Saturday, January 26, 2013

फोन अनलक गर्नु अब ‘गैरकानुनी’ - onlinekhabar

के तपाई कुनै ‘सर्भिस अट्याच’वाला स्मार्टफोन ‘अनलक’ गरेर चलाउने बिचार गर्दैहुनुहुन्छ ? यदि त्यसो गर्दै हुनुहुन्छ भने त्यस्तो काम गैरकानुनी ठहर्ने छ । तपाईले अदालतमा मुद्दा खेप्नुपर्ने छ र २ हजारदेखि ५ लाख डलरसम्म जरिवाना तिर्नुपर्ने हुन्छ ।
खासगरि अमेरिका लगायत बिकशित मुलुकमा अहिले बिभिन्न टेलिफोन सेवा प्रदायक कम्पनीहरुले सस्तो दरमा सर्भिस अट्याचवाला स्मार्टफोन बेच्दै आएका छन् । यस्तो फोन किन्ने ग्राहकले सम्झौता अबधिभर किस्ताबन्दीमा कमभन्दा कम रकम तिरेर चलाउन पाउँछन । तर, अनलक गरेर अर्को सेवा प्रदायकको सिम राख्न पाउँदैनन् ।
तर, पछिल्ला दिनमा यसरी सेवा अबधि नसकिदै अनलक गर्ने र सस्तो मूल्यमा तेस्रो मुलुकमा पठाउने चलन बढेको थियो ।
शनिवारदेखि अमेरिकामा लागू भएको डिजिटल कपिराइट कानुनअनुसार अब यसरी अनलक गर्नु अपराध मानिने छ । ‘डिजिटल मिलेनियम कपीराइट एक्ट’ले सेवा प्रदायकको अनुमति बेगर फोन अनलक गर्नुलाई गैरकानुनी हुने ब्यबस्था गरेको छ ।
तर, तपाईले पहिलै नै फोन अनलक गर्नुभएको छ भने तपाईलाई कुनै समस्या नपर्ने एवीसी न्यूजले जनाएको छ । यस्तो ब्यबस्थालाई अमेरिकी डिजिटल अधिकारसम्बन्धी बिज्ञले आलोचना गरेका छन् । ‘ग्राहकले पैसा हालेर किनेको चिजलाई उनीहरुले जे चाह्यो त्यो गर्न पाउनुपर्छ’ रिबेका ज्याक्हेले भने-’यो राम्रो कानुन हैन् ।’
नयाँ नियमबाट टेलिफोन सेवा प्रदायकहरु भने खुसी छन् । यसले गर्दा उनीहरुको ग्राहक सेवा अबधि नसकिदै अन्त सर्ने सम्भावना कम हुनेछ । नयाँ कानुनअनुसार अब टेलिफोन सेवा प्रदायकले अनलक गर्ने ग्राहकबिरुद्ध मुद्दा हाल्न सक्नेछन् । अपराधिक प्रयोजनका लागि अनलक भएको पाइए अपराधिक मुद्दाकै रुपमा कारवाही हुने छ ।
सोसल मिडिया तथा डिजिटल मिडिया कानुनबारे ज्ञाता ब्राड सेरका अनुसार सेवा प्रदायकले उपभोक्ताबिरुद्ध मुद्दा हालेमा कम्तीमा २ हजार अमेरिकी डलरसम्म जरिवाना हुनसक्छ । अनलक गरेका फोन बेच्ने बिक्रेतालाई करिव ५ लाख डलर जरिवाना र जेल सजायँसम्म हुनसक्छ ।
तर उनले टेलिफोन सेवा प्रदायक कम्पनीहरु यति आक्रामकरुपले उपभोक्ताविरुद्ध लाग्लान र मुद्दा हाल्न तम्सिएलान भन्ने नलागेको बताए ।

Thursday, January 24, 2013

गड्यौला दिन नसक्दा हटाइएँ - nagariknews




एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि चर्चामा आएका केशव स्थापित त्यसपछि ज्ञानेन्द्रको शासनकालमा मनोनीत मेयर बने। अहिले तिनै स्थापितलाई माओवादीले काठमाडौं उपत्यका विकास प्राधिकरणमा ५ वर्षका लागि नियुक्त गरिएको थियो, तर ९ महिनाकै अवधिमा हटाएको छ। जसविरुद्ध उनी अदालतको शरणमा पुगेका छन्। कहिले माओवादीलाई ड्रेस, हतियार र रेडियो उपलब्ध गराएको तथा कहिले लभ पार्क निर्माण अनि कहिले टुँडिखेलमुनि भूमिगत पार्किङ बनाउने जस्ता महत्वाकाङ्क्षी योजना अघि सारेर चर्चामा आइरहने स्थापितले भने- प्रधानमन्त्री पत्नी हिसिला र उनकी सेक्रेटरीलाई रिझाउन नसक्दा प्राधिकरणबाट अयोग्यको बिल्ला लगाएर मलाई हटाइयो। यी र यस्तै विविध विषयमा नागरिकका रघुनाथ लामिछानेले स्थापितसँग गरेको वार्ताको विवरण :


अदालत जानुभयो रे। किन हो?
मलाई काठमाडौं उपत्यका विकास प्राधिकरणमा ९ महिनाअघि प्रमुखका रूपमा नियुक्त गरिएको थियो। अहिले काम गर्न नसकेको भन्दै अयोग्यको बिल्ला भिराएर निकाल्ने निर्णय गरियो। म त्यसैका विरुद्ध अदालत गएको।
तपाईंलाई प्राधिकरणमा लगिएकोचाहिँ किन?
एक दिन प्रधानमन्त्री बाबुराम भट्टराईले डाक्नुभयो। म गएपछि हिसिलालाई पनि बाहिर पठाउनुभयो र तपाईंसँग सिरियस कुरा गर्नु छ भन्नुभयो। त्यसपछि उहाँले एउटा सानो भूकम्प गए पनि काठमाडौं खत्तम हुन्छ, पानीको उस्तै समस्या छ, फोहोर उस्तै छ भन्दै उपत्यका बनाउनुपर्यो् भन्नुभयो। अनि मलाई तपाईं जस्तै मानिस चाहियो भन्नुभयो। त्यो सुनिसकेपछि मैले तपाईंकै पार्टीमा त्यस्ता थुप्रै मान्छे होलान्, खोज्नुस् न भनें। प्रधानमन्त्रीले आफ्नो पार्टीमा आफ्नो आइडियाअनुसारको उपत्यका बनाउन सक्ने कोही नभएको बताउनुभयो। त्यसपछि मलाई तपाईंले नै सहयोग गर्नुपर्योइ भन्नुभयो।
त्यसपछि?
मलाई प्राधिकरण प्रमुखका रूपमा काम गर्न अनुरोध गरेपछि मैले केही सर्त राखें- प्राधिकरणमा एउटा छुट्टै कोष चाहिने, यसमा १ अर्ब रुपियाँ हुनुपर्ने, नियमित बजेट अर्को १ अर्ब चाहिने, कसैको भनसुन नमान्ने, प्रधानमन्त्रीबाहेक अरु कसैलाई रिपोर्टिङ नगर्ने आदि। उहाँले सबै मान्छु भन्नुभयो। अनि मन्त्रालय भौतिक योजना तथा निर्माण मन्त्रालय जान भन्नुभयो। त्यहाँ गएको त मन्त्री हृदयेश त्रिपाठीले प्राधिकरणमा त अर्कै मानिस सिफारिस भइसक्यो भन्नुभयो। म त छक्कै परें। भएछ के भने नियमावलीमा यसरी नियुक्त हुने व्यक्ति १० वर्षको अनुभवी तथा लब्ध प्रतिष्ठित हुनुपर्ने उल्लेख थियो तर ऐनविपरित नियमावलीबाट लब्ध प्रतिष्ठित भन्ने शब्द हटाएर मलाई नगरी अर्कैलाई नियुक्त गर्ने षडयन्त्र भएछ।
अनि प्रधानमन्त्रीकहाँ जानुभएन त?
गएँ नि। उहाँले तत्कालै मन्त्रीलाई फोन गर्नुभयो। बिहानै क्याबिनेट राख्नुभयो, नियमावलीमा संशोधन गरेर ४ बजेभित्र सोही दिन राजपत्रमा छपाउनुभयो र ५ बजे क्याबिनेट राखेर मलाई नियुक्त गर्ने निर्णय गराउनुभयो। यस अर्थमा मप्रति सुरुदेखि नै षडयन्त्र भएको हो। जुन ननिकालुन्जेल कायम रह्यो।
हटाइयोचाहिँ कसरी?
मेरोबारेमा छानबिन गर्न एउटा समिति बनाइएको थियो। उक्त समितिले प्रतिवेदन दिएछ। त्यसमा 'ठोस नतिजा आउने काम नभएको' भन्ने उल्लेख छ रे। मलाई स्पष्टीकरणको मौकासमेत नदिई निकाल्ने निर्णय भयो। म स्थापित हुँ, किन बिस्थापित हुने बित्थामा?
प्रधानमन्त्रीले त्यति माया गरेर र विशेष पहलकदमी गरेर लगेको मान्छे, निकाल्नुपर्नेसम्मको अवस्थाचाहिँ कसरी आयो?यसका केही कारण छन्। पहिलो- मेरो छोरा फिनल्याण्डमा पढ्दैछ। ऊ अकस्मात बिरामी भएको खबर आयो। म त्यसतर्फ जानुपर्ने भयो। यो कुरा थाहा पाएपछि द्वारिकाज होटलकी साहू अम्बिकाकी छोरी सङ्गीताले बोलाउनुभयो। अनि उहाँले भन्नुभयो कि काठमाडौंको फोहोर व्यवस्थापनको ठेक्का त्यहाँको कम्पनीले पाएको छ। नेपालबाट एउटा टोली गएर उनीहरुसँग भेटेर 'ओके' गरेपछि मात्र उनीहरु काम गर्न आउँछन्। अहिलेसम्म कोही गएको छैन। तपाईंहरुले नै त्यसका लागि पनि पहल गरिदिए राम्रो हुन्थ्यो। खर्च सबै सोही कम्पनीले बेहोर्छ।
कुरा बुझ्दा १० लाख भए खर्च पुग्दोरहेछ। अर्को कम्पनीले आफूले ठेक्का पाउनका लागि त्यो कम्पनी नआओस् भनेर फोर्स लगाई बजेट निकाशा रोकेको रहेछ। मैले राम्रै कुरा हो, हुन्छ भनें। हिसिलाले आफ्नी सेक्रेटरी जानुकालाई पनि यो टोलीमा राख्न भनिन्। मैले राखिदिएँ। १२ जनाको टोली तयार भयो। जानु केही दिनअघि एक्कासि सङ्गीताले उक्त कम्पनी नेपालको पारा देखेर हैरान भएकाले यहाँ नआउने निर्णय गरेको सुनाइन्। ३ वर्षदेखि उक्त कम्पनीलाई यसैगरी झुलाइएको रहेछ। त्यसपछि जाने कुरै भएन। त्यही कुरा हिसिलालाई सुनाएँ।
अनि हिसिलाले मलाई झुट बोल्ने मान्छे भनेर आरोप लगाइन्। यस्तो झुट बोल्नेको क्षमतामाथि नै मलाई शंका लाग्यो भनिन्। उनकी सेक्रेटरी पनि आगो भइन्। मलाई धेरै पटक हकारिन्। हिसिलाको चिन्ता फोहोर उठाउने कम्पनी नआउने भयो भन्नेमा हैन, उनको सेक्रेटरी फिनल्याण्ड जान पाइनन् भन्नेमा रह्यो। हुन त पछि जानुकालाई ब्याङ्कक पठाइदिएँ तर पनि फिनल्याण्ड नलगेको भनेर अहिलेसम्म पनि कचकच कचकच, हैरान भइसकें।
अन्य कारण?
गएको तिहारमा जानुकाले तपाईंको घरमा देउसी खेल्न आउँछौं सहयोग गर्नुपर्छ नि भनेर फोन गरिन्। २०० जना आउँछौं भनिन्। मैले हुन्छ, मासुभात खुवाइदिउँला भनें। तर उनले योसँगै ६ अङ्कमा चन्दा दिनुपर्ने बताइन्। उनको पछि बस्नेले हुँदैन, ७ अङ्कमा दिनुपर्छ भनेर कराए। मैले कुनै हालतमा सक्दिन भनें। जाबो १०-२० लाख रुपियाँ पनि दिन नमान्नेलाई के राख्नु प्राधिकरणमा भन्न थाले। अनि मैले मेरो घरमा देउसी खेल्नै नआउ भनें। त्यहाँबाट पनि उनीहरु रिसाए।
यत्ति नै कारणमा निकाले त तपाईंलाई प्राधिकरणबाट? अरु केही कारण होला?
के हुनु, ठूला योजना ल्यायो भने हिसिला आफैं रिसाउने। अनि यस्ता योजना नल्याउ भन्ने। कुनै योजना लग्यो कि 'खालि बल्छी हाल्ने, गड्यौंला नहाल्ने' भन्थे उनीहरु। के गड्यौंला हाल्ने, खान्छ कि खाँदैन भन्यो भने गड्यौंला हालेर त हेर्नुस् भन्थे। मेरो ९ महिनाको पूरै अवधि यस्तै गड्यौंला विवादमा बित्यो। खाली अरबौंको काम भइरहेको छ, केही गर्नुपर्यो भनेर टोकसिरहने, काम भएको छ त मेरो अन्तर्गत भएको हो र? मेरै अन्तर्गत भए पनि म केही गर्न सक्दिन भनें। उनीहरु झन् रिसाउँथे।
तपाईं प्रधानमन्त्रीबाहेक अरुलाई रिपोर्टिङ गर्दिन भनेर नियुक्त भएको मान्छे। किन हिसिला र जानुकालाई रिपोर्टिङ गर्न जानुहुन्थ्यो त? यही कुरा प्रधानमन्त्रीलाई किन भन्नुभएन?बोलाउँथे। फेरि श्रीमतीको कुरा श्रीमान्लाई के भन्नु जस्तो लाग्यो।
खाने मुखलाई जुङ्गाले छेक्दैन भन्छन्, तपाईंले पनि त ९ महिनामा केही गर्न सक्नुभएन नि?
अरे बाबा के गर्ने मैले? तलबबाहेक सुको निकासा भएन त! पैसा नलाग्ने सङ्गठन तालिका बनाएँ, बजेट प्लानिङ गरें। शहरी विकास प्राधिकरण ऐन ल्याउने र त्यसअन्तर्गत १४ वटा प्राधिकरण गठन गरेर काम गर्ने अवधारणा ल्याएँ। १४ प्राधिकरणका लागि प्रधानमन्त्रीले मानिस खोजसमेत भन्नुभयो। तर काम गर भन्ने पैसा भने दिँदै नदिने। अनि मैले काम गरेन भन्न मिल्छ? केले गर्ने? कसरी गर्ने काम?
भनेपछि प्रधानमन्त्रीकै कारण तपाईंले काम गर्न पाउनुभएन?
उहाँले सम्बन्धित कर्मचारीलाई निर्देशन दिने। नदिने हैन। तर मान्दा रहेनछन्। झपारेको पनि सुनेको छु मैले। तर कार्यान्वयन नै नहुने। शहरी विकास मन्त्रालय गठन भएपछि त्यो मन्त्रालय प्रधानमन्त्रीले नै हेर्ने हुनुभयो। म एकदम खुशी भएँ। अनि काम अघि बढाउने उद्देश्यले सङ्गठन तालिका, दरबन्दी आदि लिएर गएँ, तर त्यहाँका उच्चपदस्थ कर्मचारीले सहयोग गर्नु त कता हो कता, उल्टै यो ठीक छैन भनिदिए।
अरु के कुरा गर्ने, मेरो कार्यालयमा बस्ने फर्निचरसमेत मेरो घरबाट लानुपर्योए। टावेलसमेत आफैं किनें। साइनबोर्डसमेत नभएको अफिसको के कुरा गर्नु? अनि उल्टै मैले काम गरेन भन्न पाइन्छ? एक दिन सरोकारवालाहरुलाई बोलाएर प्रधानमन्त्रीले किन प्राधिकरणलाई सहयोग नगरेको? के म जङ्गबहादुर बनेर देखाइदिनुपर्यो भनेर झपारे पनि। उनी बेलाबेला झपार्छन् पनि, कर्मचारी जति गरे पनि सहयोग गर्दैनन्, के हो के, बुझ्नै सकिएन।
भनेपछि काम नभएकै कारण हटाइएको रहेछ?
पख्नुस्, म हटाइनुका अरु पनि केही कारण भन्नैपर्छ। मसँग पुरातत्व विभागका पदाधिकारीले तीलगङ्गाबाट गुह्येश्वरी जाने बाटो बन्द नगरे युनेस्कोले उक्त क्षेत्रलाई विश्व सम्पदा सूचीबाट हटाउने भएकाले त्यो बाटो रद्द गर्न आग्रह गरे। मैले सबैतिर बुझें। सेनासँग पनि कुरा गरें। कुरा ठीकै लाग्यो। अनि उक्त बाटो रद्द गर्नुपर्छ भनें। तर उक्त बाटो हिसिलाको सांसद विकास कोषको पैसाबाट खोलिएको रहेछ। मलाई के थाहा? त्यसबाट पनि उनी फायर!
अर्को सार्वजनिक गर्नैपर्ने कुरा पनि छ- 'मिडिल इष्ट'तिर काम गर्ने जन्मजय ढकाल भन्ने एक जना छन्। उनका श्रीमतीमध्ये एउटी हाल काभ्रेकी एसपी गीता उप्रेती पनि हुन। जन्मजय र गीताबीच सम्पत्ति झगडा छ। एकदिन कुरैकुरामा मेरो साथीले ब्यापारका क्रममा जन्मजयलाई ७० लाख दिन बाँकी रहेको प्रसङ्ग आयो। गीता, हिसिला र जानुका राम्रो हिमचिम भएका मानिस रहेछन्। त्यसपछि हिसिलाले जन्मजयलाई तिर्नुपर्ने ७० लाख गीतालाई दिलाइदिन भनिन्। मैले यो मेरो वसको कुरा होइन भनेपछि जसरी पनि दिलाइदिनुपर्छ भनेर जबर्जस्ती कुरा गरिन्। त्यो मैले सक्ने कुरा थिएन, यसबाट पनि उनी मसँग एकदमै रिसाइन्। अदालतले समेत उनीहरुको झगडामा एकले अर्कोलाई केही दिनु नपर्ने फैसला गरिसक्यो, तर पनि हिसिला मलाई जसरी पनि दिलाइदेउ भनेर दबाब दिएको दियै। मलाई निकाल्ने वातावरण यसरी तयार हुँदै गयो र अन्ततः निकालियो पनि।

