाइदा पाउन तपाई विशेषज्ञ नै हुनुपर्छ भन्ने छैन् । यदि तपाई विशेषज्ञ होइन भने, तपाईलाई आफ्नो सीमा र उपयुक्त बाटोका बारेमा थाहा हुनुपर्छ । कुनै पनि कुरालाई सहजरुपमा लिनुपर्छ र मनको लड्डु घिउसँग खाने काम गर्नु हुदैन । कसैले तत्काल नाफा दिन्छु भन्छ भने सँधै भन्नुस, मलाई तत्काल धनी हुनु छैन् । 
  • आफुले किनेको सम्पत्तिको भविष्यका बारेमा ध्यान दिनुस । यदि भविष्यको आम्दानी अनुमान गर्न सक्नु हुन्न भने त्यसलाई विर्सनुस र अगाडि बढ्नुस । कसैले पनि सबै लगानीको अनुमान गर्न सक्दैनन् । सबै कुरा जान्नुपर्छ भन्ने छैन तर आफुले लिने कदमको लाभ र हानीको अवश्य जानकारी राख्नुस ।
  • यदि तपाई सम्पत्तिको मूल्य परिर्वतनको बारेमा सोच्नु हुन्छ भने त्यो केवल कल्पना मात्र हुनेछ । कल्पनामा  हिंडनु जस्तो खतरा कहीं हुदैन । मेरो कुरा गर्ने हो भने म लाभ र हानीको कल्पनामा कहिल्यै सफल भइन, म कल्पनामा बजार हिडाउने प्रति सधै शंकाको दृष्टीले हेर्छु । गाई त्रिशुलको खेलमा गाई र त्रिशुल आउने सम्भावना बरोबर हुन्छ । लामो समयसम्म बजारमा रहने हो भने लाभ र हानीले त्यत्ति फरक पार्दैन । पहिले राम्रो थियो भन्ने सम्पत्ति अहिले किन्ने कुनै कारण छैन् । 
  • मैले स्थिर सम्पत्तिमा गरेको दुईवटै लगानीमा मैले केवल तिनको उत्पादनका बारेमा सोंचे, पछि मूल्य कति पर्ला भन्ने सोचिन । खेल मैदानमा डटी खेल्ने खेलाडीबाट जितिन्छ नकी स्कोरबोर्डमा मात्र आँखा लगाउनेबाट । शनिबार र आईतबार सेयर सुचकांक नहेरि मस्ति गर्ने हो भने साताका कार्य दिनमा आफ्नो लगानीमा ध्यान दिनुस । 
  • ड्ड बजारमा अरुको हावा अनुमानमा हिंडनु समयको बर्वादी हो । खासमा यो खतरनाक हुन्छ, किनकी तपाई अरुको सोचको भीडमा आफ्नो सोच मार्नु हुन्छ । लगानीको सन्दर्भमा अरुभन्दा तपाईको सोच महत्वपूर्ण हुन्छ । (जब म टेलिभिजनमा सेयरको विश्लेषण सुन्छु मलाई मिक्की मेन्टलको प्रसिद्ध भनाई याद आउछ , ‘कुनै खेल त्यसबेलासम्म सजिलो हुन्छ जबसम्म त्यो समाचारमा जाँदैन ।)
सन् १९८६ र सन् १९९३ मा दुई सम्पत्ति खरिद गरियो । त्यो लगानीको प्रतिफल निर्धारण गर्न मलाई त्यसपछिका सन् १९८७ र सन् १९९४ मा अर्थतन्त्र कस्तो होला र स्टक मार्केट कस्तो होला सोच्नै परेन । त्यसबेला समाचारका के हेडलाइन थिए र लगानीका पण्डितले के भने भन्ने मैले सम्झिएको पनि छैन् । जे भए पनि नेब्रस्काको फार्ममा मकै उब्जी रहने र न्युयोर्क विश्वविद्यालयमा विद्यार्थीको चाप बढी रहनेमा मात्र मेरो चासो थियो ।
मेरो सेयर बजारमा गरेको लगानी र ती दुई साना लगानी बीचको फरक यही हो । सेयर बजारले मिनेट मिनेटमा तपाईको सम्पत्ति बताइ रहन्छ भने मैले मेरो फर्म र न्युयोर्क रियल स्टेटको कोटेसन अझै पाएको छैन । 
