Sunday, January 23, 2011

शक्तिखोरभित्र देखिएका केही रोचक दृष्यहरु-onlinekhabar.com


अरुण बराल
मुख्य राजमार्गबाट साढे सात किलोमिटर उत्तरमा पर्ने शक्तिखोर (चितवन)मा अवस्थित माओवादी लडाकूको तेस्रो डिभिजन कार्यालयको मैदानमा शनिबार आयोजित ‘माओवादी लडाकू विशेष समिति मातहत आएको घोषणा कार्यक्रम’मा केही रोचक दृश्यहरु देखिए । यो कार्यक्रमको राजनैतिक महत्व आफ्नै ठाउँमा विश्लेषणको विषय हो । तर, कार्यक्रममा सोझो आँखाले देखिएका दृश्यहरु भने रोचक समाचारका विषयहरु हुन् ।
राकेश सुदको रौनक
शनिबार बिहान ११ बजे शुरु गर्ने भनिएको कार्यक्रममा मौसम खराबीका कारण प्रधानमन्त्री लगायतका नेताहरु समयमा आउन नसक्दा दिउँसो २ बज्दासम्म हुन सकेको थिएन । यसवीच गाडीबाट शक्तिखोर पुगेका नेता एवं विदेशी कूटनीतिज्ञहरु माओवादीको ‘मेहमान’ बनेर मासुभात र मिठाइको स्वाद लिँदै र यता उता टहल्दै बसेका थिए । भारतीय राजदूत राकेश सुद भने एक्लै शिविरको कुनाकाप्चा डुलेर तस्वीर खिचिरहेका भेटिन्थे । माओवादी लडाकूहरु ‘ऊ सुद आयो’ भन्दै चासोपूर्वक उनलाई हेर्थे । दिउँसो २ बजेपछि सबै राजदूतहरु मञ्चमा गइसक्दा पनि सुद भने क्यामेरा लिएर चौरीमा डुलिरहेका थिए । पछि पत्रकारहरुले घेरेर फोटो खिच्न थालेपछि बल्ल उनी मञ्चतिर लागे । सुदले माओवादी लडाकूद्वारा बेच्न राखिएका किताबहरु पनि अभिरुचिपूर्वक हेरेर त्यसको फोटो लिएका थिए ।
केपी ओली र गैंडाको छालाको कुरा
कार्यक्रम ढीलो हुँदा एमाले नेता केपी ओली पनि निकै चर्चा र चासोको विषय बने । तर, पत्रकारहरुले सोधेको प्रश्नमा ओलीले कुनै छुचो जवाफ भने दिएनन् । सबै पक्ष मिल्नु पर्छ भन्दै उनले माओवादी लडाकूहरु विशेष समितिको मातहत आउने कुरालाई सकारात्मक बताए । माओवादी प्रवक्ता दीनानाथ शर्मासँगै काठमाडौंबाट शक्तिखोर पुगेको र मलेखुमा सँगै खाजा खाएको कुरा बताउन पनि ओलीले भ्याए । खाना खाइसकेपछि ओली दीनानाथ शर्मासित एकान्तमा उभिएर निकैबेर खासखुस गरिरहेका देखिन्थे ।
प्रधानमन्त्री शक्तिखोर आइनपुगेका कारण पर्खिने क्रममै केपी ओली, दीनानाथ, शर्मा, सुशील प्याकुरेल, रामचन्द्र पौडेल, कृष्ण सिटौला लगायतका नेताहरुले एकैठाउँमा उभिएर फोटो खिचाएका थिए । त्यसमा माओवादीका लोकेन्द्र विष्ट पनि मिसिए । तर, विष्टले ठट्टा गर्दै भने-’ कसैले थप्पड हान्ने हुन् कि, डर पो लाग्छ ।’ सभासद् एवं माओवादी नेता विष्ठले थपे- ‘अब नेताहरुले गालामा गैंडाको छाला लगाउनुपर्ने भो ।’
हेलीकोप्टरलाई हैरान
कार्यक्रममा हेलीकोप्टरबाट खचाखच भएर काठमाडौंका धेरै नेताहरु पुगेका थिए । प्रचण्ड भने गाडीमै पुगेका थिए । बिहान मौसम खराब भएकाले नेताहरु एयरपोर्टमै धेरैबेर बसेका थिए भने बादल, बामदेव गौतम, रामचन्द्र पौडेल लगायत २४ जना बोकेको एउटा हेलीकोप्टर शक्तिखोरमा अवतरण गर्न नसकी काठामाडौं र्फकेर मौसम खेलेपछि आएको थियो । यूएनको हेलीकोप्टर अवतरण भएपचिमात्रै सेना एवं सेतो पुमा हेलीकोप्टरमा नेताहरु आउन सफल भएका थिए ।

कोको थिए शक्तिखोरमा ?
काठमाडौंबाट शक्तिखोरमा पुगेका नेताहरुमा प्रधानमन्त्री माधवकुमार नेपाल, सभामुख सुवास नेम्वाङ, प्रचण्ड, झलनाथ खनाल, सुशील कोइराला, रामचन्द्र पौडेल, शेरबहादुर देउवा, केपी ओली, अमिक शेरचन, मोहन वैद्य, डा. बाबुराम भट्टराई, सूर्यबहादुर थापा, जीतेन्द्र देव, जेपी गुप्ता, उपेन्द्र यादव, विजयकुमार गच्छदार, सुजाता कोइराला, डा. रामशरण महत, महेन्द्रप्रसाद यादव, गृहमन्त्री भीम रावल, प्रधान सेनापति छत्रमानसिंह गुरुङ, प्रहरी आइजी रमेशचन्द ठकुरी, सशस्त्र प्रहरीका आइजी सनत बस्नेत, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अशोकदेव भट्ट, नेताहरु पशुपतिसमशेर जबरा, रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, प्रदीप ज्ञवाली, रमेश लेखक, उपसभामुख पूर्णकुमारी सुवेदी, जीतेन्द्र देव, बालानन्द शर्मा, शम्भुराम सिंखडा, रामानन्द मिश्र, पद्मरत्न तुलाधर, दमननाथ ढुंगाना, रघुजी पन्त, लीलामणि पोखरेल, नारायणकाजी श्रेष्ठ प्रकाश, ईश्वर पोखरेल, जनार्दन शर्मा प्रभाकर, नन्दकिशोर पुन पासाङ, वर्षमान पुन अनन्त, सीपी गजुरेल, सीपी मैनाली लगायतका नेताहरु पटकपटक गरेर हेलीकोप्टरबाट शक्तिखोर पुगेका थिए ।
दुई घण्टामात्रै चलेको कार्यक्रम अनन्तले सञ्चालन गरेका थिए भने पासाङले स्वागत भाषण अनि प्रधानमन्त्री माधव नेपाल र माओवादी अध्यक्ष प्रचण्डले लिखित मन्तव्य पढेका थिए । विशेष समितिका तर्फबाट वालानन्द शर्माले समापन मन्तव्य दिएका थिए । अन्य दर्जनौं नेताहरुको मञ्चमा आतिथ्य गर्नुबाहेक कुनै भूमिका थिएन । तर माओवादी लडाकूहरु विशेष समितिअन्तरगत ल्याउने निर्णयमा उपस्थित भएर उनीहरुले राष्ट्रिय सहमतिको सकारात्मक सन्देश भने पक्कै दिएका थिए । सेनापति छत्रमानदेखि माओवादीका विरोधी भनेर चिनिने केपी ओली, विजय गच्छदार लगायतको उपस्थितिले यही सन्देश दिएको थियो ।
नेताहरुको ‘बडी-ल्याङ्वेज’
कार्यक्रममा उपस्थित नेतामध्ये विजयकुमार गच्छदार त्यति खेशी देखिएनन् । कार्यक्रमभर टाउको कन्याउने र मुन्टो निहुर्‍याउने गरेरै उनले समय कटाए । उता मञ्चको कुनामा बसेका राकेश सुदले चाहिँ माओवादी लडाकूले मार्चपास गरुञ्जेल किताव पढेर समय कटाए । अर्का माओवादी आलोचक एवं कांग्रेस नेता डा. रामशरण महतको पनि अनुहार खासै उज्यालो थिएन । माओवादी कमाण्डर पासाङकै छेउमा राखिएका प्रधान सेनापति छत्रमानको अनुहारमा तटस्थभाव देखिन्थ्यो भने प्रधानमन्त्री र प्रचण्ड दुबै गम्भीर देखिएका थिए ।
मञ्चमा राष्ट्रिय गीतमा माओवादीका सयौं माओवादी लडाकूले सामूहिक नृत्य प्रदर्शन गर्दाखेरि भने मञ्चमा रहेका सबैमा निकै गम्भीरता छाएको थियो । फोरम अध्यक्ष उपेन्द्र यादव चिउँडोमा हात राखेर ध्यानमग्न बने । जेपी गुप्तालाई पनि गीतले निकै छोएको देखियो । मञ्चमा तीनवटा राष्ट्रिय गीतमा रोचक नृत्य देखाइएको थियो । पहिलो गीतको बोल ‘जाग लम्क चम्क हो नौजवान हो’ भन्ने थियो भने दोस्रो गीतको बोल ‘यो नेपाली शीर उचाली संसारमा लम्किन्छ, जूनकिरीझैं ज्योती बाली संसारमा चम्किन्छ’ र तेस्रो गीतको बोल पश्चिम कोही पूर्व घर आँगन त एउटै हो भन्ने रहेको थियो । यो नृत्यबाट प्रभावित भएर प्रदीप ज्ञवाली, सीपी मैनाली, सुसील कोइराला, माधव नेपाल, झलनाथ खनाल, रमेश लेखक, जीतेन्द्र देव एवं सुरक्षा अधिकारीहरुले समेत फोटो खिचेका थिए । राजेन्द्र महतोले पनि मोवाइबाट भिजुअल खिचेका थिए । पहाडे, मधेसी एवं जातीय चिन्तनमा बिभाजित नेताहरु एकछिन भए पनि एउटै राष्ट्रिय भावनाले लछप्पै भिजेका जस्ता देखिन्थे । मञ्चमा ‘यो नेपाली शीर उचाली’ भन्ने गीत घन्किँदा रामचन्द्र पौडेलले उपरखुट्टी लगाएको एउटा खुट्टो हल्लाएका थिए भने खुट्टा पसारेर बसेका वामदेव गौतमले जोरखुट्टा हल्लाएका थिए । केपी ओलीले गीतको सुरमा टाउको हल्लाएको देखिन्थ्यो । सूर्यबहादुर थापामा पनि एक किसिमको उत्साह सञ्चार भएको प्रष्टै देखिन्थ्यो ।
एक-अर्कामा सहयोग
अरुबेला जतिसुकै विवाद र झगडा गरे पनि शक्तिखोरमा नेताहरुले एक अर्कालाई सहयोग नै गरेको देखियो । विशेष गरी विदेशी कूटनीतिज्ञहरुलाई आशन ग्रहण गराउने क्रममा अनन्तले अंग्रेजी नामहरु उच्चारण गर्न नजान्दा विदेशी र स्वदेशी नेताहरु हाँसेका थिए । त्यसबेला गृहमन्त्री भीम रावलले अनन्तलाई स्टेजमै उभिएर सहायता गरेका थिए । रावल फर्केर आफ्नो सीटमा बस्दा सुजाता कोइरालाले उनीसित अनन्तको प्रस्तुतीबारे कम्प्लेन गरेकी थिएन् । अनन्तको अंग्रेजीले प्रचण्डलाई पनि हँसाएको थियो ।
माधव नेपालको मन्तव्यमा पनि लडाकूहरुलाई माया र सम्मान नै व्यक्त गरिएको थियो । प्रधानमन्त्रीको सम्बोधनमा एककिसिमको जिम्मेवारीवोध झल्किएको पाइन्थ्यो । ”लडाकू मित्रहरु तपाइहरुले पनि यस परिवर्तनका लागि योगदान दिनुभएको छ । हामीले हिजो एक अर्कालाई लगाएका आरोप-प्रत्यारोप वा दुर्वचनहरुलाई हामीले सधैंका लागि भुल्ने प्रयत्न गर्नुपर्दछ । राजनीति हो कहिलेकाहीँ अलि अलि तलमाथि पनि हुन्छ ।”-प्रमको सम्बोधनमा यस्तो भनिएको थियो ।

