Friday, May 30, 2014

संसारकै बलवान बालक, जो बलिविल्डर बने - onlinekhabar





७/८ वर्षका बालकको दैनिकी भनेको साथी भाइसँग खेल्नु र कखरा सिक्नु हो । तर, रोमानियाली दुई बालकको दैनिकी भने फरक छ ।

नौं वर्षका जिउलानो र ७ वर्षका क्लाडियो हरेक दिन दुई घण्टा चार किलोको डम्बल उठाउँछन् र कडा व्यायाम गर्छन् । जसको प्रतिफल उनीहरु विश्वको कान्छो बडीबिल्डर बनेका छन् र उनीहरुलाई ‘द हरक्यूलीज’ नाम दिइएको छ ।



उनीहरुको शरीरको बनोट ठूला बडीविल्डरहरुको भन्दा कम छैन । जिउलानोले ९० डिग्री भर्टिकल पुसअप र पोलमा मानव झण्डा जस्तै भएर अडिने दुई विश्व कीर्तिमान बनाएका छन् ।

३५ वर्षका युनिआन स्टोर आफ्नो छोराहरुलाई चर्चित बनाउन चाहन्छन् । इटलीमा बस्न नसकेपछि स्टोरको परिवार रोमानिया फर्किएको छ । तर, दुई बडीबिल्डरको चर्चा बढेपछि आफ्ना लागि रोजगारी र छोराहरुका लागि सहयोगको खोजीमा युनिआन स्टोर बेलायतको भ्रमण गर्दैछन् ।




यी हुन शरीरको तौल नबढाउने खाना - annapurnapost

के तपाईं तौल घटाउने विचारमा हुनुहुन्छ? तर, कार्यालयमा कम्प्युटरमा बसेर काम गर्न विवश हुनुहुन्छ भने तपाईंले तेलयुक्त खानेकुरा, चिप्स, प्याकेटका खानेकुरा खाने बानी त्याग्नुपर्छ। तौल नबढाउने हो भने निम्न प्रकारका खाना खान सकिन्छ :
जौको बिस्कुट : आफ्नो तौल धेरै भएर चिन्तित हुनेहरूले जौको बिस्कुट खानुपर्छ। जौमा क्यालोरी थोरै हुन्छ। यस्तो बिस्कुट कार्यालयमा लिएर जान सकिन्छ। तर, दिनको तीनचारवटाभन्दा बढी खानु हुँदैन।
उसिनेको अन्डा : हामीले उसिनेको अन्डाको फाइदाका बारेमा धेरै सुनेका छौं। अन्डामा धेरै प्रोटिन पाइन्छ। कार्यालय जाँदा अन्डा लिएर जान सकिन्छ। यसलाई अन्य सलादसँग मिसाएर पनि खान सकिन्छ।

बदाम :
बदाम स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ। काममा व्यस्त भए पनि केही बदाम, सुकेको अंगुर र दुईतीनवटा काजु खाँदा भोक मेटाउनुका साथै फिट रहन पनि मद्दत गर्छ।
पपकर्न : पपकर्न एक प्रकारको स्वस्थ खाजा हो। यो जति खाए पनि चिन्ता मान्नु पर्दैन किनकि यसले तौल बढ्दैन अनि भोक मेटाउन सहयोग गर्छ। बोकेर हिँड्न पनि सजिलो हुन्छ।
उसिनेको मकै : मकै भिटामिन 'सी'को उत्तम स्रोत हो। निरन्तर मकै खाँदा स्वस्थ रहन मद्दत गर्छ। कार्यालय जाँदा उसिनेको मकै बोक्न सकिन्छ। यसमा बटर, नुन, खुर्सानीको धुलो र कागती लगाउँदा स्वादिलो हुन्छ। उसिनेको मकै मन पर्दैन भने पोलेको मकै पनि खान सकिन्छ।
सुप वा जुस : शुद्ध भेज सुप वा जुसले भोक मेटाउनुका साथै काममा स्फूर्त बनाउँछ।
टुसा उम्रेको गेडागुडीको सलाद : आफूलाई मन पर्ने गेडागुडी उमारेर त्यसलाई उसिन्ने अनि नुन र मरीच मिसाएर सलादका रूपमा कार्यालयमै बसेर खान सकिन्छ।
फलफूल: कार्यालय जाँदा केही फलफूल बोक्ने गर्नुस्। एउटा सुन्‍तला या स्याउ भ पनि बोक्‍नुहोस्। यसले स्‍वस्‍थ बनाई पेट भोको हुन दिँदैन। कामपछि कसरत गर्न जिम क्लब पनि धाउनु पर्दैन। न त ट्रेडमिलको पछाडि नै दौडिनुपर्छ। -एजेन्‍सीको सहयोगमा

Sunday, May 18, 2014

अचम्म ! मोटरसाइकलले यस्तो पनि बोक्छ ? - onlinekhabar





काठमाडौंका सडकहरुमा गाडीभन्दा मोटरसाइकल बढी गुड्छन् । गन्तव्य छिटो पुग्न सकिने र गाडीको तुलनामा कम मुल्य पर्ने भएकाले मोटरसाइकल मध्यम वर्गको रोजाइमा परेको पाइन्छ ।

मोटरसाइकल हलुका सामान बोक्न समेत प्रयोग हुने गरेको छ । तर, भिडनाममा भने मोटरसाइकलले हाम्रा ठूला ट्रकहरुले झै सामान बोक्छन । सन् १९९१ मा पहिलो पटक भियतनामको भ्रमण गरेका डच फोटोग्राफर हान्स केक्प भन्छन्-’मैले जे देखेँ, त्यसलाई विश्वास नै गर्न सकिन । मोटरसाइकलमा सिंगो परिवार थियो ।’

१९९५ मा हङकङबाट भियतनाम सरेका उनले मोटरसाइकलमा बडेबडेमानको भारी बोकेकोदेखि सिंगो परिवार चढेको तस्वीरहरु खिचेका छन् ।










































Tuesday, May 13, 2014

संसारकै बहादुर राँगो, जसले जित्यो ११ वटा सिंहलाई (फोटो फिचरसहित) - onlinekhabar




तान्जानियाको निकुञ्जमा वाइल्ड लाइफको मज्जा लिन गएका पर्यटकहरु त्यसबेला लाचार भए, जब ११ वटा भोकाएका सिंह एक जंगली राँगाको शिकार गर्न जुटे ।

आश्चर्य, झण्डै २० मिनेटसम्म चलेको संघर्षमा जित राँगाको भयो, ११ वटा सिंहको बथान लाचार भएर फर्किनुपर्यो । पर्यटकहरु १२ वटा सफारीमा खचाखच थिए, त्यतिकैमा उनीहरुको सवारीलाई छिचोल्दै ११ वटा घोर्ले सिंह चरिरहेका भैंसीको बथानतिर लागे । घेरा हालेर उनीहरुले राँगामाथि आक्रमण गरे ।



अन्य भैंसी भाग्न सफल भए पनि एउटा भने जालमा पर्यो । सिंहले उसलाई खुट्टा, पुच्छर, ढाड जताजतैबाट एकसाथ आक्रमण गरे ।

तर, राँगाले आफुलाई जोगाउन निकै संर्घष गर्यो । २० मिनेटसम्मको लडाईंमा सिंहले रागालार्इ ढाल्न असमर्थ भए । राँगो अन्ततः भागेर ज्यान जोगाउन सफल भयो । सिंहहरु हेरेको हेर्यै भए ।

पर्यटकको समूहमा रहेका स्कोट म्याकलियोडले यी सबै दृष्य आफ्नो क्यामेरामा कैद गरेका छन् । सिंहले राँगामाथि आक्रमण थालेपछि आफूहरुले सफारी पछि पारेको उनले बताए । ११ सिंहको सामना गरेर जित हात पारेको राँगालाई उनले ‘विश्वको सबैभन्दा बलबान राँगो’ भनेका छन् ।











–डेलीमेलबाट

Monday, May 12, 2014

मापसेको भित्री चुरो - mysansar - गौतम "उदय"