भनेपछि प्रधानमन्त्री पत्नी र उनकी पनि सेक्रेटरी रिजाउन नसक्दा पदबाटै हात धुनुपर्यो?
कस्तो गजब भने नि मलाई निकाल्ने निर्णय भएर म अदालत गइसकें, त्यही पनि जानुकाले फोन गरेर १० गते (अस्ति) २० लाख र केही दिनपछि २० लाख दिने भए ३ महिनाका लागि म्याद थप्ने रे! भन्दैथिइन्। त्यसपछिचाहिँ यही सरकारकै ठेगान छैन, ३ महिनाचाहिँ थपिदिन्छौं भन्छ बा! मलाई पैसा दिई दिई किन थपाउनुपर्योत म्याद? फेरि म त अदालतै पुगिसकें त यो निर्णयविरुद्ध। त्यति पनि थाहा छैन तिनीहरुलाई, कस्ता मान्छे रैछन्!
तपाईं त प्रचण्डको मित पनि। आफूलाई यसरी निकालेको कुरा प्रचण्डलाई भन्नुभएन?
हेर्नूस्, यो मितको प्रसङ्ग पनि बडो गजवको छ। माओवादी सार्वजनिक भएको १५-२० दिनमै प्रचण्ड र बाबुराम मेरो घरमा आए। मैले खाना खाने प्रस्ताव राखें। तर बाबुरामले नखाउँ भन्दाभन्दै प्रचण्डले चाहिँ मान्नुभयो। त्यही बेला मैले उहाँहरुलाई काठमाडौं विकासबारे आफ्ना धारणा राखें। काठमाडौंको जाम, फोहोरमैला समस्या, सुकुम्बासी, पानी आदि समस्या समाधानको उपाय सुझाएँ। मेलम्चीको सेयर सर्वसाधारणलाई बेचौं, यसबाट उनीहरुको सोझो चासो र संलग्नता हुन्छ, अनि काम पनि अघि बढ्छ भनें। यी सबै कुरा सुनेपछि प्रचण्डले भने- गुलेलीबाट आन्दोलन सुरु गरियो। तर विकासचाहिँ गर्न सकिन्छ जस्तो लागेको थिएन तर अब तपाईंको कुरा सुनेपछि भने म विकास गर्न सकिने निष्कर्षमा पुगें। हाम्रो कुरा फ्युजन भयो, हामी मित भयौं। त्यसपछि बाबुरामले बाहिर रहेका सबैलाई पनि भित्र बोलाउनुभयो र मित लगाएको घोषणा भयो। ताली बज्यो।
अनि प्रचण्डकी श्रीमती र तपाईंकी श्रीमती पनि मितिनी...?
त्यसको एक सातापछि फेरि प्रचण्ड र सीताजी आउनुभयो। अनि प्रचण्डले भन्नुभयो- विकास कसरी गर्न सकिन्छ भन्नेबारे तपाईंले बताएका सबै कुरा यिनलाई भनें। मैले तपाईंले भनेजसरी व्याख्या गर्न सकिन। अनि यिनी एकदम उत्सुक भएर तपाईंकै मुखबाट सुन्छु भनेर आएकी हुन। त्यही बेला उहाँले नै सीताजी र मेरी श्रीमतीबीच मित लगाउने प्रस्ताव राख्नुभएको हो। तर मेरी श्रीमती अलि फरकखालकी छिन्, उनले मानिनन्।
त्यही त, त्यति राम्रो सम्बन्ध भएर पनि अहिलेको कुरा किन प्रचण्डलाई नभनेको भन्या?
हेर्नूस्, हिसिला भौतिक योजना मन्त्री भएका बेला बाबुरामले फोन गरेर तिनलाई मन्त्रालयको काममा सघाइदिनुपर्योन भन्नुभयो। ल न त जानेको सघाइदिउँ भनेर गएँ पनि। एक दिन वाइसिएलको नेता सागर आएर ...हाम्री दिदीसँग किन आएको, यहाँ के काम छ, गइहाल' भनेर थर्काए। कुटौंलाझैं गरे। यो सबै दृश्य देख्दा पनि हिसिलाले खासै केही भनिनन् सागरलाई। यो कुरा बाबुरामलाई भनें। उहाँले बालाजुमा हाम्रो विस्तारित बैठक हुँदैछ, त्यसपछि पार्टीमा मेरो पकड बलियो हुन्छ, अनि म तपाईंलाई पूरा प्रोटेक्सन गरौंला भन्नुभयो। अब यस्तो अवस्था छ, त्यही भएर कसलाई के भन्ने। कहिले को बलियो भएर सुरक्षित हुनुअघि नै मारिएँ भने के गर्ने भनेर उनीहरुको सङ्गत नै छाडिदिएँ। त्यहाँमाथि पनि मेरो झन् धेरै समय भयो मितसँगै भेटघाट नभएको।
तपाईं त माओवादीलाई सशस्त्र युद्धकालमै रेडियो, आर्मी ड्रेस व्यवस्था गरिदिने मान्छे, उल्टै वाइसिएल नेताले तपाईंलाई नै थर्काए त?
हो, मैले उनीहरुलाई यस्तो सहयोग उपलब्ध गराएको हो। माओवादीसँग पहिलो पटक वार्ता हुने भएपछि टोली काठमाडौं आयो। वार्ता विफल भएपछि उनीहरुलाई कसैले पनि होटलमा राख्न मानेनछन्। कृष्ण केसीले मेरो घरमा राखिदिनुपर्योल भने। मैले हुन्छ भनें। त्यही क्रममा कुराकानी हुँदा मैले रेडियो ल्याउनूस्, टिभी खोल्नूस् भन्ने सल्लाह दिएँ। ड्रेस तयार पार्नूस् भन्ने सल्लाह दिएँ। बादल र महराले सहयोग गर्नूस् न त भन्नुभयो। मैले गर्दिन्छु भनें। भोलिपल्ट उनीहरु मेरो घरबाट बाटो लागे। भागे भनौं। त्यसको भोलिपल्ट त दाङ हानिहाले। त्यसपछि त उनीहरुलाई राखेको भनेर सबै मप्रति फायर? परेन विपत्?
तिनै कृष्ण केसीले एफएमबारे सोधे। मैले सबै बताइदिएपछि उनैमार्फत् ३५ लाख रुपियाँ ल्याएर दिए। मैले अमेरिका पुगेर ६ वटा स्टेशनका लागि पुग्ने सामान ल्याइदिएँ आफैं। चाइना गएर कपडा र जुत्ता बन्दोबस्त गरिदिएँ। हतियारको कुरा गरिदिएँ। तर दुर्भाग्यवश, यो कुरा राजाकहाँ पुर्याइदिएछन्।
अनि राजाले बोलाए कि कसैमार्फत् केही सन्देश आयो त्यसपछि?
दशैंको बेला थियो, सेनाको एउटा ठूलै मान्छेले टीका लगाउन आउ भन्यो। मैले कहिल्यै नबोलाउने मान्छेले किन टीका लगाउन बोलायो भनेर आउन्न भनें। तर उसले दुवैले दुवैको हातबाट टीका लाउनु राम्रो हुन्छ भन्दै करै गर्योा। त्यसपछि गएँ। अनि उसले रक्सी निकाल्यो र माओवादीका लागि हतियारको कुरा गरेको कुरा राजाकहाँ पुगेको जानकारी गरायो। सँगै भन्यो कि तँलाई मार्न एउटा टीम नै गठन भएको छ भागिहाल्। नभन्दै भोलिपल्टै भागें अमेरिका। माओवादीलाई सहयोग गरेवापत झण्डै यसरी ज्यानै गएको मान्छेलाई उल्टै माओवादीले दुःख दिइरहेको छ हेर्नूस् न। के भन्ने अब?
कहिले एमाले, कहिले माओवादी, कहिले प्रजा परिषद्, के हो तपाईं त बुझ्नै नसकिने मान्छे पो हुनुहुँदोरहेछ त?
हेर्नूस्, म प्रजा परिषद्को अध्यक्ष हुनुको पनि कारण छ- जब म सेनाको सल्लाहअनुसार भागेर अमेरिका गएँ, कि उतै बस्नुपर्यो कि त नेपालमा आउन राजाको आँखामा छारो हाल्न सक्नुपर्थ्यो। मैले यसो सोचें, प्रजा परिषद्का रामहरि शर्माका छोरा मेरा साथी थिए। अनि उनीमार्फत् प्रजा परिषद् युवा नेतृत्वको हातमा जानुपर्ने प्रस्ताव अघि बढाएँ। र, प्रस्ताव आए आफैं यो जिम्मेवारी सम्हाल्ने पनि बताएँ। नभन्दै प्रस्ताव आयो र अध्यक्ष बनें। राजालाई जोगाउने पार्टीको अध्यक्ष भएपछि ममाथि राजाले शंका गर्ने अवस्था भएन। यसरी नेपालमै बस्नका लागि राजाले शंका नगरुन् भनेर मात्र म प्रजा परिषद्मा गएको हुँ। त्यसमार्फत् गर्न त के नै सकिन्थ्यो र? मैले आफूले कमाएको १५-२० लाख रुपियाँ भने प्रजा परिषद्मा लागेर सिध्याएँ। अर्को कुरा म माओवादी त हुँदै होइन।
तपाईं के त?
म एमालेको साधारण सदस्य तर बल्खु नजाने।
आफ्नै कार्यालय नजाने पनि सदस्य हुन्छ?
बोलाउँदैनन्, किन जाने?
सबै साधारण सदस्यलाई आउ भनेर सम्भव होला र त्यत्रो पार्टीमा?
त्यो त हो, जिम्मेवारी पनि खासै छैन।
जिम्मेवारी पार्टीले दिने कि, आफूले खोज्ने?
चुनाव लडेको केन्द्रीय सदस्यमा, हारियो। त्यसपछि जिम्मेवारी हुने कुरै भएन। कस्तो भयो भने मलाई महाधिवेशनका बेला केपी ओली र बामदेव गौतम दुवैले हाम्रो तर्फबाट उठ्नुपर्छ भने। मैले यसो कुरा सोच्दा बामदेवतर्फबाट उठ्नुपर्ला भन्ने सोच बनाएँ। उम्मेद्वारी दिने दिन बामदेव बिरामी पर्नुभयो, उहाँको मुखै बाङ्ग्यो, उता केपीसँग पनि टाढा भइहालियो। त्यही भएर मलाई साथ दिने कोही पनि भएन। ५ सय चानचुन भोट ल्याएर पनि हारें। बामदेवको मुख बाङ्गिनु नै मेरो भाग्य बाङ्गिनु भयो। अहिले जिम्मेवारीबिहीन भएको त्यही भएर हो।
तपाईंलाई ज्ञानेन्द्रको मान्छे पनि भन्छन्, उनको शासनकालमा तपाईं काठमाडौंको मेयरमा मनोनीत पनि हुनुभयो। ज्ञानेन्द्रसँग पनि राम्रै हिमचिम छ जस्तो छ त?
हेर्नुस्, म निर्वाचित मेयर भएकै बेला ज्ञानेन्द्रले निर्मल निवासमा बोलाए। आफूले गरेका काम, भावी योजना आदि लिएर गएँ। मलाई काठको सामान्य कुर्सीमा बस्न भने। मैले बसाई कम्फर्टेबल भएन भनें। अर्को कुर्सी मगाइदिए। कुरा सुरु गर्दा उनी टाढा बसे, मैले कानमा समस्या भएकाले वरै बसौं भनें। उनी वरै आए। मैले बोल्न लागेपछि काठको ठूलो कलम लिएर टिप्न थाले, मैले टिप्ने भए कुरा नगर्ने भनें। त्यो पनि माने। उनले सोधेका सबै कुराको उत्तर दिएँ। उनका सचिव पशुपतिभक्त महर्जनले बेलाबेला आँखा सन्काउँथे, उनले भयो भनेको रहेछ, मैले त ठीकै छ भन्ठानेको बुझें र झन् कुरा गरिरहें।
कुराकानीकै क्रममा राजाले राजतन्त्रको भविष्य के हुन्छ भनेर सोधे। मैले ठीक छैन भनिदिएँ। अनि उनले के गर्ने त भने। मैले नागार्जुनलाई लभ पार्क बनाइदिएमा केही लम्बिने सुझाव दिएँ। लभ पार्क बनाइदिए त्यहाँ दैनिक हजारौं युवायुवतीले रमाइलो गर्न पाउने भएकाले त्यो पुस्ता राजतन्त्रको पक्षमा हुने सक्ने बताएँ। यो सुनेपछि पहिलेदेखि नै रिसाएका ज्ञानेन्द्र आगो भए। उनको घोक्रो फुलेको बाहिरैबाट देखिन्थ्यो। उनी रिसाएपछि यसैगरी घोक्रो फुलाउँदा रहेछन्। अनि बढी कुरा नगर्न चेतावनी दिए। राजा, पानी र आगोसँग नजिक नहुनु भन्थे हो रहेछ सरकार भन्दै म निस्कें।
बाहिर निस्केको मात्र के थिएँ, राजाका मान्छे विवेक शाह, पशुपतिभक्तलगायत्ले थर्काए। ४० मिनेट भनेको डेढ घन्टा कुरा गर्ने, जथाभावी बोल्ने भनेर पिटौंलाझैं गरे। यो गलफती सुनेर राजासमेत बाहिर निस्के, म बाहिरिएँ। यसरी निस्केको मान्छेलाई फेरि कमल थापाले बोलाएर ज्ञानेन्द्रकै पालामा मेयरमा बसिदिन प्रस्ताव गरे बा! मैले पनि विकास गर्न यो वा ऊ पार्टीको हुनुपर्छ भन्ने ठानिन र मेयरमा गएँ। जसले जसरी बुझे पनि हाम्रो सम्बन्ध भनेको यस्तै हो।
तपाईं खेलकुद परिषद्को सदस्यसचिव पनि हुनुभयो। खेल नेताका रूपमा केशव स्थापित सफल मान्छे कि असफल?
खेलकुद क्षेत्रमा जम्मा दुई जनाको नाम आउँछ- शरदचन्द्र शाह र केशव स्थापित। यी दुई मात्र सफल भएकाले नै नाम आएको हो।
कसरी?
मैले चार रुपियाँको चना र चिउरा खानेलाई टन्न खाजा खान सक्ने बनाएँ। विचरा, आम्दानी नै थिएन, कहाँबाट राम्रो खाजा पाऊन्? मैले एक लट १९३, अर्को लट १४३, फेरि २२ गरी धेरै जनालाई रोजगार दिलाएँ। यसरी मानिस राख्दा पार्टी हेरिन, विचार हेरिन। यही कारण धेरै मानिस निर्धक्करूपमा खेलकुद क्षेत्रमा लाग्न सके।
प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घको नेता पनि हुनुभयो। कस्तो रह्यो युवा सङ्घमा बस्दाको अनुभव?
युवा सङ्घ गठनको अवधारणा नै मेरो हो। झण्डादेखि सबै मेरै सोचको उपज हो। पार्टी अध्यक्ष मनमोहन अधिकारीले आफ्नो पार्टी धेरै ठूलो भइसकेकाले चुनावमा २८ देखि ३२ सिट ल्याउँछ भनेर भाषण गरे। त्यो पनि उनलाई लागेको भन्दा अझै बढाएर भनेका थिए तर युवा सङ्घले ड्राइभ गरेकाले यो चुनावमा एमालेले ६९ सिट जित्यो। त्यहीँबाट पनि मेरो नेतृत्व कस्तो थियो भन्ने प्रष्टिन्छ। त्यसमा पनि २५ सिट त एकदम कम अन्तरको मतले मात्र हारिएको थियो।
मान्छेहरु केशव स्थापित हावादारी हो भन्छन् नि? कहिले च्छो-रोल्पाको पानी मिनरल वाटर बनाएर सिङ्गापुर लैजाने कुरा गर्छ, कहिले टुँडिखेलमुनि भूमिगत पार्किङ बनाउने कुरा गर्छ, यस्तै गफमात्र दिन्छ भन्छन् त?हो, यसबारेमा ममाथि धेरै नै प्रहार हुने गरेका छन्। तर मैले भनेका सबै कुरा साँचो हुन् र गर्न पनि सकिन्छ। यो नबुझ्नेले मात्र मलाई गफाडी भनेका हुन।
कसरी सम्भव हुन्थ्यो यस्ता काम? तपाईंले भनेजस्ता काम त एउटा पनि भएका छैनन् त?
मसँग डोनर छन्। कम्तिमा उनीहरुलाई रोक्नुभएन। वैदेशिक सहयोग लिनसमेत रोक्ने, आफू पनि पैसा नदिने, अनि कसरी काम हुन्छ? काम गर्न नदिने अनि स्थापित हावादारी हो भन्न पाइन्छ? फुटबल खेल्न त टीम चाहिन्छ, रेफ्री चाहियो, खेलाडी चाहियो, गोलकिपर चाहियो। गोलपोष्ट नै नभई कहाँ गोल गर्ने? सरकारले टिम त बनाइदेओस्, अनि म हावादारी हो कि होइन देखाइदिन्छु। तर खोइ सहयोग राज्यबाट?
अदालतले जिताइदिए त फेरि प्राधिकरण गइहाल्नुहुन्छ, हराइदियो भने के गर्नुहुन्छ?
उही योगा, उही ध्यान, उही व्यापार। अर्थात् पुरानै दिनचर्यामा गइहाल्छु।
राजनीतिचाहिँ नगर्ने?
यी सबै कामलाई प्राथमिकता दिएर पनि राजनीति सँगै लैजान सकिहालिन्छ नि। एउटा गर्ने भनेको अर्को छाड्ने भन्या हैन।
मुलुकमा अहिले जारी राजनीतिक गतिरोधको निकाश के हो?
मलाई यस्ता कुरामा खासै मतलव छैन अचेल।
राजनीति गर्छु भन्ने, अनि यस्ता कुरामा मतलव गर्दिन भन्न मिल्यो र?
हुन त म गएपछि के गर्छु भन्ने प्रष्टता भएन तर पनि सुशील कोइरालालाई प्रधानमन्त्री बनाएर अघि बढ्दा मुलुकमा जारी राजनीतिक गतिरोधले निकास पाउने सम्भावना बढी देख्छु।

सर्प हुँ भन्ने छोरालाई टोकेरै मारे बाबुले - onlinekhabar

जापानमा एक जना बाबुले आफ्नै छोरलाई टोकेर मारेका छन् । छोराले म सर्प हुँ भन्दै सर्प जस्तै अभिनय गर्न थालेपछि रिसले आगो हुँदै छोराको टाउको लगायतका विभिन्न ठाउँमा टोकर हत्या गरेका हुन् ।
जापानको अन्जो क्षेत्रमा बस्ने ५३ वर्षका कात्सुमी नागायाले आफ्नो २३ वर्षे छोरा ताकुयालाई सरीरका विभिन्न संवेदनशील अंगमा विभत्स तरिकाले दाँत गाड्दै कुटपिट समेत गरेर सख्त घाइते बनाएको र अस्पताल लग्ने बित्तिकै ताकुयालाई मृत घोषित गरिएको जापानी टेलिभिजन आशाइले जनाएको छ ।
ताकुयाले आफू सर्प बनेको भन्दै घरमा यताउता घसि्रएरै हिड्ने र बाउको वरीपरी समेत डस्छु भन्दै जिस्काउने गर्न थालेपछि कात्सुमीको रिसको पारो चढेर छोराको दिमागमा चढेको सर्पको भूत हटाउन भन्दै टोकाइ आक्रमणमा उत्रिएका रहेछन् । प्रहरीसँगको बयानमा कात्सुमीले छोराको मस्तिष्कबाट सर्पको भूत भगाउन आफुले उसलाई टोकेको तर त्यसरी मर्ला भन्ने हेक्का आफुलाई नभएको बताएका छन् ।

Tuesday, January 22, 2013

कसले यी मूर्ति चोरेर अमेरिका पुर्‍यायो? - mysansar

तपाईँले छेउमा देखिरहनुभएको मूर्ति वज्रपाणीको हो। काठमाडौँ उपत्यकाका अज्ञात कलाकारले यसलाई १० औँ शताब्दीको अन्त्यदेखि ११ औँ शताब्दीको सुरुवाती वर्षताकाको बीचमा बनाएको विश्वास गरिएको छ। तर यो मूर्ति अहिले काठमाडौँमा छैन। अमेरिकाको कुन चाहिँ धनाढ्यको निजी संग्रहमा यो कला सजिएको छ। यी र यस्ता काठमाडौँ उपत्यकाका नेवार कलाकारहरुले बनाएका प्राचीन सम्पदारुपी कलाहरुको प्रदर्शनी अहिले अमेरिकाको क्यालिफोर्नियास्थित Crocker Art Museum मा “Celestial Realms: The Art of Nepal” शीर्षकमा भइरहेको छ। आउँदो फेब्रुअरी १० तारिखसम्म जारी रहने यो प्रदर्शनीमा छिर्न १० डलरको टिकट काट्नु पर्छ। नेपालका ४० वटा ऐतिहासिक सम्पदा अहिले विदेशी भूमिमा सजिएका छन्। तिनीहरुलाई कसले चोरेर, बेचेर सात समुद्रपारी पुर्‍याए, हामीलाई थाहा छैन। जसले गरे, उनीहरुले प्रशस्त सम्पति कमाए। तर राष्ट्रलाई घात गरे।

म्युजियमले प्रदर्शनीमा राखेको परिचय-
Celestial Realms: The Art of Nepal from California Collections
On view on the Museum’s second floor.
The Newar people, who have inhabited Nepal’s Kathmandu Valley for centuries, are renowned for their skill as artisans, creating both Buddhist and Hindu sculptures, paintings, and architectural carvings. While Indian art inspired early Newari art, these artists developed a unique style that influenced both Tibetan and Chinese artists. This exhibition explores Newari art through paintings, ritual objects, and stone, wood, and bronze sculptures drawn from private California collections and the collection of the Crocker Art Museum. These 44 diverse works highlight the richness of Nepalese culture. A full-color catalogue featuring an essay by independent scholars Nancy Tingley, Ph.D., and Nutandhar Sharma will accompany the exhibition.

