Thursday, June 16, 2011

युथ फोर्सले खोजेको- 'इस्यु डाइभर्ट' - mysansar


काठमाडौँमा युथफोर्सले जलाएको सरकारी गाडी, इटहरीमा ढुंगा लागेर टाउको फुटेका बालक (माथि) र विराटनगरको स्कूल बसमा युथफोर्सले ढुंगा हान्दा घाइते भएका ६ कक्षाका बालक।
युथ फोर्स-नागरिक-पत्रकार महासंघमा सीमित मुद्दा आजदेखि एकाएक देशव्यापी रुपमा चर्किएको छ। सामान्य रुपमा हेर्नेहरुलाई यो अकस्मात् भएको घटना जस्तो लाग्न सक्छ। तर गहिरिएर हेर्ने हो भने बुझ्न सकिन्छ, यो एकदमै सोचविचारपूर्वक योजनावद्ध रुपमा चालिएको रणनीतिक चाल हो। एकातिर सोझिएको विषयलाई स्वात्तै मोडेर ‘इस्यु डाइभर्ट’ गर्न आजको दिन प्रयोग भएको छ। कसरी ? आउनुस् हामी तपाईँलाई बताउँछौँ।
  • युथ फोर्स (नयाँ नाम युवा संघ) का अध्यक्ष महेश बस्नेत केही दिनअघिदेखि नै निरन्तर राज्यलाई चुनौति दिने गरी सार्वजनिक अभिव्यक्ति दिँदै थिए। किटानी जाहेरी परेर प्रहरीको वान्टेड सूचिमा रहेका पर्शुराम बस्नेतलाई ‘मेरो संरक्षणमा छ, सक्छौ भने प्रहरीले पक्र’ भन्दै उनले खुला रुपमा नै राज्यलाई चुनौति दिँदै आएका थिए। यो राज्यलाई चुनौति दिने काम यत्तिकै भएको हैन रहेछ। आजको घटनाले त्यसलाई प्रमाणित गर्छ।
  • पहिले पक्रन चुनौति दिने, पक्रे पछि उफ्रनेः प्रहरीले बस्नेतलाई पक्रियो आज इटहरीबाट। पक्रनु के थियो, देशभर युथफोर्सले आगो बाल्यो। राजधानीमा दुई वटा सरकारी गाडीमा आगो लगाइयो। विराटनगरमा विद्यार्थी बोकेको गाडीमा ढुंगा हानेर एक विद्यार्थीलाई सिकिस्तै बनाइयो। देशका अन्य विभिन्न भागमा पनि उत्तेजक प्रदर्शन भए। यसबाट प्रष्ट हुन्छ- युथफोर्स एउटा बहाना खोजिरहेको थियो प्रतिकारमा उत्रन। बस्नेतको पक्राउसँगै उसलाई त्यो बहाना प्राप्‍त भयो।
  • पत्रकारहरुमा फूट ल्याउने कदमः पत्रकारहरुमा फूट ल्याउन पनि एउटा योजनावद्ध कदम चालियो। पार्टी कै कार्यकर्ताहरुले फरार अभियुक्त पर्शुराम बस्नेतको अन्तर्वार्ता एफएममा बज्दैछ भनी ठाउँठाउँमा हल्ला गरे। हल्ला त हल्लै भयो, हल्लाको पछि लाग्ने प्रहरी पनि त्यसमा परिचालित भए। केही एफएममा प्रहरी घेर्न पुगे। यसैलाई निहुँ बनाई केही एमाले एफएमहरुले प्रपोगान्डा गर्न भ्याए। ओली खेमामा रहेका एमाले नेता प्रदीप नेपालको लगानी रहेको इटहरीको सप्तकोशी एफएमले प्रहरी हस्तक्षेप भएको भन्दै वक्तव्य नै निकाल्यो। जबकि एफएम कै कर्मचारीहरु चाहिँ प्रहरी भित्र आएको हैन, अभियुक्त बस्नेत आउला भनी बाहिरै निगरानी गर्न बसेको भन्दै थिए। एफएम कार्यालयमा प्रहरी पसेको भनेपछि पत्रकारहरुले विरोध गर्नैपर्छ। अहिलेसम्म युथफोर्सको विपक्षमा मात्र आन्दोलित पत्रकारहरुको विरोधलाई बाँडेर इस्यु डाइभर्ट गर्ने योजना यसमा थियो।
