Tuesday, July 17, 2012

ओहो, कस्तो श्रीमान् पाएछु ! - saptahik



 
 
 - अश्विनी कोइराला
विश्व मानचित्रमा नेपाल अत्यधिक भ्रष्टाचार हुने मुलुकमा पर्छ। भ्रष्टाचारको यो कहालीलाग्दो सूचकाङ्कलाई घटाउने सबैभन्दा सक्रिय  भूमिका न्यायाधीस एवं प्रहरी प्रशासनले खेल्नुपर्ने हुन्छ। जानकारहरूका अनुसार नेपालमा यिनै न्यायाधीश र प्रहरी बढी भ्रष्ट छन्। त्यसैले पनि  भ्रष्टाचारसम्बन्धी जतिसुकै कडा कानुन ल्याए पनि भ्रष्टचार कम हुन सकेको छैन। यद्यपि यही भ्रष्टहरूका बीचमा केही यस्ता न्यायाधीस एवं  प्रहरी अधिकृत छन्, जसले विधिको शासन स्थापित गर्ने प्रयास गरिरहेका छन्। यहाँ नेपाल प्रहरीका चर्चित प्रहरी अधिकृत एसएसपी रमेश  खरेलको भित्री पाटो खोलिँदैछ, जो २२ वर्षे कार्यकालमा कहिल्यै कुनै शक्तिका सामु झुकेनन्, न आफैं कुनै गलत क्रियाकलापमा संलग्न भए।  एसएसपी खरेलकी जीवनसाथी रञ्जु खरेल त्यसको साक्षी छिन्।

आफूलाई रमेश खरेलकी श्रीमतीका रूपमा मूल्यांकन गर्दा कस्तो महसुस हुन्छ ?

एउटा लक्ष्मण रेखा कोरिन्छ। म यस्तो व्यक्तिकी श्रीमती हुँ, जसले कहिल्यै गल्ती गर्दैन भन्ने छाप जनमानसमा परेको छ। यसले मेरो छाती  चौडा हुन्छ।

उहाँ साँच्चैको इमान्दार प्रहरी हो कि मानिसमा त्यस्तो छाप मात्र परेको हो ?

नेपालजस्तो भ्रष्ट व्यक्तिहरूको बोलावाला भएको मुलुकमा इमान्दार प्रहरीको छवि बनाउन कति मुस्किल छ होला ? जसको जति नाम हुन्छ,  सानो कुराले पनि त्यसको त्योभन्दा बढी बद्नाम हुन्छ। उहाँले यसरी काम गर्नुभयो कि आज रमेश खरेलतर्फ सबैका आँखा सोझिएका छन्।  यसमा दुई थरी मानिस छन्, पहिलो मिडिया र आममान्छे, जसले रमेश खरेलले गल्ती नगरोस् भनेर चिन्ता गर्छन्। अर्को उहाँका समकालीन  एवं ईष्र्या गर्ने व्यक्तिहरू जसले रमेशले सानो गल्ती गरे पनि हुन्थ्यो भन्नेहरू छन्। आखिर यस्तो वातावरण किन पैदा भयो ? किनभने  यसअघि कसैले पनि यस्तो स्टेट फरवर्ड काम गर्ने हिम्मत गरेन।

तपाईंलाई कहिले विश्वास भयो, रमेश खरेल इमान्दार प्रहरी अधिकृत हो ?