अमेरिकाको यही स‌ंग्रहालयमा मात्र नेपाली मूर्ति रहेको हैन। बोस्टनको म्युजियम अफ फाइन आर्टस, शिकागोको स‍ंग्रहालय लगायतका धेरै स‍ंग्रहालयमा यस्ता ऐतिहासिक कलाकृति सजाएर राखेको पाइन्छ। न्युयोर्कको ‘मेट्रोपोलिटेन म्युजियम अफ न्युर्योक’ मा पनि हाम्रा यस्ता चोरीका कलाकृति सजिएका छन्।
नेपालबाट अमेरिका ल्याइएको भनिएको १३ औं शताब्दीमा निर्मित ठानिएको पद्मपाणी बुद्धको मुर्ति न्युयोर्कमा गत वर्ष भएको एक लिलाम बढाबढमा २४ लाख ९० हजार डलरमा बिक्री भएको थियो
क्यालिफोर्नियाको म्युजियममा अहिले प्रदर्शनीमा राखिएका मूर्तिहरु मध्ये थप केहीको फोटो-

भैरवको यो मूर्ति १७ औँ शताब्दीको हो।

सिद्धलक्ष्मीको यो मूर्ति पनि १७ औँ शताब्दीको हो।

यो पनि १७ औँ शताब्दीको मानिएको छ।
विक्रम संवत् २००७ सालमा नेपाल विश्वका लागि खुला भयो। त्यसपछि पञ्चायत कालमा यस्ता धेरै मूर्ति चोरिए, बाहिरिए। स्व. लैनसिंह वाङ्गदेलको ‘Stolen Images of Nepal’ र Jurgen Schick को ‘The Gods are leaving the country: art theft from Nepal’ पुस्तकले चोरिएका कलाकृतिबारे विश्वमा चेतना जगाउन मद्धत गर्‍यो। तर चोरिएका यस्ता सबै कलाकृतिलाई नेपाल फर्काउन इमान्दार प्रयास भने हुन सकेको छैन। जसरी इजिप्टमा भएको छ। उदाहरण हेर्नुस्।
लैनसिंह वाङ्गदेलको पुस्तकमा रहेका चोरिएका कलाकृतिका फोटो र जानकारीबारे विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुस् तपाईँलाई साँच्चिकै देशको माया लाग्छ भने यी चोरिएका, अङ्गभङ्ग पारिएका मूर्तिहरु देखेर मन रुनेछ। यसमा रहेका सबै मूर्तिहरु पञ्चायत कालमा चोरी भएका मूर्तिहरु हुन्।
चोर्नु जतिकै अपराध चोरी भएका सामान किन्नेको पनि मानिन्छ। त्यसैले वाङ्गदेल र Schick को पुस्तकमा रहेका चोरिएका मूर्तिका फोटोहरुलाई धेरैले आधार बनाएका छन्। तर चोरिएका सबै कलाकृतिको पूर्ण जानकारी भने त्यसमा छैन। काठमाडौँ भ्याली प्रिजर्भेसन ट्रस्टले पनि चोरी भएका कलाकृतिबारे जानकारी अनलाइनमा राखेको छ। यहाँ चाहिँ पञ्चायत अन्त्य भएर बहुदल काल लागेपछि चोरी भएका कलाकृतिको जानकारी छ। हेरौँ केही जानकारी-
WINDOWS AND WALL NICHES
1. KATHMANDU, ITUM BAHA, KAYAGU NANI. KAYAGU AGACHE
2. PATAN, SWATHA TOL. SWATHA NARAYAN TEMPLE 
3. PATAN, DARBAR SQUARE. CAR NARAYAN TEMPLE
4. PATAN, DARBAR SQUARE. VISVESVARA TEMPLE
5. PATAN, SWATHA TOL, RADHA KRISHNA TEMPLE



TYMPANA
1. PATAN, KWALKHU TOL. UMA MAHESHVARA TEMPLE
2. PATAN, SULIMA TOL. JOSHI AGAMCHEN
3. KATHMANDU, ASAN TOL. ANNAPURNA TEMPLE
4. PATAN, SULIMA TOL. SULIMA RATNESVARA TEMPLE


CARVED ROOF STRUTS

1. KATHMANDU, ITUM BAHA. KESH CHANDRA MAHAVIHAR
2. KATHMANDU, YETKHA TOL. YETKHA SATTAL
3. PATAN, SULIMA TOL. SULIMA RATNESVARA TEMPLE
4. PATAN, PATUKVA TOL, PATAN DARBAR WORLD HERITAGE SITE. LAKSHMI NARAYAN TEMPLE
5. PATAN, PATAN DARBAR WORLD HERITAGE SITE. TALEJU TEMPLE
6. KATHMANDU, CHUSYA BAHA

तपाईँले पनि विदेशमा कतै चोरिएका नेपाली कलाकृति देख्नुभएको भए सके फोटोसहितको जानकारी तल कमेन्टमा दिनुस्। अथवा कोही क्यालिफोर्नियामा हुनुहुन्छ भने फूर्सदमा यो म्युजियममा गएर त्यहाँ राखिएका नेपालका सबै कलाकृतिको फोटो खिचेर हामीलाई बाँड्न सक्नुहुन्छ। के थाहा, कसैले ठ्याक्कै यो कहाँबाट चोरिएको हो भनेर पत्ता लगाइहाल्छन् कि। अनि शायद सन् २००० मा बर्लिनको म्युजियमले हाम्रो मूर्ति हामीलाई नै फर्काए जस्तै फर्किन पनि सक्छ कि! म्युजियमको ठेगाना यहाँ छ।

शाकाहारी हुनुका फाइदा - onlinekhabar

जैविक रुपमा मान्छे उभयभक्षी जिव हो । अर्थात् यो मांशाहारी र शाकाहारी दुबै हो । यद्यपि कोही मानिसले मासुजन्य पदार्थ खाँदैनन् र शाकाहारी हुन्छन् । तर समग्रमा सबै मान्छेको जैविक चरित्रको व्याख्या गर्दा मानवजातीलाई उभयभक्षी भन्ने गरिन्छ ।
मानिस शाकाहारी बन्नु वा मासुजन्य पदार्थ नखानुका विभिन्न कारण हुनसक्छन् । घरपरिवारको संस्कार, धर्म, परम्परा, अरुची वा मनोवैज्ञानिक प्रभाव । मासु खाँदा स्वास्थ्यमा असर पर्छ र शाकाहारी भोजनले लाभ हुन्छ भन्ने जानेर शाकाहारी बन्ने मानिसहरु निकै कम छन् ।
वास्तवमा जो शाकाहारी भोजनको लाभ जान्दछ र सोही मुताविक मांशाहारी भोजन त्याग गर्छ त्यो स्वास्थ्यका दृष्टिले मात्र नभै मनोवैज्ञानिक हिसाबमा पनि फाइदाजन हुन्छ ।
निरोगी पेट: शाकाहारी बन्नुको पहिलो फाइदा भनेको यसले तपाइँको पेट स्वस्थ बनाउँछ । शाकाहारी मान्छेले मासुको साटो प्रसस्तै हरियो सागसब्जी खाने भएकाले हरीयो सागपातमा पाइने फाइबर तत्वले आन्द्रा तथा समग्र पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ । सागपातले पेटको क्यान्सरको खतरा पनि कम गर्ने बताइन्छ ।
बोसोबाट मुक्ति, स्वस्थ मुटु: शाकाहारी आहारमा कम चिल्लो तथा सोडियम पाइन्छ । मांशाहारी भोजनमा हानिकारक बोसो पाइने भएपनि शाकाहारी आहारमा पाइने चिल्लो पदार्थ मानव सरीरका लागि हानिकारक हुँदैन । यसले रक्तचापको नियन्त्रणका साथै मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।
विषको जोखिम कम: शाकाहारी भोजनमा कुनैपनि प्रकारको विषजन्य तत्व हुँदैन । तर मांशाहारी भोजन कहिलेकाहीँ विषाक्त समेत बन्न सक्छ । पशुको सरीरमा पनि स्टेरोइड लगायतका विभिन्न तनाव हर्मोन पैदा हुने र ती हर्मोनहरु उक्त पशुको मासुमा समेत रहने भएकाले त्यस्तो हर्मोनयुक्त मासु खाँदा त्यो हर्मोन मानिसको रगतमा मिल्न गै त्यसले रगतलाई विषाक्त बनाउने खतरा हुन्छ । साथै मासुका लागि व्यवसायिक रुपमा पालिएका कुखुरा, हाँस वा अन्य चराचुरुंगी र पशुहरुमा दिइने वृद्धि हर्मोनयुक्त सुइका कारण त्यस्ता सुइ लगाइएका पशुपंक्षीका मासु खाँदा पनि मानवस्वास्थ्यमा नराम्रो असर पुग्छ ।
क्यान्सरको जोखिम कम: शाकाहारी आहारमा एन्टिअक्सीडेन्ट तत्व, लवण, भिटामिन तथा अन्य प्रसस्तै पोषक तत्व पाइन्छ । यी पोषक तत्व हाम्रो सरीरको रोग प्रतिरोधी क्षमताको विकाशका लागि अनिवार्य हुन्छन् । रोग प्रतिरोधी क्षमता उच्च हुनु भनेको क्यान्सर जस्ता असाध्य रोगको जोखिम समेत कम हुनु हो ।
वजन नियन्त्रण: शाकाहारी भोजनका लाभहरु मध्येको एक हो सरीरको वजन वा मोटोपन नियन्त्रण हुनु । शाकाहारी भोजन पेटमा पच्नको लागि अलिक धेरै समय लाग्ने भएकाले भोक ढिलो लाग्छ । जसका कारण खाने दरमा कमी आई स्वतः मोटोपन नियन्त्रण हुन्छ ।

Monday, January 21, 2013

जसले चिठ्ठामा करोडौं जिते खर्च गर्न पाएनन् - bizmandu

भारतीय मुलका ४६ वर्षिय उरुज खानले २०१२ को जुन महिनामा अमेरिकी डलर ४ लाख २५ हजार ( करिब चार करोड नेपाली रुपैयाँ) बराबरको चिठ्ठा जितेको खबर सार्वजनिक हुँदा विश्व भरी चर्चामा थिए । त्यसको एक महिना पछि उनी फेरी अहिले चर्चामा आएका छन् । पहिलो चर्चा चिठ्ठामा जितेकोमा थियो अहिलेको  चर्चा लटरीको पैसा पाउने अघिल्लो दिनमा उनको हत्या भएपछि भएको छ ।


लटरी जितेपछि खान

चिठ्ठा परेको एक महिनापछि चिठ्ठा संचालकले उनलाई पैसा लिन सम्पर्क गर्दा अघिल्लो दिन मात्रै उनको मृत्यु भएको खबर पाएका थिए । शिकागोमा बस्दै आएका खानको मृत्यु प्राकृतिक कारणले भएको भन्दै उनको दाहसंस्कार गरिएको थियो । तर, परिवारजनले हत्या भएको आंशका गर्दै थप अनुसन्धानको आग्रह गरेपछि भएको पोस्टमार्टम रिपोर्टमा उनको शरिरमा साईनाईडको मात्रा प्रसस्तै देखिए थियो ।


चिठ्ठा जितेपछि श्रीमती र छोरीसँग खान

प्राकृतिक कारणले मृत्यु नभएको देखिएपछि परिवारजनले थप अनुसन्धान हुनुपर्ने माग गर्दै अदालतमा मुद्धा दायर गरेका थिए । हालै स्थानीय अदालतले उनको शबलाई चिहानबाट निकालेर पुनः परिक्षण गर्न आदेश दिएको छ । शिकागोमा ड्राईक्लिनिङ व्यवसाय गर्दै आएको खानको मृत्य रहस्यमय बनेपछि स्थानीय प्रहरीले उनकी दोस्रो पत्नी सबाना अंसानी र छोरीसँग समेत सोधपुछ गरिसकेको छ ।


खानको शव

चिठ्ठामा ठुलो रकम जिते पछि उरुज निक्कै खुसी भएको परिवारले सञ्चारमाध्यमलाई बताएका छन् । चिठ्ठामा जितेको पैसामध्ये केहि रुकम बच्चाको अस्पताललाई दान गर्ने र बाँकी रकम व्यवासयमा लगाउने उनको योजना थियो । कसैसँग रिसिइवी नभएका उरुज इमान्दार एवं मिलनसान मान्छे भएको उनका बावु बताउँछन्, उरुजका पिता छोराले आत्महत्या गर्नै नसक्ने दावी गर्छन । ३२ वर्षीय दोस्री श्रीमती शवाना र छोरी पनि आत्महत्यासँग सहमत छैनन् । यता अनुसन्धान गर्ने प्रहरी पनि उनको मृत्युबाट अचम्मित छ । खानको शरिरमा पाईएको साईनाईड अत्याधिक मात्राामा भएकाले उनी आफैंले सुँघेको वा खाएको हुनै नसक्ने प्रहरीको भनाई छ ।

असममा दैनिक ६० लाख प्याकेट वाईवाई उत्पादन गर्ने उद्योग, भारतको बजारमा १६ प्रतिशत हिस्सा - bizmandu

  • वाईवाईको असममा दैनिक ६० लाख प्याकेट उत्पादन गर्ने उद्योग
  • १३ अर्ब भारुको चाउचाउ बजारमा वाइवाइको १६ प्रतिशत हिस्सा
  • वार्षिक ५० करोड प्याकेट उत्पादन गरी १६ अर्बको विक्री गर्ने लक्ष्य
  • भारतमा सीजी फुडको ब्राण्ड मूल्य मात्रै १० करोड डलरभन्दा बढी
  • टाटाको कम्पनी ताल एशियामा पनि चौधरी समूहको ५० प्रतिशत लगानी
  • टाटा, कन्जर्भेसन कर्पोरेशन अफ्रिकासँग मिलेर वाइल्डलाइफ पर्यटनमा पनि लगानी
काठमाडौं । नेपालको पहिलो मल्टिनेशनल कम्पनी चौधरी समूहले भारतको असममा वाइवाईको पाँचौं प्लान्ट लगाएको छ । असम चाचर जिल्लाको केन्द्र सिलचरमा चौधरी समूहले चाउचाउको पाँचौं प्लान्ट लगाएको हो, असमको राजधानी गुहाटीपछिको ठूलो शहर सिलचरमा चौधरी समूहले दैनिक ६० लाख प्याकेट चाउचाउ उत्पादन गर्ने प्लान्ट लगाएको हो । चौधरी समूहले यसअघि सन् २०१० मा असमको राजधानी गुहाटीको कामरुप जिल्लाको छायागाउँस्थित औद्योगिक केन्द्रमा प्लान्ट लगाएको थियो । सन् २०१० मा सुरु गरेको यो प्लान्टलाई सन् २०१२ मा स्तरोन्नती गरिएको थियो ।

विस्तार हुँदै सीजी :  चौधरीको भारतीय कम्पनी सीजी फुड इण्डियाले असमको गुहाटीमा खोलेको  उद्योग

सिलचरमा लगाएको चौधरीको यो प्लान्ट अहिलेसम्मकै ठूलो हो, कामरुपमा लगाएको प्लान्टबाट दैनिक नौ लाख बढी प्याकेट चाउचाउ उत्पादन हुने गरेको छ भने सिलचरको प्लान्टबाट छ गुणा बढी चाउचाउ उत्पादन हुन्छ । सिलचरमा लगाएको प्लान्ट आउनुअघि चौधरी समूहका तीन प्लान्टबाट दैनिक १८ लाख प्याक वाइवाई उत्पादन हुन्थ्यो । अब यो क्षमता चार गुणाले बढेर दैनिक ८० लाख प्याक पुगेको छ ।
भारतको उत्तरपूर्वी भागमा वाईवाईले बजारको ६५ प्रतिशत हिस्सा ओगटेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत जीपी शाहले तीन महिना अघि कोलकत्ताबाट प्रकासित हुने टेलिग्राफलाई जानकारी दिएका थिए । भारतमा १३ अर्ब भारुको चाउचाउ बजार भएको र त्यसको १६ प्रतिशत हिस्सा वाईवाईसँग रहेको जानकारी पनि टेलिग्राफले दिएको छ ।
शाहले भारतमा चाउचाउ बजार वार्षिक २० प्रतिशतले वृद्धि भैरहेको जानकारी दिंदै पाँच वर्षमा वाईवाईको बजार तीन गुणा बढाउने दावी गरेका थिए, उनले पाँच वर्ष भित्र असममा मात्रै दुई हजारलाई रोजगारी दिने र अहिले छ सय जनाले रोजगारी पाएको  जानकारी पनि दिएका थिए । उनले उत्तरपूर्वी भारतबाट चौधरी समूहलाई ५० प्रतिशत आम्दानी हुने जानकारी पनि दिएका थिए ।
२०१३ भित्र भारतमा वार्षिक ५० करोड प्याकेट चाउचाउ उत्पादन गरी वार्षिक १६ अर्ब नेपाली रुपैयाँ बराबरको विक्री गर्ने लक्ष्यसाथ नयाँ प्लान्ट खोलिएको हो । चौधरी समूहको लगानी रहेको सीजी फुड्स इन्डिया प्रा. लीले असमको सिलचरमा पाँचौं प्लान्ट लगाएको चौधरी समूहका प्रवन्ध निर्देशक निर्वाण चौधरीले जानकारी दिएका छन् । १० वर्ष अघि भारतको असममा दर्ता गरिएको सीजी फुड इन्डियाले वाइवाई उत्पादनका लागि सन् २००६ मा भारतको सिक्किममा पहिलो प्लान्ट लगाएको थियो । कम्पनीले भारतमा ब्राउन र ह्वाइट चाउचाउ, क्विक चिज बल्स र अन्य स्न्याक उत्पादन गरिरहेको छ ।
छ एकड जमिनमा फैलिएको सिक्किमको प्लान्टबाट चार सय जनालाई रोजगारी पुगेको छ । प्रवन्ध निर्देशक चौधरीले वाईवाईको चौथो प्लान्ट असममै सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने उद्योग भएको बताएका थिए ।
कम्पनीले आफ्नो दोस्रो प्लान्ट सन् २००८ मा उत्तराञ्चलको रुद्रपुरमा लगाएको थियो । स्टेट इन्डष्ट्रियल कर्पोरेशन उत्तराञ्चलमा लगाएको यो प्लान्टबाट वार्षिक ९०० मेट्रिक टन चाउचाउ उत्पादन गर्न सकिन्छ । यो प्लान्टमा २० करोड  भारु ३२ करोड नेपाली रुपैयाँ लगानी भएको छ ।
तीन एकड क्षेत्रफलमा फैलिएको यो प्लान्टले हक्का चाउचाउ, मामा पुन्टे भुजिया उत्पादन गरिरहेको छ । कम्पनीले सन् २०१० मा असमको गुहाटी छायागाउँ इन्डष्ट्रियल स्टेटमा तेस्रो कारखाना लगाएको हो । कम्पनीले यहाँ पनि चाउचाउ उत्पादन गर्छ । यहाँ उत्पादन भएको चाउचाउ विश्वका २५ मुलुकमा निर्यात भैरहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीको यही प्लान्ट भित्र सीजी इलेक्ट्रोनिक्स र सीजी ग्याल्भाको प्लान्ट पनि छ ।
कम्पनीले भारतमा अहिले सिलगुढी, दिल्ली र कोलकत्तामा आफ्नो कार्यालय खोलेको छ भने कम्पनीले खाद्य तथा पेय पदार्थको उत्पादन र वितरण गर्दै आएको छ । चौधरी समूहले भारतमा सीजी फुडको ब्राण्ड मूल्य १० करोड डलर नौ अर्ब नेपाली रुपैयाँ बराबर भएको दावी गरेको छ ।
कम्पनीले भारतको उत्तरपूर्वी भागको चाउचाउ बजारमा आफ्नो ६५ प्रतिशत बजार हिस्सा भएको दावी गर्दै आएको छ । चौधरी समूहले सीजी फुड इन्डिया सिंगापुरको मल्टिनेशनल कम्पनी सिनोभेसन समूहको लगानी र चौधरी समूह नेपालको प्राविधिक सहयोग रहेको दावी गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा भारतमा साढे पाँच अर्ब रुपैयाँभन्दा बढीको आम्दानी गरेको थियो । लक्ष्य हाँसिल गर्नका लागि कम्पनीले सन् २०११ मा तीन वर्ष भित्र पाँच अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो । डेढ अर्ब रुपैयाँको नयाँ प्लान्ट स्थापना गर्ने तथा तीन अर्ब रुपैयाँ खर्च गरेर स्थानीय उद्योग किन्ने घोषणा कम्पनीले त्यतिवेला गरेको थियो । भारतमा वाईवाईले नेश्लेको म्यागी, निसिन फुडको टप रामेन र ग्लायस्कोस्मिथक्लाइनको फुडलसँग प्रतिश्पर्धा गरिरहेको छ । त्यसबाहेक क्षेत्रीय स्तरका साना कम्पनीसँग पनि वाईवाईको कडा प्रतिश्पर्धा छ ।
चौधरीको भारतमा लगानी
चौधरीले वाईवाईसँगै टाटा समूहको ताज कम्पनीसँग मिलेर होटल पनि सञ्चालन गरिहेको छ । ताजसँग मिलेर सञ्चालन भैरहेको ताज एशिया लिमिटेड(ताल)मा चौधरी समूहको ५० प्रतिशत सेयर हिस्सेदारी छ । तालले श्रीलंका, माल्दिभ्स लगायतका देशमा होटल पाँचतारे होटल र रिसोर्ट सञ्चालन गर्दछ ।
चौधरीले टाटा समूहकै इण्डियन होटलस् कमपनी, कन्जर्भेसन कर्पोरेशन अफ्रिका र चौधरीको सिंगापुरमा भएको कम्पनी सिजेन कर्पोरेशन मिलेर वाइल्डलाइफ पर्यटनमा काम गरिरहेका छन् । यी तीन समूहले तीस करोड भारुका दरले मुख्य वन्यजन्तु संरक्षण भैरहेका तीन क्षेत्रमा १५ भन्दा बढी लज सञ्चालन गरिरहेका छन् । यो कम्पनीले गुजरातमा द गिरी लज र ससान गिरी लज, केरलामा ताज गार्डेन रिट्रिट, दि किक्कडी, राजस्थानमा सवाई मधोपुर लज रान्थामबोर नेशनल पार्क र रामग्रह लज जयपुरमा लज सञ्चालन गरिरहेको छ । विनोद चौधरीको भारत नयाँ दिल्ली लगायतका विभिन्न स्थानमा समेत आलिशान बंगलाहरु छन् ।