लगानीकर्ताका लागि निरन्तर परिर्वतन भैरहने सेयर सुचकांकका आधार आफ्नो लगानीको अवस्था थाहा पाउनु लाभदायक नै हुन सक्छ, केही लगानीकर्तामा यस्तो देखिएको पनि छ । यो कुरा मेरो फार्म नजिकको कुनै सन्काहाले मेरो जग्गाको मूल्य दिन दिनै फलाके जस्तै हो । उसले मेरो जग्गा पनि किन्दैन र आफ्नो पनि बेच्दैन । यो सबै कुरा उसको दिमागी हालतमा भरपर्छ । यस्तो व्यवहारबाट कसरी संसारको परिर्वतन सम्भव छ ? मेरो कुरा गर्ने हो भने, उसको कुरा सुनिरहनुको कुनै तुक छ्रैन, मसँग पैसा छ भने म उसको फार्म किन्छु वा उसलाई फार्म बेच्छु वा केवल फार्ममा काम गर्न जान्छु ।  
सेयरका लगानीकर्ता कहिलेकाहीँ उनीहरुका साथीको अविश्वासनीय भनाई वा तुक नभएको व्यवहारको पछि लाग्ने गर्छन । किनकी, सेयर बजारका धेरै विषय बजार, अर्थतन्त्र, ब्याजदर र सेयर मुल्यांकन आदि अनेकन कुराबाट निर्धारित हुन्छ । केही लगानीकर्ता पण्डितको भनाई सुन्छन र सबैभन्दा खत्तम कुरा तिनीहरुको अन्ध अनुसरण गर्छन् । 
जग्गा र भवन किनेर दशकसम्म चुप लागेर बस्ने मानिस समेत सेयरमा चलायमान हुन खोज्छन । यसको कारण सेयर बजारमा चलेको ‘चुप लागेर नबस, केही गर’ भनाई हो । यसरी हावामा हिंडने लगानीकर्ताले आफूसँगको तरलता अनावश्यक स्थानमा समेत लगानी गर्न पुग्छन, यो नराम्रो लत हो । 
एउटा फ्ल्यास क्र्यास वा बजारको मन्दीले मलाई त्यत्ति प्रभाव पार्दैन जति मेरो छिमेकीले मेरो सम्पत्तिमा लगाएको बचनले । बजारको उतारचढाव राम्रा लगानीकर्ताका लागि फाइदाको कुरा हो । बजार मूल्यभन्दा कम भएको बेला उसले लगानी गर्न सक्छ । लगानीमा जोखिमबाट डराउनु नै तपाईको शत्रु हुन्छ । 
सन् २००८ को अन्यमा देखिएको चरम वित्तीय मन्दीको बेला पनि मैले मेरो फार्म र न्युयोर्क इस्टेट बेच्ने कहिल्यै सोचिन जबकी मलाई मन्दी चुलिदैं छ भन्ने थाहा थियो । यदि मैले सत प्रतिशत लगानीको सोलिड बिजनेस गरिरहेको भए मैले त्यसलाई छाड्नु दुर्भाग्य हुने थियो । त्यसैकारण मैले मेरो व्यापार सेयर बजारमा छाडें । व्यक्तिगतरुपमा लगानीकर्तामा निराशा छाएको थियो, तर समूहको रुपमा उनीहरुसँग केही गर्न सक्ने उत्साह थियो । अमेरिकाको उत्पादक सम्पत्ति र मानिवीय विद्धता पृथ्वीमा विलिन हुन्छ भनेर कसैले सोच्न सक्छ ?  
जब चार्ली मुन्गर र मैले सेयरमा सानो लगानी सुरु गर्यौ त्यसबेला हाम्रो ध्यान सम्पूर्ण व्यवसाय नै खरिद गर्ने हुन्थ्यो । यसो गर्दा हामी ध्यानपूर्वक आगामी पाँच वर्षमा कति आम्दानी गर्न सकिन्छ भन्ने सोच्दथ्यौ । हामीले पहिले नै निर्धारण गरेको तल्लो सीमामा बेच्न सकिने सेयर मात्र खरिद गथ्र्यौ । 
कुनै कम्पनीको भविष्यको आम्दानी अनुमान गर्न नसकेको खण्डमा हामी त्यो कम्पनी छाडेर अर्को कम्पनीतर्फ लग्दथ्यौ । विगत ५४ वर्षसम्म हामीले संयुक्तरुपमा लगानी गर्यौं, तर कुनै पनि बेला राजनीतिक वातावरण, बजारको अवस्था र अन्यको भनाई हेर्दा राम्रो लगानीको वातावरण कहिल्यै पनि पाएनौ । तर, लगानी गर्दा हामीबीचमा यी विषयमा कहिल्यै मतभेद थिएन । 
हामीले आफ्नो क्षमताको क्षेत्रभित्र रहेर मात्र लगानी गर्नु उपयुक्त हुन्छ । यस्तो गरेमा सेयर होस वा व्यवसाय जे भए पनि भएको नोक्सानी व्यवस्थापन गर्न सक्ने सीमा भित्रै रहन्छ । दिर्घकालिन बजार जहिले पनि अपेक्षित व्यवहारबाट चल्छ र मानिसले जहाँ कारोबार बढी भैरहेको छ त्यहीं कारोबार गर्छन ।    