मेरो २० वर्षको उमेरमा मागी विवाह भएको हो। उहाँ भर्खरै इन्स्पेक्टर हुनुभएको  रहेछ। त्यो बेला हामी संयुक्त परिवारमा थियौं, त्यसैले खचर् को त्यति समस्या भएन। जब केही वर्षपछि हामी छुटि्टयौं, पहाडबाट सम्पूर्ण खाद्यसामग्री आउँदा पनि हामीलाई बाँच्न अप्ठयारो पर्‍यो। विवाह  हुँदा मैले प्लस टु मात्र गरेकी थिएँ, त्यसैले म पढ्थे। त्यो बेला पैसाको अभाव भएपछि मैले प्रश्न गरें, प्रहरीमा त राम्रो पैसा हुन्छ भन्ने सुनेकी  थिएँ, तपाईं त तलब मात्रै ल्याउनुहुन्छ। उहाँले भन्नुभयो, 'तिमीले म्यानेज गर्नुपर्छ, म आफ्नो तलबबाहेक एक पैसा पनि ल्याउन सक्दिनँ।' त्यो  बेला यो मान्छे अलिकति इमान्दार हो भन्ने लाग्यो।

अलिकति मात्रै ?

त्यो बेला अलिकति मात्रै लाग्यो। किनभने म आफ्नो अध्ययनमा व्यस्त थिएँ। कमाएको पैसा आफैं राख्नुहुन्छ होला भन्ने लाग्थ्यो। अलि कडा  स्वभाव भएकाले लोग्नेमान्छेले अलिकति त फुर्ती लगाउँछन् भन्ने पनि लाग्यो। त्यसको केही समयपछि तराईतिरका एक जना वृद्ध एक कार्टुन  आँप र केही लिची लिएर हाम्रो डेरामा आइपुगे। प्रेमपूर्वक ल्याएको हुँदा मैले राखें। साँझ उहाँ र्फकंदा मैले केही लिची दिँदै एक जना बूढा  मान्छेले ल्याएको भनेर उनको प्रशंसा गरें। उहाँले त्यो छुनुभएन। बरु तुरुन्तै उसलाई बोलाउन लगाउनु भयो। बिचरा ती बूढा मान्छेलाई यसरी  थर्काउनु भयो कि उनी सरक्कै ती सामग्री बोकेर फर्किए। मलाई लाग्यो, अहो ! कस्तो श्रीमान् पाएछु ?

तपाईंले केही भन्नुभएन ?

भ्रष्टाचार पो नगर्नु त। अरूले प्रेपपूर्वक दिएको कुरा वा अरूलाई अप्ठयारो नपारी गरेको कमाइले के बिग्रन्छ ? भनेर सम्झाउन खोजें। त्यस  दिन उहाँले मेरै सातो खानुभयो। श्रीमती भएर श्रीमान्को लक्ष्यलाई बिगार्न खोज्ने ? म कुनै पनि हालतमा मेरो नीतिभन्दा दायाँ-बायाँ गर्न  सक्दिनँ भनेर सम्झाउनुभयो। कसैले प्रेमपूर्वक उपहार दिएको कुरा पनि स्वीकार नगर्ने बानी देखेपछि म विश्वास गर्न बाध्य भएँ। 

सानो कुरामा पनि कम्प्रोमाइज नगर्ने स्वभावका कारण उहाँको बढुवा ढिलो भयो भन्ने शुभचिन्तकहरूको भनाइ छ, कस्तो लाग्छ ?

मलाई पनि त्यस्तै लाग्छ। उहाँका लागि कानुनका दृष्टिमा सबै व्यक्ति समान हुन्। एकपटक प्रहरी प्रमुख रमेशचन्द ठकुरीका बहिनी-ज्वाइँलाई  नै थुनिदिनुभयो। ठमेलको रेस्टुराँमा सानो-तिनो के गलफत्ती भएको थियो, उहाँले थुन्ने आदेश दिनुभयो। पछि थाहा भयो, प्रहरी प्रमुखकै ज्वाइँ।  रातभरी माथिबाट फोन आइरह्यो, तर उहाँले नियमअनुसार गर्छु भनेर टारिदिनुभयो। त्यति मात्र कहाँ हो र ? सक्रिय राजतन्त्र भएका बेला  तत्कालीन राजाका ज्वाइँ राजबहादुर सिंह क्यासिनोमा जुवा खेल्दैखेल्दै फेला पार्नुभएछ। ठूला मान्छेले अरूलाई नियममा हिँड्न सिकाउनुपर्नेमा  आफैं नियम मिच्ने भन्दै थुनिदिनुभयो। उहाँले चाहेको भए ठूला मान्छे हुन्, एकपटक सम्झाएर छाड्न सक्नुहुन्थ्यो, तर मान्नुभएन। यी र यस्ता  घटनाले बढुवामा समस्या भएका हुन् कि भन्ने लाग्छ, तर उहाँ यस्ता कुरामा विश्वास गर्नु हुन्न।

