5 (2)
श्रीमती दीपा झाका साथमा उदितनारायण
उदितनारायण झा
१२ वर्षपछि नेपाल आएँ। चलचित्रजगत्‌कै ठूलो समारोहमा भाग लिन पाएँ। म आयोजकलाई धन्यवाद दिन्छु। यसपटक चाहेर पनि नेपालमा धेरै बस्‍न सकिएन। यहाँ धेरै साथीभाइ छन्। आठदस वर्ष लगातार यहाँ बिताएको छु। रेडियो नेपालमा काम गरेकाले मलाई काठमाडौंका एक/एक गल्लीको याद आउँछ। मुम्बईमा बसेर पनि नेपाली गीत गाउन पाइरहेको छु। नेपाली संगीतकार, निर्माता, निर्देशकसँग भेट भइरहन्छ।

१२ वर्षको अन्तरालमा काठमाडौंका सडक फराकिला भएछन्। धेरै घर बनेका कारण काठमाडौं आफैं भने साँघुरिएछ। वर्षमा एउटा फिल्म बन्नेमा अहिले पचासौं फिल्म बन्न थालेका छन्। विमानस्थलबाट काठमाडौंतिर छिर्दा हरेक ठाउँले मलाई मुम्बई जानुअघिको उदितकहाँ पुर्‍याइरहेका थिए। म दीपालाई गाडीमा ‘यो यस्तो ठाउँ, म यहाँ यसो गर्थें’ भन्दै गएँ। सिंहदरबारअगाडिको पृथ्वीनारायण शाहको सालिक कटेर पुतलीसडक लागेपछि भने म भावुक भएँ, स्वर दबियो।
त्यही रेडियो नेपाल थियो, जहाँ टिनएजको उदितनारायणले गायन सुरु गरेको थियो। त्यही पुतलीसडक, जहाँको एउटा कोठामा म बस्थेँ। पुतलीसडकदेखि सिंहदरबारसम्मको हिँडाइमै बसेको थियो, मेरो गायनको जग। सिंहदरबारनेर पुग्दा मेरो बोली बन्द भयो। सम्झेँ, ती कयौं रात। डेरामा जान नसक्दा रेडियो नेपालको स्टुडियोमै सुत्‍नु परेको थियो।
सिंहदरबार गेटले मेरो मनलाई २०२९ सालतिरै पुर्‍यायो। १५/१६ वर्षको उमेर हुनुपर्छ, त्यति बेला। हाफ पाइन्ट लगाएर काठमाडौं आएको गाउँले केटो। रेडियो नेपाल धाउने क्रममा एक दिन राजाको जन्मोत्सव आइपुग्यो। रेडियो नेपालमा मैले एउटा मैथिली गीत गाउने अवसर पाएँ। तत्कालीन सञ्‍चारमन्त्री चतुर्भुजप्रसाद सिंह, राजविराजका सभापति कृष्णदेव झा, पूर्वमन्त्री जगदीश झाले रेडियो नेपालका अधिकारीलाई ‘गाउँबाट आएको केटा सानो भएपनि राम्रो गाउँछ। आर्थिक अवस्था पनि ठीक रहेनछ। मौका दिनू’ भनेका रहेछन्।
त्यसरी गाउने मौका त जुर्‍यो र प्रशंसा पनि पाएँ। जागिर खाने उमेर भने भएको थिएन। त्यसैले कहिलेकाहीँ गाउने मौका पाउन थालेँ। बिस्तारै त्यो क्रम बढ्दै गयो। गीत रेकर्डिङ हुँदा पैसा पाउन थालिसकेको थिएँ। त्यति बेलासम्म मेरो स्वर कुनै औपचारिक तालिमका आधारमा बनेको थिएन। त्यति बेला नातिकाजी, गोपाल योञ्‍जन, शिवशंकर र सीके रसाइलीले अलिअलि सिकाउँथे। गायन लगाव भने काठमाडौं आउनुअघि अझ भनौं बाल्यकालदेखि नै थियो।