अल्कोहल धेरै प्रकारका हुन्छन्। अन्न तथा फलफूलमा मर्चा अथवा मर्चाकै काम गर्ने ब्याक्टेरिया हालेर कुहाएर जाँड बनाई त्यसैबाट बनाइने हामीले पिउने रक्सीचाहिँ खासमा एथनल हो। ब्याक्टेरिया भन्नेबित्तिकै हानिकारकमात्र हुँदैनन, थुप्रै प्रकारका लाभदायक पनि हुन्छन्। दही जमाउने, सेल फुलाउने पनि ब्याक्टेरिया नै हुन्। हाम्रो ठुलो आन्द्रामा पनि करिब ४०० प्रकारका लाभदायक ब्याक्टेरिया हुन्छन्। अन्न तथा फलफुलमा चिनीतत्व पाहिन्छ त्यही तत्व नै रासायनिक प्रतिक्रियाद्वारा रक्सी बन्दछ।
रक्सी कति कडा भन्ने कुरा त्यसमा मिसिएको पानीको मात्रामा भर पर्छ। जाँड नउमालिकन बनाइने छ्यांङ, बियर, वाइन आदिमा बढीमा १५% सम्म अल्कोहलको मात्रा हुन् सक्छ, बाँकी पानी हुन्छ। त्यो भन्दा बढी प्रतिशत अल्कोहल भएको रक्सी बनाउन परे जाँडलाई तताएर वाष्पीकरणको माध्यमले अल्कोहलमा पानीको मात्रा घटाउनु पर्छ र तताउंदा निस्केको बाफलाई कुनै माध्यमले पसिनाको रुपमा संकलन गर्नु पर्दछ।
घरपाला रक्सी पार्दा तताउँदै गरेको जाँडलाई माथि चिसो पानी भएको भाँडोले छोप्नुको कारण अल्कोहलरुपी बाफलाई चिसोमा ठोक्काएर तरल बनाई झार्नु हो। घरपाला रक्सी बनाउंदा १० पटकसम्म पानी फेरिन्छ। ३ पटकसम्मकोमा अल्कोहलकोमात्रा बढी हुने भएकोले ३ पाने रक्सी कडा भएको हो। पानी १०० डिग्री सेल्सियसमा वाष्पीकरणक हुन्छ भने अल्कोहल ७८.३ डिग्रीमा, तसर्थ ७८.३ डिग्री नजिकको रक्सी बढी कडा र १०० डिग्री नजिकको कम कडा हुन्छ। विज्ञानमा यसरी बनाइएका कडा रक्सीलाई (high concentration alcohol) भनिन्छ।
शुद्ध इथानोल २००% सम्म प्रूफ (Proof) हुन्छ तर बिशेष औधोगिक तरिकाबिना यो प्राप्त गर्न सकिन्न। त्यसैले हामीले खाने रक्सीको सिसीमा जति प्रतिशत प्रूफ भनेर लेखेको हुन्छ, त्यसको ठिक आधा अल्कोहलको मात्रा र बाँकी पानीको मात्रा छ भन्ने बुझ्नु पर्छ। जस्तै भोड्कामा ७०% प्रुफ लेखेको छ भने त्यसमा ३५% अल्कोहलको मात्रा छ भनेको हो।
हामीले खाने ठोस खाना पाचन भै मसिनो बनेर सानो आन्द्रा हुँदै शरीरमा पुग्न समय लाग्छ तर रक्सीलाई पच्नु पर्दैन। खाने बित्तिकै २०% जति आमासयले नै सोस्दछ, बाँकी तुरुन्तै सानो आन्द्रामा पुगी सोसिएर रगतमा मिसिन्छ र शरीरका सबै कोषमा पुगी प्रभाब पर्दछ। यही प्रभाब पार्नु भनेको नै रक्सी लग्नु भनेको हो।
सामान्यतया एक बयस्क मान्छेको कलेजोले १ घन्टामा २० मिलिलिटर जति भोड्का, ७० मिलिलिटर जति वाइन, अथवा २०० मिलिलिटर जति बियरमा भएको अल्कोहलको मात्रालाई शुद्ध बनाउन सक्छ, त्यो भन्दा छिटो र बढी खाएको रक्सी सिधै रगतमा पुग्दछ। रगतमा हुने अल्कोहलको मात्रालाई Blood Alcohol Concentration (BAC) भनिन्छ। यदि BAC ०.०५% देखियो भने त्यसको अर्थ १०० मिलिलिटर रगतमा ५० मिलिग्राम अल्कोहल मिसिएको छ भन्ने हो। एक सानो ग्लास वाइन, एक पेग व्हिस्की. अथवा एक क्यान बियर खाँदा करिब BAC ०.०५% हुन्जान्छ। उत्तरी अमेरिकाका कतिपय राज्यमा BAC ०.०५% सम्म भएमा गाडी चलाउन पाइने, ०.०५-०.०८% सम्म भएमा १२ घन्टासम्म गाडी चलाउन नपाइने तर लाइसन्स खारेज नहुने, र त्यो भन्दाबढी भए खारेज हुने नियम छ। जापानमा भने रुघाखोकीको औसधि खाएर समेत गाडी चलाउन नियमत बर्जित छ।
रक्सी खाएको मान्छेले कुनै दुर्घटना गरायो भने BAC ०.०४% सम्म भएमा दुर्घटना हुनुमा अल्कोहल कारक तत्व नहुने, BAC ०.०५% भए अल्कोहलको भूमिका १%, BAC ०.०८% भए २%, BAC ०.१२% भए ८% र एवं रीतले BAC ०.२२% भए ३०% हुने ताजा अध्ययनहरुले देखाएका छन्। BAC ०.५०% भएमा फोक्सो र मुटुले कामै नगरी मान्छे मर्न पनि सक्छ।
रक्सीले हामीलाई कसरी र कस्तो प्रकारको असर गर्छ भन्ने बुझ्नलाई मस्तिष्कको बनौट र काम गर्ने तरिका मोटामोटी बुझ्नु पर्ने हुन्छ।
मानव मस्तिष्कका मुख्य ३ भाग हुन्छन्। गर्दनमाथि मेरुदण्डसंग जोडिएको भागलाई हाइन्डब्रेन (Hindbrain), त्यसको ठीकमाथिको केही भागलाई मीडब्रेन (Midbrain) र त्यो बाहेक अगाडिसम्मको संपूर्ण भागलाई फोरब्रेन (Forebrain) भनिन्छ। तर कामको हिसाबले २० भन्दा बढी भाग हुन्छन्। मस्तिष्कलाई बिशेषज्ञहरुको समूह पनि भनिन्छ किनकी मस्तिस्कका हरेक भागले संगसंगै काम गर्दछन, फेरि हरेक भागको आफ्नै छुटै भूमिका पनि हुन्छ। जस्तै:- हाइन्डब्रेनमा हुने सेरिबलम (cerebellum) भन्ने भागले शरीरका अंगहरुको संयोजन र नियन्त्रण गर्दछ। त्यसरी नै मस्तिष्कका कुनै भागले गति, कुनैले दृश्य, कुनैले स्मरण, कुनैले छोएर अनुभब गर्ने कुरा, कुनैले गर्न हुने या नहुने कुरा छुट्याउने कुरासंग सम्बन्धित मूल काम गर्दछन। यी संपूर्ण खण्डमा हुने गिदीमा करिब १ खरब जति न्युरन (neuron) भन्ने स्नायुकोषहरु हुन्छन्। कुनै पनि काम राम्रोसंग सम्पादन हुन्को लागी खासखास (neuron) हरुको बिचमासमेत बिद्धुतीय र रासायनिक संचार सम्पर्क हुनु पर्दछ।
जब बाहिरी संसारबाट प्रकास, आवाज, गन्ध, स्वाद, आनन्द आदिका संकेतहरु शरीरले थाहा पाउँछ, ती संकेतहरु रासायनिक तथा विद्दुतीय संकेतमा परिणत भै शरीरको एक भागबाट अर्को भागमा र मस्तिष्कको एक भागबाट अर्को भागमा संचारित हुन्छन। जब यस्ता संकेतहरु मस्तिष्कको कुनै एक भागको मस्तिष्ककोष (neuron) मा आइपुग्छन, तिनीहरुले पुनः न्युरोट्रान्समिटर (neurotransmitters) भन्ने नयाँ संकेत सृजना गरी अन्य भागका मस्तिष्ककोषसँग नयाँ सम्पर्क स्थापना गरी नयाँ प्रतिक्रिया र आवश्यक कार्य गर्दछन्।
कस्तो हुन्छ त रक्सीको असर मस्तिष्कमा ? रक्सी खाने ब्यतिलाई रक्सीले मनोरन्जन दिइरहेको भान हुन्छ तर औषधी बिज्ञान अनुसार मानिसलाई डीप्रेस बनाउने एक प्रकारको (depressant) र लत लाग्न सक्ने लागु पदार्थ दुवै हो रक्सी। हाम्रो दिमागले सही काम गर्नु भनेको माथि भनिएझैँ मस्तिष्कका अनगिन्ति तन्तुहरुको बिचमा संचार स्थापना भै सही कार्यको लागी आवस्यक निर्णय गर्नु हो। रक्सीले एकआपसमा सम्पर्क स्थापना गर्ने चाहाने कतिपय सूचना संकेतहरुलाई अबरोध पुर्याई केन्द्रीय स्नायु प्रणाली (Central Nerve System) को गति नै घटाइदिन्छ। जब केन्द्रीय स्नायु प्रणालीको गति कम हुन्छ, सम्पर्क हुनुपर्ने मस्तिष्ककोषहरुको बिचमा सम्पर्क नभई खासै सम्बन्ध हुनुनपर्ने मस्तिष्ककोषहरुको बिचमा सम्पर्क स्थापना हुन्छ। अनि त व्यक्तिको कुनै कुरालाई ग्रहण गर्ने तरिका, आवेग, भावना, चलमल गर्ने गति, श्रब्य तथा दृश्य आदि कुरा नै बदलिन्छन र नयाँ प्रकारका बन्दछन। रक्सीको असरले केन्द्रीय स्नायु प्रणालीको गती नै कम हुने भएकोले यसरी परिवर्तित ब्यबहारहरु कमजोर प्रकारका र अस्वाभाविक हुन्छन। थोरै खाँदा थोरै प्रभाब हुने भएकोले आनौठो, रमाइलो प्रकारको, थकाइ, पीर, चिन्ता बिर्सेजस्तो अनुभब र महसुस हुन्छ, तर बढी सेवन गर्दा शरीर नै विषाक्त बनी शरीर तथा मष्तिस्क दुबैमा बिशाल नकारात्मक प्रभाब पर्दछ। सामाजिक पक्ष त अझ छुटै कुरा हो जसलाई यो लेखमा समेटिएको छैन।
हाम्रो शरीरले खाएको २०-२५% तत्व मस्तिष्कले प्रयोग गर्ने भएकोले रक्सीको मात्रा पनि मस्तिष्कले बढी प्रयोग गर्ने नै भयो, अनि स्वभावैले रक्सीको असर पनि मस्तिष्कमा बढी पर्ने नै भयो। मस्तिष्कले नै सारा शरीरलाई निर्देशन र नियन्त्रण गर्ने भएकोले मस्तिष्क बढी प्रभावित हुँदा शरीर र शरीरका अंगहरु पनि बढी प्रभावित हुने नै भए। रक्सी खाएको व्यक्ति धंगधंगाउनु, बोली लार्बराउंनु, ध्यान नपुर्याउनु, अलमल पर्नु आदि मस्तिष्क प्रभावित हुनुका परिणाम हुँ। त्यसको अलावा रक्सी खाएको बेलामा बढी गफ गर्ने, हल्ला गर्ने, जोसिने, रिसाउने, अपराध गर्न समेत सुरिने, कपडामै पिसाब गर्ने आदि परिणामहरु पनि मस्तिष्ककले सही गतिमा सही सूचना दिन नसक्नुका नौला र अस्वाभाविक परिणाम हुन्। परिणामहरु पनि नसाको असर अनुसार फरक हुँदै जान्छन्। शुरुमा रमाइलो गरिरहेको मान्छेले झगडा गर्न थाल्नु त्यस्तै कारण हो। रक्सी लागेको मान्छेले गाडी चलाउन सक्छु भन्नु पनि अस्वाभाविक अबस्थामा स्वाभाविक क्रिया गर्न सक्छु भन्ने रक्सी प्रभावित भाबना हो। बास्तबिकतामा उसले नखाएको बेलामा झैं गरी चलाउन सक्दै सक्दैन।
अत्यधिक रक्सी सेवन गर्यो भने त alcohol poisoning नै हुन्छ। बान्ता गर्नु, निद्रा नलाग्नु, बिहोस वा अचेत हुनु, रगतमा चिनीको मात्र एकदम घट्नु या बढ्नु, शरीरको तापक्रम एकदम घट्नु र कुनैकुनै बेला रक्सी लागेकै अवस्थामा मृत्यु हुनु alcohol poisoning का परिणाम हुन्।
एक वयस्क व्यक्तिले दिनमा ७.५ देखि ८ घण्टा सुत्नु जरुरि हुन्छ। पुरा सुताइ चार अवस्थामा बाडिएको हुन्छ। पहिलो र दोश्रो अवस्थामा दिमागको गति छिटो हुन्छ तर तेस्रो र चौथोमा एकदम ढिलो हुन्छ। पछिल्ला दुई अवस्थामा मात्र व्यक्ति मस्त निद्रामा परी तरोताजा हुन्छ। तर रगतमा BAC बढी भएको बेला दिमागको गति द्रुत नै हुन्छ र सुते पनि व्यक्तिको निद्रा पुगेको हुँदैन। रक्सीको कारण निद्रा नपुग्दा दृश्य कम हुन्छ, टाउको दुक्छ अनि सारा शरीर नै मानसिक तथा शारीरिक रुपले शक्तिहीन र थकित हुन्छ।
अन्तमा रक्सीले जस्तोसुकै असर गर्ने भए पनि मान्छेले खान छाड्दैन किनकी यो समाजको अभिन्न अंग भैसकेको छ। अर्को कुरा रक्सी खाने मान्छेले खान थालेपछि नलागुन्जेल नखाई छाड्दैन। त्यसैले खाँदै नखानु सर्बोत्तम प्रतिज्ञा, कहिले काहीं र थोरै खानु धेरै खानुभन्दा उत्तम प्रतिज्ञा, र सुरक्षित ठाउँमा खानु अनि खाएको बेला जोखिमपूर्ण काम किमार्थ नगर्नु बाँच र बचाऊको भीष्म प्रतिज्ञा हो। तपाईंको प्रतिज्ञा कुन पर्यो त ?
(गौतमले हरेक साता माइसंसारमा विज्ञान ब्लग लेख्दै आएका छन्। यो त्यही शृङ्खलाको ब्लग हो। उनका अन्य विज्ञान ब्लग पढ्न यहाँ क्लिक गर्नुस्)

