Monday, July 16, 2012

उफ् ग्यास्ट्रिक ! - souryadaily

-प्रवीण ढकाल



सहरीकरणसँगै नेपालीको जीवनशैलीमा पनि परिवर्तन आइरहेको छ । तर, अधिकांश नेपालीको खानपिनशैली व्यवस्थित र नियमित हुन सकिरहेको छैन । खानपिनको अनियमितता र जे पायो त्यही खाने बानीका कारण अधिकांश मानिस ग्यास्ट्रिकको समस्याले पिरोलिँदै आएका छन् । खाना खानेबित्तिकै पेट दुख्ने, मुखबाट अमिलो पानी आउने, लामो समयसम्म खाना नखाँदा पेट दुख्ने, झुसिलो डकार आउनेलगायत समस्याको गुनासो अधिकांश नेपालीको छ । त्यसैले ग्यास्ट्रिक नेपालीको साझा समस्याका रूपमा परिचित हुँदै आएको छ ।
वीर अस्पतालका फिजिसियन डा. भुपेन्द्र बस्नेतका खानापानको अनियमितता, धुम्रपान तथा मद्यपानको लत, आफूखुसी पेनकिलरलगायत ग्यास्ट्रिकको औषधि सेवनका कारणले आमनागरिकमा ग्यास्ट्रिक समस्या दैनिक बढ्दो छ । पेटमा रहेका विभिन्न ग्रन्थीबाट आवश्यकताभन्दा बढी रसहरू तथा एसिडहरू निस्कनु, आमाशय सुन्निनु र त्यसैका कारण सानो आन्द्रा तथा पेटमा घाउ हुनु नै ग्यास्ट्रिक रहेको उनले बताए । ‘अहिले स्वास्थ्य संस्थामा आउने बिरामीमध्ये २० प्रतिशतले पेटको समस्या बोकेका हुन्छन्, अधिकांशको समस्या ग्यास्ट्रिक नै हुन्छ,’ उनले भने, ‘रेस्टुरेन्ट तथा भोजभतेरको मसालेदार खाना अनि व्यस्तताका कारण खाना खाने समय नियमित गर्न नसक्दा मानिसमा यो समस्या तीव्र रूपले भित्रिरहेको छ ।’
चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा. प्रदीपमान वैद्य पनि अव्यवस्थित खानपान, मद्यपान तथा धुम्रपान, बढी मात्रामा चिल्लो–पिरो र कफीको सेवनले आममानिसमा ग्यास्ट्रिकको समस्या बढिरहेको सुनाउँछन् । उनका अनुसार धुम्रपानको निकोटिनलगायत अधिकांश रसायनहरूमा ग्यास्ट्रिक गराउने तत्त्व हुन्छन् । चिल्लो र पीरोयुक्त खानाले ग्यास्ट्रिक गराउने विश्वास आममानिस रहे पनि खासमा यसले सोझै ग्यास्ट्रिक गराउने नभई पेटको अल्सरलाई निको हुन नदिने र अल्सरको जीवाणुलाई सक्रिय बनाउन सहयोग पुर्‍याउँछ । उनले मानसिक तनाबले पनि ग्यास्ट्रिक रोग निको हुन लामो समय लाग्ने बताए ।
खाली पेटमा लामो समय बस्दा पेटमा रहेका ग्रन्थीहरूबाट बढी निस्कने एसिडले ग्यास्ट्रिकको समस्या सुरु गर्छ । चिकित्सकहरूले ग्यास्ट्रिक गराउने प्रमुख तत्त्वका रूपमा हेलिकोब्याक्टर पाइलोलाई पनि लिएका छन् । शैचालय गएपछि तथा खाना खानुअघि र पछि राम्ररी साबुन पानीले हात नधुँदा, दूषित तथा खुला राखिएको खाना तथा बासी खानाबाट यो जीवाणुको संक्रमण हुने प्राध्यापक डा. वैद्यले बताए । हेलिकोब्याक्टर पाइलोले पेटका आन्द्रा तथा आमाशयमा असर गर्ने भएकाले मानिसले यसबाट बच्न सफासुग्घर र शुद्ध तथा सन्तुलित खानामा ध्यान दिनुपर्ने चिकित्सकहरूको भनाइ छ । चिकित्सकहरूका अनुसार ग्यास्ट्रिकबारे आममानिसमा गलत धारणा छ । अधिकांश मानिसले पेट दुखेकै भरमा ग्यास्ट्रिक भएको अनुमान गर्दै आफूखुसी औषधि किनेर सेवन गर्ने गरेका छन् । डा. बस्नेत चिकित्सको सिफारिसविना खाली पेटमा पनि पेनकिलरलगायत औषधि खाइदिने बानीले पेटको अल्सर बढाउने बताउँछन् ।
चिकित्सकहरूका अनुसार खानपिनमा नियमितता दिने र मद्यपान तथा धुम्रपान छाड्ने हो भने धेरैको समस्या आफैँ समाधान हुन्छ । आफूखुसी औषधि सेवन गर्ने बानीलाई हटाउन डा. बस्नेत सुझाउँछन् । उनका अनुसार लामो समयसम्म पेट दुखिरहे डाक्टरलाई देखाउनुपर्छ । ग्यास्ट्रिक भएर बसिरहेका धेरैमा अल्सरपछि क्यान्सरसम्म भएको पाइएकाले समयसमयमा चिकित्सकलाई देखाइरहनुपर्छ । उनले धेरै मात्रामा कफी तथा चुरोट नखान पनि सुझाब दिए ।
कारण
समयमा भोजन नगर्नु
अमिलो पीरो, नुनिलो, बासी खाना बढी खानु
लामो समयसम्म पेनकिलर (नदुख्ने औषधि) को सेवन गर्नु
अत्यधिक मसलादार खाना खानु
अत्यधिक मद्यपान तथा धुम्रपान गर्नु
मानसिक तनाब
आमाशयमा संक्रमण तथा अन्य रोग लाग्नु
हेलिकोब्याक्टर पाइलोले सताउनु