जन्मथलो सप्‍तरीको भारदह। मेरा बाजे कविता लेख्थे। हाम्रा पुर्खाहरूमा कोही न कोही सिर्जनातिर लागेका। आमा गाउँको चाडपर्व बिहेमा लोकगीत गाउनुहुन्थ्यो। मैले पाएको प्रेरणा आमाबाटै हो। यो एउटा दैवी वरदान पनि थियोजस्तो लाग्छ। गाउँघरका ठूला मान्छेका घरमा रेडियो हुन्थ्यो। म उनीहरूको ढोकामा गएर पनि गीत सुनेर बस्थेँ। त्यसले मलाई आधुनिक संगीततिर तान्यो।
मेरो ठूलो दाइ दिगम्बर झा नेपाल वा सीमापारि भारत जता मेला लागे पनि ‘हिँड् जाऊँ गाउन, राम्रो गाउन सके इनाम पाइन्छ’ भन्थे। त्यो मेला रमाइलो हुन्थ्यो। नाचगान गर्ने ‘बाई’ हरू आएर मञ्‍च बनाउँथे। गाउँलेले बाईहरूलाई ‘ल यो केटाले पनि राम्रो गाउँछ, मौका देऊ’ भनिदिन्थ्ये। मैले गाउन पाउँथे र साथमा प्रशंसा पनि। सुन्नेले खुसी भएर एकदुईदेखि ११ रुपैयाँसम्म दिन्थे। त्यति बेलाको ११ रुपैयाँ ठूलै हुन्थ्यो। मेलाको पैसाले कहिले जुत्ता त कहिले लुगा किन्थेँ।
पहिलोपटक गाएको भने कसैको बिहेमा हो। म जन्ती गएको थिएँ। त्यहाँ मलाई गाउन भनियो। बेहुलीतिरको मानिस हुनुपर्छ, मसँग आएर भन्यो, ‘एउटा गीतको चार आना दिन्छु, जति गाउँछौ त्यति पैसा मिल्छ, गाउने?’ मैले गाउन थालेँ। साँझसम्म गाउँदा पाँच रुपैयाँ पाइयो। त्यसबाहेक ठूला दाजुहरूसँग कोसीमा गएर माछा मार्ने दैनिकी पनि थियो। खेतमा गएर हल र गाडा चलाउँदा पनि ‘इन्जोय’ नै हुन्थ्यो।
बाल्यकाल एक ढंगले संघर्षमय नै थियो। हाम्रो पुख्र्यौली घर कोसीले बगाएपछि बाबुबाजे विस्थापित भएका थिए। हाम्रो साविकको घर अहिले कोसी ब्यारेज रहेको ठाउँमै भएको मलाई अभिभावकले सुनाएका थिए। भारदहमा बस्दा राजविराज नजिकैको तिलाठी बजार, फारबिसगन्ज, भीमनगरपारिको बाइसीमा मेला हुँदा पनि गाउने अवसर पाएँ। गाउँका मन्दिर, विद्यालय र मेलामा गाउन थालेँ।
राजधानी आएर रत्‍नराज्य क्याम्पसमा भर्ना भएँ। कक्षा खाली भयो कि साथीहरू ‘ल जाओस् न त एक दुईवटा’ भन्थे, म गाउन थाल्थेँ। गाउँदै जाँदा रेडियो नेपालबाटै पनि सिक्ने मौका पाइयो। त्यतिले नपुगेर झोँछेको एउटा संगीत विद्यालयमा साँझ गएर सिक्न थालियो। लखनउबाट आएका एक गुरुले सिकाउँथे, नाम बिर्सिएँ।
मुम्बई गएँ, त्यहाँ मेरा संघर्षका दिन बिते। मुम्बईको चौपाटीस्थित भारतीय विद्या भवनमा दिनभरि पढेर साँझतिर स्टुडियोमा जान थालियो। लगातार दुई वर्षको संघर्षपछि संसारकै लोकप्रिय गायकमध्येका एक मोहम्मद रफीसँग चलचित्र ‘उन्नीस बीस’ का लागि गाउने अवसर जुट्यो। त्यसका लागि पनि ठूलै संघर्ष गरेको थिएँ। बिहानदेखि साँझसम्म बलिउडका संगीत निर्देशकको कोठामा जान्थेँ, कुरिरहन्थेँ। ‘मेरा गीत सुन्नुहोस्, राम्रो लागे मौका दिनुहोस्’ भन्थेँ। कतिपयलाई मेरो गायनशैली मन परेको थियो। कसैले राजेश रोशनलाई भनिदिएको हुनुपर्छ, ‘एउटा केटा आउँछ, त्यसको स्वर राम्रो छ। यसैलाई चान्स दिएर हेर्ने कि?’