जण्डिस राेग हो भन्ने भ्रममा नपरौँ - setopati

डा‍. सुधांशु केसी

 जण्डिसमा उसिनेको खानेकुरा, गाँजर, मुला, काँक्रो, उखुको रस, ग्लुकोज, मेवा खानु पर्दैन, मासु खाए पनि हुन्छ
अचेल प्रत्येकजस्तो दैनिक पत्रिकामा दिनहुँ विराटनगर र जण्डिसबारे केही न केही छापिएकै हुन्छ। जण्डिस रोगले यति जना पीडित भए, यति जनाको मृत्यु भयो भन्ने खबर दैनिक पढ्न पाइन्छ। तर समाचार लेख्ने, सम्पादन गर्ने र छाप्नेले जण्डिस भन्ने रोग हुँदैन, यो त रोगको लक्षण मात्र हो भन्ने नबुझेर यसलाई भयंकर रोगको रुपमा चित्रण गरेको पाइन्छ। जनमानसमा जण्डिस भन्ने बित्तिकै डर र त्रास छाउने गर्छ।

हुन त कोही न कोही बेला हाम्रो घरपरिवार अथवा छिमेकीमा कसै न कसैलाई जण्डिस भइरहेको हुन्छ। यो स्वभाविक हो, किनभने अनेक रोगमा जण्डिस हुने गर्छ। तर हाम्रो समाजमा जण्डिस भन्ने बित्तिकै यो एउटा छुट्टै रोग र यसको उपचार एलोप्याथिक पद्धतिमा नभई आयुर्वेदमा मात्र छ भन्ने मान्यता रहेको पाइन्छ। कसैलाई जण्डिस भएको थाहा पाउने बित्तिकै घर वरिपरि कम्तीमा पनि ५० जना डाक्टर देखिन्छन्। उपचार गर्ने तरिका, उपचार गर्ने ठाउँ, गर्न हुने र नहुने कुरा, खान हुने र नहुने कुरा आदिको लामो लिस्ट बन्ने गर्दछ। उसिनेको खानेकुरा, गाँजर, मुला, काँक्रो, उखुको रस, ग्लुकोज, मेवालाई जण्डिसको राष्ट्रिय खानेकुराको रुपमा चित्रण गरिन्छ।

चिल्लो, पिरो, अमिलो छुनै हुँदैन र मासु खायो भने त ठहरै मरिन्छ भन्ने मानसिकता अधिकांश नेपालीमा रहेको पाइन्छ। मैले बिरामीलाई मासु खानुपर्छ भन्दा कोही फिस्स हास्छन, कोही अचम्म मानेर आँखा ठूलोठूलो पार्छन, कोही कोही त नजिस्किनुस् न डाक्टर साब् पनि भन्छन्। कसैले त यत्रो टाढाबाट बिरामी देखाउन आयो, यस्तो कुरा सुन्नलाई हो त पनि भन्छन्। यस्तो चर्चाको विषय, यस्तो गलत अवधारणा भएको जण्डिसबारे केही जानकारी दिन जरुरी सम्झिएर यो लेख लेख्ने जमर्को गरेको छु।

जण्डिस भनेको के हो?
रगतमा विलिरुविनको मात्रा बढी भएर आँखा, छाला र मुखभित्र पहेँलो हुनुलाई जण्डिस भनिन्छ। यो कुनै रोग नभएर विभिन्न रोगमा देखिने लक्षणमात्र हो। साधारण अवस्थामा रगतमा बिलिरुबिनको मात्रा १ मिलिग्रामभन्दा कम हुन्छ। बिलिरुबिनको मात्रा ३ मिलिग्रामभन्दा बढी भएमामात्र आँखा पहेँलो देखिन्छ। रगतमा विलिरुविनको मात्रा अत्याधिक भएमा यो पहेँलोबाट हरियोमिश्रित पहेँलो हुन्छ।

जण्डिस किन हुन्छ?
जण्डिसको कारक तत्व विलिरुविन रगतको रातो कणबाट आउँछ। रातो कणको १२० दिनको उमेर पुगेपछि यो फियोमा गएर नष्ट हुन्छ। विभिन्न प्रकृया पूरा भएपछि यसबाट विलिरुविन निस्कन्छ र रगतमा जान्छ। रगतमा भएको विलिरुविनलाई कलेजोको कोषहरुले लिएर पित्तमा फ्यालिदिन्छ। पित्तको थैलीबाट निक्लेको पित्तमा मिश्रित विलिरुविन पित्तको नली हुँदै सानो आन्द्रामा जान्छ। सो आन्द्राबाट फेरि सोसिएर ८० प्रतिशत जति पुनः रगतमा जान्छ। यसरी रगतमा विलिरुविन सधैँ रहिरहन्छ। कलेजोमा जानुअघिको विलिरुविन कन्जुगेटेड विलिरुविन भनिन्छ। सामान्य अवस्थामा यी दुवै विलिरुविन मिलाएर १ मिलिग्राम रगतमा भन्दा कम हुन्छ। कुनै कारणले यो मात्रा बढी भएमा यस अवस्थालाई जण्डिस भनिन्छ। आँखामा देखिनलाई यो मात्रा ३ पुग्नुपर्दछ।

विलिरुविन विभिन्न अवस्थामा बढ्न सक्छ र जण्डिस देखा पर्ने तीन विशेष अवस्थाहरु छन्।

१) रगतको रातो कण अध्याधिक नष्ट भएर अध्यायिक विलिरुविन निस्केर कलेजोले त्यसलाई लिन नसक्नु।

२) कलेजोको रोग लागेर रगतबाट विलिरुविन लिएर पित्तमा फ्याक्ननसक्नु।

३) पित्तको नली कुनै कारणले अवरुद्ध भएर पित्त आन्द्रामा जान नसक्नु।

जण्डिसले के असर गर्दछ?