संशय पनि आशा पनि
शक्तिखोरमा देखिएको नेताहरुको यो सहकार्य, एकता र भावनात्मक पक्ष पछिसम्म कायम रहन्छ वा पानीको फोका झैं काठमाडौं आउनेवित्तिकै फुट्छ ? यो भने भविश्यले बताउला तर, शक्तिखोरमा जे देखियो, त्यो चाँदीको घेराभित्रको एउटा सानो झिल्को भने अवश्वै बनेको छ । विश्वास धेरै गर्न नसकिने तर आशा भने गर्न सकिने घटना बनेको छ यो । संशय मिश्रति सम्भावना देखियो शक्तिखोरमा । माओवादी जनसेनालाई राष्ट्रियणकरण गर्नै हुँदैन भन्नेहरु र विद्रोहबाट सत्ता कब्जा गर्नुपर्छ भन्नेहरु दुबै तत्वले बिथोलेनन् भने नेपालको शान्ति प्रक्रियाले एउटा गति लिने आशा गर्न सकिन्छ । अझ भनौं, आशा गर्नुको विकल्प हामीसित अर्का छैन ।
-शक्तिखोरबाट फर्केर


Friday, January 21, 2011

हो, मैले झलनाथलाई झापड हानेँ: देवीप्रसाद रेग्मी - mysansar

भरौल सुनसरीका एकजना भद्र किसान एमाले अध्यक्ष झलनाथ खनाललाई झापड हानेर एकाएक चर्चामा आएका छन्। जनतालाई झुठा आश्वसनमा अल्मलाएर कुर्सीका लागि मरिमेट्ने नेताहरुलाई कानुनको बेवास्ता गर्दै पाठ सिकाउन तम्सिने ती किसान हुन् देवीप्रसाद रेग्मी। ०४६ सालदेखि एमालेको खरो कार्यकर्ता रहेका रेग्मीले अन्ततः आफ्नै आस्थाको पार्टीका अध्यक्षको गाला चड्काइदिए। छोरा सुरक्षाकर्मी रहँदा रहँदै पनि कानुनको बर्खिलाप गएर रेग्मीले खनालको गाला किन चड्काए ? इटहरीका मिडियाकर्मी अमर खड्काले माइसन्सारका लागि पठाएको ताजा अन्तरवार्ताः
तपाइँको पेशा के हो ?
म सामान्य किसान हुँ अहिले ५३ वर्षको भएँ। खेतीपाती गरेर परिवार चलाएको छु। यहाँ बिजुलीको बिल तिर्न आएको थिएँ। भेला देखेर भित्र पसेथेँ।

मुलुककै तेस्रो दलको अध्यक्षलाई झापड हान्न डर लागेन ?
सधैँ तटस्थ बसेर (झलनाथ खनाल) देशलाई अनिर्णयको बन्दी बनाएको पनि मलाई थाहा छ। किसान मान्छे भए पनि मलाई नेपालको माया छ। राजनीतिमा मलाई चासो लाग्छ। नेपालका राजनीतिक दलका नेताले देशलाई बिगारेको पीडा सहन सकिनँ। हो, मैले झापड हानेँ। कानुन अनुसार मलाई कारवाही गरेहुन्छ।
नेताहरु काम गर्दैछन् त। संविधान लेख्दैछन्, मुलुकमा गणतन्त्र संस्थागत हुने प्रक्रियामै छ।
टेलिभिजनमा हेर्छु जहिले पनि मिठा र चिप्ला कुरा गर्छन्। यिनलाई आफ्नो स्वार्थभन्दा केही मतलब छैन। नेपालीका छोराछोरीले पाएको दुःख नेतालाई मतलबै छैन। खाली वेरोजगार युवालाई झुटो आश्वासन दिएर पार्टी प्रवेश गराउने अनि पद नपाउँदा तटस्थ बस्ने ? यस्तो पनि हो राजनीति ? यस्ता पनि हुन् नेता ? मैले धैर्यता गुमाए आवेसमा आएर खनाललाई चड्काइदिएँ। यही कारण मलाई जस्तोसुकै कारवाही भए पनि भोग्न तयार छु। खनाललाई कुटेको अभियोगमा मलाई मारे पनि हुन्छ तर देशका सबै नागरिकले हाँसीखुशी बाँच्न पाउन्।
देशका नेता र कानुनप्रति किन यति धेरै बिचलिन हुनुभएको ?
मेरो जेठो छोरा केशव सशस्त्र प्रहरीमा छ। कान्छो २० दिन भयो काठमाडौं गएको। देशका नेता खाली झुटो बोल्छन्। भनेको केही गर्ने हैनन्। देशलाई तन्नम बनाइसके। देशको यो अवस्थाले मेरो कान्छो छोरोले जागिर पाउन सकेको छैन। यस्ता त कति छन् कति। सात वर्षअघि माओवादीको जगजगी हुँदा सोलुमा मेरो भाइको हत्या भयो। तर कसैले हत्यारा पत्ता लाउन सघाएनन् कारवाहीको कुरा त त्यस्तै हो । न्याय दिलाउन कुन नेताले सघाए ? मलाई घृणा छ यो देशका नेताप्रति। तर आज मैले कसैको उक्साहटमा लागेर हात छाडेको हैन। सारै चित्त नबुझ्दो कुरा कति दिन सहने हामीले ? हामीलाई जे जे गरे पनि हुन्छ नेताले ?
यसअघि पनि कसैमाथि यसरी जाइलाग्नु भएको थियो ?
तपाइँले बुझ्नु भए हुन्छ। मेरो घर यहीँ (सुनसरी) भरौल-१ वडामा पर्छ। एमालेकै नेताहरुलाई सोधे हुन्छ मेरो पृष्ठभूमि कस्तो हो भनेर। म कसैको केही नबिगारी आफ्नो सुतीथाती काम गरेर बसेको मान्छे हुँ। आजसम्म मैले कसैको गाइगोरुलाई समेत हात हालेको छैन। यो देशको दुर्दशा सहन नसकेर खनाललाई चड्काएको हुँ।

Comments:
-----------
Aashish
देवीप्रसाद लाइ कारवाही हुने हो भने करिमा बेगमलाई पनि त्यहि कारवाही हुनु पर्छ। जब करिमालाई केहि गरिन्न भने देवीप्रसादलाई थुन्ने हकपनि कसैलाइ छैन। उहि अपराधको लागि कसैलाइ सजाए, कसैलाइ उन्मुक्ति दिन पाइन्न। के संविधानले कसैलाइ काखा, कसैलाइ पाखा गर्छ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 162 Thumb down 1

Monday, January 17, 2011

गायक कुमार कान्छाको निधन-online khabar.com


३ माघ 2067, काठमाडौं । गायक कुमार कान्छाको सोमबार निधन भएको छ ।
मेरुदण्डको पक्षघातबाट पीडित कान्छाको उपचारका क्रममा भारतको मुम्बईमा रहेको रहेजा अस्पतालमा सोमबार दिउँसो निधन भएको हो ।
कान्छाको जन्म बि.सं. २०१४ साल मंसिर २८ गते भएको थियो ।
मुलघर दैलेख भएपनि बुबा आमा रोजगारीका लागि भारतको कोलकाता पुगेका बेला उहाँको कोलकातामै जन्म भएको थियो ।
कुमार कान्छाले एकसयभन्दा बढी नेपाली चलचित्रका गित गाउनु भएको थियो । उहाँले २ वटा नेपाली गिती एल्बम समेत निकाल्नु भएको थियो ।
उहाँले  केही नेपाली चलचित्रमा अभिनय समेत गर्नुभएको थियो । भारतमै जन्मे हुर्केका कान्छाले त्यहाँका २५ भाषामा १ हजारभन्दा बढी गित गाउनु भएको थियो ।

