Monday, July 30, 2012

कलियुगका कृष्णहरुका फरक-फरक अवतार - onlinekhabar


कुमार समदर्शी
कृष्ण धरावासी मेरा आर्दश लेखक हुन् । राधाका कृष्ण जस्तै । उनका हरेक कृतिहरु पढें, सकेसम्म धेरै । उनका पुस्तकको पछाडि गातामा लेखिएका पुस्तक, कृति खोजी खोजी पढें । सबै भन्दा प्रभाव पारेको पुस्तक थियो राधा, शरणार्थी, टुँडाल र आधाबाटो । उहाँको झोला कथा ति बाहेकको सबै भन्दा उत्कृष्ट कृति लाग्यो मलाई । एउटा पाठक भईकन लेखकको व्यक्तिगत जीवनसँग सरोकार राख्नु पाठकको लेखकसँग गोरु बेचेको साईनो मात्र होईन भन्ने ठान्छु म । म लेख्न जान्दिन । त्यहि भएर म पाठक । सबै कुरा भुलें, जब उहाँको कृति आधाबाटो किनेर पढें । आफ्नो वाल्यकाल प्रतिको उहाँको इमान्दारिता एउटा पाठकको कतिसम्मको अनुकरणिय विषय हुनसक्छ, त्यो मलाई भयो ।
मैले त्यति चर्चा पाईन सिताजी (धरावासीकी सिताजी) बिरामी हुनुभएको । उहाँको मृत्यु पश्चात धरावासीको रोदन पत्रिकामा पढ्न पाईयो । मनपर्ने लेखककी श्रीमतीको निधनमा अनायसै आँशु बगाईयो । सुनियोजित थिएन । तर पनि आँशु झरे । आत्मपरक उपन्यास आधाबाटोकी एउटी पात्रको निधनमा । अब धरावासीले दोस्रो विवाह गर्लान्, त्यो त सोच्दै सोचिएन । एउटा कृष्णले स्रोह सय गोपिनीलाई विवाह गरे र राधालाई हुनसम्मको पागल प्रेमिका बनाए भनेर हामी पाठकलाई ज्ञान बाँढेर मदन पुरस्कार पाएका कलियुगका कृष्णले आफ्नै युगका कृष्ण (स्व. प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई) को जीवनलाई समेत बिर्सिएर दोस्रो विवाह गरेको सुन्दा आश्चर्य लाग्यो । सिताजीलाई तपाईसम्म भन्न भ्याएका धरावासीले सिता महाताम्यको रुपमा पाण्डुलिपी निकाले । थुप्रै पैसा कमाए । आँशु बेचेर काठमाडौमा महल ठड्याए । आफ्नो दुःख बेचेर । सिपालु धरावासीका लागि सबै धर्ती वास वस्न योग्य भयो क्यान्सर पीडित आफ्नी आमाको कथा, आफ्नो गरिवी, आफ्नी पत्नि सिताको कथा । त्यहि कथा हामी सोझा पाठकले मख्ख पर्दै पढ्यौं । सहानुभूतिले होईन । सम्मानले । स्रष्टा प्रतिको सम्मानले ।
एउटा गाईनेले गाएको कर्णपि्रय दुखान्त गीत सबैले बुझ्दछन् तर उसको हविगत कहिल्यै सुध्रेको देखिंदैन । तर बाठा धराबासीले आफ्ना दुःख कथेर पाँचथरको अमरपुर, शनिश्चरे, बिर्तामोड हुँदै काठमाडौसम्म महल ठड्याउन सक्षम भए । घरको स्याहार सम्भार गर्न एकल भनिएकी मञ्जु विमलीसँग दोस्रो विवाह गरे । २०६९ आउन १३ गतेका पत्रिकाहरुमा हामीले यो कारणले विवाह गर्यो भनेर आफ्नो विवाह गर्नुपर्ने कारण खुलेको वकपत्र पनि पेस गरे । साहित्यकार भवानी क्षेत्रीले अनलाइनखबरमा धरावासीको पाण्डुलिपीको प्रसङग कोट्याउनु भएछ । फुर्सदमा पढें । धराबासीसँग रिस उठेको थियो । झन रिस उठेर आयो । पाठक हुँ । धराबासीले लेखेका कृति पढेर सकारात्मक हुन सिकेको मैले भवानी दिदीको कुरामा किन विश्वास नगर्ने ? हुन त म पनि संवेदना नभएको र समीक्षा गर्न नसक्ने पाठक होईन । तर उनको लेखकीय मलाई मन पर्यो । २०६९ साउन १० गतेको कान्तिपुरमा निर्मला शर्माले लेखेको लेख “दुई सेलिब्रेटीको दोस्रो