Friday, May 31, 2013

क्षयरोग के हो ? कसरी बँच्ने ? - onlinekhabar

क्षयरोग अर्थात ट्युवरकुलोसिस (सामान्य बोलीचालीमा टिबि ) माइकोब्याक्टेरिएम ट्युबरकुलोसिस (Mycobacterium tuberculosis) भन्ने सुक्ष्म जीवाणुको संक्रमणबाट लाग्ने सरुवा रोग हो । संस्कृतमा यसलाइ राज्यक्षमा पनि भन्ने गरिन्छ । यो रोगले सरिरको क्षय गर्ने भएकोले नै यसलाइ क्षयरोग भनिएको हो । यसलाइ महारोग अर्थात रोगहरुको राजा पनि भन्ने चलन रहेको छ । क्षयरोग मुख्यतया फोक्सोको रोग भएतापनि सरिरका अन्य अ्र्ग जस्तै हाड , मस्तिष्क , आन्द्रा लगायतका भागमा पनि यसले संक्रमित गर्न सक्छ ।
TB
क्षयरोगको जीवाणु हाछ्युँ गर्दा वा खोक्दा हावा सँगै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छन्- ( Airborne Droplet infection ) । यो जीवाणु सन् १८८२ मा रोबर्ट कोचले पत्ता लगाएका हुन् ।
जीवाणु पत्ता लागेको एक शताव्दी भैसक्दा र यो रोग निको पार्ने प्रभावकारी औषधी र रोग लाग्न नदिने खोपको व्यापक प्रयोग भैरहदा पनि क्षयरोग विश्रभरी नै मुख्य स्वास्थ्य समस्याको रुपमा रहदै आएको छ । एक अध्ययन अनुसार नेपालमा मानिसको ज्यानैलिने दोश्रो भयानक सरुवा रोगको रुपमा क्षयरोग रहेको छ ।
क्षयरोगको संक्रमण र रोगका लक्षण : 
क्षयरोगका जीवाणु स्वस्थ व्यक्तिको सरिरमा प्रवेश गरेपछि संक्रमित व्यक्तिको प्रतिरोधात्मक क्षमता हेरिकन केही महिना देखि एक वर्ष सम्ममा यो रोगका लक्षण देखापर्न थाल्छन् । तर सामान्यतया ६ महिना देखि एक वर्ष सम्मको समयलाइ झ्याली समयको रुपमा लिने गरिन्छ । यो रोगका जीवाणुहरुले उत्पादन गर्ने एक प्रकारको विष Tuberculin को कारणले सरिरका कोषहरु को क्षय हुन जान्छ फलतः रोगका लक्षण देखिन थाल्छन् ।
सामान्यतया सरिरमा भएको रोग प्रतिरोधक कोषहरु (T-cell) ले जीवाणु हरुको प्रवेश र वृद्धी नियन्त्रण गर्ने गर्छन् । तर जब क्षयरोगका जीवाणुहरुको नियन्त्रणमा यस् कोषहरु असफल हुन्छन् तब जीवाणुहरु सम्पूर्ण रक्तप्रवाहमा समाहित हुन पुग्छन् । र फोक्सो लगायतका अङ्गमा पुगी वृद्धी हुन थाल्छन् । यो चरणलाई MiliaryTuberculosis भनिन्छ । रोग पाकेको चरणमा रक्तनलीहरु क्षतविक्षत पारी प्वाल पार्ने र कोषहरुलाई मार्ने गर्छन् । फोक्सोका भित्ताहरुमा समेत प्वाल पर्न जान्छ । यो अवस्थामा निम्न लक्षणहरु देखिन थाल्छन् ।
क. लगातार खोकी लाग्ने तथा खोकीमा रगत देखिने
ख. सरिरको वजन घट्ने
ग. फोक्सोमा पीडा महसुस हुने ज्वरो आउने आदि ।
यदी सहि उपचार नभएमा रोगीको मृत्यु हुन सक्छ ।
क्षयरोगबाट को को खतरामा छन् त ?
१ केटाकेटी किशोर किशोरी र वयस्क जो सुकै पनि क्षयरोग संक्रमणको सिकार बन्न सक्छन् ।
२ रेागी सँग बारम्बार सम्पर्कमा आइरख्ने जस्तै चिकित्सक र रोगीको परिवार
३ धेरै भिडभाड र रोगसंक्रमित क्षेत्रका बासिन्दा
४ अल्कोहल लगायतका मध्यपान र धुम्रपानको कुलतमा लागेका हरु र बढि धुलो धुवामा बस्नेहरु
५ एड्स रोगी जसको रोगप्रतिरोधात्मक क्षमता हुदैन
रोगबाट बच्न के गर्ने ?
१ धुम्रपान मध्यपान नगर्ने
२ बालबालिकाहरुलाइ उचित समयामा बिसिजि को खोप लगाउने
३ रोगका लक्षण देखिएमा जचाएर उपचार गर्ने र रोगको संक्रमण अरुमा फैलिन नदिने
४ हाछ्यँु गर्दा र खोक्दा मुख छोप्ने
नेपालमा क्षयरोगको बर्तमान अवस्था
विश्वमा करीब १.७ अर्ब मानिस क्षयरोग बाट संक्रमित भएको बताइएको छ । त्यसमध्ये एक तिहाइ रोगी सार्क क्ष्ृत्रका नेपाल , भारत , बङ्गलादेश , पाकिस्तान , श्रीलङका , लगायतका राष्ट्रहरुमा भएको तथ्याङ्कहरु सार्वजनिक भएका छन् । । नेपालमा प्रत्येक दश जना मध्ये ६ जना मानिस यो रोगबाट संक्रमित छन् । प्रतिवर्ष ४० हजार नया रोगी थपिने गरेका छन् । एक तथ्यांकका अनुसार नेपालमा भएका क्षयरोगी मध्ये ५ देखि १५ प्रतिशत रोगी बालबालिका रहेका छन् । बालबालिका यो रोगबाट धेरै पिडित रहेको र बालमृत्युदरको एक मुख्य कारणको रुपमा यो रहेको छ । बालबालिका हरु यो रोगको संक्रमणको बढि जोखिममा पनि रहेका हुनछन् । कुपोषण भएका बालबालिकाहरु क्षयरोगको झनै जोखिममा रहेका हुन्छन् ।
नेपालमा धेरै जनता अििशक्षित छन् । जसले यो रोग इश्वरले सरापेर दिएको हो भन्ने रुढिवादी मान्याता राख्छन् । बालबालिका यो रोगबाट बढि प्रभावित हुने कारणले पनि वयस्कहरुमा यो रोग बढि छ भन्ने कुरालाइ प्रतिबिम्बित गरेको हुन्छ ।
उपचार र नियन्त्रण
क्षयरोगको सरल र सहज उपचार सम्भव भएपनि यसले वर्षेनी हजार्रौको ज्यान लिने गरेको छ । त्यसैले यो रोगप्रति हेलचेक्राइ नगरिकन छिटौ औषधोपचारमा लाग्नुपर्छ ।
१ यो रोग लाग्नै नदिन बिसिजी नामक खोप दिइन्छ
२ यो रोग लागि सकेपछि भने रोग पत्ता लगाएर विभिन्न औषधिको प्रयोग गरी उपचार गरिन्छ (Chemotherapy) ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक एक सेकेण्डमा एक जना मानिसलाई क्षयरोगले संक्रमित गर्ने गरेको छ । विश्वका एक तिहाइ मानिस क्षयरोगबाट संक्रमित छन् । यद्यपि असाध्य र महारोग मानिएको क्षयरोगको उपचार सहज बन्दै गएकोले यो रोगबाट प्रभावित हुने र ज्यान गुमाउनेको संख्या कम भएको छ । तरपनि नेपालको केही ग्रामिण क्षेत्रमा व्याप्त रोग र रोगीप्रतिको नकारात्मक सोच र लापरवाहीले गर्दा रोगीले अनाहकमा ज्यान गुमाउनुपरेको तितो यथार्थ रहेको छ । तसर्थ क्षयरोगबारे पुर्ण जनचेतनाको खाँचो छ ।                                                         कुलचन्द्र अर्याल (एजेन्सीको सहयोगमा)

Thursday, May 30, 2013

पत्रकारिताको धर्म नै आलोचना - युवराज घिमिरे - setopati


पत्रकारका रूपमा मेरो संलग्नता ‘रिपोर्टिङ’ विधामा नै रहिआएको छ ज्यादाजसो । सम्पादकका रूपमा काम गर्दा पनि ‘रिपोर्टिङमा मेरो चासो र संलग्नता रहि नै रह्यो । त्यसले मलाई नीति–निर्धारण र राज्यसञ्चालनका उपल्ला तहसँगै बोल्न र अभिव्यक्त गर्न नसक्ने जमातसँगै पनि त्यत्तिकै सामीप्य दियो । त्यसैले सबै राम्रो मात्र भइरहेको दाबी गर्ने उपल्लो तहलाई जनताको आशंका र अविश्वासको आँखाले हेर्नुपर्ने मेरो दायित्व बनेको छ ।
स्तम्भकारका रूपमा म पहिले ‘द इन्डियन एक्सप्रेस’ मा आउन थालेँ नियमित रूपमा ‘जिरो आवर’ स्तम्भमा सन् १९९८ को प्रारम्भमा । यद्यपि ‘द टेलिग्राफ’ मा त्योभन्दा धेरै अघि नै ‘विचार स्तम्भ’ लेख्ने अवसर म र मजस्ता अन्य पत्रकारहरूलाई प्राप्त थियो । एम जे अकबर हामी सबैका लागि प्रेरणाका स्रोत थिए (छन् पनि), उनीसँग हामी डराउँथ्यौँ । उनी हामीजस्ता कुनै पनि युवा पत्रकारभन्दा बढी फुर्तिला र मेहनती थिए । घटनास्थलमा आफैँ पुग्थे । त्यसैले रिपोर्टरहरूबीच उनी बढी चर्चित र ‘रोल मोडल’ नै बन्न पुगेका थिए ।
अकबरको राजनीतिमा प्रवेशको केही महिना पछि (सन् १९९१) टेलिग्राफबाट म अलग्गिएँ । पाक्षिक इन्डिया टुडेको प्रधान संवाददाता र पछि विशेष संवाददाताका रूपमा विस्तृत र गहिराइमा घटनाको विश्लेषण र प्रस्तुति मेरो जिम्मेवारी बन्न पुग्यो ।
त्यसपछि ‘आउटलुक’ साप्ताहिकमा प्रवेश गर्दा मैले सहायक सम्पादकको जिम्मेवारी पाए पनि ‘रिपोर्टिङ’ गर्न चाहेको थिएँ । तर, जिम्मेवारीको दायरा फराकिँदै गयो । राजनीतिमा नलागी राजनीति ‘कभर’ गर्नु चुनौती र अवसर दुवै थिए । त्यसपछि इन्डियन एक्सप्रेससँग म आबद्ध भएँ एसोसिएट एडिटरको हैसियतमा । अहिले त्यसमा नियमित स्तम्भ लेख्ने गर्छु- ‘नेक्स्ट डोर नेपाल’, काठमाडौंबाट ।
सामान्य सरकारी स्कुलमा पढे पनि अङ्ग्रेजी सञ्चारमाध्यमसँग जोडिन पुगेकाले अङ्ग्रेजी नै मेरो कामकाजी भाषा बन्न पुग्यो । तर, नेपालका कुनै सञ्चारमाध्यमसँग जोडिने रहर हुँदाहुँदै पनि त्यस्तो अवसर धेरै पछि जुर्यो ।

सन् १९९८ जुलाईमा म दिल्ली छोडेर बीबीसी नेपाली सेवामा प्रवेश गरेँ । म प्रिन्ट पृष्ठभूमिको, रेडियो मेरो रोजाइ थिएन । तर, लन्डनको दुई वर्षे बसाइले नेपाली सञ्चारमाध्यमसँग जोडिने मेरो इच्छा यथार्थमा परिणत हुन थाल्यो । ‘हिमाल’ खबर पत्रिकाको प्रकाशनसँग त्यसमा नियमित स्तम्भ लेख्न कनकमणि दीक्षित र राजेन्द्र दाहालको आग्रहले मलाई एउटा प्रभावशाली मञ्च हासिल भयो । त्यहाँबाट स्वदेश फर्कें,  ‘कान्तिपुर’ दैनिकको सम्पादकका रूपमा । दिल्लीमा इन्डियन एक्प्रेसमा सुरु गरेको स्तम्भ ‘जिरो आवर’ मैले नेपालीमा ‘शून्य समय’ का रूपमा सुरु गरेँ, कान्तिपुरमा ।

पत्रकारिता मेरा लागि जागिर मात्र हैन, केही मूल्य, मान्यता र धर्म पनि हो । यसमा प्रतिबद्धता जनाउँदा जीवन र व्यवसायमा अस्थीरता आउने र आफ्नो अस्तित्व कसरी बचाउने, अर्को चुनौती बन्न सक्छ । त्यस्तो अस्थीरतामा आफ्नै अभिव्यक्तिका लागि मञ्च खोज्नुपर्ने चुनौती थपिन्छ । आफूसँग कुनै मञ्च नहुँदा आफ्नो उपस्थिति देखाउनु सहज कुरा हैन । त्यस अर्थमा म धेरै भाग्यमानी सावित भएको छु । ‘कान्तिपुर’, यसपछि ‘समय’ साप्ताहिक, केही समयका लागि ‘राजधानी’ दैनिकमा मेरो संलग्नताले ‘शून्य समय’ त्यहाँ देखा परे पनि ‘जागिर’ नरहँदा मित्र जीवेन्द्र सिम्खडाले ‘समय’ मा शुक्रबार छापिएजस्तै शून्य समयलाई ‘अन्नपूर्ण पोष्ट’ दैनिकमा शुक्रबार नै छाप्ने चाहना देखाउँदै त्यसको बन्दोबस्त गर्नुभयो । त्यो व्यवस्था अहिले पनि कायम छ ।

विचारबिना समाजमा परिवर्तन र गतिशीलता आउँदैनन् । विचारप्रतिको असहिष्णुताले प्रजातान्त्रिक आवरणमा शासकहरू तानाशाह बन्न जान्छन् । ‘अति महत्वाकांक्षी क्रान्तिकारी’ हरू जनअनुमोदन खोज्नुको साटो विदेशी भक्तिमा आफूलाई समर्पित गर्ने गर्छन् । कोरा क्रान्ति र नाराबाट पत्रकारहरू प्रभावित हुन थाले भने विचारको शक्ति र स्वीकार्यता क्षीण हुन्छ । लहरमा बग्ने प्रवृत्ति पत्रकारिताको ‘चलन’ बन्यो भने त्यसले पेसाको मर्ममा प्रहार गर्छ । विरोधकै लागि विरोधलाई पत्रकारिताको मूल्य भन्न मिल्दैन । तर, राजनीतिक नाताकै आधारमा पत्रकारहरूले दोहोरो मान्यता राखे भने यो पेसाले सम्मान र विश्वास गुमाउँछ, पाठकहरूको ।
त्यस अर्थमा, पेसागत विचलनको, विचारमा दोहोरो मान्यता राखेको र विचारको व्यापार गरेको आरोप मलाई नलागोस् भन्नेबारे म सचेत छु । समय, परिस्थिति र अनुभवले सबैलाई परिपक्व बनाउँछ । चाहे राजा ज्ञानेन्द्रको समयमा त्यसबेलाका शक्तिशाली मन्त्री रमेशनाथ पाण्डेको आलोचना होस् या ०६२/६३ को आन्दोलनपछि गिरिजाप्रसाद कोइरालाका शासनकालमा कृष्ण सिटौला हुन्,  मैले गैरसंवैधानिक प्रवृत्तिमाथि आलोचनात्मक टिप्पणी गर्दै आएको छु । राजाको शासनमा गठित शाही आयोगको जस्तै कोइरालाद्वारा गठित रायमाझी आयोगको राजनीतिक प्रयोजनको मैले विरोध गरेको छु । यता आएर प्रधानन्यायाधीश नै रहेर मन्त्रिपरिषद्का अध्यक्ष बनेर खिलराज रेग्मीले न्यायपालिका तथा सर्वोच्च न्यायालयलाई राजनीतिक दलजस्तै अविश्वसनीय बनाएर न्याय खोज्न अदालतको साटो सडकमा जाने संस्कृति प्रोत्साहित गरेको मान्यता मैले लेख्दै आएको छु । आलोचना रहर हैन, पेसाको धर्म हो । ती आलोचनामा व्यक्तिप्रति विद्वेष नभएर, उनीहरूले आफ्नो पद समाजप्रति समर्पण गर्नुको साटो मुलुक, राष्ट्रियता र प्रजातन्त्रलाई कमजोर बनाउन प्रयोग गरेकोमा तथ्यपरक आक्रोशको अभिव्यक्ति हो ।

०६३ यताकै अवस्थामा ‘लोकतन्त्र’ का नाममा शक्तिको एकीकरण, न्यायपालिकाको अवमूल्यन र प्रतिपक्षको निषेधको सिलसिला सुरु भएको छ । लहरको पक्षमा उभिएर त्यो बेला नेपाल लोकतन्त्र र क्रान्ति निर्दिष्ट मार्गमा अगाडि बढ्दैछ भन्न सहज थियो, तर आउने दिनमा मुलुकले भोग्न सक्ने घटना–दुर्घटना, राष्ट्रको अस्तित्वमा पर्ने खतरा उत्पन्न हुन सक्ने संवैधानिक तथा राजनीतिक रिक्तताबारे मुलुकलाई सचेत गराउनु कठिन थियो । सामान्य नेपाली जनतामा यी आभास नभएका हैनन् । तर उनको मौन भाषा बुझ्न चाहेनन् कतिले । मैले जति बुझेँ, ती ‘शून्य समय’ मार्फत् पोख्ने कोसिस गरेँ । ती विचारहरू कुनै रूपमा यो मुलुकका लागि र नेपालीहरूका लागि उपयोगी सिद्ध हुन पुगे पत्रकारिता मेरो उपस्थिति सार्थक भएको ठान्नेछु ।
नेपाल अहिले पनि अनिश्चितता र अस्थिरता उन्मुख छ । राजनीतिक दलहरू जातीय समूहबाट विस्थापित हुने खतरा छ । राजनीतिक नेतृत्व (चार दलका) ले दल असफल भएको सन्देश दिएका छन् । राजतन्त्र प्रक्रिया र विधिविहीन तरिकाबाट उन्मूलन गरिएपछि रजौटाहरू च्याउ उम्रिएजसरी उम्रिएका छन् र जवाफदेहिताविहीन शैली अनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मुलुकमा शासन गरिरहेका छन् । एउटा महँगो संविधान लेखन–प्रक्रिया तुहिएपछि अर्को त्यत्तिकै महँगो र प्रतिबद्धताविहीन अभ्यास सुरु भएको छ । तर, यी सम्पूर्ण असफलताको जवाफदेहिता कहीं–कतै निर्धारित गरिएको छैन ।