Sunday, January 16, 2011

शाहको पुस्तक र 'भटट प्रतिवेदन' उस्तै-MYSANSAR BATA

दरबारमा दुई जना राजा वीरेन्द्र र ज्ञानेन्द्रसँग निकट भई काम गरेका पूर्व सैनिक सचिव विवेक शाहको पुस्तक “मैले देखेको दरबार” अहिले चर्चामा छ। आम मानिसको चासो यसले हत्याकान्डका विषयमा केही नयाँ खुलासा गर्छ कि भन्ने हो। यदि त्यस्तै सोचेर किताब किन्नुभएको भए तपाईँलाई यो किन्न खर्चेको आफ्नो नौ सय रुप‍ैयाँको माया लाग्न सक्छ। किनभने हत्याकान्डका विषयमा यो पुस्तकको सार ‘भटट प्रतिवेदन’ अर्थात् ज्ञानेन्द्रले तत्कालीन प्रधानन्यायाधीश र सभामुखको सदस्यतामा बनाएको उच्चस्तरीय छानबिन प्रतिवेदनलाई सही प्रमाणित गर्नु मात्रै हो।
जेठ १९ को जुन रात दरबारमा गोली चल्दै थियो, त्यतिबेला लेखक शाह दरबारबाट निकै टाढा नयाँ बजारमा आफ्ना साथीहरुसँग रक्सी खाँदै थिए। पुस्तकको पेज १९ मा लेखिएको छ- ‘…हामी ड्रिङ्कस गरिरहेका थियौँ।’ रक्सी खाइरहेकै बेला दरबारबाट खोजी भयो भनी घरमा फोन आएपछि दरबारमा फोन गर्दा बल्ल उनले दरबारभित्र फायरिङ भयो रे भन्ने थाहा पाएका थिए। मृत्यु भएको कुरा त सैनिक अस्पताल, छाउनीमा शव देखेपछि मात्रै थाहा भएको रहेछ उनलाई। गोली चल्दा घटनास्थलबाट निकै टाढा ड्रिङ्कसमा मस्त व्यक्तिले हत्याकान्डका विषयमा कसरी नयाँ कुरा दिनसक्ने आशा गर्नुभएको तपाईँले ?
यो आशा गर्नु नै बेकार छ। उनले हत्याकान्डका विषयमा जति कुरा थाहा पाए, ती सबै अरुका मुखबाट सुनेका हुन्। जुन कुरा तपाईँले पनि अहिलेसम्म सुन्दै आउनु भएको छ। भटट प्रतिवेदन (प्रतिवेदन सार्वजनिक गर्ने क्रममा आयोग सदस्य तारानाथ रानाभाटले भटट शब्द उच्चारण गर्दै हान्दिम भनी दीपेन्द्रले चलाएको भनिएको बन्दूक पत्रकारतिर तेर्स्याएको कारण यो कान्डलाई भटट कान्ड पनि भनिन्छ। रानाभाटको चर्तिकला हेर्ने भए यहाँ क्लिक गर्नुस्) मा प्रत्यक्षदर्शीहरुको बयानमा पनि त्यही कुरा छ।
शाहले पेज ५४ मा लेखेका छन्- घटनास्थलको वास्तविकता त्यही हो। अर्थात् भटट प्रतिवेदनले जस्तो देखाएको छ, त्यही हो। घटनाका बेला उनी प्रत्यक्षदर्शी नभएकोले घटना हुनुको कारण बारे उनले अनेक थरि अनुमान लगाएका छन्, जस्तो कि तपाईँले पनि लगाउनु हुन्छ। फरक यति हो, उनले दरबारलाई नजिकबाट देखेका कारण उनको अनुमान हाम्रो अनुमानभन्दा फरक हुनसक्छ।
घटना हुनुको पछाडि के के कारण हुनसक्छन् भन्ने विषयमा विस्तृत छानबिन हुनुपर्ने उनी बताउँछन् पुस्तकमा। यस्तै माग जनताले पनि अनि नेताहरुले पनि वर्षौँदेखि गर्दै आएका हुन्। देशीविदेशी शक्ति केन्द्रको, दीपेन्द्रलाई उकास्ने व्यक्ति, उनलाई लागू पदार्थको कुलतमा फँसाउने गिरोह आदिको अनुत्तरित प्रश्न खोज्नु पर्ने माग उनको पुस्तकमा छ। जनताको भने एउटा अर्को प्रश्न पनि छ- ज्ञानेन्द्रले आफ्नो शासनकालमा गोली चलेको त्रिभुवन सदन किन भत्काउन आदेश दिए ? किन घटनास्थल अहिले भग्नावशेषमा परिणत गराइयो ?
पुस्तकमा यसको उत्तर छैन। बरु केही हल्लाको खण्डन गरिएका छन्। मास्क लगाएर अरु कसैले हत्या गरेको होला भन्ने आशंकालाई उनले खण्डन गर्दै दरबारमा कडा सुरक्षा हुने भएकोले (सैनिक सचिव भएकोले उनी सुरक्षाको जिम्मेवारी लिनुपर्ने मानिस हुन्) कोही बाहिरिया मानिस त्यहाँ त्यसरी मास्क लगाएर हतियार ल्याउनै नसक्ने तर्क गर्छन्। तर उनले दरबारभित्र युवराज र अरु राजपरिवारका सदस्यलाई लागू पदार्थ कसरी सप्लाइ हुँदो रहेछ भन्ने बारे केही बताउन सकेका छैनन्। लागू पदार्थ जस्तै हतियार आयो कि ? लागू पदार्थ भित्री मानिसले ल्याए सरह मास्क पनि दरबार भित्रैकाले लगाएर प्रयोग गर्न सक्छन् कि सक्दैनन्- यस्ता प्रश्नको जवाफ पुस्तकमा पाइँदैन।
उनले ठहर गरे सरह पुस्तकमा भनेका छन् कि दायाँ हातले स्वचालित मेसिनगनले फायर गरेर अन्त्यमा देब्रे हातले देब्रे कञ्चटमा गोली हानी दीपेन्द्रले आत्महत्या नै गरेका हुन्। ‘उक्त घटनामा तत्कालीन युवराज दीपेन्द्रकै प्रत्यक्ष र प्रमुख हात देखिन्छ’ (पेज ३८)
दीपेन्द्रको रामकहानी
दीपेन्द्रलाई दोषी ठहर गर्न सहायक हुने गरी उनले पुस्तकमा तत्कालीन युवराजका विभिन्न प्रसंग लेखेका छन्। आमाबाबु भएर पनि माया नपाएर टुहुरो जस्तो भएको दीपेन्द्र, सानैदेखि जिद्दी स्वभावका मात्र प्रसंग यसमा छैनन्, झण्डै झण्डै युधीर थापाको उपन्यासको प्लट जस्तो लाग्ने गरी दीपेन्द्रको यौनलोलुप प्रवृत्तिको पनि बयान गरिएको छ।
दीपेन्द्र सार्वजनिक रुपमा जस्तो देखिन्छन्, भित्र त्यस्तो नभएको उनको कथन छ। दीपेन्द्रको परपीडक प्रवृत्तिको बयानका लागि एक शीर्षक नै छुट्याएका छन् उनले। ठूलो मान्छेलाई मुक्का हानेर लडाएर छटपट गर्दा हाँस्ने, गुलेली हानेर परेवा झार्ने, नमरे तडपाउने, जिउँदो मुसा समातेर पुच्छरमा आगो लगाउने घटनाको बयान पुस्तकमा छ।
त्यसैगरी केटीका मामिलामा साह्रै कमजोर प्रमाणित गर्न पुस्तकमा दीपेन्द्रले सुरुमा सुप्रिया शाहसँग अफेयर चलाएको, ७ क्लासदेखि नै उनलाई लभलेटर लेख्‍ने गरेको, बेलायतमा पढ्न गएदेखि देव्यानीसँग पनि अफेयर चलेको, त्यसपछि दुवै जनासँग एकै पटक अफेयर चलाएको, बेलायत मै हुँदा एक जापानी केटीसँग पनि अफेयर चलेको, ती जापानीसँग पनि विवाह गर्छु भने फकाउने गरेको प्रसंगसहित पेज ४७ मा उनले लेखेका छन्- बेलग्रेडमा मैले के देखेँ भने युवराजधिराज सरकार केटीहरुका मामिलामा ज्यादै कमजोरी देखाइबक्सन्थ्यो। यसो गरेँ, उसो गरेँ भनेर विभिन्न प्रसंग सुनाइबक्सन्थ्यो। बेलग्रेड कै होटलमा एक स्थानीय केटीसँग लिफ्टभित्र साढे दुई घण्टा बसेर एकै पटक बिहान ‘हाँस्दै सवारी भएको’ कुरा लेख्‍न पनि उनले भ्याएका छन्।
भारतको हात ?
उनले हत्याकान्डका पछाडि भारतको हात हुनसक्ने भनी लगाएको अनुमान सर्वसाधारणले ज्ञानेन्द्र पारसको हात हुनसक्ने भनी लगाएको अनुमान जस्तो मात्रै हो। पुस्तक पढ्दा त्यस्तै देखिन्छ। बरु केही नयाँ रहस्य यस क्रममा खोलिएका छन् जस्तो कि हतियार कारखाना नेपाल मै खोलेर एसेम्बल हतियार दक्षिण एसियामा बेच्ने वीरेन्द्रको योजना, माओवादी समस्या समाधानका लागि वीरेन्द्रले बनाएको विशेष योजना। भारतको हात हुनसक्ने अनुमान जस्तै अर्को एउटा अनुमान पनि उनले गरेका छन्। वीरेन्द्र र ऐश्वर्य तन्त्रमन्त्रमा धेरै विश्वास गर्थे रे। तान्त्रिक प्रयोगको उल्टो परिणामस्वरुप हत्याकान्ड भएको त हैन ? उनले यस्तो अनुमान पनि गरेका छन्।
हत्याकान्डको विषयमा मूलतः यिनै कुरा पुस्तकमा छन्। त्यसबाहेक उनको पुस्तकको अधिकांश भाग उनको डायरीले ओगटेको छ, जुन इतिहासप्रति रुचि राख्‍नेहरुका लागि राम्रो छ। रुचि नराख्‍नेलाई यो वाक्कलाग्दो हुन्छ। किनभने प्रसंग र सन्दर्भ बिना के भनेको हो बुझ्न पनि गाह्रो हुन्छ केहीलाई। केही प्रसंगहरु ‘नेपाली विकिलिक्स’ जस्ता छन्। आगामी दिनमा म त्यस्ता केही विषय लेख्‍नेछु।

Monday, January 3, 2011

अजयबाबु सोध्छन्- चोरलाई चौतारो किन ?

तुलसी भण्डारीले लेखेको एसपी रमेश खरेललाई खुल्ला पत्र माइसंसारमा छापिएपछि आक्रोशित भएका अजयबाबु शिवाकोटीले हिजै आपत्ति जनाएका थिए। माइसंसारले मिडियाले नखोलेको पाटोमात्रै प्रस्तुत गरेको हो। यतिञ्जेल तुलसी भण्डारीको धारणा कुनै मिडियामा पनि आएको थिएन। आपत्ति जनाउने अजयबाबुलाई उनको पनि धारणा लेख्‍न आग्रह गर्दा उनले हिजो अस्वीकार गरेका थिए। बल्लतल्ल उनी अडियोमा केही बोल्न राजी भएका थिए। आज भने उनले आफ्नो धारणा लेखेका छन्। कुनै पनि विवादको भित्री तहसम्म पुग्न दुवै पक्षको भनाई बुझ्न आवश्यक हुन्छ। माइसंसार एउटा मञ्च हो। यसमा सबैले आफ्नो विचार अभिव्यक्त गर्छन्। ती विचारका आधारमा आफ्नो धारणा बनाउन पाठक स्वतन्त्र हुन्छन्। तुलसी भण्डारीको पत्र सामान्य सम्पादन पनि नगरी जस्ताको तस्तै प्रस्तुत गरियो भनी आपत्ति जनाउने अजयबाबु शिवाकोटीको यो ब्लग पनि बिना सम्पादन उनले जस्तो लेखेका हुन्, त्यस्तै प्रस्तुत गरिएको छ।

चोरलाई चौतारो किन ?

