Tuesday, July 24, 2012

जरिवाना तिर्न ग्लोबल आइएमई बैँक नै किन ? - mysansar

गलत ठाउँमा पार्किङ गरेको, रङ्ग साइडमा चलाएको, ट्राफिक लाइटको पालना नगरेको, मापसेमा पक्रेको जस्ता ट्राफिक नियम उल्लङ्घन गरेर प्रहरीको फन्दामा पर्नुभएको छ भने अब पहिले जसरी जरिवाना तिरेर हुन्न। भोलि बुधबार (१० गते) देखि प्रक्रिया परिवर्तन हुँदैछ। पहिले भए पूर्जी लिएर ट्राफिक कार्यालय जाने, जरिवाना बुझाउने, कागजात लिएर फर्कने हुन्थ्यो। अब चाहिँ मानौँ तपाईँको मोटरसाइकल गलत ठाउँमा पार्क गरेको भन्दै प्रहरीले लाइसेन्स खोस्यो भने पूर्जी लिएर नजिकैको ट्राफिक कार्यालयमा जानुपर्छ। त्यहाँ ट्राफिकले जरिवाना तोकेको तीन प्रति बैंक भौचर भर्नुपर्छ, उही टियुको ट्रान्सक्रिप्ट निकाल्दा भरेको भौचर जस्तो क्या! अनि त्यो भौचर लिएर कहाँ जानु पर्‍यो- बैँकमा। बैँकमा जाने, पैसा तिर्ने, अनि भौचरको एक प्रति फेरि लिएर ट्राफिक कार्यालयमा नै आउने। यी पैसा तिरेँ त भन्ने, भौचर बुझाउने, अनि लाइसेन्स लिएर जाने। पैसा तिर्नलाई बैँक चाहिँ ग्लोबल आइएमइ बैँकको कुनै पनि शाखा तोकिएको छ। यही बैँक किन तोकियो त ? सरकारी बैँक खोज्ने हो भने शाखा धेरै भएका राष्ट्रिय वाणिज्य बैँक, नेपाल बैँक छन्। निजी नै हो भने पनि शाखा धेरै भएका अरु बैँक पनि छन्। ग्लोबल आइएमइ बैँक नै किन त ? जसको भक्तपुर जिल्ला भर कुनै शाखा नै छैन।
हेर्नुस् त, भक्तपुर घर भएको कसैको लाइसेन्स त्यता जफत भयो भने उसले के गर्नुपर्छ अब ? पहिले त्यहाँको ट्राफिक कार्यालयमा जान्छ, पूर्जी देखाउँछ, जरिवाना तोकेको तीन प्रति भौचर लिन्छ। अब जरिवाना तिर्न कहाँ जानुपर्‍यो त-बैँक। जुन पायो त्यही बैँकमा गएर हुन्न। जानुपर्‍यो ग्लोबल आइएमई बैँक। यो बैँकको भक्तपुर जिल्ला भर कुनै शाखा नै छैन। त्यसैले कि ललितपुर जानुपर्‍यो कि चाहिँ काठमाडौँ। त्यहाँको बैँकमा लाइन बसेर पैसा तिर्‍यो, भौचर बोक्यो अनि फेरि लाग्यो भक्तपुर कै ट्राफिक कार्यालयतर्फ। त्यहाँ भौचर बुझायो अनि लाइसेन्स फिर्ता लियो।
कति झण्झट !
अझ काठमाडौँ बाहिर जान लागेको गाडी नागढुंगामा समातियो भने ? कागजात लिन फेरि राजधानी आउनुपर्छ।
ट्राफिकले राजस्व स‍ंकलन गर्दा भित्रभित्र पैसा गायब गरेर पैसा खान थाले भनेर ट्रान्सपरेन्ट देखाउन यसो गर्नुपरेको भनिएको छ। खाने मुखलाई जुङ्गाले त के छेक्थ्यो र, तर बैँकमार्फत् नै गर्ने भएपछि २० वटा काठमाडौँमा र ३ वटा मात्र ललितपुरमा शाखा भएको बैँकलाई नै किन रोजेको होला त ?
यो बैँक रोज्ने काम चाहिँ ट्राफिकले गरेको हैन। राजस्व भनेको देशको ढुकुटी भएको हुनाले र यो बैँक छान्ने निर्णय गर्ने काम गरेको हो देशको केन्द्रीय बैँक नेपाल राष्ट्र बैँकले। राष्ट्र बैँकले नै अरु सबै वाणिज्य बैँकहरुको लागि नियमहरु बनाउने गर्छ। राष्ट्र बैँकले ग्लोबल आइएमइलाई माया गर्नुको कारण के हो त ?
केही समाचारहरु हेर्नुस्-
राष्ट्र बैंक सञ्चालकमा पौडेल र अर्याल
बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला गत चैतमा रामहरि अर्याल राष्ट्र बैँकको सञ्चालकमा नियुक्त भए। समाचारमा भनिएको छ- पौडेल एमाओवादीमा प्रभावशाली व्यक्तिका रूपमा चिनिन्छ।
उनी राष्ट्र बैँकमा सञ्चालक भइसकेपछि ट्राफिकको राजस्व ग्लोबल आइएमइले उठाउने निर्णय भएको हो।
ग्लोबल आइएमइ कसको बैँक हो त ? यो भर्खरै मर्ज भएको बैँक हो। मर्ज हुनुअघि ग्लोबल बैँकका अध्यक्ष चन्द्र ढकाल र आइएमई फाइनान्सियल इन्स्टिच्युसनका अध्यक्ष हेमराज ढकाल थिए। दुवै दाजुभाइ हुन्। ती दुवै पनि एमाओवादी निकट नै मानिन्छन्। निर्णय गर्ने राष्ट्र बैँकको सञ्चालक समितिका सदस्य रामहरि अर्यालका छोरीज्वाइँ हुन् हेमराज ढकाल।
अर्याल यसअघि पनि राष्ट्रपति कार्यालयका सचिव हुँदा यिनै छोरीज्वाइँ हेमराज ढकालको धापासीस्थित घरलाई राष्ट्रपति आवास बनाउन भाडामा लिएको भन्ने आरोप लागेर विवादित बन्न पुगेका थिए। प्रतिमहिना ३ लाख रुपैयाँ भाडा तिर्ने गरी घर लिइएको थियो। अर्थ मन्त्रालयले तीन लाख भाडालाई चलनचल्तीभन्दा अस्वभाविक माने पनि मुख फोर्न भने सकेको थिएन। आखिर नौ महिना भाडा तिरेर राष्ट्रपति त्यहाँ बसे। (विस्तृत समाचार यो लिङ्कमा छ)
अनि यो समाचार हेर्नुस्, मर्ज भइसकेपछि ग्लोबल आइएमइ बैँकको उद्‌घाटन कसले गरेको थियो ?
अब केही बुझ्नु भो त- भक्तपुरमा शाखा नै नभएको बैँकलाई राजस्व उठाउने जिम्मा राष्ट्र बैँकले किन दियो ? मैले त केही बुझिनँ। राष्ट्र बैँकका कोही कर्मचारीले बुझाइदिनुहुन्थ्यो कि !