  • केन्द्रमा नेताले कुरा मिलाउने, विराटनगरमा बस्नेत म रिहा हुन्न भन्नेः अझ इस्यु डाइभर्ट गर्न खोजेको पुष्टि त युवासंघ अध्यक्ष महेश बस्नेतको भनाईबाट पुष्टि हुन्छ। कतिसम्म नाटक हेर्नुस् त- केन्द्रमा योगेश भट्टराई लगायतका नेताहरु बसेर गृह मन्त्रालयसँग वार्ता गरे र भोलिको नेपाल बन्द फिर्ता हुने र बस्नेतलगायत पक्राउ परेकालाई रिहा गर्ने सहमति भयो। तर बस्नेतले भने फरार अभियुक्त पर्शुराम बस्नेतविरुद्ध लगाइएको मुद्दा पनि फिर्ता हुनुपर्ने, नागरिक पत्रिका र सम्पादक नारायण वाग्लेले समेत माफी माग्नुपर्ने लगायतका मागको अत्तो थाप्दै रिहा हुनै मानेनन्। म रिहा हुन्न, नेताहरुले गरेको वार्ता र सहमति मान्दिनँ, भोलिको आन्दोलन जारी हुन्छ भनेर बस्नेतले भन्नु इस्यु डाइभर्ट गर्न खोज्नु हैन भने के हो त ? एकातिर भट्टराईले बन्द फिर्ता गर्नुपर्छ, केन्द्रको सहमति मान्नुपर्छ भनी आह्वान गर्नु, अर्कोतिर बस्नेतले मान्दिनँ भन्नु- यो के हो ? बस्नेतले त्यति मात्र हैन, गृहमन्त्रीकै राजीनामा मागिरहेका छन्। गृहमन्त्रीको राजीनामा नआएसम्म छुट्दिनँ भनिरहेका छन्। यो सब पत्रकार खिलानाथ ढकालमाथि ज्यान मार्ने उद्देश्यका साथ आक्रमण गर्ने योजना बनाउने पर्शुराम बस्नेतलाई जोगाउने चालबाजी बाहेक केही हैन। सीधै पर्शुरामलाई बचाउन आन्दोलन गर्दा लाज हुने भएर इस्यु डाइभर्ट गर्न यो सब नौटंकी रचिएको हो।
  • खनाल र  ओली गुटको झगडा हो योः हेर्दा यो पत्रकार र युथ फोर्सको बीचको झगडा देखिए पनि वास्तवमा यो एमालेभित्रको झलनाथ खनाल गुट र केपी ओली गुटको संघर्ष र द्वन्द्वको उपज हो। जो पत्रकार कुटिए, ती एमाले कै पत्रकारहरुको भ्रातृ संस्था प्रेस चौतारीका सदस्य हुन्। अनि उनले जसको विरुद्ध समाचार लेखेका थिए, ती केपी ओलीका खास मान्छे हुन्। एउटै पार्टीभित्रको यो विवादमा बित्थामा सिंगो देशलाई मुछिएको छ। खनाल र ओलीले आ-आफ्ना गुटलाई सम्झाउने हो भने यो घटना एक मिनेटमा साम्य हुन्छ। दुई गुटको इगोले नै यो घटना दिनप्रतिदिन चर्कँदो छ। अब ओली गुटले यही इस्युलाई लिएर माओवादी गृहमन्त्रीप्रति प्रहार गर्ने मौका पाएको छ।
र, अन्त्यमा बिचरा बच्चाः बस्नेत पक्राउ परेपछि युथ फोर्सका कार्यकर्ताहरुले इटहरीमा आधा दर्जन गाडी फोडे। साँढेको जुधाई, बाच्छाको मिचाइ, उनीहरुले हानेको ढुंगा लागेर एक जना बच्चा घाइते भए। टाउको फुटेर रगत बग्यो उनको। रगत बगिरहेको आफ्नो टाउको छामेर उनी आफ्नी आमालाई भनिरहेका थिए, ‘आमा, त्यता नजानुस्, तपाइको पनि टाउको फुटाउँछन्।’