-अजयबाबु शिवाकोटी-
कुरा आन्दोलनको हो। कुरा आफ्नै आँखा अगाडि आफ्नो सिर्जना कसैले चोरेको
कसरी टुलुटुलु हेरेर वस्नु भन्ने हो। कुरा चोरलाई चौतारो र साधुलाई सुली
दिनेकी नदिने भन्ने हो। कुरा अनधिकृत रुपमा चोरीको सामान प्रयोग गर्न
पाउनुपर्छ भन्ने हो कि, त्यस्तो गर्नेलाई कानुन अनसार कार्वाही गर्नुपर्छ
भन्ने हो।
कसैले भाँती पुर्‍याएर लेखेको गाली जो समाचार बन्नु पर्ने नै थिएन अनि
कसैले त्यस्तो कुरालाई समाचारको विषय वनाउँदैमा सत्यलाई ढाक्न पनि त
सकिँदैन। अनि विषयमा कुनै नेताको नाम जोडेर राजनीतिक रङ दिएर कमजोर वनाउन
खोज्नु अनि त्यसमा अनेक तरहका प्रतिक्रिया लेख्दैमा पनि सत्य डग्दैन,
किनकी सत्य कुनै समय कमजोर जस्तो देखिएला तर सत्य हार्दैन यो मेरो
विश्वास हो। सत्यलाई हराउन जतिसुकै तानावाना वुनेपनि, जतिसुकै हर्कत र
नाटक गरेपनि आखिर जीत सत्यकै हुन्छ, भलै त्यसले विजयी हुन अनेक कष्ट र
हण्डर खानु किन नपरोस। हो आज म मेरो आफ्नो सिर्जना र सम्पतिको रक्षाको
लागि उभिँदा यस्तै अनेक हण्डर कठिनाई खानु परेको छ। मैले कहिल्यै खेप्नु
नपरेको आरोप पनि खेप्नु परेको छ, अनि मलाई चिन्दै नचिनेका व्यक्तिहरुले
पनि त्यसमा प्रतिक्रिया जनाएर सायद सन्तोष व्यक्त गरिरहनुभएको होला। यदि
कसैले काठमाडौका एसपी रमेश खरेलका नाममा माई संसारमा प्रकाशित भएको
खुल्लापत्र हेर्यो भने उसले एकपटक पनि नसोची मलाई गाली नै गर्छ होला।
मानौ म यो देशको सवैभन्दा ठूलो खुंखार अपराधी र गुण्डा हो। र पत्रलेखक
अनेक डर धम्की र यातनावाट पीडित छ र उसका बोल्नलाई मुख थुनिएका छन्
लेख्नलाई हात बाँधिएका छन्। ऊ पूरै दुधले धोएको प्राणी हो।
तर कथाको अर्को पाटो माई संसारले मसँग जोडिएको विषयमा मलाई एकपटक पनि
नसोधि जुन समाचारको रुपमा कुराहरु वाहिर ल्याएको छ। त्यसको पछाडीको कुरा
भने अर्कै छ। वहशमा आईसकेपछि विद्धत पाठकहरुलाई यो विषयमा थप प्रष्ट
पार्न जरुरी देखिएकोले मैले यो लेख्दै छु सायद तपाईहरुले यो पक्कै पढ्नु
हनेछ।
म पेशाले पत्रकार हुँ। मैले २०५७ सालदेखि पत्रकारीता शुरु गरेको हुँ।
२०५८ सालदेखि मैले टेलिभिजन पत्रकारीता शुरु गरेको हुँ। मैले पत्रकारीता
शुरु गरेको एक वर्षमै नेपालमा राजनीतिक उथलपुथल तीव्र रुपमा शुरु भएको
थियो। दरवार हत्याकाण्डदेखि जननिर्वाचित सरकारको विघटनका कुराहरु यसै
विचमा भएका थिए। राजाले २०५९ को असोजमा शाही सम्वोधनमार्फत निर्वाचित
सरकार विघटन गरेर शासन सत्ता हत्याएपछि राजनीतिक दलहरु ढिलो गरी सडकमा
आन्दोलनका लागि गएका थिए। त्यस समयमा राजनीतिक दलहरुले शुरु गरेको
आन्दोलनको समाचार संकलन मेरो जिम्मेवारीमा आउथ्यो। त्यसै समयमा हो,
रत्र्नपार्कको अखिलको कार्यालय रहेको रातो घरमा प्रहरीले प्रवेश गरेर
अखिलका र एमालेका नेताहरुलाई मरणासन्न हुनेगरि पिटेको थियो। त्यो दृश्य
मैले वडो जोखिम मोलेर खिचेको थिए। त्यस समयमा प्रहरीको पिटाई खानेलाई
त्यहाँ मेरो भुमिका अहिले पनि सोध्दा थाहा हुन्छ। त्यो दृश्य टीभीमा
देखेपछि आक्रोशित आन्दोलनकारीहरु भोलिपल्ट आन्दोलमा ह्वात्तै वढेका थिए।
त्यतिखेर आन्दोलनको अग्रमोर्चामा हुनेहरुले पक्कै त्यो बिर्सेंका छैनन
होला। सायद देशमा नभएकाहरुले पनि सन्चारमाध्यमवाट थाहा पाएका होलान।
जतिखेरदेखि मैले पत्रकारीता शुरु गरे मेरो विषयवस्तु सडक नै भयो। सडकले
नै मलाई सवै सिकायो अनि दियो पनि। मेरो जान पहिचान, नाम, दाम अनि रोग
पनि त्यही सडकले दियो। त्यहि सडकले मित्र दियो अनि त्यहि सडकले दुश्मनी
। अहिले पनि म त्यहि सडकले दिएको एउटा अनावश्यक झमेलासँग सामना गर्दैछु
तुलसी भण्डारीको रुपमा। जो हामी यहां आन्दोलनका वेला सडकमा
अस्पतालहरुमा प्रहरीका अश्रुग्यासले लाठीले पिडीत भईरहँदा सात समुद्रपारी
सपनाको संसारमा रमाईरहेको थियो होला। जो त्यहि आन्दोलनको विषय आफ्नॊ
कमाई खाने विषय हुन सक्छ भनेर वसिरहेको थियो भन्ने यतिखेर लाग्छ। आज
उसैको हर्कतका कारण सवै काम छोडेर यहि विषयको पछि लाग्नुपर्ने अवस्था
आएको छ।
म आन्दोलनमा जन्मेको पत्रकार हुँ। मैले सडकमा आन्दोलन देखे र भोगे पनि।
त्यसैले त्यतिवेला मैले सोच्ने पनि आन्दोलन नै थियो। तर तत्कालीन
राज्यव्यवस्थाले आन्दोलनलाई निस्तेज पार्ने कसम नै खाएको थियो। यसलाई
खराव रुपमा चित्रित गर्ने प्रयास गरेको थियो। तर त्यसको विरुद्ध गएर
आन्दोलनको पक्षपोषण गर्ने जिम्मेवारी हामी जस्तै जुझारु युवाहरु जो धेरै
स्वरुपमा आन्दोलनका मोर्चामा थिए, उनीहरुको काँधमा थियो। त्यही समयमा
मैले पनि आन्दोलनको कुरालाई नेपाली डायस्पोराहरु र अन्र्तराष्ट्रिय
समुदायमा पुर्याउनु पर्छ भनेर मेरो आफ्नै व्यक्तिगत साधन स्रोतको परिचालन
गरेर दुईवटा डकुमेन्ट्री वनाएको थिए। पहिलो ‘झलक’ जो पत्रकार उषा
तितीक्षुसँग मिलेर भने, दोस्रो ‘आन्दोलन जारी छ’। ती दुई डकुमेन्ट्री
नेपाली लोकतान्त्रिक आन्दोलनको वारेमा जनमत वनाउन खुवै प्रयोग भएको थियो
। विदेशमा जाने नेपालीहरुले पनि त्यसलाई देखाउन लिएर जाने ईच्छा राख्दा
मैले त्यस समयमा विना हिच्किचाहट उपलव्ध गराउँदै आएको थिए। ‘आन्दोलन
जारी छ’ डकुमेन्ट्री अमेरिकाको विदेश मन्त्रालयमा त दुईपटक देखाईएको
भन्नॆ त्यहाँ देखाएर फर्कनुभएका दिनेश प्रसाईले वताउनुभएको थियो।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय जेनेभामा
अधिकारकर्मी गोविन्द वन्दीले देखाउनुभएको थियो।
२०६० वैशाख र २०६१ चैत्रमा तयार गरेका दुवै डकुमेन्ट्री नेपाली
आन्दोलनको वारेमा जिउँदा दस्तावेज थिए। त्यसैले यी मन पराईएका थिए।
काठमाडौंको सडकका आन्दोलनका दुर्लभ दृश्यहरुलाई कैद गर्दा म धेरैपटक
प्रहरीको कष्टडीमा पुगेको थिए। मेरो क्यामेरा प्रहरीले दुई नम्वर गण
नक्सालमा लगेर फुटाइदिएको थियो। हेर्नुस् यो लिंक
http://demrepubnepal.blogspot.com/2005/04/changing-gears.html तर
मेरो आन्दोलनप्रतिको मोह घट्न सकेको थिएन। तत्कालीन समयमा मिडियामा जान
नसकेका आन्दोलनका दृश्यहरु मैले कैद गर्दै गएको थिए जसलाई मैले पछि मेरो
डकुमेन्ट्रीमा समेटेको थिए। जुन समयमा मैले ‘आन्दोलन जारी छ’ वनाए त्यस
समयमा मैले आफ्नो नाम समेत खुल्ला रुपमा राख्न नसक्ने अवस्था थियो।
हेर्नुस् यी लिंकहरु
1. http://www.tras.ca/filmfest/2006.html
2.http://www.utoronto.ca/townhall/dec05_events.html
3.http://www.yorku.ca/ycar/YCAR%20Update,%20Issue%2033,%20November%2025,%202005.htm
नेपालमा वनाउन सुरक्षाको दृष्टिले अप्ठ्यारो भएपछि मैले नयाँदिल्ली गएर
वनाउने निधो गरे जुन समय अधिकारकर्मीहरु दिनेश प्रंसाई ,शेरा तामाङ, अनिल
भट्टराई , गोविन्द वन्दी, प्रदिपशंकर वाग्लेहरु पनि दिल्लीमा नै
हुनुहुन्थ्यो। उहाँहरुको सहयोगमा मैले डकुमेन्ट्री तयार गरे। आफ्नो
पुरा नाम राख्दा कार्यक्षेत्रमा अप्ठयारो हुन सक्ने भन्दै छद्म नाम SUBA
राखियो। जुन मैले त्यतिवेला प्रयोग गर्ने नाम थियो। उक्त
डकुमेन्ट्रीमा प्रयोग भएको ईमेल ठेगाना जुन मैले अहिले पनि प्रयोग गर्दै
आएको छु। हेर्नुस् यो लिंक
http://sajha.org/sajha/html/openthread.cfm?StartRow=31&PageNum=2&forum=300&threadid=24632
यसरी एउटा डकुमेन्ट्रीको काम भुमिगत रुपमै सकाइएको थियो एउटा
उद्धेश्यको लागि। लगत्तै प्रसाईजीले सो डकुमेन्ट्रीलाई आन्दोलनको
प्रचारको लागि अमेरिकामा देखाउन लाने हुनुभयो। वुढानिलकण्ठका पूर्व
विद्यार्थीहरुको संस्था सेव्सले उहाँलाई त्यस डकुमेन्ट्री देखाउन खुवै
सहयोग गरेको थियो। हेर्नुस् यो लिंक
http://demrepubnepal.blogspot.com/2005/05/dinesh-prasain-tour-report.html
उहाँ अमेरिकामै भएको वेला नै प्रहरीले मलाई आन्दोलनको दृश्य खिच्दै
गरेको आरोपमा पक्राउ गरि नक्सालस्थित दुई नम्वर गणमा ल्याएर राखि मेरो
क्यामेराको लेन्स विगारेर पठाएको थियो। त्यसपछि क्यामेरा किन्न सहयोग
स्वरुप भनेर उहाँले नै १५ डलरको दरमा त्यस डकुमेन्ट्रीको सीडी विक्री
गराउन पहल गरेको कुरा पछि उहाँले मलाई वताउनुभएको थियो। म यहाँ पक्राउ
परेर क्यामेरा विगारीदिदा उहाँले सन् २००५ अपि्ल २९ शुक्रवार डेमाक्रेसी
फर नेपालमा ‘आन्दोलन जारी छ’ वनाउने अजय शिवाकोटी पक्राउ परेको कुरा
लेख्नुभएको छ। आन्दोलनका क्रममा पक्राउ परेका विद्यार्थी नेता गगन थापा
रिहाई भएपछि अमेरिका जानुभएको थियो। उहाँले पनि त्यो डकुमेन्ट्री
अमेरिकामा धेरै ठाउँमा देखाउनुभएको थियो। हेर्नुस् यो लिंक
http://sajha.org/sajha/html/openthread.cfm?StartRow=31&PageNum=2&forum=300&threadid=24632
त्यस समयमा अमेरिकामा लिभिङ अफ जोगीमारा, भेडाको उन जस्तो, नुमाफुङ र
मेरो डकुमेन्ट्री ‘आन्दोलन जारी छ’ विभिन्न डकुमेन्ट्री फिल्म फेस्टिवलमा
देखाईएका थिए।
यी सवै कुराको जानकार तत्कालीन समयमा अमेरिकामै वस्ने एकजना तुलसी
भण्डारी भन्ने व्यक्ति, उनका एकजना साथी र आन्दोलनका क्रममा मैले पनि
चिनेका सुदिप जानामार्फत मकहाँ आईपुग्छन्। डकुमेन्ट्री वनाउने सौख
वताउने उनले मेरो डकुमेन्ट्री आन्दोलनको प्रर्वदनका लागि अमेरिकामा
देखाउन लाने ईच्छा गरे। सुदिपको विश्वासमा मैले उनलाई डकुमेन्ट्री
डीभिमा राखेर दिए। उनले अमेरिकामा एउटा मुस्केगन डकुमेन्ट्री फिल्म
फेस्टिवलमा देखाउने समेत वताएर लगेका थिए। सन् २००६को शुरुवातको कुरा
थियो त्यो। तर उनले अमेरिका पुगेको लामो समयसम्म पनि कुनै सम्पर्क
गरेनन्।
अचानक सन् २००६ फेव्रुअरी ७मा सुदिप जानालाई उनले अत्यन्त जरुरी भन्दै
एक मेल लेख्छन, जुन सुदिपले मलाई फर्वाड गरेको इमेलवाट पनि वुझन सकिन्छ।
उसले त्यो इमेलमा मेरो डकुमेन्ट्रीको वारेमा कुरा गरेका छन्। त्यहाँ
उनले मेरो डकुमेन्ट्री मुस्केगन डकुमेन्ट्री फिल्म फेस्टिवलमा ४० कलेज
डकुमेन्ट्रीमा उत्कृष्ठ ८ भित्र परेको र कोडाकको तर्फवाट ५०० डलरको गिफ्ट
सर्टिफिकेट पनि पाएको वताएका रहेछन्। पछि उनले त्यहि ईमेल ठेगाना
tulsibhandari@yahoo.com वाट पटक पटक मेरो ईमेलमा संवाद तथा मेल गरेका
छन्। सोहि महिनाको १४ तारीखमा मलाई मेरो डकुमेन्ट्रीले पुरस्कार प्राप्त
गरेकोमा वधाई समेत दिएका छन्। र मलाई त्यो पुरस्कार कसरी उपलव्ध गराउन
सक्छु भन्दै औपचारिकता पुरयाएका छन्। तर त्यो पुरस्कार अहिलेसम्म न मैले
पाए न त त्यसपछि उनी सम्पर्कमा नै आए। त्यस समय उनले मेरै डकुमेन्ट्री
देखाएर उनले वनाएको भनिएको नयाँ डकुमेन्ट्री वीनेथ एभरेष्टका लागि रकम
संकलन गर्न समेत सन् २००६ फेव्रुअरी २८मा विशेष प्रदर्शनी गरेका रहेछन्।
अर्वाड विजेता डकुमेन्ट्री भन्दै उनले त्यहाँ रकम संकलन गरेका छन्।
प्रमाणको रुपमा मैले ती इमेलहरु समेत प्रहरीसमक्ष पेश गरेको छु।
मसँग सम्पर्क टुटेको तीन वर्षपछि सन् २००९मा आएर उनले असम्वन्धित तेस्रो
पक्षसँग स्विकृती लिएको भन्दै मेरो डकुमेन्ट्रीको दृश्य अनधिकृत रुपमा
राख्छन्। अझ भनौ चोर्छन। मसँग एक शव्दपनि नसोधि उनले कपीराईटको ठाडै
उलंङघन गरेको कुरा करिव डेढ महिना अघि खुल्न आयो। कोक्याप भन्ने
सँस्थाले लेखेको ईमेल देखाएकै भरमा उनले ति दृश्यहरु प्रयोग गरेका छन्।
जुन सँस्थाले उक्त डकुमेन्ट्री आफ्नो नरहेको स्विकार प्रहरीकहाँ गरिसकेको
छ। भण्डारीले त्यसलाई कोक्यापले वयान फेरेको आरोप लगाएका छन्। हुन त
उनले उनलाई सहयोग नगरेका सवैलाई आरोप थोपरेकै छन्। त्यसका लागि उनले जुन
स्तरको नाटक रच्नुपर्नेहो त्यो पनि गरेकै छन्।
भण्डारीले डकुमेन्ट्री वनाई विभिन्न ठाउँमा देखाईसकेर नेपाल आएका रहेछन्। नेपालमा
पनि करिव १० ठाउँमा देखाईसकेका रहेछन्। क्षेत्रीयस्तरमा पनि
डकुमेन्ट्री देखाउन जाने तयारी गर्दै गर्दा एकजना उनका स्वयंसेवक भएर जान
तयार भएको भाईले मलाई कन्चनपुर जान लागेको वताएपछि मैले सोधखोज गर्दा
डकुमेन्ट्री देखाउन जान लागेको जानकारी दिए। र पछि कुन डकुमेन्ट्री भनेर
सोध्दा उनले डकुमेन्ट्रीको वेभसाईट देखाए। सो एड्रेसमा गएर हेर्दा
डकुमेन्ट्रीको प्रोमोमा मैले वनाएको डकुमेन्ट्रीको दृश्यहरु देखे।
त्यसपछि मैले तत्काल तुलसीलाई फोन गरेर छलफल गर्नको लागि वोलाए। उनी पटक
पटक मेरो अफिसमा छलफलको लागि आए तर डकुमेन्ट्रीको स्क्रिनिङ रोक्न भने
अटेर गरिरहे। तर पटक पटकको आग्रह पछि उनी पहिलो् पटकलाई भने रोक्न तयार
भए। तर कोक्यापले दिएका कारण मात्र आफुले प्रयोग गरेको भनेर एकोहोरो
जिद्धी कसिरहे। तर मवाट लगेर कोक्यापसँग किन स्विकृतिको लागि गएको भन्ने
प्रश्नमा भने उनको जवाफ जहिलेपनि टार्ने नै हुन्थ्यो। आन्दोलनको समयमा
सडकमा ज्यानको वाजी लगाएर आन्दोलनमा लागेका गगन थापा जस्ता नायकहरु र
सडकलाई नै आफ्नौ कर्मक्षेत्र वनाएका म जस्ता व्यक्तिको तेजोवध गर्न उनी
त्यसपछि नियोजित रुपमा लागेका रहेछन् भन्ने कुरा उनका पछिल्ला हर्कतहरुले
पुष्टि हुन्छ।
तपाई विद्धान पाठकहरुलाई मैले यो पनि स्पष्ट पार्नै पर्ने हुन्छ मैले
खिचेको दृश्यमाथि अधिकार स्थापित गर्ने कुरा गरिरहँदा उनलाई तीनवटा
विकल्प दिएको थिए। पहिलो, प्रयोग भएको दृश्य वरावरको क्षतिपूर्ती
दिनुपर्ने, दोस्रो उत्पादन गरिसकेका सीडी तथा डिभीडीहरु नष्ट गर्नुपर्ने
र विक्री वितरण भएको आधारमा क्षतिपूर्ती दिनुपर्ने र तेस्रो विकल्पमा
मैले भण्डारीलाई आउने दिनमा मेरो प्रयोग भएको दृश्यहरु हटाउने र विक्री
भईसकेको आधारमा क्षतिपूर्ती दिनुपर्ने प्रस्ताव राखेको थिए। तर उनी
तीनवटै विकल्पमा छलफल गर्न राजी भएनन् वरु उल्टै मलाई प्रभावित पार्ने
अनेक प्रपन्चमा नाटक रच्न ब्यस्त रहे। उनले आरोप लगाएका नेपाली
काँग्रेसका नेता तथा उनले आफ्नो डकुमेन्ट्रीमा अन्र्तवार्ता लिएका गगन
थापाकहाँ समेत मलाई प्रभावित पार्नलाई भनसुन गराउन पुगेका रहेछन्।
थापाले समेत उनलाई दुवैजनालाई आपसी छलफलमा कुरा मिलाउन सुझाव दिएको
वताउनुभएको थियो। तर उनलाई सहयोग नगरेको आधारमा थापालाई उनले सामान्य
ईज्जत दिन पनि कन्जुस्याई गरेका छन् र आफ्नै डकुमेन्ट्रीमा अन्र्तवार्ता
गरिएका पात्रको वेइज्जत गरेर आफ्नै र डकुमेन्ट्रीको समेत कद घटाएका छन्।
हुनत चोरीको डकुमेन्ट्री भनेर कद पहिला नै घटीसकेको थियो। विभिन्न
अधिकारवादी संस्थाहरुले चोरीको विषय भन्दै कार्यक्रमवाट हात झिकिसकेका
थिए। पोखरामा ईन्सेक, मानवअधिकार आयोग र एड्भोकेसी फोरमले उनको
कार्यक्रममा गरेको सहयोग रोकेर कार्यक्रम नै स्थगित गरेका थिए।
जहासम्म उनले मेरो डकुमेन्ट्री अर्कै पक्षसँग अनुमति लिएर राखे भनेका छन
त्यसैमा नै मेरो आपत्ति हो र त्यसैमा नै उनको वदनीयत देखिन्छ। जुन समयमा
म जीवन र मृत्युको दोसाँधमा थिए। म मृत्युसँग जुध्दै थिए। करिव एक
वर्षको अस्पताल वसाईको क्रममा उनले वदनीयतपूर्ण ढंगले त्यसरी स्विकृती
अर्कै सँस्थावाट लिएको देखिन्छ। कुरा एक फे्मको होस वा एक मिनेट वा ९०
मिनेट नै किन नहोस। चोर चोर नै हुन्छ। जुन कुराको सन्र्दभमा कोक्यापका
सम्वन्धित पक्षले प्रहरीकहाँ आफुहरुलाई मीसगाईड गरिएको वताईसकेका पनि छन्
। त्यति हुँदा हुँदै पनि आफ्नो गल्ति स्विकार्नुको साँटो मलाई उल्टो
कानुनी उल्झनमा उल्झाई राख्ने नियतले मेरो विरुद्धमा विभिन्न षडयन्त्र
गरेका पछिल्ला उनका गतिविधिले पुष्टि भएको छ। पटक पटक फोन गर्ने, आधा
कुरामै फोन राख्ने, म देखाउँदै छु के गर्न सक्छस गर भन्ने, मीस कल गर्ने
गरेर उनले मलाई मानसीक रुपमा प्रताडीत गर्दै आएका थिए। ती सवै कुरा उनको
रकमी चाल रहेछ। जव उनले मलाई अती हैरानी पारे त्यस समयमा मैले उनलाई
फोनवाटै विषयको निक्र्यौल नभएसम्म फेरि पनि देखाउने कुरो गरे राम्रो
हुन्न सम्म भनेकै पनि हो। तर त्यसलाई रेकर्ड गरि उनी मेरो विरुद्धमा
उल्टो जाहेरी दिन पुगेका थिए। जसको आशय थियो मैले दायर गर्न लागेको
कपीराईटको मुद्धालाई कमजोर पार्नु। जव स्थानीय प्रसासनले पनि त्यो कुरो
वुझ्यो मलाई सफाई दियो तर त्यसलाई उनले जसरी राजनीतिक रङ दिने प्रयास
गरेका छन् त्यो उनकै वौद्धीक दरिद्रता वाहेक केहि पनि होईन। वरु मैले
कानुनी प्रकि्यामा जानु अघि गरेको सवै प्रयासलाई उनले ‘अन ल फुल डिमाण्ड’
भन्दै प्रचारमा उत्रिए।
हो मैले आफ्नो कामको मात्र जस खोजेको हुँ। मलाई कसैको कर्ममाथि ईष्र्या
गर्नुपर्ने र त्यसको भाग खोस्नु परेको छैन र त्यस्तो गर्नु पनि नपरोस।
तर आफ्नो अधिकारको लागि भने जस्तोसुकै त्याग गर्न पनि म तयार छु , त्यो
मैले सिकेको कुरा हो। त्यसका लागि जस्तोसुकै जोखीम पनि किन मोल्नु नपरोस।
भण्डारीले म माथि आरोप लगाईरहँदा म माथि उनका मान्छेहरुले असनमा एक
साँझ हातपात गर्ने प्रयास समेत गरेका थिए। तर स्थानीय बासिन्दाहरुको
अवरोधका कारण म जोगिए। तर पनि म अविचलित रहि अघि वढ्ने प्रतिवद्धता
व्यक्त गर्दछु जवसम्म मेरो अधिकार स्थापित हुन्न। यो यस्तै कपीराईट
अधिकारका लागि जाग्न सक्ने माध्यम वन्ने आशा समेत मैले लिएको छु। अनि
कपीराईटको अधिकारको लागि कति धेरै संवेदनशिल छन् ,विदेशीहरु तपाई विद्धान
पाठकहरुले त्यसको वारेमा पक्कै जानकारी राख्नुभएकै होला। त्यसैले यो
विषयलाई कपीराईटको चोरीको विषयको रुपमा मात्र वुझ्दा नै उपयुक्त हुन्छ।
यसमा नेता तथा प्रशासनको नाम जोडेर राजनीतिक रङ दिने प्रयास भनेको
भण्डारीको चलाखी मात्र हो।
उनले कहिले कति जना, कहिले कति जना भनेर मेरो सहकर्मी साथीहरुलाई
गुण्डाझै देखाउन खोजेका छन् र मलाई पटकपटक हातपात गर्न खोजेको आरोप समेत
लगाएका छन्। त्यो समेत आफैमा झुटको खेती हो। वरु उल्टै मलाई भण्डारीले
आफु चुरा लगाएर नवसेको भन्दै तलाई जहाँ पनि ठीक पार्ने धम्कि दिने गरेका
थिए जुन मैले प्रहरीकहाँ समेत जानकारी गराएको थिए। त्यति हँदाहँदै पनि
चोरीको आरोपीत र अदालतले पनि धरोटीमा छोडिएका नीज भण्डारी आफुलाई वचाउन
अनेक प्रलाप गर्दै हिड्न थालेका छन्। आफुलाई चोख्याउने अनेक षडयन्त्र
वुन्दै हिड्न थालेका छन्। देशका जिम्मेवार विभिन्न व्यक्तिहरुलाई समेत
घिनलाग्दा आरोप लगाउँदै हिड्न थालेका छन्। आफु वाहेक सवैलाई दोषी देख्ने
आफुलाई सहयोग नगर्ने सवै दोषी देख्ने चस्मा पहिरिएका कारण भण्डारीले
सवैलाई आरोप लगाईरहेका छन्। यसको सोझो अर्थ हो विषयलाई अन्तै मोड्नु र
ध्यान अन्तै केन्द्रित गराउनु। जंगलराज आएको छैन र कानुनी राज अझै वाँकी
छ भने मैले पक्कै पनि न्याय पाउने छु, त्यसमा तपाईहरुको पनि साथ सहयोग र
शुभेच्छा पक्कै पनि पाउने नै छु। पक्कै पनि चोरलाई चौतारो र साधुलाई
सुली हुने छैन।
२०६७/९/१७

