Wednesday, June 1, 2011

निहिताको सहयोगमा शोभराजको बयान - nayapatrika


image
नेसनल टेलिभिजनका अध्यक्ष युनुस अन्सारीलाई गोली हान्ने मनमितको मतियार बनेको आरोपमा काठमाडौं जिल्ला अदालतले शोभराजलाई बयानका लागि उपस्थित गराउन प्रहरीलाई आदेश दिएको थियो

अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराज बयान दिन अदालत जाँदा मंगलबार पनि उनकी 'श्रीमती' निहिता विश्वास र 'सासु' शकुन्तला थापासँगै गए । निहिता र शकुन्तला अदालत पुगेपछि झै झगडा त भइहाल्छ, हल्काफुल्का मंगलबार पनि भयो । 
नेसनल टेलिभिजनका अध्यक्ष युनुस अन्सारीलाई गोली हान्ने मनमितको मतियार बनेको आरोपमा काठमाडौं जिल्ला अदालतले शोभराजलाई बयानका लागि उपस्थित गराउन प्रहरीलाई आदेश दिएको थियो । प्रहरीले केन्द्रीय कारागारको गोलघरबाट शोभराज मंगलबार दिउँसो करिब १ बजे अदालत पुर्‍याएको थियो । अदालतमा पहिले नै निहिता र शकुन्तला उनको प्रतीक्षामा थिए ।
निहितालाई इजलासमा जान प्रहरीले रोकेपछि आमा-छोरी विवादमा उत्रिएका थिए । शकुन्तलाले शोभराजलाई अदालत लिएर गएका प्रहरीसँग तँतँ मम गर्दै झगडा गर्न थालिन् । 
प्रहरी कुनै पनि हालतमा निहितालाई भित्र जान नदिने अडानमा थियो । तर, अंग्रेजीमा बयान दिने शोभराजको भाषा सहयोगी -इन्टरप्रेटर) अरू कोही नभएपछि अदालतले नै निहितालाई इजलासमा बोलायो । यसरी, छोरी भाषा सहयोगीका रूपमा र आमा अधिवक्ताका रूपमा भित्र पसेपछि विवाद सकियो । आमा-छोरीको सहयोगमा शोभराजले बयान पनि दिए । 
कारागार गोलीकाण्डका बारेमा शोभराजसँग करिब तीन घन्टा बयान लिइएको थियो । मनमितले आफू अमेरिकाबाट आएको पत्रकार भएको बताएकाले उसलाई भेटेको, तर गोलीकाण्डका बारेमा केही पनि जानकारी नभएको दाबी गरेका थिए । शोभराजलाई भेट्ने बहानामा जेलभित्र गएका मनमितले अन्सारीलाई गोली हानेका थिए । 
बयान सिद्धिएपछि शोभराजसँगै निहिता पनि अदालतको गेटसम्म आएकी थिइन् । गेटमा उनीहरू बिदा माग्दै छुट्टएिका थिए । फोटो पत्रकारहरूलाई शोभराजले 'इट्स इनफ फर टुडे,' -आजलाई फोटो खिच्न पुग्यो) भन्दै हात हल्लाएका थिए । 
पहिलेभन्दा निहिता निकै दुब्लाएकी थिइन् । दुब्लाएको सम्बन्धमा पत्रकारको जिज्ञासामा उनले भनिन्, 'आई एम गेनिङ माई वेट -अहिले त म मोटाउँदै छु) ।' आमा शकुन्तलाका अनुसार बिरामी भएर निहिता दुब्लाएकी हुन् । 
शोभराजमाथिको नयाँ अभियोगका सम्बन्धमा सोधिएको प्रश्नमा उनले युनुसलाई गोली हान्ने भारतीय नागरिक मनमितसँग पत्रकारका रूपमा भेटेको र घटनामा उनको कुनै संलग्नता नरहेको जिकिर गरिन् । 'तपाईंहरूजस्तै पत्रकारका रूपमा उसले भेटेको हो, नियमअनुसार जसलाई भेट्न पनि पाउँछ,' उनले भनिन् ।
मंगलबार अदालतले शोभराजका अलावा अन्सारीलाई गोली हान्ने मनमित सिंह र गोलीकाण्डमा सहयोग गर्ने केन्द्रीय कारागारका अर्का कैदी भारतीय नागरिक अमर टन्डनलाई पनि बोलाएको थियो । मनमित हातहतियार तथा खरखजाना मुद्दामा यसअघि नै पुर्पक्षका लागि जेल चलान भइसकेका छन् । गत २८ वैशाखमा मनमितसहित शोभराज र टन्डनविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको थियो । टन्डन लागुऔषध तथा अपहरण घटनामा जेल परेका हुन् । मुद्दामा आदेश भने बुधबार आउँदै छ । 
शृंखलाबद्ध हत्याका अभियोगमा जन्मकैदको सजाय पाएका प|mान्सेली नागरिक शोभराज कारागार गोलीकाण्डपछि गोलघरमा रहँदै आएका छन् । अन्सारीमाथि २६ फागुनमा केन्द्रीय कारागारको भेटघाट कक्षमा भारतीय नागरिक मनमित सिंहले गोली हानेका थिए । अन्सारी कोखामा गोली लागी घाइते भएका थिए । 
अन्सारीको हत्या योजनामा मनमितले शोभराजसँग १३ पटकसम्म भेटेका थिए । जुन कुरा शोभराजले पनि मंगलबारको बयानमा स्वीकारेका छन् । तर, पत्रकारका रूपमा मात्र सहयोग गरेको उनको दाबी छ । 
प्रहरी प्रतिवेदनअनुसार आफ्नो मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लैजान सहयोग गर्ने समझदारीमा शोभराजले हत्या योजनामा सहयोग गरेका थिए । शोभराजको मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लैजानका लागि बनाइएको फाइल प्रहरीले भक्तपुरको बोडेस्थित अभियुक्तहरूको कोठाबाट फेला पारेको थियो । शोभराजलाई भेट्न मनमितले उनकी सासु तथा अधिवक्ता शकुन्तला थापाको सहारा लिएका थिए । जुन कुरा अधिवक्ता थापाले पनि स्वीकारेकी छिन् । उनले पनि पत्रकारका रूपमा अमेरिकाबाट आएको भनेर आफूले मनमितलाई शोभराजसँग भेटाएको बताएकी छिन् । 
अन्सारीका बारेमा जानकारी लिन सुरुमा भने अपहरणको अभियोगमा जेल परेका भारतीय नागरिक टन्डनकै सहयोग लिइएको थियो । तर, पछि उनलाई युनुस रहेको केन्द्रीय कारागारबाट सँगै रहेको भद्रजेलमा सरुवा गरिएपछि उनीहरूले शोभराजको सहयोग लिएका थिए । मनमितले दिएको बयानमा शोभराज र टन्डनबीच झगडा भएपछि टन्डनलाई भद्रजेलमा सारिएको थियो, त्यसपछि उनीहरूले शोभराजको सहयोग लिएका हुन् । 
घटनाका सम्बन्धमा युनुसका बुबा सलिम मियाँ अन्सारीले २९ फागुनमा शोभराज र टन्डनसहित अन्य आठ व्यक्तिविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए ।