Wednesday, July 11, 2012

दान गरेको रगत २५ हजारमा बिक्रि - onlinekhabar

२७ असार, काठमाण्डौं । रगत अभावमा कसैले पनि ज्यान नपरोस् भन्ने पवित्र भावनाका साथ निःशुल्क रक्त दान गर्ने गरिन्छ । तर, दान गरेको उक्त रगतलाई ब्लड बैंकका कर्मचारीले कमाउने भाँडोको रुपमा प्रयोग गर्छन भन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । तर बाँसबारीस्थित ब्लडबैंकका कर्मचारीले यस्तै गरेका छन् ।
उक्त ब्लड बैंकका ल्याव टेक्निसियन विजयकुमार ठाकुरले निःशुल्क दान गरेको रगत प्रतिपिन्ट पाँच हजार रुपैयाँका दरले बेचेको प्रमाण फेला परेको छ । बाँसबारीका उज्वल थापा र स्थानीय युवा क्लबका सदस्यहरुको उजुरीका आधारमा महानगरीय प्रहरी बृत महाराजगञ्जले ठाकूरलाई शनिबार पक्राउ गरेपछि यस्तो रहस्य खुलेको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । ठाकूर विगत ८ बर्षदेखि उक्त ब्लड बैंकका ल्याप टेक्निशियनका रुपमा काम गरिरहेका छन् ।
ठाकूरले धनुषाबाट पत्निको उपचारका क्रममा आएका विन्देश्वर महतोलाई प्रतिपि्रन्ट पाँचहजारका दरले पाँच पोका रगत २५ हजारमा बेचेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।