बिहे” शिर्षकले मलाई झन दुखित बनायो । हरिवंश आचार्य त एउटा नटुवार हुन् । उनले जीवनमा धेरै नाटक गरे सबैलाई मनोरञ्जन दिन । आफैंले मनोरञ्जन गर्न कसले उनलाई रोक्थ्यो र ? आफ्नै समकक्षी राजेश हमाल अहिलेसम्म अविवाहित हुँदा त उनलाई जीवन प्रतिको भय छैन भने हरिवंशलाई बाँकी बिस तिस बर्ष गुजार्ने सकस भो रे । हुन त फिल्मी लाईन नै त्यस्तै हो । सक्नेले लुट, एटिएम, इसारा, द लाष्ट किस भन्दै मोजमस्ती गरीरहेको बेला हरिबंशले किन मन थाम्न सक्थे र Û तर धरावासी त लेखक परे । स्वयं अभिनय गर्दैनथे । तर हरिवंशको पछि लागे । लेखकको पछि कलाकार लाग्छन् भनिन्थ्यो तर यहाँ त कलाकारको पछि लेखक लागेको देख्दा आश्चर्य लाग्यो ।
कसैले पत्रकार आएको बेला चिया पकाउन र कसैले घर सम्हाल्न दोस्रो विवाह गरेको भन्ने सुन्न पढ्न पाईयो । बाँकी जीवन र आफ्नो अशक्तताको कुरा कसैले गरेको पाईएन । तर धराबासीका भाई कुमार भट्टराईले भवानी दिदी प्रति व्यक्त अनलाईन प्रतिक्रियाले एउटा लेखकको होईन मात्र दाईको वचाव गरेको मात्र लाग्यो । उनलाई भवानी क्षेत्रीले लेखेको लेख सन्तुलित लागेन । एकहोरो मनको भडास पोखेको लाग्यो । यसमा मलाई खेद छ । पाठकीय खेद । पाण्डुलिपीमा सिताजीको त्यति वर्णन नगरेको भए ठिकै थियो तर पाण्डुलिपीको मसी सुक्न नपाउँदै सिताजीको माया वाग्मतीमा विर्सजन गरेर मञ्जु विमलीको अंगालोमा बाँधिनु कतिसम्म उचित होला । सिताजी बाँचुञ्जेल प्रकाशनमा नआएको कृति “म हिंडेको बाटो” सिताजीको मृत्युपछि अकस्मात आयो । उक्त कृति माथि पनि हामी पाठकको शंका रहेकै छ । कतै धरावासीकै आँशुलाई क्यासमा भजाउने चलाख चाला त हैन भन्ने लागेकै छ । अब अरुको बौद्धिक दरिद्रता, अपरिपक्वता, अदुरदर्शिता र प्रगतिशिल चेत प्रति प्रश्न गर्नेहरुले सोच्नुपर्ने बेला भएको छ । पाण्डुलिपीबाट आएको नाफाको केहि अंश सिताजीको नाममा अक्षयकोष स्थापना गर्ने भनेर मात्रै सिताजी प्रतिको सच्चा श्रद्धा र सम्मान भएको मान्न सकिंदैन ।
एउटी नारीले म मरेपछि मेरो श्रीमान्ले दोस्रो विवाह गरिहालोस् भन्ने कसैले पनि नसोच्ला । माधव प्रसाद घिमिरेको हवाला दिईरहनु पर्दैन । पानी माथिको ओभानो हुन । अविवाहित रहेर पनि थुप्रै उदाहरणिय कार्य गरेका महापुरुष हाम्रै सामु छन् । रामभक्त लक्ष्मणहरुले बुझ्नु जरुरी छ । भवानी क्षेत्रीले पक्कै पनि आफ्नो घर बनाउन नसकेर अरुको घर भत्केको हेर्न लालयित भएर सो लेख लेख्नुभएको मलाई लागेन । लेखक, कलाकार साझा हो । उसको विचार साझा हो र उसको जीवनी प्रति सबैको सरोकार हुन जरुरी छ । श्रीमान् श्रीमती प्रति मेलमिलाप नहुनु र धरावासीको जस्तो अति मेलमिलाप हुनु र मृत्यू हुन नपाई घर व्यवाहार सम्हानेको निहुँमा दोस्रो विवाह गर्नुमा फरक छ कुमार जी । पाण्डुलिपी नाम दिएर सिता महाताम्य निकाल्नु थियो भने दोस्रो विवाह किन ? दोस्रो विवाह गर्नुथ्यो भने सिता महाताम्य किन ? प्रश्न हाम्रो यति मात्र हो । धराबासीको उचाई दोस्रो विवाहले बढ्ने होईन । घटेको छ बरु । अब चाहेर, नचाहेर पनि धरावासीको उचाई घट्नेछैन भन्ने कुमार भट्टराईको भनाई अत्यन्तै बेतुकको लाग्यो । पुर्वाग्राही । धरावासीको उचाई पाठकले बनाएका हुन । नकी धरावासी स्वयंलेे मात्र । घमण्ड नगर्दा राम्रो हुन्छ ।