लोडसेडिङमा काम लाग्ने सामान (फोटोफिचर) हजारदेखि लाखौं रुपैंया पर्ने उपकरण एकै ठाउँमा - onlinekhabar

लोडसेडिङ दैनिक १४ घण्टा पुगेकै बेला राजधानीमा नवीकरणीय उर्जा सप्ताह शुरु भएको छ । आइतबारदेखि शुरु भएको प्रदर्शनीमा लोडसेडिङको बेला काम लाग्ने र देशमा उर्जा संकट टार्न सक्ने थरीथरीका सामान राखिएका छन् । वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको आयोजनामा भएको प्रदर्शनीमा वैकल्पिक उर्जाको क्षेत्रमा काम गर्ने संघसंस्था र कम्पनीले भाग लिएका छन् । भृकुटीमण्डपमा आइतबार र सोमबार भएको प्रदर्शनीमा अवलोकनकर्ताको थामिनसक्नुको भीड थियो ।
मंगलबारदेखि राजधानी बाहिरका मुख्य शहरहरुमा प्रदर्शनी गर्ने तयारी छ । केन्द्रका सहायक निर्देशक राजु लौडारीका अनुसार गाउँ र शहर सबैतिर काम लाग्ने थरीथरीका वैकल्पिक उर्जाका उपकरण बजारमा आइसकेका छन् । धनीका लागि हुने महंगो र गरीबले खोज्ने सस्ता खालका उपकरण पनि छन् । जसले उर्जा संकट समाधानका लागि सहयोग पुर्याउन सक्छन् ।
 कस्ता र कति दामका ?
 १. सौर्य उर्जा -
सूर्यको किरणबाट बत्ति बाल्न, तातो दिन र खानेकुरा पकाउन -कुकर) मिल्ने उपकरण बजारमा छन् । सोलार त धेरैले प्रयोग गरिरहेका छन् । विस्तारै कुकर अर्थात हिटरको प्रयोग पनि बढिरहेको छ । कुकर र हिटर उच्च पहाडी क्षेत्रमा उपयोगी मानिएको छ । यसको मूल्य तीन/चार हजारदेखि १७/१८ हजारसम्म पर्ने विक्रेताहरुको भनाइ छ ।
यस्तै ४ वटा बत्ती बाल्न मिल्ने २० वाटको सोलार १३/१४ हजार रुपैंयामै जडान गर्न सकिन्छ । टेलिभिजन, ल्यापटप चलाउन तथा १०/१२ वटा बत्ति बाल्न मिल्ने सोलार जडान गर्न ६०/६५ हजार रुपैंया खर्च हुन्छ । २ सय वाटको सोलार जडान गर्न डेढ लाख रुपैंयाभन्दा बढी लाग्छ ।
यस्तै पानी तान्न मिल्ने सोलार पनि बजारमा पाइन्छ । जसको मूल्य ४० हजार रुपैंया पर्छ ।
 २. बायो ग्यास 
गाउँमा मलमूत्रबाट र शहरमा फोहोरबाट ग्यास निकाल्न मिल्ने दुईथरि प्रविधि भित्रिएका छन् । शहरी क्षेत्रमा भान्साबाट निस्केको फोहोरलाई सदुपयोग गरेर ग्यास निकाल्ने प्रविधि भर्खरै भित्रिएको हो । यो प्रविधि जडान गर्न झण्डै २५ हजार रुपैंया खर्च हुने वैकल्पिक उर्जा प्रवर्धन केन्द्रले जनाएको छ ।
यसमा सरकारले अनुदानको व्यवस्था समेत गरेको छ । त्यसो गर्दा १५ हजार रुपैंयामा यो बनाउन सकिन्छ । राजधानीका कतिपय घरमा अहिले यस्तै प्रविधिबाट उर्जा निकाल्ने गरिएको छ ।गाउँघरमा गोबरग्यास बनाउन पनि सरकारले अनुदान दिँदै आएको छ । ४ घनमिटरको गोबरग्यास निर्माण गर्न झण्डै ३५ हजार रुपैंया लाग्छ ।
३. सुधारिएको चुल्हो 
भान्साभित्र धुवाँमुक्त बनाउने माटो र धातुका चुल्होको प्रयोग पनि बढेको छ । माटोको चुल्हो बनाउन बढीमा एकहजार रुपैंया खर्च हुन्छ । धातुको चुल्होलाई ६/७ हजार रुपैंया पर्छ ।सुधारिएको चुल्होबाट आधा घण्टामा सातआठ जना परिवारको लागि भात पकाउन सकिन्छ । यसमा कम दाउराबाट समेत धेरै उर्जा निकाल्न सकिन्छ ।
४. लघु जलविद्युत्त 
गाउँठाउँमा पछिल्लोपटक लघु जलविद्युत्त आयोजना निर्माणको काम तीव्र रुपमा भैरहेको छ । लघु जलविद्युत्त भएका ठाउँमा लोडसेडिङ पनि हुँदैन । १ किलोवाट लघु जलविद्युत्त बनाउन ४/५ लाख रुपैंया खर्च हुन्छ ।अहिले देशका सबै ठाउँमा गरी २५ सय लघु जलविद्युत्त संयन्त्र स्थापना भएका छन् ।
यसबाट २० हजार किलोवाट बिजुली उत्पादन हुँदै आएको छ । २ लाख जनसंख्याले लघु जलविद्युत्तबाट बिजुली बालेका छन् ।
५. विद्युत्तीय मोटर 
पेट्रोल र डिजेलको बढ्दो परनिर्भरता हटाउन विद्युत्तीय गाडीको प्रयोग पनि विस्तारै बढ्दैछ । प्रदर्शनीमा विद्युत्ती साइकल, स्कुटर, कार र सानो खालको मिनीबस समेत राखिएको छ । स्कूटरको ७० हजार तथा विद्युत्तीय कारको १० लाखदेखि १९ लाख ५० हजारसम्मको मूल्य पर्ने विक्रेताको भनाई छ ।
यस्तै १४ सिट क्षमताको विद्युत्तीय मिनीबसको मूल्य १४ लाख रुपैंया छ । सानो खालको विद्युत्तीय कार राजधानीका सडकमा अहिले पनि देख्न पाइन्छ । एकपटक चार्ज गरेपछि ७० किलोमिटरसम्मलाई हुन्छ । त्यसभन्दा बढी दूरी पार गर्न बीचमा रोकेर फेरि चार्ज गर्नुपर्ने हुन्छ ।
६. वायु उर्जा
नेपालमा वायु उर्जाको सम्भावना धेरै भएपनि परीक्षणको रुपमा मात्रै यसको काम भैरहेको छ । संस्थागत या सामुदायिक रुपमा ६ लाख रुपैंया खर्च गर्ने हो भने नियमित हावा चल्ने ठाउँमा वायु उर्जाको माध्यमबाट उर्जा निकाल्न सकिन्छ ।

अमेरिकामा काम गरी नेपालमा पेन्सन पाउन मुद्दा हाल्नेलाई सर्वोच्चले खुवायो लोप्पा - mysansar

नेपालका विभिन्न सरकारी कार्यालयमा बहाल रही विदेशमा अध्ययन वा प्रशिक्षणका लागि जाने, अनि उतै बस्नेहरु धेरै छन्। मन्त्रालय वा संस्थानका कर्मचारीहरुदेखि लिएर विश्वविद्यालयका प्राध्यापकहरुसम्म पनि यो सूचिमा पर्छन्। तीमध्ये कतिले त यता नेपालमा जागिर पनि पाक्दै गर्ने अनि उता विदेशमा काम पनि गर्दै गर्नेहरु पनि छन्। संस्थाले आफ्नो खर्चमा पढ्न वा प्रशिक्षण लिन पठाए पनि उनीहरु संस्थाप्रति उत्तरदायी नभई उतै बसिदिन्छन्।
एउटा रमाइलो मुद्दा परेको रहेछ सर्वोच्च अदालतमा। दूरसंचार संस्थान (हालको नेपाल टेलिकम) का एक जना इन्जिनियर किरणकुमार काफ्लेले अमेरिकामा काम पाएछन्। सुरुमा २ वर्ष र पछि थप १ वर्ष असाधारण विदा स्वीकृत पनि गराएछन्। त्यसपछि भने विदा मिलेनछ। उता अमेरिकामा काम जारी थियो, यिनलाई नेपालको जागिरको पेन्सनको लोभ लागेछ।
अनि के छ र, मुद्दा ठोक्दिए सर्वोच्च अदालतमा- लौ न म त ५८ वर्ष पुगी पेन्सन पाउने हुन लागेँ, मलाई पेन्सन दिलाइदिनु पर्‍यो भन्दै। २०५० सालमा यिनी काम गर्न अमेरिका हिँडेका रहेछन्। ३ वर्ष त विदा स्वीकृत भएकै थियो, २०५४ सालमा थप विदा नमिल्ने भनी कम्पनीले सूचना जारी गरिसकेको रहेछ। टेरपुच्छर लाएनछन्। अनि त २०५८ सालमा निर्णय गरी सेवाबाट बर्खास्त गरिएको रहेछ। त्यतिञ्जेल पनि यिनले वास्ता गरेनछन्।
२०६४ सालमा भने के सुर चलेछ यिनलाई, अहो-नेपालमा काम गरिराखेको भए त ५८ वर्ष पुगेर पेन्सन पाक्ने भइसकेछ भन्ने लागेछ। अनि पेन्सन उपदान दिलाई पाउँ भन्दै मुद्दा ठोक्दिए सर्वोच्चमा। वकील पनि राम्रै बालकृष्ण न्यौपाने जस्ता नाम चलेका नियुक्त गरे।
तर सर्वोच्चले निवेदक किरणकुमार काफ्लेको पक्षमा फैसला नगर्ने मात्र हैन, कडा शब्दमा आलोचना गर्दै लोप्पासमेत खुवाइदियो।
‘स्वीकृत भएको ३ वर्षको असाधारण बिदाको अवधि समाप्त भएपछि स्वतः स्वयम् आफ्नो कार्यालयमा हाजिर हुनुपर्नेमा नभई अझै अमेरिकामा कार्यरत रहेको भन्ने काफ्लेले वर्षौदेखि कामै नगरेको आफ्नो पहिलाको कार्यालयमा पनि नोकरी यथावत राखी पाउँ र कामै नगरेको अवधि पनि नोकरी अवधिमा समावेश गरी पाऊँ भन्ने दावीको कुनै कानूनी आधार छँदैछैन’ , सर्वोच्चका न्यायाधीशद्वय ताहिर अलि अन्सारी र भरतराज उप्रेतीको दुई सदस्यीय इजलासको फैसलामा भनिएको छ, ‘नेपालको सरकारी स्वामित्वको संस्थानमा कार्यरत कर्मचारीले आफूखुशी अमेरिकामा कार्यरत रहेको अवधिलाई नेपालको नोकरी अवधिमा समावेश गराउन खोज्नु नैतिक दृष्टिकोणबाट पनि उचित र तर्कसंगत देखिन आउँदैन।’
पेन्सनको लोभमा मुद्दा हाल्ने काफ्लेलाई सर्वोच्चको कडा शब्दको फैसलामा भनिएको छ -
‘सम्पूर्ण प्रकृया पूरा गरी नोकरीबाट हटाइएको छ। यस्तो अवस्थामा निवेदकले पेन्सन पाउने अवधि यस अदालतले त्यसै पुर्‍याई दिने होइन। अमेरिकामा काम गर्ने र नेपालको कार्यालयबाट पेन्सनयोग्य नोकरी पुर्‍याई पेन्सन खोज्नु भनेको विद्यमान कानूनी व्यवस्थाको उपहास गर्न खोज्नु हो। यस्तो प्रवृत्ति अत्यन्त दुःखद र अस्वीकार्य हो। यस्तो प्रवृत्तिलाई पनि हर तवरबाट हतोत्साहित गर्नु पर्दछ।’
ह्याकुलाले मिचेरै नेपालका सरकारी कार्यालय, संस्थानहरुलाई दबाउन खोज्ने अरु यस्ता स्वार्थीहरुले पनि चेतुन् भनेर सर्वोच्चको पूरै फैसलाको विवरण यहाँ राखिएको छ-
तपाईँले पनि स्वदेशी संस्था वा सरकारी कार्यालयलाई ठगेर यसरी नै विदेशतिर बसिरहेको उदाहरण देख्नुभएको छ भने तल कमेन्टमा अनुभव बाँड्न सक्नुहुन्छ।
सर्बोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी
माननीय न्यायाधीश श्री भरतराज उप्रेती
आदेश
विषय : उत्प्रेषण, परमादेश।
काठमाडौं महानगरपालिका वडा नं. ३४ बानेश्वर बस्ने किरण कुमार काफ्ले–१ निवेदक
बिरुद्ध
तत्कालिन नेपाल दूरसंचार संस्थान विघटन भई नयाँ कायम भएको नेपाल
दूरसंचार कम्पनी लि. केन्द्रिय कार्यालय भद्रकाली प्लाजा, काठमाडौं –––––१
ऐ. ऐ. कम्पनी लिमिटेडको सञ्चालक समिति ––––––––––––––––––––––––१
ऐ. ऐ. कम्पनी लिमिटेडका प्रवन्ध दिर्नेशक –––––––––––––––––––––––––––१
ऐ. ऐ. कम्पनी लिमिटेड प्रशासन बिभागका नायव महाप्रवन्धक –––––––––१
ऐ. ऐ. कम्पनी लिमिटेडका अर्थ बिभागका नायव महाप्रवन्धक –––––––––––१
नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२/१०७(२) बमोजिम यस अदालतको
असाधारण अधिकारक्षेत्र अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं
आदेश यस प्रकार रहेको छ : —

काफ्लेका कुरा के के ?

म तत्कालिन नेपाल दूरसंचार संस्थानको अधिकृत तह ७ को इन्जिनियर पदमा स्थायी नियुक्त भई दशौं तहको क्षेत्रीय प्रबन्धक पदमा बढुवा नियुक्त भई कार्यरत रहेको थिएँ। यसै अवस्थामा संयुक्त राष्ट्रसंघमा प्राविधिकको आवश्यक भएको हुनाले नेपाल दूरसंचार संस्थानको संचालक समितिको २०५१।२।५ को नं. २६७७ को निर्णय अनुसार २ वर्षको लागि असाधारण बिदा स्वीकृत गराई न्यूयोर्क स्थित सं.रा.सं. को सेवामा समावेश
भई हालसम्म कार्यरत रही आएको छु। कारणबस संयुक्त राष्ट्रसंघमा रहिनै रहन परेकोले तत्पश्चात पनि संस्थानबाट नियमानुसार मैले पाउन सक्ने विशेष बिदा तथा असाधारण एवं संचित तथा पाकेको बिदाहरु मिलाई नोकरी कायम गरी पाउन समय समयमा संस्थानमा दिएको निवेदनहरु बिपक्षी संस्थानमा मौजुद नै हुनु पर्छ।
नेपाल दूरसंचार संस्थानको कर्मचारी बिनियम २०५४ को बिनियम ११६(१) अनुसार ५८ वर्षको उमेर सम्म सेवामा बहाल रहन पाउने, उक्त बिनियमको परिच्छेद ६ मा व्यवस्था भए बमोजिम घर बिदा, बिरामी बिदा, बिशेष बिदा तथा असाधारण बिदा पाउने र सो बिनियमको परिच्छेद १० को देहायहरुमा लेखिए बमोजिम मात्र नोकरीबाट हटाइन सक्नेगरी सेवाको सुरक्षा भएको एवं नोकरीबाट अलग भएका बखत पनि उक्त बिनियमको परिच्छेद ११ बमोजिम पेन्सन उपदान पाउन सक्ने कानूनी हकहरु प्राप्त छ। नेपाल दूरसंचार संस्थान नेपाल टेलिकम कम्पनीमा परिणत भए पछि संस्थानको दायित्व कंपनीले लिएको र कंपनिको कर्मचारी बिनियमावलीमा पनि साबिक संस्थानमा भएको सेवा सुबिधा नै कायम भएको छ। यसै शिलसिलामा उमेरको हिसाबले २०६४।११।२८ देखि ५८ वर्षको उमेर पुगी सेवा निबृत्त समेत भएकोले सेवा निबृत्त भए पछि मैले पाउने पेन्सन तथा अन्य सुबिधा नपाएकोले मर्कामा परेको छु। मेरो पाकेको घर बिदा, बिरामी बिदा र नियमानुसार पाउन सक्ने २० वर्षको सेवा पुग्न नपुग अवधि बिशेष बिदा समेत मिलान गरी मैले पाउने पेन्सन उपदान र रकम दिलाई पाऊँ भनी अन्तिम पटक उक्त कम्पनीको संचालक समितिका अध्यक्ष, संचार मन्त्रालयका सचिव समक्ष मिति २०६५।४।१५ दिएको निवेदन द.नं. ४२४ मा दर्ता भई मिति २०६५।४।२१ को पत्र चलानी साथ दूरसंचार कम्पनी लिमिटेडमा मिति २०६५।४।२३ मा द.नं. २१४१ मा दर्ता भएको छ। नियम कानून अनुसार पाउने पेन्सन उपदान दिलाई पाउन बारम्बार लिखित निवेदन अनुरोध गरी तरतकेतामा रहँदा पनि हालसम्म कुनै कुराको मलाई जानकारी नदिएको हुनाले यो निवेदन लिई सम्मानित अदालत समक्ष उपस्थित भएको छु।
बिपक्षीहरुले मेरो अनुपस्थितिमा मलाई कुनै थाहा जानकारी नदिई प्राकृतिक न्याय बिपरित मेरो हित बिपरित कुनै आदेश निर्णय गरेको लिखित जवाफमा उल्लेख गरेमा सो समेत उत्प्रेषणको आदेशद्वारा बदर गरि संचित घर बिदा, बिरामी बिदा तथा नियमानुसार पाउन सक्ने विशेष बिदा समेत मिलान गरी २० वर्षको सेवा अबधि पुर्‍याई पेन्सन तथा रकम दिनु भनी बिपक्षीहरुको नाउँमा परमादेश समेत जारी गरी पाऊँ भन्ने निवेदन पत्र।
निवेदनको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो , १५ दिन भित्र लिखित जवाफ पेश गर्नु भन्ने यस अदालतको आदेश।

संस्थान के भन्छ ?