http://www.mysansar.com/archives/2011/01/id/16007#more-16007

एसपी रमेश खरेललाई खुल्ला पत्र - my sansar

आफ्नो आत्मालाई साक्षी राखेर सोच्नुहोस् – किन बिक्नु भो तपाईंहरु र कस्तो न्याय गर्दै हुनुहुन्छ? प्रहरी र कानुनबाटै जनताको विश्वास टुट्यो भने के हुन्छ? सम्माननीय एसपी रमेश खरेल ज्यु, मैले अन्तिम पटक तपाईंलाई भनेको थिएँ –“सर म अन्यायमा परी हतोत्साही भएको बेला नडराउनु र कानुनसम्मत तरिकाले सामाजिक कामका लागि निर्धक्क लाग्नुहोस् भनेर तपाईँले प्रोत्साहन दिनुभएको थियो। म तपाईंले दिएको यो प्रोत्साहनलाई हार्न दिन्न, तपाईंलाई हार्न दिन्न।” यसको मर्म कर्तव्यनिष्ठ र जिम्मेवार भएर बुझ्नुहोस्। यदि तपाईं पनि हार्नु भयो भने कानुनमाथि जनताको विश्वास हट्ने छ। त्यसको दीर्घकालीन परिणाम बारे पनि सोच्नुहोस्। जनताले तपाईंलाई एउटा उच्च सम्मान र विश्वास दिएको छ, त्यसको सम्मान गर्नुहोस्। नहराउनुहोस् जनतालाई राजनैतिक दबावमा, नत्र तपाईं पनि हार्नु हुनेछ। तपाईंप्रति जनताले दिएको सम्मान र विश्वासको सँधै जित होस्, यही कामना छ मेरो।
[अपडेटः अजयबाबु शिवाकोटीले तुलसी भण्डारीको यो पत्र आफ्नो प्रतिक्रिया नलिई जस्ताको तस्तै छापेकोमा आपत्ति जनाएका छन्। मैले तपाईँ पनि लेख्‍नुस् त आफ्नो कुरा स्पष्ट पारेर भन्दा उनी मानेनन्। तपाईँ पनि आफ्नो कुरा राख्‍नुस्, तपाईँको कुरा पनि जस्ताको तस्तै राख्छु भनेर बारम्बार भन्दा पनि नमानेपछि अन्त्यमा त्यसो भए तपाईँको कुरा रेकर्ड गरेर राख्छु अडियोमा बोल्नुस् भन्दा बल्ल बोल्न राजी भए। माइसंसार ब्लग एउटा मञ्च मात्र हो। यहाँ सबैलाई आफ्नो कुरा राख्‍न छुट छ। माइसंसारले मिडियाले समाचार नठानेका र स्थान नदिएका विषयलाई पनि आफ्नो आवाज राख्‍न मञ्च दिन्छ। उनले अझै पनि केही लेख्‍न चाहे माइसंसारले त्यसलाई स्थान दिने नै छ। अजयबाबु शिवाकोटीको स्पष्टीकरण सुन्न क्लिक गर्नुस् ]

