Saturday, June 11, 2011

घाँसपात खाएर बाँचिन् जापानी महिला - nagariknews


विकास संग्रौला, काठमाडौं, जेठ २९- गत महिना पदयात्रा गर्न रसुवा जानुअघि माकिको इवाफुचीलाई काठमाडौंमा साथीहरूले गाइड लैजान सुझाएका थिए। डेढ दशकदेखि एक्लै विभिन्न देशको भ्रमणमा जाने गरेकी जापान चिबाकी ४९ वर्षीया उनले ठाडै अस्वीकार गरिन्। एक्लै हिँडेकाले उनले ज्यानकै खतरा मोल्नुर्‍यो।
उनी यसपालि तेस्रोपल्ट नेपाल आएकी थिइन्। सन् १९९६ मा अन्नपूर्ण आधार शिविर र रसुवाकै लाङटाङ क्षेत्र पदयात्रा गरेको अनुभव उनीसँग थियो। तीन वर्षअघि उनले एक्लै अन्नपूर्ण राउन्ड सर्किट र सगरमाथा आधारशिविर घुमेकी थिइन्।
नेपाली पदयात्रा मार्गमा सिकारुमात्र हराउँछन् भन्ने ठान्ने माकिको आफैं एक्लो यात्राको सिकार बनिन्। जेठ ११ मा गोसाईंकुण्ड पुगेकी उनी होटल पिसफुल लेकमा बसिन्। त्यही दिउँसो टहलिन निक्लिएकी उनले फेरि फर्किएर होटल आउने बाटो पत्ता लगाउन सकिनन्। त्यसको दुई सातासम्म उनले एकान्त, डर, भोक, प्यास, झरी, ठन्डी, किराको टोकाइ र घाउसँग संघर्ष गर्नुपर्‍यो। उनको उद्धारमा डिएसपी ओमबहादुर राणाले खटाएको टोली सफल हुन सकेन। 'म एक घन्टाजति हिँड्न चाहन्थेँ,' उद्धारपछि शुक्रबार माकिकोले भनिन्, 'तर, मलाई अझ अगाडि जान मन लाग्यो, त्यही नै गल्ती भयो।'
आफू हराएको पक्का भएपछि उनले दुई दिनसम्म बसेको ठाउँ छाडिनन्। उद्धारको आशमा उनले पदयात्रा मार्गकै छेउमा रात पनि बिताइन्, तै पनि उनलाई न कसैले देख्यो, न उनले नै कसैको आवाज सुन्न सकिन्।
बल्ल उनलाई लाग्यो, त्यसरी उद्धार पर्खनुको औचित्य छैन। उनी पुनः होटल पुग्ने बाटो खोज्न थालिन्। 'बाँकी सबै दिन बिहान सूर्योदयदेखि साँझ सूर्यास्तसम्म हिँडेको हिँड्यै गरेँ,' उनले भनिन्।
पहिलो तीन दिन उनी खोलाको पानीको भरमा बाँचिन्। उनलाई थाहा थियो, खानेकुरा नखाई मान्छे १० दिनसम्म बाँच्न सक्छ। तर, तीन दिनपछि उनले घाँस, पात र बाँसका टुसा नखाई बस्नै सकिनन्।
न्यानो हुन उनी बाँसको पत्करले जीउ ढाकेर ढुंगेओडार र रुखमुनि सुतिन्। 'त्यहाँ त्यत्ति ठन्डी थिएन, त्यसैले कठ्यांग्रिएर मर्दिन भन्ने थाहा थियो,' उनले भनिन्।
माकिकोलाई जीवनमा अझै थुप्रै मानिससँग भेट्नु थियो। तिनलाई नभेटी आफू नमर्ने दृढ इच्छाशक्ति उनीसँग थियो। यसैले उनलाई बाँँच्ने आत्मबल दियो। उनलाई एक गल्तीले ज्यानै जाने हो कि भन्ने डर एकातिर थियो भने अर्कोतिर आफूप्रति नै ग्लानि र रिस उठेको थियो।
आफू बसेको होटल जाने बाटो खोज्दै भौंतारिएको केही दिनपछि जेठ २३ मा उनले एउटा बाटो पत्ता लगाइन्, जुन सुरुमा होटल छोड्दा हिँडेकै बाटो भएको विश्वास उनलाई भयो। 'बाटो पत्ता लागेपछि मलाई लाग्यो, भगवानले मलाई अन्तिम मौका दिएका हुन्,' उनले भनिन्, 'त्यो बाटो पछ्याएँ भने अवश्य बाँच्छु भन्ने विश्वास भयो।'
जेठ २४ मा ११ नेपाली पदयात्री त्यहीँ छेउबाटै ठुल्ठुलो स्वरमा कुरा गर्दै गइरहेका थिए। उनलाई विश्वास भयो, त्यो बाटो उनी बसेको होटलतिरै पुग्थ्यो। उनले बेस्सरी चिच्याएर सहयोग मागिन्। पदयात्री रोकिए र उनलाई हेर्न आए।
पदयात्रीले उनलाई होटल पिसफुल लेक जाने बाटो देखाइदिए। त्यहाँबाट उनी बसेको होटल पुग्न ५० मिनेटमात्र लाग्थ्यो। होटल पुगेपछि मात्र माकिकोलाई थाहा भयो, दुई सातासम्म हराएको ठाउँ आफू बसेको होटलबाट जम्मा पाँच सय मिटर पर रहेछ जहाँ उनी फनफनी घुमेकी थिइन्।
जेठ २५ मा उनलाई धुन्चे अस्पताल ल्याइयो। त्यहाँ प्रहरी निरीक्षक सीताराम चापागाईंले उनको बयान लिए। शरीरभरि कीराफट्यांग्राले टोकेका घाउ र रगतपच्छे भएका खुट्टाका बुढी औंलाबाहेक उनका अरू सबै अंग सामान्य रहेको अस्पतालले जनायो। उनी जेठ २६ मा काठमाडौं आइपुगिन्।
'दुई साता हराउँदा मेरो तौल ६ किलो घटेछ,' माकिकोले भनिन्। उनी अझै पदयात्रालाई निरन्तरता दिन चाहन्छिन्, तर कुनै हालतमा एक्लै होइन।