तपाईंको विचारमा रमेश खरेलको यो स्वभावको विकास कसरी भयो ?

उहाँले प्रहरी ज्वाइन गर्नुको कारण नै गलत क्रियाकलाप रोक्ने रहेछ। त्यसमाथि उहाँले भारत सरकारले नेपाल प्रहरीलाई दिने आइपीएस  तालिम पनि लिनुभएको रहेछ। उक्त तालिमले उहाँको माइन्ड नै वास गर्‍यो रे।

आफूले उहाँको लक्ष्यमा सहयोग पुर्‍याइरहेको छु भन्ने लाग्छ ?

मलाई युरोप-अमेरिका घुम्नुपर्‍यो, फलानो गाडी चाहियो भनेर रातदिन कचकच गर्ने हो भने उहाँ डगमगाउन सक्नुहुन्छ। एउटा लोग्नेमान्छे  संसारसँग लड्न सक्छ, घरमा लड्न सक्दैन भन्ने मलाई राम्रैसँग थाहा छ। यद्यपि म मेरा कारणले उहाँको छवि बिग्रने कुनै क्रियाकलाप होस्  भन्ने चाहन्नँ।

कुनै काम गरिदिनुपर्‍यो भनेर माथिबाट सिफारिस त पक्कै हुन्छ होला ?

पहिले धेरै नेता, प्रहरी अधिकृत एवं अरू व्यावसायिक व्यक्तिले प्रयास नगरेका होइनन्। जब यो व्यक्तिबाट कुनै काम हुँदैन भन्ने बुझ्न थाले,  सिफारिसका अनुरोध नै आउन छाडे। अहिले उहाँको छवि नै यस्तो भैसक्यो कि कसैले हिम्मत नै गर्दैनन्। मलाई माथिल्लो र कतिपय  समकालीन प्रहरीले भाउजू सधैंभरी यसरी चल्दैन भनेर सम्झाउनुहुन्छ। म हुन्छ, सम्झाउँछु, विचार गर्छु भनेर कुरा सुन्छु, तर उहाँलाई केही  पनि भन्दिनँ। भनेर अर्थ पनि छैन।

सानो काम गरिदिँदा त केही फरक पर्दैन भनेर भन्नुहुन्न ?

एकपल्ट मेरी छोरी साह्रै बिरामी भई। त्यो बेला एक जना सिपाहीले मलाई धेरै सहयोग गरेका थिए। अहिले उनको रिटायर्ड हुने बेला भयो।  उनी मेरो घर आएर 'सर यूएन शाखामा हुनुहुन्छ, एकपल्ट मिसनमा जान पाए मेरो ऋण तिरिसकिन्थ्यो, साह्रै बिजोग छ' भनेर रुन  थाले।  पहिले त मैले वास्ता गरिनँ, धेरै पटक आएपछि भने मैले यो मान्छेलाई साँच्चै समस्या छ भन्ने बुझें। लामो भूमिका बाँधेर उनको सिफारिस  गरें, तर उहाँले मान्नुभएन। म जबसम्म यो पदमा छु, प्रतिस्पर्धा नजितेको एक जना पनि मान्छे पनि मिसनमा जाँदैन, किनभने उसको  कारणले अर्को ट्यालेन्ट मान्छे छुट्छ भन्नुभयो। मलाई लाग्छ, यस्ता सानातिना सहयोग गर्नुपर्छ, किनभने हामी पनि मानव हौं।

उहाँले भनसुनमा काम नगरेर के भयो, अरूले गरेकै छन्, अरू व्यक्ति त्यो पदमा पुग्नेबित्तिकै पुरानै नियति सुरु हुन्छ भन्ने लाग्दैन ?