राजनीति झन्झन् अविश्वसनीय र जनताबाट टाढाको प्रक्रिया बन्दै छ । मुलुकमा व्याप्त अनिश्चितता अनि संस्थागत रिक्तता (खासगरी राजतन्त्रको उन्मूलनपछि) का कारण विदेशी उपस्थिति र हालीमुहाली बढ्दै छ । राजनीतिक दलहरूले राष्ट्रको हित केमा छ, परिभाषित गर्न र अडान लिन सकेका छैनन् । विदेशीहरूको राय र वर्चस्वलाई स्वीकार गरे पनि नेपाली राजनीति र महत्वपूर्ण एजेन्डाहरूमा नेपाली जनतालाई स्वामित्व दिनुपर्छ भन्ने अडान उनीहरूले लिन सकेका छैनन ।

कुनै न कुनै रूपमा विधि, प्रक्रिया र प्रजातान्त्रिक मूल्य–मान्यताबाट यो परिस्थितिलाई सम्बोधन गरिनुपर्छ । त्यो सम्भव छ । यी लेख नै मेरा समसामयिक विचारहरू हुन् ।

(भृकुटीमण्डपमा जारी पुस्तक मेलामा आज(may 30,2013 - 2070-2-16) दिउँसो २:३० बजे सार्वजनिक हुने घिमिरेको पुस्तक ‘शून्य समय’मा प्रकाशित भूमिका ।)

खेर जाने बिजुलीलाई चार अर्ब ! - अमित ढकाल र किरण भण्डारी - setopati


साठी मेगावाटको त्रिशुली थ्री–ए निर्माण सुरु भएको दुई वर्षसम्म पनि रसुवाको बेत्रावतीदेखि नुवाकोटको मनकामना गाविसको आयोजनास्थलसम्म पहुँच मार्ग (एक्सेस रोड) बनिसकेको छैन । जबकि उसले काम सक्ने अवधि एक वर्ष हाराहारी मात्र बाँकी छ ।
त्रिशुली नदीको बेलीब्रिज तर्नेबित्तिकै आयोजनाको साइट अफिसकै काम भइरहेको देखिन्छ । यहाँ धमाधम बिल्डिङको पिलर उठाउने काम भइरहेको छ । ४/५ वटा बिल्डिङको स्ट्रक्चर तयार छ, लगभग उति नै समय लाग्ने फिनिसिङ थालिएकै छैन ।
मूलबाटोबाट यो कच्ची सडक ६ किलोमिटर पर गएपछि पावरहाउस निर्माणस्थल पुगिन्छ । यसपाला जेठमै लगातारको वर्षाले उर्लेको त्रिशुली किनारमा पावर हाउसको काम पनि उत्साहजनक छैन । चिनियाँ कम्पनी गेजुवाले प्राधिकरणसँग गरेको सम्झौता गरेको तीन वर्ष भयो । काम थालेको दुई वर्षमा एकतिहाइमात्र भ्याएको जानकारहरु बताउँछन् । उसले अबको एक वर्षमा दुईतिहाइ काम तुर्नुपर्ने छ ।
६० मेगावाटको ठेक्का पाएको भोलिपल्टदेखि गेजुवा क्षमता बढाएर ९० मेगावाट पुर्याउनेमा लागिपरेकाले यो अलमल भएको आरोप पूर्व ऊर्जामन्त्रीहरु लगाउँछन् । उनीहरु प्राधिकरणका पदेन अध्यक्ष पनि हुन्छन् ।
‘६० मेगावाटको ठेक्का पारेर ९० मेगावाट बनाउनमात्र ध्याउन्न गरेकाले दुई वर्षमा एकतिहाइ काम पनि सकिएको छैन,’ नुवाकोटकै नेता एवम् पूर्वमन्त्री प्रकाशशरण महतले सेतोपाटीसँग भने ।
नभन्दै साइटमा खटिएका चिनियाँ इन्जिनियरहरुको भनाइ पनि उस्तै छ । पावर हाउस निर्माणस्थलका साइट इन्जिनियर वाङले बताएअनुसार ६० मेगावाटको आयोजना बनाउन अझ २ देखि ३ वर्ष लाग्छ । कम्पनीले बाबुराम भट्टराई सरकारलाई रिझाएर सुरु गरेको क्षमता विस्तारको प्रयास प्राधिकरण सञ्चालक समितिबाट पनि अनुमोदन भयो भने त्रिशुली थ्री–ए निर्माण सम्पन्न हुन अर्को तीन वर्ष थप समयलाग्छ । अर्थात छिटोमा अबको पाँच वर्ष ।
त्रिशुलीको आयोजनाको ठेक्का पाएलगत्तै तीन वर्षदेखि कार्यरत गेजुवाका प्रशासन प्रमुख हुले भने फरक समय बताएका छन् । ‘६० मेगावाट मात्रै भयो भने अबको डेढ वर्षमा काम सक्छौं,’ उनले भने, ‘मन्त्रालय/सरकारले ९० मेगावाट बनाउन दियो भने थप ३ वर्ष लाग्छ ।’
इन्जिनियर वाङ र हुले बताएको समयसीमामा डेढ वर्ष तलमाथि छ । तर, पूर्व ऊर्जामन्त्री महत, एमालेका गोकर्ण बिष्टलगायतले करिव दुईतिहाइ काम बाँकी रहेकाले अझ ढिला हुने भएकैले बाबुराम सरकारसँगको मिलेमतोमा क्षमता विस्तार अघि बढाएको आरोप लगाएका छन् ।
काम समयमै नसकेपछि ठेकेदारले प्राधिकरणलाई कम्तीमा ८० करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्छ । समयमै काम सम्पन्न नगर्ने ठेकेदारले आयोजना लागतको १० प्रतिशत सम्म क्षतिपूर्ति तिर्नुपर्ने सर्त सम्झौतामा छ ।  
क्षमता विस्तार गरेर टाइमबाइ गरी क्षतिपूर्ति छल्ने र अवैधानिक तरिकाबाट ९० मेगावाटको ठेक्का हात पार्ने गेजुवाको दाउ छ ।
महत, बिष्ट मात्र हैन, माओवादीकै पोष्टबहादुर बोगटीले समेत नमानेको गेजुवाको त्यस्तो प्रस्तावमा भट्टराई स्वयम् ऊर्जामन्त्रीसमेत रहँदा भने सैद्धान्तिक सहमति भयो । वर्तमान ऊर्जामन्त्री एवं प्राधिकरणअध्यक्ष (सञ्चालक समिति) ले आइतबार क्षमता विस्तार निर्णय गरिदिएका छन् । ठेक्का रकम पनि करिब ८ अर्ब नेपाली रुपैयाँबाट १२ अर्ब पुर्याउन कम्पनीले माग गरेको स्रोतको दाबी छ । सञ्चालक समिति सदस्य अर्थसचिव शान्तराज सुवेदी हस्ताक्षर गर्न हच्किरहेकाले मात्र त्यो निर्णय कार्यान्वयनमा गएको छैन ।
‘झण्डै अर्ब रुपैयाँ क्षतिपूर्ति तिराउनुपर्ने कम्पनीलाई उल्टो ४ अर्बको ठेक्का बढाइदिएर अभूतपूर्व घोटालाको डिजाइन रचिएको छ,’ बिष्टले भने, ‘भ्रष्टाचारमाथि भ्रष्टाचार भएको छ ।’
बिष्टका अनुसार औचित्यको दृष्टिले मात्र हैन, कानुनअनुसार पनि यसरी ठेक्का दिनु सरासर अवैधानिक हो । क्षमता विस्तारको नाममा निर्माणधीन ६० मेगावाटको आयोजना कम्तीमा तीन वर्ष ढिला हुन्छ । प्राधिकरणका उच्च अधिकारीले सेतोपाटीलाई बताएअनुसार यसबाट कम्तीमा पौने २ अर्ब रुपैयाँ घाटा हुन्छ । ‘अहिले हामी अरुसँग ५ रुपैयाँ ४० पैसाको दरले अरुसँग बिजुली किनिरहेका छौं,’ ती इन्जिनियरले हिसाब दिए, ‘तीन वर्ष ढिला हुँदा प्राधिकरणले वर्षको करिव ६० करोड रुपैयाँ घाटा ब्यहोर्छ ।’
९० मेगावाट बनाउँदा पनि मुलुकमा सर्वाधिक ऊर्जा संकट हुने हिउँदमा उत्पादन २५ मेगावाट हाराहारी मात्र हुन्छ । त्रिशुली नदीको पानी नै सुक्ने हुँदा त्यो मौसममा ६० मेगावाट र ९० मेगावाटले दिने उत्पादन एउटै हो ।
‘हामीलाई बिजुली चाहिने बेला त्रिशुलीको पानी सुकेर यसको उत्पादन ह्वात्तै घट्छ,’ महतले भने, ‘पाँच वर्षपछि बर्खामा खेर जाने बिजुली बढाउन ४ अर्ब रुपैयाँ बालुवामा पानी हालेजस्तै हुन्छ ।’
महत मात्र हैन अन्यत्रको भाग खोसेर पनि जिल्लामा विकास लान मरिमेट्ने नुवाकोटका प्रकाशचन्द्र लोहनी, अर्जुननरसिंह केसी, रामशरण महत, बोगटीमध्ये कोही पनि नेता क्षमता विस्तारको पक्षमा छैनन् । ती सबैले विशुद्व भ्रष्ट्राचारको मनसायले नियम/कानुन विपरीत क्षमता विस्तार गर्न लागेको भन्दै चर्को विरोध गरिरहेका छन् ।
भट्टराई क्षमता विस्तारमा उत्सुक देखिनेबित्तिकै पूर्व अर्थमन्त्री र ऊर्जा मन्त्रीहरुले ‘त्यस्तो निर्णय मुलुकको हितमा नहुने’ भन्दै सचेत गराएका थिए । मुलुकका अर्थ र ऊर्जामन्त्री रहिसकेका नेताहरुको सुझावलाई सकारात्मक रुपमा लिएको बताए पनि माघको त्यही साता भट्टराईले मन्त्रिपरिषद्बाट क्षमता विस्तारको नीतिगत निर्णय गरेका थिए ।
 
तस्बिर क्याप्सन: त्रिशुली थ्री-ए को आयोजनास्थल, नुवाकोटको मनकामना गाविस । तस्बिर : अमित ढकाल
...

तीव्र विरोध र विवादबीच नेपाल विद्युत प्राधिकरण व्यवस्थापनले त्रिशुली थ्री–ए जलविद्युत आयोजनाको क्षमता ६० मेगावाटबाट ९० मेगावाट पुर्‍याउने निर्णय गर्न लागेको छ ।

प्राधिकरण सञ्चालक समिति बैठकमा आइतबार त्रिशुली थ्री–एको क्षमता विस्तार गर्न ‘माइन्युट’ भइसकेको तर केही सदस्यहरूको आनाकानीका कारण हस्ताक्षर रोकिएको प्राधिकरण स्रोतले सेतोपाटीलाई बतायो ।

यदि त्रिशुली थ्री–एको क्षमता विस्तार गर्ने चिनियाँ ठेकेदार कम्पनी गेजुवाको उक्त प्रस्ताव अघि बढाइयो भने यो गैरकानुनी मात्र हुने छैन, नेपालको विकास इतिहासमा सम्भवतः सबैभन्दा ठूलो संस्थागत भ्रष्टाचार हुनेछ । यो भ्रष्टाचार अर्बभन्दा बढी अंकमा हुनेछ ।


सेतोपाटीले आयोजनाको सम्भावित घोटाला प्रकरणका विभिन्न आयाम, पात्र तथा घटना समेटेर ‘त्रिशुली थ्री–ए घोटाला’ श्रृंखला सुरु गरेको छ । 

क्यान्सरबाट बच्न खानैपर्ने कुरा - onlinekhabar

विश्व स्वास्थ्य संगठनले विश्वमा हुने कुल मृत्युमध्ये १३ प्रतिशत क्यान्सरको कारण हुने तथ्य र्सार्वजनिक गरेको छ । सन् २००५ देखि २०१५ सम्ममा क्यान्सरका कारण विश्वमा ८ करोड ४० लाख मानिसको ज्यान जाने चेतावनी संगठनले यसअघिनै दिइसकेको छ । अमेरिकाको क्यान्सर सोसाइटीको एक तथ्यांक अनुसार वर्षोनी विश्वभरी १ करोड २० लाख भन्दा बढि व्यक्तिलाई क्यान्सर रोग लाग्छ र ७६ लाख व्यक्तिको यही रोगका कारण ज्यान जाने गर्छ । साथै क्यान्सर रोगकै कारण प्रतिदिन २० हजार जनाको मृत्यु हुनेर्गर्छ । क्यान्सर अर्थात अर्वुद रोग आधुनिक औषधि विज्ञानका लागि समेत चुनौतीको विषय बनेको छ । मुटु तथा नसा रोग पछि मानिसको ज्यानै लिने दोश्रो भयानक रोगको रुपमा क्यान्सर रहेको छ ।
images (1)
1रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने उपाय अपनाउनु उपयुक्त हुन्छ । क्यान्सर रोग नियन्त्रण गर्न सकिन्छ तर यसको लागि यो रोगको बारेमा पर्ुण्ा जनचेतना जाग्नु आवश्यक छ । फलफूल तथा सागपात धेरै सेवन गर्नु , मदिराजन्य तथा सर्ुर्तिजन्य पदार्थको सेवन नगर्नु र चिल्लो र बोसोयुक्त खानाको सेवन कम गर्नु नै क्यान्सर रोगबाट बच्ने राम्रो उपाय हो ।
एक तथ्यांक अनुसार महिलामा करीब ६० प्रतिशत र पुरुषमा करीब ४० प्रतिशत क्यान्सरको कारक नै असन्तुलित भोजन रहेको छ । आमासय , सानो आन्द्रा , मुख , कलेजो , अण्डासय , पित्तथैली लगायतको क्यान्सर भोजन सँग संवन्धित रहेका हुन्छन् ।
 हरियो सागपात , पहेलो फलफूल तथा गेडागुडी र फाइवर जन्य खाद्य पदार्थको सेवन गर्ने र नियमित कसरत गर्ने व्यक्तिलाई क्यान्सरको जोखिम कम रहेको वैज्ञानिक प्रमाणहरुले देखाएका छन् । फाइबर जन्य भोजनले स्तन , र आन्द्राको क्यान्सरबाट बचाउछ । खानामा भएको फाइबरले कार्सिनोजेनलाई निष्त्रिmय पार्ने , तथा बोसो र विषको मात्रालाई घटाउने गर्छ ।
भिटामिन ए अर्थात क्यारोटिन भएका हरियो सागपात र पहेलो फलफूलले क्यान्सरको जोखिम कम गर्न सहयोग गर्छन् । बन्दामा पनि क्यान्सर प्रतिरोधी तत्व रहेको हुन्छ जसले स्तन क्यान्सर रोक्न सहयोग गर्छ । भटमासमा भएको प्रोटियज नामको तत्वले फोक्सो , मुख , आन्द्रा तथा कलजोको क्यान्सरको वृद्धी रोक्न सहयोग गर्छ । कांक्रोमा रहेको एक तत्वले पनि स्तन तथा , गर्भासयको क्यान्सर लाग्न बाट बचाउँछ । लसुनमा भएको सल्फर तत्वले पनि कार्सिनोजेन लाई निष्ििक्रय पार्ने र क्यान्सर गराउने इन्जाइमहरुको कार्य रोक्ने गर्छ । सुन्तला , कागती लगायतका अमिला फलफूलहरुमा समेत करीब ८० भन्दा बढी क्यान्सर प्रतिरोधी तत्व विद्यमान रहेको हुन्छ । जसको सेवनबाट पेटको क्यान्सर बाट बच्न सकिन्छ । मुला , सलगम , ब्रोकाउली , सखरखण्ड , आप , केरा , मेवा , फर्सर्ीी केराउ लगायतका तरकारी तथा फलफुलमा भएको बिटा क्यारोटिन नामक पदार्थले क्यान्सर गराउने विभिन्न तत्व हरुलाई निष्त्रिmय पार्न महत्वपर्ूण्ा भूमिका खेलिरहेका हुन्छन् । कागती , सुन्तला , अंगुर , काउली , गोलभेडा तथा आलुमा पनि क्यान्सर प्रतिरोधी गुण रहेको हुन्छ ।
भिटामिन इ भएका खानेकुराको सेवनले पेट , प्यांक्रियाज तथा मुत्रनलीको क्यान्सर हुनबाट बचाउछ । भटमास र अन्य तैलिय गेडागुडीको सेवनले कलेजोको क्यान्सरको जोखिम कम गर्छ । विभिन्न अध्ययन हरुले पनि के देखाएका छन् भने प्राकृतिक र साकाहारी भोजन गर्नेहरु मांसाहारी तथा आधुनिक भोजन गर्नेहरु भन्दा कम क्यान्सरको जोखिममा रहेका हुन्छन् । अर्थात समग्रमा भन्नेहो भने क्यान्सरबाट बच्नको लागि खानपानमा विशेष ध्यान दिनैपर्ने हुन्छ ।

