-रमेश बुढाथोकी (अभिनेता तथा निर्देशक)
यति बेला म मेरो घरको गेटमा उभिएको छु । घरभित्रबाट नमीठो शून्यता हृदयमा ठोक्किन आइपुगेको छ । आफन्तजनका आवाज कानसम्म आइपुग्दैनन्, जसले अफिसबाट थाकेर फर्किएको मलाई ‘रिफ्रेस’ गराओस् । पारिवारिक सुखको अनुभूति गराओस् । ढोकामा उभिएर मेरो आगमनलाई उज्यालो बनाउने दाम्पत्य मुस्कान बिरानिएको लामो समय भइसक्यो । बुबा † मेरा लागि यसो गरिदिनुस्, उसो गरिदिनुस् न भन्दै मलाई अभिभावकीय सुख अनि दायित्वको बोध गराउने आवाजहरू कोसौँ टाढा छन् । भान्सामा चुराको छनछन छैन । अनि किन ढिलो आएको भन्दै ठुस्कने पनि को छ र, मैले माया गरेर फकाउने सौभाग्य पाऊँ † त्यसैले भित्र छिर्न कुनै हतारो गर्दैन मन, छिटो चलूँ भन्दैनन् पाइलाहरू । अनि कोही आए कि भन्दै आशाको दृष्टि पनि फाल्दैनन् आँखाहरू ।
म ढुक्क छु– दुई प्राणीचाहिँ पक्कै मेरो खुट्टामा लुटपुटिन आइपुग्नेछन् । तर, यिनीहरू मसँग बात मार्न सक्दैनन् । आफन्त साथ नभएपछि यिनीहरूसँगै मैले मेरो आत्मीयता गहिर्याएको छु । यिनीहरूलाई आफ्नो घर जो जिम्मा लगाउनु छ, हरेक दिन । समयको लामो अन्तरालमा धेरैचोटि म रोएको देखेका यिनीहरू पनि सायद मलाई उत्तिकै आत्मीय ठान्दा हुन् र सोध्न चाहँदा हुन्– ‘किन आँसु झारेको ? के पीडा छ तँलाई ? हामी केही सहयोग गर्न सक्छौँ कि ?’ बिचरा कुकुरहरू, चाहेर पनि मेरो पीडा कसरी हटाउन सक्छौ र तिमीहरू ? घर कुरिदिएका छौ, यही नै ठूलो उपकार छ मलाई ।
हुन त मानिस एक्लै जन्मिन्छ र मर्छ । तर, सभ्यताले यस्तो संस्कार दिएको छ, जीवनभरि साथ र सम्बन्धको अपेक्षामा बाँच्छ ऊ । सम्बन्धको डोरीमा बाँधिएर बस्दा आफूलाई सुखी ठान्छ । एक्लोपनले त मान्छेलाई खान्छ, तर्साउँछ, पिरोल्छ अनि सताउँछ । म पनि एक्लोपनले खङ्ग्रंग्याएको मान्छे हुँ । अरूले बाहिरबाट हेर्दा त खुसी–सुखी नै देखिन्छु होला । धेरथोर सम्पत्ति पनि जोडजाड गरियो । धन हुनेलाई सुखी देख्छ मान्छे । तर, मलाई आफ्नै भोगाइहरूले गिज्याइरहेझैँ लाग्छ हिजोआज– ‘देखिस् त, सम्पत्तिले मात्र खुसी दिन सक्दो रहेछ त †’ दु:खमा हुँदा ढाडस दिने कोही छैन समीपमा । चार वर्षयता लगातार एक्लो छु । श्रीमती बीना जापान बस्न थालेको नौ वर्ष पुग्यो । दुईवटी छोरी पढ्न अमेरिका बस्छन् ।
दिनभर त कलाकारिताले व्यस्त बनाउँछ । पेसा अनि जीजिविषाको लहरे आकांक्षाले ३० वर्षयता मलाई सधैँ व्यस्तै राखेका छन् । तर, यतिले मात्र पुग्दो रहेनछ । घरका चार दिवारभित्रका के नपुगे–नपुगेजस्ता दर्दनाक अनुभूतिले तर्साइरहन्छन् बारम्बार । जतिखेरै आफ्नो मान्छेको अभाव महसुस हुन्छ । घरका काम, केही योजना बनाउँदा केहीबेर मन भुलिन्छ । योजना राम्रो बने खुसी हुन मन लाग्छ, नजिकको व्यक्तिसँग रमाइलो बाँडूँ–बाँडूँ लाग्छ । तर, त्यो योजना उपयुक्त भए/नभएको सल्लाह दिने नजिकमा कोही हुन्न । मन त्यसैत्यसै कुँडिन थाल्छ । खुसीहरू सिथिल हुन थाल्छन् । योजना नै बेकार लाग्न थाल्छ । गह रसाएजस्तो हुन्छ । म टाउको थोरै माथि उठाउँछु, र आँसु नझरोस् भनेर आँखालाई झिमिक्कै नपारी एउटा विन्दुमा केन्द्रित गर्न खोज्छु । आँसु र आँखाबीच केहीबेर घम्साघम्सी चल्छ । म आँखाको पक्षमा छु र भनिरहेछु– ‘झर्न नदे है †’ तर, मुटुको गहिराइदेखि सलबलाएर उर्लिने नियतिका ज्वारभाटाहरूले मलाई पराजित गरिहाल्छन्, प्राय:जसो । भत्काउँछन् मेरो अश्रुबाँध । अनि छातीमा चिसा बनेर तप्किन्छन्, आफन्तसँग बिताएका केही दुर्लभ पलहरू । तैपनि पुरुष बन्ने प्रयास गर्छु र थुमथुम्याउँछु आफ्नै मन– ‘नरो भनेको, लेखान्तै यस्तो रहेछ त के लाग्छ †’
