Wednesday, June 8, 2011

नयाँ बुद्धलाई खवरदारी -weekly nepal

काठमाडौं, जेठ २४ । सामाजिक शिष्टाचार र मान्यता, धार्मिक, आस्था र विश्वास, राष्ट्रिय प्रतिक चिन्ह वा परम्परागत आस्थाका केन्द्रहरू माथि सामाजिक नैतिकता र शिष्टाचार उल्लंघन गरी प्रचार सामग्रीहरू (पुस्तक, पुस्तिका, बुलेटिन, प्रेस वक्तव्य आदि) र विद्युतीय संशाधनमार्फत् प्रचार प्रसार गरेको पाइएमा नेपाल पुलिस र गृह मन्त्रालय शान्ति सुरक्षा महाशाखाले त्यस्ता व्यक्ति र संस्थाहरूलाई तुरुन्त नियन्त्रणमा लिई कारवाही गर्न सक्ने अधिकार राज्यले दिएको छ। शिष्टाचारको उल्लंघन गरी सामाजिक तथा धार्मिक मान्यता र आस्था विरुद्ध प्रचार गरिएका त्यस्ता सामग्रीहरूले सामाजिक विग्रह उत्पन्न गरी अराजकता निम्त्याउने भएकाले त्यस्तो व्यवस्था गरेको हो भन्ने गरिएको छ।
त्यस प्रकारको कानुनी अधिकार जनवादी गणतन्त्र चीनले समेत व्यवस्थित गरेको छ। असीको दशकमा चीनमा 'फालुङ गोङ' नामक एउटा नविन 'धार्मिक' सम्प्रदायले चीनभरी 'फालुङ गोङ' को सदस्यता सशुल्क बाँड्दै हिड्यो। त्यसको साथै तिनले तिनका सदस्यहरूलाई 'नयाँ ध्यान पद्धति' भनी एक प्रकारको ध्यान योगको प्रशिक्षण पनि दिने गरेको थियो। उक्त नविन 'धार्मिक' सम्प्रदायले समाजमा मजदुर, किसान, कर्मचारी, शिक्षक लगायत विभिन्न पेशाका मानिसहरूबाट मासिक लेभी (चन्दा) बटुल्ने गरेको र दैनिक रुपले तिनका नौलो पद्धतिबाट ध्यान गर्ने वानी बसाल्दै गएका थिए। तर चीनको गृह मन्त्रालय र गुप्तचरी संस्थाले विस्तृत अनुसन्धान गरेपछि त्यस्तो ठगी धन्दा र धार्मिक दुराचारको पोल खुल्यो। अर्कोतिर उनीहरूले समाजमा वितण्डा मच्चाउन विदेशी गुप्तचर एजेन्सीको प्रोग्राम लागू गर्ने गरेको समेत पर्दाफास हुन गयो। चिनिया सरकारले कथित 'नयाँ पद्धतिको योगाभ्यास' व्यवहारमा अनुभव सिद्ध प्रमाण नभएकोले मानव मस्तिष्क, मनोविज्ञान र वौद्धिकताका लागि खतरनाक सावित भएको भन्दै 'फालुङ गोङ' माथि प्रतिवन्ध लगायो। त्यसको हर्ताकर्ताहरू चिनिया समाजलाई बौद्धिक रुपले भ्रष्ट र पतन गराउन नया147 ध्यानको नाममा प्रयोगशाला बनाउने गरेको सामाजिक अपराध अन्तर्गत दण्डित समेत गराए। नेपालमा पनि अनेक थरिका परम्परा विरोधी प्रचार प्रसार भइरहेको स्थिति छ। नागरिकको वाक स्वतन्त्रताको पूर्ण रुपले दुरुपयोग गरी रामबहादुर बमजनलाई कथित 'नयाँ बुद्ध' र 'मैत्रीय बुद्ध' भनी प्रचार गर्दै जनताको धार्मिक आस्थामा आघात पुर्‍याउने काम भएको छ। त्यसले अन्तर्राष्ट्रिय बौद्ध जगत समेतलाई क्षुब्ध पार्ने काम गरेको छ। सामाजिक मान्यता तोड्ने, शिष्टाचार र नैतिकता भत्काउदै समाजमा मानसिक अराजकता फैलाउने तत्वहरूले धर्मद्रोह गर्दै आएकोमा देशमा जिम्मेवारी क्षेत्रले सतर्कतापूर्ण कदम चाल्नु पर्ने भएको छ भनी वौद्धिक क्षेत्रले निस्कर्ष निकालेका छन्। हालै लण्डनमा एउटा रेस्टुरेन्टको नाम 'ग्लेडी बुद्ध' भनेर राखेकामा श्रीलंकाका उच्चायुक्त, थाइलैण्ड र नेपाली राजदूतावासले आफ्नो चासो देखाउदै त्यस्तो काम अल्पबुद्धिको परिणाम हो भनेका छन्। सम्पूर्ण विश्वमा बुद्धप्रेमी र भक्तहरूको हृदयमा चोट पुर्‍याउने अधिकार कसैलाई पनि छैन। बुद्ध धर्मकै नाममा भगवान बुद्धको अपमान हुने काम गर्नु झन् महापाप हो। कथित तपस्वी र उनका प्रचार टोलीले आफ्नो सफेद झुट कुराहरू 'नयाँ बुद्ध' र मैत्रीय बुद्ध भनी प्रचार गरेका सामग्रीहरू फिर्ता लिई सार्वजनिक व्यक्तव्य मार्फत् माफी माग्नु पर्दछ भन्ने नेपाली बुद्ध प्रेमी र आस्थावानहरूको माग रहेको छ। त्यसो नगरेमा अब सरकारको पनि ध्यानाकर्षण हुन सक्ने छ।