त्यो मेरो सपना साकार भएको दिन थियो। मैले सानैदेखि रेडियोमा सुनेको ठूला गायक रफीसँग उभिने र सँगै गाउने अवसर पाएँ। त्यसपछि एक दुई लाइन गाउने अवसर आई नै रह्यो। मेरो सपना पूरा भएको थिएन। एउटा ठूलो नायकका लागि, ठूलै ब्यानरमा बनेको चलचित्रमा मुख्य प्लेब्याक सिंगर बन्न भने अर्को १० वर्ष लाग्यो मलाई। स्टुडियोबाहिर राम्रा गीत गाउने मौका पर्खेर मैले दिनको २ देखि ६ घन्टासम्म कुर्दै दस वर्ष बिताएँ। मुम्बईमा ठूलो पानी पर्दा र राती अबेर भएर रेल नपाउँदा पनि कुनै वास्ता गरिएन। तर, कहिलेकाहीँ निरास नभएको चाहिँ होइन। तैपनि मेरो अन्तरमनले भन्थ्यो ‘कुनै न कुनै दिन राम्रो हुन्छ’। पशुपतिनाथको कृपा र नेपालीको सदिच्छाले त्यो दिन आइपुग्यो।
आदित्यको जन्म मेरो लागि वरदानसरह भयो। ऊ एउटा लक लिएर आयोजस्तो लाग्छ। सन् १९८७ अगस्टमा आदित्य जन्मियो र डिसेम्बरमा मेरो गीत ‘पापा कहते है’ हिट भयो। भारतीय सिनेमामा मेरो पहिलो हिट गीत थियो त्यो। सन् १९८८ मा फि ल्म रिलिज हुनुअघि नै ‘पापा कहते है’ हिट भइसकेको थियो। त्यसपछि म व्यस्त गायक बन्न पुगेँ। मैले ३४ भाषामा गीत गाएको छु। सबै मन पराइएका छन्।
आदित्यको पनि अहिले प्रगति राम्रै छ तर प्रतिस्पर्धा चर्को छ। अहिले ऊ सञ्‍जय लीला भन्सालीको सहायक भएर काम सिकिरहेको छ। उसले गायन, उद्घोषण, क्यामेरा सञ्चालन, निर्देशन आदि सिकिरहेको छ।
बलिउडमा २५ वर्षसम्म मेरो एकछत्र राज थियो। तर, सधैं त्यस्तो हुनुपर्छ भन्नु पनि भएन। अहिले मूलधारका सिनेमामा मेरो आवाज कम सुनिएको मात्र हो। मैले गाउन छोडेको छैन। अहिले पनि ‘राधा तेरी चुनरी’ जस्ता गीत हिट भएका छन्। एउटा उपल्लो स्थान पाइसकेपछि त्यसलाई कायम राख्न पनि अर्को ठूलो संघर्ष गर्नुपर्दो रहेछ। अहिलेसम्म थाम्‍न सकेको छुजस्तो लाग्छ।
नेपालको संगीत धेरै धनी छ। संगीतमा परिवर्तन आएको साँचो हो। बलिउड पनि अहिले परिवर्तन भएको छ। जति परिवर्तन भए पनि मूल भने लोक वा मौलिक गीत नै हुन्, जुन क हिल्यै मर्दैनन्। अहिले पश्चिमी वा फास्ट बिटका गीत युवापुस्ताले रुचाउलान् तर सधैं टिक्नेचाहिँ त्यही मौलिक र लोकसंगीत नै हो। हाम्रो सन्दर्भमा भन्दा गोपाल योञ्जन, अम्बर गुरुङ, नारायणगोपाल आदिको जस्तो। बलिउडको कुरा छोडौं, उनीहरूले गरेजत्तिको काम यहाँ गर्न थोरै मेहनतले पुग्दैन।