छोरा पाएर ट्वाइलेटमा फ्याँकेकी आमाले भनिन् : चिप्लिएर खस्यो - onlinekhabar

चीनमा ट्वाइलेटको पाइपभित्रबाट नवजात शिशुलाई जिउँदै उद्दार गरिएको घटना अहिले निकै चर्चामा छ । त्यो बच्चा कसले जन्माएर ट्वाइलेटमा फ्याँक्यो होला भन्ने कौतुहलता सबैमा रह▒े र त्यस्ती निष्ठूरी आमालाई धेरैले सरापे पनि । अन्ततः बच्चा जन्माएर ट्वाइलेटमा फ्याँक्ने महिला पक्राउ परेकी छिन् ।
समाचार अनुसार २२ वर्षी एक कुमारी आमाले छोरा जन्माएको एक दिनपछि ट्वाइलेटमा लगेर फ्याँकेकी रहेछिन् । उक्त घरमा डेरा लिएर बसेकी ती युवतीले गर्भ रहेको र बच्चा जन्माएको कुरा सबैलाई लुकाएकी रहेछिन् र बच्चा पाएको अर्को दिन ट्वाइलेटको कमोटमा फ्याँकेर फ्लस गरेर बगाएकी रहेछिन् ।
bachha
अझ अनौठो कुरा त के भने फ्लस गरेर बच्चालाई बगाइदिएपछि उनी आफैले घरबेटीलाई खबर गरेकी रहेछिन् की ट्वाइलेटमुनि बच्चा रोइरहेको छ भनेर । त्यसपछि त्यहाँ ठूलो भिड जम्मा भयो र उद्दारकर्मीलाई खबर गरेर बच्चालाई सकुसल उद्दार गरियो ।
ती आमाले बच्चाको उद्दार भएको सबै दृश्य हेरिन् अनौठो मानेर । तर उनले नै बच्चा पाएर फ्याँकेको कुराको सुइँको कसैले पाउन सकेनन् । अन्ततः प्रहरीले त्यो घरका सबै कोठाको तलासी गर्दा ती महिलाको कोठाभित्र रगतले लत्पतिएका कपडा फेला परेपछि बल्ल उनको करतूतको पर्दाफास भयो ।
प्रहरीले ती महिलालाई पक्राउ गरेपछि उनले आफ्नो अपराध कबूल गर्दै आफुसँग गर्भपतनका लागि पैसा नभएकाले गोप्य रुपमा बाथरुमभित्रै बच्चा पाएको बताइन् । तर आफुले बच्चालाई कमोटमा राखेर फ्लस नगरेको दाबी गर्दै उनले बच्चा चिप्लिएर कमोटभित्र परेर खसेको र आफुले तत्कालै घरबेटीलाई खबर गरेको उनको भनाइ छ । घरबेटीले भने बाथरुमभित्र रगत लगायतका कुनै चिजवस्तु नरहेकाले उनले बाथरुममा बच्चा पाएको भनेर पत्याउन नसकिने भन्दै कोठामै बच्चा पाएर ट्वाइलेटमा लगेर फ्याँकेको दाबी गरेका छन् ।
२२ वर्षी ती कुमारी आमाविरुद्ध ज्यान मार्ने उद्योगको अभियोगमा मुद्दा चल्ने बताइएको छ । उनले त्यो बच्चाको बाउ को हो भन्ने कुरा भने खुलाएकी छैनिन् । निकै सप्रेको त्यो बच्चाको अहिले अस्पतालमा उपचार भैरहेको छ ।

भारतको चाहनाले गणतन्त्र आएको होइन- बाबुराम भट्टराई - onlinekhabar

कपिलवस्तुदेखिकै कुरा गर्ने हो भने नेपालमा २५ सय वर्षदेखि राजतन्त्र थियो । एकीकृत केन्द्रीकृत सत्ता बनेदेखिको कुरा गर्ने हो भने करिब अढाइ सय वर्षदेखिको राजतन्त्रको अन्त्य गरेर गणतन्त्रको स्थापना नगरिकन नेपालमा वास्तविक लोकतन्त्र संस्थागत हुन सक्दैनथ्यो । यही कुरालाई मध्यनजर गरेर हामीले जनयुद्धको पूर्वसन्थ्यामा प्रस्तुत गरेको ४० सूत्रीय मागमा पनि गणतन्त्रात्मक संविधान बनाउने मुद्दालाई प्रमुख रुपमा उठायौं । जनयुद्ध शुरु भएपछि मूख्यरुपमा ०५७ सालपछि हामीले गणतन्त्रलाई कार्यनीतिक नाराका रुपमा अगाडि सार्यौं ।
bahuram-1
प्रारम्भिक प्रयास
विसं. ०५८ साल जेठ १९ गते जुन दरबार हत्याकाण्ड भयो, त्यसपछि नेपालमा वस्तुतः गणतन्त्र आउने आधार तयार भयो भन्ने निश्कर्षमा हामी पुग्यौं । यसैलाई केन्द्रमा राखेर मैले लेखेको एउटा लेख कान्तिपुरमा निकै चर्चित पनि भयो । त्यसपछि हाम्रो पार्टीले नेपालमा वस्तुतः गणतन्त्रको उदय भैसक्यो, यसलाई संस्थागत गर्नुपर्छ भन्ने नारा अगाडि सार्यो । त्यसपछि गणतन्त्रलाई केन्द्रमा राखेर अरुपक्षसँग पनि छलफल गर्नुपर्छ भन्ने हामीले नीति तय गर्यौं र यही सिलसिलामा हामीले चर्चित सिलिगुडी वार्ता आयोजना गर्यौं । पहिलो वार्ताकालमा यही विषयलाई केन्द्रमा राखेर युद्धविराम गरी देउवा सरकारसँग वार्ता गर्न आयौं । तर, त्यतिबेला कांग्रेस र एमालेले गणतन्त्रमा जान मानेनन् र ०५८ सालको पहिलो वार्ता भंग हुन पुग्यो । त्यसपछि सेना परिचालन भएपछि देश अर्को ठाउँमा पुग्यो ।
ज्ञानेन्द्रलाई फकाउने असफल प्रयत्न
ज्ञानेन्द्रले ०५९ असोज १८ मा शेरबहादुर देउवालाई बर्खास्त गरेर शासन आफ्नो हातमा लिए । त्यसपछि पुरानो सत्ता राजा ज्ञानेन्द्रंका हातमा केन्दि्रत हुन पुग्यो । यो अवस्थामा हामीले अर्को एउटा प्रयत्न के गर्यौं भने नेपालको भूराजनीतिक अवस्तामा सकेसम्म संसदवादी शक्ति र राजा स्वयंलाई सहमतिमा ल्याएर गणतन्त्रमा जान पाए राष्टियताको संरक्षण एवं राष्ट्रिय एकताको प्रवर्द्धन हुन्थ्यो र कम क्षतिसहित उपलब्धी हासिल हुन सक्थ्यो भन्ने सोच बनायौं । किन एकचोटि सिधै राजासँग कुराकानी गरेर राजालाई नै स्वेच्छिक ढंगले गद्दी त्याग र गणतन्त्रमा आऊ, हामी तिमीलाई नै पहिलो राष्ट्रपति बनाउँछौं भन्ने प्रस्ताव किन नलाने भन्ने हामीले ठान्यौं । यसो गर्न सकियो भने कम क्षतिमा बाह्य हस्तक्षेपविना गणतन्त्र आउन सक्छ र नयाँ ढंगले राष्ट्रिय एकता कायम हुन सक्छ भन्ने सोच पनि हामीमा पलायो ।baburam-bhattarai-2
मलाई एकदमै याद छ अध्यक्ष कामरेड प्रचण्ड र मैले पटक-पटक ०५९ सालद मंसिर/पुसमा लामो छलफल गरेर हामी एकचोटि प्रयत्न गरौं भन्ने निश्कर्षमा पुग्यौं । ०५९ साल माघमा युद्धाविराम गरेर राजासँग नै वार्ता गर्ने भनेर मेरै नेतृत्वमा दोस्रो वार्ताटोली गठन गरेर हामी नेपालमा आयौं । इतिहासमा कतिपय राजाहरुले बुझेर बेलैमा गद्दी छाडेको कयौं उदाहरणहरु पनि छन् । पछिल्लो उदाहरण क्याम्बोडियाका राजा सिंहानुकै थिए । त्यसैले नेपालका राजा पनि यदि सिंहानुक बन्न तयार हुन्छन् भने हामीले त्यो प्रयत्न गर्नुपर्छ भनेर हामी आयौं । यही म्यान्डेटसहित मेरो नेतृत्वमा वार्ता टोली आयो । तर, दुभाग्य के भैदियो भने त्यतिबेलाका ज्ञानेन्द्रका सल्लाहकारहरुले हाम्रो सन्देशलाई शायद ठीक ढंगले ज्ञानेन्द्रमा सम्प्रेषण गरेनन् । अथवा ज्ञानेन्द्रलाई यो कुरा मन परेन । उनले वार्ताटोलीको प्रमुख मसँग वार्ता गर्नै इन्कार गरे । वार्ता टोलीको प्रमुखसँगै वार्ता गर्न इन्कार गरेपछि यो कुरा सीधै उनीसँग राख्ने अवसरै हामीलाई प्राप्त भएन । त्यसपछि हामी के निश्कर्षमा पुग्यौं भने ज्ञानेन्द्र वार्ताबाट गद्दी छाडेर गणतन्त्रमा जान तयार छैनन् र अब क्याम्बोडियाको तरिकाले नेपालमा गणतन्त्र ल्याउने सम्भावना रहेन । त्यसपछि हामी फेरि अर्को युद्धको तयारीमा लाग्यौं ।
ज्ञानेन्द्रले नमानेपछि अर्को चक्कर
हामीले राजा र संसदवादीहरुको सहमतिले नै गणतन्त्र ल्याउने सोचेका थियौं । तर, त्यो असफल भयो र त्यसपछि अर्को चक्कर शुरु भयो । त्यसपछि हामीले संसदवादी शक्तिहरुसँग मिलेर, अन्तर्राष्ट्रिय शक्तिहरुलाई पनि सन्तुलनमा ल्याएर गणतन्त्र ल्याउनुपर्छ भन्ने नयाँ नीतिपटि्ट हामी लाग्यौं । त्यही साल माघ १९ मा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिइसकेपछि संसदवादी दलहरुसँग उनको दूरी झन् बढ्यो । त्यसपछि हाम्रो पार्टी संसदवादी शक्तिहरुलाई साथमा लिएर लोकतान्त्रिक गणतन्त्रको कार्यनीतिमा अघि बढ्नुपर्छ भन्ने निश्कर्षमा पुग्यो । ०६२ सालको असोजमा चुनवाङ बैठकले औपचारिक ढंगले यो नीति पारित गर्यो । त्यसपछि हामीले संसदवादी शक्तिहरुसँग घनिभूत छलफल शुरु गर्यौं । त्यसभन्दा अघि ०६२ जेठमा नै हामीले गिरिजाप्रसाद कोइरालालाई भित्री रुपमा भेटेर हामी बहुदलीय प्रतिश्पर्धामा आउँछौं, तपाई गणतन्त्रमा आउनोस् भन्ने कुरा खुलस्त ढंगले राख्यौं । कोइरालाको थोरै बोल्ने बानी, उहाँले सीधै हुन्छ त भन्नुभएन, तर उहाँले मलाई अहिल्यै भन्न नलगाउनोस् भन्दै त्यतातिर जाने संकेत चाँहि गर्नुभयो । त्यसपछि कांग्रेसले आफ्नो विधानबाट संवैधानिक राजतन्त्र हटायो । त्यसको वरिपरि एमाले पनि त्यस्तै निर्णय गर्यो । त्यसपछि दिल्लीमा मंसिर ३ गते बाह्रबुँदे सहमति बन्यो र ७ गते काठमाडौंबाट घोषणा भयो । यसरी राजाबाटै गणतन्त्र ल्याउने हाम्रो प्रयत्न असफल भैसकेपछि यो नयाँ कोर्सबाट ०६५ साल जेठ १५ गते गणतन्त्र घोषणा हुन पुगेको हो ।
भारतले सहयोग गरेर गणतन्त्र आएको होइन
गणतन्त्रमा ल्याउनमा भारतको भूमिका के रह्यो भन्ने कतिपय मान्छेले प्रश्न गर्छन् । भारतको त संवैधानिक राजतन्त्र र संसदीय व्यवस्था भन्ने दुई खम्बे नीति नै थियो । र, माओवादी नेपालको मुख्य समस्या हो भन्ने भारतको बुझाइ थियो । त्यसैले राजा र संसदवादी दुईवटा शक्तिलाई साथमा लिएर माओवादीलाई निषेध गर्नुपर्छ भन्ने भारतीय सरकारको घोषित नीति नै थियो । यो स्थितिमा भारले हामीलाई सहयोग गर्ने र समर्थन गर्ने भन्ने कल्पनै गर्न सकिँदैन ।
तर, जब हामी संसदवादी शक्तिसँग मिलेर गणतन्त्रमा जानुपर्छ भन्ने स्थितिमा पुग्यौं, त्यो अवस्थामा भारत र संसदवादी शक्तिको निकट सम्बन्ध हुनुको नाताले भारतलाई पनि मुख्यतः कांग्रेसमार्फ्त सकारात्मक सन्देश पुगोस् भन्ने सोच थियो । हाम्रो विश्वास के थियो भने नेपाली कांग्रेससँग कुरा गरिसकेपछि अन्तरराष्ट्रिय शक्ति केन्द्रहरुमा पनि तत् तत् ठाउँमा यी कुराहरु पुग्छन् । हामीसँग त कसैको सम्बन्ध र सम्पर्क थिएन, तर बाह्रबुँदे समझदारीपछि नेपाली कांग्रेसमार्फत् भारत र पश्चिमाहरुसँग एकप्रकारको समझदारी बनेको हुनुपर्छ भन्ने हाम्रो अनुमान थियो । पछि भारतले पनि घोषितरुपमा आफ्नो दुईखम्बे नीतिलाई परिवर्तन गरेको संकेत बाहिर ल्यायो । त्यसैले भारत नेपाली जनमतलाई मानेर अगाडि बढेको हो, भारतको चाहनाले नेपालमा गणतन्त्र आएको होइन । भारत बाध्य भएर नेपालको गणतन्त्रलाई स्वीकार्ने अवस्थामा पुगेको हो ।
गणतन्त्र : ऐतिहासिक द्वार
हामीले यसरी बाह्रबुँदे समझदारी र संविधानसभा हुँदै ०६५ जेठ १५ गते नेपालमा गणतन्त्रको स्थापना गर्यौं । यो नेपालको इतिहासको एउटा कोसेढुंगा हो । यसबाट अग्रमनको एउटा ठूलो द्वार खुलेको छ । व्यक्तिगतरुपमा म पहिले कम्युानिष्ट भएर गणतन्त्रवादी भएको होइन, पहिले गणतन्त्रवादी भएर कम्युनिष्ट भएको हो । त्यसैले मैले यो दिनलाई आफ्नो जीवनको सबैभन्दा धेरै खुशीको क्षण ठानेको छु । किनभने पछौटे सामन्ती उत्पीडनमा जकडेर राख्ने संस्थालाई अन्त्य गरिसकेपछि नेपाली समाजको समग्र राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै तरिकाले लोकतान्त्रिक मार्ग प्रशस्त बनेको छ ।
नेपालमा राजतन्त्र र्फकने आधार छैन
राजतन्त्र पुनस्थापना हुने सम्भापना म देख्दै देख्दिँन । यो त उल्टो गंगा बगाउने भनेजस्तो कुरा हुन्छ । इतिहासको प्रवाहलाई पछाडि फर्काएर देश र जनताको हित हुँदैन । २५ सय वर्षको राजतन्त्र अन्त्य हुँदा त्यो शक्तिले पुनस्थापनाको इच्छा गर्नु स्वाभाविक हो । तर उनीहरुको शक्ति यथि क्षीण र सानो छ कि यसले नेपालमा राजतन्त्रको पुनस्थापना गर्न सक्छ जस्तो मलाई लाग्दैन । फेरि नेपाली जनताको चेतना यति माथि उठेको छ कि यसले पनि पुनःस्थापना सम्भव छैन ।
संघीयता, जातीय, क्षेत्रीय, लैङ्गकि उत्पीडनको जुन मुद्दा छ, यसका निम्ति पनि राजतन्त्रको उन्मूलन जरुरी छ । सामन्तको नाइके राजतन्त्रले जुन एकात्मताको पक्षपोषण गर्यो, त्यो संघीयताको विरोधी थियो । संघीयता चाहनेले राजतन्त्र स्वीकार्न सक्दैनन् । महिला मुक्ति चाहनेले पनि पुरुष प्रधान राजतन्त्र स्वीकार्न सक्दैनन् । हिन्दू वर्ण व्यवस्थाको पक्षपोषण गर्ने राजतन्त्रलाई दलितहरुले स्वीकार्न सक्दैनन् । मधेस र कर्णालीका उत्पीडितले पनि काठमाडौं केन्दि्रत राजतन्त्रलाई स्वीकार्न सक्दैनन् । त्यसैले नेपालमा राजतन्त्र पुनस्थापनाको वस्तुगत आधार छैन ।
(पूर्वप्रधानमन्त्री भट्टराईसँग अनलाइनखबरका लागि धर्मराज भुसाल र अरुण बरालले गरेको कुराकानीमा आधारित)

Wednesday, May 29, 2013

पहिलो दिननै ‘ओभर रेस्पोन्स’, पार्कमा ३५ हजार, बाटोमा जाम, तस्वीरमा नेपाली वाटर किंगडम - bizmandu



दुई वर्षदेखि निर्माणाधिन यो पार्कको बुधवार उद्घाटन गरियो, उद्घाटनका दिन यो पार्कमा सर्वसाधारणलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको थियो । सञ्चालक भरत गिरीले बुधवार मात्रै पार्कमा ३५ हजार बढीले मनोरञ्जन लिएको जानकारी दिए । उद्घाटनका दिन निशुल्क प्रवेशको व्यवस्था गरेका थियौं, भीडलाई साढे दुई घण्टाभन्दा बढी थेग्न नसकेपछि बुधवारका लागि फनपार्क बन्द गर्यौं, उनले भने ।


फनपार्क खुल्न थालेपछि काठमाडौं–भक्तपुरको अरनिको हाइवोमा जाम लागेको थियो, पहिलो दिननै ‘ओभर रेस्पोन्स’ पायौं, भित्र पार्कमा हजारौंको भीड लाग्यो, बाहिर पार्किङ्ग भरिभराउ थियो, सडकमा समेत जाम लागेपछि बुधवारका लागि पार्क बन्द गरेका हौं, गिरीले बिजमाण्डूसँग भने ।


बिहिवारदेखि भने पार्क प्रवेशमा शुल्क लाग्नेछ, गिरीका अनुसार पाँच हजार क्षमताको यो मनोरञ्जन उद्यानमा प्रवेश गर्न जोडीलाई हजार रुपैयाँ, एकल व्याक्तिलाई छ सय रुपैयाँ र बच्चालाई चार सय रुपैयाँ लाग्नेछ ।

कोटेश्वरबाट १२ किलोमिटर, कोटेश्वर–सूर्यविनायक चार लेन सडकको अन्तिम विन्दु सूर्यविनायक चोकबाट चार किलोमिटर दूरीमा काठमाडौं फन भ्यालीमा पुग्न सकिन्छ । फन भ्यालीमा वाटर पार्क, अम्युजमेन्ट पार्क, लेजी रिभर, गो कार्टिङ र लार्जेस्ट वेभ पुलमा मनोरञ्जल लिन सकिने व्यवस्था छ ।


पार्कमा १२ वटा ‘गेमिङ जोन’  र तीनवटा ‘वाटर जोन’ छन्, पार्कमा इलेक्ट्रिक कार, रोटेपिङ्ग शैलीको हेलिकोप्टर, ४० फिट उचाईको ह्विल चेयर ट्रेन, वेभ पुल, ४० फिट उचाईबाट १५० देखि २०० फिटसम्म स्लाइडिङ गर्न मिल्ने पुल छन् ।


