Monday, July 16, 2012

किन गए वैद्य चीन भ्रमणमा ? - nagariknews



पूर्ण बस्नेत, हङकङ, साउन १- विद्रोहबाट सत्ता कब्जा गर्ने उद्‍घोष सहित नयाँगठित नेकपा-माओवादीको अध्यक्ष बनेको महिना नबित्दै मोहन वैद्य चीन भ्रमणमा निस्केकोमा काठमाडौंमा धेरैले आश्चर्य मानेका छन्। बेइजिङका लागि वैद्य नयाँ राजनीतिक पाहुना होइनन्, तर नयाँ पार्टी अध्यक्षका हैसियतमा उनको दोस्रो चीन भ्रमणको बेग्लै अर्थ रहनेछ।
  चिनिया कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका दक्षिण एसिया मामिला प्रमुख आइपिङको दुई साताअघिको निमन्त्रणा स्वीकार गरी उनी तत्कालै चीन गएका हुन्। हतारमा तय गरिएको भ्रमणको एजेन्डा नै थाहा नभएको भन्दै वैद्यले आइतबार राति चीन उड्नुअघि आफ्नै पार्टीभित्र आक्रोश सामना गर्नुपर्‍यो। बेइजिङले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग पार्टी एकताका लागि दबाब दिने संकेत पाएरै हुनुपर्छ, छुट्टै पार्टी गठन गर्न हतारिएको एउटा पक्ष वैद्य चीन गएकोमा निकै असन्तुष्ट देखिएको छ। काठमाडौंमा आइपिङले दाहाल र वैद्यसँगको छुट्टाछुट्टै भेटमा पार्टी विभाजनको कारण सोधेर एकताका लागि सदभावसमेत देखाएका थिए। सम्भवतः दाहालसँग मिलेर एकीकृत पार्टीलाई राष्ट्रिय धारमा हिँडाउन विशेष आग्रह गर्ने तयारी अनुसार वैद्यलाई तत्कालै बेइजिङ बोलाइएको हो। त्यसो होइन भने दाहाललाई समेत दबाब दिने उद्देश्यले वैद्य नेतृत्वको माओवादी र चिनियाँ कम्युनिस्ट पार्टीबीच सम्बन्ध जोडिएको मानिनेछ।
पार्टी विभाजनअघि बेइजिङ पुगेका नेत्रविक्रम चन्दलाई एकीकृत माओवादीमै रहेर आफ्ना एजेन्डा लागू गर्न आग्रह गरिएको थियो। चन्दले पार्टी फुटको स्पष्ट संकेतसहित सहयोग मागे पनि माओवादी तत्कालै विभाजन हुनेमा बेइजिङका अधिकारी विश्वस्त थिएनन्। तर बाबुराम भट्टराईलाई प्रधानमन्त्रीमा निरन्तरता दिएर दाहालले वैद्य पक्षलाई अर्को पार्टी गठन गर्न बाध्य पारेको कतिपय चिनियाँ अधिकारीले अर्थ्याउन थालेका छन्।
'राष्ट्रियतासम्बन्धी एजेन्डामा प्रधानमन्त्री भट्टराईले पार्टी नीति नाघेको र उनलाई हटाउन अध्यक्ष अग्रसर नभएको' वैद्य पक्षको भनाइमा चिनियाँ अधिकारी असहमत देखिँदैनन्। संविधान सभा विघटन भट्टराई सरकारलाई निरन्तरता दिएर माओवादीमा विभाजन निम्त्याउने र दाहाललाई समेत कमजोर सावित गरी राजनीतिक अस्थिरता लम्ब्याउने चाल थियो भन्ने तर्कमा उनीहरू झन् गम्भीर देखिन्छन्।

वैद्यसँगै चीन गएका पोलिटब्युरो सदस्य इन्द्रमोहन सिग्देल सशस्त्र युद्धमा विश्वास राख्ने माओवादीको अन्तर्राष्ट्रिय सञ्जाल रिमनिकट हुन्, जसले शान्ति प्रक्रिया सुरु भएदेखि वैद्य पक्षलाई पार्टी फुटाउन उक्साउँदै आएको थियो। तर सुरुमै चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध जोड्नुको अर्थ नयाँ माओवादी रिमबाट टाढिएर शान्ति र संविधान निर्माणको बाटोमै फर्किने संकेत पनि हो, जसले पार्टी एकताको आधारसमेत तयार गर्ने केहीको अनुमान छ।
अढाइ वर्षअघि अध्यक्ष दाहालको नेतृत्वमा बेइजिङ पुगेको एकीकृत माओवादीको प्रतिनिधि मण्डलले चिनियाँ कम्युनिस्ट पार्टीसँग औपचारिक सम्बन्ध स्थापना गरेको थियो। पार्टी उपाध्यक्षको हैसियतमा उक्त प्रतिनिधि मण्डलमा रहेका वैद्यले त्यसबेला चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति हु जिन्ताओसहितका नेताहरूसँगको छलफलमा धेरै सैद्धान्तिक विषयमा असहमति जनाएका थिए।
दसदिने भ्रमणको क्रममा वैद्य यसपालि पनि चीनको आधुनिक विकास हेरेर प्रभावित हुनेछन्। तर सैद्धान्तिक विषयमा उनले चिनियाँ नेताहरूलाई झन् टाढा पाउनेछन्। देङ सियाओपिङको राजनीतिक सुधार र आर्थिक खुलापनको अवधारणामा अगाडि बढिरहेको चिनियाँ नेतृत्वसँग अझै माओवाद र सांस्कृतिक क्रान्तिको रटानमा रहेका वैद्यको कुनै सैद्धान्तिक साइनो लाग्ने देखिँदैन।
परम्परावादी कम्युनिस्ट कार्यनीति र रणनीतिगत बहस गरेर समय सिध्याउनुभन्दा माओवादी नामदेखि एकल जातीय पहिचानसहितको संघीयतासम्बन्धी एजेन्डालाई व्यावहारिक बनाउन बेइजिङले वैद्यलाई सिधै आग्रह गर्न सक्नेछ। वैद्य पक्षले जातीय पहिचानको एजेन्डामा कडा अडान लिएर संविधान सभा विघटनमा बल पुर्‍याएको र त्यही जगमा पार्टी विभाजन गरेको चिनियाँ अधिकारीले सायद भुलेका छैनन्। तर उत्तरको शक्तिले दिएको वैधानिकताले वैद्यलाई नयाँ पार्टी स्थापनाको औचित्य सावित गर्न सहज हुनेछ।
दाहालको बुझाइमा वैद्यको पार्टीले बढी राष्ट्रवादी भएको भ्रम दिएर बेइजिङको समर्थन लिने प्रयास गरे पनि त्यो लामो समय टिक्ने आधार छैन। तत्कालका लागि भट्टराईलाई साथ दिनुको विकल्प नदेखेका दाहालमाथि यसले थप दबाब सिर्जना गर्न सक्नेछ।