नेदरल्याण्डस्थित मेडिकल सेन्टरका शोधकर्ताहरुका अनुसार बच्चाहरुमा अधिक तौल अर्थात् मोटोपनको स्वास्थ्य समस्याका विषयमा अभिभावक नै बेखवर हुने गरेका छन् । धेरै आमाबुवालाई बच्चा दुब्लो हुनुभन्दा बढि मोटाउनु झनै राम्रो हो भन्ने सोँचाइ हुन्छ । त्यसैले ओभरवेट तथा मोटोपनलाई स्वास्थ्य समस्याका रुपमा लिँदैनन् ।
तर बाल्यकालमै बढि तौलबाट पीडित बच्चाहरुमा मधुमेह, उच्च रक्तचाप र तनाव तथा मुटुसम्बन्धि रोगको खतरा बढि हुन्छ । त्यसैले आफ्ना बच्चाबच्ची आवश्यकता भन्दा बढि मोटाउँदा आमाबुवा मख्ख पर्ने नभइ चिन्ता लिन थाल्नुपर्दछ । बच्चालाई स्वस्थ र तन्दुरुस्त राख्न, तथा मोटोपन र बढि तौलको समस्याबाट जोगाउन आमाबुवाले निम्न कुरामा ध्यान दिनुपर्छ :
· स्वस्थ भोजन : गर्भवती महिलाले गर्भावस्थाका बेला सन्तुलित तथा स्वस्थ भोजन खानुपर्छ । जसका कारण गर्भमा रहेको शिशुलाई पर्याप्त पोषण पुगोस् । गर्भवती महिलाको आहारविहारले गर्भको शिशुको स्वास्थ्य तथा उसको भोलिको खानपिनको व्यवहारलाई समेत निर्धारण गर्ने विज्ञहरु बताउँछन् ।
· स्तनपान : स्तनपानलाई अमृतसमान भनिन्छ । आमाले आफ्नो बच्चालाई सकेसम्म धेरै स्तनपान गराउनुपर्छ । बच्चालाई ६ महिनासम्म आमाको दुधमात्र खुवाउने र त्यसपछि आमाको दुधको साथै अरु पौष्टिक आहार पनि सन्तुलित रुपमा खुवाउनुपर्छ ।
· जंक फुडबाट बच्चालाई टाढै राख्नुहोस् । खानामा बच्चालाई फलफूल तथा सागसब्जीको मात्रा बढाउनुहोस् । गर्भवती महिलाले समेत जंक फुडको सेवन गर्नु हानिकारक हुन्छ ।
· बच्चाले कहिलेकाहीँ केही खानेकुरा खान नमान्न सक्छ । यसको मतलब उसलाई सो खाना मनै पर्दैन भन्ने होइन । दिनदिनै एउटै खानेकुरा खुवाउनु भन्दा फरक फरक खानेकुराका खुवाउन सकेमा बच्चाले मन लगाएर खान्छ ।
· बच्चालाई स्वस्थ तथा लाभदायक खानेकुरा खानमा प्रोत्साहन गर्नुहोस् । खान नमानेमा दण्ड दिने वा कुटपिट गर्ने कहिल्यैपनि गर्नुहुँदैन । दिएको कुरा राम्ररी खाएमा स्याबासी दिनुहोस् । आफुले घरमै बनाएको स्वस्थ खानेकुरा बच्चाले खान मानेन भनेर सजिलोको लागि बजारबाट ल्याएर अस्वस्थ तथा हानिकारक तयारी खानेकुरा खुवाउनु हुँदैन । यदि यसो गरियो भने बच्चामा स्वस्थ तथा सन्तुलित भोजमा बानी पर्छ , जसका कारण ऊ स्वस्थ तथा तन्दुरुस्त बन्दछ ।