बीना जापानमा टोयोटा कम्पनीमा काम गर्छिन् । दुई वर्षअघिसम्म त मैले उनलाई नेपाल फर्कन निकै आग्रह गरेँ । म एक्लो भएँ, नेपालमै पनि भविष्य छ, आऊ भनेर थुप्रैपटक अनुरोध गरेँ । तर, मानिनन् । उनलाई काठमाडौंभन्दा जापानका आलिसान सहरहरूको लत बसिसकेछ । सायद मभन्दा जापानै प्यारो छ । अब त आफैँ पराजित भइसकेँ, उनलाई अनुरोध गर्न पनि छोडेँ । अहिले यिनै दुई कुकुर मेरा गृहस्थ साथी हुन्, जोन र ब्राउनी । वैधानिक रूपमा यी जनावरको बिहे त भएन होला तर यिनीहरू पनि दम्पतिझैँ लाग्छन् मलाई । ब्राउनी ५ वर्षकी भई, जोनचाहिँ १० वर्षको । चाहन्छु– यिनीहरूले मैले जसरी छुट्टिएर बाँच्न नपरोस् । मेरो स्वागतमा खुसीले पुच्छर हल्लाउँदै वरिपरि आइपुग्छन् । महाभारतमा स्वर्ग जाँदा युधिष्ठिरले कुकुरलाई पनि सँगै लगेका थिए रे । यहाँ पारिवारिक आत्मीयताको भोक लाग्दा यिनैलाई सुमसुम्याएर चित्त बुझाउँछु म पनि ।
दुवै छोरी पढ्न अमेरिका गएका हुन् । उनीहरूको यादले बढी नै सताउँछ तर म एक्लो छु भनेर उनीहरूको पढाइ बिगार्ने कुरा पनि भएन । मन भुलाउन सिनेमा हेर्छु, किताब पढ्छु अनि संगीत सुन्छु । सकेसम्म काममा व्यस्त हुन खोज्छु । त्यसैले घरमा काम गर्ने मान्छे पनि राखेको छुइनँ । खाना आफैँ बनाउँछु । मलाई सादा दालभात तरकारी भए हुन्छ । घरको सबै रेखदेख गर्ने यी ‘बफादार’ हरूलाई अलि तागतिलो खाना बनाउँदा बिहान सातदेखि नौ बजेसम्म बित्छ । साढे नौ बजेतिर घरबाहिर निस्किन्छु । कहिले सुटिङमा व्यस्त हुन्छु, कहिले आफूले निर्देशन गर्ने चलचित्र, टेलिचलचित्रका अन्य काम हुन्छन् ।
तीस वर्ष लामो करियरमा मैले प्रेम र संयोगात्मक कथामा धेरै चलचित्र बनाएँ, कतिपय भावुक पनि । ती चलचित्र र आफ्नो जीवनबीचको दूरी खोज्न मन लाग्छ आज आफैँलाई । एक्लोपनमा मानिस आफैँभित्र गहिरिँदो रहेछ । भावुकतामा डुब्दो रहेछ । तर, अधिक भावुकता पनि पीडादायी हुने रहेछ । यसबाट आफूलाई बाहिर निकाल्न घर छाडेर भिडसम्मै पुग्नुपर्ने हुन्छ । तर, भिडमा पनि कहाँ रमाउन सकिन्छ र ? जतिखेरै छटपटी मात्रै ।
०४७ सालमा बीनासँग मेरो बिहे भएको हो । सोचेको थिएँ, एउटै क्षेत्रमा काम गर्ने भएपछि एकअर्कालाई अझ नजिकबाट बुघ्न सकिएला । उनीबाट पर्याप्त साथ र माया पाइएला, म पनि उनलाई भएभरको माया खन्याउँला । तर, जीवन सोचेजस्तो प्रेमिल हुन पाएन । बिहेपछिको यो लामो अवधिमा साथ बसेका दिन जोड्ने हो भने मुस्किलले तीन वर्षचाहिँ पुग्ला कि † उनी टेलिचलचित्र, चलचित्र तथा स्टेज शोमा व्यस्त हुन्थिन् । हामी एकअर्काको काममा सघाउँथ्यौँ । लाग्छ– मैले आफ्ना तर्फबाट माया अलिकति पनि कम हुन दिइनँ । तर, उनी मलाई एक्लै छाडेर जापान हान्निइन् ।