सबै नारी पात्रहरुले धरावासीको जस्तो श्रीमती हुन नपरोस् भनेर सडकमा टायर बालेको टुलुटुलु हेर्न मन नलाग्ला दुई दाजुभाईलाई । समग्र नारी हृदय प्रतिको कुठाराघात हो, धरावासी र हरिवंशको विवाह । यसले समाजलाई सकारात्मक होईन नकरात्मक सन्देश दिन्छ । किन ढाँट्नु हुन्छ हामी सिधासादा पाठकलाई ? कोहि पनि लोग्ने स्वास्नी मरेको बर्ष दिन नबित्दै दोस्रो विवाह गरिहाल्दो रहेछ, लोग्ने प्रति हाम्रो धारणा के हुने भनेर सबै महिलाले सोच्ने कि नसोच्ने ? कुरो र कुलो जता बङग्याए पनि हुन्छ भनिन्छ । तर गाईलाई गधा र गधालाई गाई भनेर हामीलाई पटमुर्ख नबनाईयोस् लेखक, कलाकार महोदय । कालिदास पनि अल्पज्ञानी थिएनन् ।
-----------------------------------------------------------------------------------------------------

पाण्डुलिपी, धराबासी र भवानी 

- कुमार भट्टराई

दुई किसानहरु गफ गर्ने धुनमा कुराको अन्त्यमा एक जनाले भनेछन्- ‘तिमीलाई त घरमा त्यति दुःख छैन हौ, त्यही गाई छ दुहृयो खायो । मेरो पो गोठ सोर्नु पर्छ, बाल्टी माझ्नु पर्छ, घाँस काट्नु पर्छ, कुटी काट्नु पर्छ, बाझो लाउनु पर्छ, दुहुनु पर्छ, दुध तताउनु पर्छ अनि मात्र खान पाइन्छ ।’
प्रसङ्ग- भवानी क्षेत्रीले अनलाइन खबरमा कृष्ण धराबासीमाथि लेखेको लेखका बारेमा । त्यो ‘धराबासीको रुवाई’ शीर्षकको लेख पढेपछि मेरा मनमा आदरणीय दिदी भवानी क्षेत्रीको लेख सन्तुलित लागेन । त्यसैले यो लेख्ने धृष्टता गरें ।
उहाँले पूरा लेख एकोहोरो मनको भडास पोख्न लेख्नु भएको जस्तो लाग्छ । त्यो पढेपछि लाग्छ- भवानी क्षेत्रीले मौका कुरेरै उनलाई हतौडाले हानेकी हुन् । त्यस लेखले जम्मा तीन कुराप्रति आक्रोश व्यक्त गरेको देखिन्छ । पहिलो- धराबासीले गरेको दोस्रो विवाह । उनले लेखमा लेखेकी छिन्- ‘धराबासीको शारीरिक स्थितिले गर्दा उनले दोस्रो विवाह गर्छन् भन्ने मलाई लागेको थियो ।’
दोस्रो- धराबासीको कृति पाण्डुलिपीको छैटौं सँस्करण समेत प्रकाशित भएकोमा । तेस्रो- त्यसबाट प्राप्त आम्दानीले ऊ आर्थिक रुपमा सम्पन्न भई मासुभात खायो भन्नेमा । धराबासीलाई सबैभन्दा नजिकबाट चिन्ने मध्येमा भवानी क्षेत्री पनि पर्नु हुन्छ । पारिवारिक, आर्थिक, सामाजिक, मनका भावनाहरु समेत बुझ्ने उनीहरु असल मित्र हुन् झैं लाग्थ्यो मलाई । तर यो लेख पढेपछि भवानी क्षेत्रीको बौद्धिक दरिद्रता, अपरिपक्वता, अदूरदर्शिता र उहाँको प्रगतिशील चेतप्रति केही प्रश्न गर्न मन लाग्यो ।
भवानी क्षेत्री बामपन्थी आस्थावान भएकी प्रगतिशील लेखक । उहाँको आस्थाले भौतिकवादी चिन्तनलाई अगाडि सारेर मान्छेलाई डढाएर आएर मासुभातै खाउ भन्छ । आध्यात्मिक आस्थाभन्दा भौतिक शरीरलाई मूख्य ठानेर न ईश्वर मान्छ, न त आत्मा । भौतिक चेतले जीवन सरलताका लागि बाँच्ने आधारहरु नै संसार चल्नु पर्छ भन्ने सार व्यक्त गर्छ जस्तो लाग्छ मलाई । तर उहाँको व्यवहार ?
