Wednesday, July 11, 2012

हर्बोका अध्यक्ष र उपाध्यक्ष पक्राउ - ekantipur

लोकमणि राई
काठमाडौ, असार २७ - प्रहरीले अवैध नेटवर्क मार्केटिङ गरी सर्वसाधारणलाई ठगी गर्ने हर्बो इन्टरनेसनलका अध्यक्ष गोकुल श्रेष्ठ र उपाध्यक्ष पुष्पराज पुरुषलाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले श्रेष्ठलाई नयाँबानेश्वरस्थित भाडाको घरबाट र पुरुषलाई महाराजगन्जबाट पक्राउ गरेको हो । उनीहरूले अवैध नेटवर्क मार्केटिङ गरी कञ्चनजंघा टी स्टेटले उत्पादन गरेको गि्रन टी ८ गुणा महँगोमा बेच्दै आएका थिए । उनीहरूको नेटवर्क मार्केटिङ सञ्जालमा करिब ५ लाख मानिस सदस्य थिए ।
हर्बोका अन्य सञ्चालक वसन्त पण्डित, नेत्रपाणि बाँस्तोला र पुनप्रसाद सुवेदी 'प्रभात' भने अझै फरार छन् । 'अन्य सञ्चालक खोजी भइरहेको छ,' सीआईबीका डीएसपी ओम अधिकारीले भने ।
सीआईबीले मंगलबार नै श्रेष्ठ र पुरुषलाई महानगरीय प्रहरी परिसर हनुमानढोकामा पठाएको छ । सीआइबीबाट अनुसन्धान प्रतिवेदन प्राप्त भएपछि परिसरले उनीहरूलाई कानुनी कारबाहीको प्रक्रियामा लैजान्छ ।
करिब ४ महिनाअघि कान्तिपुरले हर्बोको ठगी प्रकरण र त्यसले रातारात धनी बनाउने प्रलोभनमा सिर्जना गरेको चरम सामाजिक विग्रह सार्वजनिक गरेको थियो । त्यसलगत्तै सीआइबीले हर्बोबारे अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग र सीआईबीले हर्बोको नयाँबानेश्वरस्थित केन्द्रीय कार्यालयमा छापा मारी कम्प्युटर, हार्डडिस्क र अन्य कागजात नियन्त्रणमा लिएको थियो । उक्त छापा गैरकानुनी भएको दाबी गर्दै हर्बो र अन्य नेटवर्क मार्केटिङ कम्पनीले विभाग र सीआईबीलाई १ दर्जन मुद्दा लगाएका थिए ।
पाटन पुनरावेदन अदालतले विभाग र सीआईबीलाई कानुन बमोजिम बाहेक हर्बोको चलअचल सम्पत्तिमा नोक्सानी नपुर्‍याउन र कानुन बमोजिम बाहेक सञ्चालकलाई पक्राउ नगर्न/नगराउन आदेश दिएको थियो । उक्त आदेशले विभाग र सीआईबीलाई हर्बो र यसका सञ्चालकमाथि कानुन अनुसार छानबिन र कारबाही गर्न सजिलो बनाइदिएको थियो ।
गत चैत १६ गते सर्वोच्च अदालतका न्यायधीशद्वय सुशीला कार्की र भरतराज उप्रेतीको संयुक्त इजालसले 'नेटवर्क मार्केटिङ व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका २०६६' खारेज नगर्न माग गर्दै परेको रिट खारेज गरेको थियो । त्यससँगै सबै प्रकारका नेटवर्क मार्केटिङ व्यवसाय अवैध बनेका थिए ।
सर्वोच्चको उक्त फैसला भएकै दिनदेखि हर्बोका सञ्चालक फरार थिए । सीआईबी त्यही बेलादेखि उनीहरूलाई खोजिरहेको थियो । तत्काल गिरफ्तारीबाट जोगिन हर्बोका सञ्चालक भागेर मलेसिया पुगेका थिए ।
हर्बोको ठगी विरुद्ध पाँच जनाले महानगरीय प्रहरी परिसरमा उजुरी गरेका छन् । उजुरी गर्नेमा  हिरा कुर्मी, मञ्जु राजवंशी, अमिर गुरुङ, रवि श्रेष्ठ र शिव राई छन् । कुर्मीले हर्बोले आफूलाई २ पटक गरी ६३ हजार रुपैयाँ, राजवंशीले २८ हजार रुपैयाँ र गुरुङ, श्रेष्ठ र राईले संयुक्त रूपमा २६ लाख रुपैयाँ ठगी गरेको दाबी गरेका छन् । कुर्मीले वैशाखमा, राजवंशीले जेठ २ र गुरुङ, श्रेष्ठ र राईले जेठ २९ गते मुद्दा दायर गरेका हुन् ।
पीडितहरूले 'भविष्यमा अत्यधिक पैसा कमिन्छ, जति सदस्य थप्यो त्यति धेरै कमिसन पाइन्छ' भन्दै हर्बोले ठगी गरेको उल्लेख गर्दै उजुरी गरेका हुन् । 'भविष्यमा के के न हुन्छ भन्दै प्रलोभन दिए, ७५ जना ग्राहक बनाए २५ हजार रुपैयाँ पर्ने मोबाइल सेट, २ सय ५० ग्राहक बनाए मोटरसाइकल र ७ सय १५ ग्राहक बनाए चार आना जग्गामा बनेको घर उपहार पाइन्छ भन्दै ठगे भनेर पीडितले उजुरी गरेका छन्,' प्रहरी स्रोतले भन्यो ।
स्रोतका अनुसार हर्बोले पैसा फिर्ता दिने प्रलोभन दिएको र छिट्टै हर्बोको कार्यालय खुल्ने र कारोबार सुरु हुने झुटो आश्वासन दिएकाले धेरै पीडितले उजुरी नगरेको बताएको छ । त्यस बाहेक हर्बो विरुद्ध उपभोक्ता हित संरक्षण मञ्चले गृह मन्त्रालयमा, उपभोक्ता अधिकार अनुसन्धान मञ्चले विभागमा र कम्तीमा १ दर्जन पीडितले हेलो सरकारमा उजुरी गरेका थिए ।