मनोरञ्जन पार्कमा थ्रीडि सिनेमा हल र फुड कोर्टको समेत व्यवस्था छ । फुड कोर्टमा मदिरा र चुरोटजन्य पदार्थ उपलब्ध नहुने पनि गिरीले बताए । यो शुद्ध मनोरञ्जन पार्क हो, यहाँ वियरसमेत पाइने छैन्, उनले जानकारी दिए ।


सञ्चालक गिरीले मनोरञ्जन पार्कमा सुरक्षासम्वन्धी सम्पूर्ण पूर्वतयारी भएको जानकारी दिए, उनले भने पार्कमा गुणस्तरीय उपकरणहरु राखिएको छ, जोखिमस्थानमा लाइफगार्ड राखेका छौं ।


मनोरञ्जन पार्कको आधा जग्गा सञ्चालकहरुको भएको र बाँकी हिस्सा लिजमा लिएको जानकारी पनि सञ्चालक गिरीले दिए, अघिपट्टिको भाग हाम्रो आफ्नै हो, पछिको भाग १६ वर्षका लागि लिजमा लिएका छौं । उनले देशको राजनीतिक अवस्था सुध्रिए, पर्यटन उद्योगमा सुधार भए र नेपालीको जीवनशैलीमा स्तरोन्नती भए आगामी छदेखि आठ वर्ष भित्र ‘ब्रेक इभन’मा जान सकिने जानकारी दिए ।


दुई वर्षदेखि निर्माण भैरहेको यो परियोजना छ महिना अघि नै पूरा हुनुपर्ने भए पनि स्थानीय वासिन्दाको अवरोधका कारण समस्या सिर्जना भएको थियो । स्थानीयवासिन्दालाई यो नाइट क्लव, डिस्को जस्तो लागेको थियो, तर यो मदिरा र सूर्तिजन्य वस्तु पनि नपाईने शुद्ध मनोरञ्जनात्मक पार्क हो भन्ने बुझाएपछि अहिले समस्या छैन्, सञ्चालक गिरीले जानकारी दिए ।


यो पार्कमा ४० जनाले प्रत्यक्ष रोजगारी पाएको जानकारी पनि सञ्चालक गिरीले दिए, त्यसबाहेक सुरक्षा र सफाइको जिम्मेवारी ‘आउटसोर्स’ गरेका छौं, उनले भने । पार्कमा ‘स्किल म्यानपावर’बाहेक अरु सबै स्थानीयले रोजगारी प्राप्त गरेको पनि उनले बताए ।


सञ्चालक भरत गिरीले यो पार्कलाई नेपाली ‘वाटर किंगडम’का रुपमा व्याख्या गरे, यो विदेशकै ब्राण्डिङ्ग ‘वाटर किंगडम’ होइन् तर यो नेपाली ‘वाटर किंगडम’ हो, त्यहाँ हुने अधिकांश सेवा र सुविधा हामीले यहाँ पनि उपलब्ध गराएका छौं, भविष्यमा थप सेवा सुविधा थपिने जानकारी पनि उनले दिए ।


यो पार्कका लागि आवश्यक पर्ने सबै सामाग्री भारतको हरियाणाबाट आयात गरिएको हो, युरोप पुग्दा, अमेरिका जाँदा, चीन घुम्दा यस्ता पार्क देखेको थिएँ, त्यस्तै पार्क नेपालमा किन नखोल्ने भनेर यो पार्क खोलेका हौं, उनले भने । काठमाडौंमा भएको मध्यमवर्गीय मान्छेले यसलाई रुचाए, हामी सफल पनि हुनेछौं, पहिलो दिनको प्रतिक्रियाले हामीलाई उत्साहित गराएको छ, सञ्चालक गिरीले जानकारी दिए ।










खै-खै म पनि हेर्छुः फन भ्यालीमा नजर लगाउँदै स्थानीय किसान महिला

Tuesday, May 28, 2013

नेपालको परिवर्तन हाम्रा कारण भएको हैन : भारतीय राजदूत जयन्त प्रसाद - nagariknews

नेपालको परिवर्तन हाम्रा कारण भएको हैन : भारतीय राजदूत जयन्त प्रसाद
नेपालका लागि भारतीय राजदूत जयन्त प्रसाद आगामी अगस्टको अन्तिम साता आफ्नो कार्यकाल पूरा गरेर फर्कदै हुनुहुन्छ। कूटनीतिक जगतमा मृदु र शिष्ट व्यवहार, अध्ययनशील स्वभाव र समस्यालाई बुझने व्यक्तिका रूपमा परिचित जयन्तप्रसाद सन् १९९१ मा 'लाइसेन्स पर्मिट राज' तोडेर निजीकरणको नीति अपनाएपछि भारत विकासको नयाँ युगमा प्रवेश गरेको निर्धक्क बताउनुहुन्छ। नेपालको संक्रमणकालीन राजनीतिको चुरो बुझ्नुभएका जयन्त प्रसादसँग अर्को द्वन्द्वग्रस्त देश अफगानिस्तानको अनुभव पनि छ। नेपालको वर्तमान संक्रमणकाललाई 'अन्तिम' बताउने जयन्त प्रसाद चुनावपछि नेपालमा सुदृढ राजनीति प्रारम्भ हुने र अहिलेको कचमच र गतिरोध समाप्त हुनेमा आशावादी हुनुहुन्छ। जयन्त प्रसादसँग किशोर नेपालको अन्तर्वार्ता –
नेपाललाई ईश्वरले जुन प्रकारको प्राकृतिक सम्पत्ति दिएका छन्, त्यो दक्षिण एसियामा त के पूरै एसियामा पनि कुनै देशसँग छैन। देवानन्द (अभिनेता) भन्ने गर्थे– 'नेपाल भनेको ईश्वरको वरदान पाएको मुलुक हो।' नेपालले प्रगति गर्न थाल्यो भने धेरै कम समयमा दक्षिण एसिया र समग्र एसियाकै धनी देश बन्न सक्छ।
महामहिम, आफ्नो कार्यकाल पूरा गरेर तपाईँ छिटै फर्कँदै हुनुहुन्छ। तपाईँ छोटो समयका लागिमात्रै काठमाडौँ बस्नुभयो नि?

समय यति चाँडै बित्यो कि मलाई पनि त्यस्तै अनुभूति भइरहेको छ तर मलाई सुरुदेखि थाहा थियो मेरो यहाँ काम गर्ने अवधि दुई वर्षका लागि हो भनेर। म भारतीय विदेश सेवाको एउटा अवकाश प्राप्त कर्मचारी हुँ। साधारणतया हाम्रो 'पोस्टिङ' तीन वर्षका लागि हुन्छ तर जो अवकाश प्राप्त हुन्छन् वा राजनीतिक नियुक्ति पाउँछन्, उनीहरुको कार्यकाल भने दुई वर्षको मात्र हुन्छ।

तपाईँलाई लाग्दैन समय छोटो भयो?

दुई वर्षको अवधिलाई छोटो भनिहाल्न त मिल्दैन तर यहाँ बस्दा समय बितेको पत्तै भएन।

तपाईँ काठमाडौँ आएपछि नेपाललाई कस्तो पाउनुभयो? तपाईँका पिता पनि नेपाल बस्नुभएको थियो। त्यस हिसावले नेपालसँग तपाईँको पुरानो भावनात्मक नाता पनि त छ।

नेपालसँग हाम्रो परिवारमात्र जोडिएको छैन। हरेक नेपाली र हरेक भारतीय एक/अर्कोसँग जोडिएका छन्। मलाई त त्यस्तै लाग्छ। किनकि सांस्कृतिक, सामाजिक, आर्थिक र प्राकृतिकरूपले एक/अर्का देशको नागरिकसँग हाम्रो परस्परमा यस्तो सम्बन्ध छ, जुन अरु कुनै पनि देशसँग छैन। हामी यसलाई बहुआयामिक सम्बन्ध भनेर परिभाषित गर्न सक्छौँ। र, यो दुई देशबीचका नागरिकहरुको परस्परको सम्बन्धमा नै आधारित छ। नेपाल हिमालयको दक्षिणमा छ। हाम्रा केही नेता भन्छन्– 'हिमालय हाम्रा पिता हुन् र कन्याकुमारी हाम्री आमा।' त्यसैले पनि हामी एक/अर्काबिना अपुरो हुन्छौँ। एउटा त हाम्रो सांस्कृतिक समानता छ। र, अर्को भनेको हामी एउटै सभ्यताबाट आएका हौँ। त्यसैले म नेपालसँग मेरो मात्र भावनात्मक नाता छ भन्दिन। मेरा पिताजी सन् १९९१ देखि १९९५ सम्म यहाँको राजदूत हुनुहुन्थ्यो। र, यो कारणले केही हदसम्म अरुको भन्दा मेरो भावनात्मक नाता अलिक प्रगाढ छ, नेपालसँग। त्यसो भए पनि मलाई नेपालको बारेमा उति साह्रो ज्ञान थिएन। त्यति नै थियो, जुन हरेक जागरुक भारतीयमा हुन्छ।

तपाईँको पिताजीको यहाँका दिग्गज राजनीतिज्ञहरुसँग प्रगाढ सम्बन्ध थियो, हैन?

मेरो पनि यहाँका राजनेताहरुसँगको सम्बन्ध राम्रो छ। हामीबीच आत्मीयता छ र निसंकोच कुरा गर्न सक्ने वातावरण छ। हामीले कुरा गर्दा मलाई लाग्दैन कि हामी अन्जान मान्छे हौँ।

तपाईँ दुई वर्ष नेपाल बस्नुभयो। एउटा जागरुक भारतीय नागरिककै हिसाबमा भनिदिनूस्, यहाँको समस्याचाहिँ के/के रहेछन् त?

नेपालमा बसेर हेर्दा त यहाँ केही भएकै छैन जस्तो देखिन्छ। तर म बाहिरको मान्छेले हेर्दा नेपालमा छोटो समयमा धेरै परिवर्तन भएका छन्। मान्छेले आफ्ना दैनिक काम र उल्झनले गर्दामात्र परिवर्तन बिर्सिएका हुन्। नेपालले एउटामात्र होइन, थुप्रै संक्रमणकालीन अवस्था पार गरेको छ। अहिले पनि नेपाल अन्तिम संक्रमणकालबाट गुजि्ररहेको छ। एउटा संक्रमण राजतन्त्रबाट गणतन्त्र ल्याउँदाको बखतमा थियो। अर्को थियो, जनयुद्धबाट शान्ति प्रक्रियामा आउँदा। अर्को थियो, माओवादीका लडाकुहरुको सामाजिकीकरणका बेला। अर्को भनेको लडाकुहरुको नेपाली सेनामा प्रवेशका बेला। अझ अर्को संविधान सभाको बैठक पहिलो पटक बसेको दिन, जब सबैले सिद्धान्ततः नेपाल एउटा 'धर्म निरपेक्ष, संघीय, गणतान्त्रिक मुलुक' हुनेछ भनेर स्वीकार गरे। अहिले नेपाल अन्तिम संक्रमणकालको अवस्थामा छ। तपाईं नेपालीहरु नयाँ संविधान निर्माणद्वारा नयाँ उन्नत नेपालको परिकल्पना गरिरहनुभएको छ।

भारतले सन् १९४९ मा आफ्नो पहिलो संविधान तयार गरेको थियो, जुन जनवरी १९५० मा लागु भयो। हामीकहाँ संविधान बन्नुभन्दा अगावै पनि संघीय राज्य थिए। त्यसैले केन्द्र र राज्यबीच शक्तिको बाँडफाँट हाम्रा लागि नयाँ कुरा थिएन। तर तपाईँहरुका लागि संघीयता भनेको पूर्णरूपमा नयाँ कुुरा हो। त्यसैले संविधान बन्न केही समय पनि लागिरहेको छ र समस्या पनि भइरहेको छ। तर यो समस्या सुल्झन्छ किनभने सबै नेता यो समस्याको समाधान प्रजातान्त्रिक तरिकाबाट नै हुनुपर्छ भनेर कटिबद्ध हुनुहुन्छ। प्रजातन्त्रमा चुनाव हुनु अनिवार्य छ।

तर यहाँ अहिले जे/जति भइरहेको छ, त्यो सबै अप्राकृतिक देखिन्छ। हाम्रा नेताहरुले चार वर्षमा पनि संविधान दिन सकेनन्। अहिले सर्वाेच्चका प्रधान न्यायाधीश सरकार प्रमुख हुनुहुन्छ। यो राजनीतिकरूपमा निकै बेथितिपूर्ण अवस्था हो भन्ने लाग्दैन?

अत्यन्तै समस्याग्रत स्थितिमा प्रधान न्यायाधीश सरकार प्रमुख हुन सक्नुहुन्छ। यो प्रयोग प्रजातन्त्रको मातृभूमि मानिने देश ग्रीसमा पनि भएको छ। र, हाम्रो छिमेकी राष्ट्र बंगलादेश र भुटानमा पनि यो विधि अपनाइएको थियो। कसैले मलाई भनेको थियो– विश्वका ५३ वटा देशमा निष्पक्ष चुनावी सरकार बनाएर चुनाव भएका छन्। सबैभन्दा उपयुक्त त संविधान सभा भंग हुँदा रहेको सरकारले नै चुनाव गराएको भए हुन्थ्यो। त्यो नै सर्वमान्य प्रजातान्त्रिक प्रक्रिया हो। तर सबै राजनीतिक दल त्यसमा सहमत भएनन्। त्यसैले अर्को समाधान खोजियो।

तर दलका नेताहरु यो संरचना र प्रक्रियाप्रति आफैँ पनि शंकित भएको जस्तो देखिन्छ नि?

यो समय भनेको त आफैँमा भएको वैमनस्यतालाई हटाएर चुनावमा जाने हो। प्रजातन्त्रमा चुनावको विकल्प छैन। उनीहरुको विश्वास प्रजातन्त्रमा छ भने उनीहरुले जनताबाट नयाँ म्यान्डेट लिनैपर्छ। विकल्प छैन।

महामहिम, तपाईँलाई वास्तवमै लाग्छ, नेपालका लागि यो अन्तिम संक्रमणकालीन अवस्था हो?

एकदमै लाग्छ। म विश्वस्त छु। जुन दिन नेपालले नयाँ संविधान पाउँछ, नेपाल स्थायित्व र उन्नतिको बाटोमा अगाडि बढ्छ।

तपाईँले मसँगको एउटा कुनै भेटमा भन्नुभएको थियो– 'यदि नेपाल आफ्नो देशमा भएको २५ प्रतिशत प्राकृतिक स्रोतको मात्र परिचालन गर्न सक्षम भयो भने पनि धेरै अगाडि पुग्छ।' यसलाई व्याख्या गरिदिनुहुन्छ?

यसको म के व्याख्या गरुँ? नेपाललाई ईश्वरले जुन प्रकारको प्राकृतिक सम्पत्ति दिएका छन्, त्यो दक्षिण एसियामा त के पूरै एसियामा पनि कुनै देशसँग छैन। देवानन्द (अभिनेता) भन्ने गर्थे– 'नेपाल भनेको ईश्वरको वरदान पाएको मुलुक हो।' नेपालले प्रगति गर्न थाल्यो भने धेरै कम समयमा दक्षिण एसिया र समग्र एसियाकै धनी देश बन्न सक्छ। यो त सबैले देखेकै कुरा हो– साउदी अरब, कुवेत जस्ता थुप्रै खाडी मुलुकमा तेल छ, ग्याँस छ। यो तेल र ग्याँस एक दिन सकिन्छ तर नदीको पानी त सकिँदैन। छ सयभन्दा धेरै त यहाँ नदीनाला छन्। सबै पानी बगेर बंगालको खाडीमा पुग्छ र समुन्द्रमा मिसिन्छ। यहाँ त ती नदीमा टर्बाइन लगाएमात्रै विद्युत् उत्पादन हुन्छ। नदी सदैव बगिरहन्छ। उसो त हिजोआज हिमालयका ग्लेसियर पग्लिँदैछन् भन्ने पनि चिन्ता छ। तर त्यो चिन्ता नेपालको मात्र होइन, विश्वकै हो। त्यसलाई कसरी जोगाउन सकिन्छ भनेर नेपालले भन्दा विश्वले चिन्ता लिने कुरा हो। नेपालले अहिले सम्भावित विद्युत् उत्पादनको एक प्रतिशत पनि उत्पादन गर्न सकेको छैन। त्यसलाई दश प्रतिशतसम्म मात्र पुर्यासउने हो भने पनि धेरै परिवर्तन हुन सक्छ। यहाँ ठूलो–ठूलो ड्यामसहितको आयोजना पनि चाहिँदैन। किनभने ड्यामसहितको आयोजना बनाउँदा लागत पनि बढी लाग्छ। मान्छे विस्थापित हुन्छन्। उनीहरुलाई पुनर्बासको समस्या पर्छ। त्यसमा पनि यो हिमालय भनेको अति संवेदनशील क्षेत्र हो। यहाँको पर्यावरणलाई असर पुग्नेगरी केही गरियो भने के हुन्छ? कसैले आंकलन गर्न सक्दैनन्। तर नेपालमा त एक चौथाई भन्दा बढी नदीमा बाह्रै महिना पानी हुन्छ। त्यसबाट जलविद्युत् निकाल्यो भने सजिलो हुन्छ।

तर यो सबै हुन सकिरहेको छैन। जे कुरामा पनि बाधामात्रै छ। राजनीतिज्ञहरु कहिले भारततर्फ आँैला तेर्साएर पन्छिन खोज्छन् त कहिले अन्यत्र। के लाग्छ तपाईँलाई नेपाली राजनीतिज्ञहरुले कसरी सोच्नुपर्छ?

दक्षिण एसियाका लागि यो परिस्थिति कुनै नौलो होइन। हामीलाई यो स्थितिबारे थाहा छ। हामीले पनि यो परिस्थिति भोगेका थियौँ। सन् १९९१ सम्म हाम्रो भारतमा पनि एउटा प्रणाली थियो– 'लाइसेन्स–पर्मिट राज।' त्यो यस प्रकारले चल्थ्यो कि हरेक क्षेत्रको लगानी सरकारको नियन्त्रणमा हुन्थ्यो। हामीले जब सन् ९१ पछि भारतीयहरुको व्यवसाय गर्ने उत्कृष्ट अभिलाषालाई उन्मुक्ति दियौँ, तब सबै क्षेत्रमा छिटो–छिटो परिवर्तन देखिन थाल्यो, उन्नति हुन थाल्यो। त्योभन्दा अगाडि हामी पनि हाम्रो विपन्नताका लागि बेलायतलाई दोष दिन्थ्यौँ। त्यो बेला भारतीयको औसत आयु ४१ वर्ष थियो। साक्षरता ५ प्रतिशतभन्दा कम थियो। हामीकहाँ उद्योग थिएनन्। तर, १९९१ पछि हामीकहाँ परिवर्तन आउन सुरु भयो। तर अहिले पनि हामीकहाँ विभेद छ। देशमा कुनै भागका मानिस उन्नाइसौँ शताब्दीमा बाँचेका छन् त अर्को भागका बीसौं र अझै अर्को भागका एक्काइसौँमा। अझै पनि विकास सबैतिर एकैनासले हुन सकेको छैन। नेपाल एउटा सानो देश भएकाले त्यो समस्या पर्दैन। यहाँ जब विकासको प्रक्रिया सुरु हुन्छ, चीन र भारतमा भन्दा पनि चाँडो नेपालमा परिवर्तन आउँछ। त्यो पक्का हो।

तर यहा" त्योे प्रक्रिया सुरु नै भइरहेको छैन त?