पुसको पहिलो हप्ता नेपाली मिडियामा एउटा समाचार आयो- गैरकानुनी रुपमा प्रतिलिपि अधिकार उल्लंघन गरी वृत्तचित्र बनाएको अभियोगमा एक व्यक्ति पक्राउ परे। एक सञ्चारकर्मीले गरेको उजुरीको आधारमा उनलाई प्रहरीले पक्रेर अनुसन्धान अघि बढाइएको रहेछ भन्ने ती समाचारबाट बुझिन्थ्यो। (समाचार पढ्न क्लिक गर्नुस्- इकान्तिपुर, नागरिकन्युज, एबीसी, हाम्राकुरा) तर यो विवाद गहिरो रहेछ। समाचारको अर्को पक्षको भनाई भने कुनै मिडियामा पनि आएन। आफू गिरफ्तार हुनुअगाडि उनले नेपाली मिडियाहरुलाई एउटा पत्र पठाएका रहेछन्, जसलाई कसैले पनि छापेनन्। कुनै पनि विवादमा दुवै पक्षको भनाई सुन्न र बुझ्न जरुरी हुन्छ। माइसंसारले त्यही भएर कुनै पनि मिडियाले नछापेको “एसपी रमेश खरेललाई खुल्ला पत्र” शीर्षकको त्यो पत्रलाई जस्ताको तस्तै यहाँ राखेको छ।