साधारण जण्डिस आफैँले नवजात शिशुबाहेक अरुलाई असर गर्दैन। नवजात शिशुमा १० भन्दा बढी विलिरुविन वढेमा यसले मगजमा पसेर विभिन्न नशासम्बन्धी समस्या गर्न सक्दछ। वयस्कमा १ हुनु र १० हुनुमा कुनै फरक पर्दैन। २५ भन्दा माथि पुगेमा, मृगौलाको समस्या भएमा व्यक्तिहरुमा मृगौला खराब हुन सक्दछ। नत्र विलिरुविनले आँखा र छाला पहेँलो हुने, पिसाब गाढा हुने, दिशाको रङ हलुका पहेँलो। कहिलेकाहिँ माटोजस्तो हुने गर्दछ। यसबाहेक विलिरुविनको कारणले सारा शरीर चिलाउन सक्दछ। तसर्थ जण्डिस आफैँले कुनै खास समस्या गर्दैन भने बुझ्न जरुरी छ। कुन कारणले जण्डिस भएको हो, उक्त कारणले गर्दा हुने लक्षणहरु भने छुट्टाछुट्टै हुन्छ। त्यसैले कोही मानिसको मृत्यु जण्डिसले भयो भन्दा गलत हुन जान्छ।

जण्डिसका कारणहरु

जण्डिसका कारणहरुलाई ३ भागमा विभाजन गर्न सकिन्छ।

१) अध्याधिक विलिरुविन उत्पादन हुनु

शरिरमा अध्याधिक मात्रामा विलिरुविन उत्पादन भएर त्यसलाई कलेजोले पित्तमा फ्याँल्न नसक्दा जण्डिस हुन सक्छ। यस किसिमको जण्डिसमा विलिरुविन ५ मिग्राभन्दा बढी हुँदैन र यसको मात्रा बढ्नेघटने भइरहन्छ। निम्नलिखित अवस्थामा यस किसिमको जण्डिस हुनसक्दछ।

(क) रगतको रातो कण अध्याधिक मात्रामा नष्ट हुनु (हेमोलाइटिक जण्डिस)। यस अवस्थामा रातो कणको बनावटमा फरक पर्नाले फियोमा अध्याधिक मात्रामा नष्ट हुन जान्छ र विलिरुविनको मात्र बढ्न जान्छ।

(ख) असामान्य अवस्थाको रातो कण बन्नु (इनइफेक्टिभ इरिथ्रोपोइसिस) । विभिन्न कारणले गर्दा रातो कणभन्दा असामान्य अवस्थाको रातो कण बन्दछ जसको आयु सामान्य रक्तकणको १२० दिनभन्दा कम हुन जान्छ। फियोमा नष्ट हुने क्रम बढ्छ र विलिरुविनको मात्रा बढ्न जान्छ।

(ग) शरीरको कुनै ठाउँमा अत्याधिक रक्तश्राव पछि जमेको रगत विस्तारै सोसिँदै जान्छ। यदि त्यसको मात्रा बढी छ र सोसिने क्रम चाँडै हुन जान्छ भने त्यस अवस्थामा पनि जण्डिस हुन सक्दछ।

२) कलेजोको रोगहरु

कुनै पनि कलोजोको रोगमा जण्डिस हुन सक्दछ। कलेजेको कारणले हुने जण्डिसलाई ३ भागमा विभक्त गर्न सकिन्छ।

(क) जन्मजात रोग

रगतमा भएको विलिरुविनलाई कलेजोमा लिएर पित्तमा फ्याक्नलाई चाहिने इन्जाइमको कमीले गर्दा विलिरुविनको मात्रा बढेर जण्डिस हुन सक्दछ। गिलवर्ट सिण्ड्रोम, क्रिगलर नाजार सिण्ड्रोम, रोटोर सिण्ड्रोम र डुविन जोनशन सिण्ड्रोममा जण्डिस देखा पर्दछ। साधारणतया विलिरुविन ५ मिग्रा र विशेष अवस्थामा १० मिग्रा पुग्न सक्दछ।

(ख) एक्युट हेपाटाइटिस

कलेजोको अल्पकालीन रोगलाई एक्युट हिपाटाइटिस भनिन्छ। यसमा कलेजो सुन्निने र कलेजोले काम गर्न नसक्ने हुनाले जण्डिस देखा पर्दछ। पानीबाट सर्ने हिपाटाइटिस इ र ए यसका प्रमुख कारणहरु हुन्। यसबाहेक कम मात्रामा भए पनि रगत र अन्य शारिरीक रसबाट सर्नै हिपाटाइटिस बी र सीबाट पनि हुन सक्दछ। विभिन्न औषधीहरु सेवन गर्नेमा पनि यो देखिन सक्छ। जस्तै टिवी रोगका केही औषधीहरु, साइड इफेक्ट्स नहुने भनिएका केही आयुर्वेदिक औषधीले पनि जण्डिस गर्न सक्दछ। अत्याधिक मात्रामा रक्सी र रक्सिजन्यपदार्थ सेवन गर्नाले पनि जण्डिस हुन सक्दछ।
अहिले विराटनगरमा महामारीको रुपमा देखिएको जण्डिस हेपाटाइटिस ईको कारणले गर्दा लागेको एक्युट हेपाटाइटिस ईले गर्दा हो। साधारण अवस्थामा यसले रोगीलाई मार्दैन तर केही प्रतिशतमा एक्युट लिभर फेल्युर भएर त्यसको कारणले गर्दा मृत्यु हुन सक्दछ। विराटनगरमा भएको मृत्युाको अर्को कारण एक्युट भाइरल हेपाटाइटिस सँगै रगतमा ब्याक्टेरियाद्वारा संक्रमण देखिन्छ। ढलमिस्रित पानी पिउनाले त्यसमा हेपाटाइटिस ईसँगै कोलिफर्म ब्याक्टेरियाको संक्रमण भएर लिभर फेल्युरको अवस्थाले ज्यान लिएको हुन सक्दछ।

(ग) क्रोनिक हेपाटाइटिस

कलेजोको दीर्घकालिन रोगलाई क्रोनिक हेपाटाइटिस भनिन्छ। हेपाटाइटिस वि र सीले गरेको एक्युट हेपाटाइटिस ६ महिनाभित्र आफै ठीक नभएमा क्रोनिक हेपाटाइटिस गर्न सक्दछ र कालान्तरमा जण्डिस हुन्छ। यसबाहेक अन्य रोगहरु जस्तै अटोइम्युन हेपाटाइटिस, प्राइमरी विलियरी सिरोसिस, विलसन डिजिज, बड चियारी सिण्ड्रोम आदिहरुमा जण्डिस देखा पर्न सक्दछ। तर हाम्रो देशमा रक्सी र रक्सीजन्य पदार्थ अध्याधिक र लामो समयसम्म प्रयोग गर्नाले कुनै समयमा जण्डिस देखा पर्दछ। रक्सी धेरै खाने मान्छेमा जण्डिस देखा परेमा अवस्था निकै गम्भीर भएको बुझ्नु पर्दछ।

(घ) कलेजोको क्यान्सर

कलेजोमा हुने क्यान्सर (कलेजोको क्यान्सर अथवा अंगअंगबाट आएको क्यान्सर) ले गर्दा पनि जण्डिस हुन सक्दछ। यस अवस्थामा हुने जण्डिस कलेजोले काम गर्न नसकेर भन्दा पनि कलेजो पित्तनली बन्द भएर हुने गर्दछ।

३) पित्तको नली बन्द हुनु

कुनै कारणले पित्तको नली बन्द भएमा पित्त आन्द्रामा जान नसकेर रगतमा विलिरुविन बढ्न सक्छ। यस किसिमको जण्डिसलाई सर्जिकल जण्डिस अब्सट्रक्टिभ जण्डिस भनिन्छ। यस किसिमबाट हुने जण्डिसमा विलिरुविनको मात्रा बढ्ने, घट्ने हुने, पेटको दुखाइ हुने र धेरै जसोमा ज्वरो आउने हुन्छ। सारा शरीर चिलाउने, सेतो, गन्हाउने दिशा हुन सक्दछ। यस किसिमको जण्डिसको कारणहरुमा पित्तको नलीमा ढुङ्गा हुनु, पित्तको नलीको क्यान्सर, पित्तको नली खोलिने ठाउ र प्यान्क्रियाजको क्यान्सरमा यस किसिमको जण्डिस हुन्छ। कहिलेकाहिँ जुका पित्तको नलीमा गएर बसिदिनाले पनि जण्डिस देखा पर्दछ।

जण्डिसको उपचार

जण्डिस कुनै रोग नभएर रोगको लक्षण मात्र भएकाले यसको कुनै उपचार गर्नु पर्दैन। विलिरुविनको मात्रा १ मिग्रा.हुनु र ५ मिग्रा हुनुमा शरीरमा कुनै फरक पर्दैन। बढ्दै गएमा रोग बढ्दै गइइरहेको हुन सक्दछ। त्यसैले एकचोटी जण्डिस भएपछि त्यो कुन कारणले भएको हो थाहा पाउन जरुरी हुन्छ र त्यसको उपचार गर्नुपर्ने हुन सक्दछ।

कतिपय रोगहरुले जण्डिस गरे पनि त्यस रोगको अथवा रोगको कारणको कुनै उपचार गर्नु पर्दैन। जस्तै हानिरहित जन्मजात रोग गिलवर्ट सिण्ड्रोम आदिको उपचार नगर्दा विरामीको आयु घट्दैन। हेपाटाइटिस इ, ए र हेपाटाइटिस बीले गर्ने एक्युट हेपाटाइटिसमा भइसकेको कुनै उपचार गर्न पर्दैन। जण्डिसको कारण अनुसार त्यसको उपचार गर्ने तरिकाहरु पनि फरक हुने गर्दछ।

अन्त्यमा

हामी नेपाली बिलिरुबिन र जण्डिसबाट धेरै नै डराउने गर्दछौँ। यसको नाजायज फाइदा धेरै जनाले उठाइरहेका छन्। जण्डिस भन्ने बित्तिकै डाक्टरभन्दा बढी घर वरिपरिका छरछिमेकीको कुरा सुन्ने गर्दछौँ। डाक्टरले जण्डिस बुझ्दैन भन्ने मान्यता धेरैको छ। जण्डिसलाई रोग भनेर भ्रमको खेती गरेर जनताहरुलाई उल्लु बनाउनेहरुको प्रतिकार गर्नु जरुरी छ। रगतमा बिलिरुबिन बढी देखिएमा वा जन्डिस देखिएमा तुरुन्तै यसको कारण पत्ता लगाउनु जरुरी हुन्छ। अनि मात्र त्यसको उपचार गर्नतिर लाग्नु पर्दछ।