प्रक्रिया त तब सुरु हुन्छ, जब यहाँ स्थायित्व आउँछ। स्थायित्व तब आउँछ, जब संविधान बन्छ। यहाँ कति राजनीतिक उथलपुथल भएका छन्? तपार्इँ निर्वाचनलाई नै हेर्नुस्। निर्वाचन, जसलाई प्रजातन्त्रको मेरुदण्ड भनिन्छ, यो यहा" जम्मा पाँचवटा मात्रै भएका छन्। यति लामो समयमा यहाँ निकै कम निर्वाचन प्रजातान्त्रिक प्रक्रियाअन्तरगत सम्पन्न भएका छन्। जब निर्वाचन हुन्छ, सबैलाई मान्य सरकार बन्छ। एउटा पद्धति निर्माण हुन्छ। त्यस किसिमको स्थिरतापछि र नयाँ संविधान आएपछि यहाँ सकारात्मक परिवर्तन अवश्य आउँछ।

यहाँ राजनीतिका जति पनि नायक छन्, उनीहरुको विचार प्रक्रियामा त कुनै परिवर्तन आएको जस्तो देखिँदैन नि?

हैन, उहाँहरुको सोच्ने तरिकामा पनि फरक आएको छ। म तपाईँलाई उदाहरण दिन्छु, जब म सुरु–सुरुमा आएको थिएँ हामीले यहाँ राजनीतिज्ञहरु राखेर एउटा गोष्ठी आयोजना गरेका थियौँ जलविद्युतबारे। त्योे बेला उहाँहरु निकै नकारात्मक कुरा गर्दै हुनुहुन्थ्यो। तर एक डेढ वर्षपछि हामीले फेरि त्यस्तै प्रकारको अर्को गोष्ठी गर्दा उहाँहरु शान्त हुनुहुन्थ्यो। र, मानिरहनुभएको थियो कि नेपाल र भारतबीच रहेको व्यापार घाटा कम गर्ने एउटा तरिका भनेको विद्युत् हो। त्यतिबेला डा. बाबुराम भट्टराई प्रधान मन्त्री हुनुहुन्थ्यो। उहाँले भन्नुभएको थियो– 'शान्ति र विद्युत् विकासबाट मात्र सम्भव छ नयाँ नेपालको निर्माण।' रसियन क्रान्तिपछि लेनिनले पनि यस्तै कुरा गरेका थिए। उनले पनि त्यति बेला भनेका थिए– 'रसियन क्रान्तिले ल्याउने परिवर्तन भनेका शान्ति र विद्युत् हो।' केही सातापहिले उद्योग वाणिज्य महासंघको स्थापना दिवसमा भएको एक कार्यक्रममा सबै राजनीतिक दलका नेताले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् कि उनीहरुबाट जलविद्युत् विकासमा कुनै पनि प्रकारको बाधा हुँदैन।

यस्तो नाटक त उहाँहरु समयसमयमा गरिरहनुहुन्छ नि?

यो नाटक पहिले कहिल्यै भएको थिएन। फेरि यो पाली त हस्ताक्षर पनि गरेका छन्। पहिले त बोल्थेमात्रै।

तपाईँलाई विश्वास छ राजनीतिज्ञको हस्ताक्षरप्रति?

प्रतिबद्धता भनेको बिस्तारै बिस्तारै हुने कुरा हो। मनस्थिति परिवर्तन हुन त समय लागिहाल्छ नि।

यति ठूलो राजनीतिक उल्झन नेपालमा देखापरेको छ। के यो तपाईँलाई स्वाभाविक हो जस्तो लाग्छ?

जब कुनै पनि देश भीषण संक्रमणकालको स्थितिबाट अगाडि बढिरहेको हुन्छ, तब अनिश्चितता धेरै भएको जस्तो देखिन्छ। के गर्ने, के नगर्ने? कहाँ जाने, कहाँ नजाने? केही थाहा हुँदैन। त्यसैले अहिले यो समुन्द्र पार गर्न सक्दैनांै कि जस्तो लाग्नु स्वाभाविक हो। तर बाहिरबाट हेर्ने मान्छेका लागि यति समय स्वाभाविक हो।

१९५० देखि अहिलेसम्म संक्रमणकालबाटै त गुजि्ररहेको छ नि नेपाल?

हो, तपाईँले ठीक भन्नुभयो तर अब संक्रमणकालको अन्त्यनजिक आइपुगेको छ।

आर यु स्योर, योर एक्सिलेन्सी?

एस। म इतिहासको विद्यार्थी हुँ। मैले केही वर्ष इतिहास पढाएको पनि छु। त्यसैले मेरो अनुभव र पढाईले पनि त्यही भन्छ।

त्यसो भए सबै कुरा ठीक छ। नेताहरुले राजनीतिको समुन्द्रमा राम्रैसँग जहाज चलाउलान्?

मैले यात्राका लागि तयार छ भनेको हु"। समुन्द्र्रमा त कहिले आँधी आउँछ, कहिले पानी पर्छ, कहिले छालको आकार बढ्छ। समुन्द्रको यात्रा कहिल्यै एकैनासको हुँदैन। कुशल नाविक भयो भने यी सबै बाधाबाट पार गराउँदै जहाजलाई गन्तव्यसम्म पुर्यााउँछ। त्यसैले समुद्रमा हुने उथलपुथलबाट जोगाएर जहाज पार लगाउने कुरो नाविकको योग्यतामा भर पर्छ।

भारतको संविधानलाई जनतासमक्ष पेश गर्नुपूर्व त्यसको अनुमोदनका लागि संविधान सभामा पेश गरिएको थियो। त्यो बेला राष्ट्रपति हुनुहुन्थ्यो डा. राजेन्द्र प्रसाद। उहाँले निकै राम्रो वक्तव्य दिनुभएको थियो त्यतिबेला। उहाँले भन्नुभएको थियो– 'हामी त्रुटिरहित संविधान बनाउन सक्दैनांै। त्यसको कोसिस पनि गर्नुहुन्न। राम्रो संविधान बनाउने कोसिस गर्नुपर्छ। संविधान राम्रोसँग चल्छ कि नराम्रोसँग? यो चलाउनेमा भर पर्ने कुरा हो। यसमा केही त्रुटि पनि होलान्। तपाईँहरु यसलाई अनुमोदन गरिदिनूस्। यसको सुधार हुँदै जान्छ। आफूले प्रतिनिधित्व गर्ने जनतामा विश्वास राख्नूस्। यसमा चाहिने सुधार गर्दै उनीहरुले नै अगाडि बढाउने छन्।'

नेपालमा राजेन्द्र प्रसाद त हुनुहुन्न नि?

यो समयको कुरा हो। जब समय आउँछ, तब समयअनुसारको उपयुक्त नेता पनि पैदा हुन्छन्।

महामहिम, तपाईँले अघि डा. बाबुराम भट्टराईको कथन र लेनिनको कथन दाँज्नुभयो। आशय के थियो तपार्इंको?

इतिहासको कुनै पनि घटनासँग आजको घटना तुलना गर्न सकिँदैन किनभने त्यो बेलाको र अहिलेको परिस्थिति नै भिन्न भइसकेको छ। हामीसँग यहाँ थुप्रैले नाना प्रकारका प्रश्न सोध्छन्। तपाईँले शायद त्यसरी सोच्नुहुन्न कि यहा" सबै कुराको निर्धारण हामीले नै गर्ने गरेका छौँ भनेर। हाम्रो यहाँको आन्तरिक मामिलामा कुनै पनि संलग्नता हुँदैन। नेताहरु भनेका समाजकै प्रतिरूप हुन्। उनीहरुले त्यसैको प्रतिनिधित्व गर्छन्। त्यसैअनुरूप सबै प्रक्रिया अगाडि बढ्छ। त्यसैले गान्धी ठूलो कि लेनिन वा माओ भन्ने प्रश्न सान्दर्भिक हुँदैन। यो झमेलामा पर्नु नै हुन्न। म पनि पर्दिन।

एउटा कुरा भनिदिनूस्, अहिलेका राजनीतिज्ञहरुको मुखबाट धेरै नै सुनिने गरेको छ– नेपाली राजनीतिमा भारतीयहरुको प्रभाव धेरै नै बढ्यो। गहिरिएर हेर्ने हो भने यसमा धेरथोर तल–माथि होला। वास्तवमा यो के हो?

तपाईँहरु आफ्नो इतिहास आफैँ पढ्ने कोसिस गर्नूस्। यहाँ परिवर्तन भयो १९५९ मा। प्रजातन्त्र आयो, चुनाव भयो। फेरि पञ्चायती व्यवस्था लागु भयो, १९६० मा। त्यो समयमा प्रजातन्त्रका पक्षधर सबैलाई भारतका कठपुतली हुन् भनियो। त्यसपछि तीस वर्षपछि यहाँ जनआन्दोलन भयो। १९९१ मा फेरि चुनाव भयो। पुनः प्रजातन्त्र बहाली भयो। त्यो बेलामा पनि मानिसले भने र अहिले पनि मसँग मान्छे भन्छन्– 'यहाँ जबजब परिवर्तन आयो, भारतले नै ल्याइदियो।' के तपाईँ मान्नुहुन्छ, १९९१ मा भएको जनआन्दोलन भारतले गराएको थियो? २००५ मा यहाँ जुन प्रकारको आन्दोलन भयो, त्यो हामीले गराएका थियौँ? जुन बाह्र बुँदे सम्झौताको कुरा यहाँ बारम्बार उठ्ने गरेको छ, त्यो पनि भारतले गराएको होइन। भारतले आफ्नो सद्भाव प्रयोग गरेको थियो राजनीतिक दलका नेताबीच सहमति गराउनका लागि। नेपालमा एकापसमा भिडिरहेका सबै राजनीतिक दल शान्तिका लागि सम्झौता गर्न तत्पर थिए। उनीहरु प्रजातन्त्रको बहाली चाहन्थे। हाम्रो कारणले नेपालमा परिवर्तन आएको होइन। नेपालका जनताले जब जब परिवर्तनका लागि प्रयास गरे, हामीले समर्थन गर्यौँ । र, यो भन्नु सरासर गलत हो कि यहाँ भएका कुनै पनि सामाजिक र राजनीतिक परिवर्तन हामीले नै गराएका हौँ।

तर महामहिम, एउटा कुरा त हो नि, तपाईँको ठाउँमा तपाईँका पूर्ववर्ती राजदूत हुनुहुन्थ्यो भने यहाँ धेरै ठूलो बबण्डर मच्चिइसकेको हुन्थ्यो। सरकार गठनदेखि अख्तियारको नियुक्तिसम्ममा भारतको हात छ भन्ने कुरा जमेर/खुलेर आउँथ्यो होला। के कूटनीतिमा मानिसको स्वभाव र व्यवहारले पनि फरक पार्छ?

हैन। एउटा कुरा त के भन्दा भारतीय कूटनीतिज्ञलाई नेपालमा बस्न सजिलो हुन्छ। किनकि हाम्रो संस्कृति एकै छ। हाम्रो भाषामा समानता छ। हिन्दी र नेपाली दुवैको मातृभाषा संस्कृत हो। म नेपाली धाराप्रवाह बोल्न सक्दिन तर म हरेक दिन बिहान तपाईँको नागरिक पढ्छु। त्यस्तै म नेपालमा कहीँ पनि गएर जब हिन्दी बोल्छु, तब केही समस्या हुँदैन। प्रायःले बुझ्छन्। भाषाको समस्या छैन हामीसँग। सांस्कृतिकरूपमा पनि हामीबीच यति धेरै समानता छ कि हामी आफ्नो एक/अर्काको कुरा सजिलैसँग बुझ्न सक्छौँ।

तपाईँले शंका गर्नुभयो– यो निर्दलीय सरकारको गठन र त्यसपछि भएका नियुक्तिमा हाम्रो प्रभाव। सबैलाई थाहा भएकै कुरा हो यो कि सबै राजनीतिक संयन्त्रले गरेको हो। तपाईँलाई लाग्छ, एकापसमा भिडिरहेका चार दलका यी नेता कसैले बाहिरबाट इसारा गरेका भरमा कुरा मान्छन्? संवैधानिक परिषद्, सर्वाेच्च अदालत अनि क्याबिनेटबाट पास भएर राष्ट्रपतिसमक्ष पुगेर त्यहाँबाट अनुमोदन भएर सबै कुरा अगाडि बढ्यो। त्यसमा कहा" छ हाम्रो भूमिका? यो त लोक कथा जस्तो कुरा हो भन्ने मलाई लाग्छ।

एउटा कुरा भनिदिनूस्, भारतले नेपाललाई धेरै सहयोग गरेको छ। नेपालमा आर्थिक लगानी पनि गरेको छ। त्यो पर्याप्त छ?

जति गर्नुपर्ने त्यति गरेको छैन। जति गर्न सक्छ, त्यो पनि गरेको छैन। तपाईँहरुको विकासका लागि हामीले जे जति गरिरहेका छौँ, त्यसको दश गुणा गर्न जरुरी छ। तर कुन क्षेत्रमा गर्नुपर्छ? त्यसको गति के हुन्छ? लगानी गर्ने तरिका के हुन सक्छ? यो सबैको निर्धारण गर्ने भनेको नेपालको जनता र नेपालको सरकारले हो।

भारत पनि लगानी गर्नकै लागि नेपालमा स्थायी सरकारको प्रतीक्षामा छ?

हामी स्थायी सरकारको प्रतीक्षामा मात्र छैनौँ, हामी त्योबिना पनि लगानी गर्न सक्छौँ। तर नेपालको राजनीतिक शक्तिहरुको मनसाय त थाहा हुनुपर्योम नि। जब निर्वाचन हुन्छ र प्रजातान्त्रिक पद्धतिबाट सरकार बन्छ, त्यो सरकारले भनेको कुरा गर्न हामी तयार छौँ।

यहाँको आर्थिक क्षेत्रका विश्लेषकहरु यो पनि भन्छन् कि 'राजनीति र अर्थतन्त्र दुई फरक एजेन्डा हुन्। राजनीति आफ्नो गतिमा अगाडि बढ्दै गर्छ। अर्थतन्त्रलाई आफ्नै गतिमा अगाडि बढ्न दिनुपर्छ।' यस्तो हुन सक्छ?

यसको अर्को एउटा पाटो पनि छ। भारतमा केही मान्छे भन्छन्– 'नेपालको राजनीति ठीक भएपछि मात्र विकासमा साझेदार हुनुपर्छ।' मेरो विचारमा यो गलत हो। र, यो पनि गलत हो कि राजनीति र अर्थतन्त्र भिन्न विषय हुन्। यी दुवै एक/अर्कासँग जोडिएका कुरा हुन्। आर्थिक विकास भएन भने पनि राजनीति सुधि्रँदैन। र, हामीले यो भनेर पनि कुरेर बस्नुहुँदैन कि राजनीति सुधि्रन्छ, अनिमात्र अर्थतन्त्र। भारतमा हामीले पनि आउनूस्, लगानी गर्नूस् भनेर धेरै करायौँ, कोही पनि आएन। तर जब हामीले आफ्नो नीति परिवर्तन गर्यौँ्, राज्यबीच विकासमा प्रतिस्पर्धा हुन थाल्यो, तब भारतमा तेजीसँग परिर्वतन भयो। त्यसैले अर्थतन्त्र र राजनीति अलग अलग हुन सक्दैनन्। यी दुई एक अर्काका परिपूरक हुन्। राजनीतिले अर्थतन्त्रको दिशा निर्धारण गर्छ र अर्थतन्त्रले राजनीतिको। हेर्नूस् हामीमात्र यस्तो मित्र राष्ट्र हौंला, जसले एनजिओलाई पैसा दिँदैन। हामीले २ सय २५ वटा स–साना परियोजना गरिसकेका छौँ। २०० वटा चालू छन्। हामी कि सरकारबाट कि त स्थानीय तहबाट ती परियोजना सञ्चालन गर्छौँ। हामीले गर्ने भनेको लघुविद्युत्, सौर्य ऊर्जा, पुस्तकालय निर्माण, स्कुल निर्माण, स्वास्थ्य चौकी आदि जस्ता साना परियोजना हुन्। जसको लागत पाँच करोडभन्दा कम हुन्छ।

जति पनि ठूला आयोजना छन्, तिनीहरुमा चाहिँ किन केही काम हुन सकेको छैन? अरुणमा सतलज भन्नूस् या कर्णालीमा जिएमआर दुवैले काम सुरु गरेका छैनन्?

म नेपालको तर्फबाट एउटा समस्या बताउन चाहन्छु। नेपालमा अहिले विद्युत्को उत्पादन भनेको सात/आठ सय मेगावाटमात्र हो। तपाईँले भन्नुभएको आयोजना नेपालमा सय वर्षमा जति पनि आयोजना बने, त्योभन्दा ठूला छन् । नेपाल सरकारसँग सम्झौता गर्ने त्यो विशेषज्ञता अहिले छैन। यो बिस्तारै सिकिने कुरा हो। दोस्रो कुरा, यहाँ सर्भे लाइसेन्स दिन थालेको बल्ल सात वर्ष भयो अन्तर्राष्ट्रिय टेन्डरद्वारा। आठ हजार मेगावाट विद्युत् उत्पादन हुने हिसावमा टेन्डर प्रक्रियाबाट दिइएको सर्भे लाइसेन्स पाँच वर्षमा उत्पादन लाइसेन्समा परिणत हुनपर्ने थियो। तर छ/सात वर्ष भइसक्यो। यसमा अवश्य नै धेरै समय लागेको हो। यसलाई कसरी अगाडि बढाउने भन्ने अनुभव नभएकाले गर्दा यस्तो भएजस्तो मलाई लाग्छ। यो सिक्दै अगाडि बढ्ने प्रक्रिया हो। सिक्दै अगाडि बढ्ने प्रक्रिया अलिक लामो हुन्छ। र, एकपटक अगाडि बढ्न थालिसकेपछि भने बिस्तारै सबै कुरा सहज हुँदै जान्छ।

महामहिम त्यसो भए तपाईँलाई विश्वास छ दुवै आयोजना बन्छ?

