Monday, July 2, 2012

ग्यासका दुईथरी सिलिन्डर बनाउने निर्णय - nagariknews

विज्ञान अधिकारी, काठमाडौं, असार १८- आयल निगमले घरायसी र व्यावसायिक गरी दुईथरी ग्यास सिलिन्डर बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री कार्यालयबाटै दुईथरी सिलिन्डर बनाएर ग्यास बिक्री गर्न निर्देशन दिएपछि निगमको असार ४ गते बसेको बोर्ड बैठकले यो निर्णय गरेको हो।

अहिले ग्यासको एउटै सिलिन्डर छ। घरायसी र व्यावसायिक ग्यासको मूल्य पनि एउटै छ। एउटै मूल्यका कारण अहिले ४ सय ५३ रुपैयाँ घाटा भएको ग्यास पाँच तारे होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेस लगायतले प्रयोग गरिरहेका छन्। यो वर्ष एक सिलिन्डरमा ८ सय रुपैयाँसम्म ग्यासमा घाटा भएको थियो। अब घरायसी प्रयोजनका लागि रातो र व्यावसायिक प्रयोजनका लागि नीलो रङका सिलिन्डर हुने छन्।
निगमका अनुसार दुईथरी सिलिन्डर तत्काल कार्यान्वयनमा ल्याउनकै लागि निगमले १४.२ केजीकै सिलिन्डरमा नीलो रङ लगाएर व्यावसायिक प्रयोजनमा बिक्री गर्ने व्यवस्था मिलाउने छ। विदेशमा व्यावसायिक प्रयोजनमा ठूलो सिलिन्डर बनाउने चलन छ। भारतमा व्यावसायिक प्रयोजनको सिलिन्डरको तौल १९.२ केजी हुन्छ।
‘केही समयपछि नै दुईथरी सिलिन्डर कार्यान्वयनमा आउने छ,' निगमका निर्देशक सुशील भट्टराईले आइतबार नागरिकसँग भने, ‘केही समयका लागि १४.२ केजीमा नीलो रङ लगाएर व्यावसायिक प्रयोजनमा बिक्री गर्न खोजिएको हो।'
दुईथरी सिलिन्डर कार्यान्वयनमा आएपछि घरायसी प्रयोजनका लागि सस्तोमा(अनुदानमा)मा ग्यास दिइने छ। व्यावसायिक प्रयोजनमा निगमले परेकै मूल्यमा ग्यास बेच्ने छ।
निगमले सबै बोटलिङ प्लान्टलाई दुईथरी सिलिन्डर बनाउन निर्देशन दिएको छ। भट्टराईले सबै ग्यास उद्योगलाई पचास प्रतिशत घरायसी र पचास प्रतिशत व्यावसायिक सिलिन्डर बनाउन निर्देशन दिइएको बताए।
‘हामीले सबै ग्यास कम्पनीलाई आफूले बिक्री गर्दै आएको पचास प्रतिशत सिलिन्डरमा नीलो रङ लगाउन भनेका छौं,' भट्टराईले भने, ‘हामीले दिएको निर्देशनको कुनै जवाफ आएको छैन।' दुई सिलिन्डर भएपछि निगमले ग्यास खरिद आदेश(पिडियो) जारी गर्दा दुईथरी तोक्ने छ। भट्टराईका अनुसार घरायसी प्रयोजनका लागि सस्तोमा र व्यावसायिक मूल्यका लागि परल मूल्यमा पिडियो जारी हुने छ। दुईथरी सिलिन्डर कार्यान्वयनमा आएमा निगमको घाटा कम हुने जानकारी भट्टराईले दिए।
‘निगमलाई यो वर्ष सबैभन्दा बढी घाटा ग्यासबाट भएको छ। दुईथरी मूल्य तय हुने बित्तिकै निगमको घाटा आधा घट्ने छ,' भट्टराईले भने, ‘उपभोक्तालाई पनि अनुदानमा ग्यास दिन सकिने छ।' उनले दुईथरी सिलिन्डर नहुँदा अनुदानको ग्यास व्यावसायिक प्रयोजनमा प्रयोग भइरहेको बताए। ‘एकैथरी सिलिन्डरले गर्दा ग्यासको अनुदानको कुनै अर्थ थिएन,' उनले भने, ‘दुईथरी हुने बित्तिकै विपन्न, विद्यार्थी र गरिबले अनुदानमा ग्यास दिन सकिन्छ।'
दुईथरी सिलिन्डर बनाउने निर्णयको ग्यास उद्योगीले भने अस्वीकार गरेका छन्। ग्यास उद्योग संघले केही समयका लागि दुईथरी सिलिन्डर बनाउन नसकिने निर्णय गरेको छ।
‘अल्पकालका लागि दुईथरी सिलिन्डर बनाउन सकिँदैन,' संघका महासचिव कुश मल्लीले नागरिकसँग भने, ‘बिनातथ्यांक पचास प्रतिशत व्यावसायिक प्रयोजनमा बिक्री गर्न कठिन हुने छ।' उनले एउटा सिलिन्डरमा रङ लगाउँदा २ सय ५० रुपैयाँ लाग्ने र यसको व्ययभार उद्योगीले बेहोर्न नसक्ने बताए।
‘एउटा सिलिन्डरमा रङ लगाउँदा अढाइ सय लाग्छ। सबै उद्योगका सिलिन्डर ४५ लाख छन्। यसको आधामा रङ लगाउँदा ५५ करोड रुपैयाँ भार उद्योगीलाई पर्छ,' उनले भने, ‘यो सबै पैसा विदेसिन्छ।' मल्लीले अल्पकालका लागि ५५ करोड रुपैयाँ व्यर्थमा खाली फाल्नु देशकै पुँजी बाहिर जानु भएको बताउँदै यो निर्णयबारे पुनर्विचार गर्नुपर्ने बताए।
निगमका निर्देशक भट्टराई उद्योगीले एकैचोटि पचास प्रतिशत सिलिन्डरमा नीलो रङ लगाउनुनपर्ने उल्लेख गर्दै क्रमिक रुपमा रङ लगाउन सक्ने स्पस्ट पारे।
ग्यास बिक्रेता महासंघका निर्वतमान अध्यक्ष ज्ञानेश्वर अर्याल गृहकार्यबिनै दुईथरी सिलिन्डर बनाउँदा विकृति ल्याउने बताउँछन्। ‘सरकारले कुनै गृहकार्यबिना दुईथरी सिलिन्डर बनाउने निर्णय गरेको छ। यसले पेट्रोलियम क्षेत्रमा ठूलो विकृति ल्याउने छ,' उनले भने, ‘एकै तौलका सिलिन्डरमा रङ लगाएर दुईथरी बनाउने निर्णय अनुदानलाई विकृत बनाउने मनसायले आएको हो।' उनका अनुसार ग्यास खपतको कुनै तथ्यांक र नियामक निकाय बलियो नहुँदा दुईथरी सिलिन्डर कार्यान्वयनमा आउन सक्दैन।
‘यसले ०५९ सालको जस्तो मट्टितेलको विकृति ग्यासमा आउने छ,' उनले भने, ‘ढिलै भए पनि बलियो संयन्त्र बनाएर दुईथरी सिलिन्डर कार्यान्वयनमा ल्याउनुपर्छ।'