विपक्षी किरण कुमार काफ्ले आफू संयुक्त राष्ट्रसंघमा अमेरिकामा काम गर्न भनी असाधारण बिदा माग गर्नुभए अनुसार मिति २०५०।१२।२१ देखि २ वर्षको लागि तत्कालिन नेपाल दूरसंचार संस्थानको संचालक समितिको २०५०।१२।२१ को निर्णयबाट असाधारण बिदा स्वीकृत गरिएको हो। यस क्रममा निजले पुनः असाधारण बिदा माग गर्नु भए अनुसार २०५२।१२।२१ देखि लागू हुने गरी १ वर्षको लागि सो समितिले मिति २०५३।४।२५ मा १ वर्षको लागि पुनः असाधारण बिदा स्वीकृत भएको हो। बिपक्षीलाई तत्कालिन संस्थानको कर्मचारी सेवा शर्त बिनियमावली, २०३३ को दफा ५२ अनुसार ३ वर्ष अवधिको असाधारण बिदा स्वीकृत भै सकेकोले सो भन्दा बढी अवधिको असाधारण बिदा दिन नमिल्ने भनि मिति २०५४।२।१ मा बसेको संचालक समितिको बैठकको निर्णयबाट निर्णय भए अनुरुप सोही व्यहोरा खुलाई मिति २०५४।२।६ को पत्रबाट निजको घर ठेगानामा लेखी पठाएको हो। यसै क्रममा संचालक समितिको मिति २०५५।९।१७ को निर्णय बमोजिम विपक्षी निवेदकले मिति २०५३।१२।२१ देखि २०५५।१२।२० सम्म बेतलबी बिदा माग गरेको सम्बन्धमा संस्थानको विनियम अनुसार पाउन सक्ने बिदा लिई सकेको हुँदा निजलाई हाजिर हुन आउन सूचना गर्ने भनी निर्णय भएको हो।
तत्पश्चात् संचालक समितिको मिति २०५५।९।२१ को निर्णयानुसार विपक्षी निवेदकलाई १५ दिन भित्र
कार्यालयमा हाजिर हुन आउन मिति २०५५।९।२९ मा घर ठेगाना तथा निज कार्यरत United Nation
Organization, America मा पत्राचार गरिएकोमा
निज कार्यालयमा उपस्थित नभएको तथा निजले कुनै प्रकारको सम्पर्क समेत गरेको छैन।
कार्यालयमा हाजिर हुन आउन घर ठेगानामा समेत पत्राचार गर्दा पत्र फिर्ता आएको र
विपक्षी निवेदकले थप बिदा माग गरेको अवधि समेत सकि सक्दा पनि के कति कारणले
हाजिर हुन नआएको हो ३ दिन भित्र स्पष्टिकरण पेश गर्नु हुन भनि मिति २०५७।९।६ मा
पुनः घर ठेगानामा पत्राचार गर्दा पनि कुनै सम्पर्क राख्न नआएकोले तत्कालिन संस्थानको
विनियमावली, २०५४ (संशोधन सहित) को विनियम १०२(ग) को अभियोगमा विनियम ९९(घ)
बमोजिम विपक्षीलाई सेवाबाट बर्खास्त किन नगर्ने? कुनै कारण भए ७ दिनभित्र
स्पष्टिकरण सहित सम्पर्क राख्न आउनुहोला अन्यथा सेवाबाट बर्खास्त गरिने भन्ने
व्यहोराको सूचना मिति २०५७।१२।१४ गतेको गोरखापत्रमा सूचना प्रकाशित भएको थियो।
यद्यापि विपक्षी निवेदकलाई कार्यालयमा उपस्थित हुन बारम्बार सूचना गर्दा अनुपस्थित
भएकोले संस्थानको विनियमावली, २०५४ को विनियम १०२(ग) को अभियोगमा विनियम
९९(घ) बमोजिम भविष्यमा संस्थानको सेवाका लागि अयोग्य नठहरिने गरी संस्थानको
सेवाबाट मिति २०५०।१२।२१ देखि नै लागू हुने गरी सेवाबाट हटाउने भनी
तत्कालिन संस्थानको संचालक समितिले मिति २०५८।३।६ मा बसेको बैठकको निर्णयबाट
निर्णय भएको थियो।
उक्त निर्णय पश्चात् विपक्षी निवेदकले मिति २०६१।४।२४ मा नेपाल टेलिकम, संचालक समितिको
अध्यक्ष समक्ष संचालक समितिको मिति २०५८।३।६ को निर्णय पुनर्विचार हुन भनि दिनु भएको
निवेदन पेश हुँदा यस कम्पनीको संचालक समितिको मिति २०६३।७।१५ को
निर्णयबाट विपक्षी निवेदकको सम्बन्धमा साविक भएको कारवाही माथि पुनर्विचार गर्ने प्रस्ताव सम्बन्धमा
मिति २०५८।३।६ मा बसेको तत्कालिन संचालक समितिले निर्णय गरी टुङ्गो लगाई सकेको देखिँदा
यस सम्बन्धमा हाल केही गरिरहनु पर्ने नदेखिएको भनी निर्णय भएको व्यहोरा निज विपक्षी निवेदकलाई
जानकारी गराएको थियो। यसरी विपक्षी निवेदकलाई सेवाबाट हटाउने कार्य कानून सम्मत नै भएको हो।
आफ्नो भनाई राख्न भनी बारम्बार पत्राचार गर्दा एवं गोरखापत्रमा समेत सूचना प्रकाशित
गर्दा स्पष्टिकरण पेश नगर्ने तर अहिले आएर प्राकृतिक न्यायको सिद्धान्त विपरीत सुनुवाईको मौका
नदिइएको भन्नु प्रमाण ऐन, २०३१ को दफा ३४ बमोजिम बिबन्धनको सिद्धान्त विपरीत छ।

असाधारण विदा सेवा अवधिमा गणना हुन्न

विपक्षी निवेदकको माग बमोजिम असाधारण बिदा सेवा अवधिमा गणना गरिने छैन
भनि तत्कालिन संस्थानको विनियमावलीको विनियम ७९ मा उल्लेख छ। यसै गरी घर
बिदा बाँकी नभएका कर्मचारीको हकमा मात्र तमाम सेवा अवधि भरमा १२ महिनामा
नबढाई बिदा दिन सक्ने प्रावधान विनियम ७८ मा छ। निवेदकको असाधारण बिदा कट्टी
गरी कायम हुन आउने नोकरी अवधि पनि १८ वर्ष १० महिना ८ दिन मात्र भएकोले
निजको असाधारण बिदा समाप्त हुने २०५३।१२।२० पश्चात् संचित रहेको घर बिदा ५६.७५
दिन र बिरामी बिदा १६९ दिन स्वीकृत भै ती बिदाका दिनहरु निजको सेवा अवधिमा
जोड्दा पनि २० वर्ष नोकरी अवधि पुग्दैन। तसर्थ निज बिपक्षीको निवेदकको २०
वर्षको सेवा अवधि पुग्ने गरी कुनै बिदा मिलाउन सक्ने स्थिति नभएकोले विपक्षीको रिट
निवेदन खारेज गरी पाऊँ भन्ने नेपाल दूर संचार कम्पनी लिमिटेड समेतको लिखित जवाफ।
नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक
तर्फबाट उपस्थित विद्वान अधिवक्ता बालकृष्ण न्यौपानेले अघिको मितिबाट लागू हुने गरी
पछिल्लो मितिमा निर्णय गरी निवेदकलाई अवकाश दिने गरी भएको निर्णय त्रुटिपूर्ण छ।
निवेदकलाई अवकाश दिँदा सुनुवाईको मौका प्रदान गरिएको छैन। संचार माध्यममा
सार्वजनिक रुपमा सूचना प्रकाशित भएको कुराले मात्र सुनुवाईको मौका प्रदान गरिएको
भन्न मिल्दैन। व्यक्तिगत रुपमा सूचना गर्नु पर्नेमा सो नगरी भएको निर्णय
त्रुटीपूर्ण भएकाले उत्प्रेषणको आदेशले बदर गरी निवेदकले नियमानुसार पाउने बिदा मिलान गरी
२० वर्ष सेवा अवधि पुर्‍याई पेन्सन समेत दिनु भनी परमादेश समेत जारी हुनुपर्छ भन्ने बहस गर्नुभयो।
विपक्षीहरुका तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरु माधव बाँस्कोटा, बामदेव
ज्ञवाली, विष्णुहरी सापकोटा र सूरज अधिकारीले रिट निवेदकले नियमावली बमोजिम पाउने बिदा
लिई सकेपछि कार्यालयमा हाजिर हुन आउनु भनी निजको घर ठेगानामा पटक पटक पत्राचार भएकोले
व्यक्तिगत सूचना नदिएको भन्न मिल्दैन। निवेदक कार्यरत रहेको संस्थामा समेत पत्राचार भएको छ। सो
पश्चातमात्र गोरखापत्रमा सूचना प्रकाशित भएको हो। रिट निवेदकले तत्कालीन संस्थानको नियमावली बमोजिम
३ वर्ष असाधारण बिदा लिई सकेकाले सो असाधारण बिदा नोकरी अवधिमा कट्टी हुने हुँदा २० वर्ष
नोकरी अवधि पुग्ने अवस्था छैन। तत्कालीन संचालक समितिको २०५८।३।६ को निर्णयबाट
निवेदकलाई सेवाबाट हटाउने गरी भएको निर्णय कायमै रहेको छ। उक्त निर्णय कानून
बमोजिम भएकाले रिट निवेदन खारेज हुनु पर्छ भन्ने समेत बहस गर्नुभयो।

फैसला यस्तो भयो

दुवै तर्फका उक्त वहस समेत सुनी हेर्दा प्रस्तुत रिट निवेदनमा निवेदकको माग
बमोजिमको आदेश जारी हुने हो वा होइन भन्ने निर्णय दिनु पर्ने देखियो।
निर्णयतर्फ बिचार गर्दा तत्कालीन दूरसंचार संस्थानको दशौं तहको क्षेत्रीय प्रवन्धक
पदमा कार्यरत रिट निवेदक दूरसंचार संस्थानको २०५१।२।५ को निर्णय अनुसार २ वर्षका
लागि असाधारण स्वीकृत गराई संयुक्त राष्ट्रसंघको न्यूयोर्कस्थीत कार्यालयमा सेवा
गर्न गएको र तत्पश्चात् पनि संस्थानबाट नियमानुसार पाउने बिदा मिलाई दिन निवेदन
दिएकोमा उमेरको हिसाबले २०६४।११।२८ देखि ५८ वर्ष उमेर पुगी सेवा निवृत्त
भएकाले सेवा निवृत्त भएपछि पाउनु पर्ने पेन्सन तथा सुबिधाको लागि दूरसंचार कंपनीमा
निवेदन दिँदा कानून अनुसार पाउने पेन्सन र सुबिधा नदिएकाले मेरो अनुपस्थितिमा मेरो
हित बिपरित कुनै निर्णय गरेको भए उत्प्रेषणको आदेशले बदर गरी नियमानुसार पाउने
बिदा मिलान गरी २० वर्षको सेवा अवधि पुर्‍याई पेन्सन तथा रकम दिनु भनी
परमादेश समेत जारी गरी पाउँ भन्ने रिट निवेदकको दावी रहेको देखिन्छ।
यस सम्बन्धमा नेपाल दूरसंचार कंपनीबाट प्राप्त भएको फायल हेर्दा रिट
निवेदकलाई संयुक्त राष्ट्रसंघमा काम गर्न जान तत्कालीन दूरसंचार संस्थानको संचालक
समितिको २०५१।२।५ को बैठकबाट २०५०।१२।२१ देखि लागू हुने गरी दुई वर्षको असाधारण बिदा
स्वीकृत गर्ने निर्णय भएको देखिन्छ। तत्पश्चात् २०५२।१२।२२ देखि लागू हुने गरी थप १ वर्ष बिदा स्वीकृतीका
लागि रिट निवेदकले निवेदन गरेकोमा संचालक समितिको २०५३।४।२५ को निर्णयबाट थप १ वर्ष असाधारण
बिदा स्वीकृत भएको देखियो। उक्त थप एक वर्षको स्वीकृत बिदा समाप्त भएपछि रिट निवेदकले पुनः १ वर्ष बिदा
पाउन निवेदन गरेकोमा तत्कालीन संस्थानको कर्मचारी सेवा शर्त विनियमावली, २०३३ को दफा ५२ अनुसार पाउने
३ वर्ष असाधारण बिदा स्वीकृत भै सकेकाले सो भन्दा बढी अवधिको असाधारण बिदा दिन नमिल्ने भनी
संचालक समितिको मिति २०५४।२।१ को बैठकबाट निर्णय भएको देखिन्छ। यी रिट निवेदकलाई उपर्युक्तानुसार
निर्णय भएको व्यहोराको जानकारी २०५४।२।६ र २०५४।४।८ को पत्रबाट निज तत्काल कार्यरत रहेको संयुक्त
राष्ट्रसंघको कार्यालयमा समेत पठाइएको उक्त पत्रहरुबाट देखिन्छ।
तत्पश्चात् रिट निवेदकले २०५५।१२।२० सम्म बेतलवी बिदा स्वीकृत गरी पाऊँ
भनी २०५५।४।१२ मा दूरसंचार संस्थानमा निवेदन दिएकोमा २०५५।९।२१ मा बसेको संचालक
समितिको बैठकबाट यी रिट निवेदकले विनियमानुसार पाउने बिदा लिई सकेको हुँदा १५ दिनभित्र
हाजिर हुन आउने सूचना गर्ने निर्णय गरी सोही बमोजिमको हाजिर हुन आउने बारेको पत्र निवेदक
तत्काल कार्यरत कार्यालय र घर ठेगानामा पठाइएको देखिन्छ।
पुनः २०५७।९।६ मा स्वीकृत बिदाको अवधि सकि सक्दा पनि के कति कारणले हाजिर
नभएको हो ३ दिन भित्र स्पष्टिकरण पेश गर्न भनी निवेदकको घर ठेगानामा पत्राचार
भएको देखिन्छ। त्यसपछि ०५७।१२।१४ को गोरखापत्रमा संस्थानका विनियमावली, २०५४
को विनियम १०२(ग) को अभियोगमा विनियम ९९(घ) बमोजिम सेवाबाट बर्खास्त नगने
कुनै कारण भए ७ दिन भित्र स्पष्टिकरण सहित उपस्थित हुन अन्यथा सेवाबाट बर्खास्त
गरीने व्यहोराको सूचना प्रकाशित भएकोमा रिट निवेदक हाजिर नभएकाले २०५०।१२।२१
देखि लागू हुने गरी सेवाबाट हटाउने गरी संचालक समितिको २०५८।३।६ को बैठकबाट
निर्णय भएको देखियो।
निवेदकलाई सेवाबाट हटाउने सम्बन्धी कारवाहीको फायल हेर्दा रिट निवेदकले २०५०।१२।२१ देखि
३ वर्ष असाधारण बिदा लिएकोमा सो अवधि व्यतित भएपश्चात्
कार्यालयमा हाजिर हुन पटक पटक सूचना पठाइएकोमा हाजिर नभएकाले २०५०।१२।२१
देखि लागू हुने गरी सेवाबाट हटाउने गरी भएको निर्णय भएको देखिन्छ। रिट निवेदक
तर्फबाट उपस्थित विद्वान अधिवक्ताले सुनुवाईको मौका प्रदान नगरी सेवाबाट हटाउने
निर्णय भएको भनी लिएको जिकिर सम्बन्धमा बिचार गर्दा स्वीकृत भएको ३ वर्षको
असाधारण बिदाको अवधि समाप्त भएपछि स्वतः स्वयम् आफ्नो कार्यालयमा हाजिर हुनुपर्नेमा
नभई रिट निवेदकलाई पटक पटक कार्यालयमा हाजिर हुनको लागि निज तत्काल कार्यरत
संयुक्त राष्ट्रसंघको कार्यालय र घर ठेगानामा समेत पत्राचार भएको छ।
गोरखापत्रमा समेत हाजिर हुने सूचना प्रकाशित गरिएकोले सुनुवाईको मौका प्रदान
नगरिएको भन्न मिल्ने देखिएन। त्यसमाथि स्वीकृत बिदाको अवधि समाप्त भएपछि आफ्नो कार्यालयमा
हाजिर हुनु पर्ने कर्तव्य सर्वप्रथम रिट निवेदककै हो। रिट निवेदक स्वीकृत बिदा समाप्त भएपछि कार्यालयमा
हाजिर हुन गएको देखिएन। अद्यापि संयुक्तराज्य अमेरिकामा कार्यरत रहेको भन्ने यी रिट निवेदकले वर्षौदेखि
कामै नगरेको आफ्नो पहिलाको कार्यालयमा पनि नोकरी यथावत राखी पाउँ र कामै नगरेको अवधि पनि
निजको नोकरी अवधिमा समावेश गरी पाऊँ भन्ने निजको दावीको कुनै कानूनी आधार त छँदैछैन। अपितु
नेपालको सरकारी स्वामित्वको संस्थानमा कार्यरत कर्मचारीले आफूखुशी अमेरिकामा कार्यरत रहेको अवधिलाई
नेपालको नोकरी अवधिमा समावेश गराउन खोज्नु नैतिक दृष्टिकोणबाट पनि उचित र तर्कसंगत देखिन आउँदैन।
असाधारण बिदा लिएको कर्मचारी स्वीकृत बिदापछि हाजिर भएमा मात्र निजको
नोकरीले निरन्तरता पाउन सक्ने हो। त्यसमा पनि असाधारण बिदाको अवधि नोकरी
अवधिमा गणना नगर्ने भन्ने साविक दूरसंचार संस्थानको विनियमावलीको विनियम
७९ मा स्पष्ट उल्लेख हुँदा हुँदै निजले असाधारण बिदा लिएको अवधि निजको सम्पूर्ण नोकरी
अवधिमा गणना गर्न मिल्ने देखिँदैन।
जहाँसम्म २० वर्ष सेवा अवधि पुर्‍याई पेन्सन दिलाई दिन भन्ने परमादेशको आदेश
जारी गरी पाउँ भन्ने रिट निवेदकको माग छ, सो सम्बन्धमा हेर्दा यी रिट निवेदक
२०३२।२।१३ मा संस्थानको स्थायी सेवामा प्रवेश गरेको देखिन्छ। २०५०।१२।२१ देखि ३
वर्ष असाधारण बिदा लिई ३ वर्ष पछि कार्यालयमा उपस्थित नभएको कारण २०५०।१२।२१
देखि लागू हुने गरी सेवाबाट हटाइएको छ। सम्पूर्ण प्रकृया पूरा गरी नोकरीबाट हटाइएको
छ। यस्तो अवस्थामा निवेदकले पेन्शन पाउने अवधि यस अदालतले त्यसै पुर्‍याई दिने
होइन। अमेरिकामा काम गर्ने र नेपालको कार्यालयबाट पेन्शनयोग्य नोकरी पुर्‍याई पेन्शन
खोज्नु भनेको विद्यमान कानूनी व्यवस्थाको उपहास गर्न खोज्नु हो। यस्तो प्रवृत्ति अत्यन्त
दुखद र अस्वीकार्य हो। यस्तो प्रवृत्तिलाई पनि हर तवरबाट हतोत्साहित गर्नु पर्दछ। यी रिट
निवेदकले पेन्शन पाउन सक्ने अवधिसम्म बिपक्षी नेपाल टेलिकममा कामै नगरेकोले निजले
पेन्शन पाउन सक्ने अवस्था छैन।
तसर्थ, उपर्युक्त आधार कारण समेतबाट निवेदकले माग गरेबमोजिमको आदेश जारी
गर्नु पर्ने अवस्थाको विद्यमानता नदेखिएकोले प्रस्तुत रिट खारेज हुने ठहर्छ। निवेदनको
दायरी लगत कट्टा गरी फायल नियमानुसार बुझाई दिनू।