दुवैको काम धेरै अगाडि बढिसकेको छ। दुवैको रूपरेखा बनिसकेको छ। वातावरण अध्ययन भइसकेको छ। सार्वजनिक सुनुवाई पनि भइसकेको छ। आयोजना स्थलमा कार्यालय बसिसकेको छ। आयोजना बनाउनका लागि सम्झौतापत्र तयार हुँदैछ। अहिलेको सरकारले दीर्घकालीन असर पर्ने कुरामा निर्णय गर्न नमिल्ने प्रावधान छ। त्यसैले निर्वाचित सरकार आएपछि त्यो सबैको टुंगो लाग्छ भन्नेमा म विश्वस्त छु।

तपाईँलाई वास्तवमै लाग्छ, नेपालमा चुनाव हुन्छ?

किन नहुनु? अरु उपाय नै छैन।

मान्छेहरुको कुरा गर्ने हो भने उनीहरु आश्वस्त छैनन्। सैनिक शासनको कुरा गर्छन्, राजा फर्किने कुरा गर्छन्। राजा फर्काउन भारतका हिन्दुहरुको समर्थन छ भन्ने कुरा गर्छन्। त्यसैले उनीहरु चुनाव हुन पनि सक्छ, नहुन पनि सक्छ भन्छन्। तपाईँ के भन्नुहुन्छ?

केही हदसम्म परिवर्तनको डर होला कसैमा। मान्छेलाई लाग्न सक्छ, पुरानो समयमा स्थिरता थियो। तर जुन परिवर्तन जनताको चाहनाअनुसार भएको छ, त्यो अन्ततः राम्रो नै हुन्छ। मानव सभ्यता परिवर्तनशील छ। पछाडि फर्कने भन्दा पनि अगाडि बढ्ने मान्छेको चाहना हो। भौगोलिकरूपले नेपाल कहाँ छ भन्ने कुराले पनि निकै महŒव राख्छ। एकापट्टि चीन छ, अर्कोपट्टि भारत छ। दुवैको आर्थिक स्थिति निकै मजबुत हुँदै गएको छ। दुवैमा धेरै सामाजिक परिवर्तन भएका छन्। त्यसैले यहाँ पनि सकारात्मक परिवर्तन हुन्छ।

नेपाल जस्तो यो सानो मुलुकमा त्यति धेरै मान्छे मरे। घरवारबिहीन भएका छन्, अपांगको संख्या त्यति नै धेरै छ। यो त धेरै दुःखलाग्दो कुरा हो नि। हैन?

हो, यो एकदमै दुःखलाग्दो छ तर नेपालले यसलाई जुन हिसाबमा समाधान गर्योप, त्यो अद्भूत छ। लडाकुलाई तपाईँहरुले आफ्नो राष्ट्रिय सेनामा प्रवेश गराउनुभयो। यो संसारमा अन्यत्र कतै भएको छैन। यहाँ जति पनि विदेशी अध्ययन/अनुसन्धान गर्न आउँछन्, उनीहरुसँग मैले भेट्ने मौका पाउँछु। उनीहरु भन्छन्– 'नेपालमा यो जसरी भयो, त्यसलाई मोडलका रूपमा लिएर यसलाई अरु द्वन्द्वमा फसेका देशमा पनि लागु गर्नुपर्छ।' हाम्रै भारतमा पनि धेरै किसिमका लडाइँ भएका छन्। तर यो प्रकारको समाधान कसैले परिकल्पना पनि गरेको छैन। सन् १९६७ मा भारतमा 'नक्सलाइट मुभमेन्ट' सुरु भयो। यहाँ पनि नक्सलबाडीसँग जोडिएको क्षेत्र झापामा पनि त्यो मुभमेन्ट सुरु भयो तीन/चार वर्ष पछि। तर त्यो मुभमेन्टलाई नेतृत्व दिने मान्छेहरुमा यति चाँडै परिवर्तन आयो, उनीहरु एमालेका रूपमा देखिए। १९९४ देखि त त्यो पार्टीका नेताहरु नेपालको प्रधानमन्त्री बन्न सुरु भयो। हाम्रो देशमा भएका नक्सलवादीहरु अहिले भर्खर स्थानीय निकायमा प्रवेश गर्न थालेका छन्। अब 'पिपुल्स वार ग्रुप' र माओवादीकै कुरा गरौँ। भारतका माओवादी र नेपालका माओवादीको उदय लगभग एकैचोटि भएको हो १९९० तिर। तपाईँहरुका माओवादी मूलधारमा आए, चुनाव लडे, ठूलो पार्टी भएर आए। त्यो पार्टीको दुईजना नेता प्रधानमन्त्री नै भए। र, हाम्रोमा अझै पनि लडाइँ नै गरिरहेका छन्। नेपालको जनतामा भएको परिवर्तनको अभिलाषाको सम्मान गर्नुपर्छ। जो एक/अर्कासँग लड्न तत्पर हुन्छन्, यहाँ पनि उनीहरु टेबलमा बसेर वार्ता गर्छन्। जति चाँडो सम्झौता हुनुपर्ने हो, त्यो हिसाबमा हुँदैन। तर अन्तिममा सम्झौता त हुन्छ। त्यो ठूलो कुरा हो।

नेपालको दुई छिमेकी चीन र भारत अहिले बजारकै लागि पनि लडिरहेका छन् र राष्ट्रियताका लागि पनि। कहिले झगडा गर्छन्, कहिले मिल्छन्। तपाईँहरु मिल्नुभयो भने पनि या लड्नुभयो भने पनि हाम्रो स्थिति के हुन्छ?

हामी मिल्यौँ भने तपाईँहरुलाई कुनै पनि कष्ट हुँदैन। हाम्रो चीनसँग राम्रो सम्बन्ध भयो भने त्यसको नेपाललाई फाइदा नै हुन्छ, नोक्सान हुँदैन। र, नेपालको विकासका लागि चीन पनि प्रतिबद्ध छ र भारत पनि प्रतिबद्ध छ। हाम्रो एउटैमात्र चाहना भनेको कसरी आर्थिक प्रगति हासिल गर्ने र त्यसको बढीभन्दा बढी फाइदा जनतालाई दिने भन्ने नै हो।

तर, नेपालमा भारतको सुरक्षा चासो त छ नि?

त्यो त चीनको पनि हुन्छ। अरु देशको पनि हुन्छ।

तपाईँहरुको चासो अरुको भन्दा धेरै छ, होइन? हामीकहाँ हिमालय छ। त्यो भनेको तपाईँहरुका लागि अभेद्य सुरक्षा किल्ला हो नि?

अहिले प्रविधिको विकास यति धेरै भइसकेको छ अभेद्य भन्ने केही पनि बाँकी रहेको छैन। त्यो अंग्रेजको जमानाको सिद्धान्त बिर्सिनुपर्छ। हामी चीनसँग मिलेर आर्थिकरूपले अन्तर्राष्ट्रिय क्षेत्रमा उभिन चाहन्छौँ।

सहयोगी : स्वरूप आचार्य

‘डाइरेक्टर’ बनेर युवती लुट्ने प्रहरीको फन्दामा - onlinekhabar

अर्जुन गिरी
पोखरा । ‘हेलो, मोडल जानू बोल्नुभएको हो ?’
‘हो, तपाई को बोल्नुभएको हो ?’
‘म, काठमाडौबाट आएको डाइरेक्टर, सुटिङको सिलसिलामा पोखरा आएको थिएँ ।’
‘भन्नुस मसँग केही काम थियो कि ?’
‘एउटा म्युजिक भिडियो बनाउदैछु, एकजना मोडल चाहिएको थियो, तपाई खेल्नुहुन्छ ?’
‘हुन्छ, कस्तो गीतमा ? सुटिङ स्पट कहाँ हो ?’
यसरी कुराकानी भयो पोखराकी एक (नाम परिवर्तन) मोडल जानू र कथित डाइरेक्टर पुष्कर खड्काबीच । घटना हो, गत चैत्र ५ गतेको । जानू र खड्काबीच मोवाइलमार्फत यसरी पहिलो दिन चैत्र ४ गते कुराकानी भएको थियो ।
Puskar-Khadkaमोडलिङका लागि प्रस्ताव गरेर खड्काले टेलिफोनमार्फत निकैबेर कुराकानी गरी, भेट्न बोलाए । जानुले आफू व्यस्त भएको हुनाले त्यस दिन भेट्न नभ्याउने बताइन् । तर, खड्काले ५/६ पटक फोन गरे । जानूलाई भोलिपल्ट नै सुटिङ भएकाले डे्रसका लागि कुरा गर्न आउनैपर्‍यो भन्ने आग्रह गरे । जानूले पनि ठिकै छ भन्दै खड्कासँग भेट्ने निर्णय गरिन् । खड्काले उनलाई दिनको ४ बजे पृथ्वीचोकमा बोलाए ।
जानूले साढे ४ बजे खड्कालाई फोन गरेर आफू पृथ्वीचोक आएको बताईन् । तर खड्का जानू आउनुअघि नै त्यहाँ पुगिसकेका थिए । खड्काले जानूलाई यति नंम्बरको स्कुटरमा आउनुभएको हो भनेर सोधे । जानुले हो भनेपछि खड्काले उनलाई निलकमल होटल अगाडि बोलाएर कतै होटलमा बसेर कुराकानी गर्न प्रस्ताव गरे । तर, आफ्नो कामको व्यस्तताले गर्दा जानूले आफु नभ्याउने बरु सुटिङ स्पटमा भोलि नै कुराकानी गर्ने बताइन् र उनले सुटिङ स्पट कहाँ हो ? भनी प्रश्न गरिन् ।
खड्काले सुटिङ स्पट छोरेपाटन वरपर र स्याङजामा हुने बताए । साथै खड्काले पार्टी सीन हुने भएकाले आफूसँग भएको गरगहना पनि ल्याउन आग्रह गरे । भोलिपल्ट बिहान ६ बजे सुटिङका लागि निक्लने पक्का भयो । जानू खुशी हुँदै आफ्नो घरतिर लागिन् । साँझ ७ बजेतिर जानूलाई खड्काले तयारी कस्तो हुँदैछ भनेर फोनसमेत गरे ।
भोलिपल्ट अर्थात चैत्र ५ जानू सुतिरहेकी थिइन्, बिहान ५ बजेतिर उनको मोवाइलमा घण्टी बज्यो । फोन अरु कसैको नभई खड्काकै थियो । ६ बजेर १५ मिनेट जाँदा फेरि फोन आयो । खड्काले ढीलो भयो भन्दै छिटो आउन भने । जानु ७ बजेतिर अघिल्लो दिनमा भेट भएको ठाउँमा पुगिन । खड्का पनि त्यहीँ थिए । जानुले भनिन् बेर भयो होला, सुटिङ स्पट सोझै जाने होला नि ? तर, खड्काले डे्रस हेर्ने र नपुगे किन्नुपर्ने भन्दै जानूलाई स्कुटी पार्किङ गरेर निलकमल होटलमा जाउँ भने ।
जानु पनि अप्ठ्यारो मान्दै होटलतर्फ लागिन् । खड्काले जानुलाई आफू बसेको कोठामा नै गएर डे्रस हेर्ने भन्दै कोठामा नै पुर्याए । त्यसपछि जानूलाई ल्याएको डे्रस लगाउन भने । जानूले भनिन् किन यहाँ लगाउने ? सुटिङ स्पटमै लगाए हुन्न ? त्यसपछि खड्काले जानुलाई लुगाबाहिरै साडी लगाएर विचार गर्न आग्रह गरे ।
ऐना हेरेर जानूले एक सप्को साडी के हालेकी थिइन्, खड्काले ढोकाको चुक्कुल लगाएर जानूको कन्चटमा बन्दुक र घाँटीमा खुकुरी राख्न भ्याए । जानू छाँगाबाट खसेजस्तो भइन् । खड्काले दारा किट्दै भने- ‘तँ जस्ता ११ वटी केटी मारिसकेको छु । कति त होटलको बाकसमा कुहिएका छन्, मैले तँबाट पनि तीनवटा कुरामध्ये, एउटा कुरा लिन्छु, ज्यान, सेक्स र पैसा भन् कुन लिउँ ?
त्यति भनेपछि जानु निकै डराइन्, होस उडेजस्तो भयो, उनले रुदै आफूसँग भएको धनमाल सबै लैजानु तर मलाई केही नगर्नु भनिन् । खड्काले जानूलाई सबै गरगहना र धनमाल निकाल्न धम्की दिए । ज्ाानूसँग भएको सुनको लकेटसहितको सिक्री, झुम्का सेट, दुई मुन्द्रा सेट, तीनवटा आंैठी, तीनवटा मोवाइल, एउटा क्यामेरा, नगद ८ हजार र स्कुटीको चाबी लुटे । त्यसपछि जानूलाई शौचालयमा थुनेर आधा घण्टासम्म धम्काउँदै मानसिक यातना दिए । खड्काले उनलाई भने -’पुलिस या आफन्त कसैलाई पनि यस विषयमा भनि भने एकवर्ष पछि किन नहोस् केटाहरु लगाएर भए पनि तँलाई मारिदिन्छु ।’ यति गरेपछि खड्का जानुकै स्कुटर लिएर फरार भए । डरले गर्दा जानु मानसिक रुपमा निकै कमजोर भएकी थिइन् । त्यही भएर के गर्ने, के नगर्ने तत्काल सोच्न सकिनन् ।
उनी ४ घण्टासम्म शैचालयमै थुनिइन् । अन्ततः होटलका कर्मचारीले जानुको साथीलाई फोन गरिदिए । जानुका साथीहरु आएर जिल्ला प्रहरी कार्यालयमा फोन गरे । जानकारी पाउनेवितिकै तुरुन्तै जिप्रकाका प्रमुख एसपी केदार रिजाल घटनास्थल पुगे ।
यसरी लुटपाट गर्ने पुष्कर खड्का अहिले जिल्ला प्रहरी कार्यालय कास्कीमा छन् । काभ्रे गणेशस्थान गाविस वडा न ३ घर भई हाल मकवानपुर बस्ने ३२ बर्षीय खड्काले यसरी नै पोखराका दुई ठाउँमा र चितवनमा लुटपाट गरेको प्रहरीले जनाएको छ । प्रहरीले खड्कालाई काठमाडौ कालिमाटीबाट गत चैत्र २३ गते पक्राउ गरेको हो । पक्राउ गरेर काठमाडौ प्रहरीले खड्कालाई चैत्र २६ गते जिल्ला प्रहरी कार्यालय कास्की पठाएका हुन् । पोखरामा जानूलाई लुटेको १२ दिनपछि लामाचौरकी एक मोडललाई पनि यसैगरी उनले आफ्नो शिकार बनाएका थिए । होटल सन्तोषमा ती मोडललाई बोलाएर खड्काले उनका साथबाट ३ तोला ५० लालको सुन, एउटा आइफोन र नगद १२ हजार लुटेका थिए । खड्काले यस अघि चितवन भरतपुरमा यसरी नै अर्की एक मोडललाई लुटेको कास्की प्रहरीले जनाएको छ । उनीबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