प्रायः धेरै लगानीकर्ताले आफूले लगानी गरेको सम्पत्तिको व्यवसायिक विश्लेषण जीवनमा सायदै गर्छन । यदि गर्न चाहे भने उनीहरुसँग भविष्यको आयको विश्लेषण गर्ने क्षमता हुँदैन । यस्ता क्षमताविहिनका लागि एउटा खुसीको कुरा छ । लगानी गर्न खासै यस्तो क्षमता आवश्यक पर्दैन । अमेरिकी व्यापारले लामो समयदेखि राम्रो गर्दै आएको छ र भविष्यमा पनि राम्रो गर्ने छ । २० औंदेखि २१ औ शताव्दीमा पनि आजका दिनसम्म आईपुग्दा डोव जोन्स इन्डेक्स ६६ बाट ११ हजार चारसय ९७ सम्म पुगेको छ । डिभिडेन्ट बढीरहेको छ । २१ औं शताव्दीमा लगानीकर्ताले अझ लाभ पाउने छन् र यो दिगो पनि हुनेछ । सेयर बजारको धेरै जानकारी नभएकाले विजेता छनोट गर्ने र लगानी गर्ने नीति लिनु राम्रो हुन्छ । बजारको चलखेल नबुझ्नेका लागि यो नै राम्रो विकल्प हो । 
गैर व्यवसायिक लगानीकर्ताका लागि ‘केमा लगानी गर्ने’ र ‘कहिले लगानी गर्ने’ जस्ता विषय महत्वपूर्ण हुन्छन् । बजारमा धेरै उतारचढाव भैरहेको बेला भर्खर लगानी गर्नेका लागि उपयुक्त हुदैन । बुलिस र बियरिस बजार दुवै लगानी सुरु गर्ने समय हुन तर त्यसको जोखिम पनि हेर्नै पर्छ । बार्टोन बिग्सले बुलिस बजारका बारेमा भनेका छन्, ‘बुलिस बजार सेक्स गरे जस्तै हो । यो अन्त्य हुनुभन्दा अगाडि चरमोत्कर्षमा हुन्छ ।’ समय निर्धारण गर्न नसक्दा सेयर बजारको लगानी जोखिममा पर्न सक्छ । 
मैले कसरी पैसा कमाएँ भन्ने बारेमा मेरो इच्छापत्रको दृस्टान्त दिन चाहन्छु । यसले मेरो लगानी व्यवहार पनि देखाउँछ । व्यवसायमा मेरो लगानी १० वर्षमा समाप्त हुनेछ । मेरो पैसा श्रीमतीको नामको ट्रष्ट र अन्य १० वटा मानवीय संस्थामा जानेछ । मैले ट्रष्टीहरुलाई दिएको सुझावमा १० प्रतिशत छोटो समयका सरकारी बण्डमा र ९० प्रतिशत सानो रकमका एस एण्ड पि इन्डेक्स फण्डमा लगानी गर्नु भन्ने  सल्लाह दिएको छु । मेरो सुझावका आधारमा नीति बनाएर ट्रष्ट अगाडि बढनेमा म विश्वस्त पनि छु । 
म फेरी बेन ग्राहमको कुरा गर्छु । मैले मेरो लगानीको सुत्र बेन ग्राहमको किताब दि इन्टेलिजेन्स इनभेस्टरबाट प्राप्त गरेको हो । यो किताब मैले सन् १९४९ मा किनेको थिएँ । यो किताब किन्नासाथ मेरो वित्तीय अवस्थामा आमुल परिर्वतन आएको थियो । 
बेनको किताब किन्नुभन्दा अगाडि म कहाँ कसरी लगानी गर्ने भन्ने खोजीमा भौतारि रहेको थिएँ । म सबै कुरा लेखेको किताव चाहन्थ्ये । किताबमा सबै कुरा लेखिएको थियो । त्यसले मलाई अर्कषित गर्यो । मैले किताबकै भरमा सेयर बजारको अनुमान गर्न थाले । म ब्रोकरको कार्यालयमा बसेर टेप सुन्न थालें । बेनको कितावमा सुत्र र तथ्यको जंजाल थियो । मैले किताबको आठौ र २० औं अध्ययाय मात्र आफ्नो प्रयोगका लागि भेटें । तिनै बुँदाले अहिले पनि मलाई लगानी बारे निर्णय गर्न सघाउने गरेका छन् ।
तपाईंको वारेन वफेट
प्रस्तुतीः यादवराज जोशी/बिजमाण्डू (एजेन्सिको सहयोगमा)