हामीलाई परिवर्तनका भाषणहरु गर्न सजिलो छ, तर आत्मवोध गर्न चाहिं गाह्रो । भवानी क्षेत्रीको कलम हेर्दा लाग्छ, उहाँ जड पुरातनवादी सोंच भएकी कठोर महिला हुनुहुन्छ । जो आफ्नो घर बनाउन नसकेको पीडाले अर्काको घर भत्केकै हेर्नमा खुशी छ । जीवनभर अपहेलना गरेर मरेपछि पिण्ड दिने सँस्कारमा हुर्केकाहरुले मात्र त्यस्तो एकतर्फी लेख्न सक्छ । भवानी क्षेत्री आफै श्रीमान्-श्रीमतीको सम्झौतामा जीवन व्यथित गर्न नसकेकी महिला । फर्केर हेर्दा समाज अनुकुल आफूलाई समायोजन नगरेकाले नै होला उनले त्यो पारिवारिक सुख उहाँले भोग गर्न पाउनु भएन । मान्छेका व्यक्तिगत जीवनतिर फाल हानेर कुरा गर्नु हो भने यो संसारका कुनै पनि व्यक्ति हामी चोखा छैनौं । प्रत्येक व्यक्ति कहीं न कहीं चुकेकै छ ।
धराबासीको पत्नीप्रेम, कृति पाण्डुलिपी र उनको दोस्रो विवाह समाजका लागि कुनै मिथक होइन । यो मिथक यसअघि नै प्रतिपादन भइसकेको छ ।
हाम्रो धार्मिक शास्त्रमा सत्यदेवी मरेपछि उनको शरीरलाई काँधमा बोकेर शिवजीले ब्रहृमाण्ड परिक्रममा गरे । उनको पीर नघट्ने देखेपछि विष्णुले औंस्या किराको प्रतिपादन गरी शरीर कुहाएर झारेको कथा छ । त्यसपछि शिवजी कठोर साधनमा लिन भएर बाहिर आउनै नसक्ने भएपछि विष्णु आफै लागेर पार्वतीसँग विवाह गरेको हामी हिन्दु धार्मिक ग्रन्थमा पाउँछौं ।
राष्ट्रियकवि माधव घिमिरे आज जिउँदै हुनुहुन्छ । उहाँकी धर्मपत्नी गौरी ००४ सालमा बितेपछि उहाँले ००६ सालमा पुनः विवाह गर्नु भयो र पछि गौरी लेख्नु भयो । आज पनि त्यो कृतिको महत्व उत्तिकै छ । पुनः विवाह गर्ने बित्तिकै माधव घिमिरेको आफ्नी पत्नी गौरीप्रतिको प्रेम कम भएको छ र ? आज पनि उहाँले दोस्रो विवाह गर्नुभएकी श्रीमतीसँग चौरानब्बे बर्षको उमेर व्यथित गरिरहनु भएको छ । गौरी किताब धेरै बिक्री हुने किताबका रुपमा आज पनि बिक्री भइरहेको छ ।
यी कुराहरु उहाँले आफ्नो लेखमा कहाँ समायोजन गर्नुभएको छ ? प्रेम गर्नु र जीवन चलाउनु फरक कुरा हुन् भन्ने समेत कसरी हेक्का नरहेको भवानी दिदीलाई ।
लेखेका कृतिहरु सबै उत्तिकै पाठकले रुचाउने लेखक कमै छन् नेपालमा । त्यो कम मध्ये धराबासीले समेत आफ्नो छवि बनाएको अब कसैलाई भनिरहनु पर्दैन । आफूसँगैको साथी माथी पुगेपछि ईष्याले डढ्नु स्वभाविक हो । तर त्यो ईष्या सकारात्मक हुनुपर्छ । भवानी दिदी र केही उहाँ जस्तै साथीहरु धराबासीको ईष्याले डढेजस्तो देखिन्छ । अब चाहे पनि, नचाहे पनि धराबासीको उचाई उहाँहरुले प्राप्त गर्नसक्नु हुन्न । यस्तो अवस्थामा धराबासीका बारेमा अनर्गल प्रचार गरेर उनका विरुद्धमा जनमत संकलन गर्न खोजेको हो कि जस्तो देखिन्छ ।
