Sunday, July 8, 2012

गणेशमानको बाटोमा बाबुराम हिड्दा हिलाम्मे (फोटो फिचरसहित) - onlinekhabar

२४ असार, काठमाण्डौ । हरेक महिना गाउँमा पुगेर जनतासँग अन्तरक्रिया गरिरहनुभएका प्रधानमन्त्री बाबुराम भट्टराईले शनिवारको रात भक्तपुरको ताथलीमा विताउनुभएको छ । ताथली-८ स्थीत रामलाल नेमाफुकीको घरमा पुग्नुभएका प्रधानमन्त्रीलाई स्थानीय बासिन्दाले स्वागत सत्कार गर्दै आफ्ना गुनासासमेत सुनाए ।
ताथलीसम्म पुग्न प्रधानमन्त्रीले करिव एक मिलोमिटर हिलो बाटो हिड्नुभएको थियो । २०१६ सालमा तत्कालिन भौतिक योजनामन्त्री गणेशमान सिंहले उदघाटन गरेको यो सडक अहिलेसम्म पनि कालोपत्रे हुन सकेको छैन् । हिलाम्मे बाटो हिड्दै गाउँ पुगेका प्रधानमन्त्रीलाई स्थानीय बासिन्दाले सवैभन्दा पहिले त्यही बाटोबारे गुनासो पोखे । मुन्टो हल्लाउँदै गाउँलेका गुनासो सुनेका प्रधानमन्त्रीले बाटो कालोपत्रे गरिदिने आश्वासन दिए ।
गाउँलेले समयमा मल र बिऊ नपाउँदा खेती किसानी गर्न गाह्रो भएको गुनासो पोखे । मल लिन शहरसम्म जानुपर्ने बाध्यता रहेको भन्दै उनीहरुले गाउँमै मल पाउनुपर्ने माग राखे । रेडियो-टीभीमा कृषि कार्यक्रम हेर्न नपाएकोमा पनि उनीहरुको दुखेसो थियो । ‘हामी खेतबारीबाट घर पस्दा ७ बजिसक्छ, कृषि कार्यक्रम ६ बजे अघि नै सकिसक्छ, उनीहरुको प्रश्न थियो-’ हामीले कहिले हेर्न पाउने ?’ आफ्नै गाउँमा प्रधानमन्त्री आएको अबसर पारेर उनीहरुले खानेपानीको समस्या पनि सुनाए ।
करिव ७० जनाको टोली लिएर गाउँ पुगेका प्रधानमन्त्री र उनको परिवारलाई गाउँलेहरुले, दाल भात तरकारी, गोलभेंडाको अचार र लोकल कुखुराको मासु खुवाएका थिए । आफुपनि गाउँबाटै आएको किसानको छोरा भएकाले स्थानीय स्तरका समस्या बुझ्न गाउँ आएको बताउनुभयो । प्रधानमन्त्रीसँगै प्रधानमन्त्रीका पिता पनि जानुभएको थियो ।