एसपी रमेश खरेललाई खुल्ला पत्र

मितिः २०६७ पुस ३
शायद यो लेख तपाईँकोमा पुग्दा वा भाग्यवश प्रकाशित हुँदाको बखत म हनुमानढोकाको चिसो खोरमा, अन्याय गरेका कारण नभई, बरु न्याय गुहार्न जाँदा नितान्त गैरजिम्मेवार र राजनैतिक नेताहरुको आदेश र दबावमा गुलामी गर्दै कानुनी व्यवस्थाको ठाडो बलात्कार गर्ने जस्तो संस्कारले संक्रमित पुलिस प्रशासनबाट नै भएको अत्यन्त घिनलाग्दो र अन्यायपूर्ण व्यवहारका कारण थुनिइसकेको हुनेछु। आशा छ, तपाईँ लगायत अन्य जिम्मेवार पत्रिकाहरुले पेशागत दायित्वको इमान्दारिपूर्वक जिम्मेवारी लिँदै पिडितका पीडाका केही अंशहरुप्रति गम्भीर ध्यान दिनुहुनेछ।
म निकै हच्किएको बेलामा डर धम्कीसँग डराएर एउटा राम्रो सामाजिक कामका लागि कहिलै पछि नहट्नु भनी प्रोत्साहन दिने र म लगायत कानुनमा विश्वास गर्ने जनताको उच्च सम्मान र विश्वासले सम्मानित एसपी रमेश खरेलसँग मेरा केही प्रश्न र गुनासा छन्। इमान्दार कर्तव्यनिष्ठ भई जिम्मेवारीपूर्वक यिनको स्मरण गर्दै जनताले दिएको इज्जत र विश्वासको समेत सम्मान गरिदिनु हुनेछ भन्ने विश्वास अझै पनि मैले लिएको छु।
आज भन्दा करिब डेढ महिनाअघि ममाथि भएको गैरकानुनी दावी र आरोपका साथै “तँलाई पिछा गर्दै काट्छु, पिट्छु” भन्दै दिइएको धम्कीका कारण निकै निराश र पीडित अवस्थामा म तपाईँकोमा कानुन र न्यायमाथिको मेरो विश्वास बोकेर आएको थिएँ। तपाईँलाई ममाथि गरिएको अन्यायको बारेमा गुनासो गर्दै उचित कानुनसम्मत् सहयोगका निम्ति गुहारेको थिएँ।
करिब ६ वर्षको अत्यन्तै संघर्षपूर्ण अमेरिकाको पढाइका क्रममा देशमा भइरहेको द्वन्द्व, अन्याय र हिंसाप्रति अत्यन्त गम्भीर हुँदै निकै चुनौती र खतरासँग जुधेर मैले अहिंसा र सामाजिक न्यायको सन्देश बोकेको वृत्तचित्र (विनिथ एभरेष्ट–नेपाल रिबर्न) निर्माण गरेको थिएँ। विभिन्न अन्तराष्ट्रिय मानवअधिकार संघ संस्थाहरुमा समेत नेपालको मानवअधिकार, द्वन्द्वपीडित र सामाजिक न्यायको पक्षमा आवाज उठाउँदै दृढ संकल्पका साथ केही समय एक्लै संघर्षरत भएँ। मेरो प्रयास र सामाजिक न्यायप्रतिको एकल प्रयासको राम्रो सम्मान र प्रोत्साहन हुँदै विदेशमा निकै ताली बज्यो। पीडितका वेदनालाई समेत समेटेर बनाइएको मेरो वृत्तचित्रले यसरी ताली खाँदा, पछि आएर मलाई आफूले ती पीडितहरु प्रति मेरो प्रयासले केही ठोस न्याय गर्न नसकेको बरु मैले पो उनीहरुका वेदनालाई वृत्तचित्रमार्फत् अगाडि ल्याई ताली खाएकोमा आफैलाई कतै मैले अन्याय त गरिन भन्ने आत्मबोध भयो। त्यसपछि कमसेकम यो वृत्तचित्र नेपालमै ती पीडितहरु लगायत समाजमा पुर्‍याई द्वन्द्वबाट के सिक्न सकिन्छ र हिंसा र अन्यायलाई कसरी शान्तिपूवर्क रुपान्तरण गराउन सकिन्छ भन्ने दिशामा ध्यानाकर्षण गराउने संकल्प भयो।
म भर्खरैमात्र करिब ६, ७ वर्षको पढाई लगायतका लामो कठोर संघर्षपछि उतै अमेरिकामा जागिर गरी दुई चार पैसा कमाउन सक्ने अवसरमा पुगेका बेला भर्खरै म आफै पढेको विश्वविद्यालयमा पाएको प्राध्यापकको जागिरसमेत त्यागेर देशप्रतिको माया र जिम्मेवारी वहन गर्दै संघर्ष गर्न नेपाल फर्कें। आफ्नो कुनै राजनैतिक संलग्नता वा केही पहुँच नभएको गाउँको एक सामान्य परिवारको व्यक्ति यसरी संघर्षमा नउत्रन र उतै अमेरिकामै बस्न साथीभाइले निकै सल्लाह नदिएका पनि होइनन्।
खैर, नेपाल फर्केपछि एकल रुपमा विभिन्न मानवअधिकारवादी संघ-संस्थाहरुमा निकै लागि परेर यस वृत्तचित्र प्रदर्शन गराई नेपालका अति संवेदनशील विषयहरुमा छलफल गराएँ। सबैको सल्लाहमा यो वृत्तचित्र र यसका सन्देशलाई अझै काठमाडौँ बाहिर जनस्तरसम्म पुर्‍याउने प्रयासमा करिक दश महिना खर्च गरेँ। निकै संस्था धाएँ। कुनै जागिर खोज्न तिर पनि नलागी अत्यन्तै अप्ठ्यारो आर्थिक अवस्था र सघंर्षका बावजुद आफ्नो दृढतालाई मर्न नदिइ लागि परें। निकै लामो प्रयासपछि राष्ट्रिय मानवअधिकार आयोग, इन्सेक र एडभोकेसी फोरम लगायतका संस्थाहरुको सहयोगमा नेपालका पाँच विकास क्षेत्रहरुमा मेरो वृत्तचित्र प्रदर्शनी र छलफलका कार्यक्रमहरुको तिथिहरु तय भयो र यसका लागि एक्लै तयारीमा जुटें। यसै क्रममा अचानक एक दिन अजयबाबु शिवाकोटी नामका व्यक्तिले फोन गरेर मैले उसको वृत्तचित्रका झलकहरुको गैरकानुनी रुपले प्रयोग गरेको आरोप लगाउँदै, कुनै प्रदर्शन नगर्न धम्की दिँदै अनुचित पैसा लगायतका अनेकौं नाजायज दावी गर्दै धम्की दिए। मैले पाँच वर्ष लगाएर निकै संघर्षका साथ निर्माण गरेको ९० मिनेटको यस वृत्तचित्रमा शान्तिका लागि साझा अभियान (कोक्याप) नामक संस्थाले निर्माण गरेका वृत्तचित्रका २ देखि ३ मिनेटका झलकहरु मैले आफ्नो वृत्तचित्रमा प्रयोग गर्ने लिखित इजाजत लिई करिब १ देखि २ मिनेटका झलकहरुको प्रयोग गरेको थिएँ। अजयबाबु शिवाकोटीले यसरी एउटा प्रतिष्ठित संस्थाबाट लिखित अनुमति लिएर प्रयोग गरिएको मात्र १ देखि २ मिनेटका झलकहरु भएको ९० मिनेट लामो वृत्तचित्र पुरै आफ्नो हो भनी चोरीको आरोप लगाउँदै मलाई धम्की दिएकाले यसबारे सहमति गरेर मात्रै अगाडि बढ्ने भनेर मैले विवश र निकै दुःखी हुँदै सबै प्रदर्शनका कार्यक्रमहरु रोक्न बाध्य भएँ।
पटक पटक भेटेर अनुरोध गर्दा अजयबाबुले चर्को पैसाको दावी गर्दै वृत्तचित्र प्रदर्शन गर्न नपाउने र उनले ममाथि भौतिक कारवाही समेत गर्ने धम्की बारम्बार दिइरहे र म लामो समयसम्म मानसिक रुपमै निकै पीडित र त्रसित रहें। अजयबाबु नेपाली कांग्रेसका सभासद् तथा युवा नेता गगन थापाका दाहिने हात जस्ता रहेका र संचार माध्यमहरुमासमेत राम्रो पहुँच भएका व्यक्ति हुन्। समझदारीमा आउने कुनै सम्भावना नदेखेपछि उनका धम्कीबाट अत्यन्तै विक्षिप्त भएर मैले शुरुदेखि नै उनलाई कानुनी प्रक्रियाबाट नै यसको समाधान खोज्न बारम्बार अनुरोध गर्दा उनको निरन्तर धम्की अझ तीब्र भएपछि म तनावग्रस्त भएँ। केही साथीहरुको सल्लाह र मद्दत लिई म माननीय गगन थापाको घरमै गई समेत यसबारेमा सबै कुरा सुनाई यसको सहमतिका लागि सहयोग गरिदिन अनुरोध गरेँ। गगनजीले यसबारेमा पहिलै थाहा पाइसकेको र एक दुई पटक यसबारेमा उनीहरु बीच छलफल पनि भैसकेको बताउँदै यो विषयमा सहमतिका लागि पहल गरिदिन्छु भनी विश्वास दिनुभएको थियो।
करिब डेढ महिना बित्यो, पचासौं पटक गगनजीलाई सम्पर्क गर्ने प्रयास गरें। एक पटक फोनमा उनी व्यस्त रहेको र छिट्टै कुरा मिलाइदिने आश्वासन पाइयो। तर हप्तौँ कुर्दासमेत उहाँबाट केही पहल भएन र फोन गर्दागर्दै निकै उदासीन र थकित भएँ। अजयबाबुले उल्टै म नेताहरुको पछि लागेको भन्दै आफ्नो धम्की अझै चर्काए। उतातिर त्यत्रो लामो प्रयासपछि प्रदर्शनका कार्यक्रमहरु खारेज भएको र अजयबाबुको धम्कीले मर्माहित भई निकै हतोत्साहित भएँ।
यसैबीच आफ्नो वेदना सुनाउने क्रममा एकजना साथीले एसपी रमेश खरेलकोमा गएर यी कुरा बताई आवश्यक सहयोग माग्न दिएको सल्लाह अनुसार म उहाँकोमा पुगेर सबै कुरा बताई आवश्यक सहयोगका निम्ति कानुनलाई गुहारें। उहाँले म हतासिएको पीडित अवस्थामा सबै कुरा सुनी डरधम्कीसँग नडराई सामाजिक कामका निम्ति अगाडि बढ्न प्रोत्साहन दिएपछि एउटा विश्वास र पुनः हौसलाको अनुभव भयो। उहाँले कानुनी रुपमा आफू दह्रो भई काम गर्न आवश्यक कानुनी सहयोग दिने आश्वासन दिनुभयो। सो अनुरुप मैले पुनः एक्लै निकै दिन लगाएर राष्ट्रिय मानवअधिकार आयोग लगायतका संस्थाहरुको सहयोगमा वृत्तचित्र प्रर्दशनी र छलफल कार्यक्रमहरु तय गरें। यसै क्रममा पहिलो प्रदर्शनी पोखराका लागि जाने तयारीका क्रममा अजयबाबुले फेरि फोन गरेर पटक-पटक निकै घिनलाग्दा अपशब्द प्रयोग गर्दै तँलाई पिछा गर्छु, काट्छु भन्दै धम्काए। भाग्यवश एकपटक उनले यसरी फोनमा धम्की दिँदा त्यसको रेकर्ड समेत गरेर सो प्रमाणसहित पुनः एसपी खरेललाई गुहार्न पुगेँ। उहाँले जिल्ला प्रशासन कार्यालयमा गई निवेदन दिएर कानुनी प्रक्रिया अनुसार आउन सल्लाह दिएपछि सो अनुसार निवेदन दिई त्यसलाई बोकेर पुनः हनुमानढोका र पछि सिंहदरवार प्रहरी चौकीमा पुगें। अजयबाबुलाई झिकाई आवश्यक अनुसन्धान गर्ने कानुनी आदेशको पत्र सिंहदरबार प्रहरी चौकीमा बुझाएँ।
प्रहरीले पटक पटक फोन गरेर बोलाउँदासमेत अजयबाबु आलटाल गरेर चौकीमा आएनन्। त्यसपछि म पोखराको कार्यक्रमका लागि केही स्वयमसेवकसहित त्यसतर्फ लागें। यही यात्राकै क्रममा यी तनावहरुका बीचमा पर्यटक बसबाट मेरो ब्यागमा रहेको ल्यापटप कम्प्युटरसमेत चोरी भयो। यसरी अझै तनावग्रस्त हुँदै पोखरा पुग्दा अजय बाबुले मैले उसको वृत्तचित्र चोरी गरी लाखौं कमाएको जस्तो घिनलाग्दो आरोप लगाउँदै उनका साथीहरुले सञ्चालन गरेका केही अनलाइन समाचार माध्यमहरुमा मेरो फोटोसहित समाचार प्रकाशित गराई केही एफएम रेडियोहरुमा समेत फुक्न लगाएर नियोजित रुपमा मानहानी र चरित्र हत्या गराई बेइज्जति गराए। साथै सबै संस्थाहरुलाई समेत यस्तो गलत समाचार पुर्‍याई मलाई सहयोग गरेमा उनीहरु समेत अप्ठेरोमा पर्ने धम्की दिँदै सबै कार्यक्रमहरु रोके। प्रदर्शनीका लागि मसँग गएका केही विदेशी स्वयमसेवकहरु समेत यस्ता कुराले गर्दा मसँग केही रुष्ट हुँदै कार्यक्रमहरु रोकिएको र उनीहरुको समय र स्वयमसेवी भावमा समेत आँच भएकोमा निराश भए। मानवअधिकारवादी संस्थाहरुलाई अजयबाबुको दावी र आरोप गैरकानुनी र गलत नियतले आएको र यसमा नपरी कार्यक्रमहरु नरोक्न अनुरोध गर्दा समेत मानवअधिकार, कानुनी राज्यको वकालत गर्ने उद्देश्य लिएका संस्थाहरुसमेत अजयबाबुको अनुचित र गैरकानुनी दावी र दवावका कारण आफूहरुले सहयोग गर्न नसकिने बताँउदै सबै कार्यक्रमहरु स्थगित गराइयो। निकै उदास भएर अझै पनि मैले द्वन्द्वपीडितलाई न्याय दिलाउने संकल्प गरी हिँड्ने आफू स्वयम् अन्यायको शिकार भई स्वयम् नै पीडित भई हारेको महसूस नहोस् भनी पोखराका केही साथीहरुको सहयोगमा लेकसाइडको बीच सडकमै वृत्तचित्र प्रदर्शन गरें। निकै व्यक्तिहरुले मेरो बारेमा छापिएको चरित्र हत्या र आरोपका बारेमा सोधे र उनीहरुलाई सम्झाँउदा सम्झाँउदै म निकै थकित र कमजोर भई आफ्नो चोरी भएको ल्यापटपको खोजी समेत गर्न नसकी काठमाण्डौ फर्कें र फेरि शुरु भयो मेरो न्यायको खोजीको एकल संघर्ष।
आफूमाथि गरेको अन्याय र चरित्र हत्याको प्रमाणसहित म पुनः सिंहदरबार प्रहरीमा पुगी मैले नौ दिन अगाडि दिएको शान्ति सुरक्षा गरी पाउँ भन्ने निवेदनबारे प्रश्न गर्दा प्रहरीले अजयबाबु अझै पनि प्रहरीमा नआएको भन्दै उसलाई अनुसन्धानका लागि ल्याउने सिंहदरवार प्रहरीको अधिकार क्षेत्र नभई कमलपोखरी प्रहरीको क्षेत्रमा पर्ने बताइयो। म पुनः हनुमानढोका कार्यालय र सिंहदरबार प्रहरी कार्यालय धाउने म्याराथनमा निकै धाएँ। ममाथि गरिएको अन्याय र चरित्रहत्या सम्बन्धी सबै खुलाएर जि.प्र.का. गई अर्को निवेदन दिई जिल्ला प्रशासन प्रमुखसमक्ष गुहार गरेँ। मेरै अगाडि प्रमुख जिल्ला अधिकारीले एसपी खरेललाई यस विषयमा तुरुन्त अनुसन्धान र कारबाही गर्न निर्देशन दिनुभयो। यतिन्जेल अजयबाबुले आफ्नो राजनैतिक संरक्षणको सारा व्यवस्था मिलाई आफ्ना ८–१० जना व्यक्तिहरुसहित सिंहदरबार प्रहरी कार्यालयमा उपस्थित भएपछि मलाई बोलाइयो। हामी दुबै जनालाई प्रहरी कार्यालयका सइ र उनका सहकर्मीले सोधपुछ गर्न थाले। सोधपुछमा म एक्लै थिएँ तर अजयबाबुका केही साथीहरुलाई समेत सँगै राखियो र राजनैतिक दबाबका कारण मिल्नका लागि मलाई दबाब दिइयो। मैले अनुसन्धान र कानुनी कारबाही नगरी नै मिल्नका लागि दिइएको त्यस्तो दबाव अनुचित र अमान्य रहेको बताउँदै बिलौना गर्दा अजयबाबुले प्रहरीकै अगाडि मलाई निकै घिनलाग्दा अपशब्द प्रयोग गरी धम्की दिँदा प्रहरीले नसुनेको जस्तो गरी ट्वाल्ल परेर बस्यो। अजयबाबुले मेरो सबै व्यक्तिगत विवरण घर ठेगाना, यहाँसम्म कि मेरा ८४ वर्षका वृद्ध बुबाको नाम समेत टिपेको आफ्नो सानो डायरी पढ्दै मलाई धम्काएका थिए। यसरी प्रहरीले एकपक्षीय रुपमा राजनैतिक दबावमा आई कारबाही नै नगरी मिल्न मात्र दिएको ठाडो दबावलाई अस्वीकार गरेपछि मैले उहाँहरुलाई इमान्दार भई कानुनी कारवाही गर्नुस् भनी एक्लै पुनः साँझपख आफ्नो कोठामा फर्केँ। फर्कँदा मनमा डर थियो कि कतै अजयबाबुका साथीहरुले मलाई पिछा त गरिरहेका छैनन्। कोठामा एक्लै जान डर लागेर साथीलाई बोलाई उसको घरमा गएर त्यो रात बिताएँ।