धराबासीले सीताजीको कोरामा बसेकै बेला घोषणा गर्नुभएको थियो सीताजीको नाममा एउटा पुरस्कारको । जसलाई त्यस बेला देवीभक्त श्रेष्ठज्यूहरुले समेत आफ्नो तर्फबाट रकम संकलन गरी जम्मा गर्नुभएको छ । जुन पुरस्कार घरेलु महिलाहरुले गरेको सिर्जनालाई सम्मान गर्नेसँग सम्बन्धित थियो । पाण्डुलिपी पुस्तकको विमोचन कार्यक्रममा पनि उहाँले घोषणा गर्नुभयो- पाण्डुलिपीबाट प्राप्त आम्दानी त्यो वितरण गर्ने कोषमा राखिने छ । धराबासीले अन्यत्रबाट लेखेर आएको आम्दानी र किताबबाट प्राप्त पैसाले बैंकमा छुट्टै खाता सञ्चालन भई आगामी बैशाखमा कार्यक्रमको तयारी भइरहेको छ । तर उहाँले त्यो बुझेर पनि ‘किताब बेचेको पैसाले मासुभात खायो’ भन्नु नबुझेको भान गर्नु भएको मात्र हो जस्तो लाग्छ ।
धराबासी तारा हुन् । सबैले देख्नु स्वभाविक हो । उनीप्रति चर्चा परिचर्चा हुनु पनि स्वभाविक हो । तर भवानी क्षेत्रीले बुझ्न अझै धेरै जरुरी छ ।
घर भनेको पुरुष होइन । जीवको जीवन चक्र हेनुपर्छ हामीले । समाज स्थापनाका खोज अनुसन्धानहरु हेर्नु पर्छ । एक्लो पुरुष सडक किनारमा पनि सुत्छ, होटलमै खान्छ । बाटा छेउमा नै आची गर्छ, पिसाव फेर्छ । तर महिला त्यसो गर्न सक्दिनँ । महिलाका लागि हुन्छ घर । घर भनेको महिला हो पुरुष होइन । हो त्यो महिलाको घरलाई आफ्नो ठानेर अडिन्छ पुरुष त्यहाँ । पुरुष र महिला एकअर्काको लागि परिपुरक भएर ठडिन्छ एउटा घर । पुरुषको आड, सहयोग र सद्भाव चाहिन्छ महिलालाई । महिलाको प्रेम, सहयोग र चिन्तामुक्त निद्रोको लागि उनको काखको सिरानी चाहिन्छ ।
धराबासीलाई गाली गर्नुभन्दा अगाडि भवानी क्षेत्रीहरुले सोच्न जरुरी छ- धराबासीको विवाहले समाजलाई क्षति के गर्‍यो ? विवाह गर्ने धराबासी एक्लै होइनन्, उनीसँगै उनीजस्तै एक्लो जीवन विताइरहेकी अर्की महिला पनि छन् । महिलावादी लेखिका ठान्ने भवानी दिदीले ती एक्लो जीवन बिताइरहेकी महिलाले समेत सहारा पाएकोमा हर्ष गर्न किन नसकेको ? धराबासीसँगै हरिवंश आचार्यको पनि विवाह भयो । दुबैको विवाह गर्ने जोडी हेर्दा लाग्छ- दुई जोडी भत्केर आधा-आधा भएकाहरु मिलेर दुई जोर पूर्ण घर बनाएका हुन् । दुबैले तरुनी, कन्ने केटी रोजेर सम्भोग, यौन आकांक्षा मात्र पूरा गर्नका लागि विवाह गरेका होइनन् ।
धराबासीको शारीरिक अवस्था कसैबाट लुकेको छैन । उकालो चढ्न सक्दैनन्, बसेपछि उठ्न केही न केही आड चाहिन्छ । ‘ब्लड प्रेसर लो’ कारण कयौं चोटी लेखेकै ठाउँबाट लडेको मुडोजस्तो उठाएर टिचिङ पुर्‍याइएको छ । विवाह अघिसम्म पनि राति सुत्दा कान्छो छोरो विवेकसँगै सुत्थ्यो साथीका लागि । जीवनभर छोराछोरीले सुतिदिन सक्दैनन् ।