मैले चाहेर उनको निर्णय रोकिएन । अन्तत: २०६० सालदेखि जापानै बस्न थालिन् । दुई वर्षअघि सुटिङका क्रममा नेपाल आएकी थिइन् । अब त जापान नफर्कलिन् कि भन्ने आशाले आँत न्यानो भएको थियो । तर, कहाँ हुनु † जम्मा १५ दिनलाई आएकी रहिछन् । मेरो मुटु चिसो बनाएर फेरि लागिहालिन् एयरपोर्टतर्फ । नजान धेरै अनुरोध गरेँ । तर, गएरै छोडिन् । म हेरिरहेँ, लगातार हेरिरहेँ । अहँ, मोडिइनन् । त्यसपछि भेट भएको छैन । त्यसो त उनीसँग कुनै मनमुटाब पनि छैन अहिलेसम्म । यत्ति हो, मलाई उनको अभाव छ तर उनी नबुझेझैँ गर्छिन् । उमेर बुढ्यौलीतिर उकालिँदै छ, ५० वर्ष पुग्न लागियो । अब त्यो जोस छैन, सधैँभरि आफन्तको अभाव खेपिरहन सकूूूँ ।
त्यसो त एक–दुई जनाले बीनाले उतै नयाँ घरजम गरिन् कि के हो भनेर पनि सोधेका छन् । तर, मलाई त्यस्तो केही थाहा छैन । आफ्ना तर्फबाट साँचो माया गरेको छु, जसले मलाई अनावश्यक आशंका गर्न दिँदैन पनि । साथीभाइहरू त सुझाउँछन्, अब अर्को बिहे गर भनेर । तर, बीना † वैधानिक रूपमा तिमी नै मेरी जीवनसाथी हौ, अर्को बिहे गर्ने सोच्न सक्दिनँ ।
एक्लोपनमा डुब्दाडुब्दा मलाई आफ्नो स्वभावै परिवर्तन भइसकेझैँ लाग्छ । गम्भीरता मेरो परिचय बन्दै छ । सधैँ बस्छु तर घरै बिरानो लाग्छ । यहाँ आँसुले मनको व्यथा पखाल्न सकेको छैन, उता बीना फर्कनै चाहनै देखाउँदिनन् । उनले अनि छोरीहरूले छोएका सामानहरू सुमसुम्याउन मन लाग्छ, न्यास्रो लागेपछि । तर, कहिलेसम्म बालेर बसूँ, आशाको मैनबत्ती † अब त आफैँदेखि बिरक्ति छ । बाहिरको पहिचानले मात्रै निजी जीवनको एक्लोपन नहट्ने रहेछ । सोच्छु– निकटको कोही सँगै भए मुटुभरि गुम्सिएका पीडा बिसाउने थिएँ । कहिलेकाहीँ त घरै नआऊँजस्तो पनि लाग्छ । एक्लो मान्छे, कति बसौँ चारैतिर बिराना स्मृतिहरूले तर्साइरहने घरमा ।
०००००००
मानिसको भाग्य हुन्छ कि हुन्न थाहा छैन । भाग्यको लेखाजोखा आफैँले गर्न सक्ने भए मानिस सधैँ स्नेहको तलाउमा रमाउँथ्यो । सायद भाग्य लेख्ने मसी मानिस आफैँसँग छैन र उसले कल्पनामा भगवान् खडा गरेको छ । आफूलाई पूर्णरूपमा भगवान्को जिम्मा लगाउँछ । म पनि ठान्छु– सायद भाग्य नै यस्तै होला । चाहेर पनि जीवन प्रेमपूर्ण हुन सकेन, हुन पाएन । म दुई वर्षको छँदै आमा बित्नुभयो । मलाईं उहाँको अनुहार याद छैन । अनुहार मात्र याद भएको भए आजको यो शून्यतामा आमालाई नै सम्झेर आफ्ना एकान्तहरू बिताइदिन्थेँ । बुबाको मलाई इन्जिनियर बनाउने चाहना थियो । तर, म कलाकारितामा लागेँ । यसै कारण बुबाका लागि घृणाको पात्र बनेँ । एउटा पिताको सोच ठीकै पनि हो उति बेला । कलाकारिता पेसा बनिसकेको थिएन । कलाकारिता गर्नुलाई जोगीसरह ठानिन्थ्यो । बुबामा त्यही सामाजिक मान्यताको छाप थियो । मेरो टेलिचलचित्र प्रसारण भएपछि मात्रै बुबाले मलाई माया गर्न थाल्नुभएको हो । तर, त्यो माया पनि लामो समय पाउन सकिनँ, उहाँ क्यान्सरले बित्नुभो । बाल्यकालमा आमाको माया, पेसागत जीवनमा बुबाको माया र सिंगो जीवनमा श्रीमतीको माया पाउन नसके पनि कलाकारिता–जीवनमा दर्शकहरूको माया भने पाइरहेकै छु । त्यसैले त रातभरि रोएर पनि भोलिपल्ट काममा फर्कन हौसला मिलेको छ मलाई ।
प्रस्तुति : प्रतिमा सिलवाल