Wednesday, June 8, 2011

मान्छेलाई उल्लु बनाउने विज्ञापन - mysansar


औसत नेपालीका रुपमा तपाईँलाई पनि धनी बन्न मन लागेको होला। र, रातारात करोडपति बन्न सकिने कुनै उपाय छ भने पक्कै त्यसको प्रयोग गर्नुहुन्छ होला। अथवा तपाईँको कुनै ब्यवसाय बिग्रिएको छ भने तपाईँ त्यसबाट तत्काल मालामाल बन्न चाहनुहुन्छ होला। धनी मान्छे बन्न चाहनुहुन्छ भने तपाईँहरुका लागि भनेर अचेल नेपालका टेलिभिजनहरुमा बजिरहेको एउटा विज्ञापन पनि हेर्नुहुन्छ होला झण्डै आधाघण्टा लामो। र, त्यसमा बोल्छन् : नायक निखिल उप्रेती र नायिका उषा पौडेल। उनीहरु भन्छन् : रातारात धनी बन्नुछ भने धनलक्ष्मी यन्त्र किन्नुस्।
तर, हामीलाई कैले कैले त खुबै आश्चर्य र हाँसो लाग्छ कि : नेपालीलाई के ठानेर विज्ञापन बनाइन्छ ? बुद्धू मानिन्छ शायद हामीलाई। त्यस्तै विज्ञापन हो त्यो, जसमा हठात् विस्वास गरिहाल्छन् नेपालीले भनेर खुब प्रचार भइरहेको छ। तर हामी सचेत गराउँदै छौं तपाईँलाई झट्ट बिस्वास गरेर फँस्नुहोला फेरि।
र, त्यस्तो विज्ञापनको शीर्षक हामीले राखेका छौं : धनलक्ष्मी लुटयन्त्र। जो बजिरहेको छ।
मान्छेलाई उल्लू बनाउनुको पनि हद हुन्छ नि। यसमा त हद नाघेर नेपालीलाई उल्लू बनाइएको छ।


नेपाली टेलिभिजनमा बज्ने सबैभन्दा लामो विज्ञापन। ३० मिनेट भन्दा लामो। यसमा मुख्य भूमिकामा देखिन्छन् दुई पात्र : निखिल उप्रेती र उषा पौडेल। उनीहरुले खेलेको यो विज्ञापनले भन्छ- पैसा कमाउनु छ भने कामधाम केही गर्नु पर्दैन, यन्त्र किन्नुस्, रातारात धनी भइन्छ।
यसबाहेक अरु केही मान्छे पनि अनेक भेषमा देखिन्छन् यो विज्ञापनमा। कोही टिभी अभिनेता भएर, कोही गरिब तर धनी नामांकित भएर। शीला शर्मा, अनिल धवनदेखि विराटनगरका गोविन्द, नेपालगन्जकी जमुना आदि-आदि।
यसको मूल उद्देश्य त्यो धनलक्ष्मी यन्त्रको ब्यापार गर्नु हो। र, यसलाइ विश्वासिलो बनाउन अनेक कोशिस भएको छ यो विज्ञापनमा।
सप्तऋषि संस्थानद्धारा उत्पादित भनिएको यो धनलक्ष्मी यन्त्रको विज्ञापन सुरु हुन्छ पैसाकै प्रसङ्गबाट र टुङ्गिन्छ पनि पैसाकै प्रसङगमा।
भारतमा सुटिङ गरिएको यो विज्ञापनमा उद्धृत नाम र पात्रहरु काल्पनिक पाइएको छ र यो विज्ञापनमा भनिएजस्तो कुनै एक मानिसको जीवनमा पनि भएको छैन। सिर्फ पैसा कमाउनका लागि अति झुठ विज्ञापनको खेती भइरहेको छ अचेल नेपालमा।
विज्ञापनले भन्छ, यो यन्त्र धारण गरेपछि १५ दिनमै करोडपति भइन्छ।
माता धनलक्ष्मीको यन्त्र राखेपछि फलिफाप भएको बताइन्छ। तर, यो एक अति झुठो प्रचार हो भन्ने हामीले पुष्टि गरेका छौं।
निखिल र उषा ठगीको विज्ञापनमा प्रयोग हुँदै
झुठ नम्बर १
यो विज्ञापनमा नेपालको पूर्वी भाग विराटनगरदेखि वीरगन्ज र नेपालगन्जका व्यक्तिका नाममा पत्र आएको र त्यसले धनलक्ष्मी यन्त्रको कारण फलिफाप भएको प्रचार गरिएको छ। तर यी सब नाम काल्पनिक भएको पुष्टि भएको छ। किनकी हामीले तिनीहरुलाई खोज्ने प्रयास गरेका थियौँ। तर उनीहरु कोही फेला परेनन्। विज्ञापनमा भनिएका श्रीपुर वीरगन्जका रेष्टुरेन्ट व्यापारी विराजलाई हामीले वीरगन्जमा खोजेका थियौँ। तर, उनी कतै फेला परेनन्।
त्यसपछि अरु कसैले चिन्छ कि भनेर सर्वसाधारण नागरिकलाई पनि हाम्रो प्रश्न थियो। तर, उनीहरु कसैले चिनेनन् को हो त्यो विराज र उसको रेष्टुरेन्ट कहाँ छ भनेर?