आज समाजमा महिलावादी कुरा ओक्लने, पुरुषलाई गाली गर्ने कयौं महिलाहरु स्वयं आफ्नो आङको जुम्रा नदेखिरहेको अवस्था छ । भवानी दिदी आफैले आफ्नो जीवनका पाइला पछाडि फर्केर हेर्न जरुरी छ ।
आदर्श हुन एक्लो जीवन जिउने ढोङ रच्ने धेरै पुरुषहरुका कारण आज कयौंको घरवार बिगि्रएको छ । अर्काकी श्रीमतीसँग अनुचित सम्बन्ध र प्रेम प्रसङ्ग चलाएर घर बिगि्रएका उदाहरणका कथाहरु छ्याप्छ्याप्ती छन् समाजमा । त्यसै गरी एक्लो महिलाको रुपमा प्रस्तुत गर्ने महिलाहरु समेत यौन र सहयोगको अपेक्षामा कयौं गृहस्थ पुरुषहरुसँग सल्किएर घर भत्काइरहेको कथा पनि हाम्रा सामु छरपष्ट छन् समाजमा । कोही घरभरि श्रीमती राखेर डामेर छाडेको साँडेजस्तो अर्काकी स्वास्नी र छोरीहरुलाई ओगटेर बस्नेहरु पनि कमी छैनन् ।
समाज परिवर्तनका लागि सम्वाहक हुनेहरु र हुन खोज्नेहरुले तिनीहरुका बारेमा खोई कलम चलाएको ? उनीहरुको विरुद्धमा खोई जेहाद छेडेको ?
भवानी क्षेत्रीको आसय भएको लेख तीन कारणले मात्र लेखिन्छ । पहिलो- ज्यानभन्दा ज्यादा माया गरेको पुरुषले अर्की केटीसँग विवाह गर्‍यो भने त्यसको आवेग । दोस्रो- लेखकीय हिसाबले उसले गरेको प्रगतिको जलन तथा लेखक भएरै बाँचेको देखेर असैहृय ईष्या । तेस्रो- चेतना नभएका व्यक्तिलाई कुनै चेतनशील व्यक्तिले गराएको प्रयोग ।
‘प्रत्येक क्रियामा समान तर विपरीत प्रतिक्रिया हुन्छ’, विज्ञानले चालको तेस्रो नियममा भन्छ । धराबासीको अहिलेको कार्यले पनि त्यही सिद्धान्तसँग जोडिएकै छ । अहिले क्रिया र प्रतिक्रियाहरु शुरु छन् । प्रतिक्रिया आएको हो । अहिले यसले मान्छेलाई केही समयका लागि नयाँ स्वाद दिएको छ ।
जीवन बाँचिञ्जेल नै माया गर्ने पनि । धराबासीजी ! दुःखका सम्झानाहरु बिर्सन नयाँ सिर्जनाहरु गर्नुपर्छ । भवानी क्षेत्रीहरु आफूले सिर्जना गर्न नसकेकोमा पीडा बोलेका मात्र हुन् । तर कलम चलाउन खोज्नेहरुले कलमको दुरुपयोग गर्‍यो वा गर्न थाल्यो भने समाजको विश्वास कम हुन्छ । अहिले कलम चलाउन हरेक व्यक्ति जान्दछ । कलम चलाउनेले व्यक्तिगत नाफाघाटाको लागि होइन, सामाजिक नाफाघाटाका लागि सोच्न जरुरी छ ।

----------------------------------------------------------------------------------------------------------

 धाराबासीको रुवाई

- भवानी क्षेत्री, झापा
यसबेला म कृष्णधराबासीको पाण्डुलिपि पढ्दैछु । पत्नी सीताको बियोगलाई मूल बिषय बनाएरलेखिएको यो कृतिमा पत्नीसँगको २७ बर्षे सहयात्राका भोगाइ छन् । पत्नीको प्रेम,ब्यवहारिक कुशलता, आँट, निडरता उनीसँगै भोगेका दुःखसुख, पीडा, रोदन, सीताजीकोबिरामीदेखि मृत्युसम्मको अवस्थाको ब्याख्या गरिएको पाण्डुलिपि सुरुदेखि नै धेरैपल्ट घाँटीबाँधिदै र आँशु खसाउँदै पढ्दै थिएँ म ।