तपाईं एक्लैले यो देशको ठेक्का लिनुभएको छ भनेर कहिलेकाहीँ सम्झाउने प्रयास पनि गर्छु तर त्यो निरर्थक हुन्छ।

नेपालले एउटा असल प्रहरी पायो, तर रमेश खरेल आफैंमा असल श्रीमान् हुन सकेनन् भन्ने लाग्दैन ?

व्यावसायिक कुरा र माया-प्रेम फरक कुरा हुन्। घरमा उहाँले आफ्नो भूमिका निर्वाह गर्नुभएको छ। जब अफिसियली कुरा हुन्छ, उहाँ टसको  मस हुनुहुन्न। मलाई पनि एउटी एसएसपीकी श्रीमती भएपछि दुई-चार पैसा खेलाउन पाए हुन्थ्यो भन्ने लाग्छ। अरू अफिसरका श्रीमती केही  नगरी बसेका छन्, मैले भने बुटिक खोलेर दुई-चार पैसा कमाउनुपरेको छ। छोराछोरी सम्हाल्दै बाहिर जागिर खान जानुपरेको छ। कहिलेकाहीँ  दिक्क त लाग्छ नै। कहिलेकाहीँ तिमीले मेरो परिवार राम्ररी म्यानेज गरिदिएकी छयौ र मैले आफ्नो काम गर्न पाइरहेको छु भनेर प्रशंसा  गर्नुहुन्छ। त्यसले निभ्न लागेको प्रेम र स्नेहको बत्तीमा तेलको काम गर्छ। 

तपाईंको आफ्नो सरदर कमाइ कति हुन्छ ?

बुटिकबाट ३५-४० हजार हुन्छ। त्यसबाहेक मैले मनोविज्ञानमा स्नातकोत्तर गरेपछि धेरै कलेजमा मनोविज्ञका रूपमा काम गरें। अहिले एउटा  अफिसमा प्रमुख मनोविज्ञका रूपमा कार्यरत छु। आम्दानी राम्रै हुन्छ।

श्रीमान्को भन्दा बढी कमाउनुहुँदो रहेछ होइन ?

उहाँको स्वभावले मलाई यति धारिलो बनायो कि मैले आफैं संघर्ष गर्नुपर्‍यो। आफैं पढेर कमाउनुपर्‍यो। यद्यपि श्रीमान् दुई पटक यूएन मिसनमा  जानुभयो, बोस्निया र लाइबेरिया। जसको आम्दानीले काठमाडौंमा राम्रै घर बनाउन सकियो। उहाँले इज्जत पनि धेरै कमाउनुभएको छ,  त्यसकारण श्रीमान्ले जति कमाए भन्न सकिँदैन। 

रमेश खरलेलाई विभिन्न किसिमका आपराधिक समूहले थ्रेट गरेका छन् भन्ने कुरा थाहा पाउनुभएको छ ?