प्राधिकरणबाट स्थापित हटाइए - onlinekhabar

सरकारले काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त केशव स्थापितलाई अवकाश दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्थापितको स्थानमा योगेश्वरकृष्ण पराजुलीलाई पाँच वर्षका लागि नियुक्त गरेको छ।
सरकारले गत वैशाखमा काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा पूर्वमेयर केशव स्थापितलाई पाँच वर्षका लागि नियुक्त गरेको थियो। स्थापित पछिल्लो पटक भएको स्थानीय निर्वाचनमा अत्यधिक मतका साथ मेयर निर्वाचित भएका थिए। उनलाई सहायक मन्त्रीसरह सेवा सुविधा दिइने भनिएको थियो।
प्रधानमन्त्री निकट स्रोतका अनुसार आयुक्त स्थापितको कामप्रति प्रधानमन्त्री भट्टराईले लामो समयदेखि असन्तुष्टि पोख्दै आएका थिए। बैशाखमा उनलाई आयुक्तको जिम्मेवारी दिइएपछि नौ महिनासम्म कुनै काम नगरेको भन्दै प्रधानमन्त्रीले उनलाई बोलाएरै राजीनामा गर्न समेत भनेका थिए। तर स्थापितले त्यसलाई अस्विकार गरेपछि प्रधानमन्त्री कानूनी प्रक्रिया पुरा गरेर हटाउने निश्कर्षमा पुगेको स्रोतको दावी छ।
स्थापितको काममा अनियमितताको आशंका गर्दै प्रधानमन्त्रीले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाको संयोजकत्वमा भौतिक योजना निर्माण तथा यातायात सचिव तुलसी सिटौला र कानून सचिव भेषराज शर्मा सहितको समिति गठन गरेर उनको कामको मूल्यांकन गर्दै सात दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको नागरिक दैनिकमा खबर छ ।
‘स्थापितलाई हटाउनुको कारण उनलाई पार्टीमा प्रवेश गराउने प्रयास असफल हुनु र सडक विस्तारको काममा लाइन नमिल्नु हो,’ शहरी विकास मन्त्रालयका एक सहसचिवले भने ‘आफुले ल्याएर नियुक्त गर्दा पनि आफुले भनेजस्तो काम हुँदैन भने उनलाई राखिराख्नुको औचित्य प्रधानमन्त्रीले देखेनन्।’
प्रधानमन्त्री निकट स्रोतका अनुसार यसअघि काठमाडौं महानगरपालिकाको मेयर हुँदा अत्याधिक चर्चा बटुलेका थिए। त्यसैबाट प्रभावित भएर स्थापितलाई आयुक्त बनाइएपनि उनले खासै चर्चायोग्य काम गरेर देखाउन सकेनन्। उल्टै सुकुम्वासी समस्या समाधान गर्ने, सडक विस्तार गर्ने काममा मतभेद देखियो। सुकुम्वासी समस्या समाधान गर्न दिइएको निर्देशन पालना नभएपछि मुख्यसचिव लीलामणी पौड्याल समेत स्थापितसंग रुष्ट बनेका थिए।

यो पनि पढौ l 

दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड - mysansar

[देशमा महिला हिंसाबारे सचेतना जाग्दै गरेको बेला सिंगापुरबाट फर्कँदै गरेका पूर्वराजा ज्ञानेन्द्रले एयरपोर्टमा 'महिला हिंसा निन्दनीय छ, चाँडै त्यो टुंगो लगाउनुपर्छ, यो राष्ट्र र समाजको कंलक हो, यसलाई सकेसम्म चाँडो निर्मूल पार्नुपर्छ' भने। यसैसँग जोडेर नमिता-सुनिता हत्याकान्डको कुरा उठाएर एउटा ब्लग लेखेको थिएँ। त्यसपछि हत्याकान्डपछि कास्कीको सिडिओको रुपमा खटाइएका सूर्यबहादुर सेनले आफ्नो आत्मकथा 'मेरो कथाहरुको कथा'मा लेखिएका केही अंश उद्धृत गरिएको ब्लग पनि धेरैले रुचि दिएर पढे। यही हत्याकान्डको विषयमा प्रहरी अनुसन्धानका कागजात र पीडितको डायरीसमेत समेटेर पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले 'दरबार कान्डपछि दबाइएको अर्को हत्याकान्ड' लेखेका थिए। पुस्तक नपढेकाहरुका लागि माइसंसारमा यसबारे जानकारी राख्न पाए हुने जस्तो लागेर लेखक किशोर श्रेष्ठसँग अनुमति लिई पुस्तक अंश यहाँ साभार गर्दैछौँ।
प्रतिनिधिपात्रहरुको रामकहानी
को हुन् नमीता–सुनीता? के हो नमीता–सुनीता हत्याकाण्डको कथा? र, कोसँग जोडिएको छ यसको लहरो? २५ वर्ष पहिलेको रहस्यमय घटनालाई लिएर अहिले पनि अँध्यारा कोठाहरुमा किन षड्यन्त्रका जालहरु बुनिँदैछन्? किन नमीता–सुनीताको ‘हंस’ दरबारमार्गको शालिक वरिपरि घुमेझैं प्रतीत भइरहेछ?
यो कथा तिनै अभागी चेलीहरुको हो, जसले वास्तविक जीवन जिउनै पाएनन् र जसका कलिला एवं निर्दोष रहरहरु कोपिलामै निर्ममतापूर्वक निमोठिए। तिनलाई दुख्दा संवेदनशील मन भएकाहरुले ‘कठै’ त भने तर आफू सकिएर अनन्तमा बिलाउँदा पनि बिचरीहरुले सहानुभूतिबाहेक न्यायको ‘न’ समेत पाउन सकेनन्, अझै सकिरहेका छैनन्। अझै पनि नेपालका दूरदराज एवं शहरी इलाकामा दैनन्दिन हिंस्रक मनुवाहरुद्वारा रचिने षड्यन्त्रहरुको शिकार भइरहेका लाखौं अबलाका गुमनाम प्रतिनिधि पात्रहरुको रामकहानी पनि हो यो।



लाखौं नेपाली महिलाहरुको नियति नै भन्नुपर्छ, उनीहरुलाई न बाँच्दा चैन छ, न मरेर मृत्युको मूल्य हासिल हुन्छ। दशकौंदेखि दासताको जञ्जिरमा लपेटिएका नेपाली महिलाहरु २१ औं शताब्दीको अत्याधुनिक कालखण्डमा आइपुग्दा पनि उही नियतिको शिकार बनिरहेका छन्। समाज अन्धो छ, उनीहरुमाथिको विभेद निर्मूल पार्नमा। त्यसमा पनि राज्यको उपल्लो तहका व्यक्तिहरुको नामसँग कुनै कृत्य जोडिँदा त्यसको ढाकछोप, त्यसउपर जालझेल, षड्यन्त्र र नानाथरिका साँठगाँठका कथा हामीले धेरैपटक सुन्दै र भोग्दै आएका हौं। त्यही ढाकछोप, जालझेल र षड्यन्त्रको अनुपम नमूना हो यो कथा।
तर,जालसाजीपूर्वक इतिहास जित्नेहरुको कृत्य एक दिन पटाक्षेप हुन्छ। इतिहास सधैं कुटिलतापूर्वक जित्नेको घोडामात्रै बनिरहँदैन रहेछ। बहुलवादी समाजमा नागरिकको चेतनास्तर उकासिँदै जाँदा जस्तै षड्यन्त्रका बान्कीहरु पनि एकदिन एक–एक गरी खुल्दा रहेछन्, र जनताले तिनलाई नाङ्गेझार पार्दै जाँदा रहेछन्।
झण्डै–झण्डै हामीले भुल्न लागेको यो एउटा त्यस्तो कथा हो, जसमा राज्यको उपल्लो तहका नागरिकले कतिसम्मको षड्यन्त्र रचेर अपराध गर्दछन् र ढाक्छन् भन्ने कुरा छर्लङ्ग प्रस्तुत भएको छ। यो पंक्तिकारले केही बोल्नुपर्दैन, जे बोल्छ तथ्य बोल्छ, लिखितम्को एक–एक अक्ष्ँर बोल्छ र भन्छ– ‘इतिहास सधैं षड्यन्त्रको पुलिन्दामा कैद भइरहँदैन!’
‘विशेष’ मान्छेहरुलाई अझै पनि के भ्रम छ भने इतिहासमा भए/गरिएका घटनाहरुलाई गगनसिंहको हत्यालाई जस्तैगरी लुकाउन सकिन्छ र हर मान्छेका विभत्स हत्याहरुलाई पनि रहस्यमय बनाइरहन सकिन्छ सधैंभरि। इतिहासलाई सधैंभरि गुमराहमा राख्न खोज्ने र त्यसलाई नाङ्गेझार पार्न खोज्नेहरुको हारजीत हुन बाँकी एउटा लडाइँको आयाम पनि हो यो घटना।

काट्टो नखाँदै ढिसमिस

उसो त रगतै रगतले लत्पतिएको, अनि षड्यन्त्रै षड्यन्त्रको पुलिन्दाले भरिएको एउटा दुर्दान्त इतिहास हो– नेपाली राजदरबारको चौपर्खाल र त्यस वरिपरिको भूगोल। जनताप्रतिको उत्तरदायित्वमा भन्दा आफ्नै मनोदशाहरुको तृप्तिमा व्यस्त रहने नकारात्मक दरबारिया प्रवृतिकै एउटा कडी हो ०५८ जेठ १९ कालरात्रिको शाही संहार। तर, त्रिपुरेश्वरमा राजा वीरेन्द्रको काजक्रिया सकिएको थिएन, बाहुनहरुले काट्टो खाएर हात्ती चढ्न पनि भ्याएका थिएनन् र वीरेन्द्र राजाको बंश–बध गरिएकोमा नेपाली जनता अश्रुमिश्रित आक्रोशमा रुमल्लिइरहेका थिए। सर्वसाधारण सबै स्तब्ध थिए, सुचारु केही थिएन। तर, त्यही स्तब्धताका बीच, अर्थात् राजा वीरेन्द्रको वंशबिनाश भएको १० औं दिन दरबारियाहरु मुछिएको एउटा मुद्दालाई हठात् टुङ्गो लगाइयो, त्यो पनि अत्यन्तै गोप्य तवरमा।
मुलुकको गति टक्क रोकिएको बेला व्यापक रुपमा प्रहरी, प्रशासन र कानूनकर्मीहरु परिचालित हुन्छन्, र ‘माथिको आदेश’ मा, संदिग्ध शैलीमा अदालतै नपुर्‍याई पुनरावेदन सरकारी वकिल कार्यालयबाटै गुपचूप मुद्दा टुङ्गो लगाइन्छ भन्ने कुराको कसले पो अनुमान लगाउन सक्ला र! तर, भयो त्यस्तै।
पञ्चायतकालीन नेपालमा राज्यको बर्बरताअन्तर्गत खूबै चर्चाप्राप्त विषय हो यो। निहत्था तीन चेलीलाई बलात्कार गरी उनीहरुको जीवनहरण गरिएको र वर्षौंदेखि जोडतोडका साथ उठ्दै आएको विषय पनि हो यो। २० वर्षदेखि किनारा लाग्न नसकेको यो मुद्दालाई इशारा–इशाराकै भरमा किनारा लगाइयो र दरबारियाहरु सुनपानीले चोख्खिने चालमा लागे।
२०३८ साल जेठ २४ गते पोखरामा भएको नमीता–सुनीता–नीरा–चूडामणि हत्याकाण्डसम्बन्धी मुद्दाको ठ्याक्कै २० वर्ष ६ दिनपछि, अर्थात् ०५८ जेठ २९ मा हठात् टुङ्गो लगाइएको छ। पोखरास्थित पुनरावेदन सरकारी वकिल कार्यालयले जिल्ला सरकारी वकिल कार्यालयलाई त्यसदिन गोप्य र अति जरुरी एक पत्र पठायो। वादी श्री ५ को सरकार र प्रतिवादी ‘नखुलेको’ सो मुद्दा ‘सह–न्यायाधिवक्ताज्यूसमक्ष्ँ पेश हुँदा’ भन्दै पत्रमा ‘हाललाई कोही कसैउपर मुद्दा नचलाउने गरी मिति ०५८।२।२९ मा निकासा भएकाले कानूनबमोजिम गर्न’ आदेश दिइएको थियो। पत्रमा मुद्दाका जाहेरीवाल शेषमणि शर्मा कहाँ–कुन अवस्थामा छन्, भन्नेबारे केही उल्लेख छैन। सोही हत्याकाण्डका भरपर्दा साक्षी वनपाले चूडामणि अधिकारीको लगत्तै भएको रहश्यमय मृत्युसम्बन्धी मुद्दाको बारेमा पनि ‘आदेश दिनेहरु’ चूपचाप छन्। पुनरावेदन सरकारी वकिलको कार्यालयले त्यसरी जिल्लालाई पत्र पठाएपछि जिल्लाले ‘पछि खोजी भएका बखत उपलब्ध गराउन सक्नेगरी’ भन्दै प्रशासनलाई कागजातहरु कसैले भेट्टाउनै नसक्नेगरी लुकाएर राख्न अनुरोध गर्दै अर्को पत्र पठायो।
उता अपराधी पत्ता लाउनमा माखो नमार्ने प्रहरी प्रधान कार्यालयको उक्त हत्याकाण्डको फाइल बन्द गराउनमा चाहिँ चासो र संलग्नता अचम्मैसँग फूर्तिलो ढङ्गको पाइएको छ। उसले सि.नं. १०८९९ को सञ्चार आदेश क्षेत्रीय प्रहरी कार्यालय, पोखराको नाममा जारी गर्दै ०६० साल मंसीर १८ गते दिउँसो १५ः२० बजे दर्ता नम्बर ११५९८ मार्फत् भनेको थियो– ‘आर्थिक वर्ष ०३७/०३८ वा ०३८/०३९ मा दर्ता भएको समिता–नमीता हत्याकाण्डसम्बन्धी मिसिल सुरक्षिततवरले अबिलम्ब पठाउनुहुन नि. अनुरोध छ।’ यसको भोलिपल्टै डीआइजी कार्यालयका प्रहरी नायव उपरीक्षक रामजी थापाले क्रमसंख्या ४२२९ रहेको ताकेतापत्र जिल्ला प्रहरी कार्यालय, कास्कीका नाममा प्रेषित गरेका थिए। सोही ताकेताअनुसार प्रहरी निरीक्षक तुलबहादुर कार्कीले पुस १४ गते नक्सालस्थित अपराध अनुसन्धान विभागको अभियोजन महाशाखाका नाममा पत्र (मु– २–१– ३९/०६०/६१, च.नं. ४५४८) लेख्दै प्रहरी जवान बालकृष्ण देवकोटाको जिम्मा लगाई हत्याकाण्डको मिसिल काठमाडौं पठाएर माथिको हुकुम तामेल गरे। त्यसको पर्सिपल्ट दिउँसो १४ः५० बजे प्रहरी नायव निरीक्ष्ँक (सइ) इन्द्रबहादुर थापाले उक्त मिसिल बुझेर हाकिमहरुसमक्ष टक्र्याएका थिए। त्यो मिसिलमार्फत् जिल्ला प्रहरी कार्यालय, कास्कीले ०५८ को जेठमा नीरा पराजुलीको अवस्था अज्ञात रहेको र नमीता–सुनीता भण्डारीलाई कसले, कसरी हत्या गरी घटनास्थलमा फ्याँकेको भन्ने कुरा ‘हालसम्मको अनुसन्धानबाट खुल्न नआएको’ भन्दै पछि खुल्न आएको बखत कानूनबमोजिम गर्नेगरी उक्त मुद्दा टुङ्गयाउने तारतम्य मिलाएको थियो।
स्मरणीय के छ भने, मुद्दा फिर्ता लिने प्रक्रिया सट्याकसुटुक चलिरहेका बेला नेपाली कांग्रेसका रामचन्द्र पौडेल उपप्रधान तथा गृहमन्त्री थिए भने मुद्दाको फायल पूर्णतया बन्द गरिँदा बद्रीप्रसाद मण्डल उक्त पदको रैथाने भइसकेका थिए। संयोग पनि कस्तो भने, पोखरामा नमीता–सुनीतामाथि बलात्कार हुँदा मण्डल यता राजधानीको वीर अस्पतालमा स्वास्थ्यमन्त्रीका हैसियतले एकजना नर्समाथि दिनदहाडै हात हाल्दै थिए। राजा वीरेन्द्रको वंशबिनाश भएलगत्तै पौडेलले एक सार्वजनिक कार्यक्रममा ‘माओवादी निर्मल निवासबाट सञ्चालित छन्’ भन्ने अभिव्यक्ति दिएका थिए र ‘त्यसैबापत’ उनको ‘जागिर खोसुवामा’ परेको थियो भने ०५९ असोज १८ पछि प्रभूको पाऊमा आफ्नो आधा पार्टीसहित लम्पसार परेबापत मण्डलले मुलुकको सुरक्षा संयन्त्र हाँक्ने महŒवपूर्ण जिम्मेवारी प्राप्त गरेका थिए। दरबारलाई हुने/नहुने सबै काममा आँखा चिम्लेर साथ दिने भएपछि लोकेन्द्र,मण्डल र सबैखाले मण्डलेहरु घुम्दैफिर्दै रुम्जाटार भनेझैं सत्तामा पटकपटक सामेल हुनु अस्वभाविक कुरा पनि त भएन!
वीरेन्द्र मारिएको शोकमा सिङ्गो राष्ट्र डुबिरहेको मौका छोपेर अपराधीहरुलाई अभयदान दिने प्रक्रियाको शुरुवात गर्नका लागि पनि यसअघि उत्तिकै नाटकीय कसरत भएको थियो। जिल्ला प्रहरी कार्यालय, कास्कीका तत्कालिन प्रहरी उपरीक्ष्ँक (एसपी) रमेशशेखर बज्राचार्यले प्रहरी निरीक्ष्ँक (इन्स्पेक्टर) नरेन्द्रबहादुर सापकोटालाई ‘त्रुटीरहित तवरबाट कार्य गर्न’ अनुसन्धान अधिकृत खटाएका थिए। अनुसन्धान अधिकृत खटिएका इन्स्पेक्टरले जिम्मेवारी पाएको पाँच दिनपछि सइ राजेन्द्रप्रसाद रेग्मीको नाममा एक पत्र (मु.मि.नं. ४० ०३७/३८, ०५७/०५८) लेखी काठमाडौं नयाँ सडकस्थित महिला संगठन (तत्कालिन) को कार्यालयअगाडि विजय पान भण्डारका मालिक सानुबाबु भन्नेको छोरा राजु भन्ने झलकमान रावतसँग केही कुरा बुझ्नुपर्ने उल्लेख गर्दै झलकमानलाई खोजेर फेला परेमा कार्यालय (जिप्रका, कास्की) मा उपस्थित गराउन आदेश दिएका थिए। उनले प्रहरी हवल्दारहरु ताराप्रसाद पोखरेल र आत्माराम रिजाललाई पनि झलकमानको खोजीका लागि खटाएका थिए, तर झलकमान फेला परेनन्। यिनै झलकमानको खोजीका निम्ति २० वर्ष पहिले ०३८ साल जेठ ३२ गते आइतबारका दिन (पत्रसंख्या मु. १८/१२४२ मार्फत्) नमीता–सुनीता हत्याकाण्डका तत्कालिन अनुसन्धान अधिकृत प्रहरी निरीक्ष्ँक बाबुराम पुनले नायव निरीक्ष्ँक नरबहादुर शेरचनको नेतृत्वमा प्रहरी जवान सिंहबहादुर थापासहितको टोली खटाएका थिए। उक्त टोली राउतको खोजी गर्दै हनुमानढोकासम्म आइपुगेको थियो, तर न त्यतिबेला न त अहिले नै प्रहरीले निजलाई पक्रन सक्यो। उक्त हत्याकाण्डमा निजको के–कस्तो संलग्नता थियो, जसले गर्दा पछिसम्म पनि निजको पिछा छोडिएन, यसको रहश्य भने गर्भमै रह्यो। बरु, अनौठो संयोग त के देखियो भने दुबैचोटी निजको खोजीमा सुरक्षाकर्मी खटाउने प्रहरी हाकिमहरु त्यसलगत्तै या त सरुवा गरिए, या राजीनामा लिएर घर पठाइए।
यसरी, राजा वीरेन्द्रको जूठो नसकिँदै नमिता–सुनीता हत्याकाण्डको मुद्दालाई ढिसमिस पारियो, जुन कुरा अहिलेसम्म बाहिर नल्याई लुकाइराखिएको छ।

कति कठोर नियति!