किसान कंगाल, नेटवर्कवाला मालामाल - जनकराज सापकोटा - ekantipur

काठमाडौ, जेष्ठ १३ - चार महिनाअघिसम्म ललितपुरको थेचो चोकबाट पश्चिम ओरालो झरेपछि आउने गहुँबारी छिचोलेर एउटा कान्लोमा पुगेपछि देखिन्थ्यो, २२ रोपनीको बारीमा घिउकुमारी (एलोभेरा)को खेती। यतिखेर त्यो जमिनमा जेठको चर्को गर्मीलाई चिर्दै मकै बालीले जबरजस्त पालुवा हालिरहेको छ। प्रश्न उठ्न सक्छ, कहाँ गए घिउकुमारी का त्यत्रा बिरुवा ? कसले, किन मास्यो ? घिउकुमारी को असफल खेतीको कथा जान्नुअघि १५ पुस ०६७ मा फर्किनुपर्छ।
कथाका मूल पात्र हुन्, पेसाले मूर्तिकार पाटनका राम महर्जन, ५१। उनले एकदिन सुने, घिउकुमारी को खेतीमा भविष्य छ र एक हेक्टर खेतमा ९ लाख २४ हजार ९ सय लगानी गर्दा वर्ष दिनमै न्यूनतम पनि १७ लाख ७५ हजार १ सय रुपियाँ फाइदा लिन सकिन्छ। पुस्तैनी पेसाबाट वाक्क भएका महर्जन आम्दानीको गजब उपाय फेला परेपछि हौसिए। उनले ११ जना साथी जम्मा पारे र यती एग्रोटेक नामक कम्पनी दर्ता गरे। वाषिर्क तीन लाख रुपियाँ भाडा तिर्ने गरी ललितपुरको थेचोमा ६० रोपनी जग्गा लिए र सुरुमै २२ रोपनीमा घिउकुमारी लगाए। तर, तीन महिनामै घिउकुमारी को बेर्ना उत्पादनबाट आम्दानी हुने विश्वासमा त्यतिखेर तुषारपात भयो, जब बिरुवा हुर्किनुको सट्टा मर्न थाले। पहिलो वर्षमै आम्दानी हुने सपना तुहिए पनि उनीहरूले हरेस खाएनन्। दोस्रो वर्षको सुरुमै उनीहरूले फेरi १० हजार बिरुवा थपे। जब अघिल्लो वर्षका बिरुवाका पात बिक्रीका लागि योग्य भए, तब भनेको बेला कम्पनीले पात किनिदिएन। कराउँदा कराउँदै पुस लाग्यो। बेच्न ठिक्क भएका सबै पात तुषारोले कुहिए।
यसरी राम महर्जन र उनका साथीहरूको सपना तुहियो। न बिरुवाले बेर्ना उत्पादन गर्न सक्यो, न पात नै बढ्न सके। उल्टै भकाभक बिरुवा मर्न थाले। महिनैपिच्छे बढ्दो खर्च र शून्य आम्दानीले उनीहरू आत्तिए। जग्गाधनीलाई तेस्रो वर्षको भाडा बुझाउने समय आयो। उनीहरूले पैसा जम्मा गर्न सकेनन्। अन्ततः सोच्दै नसोचेको परiणाम आयो। जग्गाधनीले खेत जोतिदिए र मकै छरे। घिउकुमारी को सुन्दर सपनामा बज्रपात भयो र ३२ लाख रुपियाँ स्वाहा। महर्जन भन्छन्, "झूटा सपनामा फसियो।"
अर्बभन्दा बढी स्वाहा
खासमा एलोभेराको नेपाली नाम नै घिउकुमारी हो। करबि दुई सय जैविक तत्त्व पाइने यसको पातभित्रको जेललाई नै मुख्य उपयोगी तत्त्व मानिन्छ। पूर्व तथा दक्षिण अपि|mका हुँदै यो बिरुवा दक्षिण एसियामा भित्रिएको हो। यसको जुस स्वास्थ्य र सौन्दर्यका लागि फाइदाजनक मानिन्छ। स्टेभियालाई चाहिँ बोलीचालीको भाषामा चिनी बिरुवा पनि भनिन्छ। अत्यधिक गुलियोपना भएको स्टेभिया कोलेस्ट्रोलशून्य वनस्पति हो, जसको पात सुकाएर धूलो बनाएपछि गुलियोका लागि विभिन्न स्वरूपमा प्रयोग गरिन्छ। तर, नेपालमा यी दुवै बाली प्रविधि र पद्धतिको अभावमा गुणस्तरीय उत्पादन दिन असक्षम छन्। त्यसमाथि ती उत्पादनको बजारको समेत कुनै ग्यारेन्टी छैन। वनस्पति विभागका महानिर्देशक अन्नपूर्ण दास भन्छन्, "यी उत्पादनको नेपालमा बजार नै छैन र बजारको ग्यारेन्टी गर्न सक्ने आधार पनि छैन।"
यद्यपि, घिउकुमारी र स्टेभियाको खेतीबाट सजिलै धेरै रकम कमाउन सकिने लोभमा परेका महर्जनजस्ता अरू पनि थुप्रै छन्, जसले यसमा लाखौँ रुपियाँ डुबाइसकेका छन् । यसरी झूटो सपना देखाएर किसान फसाउने प्रमुख कम्पनी हो, पाम एग्रोटेक एन्ड बायो एनर्जी नेपाल प्रालि। जसको आश्वासनको पहिलो सिकार बनेका थिए, महर्जन र उनका साथीहरू।
घिउकुमारी र स्टेभियाको व्यावसायिक खेती गर्ने भन्दै तीन वर्षअघि स्थापित त्यस कम्पनीले अहिले ५५ जिल्लामा खेती गराइरहेको छ। त्यसमा आबद्ध झन्डै दुई सय किसानले करबि सात सय बिघामा खेती गररिहेका छन्। तीमध्ये प्रत्येकले न्यूनतम पनि ५ हजार ५ सय बिरुवा अर्थात् २ लाख ४० हजार रुपियाँ (प्रतिबिरुवा ४० रुपियाँ) बराबरको बिरुवा लगाएका छन्। अधिकांशले चर्को मूल्यमा जग्गा भाडामा लिएका छन्। जग्गा भाडा, मल, औषधी र ज्याला गरी औसतमा प्रत्येक किसानले पाँच लाख रुपियाँ लगानी गरेका छन्। यस हिसाबले घिउकुमारी र स्टेभियामा करबि एक अर्ब रुपियाँ लगानी भइसकेको छ। पामले जस्तै बिरुवा बेचिरहेको बुटवलस्थित अर्को कम्पनी सहारा एनर्जी एन्ड एग्रो इन्डस्ट्रीसँग आबद्ध झन्डै एक सय कृषकले करबि ७० बिघामा घिउकुमारी र स्टेभिया खेती गररिहेका छन्। उक्त कम्पनीका प्रबन्ध निर्देशक राजेश केसी करबि चार करोड रुपियाँ यसमा लगानी भइसकेको अनुमान गर्छन्। त्यस्तै घिउकुमारी को खेती विस्तार गररिहेको अर्को कम्पनी हो, घार इन्टरनेसनल, जसले करबि दुई सय रोपनीमा झन्डै ३० लाख रुपियाँ लगानी गरसिकेको छ।
झूटो प्रचार
आन्तरकि बजार र निर्यातको सम्भावना नै अध्ययन नगरी भइरहेको खेतीबारे न सरकार जानकार छ, न यसका लागि दक्ष प्राविधिक नै नेपालमा छन्। तर, निजी क्षेत्रका कम्पनीहरूले भने नेटवर्किङ् शैलीकै सिको गर्दै आफ्नो कारोबार बढाइरहेका छन्। मासिक लाखौँ रुपियाँ आम्दानी हुने भन्दै गरएिको प्रचारको जालोमा सोझा किसानहरू फसिरहेका छन्। यी कम्पनीले किसानलाई महँगो मूल्यमा बेर्ना बेच्छन् भने उनीहरूले हुर्काएको बेर्नाचाहिँ निकै सस्तोमा किन्छन्। बिरुवा हुर्किएपछिको उत्पादन ( घिउकुमारी र स्टेभियाको पात) आफूलाई मात्र बिक्री गर्नुपर्ने सर्त तेस्र्याउँछन्। तर, उनीहरूले त्यो पनि किनिरहेका छैनन्। किनिहाले पनि किसानले पैसा पाउँदैनन्।
यद्यपि, पाम एग्रोटेकका प्रमुख रुद्र गिरी किसानको जतिसुकै परिमणको उत्पादन आफ्नो कम्पनीले किन्ने दाबी गर्छन्। उनी किसानलाई आफ्नै फ्याक्ट्री रहेको बताउँदै त्यसका निम्ति आवश्यक कच्चा पदार्थ ( घिउकुमारी र स्टेभियाको पात) पर्याप्त नभएको दाबी गर्छन्। तर, उनले आफ्नो भनी दाबी गरेको घिउकुमारी को जुस उत्पादन कम्पनी उनको नभई भरतपुरका ध्रुवतारा लामिछानेको हो। गिरीले प्रतिलिटर १८ रुपियाँ तिर्ने सर्तमा उनको कम्पनीबाट काम चलाइरहेका छन्।
गिरी आफ्ना किसानले उत्पादन गरेको स्टेभियाको अन्तर्राष्ट्रिय बजार दाबी गर्नसमेत पछि पर्दैनन्। भन्छन्, "मैले रुसमा रहेका परशुराम पोखरेललाई १०-१२ क्विन्टल स्टेभिया बेचिसकेँ। तर, रूसमा रहेर स्टेभियासम्बन्धी कारोबार गररिहेका कृषिविज्ञ पोखरेलले नेपाललाई इमेल गर्दै गिरीको कुरा सरासर झूटो भएको बताएका छन्। उनले आफ्नो इमेलमा नेपालको स्टेभिया अन्तर्राष्ट्रिय बजारका निम्ति योग्य नरहेको बताउँदै सोझा किसानलाई ठग्ने काम भइरहेको बताए। "नेपालका निजी क्षेत्रका केही बिचौलियाले सम्भावना नै नभएको खेतीमा किसानलाई डुबाइरहेका छन् भने सरकार रमिते बनिरहेको छ," पोखरेल आफ्नो इमेलमा लेख्छन्।
घिउकुमारी र स्टेभियामा अबौर्ंको लगानी भइसक्दा पनि सरकार भने बेखबरजस्तै छ। कृषि मन्त्रालय अन्तर्गतको कृषि विभागका नायब कार्यकारी निर्देशक वीरेन्द्र हमाल यी दुवै उत्पादन जडीबुटी अन्तर्गत पर्ने भएकाले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने बताउँछन् र यसबारेमा जानकारी लिन वनस्पति विभागतिर देखाउँछन्। वनस्पति विभागका महानिर्देशक दास किसानले बुझ्दै नबुझी लगानी जोखिममा पाररिहेको बताउँछन्। जडीबुटी वर्ग अन्तर्गतको घिउकुमारी लाई विभागले खेती प्रविधि अनुसन्धान कार्यका लागि प्राथमिकता प्राप्त जडीबुटीहरूको सूचीमा राखेको छैन। दास भन्छन्, "यसको अर्थ नेपालमा यी दुवैको खेतीको व्यावसायिक सम्भावना छैन भन्ने नै हो।"
कृषिविज्ञ पोखरेल नेपालको स्टेभिया अन्तर्राष्ट्रिय बजारमा बिक्नै नसक्ने दाबी गर्छन्। भन्छन्, "नेपाली उत्पादनको गुणस्तरको कुनै आधार छैन।" उनका अनुसार अहिले युरोपेली र अमेरकि बजारमा चिनियाँ स्टेभियाको माग मात्रै उच्च छ। किनभने, चिनियाँ स्टेभियामा ग्लुकोसाइडको मात्रा ११ देखि १५ प्रतिशत हुन्छ, जबकि भारत र नेपालमा उत्पादन हुने स्टेभियामा चारदेखि सात प्रतिशत मात्रै। पोखरेलले नेपाललाई इमेल गरी अमेरिका र युरोपको बजारले नेपाल र भारतको स्टेभियालाई नपत्याएको उल्लेख गरेका छन्।
मूल्यमा मनपरी
निजी कम्पनीहरूले देखाएको दिन दुईगुना रात चौगुना आम्दानी गर्न सकिने प्रलोभनमा किसानहरूचाहिँ बुझ्दै नबुझी हामफालिरहेका छन्। त्यसको सबैभन्दा ठूलो उदाहरण हो, लाखौँ खर्चिने किसानलाई आफूले खेती गरेको घिउकुमारी र स्टेभिया कुन प्रजातिको हो भन्नेसमेत थाहा नहुनु। जबकि, घिउकुमारी का सयौँ प्रजाति अस्तित्वमा छन् भने स्टेभियाका ९० भन्दा धेरै प्रजाति। त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी विभागका अध्यापक गिरीराज त्रिपाठी नेपालमा उत्पादन हुने स्टेभिया कम गुणस्तरको रहेको बताउँछन्। भन्छन्, "किसानलाई कमसल बिरुवा महँगो मूल्यमा बेचिएको छ।"
निजी कम्पनीहरूले घिउकुमारी र स्टेभियाको मूल्य आफूखुसी तोकिरहेका छन्। पाम एग्रोटेकले किसानलाई एलोभेरा र स्टेभिया प्रतिबिरुवा ४० रुपियाँका दरले बेच्छ। तर, त्यस्तै बिरुवा बुटवलको सहारा एनर्जीले क्रमशः २० र २५ रुपियाँमा बेचिरहेको छ। जबकि, सीमावर्ती भारतीय बजारमा त्यही गुणस्तरको एलोभेरा चार रुपियाँ -भारतीय रुपियाँ)मा पाइन्छ। भारतीय कम्पनीहरू आफ्नो उत्पादन पाँच रुपियाँमा नेपालको सिमाना कटाइदिने बताउँछन्। भारतीय सहर राजस्थानस्थित अमृत सञ्जीवनी फार्मले नेपालसँगको इमेल कुराकानीमा चार रुपियाँ भारुमा घिउकुमारी का बेर्ना उपलब्ध गराउन सक्ने बताएको छ। त्यस्तै हानेमान च्यारटिेबल मिसन सोसाइटीका बजार विभाग प्रमुख प्रशान्त चतुर्वेदीले नेपालको इमेल प्रश्नमा घिउकुमारी का प्रतिबेर्ना १ रुपियाँ ५ पैसा भारुमा बेचिरहेको उल्लेख गरेका छन्।
यसरी ठगिन्छन् किसान
पाम एग्रोटेकले न्यूनतम ६ कट्ठा जग्गाका लागि किसानलाई बिरुवा किन्न बाध्य पार्छ। जसमा किसानले सुरुमै २ लाख ४० हजार रुपियाँ खर्चिनुपर्छ। महँगोमा बिरुवा बेचेर किसान ठग्ने शंृखला यत्तिमै सकिँदैन। पाम एग्रोटेकको ब्रोसरमा एक हेक्टरमा ९ लाख २४ हजार ९ सय लगानी गर्दा १७ लाख ७५ हजार १ सय रुपियाँ आम्दानी हुने उल्लेख छ।
भुक्तभोगी किसानहरूको बयान भने बेग्लै छ। सम्झौता अनुसार कम्पनीले समयमै पात नकिनिदिने र सम्झौताअगावै भनिएका सर्तहरू पूरा नगर्दा किसानको रकम डुबिरहेको छ। घिउकुमारी को बिरुवा किन्नेलाई स्टेभिया पनि किन्न बाध्य पार्नु कम्पनीको अर्को रणनीति हो। जस्तो ः न्यूनतम ५ हजार ५ सयवटा घिउकुमारी को बिरुवा किन्नेले पाँच सयवटा स्टेभियाको बिरुवा किन्नुपर्ने बाध्यकारी व्यवस्थ्ाा कम्पनीले लादेको छ। किसानले आफैँ ग्राहक खोजेर बिरुवा बेचेको खण्डमा पनि प्रतिबिरुवा १० रुपियाँका दरले पामलाई कमिसन बुझाउनुपर्छ। कम्पनीको जबरजस्ती नियमले किसानहरूको आफ्नै बालीमा स्वामित्व छैन।
कम्पनीले भने अनुसार आम्दानी नहुने, पात र बिरुवा समयमै नकिनिदिने, विदेशी बजारमा बेच्न नसकिने र अनेक रोग लागेर बिरुवा मर्दा पनि उपचार नहुने भएकाले घिउकुमारी ले धेरैलाई घर न घाटको बनाएको छ। जस्तोः चितवन, क्षेत्रपुरका रामनाथ अधिकारीले साढे चार लाख रुपियाँ लगानी गरेर सुरु गरेको घिउकुमारी खेतीलाई भाइरसले खत्तम पार्‍यो। उपचारको ग्यारेन्टी दिएको कम्पनीले पनि रोगको उपचार गर्न नसकेपछि उनका हजाराँै बिरुवा मरे। अधिकारी भन्छन्, "कम्पनीले केही गर्न सकेन।"
सम्झौतामा भएका सर्त पालना नगर्ने र किसान डुब्ने भएपछि केही किसान प्रतिरोधमा समेत उत्रेका छन्। करबि एक महिनाअघि कम्पनीले नकिनेर लाखौँको पात खेतमै कुहिएपछि दैलेखका किसान भीमप्रसाद रेग्मीले जिल्ला छिरेका पाम कम्पनीका प्रतिनिधि ऋषिप्रसाद अधिकारीलाई थुनेरै राखे। पात नकिनेसम्म कर्मचारीलाई नछाड्ने भन्दै उनी जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला प्रहरी कार्यालयसम्म धाए। अन्ततः ६ दिनपछि समयमै पात र बिरुवा किन्ने सर्तमा उनले कर्मचारी छाडिदिए। त्यस्तै पात नकिनेकै कारण अघिल्लो महिना मात्रै रूपन्देहीको छपियामा किसानहरूले कम्पनीको गाडी नै नियन्त्रणमा लिएर चार दिनसम्म राखेका थिए। घिउकुमारी मा लाखौँ रुपियाँ डुबाएका शंकरनगरका जगन्नाथ गौतम भन्छन्, "छँदाखाँदाको व्यवसाय छाडेर कृषिकर्ममा हात हालियो। आफू त डुबियो नै, अरू साथीभाइ पनि डुब्दै छन्।"
पश्चिम नेपालका घिउकुमारी किसानहरू पनि यतिखेर लगानी जोखिममा परेको भन्दै पछुताइरहेका छन्। कम्पनीले सम्झौता अनुसारको पात नउठाउने र उठाइहाले पनि महिनौँसम्म पैसा नदिँदा किसान ठगिएका छन्। बाँकेकै अशोक विष्ट र कालीबहादुर खत्रीलगायतको घिउकुमारी मार्फत आर्थिक छलाङ मार्ने योजनाले फेल खायो। सहमति अनुसार कम्पनी पात र बिरुवा लिन नआएपछि उनीहरूको सपना भत्कियो। "अनेक सपना देखाएर बिरुवा बेच्यो। पछि पात लिन आएन," विष्ट भन्छन्, "किसानलाई धोका भयो। एक हिसाबले ठग्यो भने पनि हुन्छ।"
घिउकुमारी को बिरुवा, मल र औषधी बेच्दै आएको पाम एग्रोटेकले नै खेती गर्न चाहने अधिकांशलाई भाडामा जग्गा खोजिदिन बिचौलियाको भूमिका पनि खेल्छ। कम्पनीका प्रमुख गिरी माटोको परीक्षण र मौसम नहेरीकन खेतीका लागि किसानलाई नसुझाएको बताउँछन्। भाडा (लिज)को जग्गामा खेती गररिहेका किसान अहिले कि जग्गा छाड्दै छन्, कि त बिरुवा उखेलेर अन्यत्र सार्दै छन्।