उहाँ अफिसका कुनै कुरा पनि मसँग सेयर गर्नुहुन्न। सायद, टेन्सन हुन्छ भनेर होला। एकपटक म उहाँको अफिसको गाडी चढेर न्युरोड गएकी  थिएँ। म सामान किन्न पसलभित्र पसें, उहाँले पर्खन्छु भन्नुभएको थियो, तर पसलबाट फकर्ंदा उहाँको गाडी देखिनँ। इमान्दार मान्छे,  श्रीमातीलाई छाडेर अफिस जानुभयो होला भन्ने लागेर घर फर्किएँ। त्यो बेलाको महँगो शुल्क तिरेर मोबाइल बोक्ने मेरो हैसियत थिएन,  इन्फर्मेसन ग्याप भयो। उहाँ करिब एक घन्टापछि आत्तिदै घर आउनुभयो। मलाई गाली गर्नुभयो, किन खबरै नगरी हिँडेको  भनेर। म त छक्क  परें। पछि पो थाहा पाएँ, काठमाडौंका केही डनले रमेश खरेलको परिवारलाई छाड्दिन भनेका रहेछन्। त्यही भएर उहाँले आफ्नै गाडीमा मलाई  हिँडाउनु भएको रहेछ। यस्तो बेलामा भने दुःख लाग्छ। पहिले नै मलाई थ्रेट छ भनेर भनिदिएको भए अनावश्यक टेन्सन हुने थिएन। यस्ता  घटना माओवादी द्वन्द्वकालमा, विभिन्न आन्दोलनमा धेरैपटक भएका छन्, तर उहाँको बानी फेरिएको छैन, फेरिँदैन पनि।

उहाँ मिडियाका कारण लोकप्रिय हुनुभयो भन्ने अन्य प्रहरी अधिकृतहरूको आरोप छ, के भन्नुहुन्छ ?

नेपालमा राजनीतिदेखि न्यायालयसम्म सबैतिर भ्रष्टाचार छ। त्यसैले जनता निराश भए। त्यसलाई रोक्न मिडियालाई कुनै हिरो चाहिएको थियो,  उसले त्यो रमेश खरेलमा देख्यो। मेरो विचारमा नेपालमा रमेश खरेल मात्र इमान्दार हुनुहुन्छ भन्ने होइन, अरू पनि हुनुहुन्छ। मिडियाले उहाँलाई एउटा रोलमोडलका रूपमा प्रस्तुत गरेको हो। अहिले धेरै युवा प्रहरी अधिकृत मलाई भेटेर म खरेल सरबाट प्रभावित छु, मलाई पनि उहाँ  जस्तै इमान्दार हुन मन छ भन्छन्। यसले समाजमा धेरै राम्रो प्रभाव परेको छ भन्ने लाग्छ। रमेश खरेललाई मिडियाले हिरो बनाएको होइन,  उहाँ हिरो भएकाले मिडियाले लेखेको हो। तपाईं कल्पना गर्नुहोस्, रमेश खरेलका बारेमा समाचार नआउने भए आमव्यक्तिले पत्रपत्रिकामा  सुडान घोटालाजस्ता प्रहरीका लागि लज्जास्पद घटना मात्र देख्न र सुन्न पाउँथे।

तपाईं प्रहरी अधिकृतकी श्रीमती भएर पनि प्रहरी परिवार महिला संघमा जानुहुन्न रे, प्रहरीभित्रका अरू परिवारसँग पनि नजिकको साइनो छैन  रे, किन ?

म कामकाजी महिला हुँ। मसँग संघसंस्थामा जाने समय नै हुँदैन। अर्को कुरा उच्च ओहदाका प्रहरीका परिवारको भेला भनेको आफ्नो  सम्पन्नता र सान देखाउने थलो बनेको छ। त्यहाँ सबैले आफ्नो वैभवता मात्र प्रदर्शन गरिरहेका हुन्छन्। म भने सामान्य पोसाक र सामान्य  सोचको मान्छे, कुरै मिल्दैन। उहाँले पनि आफ्ना सिनियर एवं समकालीन अधिकृतको घर लानु हुन्न। सम्भवतः उनीहरूको घरको वैभवता दे खेर मेरी श्रीमतीको मन दुख्छ भन्ने उहाँलाई लाग्दो हो। अब हामीले अरूको सम्पन्नता होइन, अरूले हाम्रो साधारण जीवनशैलीलाई पच्छ्याउनुपर्छ।