कलिला मुनाजस्ता आफ्ना छोरीहरु अकालमै चँुडिएपछि लाजिम्पाटस्थित भण्डारी निवास अझै पनि सुनसान छ। १७ सालमै असाध्यै व्यथाले च्यापेपछि २८ वर्षकै युवा उमेरमा आर्यघाट लगेर पनि पुनर्जन्म पाएका माधवराज भण्डारीलाई अचेल मधुमेहसम्बन्धी रोगले सताइरहेको छ। यसबाट बचेर कृत्रिम रुपमा जीवनयात्रा अघि बढाउन उहाँले दिनको चारचोटि इन्सुलिनको सुई लगाउनुपर्छ। कति कठिन हुन्छ जीवन, जब मानिसको शरीरमा हरेक दिन पटक–पटक घोचिरहनुपर्ने हुन्छ! दिनचर्या पूरै बद्लिएको छ उहाँको। सुई लगाइरहनुपर्ने हुँदा धेरै समय उहाँ घरबाहिर बिताउन सक्नुहुन्न। साथीभाइसँगको सङ्गत एकादेशको कथा भइसक्यो। कलेजोमा खराबी देखियो भन्छन् चिकित्सकहरु। जीवनको उत्तरार्द्धमा पुगिसक्नुभयो उहाँ। उमेरले ७३ नाघिसक्यो। ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भनेझैं थरिथरिका बिमारीले सताएको उहाँको आँखाबाट अनियन्त्रित आँशु बगिरहन्छ। घुँडोले राम्ररी टेको दिँदैन। माधवराजको जीवनमा आइलागेको आपत्ति गन्दै जाने हो भने एकभारि पुग्न बेर छैन। ०४६ सालको परिवर्तनपछि पोखरा हत्याकाण्डको निष्पक्ष्ँ छानविन होला र हत्याराहरुले सजायँ पाउलान् भन्ने आशा पलाएको थियो उहाँको परिवारमा। तर, जनान्दोलनका दौरान नरसंहार मच्चाउनेहरुलाई मल्लिक प्रतिवेदनसमेत फोहोरको डङ्गुरमा मिल्काएर सात खत माफ दिने बहुदलीय नेताहरुले अरु सर्वसाधारणसरह भण्डारी परिवारको आशा र भरोसामाथि समेत निर्मम कुठाराघात गरिदिए। त्यतिमात्र कहाँ हो र, छोरीहरु मारिएको १० वर्ष पनि नपुग्दै तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सनकमा उल्टै माधवराजको अनिवार्य अवकास पाउनु दुईवर्षअघि नै जागिर खोसियो। केही महिना कुरेर कन्फर्म सचिव हुन दिइएको भए उहाँले अहिले मासिक निवृत्तिभरण कम्तिमा १२ हजार पाउनुहुन्थ्यो। तर, सत्ता नै पछि लागेपछि कसको के लाग्दो रहेछ र!
आफू महावाणिज्यदूतका रुपमा कलकत्तामा कार्यरत रहँदा त्यहाँको रथुद्दिन होटलमा ०१५ सालका कांग्रेसी गृहमन्त्री सूर्यप्रसाद उपाध्यायसँग सुटुक्क भेटघाट गर्न गइरहनुहुन्थ्यो उहाँ। सुवर्णसमशेर बित्दा श्रद्धाञ्जलि दिन पनि गणेशमानजीसँगै जानुभएकै हो। शायद यस्तै–यस्तै गतिविधिका कारण समय नपुग्दै पटक–पटकको ताकेताबाट फिर्ता बोलाइयो। र, अतिरिक्त समूहमा थन्क्याइयो लामो समयसम्म। ००६ सालको एसएलसी बोर्डमा हालका चर्चित इञ्जिनियर गौरीनाथ रिमालसँगै तेस्रो स्थान हासिल गर्ने मेधावी छात्र हुनुहुन्थ्यो माधवराज। सरकारी जागिर खानुअघि उहाँसँग लैनचौरको शान्ति विद्यागृहमा प्रधानाध्यापकको हैसियतले राष्ट्रसेवा गरेको अनुभवसमेत हासिल छ।
सिन्धुपाल्चोकको ठोकर्पामा पर्छ उहाँको पुर्ख्यौली घर। त्यहींको बाघभैरव उच्च माविमा हुन लागेको माओवादी अभिनन्दनमा सेनाले चारवटा हेलिकप्टरबाट बम बर्साउँदा ०६२ चैतको १४ गते विद्यालय क्षतविक्षत हुनुको अलावा नजिकै बाख्रा चराइरहेका …वर्षीय बृद्धको ज्यान गएको थियो। अरु पनि थुप्रै घाइते भएका थिए। त्यहींबाट आउँथ्यो वर्षको ३५ मुरी धान। तर, विश्वास गरिएको नजिकको मान्छेले नै घात गरेपछि बिगत ४ वर्षदेखि गाउँबाट आउने अन्नको आश पनि मरेको छ। त्यसमाथि मोहीबाट बाली बुझेर वर्षेनी काठमाडौं ल्याइदिने छिमेकी टङ्कप्रसाद न्यौपानेको ०६१ सालको दशैंताका निधन भएपछि त आउने बाटो पूरै बन्द भइगयो। त्यसो त उनी जीवित छँदै पनि माओवादीले उठाएर लगिदिएको र आएर खाइदिएको भन्दै बाली बुझाउने क्रम टुट्दै गएको थियो।
यत्तिमै मात्र टुङ्गिँदैन नमीता–सुनीताका अभिभावकहरुको रामकहानी। ६५ वर्षीया माता उच्च रक्तचापको व्यथाद्वारा सताइनुभएको छ। एक्ला दाजु प्रदीप बेलायत गएर उतै बेरोजगार हुनुभएको छ। आफ्ना बहिनीहरुमाथि भएको क्रुरतम् अत्याचारका कारण मानसिक तनाव उत्पन्न भएपछि कलेज छाडेर जोगी हुन्छु भनी तीन महिनासम्म अलप हुनुभएका उहाँको जीवन विदेशमा पनि सुखपूर्वक व्यतित हुन पाएको छैन भने आमाबाबुको समस्या हेर्ने त कुरै आएन। एकान्तप्रेम बढ्दै गएको छ उहाँमा। त्यसैले प्रदीपको जीवनमा पारिवारिक विखण्डनको पहाड पनि आइलागेको छ र भर्खरै उहाँले आफ्नी जीवनसङ्गीनीको साथ छाडेर अर्कैसँग गृहस्थी सम्हाल्न थाल्नुभएको छ।
माधवराजकी आमा ९० वर्षको हुनुभयो। उहाँ पनि लाजिम्पाटमै बस्नुहुन्छ। बस्, तीनजना बूढाबूढीको सुस्त पद्चाप सुनिन्छ त्यो घरमा। र, घरपछाडिको बगैंचाबाट आउने चराचुरुङ्गीको आवाजबाहेक कुनै पारिवारिक कोलाहल छैन त्यहाँ। एउटी सानी फुच्ची छिन्, उनले बेलाबखत पानी तताइदिन्छिन्। घरमा अरु कोही बस्दैनन्, त्यसैले भाडा आउने कुरै भएन। जागिरे जीवनको निवृत्तिभरणबापत प्राप्त हुने महिनाको ८ हजार ८ सय ६४ रुपियाँले गुजारा चलेको छ। माधवराजकी दुईजना आमा हुनुहुन्छ। त्यसमध्ये जेठीपट्टीबाट जन्मनुभएका ठूला दाजु उद्धव भण्डारीको ०१४ सालदेखि नै अत्तोपत्तो छैन भने भतिज बल्लभ अहिले जनकपुर चुरोट कारखाना लिमिटेडको बानेश्वरस्थित कार्यालयमा सातौं तहको जागिरे हुनुहुन्छ।
नीराका बुबा थीरमणि पनि ०५७ सालको मंसीर १० गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बितिसक्नुभएको छ। नीराका जेठाभाइ किरण रक्सीको लतमा लागेर पिताजीको पद्चिन्ह पछ्याउँदै ०५९ फागुन ६ गते काठमाडौँ मेडिकल कलेजमै बिते भने कान्छो भाइ सञ्जीव हाल अमेरिकामा छन्। किरणका एक छोरी र एक छोरा हाल टुहुरो अवस्थामा छन्। संभवतः नीरा यतिखेर हुन्थिन् भने त्यो घरमा यसरी अन्धकार छाउने थिएन होला।

सबैको एउटै बोली

हो, यिनै दुई परिवारलाई आज पनि धरधरी रुवाइरहने पोखरा हत्याकाण्ड सम्पूर्णतः टुङ्गयाउने प्रयोजनका निम्ति राज्यको सिङ्गो संयन्त्र यसरी सक्रिय भयो कि त्यसको चपेटामा पर्नबाट कोही पनि बच्न सकेनन्। मुद्दा चलाउनका निम्ति प्रमाण पुगेन भन्ने दुनियाँलाई देखाउन घटना भएको ठ्याक्कै २१ वर्षपछि पोखरावासीहरुलाई घर–घर पुगेर प्रशासनको पक्षमा सकारात्मक बयान दिन बाध्य बनाइयो।
यसक्रममा ०५८ जेठका विभिन्न मितिमा पोखरा उपमहानगरपालिका वडा नं. २ बस्ने वर्ष ४६ का अर्जुनबिक्रम राणा, सोही स्थानमा बस्ने ४० वर्षीय बिनोद पराजुली, वडा नं. १ का बासिन्दा रामभूषण पराजुली र मिरुवा निवासी ५४ वर्षीय रुद्रमणि पराजुलीबाट झण्डैझण्डै उस्तै व्यहोराको बयान लिइयो भने सकारात्मक परिणाम हात नलाग्ने ठहरका साथ बल्लभराज भण्डारीको हकमा चाहिँ १८ वर्षअघि नै बगालेटोल पोखरा–८ छाडेर हिँडेको र हाल अत्तोपत्तो नभएको व्यहोरा कागजमा उतारियो। राजन श्रेष्ठ र ६१ वर्षीय बृद्ध देवीप्रसाद गुरुङ्गको रोहवरमा प्रहरीले लिएको बयानमा सबैको जवाफ थियो– ‘२०३८ जेठ २९ र २०३८ असार ६ गते पोखरा ११ फूलवारी तथा वडा नं. ३ नारायणस्थानको बीचमा पर्ने सेती नदीको किनारामा नमीता तथा सुनीता भण्डारीको मृतक लाश फेलापरेको थाहा पाएको हुँ, निजहरुलाई को–कसले उक्त अवस्थामा हत्या गर्‍यो मलाई थाहा भएन, हालसम्म हराइरहेकी नीरा पराजुली के–कहाँ छन् थाहा भएन भनी सही–छाप गर्ने………।’

पोखरा प्रस्थान

यो कथाको शुरुवात ०३८ साल जेठ १८ गते काठमाडौं, लाजिम्पाटका दुई सम्पन्न परिवारबाट भएको छ।
जेठ १८ गते बिहान ७ बजे नमीता, सुनीता र नीराको पोखराका लागि प्रस्थान भयो। साथमा नमीता, सुनीताका दाजु (ठूलाबुबाका छोरा) बल्लभ भण्डारी, उनकी श्रीमती विजया, बहिनी शारदा र सानो छोरा पिन्टु (विनय) पनि थिए। नमीता–सुनीताको विद्यार्थी सहुलियतमा अघिल्लो दिन टिकट काटिएको थियो। बल्लभ बसको अघिल्लो भागमा ड्राइभरस“गै बसेका थिए भने केटीहरु सबभन्दा पछिल्लो सिटमा थिए।
बल्लभको घर चाबहिल र ससुराली लाजिम्पाटमा पर्दछ। उनैको संरक्षणमा रहनेगरी यी केटीहरुलाई पोखरा जाने अनुमति प्राप्त भएको हो। पोखरा भ्रमण नमीता–सुनीताका निम्ति नौलो अनुभव थियो भने नीरा यसभन्दा अघि दुईचारपटक पोखरा गइसकेकी थिइन्। पोखराको विन्ध्यवासिनी छेउ, सराङकोट जाने बाटोको फेदीमा नीराकी हजुरआमा र स्थानीय विद्यालयको प्रधानाध्यापक रहेका काका रुद्रमणिको बसोबास छ।
दिउ“सो अढाई बजेतिर पोखरा बसपार्कमा उत्रिएर सातै जनाले बगाले टोल जान अर्को लोकल गाडी पक्रिए। त्यहा“ बल्लभको सानो डेरा थियो। उनी जनकपुर चुरोट कारखानाको पोखरा डिपोका खरिदार थिए। नीरा त्यसै सा“झ काकाको घरतर्फ लागिन्।
भोलिपल्ट बिहानदेखि पानी पर्न थाल्यो। तैपनि ७ बजे नीरा ट्याक्सीमा बगाले टोल आइपुगिन् र नमीता–सुनीतालाई समेत लिएर तुरुन्तै फर्किन्। नीराको काकाको घरमा उनीहरु केही घण्टामात्र बसे। १०.३० बजेतिर बल्लभको डेरा हु“दै पूर्णिमा सिनेमा हलतर्फ लागे। त्यसदिन उनीहरुले हेरेको हिन्दी फिल्मको नाम थियो– सञ्जीवकुमार र लाटीको भूमिकामा जया भादुडी(बच्चन)द्वारा अभिनित …कोशिश’। अघिल्लो दिनझैं त्यस दिन पनि नीरा साथीहरुस“ग रात बिताउने गरी बसिनन्। सा“ढे चार बजे नै उनी काकाको घरतर्फ लागेकी थिइन्। २० गते बिहानै उनीहरु फेवाताल हेर्न गए। एकैछिनमा पानी पर्न थाल्यो। डा“फे कला मन्दिरमा ओत लागेर उनीहरु १२ बजेतिर डेरा फर्किए। २१ गते बगर घुम्ने क्रममा बल्लभस“ग बसपार्कमा भेट भयो। उनी कार्यालयकै कामको सिलसिलामा स्याङ्जा जान लागेका थिए। बुधबारदेखि घुम्न जानेमा तीनजना मात्र भए किनकि उनीहरुका साथमा हि“ड्ने १३ वर्षीय भुवन (काकाको छोरा) को अन्तिम परीक्षा एकदमै नजिक आइरहेको थियो र घरमा सबै आउ“को बिमारीले पीडित हुन थालेका थिए। तसर्थ, बुधबार अर्थात् २२ गते भुवनलाई घरमै छाडी तीनजना केटी पेन्सन क्याम्पमा रहनुभएकी नीराकी सानीआमाकहा“ गए। सानीआमाले खाना खुवाउनुभयो। फर्कने बेलामा सानीआमालाई दुई–तीन दिनभित्र काठमाडौं जाने कुरा बताइएको थियो। दिउ“सो उनीहरु टु“डिखेलनेरै बन्दै गरेको सानीआमाको नया“ घर हेर्न गए, राति उपन्यास पढे, पढ्दापढ्दै थाकेर निदाए। बल्लभको कोठा सानो भएका कारण अघिल्लो दिनदेखि नमीता–सुनीता यता सरेका थिए।
भोलिपल्ट नमीता र सुनीता पत्र लेख्न बसे। सुनीताको पत्रमा यस्तो लेखिएको थियो–
२३ जेठ ०३८, पोखरा
आदरणीय बाबा तथा दिदीमा प्रणाम †
प्रदीप दाजुको पत्र आएको छ कि छैन? हामी अब दुई–चार दिनमा फर्की पनि हाल्छौं तर पनि रहरले यो पत्र लेख्दैछु। सबै कुरा नमीताको पत्रबाट ज्ञात हुने भएकाले यो पत्र यहीं समाप्त गर्दछु। नीराको तर्फबाट मुमा, बुबामा प्रणाम सुनाइदिनुहोला।
– उही सुनीता
(यहा“ दिदी भनेर आमा सफलादेवीलाई संबोधन गरिएको हो। प्रदीप त्यतिबेला पश्चिम बङ्गालका तत्कालीन कम्युनिष्ट मुख्यमन्त्री ज्योति बसुको विशेष कोटाअन्तर्गत छात्रावासको कोठा नं. ६० मा बसेर कोलकाता– ४ को आरजी कर मेडिकल कलेजमा एमबीबीएसका छात्र हुनुहुन्थ्यो।)
२४ गते बिहान सबेरै उनीहरु बेगनास ताल घुम्न जाने योजना बनाएर घरबाट हि“डे।
अफसोच † दुई–तीन दिनमै घर फर्कने तिनको सपना कहिल्यै पूरा हुन पाएन। जेठ २४ गते बिहानदेखि तीनजना केटीहरु फेरि कतै देखा नपर्नेगरी गायब भए। क्रमशः

यसरी जन्मियो यो पुस्तक

सुन्दर नगरी पोखरामा ०३८ जेठ २४ गते एउटा जघन्य अपराध हुँदा बाह्र वर्षको शैशवावस्थामा थिएँ म, र रिचोक्टार (मलेखु) को बागेश्वरी निमाविमा ४ कक्षामा पढ्दै थिएँ। आजै जस्तो लाग्छ उक्त काण्डमा संलग्न ठूलाठालूहरुमाथि कारबाहीको माग गर्दै स्कूले हामी भुराहरुले बजारभरि वालिङ, पोष्टरिङ गर्दै हिँडेको।
धादिङमै राजकाज मुद्दा लागेपछि राजधानी भित्रिएर नौ कक्षामा भर्ना भई अध्ययन र राजनीतिबीचको सन्तुलित जीवनयात्रा अघि बढाउने क्रममै मैले खोजी पत्रकारिता अङाल्न पुगें। प्रबुद्ध पाठकवर्गले मन पराइदिनुभयो मेरा प्रस्तुतिहरुलाई र हौसिँदै हौसिँदै म चिसो मरुभूमिका ताता राजासम्बन्धी रिपोर्टिङ गर्न कहिले मुस्ताङको लोमन्थाङ पुगें त कहिले सेतीका बगर–बगर डुल्न थालें। बहुदलीय व्यवस्था पुनर्स्थापनाको लगत्तै ०४७ बैशाखमा आफू पोखरा पुग्दाको परिणाम थियो दृष्टिमा प्रकाशित नमीता–सुनीता हत्याकाण्डसम्बन्धी धारावाहिक विवरण। भर्खरको शिकारु विद्यार्थी एवं केही नयाँ गरेर देखाउने तरुणको निम्ति परिणाममा अरु कुन कुराको प्रतिक्षा रहन्छ– आफ्ना सिर्जनामाथि प्राप्त हुने प्रतिक्रिया सिवाय? नेपाली जनताले रगतको मूल्य चुकाएर फिर्ता ल्याएको प्रजातन्त्रमा निरंकुशताको आड लिएर यसअघि अनेकन आततायी अपराध दोहोर्‍याइरहने दुर्दान्त खलनायकहरुलाई कानूनी कठघराभित्र उभ्याइएको देख्न चाहनु कनै नाजायज आग्रह पनि त थिएन! त्यसैले मैले आफ्नो रिपोर्टमा त्यतिबेला लेखेको थिएँ– ‘जुन समयमा यो घटना घट्यो, त्यसबेला मुलुकमा एकदलीय अधिनायकवादको कालो सवारमा बसेर यात्रा हाँकिरहेको पञ्चायतरुपी प्रणाली आफ्नो दानवी कायासहित उपस्थित थियो। अब त्यो राक्षस यो मुलुकमा छैन। तर, त्यस समयमा भएका अपराध र ज्यादतिका दुःखद् कथाहरु भने चिहानबाट बाहिर निस्कन आतुर छन्। अब हेर्नु छ, चिहानमा गाडिएका ती अपराधहरुको सूचीमा भएको नमीता–सुनीता हत्याकाण्डका सूत्रधारहरुलाई कांग्रेस–कम्युनिष्टसहितको बहुदलीय सरकारले कस्तो उपचार गर्ने हो! अपराध पुरिएका चिहानहरु उधिन्नु र त्यस प्रेतको छायाँबाट मुक्ति चाहनु प्रजातन्त्र सुदृढ पार्नुजस्तै अर्को महत्वपूर्ण कार्य हो। समय अहिले यही आवाजसित एकाकार छ।ँ
तर भयो के? जनआन्दोलनको बलमा बनेको अन्तरिम सरकारको मात्र के कुरा, त्यसपछिका सबैजसो जननिर्वाचित सरकारले समेत मल्लिक आयोगलगायतका सैयौं प्रतिवेदन र रिपोर्टहरुलाई त्यत्तिकै थन्क्याइदिए। त्यहींबाट शुरु भएको हो– जनताका अनेकन आकांक्षाहरुमाथि कुठाराघात गर्ने शासकीय अभियान। फलतः पञ्चातकालीन अपराधीहरुले पुनः फणा उठाउँदै गए र शीर्षासनमा तिनै खलनायकहरु पुनर्स्थापित हुँदै गए। बिनाकुनै परिश्रम, सत्ता घुमिफिरी हातमा आएपछि आफ्नो पालामा भएका अनेकन कुकर्महरु ढाकछोप गर्न तिनीहरु उद्यत हुने भइहाले। इच्छाअनुरुप नै मकरतन्त्रमा मौका जुर्‍यो उनीहरुलाई र आफ्नो हात जगन्नाथ गर्न पछि परेनन्।
हालैका दिनमा उनीहरुद्वारा गुपचुप तवरबाट गरिएका थप तिनै अपराधहरुमध्येको एक प्रमुख अपराधमा आधारित भएर लेखेको हुँ मैले यो पुस्तक। ‘माघ १९ को महाभारत’प्रति यहाँहरुले देखाउनुभएको अगाध स्नेहले जन्माएको हो– ‘दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड’लाई। अन्य विषयहरुमाथिका मेरा थप खोज–अन्वेषणहरु यहाँहरुकै अमूल्य सुझाव एवं प्रतिक्रियाहरुद्वारा निर्देशित हुने प्रतिबद्धता दोहोर्‍याउँदै अहिलेलाई बिदा चाहन्छु। धन्यवाद।
– किशोर श्रेष्ठ