समुद्रमुनी खुल्यो सानदार पाँचतारे रेष्टुरेण्ट - onlinekhabar




परिवार, साथी वा पार्टनरसँग रेष्टुँरामा पुगेर नयाँनयाँ परिवार परिक्षण गर्ने तपाईको बानी छ भने एक अनौठो खवर छ तपाईका लागि ।

तपाई अब समुद्रभित्र बसेर माछासँग लुकामारी खेल्दै स्वादिला परिकारको आनन्द लिन सक्नुहुन्छ । तपाईले न त मास्क लगाउनुपर्ने छ न त पानीबाट भिज्ने डर नै ।

हालै माल्दिभ्समा खुलेको यो अनौठो रेष्टुँरामा तपाई पाँच तारे स्तरका खाना र सत्कार पाउनुहुनेछ ।

हिन्द महासागरको करिव १० फिट रहेको ‘इताहा’ रेष्टुँरा संसारकै एकमात्र पानीभित्र रहेको रेष्टुँरा हो ।

वरिपरि सिसाले घेरिएको यो रेष्टुँरामा बसेर खाना खाँदा बाहिर ह्वेल लगायतका बिभिन्न थरि माछासँगल लुकाकारी खेल्न पाउनु निकै रोमाञ्चक हुन्छ । यो रेष्टुँरा यति चम्किलो छ कि, स्टाफ तथा पाहुनाले बिशेष प्रकारको चस्मा लगाएर छिर्नुपर्छ ।

एकपटकमा १४ जना पाहुनाले सेवा लिन मिल्ने यो रेष्टुँरामा ६ थरीका परिवारका पाइन्छ । संचालक कोनराड माल्दिभ्स होटलले भनेको छ- पाहुनालाई पानीमा नभिजेरै समुद्रभित्रको रंग, पारदर्शीता र सुन्दरता देखाउनु हाम्रो उदेश्य हो ।

Friday, May 9, 2014

नेपालमा जस्तो नेचुरल ब्युटी अन्यत्र पाइँदैन अक्षयकुमार, चर्चित अभिनेता बलिउड - ekantipur



पुरानो दिल्लीको प्रसिद्ध चाँदनी चौकको पराठेवाली गल्लीमा ९ सेप्टेम्बर १९६७ मा जन्मिएका राजीव हरिओम भाटियाले बलिउडका चलचित्र अभिनेता अक्षयकुमारका रूपमा रूपान्तरण हुन ठूलो संघर्ष गरेका छन्। जीवनको प्रारम्भिक कालमा आफ्नै गल्लीमा खाना बनाएर बिक्री गर्ने हिन्दु धर्मालम्बी पञ्जावी युवक राजीव भाटिया अवसरको खोजीमा थाइल्यान्डको बैंकक हान्निएका थिए। त्यहाँ उनले विभिन्न होटलमा कुकका रूपमा काम गर्दागर्दै थाइल्यान्डको प्रसिद्ध 'किक बक्सिङ' नामक मार्सल आर्ट सिक्ने अवसर प्राप्त गरे। पछि उनले 'कराँते' पनि सिके। कराँतेमा ब्ल्याक बेल्ट प्राप्त गरेपछि उनी हिन्दी चलचित्रमा फाइट मास्टरका रूपमा काम गर्न मुम्बई फर्किए। फाइट मास्टरका रूपमा काम गर्दागर्दै राजीवको भाग्यले यस्तो कोल्टे फेर्‍यो कि उनी चलचित्र 'सौगन्ध' मा अचानक अक्षयकुमारका नामले नायकका रूपमा देखा परे। उक्त चलचित्रले औसत व्यापार गरे पनि अक्षयकुमार 'सस्तो कलाकार' का रूपमा निर्माताहरूको रोजाइमा परे। केही समयको अन्तरालपछि चलचित्र 'खेलाडी' ले व्यावसायिक सफलता प्राप्त गरेयता अक्षयकुमारले पछाडि फर्केर हेर्नुपरेको छैन। त्यसपछिका कथा उनका सबैजसो प्रशंसकलाई थाहा छ। तिनै अक्षयकुमार गत साता एउटा चलचित्रको सुटिङका क्रममा काठमाडौंमा थिए। यही सेरोफेरोमा अक्षयकुमारसँग विदुर खतिवडाले गरेको कुराकानीको सारसंक्षेप :

नेपाल बसाइ कस्तो चलिरहेको छ ?

म १८ वर्षपछि नेपाल आएको हुँ, मलाई नै थाहा थिएन कि यहाँ मेरा यति धेरै फ्यान हुनुहुन्छ। मलाई मन पराउनेहरूको संख्या यति धेरै होला भन्ने अनुमान पनि थिएन। मलाई यति मात्र थाहा थियो— मेरो पहिलो चलचित्र सौगन्ध सबैभन्दा धेरै नेपालमै चलेको थियो। नेपाल र त्यसपछि गुजरातका दर्शकले सौगन्धलाई अत्यधिक मन पराएका थिए। यहाँ आएर मलाई महसुस भयो, नेपाल वास्तवमै सुन्दर छ। यहाँको प्राकृतिक सौन्दर्यमा कुनै किसिमको कृत्रिमता छैन। यो नै मलाई सबैभन्दा मनपर्ने पक्ष रह्यो। कच्चा प्राकृतिक सौन्दर्य जसलाई थप श्रृंगारपटारको आवश्यकता पनि छैन। 'र नेचुरल ब्युटी' नेपालको सबल पक्ष लाग्यो। नेपाल आएकै दिन यहाँको प्राकृतिक सौन्दर्यले मलाई खिचेको थियो। होटलमा आएपछि झ्याल खोलेर हेरे, बौद्धनाथको राम्रो तस्बिर खिच्न मन लाग्यो, खिचे र सुन्दर नेपाल भनेर टि्वट गरे। मैले जति सोचेको थिएँ, त्योभन्दा राम्रो पाएँ नेपाल। नेपाललाई सुन्दर राखिरहन यहाँका मानिसहरूको मेहनतले काम गरेको छ। यहाँको शिल्प तथा कालिगढीको नमुना पनि उत्तिकै सुन्दर छ।

सुटिङमा कत्तिको सहज भयो ?

छायाकंनका दृष्टिकोणले नेपालमा ठूला-ठूला हाइवेहरू छन्, भव्य संरचनाहरू छन् भन्ने होइन यद्यपि यहाँ प्राकृतिक रूपमै बान्की परेको जुन स्वाभाविक सुन्दरता छ, त्यो आफैंमा उत्कृष्ट छ। ठूला-ठूला हाइवेहरूको आवश्यकता पनि छैन। जे छ यही राम्रो छ, यही नै नेपालको पहिचान हो र जहाँ-जहाँ मेरो छायांकन थियो, त्यहाँ मानिसहरूले मप्रति अपार माया दर्साउनुभयो। सबैले मसँग एकदम नजिकको व्यवहार गर्नुभयो। सुटिङ युनिटले भनेको सबैजनाले सहजै मानिदिनुभयो। पछाडि हटिदिनुसभन्दा हट्न तयार भैदिनुभयो। मज्जाले सुटिङ भैरहेको छ। सबैभन्दा ठूलो सहयोग नेपाल प्रहरीले गरेको छ, नेपाल प्रहरीका आशुतोष बहादुर शाहीको कमान्डले ठूलो सहयोग गरेको छ। म नेपाल प्रहरीलाई विशेष धन्यवाद दिन चाहन्छु। तपाईंहरू सबैको सहयोगले नै हामी निर्विध्न रूपमा सुटिङ गर्न सफल भएका छौं, नत्र गाह्रो हुन्थ्यो। मैले थुप्रै राष्ट्र र सहरहरूमा सुटिङ गरेको छु, तर नेपाल यस्तो राष्ट्र हो, जहाँ चलचित्र सुटिङका लागि फ्रेन्ड्ली एटमसफियर छ। सुटिङ फ्रेन्ड्ली वातावरण छ, यो कुरा अब म हिन्दुस्तान फर्किएर आफ्नो टिम र समग्र बलिउडलाई भन्नेछु।

यहाँको विशेष कुरा के लाग्यो तपाईंलाई ?

मलाई यहाँको नेचर मन पर्‍यो। यहाँका राम्रा मानिसहरू, सहयोगी भावना एवं कच्चा प्राकृतिक सौन्दर्य।

बलिउडका लागि काम लाग्ने केही नयाँ कुरा ?

मैले माथि नै भनिसकें, नेपाल राम्रो सुटिङ स्थल हो, यहाँ सबै प्रकारको सौन्दर्य जताततै उपलब्ध छ। मुम्बई नजिकैको यस्तो सौन्दर्यलाई किन मिस गर्ने ? मुम्बईमा कहाँ भेटिन्छ, यस्तो नेचुरल ब्युटी। हाम्रा जति पनि चलचित्र मेकर हुनुहुन्छ, सबैसँग नेपालको सौन्दर्यको बयान गर्नेछु।

१८ वर्षअघि काठमाडौं आउँदा र अहिले आउँदा के फरक पाउनुभयो ?

१८ वर्षअघि मैले अभिनय गरेको चलचित्र आरजुको अडियो विमोचनका निम्ति माधुरी दीक्षितका साथ नेपाल आएको थिएँ। अडियो रिलिजको उक्त कार्यक्रम पनि भव्य भएको थियो। बुझाइको समस्याका कारण त्यो समयमा केही कन्ट्रोभर्सी पनि भयो। मैले त्यो कुरामा त्यतिबेला पनि माफी मागेको थिएँ, अहिले पनि माफी चाहन्छु। आशा गरौं आगामी दिनमा असल दुई छिमेकी राष्ट्रका बीचमा त्यस्तो कन्ट्रोभर्सीले स्थान पाउने छैन।

अक्षयकुमारका जबर्जस्त फ्यान नेपालमा पनि छन्, जो उनको चलचित्र हेर्न लामो समय कुर्छन्, उनीहरू अक्षयकुमार हाम्रा बारेमा के भन्छन् भनेर जान्न चाहन्छन् ?