भोलिपल्ट बिहान पुनः सिंहदरबार प्रहरी कार्यालय पुग्दा थाहा भयो- अजयबाबुलाई नेपाली कांग्रेसका सभासद गगन थापा लगायतका केही व्यक्तिहरु आएर हिजो नै म हिंडेपछि छुटाएर लगेका रहेछन्। यसले मेरो कानुनमाथिको विश्वासमा निकै ठेस लाग्यो र पुनः हनुमानढोका एसपी खरेलकोमा गुहार्न पुगें। एसपी खरेलले अजयबाबुले पनि मेरो खिलाफ प्रतिलिपि चोरीको आरोपको निवेदन त्यही दिनमात्र दर्ता गराएको बताउँदै एसपी खरेलका “पश्चिमका पुराना साथी र केही पीएचडी प्राप्त व्यक्तिहरु” आएर अजयबाबुको पक्षमा बोलेकाले अजयबाबुको दावी सही भएको र म लगायत अजयबाबु दुबैलाई थुन्न सक्ने जिकिर गरे। मैले पुनः ममाथि दिइएको धम्कीको स्मरण गराउँदै सिंहदरबार प्रहरी अगाडि नै अजयबाबुले दिएको धम्की र गाली बारे बताउँदा एसपी खरेलले अजयबाबुको पक्षमा आएका उनका साथी र पीएचडी होल्डरले झुटो बोल्न नसक्ने कुरा बताए। मैले जिल्ला प्रशासन कार्यालयबाट पठाइएको ममाथि गरिएको अन्याय, धम्की र चरित्र हत्या सम्बन्धी निवेदन हेर्न समेत नमानी यो अदालत लिएर जानु भनी भन्दा मलाई एसपी खरेल पनि राजनैतिक दबाव वा नातावादको मानसिकताले आफ्नो कर्तव्य र जिम्मेवारीबाट लडखडाएको महशुश भयो। भोलिपल्ट पुनः हनुमानढोका अनुसन्धानका लागि मलाई बोलाइयो। म एक्लै त्यहाँ पुग्दा अजयबाबु आफ्ना २०–३० जना साथीहरुसहित आएका रहेछन् र प्रहरी परिसरभित्रै मलाई घुर्दै तर्साउने प्रयास भयो। प्रहरीले कुनै कानुनी अनुसन्धान नै नगरी मिल्नका लागि पुनः दबाव दिँदै अजयबाबुको निवेदन अनुसार मलाई पनि थुन्नसक्ने बतायो। मैले यदि गल्ती गरेको हो र थुन्न पर्छ भनी कानुनले ठम्याएमा म थुनिन तयार रहेको तर अजयबाबुलाई पनि नछाड्न बारम्बार बिन्ती गरे। आज पनि कुनै कारबाही नगरी पुनः भोलिपल्ट आउन भनियो। भोलिपल्ट फेरि हनुमानढोका एक्लै पुग्दा प्रहरी परिसरमा अजयबाबु पक्षका २०–२५ जना व्यक्तिहरुले गेटबाट नै घुर्ने काम भयो र प्रहरी परिसरभित्र समेत म आफू असुरक्षित भएको महसूस भयो। अब फेरि शुरु भयो राजनैतिक दबाव र इसारामा गैरजिम्मेवार प्रहरी प्रशासनको एकपक्षीय अन्यायपूर्ण कारबाही र दबाव। मैले १० दिनभन्दा पनि अगाडि दिएको निवेदनलाई पन्छाएर अजयबाबुले आफू उम्किनका लागि हिजो मात्र दिएको गलत उजुरीको आधारमा मिल्नका लागि दबाव दिन हनुमानढोका प्रहरी कार्यालयका प्रहरी निरिक्षक उमेश (थर थाहा नभएको) लाई जिम्मा दिइयो। अजयबाबु सहितका उनका १० –१२ जना साथीहरुको बीचमा प्रहरी निरीक्षक उमेशले मैले अजयबाबुको वृत्तचित्र चोरी गरेको आरोप लगाउँदै केरकार शुरु गरे। मैले बारम्बार मेरो ९० मिनेटको वृत्तचित्रमा अजयबाबुले आफ्नो भनी दाबी गरेका १ देखि २ मिनेटका दृश्य शान्तिका लागि साझा अभियान नामक संस्थाको लिखित अनुमति लिई प्रयोग गरेको बताउँदै अजयबाबुको आरोप गलत र गैरकानुनी रहेको जिकिर गरें। तर प्रहरी निरीक्षक उमेश उनकै सामु प्रस्तुत गरेका कानुनी प्रमाणलाई निष्पक्ष अनुसन्धान नगरी एकपक्षीय रुपमै मलाई आरोप लगाउँदै गए र अजयबाबुलाई उनले ममाथि गरेको अन्यायपूर्ण र गैरकानुनी आरोपप्रति प्रोत्साहित बन्दै गए। शान्तिका लागि साझा अभियानका प्रतिनिधिहरुलाई पनि बोलाई यसबारेमा बयान लिइयो, तर उनीहरुले आफैले दिएको लिखित अनुमति कानुनी प्रमाणका रुपमा रहँदा समेत उनीहरु पनि राजनैतिक दबाब वा नातावादका भावनाले मेरो विपक्षमा बयान दिँदै उक्त अनुमति उहाँहरुले आफूहरु नयाँ कार्यसमिति आएको बेला नबुझिकन दिएको गैर जिम्मेवारीपूर्ण बयान दिई पन्छिए। यसरी अजयबाबु आफ्नो गलत दाबी र आरोपप्रति अझै प्रोत्साहित भए। यदि अजयबाबुको आरोप सही भएको भए मैले उनको प्रतिलिपि चोरी गरेको भए किन उनी १० महिनासम्म मैले बारम्बार अनुरोध गर्दासमेत यस बारेमा कानुनसम्मत तरिकाले आएनन् र एक्कासी मलाई दिइएको धम्कीको उजुरी परेपछि मात्र आफ्नो बचाउका लागि राजनैतिक संरक्षण लिई अस्तिमात्रै मेरो विरुद्धमा उजुरी दिए त? साथै एउटा जिम्मेवार संस्थाले लिखित अनुमति दिएको प्रमाण पेश गर्दा पनि हामीले नबुझेर वा हामी नयाँ कार्यसमिति आएको भएर भनी दिइएको गैर जिम्मेवार र कानुनविपरीतको बयानलाई आधार मानी उनीहरुलाई सजिलै क्लिन चिट दिएर मलाई फसाउने र मिल्नका लागि दबाव दिने राजनैतिक दबावबाट एकपक्षीय अन्यायिक प्रहरी प्रशासनबाट नै म पीडित बन्दै गएँ। अजयबाबुका साथीहरुले मलाई बाहिरसम्म घुरिरहे। म निकै मानसिक तनाव र पीडामा छटपटाउन थालें।
भोलिपल्ट पुनः हनुमानढोका प्रहरीले बोलाई दुई पक्ष मिल्नु पर्ने र नमिलेमा दुबैलाई थुन्ने धम्की दिँदै दबाव दियो। मैले आफ्नो बिलौना र प्रहरीबाटै ममाथि भएको अन्यायका बारे एक्लै बिलौना गर्दै कानुनले भन्छ भने मलाई पनि थुन्नुहोस् तर अजयबाबुलाई पनि छाड्न नमिल्ने अडानमा रहिरहेँ। त्यसपछि डीएसपी लालमणि आचार्यको कोठामा राष्ट्रिय पत्रकार महासंघका सचिव लगायतका अजयबाबुका पक्षमा आएका १५–२० जना व्यक्तिहरुले मलाई मिल्नका लागि आग्रह गरे। मैले अजयबाबुले मलाई कानुनी रुपमा दोषी नै प्रमाणित नभइकन कानुन आफ्नो हातमा लिएर मार्छु काट्छु भनी धम्काएको, मेरो ६ महिनाभन्दा बढी समय लगाएर गर्न खोजेको सामाजिक काम बिथोल्नुका साथै अझै चोर हो भनी मेरो फोटोसहित पत्रिकामा छपाएर मेरो चरित्र हत्या गरेकाले यसको निष्पक्ष कानुनी अनुसन्धान भई सत्यअगाडि आउनै पर्ने निवेदन गरेँ। यसै क्रममा अजयबाबुले आफ्ना पक्षमा आएका ती १०–१५ जना जत्थाका बीच र अझै डीएसपी लालमणि आचार्यका अगाडि नै मलाई हेलमेट उठाएर आक्रमण गरे तर भाग्यवश उनकै साथीले रोकेर म जोगिएँ। यसरी डीएसपी कै अगाडि मलाई आक्रमण गरेकोमा र यसबारे डीएसपीले केही नगरेकोमा कानुनको ठाडो उल्लङ्घन भएको आभास हुँदै कानुनप्रतिको मेरो विश्वासमा निकै ठेस पुग्यो। यसरी एकपक्षीय अन्यायपूर्ण राजनैतिक दबाबद्वारा प्रेरित भई मिल्न भनेर दिइएको दबाव मैले अस्वीकार गरेपछि पुनः भोलि आउन र नमिले दुबैलाई थुनी मुद्दा चलाउने बताइयो। अजयबाबु आफ्नो पक्षमा आएका जत्थासँग प्रोत्साहित हुँदै निस्के र म एक्लै हनुमानढोकामा ट्वाल्ल परेर हेरी रहेँ। साँझ परिसकेर अन्धकार भैसकेको थियो। मलाई एक्लै हिँडेर कोठा जान निकै असुरक्षित लाग्यो र यस बारेमा डीएसपीलाई गुहार्दै “बरु मलाई नै यहाँ थुन्नुहोस् , कमसेकम थुनामा त सुरक्षित रहुँला” भनेर समेत बिलौना गर्दा फेरि भोली आउन भनियो। ममाथि भएको अन्याय र डीएसपी कै अगाडि गरिएको आक्रमणको प्रयासबारे उल्लेख गर्दै यदि मलाई कसैबाट आक्रमण भई केही भएमा प्रहरीसमेत जिम्मेवार हुने भनी निवेदन लेखी तिनै डीएसपी आर्चायलाई बुझाएँ। अफ्ठ्यारो मान्दै खिस्स हाँसेर बल्लतल्ल मेरो निवेदन बुझे र त्यसको दर्ता नम्बर लिएर एक्लै डराउँदै अँध्यारोमा बाहिर निस्कें। मलाई उनीहरुले पिछा गरेको डर त्रास सहित कहाँ जाउँ, के गरौं भयो। एक जना साथीलाई फोन गरेर बोलाई उसको घरमा गएर रात बिताएँ। डर, त्रास र अन्यायले पीडित भई निकै तनाव र पीडामा भएकाले बिहानै किष्ट हस्पिटलमा गई मेरो मानसिक पीडाका सबै व्यथा सुनाएपछि डाक्टरले केही औषधी लेखिदिए, अस्पतालमै एक दुई हप्ता बस्न समेत सल्लाह दिए।
११ बजे हनुमानढोका पुग्नु थियो। प्रहरीले भने अनुसार म लगायत अजय बाबु दुबैलाई थुनिने र मुद्दा चलाउने रे। म हनुमानढोका पुगी एसपी खरेललाई भेट्ने बित्तिकै एसपी खरेलले अजयबाबु क्यान्सरको रोगी भएको र अस्पताल रहेकाले आइतबार मात्र आउने बताउँदै आइतबार दुबैलाई थुन्न डीएसपी आचार्यलाई आदेश दिए। र म फेरि लुरुक्क हनुमानढोकाबाट निस्कन बाध्य भएँ र भोलि आइतबार थुनिनका लागि हनुमानढोका जाँदै छु।
आफ्नो बिरामीको बहाना बनाई अपराधबाट पन्छिन पाइन्छ भने मलाई पनि ब्रेन ट्युमर छ र केही वर्षदेखि यसको औषधी खाइरहेको छु। एसपी खरेलले मलाई जवाफ दिनुहोस् के मलाई आफ्नो बिरामीको बहाना बनाई अपराध गर्न र त्यसबाट उम्किन कानुनले छुट दिन्छ त? जिल्ला प्रशासन कार्यालयले तपाईंहरुलाई ममाथि ज्यानको धम्की दिएको सम्बन्धमा कानुनी अनुसन्धान र कारबाही गर्न निर्देशन दिएको थियो, राजनैतिक नेताहरुको आदेश वा दबावमा अनुसन्धान वा कारवाही नै नगरी मिलाइदे भनेर होइन। तपाईंले के अनुसन्धान र कारवाही गर्नुभयो र प्रहरी अगाडि नै मलाई आक्रमण गर्न खोज्नेलाई कुनै कारबाही नगरी ट्वाल्ल परेर हेरेर बस्दा के तपाईंलाई त्यो सरकारी पोशाक र फुली लगाएर बस्ने अधिकार छ भन्ने अलिकति पनि महसूस र लाज लागेन? होइन भने त्यो तपाईंको पोशाकमा “सत्य सेवा सुरक्षणम्” झुन्डिएको फुली हटाएर राजनैतिक पार्टीको झण्डा र गगन थापाअंकित फुली लगाएर पार्टीको झण्डा बोकेर बस्नुस् र भन्नुहोस् तपाईं आफ्नो सुरक्षा र न्याय आफै गर्नुहोस् भनेर। अजयबाबुले ममाथि लगाएको आरोप पूर्णतया गलत हो भनी “कानुन बमोजिम” प्रमाणित गर्न मलाई १० मिनेट पनि लाग्ने छैन। तर राजनैतिक दबावमा पूर्वाग्रही भई ममाथि अन्यायपूर्ण आरोप लगाइ उल्टै थुन्ने धम्की दिने एसपी खरेल लगायतको प्रहरी प्रशासनलाई मेरो ठाडो चुनौति छ – थुन्नुहोस् मलाई पनि, यसको जिम्मेवारी र जवाफ नदिई तपाईंहरु उम्किन पाउनु हुन्न। तर राजनैतिक नेताहरुलाई रिझाउनका लागि अजयबाबुलाई कसरी छोड्नु हुन्छ, यसको जवाफ पनि दिनै पर्छ तपाईंले, र यदि प्रमाणित भएमा कारबाहीका लागि पनि तयार रहनुहोस्। कसैले झुटा आरोप लगाई निवेदन दिएकै भरमा थुन्न मिल्छ भने, मैले पनि तपाईं प्रहरीले ममाथि गरेको अन्यायपूर्ण व्यवहार बारे निवेदन दिएको छु, थुनाउनुहोस् तपाईं लालमणि आचार्य र आफैंलाई। आफ्नो आत्मालाई साक्षी राखेर सोच्नुहोस् – किन बिक्नु भो तपाईंहरु र कस्तो न्याय गर्दै हुनुहुन्छ? प्रहरी र कानुनबाटै जनताको विश्वास टुट्यो भने के हुन्छ?
सम्माननीय एसपी रमेश खरेल ज्यु, मैले अन्तिम पटक तपाईंलाई भनेको थिएँ –“सर म अन्यायमा परी हतोत्साही भएको बेला नडराउनु र कानुनसम्मत तरिकाले सामाजिक कामका लागि निर्धक्क लाग्नुहोस् भनेर तपाईँले प्रोत्साहन दिनुभएको थियो। म तपाईंले दिएको यो प्रोत्साहनलाई हार्न दिन्न, तपाईंलाई हार्न दिन्न।” यसको मर्म कर्तव्यनिष्ठ र जिम्मेवार भएर बुझ्नुहोस्। यदि तपाईं पनि हार्नु भयो भने कानुनमाथि जनताको विश्वास हट्ने छ। त्यसको दीर्घकालीन परिणाम बारे पनि सोच्नुहोस्। जनताले तपाईंलाई एउटा उच्च सम्मान र विश्वास दिएको छ, त्यसको सम्मान गर्नुहोस्। नहराउनुहोस् जनतालाई राजनैतिक दबावमा, नत्र तपाईं पनि हार्नु हुनेछ। तपाईंप्रति जनताले दिएको सम्मान र विश्वासको सँधै जित होस्, यही कामना छ मेरो।
तुलसी भण्डारी
tulsibhandari@yahoo.com

*************************************************

त्यसपछि के भयो?
प्रहरीले अनुसन्धानका लागि १० दिन तुलसीलाई हिरासतमा राख्यो। त्यसपछि अदालतले उनलाई धरौटीमा रिहा गर्‍यो।  मुद्दा अदालतमा जारी छ।


http://www.mysansar.com/archives/2010/12/id/15988#more-15988