Thursday, January 17, 2013

मसँग छ क्यान्सरको अचुक औषधी - JANA AASTHA

- बाबुलाल भण्डारी
सूचना प्रविधिको विकासको परिणामस्वरूप विश्वका ३० भन्दा बढी देशमा कैयाँै क्यान्सरपीडितले खुर्पानी -एपि्रकट)को प्ा्रयोगबाट नयाँ जीवन पाएका सफलताका कथाले इन्टरनेट भरिएका छन् तर हामी अझै पनि सम्पत्ति सक्न, असहृय पीडा पनि भोग्न, परिवार र आफन्तजनलाई ऋणको भारी बोकाएर अन्त्यमा मृत्यु अँगालो मार्न विवश नियति भोगिरहेका छौँ । क्यान्सर झन्डै सय बढी रोगको समुच्च नाम हो । यसमा शरीरको कुनै भागमा सुरु भएको असामान्य कोषिकाले ग्लुकोजबाट शक्ति आर्जन गरी नजिकका अरू कोषलाई निल्दै अनियन्त्रित रूपमा बढ्दै जाने हुन्छ । शरीरको अत्यावश्यक जीवन शक्तिलाई नै दोहन गर्दै यो पछि रक्त सञ्च्ाारको माध्यमबाट शरीरका अन्य अंगमा समेत फैलिई मुत्युको कारण ब्ान्छ । शरीरको हिस्सा, ट्युमरको आकार र यसको विकास चरणका आधारमा यसका भिन्न-भिन्न लक्षण प्ा्रकट हँुदै जाने भए पनि मस्तिष्क ट्युमरमा साह्रै सानो गाँठोले पनि तीव्र लक्षण देखाउँछ भने प्यांक्रियाजमा -अग्न्यासय) चाहिँ यो शरीरका अन्य अंगमा फैलिसक्दासमेत कुनै लक्षण नदेखाउने हुन्छ ।
मूलधारका परम्परागत औषधिमा केमोथेरापी, रेडियोथेरापी, श्ाल्यक्रिया, यदाकदा हर्माेन र इम्युनोथेरापीजस्ता मल्टी मोडालिटी थेरापीको प्ा्रावधान रहे पनि अलग-अलग वा संयुक्त रूपमा प्रयोग हुने पहिलो तीनवटालाई नै मुख्य उपचार मान्ने गरिएको छ । पटक-पटकको प्रयोगशाला परीक्षण, श्ाल्यक्रिया, केमोथेरापी र रेडिएसन अंकोलोजी अकल्पनीय रूपले महँगो भई यस्तो उपचार आमनेपालीको आयस्तरले नभ्याउने पक्ष एकातिर छ भने मेडिकल क्षेत्रकै दाबीलाई आधार मान्दा पनि अनुकूल परिस्थिति रहेमा यो सबै विधिबाट गुज्रने व्यक्तिले बढीमा ५ वर्ष क्यान्सरमुक्त जीवन पाउने तर यस्ता सौभाग्यशाली व्यक्ति हामीकहाँ ३ प्रतिशतभ्ान्दा बढी नहुने हालसम्मको एउटा यथार्थ हो । रोगको प्रकार, चरण र रोगीको उमेर अवस्था हेरी छनोट हुने ५० भन्दा बढी किसिमका केमो रसायन र ६०-८० जिवाई सम्म दिइने पटक-पटकका कार्वन फोटोनजस्ता आयन रेडिएसनबाट क्यान्सरको कोषिकालाई लक्ष्यित गरिए पनि अन्य स्वस्थकोषिका र अंगलाई समेत विषाक्त असर पर्न गई उपचाररत व्यक्तिको साधारण स्वास्थ्य र प्ा्रतिरोधी क्षमता नै नष्ट हुने परिस्थिति अद्यापि छँदै छ । यसबाट ज्वरो, वाकवाकी, बमन, कपाल झर्ने, रक्तकोषिका गणनामा खतरनाक गिरावट, मुखमा घाउ-खटिराले खाना खान अशक्तता, अमन, दुखाइ र शरीर फुल्नेलगायत दर्जनाँै स्वास्थ्य स्ामस्याले व्यक्तिको सहनशीलताको तहल्ााई नाघ्ने र व्यक्ति रोगले भ्ान्दा औषधिको विषाक्तताले थला पर्ने हुन्छ । धेरै चक्रमा दिइने केमो प्रोटोकल र खासगरी बारम्बारको एक्स-रे प्रत्यक्षीकरणबाट एकातर्फ पुनः दोस्रो क्यान्सरको सम्भावना वृद्धि हुन्छ भने उता मुटु, फोक्सो, स्नायु, मिर्गौला र सन्तान उत्पादन क्षमतामा दीर्घकाल्ाीन स्थायी दुस्प्रभाव पर्न सक्छ ।
सन् १९५२ मा विख्यात जीव रसायनशास्त्री डा. अरनेस्ट क्रेवले दुनियाँमा सबैभन्दा दीर्घजीवी मानिएका उत्तर-पूर्वी एरिजोनाका नभाजो इन्डियन, कालासागरको पूर्वीतट जर्जियामा बस्ने अब्खाजियन र विशेष गरी पाकिस्तानको उत्तरी पहाडी इलाकामा बस्ने आदिवास्ाी हुन्जा जातिको स्वास्थ्य र दीर्घजीवनको रहस्यभित्र क्यान्सरको समाधान लुकेको प्रारम्भिक अनुमान गरी गम्भीर अध्ययन/अनुसन्धान थाले । उनीहरूको जीवनशैली र खाद्य स्वभावभित्रका प्रमुख चिज कोदो, फापर, जौ, खुर्पानीको बियाँ ९प्भचलभकि० र देशी बदाममा साझा रूपमा पाइने अमिगडालिन भन्ने तत्त्वलाई लिएर प्रयोगशाला परीक्षण र जनावरमाथि प्रयोग गर्दा यो क्यान्सरको उपचारमा अत्यन्त प्रभावी देखा पर्‍यो । भिटामिन स्ाी को कमीले स्कर्भी र भिटामिन बी को कमीले पेलाग्राजस्ता रोग निम्तिए जस्तै क्यान्सर पनि कुपोषणजनित -डिफिसियन्सी) रोग नै भएको र अमिगडालिन भन्ने तत्त्व आधुनिक खानपानबाट हट्दै गई हाम्रो शरीरमा यसको आपूर्ति समस्याबाटै क्यान्सरजस्तो भयानक रोगको सूत्रपात हुने कुरा अनुसन्धानबाट खुल्न आयो । यसको भिटामिन बी कम्प्लेक्सकै जस्तो आणविक संरचना भएको र त्यतिन्जेल १६ प्रकारका बी भिटामिन प्ाहिचान भइसकेकाले डा. क्रेवले भिटामिन बी १७ नामकरण गरी यसैलाई सिन्थेसाइज गरेर बनेको औषधिलाई लेटराइल भन्ने ब्रान्ड नाम दिए । यो भिटामिन बी १७ अथवा अमिगडालिन भन्ने तत्त्व आरूको प्रजातिको र बाहिरबाट हल्का पहेँलो रंगमा राता धर्सा हुने खुर्पानी -अरमेनियाकाप्रुनस) भनिने फलको भित्रको तीतो बियाँमा प्रचुर मात्रामा पाइने भएकाले क्यान्सरको उपचारमा यो बेजोड प्रभावकारी ठहरियो । यसका अतिरिक्त यसमा बिटाक्यारोटिन पनि प्रशस्त हुने हुँदा अरू विभिन्न रोगका जीवाणु र विषाणुसँग लड्न शरीरको रोगप्रतिरोधक क्षमतालाई समेत सशक्त पार्ने पुष्टि भयो । अमिगडालिनले शरीरमा कुनै हानि-नोक्सानी नगरी कसरी क्यान्सर कोषिकालाई मात्रै छानीछानी नष्ट गर्छ, यो पक्ष बडो रोचक र आश्चर्यजनक छ । अमिगडालिनमा ग्लुकोजका २, बेन्जाल्डीहाइडको १ र साइनाइडको १ भाग गरी ४ वटा अवयव हुन्छन् । पछिल्ल्ाा २ भाग अत्यन्तै कडा विषका रूपमा चिनिन्छन् तर तिनीहरू आफैँमा स्वतन्त्र नभई अरू अणुसँग आबद्ध हुने हुनाले शरीरका सामान्य स्वस्थ कोषिकालाई कुनै हानि नगरी पिसाबको बाटोबाट सुरक्षित निष्कासन हुन्छन् । तर, क्यान्सर कोषिकामा मात्रै बिटा ग्लुकोसाइडेज भन्ने इन्जाइम हुन्छ जो साधारण कोषिकाहरूमा हँुदैन र यस्ौले नै अरू अंगसँग बाँधिएर रहेका उल्लिखित विषलाई फुकुवा वा मुक्त गरी त्यसबाट आफँैलाई मार्ने काम गर्छ ।
यसको प्रयोगबाट ज्यादा चिरफार -सर्जरी) जलन -रेडियोथेरापी) र विषाक्तता -केमो)मा नपरेका जुनसुकै चरणका क्यान्सर रोगीलाई सयाँै क्लिनिकले सतप्रतिशत सफलताका साथ उपचार गरिरहेका छन् । कैयौँ विश्वप्रसिद्ध चिकित्सक, जीव रसायनविद् तथा अनुसन्धाताले प्रोटियोलाइटिक इन्जाइमसँग खुर्पान्ाीको सेवनले पूर्णसफलतामा ढुक्क हुन सकिने बताउँछन् । त्यस्ौले कतिपय चिकित्सकले यसलाई भिटामिन बी र अरू डाइजेस्टिभ इन्जाइमसँग मिसाएर चलाउने गरेको र कलेजोमा जम्मा भएको विषाक्तता निर्विषीकरण गर्न कफीको एनमा -गुद्द्वारबाट कफीको घोल भित्र पठाउने विधि) सिफारिस गर्छन् । हामीलाई योभन्दा शरीरबाट विष र मैला हटाउन्ा चुकन्दर नै अचुक उपाय हुन सक्छ । एपि्रकट एक्लैले पनि प्रभावकारी नतिजा दिने भए पनि स्वस्थ आहार-विहार र जीवनशैली अपनाउँदै यसलाई बिहान-बेलुका खाली पेटमा आधा घन्टाको कपालभाती प्राणायाम र २० मिनेटको ध्यानसँग जोड्न सकियो भने परिणाममा सुनिश्चितता र गुणात्मकताको वृद्धि हुन्छ । आयुर्वेदमा घ्यूकुमारी, गिलोय घनवटी -गानेगुर्जो) र डेन्डिलियनको जरा पनि क्यान्सरमा त्यत्तिकै राम्रो औषधिका रूपमा चिनिन्छन् जसको सेवन फलदायी नै हुन्छ । खानामा कोदो, फापर, काँचो लसुन, काउली, मुसुरो, राजमा, केराउ, गि्रन टी, हरिया सागसब्जीजस्ता कतिपय एन्टिअक्स्िाडेन्ट खाद्य तथा तरकारी क्यान्सरमा बढी उपयोगी पाइएका छन् । तर, हेक्का रहोस्, मिटामिन बी १७ लाई हाम्ा्रा स्वस्थ कोषिकामा हुने रोडानेसले निष्त्रिmय बनाइदिने हुनाले खुर्पानी क्यान्सर कोषिकामा पुग्नेगरी मात्रा पुर्‍याएर खान अनिवार्य छ । रोकथाम र स्थिरताका लागि बाहिरको ठूलो दाना भए दैनिक ७ वटा र स्थानीय सानो दाना भए १२ दाना पर्याप्त हुन्छ भने उपचारको हकमा त्यसको ३ गुणा बढी दाना दिनमा ३ मात्रामा बाँडेर लिनु अनिवार्य हुन्छ । कहीँ-कहीँ दिनभरमा ३० दाना र कहीँ प्रति १० पाउन्ड १ दानाको हिसाबले शरीरको तौलका आधारमा मात्रा निर्धारण गर्ने फरक-फरक मापदण्ड पनि अपनाएको पाइन्छ । खालीपेटमा खुर्पानीले वाकवाकी र कस्ौ-कस्ौलाई रिँगटा लाग्ने लक्षण देखा पर्ने हँुदा खानापछि मात्र यसल्ााई लिन र एकैपटक धेरै खुर्पानी नखानेतर्फ सतर्क हुन उचित हुन्छ । अझ विचारणीय के छ भने रेडिएसन वा केमो चालु रहेका बिरामीले खुर्पानी पनि सँगसँगै लिनसक्ने भए पनि रेडिएसन वा केमोलाई चक्र पूरा नगरी बीचैमा छाड्ने गम्भीर भूलचाहिँ किमार्थ गर्नु हुँदैन । क्यान्सरको कोषिकाले अक्सिजन नभएर ग्लुकोजबाट शक्ति प्राप्त गरी फैलिने भएकाले कुनै पनि रूपमा चिनी अथवा गुलिया वस्तुमा कडाइका साथ र सकेसम्म बढी गुलिया फलफूलसमेतमा परहेज हुन जरुरी छ । प्रचुर कार्वोहाइडेड हुने मैदाका पकवान, दूध र दुग्धपदार्थ तथा रातो मासुसमेत क्यान्सरमा निषेध छ । अहिले चक्की र झोल औषधिका रूपमा लेटराइल बजारमा आइसके पनि धेरैको रोजाइ आवश्यक इन्जाइमसहितको प्राकृतिक फल नै हुनु सर्वथा उचित हो । भित्रीगेडा तीतो हुने यस्तो खुर्पानी हाम्रो मुस्ताङ र अरू केही हिमाली जिल्लामा पाइने भए पनि किसानमा संग्रह गर्ने ज्ञान नहँुदा र बेमौसमको कारणले समेत तत्कालका लागि मागलाई धान्नेगरी आपूर्तिमा समस्या हुन सक्छ । तसर्थ इन्टरनेट सर्च गरी विश्वका विभिन्न मुलुकबाट खुर्पानीको अन्तर्राष्ट्रिय कारोबार गर्ने व्यापारिक र्फमबाट कुनै पनि बखत चाहेजति ताजा खुर्पानी मगाउने विकल्प भने सधैँ खुला रहन्छ ।
तर, लोक कल्याणकारी राज्यको दुहाइ दिने र आफूलाई प्रजातन्त्रको मसिहा ठान्ने सं.रा. अमेरिकामा यस्तो जीवनदायिनी औषधि खुर्पानीको प्रयोग र तत्सम्बन्धी सूचना सञ्चारमाथि १९७१ देखि एफडिएद्वारा तगडा प्रतिबन्ध लागेको छ र कैयौँ लोकोपकारी चिकित्साकर्मी, सत्यलाई उजागर गर्ने लेखक, प्रचार-प्रसार गर्ने र यसको प्रयोगबाट आफूलाई क्यान्सरमुक्त गर्ने व्यक्तिसमेतलाई अपराधीसरह व्यवहार गर्दै सताउने, दुःःख दिने, अदालतको अवहेलनाको नाममा जेलमा सडाउने र हत्या गराउनेसम्मका कारबाही हँुदै आएका छन् । यसप्रकार सूचनाको हकलाई बलात् अपहरण गरी वास्तविकतामाथि पर्दा हाल्ने अमेरिकी कदमले औषधि माफियाको त्यहाँको न्यायप्रणालीमाथि कतिसम्म पकड रहेछ भन्ने कुरा उजागर गरेको छ । यस्तो सरल, अत्यन्तै प्रभावकारी र सबैको पहँुच पुग्ने उपचार विधि प्रचारमा आएमा अहिले २०० खर्ब डलर वाषिर्क कारोबार गर्ने केमोको एकाधिकार प्राप्त रकफेलरजस्ता फर्मा कम्पनी र औषधि व्यवसायी बिलाएर जाने कुरा स्वतःसिद्ध छ । फेरि लेटराइल कुनै प्रयोगश्ाालामा रासायनिक रूपले उत्पादन हुने नभई प्रकृतिमा उपलब्ध खाद्य वस्तुबाट सोझै लिन सकिने वस्तु भएकाले कुनै फर्मास्युटिकलले यसमा पेटेन्ट हासिल गरी मुनाफा लिने गुन्जायस्ा पनि रहँदैन । तमाम मेडिकल जर्नलहरू औषधि माफियाका मुखपत्रजस्तै बनेका छन् र सञ्चारमाध्यम उनीहरूकै प्रायोजित समाचारले भरिपूर्ण छन् । अमेरिकी औषधि सुरक्षा मापदण्ड एलडी ५० कायम भएकाले यो मानकभन्दा तलका सबै औषधिलाई एफडिएले मान्यता र स्वीकृति दिनुपर्नेमा एस्पिरिन भन्दा २१ गुणा सुरक्षित र हामीले दैनिक उपभोग गर्दै आएको चिनीभन्दा पनि कम विषालु प्रमाणित भएको खुर्पानीलाई विषालु भन्दै प्रतिबन्ध लगाउनु आफँैमा हास्यास्पद देखिएको छ जबकि त्यही देशमा अन्धोपन, मुच्र्छा, चिन्ता, अवसाद, स्मृतिलोप, जन्मजात अपांगता तथा मुत्युसम्मको कारक बन्नसक्ने एस्पर्टिनजस्तो स्नायविक विषलाई १९७४ देखि कैयौँ खाद्यपदार्थ्ामा प्रयोग गर्न त्यही नियमनकारी निकायद्वारा अनुमतिसहित खुला छुट दिइँदै आएको छ । तर, सबैजनालाई सधैँ मूर्ख बनाउन्ा सम्भव छैन र उनीहरूको यो दुश्प्रचार एकदिन हारको लडाइँ सावित हुने निश्चित छ । अन्त्यमा सस्तो, सरल र प्रभावकारी विकल्प उपलब्ध हँुदाहँुदै स्वास्थ्य र सम्पत्ति रित्याउने विषाक्त, ज्यादै कष्टसाध्य र असफलताको बाटो किन रोज्ने ? आगे तपाईंको मर्जी !
स्मरण रहोस्, यो आलेख सूचना प्रवाहका लागि मात्र भएकाले कुनै पनि मेडिको- लिगल प्रयोजनका लागि यो आधार बन्न सक्ने छैन ।
- थप जिज्ञासाका लागि सम्पर्क- ९८४१८२७९०१