पहिलो कुरा त म उहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। म कृतज्ञ पनि छु किनभने उहाँहरूले मेरा चलचित्र हेरिदिनुहुन्छ। मलाई यति धेरै मनपराइदिनुहुन्छ। मैले एउटा कुरा नोटिस गरेको छु— यहाँका दर्शक एक्सन मुभी मन पराउनुहुन्छ। मार्सल आर्ट्स, कराँते, तेक्वान्दो आदि समाविष्ट चलचित्र हेर्न मन पराउनुहुन्छ। यहाँका दर्शक एक्सन मुभी मन पराउने म एक्सन मुभी खेल्न मन गर्ने त्यसकारण मेरो र उहाँहरूबीचको तालमेल गजबको छ, केमेस्ट्री मिलेको छ।

अक्षयकुमारको सफलताको रहस्य के हो ?

प्रत्येक बिहान आमाबुबालाई ढोगेर घर बाहिर निस्कनुपर्छ। जुनसुकै कामका लागि किन नहोस्, हरेक दिन आफ्ना मातापिताको आशीर्वाद लिइएको छ भने हरेक व्यक्ति आफ्नो काममा सफल हुन्छ। मेरो जीवनको सफलताको रहस्य यही नै हो। मैले यही गर्दै आएको छु। तपाईंहरू पनि आफ्ना आमाबुबाप्रति माया गर्नुहोस्, आदर सत्कार गर्नुहोस्, उहाँहरूको ख्याल राख्नुहोस् र उहाँहरूको आशीर्वाद लिनुहोस्, सफलताले तपाईंलाई नै पछ्याउनेछ।

तपाईं एक्सन स्टार कि कमेडिस्टार ?

म दुवैमा फिट छु र दुवै वर्गका चलचित्रमा काम गर्छु। दुवै भूमिकामा मलाई दर्शकले मनपराइदिनु भएको छ। मलाई कामचाहिँ एक्सन चलचित्रमा गर्न मजा लाग्छ। किनभने एक्सनबाटै म बलिउडमा स्थापित भएको हुँ। दर्शकले अक्षयकुमार भन्ने बित्तिकै एक्सन पनि खोज्छन् भन्ने लाग्छ।

अनि किन एक्सन स्टारको छवि परिवर्तन गर्न खोज्नुभएको त ?

मैले धेरै एक्सन चलचित्रमा काम गरेको छु। पछिल्लो समयमा राउडी राठौर, चाँदनी चौक टु चाइना जस्ता चलचित्रमा मेरो एक्सन धेरै दर्शकले मन पराउनु भएको पनि हो, तर एउटा कलाकारका रूपमा मैले थुप्रै किसिमका भूमिकामा काम गरेर सफलता पाएको छु। जति एक्सन स्टारका रूपमा मनपराइएको छु, त्यति नै कमेडिस्टारका रूपमा पनि। मैले एक्सन, कमेडी, सिरियस, रोमान्टिक धेरै भूमिकामा काम गरें। धड्कन तथा एकरिश्ता मेरा पृथक चलचित्र थिए, जसलाई पनि दर्शकहरूले अत्यधिक मन पराउनुभयो। अब सोनाक्षी सिन्हाका साथमा होलिडे चलचित्र सार्वजनिक हुन लागेको छ, जसमा म सैनिकको भूमिकामा प्रस्तुत हुँदैछु। एक्सन रोल छ, आतंकवादसँग कसरी फेस गर्ने भन्ने क्यारेक्टर निर्वाह गरेको छु। त्यसैले फरक विधामा आफूलाई सफल अभिनेताका रूपमा पेस गर्ने मेरो चाहनाअनुरूप नै काम भैरहेको छ।

रविना टन्डन, ममता कुलकर्णी, शिल्पा सेठ्ठी, कैटरिना कैफ, करिना कपुर, सोनाक्षी सिन्हा जस्ता नायिकाहरूसँग एकपछि अर्को चलचित्रमा लगातार देखिनुभएको छ। समयक्रमअनुसार उनीहरूसँगको केमेस्ट्री पनि उत्तिकै मिलेको देखिन्छ, कस्तो अनुभूति हुन्छ ?

तपाईंले सही कुरा गर्नुभयो, केही जोडी साँच्चै नै जमेका थिए। त्यसमा गजबको मज्जा पनि आउँछ। जब जोडी जम्छ तब मलाई पनि राम्रो लाग्छ। एकसे एक स्टारसँग जोडिएर काम गर्न पाएको छु, उहाँहरूसँग कतिपय कुरा सिक्न पनि पाइन्छ। तपाईंले भनेजस्तै उहाँहरूसँगको केमेस्ट्री दर्शकले पनि रुचाउनुभएको छ। दर्शकले मनपराइदिएपछि त्यही आर्टिस्टसँग फेरि काम गर्न पनि मन लाग्छ। जोडीको यात्रा गजबको हुन्छ अझ थप चलचित्र उहाँहरूसँग काम गरौं भन्ने हुन्छ।

चलचित्रका लागि जबर्जस्त मिलेको यो केमेस्ट्री रियल लाइफमा पनि उत्तिकै हुन्छ कि ?

रियल लाइफमा त कहाँ त्यस्तो हुन्छ र ? जहाँ प्याकअप हुन्छ, जहाँ चलचित्र सकिन्छ, त्यही सम्बन्ध र नाता पनि सकिन्छ। त्यसपछि आ-आफ्नो घर फर्कन हतार हुन्छ। त्यसमा पनि म विवाहित व्यक्ति सबैसँग सम्बन्ध गाँस्ने कुरा पनि भएन। आफ्नै परिवारसँगको कनेक्सन जोडिएपछि त्यो यात्रा त्यही समाप्त हुन्छ।

नेपाली बजारमा बलिउड हाबी छ, जबकि यहाँको आफ्नै चलचित्र उद्योग छ र त्यसले बलिउड चलचित्र जत्तिको सफलता हासिल गर्न सकिरहेको छैन। दर्शकहरू स्थानीयभन्दा भारतीय चलचित्रलाई प्राथमिकतामा राख्छन् भन्ने जानकारी तपाईंलाई छ ?

पाँच दिनको बसाइका क्रममा म फुर्सदमा टेलिभिजन च्यानलहरू हेरिरहेको हुन्छु। यहाँ थुप्रै नेपाली च्यानल रहेछन्, विभिन्न च्यानलमा आउने विभिन्न नेपाली कार्यक्रम हेरिरहेको छु। मलाई त एकदमै मज्जा आइरहेको छ। भाषा नबुझे पनि एक्सप्रेसन, एक्टिङबाट बुझ्ने प्रयास गरिरहेको छु। विशेष गरी नेपालीहरूलाई ट्रयाजेडी गीत मन पर्दा रहेछन्। माया-प्रेम तथा बिछोडका गीतहरू नै टेलिभिजनमा प्रसारण भैरहेका हुन्छन्। यहाँ रोमान्टिक गीतको बहार आउन बाँकी नै रहेछ। जहाँसम्म बजारको कुरा छ, दर्शक राम्रो कुरा हेर्न चाहन्छन्, विश्वबजारको यो नियम यहाँ पनि लागू हुन्छ। नेपाली चलचित्र, नेपाली संगीतलाई पनि यहाँका दर्शकले उत्तिकै रुचाउनुहुन्छ भन्ने कुरा टेलिभिजन हेर्दा देखिन्छ।

नेपालका कुनै कलाकारलाई चिन्नुभएको छ ?

छैन, चिनेको त छैन तर टेलिभिजनमा देखिएका कलाकारहरूको प्रतिभा देखेर दंग परेको छु। यहाँ पनि कला-संगीतलाई माया गर्नेहरू थुप्रै हुनुहुँदो रहेछ।

मनीषा कोइराला, उदितनारायण झाजस्ता नेपाली भूमिबाटै गएका कलाकार बलिउडको शिखरमा पुग्न सफल भए, उनीहरूसँग तपाईंको सम्बन्ध कस्तो छ ?

उदितनारायण सा'बले त मेरा लागि थुप्रै गीत गाउनुभएको छ। उदित र मनीषा दुवैसँग एकदमै राम्रो सम्बन्ध छ। उदित सा'ब त पहिले म बसेकै बिल्डिङमा बस्नुहुन्थ्यो, फुर्सद हुने बित्तिकै हामी आपसमा गफिएर बस्थ्यौं। मनीषाका साथमा मैले एकमात्र चलचित्रमा काम गरें, तर त्यो मेमोरेबल रह्यो। मनीषाको कुरा गर्दा अर्को एउटा कुरा सम्झना आयो, मनीषाको सुन्दरता देखेको मान्छे म यहाँ जुन सुन्दर प्राकृतिक वातावरण र त्यही वातावरणमा हुर्किएका सुन्दर अनुहारहरू देख्छु, दंग परिरहेको छु। मैले यहाँअत्यन्तै राम्रा अनि सुन्दर युवतीहरू देखिरहेको छु, ती सबै फोटोजेनिक छन्। मनपरेकै कारण एक/दुई युवतीसँग अनुमति लिएर उनीहरूको तस्बिर पनि खिचेँ। पछि मैले ती तस्बिर हेर्दा एकदमै आकर्षक लागे। पहाडी ब्युटीको नमुना यहाँ प्रशस्त देख्न पाएँ। नेचुरल ब्युटिफुल वुमन, फोटोजेनिक फेसेज।

फ्लर्टिङ गर्ने मन भएन ?