सीताजी अब बाँच्नु हुन्न, उहाँ अब यस धरतीकी थोरै दिनकी बासिन्दा हुनुहुन्छ भन्ने थाहा पाएकोकुरा पढ्दा फेरि आँशु खसे पुस्तकै भिज्नेगरी । हो जतिबेला म रुँदै यो पुस्तक पढ्दैथिएँ ठिक यही बेला फेसबुकमार्फत धरावासीको दोस्रो बिबाह हुँदैछ भन्ने समाचार पढ्नुपर्यो मैले । उनले दोस्रो बिबाह गर्छन् भन्ने कुरा मलाइ थाहा थियो, तर यस्तरीहतारमा गर्लान् भन्ने सोचेकै थिइनँ छु ।
फेसबुकमा बेहुलाबेहुलीको फोटो देखेपछि एउटा सचित्र मेरो सामु उभियो । त्यो चित्र यस्तो थियो,एउटा लोग्नेमान्छे बलिन्द्रधारा आँशु खसाउदै र कोकोहोलो मच्चाउदै पत्नी बियोगमा रुँदैमासु र भात खाँदैछ । कस्तो तालमेल नमिलेको चित्र हो यो ? कमसेकम रोइ सकेरहातमुख धोएर मासु भात खाँदा यो चित्र मेरो सामु आउने थिएन सायद । बडो बेगका साथअघि बढिरहेको मेरो पढाइमा ब्रेक लाग्यो । त्यहाँभन्दा अगाडि पढ्न सकिनँ मैले योकिताब । किताब भित्रका सबै कुराहरु फोस्रा तथ्यहीन र नेताहरुको भाषण जस्तो, योदेशको सबै क्षेत्रका मान्छेहरुको इमान्दारितामा खडेरी परेछ जस्तो लागेर आयो । अब कसकोबिश्वास गर्ने जनताले र पाठकले ? कस्तो दोहोरो चरित्र हो यो ? एउटी पत्नीकोबियोगमा लेखिएको शोकमय पुस्तक छैंठौ सस्करणमा प्रकाशित भइरहेछ । पाठकहरुसहानुभूतिपूर्ण रोदन रुँदै पढ्दैछन् पाण्डुलिपि । एकातिर पाठकहरु भित्र खाँदीखाँदी भर्दैछन् आफू र सीताजी प्रतिको सहानुभूति, माया, प्रेम पाण्डुलिपि मार्फत। अर्कातिर धमिरा लाग्दैछन् आफैँ पाठकका हृदय भित्र ।
धरावासीले सीताजीलाई यति चाँडै कसरी धराकी बासी अनि मनकी बासी बनाइदिन सके होलान् आश्चर्यलागेको छ । यस्तो लाग्यो उनी सिडी वा क्यासेटका चक्का हुन । उनी साँच्चै बिछोडकोपीडाले थलिएका थिएनन् बरु सचेतनाका साथ आफूलाई पूर्णरुपमा खाली बनाएरत्यहाँ नयाँ खुसीका, रहरका, उत्साहका र उमंगका रंगहरु भर्न चाहन्थे । त्यसैले हतारहतारपुराना, थोत्रा र बासी कुराहरु मिल्काएका हुन् पाण्डुलिपि मार्फत । या त उनी चतुर, चलाखमान्छे हुन् । कहाँ, कतिबेला र कसरी शोकलाई क्यासमा भजाउन सकिन्छ भन्ने कुरा थाहाभएका । नत्र दोस्रो बिबाह र पाण्डुलिपि प्रकाशनमध्य एउटा काम थाती राख्ने थिए ।
हुन तबिबाहलाई थाती राख्न सक्ने थिएनन् उनले । किनकि उनी उमेरले धेरै बुढो नभए पनि एउटाकमजोर र रोगी शरीरधारी मान्छे हुन् । यो कुरा पाण्डुलिपि पढ्ने सबैलाई थाहा छ । उनले भनेका पनि छन् आफ्नो स्याहार सुसारका लागि अर्को बिबाह गर्छु भनेर । आफनोस्याहार आफैँ गर्न नसक्ने, छोराछोरीको माया र स्याहारले पनि नपुग्ने, अरु नैसाइनोका वा काम गर्नेहरुले पनि नहुने, श्रीमतीकै स्याहार चाहिने ? कस्तो उदेककोकमजोरी हो यो ? यस्ता कमजोर मान्छेलेबिबाह थाती राख्ने कुरै भएन ।
