Sunday, June 5, 2011

लडाकू छाड्दा प्रचण्ड भावुक बैद्य पक्षले फर्काएनन लडाकू - onlinekhabar

२२ जेठ, काठमाडौं । अरु दिन भन्दा आइतबार प्रचण्ड निवास नयाँबजारको वातावरण नै बेग्लै थियो । केही बेरअघिसम्म हतियारले सुसज्जित जनसेनाहरु आ-आफ्ना हतियार धमाधम एउटा कोठामा जम्मा पार्दैथिए ।
कोही झिटीगुण्टा पोको पारेर बिदाई हुने सुरमा थिए । बिहानसम्म आफ्नो सुरक्षामा खटिएका जनसेनाहरुको गतिविधि नियालेर हेरिरहेका प्रचण्ड पनि भावुक देखिनुहुन्थ्यो । माओवादी नेताहरुको सुरक्षामा खटिएका लडाकूलाई विदाई गर्ने क्रमको दृश्य थियो यो । विदाईसँगै लडाकू शिविर फर्कन थालेका छन् ।
४० जना आइतबार आ-आफ्ना शिविरतर्फ लागेका छन् । बाँकी ६५ जना सोमबार हिंड्ने तयारीमा छन् । सातौं डिभिजनका कमाण्डर सन्तु दराई परवानाको नेतृत्वमा नेताहरुको सुरक्षामा खटिएका १ सय ६ लडाकू दुई चरणमा शिविर फर्किन लागेका हुन् ।
लडाकूलाई सुरक्षाको चिन्ता
विदाई कार्यक्रममा प्रचण्डले जनयुद्धकालदेखि आजसम्म पार्टी र नेताको सुरक्षाका लागि खटिएका लडाकूलाई धन्यवाद दिनुभयो । भावुक हुँदै प्रचण्डले भन्नुभयो -’शान्ति र संविधानका लागि अहिलेलाई छुट्नु परेपनि सम्मानजनक समायोजन हुनेमा विश्वस्त हुनुहोस् ।’ जनसेनाले आजसम्म पार्टीका लागि गरेको योगदानको उच्च मूल्यांकन गर्ने पनि प्रचण्डले बताउनुभयो ।
प्रचण्डजस्तै विदाई कार्यक्रममा उपस्थित लडाकूहरु पनि भावुक देखिन्थे । ‘आफ्नो नेतृत्व छोडेर जाँदा नरमाईलो लागेको छ’ केन्द्रीय सैन्य फोर्सका कमाण्डर युवराज दुलाल शरदले भन्नुभयो-’तर शान्ति र संविधानका लागि पार्टीले गरेको जस्तोसुकै निर्णय पनि हामीलाई मान्य हुन्छ ।’ लडाकूले आफ्नो सुरक्षामा ध्यान दिन प्रचण्डलाई आग्रह पनि गरेका छन् । छिटो शान्ति र संविधान टुंग्याउन पनि उनीहरुको अनुरोध छ ।
नेताहरुको सुरक्षामा एकसय ५ लडाकू खटिएका थिए । त्यसमा आधाचाहिं प्रचण्डकै सुरक्षार्थ नयाँबजारमा थिए । यस्तै नेताहरुको सुरक्षाको लागि ९६ थान हतियार थियो । सबै हतियार प्रचण्ड निवासमा जम्मा पारिएको छ । यसलाई चितवनको शक्तिखोर डिभिजनमा लगेर राख्ने तयारी भएको छ ।
शान्ति प्रकृया अघि बढ्ने
संविधानसभाको म्याद थप्ने क्रममा मुख्य तीनदलबीच पाँच बूँदे सहमति अनुसार माओवादीले आफ्नो सुरक्षाबाट लडाकूलाई हटाएको हो । लडाकूले छोडेपछि अब प्रहरीले माओवादी नेतालाई सुरक्षा दिनेछ । संविधानसभाको म्याद थप्ने क्रममा कांग्रेस लगायतका दलहरुले माओवादी नेताहरुको दोहोरो सुरक्षा हट्नुपर्ने माग प्रमुखताका साथ उठाएका थिए । दोहोरो सुरक्षा हटाएर आफूहरुले सहमति कार्यान्वयनको शुरुवात गरेको माओवादी नेताहरुको भनाई छ ।
अरुहरुले पनि यस कार्यको स्वागत गरेका छन् । ‘यो सानो तर सकारात्मक कदम हो’ कांग्रेस नेता डा. रामशरण महतले भन्नुभयो-’यो काम धेरै अघि नै गर्नुपथ्र्यो, ढिलै भएपनि शुरु भएको छ ।’ अब कब्जा सम्पत्ति फिर्ता, सेना तथा हतियार व्यवस्थापनमा लचिलो लगायतका अरु काममा ध्यान दिनुपर्ने महतको सुझाव छ । द्वन्द्वविद विष्णु पाठकले पनि यसलाई सकारात्मक रुपमा लिनुभएको छ । ‘अब शान्ति प्रकृया टुंगिने दिशातिर वातावरण बनेको छ’ उहाँले भन्नुभयो- ‘प्रचण्डले जुन निर्णय गर्नुभयो यसले वातावरणलाई सहज बनाएको छ ।’
बैद्य समूहको बाँकी
माओवादी स्रोतका अनुसार मोहन वैद्य किरण सहित उहाँ पक्षका अरु चारजनाले हतियार र लडाकू फिर्ता गरेका छैनन् । दोहोरो सुरक्षा हटाउने पार्टी निर्णयमा उनीहरुले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । यसको मतलब पार्टी निर्णय नमान्ने भन्ने नरहेको वैद्य पक्षका सीपी गजुरेलले बताउनुभयो । त्यसो भए सबैले फिर्ता गर्दा तपाईंहरुको किन ढिला त भन्ने प्रश्नमा उहाँले कुनै प्रतिकृया दिन चाहनुभएन । ‘साथीहरुले गर्दै होलान्’ भन्ने मात्र उहाँको टिप्पणी थियो । लडाकूको अर्को समूह सोमबार शिविर जाने भएकाले त्यो दिनसम्म बैद्य पक्षको फिर्ता हुने प्रचण्ड पक्षीय नेताहरुको भनाई छ । पार्टीमा ‘नोट अफ डिसेन्ट’ लेखेपनि निर्णय भने सबैले मान्नुपर्ने प्रावधान हुन्छ । बहुमतको निर्णय आफूहरुले मान्ने गजुरेलले पनि बताउनुभएको छ । वैद्यको सुरक्षामा पाँच लडाकू र तीनवटा हतियार तथा उहाँ पक्षीय नेताहरु सीपी गजुरेलसँग एक हतियार दुई लडाकू, नेत्रविक्रम चन्द विप्लसँग एक हतियार दुई लडाकू, देव गुरुङसँग एक हतियार र एक लडाकू तथा हरिभक्त कँडेलसँग पनि एक हतियार र एक लडाकू छन् ।