किन गर्ने फ्लर्टिङ ? कोही राम्रो लाग्यो, त्यसकारण तस्बिर लिएँ, त्यसलाई हेरे, त्यसमा फ्लर्टिङको कुरै भएन नि। तपाईं कुनै चिज हेर्नुहुन्छ, त्यो राम्रो लाग्यो भने त्यसको प्रशंसा गर्नुमा जति मज्जा छ, छेडछाड गर्नुमा छैन। सुन्दरताको बयान यसरी तपाईं र मबीच गर्नुमा रमाइलो हुन्छ। त्यही नै सुन्दरताको सम्मान हो। छेडछाड वा फ्लर्टिङ गलत कुरा हुन्। फ्लर्टिङ मेरो नियममा लेखिएको छैन, त्यसमा पनि म विवाहित व्यक्ति। कुनै राम्रो चिज देख्यो, त्यसको प्रशंसा गर्‍यो, त्यतिमै सीमित रहँदा सभ्यता पनि रहन्छ र त्यो सुन्दर पनि कहलिन्छ।

काठमाडौंका सडकमा एक्लै बरालिन मन लागेको छैन ?

असाध्यै मन छ, तर यहाँ त्यो सम्भव देखिनँ। असाध्यै धेरै प्रशंसक हुनुहुन्छ, सबैले चिन्नुहुन्छ, मुम्बईमा भन्दा यहाँ अझ असम्भव देखे मैले।

सुटिङका क्रममा भीडले असहज भएन ?

बिलकुल भएन, क्राउड छ तर संयमित छ। सबैले हाम्रो काममा सहयोग गरिरहनुभएको छ।

तपाईंलाई नेपाली चलचित्र उद्योगका बारेमा केही जानकारी छ ?

छैन, तर फुर्सदको समय नेपाली च्यानलहरू हेरेर यहाँका बारेमा जानकारी लिइरहेको छु। बोलि नबुझे पनि इमोसन र एक्सप्रेसनका आधारमा बुझ्ने प्रयास गरिरहेको छु। हाम्रो क्रुमा केही साथी हुनुहुन्छ, जसले यहाँको सिने उद्योगका बारेमा केही बताउनुभएको छ।

तपाईंको पारिश्रमिक नेपाली चलचित्रको सम्पूर्ण बजेटभन्दा पनि निकै बढी हुन्छ। यद्यपि नेपाली चलचित्रमा काम गर्ने प्रस्ताव आएको खन्डमा के अक्षयकुमारलाई दर्शकले नेपाली चलचित्रमा देख्न पाउलान ?

म यहाँका बारेमा धेरै त जान्दिनँ तर राम्रो कामको प्रस्ताव आएको खण्डमा अवश्य काम गर्छु। चित्तबुझ्दो तर सानो भूमिका नै किन नहोस् म तयार छु। म बजेट हेरेर काम गर्दिनँ, हो यहाँको उद्योगले मेरा लागि पेमेन्ट गर्न नसक्ला तर चित्त बुझ्ने भूमिका हुनुपर्‍यो। स्तरीय भूमिकामा यहाँका दर्शकमाझ देखिन पाउनु राम्रो कुरा हो नि। यदि नेपाली चलचित्र उद्योगलाई मेरा तर्फबाट योगदान पुग्छ भने त्योभन्दा राम्रो अरू के हुनसक्छ ?

कुनै दिन बलिउडमा यो सफलता चुम्नेछु भन्ने लागेको थियो ?

मैले कुनै दिन सोचेको थिइनँ, यसप्रकारको सफलता पाउँछु भन्ने। यही क्षेत्रमा निरन्तर सक्रिय रहन्छु भन्ने पनि थिएन। चार-पाँचवटा चलचित्र गरे भने पनि धेरै ठूलो कुरा हुन्छ जस्तो लागेको थियो। भगवान र भाग्यको साथ भन्नुपर्छ म भाग्यमानी ठहरिए, यति धेरै चलचित्रमा काम गर्न पाए। अहिले पनि चलचित्र पाइरहेकै छु। धेरै-धेरै धन्यवाद दर्शकहरूलाई, नेपाली दर्शकहरूलाई पनि। उहाँहरूले मन पराइदिएकै कारण म आजसम्म सक्रिय छु। यति धेरै काम प्राप्त भैरहेको छ। दर्शकले टिकट काटिदिएकै भरमा हाम्रो जिन्दगी सफल हुने हो।

तपाईंको फिल्मी करियर कस्तो रह्यो ?

मेरो जीवनमा थुप्रै उतारचढाव आए। फिल्मी करियरमा अझ धेरै उतारचढाव आए, खासगरी एउटै भूमिकामा मात्र सीमित भएको भए सम्भवतः मलाई टिक्न पनि गाह्रो हुन्थ्यो। फिल्मी करियरकै कुरामा कतिपय समय एकदमै सफलताको यात्रा गर्दागर्दै पनि कामविहीन भएको अवस्था पनि थियो।

टर्निङ प्वाइन्ट ?

त्यस्तो कुनै टर्निङ प्वाइन्ट त छैन, उतारचढावको यात्रा रह्यो। ३ वा ४ ठूला उतारचढाव भोगें, जसमा विभिन्न टर्निङ आएँ। सुरुवातमा चलचित्र खेलाडी टर्निङ प्वाइन्ट बन्यो। खेलाडी जबर्जस्त चलेकैले यसका हरेक श्रृंखलामा काम गरिरहेको छु र सबैलाई दर्शकहरूले मन पराइदिनुभएको छ।

खेलाडीको यो श्रृंखला समाप्त भयो कि अझै आउँदैछ ?

मलाई थाहा छैन। मैले अहिलेसम्म जम्मा ८ खेलाडी चलचित्रमा काम गरिसकेको छु। हेरौं, भविष्यमा के हुन्छ ? खेलाडी मेरो बलियो पहिचान हो, त्यसैले यसले अरू सिक्वेल जन्माउँदै जान सक्छ।

नेपालबाट खरिद गरेर लानुपर्‍यो भने के किन्नुहुन्छ ?

यहाँ मैले प्रशस्त फेसमास्क (मुखुन्डो) देखें। मलाई फेसमास्क असाध्यै मनपर्ने भएकाले केही फेसमास्क किनेर लाने सोचमा छु। भिन्न मुद्राका भिन्न मास्क लगाउँदा एक प्रकारको आनन्द आउँछ। मेरो घरको एउटा भित्ता छ, जहाँ दर्जनौं मास्क सजाइएका छन्। त्यसको भित्र स-साना बल्ब लगाएको छु, ती रातमा चम्कन्छन्, जसको सौन्दर्य गजबको हुन्छ।

तपाईंहरू फरक-फरक क्यारेक्टरमा प्रस्तुत हुनुहुन्छ, हरेक चलचित्र वा हरेक मुभमेन्टमा फरक-फरक प्रेजेन्टेसनको अक्षयकुमार देख्न पाइन्छ, यहाँ फेसमास्ककै कुरा पनि आउँछ, फरक परिवेशमा फरक ढंगले पेस हुँदाको अनुभव कस्तो हुन्छ ?

तपाईंले राम्रो प्रश्न गर्नुभयो, यो मेरो मात्र होइन, सबै मानिसको हकमा लागू हुन्छ। मानिस फरक परिवेशमा, फरक मास्कमा प्रस्तुत हुन्छ। चलचित्रमा धेरै क्यारेक्टरमा काम गरेको हुनाले अक्षयकुमारका मास्क धेरै छन् भन्न सक्नुहुन्छ। मेरा लागि चलचित्रको मास्क त्यतिबेलासम्म रहन्छ, जबसम्म त्यो चलचित्रको काम सकिँदैन, त्यसपछि त्यसलाई त्यही फ्याँकिदिन्छु, घरमा जुन किसिमको मास्कमा रहने हो त्यसमै रहन्छु। बिहान काममा आउने बेलामा फेरि त्यो क्रम दोहोरिन्छ।

स्टारडमका कारण आम मानिस सरह तपाईं सहरबजारमा निस्कन सक्नुहुन्न, यसले कुनै समय त दिक्क लाग्छ होला नि ?

त्यस्तो दिक्क लाग्दैन, सडकमा आममानिसको जस्तो व्यवहार गर्न नसकिएला तर त्योभन्दा धेरै कुरा पनि त पाएको छु नि। अरूले गर्न नपाएका धेरै कुरा मैले पाएको छु। त्यसमा सन्तुष्ट हुने हो। मलाई आफ्नो जिन्दगीसँग कुनै पश्चाताप छैन। यो वा त्यो गर्न पाइनँ भन्ने पनि लाग्दैन। मेरो बुझाइ छ— मैले जिन्दगीमा धेरै कुरा पाएको छु। अर्को कुरा म स्टार एक्टर हुँ तर बिहानै समुद्र किनारमा दौडिरहेको हुन्छु। टोपी, मास्क लगाएको हुन्छु, समुद्रमा पौडी पनि खेल्छु। हो, आममानिस जत्तिको गर्न सक्दिनँ तर पनि पब्लिक स्पेसमा पुग्ने प्रयास गरिरहेको हुन्छु। यद्यपि सूर्योदय भएपछि ती कुरा सम्भव हुँदैनन्।

यतिधेरै सुपरडुपर हिट चलचित्रमध्ये तपाईंको मनलाई छोएको कुनै चलचित्र ? आफ्नो जस्तो अनुभूति हुने चलचित्र ?