त्यसैले पाण्डुलिपिदुइ चार बर्षपछि छपाउँथे भने भलै त्यो बेला यो किताब छैठौं सस्करणसम्म नछापिनसक्थ्यो तर पाठकका मनमा उनको निम्ति आदर र श्रद्धा बढेर जाने थियो । पुस्तक पसलमागएर पाठकले “बेकार किन्न लगायौ यो किताब मलाइ” भन्ने थिएनन्, किताब किनेको मापछुतो पनि मान्ने थिएनन् त्यो बेला पाठकले । तर एकै साथ रहर र दाम पुरा गर्न चाहेउनले ।
अथवा उनले उमेरपुगेका छोराछोरीको बिहे गरिसकेपछि आफूले दोस्रो बिहे गर्थे भने पनि उनीप्रतिको भ्रम यसरी भत्किने थिएन । उनको सामाजिक साख र प्रतिष्ठामा पहिरो जाने थिएन ।पाण्डुलिपि किनेकोमा पाठकले पछुतो मान्नु पर्ने थिएन । किनकि त्यतिखेर उनी वास्तवमैएक्लिएका छन्, उनलाई नजिकबाट माया गर्ने मान्छेको खाँचो छ भन्ने कुरा आम पाठकहरुमापर्ने थियो । उनलाई आगामि दिनका लागि पनि रुवाइ बेच्न सजिलो हुने थियो ।
त्यसै अनिच्छापूर्बककिताब पल्टाएँ, २५६ पेजमा पल्टिएको रहेछ । त्यहाँ धरावासीले “यस संसारमा मेरोजीवनले पाएको यो प्रथम र अन्तिम पि्रयमान्छेलाई म कसरी छटपटाउँदै मरेको देख्न सक्छु?” लेखेका रहेछन् । कति ठूलो ब्यंग्य मान्छेलाई मान्छेले गर्ने प्रेममाथि ?अझ लोग्ने स्वास्नीको प्रेममाथि ? के सबै लोग्नेले स्वास्नीलाई गर्ने माया यस्तैफितलो, यस्तै पातलो, बर्ष दिन कट्दा नकट्दा सलल बगेर जाने सतही खालको हुन्छ ?के सबै लोग्नेहरु यस्तै स्वार्थी चेपारे हुन्छन् ? सेवा र स्याहार पाउन्जेल प्रिय, प्यारी,आमाजस्ती, देवीजस्ती अनि सेवा सकिना साथ सबै सकिने ? यस्तै हुन्छ होला ।
अपबाद बाहेकसमाजमा देखिएको पुरुष ब्यबहार यस्तै छ । तर अरु पुरुषहरु यसरी बिलौना गाएर सार्बजनिकरुपमा रुदैनन् धरावासी जस्तो । पत्नी वियोगले पीडित भएको कुशल र जीवन्त अभिनय गरेरसमवेदनालाई क्यासमा भँजाउने काम पनि गर्दैनन् । पत्नीको मृत्युलाई व्यापारको विषयबनाउँदैनन् । आफनो पीरलाई पीरकै रुपमा लिन्छन् । जति दिन सक्छन्, पीडा खप्छन्,नसकेका दिन अर्को बिबाह गर्छन् ।
तर धरावासीकोरुवाइ कहिल्यै नमेटिने गरी लिखत रुपमा आएको छ । पत्नीको वियोगलाई व्यापार बनाउने रत्यसबाट आएको पैसाले मोजमस्ती गर्ने नयाँ नजिर बनेको छ । दुःखद पक्ष यही हो ।यहाँभन्दा उता पढिनँ मैले यो किताब । पढ्नै सकिनँ । तर पढ्छु पछि, एउटा पाल्पनिककथाका रुपमा भए पनि ।
धरावासीलाईपाण्डुलिपिमा पढेर आम नेपाली महिलाले के सिक्ने ? आफ्ना लोग्नेहरु प्रति कस्तोधारणा बनाउने ? लोग्नेको जीवनमा आफनो उपस्थिति र उपयोगिताकोमूल्यलाई कसरी हेर्ने उनीहरुले ? के सचेत महिलाहरुले जीवन रुपी किताबका पन्ना पल्टाउदैनन् होला र ? लोग्नेजस्तो अवसरबादी अरु कोही हुन्न रहेछ भन्ने पाण्डुलिपिले बुझाएन ?