झुठ नम्बर २
यो विज्ञापनले भन्छ : सप्तऋषि संस्थानको मुख्य कार्यालय वीरगञ्जको आदर्शनगरमा छ। तर, वीरगञ्जको आदर्शनगरमा हामीले चौतर्फी यसको कार्यालय खोज्यौं तर कहीँ छैन। उनीहरुले भनेको स्थानमा कुनै किसिमको कार्यालय छैन। आन्तरिक राजश्व कार्यालय वीरगञ्जमा आयात-निर्यात गर्न भनी मिति २०६७ साल साउनमा वीरगञ्ज–१३ आदर्शनगर ठेगाना भएका अजयकुमार तामाङको नाममा चान्द दिया ट्रेडिङ प्रा.लि. दर्ता भएको पाइन्छ। तर उल्लेखित ठेगानामा त्यस्तो कुनै कम्पनी अर्थात् कार्यालय पनि छैन, न त अजयकुमार तामाङ नै फेला परे।
झुठ नम्बर ३
विज्ञापनमा भनियो : टिभीको स्क्रिनमा देखिएको नम्बर ९८५५०२५०३२ मा फोन गरेर तुरुन्त अर्डर गर्नुस्। हामीले फोन गर्‍यौं : रमेश चौधरीले आफूलाई यसको प्रमुख बताए।
फेरि अर्को दिन त्यही नम्बर ९८५५०२५०३२ मा सम्पर्क गर्‍यौं। तर त्यस दिन त्यो मान्छे नै नभएको बताइयो।
यसपछि हामीलाई यो ब्यापारप्रति पूरै शंका लाग्यो। विज्ञापनमा नायक निखिल उप्रेती र नायिका उषा पौडेलले भनेका नामहरु सबै काल्पनिक हुनु, यसको कार्यालय नै नहुनु, सरकारी कुनै आधिकारिकता पनि नहुनु। एकदम शंकास्पद ब्यापार र झुठ ब्यापार।
५ हजार ७ सय ६० रुपैयाँमा किन्नुस् अनि करोडपति बन्नुस्। यस्तो पनि कहीँ हुन्छ? तर, यो विज्ञापन भन्छ तुरुन्तै धनलक्ष्मी यन्त्र किन्नुस् तपाई मालामाल हुनुहुन्छ। यदि तपाईँ पनि यो खरिद गरेर रातारात धनी बन्न चाहनु हुन्छ भन्ने एनसेलबाट डायल गर्नुस्, ९८०१०३१९९२, ९८०१०३१००१ र नेपाल टेलिकमबाट ९८५५०२५०३१, ९८५५०२५०३२ मा सम्पर्क गर्न सक्नु हुन्छ भन्छ यो विज्ञापनले। नेपाली चलचित्रका नायक निखिल उप्रेती र नायिका उषा पौडेलले खेलेका यो विज्ञापनमा अनेकौँ पटक धन प्राप्त गर्न धनलक्ष्मी यन्त्र छिटो किन्न अनुरोध गरिन्छ।
आधिकारिक विक्रेता कोही छैन तर यी मोबाइल नम्बरहरु ९८०१०३१९९२, ९८०१०३१००१, ९८५५०२५०३१, ९८५५०२५०३२ को भरमा निर्वाध झुठको खेती भइरहेको छ। र, यसका लागि छुट छ नेपालमा। न कहीँ दर्ता? न कतै कार्यालय? न कोही प्रमुखको आधिकारिक उपस्थिति? न भ्याट, न कर? तर मासिक करोडभन्दा बढी पैसा विज्ञापनमा खर्च गरेर मोबाइलको भरमा ब्यापार? तर पनि खुब बिकेको छ र रातारात धनी बनिएला भनेर पैसा हालेर किनिरहेका छन् नेपाली। बडा गजब छ यो ब्यापार।
त्यसपछि रातारात धनी बनाउने त्यो धनलक्ष्मी यन्त्र किन्न मन लाग्यो हामीलाई पनि र हामीले अर्डर गर्‍यौं फोनबाट। एउटा गेष्ट हाउसमा गोप्य क्यामेरा सेट गरेर हामीले फोन गरेपछि धनलक्ष्मी यन्त्र बोकेर आए एक एजेन्ट। हामीले पूर्वतयारी स्वरुप जसले धनलक्ष्मी यन्त्र लिएर आउँछ, उसलाई गोप्य क्यामेराबाट खिच्ने व्यवस्था मिलाइसकेका थियौं। आइपुगे उनी। उनको नाम परिवर्तन नगरिकन निरज आचार्य।
धनलक्ष्मी यन्त्र बेच्न आएका निरज आचार्य।
धनलक्ष्मी यन्त्र बेच्न आएका निरज आचार्य।
उनले हामीलाई शुरुमा धनलक्ष्मी यन्त्रमा के के हुन्छ र त्यसलाई कसरी राख्नु पर्छ भन्ने सिकाए।