थुप्रै छन्, कतिपय चलचित्रमा मेरो आफ्नो रियल क्यारेक्टर पनि प्रस्तुत भैरहेको हुन्छ। त्यतिबेला उक्त चलचित्र आफ्ना लागि बढी अर्थपूर्ण र वास्तविक लाग्छ। केही वर्षअघिको चलचित्र धड्कन म नजिकको चलचित्र थियो, जसमा जुन सीधा-सादा क्यारेक्टर थियो, त्यसमा म आफूलाई सही पाइरहेको थिएँ। त्यो चरित्रले मेरो मनलाई छोएको थियो, म जे छु त्यस्तै नै छु जस्तो लागेको थियो। सादापन, इमोसनल, पर्फेक्ट हसबेन्ड, पर्फेक्ट फादर त्यो चलचित्रमा थियो। धेरै नै राम्रो लाग्छ त्यस्तो क्यारेक्टर।

सुटिङका क्रममा थुप्रै राष्ट्र पुग्नुभएको छ। नेपाल ती राष्ट्रभन्दा के अर्थमा फरक लाग्यो ? नेचुरल ब्युटी त सबैतिर हुन्छ।

नेचुरल ब्युटी त सबै राष्ट्रमा हुन्छ तर नेपालमा जस्तो 'र-नेचुरल ब्युटी' अन्यत्र पाइँदैन। यसलाई सिगार्ने आवश्यकता पनि छैन, जस्तो छ ठीक छ। यहाँ लोकेसन खोजिरहनै पर्दैन, तपाईं जहाँ पनि मज्जाले काम गर्न सक्नुहुन्छ।

बलिउडमा खानसा'बहरूको वर्चश्वलाई अक्षयकुमारले कसरी लिएको छ ?

म यस्तो कहिल्यै सोच्दिनँ, सबैको आ-आफ्नो बजार छ। कसैको पल्ला भारी वा कसैको कम भन्ने छैन। मेरो सबैसँग राम्रो सम्बन्ध छ। म आज जे छु, आफ्नै मेहनत तथा भाग्यको भरमा छु। आमाबुबाको आशीर्वादले काम गरेको छ। हामी सबै सफल हुनुको मुख्य कारण हामी सोच्छौं, उसको, त्यसको, सबैको चलचित्र चलोस्। यो सकारात्मक भावना नै हाम्रो सफलताको मुख्य आधार हो। जति चलचित्र चल्छ त्यति नै उद्योगमा पैसा भित्रिन्छ अनि त्यो पैसाले अरु चलचित्र बन्ने हो, सबैले काम पाउने हो।

हामी देख्छौं खानसा'बहरूको क्याम्पको जबर्जस्त राजनीति, के भन्नुहुन्छ ?

म क्याम्पमा विश्वास राख्दिनँ, किनभने म क्याम्पमा बस्दिनँ घरमा बस्छु। म आरामसँग बलिउड इन्ड्रस्ट्रीको घरमा रहन चाहन्छु, नकि कुनै क्याम्पमा। सबै नायकसँग राम्रो सम्बन्ध छ। प्रदर्शनको हुने तयारीमा रहेको चलचित्र पगलीमा सलमान र म एउटा गानामा साथमै छौं। यस्तै अमिर खान, शाहरूख खानसँग पनि मेरो उत्तिकै दोस्ती छ। चलेका गिन्तीका १० जना हिरो त छौं बलिउडमा, एकआपसमा किन लड्ने ?

नेपाली दर्शकहरूलाई केही भन्न चाहनुहुन्छ ?

यसरी नै मेरा चलचित्रहरू हेरिदिनुस्, जुन ६ मा मेरो चलचित्र होलिडे सार्वजनिक हुँदैछ, सबैले हेरिदिनुहोला। एकदमै राम्रो एक्सन चलचित्र बनेको छ। एकदमै इन्टेलिजेन्ट चलचित्र छ, केही सिक्न पाइन्छ, धन्यवाद सबैलाई।

Wednesday, May 7, 2014

तपाईंलाई बाथ त भएन? - annapurnapost


डा. अरुणकुमार गुप्ता | 
 

बाथ कस्तो किसिमको रोग हो? कारण के हो? यो निको हुन्छ कि हुँदैन, यसका लक्षण के के हुन्छन् भनेर अहिले पनि हामीले बुझेका छैनौं। बाथलाई अंग्रेजीमा 'आथ्राइटिस' भन्ने गरिन्छ। तराईतिर यसलाई 'गठिया' पनि गरिन्छ।
बाथले विशेषत: मानव शरीरको अस्थिपञ्जर प्रणालीलाई प्रतिनिधित्व गरेको हुन्छ। शरीरका कुनै पनि हाडजोर्नी, मांसपेशी, छाला, नसा दुखेर उत्पत्ति हुने रोग हो, बाथ। यसले हाडजोर्नीबाहेक शरीरका कुनै पनि भित्री अंग जस्तै- मुटु, मिर्गौला, फोक्सो, टाउको (मस्तिष्क), कलेजो आदिलाई पनि हानि गर्छ। बाथ एकै किसिमको हुँदैन। एउटै कारणबाट लाग्दैन। सयौं किसिमका हुन्छन्। रोगको लक्षण छुट्याई विभिन्न बाथको नामांकन र विशेषता हेर्ने गरिन्छ।
कारण
अहिलेसम्म सयौंभन्दा बढी बाथ रोग भएको पाइएको छ। कुन मानिसलाई कुन किसिमको बाथ भएको हो, छुट्याएर उपचार गरिन्छ। सबै खालका बाथ कुनै न कुनै रोग प्रतिरोधात्मक प्रणाली गडबडीले हुने गर्छ। अर्थात्, प्रत्येक मान्छेभित्र रोगसँग लड्ने आफ्नै किसिमको क्षमता हुन्छ। बाथले शरीरमा हानिकारक एन्टिबडिज तत्त्व उत्पत्ति गराई हाड, जोर्नी र कार्टिलेज तथा विभिन्न प्रक्रियाबाट शरीरको प्रतिरोधात्मक क्षमता कम गरी रोग प्रतिरोधात्मक प्रणालीलाई नै दुर्बल पार्छ।
नेपालीमा युरिक एसिड बढेर हुने बाथ, हड्डी खाने, हड्डी खिइने बाथ, कम्मर दुख्ने बाथ, रिड...को हड्डीमा हुने बाथ बढी भेटिएको छ। तीमध्ये कतिपय बाथ जीवाणु र किटाणुको संक्रमणबाट पनि हुने गर्छन्। जस्तै- क्षयरोग, भाइरल रोग आदि। कतिपय बाथ वंशाणुगत पनि हुने गर्छन् अर्थात् एकै परिवारमा धेरैजनालाई उक्त रोग भएको हुन्छ।
लक्षण
बाथ कुनै एक व्यक्तिविशेषलाई मात्रै हुने रोग होइन। यो नवजात शिशुदेखि ८०-९० वर्षको उमेरसम्मका जुनसुकै व्यक्तिलाई जुनसुकै बेलामा पनि हुनसक्छ। साधारणतया बाथ बढीजसो हड्डी खाने खालका हुन्छन् भने अरू मांसपेशी, छाला, आँखा, नसा तथा शरीरका भित्री अंगमै असर गरी उत्पन्न हुने बाथ पनि हुन्छन्।
प्राय: बाथका रोगी हामीसँग आउँदा दु:खाइसहित आउँछन्। प्राय: सबैमा हाडजोर्नी दुख्‍ने, सुन्‍निने, फुल्ने, समस्या देखिन्छ। बिरामीमा बिहान उठ्दा हातका औंला, जोर्नी कक्रक्क पर्ने, साह्रो हुने, मुठी पार्न गाह्रो हुने, शरीर भारी हुने, जाम भएजस्तो हुने, हिँड्न, बस्न, उठ्नै गाह्रो हुने गर्छ। शरीर झमझम गर्ने, मांसपेशी दुख्‍ने , ज्वरो आउने, कपाल झर्ने, चिसो पानीमा हात राख्दा छालाको रङ परिवर्तन हुने, शरीरमा रातानीला ससाना टाटा आउने, छाला तन्किने, औंलामा घाउ आउने, घाममा जाँदा पुतलीको प्वाँखजस्तो गालामा रातो डाम आउने, मुखमा घाउ हुने आदि हुन्छन्। उकालो-ओरालो गर्दा र भ:याङ चढ्दा हड्डी दुख्ने गर्छ। यी बाथका आआफ्ना लक्षण हुन्।
बाथ बालबालिकालाई पनि लाग्ने गर्छ। कतिपय बाथले वर्षौं पीडा दिइरहेका हुन्छन् तर तिनले शरीरलाई अरू हानि गर्दैन। तर, नराम्रा बाथले केही दिन, महिना र वर्ष दिनभित्रै हड्डी बांगिने र मुटु, मिर्गौला, आँखा, छाला, कलेजो र फोक्सोलाई पनि असर गरी घात पु:याउँछन्। त्यसैले बाथलाई हामीले हाडजोर्नी दुख्ने रोगमात्र भनेर पनि बुझ्नु हुँदैन। यसले शरीरको कुनै अंगलाई आन्तरिक रूपमा क्षति गराइदिन सक्छ।
बाथरोगीको अवस्था

बाथरोगीको अवस्थामा अहिले धेरै फरक आइसकेको छ। धेरैजसो मानिस बाथलाई रोगको रूपमा नभई अभिशापका रूपमा बुझ्ने गर्थे। तर, अहिले रोगप्रतिको धारणा बदलिइसकेको छ र बाथ एक साधारण रोग भइसकेको छ। उपचारपछि निको हुने रोग भइसकेको छ।
विज्ञान र प्रविधिको प्रगतिले गर्दा नयाँनयाँ औषधि र उपचार पद्धति आइसकेका छन्। यो रोगको उपचारपछि ९५ प्रतिशत निको हुने सम्भावना रहन्छ भने कति त शतप्रतिशत नै निको हुन्छन्।
यो रोगलाई हामी सजिलै चिन्न सक्छौं। समयमै उपचार यसको औषधि हो। जसले छिटो उपचार पाउँछ, उसले आफूलाई अपांग हुनबाट बचाउँछ र अरूलाई पाठ सिकाउन सक्छ।
- डा. गुप्ता नर्भिक इन्टरनेसनल हस्पिटलका बाथरोग विशेषज्ञ हुन्।