Saturday, June 11, 2011

परशुराम बस्नेत मसँग छन् - onlinekhabar

समाचार लेखेको विषयमा हालै नागरिक दैनिकका पत्रकार खिलानाथ ढकालमाथि युथ फोर्सका नेता परशुराम बस्नेत सहितको समूहले आक्रमण गरेको छ । पत्रकार महासंघको मिसन र प्रहरीले समेत आक्रमणमा बस्नेतको संलग्नता रहेको बताएपछि एमालेले यस विषयमा केहि बोलेको छैन । यद्यपी केपी शर्मा ओलीका विश्वास पत्र बस्नेतलाई ओली समूह र युवा संघ नेपालले राजनीतिक संरक्षण दिएको आरोप लगाएको छ । प्रस्तुत छ, यसै विषयमा हामीले युवा संघका अध्यक्ष महेश बस्नेतसँग गरेको कुराकानीः
पत्रकारमाथि आक्रमण गरेको भनेर तपाईंको संगठनले त बदनाम नै कमायो नि ?

सबैभन्दा पहिले त युथफोर्सलाई बदनाम गराउने हिसाबले आरोप लागिरहेको छ । मोरङ जिल्ला अदालतमा भएको घटनामा युथफोर्सको संलग्नता थिएन । सुनसरी कारागारमा रहेका अभियुक्त अभिषेक गिरीको पक्ष र विपक्षबीच झडप भएको थियो । हत्याका अभियोगी गिरीमाथि कार्वाहीको माग गर्न पीडितको छिमेकीको नाताले युथफोर्स मात्रै होईन, सबै दलका कार्यकर्ता गएका थिए । तर, नागरिक दैनिकका सम्वाददाताले युथफोर्सलाई बदनाम गराउने हिसाबले समाचार प्रकाशित गरे । त्यस विषयमा पत्रकार खिलनाथ ढकाल र युथफोर्सका अरु कार्यकर्ताबीच साथीभाइको नाताले सामान्य विवाद भएको रैछ । त्यही विवादको क्रममा ढकाल घाईते भए । तर, त्यसमा हाम्रा मोरङका अध्यक्ष परशुराम बस्नेत दोषी छैनन् ।
दोषी नभएको भए उनलाई किन लुकाएर राखिएको, राजनीतिक संरक्षण दिएको हो ?
उहाँलाई लुकाईएको छैन । राजनीतिक संरक्षण पनि छैन । मसँग हुनुहुन्छ । प्रहरीले दोषी प्रमाणित गर्न सक्यो भने म तुरुन्तै बुझाईदिन्छु । तर, उहाँ निर्दोष हुनुहुन्छ । निर्दोष मान्छेलाई चौतर्फी घेराबन्दी हुन थालेपछि घर बस्न सक्नुभएन । कसैले दोषी देखाउँछ भने कार्वाहीको लागि बुझाउन म तयार छु । तर, निर्दोष देखिए भने जस-जसले दोष लगाएका छन् उनीहरु पनि कठघरामा उभिनुपर्छ ।
तर, गृहमन्त्रीले पनि दोषी राजनीतिक संरक्षणमा रहेको भन्नुभएको छ त ?
गृहमन्त्रीलाई यो भन्ने अधिकार छैन । अनि सञ्चारमन्त्रीलाई पनि युथफोर्सको गुण्डागर्दी भनेर आरोप लगाउने अधिकार छैन । दोषीलाई संरक्षण गर्ने र गुण्डागर्दी गर्न माहिर मानिने माओवादी नेताहरुले यसो भन्न सुहाउँछ ? हत्या अभियोग लागेका उहाँका कार्यकर्ता खुलम्खुल्ला हिंडिरहेका छन् । सञ्चारमन्त्री स्वयंलाई यस्तो अभियोग छ । अनि उहाँहरु कसरी हामीलाई यो दोष लगाउन सक्नुहुन्छ । अरुले लगाएपनि माओवादी नेताहरुलाई चाहिं हामीमाथि दोष लगाउने अधिकार छैन ।
घटनामा संलग्नता छैन भने त प्रष्ट कुरा बाहिर ल्याउनु पर्यो नि त । किन पत्रिका जलाउने, धम्की दिने त ?
हामी प्रेस स्वतन्त्रताको सधैं सम्मान गर्नुपर्छ । तर. प्रेस पनि अनुशासित हुनुपर्यो भन्ने मात्र हो । हामीले सार्वजनिक रुपमा भनिसकेका छौं घटनामा हाम्रो संलग्नता छैन । संलग्न भएको पुष्टी भएमा कार्वाही गर्छौं । छानवीन समिति पनि बनाएका छौं । तर, एउटा व्यक्तिको पछाडि पत्रिकाका सम्वाददातादेखि सम्पादकसम्म किन यसरी पछि लागेको ? नितान्त व्यक्तिगत घटना हो यो । भोलि कसैले कुनै ठाउँमा गएर झगडा गर्ला म सञ्चारमन्त्रीको मान्छे भन्ला, अर्कोले म नारायण वाग्लेको मान्छे भन्ला अनि त्यो बेला सञ्चारमन्त्रीलाई दोष दिने ? नारायण वाग्लेलाई दिने ? त्यसैले हाम्रो संगठन र जिल्ला नेतालाई सुनियोजित ढंगले आरोप लगाउने काम भैरहेको छ त्यसकै नतिजा हो पत्रिका जलाएको घटना । हुँदै नभएको कुरा कसैले छाप्छ भने मान्छेलाई रीस उठ्नु स्वभाविक नै हो नि ।
वाईसीएलले आक्रमण गर्यो भनेर तपाईंहरु नै बिरोध गर्नुहुन्थ्यो । पछिल्ला गतिबिधि देख्ने सुन्नेलाई त वाईसीएल र युथफोर्स खासै फरक जस्तो लागेको छैन त ?
त्यसो होईन । हामीलाई बदनाम गराउने चाला मात्रै हो यो । हामी प्रेस स्वतन्त्रताको सम्मान गर्छौं । अराजक गतिबिधिको बिरोध गर्छौं । तर, पत्रकारले पनि आफ्नो सञ्चारमाध्यमलाई रीसबी साँध्ने माध्यम चाहिं बनाउन भएन । अर्को कुरा वाईसीएलसँग हामीलाई दाँज्न मिल्दैन । उसको र हाम्रो गतिबिधिमा धेरै फरक छ ।