अरूको त कुरै छाडौँ, गिरी आफँैले समेत भाडामा लिएका जग्गाबाट घिउकुमारी उखेलिरहेका छन्। जस्तो कि, शरदपुरस्थित अगन्धर कँडेल दाजुभाइको साढे दुई बिघा जग्गामा लगाएको घिउकुमारी गिरीले उखेलेर अन्यत्रै सारसिकेका छन्। कँडेल भन्छन्, "बिरुवा त उखेलेर लगे नै, तीन महिनाको भाडा पनि पाएको छैन।" गिरीले ६ वर्षका लागि भाडामा लिएको शरदपुरको विष्णु कँडेलको सात कट्ठा जग्गा पनि डेढ वर्षमै छाडे। कँडेल भन्छन्, "उनले बिरुवा निकालेपछि मैले खेत जोतिदिएँ।" आफ्नो खेतीबाट आफैंले फाइदा लिन नसकेपछि गिरी अरू किसानलाई बिरुवा बेचिरहेका छन्। कतिसम्म भने घिउकुमारी नै नहुने काठमाडौँ उपत्यका वरपिरकि डाँडामा समेत घिउकुमारी हुने सम्भावना देखाउँदै बिरुवा बेचिरहेका छन्।
बाहिरबाट आएका अधिकांश किसानले खेती गररिहेको शरदपुर क्षेत्र चितवनकै सुक्खाग्रस्त क्षेत्रका रूपमा चिनिन्छ। काठमाडौँका बद्री कार्की र उनका साथीहरूले सोही ठाउँमा ११ कट्ठा ८ धुर जग्गामा गरेको घिउकुमारी खेती अहिले खडेरीले संकटग्रस्त छ । कार्की भन्छन्, "पहिले कम्पनीले पानी चाहिँदैन भन्यो, अहिले पानीको अभावमा बिरुवा धमाधम मर्दै छन्।"
कार्कीजस्तै अन्य चार समूहले पनि सोही स्थानमा जग्गा भाडामा लिएर लाखौँ लगानी गरेका छन्। तर, तिनले कम्पनीले भने अनुसारको मुनाफा गर्न सकेका छैनन। बरू बिरुवा मर्ने र घिउकुमारी मा लाग्ने अनेकन् रोगको उपचार नभेटिँदा दिक्क भएका छन्। खेती थालेको १५ महिना भइसक्दा पनि अपेक्षित प्रतिफल हासिल गर्न नसकेका कार्की भन्छन्, "साथीभाइ र चिनेजानेकालाई बिरुवा बेचुन्जेल त आम्दानी होला तर पात नै बेचेर कमाउन सक्ने सम्भावना छैन भन्ने बल्ल बुझियो।" यतिखेर आठ लाख रुपियाँ बराबरको लगानी मात्रै उठाउन पाए हुन्थ्यो भन्ने ध्याउन्नमा छन् उनी।
नेटवर्ककै अर्को रूप    
पाम एग्रोटेकले घिउकुमारी र स्टेभिया खेतीलाई नेटवर्ककै शैलीमा विस्तार गररिहेको छ। जस्तो ः न्यूनतम ६ हजार बिरुवा किन्ने किसानले अर्को किसानलाई कम्पनीसँग जोडेमा उसले १० प्रतिशत कमिसन पाउँछ। धेरैभन्दा धेरै किसानलाई खेतीमा आबद्ध गराउनकै लागि कम्पनीले एजेन्सी, प्राइम एजेन्सी र सुपर एजेन्सी तोकेको छ। ग्राहक बढाउँदै लगे यी प्रत्येकले कमिसन पाउँछन्। स्रोतका अनुसार कम्पनीका झन्डै ४० जना एजेन्सी छन् भने दोलखा र पोखरामा सुपर एजेन्सीहरू छन्। सुपर एजेन्सीले कम्पनीसँग जोडिदिएबापत १५ प्रतिशत कमिसन पाउँछ भने अन्यले क्रमशः १० र ५ प्रतिशत। तर, कम्पनीका प्रमुख गिरी भने आफ्नो कम्पनीले नेटवर्क शैलीमा व्यापार नगरेको दाबी गर्छन्। भन्छन्, "कम्पनीका सबै कुरा बताउन मिल्दैन। तर, सेवा गर्नेलाई केही प्रतिशत कमिसन दिनु नेटवर्किङ् होइन।" अनौठो त के छ भने किसानले आफ्नो बिरुवा अरू कुनै नयाँ किसानलाई जति रुपियाँमा बेचे पनि प्रतिबिरुवा १० रुपियाँका दरले पामलाई कमिसन बुझाउनुपर्छ। गिरी भने यसलाई कम्पनीको आन्तरकि नियम भन्छन्।
उनले स्यूचाटारका रामेश्वर भट्टराईलाई मुख्य एजेन्सीका रूपमा कार्य गर्ने जिम्मेवारी दिएका छन्। उनीहरूबीच भएको सम्झौतापत्रमै मुख्य एजेन्सी लिएबापत दोस्रो पक्षले १० प्रतिशत कमिसन प्राप्त गर्ने उल्लेख छ। १६ महिनाअघि झन्डै चार लाख रुपियाँको लगानीमा पाँच रोपनी क्षेत्रफलमा ६ हजार बिरुवा लगाएका भट्टराईको बारीमा अहिले मुस्किलले एक हजार बिरुवा मात्रै बाँकी छ। भट्टराई भन्छन्, "प्रलोभनमा परेर मेरो झन्डै चार लाख रुपियाँ फस्यो।"
गोदावरीकी कल्पना सिलवालले ०६८ भदौमा ६ हजार घिउकुमारी का बिरुवा लगाउँदा २ लाख ४० हजार रुपियाँ खर्चिन्। त्यसबापत पामको मुख्य एजेन्ट चन्द्रकला लिम्बू र देवकुमारी लिम्बूले पाँच प्रतिशत अर्थात् १२ हजार रुपियाँ कमिसन प्राप्त गरे। तागेरा इन्टरनेसनल नामक कम्पनी नै खोलेर बसेकी देवकुमारी आफैँले पनि चितवनमा तीन बिघा र इलाममा १५ रोपनीमा घिउकुमारी र गोदावरीमा १३ रोपनीमा स्टेभिया खेती गरेकी छन्। उनीमार्फत अहिले गोदावरीस्थित नारी शक्ति बचत तथा ऋण सहकारी संस्थाका अन्य सात सदस्यले पनि घिउकुमारी मा लगानी गरेका छन्। अर्थात्, ती सबैलाई सदस्य बनाएबापत देवकुमारीले कमिसन पाउँछिन्।
कल्पनाचाहिँ तिनैमध्येकी एक हुन्, जसले दुई रोपनीमा लगाएको घिउकुमारी ६ महिनामै सखाप भयो। ०६८ भदौमा लगाएको बिरुवा सोही वर्षको माघमा परेको तुषारोले खाइदियो। पछि कम्पनीले बाँकी रहेको बिरुवा फिर्ता त लियो तर उनले गोडमेल, ज्याला र अन्य खर्च गरी झन्डै दुई लाख रुपियाँ गुमाइन्। अहिले कल्पनाले सोही ठाउँमा १६ रोपनीमा स्टेभिया खेती गरेकी छन्। भन्छिन्, "फाइदा हुन्छ भन्ने सुनेर लगानी गरेकी हुँ।"
लामो समयसम्म घिउकुमारी कै कारोबारमा लागेको घार इन्टरनेसनल पनि नेटवर्किङ्कै शैलीमा चलिरहेको संस्था हो। यसका प्रमुख रुदे्रश्वर राई तिनै हुन्, जसले आठ वर्षअघि नेटवर्क कम्पनी एलो नेपाल चलाएर घिउकुमारी खेती गर्ने भन्दै किसानहरूको लाखौँ रुपियाँ डुबाइदिएका थिए। उनको कम्पनीमा ग्राहक बनेर पुगेको नेपाल प्रतिनिधिसँग राईले एक किसानले अर्को किसानलाई कम्पनीसँग जोडिदिए १० प्रतिशत कमिसन दिने आश्वासन दिए। घिउकुमारी खेती गररिहेका उनी अहिले भने उस्तै शैलीमा अश्वगन्धाको खेती विस्तारमा लागिपरेका छन्।
बुटवलमा रहेको सहारा एनर्जी एन्ड एग्रो इन्डस्ट्रीले पनि किसानहरूलाई घिउकुमारी र स्टेभियाको बिरुवा बेचिरहेको छ। नेटवर्क शैलीमै व्यापारलाई विस्तार नगरे पनि कम्पनीको निहित उद्देश्य त्यही देखिन्छ। कम्पनीका प्रबन्ध-निर्देशक राजेश केसी आफूहरूले नेटवर्क शैलीमा व्यापार नगरेको तर कम्पनीसँग किसान जोडिदिनेलाई केही सहुलियत दिने गरेको बताउँछन्। उनका अनुसार उक्त कम्पनी अन्तर्गत झन्डै डेढ सय किसानले करबि ७० बिघाभन्दा धेरै क्षेत्रफलमा स्टेभिया र घिउकुमारी खेती गररिहेका छन्। औसतमा उक्त कम्पनीमार्फत किसानले झन्डै चार करोड रुपियाँ लगानी गरसिकेका छन्। घिउकुमारी को एउटा बिरुवालाई २० रुपियाँमा बेच्ने र किसानबाट ६ रुपियाँमा किन्ने उक्त कम्पनीको नीति किसानको हितमा नै रहेको केसी दाबी गर्छन्। भन्छन्, "हामी अरूजस्तो ठगी धन्दामा विश्वास गर्दैनौँ।"
मौसम र जग्गाको जाँच नै नगरी भइरहेको खेती, प्राविधिक परामर्शको अभाव र कमाउने उद्देश्य मात्र बोकेका निजी कम्पनीले देखाउने प्रलोभनको सिकार किसानहरू भइरहेका छन्। नेपाल कृषि अनुसन्धान परिषदमातहतको तरकारी तथा बीउबिजन कार्यक्रमका प्रमुख भरत पौडेल स्वदेशी बजार नभएको र विदेशी बजारमा निर्यात हुने सम्भावना नै नभएको घिउकुमारी र स्टेभियाको खेती गर्न उक्साएर किसान फसाउने काम भइरहेको बताउँछन्। भन्छन्, "बिरुवा मात्रै बेचुन्जेल चल्ने, केही मानिस धनी बन्ने र किसानहरू मर्ने खेल हो यो।"
जो ठगिए
सामुदायिक वनबारे विद्यावारिधि गरेकी काठमाडाँै किमडोलकी अनिता मानन्धरले दुई वर्षअघि मकवानपुरको बसामाडीमा घिउकुमारी खेती सुरु गरनि्। घिउकुमारी लगाउनेको बढ्दो संख्या देखेर नर्सरीका रूपमा साढे दुई बिघा जग्गामा उनले २० हजार बिरुवा रोपेकी थिइन्। कुल १७ लाख रुपियाँ लगानी गरेकी उनले जब घिउकुमारी को बजार नै नरहेको पत्तो पाइन्, तब कौडीको मोलमा अधिकांश बिरुवा बेचिदिइन्। अहिले पनि उनको बारीमा झन्डै दुई हजार बिरुवा बाँकी छन्। घिउकुमारी को असफल लगानीबाट उनले निकालेको निष्कर्ष एउटै छ, "नेपालमा यसको बजार छैन र अन्तर्राष्ट्रिय बजारमा हामी प्रतिस्पर्धा गर्न सक्दैनौँ।" दुई वर्षपछि त्यसबाट हात झिक्दा उनले झन्डै १७ लाख रुपियाँ गुमाइसकेकी थिइन्।
दैलेख, मेहलतोलीका भीमप्रसाद रेग्मी पनि एक पीडित हुन्। आठ रोपनी क्षेत्रफलमा घिउकुमारी को बिरुवा लगाएका उनले दुई वर्ष दुई महिनाको अवधिमा ७ लाख १३ हजार रुपियाँ लगानी गरसिके। कामदारको ज्याला र मासिक १६ हजार रुपियाँ तलब दिएर राखेको कर्मच्ाारीको दुई वर्षको हिसाब जोड्दा झन्डै १० लाख रुपियाँ खर्च पुग्छ। तर, उनको अहिलेसम्मको आम्दानी ७० हजार रुपियाँ मात्रै हो। जसमध्ये उनको हातमा जम्मा १५ हजार रुपियाँ परेको छ। बाँकी ५५ हजार रुपियाँ कम्पनीले कहिले दिने हो, पत्तो छैन। कम्पनीले सम्झौता अनुरूप काम नगरििदँदा आफूले झेल्नुपरेका समस्याको लामै फेहरस्ति छ उनीसँग। भन्छन्, " घिउकुमारी ले घर न घाटको बनायो, वाषिर्क १२ मुरी मकै र १३ मुरी गहुँ फल्ने खेत त्यसै खेर गयो।"
बुटवल, शंकरनगरका जगन्नाथ गौतम छँदाखाँदाको फर्निचर उद्योग बेचेर मासिक लाखौँ आम्दानी हुने लोभमा घिउकुमारी खेतीमा हाम फाले। अहिले उनलाई यही खेती निल्नु न ओकल्नु भएको छ। ०६८ जेठमा पाँच हजार घिउकुमारी का बिरुवा रोपेका गौतमले सोही वर्षको फागुनमा आफ्नो खेतीलाई विस्तार गरे। पाम एग्रोटेकबाट बिरुवा किनेका गौतम त्यतिबेला खुसी भए, जब एउटै बिरुवाले ८ देखि १० किलोसम्मको पात दिन थाल्यो। तर, अघिल्लो वर्षको जेठमा बेच्न ठिक्क भएका पात किन्नका लागि उनले कम्पनीलाई बारम्बार ताकेता पनि कम्पनीले टेरपुच्छर लगाएन। अन्ततः जे नहुनु थियो, त्यही भयो। झन्डै ५० क्विन्टल पात बारीमै कुहियो।
भक्तपुरका पुण्यराम राजलवट र उनका दुई साथीले चितवनको शरदपुरको ११ कट्ठामा लगाइएको घिउकुमारी बाट आठ महिनासम्म कुनै फाइदा लिन सकेनन्। पानी नै नचाहिने ठाउँमा खेती गर्न दिइएको सल्लाह मानेका उनीहरू बिरुवा मर्न थालेपछि हतास भए। "सम्झौता गर्दा पानी नचाहिने भनेको कम्पनीले पछि पो पानी जरुरी छ भन्न थाल्यो," राजलवट भन्छन्, "अनि, बिरुवा मर्ने र बोट बढ्दै नबढ्ने भएपछि बिरुवा सार्ने निष्कर्षमा पुगेँ। त्यसपछि ६ वर्षका लागि भाडामा लिने गरी गरिएको सम्झौता आठ महिनामै रद्द गरें।"
झन्डै ६ वर्ष दक्षिण कोरियामा मजदुरी गरेर फर्केका सामाखुसीका माधव भेटवालले मनग्गे आम्दानी हुने सुनेर घिउकुमारी मा लगानी गरे। पाम एग्रोटेकसँग सम्झौता गरेर खेती सुरु गरेका भेटवाल एक वर्षमै आत्तिए। उनले वाषिर्क ५० हजार रुपियाँ तिर्ने गरी पश्चिम चितवनको गीतानगरमा २२ कट्ठा जग्गा भाडामा लिएका थिए। पहिलो चरणमा सात कट्ठामा बेर्ना लगाएका उनले कम्पनीले भनेझै ६ महिनामा एक पैसो आम्दानी त गरेनन् नै, हरेक महिना बढ्दो खर्च र बिरुवा मर्दै गएको देखेर आत्तिए। एक वर्षसम्म उस्तै गति रहेपछि आजित भएका भेटवालले ६ वर्षका लागि भाडामा लिने गरी गरेको सम्झौता जग्गाधनीसँग अनुनयविनय गरेर तोडे र खेतीबाट हात झिके। भेटवाल भन्छन्, "महिनैपिच्छे लगानी र बजारको शून्य सम्भावना देखेर मैले झन्डै पाँच लाख रुपियाँ माया मारेर खेती जग्गाधनीलाई नै सुम्पेँ। अघिल्लो साता माधवले छाडेको जग्गामा पुग्दा जग्गाधनी खेम दाहाल पसिना बगाइरहेका थिए। भन्दै थिए, "बिचरा आम्दानी गर्छु भनेर त्यतिका धेरै पैसा डुबाए, अन्तमा रित्तो हात फर्के।"
नारायणगढका प्रह्लाद प्रधान, जसले १४ महिनामा १३ लाख डुबाए। भन्छन्, "लाखौँ आम्दानी हुन्छ भन्दै फसाइयो।" सुरुका किसान चिनेजानेकालाई घिउकुमारी को खेतीमा लागेर लगानी नडुबाउन सल्लाह दिँदै हिँड्छन्। १५ कट्ठामा खेती गरेकी गीतानगरकी मनु कोइरालाको अहिलेसम्म ज्याला र अन्य सबै खर्च जोड्दा आठ लाख रुपियाँ खर्च भइसक्यो। तर, यस अवधिमा उनको आम्दानी भनेको १ लाख ३० हजार रुपियाँ मात्रै हो। कोइराला भन्छिन्, "त्यही पात बेच्न पनि सयौँपटक फोन गरेर कराउनुपर्‍यो।" समयमै पात नकिनिदिनाले उनको बारीमा झन्डै ५० क्विन्टल पात कुहियो। बल्लतल्ल पात त बेचे पनि पूरै भुक्तानी कहिले हुने हो, पत्तो छैन। भन्छिन्, "आफ्नो उत्पादनको पैसा लिन पनि सास्ती झेल्नुपर्छ।"
(साथमा, जनक नेपाल/नेपालगन्ज, भीम घिमिरे/विराटनगर, विजय तिमल्सेना/हेटौँडा)
काभ्रेको नारायणस्थानका मिलन टासी लामा, ५०, अब आफ्नो मूल थलो र्फकन नसक्ने भएका छन्। विदेशबाट आयातीत घिउकुमारी का जुस र अन्य उत्पादन नेपालमा बेच्दै आएको रोबियस इन्टरनेसनलमा उनका जेठा छोरा विजय लामा बजार प्रतिनिधिको काम गर्थे। भोजपुरका रुद्रेश्वर राईको नेतृत्वमा रहेको समूहले झापामा कम्पनी खोलेर घिउकुमारी को खेतीका लागि नेटवर्किङ् कम्पनीको प्रस्ताव ल्यायो। एकपटक १ लाख ३५ हजार लगानी गरे तीन वर्षपछि सात लाख फाइदा लिन सकिने भन्दै अघि सारएिको योजना विजयलाई मन पर्‍यो। उनले बुबालाई फकाए। गाउँमै साबुन उद्योग चलाएर बसिरहेका टासीले नमान्ने कुरै थिएन। उनी आफ्नो उद्योग बन्द गरेर झापा हान्निए।
उनले आफ्नो, छोराको र छोराको साथीभाइको समेत गरी पाँच लाख जम्मा गरिदिए। ढुंगामा सुन फलाउँछाँै भन्ने नारा दिएर ०६३ मा खुलेको एलो नेपाल प्रालि नामको नेटवर्किङ् कम्पनीले दमकमा कार्यालय खोल्यो। पत्याएर छिटो रकम जम्मा गरेकाहरूलाई सदस्यता विस्तारमा हौस्याउन पाँचवटा मोटरसाइकल पनि बाँड्यो। रतुवा माई वृक्षरोपण आयोजनाको आठ बिघा जमिन लिएर खेती थालेको एलोको सदस्यताको नियम कडा थियो। जस्तो : १ लाख ३५ हजार जम्मा गर्ने, आफू वा आफूले खटाएका एक जनालाई साइटमा दैनिक काम गर्न पठाउनुपर्ने।
घिउकुमारी हुर्काउन थालेको दोस्रो वर्षमा कार्यक्रममा सुस्तता आयो। तेस्रो वर्ष नलाग्दै एलो निष्त्रिmय भयो। कार्यालय बन्द भयो। सञ्चालक बेपत्ता भए। केरखास्थित उक्त आयोजनाका निमित्त प्रमुख भक्ति गौतम भन्छन्, "पाँच वर्षका लागि लिएको जग्गा तीन वर्ष नपुग्दै छाडेर गयो।" घिउकुमारी मा लागेर घाटा बेहोरेका विजय अहिले काभ्रेको नार्केमा शिक्षण गररिहेका छन्। भन्छन्, " घिउकुमारी ले जिन्दगी नै बर्बाद पार्‍यो। झापा धरमपुरस्थित लक्ष्मीनारायण माविका भूपू प्रधानाध्यापक भवानीप्रसाद नेपालले पनि त्यही मेसोमा डेढ लाख गुमाए। भन्छन्, "रिटायर्ड भएपछि खाने मेलो होला भनेको, थाङ्नामै सुताए।" रोबियस नेपालका सञ्चालक रविन तामाङ काठमाडौँमा पक्राउ परेपछि एलो नेपाल पनि निष्त्रिmय भएको धरमपुरका अम्बिका सिटौला बताउँछन्।
  © नेपाल साप्ताहिक