हामी चाहीँ यस व्यवसायको बारेमा जान्न खाजिरहेका थियौं। भन्यौ : यो लगाएपछि रातारात कसरी धनी हुन्छ त मान्छे? हामीले उनलाई प्रश्नमाथि प्रश्न गर्दै गएपछि उनी केही असिन पसिन हुँदै गए र प्रसङग जोडे विश्वासको।
उनका अनुसार नेपालमा धनलक्ष्मी यन्त्रको बिक्री हुन थालेको १ वर्ष पुग्न लाग्यो।
उनी त कमिसनका लागि काम गर्ने एक कर्मचारी रहेछन्। र, उनले कमिसनका लागि काम गरेको प्रष्ट स्वीकार गरे।
नेपालको कुनै पनि ठाउँमा आधिकारिक कार्यालय नै नभएको यसले राजश्व चुहावट त गरेको छ नै भूमिगत शैलीमा तुच्छ व्यापारलाई निरन्तता दिइरहेको रहेछ। हामीले यो अर्को झुठ थाहा पायौं उनीसँग। तर, हामीले यो धनलक्ष्मी यन्त्र किनेनौं : किन्नु पनि थिएन। बेक्कार।
अनि यस्तोसम्मको झुठ ब्यापार गर्नेबाट कति मानिस पीडित होलान् भनेर खोज्न थाल्यौं शहरमा। जसले रातारात धनी हुने कल्पना गरेर धनलक्ष्मी यन्त्र किनेका थिए।
कीर्तिपुर मच्छेगाउँ–१ घर भएकी सरु मानन्धरले पनि यो प्रयोग गरिन्। इलेक्ट्रिक पसल गर्दै आएकी उनले आपनो पसलमा समेत धनलक्ष्मी यन्त्र लगेर राखेकी छिन्। तर विज्ञापनमा भने जस्तो शान्ति हुनुको सट्टा ठीक उल्टो अवस्था देखियो। अहिले त उनको विश्वासको बन्धन नै टुटिसकेको छ। उनी भगवानलाई विश्वास गर्छिन् तर धनलक्ष्मीलाई विश्वास गर्दिनन्।
धनलक्ष्मी यन्त्रको प्रयोगबाट पीडित भएका सन्त मानन्धरले पनि लामो समय यस्को प्रयोग गरे तर अवस्थामा के परिवर्तन आयो? सन्त मानन्धर दिक्क देखिए। धनलक्ष्मीका अर्का पीडित बुद्धरत्न श्रेष्ठ। उनले पनि यो लामो समय लगाए तर यसबाट केही फाइदा पाएनन्।
विज्ञापन देखेकै आधारमा धनलक्ष्मी खरिद गर्ने हुन् सुमन थापा। टेकुका व्यवसायी उनले पनि छ महिना यस्को प्रयोग गरे। तर केही भएन। हुनु नै के थियो र? धनलक्ष्मीकै कारण शरीरमा एलर्जी भयो बरु। र, उनले फयाँकिदिए। अहिले उनलाई लागेको छ, यो त विज्ञापनको नाममा ठगी पो रहेछ।
कस्तोसम्म हुन्छ यो देशमा? कति बेवकुफ छौं हामी? अनि कति सजिलो ब्यापारको रणनीति बनाउँछ त्यो ब्यापारी? टीभीमा अनेकथरि भनाएर : त्यो पनि नेपाली सिनेमाका नायकनायिकालाई राखेर, कस्तो उदेकलाग्दो समाजमा छौं हामी? र, तिनीहरु : अर्थात् भनिने नायक, नायिकाहरु : निखिल उप्रेती र उषा पौडेल। बिचरा कस्तो गोटी भएका हुन्? आफैमा अलिकति विवेक थियो भने तिनले भारतको नयाँ दिल्लीमा यो विज्ञापन सुटिङ गरिरहँदा सम्झिनुपर्थ्यो आफ्ना नेपालीहरुलाई। केही पैसा पाए, अनि त बोलिहाले : धनलक्ष्मीयन्त्रले नेपालीलाई करोडपति बनाउँछ। लज्जा। अनि नेपाली मिडिया ? तपाईँ पैसा तिर्नुस्, जे पनि बजाउन सक्नुहुन्छ भनेको हैन त यो ? भएको त यही हो नि।
र, अब आम नेपाली यसप्रति सचेत हुनैपर्छ कि यो महाझुठको खेती हो। त्यसबाहेक नेपाल सरकारको पनि दायित्व हो कि नेपालमा यसरी गैरकानुनी रुपमा, भूमिगत शैलीबाट जनतालाई खुलेआम ठग्नेहरुको जरो पत्ता लगाएर तिनलाई कारबाही हुनुपर्छ।