Saturday, June 11, 2011

आशिर्वाद थाप्न ओली फेरी भारततिर - nepalplus.com

छिस्रिक्क केहि भयो देशमा कि भारत दगुरिहाल्ने नेतामा पर्छन् ओली । जनताले हराए । रुचाउँदैनन् । पार्टीका कार्यकर्तालेपनि नेत्रित्व दिन मानेनन् । त्यसैले ओलीका लागि भारतीय नेताको आशिर्वाद लिनु, तिनका कुरा सुन्नु, नेपालमा कस्तो सरकार बनाउने, कसलाई फ्याँक्ने र कसरि अत्तो थाप्ने ? भारतीय नेताबाट अक्किल लिन्छन् उनी । जब कठिन अवस्था हुन्छ अनि आफ्नो अक्किल, बुद्दी र ब्रम्हले भ्याउँदैन । त्यो बेला त झन भारत दगुरीहाल्छन् । निहुँ त एउटा बनाउनै पर्‍यो जनताका अगाडि भरतीय नेताको राजनितिक आशिर्वाद लिन होइन भन्ने देखाउन । अनि के गर्ने ? उपचार गर्न भन्यो हिँड्यो । ओली त्यहि निहुँमा आज भारत जाँदै छन् ।
हुन त ओली एक्ला नेता होइनन् त्यस्ता अनेक निहुँमा भारत जाने । तर सबैलाई उछिन्न सफल नेता भने उनै हुन् । हाम्रा नेतालाई रोगलेपनि निकै साथ दिन्छ । देशमा संविधान बनाउने मिति सक्किनै लाग्दा, संविधान सभाको म्याद थप्ने कि नथप्ने भनेर छलफल हुँदा अनि सरकार परिवर्तनको चर्चा चल्दा रोगले ट्याक्क साथ दिन्छ । भारतीय नेतालाई भेट्नु पर्दा, उताको गोप्य निम्तो आउँदा पनि त्यसैगरि रोगले साथ दिन्छ । अनि तिनले भारतको यात्रा एक्कासि तय गर्छन् । जनतालाई ढाँट्छन्, ‘उपचारकालागि भरत जान लागेको’ भन्दै ।
रोगपनि बडो गज्जबको लाग्छ तिनलाई । उफ्रि उफ्रि कराएका हुन्छन् । मच्चि मच्चि भाषण ठोकेका हुन्छन् अघिल्लो दिनसम्म । रात बिरात बैठ्क बस्दा केहि भएको हुन्न । मोरङ, झापा, सुनसरी र नेपालगञ्जसम्म हानिँदै भाषण ठोक्दा बिसन्चो हुन्न । भारत जान मन लाग्नासाथ ति एक्कासि बिरामी पर्छन् । यस्तो बिरामी कि नेपालका डाक्टरले उपचार गर्नै नसक्ने । नेपालमा उपायनै नलाग्ने । भारत नगै औषधी नै नभेटिने । भारतीय डाक्टरले नछोएसम्म सन्चोनै नहुने । ओली घरी घरी यस्तैगरि बिरामी पर्छन् । उनको रोग भारतीय नेतालाई भेटेपछि सञ्चो हुन्छ । बिरामी परेका उनी एक दिन यस्सो अस्पत्ताल झुल्किन्छन् । अनि उनको काम भारतीय नेताका दौला चहार्ने हुन्छ । भारतीय नेतासित भेटेर राजनितिक परामर्श गर्छन् अनि उताबाट नेपाल फर्किनासथ पड्किन थाल्छन् ओली अनेक अत्तो हालेर ।
भारतीय अस्पत्तालमा स्वास्थ्य जाँच गर्न भन्दै हिँड्न लागेका ओलीलाई एक हप्ता चाहिँदैन । उनको सामान्य स्वास्थ्य जाँच त नेपालमै हुन सक्छ नै । तर उनी एक हप्ताका लागि जाँदै छन् । किनभने उनको मुख्य उद्देश्य स्वास्थ्य जाँच गर्ने हुँदै होइन, बिभिन्न भरतीय पार्टीका नेता भेट्ने हो । त्यसकालागि हप्तादिन त लागिहाल्छ । इमान्दर हुन्थे र साँच्चै उपचारकै लागि थियो भने भारतको कुन अस्पत्तालमा, के रोगको लागि कुन चिकित्सकले जचाउने हो ? कति समय कुन बेडमा वा कुन ठाउँमा बस्ने हो भन्ने खुलाउनु पर्थ्यो । तर उनको भ्रमणबारे त्यस्तो उल्लेख छैन । पार्टीका शक्तिशाली नेता त्यसरि बिदेश जाँदा पार्टीलाई, जनतालाई पहिलेनै जानकारी दिनुपर्ने हो स्वच्छ मनले, सहि उद्देश्यले जान लगेको भए ।
तर भारत जाने उनको यात्रा एक्कासि सार्वजनिक भयो । किनभने अहिले नेपालमा सरकार परिवर्तनको कसरत भैरहेको छ । अबको प्रधानमन्त्री को हुने भने बहस तिब्र छ । त्यो दौडमा उनले पनि उतार्न खोजेको चर्चा छ । उता बाबुराम भट्टराइ, शेर बहादुर देउवा र रामचन्द्र पौडेलपनि त्यहि प्रधानमन्त्री पदको हड्डीमा हारालुछ गर्न कस्सिएका छन् । त्यसैले ओलीको सायद कतै त्यहि दौड मार्न सकिन्छ कि भन्ने दाउ होला । नभए अबको सरकार बनाउँदा नेपालको होइन कसरि भारतीय स्वार्थ रक्षा गर्न सकिन्छ भन्ने चिन्ता त पक्कै छ । त्यसैकालागि हो अहिले ओलीको भारत यात्रा !